`

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

काठमाडौँ, १८ वैशाखः छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । 

उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।

औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । प्राधिकरणले मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमासमेत आयतको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत् आयातको समयावधि थप चार घण्टा बढाइ गरिएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिएको छ । 

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सुरु, आज गावहाल पुर्‍याइयो

पाटन । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ । रथयात्रा बिहीबार पुल्चोकबाट सुरु भएर गावहाल पुर्याइएको छ । 

रातो मच्छिन्द्रनाथसँगै मीननाथको रथलाईसमेत गावहाल पुर्याइएको छ । पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ बनाउँदै गर्दा पाटनको टङ्गालमा मिननाथको रथ निर्माण गरिने प्रचलन छ । रथयात्राअगावै मिननाथको रथलाई आजै पुल्चोक ल्याइएको थियो ।

यही वैशाख १५ गते सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रवहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो ।

रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।

रथयात्राको अवलोकन गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको निमन्त्रणामा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदूतहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि ललितपुर पुगेका थिए ।

ललितपुर महानगरको निमन्त्रणामा रथयात्रा अवलोकन गर्न युरोपेली युनियनका राजदूत भेरोनिका लोरेन्जो, इजरायलका राजदूत श्मुलिक एरीबास, जापानका राजदूत मयादा तोरु, बेलायतका राजदूत रब फेन, अमेरिकी दूतावासका पब्लिक अफियर्स चिफ जेहरा नाक्यूभीका साथै युनेस्को, युएनडिपी, युएनएचसीअरका प्रतिनिधिहरु ललितपुर आउनुभएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

रथयात्रा हेर्न ललितपुर आएका विदेशी पाहुनालाई महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनलगायतले स्वागत गरेका थिए ।

त्यस्तै भगिनी सम्बन्ध कायम भएको रसियाको उलान उदे सहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डल, अखिल भारत नेवार सङ्गठन आसाम इकाइका लिलबहादुर प्रधान र केन्द्रका सूर्यनारायण प्रधानसमेतले रथयात्राको अवलोकन गरेका छन् । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु रातो मच्छिन्द्रनाथको परिचय र चर्चालाई अन्तरराष्ट्रियस्तरमा थप उचाइ दिन राजदूत र अन्तरराष्ट्रिय विकास साझेदार संस्थालाई निम्तो दिएको बताए । पुल्चोकबाट रथलाई तानेर गावहाल पुर्याइएको रथलाई सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइन्छ ।

८८ यसरी सुरु भयो भोटो जात्रा ८८

मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले बहुमूल्य गहना र हीराजडित भोटो पाएको किंवदन्ती छ । यसरी उपहारस्वरूप पाएको किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले ।

खोजी गरेर कहीँकतै नपाएका ती किसानले रातो मच्छिन्द्रनाथको जात्रामा आउँदा एक राक्षसले लगाएको देखेर ‘यो भोटो मेरो हो’ भनेर दाबी गरेको किंवदन्ती छ, यसरी दाबी गर्दा दुई जनाबीच व्यापक विवाद हुनपुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेन् । सो विवाद राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रुपमा मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती छ । 

भोटोजात्रा अवलोकनका लागि प्रत्येक वर्ष राष्ट्रप्रमुख, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरु, मन्त्रीलगायत विशिष्ठ व्यक्तित्वहरु जावलाखेल आउने परम्परा छ । भोटो जात्राको अवलोकनपछि राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन गर्ने परम्परा छ ।
 
भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिने गरिन्छ । मिननाथको रथ तानेर ललितपुरको टङ्गलमा पुर्याइन्छ ।

काठमाडौँ उपत्यकामा अनावृष्टि भएपछि गुरुजु बन्धुदत्त आचार्य सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरुपकामाक्षा (आसाम) बाट मच्छिन्द्रनाथ काठमाडौँमा ल्याइएको इतिहास छ । संस्कृतिको अध्ययन गर्दै आएका राजेश बज्राचार्यका अनुसार सन् ६४४ देखि ६८० बीचमा रथजात्राको परम्पराको थालनी भएको थियो ।

निसान र आरभ टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौँ, १८ वैशाखः निसान श्रेष्ठ र आरभसम्राट हाडा ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आज फाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा निसानले निहालजङ्ग बहादुर थापालाई ६–३ र ६–२ तथा आरभले राजवीर प्रधानलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१ तथा स्वस्तिका विष्टले आइशा डोल्कर गुरुङलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै उपाधि भीडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–० र ६–० तथा सन्तोष खत्रीले भीष्मजङ्ग गुरुङलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरेका छन् ।

३५ वर्षमाथि पुरुष डबल्समा जीतेन्द्र र इलम दीक्षितको जोडीले भीष्मजङ्ग गुरुङ र गगन महर्जनको जोडीलाई ६–४ र ६–२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सिमान्त र नवीन श्रेष्ठको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगेका छन् ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६–३ र ६–१ तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६–३ र ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–१ र ६–० तथा रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६–२ र ६–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् ।

५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६–१ र ६–३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर विसीको जोडीलाई ७–६ र ६–१ ले हराउदै फाइनलमा पुग्न सफल भएका छन् ।

भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६–२ र ६–१ ले पराजित गरी फाइनलमा पुगेका छन् । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ पहिलो भए । उनले फाइनलमा भिक्टर राणालाई ६–२ र ६–३ ले पाखा लगाएका थिए ।

अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीनजना नियन्त्रणमा

जनकपुरधाम, १८ वैशाख : डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।

मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरिरहेको सूचनाको आधारमा आज वनका कर्मचारीको टोलीले ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख विनोद सिंहले जानकारी दिनुभयो ।

सवडिभिजन वन कार्यालय पुष्पवलपुर तथा जिल्लाबाट खटिएको संयुक्त टोलीले ज१त ४८५६, ज१त ६३७७ तथा मधेस प्रदेश ०२–००१ २८७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । ट्याक्टरसँगै मिथिला नगरपालिका–५ विश्रामपुरका सामेली उछामी, समिर भुजेल र सुन्दर कुमारलाई नियन्त्रणमा लिइएको हो । कार्यालय प्रमुख सिंहका अनुसार नियन्त्रणमा लिएका तीनै जनामाथि वन ऐनअनुसार कारबाही हुने बताउनुभयो ।

जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

कटारी (उदयपुर), १८ वैशाख : उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

चितवनबाट झापातर्पm जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । 

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते झापाको दमक नगरपालिका–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारीको कटारी अस्पतालमै उपचार भइरहेको छ । 

दुर्घटनामा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाललाई  उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिइएको छ । चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको पनि कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आणविक वार्ताअघि अमेरिकाले इरानमाथि लगाएको नयाँ प्रतिबन्धको तेहरानद्वारा निन्दा

इरानले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी निर्णयलाई बिहीबार ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिएको छ ।संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका चार र टर्कीमा रहेको एक गरी इरानी तेल बिक्री गर्ने सात कम्पनीमाथि संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भन्नुभएको छ , “जबसम्म इरानले आफ्नो अस्थिर गतिविधिका लागि तेल र पेट्रोकेमिकल राजस्व जुटाउने प्रयास गर्छ र आफ्ना आतङ्कवादी गतिविधि र छद्य्म रूपलाई अगाडी बढाउँछ, तबसम्म संयुक्त राज्य अमेरिकाले इरान र प्रतिबन्ध छलीमा संलग्न उसका सबै साझेदारहरूलाई जवाफदेही बनाउन कदम चाल्नेछ।”

इरान र अमेरिकाबीच शनिबार रोममा हुने चौथो चरणको वार्ताअघि तेहरानले आफ्नो आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा अन्य राजनीतिक तथा आर्थिक प्रतिबन्धबाट राहत मागिरहेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक वक्तव्य जारी गर्दै विकासशील देशहरूबीचको मैत्रीपूर्ण र कानुनी सम्बन्धमा आर्थिक आतङ्कवादको माध्यमबाट खलल पु¥याउने अमेरिकी प्रयासको एक हिस्साका रूपमा प्रतिबन्ध लगाइएको बताउनुभएको छ ।

अमेरिकी निर्णयकर्ताहरूको विरोधाभासी दृष्टिकोण र कूटनीतिको मार्गलाई अगाडि बढाउन सद्भाव र गम्भीरताको कमीको स्पष्ट प्रमाण भएको उहाँले बताउनुभयो ।

गत जनवरीमा राष्ट्रपतिमा फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ दिने अभियान लाई पुनः सुरु गर्नुभएको छ ।

गत मार्चमा उहाँले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र पठाएर वार्ताका लागि आग्रह गर्दै इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिनुभएको थियो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गर्दै कडा प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो ।

शुक्रवार भित्र अनिवार्य रूपमा कागजात र दस्तुर बुझाउन एनआरएनए डेलिगेट्सहरूलाई निर्वाचन समितिको आग्रह

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि शुक्रवारभित्र अनिवार्य कागजात र दस्तुर बुझाउन आग्रह गरिएको छ ।

एनआरएनए निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै वैशाख १९ गते (२ मे २०२५) शुक्रवार अपराह्न २ बजेसम्म अनिवार्य कागजात र दस्तुर बुझाउन बाँकी रहेका डेलिगेटहरूलाई प्रमाण पुग्ने कागजात र दस्तुर बुझाउन आग्रह गरेको छ ।

निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरिसकेका २,६४३ डेलिगेट (मतदाता) हरूमध्ये अहिलेसम्म ६२५ जनाको मात्रै प्रमाणीकरण भई वैशाख १५ गते प्रथम मतदाता नामावली प्रकाशन भई सकेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बाँकी रहेका २,०१८ डेलिगेटहरूलाई वैशाख १९ गते (शुक्रवार) अपराह्न २ बजेसम्म समय दिइएको जानकारी दिए । शुक्रवार अपराह्न निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्नेछ भने शनिवार महाधिवेशनको उद्घाटन पछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।

‘निर्वाचन प्रक्रियामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण डेलिगेटहरूले तोकिएको म्याद भित्र आवश्यक प्रक्रिया पूरा नगरेमा, मतदाता नामावलीबाट वञ्चित हुन सक्ने सम्भावना अत्यन्त प्रबल रहनेछ। त्यसैले सबै सरोकारवालालाई समयमै कार्य सम्पादन गर्न हार्दिक अपिल गर्दछौँ,” समितिले भनेको छ।

निर्वाचन समितिले मतदाताको प्रारम्भिक नामावलीमा रहेका नामहरूमाथि यदि कसैले दाबी वा विरोध गर्न चाहेको खण्डमा सोही समयमा निवेदन दिन सक्ने प्रावधान रहेको पनि जनाएको छ ।

शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाडौँ, १८ वैशाखः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने धारणा राख्नुभएको छ ।

लियो क्लब डिस्ट्रीक्ट ३२५ इ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने बताउनुभएको हो ।

“एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ”, उपाध्यक्ष घिमिरले भन्नुभयो, “प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई दलहरुको सहमतिमा राष्ट्रियसभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ ।”

उहाँले महत्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले शिक्षा र निजामतिलगायका विधेयक पारित गर्नका लागि शनिबार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरु राष्ट्रियसभामा लामो समय अड्काउने काम गरेका छैनौँ ।”

उपाध्यक्ष घिमिरेले नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक न्यायपूर्ण तथा समृद्ध राष्ट्र बनाउने कुरामा पनि युवाहरुले महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । 

युवा वर्गको क्रियाशीलताबाट नै राष्ट्र निर्माणका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएकाले युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव

कीर्तिपुर (काठमाडौँ), १८ वैशाख : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको असरलाई सम्बोधन गरी प्रभाकारी कार्यान्वयनमा जान नेपालले अन्तरराष्ट्रियस्तरबाटै साथ पाउनुपर्ने बताउनुभएको छ ।

जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको उपराष्ट्रपति यादवले बताउनुभयो । जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तराईमा पानीका स्रोतहरु सुक्दै छन् र नेपालसहित नदीका तल्लो तटीय क्षेत्रका करिब दुई अर्ब जनता जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ ।”

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्न प्रतिबद्धता गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले यसका लागि विश्व समुदायबाट वित्तीय र भौतिक सहयोग आवश्यक भएको बताउनुभयो ।

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तन अब न्यायिक मुद्दा बन्न पुगेको बताउनुभयो । “सगरमाथा क्षेत्रको पÞmोहर तथा शव व्यवस्थापनसम्बन्धीलगायत पटकपटकका फैसलामार्फत न्यायालयले जलवायु परिवर्तनप्रति आफ्नो संवेदनशीलता प्रकट गरेको छ । आजको प्रश्न जलवायु परिवर्तनको जोखिमबाट सीमान्तकृत वर्गलाई कसरी न्याय दिने भन्ने रहेको छ”। उहाँले भन्नुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनका कारण नेपालको विकास लक्ष्य प्राप्तिमा प्रतिकूल असर परिरहेको बताउनुभयो । यसलाई सम्बोधन गर्न नेपालले कार्बन नियमावली २०८२ ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । सरकारले जलवायु परिवर्तनबारे विश्वकै ध्यानाकर्षण गर्न ‘सगरमाथा संवाद’ आयोजना गरेको र यसलाई सफल पार्न मन्त्री शाहीले आग्रह गर्नुभयो ।

नेपालका लागि राष्ट्रसङ्घीय प्रतिनिधि हाना सिङ्गर हम्दीले हिमालको काखमा रहेको नेपालले जलवायु परिवर्तनको असरसम्बन्धी न्याय सबभन्दा पहिले पाउनुपर्ने बताउनुभयो ।

आजदेखि नेपाल टेलिभिजनमा मेरो भ्वाइस युनिभर्स प्रसारण हुने

काठमाडौँ, १८ वैशाखः विश्वभरका नेपाली प्रतिभाहरु सहभागीहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स– सिजन २’ को प्रसारण आजदेखि सुरु हुँदैछ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट साँझ ८ बजेको समाचारपछि यो शो प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको ‘मेरो भ्वाइस युनिभर्स’मा विश्वका २३ देशका नेपाली गायक गायिकाहरुले फाइनल प्रतिष्पर्धा गर्दैछन् । नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरु समापन गरी काठमाडौंको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको छ । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये वैशाख १८ गते साँझ पहिलो भाग प्रसारण गर्न लागिएको हो । 

नेपाल टेलिभिजनका अनुसार, अव मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ बजेको समाचारपछि नियमितरुपमा प्रसारण हुने छ ।

यो प्रतिष्पर्धामा भाग लिन विश्वभरबाट छनौट भई नेपाल आइपुगेका प्रतिभाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिँदै नेपाली संस्कृतिको दूतका रुपमा काम गर्न आग्रह गर्नुभएको छ । संसारभरका नेपाली मूलका नेपालीहरुलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसंग जोड्ने अभियानका रुपमा इन्ट्रा फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ । 

मेरो भ्वाइस युनिभर्सको निर्देशकका विशाल अर्याल र विशाल भण्डारी हुनुहुन्छ भने निर्णायकहरुमा बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन हुनुहुन्छ । यो शोमा प्रस्तोताका रुपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल हुनुहुन्छ ।

विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री राणा

काठमाडौँ, १८ वैशाखः परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताउनुभएको छ ।

कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताउनुभयो ।

“विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरु हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरु हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

डा राणाले अहिले गैर आवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको बताउनुभयो । “तपाईंहरुले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ, कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, आजसम्म यहाँहरुले देखाउनुभएको धैर्यताको म कदर गर्छु”, उहाँले भन्नुभयो । अहिले नेपालमा स्थायी सरकार गठन भएकाले चाँडै कार्ड जारी हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एनआरएन कार्डको विषयमा संविधान निर्माणको समयमा व्यापक छलफल भएको उल्लेख गर्दै डा राणाले कांग्रेस यो विषयमा सुरुदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । अहिले विदेशमा रहेका नेपालीहरुमा सामाजिक सुरक्षा कोषसम्बन्धी आवश्यक जानकारी कम भएकाले पनि समस्या भइरहेको उहाँको भनाइ थियो ।

कांग्रेस नेपालको एक मात्रै लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति विश्वास र भरोसा गर्न आग्रह गर्नुभयो । “हामी लोकतान्त्रिक पार्टी हो भन्दै आउने र जाने भइरहेका छन्, तर लोकतन्त्रमा विश्वास राख्ने पार्टी कांग्रेस मात्रै हो”, उहाँले भन्नुभयो ।

उद्योग र पर्यटनको विकास गरी युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्छ : मुख्यमन्त्री सिंह

मोरङ, १८ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकमा उद्योग र पर्यटन क्षेत्रको विकास गरी युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेश सरकारद्वारा आयोजित दुई दिने प्रदेश लगानीको आज विराटनगरको सभागृहमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उद्योग र पर्यटनका क्षेत्रमा लगानी वृद्धि गरेमा मात्र युवा पलायन रोक्न सकिने धारणा राख्नुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनबाट हिन्दू र बौद्धधर्मावलम्बीलाई नेपालमा घुमाउन सके देश आर्थिक रुपमा बलियो हुने बताउनुभयो ।

सङ्घीय सरकारले आवश्यक नीति बनाइ भारतीय पर्यटकलाई नेपालमा आकिर्षत गर्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाव दिनुभयो । उहाँले अहिले मुलुकभरि लगानीको वातावरण बनिरहेको र यसबाट राष्ट्रले राम्रो प्रतिफल प्राप्त गर्नसक्ने बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनामा देश गए पनि कतिपय कानुन पुराना भएका कारण समस्या भइरहेको बताउनुभयो । उहाँले सङ्घीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक उरहेको बताउनुभयो ।

“मुलुकका सबै प्रदेश प्राकृतिक स्रोत साधनले धनी छन् । कर्णालीको साधन स्रोतको उपयोग गर्न सके देशको समृद्धिमा सहयोग पुग्छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

विश्वभर रहेका नेपालीलाई पार्टीमा आबद्ध गराएर समृद्धि हासिल गर्ने नीति तय गर्छौँ : उपभापति खड्का

पाटन (ललितपुर), १८ वैशाख : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वभर रहेका नेपाली नागरिकलाई पार्टीको विभिन्न तहमा आवद्ध गराएर समृद्धि हासिल गर्ने पार्टीको नीति रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’द्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपाली ः सरकारको दायित्व र जनसम्पर्क समितिको भूमिका’ विषयक अन्तरक्रियामा उपसभापति खड्काले विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“असन्तुष्टिलाई सम्बोधन गरेर काम गर्छौँ, यसले सृजनात्मक भावना पैदा गर्छ, नकारात्मकताले निराशातिर लैजान्छ, निराशा हैन, असन्तुष्टिलाई स्वीकार गर्दै सम्बोधन गरेर समायोजन गरी समृद्धि हासिल गर्न लाग्नुपर्छ, स्थायित्वको अभियान अगाडि बढाउनुपर्छ । कहाँकहाँ कमजोरी छन्, कहाँकहाँ सुधार गर्नुपर्ने छ, त्यहाँ काम गर्छौँ, संविधान संशोधन गर्छौँ, समृद्ध बनाउँछौँ”, उहाँले भन्नुभयो ।

उपसभापति खड्काले कांग्रेसको नेतृत्वमा आएको संविधानले परिकल्पना गरेको समानुपातिक, समावेशी, लोकतान्त्रिक व्यवस्था, गणतान्त्रिक पद्दतिलाई जोगाएर देशलाई समृद्ध बनाउनुपर्छ भन्नुभयो । उहाँले जनसम्पर्क समितिमार्फत झुट्टा प्रचारप्रसार र प्रवृत्ति रोक्दै परिस्थितिको सामना गरी अगाडि बढ्न सहयोग गर्न आग्रह गर्नुभयो ।

विश्वभर रहेका गैरआवासीय नेपालीलाई समस्या नहुने गरी कानुन निर्माण गरेर संसद्बाट पारित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उपसभापति खड्काले विदेशमा रहेका नेपालीको जीवन सहज बनाउन र समस्या समाधानमा परराष्ट्र मन्त्रालयले भूमिका निर्वाह गर्दैआएको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक पार्टीको प्रभाव नेपालभित्र मात्रै सीमित भएर नहुने भएकाले ठूलो सङ्ख्यामा नेपालीको बसोबास गर्ने ठाउँमा जनसम्पर्क समिति विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

“रोजगारी, अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बसेकाहरुसम्म सङ्गठनलाई पु¥याउन हामी तत्पर छौँ, यसलाई व्यापक रुपमा विस्तार गर्नुपर्ने छ, पहुँच विस्तार नभएसम्म हाम्रो पार्टीको विस्तार हुँदैन, दुई किसिमको सदस्यतालाई व्यापक रुपमा विस्तार गर्नुपर्ने छ, हामीले व्यापक रुपमा सङ्गठन विस्तारमा काम गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । अरु देशमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई अधिकारको व्यवस्थाका लागि कानुनी व्यवस्था गर्ने प्रवक्ता डा महतको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखकले संविधानको भावनाअनुसार गैरआवासीय नेपाली नागरिकले अधिकार प्राप्त गर्ने गरी कानुन बनाइने बताउनुभयो । “संविधानअनुसार प्रदान गरिएको गैरआवासीय नागरिकता नेपाली नागरिकता नै हो, नेपालमा वंशज, वैवाहिक अङ्गीकृत, अङ्गीकृत र गैरआवासीय नेपाली नागरिकता तथा मानार्थ नागरिकता लगायतका छन्, संविधानमा नकारात्मक शब्दावाली प्रयोग हुँदैन, सबै नागरिकताको आ–आफ्नो सीमितता हुन्छ, आर्थिक अधिकार भन्ने वित्तिकै सम्पत्तिको अधिकार हो”, उहाँले भन्नुभयो ।

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली नागरिकका लागि कानून बनाउन मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले एनआरएनएका लागि बैग्लै कानून बनाउने गरी मस्यौदा तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“गैरआवासीय नेपाली नागरिकता र यसको सान्दर्भिकता, औचित्यताको सवालमा उहाँहरूको भावना र मुलुकको हितमा हुन्छ, उहाँहरुको प्रगतिले नेपाल समृद्ध हुन्छ”, उहाँले भन्नुभयो । गैरआवासीय नेपाली नागरिकले राहदानी लिनु नपर्ने गरी कानुन बन्न लागेको उहाँले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकलाई नकारात्मकतालाई प्रशय दिने काम नगर्न आग्रह गर्नुभयो । “हाम्रो गौरवशाली इतिहासको गलत व्याख्या नगरौँ, गैरआवासीय नेपालीका समस्या चाँडै समाधान गर्छौँ, जन्मिदै नेपाली भएकाको पहिचान नेपाली नै हो, खुला सिमानाका कारण हामी केही कुरामा गम्भीर हुनुपर्ने अवस्था छ, सुरक्षाका कारणले केही समस्या छ, हामीले गैरआवासीयलाई समेटेर काम गर्छौँ”, उहाँले भन्नुभयो ।

विदेशी भूमिमा गैरकानुनी रुपमा बसेका र समस्यामा परेका नेपालीलाई वैद्यता दिने प्रयासमा रहेको परराष्ट्रमन्त्री डा राणाको भनाइ थियो । “हामीले मन्त्रालय र राजदूतावासबीच समन्वय गरिरहेका छौँ, तर तपाईंहरुलाई विदेशमा बस्नका लागि मेरो देशको नीतिलाई नकार्न सक्दिन, नेपाल र आफू बसेको देशको नीतिलाई नकार्ने काम नगर्नुस्, हाम्रो देशको सान र गौरवशाली इतिहासलाई कायम राख्ने गरी काम गर्नुहोस्”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसको नेतृत्वमा मात्रै देश समृद्ध हुने उहाँले बताउनुभयो । “एउटा गौरवशाली इतिहास भएको पार्टी नेपाली कांग्रेस मात्रै हो, पार्टीको बहुमत नआएसम्म हामीले भनेको सबैकुरा लागू गर्न सक्दैनौँ”, परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो ।

चलचित्र ‘झिल्को’ ले डिजिटल कुलतबाट निस्किन सहयोग गर्छः अभिनेता पोखरेल

काठमाडौँ, १८ वैशाखः मानिसको जीवनमा मोबाइल अभिन्न हिस्सा बनिसकेको छ । एक समय थियो जब मोबाइल केवल सम्पर्कको माध्यम थियो, तर आज त्यो जीवनशैली निर्धारण गर्ने शक्तिमा परिणत भएको छ । डिजिटल कुलतको लतमा बालबालिका पनि परिरहेका छन् ।

खाना खानुभन्दा पहिले मोबाइल चलाउनु, अनलाइन गेम र युट्युबमा श्रव्यदृश्य हेर्नु बालबालिकाका लागि सामान्य भइसकेको छ । यी र यस्तै विषयलाई समेटेर निर्देशक यादव भट्टराईले चलचित्र ‘झिल्को’ तयार गर्नुभएको छ । चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । टेली शृङ्खला हुँदै चलचित्रमा अभिनय गर्न थाल्नुभएका अभिनेता पोखरेलले चलचित्र गरेर आफूले नयाँ विषयमा ज्ञान पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । यो चलचित्रमा अभियन गर्नु अगाडि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ । यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेष गरी बालबालिकालाई बचाउनु जरुरी छ ।”

चलचित्रमा अभिनय गर्ने तय भएपछि उहाँ आफैँले सामाजिक सञ्जालमा उपस्थिति कम गर्न थाल्नुभयो । आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाल्नुभयो । यसले विस्तारै आएको परिवर्तनलाई उहाँले महसुस गर्नुभएको छ ।

“अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ । त्यो बिहान मात्र खुल्छ । मैले सुरुआती समयमा बच्चालाई मनाउन कठिनाईको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ । यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो”, अभिनेता पोखरेलले भन्नुभयो ।

उहाँले चलचित्रमा वास्तविक जीवनसँग नजिक रहेको पात्रलाई निर्वाह गर्नुभएको छ । पिताको पात्रमा अभिनय गर्दा उहाँले आफ्नै अनुभवलाई प्रयोग गर्नुभयो । त्यसकारण पनि पात्र जीवन्त देखिएको उहाँको बुझाइ छ । “म आफू पिता पनि भएकाले मैले त्यो भावनालाई पर्दामा ल्याउन सकेको छु जस्तो लागेको छ । यो चलचित्र अभिभावक र बच्चाले हेर्नुपर्ने बनेको छ । किनकि यसमा मनोरञ्जनसँगै हामीलाई डिजिटल कुलतले दिइरहेको समस्या र यसले बढाएको सामाजिक दुरीका विषयलाई कथानकका रुपमा प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो ।

यो चलचित्रको विषयमा कुरा हुँदा उहाँले चलचित्रले पार्ने प्रभाव र विषयको गम्भीरतालाई बुझ्नुभएको थिएन । तर, चलचित्रसँग जोडिदै गएपछि कलाकारिता यात्रामा निकै राम्रो काम गरेको अनुभव उहाँले गरिरहनुभएको छ । “यो केवल चलचित्र मात्र होइन, यसको विषयले केही परिवारलाई डिजिटल लतबाट मुक्त गर्न सकियो भने हाम्रो अभियान सफल हुन्छ”, उहाँले भन्नुभयो ।

चलचित्र ‘झिल्को’ले आजको डिजिटल कुलतमाथि प्रश्न गरेको छ । डिजिटल उपकरणले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको निर्देशक भट्टराईको बुझाइ छ । डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर पार्छ भन्ने कथा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताउनुभयो । 

“आज हामी डिजिटल कुलतलाई सामान्य ठानिरहेका छौँ, तर यो आगोको झिल्को जस्तै विस्तारै हाम्रो आत्मा डढाइरहेको छ । हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौँ । ‘झिल्को’ ले तपाईँ र तपाईँको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ”, उहाँले भन्नुभयो ।

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा दीपक बज्राचार्यले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, निर्देशक भट्टराईसँगै अरुणदेव जोशी र देव व्रतले कथा लेखनको काम गर्नुभएको छ ।

शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई सम्मान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, १८ वैशाखः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी टे«ड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरु नै सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई बेवास्ता गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “मजदुरले लडेर ल्याएको आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागू हुन सकेको छैन, अहिले श्रम गरेर खाने भन्दा बिचौलिया र कमिसन खोरको बिगबिगी भएको छ ।” मजदुरहरु र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा  सङ्घीय लोकतान्त्रिक व्यवस्था, स्थापना भए पनि मजदुरका समस्या समाधान हुन नसक्नु दुःखद पक्ष भएको उहाँले भनाइ छ । 

उहाँले लामो सङ्घर्षबाट राजतन्त्र हटाए पनि राजनीतिक दलका नेताको कार्यशैली राजाको जस्तै भएको उल्लेख गर्दै ती दलहरुकै कारण जनतामा असन्तुष्टि सृजना भएको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिँदै पुराना दलले मजदुर र आमजनताका समस्या समाधान गर्न नसक्ने भएकाले आफूले अग्रगामी र वैकल्पिक एजेण्डासहित नेसपा नयाँ शक्ति अगाडि बढाइएको प्रष्ट पार्नुभयो । 

उहाँले आफूले भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गरेको बताउँदै नेपालमा राजावादी भन्नेले फैलाएको भ्रमबाट भ्रमित नहुन आफूले भारतका विभिन्न पार्टीका नेतालाई भनेको बताउनुभयो । 

कार्यक्रममा नेसपा (नयाँ शक्ति) का केन्द्रीय सदस्य एवं नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु पौडेलले सरकारले तोकेको न्यूनतम पारिश्रमिक रु १७ हजार पाँच सयले मजदुरलाई खान नपुग्ने भएकाले उक्त रकम बढाउनुपर्नेमा जोड दिनुभयो । 

नेसपा (नयाँ शक्ति) का सचिव भावना तामाङ, विज्ञ परिषद्का सदस्य अनुपसिंह सुवाल, मजदुर महासङ्घका इन्चार्ज तेजुलाल कर्णलगायतले भौतिक र बौद्धिक दुवै खाले श्रम गर्ने श्रमिकको सम्मान हुनुपर्नेमा जोड दिनुभयो । 

मनमोहन स्मृति क्रिकेट : नेपाल पुलिस क्लब–छ विकेटले विजयी

मोरङ, १८ वैशाख : नेपाल पुलिस क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा समूह ‘बी’ मा रहेको पुलिस क्लबले आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनाएको हो । यस अघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ५४  रन बनायो । आसामका लागि राज विश्वासले ३३ रन, अरुण सोनारले ३१, केभिन सञ्जिव क्रिस्टोफरले २३, हियेन कश्यपले १९ र कप्तान गोकुल शर्माले १० रन बनाए ।

बलिङतर्फ पुलिस क्लबका श्रवण यादव र अरुण ऐरीले तीन÷तीन विकेट लिए ।   एक सय ५५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव एक बलमा चार विकेटको क्षतिमा प्राप्त गर्यो । पुलिसका लागि ‘प्लेयर अफ दी म्याच’ कप्तान अमित श्रेष्ठले ७२ बलमा तीन छक्का र पाँच चौकामो मद्दतमा अविजित ७१ रन योगदान दिए । यस्तै शङ्कर रानाले ६७ बलमा चार छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए । बलिङतर्फ आसामका कप्तान गोकुल शर्माले तीन विकेट लिए । फाइनल खेल आर्मी र पुलिस क्लबबीच शनिबार हुनेछ ।

फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गर्नुभएको छ ।

एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गर्नुभयो ।

“फालिएको राजतन्त्र पक्षधरको अराजकता गत चैत १५ गतेको तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो । उनीहरुको प्रशंसा नगर्ने कलाकारको चलचित्र नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो– “यसमा श्रमजीवी वर्ग विगतमा झैँ सचेत हुनुपर्छ ।” 

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेको उल्लेख गर्दै उहाँले रगत पसिना बगाएर लोकतान्त्रिक प्रणाली ल्याएकाले यसको रक्षा गर्ने बताउनुभयो । “हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण  र न्यायपूर्ण समाजका लागि लड्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डा राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रङ रहेको छ । हामी सङ्घर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, नेपाल उद्योग वणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने

भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरणहरू समावेश गर्नेछ । यो जनगणनाले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशका लागि व्यापक सामाजिक–आर्थिक र राजनीतिक प्रभाव पार्ने सम्भावना छ ।

दशकमा एक पटक हुने जनसङ्ख्या सर्वेक्षण सुरुमा सन् २०२१ मा हुने थियो तर मुख्यतया कोभिड–१९ महामारी र प्रबन्धात्मक अवरोधहरूका कारण ढिलाइ भएको छ । सूचनामन्त्री अश्विनी वैष्णवले बुधबार जनगणनामा जातीय जानकारी समावेश गर्ने घोषणा गर्दा जनगणना कहिले सुरु हुनेछ भन्ने बारेमा केही बताउनुभएन । उहाँले यो निर्णयले ‘समाज र देशका मूल्य र हितहरूप्रति’ नयाँदिल्लीको प्रतिबद्धता देखाएको बताउनुभयो ।

भारतीय जीवन र राजनीतिमा जातिगत व्यवस्था अझै पनि महत्त्वपूर्ण छ । यद्यपि केही मानिस विकसित अर्थव्यवस्था बन्न चाहने राष्ट्रमा यसको स्थान हुनु हुँदैन भन्छन् ।

भारतसँग कुनै विशेष जातिमा पर्ने मानिसहरूको सङ्ख्या र उनीहरूको सामाजिक–आर्थिक स्थितिको बारेमा सीमित तथ्याङ्क छ ।औपनिवेशिक शक्ति बेलायतले सन् १८७२ मा भारतीय जनगणना सुरु गरेको थियो र सन् १९३१ सम्म सबै जातिको गणना गरेको थियो । यद्यपि, सन् १९५१ देखि स्वतन्त्र भारतले दलित र आदिवासीहरूलाई मात्र गणना गरेको छ । यसलाई क्रमशः अनुसूचित जाति र जनजाति भनिन्छ । अरू सबैको जातिलाई सामान्यका रूपमा चिह्न लगाइएको छ ।

भारतको प्राचीन सामाजिक पदानुक्रममा मुख्यतया पेशा र आर्थिक स्थितिमा आधारित सयौँ जाति र उपजाति छन् । सन् २०११ को अन्तिम आधिकारिक जनगणनामा एक अर्ब २१ करोड मानिस गणना गरिएको थियो । तीमध्ये २० करोड अनुसूचित जाति र १० करोड ४० लाख अनुसूचित जनजाति थिए ।

सकारात्मक कार्य योजनाहरू तयार गर्न नयाँ गणना प्रयोग गर्न सकिन्छ । भारतले सरकारी जागिर, कलेज भर्ना र गाउँ परिषद्देखि संसद्सम्म निर्वाचित सिटहरू केही वर्गका जातिका लागि आरक्षित गर्दछ ।

अन्य निम्न र मध्यवर्ती जातिहरूका धेरै तहहरूको कयौँ दशकदेखि आधिकारिक गणना गरिएको छैन तर तिनीहरूले देशको एक अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्याको लगभग आधा हिस्सा बनाउँछन् ।

यिनीहरूलाई अन्य पिछडिएका जातिहरू वा ओबिसीका रूपमा मान्यता दिइएको छ र नयाँ जनगणनाले उनीहरूको बढी जनसङ्ख्या देखाउने अपेक्षा गरिएको छ । यसले सरकारी जागिर, भर्ना र कल्याणकारी कार्यक्रमहरूमा कोटाको सीमा बढाउने मागहरू निम्त्याउने सम्भावना छ । भारतको वर्तमान नीतिले समग्र आरक्षण कोटालाई ५० प्रतिशतमा सीमित गर्दछ र यसमध्ये ओबिसी श्रेणीको हिस्सा २७ प्रतिशत छ ।

जनगणनामा जाति समावेश गर्ने घोषणा भारतको सबैभन्दा गरिब राज्य बिहारमा चुनाव हुनुभन्दा केही महिना अगाडि आएको हो । बिहारमा जाति एउटा प्रमुख मुद्दा हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले बिहारमा गठबन्धन सरकार चलाएको छ । विपक्षी र मोदीका साझेदारहरू जनगणनामा जाति थप्ने पक्षमा उभिएका छन् र विस्तृत जनगणना गर्न सरकारलाई दबाब दिएका छन् ।
काङ्ग्रेस पार्टीका विपक्षी नेता राहुल गान्धीले सरकारले जनगणना सुरु गर्न र पूरा गर्न समयसीमा तय गर्न माग गर्नुभयो ।

‘जिपी कोइराला उपचार केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ’ : स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ), १८ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई श्वासप्रश्वासको विशिष्टिकृत अस्पताल बनाउन लागिएको बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको जिपी लायन्स डायलासिस केन्द्रको आज उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले यो अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन सकिए नेपाल बाहिरबाट पनि उपचारका लागि मानिसहरु आउने बताउनुभयो ।

विशिष्टिकृत उपचार गर्ने अस्पतालमा नेपालमा यो बाहेक अर्को नभएको उल्लेख गर्दै मन्त्री पौडेलले यस अस्पताललाई त्यस ढङ्गबाट विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री पौडेलले डायलासिस उपचार सेवा वापत अस्पतालले सरकारबाट रु दुई हजार पाँच सय अनुदान प्राप्त गर्ने बताउनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा लायन्स क्लवले ठूलो सहयोग गरेको भन्दै सामाजिक उत्तरदायित्वमा क्लवको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । अस्पताललाई ३०० शय्या क्षमताको अस्पताल विस्तार गर्न लागिएको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले दमौली अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको समेत जानकारी दिनुभयो । यसका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उहाँले बताउनुभयो ।

त्यस अवसरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले डायलासिस केन्द्र सञ्चालनमा आएपछि मिर्गौला रोगीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

डायलासिस केन्द्र स्थापनाका लागि लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालले सहयोग गरेको नेपालका क्याविनेट सचिव सुजित हिराचनल जानकारी दिनुभयो । त्यस्तै केन्द्र सञ्चालनका लागि शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

यस भेगमा डायलासिस केन्द्र नभएकाले मिर्गौलाका बिरामीलाई उपचार लिन दमौली वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । केन्द्रमा सेवा लिनका लागि ३० जना बिरामीले नाम दर्ता गराइसकेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा दिइरहेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी, ल्याव, भिडियो एक्सरे, सामान्य शल्यक्रियालगायतका सेवा प्रवाह गरिरहेको छ ।

विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल

काठमाडौँ, १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय श्रम दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले एमालेले ल्याएको विकासको अवधारणले नै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको हो ।

“एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिबबीचको खाडल पुरिएको छ, हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ”, उहाँले भन्नुभयो । 
मुलुकको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले श्रमजीवि वर्गलाई सङ्गठित गर्ने र उनीहरुलाई अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको बताउनुभयो । “जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवि वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको उहाँको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोचभन्दा फरक रहेका समेत उहाँले उल्लेख गर्नुभयो । 

महासचिव पोखरेलले देशमा सोचेजस्तो विकास हुन नसकेको उल्लेख गर्दै विदेश जाने युवालाई रोकेर मुलुकको उत्पादनमुलक क्षेत्रमा आबद्ध गराउनुपर्ने धारणा राख्नुभयो । “प्रतिगामी मण्डलेहरूले परिवर्तनप्रति अनास्था पैदा गर्ने काम गरिहरेका छन्”, महासचिव पोखरेलले भन्नुभयो, “त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्छ, मुलुकको समृद्ध लोकतन्त्रको रूपमा विकास गर्नुपर्छ ।”

मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १८ वैशाखः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम राष्ट्रपति भण्डारीले भन्नुभयो, “मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।”

सरकार सञ्चालनमा रहेका पार्टी अल दल केन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसङ्ग उल्लेख गर्दै उहाँले व्यक्तिको आकाङ्क्षा र महत्वाकाङ्क्षाभन्दा हाम्रो राष्ट्रिय आकाङ्क्षा के हो भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक हो, तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने÷नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।”

सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो । विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ । अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ । पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ ।”

मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उहाँले भन्नुभयो, “यो व्यक्ति विशेषका मनको कुरामात्रै हा । धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त ? जसले जिते पनि नेपाली नै जित्ने हो । पाँच वर्षसम्म दलले मिलेर गएपनि हुन्छ नी ।” उहाँले देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ, १८ वैशाखः सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको जिम्मेवारी पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । विसं २००२ असोज ९ गते इलामको साँखेजुङमा बुबा तुङ्गबहादुर र आमा पूर्णकुमारी बस्नेतको जेठो पुत्रका रुपमा गोपालकुमार बस्नेतको जन्म भएको हो ।

नेपाली कांग्रेस, झापा जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदले बस्नेतले भन्नुभयो, “सरकारले ज्येष्ठ नागरिकको निम्ति अहिले जुन जुन सुविधा दिएको छ, त्यो ठिकै पनि छ, तर पहिलो कुरा सबै सन्तानहरु आफूलाई जन्मदिने बाबुआमाप्रति जिम्मेवार हुनुपर्छ, आफ्नो दायित्व पूरा गर्ने वातावरण बनाउनुपर्छ ।” ज्येष्ठ नागरिकको विषय सरकारले गम्भीरतापूर्वक लिने विषय भए पनि सामान्य रुपमा लिएको टिप्पणाी गर्नुभयो । ज्येष्ठ नागरिकले पाउने अधिकार उनीहरुले सहज रुपमा पाउनुपर्छ । सांसद बस्नेतसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

ऐनमा ज्येष्ठ नागरिकले आफूमाथि कुनै पनि किसिमको अन्याय, अत्याचार, दुव्र्यवहार वा हिंसा भएमा गाउँपालिका वा नगरपालिकाको न्यायिक समितिमा उजुरी गर्न सक्नेछन् । न्यायिक समितिबाट उनीहरूको मुद्दा सम्बोधन नभएको खण्डमा जिल्ला अदालतमा उजुरी दिन सक्नेछन् पनि भनिएको छ ।

ज्येष्ठ नागरिक (पहिलो संसोधन) ऐन, २०७९ मा यदि कसैले ज्येष्ठ नागरिकमाथि कुनै पनि अपराध गरेको खण्डमा कसुर हेरी रु १० हजारदेखि पाँच लाख नगदसम्म जरिवाना हुने र तीन महिनादेखि पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ । ज्येष्ठ नागरिक सेवा, सुविधा र कार्यक्रमअन्तर्गत अहिले ६८ वर्ष माथिकालाई ज्येष्ठ नागरिक भत्तास्वरूप रु चार हजार वितरण भइरहेको छ । कर्णाली क्षेत्र, दलित, लोपोन्मुख वर्गका ज्येष्ठ नागरिकलाई उक्त भत्ता ६० वर्षमै दिने गरेको छ । यो कुरा आफैँमा राम्रो छ । छोटो दूरीका यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था छ । साठी वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई स्वास्थ्योचारमा ५० प्रतिशत छुटको व्यवस्था छ । तर यस्को व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।

सत्तरी वर्ष माथिकालाई जटिल रोग (क्यान्सर, आङ खस्ने, अल्जाइमर्स÷पार्किन्सन, मिर्गौला र मुटु रोग)को उपचारमा एक लाख छुट रहेको छ । यसैगरी ७५ वर्ष माथिकालाई मिर्गाैला र मुटु रोगको निःशुल्क उपचारको व्यवस्था छ । यसको पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन जरुरी छ । ज्येष्ठ नागरिकलाई कानुनमा सुविधा दिइएको छ । तर व्यवहारमा छैन । स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको कुरा गरिएको छ । तर गाउँमा अस्पताल छैन । बूढाबूढी सहरसम्म आउन सक्ने अवस्था छैन । गाउँमा डाक्टरको पनि अभाव छ ।

मेरो संसद्को अभ्यास पहिलो हो । संसद्मा आएको ढाइ वर्ष मात्रै भयो । संसद्मा सबै जातजाति, भाषाभाषी, समुदायलगायत सबै क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने ठाउँ रहेछ । संसद्मा सबै सांसदले आफ्नो निर्वाचन क्षेत्र, क्षेत्र, जातीय समुदायको सवालमा सरकारको ध्यानाकर्षण गराउने काम त हुनेनै भयो । साथसाथै विभिन्न क्षेत्रको विकासको विषय पनि संसद्मा उठ्ने नै भयो । तर संसद्मा उठाएका जनताका सवालमा सरकारले कार्यान्वयन गर्न सकेको छैन । संसद्मा रहँदैगर्दा कानुन बनाउने विषयमा पनि अध्ययन गर्ने मौका पनि हुनेरहेछ ।

कानुन बनाउनुका लागि नयाँ पुराना ऐन÷कानुन अध्ययन गर्ने अवसर पनि हुँदोरहेछ । भिन्नभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने भए पनि सांसदबीच आपसी सद्भाव पनि हुँदोरहेछ संसद्मा । तर सरकार जनताप्रति उत्तरदायी भएकोजस्तो देखिँदैन । जनताका समसामयिक विषयमा सरकार गम्भीर छैन भन्दा पनि हुन्छ । यद्यपि संसद्, राष्ट्रिय सवाल, विकासको सवालमा गम्भीर नै छ । जस्तोसुकै गम्भीर विषयलाई पनि संसद्ले सरलीकरण गर्दै लैजाने काम गर्दै आएको छ । संविधान संशोधन गर्ने भनिएको छ, तर कुन विषयमा संशोधन गर्ने भन्ने विषय आएको छैन ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीलगायत सरकार गठनका क्रममा भएको सहमतिको पहिलो बँुदा नै संविधान संशोधन गर्ने भनिएको छ । तर कुन–कुन विषयमा संशोधन गर्ने भन्ने कुरा प्रष्ट आउन सकेको छैन । तर संविधान संशोधन गर्नुपर्छ भन्ने विषय विगतदेखि नै उठ्ँदै आएको हो । विशेष गरी राष्ट्रपति र प्रधानमन्त्रीको संविधान संशोधनको विषय उठेको छ । तर त्यस विषयमा गम्भीर छलफल भएको छैन ।

सुशासनको निम्ति जनताका प्रतिनिधि सांसदहरुले प्रतिनिधिसभा र राष्ट्रियसभामा उठाएका जनताका समसामयिक विषयलाई कार्यान्वयन गर्नुपर्छ । सङ्घीयता एकैचोटी बलियो वा सुध्रिण हुने विषय होइन । विस्तारै आफैँ बलियो हुँदै जाने कुरा हो । तै पनि सङ्घसंस्थालाई अझै बलियो बनाउने सवालमा प्रदेश र स्थानीय सरकारको पनि भूमिका हुन्छ । देशका सबै समस्याहरु एकैचोटीभन्दा पनि विस्तारै विस्तारै समाधान हुँदै जाने विषय हो । 

युवाहरुको लागि सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न सक्नुपर्छ । त्यसका लागि देशभित्रै उद्योग, कलकारखाना खोल्नुपर्छ । उनीहरुलाई केही न केही काम दिन सक्नुपर्छ सरकारले । अर्को कुुरा, नेपालका युवा मात्रै होइन, अल्पविकसित देशका युवा विकसित देशमा रोजगारी वा अध्ययनका लागि जाने टे«न नै चलेको छ । अहिले ग्लोबलाइजेशन पनि भएको छ । मान्छे विश्वलाई आफ्नो घर बनाइरहेको छ । तर सकेसम्म सरकारले नेपालमा गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने हो । देशभित्रै बस्ने वातावरण बनाउनुपर्ने हो ।

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा साइकल यात्रा (फोटोफिचर)

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा पहिलोपटक साइकल कुदाएर धरान माउन्टेन बाइक नेटवर्कका चार साहसी राइडरहरूले नेपाली साहसिक पर्यटनको नयाँ अध्यायको सुरुवात गरेका छन्।

सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सिरिजङ्घा पर्यटन मोहत्सवको अवसरमा गाउँपालिकाबाट सुरु भएको अभियानले कञ्चनजंघा क्षेत्रको पर्यटनमा माउन्टेन बाइकिङको सम्भावना उजागर गरेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने

म्याग्दी, १८ वैशाखः रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।

आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ । आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।

स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था,एक महिनाभित्र नै सुविधा उपभोग गर्न पाउने

काठमाडौँ, १८ वैशाखः आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।

श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले मे दिवसलाई श्रमजीवी मजदुरहरूको योगदानलाई सम्झने विशेष अवसरको रूपमा उल्लेख गरे ।

सन्देशमा भनिएको छ,‘नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको ऐतिहासिक योगदानले आजको उपलब्धिहरू सम्भव भएका हुन् । संविधान २०७२ ले श्रमिकको अधिकार सुनिश्चित गरेको छ, अब ती अधिकारको व्यवहारिक कार्यान्वयनमा सरकार जिम्मेवार छ ।’

मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको जानकारी दिदै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।

‘श्रमजीवी वर्ग र श्रमप्रति हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्दै श्रमको सम्मान गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो। सूचना प्रविधिको युगसँगै श्रमिकलाई नयाँ सीप र अवसरसँग जोड्नुपर्छ,’ सन्देशमा उल्लेख छ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजीको विकास, उद्यमशीलता प्रवद्र्धन, श्रमिकको सेवा–सुविधा विस्तार तथा जीवनस्तर उकास्ने दिशामा कोशी प्रदेश सरकार अग्रसर रहेको पनि बताए । उनले सबैलाई श्रमको सम्मान र श्रमिकप्रतिको कदर गर्ने चेतना फैलाउन आह्वान गर्दै राष्ट्र निर्माणमा श्रमिक वर्गको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौँ, १८ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताउनुभएको छ ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उहाँले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ भन्नुभएको छ । श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेख्नुभएको छ,“ आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस ।

देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू ग¥यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुप¥यो ।

तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।
अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।

श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ ।
जय श्रमिक, जय देश !”

अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौँ, १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेअन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

मुलुकमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानको स्मरण गर्दै सन्देशमा उहाँले त्यसको परिणामस्वरुप आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताउनुभएको छ ।

सन्देशमा उहाँले “सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो”, भन्नुभएको छ ।

आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदूरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईलाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

आफ्नै छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुबा थुनामा

वीरगञ्ज (पर्सा- जिल्ला अदालत पर्साले आफ्नो छोरीलाई बलात्कार गरेर भिडियो बनाउने अभियुक्त बुबालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रमेश पोखरेलको एकल इजलासले अभियुक्त बाबुलाई हाडनाता, जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

अदालतका सूचना अधिकारी रामनरेश महतोले अभियुक्त बुबालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरिएको जानकारी दिनुभयो । इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्युएल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौँ भोटाहिटीमा प्राप्त कागजातका आधारमा अभियुक्तलाई गत चैत २२ गते वीरगञ्जबाट पक्राउ गरिएको थियो । 

जिल्ला प्रहरी र साइबर ब्यूरोको संयुक्त टोलीले छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साका ३४ वर्षीय बुबालाई पक्राउ गरेको हो । 

श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौँ, १८ वैशाखः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सबै श्रमजीवी तथा रोजगारदातालाई एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आह्वान गर्नुभएको छ ।

मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका हुने चर्चा गर्दै मन्त्री भण्डारीले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीति सुधारका काम प्रारम्भ भएका सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा श्रममन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना पनि गर्नुभएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १८ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३५, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो १००, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । केही स्थानमा आंशिक बदली हुनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव

काठमाडौँ, १८ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्व श्रमिक दिवस (१ मे) का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले समाज र राष्ट्रको विकास निर्माण तथा उन्नयनमा श्रमजीवीहरूको श्रम, मेहनत, समर्पण र सङ्घर्ष अमूल्य रहेको बताउनुभयो । उहाँले श्रमजीवीको अधिकारको रक्षा र जीवनस्तर सुधार गर्दै उचित पारिश्रमिक प्रदान गर्ने अवस्था सिर्जना गर्न सबैजना आ–आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहन जरुरी भएको उल्लेख गर्नुभयो ।

“यो दिवस श्रमजीवीहरूका लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ सङ्कल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । उहाँहरूको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ”, शुभकामना सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति यादवले श्रमजीवीहरूको अधिकार, सम्मान र योगदानलाई मान्यता दिने प्रतीकका रूपमा समेत मनाइने मे दिवसले श्रम अधिकारको सुनिश्चितताका लागि थप क्रियाशील हुन सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

मुलुकको विकास र समृद्धिमा श्रमिकहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले खासगरी कृषि, उद्योग, विकास–निर्माण, पर्यटन, घरेलु क्षेत्र र अन्तरराष्ट्रिय श्रम बजारलगायतका क्षेत्रमा श्रमिकहरूको भूमिका उल्लेखनीय योगदान रहेको उल्लेख गर्नुभयो । “नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट ठूलो परिमाणमा विदेशी मुद्रा आपूर्ति हुनु सकारात्मक भए पनि श्रमजीवीहरूका लागि आफ्नै माटो–पानीमा रही श्रम र रोजगार गरी न्यायोचित अर्थोपार्जनको वातावरण मिलाउन जरुरी छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ,“नेपालको संविधानमै श्रमिक वर्गको अधिकार सुनिश्चित गरेको तथा सबै नागरिकलाई श्रम गर्ने अधिकार, न्यायोचित पारिश्रमिक, काम गर्ने सुरक्षित वातावरण र सम्मानजनक जीवनको प्रत्याभूति गरेको छ । संविधानले श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था, बालश्रम निषेध गर्दै बालबालिकाको अधिकारको सुनिश्चिततासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली श्रमिकहरुको हकहित संरक्षण र उनीहरूको क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारलाई उत्तरदायी बनाएको छ ।”

उहाँले श्रमिकबारेको संवैधानिक व्यवस्थालाई सबैले अक्षरशः पालना गर्दै श्रकिमहरुको जीवनस्तर सुधार्न र अधिकार सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति यादवले श्रमिकका लागि न्यूनतम ज्याला सुनिश्चित गर्ने, समयमै पारिश्रमिक उपलब्ध गराउने तथा पेन्सन, बिमा र अन्य सामाजिक सुरक्षाका लाभहरू व्यवस्थित गर्न जरुरी रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले श्रमिकमैत्री कानुनको कार्यान्वयन, सुरक्षित कार्यस्थलको प्रबन्ध, सीप विकास कार्यक्रमहरू सञ्चालन, सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापन, मुलुकमै पनि रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीति तथा कार्यक्रमहरू लागू गर्न सबैको ध्यानाकृष्ट हुन उत्तिकै आवश्यक रहेको औँल्याउनुभयो ।

आज अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १८ वैशाखः आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो ।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ । 

यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो । 

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

काठमाडौँ, १८ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिनुभएको छ । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

साथै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ ।

श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै राष्ट्रपतिले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताउनुभएको छ ।

“मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ ।

विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख

काठमाडौँ, १८ वैशाखः सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

विश्व मजदुर दिवस (मे १) का अवसरमा शुभकामना सन्देश जारी गरी उहाँले नेपालका सम्पूर्ण श्रमिक वर्ग, श्रमिक अभियन्ता, ट्रेड युनियनलगायत सबैमा शुभकामना व्यक्त गर्दै बालश्रम, श्रमिक महिला–पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली, वैदेशिक रोजगारमा शोषणजस्ता समस्याले हामीलाई अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक छ भन्ने कुराको सङ्केत गरेको उल्लेख गर्नुभएको छ ।

श्रमिक दिवस समावेशी, न्यायपूर्ण र श्रमको सम्मान हुने समाज निर्माणतर्फको हाम्रो साझा अभियानप्रतिको ऐक्यबद्धताको दिन भएको बताउँदै सभामुख घिमिरेले मजदुरको अधिकार सुनिश्चित गर्ने कानुन बने पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संस्थागत गरेको छ । धारा ३४ मा ‘श्रमको अधिकार’ सुनिश्चित गरिएको छ, जसमा उचित पारिश्रमिक, सुरक्षित र सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षालगायतका विषयमा राज्यको स्पष्ट जिम्मेवारी तोकिएको छ ।”

आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको र कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन वा वैदेशिक रोजगारलगायत क्षेत्रमा श्रमिकको पसिना र योगदानले राष्ट्रको समृद्धि सम्भव बनाउने सभामुख घिमिरेको भनाइ छ ।

उहाँले सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनबाट सुरु भएको मजदुर दिवसले आज पनि श्रमिक हक र सम्मानपूर्ण जीवनको मागलाई विश्वव्यापी रूपमा स्मरण गराउँदै आएको उल्लेख गर्नुभएको छ । “सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्मानजनक श्रम व्यवस्थाको कामनासहित विश्व मजदुर दिवस २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

वीरगञ्ज (पर्सा), १८ वैशाखः जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहित गर्नका लागि आह्वान गरेको हो । “सांस्कृतिक कार्यक्रमहरूमा गरिने आतसबाजी र पटाकाको प्रयोगलाई पूर्ण रूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “यो निर्णयविरुद्ध कार्य गर्ने÷गराउनेलाई कानुनको दायरामा ल्याइनेछ । सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिनेछ ।”

बैठकले होटल, क्याटरिङ र पार्टी प्यालेसमा प्रयोग गरिने डिजेलगायतका उपकरणको प्रयोगलाई रातको १०ः०० बजेपश्चात् पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

प्रशासनले विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रमको बुकिङ गर्दा सम्बन्धित होटल÷पार्टी प्यालेसले आयोजकसँग डिजे, पटाकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाई सो बेहोराको सहमतिपत्रमा हस्ताक्षर गराएर मात्र बुकिङ गर्नेे निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

साथै, यस क्षेत्रका व्यवसायीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम नियमित रूपमा बुझाउने र सोको सूक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ ।

जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले ऐन कानुनविपरीत पटाका तथा आतसबाजी गर्नेलाई विस्फोटक पदार्थ ऐनबमोजिम कारबाहीको दायरामा ल्याइने जानकारी दिनुभयो । “सुरक्षा निकायले पनि निरन्तर अनुगमन गरेर कानुनविपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउनेछौँ”, उहाँले भन्नुभयो । 

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले विवाह तथा अन्य सांस्कृतिक कार्यक्रममा बजाइने डिजेलाई व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो । यहाँका सिटी पार्टी प्यालेसका सञ्चालकहरूले बजाउनका लागि अनावश्यक दबाब आउने गरेकाले त्यस्ता गतिविधिलाई पनि निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो ।

ट्रेड युनियन अधिकारमा कांग्रेसको भूमिका महत्वपूर्ण छः सभापति देउवा

काठमाडौँ, १८ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले हाल पनि नेपालका श्रमजीवीले अनेक समस्या बेहोरिरहनु परेकाले त्यसलाई समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । “श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र सम्वर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि कांग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ”, सन्देशमा उल्लेख गरिएको छ ।   

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको सङ्घर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।  

नेपालमा विसं १९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भएपश्चात विसं २००३ मा कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार ग¥यो । त्यतिबेला जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरिएको थियो । 

नेपालमा प्रजातन्त्रको स्थापना अर्थात् विसं २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलनलाई मान्ने गरिएको छ । त्यसैले कांग्रेस र मजदुर सधैँ एक अर्कामा आबद्ध भएर एकअर्काका अनन्य सहयोगीका रूमा रहिआएको पनि सभापति देउवाले उल्लेख गर्नुभएको छ ।

विसं २०१६ मा कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको उल्लेख गर्दै उहाँले नेपाली श्रमबजारको उन्नतिका लागि कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको बताउनुभयो । 

सभपति देउवाले श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यो ऐतिहासिक दिनले सबैमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास लिँदै उहाँहरूको सुख, शान्ति र समृद्धिका लागि पुनः शुभ–कामना व्यक्त गर्नुभएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १८ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने

युक्रेनका प्रधानमन्त्री डेनिस श्मिगलले संयुक्त राज्य अमेरिकासँग ‘आगामी २४ घण्टाभित्र’ बहुप्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको बताउनुभएको छ ।

सम्भावित सम्झौतापछि वासिङ्टन र किएभले संयुक्त रूपमा युक्रेनको खनिज स्रोतहरूको उत्खनन गर्नेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट प्राप्त युद्धकालीन सहायताको लागि ‘योगदान’ का रूपमा यसलाई उल्लेख गर्दै आउनुभएको छ।

“युक्रेनको विकास र पुनरुत्थानमा संयुक्त लगानीका लागि यो वास्तवमै राम्रो, समान र लाभदायक अन्तर्राष्ट्रिय सम्झौता हो,” श्मीगलले राष्ट्रिय टिभी प्रशारणमा भन्नुभएको छ ।

“मलाई आशा छ, निकट भविष्य अर्थात् आगामी २४ घण्टाभित्र सम्झौतामा हस्ताक्षर हुनेछ र हामी पहिलो कदम चाल्नेछौं,” उहाँले भन्नुभयो ।

किएभ र वासिङ्टनले सम्झौतामा हस्ताक्षर गर्ने योजना केही हप्ताअघि नै बनाएका थिए तर ह्वाइट हाउसमा ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भएको भनाभनको स्थितिपछि अस्थायी रुपमा वार्ता अवरुद्ध भएको थियो ।

युक्रेनले रुसको तीन वर्षे आक्रमणलाई रोक्नको लागि कुनै पनि सम्झौताको एक भागको रूपमा सुरक्षा ग्यारेन्टीको लागि जोड दिइरहेको छ ।

युक्रेनमा अमेरिकी व्यापारिक स्वार्थलाई बढावा दिनाले युद्धविरामको स्थितिमा भविष्यमा हुने आक्रमणबाट रुसलाई रोक्न मद्दत पुग्ने अमेरिकाको तर्क छ ।
युक्रेनी राष्ट्रपतिको एक उच्च स्रोतले सम्झौतामा युक्रेनका लागि कुनै सुरक्षा ग्यारेन्टी समावेश छ कि छैन भन्ने प्रश्नको जवाफ भने दिएन।

यो सम्झौताबाट किएभले प्राप्त गरेको अघिल्लो सहयोगको लागि कुनै पनि ‘ऋण’ सँग जोडिने छैन र किएभ र वासिङ्टनबीच आधाआधा हिस्सा रहनेगरी संयुक्त कोषको सिर्जना हुनेछ ।

“यसले दलहरूको समानता सुनिश्चित गर्दछ । पुनर्निर्माणमा लगानी गर्न लगानी कोषको स्थापना गरिनेछ । यसमा अमेरिका र अमेरिकाबाट योगदान हुने परिकल्पना गरिएको छ।संझौतामा वासिङ्टनले नयाँ सैन्य सहायता उपलब्ध गराउने सहमति गरिने र यसलाई कोषमा उनीहरूको योगदानको रूपमा गणना गरिनेछ।