`

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

फुङ्लिङ (ताप्लेजुङ), १७ वैशाख : ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर—अविसेक मादेन, अनिष तामाङ, दीपसागर तामाङ र निमा शेर्पाले कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरसम्म साइकल यात्रा गरेर नयाँ साहसिक पर्यटकको गन्तव्यको ढोका खुलाएका हुन् ।

सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनको थुङगिमबाट सुरू भएको यो यात्रामा नयाँ झोरेनी, तरूङदेन, चाइराम, राम्जेर हुँदै ओक्ताङसम्मको कठिन पैदलमार्ग समावेश थियो ।

यो मार्ग कुनै पनि साधारण साइकल यात्रा थिएन । समुद्र सतहदेखि चार हजार आठ सय मिटरको उचाइ, साँघुरो पदमार्ग, उकालो ओरालो, ढुङ्गा र चट्टानले भरिएको बाटो—साहस र धैर्यबिना यो सम्भव थिएन ।

धरानबाट आएका टोलीले यही वैशाख १५ देखि १७ गतेसम्म आयोजित ‘कञ्चनजङ्घा पर्यटन महोत्सव २०८२’ को अवसर पारेर साहासिक यात्रा तय गरेका थियो । गाउँपालिकाका उपाध्यक्ष चित्र मावोका अनुसार यसअघि कसैले पनि कञ्चनजङ्घा आधार शिविरसम्म साइकल कुदाएका छनैन् ।

सिरिजङ्गा गाउँपालिका–६ सुदापका विष्णु लिम्बू ती यात्राको प्रत्यक्ष साक्षी हुन् । जीवनमा पहिलो पटक आधार शिविर पुगेका लिम्बूले तीव्र हावाको वेगमा पनि नहल्लिने हिमालको दृढताभन्दा बढी चकित उहाँले देख्नुभएको थियो । त्यस हिमाली बाटोमा साइकल उफार्दै उक्लने दृश्य ।

“त्यो अमर र अटल हिमालको काखमा साइकल चलाउनु भनेको अचम्म मात्र होइन, प्रेरणा पनि हो,” उहाँले भन्नुभयो । यस्तै, भोजपुरकी सरिता राईका लागि त झन् झस्काउने क्षण थियो । “मैले त साइकल सधैँ तराईमा मात्र देखेकी थिएँ । अब त हिमालमा पनि साइकल चल्ने रहेछ, भनेर अचम्ममा परेँ,” उहाँले सुनाउनुभयो । फुङ्लिङ नगरपालिकाका तारा बराल पनि चकित हुनुभयो । “जहाँ बाँदर हिँड्न डराउँछ, त्यहाँ साइकल चलाउनुले अचम्मित तुल्यायो ।”

कञ्चनजङ्घा आधार शिविर विश्वकै तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो हिमालको आधार हो । त्यहाँ पुग्ने बाटो प्राविधिक रूपमा जटिल छ–समतल जमिनको कमी, उच्च उचाइमा अक्सिजनको न्यूनता, चिसो र जोखिमपूर्ण भूगोल । यस्ता क्षेत्रमा साइकल चलाउने कल्पना नै कठिन हुन्छ । यही कारणले यो यात्रा विशेष मात्र नभइ ऐतिहासिक पनि हो । साइकल चलाउने राइडरका अनुसार कतिपय स्थानमा साइकल बोक्नुपरेको थियो, तर अधिकांश बाटोमा साइकल चलाउन मिल्यो । र यो अनुभवले भविष्यमा थप साइक्लिङ अभियानको ढोका खोलेको छ । यात्राले कञ्चनजङ्घा क्षेत्रको पर्यटनमा नयाँ सम्भावना देखाएको छ ।

अहिलेसम्म पदयात्रा केन्द्रित पर्यटन चलिरहेको यो क्षेत्रमा अब साहसिक खेल, विशेषतः माउन्टेन बाइकिङ, लोकप्रिय हुन सक्छन् । आगामी वर्षमा प्रतिस्पर्धात्मक साइक्लिङ कार्यक्रम आयोजना गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष मावोले पनि उत्साहजनक प्रतिक्रिया दिएका छन्, “हामी विदेशी राइडरहरूलाई आकर्षित गर्न सक्ने सम्भावना देखिरहेका छौँ । प्रचारप्रसारमा जोड दिइनेछ ।” यदि भविष्यमा अन्तरराष्ट्रिय साइक्लिङ प्रतियोगिता आयोजना भयो भने, यसले स्थानीय आर्थिक गतिविधि, होटेल व्यवसाय, हस्तकला, यातायात सेवा लगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्नेछ ।

साहसिक कदम मात्र होइन, एउटा सन्देश पनि हो, सपना, साहस र मेहनतले कुनै पनि असम्भव कार्यलाई सम्भव बनाउन सकिन्छ । नेपालका हिमाली भेगमा साहसिक पर्यटनको व्यापक सम्भावना छ । पदयात्रा, अब पर्वतारोहण, रक क्लाइम्बिङ, ट्रेल रनिङ, र माउन्टेन बाइकिङ पनि पर्यटन विकासका प्रमुख पाटो बन्न सक्ने स्थानीयवासीको भनाइ रहेको छ ।

कञ्चनजङ्घाको हिमाललाई नजिकबाट नियाल्दै, हरेक पाइलामा चिसो हावासँग जुध्दै, उकालो बाटोमा साइकल धकेल्दै र कहिले उफार्दै अघि बढ्ने ती चार साइक्लिस्ट नेपाली साहसिक पर्यटनको गौरव पनि हो ।…विश्वको तेस्रो अग्लो कञ्चनजङघा हिमालको आधार शिविरमा साइक्लिङ सहरानीय कार्य हो ।

भोजपुर गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

टक्सार (भोजपुर), १७ वैशाखः आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

चर्च ब्वाइज र एलएक्स सिटी मोरङबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवैतर्फबाट बराबर तीन÷तीन गोल भएपछि खेल ‘सडनडेथ’मा धकेलियो । चर्च ब्वाइजका तर्फबाट एकराज बुढाथोकी, सामुएल सुनुवार, सुजन बलमपाकीले गोल गरे भने मोरङकातर्फबाट अभिषेक ठकुरी, छिरिङ तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

सडनडेथमा चर्च ब्वाइजका लाक्पा पाख्रिनले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगिताको म्यान अफ दी म्याच चर्च ब्वाइजका गोलरक्षक विवश चौधरी बने । प्रतियोगिताअन्तर्गत बिहीबारदेखि सेमिफाइनलका खेल हुनेछन् । पहिलो खेल सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र जर्जियन फुटबल क्लब भारतबीच हुनेछ भने शुक्रबारको खेल भगवती स्पोर्टस् क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।

रु ४९ लाख लागतमा भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा वैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस् क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडाँै र एलएक्स सिटी मोरङगरी आठ टिमले सहभागिता जनाएका थिए ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र रु तीन लाख पाउनेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ । गत वर्षको उपाधि चर्च ब्वाइज युनाइटेड, काठमाडौँले जितेको थियो ।

दुई पालिका जोड्ने सेती नदीमा पक्की पुल निर्माण हुँदै

तनहुँ, १७ वैशाख : जिल्लाको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि मोटर गुड्ने पुल निर्माणको काम धमाधम भइरहेको छ । व्यासको वडा नम्बर–३ को देउराली नगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने पुलको निर्माण कार्यले गति लिएको हो ।

निर्माण कम्पनीको ढिलासुस्तीले केही समय पुल निर्माणकार्य रोकिएकोमा हाल भने धमाधम काम भइरहेको छ । पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इञ्जीनीयर रवीन्द्र तिवारीले जानकारी दिनुभयो ।

“पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हाल तीव्र रूपमा काम गर्न थालेको हो”, उहाँले भन्नुभयो “पुलको स्टील पाटर्सको निर्माण हुने भएकाले फेब्रिकेसन कार्य भइसकेको छ ।”

दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पाम’ निर्माणकार्य पूरा हुनेगरी काम गरिरहेको छ, भने बाँकी अर्को एक ‘स्पाम’ निर्माणको लागि निर्माण कम्पनीले भारतबाट समान ल्याइसकेको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको रू ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण भइरहेको तिवारीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । एक सय ५५ मिटर लामो रहने पुलको चौडाइ ९ दशमलव ५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल ‘स्टील ट्रस’ को हुनेछ ।

 उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्यादसहित विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरिएको थियो । सम्झौता अनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुने थियो ।

सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । उक्त पुलको हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको कार्यालयले जनाएको छ । 

पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँँ पालिकाका जनतालाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङे पुलबाट मानिस र मोटरसाइकल आवतजावत गर्छन् । त्यसको करिब एक किलोमिटरमाथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ ।

पुल निर्माण पूरा भएपछि दमौली आउन पाँच सय मिटर दूरी मात्रै लाग्छ । झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाइदिँदा पैदलबाट वारपार गर्नेलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । पुल निर्माणले गति लिएसँगै स्थानीय बासिन्दामा खुसी छाएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

‘नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’: सहमहामन्त्री परियार

चितवन, १७ वैशाखः नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग उहाँले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताउनुभयो । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि  प्रश्न उठ्छ ।” वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उहाँले बताउनुभयो । 

नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

काभ्रेपलाञ्चोक, १७ वैशाखः यहाँको नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ । आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र नगरप्रमुख कुन्साङ लामाले पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा गर्नुभयो । सो अवसरमा गौतमले नगर प्रमुख लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख लामाले भन्नुभयो, “नगरलाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लाको १३ स्थानीय तहमध्ये नमोबुद्ध पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षको पहिलो स्थानीय तह भएको बताउनुभयो ।यस वर्ष तोकिएका उमेर समूहका चार सय ७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुुनिश्चित नगर घोषणाा गरिएको जनाइएको छ ।

लहान चोकको सहिद स्मारक स्थानान्तरण गरियो

सिराहा, १७ वैशाख : मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित यहाँको लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।

सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन उक्त स्मारक स्थानान्तरण गरिएको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चोधरीले जानकारी दिनुभयो । स्मारक स्थानान्तरणको विषय लामो समयदेखि विवादित थियो । गत सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा सहमति जुटेको थियो ।

स्मारकमा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको प्रतिमा छ । यिनै सहिदहरूको सम्झनास्वरूप मधेश–प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जीनीयरिङ ग्रुप’ले ठेक्का लिइ विगत चार वर्षदेखि काम गरिरहेको छ । यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ निर्माण गर्न स्मारक समस्या भएको थियो ।

बङ्गलादेशः धर्मगुरू कृष्ण दासलाई जमानत आदेश

बङ्गलादेशको उच्च अदालतले आध्यात्मिक गुरु चिन्मय कृष्ण दासलाई देश द्रोहको मुद्दामा बुधबार जमानत दिएको छ।न्यायाधीश मोहम्मद अतोर रहमान र न्यायाधीश मोहम्मद अली रेजाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

बङ्गलादेश सम्मिलित सनातनी जागरण जोतेका प्रवक्ता तथा इस्कोनका पूर्व नेता चिन्मय कृष्ण दासलाई गत वर्ष नोभेम्बर २५ मा ढाका विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँमाथि बङ्गलादेशको राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लागेको छ र उहाँमाथि देशद्रोहको आरोप लगाइएको छ ।

गत जनवरी २ मा चटगाँउको तल्लो अदालतले उहाँको याचिका खारेज गरेपछि उहाँले उच्च अदालतमा जमानतका लागि निवेदन दिनुभएको थियो ।

गत फेब्रुअरीमा बङ्गलादेशको उच्च अदालतले दासलाई किन जमानत नदिने भनेर सरकारलाई स्पष्टीकरण सोधेको थियो।

दासका वकिल अपूर्वकुमार भट्टाचार्यले एएनआईसँगको कुराकानीमा भन्नुभएको छ, “बङ्गलादेश उच्च अदालतले सरकारलाई दुई हप्ताभित्र जवाफ दिन भनेको छ ।”

जनवरी २ मा चटगाँउमा भएको सुनुवाइका क्रममा दासको प्रतिरक्षा टोलीले उहाँ मातृभूमिप्रति गहिरो सम्मान राख्ने र आफ्नी आमाप्रतिको श्रद्धासँग तुलना गर्ने र देशद्रोही नभएको तर्क गरेका थिए तर यी तर्कहरूको बावजुद अदालतले जमानत याचिका अस्वीकार गरेको थियो ।

भट्टाचार्यले भन्नुभयो, “धर्मगुरू कृष्णदासले मातृभूमिलाई आफ्नी आमासरह सम्मान गर्नुहुन्छ । उहाँ देशद्रोही होइन भनेर हामीले अदालतसमक्ष उल्लेख गरेका थियौँ ।

यसपहिले, महानगरीय सत्रका न्यायाधीश मोहम्मद सैफुल इस्लामको नेतृत्वमा रहेको अदालतले दुवै पक्षको बहसपछि जमानत नदिने फैसला सुनाएको थियो ।”

न्यायाधीश सैफुल इस्लामको नेतृत्वमा रहेको चटगाउँको अदालतले दुवै पक्षको बहस सुनेपछि जमानत अस्वीकार गरेको थियो । कडा सुरक्षाका बीच उहाँको मुद्दामाथि सुनुवाइ भएको थियो ।

म्ुद्दामा महानगरीय सरकारी वकील मोफिजुर हक भुइयाँंले अभियोजन पक्षको प्रतिनिधित्व गर्नुभएको थियो । यो मुद्दाले सर्वसाधारणको व्यापक ध्यान आकर्षित गरेको छ, धेरैले बङ्गलादेश उच्च न्यायालयको घटनाक्रमलाई नजिकबाट नियालेका छन्।

ऊर्जाराज्यमन्त्रीमा कांग्रेसका खमबहादुर गर्बुजा नियुक्त

काठमाडौँ, १८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई आज राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, १७ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा गणतन्त्र बेलारूसका गैरआवासीय राजदूत मिखाइल कास्को, जर्जियाका गैरआवासीय राजदूत बख्ताङ, गणतन्त्र मालीका गैरआवासीय राजदूत ब्रिगेडर जनरल फेलिक्स दिएल्लो, कुवेत अधिराज्यका गैरआवासीय राजदूत मेसल मुस्तफा जे अल्सेमाली र गणतन्त्र अर्मेनियाका गैरआवासीय राजदूत बहगन अफयानले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । समारोहमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।

अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ, १७ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्ने बताउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषको ३९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बी पशुपतिनाथ र बौद्ध धर्मावलम्बी लुम्बिनी आउन चाहेकाले नेपाललाई सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

भारतका स्वामी नारायणका भक्तजनले मुक्तिनाथलाई इष्टदेव मान्ने र जनकपुर एवं अयोध्याबीच प्राचीकालदेखि नै सम्बन्ध रही आएकाले पनि सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानसके नेपालको अर्थतन्त्रलाई माथि उठाउन सकिने मन्त्री पाण्डेको भनाइ छ । सांस्कृतिक अर्थतन्त्र कसरी अघि बढाउने भनी मन्त्रालयले पनि सोच बनाइरहेको उहाँको भनाइ छ ।

कम्बोडियाको अङ्कुरबाट मन्दिरले त्यहाँको अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्ने गरेको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले नेपालमा समग्र पर्यटन क्षेत्रबाट पनि अर्थतन्त्रमा १० प्रतिशत अर्थतन्त्रमा योगदान नहुने गरेको बताउनुभयो । पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र र जनकपुर क्षेत्रका विषयमा नकारात्मक कुरामात्र आफूकहाँ आउने गरेको उल्लेख गर्दै उहाँले तथ्य र तथ्याङ्कका आधारमा मात्र नकारात्मक कुरा गर्न आह्वान गर्नुभयो ।

“भौतिक कुरामात्र सबै चीज होइन भनी आत्मिक र आध्यात्मिक जागरण पनि गराउनुपर्छ, यसका लागि काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रमा पैदलमार्गबाट एक ठाउँबाट अर्को ठाउँमा जान सकिने गरी मार्ग निर्माण हुँदैछ, स्वयम्भू–हनुमानढोका–पाटन–पशुपतिनाथ–बौद्धनाथ–बूढानीलकण्ठलगायत स्थललाई पैदलमार्गबाट जोड्ने तयारी गरिरहेका छौँ”, मन्त्री पाण्डेले भन्नुभयो ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले कोषको ऐन र नियमावली संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै छिटो गर्ने व्यवस्थाका लागि मन्त्री पाण्डेसँग माग गर्नुभयो । पशुपति महाप्रसाद बिक्री वितरण र पशुपतिनाथमा अनलाइन पूजाको व्यवस्थामा पनि कोष जाने तयारी गरेको जानकारी उहाँले गराउनुभयो ।

कोष सञ्चालक परिषद्का सदस्य हरिनाथ ढकालले ३९ वर्ष पार गरेर वयस्क भएको संस्थाले परिपक्व चिन्तन गर्नुपर्ने बताउनुभयो । पशुपति क्षेत्रमा आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त, सुलभ दर्शन र सफाइको व्यवस्था गरेर सुधार गर्न सकिने परिषद् सदस्य ढकालले सुनाउनुभयो ।

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले पशुपति क्षेत्रका सम्पदाको संरक्षण र मर्मत सम्भारका काम गर्ने जिम्मेवारीका साथ यसको स्थापना भएको जानकारी दिनुभयो । कार्यक्रममा कोषले स्थापना दिवसका अवसरमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिताका विजयी र रक्तदान कार्यक्रमका रक्तदातालाई प्रमाणपत्र र पुरस्कार पनि प्रदान गरिएको थियो । कोषको स्थापना २०४३ सालको अक्षय तृतीयाका दिन अध्यादेशबाट भएको थियो ।

विष्णुमती पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ, १७ वैशाखः बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।यसैबीच काठमाडौँ महानगरपालिका–४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागुऔषध गाँजा करिब एक सय ग्राम र ‘पोल्याण्ड’ करिब एक सय ग्रामसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कामपा–५ हाँडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका–४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका–१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्गी रहेका छन् ।

प्रधानमन्त्री ओलीसमक्ष एकीकृत समाजवादी पार्टीद्वारा मागपत्र प्रस्तुत

काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाउनुभएको हो ।

मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ । गत चैत १५ गतेको तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गर्नुभयो ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोशिस गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी हुनुहुुन्थ्यो । करिब एक घण्टा भएको भेटमा नेताहरूबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाको स्मरण गरिएको थियो ।

‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’ : मन्त्री सिंह

वालिङ (स्याङ्जा), १७ वैशाखः उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताउनुभएको छ । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले यहाँ आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज उद्घाटन गर्दै उहाँले काम नतिजामुखी हुनुपर्नेमा जोड दिनुभयो ।

“जनताले विश्वास काम गरेपछि मात्रै गर्ने हुन्”, उहाँले भन्नुभयो, “अब बोलेर होइन कामबाट उपलब्धि देखिनुप¥यो तबमात्र जनताले विश्वास गर्छन् ।” पूर्वाधार निर्माणका क्रममा तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

उहाँले सरकार बजेट बनाउने समयमा रहेकाले आगामी बजेटमा यहाँको विकास निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताउनुभयो ।

धार्मिक एवं ऐतिहासिक स्थलकारुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिवधामका रुपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँडले बताउनुभयो ।

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख बिच भेटर्वार्ता

काठमाडौँ, १७ वैशाखः गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज भेटवार्ता गर्नुभएको छ ।

नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरुद्ध रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताउनुभयो ।

सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल–भारतबीचको सम्बन्ध दृढ छ”, उहाँले भन्नुभयो, “कुनै पनि विषयले मित्रवत सम्बन्धमा असर पर्दैन ।” उहाँले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गर्नुभयो । विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।

सुनको मूल्य घट्यो, प्रतिताेला कति ?

काठमाडौँ, १७ वैशाखः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।  

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

कञ्चनपुर, १७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुग्नुभएका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताउनुभयो ।

अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उहाँले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताउनुभयो ।

जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन भन्नुभयो ।

त्यस अवसरमा उहाँले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजाको अध्यक्ष दाहालले उद्घाटन गर्नुभएको छ । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उहाँले अवलोकन गर्नुभएको छ ।

आजै अध्यक्ष दाहालले पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गर्नुभयो । भेटमा उहाँले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

आगामी आवको बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्ने बताएका छन् । काठमाडौँमा आन्दोलनरत शिक्षकका माग सम्बोधनको निम्ति जरुरी सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएको पूर्वमन्त्री पाण्डेको भनाइ छ । राससका समाचारदाता सुशील दर्नालले सचेतक पाण्डेसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईँ आजभोलि केमा व्यस्त हुनुहुन्छ, दिनचर्या कसरी बितिरहेको छ ?

यही वैशाख १२ गतेदेखि सङ्घीय संसद्को छैटौँ अधिवेशन चलिरहेको छ । त्यसैले यो अधिवेशनको बैठक, समितिहरूको बैठक र तिनीहरूको व्यवस्थापनको काम भइरहेको छ । सँगसँगै, यो अधिवेशनमा भएका सैद्धान्तिक छलफल र विधेयक संशोधनको तयारीमा व्यस्त हुँदै आएको छु ।

संविधान जारी भएको दश वर्ष भयो, यो दश वर्षमा संविधान कार्यान्वयनको अवस्थालाई तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

संविधान जारी भएको अवधिमा हामीले २०७४ र २०७९ सालमा गरी दुईवटा निर्वाचन सम्पन्न गरिसकेका छौँ । अझै पनि संविधान कार्यान्वयनका लागि आवश्यक महत्त्वपूर्ण विधेयकहरू सरकारको तर्फबाट आउन सकेको छैन । त्यसका साथसाथै संविधानमा उल्लेख धेरै विषयवस्तु छन्, जो उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका बारेमा कार्यान्वयन हुनसकेको छैन । जस्तोः स्वयत्तता, स्वयत्त क्षेत्र, स्वायत्त विशेष क्षेत्रका विषयवस्तु कार्यान्वयनका लागि आएकै छैन । त्यसकारण संविधान कार्यान्वयनका लागि हामीले धेरै बाँकी छ भन्ने लाग्छ । अर्को कुरा, संविधान बनिसकेपछि एउटा सकारात्मक कुरा भनेको स्थानीय र प्रदेश सरकार सञ्चालन भइरहेका छन् । भूकम्प, कोराना, बाढीपहिरो वा विभिन्न समयमा हुने विपत्तिको समयमा स्थानीय सरकारले जनतालाई सेवा दिइरहेको छ । स्थानीय जनताले आफ्ना सेवा जनताले आफ्नो घरदैलोमा नै पाउनका लागि सहज भएको छ । सरकारले नीति तथा कार्यक्रम, बजेट, आर्थिक समृद्धिको विषय आउँदा अझै पनि पछाडि परेका छौँ । तर पनि खासगरी सुशासन र भ्रष्टाचारका विषयवस्तुमा जनताले प्रश्न गरिरहेका छन् । त्यसकारण २०७९ सालमा भएको आम निर्वाचनपछि बनेको हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आफ्ना मूल कार्यक्रम अगाडि बढाएको थियो । संविधान कार्यान्वयनको अवस्थामा हामीले राजनीतिक अधिकारप्राप्त भएको छ । सङ्घीययता, धर्मनिरपेक्षता र समावेशी, समानुपातिकलगायत संविधानले धेरै कुरा दिएको छ । तर आर्थिक विकासमा हाम्रो अझै ध्यान पुगेको छैन ।

माननीय प्रमुख सचेतकज्यू, यतिबेला संविधान संशोधनको विषय पनि चर्चामा आएको छ, यो संशोधनको विषयमा तपाईँको धारणा के छ ?

हामीले संविधानमा नै प्रत्येक दश वर्षमा संविधान संशोधन गर्न सकिने व्यवस्था गरेका छौँ । वर्तमान सरकार निर्माणको क्रममा संविधान संशोधनलाई पहिलो बुँदामा राखेका छन् । तर उनीहरूलाई जनतालाई झुक्याए भन्ने सन्दर्भ पनि छ । सरकार गठन भएको दश महिना हुँदा पनि संविधान संशोधनको विषय के हो भन्नेमै स्पष्ट छैन । त्यसकारण, संविधान संशोधन गर्नुपर्छ । तर संशोधन जनताको आम भावना मुखरित हुनेगरी अगाडि बढन्पर्छ । संशोधन आवशयक छ । तर हचुवाको भरमा हावा कुरा गरेर हुँदैन । संविधान संशोधनजस्तो गम्भीर विषय हलुका ढङ्गले लिनु हुँदैन । जुन अहिलेको सरकारले गरिरहेको छ । हाम्रो पार्टीले पहिलेदेखि नै शासकीय स्वरुपमा फरकमत राख्दै आएको छ । हामीले संविधान निर्माणकै क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ भनेका थियौँ । यो विषयमा संशोधन गर्न जरुरी छ । अरु धेरै विषय संशोधन गर्नुपर्ने छ । तर जनताको चाहनाबमोजिम सबैको सहमतिका आधारमा हुन जरुरी छ ।

नेकपा (माओवादी केन्द्र) संसद्को प्रमुख प्रतिपक्ष दल हो, तपाईँको पार्टी प्रतिपक्ष दलको कित्तामा रहँदै गर्दा संसद्मा तपाईँहरूको भूमिका कस्तो भइरहेको छ ?

अहिले हामीले संसद्मा जनताका आवश्यकतालाई प्राथमिकता दिएका छौँ । हामीले आत्मसमीक्षा गर्दै जनताका सवाललाई निकै गम्भीरताका साथ उठाउँदै आएका छौँ । हामीप्रति जनताको समृद्धि र सुशासनको अपेक्षालाई हाम्रो पार्टी सरकारमा हुँदा काम गर्न सकिएन कि भन्ने हामीलाई पनि लागेको छ । मुख्य कुरा हामीले अहिले देशमा भइरहेको सबै विषयवस्तुको वैचारिक नेतृत्व गरियो । परिवर्तनका लागि मुख्य भूमिका पनि खेलियो । उत्पीडित समुदायको अधिकार पनि संविधानमा लेखियो । तर, त्यसअनुसारको आर्थिक समृद्धि र सुशासन दिन सकिएन कि भन्ने लाग्छ । त्यसैले हामी जनतासँग जोडिने विषयमा हामीले समीक्षाका साथ तराई–मधेस जनजागरणसम्बन्धी जनतासँग अभियान नै सञ्चालन गरेका छौँ । झापाबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुँदैछ । अरु बाँकी रहेका मध्यपहाडीलगायतमा पनि हाम्रो अभियान जाने योजना छ । संविधानमा उल्लेख जनताका विषय कार्यान्वयन हुनुपर्छ भनेर पनि अभियान सुरु गरिएको हो ।

तपाईँ एउटा पार्टीको जिम्मेवार नेता हुनुहुन्छ, प्रमुख सचेतक पनि हुनुहुन्छ, हामी यतिबेला आगामी आर्थिक वर्ष २०८२/८३ बजेटको छलफलको चरणमै छौँ, तपाईँको विचारमा अबको बजेट कस्तो बन्नुपर्छ होला ?

आजै मात्र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्को अनुगमन तथा मूल्याङ्कन समिति (प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त) समितिमार्फत बजेटको सवालमा सरकारलाई सुझाव दिएको छ । निर्माण गर्दा सबैभन्दा पहिला जनतालाई विश्वास हुनेगरी निर्माण गर्नुपर्छ । बजेट ल्याउनेमात्र भन्दा पनि कार्यान्वयन मुख्य कुरा हो । त्यसैले कार्यान्वयन हुनेगरी अबको बजेट निर्माण गर्नुपर्छ । विगतका बजेटमा जे भनिएको छ, त्यसअनुसार पुँजीगत खर्च हुँदै हुँदैन । चालु खर्च बढ्दै जाने तर पुँजीगत खर्च नहुने भन्ने हुँदैन । आयोजना अलपत्र हुने भएको छ । राष्ट्रिय गौरवका आयोजना भन्ने तर बीसौँ वर्षसम्म पनि पूरा नहुने भएको छ । पूरा भएका राष्ट्रिय गौरवका आयोजनाको प्रतिफल पनि पहिले नै एकिन नहुने देखिएको छ । त्यसकारण अबको सरकारको नीति तथा कार्यक्रमले ठूलै परिवर्तन गर्नुपर्ने आवश्यकता छ जस्तो लाग्छ । सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ । रुग्ण अवस्थामा रहेका उद्योग र कलकारखाना सञ्चालन गर्नेगरी बजेटको व्यवस्था गरी जनतालाई विश्वासमा लिनुपर्छ । त्यससँगै हाम्रो मुख्य माग भनेको देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनु हो । यस विषयमा विगतका बजेटले पनि समेट्न सकेको छैन । अबको बजेटमा यो विषय समावेश हुनुपर्छ । बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्छ । जनताको रोजगारी सृजना गर्ने खालको हुनुपर्छ । युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ । हामी सामान्य कुरामा पनि परनिर्भर भएका छौँ । आत्मनिर्भर हुने खालको नीति तथा कार्यक्रम र त्यहीअनुसार बजेटको व्यवस्था हुनुपर्छ । नेपालका धातुको सम्भावना छ । फलाम र तामाजस्ता आधारभूत धातुहरू नेपालमा प्रशस्त खानेहरू छन् । त्यसका लागि जनशक्ति उत्पादन गर्ने खालको बजेट बनाउनुपर्छ । प्रविधिको प्रयोग गरेर धेरै विषयवस्तुमा काम गर्न सकिन्छ । बजेट निर्माण गर्दा जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर लैजानुपर्छ । हाम्रो देश नेपाल जलस्रोतको धनी देश भएर पनि चुरे संरक्षणमा ध्यान सकेका छैनौँ । चुरे संरक्षणमा ध्यान नदिँदा पानीका मुहान सुक्दै गएका छन् । त्यतातिर सरकारको ध्यान पुगोस् । यी विषयलाई नीति तथा कार्यक्रममा मात्र समावेश गर्ने होइन । नीति तथा कार्यक्रममा समावेश गरेर त्यसअनुसार बजेट आउनुपर्छ । हाम्रोमा अहिले राष्ट्रिय नीति एकातिर, चालु आवको नीति तथा कार्यक्रम र बजेट अर्कातिर भइरहेको छ । त्यसो हुनु भएन । त्यसकारण बजेट छुट्टै, नीति तथा कार्यक्रम छुट्टै हुनु हुँदैन ।

शिक्षकहरु विभिन्न माग राखेर लामो समयदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्, उनीहरूको माग सम्बोधनको निम्ति तपाईँको पहल भएको छ कि छैन होला ?

शिक्षकहरू सडक आन्दोलनमा छन् । आज २७औँ दिनसम्म उनीहरूले सडकमै आन्दोलन गरिरहेका छन् । उनीहरूले स्थानीय तह, सम्बन्धित विभाग, प्रदेश सरकार, विभिन्न पार्टीका केन्द्रीय कार्यालय हुँदै अहिले सडक आन्दोलनमा छन् । यो अत्यन्त महत्त्वपूर्ण विषयवस्तु हो भनेर हामीले हिजो मात्र सार्वजनिक जरुरी सार्वजनिक महत्वको विषय दर्ता गराएका छौँ । म आफैँ त्यसको प्रस्तावक छु । त्यसमा अन्य दलका सांसदको समर्थन छ । त्यसकारण जनताका मुख्य विषयवस्तुलाई हाम्रो पार्टीको ध्यान केन्द्रित हुँदै आएको छ । शिक्षा र स्वास्थ्यजस्ता महत्त्वपूर्ण विषयमा सरकारको चासो रहन जरुरी छ । उपयुक्त जनशक्ति निर्माण गर्ने मुख्य क्षेत्र भनेको शिक्षा र स्वास्थ्य नै हो । त्यसकारण सरकारले यी विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ । जे गर्नुपर्ने थियो त्यो गरेको छैन सरकारले । तर जे नगर्नुपर्ने हो त्यो गरिरहेको छ । सरकारको यो दश महिनाको अवधि हेर्दा पूर्ण रूपमा असफल भएको छ । त्यो कुरा नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको राजीनामाको विषयबाट पनि प्रष्ट हुन्छ । सरकार जनताको सवालमा भन्दा पनि बिचौलियालाई संरक्षण गर्ने विषयमा केन्द्रित भएको हो कि भन्ने देखिन्छ ।

सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउनु के गर्नुपर्छ ?

सङ्घीयतालाई अझै बलियो बनाउन कर्मचारी विधेयक, शिक्षा विधेयक र प्रहरीसँग सम्बन्धित बनाउनुपर्ने सबै ऐन समयमा नै बनाउनुपर्छ । म राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य पनि छु । शिक्षासम्बन्धी विधेयकका बारेमा उपसमितिले काम सकेर समितिलाई बुझाएको छ । त्यो रोकिरहेको छ । हाम्रो मान्यता त्यो रोकिनु हुँदैन भन्ने छ । यससँगै बजेटका सामान्य कुरा स्थानीय र प्रदेश सरकारलाई दिनुपर्छ । संविधानले स्थानीय तहलाई जे अधिकार दिएको छ, त्यो अधिकार उसैलाई दिनुपर्छ । प्रदेश तहलाई दिएको अधिकार उसैलाई दिनुपर्छ । तह मात्र बनाउने तर अधिकार केही पनि नदिने भन्ने हुँदैन । त्यसो गर्दा सङ्घीयता कार्यान्वयनमा जटिलता हुन्छ । तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्छ ।

भारतीय किसान आएर नवलपरासीको प्रतापपुरमा २० बिघा जग्गामा खरबुजा खेती

पाल्हीनन्दन (नवलपरासी ब सु प- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ स्थित २० बिघा जग्गामा खरबुजा खेती गरिएको छ । यहाँ भारतको उत्तर प्रदेश र हरियाणका बीस घरपरिवारले खेती गरेका हुन् ।

प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार भारतबाट आएर प्रतिबिघा वार्षिक रु ६० हजारका दरले भाडामा लिएर भारतीय नागरिकले खरबुजा तथा तरकारीखेती गरिरहेका छन् ।
गाउँपालिका–६ चोर्नीयाको बगरमा गरिएको खरबुजाखेतीबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । व्यापारीहरूले किसानको खेतबाटै खरबुजा खरिद गर्ने गरेका छन् ।

भारतीय निवासी किसान आरिफ खानले तीन वर्षदेखि आफूहरूले यहाँ खरबुजा तथा तरकारीखेती गर्दै आएको बताउनुभयो । उहाँका अनुसार प्रतिकेजी रु २० मा खरबुजा बिक्री हुने गरेको छ । विगतमा राम्रै आम्दानी भए पनि यस वर्ष खरबुजामा फङ्गस् रोग लागेर सोचेअनुसार उत्पादन नहुँदा केही घाटा लागेको आनको गुनासो छ ।

यहाँ उत्पादित खरबुजा काठमाडौँ, नारायणघाट, बुटवल, पोखरा, भैरहवा, चितवनसम्मका व्यापारीले खेतमै आएर लैजाने गरेका छन् । प्रतापपुर गाउँपालिका–८ निवासी प्रमोद सहानीले खरबुजाखेती गरेको खेतमा मुमफली (बदाम) कोसमेत उत्पादन हुने भएकाले कसैले भाडामा त कसैले अधियामा खेती गरिरहेका बताउनुभयो ।

‘लायन्स कप’ अन्तरराष्ट्रिय भलिबलमा दुई विदेशीसहित छ टोलीले प्रतिस्पर्धा गर्दै

कास्की-पोखरामा यही वैशाख १८ देखि पहिलो संस्करणको ‘लायन्स कप’ अन्तरराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रङ्गशालाको बहुउद्देश्शीय हलमा यही वैशाख २२ गतेसम्म ‘लिग कम नकआउट’ मा खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’का गर्भनर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा दुई विदेशीसहित छ टोलीको सहभागिता रहने उहाँले बताउनुभयो । उहाँका अनुसार विदेशी टोलीमा इरान र भारतको टोली रहेको छ । यसैगरी गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाख ४४ हजार चार सय ४४ सिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ । यसैगरी उपविजेताले नगद रु दुई लाख ४४ हजार चार सय, सिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ ।

तृतीय हुने टोलीले नगद रु एक लाख ४४ हजार चार सय ४४ सिल्ड, मेडल तथा ट्रफीद्वारा पाउने छ । विधागततर्फ उत्कृष्ट पाँच विधामा जनही रु आठ हजार चार सय ४४ का दरले नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर

काठमाडौँ, १७ वैशाख : नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी)का कार्यान्वयनका लागि रु ८८ अर्ब ६९ करोड अमेरिकी डलर आवश्यक पर्ने भएको छ । त्यसमध्ये २४.५ प्रतिशत अर्थात् २१.७३ अर्ब डलर आफ्नै स्रोतबाट र बाँकी ७५.५ प्रतिशत अर्थात ६६.९६ अर्ब डलर अन्तरराष्ट्रिय जलवायु वित्तीय सहायता र प्रविधि हस्तान्तरणबाट अपेक्षा गरिएको छ ।

नेपालले तयार गरेको तेस्रो एनडिसीको मस्यौदामा अन्तरराष्ट्रिय जलवायु कोष, ऋण राहत कार्यक्रम, हरित ऊर्जा ऋणपत्र (बन्ड) तथा कार्बन बजार जस्ता स्रोतबाट रकम सङ्कलन गर्ने रणनीति बनाएको छ । वैदेशिक जलवायु वित्त जुटाउन नसकेमा तेस्रो एनडिसीमा समावेश गरिएका जलवायुका महत्वाकाङ्क्षी लक्ष्य अधुरैै रहने चिन्ता पनि छ ।

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरुको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१)अन्तर्गत पेरिस सम्झौतामा आधारित भई मस्यौदा तयार गरेको हो । यतिबेला मन्त्रालयले मस्यौदामाथि सरोकारवालाहरुको लिखित राय सुझाव सङ्कलन गरिरहेको छ ।

पेरिस सम्झौतामा निर्धारित लक्ष्यअनुसार सबै पक्ष राष्ट्रहरूले पाँच वर्षको अन्तरालमा आफ्नो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गर्नुपर्ने प्रावधानअनुसार नेपालले मस्यौदा तयार गरेको हो । नेपालले सन् २०१६ र २०२० मा पहिलो र दोस्रो एनडिसी प्रस्तुत गरेको थियो । अब भने सन् २०२५ भित्र नेपालले तेस्रो एनडीसी पेस गर्ने लक्ष्यसहित प्रस्तावित तेसो राष्ट्रिय निर्धारित योगदानको मस्यौदामाथि प्रतिक्रिया सङ्कलन भइरहेको छ । २१औँ कोपको पेरिस सम्झौताले विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य राखेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले न्यून–कार्बन उत्सर्जनको मार्ग पछ्याएर तय गरिएको एनडिसीमा तोकिएका लक्ष्यहरु कार्यान्वयनका लागि नेपालको आन्तरिक स्रोतले मात्रै पूरा गर्न नसकिने बताउनुभयो । “आन्तरिक र वैदेशिक स्रोतबाट प्रतावित तेस्रो एनडिसीको कार्यान्वयन हुनेछ”, उहाँले भन्नुभयो, “जलवायुका योजनालाई राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय बजेटमा समेट्दै निर्णय प्रक्रियाका सबै तहमा एकीकृत गर्ने लक्ष्य छ ।”

ढकालका अनुसार मस्यौदामा नवीनतम जलवायु योजनामा कृषि, वन, फोहर व्यवस्थापन, र औद्योगिक क्षेत्रमा महत्वपूर्ण वित्तीय योजना समावेश छन् । एनडिसी ३.० मा समावेश लक्ष्यहरु हासिल गर्न सकिएमा नेपालको जलवायु अनुकूलन क्षमता वृद्धि हुने, ऊर्जा सुरक्षा कायम हुने र दिगो विकास लक्ष्य प्राप्तिमा सघाउ पुग्ने उहाँको भनाइ छ ।

जलवायु कोषमा पहुँच पु¥याउनुपर्छ ः विज्ञ

जलवायुविद् दीपक केसीले विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुझ्न सहयोग गर्नका लागि बनाइएको हरित जलवायु कोष, विश्वभरका वातावरणीय समस्याहरू समाधान गर्न बनाइएको वित्तीय संयन्त्र विश्व वातावरण सुविधा कोष, जलवायु परिवर्तनबाट प्रभावित भएका देशहरूलाई अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्न बनेको अर्को वित्तीय संयन्त्र अनुकूलन कोष, अल्पविकसित देशहरूको कोषमा वित्तीय पहुँच पु¥याउनुपर्ने सुझाव दिनुभएको छ । “तेस्रो एनडिसीका लक्ष्य पूरा गर्न लगानीको व्यवस्थापन मुख्य चुनौती हो”, उहाँले भन्नुभयो, “तर लगानी व्यवस्थापनका लागि वैदेशिक जलवायु वित्तमा नेपालले पहुँच पु¥याउन प्रयास गर्नुपर्छ र आफ्नो आन्तरिक स्रोतको क्षमता बलियो बनाउनुपर्छ । जलवायु वित्तका अन्य विकल्पहरु पनि खाज्दै गर्नुपर्छ ।”

निजी क्षेत्रको लगानी पनि अपरिहार्य

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको पर्यावरण संरक्षण र जलवायु परिवर्तन व्यवस्थापनका विज्ञ सदस्य डा माधवबहादुर कार्कीले तेस्रो एनडिसी पनि अझै बढी महत्वकाङ्क्षी रहेको भन्दै कार्यान्वयनका लागि निजी लगानी पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । “जलवायुमैत्री पूर्वाधार तथा उद्योग निर्माण तथा हरित ऊर्जामा निजी लगानी आकर्षण गर्न सकेमा एनडिसीको लक्ष्य कार्यान्वयनलाई थप सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसका लगि राज्यले लगानीमैत्री वातावरण र लगानीको सुरक्षा हुने वातावरण तय गर्नुपर्छ ।”

पर्याप्त अन्तरराष्ट्रिय जलवायु वित्तीय सहयोग आवश्यक

प्रस्तावित तेस्रोे मस्यौदा कार्यान्वयनका लागि पर्याप्त अन्तरराष्ट्रिय जलवायु वित्तीय सहयोग अपरिहार्य हुने मस्यौदामा उल्लेख छ । मस्यौदाअनुुसार जलवायु संवेदनशीलता, सामुदायिक रुपमा जलवायु अनुकूलनको क्षमता अभिवृद्धि तथा जलवायुजन्य हानी तथा नोक्सानी समाधानका लागि नेपालले आन्तरिक तथा अन्तरराष्ट्रिय स्रोतहरू रणनीतिक रूपमा परिचालन गरिने छ ।

मस्यौदामा नेपालले ऋणभार नबढाउन सहुलियतपूर्ण ऋण, वैदेशिक प्रत्यक्ष लगानी तथा उत्पादनशील क्षेत्रका स्वपुँजी प्रयोग गर्ने उल्लेख छ । “आन्तरिक रूपमा राष्ट्रिय बजेट, निजी क्षेत्रको लगानी, सार्वजनिक–निजी साझेदारी, भेञ्चर क्यापिटल, नागरिक लगानी कोष, कार्बन कर र कर छुट जस्ता संयन्त्रको प्रयोग गरिने उल्लेख छ”, प्रस्तावित मस्यौदामा उल्लेख छ, “स्थानीयस्तरमा हरित ऋणपत्र (बन्ड) तथा जलवायु अनुकूलन कोषजस्ता विकेन्द्रिकृत वित्तीय समाधानमार्फत स्रोतको न्यायसङ्गत वितरण सुनिश्चित गरिनेछ । साथै, प्रवासी नेपालीको रेमिट्यान्सलाई जलवायु प्रतिरोधी पूर्वाधार तथा नवीकरणीय ऊर्जामा लगानी गर्न प्रयोग गरिने छ ।”

अन्तरराष्ट्रियस्तरमा, नेपालले जलवायु कोषहरू, बहुपक्षीय विकास बैंकहरू, द्विपक्षीय सहयोग कोषहरू, ऋण–जलवायु साटासम्बन्धी सम्झौता र परोपकारी सहयोगबाट स्रोत जुटाउने मस्यादामा उल्लेख छ । जलवायु वित्तीय संयन्त्रहरूबाट वित्त स्रोत जुटाउने लक्ष्य लिइएको छ ।

जलवायु वित्तीय स्रोतमा प्रत्यक्ष पहुँच अभिवृद्धिका लागि, नेपालले आफ्नो राष्ट्रिय प्रणाली सुदृढ गर्ने, संस्थागत क्षमता निर्माण गर्ने, परियोजनालाई अन्तरराष्ट्रिय लगानीका लागि आकर्षक बनाउने, तत्परता अभिवृद्धि गर्ने, पारदर्शिता र प्रभावकारिताका लागि जलवायु वित्त ट्रयाकिङ र जवाफदेहिता प्रणाली स्थापना गरिने लक्ष्य राखिएको छ ।

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीतालाई नीतिमा समावेश गरिने, जलवायु नीतिहरूलाई प्रदेश र स्थानीय तहको विकास योजनामा प्रणालीगत रूपमा एकीकृत गरिने मस्यौदामा उल्लेख छ ।

कार्बन व्यापार लगानीको स्रोत

हरित ऊर्जाविद् पूजा शर्मा नेपालले कार्बन व्यापारबाट तेस्रो एनडिसी कार्यान्वयनलाई आवश्यक पर्ने लगानी व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । “नेपालले हरित ऊर्जा प्रवर्द्धनबाट कार्बन उत्सर्जन कटौती गर्न सक्ने र कार्बन कटौती गरेवापत धनी मुलुकहरुले प्रोत्साहन स्वरुप नेपालको कार्बन खरिद गरी आर्थिक लाभ हुन्छ”, उहाँले भन्नुभयो, “कार्बन व्यापारमार्फत जलवायु परियोजनाका लागि आम्दानी सिर्जना गर्न सहयोग पु¥याउने र न्यून–कार्बन विकास प्रवर्द्धन गर्नसक्छ ।”

उहाँ हरित ऊर्जामा लगानी बढाउन सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तय गर्नुपर्ने बताउनुहुन्छ । मस्यौदामा नेपालले कार्बन क्रेडिट ट्रयाक र व्यवस्थापन गर्न राष्ट्रिय कार्बन दर्ता प्रणाली विकास गरिने र कार्बन व्यापारको पारदर्शिता तथा प्रभावकारिता सुनिश्चित गर्न विस्तृत मार्केटिङ दिशानिर्देशहरू तयार गरिने रणनीति रहेको छ । नेपालले अनुकूलन, न्यूनीकरण, जलवायुजन्य सङ्कट सामना गर्न र पुनःस्थापनाका लागि छुट्टै कोषहरू स्थापना गर्ने योजना बनाएको छ ।

नेपालले २०३० र २०३५ सम्म नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा ठूलो वृद्धि गर्ने योजना बनाएको छ । नेपाल सरकारको लक्ष्यअनुसार सन् २०३० सम्म नवीकरणीय विद्युत् उत्पादन क्षमतामा १४ हजार ३१ मेगावाट र सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट ऊर्जा उत्पादनको लक्ष्य राखिएको छ ।

तेस्रो एनडिसिको लागत

नेपालको ऊर्जा क्षेत्रमा सन् २०२५ देखि २०३० सम्ममा करिक १० अर्ब अमेरिकी डलर निसर्त लागत र १९ दशमलव ७१ अर्ब अमेरिकी डलर सशर्त लागत लाग्ने अनुमान छ । साथै सन् २०३० देखि २०३५ सम्म निसर्ततर्फ ६ दशमलव ३१ अर्ब अमेरिकी डलर र ससर्त लागत करिब ४५ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

कृषि, वन र अन्य भूमिको उपयोगको क्षेत्रमा सन् २०३५ सम्ममा निसर्त लागत ५ दशमलव २४४ अर्ब अमेरिकी डलर र ससर्त लागत शून्य दशमलव ५७ अर्ब बजेट लाग्ने भएको छ । यसैगरी फोहर व्यवस्थापनको क्षेत्रमा सन् २०३० देखि २०३५ सम्ममा शून्य दशमलव १९ अर्ब अमेरिकी डलर निसर्त लागत लाग्ने मस्यौदामा उल्लेख छ ।

औद्योगिक प्रक्रिया र उत्पादन प्रयोगमा सन् २०३५ सम्ममा शून्य दशमलव ६८ अर्ब अमेरिकी डलर निसर्त लागत लाग्ने अनुमान गरिएको छ । यसरी सन् २०२५ देखि २०३० सम्ममा जम्मा निसर्त लागत करिब १० अर्ब अमेरिकी डलर, ससर्तमा करिब १९ अर्ब अमेरिकी डलर र सन् २०३० देखि २०३५ सम्ममा निसर्तमा ११ दशमलव ७६ अमेरिकी डलर र शसर्तमा ४७ दशमलव ८६ अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ ।

लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी, १७ वैशाख -लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।

धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हँुदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई–दुई करोडका बजेट विनियोजन गरेकामा रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उहाँले राससलाई जानकारी दिनुभयो ।

आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हँुदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो ।

चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा उनको स्विटर साँझ कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा अभिनेता विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको छन् भने चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ ।

यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने जर्मको गरेको छ ।
कार्यक्रममा कलाकार कार्कीले उसले फिल्ममा आफूले काफ्लेको भूमिका निर्वाह गरेको बताए । फिल्म एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले मन पराउँनेमा आफू विश्वस्त रहेको पनि उनी बताउँछन् ।

यस्तै ट्रेलर सार्वजनिक पश्चात कलाकार मिरुना मगरले आफू पूरै गुरुङको भूमिकामा रहि उनको स्विटरले दिने न्यानोपनको जस्तै न्यानोपनको महसुसगरी माया दिने पनि मौका पाएको बताइन् ।

‘चलचित्र घोषणादेखि अहिलेसम्म जतिपनि विषयबस्तु आएको छ मिडियाका साथिको साथै हाम्रा दर्शक सबैले धेरै माया दिनुभएको छ । त्यसको लागि मनैदेखि धन्यवाद । उनको स्विटर र आर्टमाण्डु टिमले मलाई यस्तो पात्र थमाइदिनुभएको फुल गुरुङ को जुन मैले गर्दा उनको स्विटरले दिने न्यानोपनको जसरी मैले त्यो न्यानोपनको महसुसगरी माया दिने पनि मैका पाए,’ उनले भनिन् ।

यो चलचित्र आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको हो भने चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् ।

डोटीमा जिप दुर्घटना: एकको मृत्यु, छ जना घाइते

दिपायल (डोटी), १७ वैशाखः धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए ।

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १७ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो १३०, चमसुरको साग रु १३०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १३०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४५०, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

पाकिस्तानमा जेलमा रहेका ८२० जना अफगानी कैदीलाई रिहा गरिएको छ ।उनीहरूलाई गत साता रिहा गरी स्वदेश फर्काइएको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो ।

ती बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान फर्केको मन्त्रालयले जनाएको छ ।
अहिले विदेशमा बसिरहेका करिब ७० लाख अफगानी शरणार्थीहरु अधिकांश कागजातविहिन रहेका छन् र उनीहरूमध्ये अधिकांश छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन् ।

अफगानिस्तानको अन्तरिम सरकारले शरणार्थीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

पुटिनलाई कुनै ‘पुरस्कार’ नदिई निष्पक्ष शान्तिको आह्वान गरिनुपर्ने जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्लादिमिर पुटिनलाई ‘पुरस्कार’ नदिई रुससँगको युद्धको ‘न्यायोचित’ अन्त्य गर्न आह्वान गर्नुभएको छ ।

पोल्याण्डले आयोजना गरेको शिखर सम्मेलनमा जेलेन्स्कीले भिडियो कन्फरेन्स सम्बोधनमार्फत भन्नुभयो, “हामी सबै यो युद्ध निष्पक्ष तरिकाले अन्त्य होस् भन्ने चाहन्छौं, विशेष गरी कुनै भूमि छोडिने छैन अर्थात् पुटिनका लागि कुनै पुरस्कार हुने छैन ।”

संयुक्त राज्य अमेरिकाले सन् २०१४ मा कब्जा गरेको क्रिमियाली प्रायद्वीपमा रुसी नियन्त्रणलाई स्वीकार गर्न र अग्रभागलाई स्थिर गर्न सुझाव दिएका रिपोर्टहरूको बीचमा यो टिप्पणी आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी नेताले ब्ल्याक सी प्रायद्वीपका लागि सहमति दिनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रुसले युद्धविरामको शर्तमा युक्रेनको दक्षिणी र पूर्वी क्षेत्रमा आफ्नो कब्जामा रहेको क्षेत्र कायम राख्न र किएभले थप भूमि फिर्ता गर्न पटक–पटक माग गर्दै आएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो कब्जामा लिएको थियो ।
वासिङ्टनले यो हप्ता शान्ति प्रयासका लागि ‘महत्वपूर्ण’ हुने बताएको छ ।

आज लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान

काठमाडौँ, १७ वैशाखः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ ।

त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सर्लाहीमा बढ्न सकेन चैते धानखेती,मुख्य चुनौती सिँचाइ

बरहथवा (सर्लाही), १७ वैशाख : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । जुन सम्भावनाको हिसाबले निकै कम हो । कार्यालयले गरेको अध्ययनअनुसार जिल्लामा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सकिने सम्भावना छ । पाँच वर्ष परियोजनाअन्तर्गत किसानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत खेती बढ्न नसकेको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहले जानकारी दिनुभयो ।

अधिकांश समथर भूभाग रहेको जिल्ला कृषि उत्पादनको हिसाबले उपयुक्त ठाउँ मानिन्छ । धान, मकै, गहुँ, कोदो, जौ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन् । क्षेत्रफलको हिसाबले हेर्ने हो भने वर्षे धानखेती ४५ हजार नौ सय ५० हेक्टरमा हुँदै आएको छ भने प्रत्येक वर्ष एक लाख ६७ हजार दुई सय ५८ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ ।

यद्यपि किसानहरू चैते धानखेतीमा भने आकर्षित हुन नसकेको परियोजना प्रमुख साहले बताउनुभयो । चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र घोषणा गरेको थियो ।

विसं २०७३ मा परियोजना सुरु हुनुअघि किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायतको सामग्री अनुदानमा उपलब्ध गराइएको थियो । कमान्ड क्षेत्रमा समेत खेती विस्तार हुन नसक्दा यहाँ चैते धानखेती नगन्य मात्रामा भइरहेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती भइहेको छ । सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०÷१० हेक्टर क्षेत्रमा चैते धानखेती हुँदै आएको छ । बाँकी पालिकाहरूमा ५, ३, २, हेक्टरमा खेती हुने गरेको तथ्याङ्क छ ।

मुख्य चुनौती सिँचाइ

चैते धानखेतीका लागि मुख्य समस्या सिँचाइ हुने गरको छ । सिँचाइ अभावकै कारण यहाँ चैते धानखेती बढ्न नसकेको स्थानीय किसानहरूले बताएका छन् ।किसानले चैते धानको लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन् । सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायको भनाइ छ । “यो खडेरी पर्ने समय हो, खेतमा प्रत्येक तीनदेखि पाँच दिनमा पानी हाल्नु पर्छ, सिँचाइ सुविधा नहुँदा समस्या भएको हो”, उहाँले भन्नुभयो ।

जिल्लाका अधिकांश किसानहरूले सुरुमा पम्पसेट र विद्युतीय मोटरको प्रयोग गरी सिँचाइ गरे पनि अहिले समस्या भइरहेको छ । उत्पादनका हिसाबले हेर्दा वर्खे धानको तुलनामा चैते धान धेरै फल्छ । वर्खे धान प्रतिहेक्टर ३.६४ मेट्रिकटन फल्छ भने चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.६६ मेट्रिकटन रहेको छ । यसबाट पनि किसानले लाभ लिन सक्ने देखिए पनि सिँचाइको अभावले लाभ लिन नसकिएको उनीहरुको भनाइ छ ।

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्बिरोध निर्वाचित

काठमाडौँ, १७ वैशाखः नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताउनुभयो । यसैगरी सङ्घको सदस्यहरुमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र विदित श्रेष्ठ निर्वाचित हुनुभयो । 

साधारणसभाको उद्घाटन गर्नुहुँदै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशले राम्रो प्रचारप्रसार एवं व्यवस्थापन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने भएकाले त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पाँच दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र थाइल्याण्डको राजधानी बैङ्ककको विमानस्थल उस्तै भएपनि अहिले बैङ्ककको विमानस्थल पर्यटक आगमनकै कारण बिस्तार भएर विश्वकै ठूलामध्येमा पर्ने बताउनुहुँदै उहाँले पर्यटक भित्र्याउन विमानस्थलको क्षमता पनि बिस्तार गरिनुपर्ने बताउनुभयो । 

नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपाललाई अन्तरराष्ट्रियस्तरमा प्रमुख गन्तव्य स्थलका रुपमा विकास गराउने उद्देश्यले बोर्ड स्थापना गरी लक्ष्य हासिल गर्न काम भइरहेको बताउनुभयो । धर्म, संस्कृति अध्ययन सङ्घ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा सोमप्रसाद खतिवडाले लुम्बिनी आउने पर्यटक काठमाडौँ नआउने गरेको र कपिलवस्तुमा लैजान भद्रगोल अवस्था रहेकाले सुधार गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो । 

टे«किङ एजेन्सी एसोसियसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले उद्यम गर्न सहज वातावरणका लागि सबै एक हुनुपर्ने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डेले मानसरोवर यात्रामा सहजीकरण भएको बताउनुभयो । 

सङ्घका नवनिर्वाचित अध्यक्ष सिग्देलले पनौती, हेलम्बु, चन्द्रागिरी, नुवाकोटलगायत स्थल क्षेत्रमा धार्मिक एवं सांस्कृतिक अनुसन्धान गरिएको बताउँदै अब त्यस आधारमा गतिविधि सञ्चालन गरिने बताउनुभयो । 

कार्यक्रममा पर्यटन क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । त्यसअवसरमा पर्यटन व्यवसायी रामशरण नेपाल, पर्यटन यातायात व्यवसायी सम्मान केदारनाथ कट्टेल, पर्यटन व्यसायी सम्मान विकास थापा, चिया व्यवसायी रामेश्वर महर्जन, पर्यटन तथा पथप्रदर्शक राजकाजी महर्जन र होटल व्यवसायी चिरञ्जीवी भट्ट उत्कृष्ट सेवा प्रदान गरिए उल्लेख गर्दै सम्मानित गरिएको थियो ।

माल्टा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने सुजनकुमार काठमाडौँबाट पक्राउ

काठमाडौँ-वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रु २४ लाख लिई माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”    निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ९९  पैसा र बिक्रीदर १६५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ५९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा रहेको छ । भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

वैशाख शुक्ल तृतीयाः जौको सातु र सर्वत वितरण गरी अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ, १७ वैशाखः प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर  सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो । 

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।  

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरेपनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उहाँले भन्नुभयो ।

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।

सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ :शिक्षामन्त्री पन्त

काठमाडौँ, १७ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो ।

वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो । 

साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो । 

शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ । 

महासचिव पोखरेलसमक्ष ‘जरा केन्द्रित अभियान’को प्रतिवेदन पेस

काठमाडौँ, १६ वैशाख : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलसमक्ष एमाले कर्णाली प्रदेशले तीन महिने जरा केन्द्रित अभियानको प्रतिवेदन पेस गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज एमाले कर्णाली प्रदेश इञ्चार्ज गोरख बोगटीले अभियानको प्रतिवेदन महासचिव पोखरेलसमक्ष पेस गर्नुभएको हो ।

प्रतिवेदनमा कर्णालीका गाउँ–गाउँमा पार्टी सङ्गठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको इञ्चार्ज बोगटीले जानकारी दिनुभयो । उहाँले महासचिव पोखरेललाई अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त जानकारी गराउनुभएको थियो । इञ्चार्ज बोगटीले अभियानले कर्णाली पार्टीका स्थानीय कमिटीलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

अभियानका क्रममा स्थानीयस्तरका समस्या र आवश्यकता पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्त्वपूर्ण सुझावहरू सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । महासचिव पोखरेलले प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्याङ्कन गर्ने र आवश्यक निर्देशन दिने बताउनुभयो ।

अदालतको मानहानीमा सर्वोच्चले माग्यो कांग्रेस महामन्त्री थापासँग लिखित जवाफ

काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज लिखित जवाफ माग्ने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “संविधानको धारा १०५ ले आत्मसात गरेको सन्दर्भमा अदालतमा विचाराधीन मुद्दामा निस्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नुनगराउनु ।” कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको उल्लेख गर्दै कांग्रेस महामन्त्री थापाविरूद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गर्दै अदालतको अवहेलना निवेदन पेस गर्नुभएको थियो ।

मुस्ताङमा मनाइयो याकचौरी दिवस, याकचौरी पालक किसान सम्मानित

मुस्ताङ, १६ वैशाख : मुस्ताङमा पहिलो पटक याकचौरी दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सरकारले हिमाली क्षेत्रमापालन गरिने याकचौरी पालकको मागलाई सम्बोधन गर्दै ७ वैशाखलाई राष्ट्रिय दिवस मनाउने मान्यता दिएसँगै मुस्ताङ पनि नौ दिन ढिलोगरी याकचौरी दिवस मनाउन सुरू गरिएको हो ।

मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखोलामा मुस्ताङका याकचौरीपालक किसानको सङ्गठित संस्था हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङले सोमबार जिल्लामा पहिलो पटक लोपोन्मुख हिमाली याकचौरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

दिवसलाई भव्यतापूर्वक मनाउन थासाङको घट्टेखोलास्थित याकचौरीको रगत खाने मेलाको सन्दर्भ जोडेर विभिन्न खेलकुद तथा नृत्यलगायत कार्यक्रम समावेश गरी याकचौरी महोत्सव आयोजना गरिएको हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङका सचिव सोजन हिराचनले जानकारी दिनुभयो ।

मुस्ताङको थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा हिमालयन चौरीपालन तथा संरक्षण समितिले याकचौरी पालकलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमसहित परम्परागत तारा खेल प्रतियोगिता, डोरी तान्ने खेल प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना भएको हिमालय चौरीपालन तथा संरक्षण समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो ।

प्रथम याकचौरी दिवसका अवसरमा लगातार तीन पुस्तासम्म याकनाकपालन गर्दै आएका थासाङका कृष्णलाल भट्टचन र रमेश मगरलाई दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको छ । मुस्ताङमा सदियौँकालदेखि प्रचलनमा रहेको अचम्मको याकको रगत निकाल्ने प्रथालाई जीवन्तता दिँदै आएका आम्ची चन्द्रसिंह मगर, ईन्द्रसिंह मगर, ईन्द्रसिंह शेरचन, सकेन्द्र गौचन, पूर्णप्रसाद गौचन र आम्ची निलप्रसाद गौचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको हिमालयन चौरीपालन तथा सरक्षण समिति सचिव हिराचनले बताउँनुभयो ।

यसैगरी मुस्ताङमा सबैभन्दा ठूलो याकपालन गर्ने उत्कृष्ट किसानमध्ये थासाङ–५ कुञ्जोका याकचौरीपालक बुद्ध गौचनलाई पनि विशेष सम्मान गरिएको छ । सम्मान उत्कृष्ट पशुपालक किसान गौचनले ८ वर्ष उमेरको जम्बोयाक पालेका छन् । मुस्ताङमा आयोजित प्रथम याकचौरी दिवस तथा महोत्सवअन्तर्गत थासाङ गाउँपालिकाको वडास्तरीय परम्परागत तारा खेल प्रतियोगितामा लेते धम्पु प्रथम, कोवाङ दोस्रो र कुञ्जो तेस्रो भएका छन् । डोरी तान्ने प्रतियोगितामा आयोजक कोवाङ प्रथम दोस्रो स्थान टुकुचे विजेता भएका छन् ।

यसैगरी याकचोरी दिवसको महोत्सवमा नृत्यतर्फ आयोजक कोवाङ र दोस्रो कुञ्जो ताक्लुङ बिजेता बनेको समिति सचिव हिराचनले जानकारी दिनुभयो । यसअघि प्रथम जिल्लास्तरीय याकचौरी दिवसको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले उद्घाटन गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष गौचनले हिमाली क्षेत्रमापालन गरिने याकचौरीपालन व्यवसाय सङ्कटमा पर्दै गइरहेकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले याकचौरीको सुरक्षा दिगो उपयोगितामार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकुलन, जैविक विविधताको संरक्षण र हिमाली जीवन शैलीको सांस्कृतिक सशक्तीकरणमा योगदान पुर्‍याउने धारणा राख्नुभयो ।

पछिल्लो समय जलवायु सङ्कटका कारण हिमाली याकचौरीका लागि चरनक्षेत्र र खानीपानीको अभाव हुने गरेको र हिमाली उच्चलेकमा पालन गरिएका याकचौरीलाई वन्यजन्तुको जोखिम बढेको समितिका सचिव सोजन हिराचनले जानकारी दिनुभयो । मुस्ताङका पाँचवटै स्थानीय तहमा गरी चार हजार सात सयको सङ्ख्यामा याकचौरीपालन गरिएको छ । जसमध्ये मुस्ताङको थासाङमा हिमायन चौरीपालन तथा संक्षण उपसमितिका २२ घरधुरीको २२ वटा गोठमा ७ सय भन्द बढी याकचौरीपालन गरिएको छ ।

तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको छ’ :अध्यक्ष दाहाल

अत्तरिया(कैलाली), १६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताउनुभएको छ । अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति कैलालीले आज कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभामा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो,“अभियानका क्रममा हामीले जनताका दुःख, सुखका कुरा सुन्यौँ । उत्पीडित वर्ग समुदायका समस्या उहाँहरूकै बीचमा रहेर सुन्दा नयाँ उत्साह, आशा र भरोसा बढेको पाएका छौँ ।”

उहाँले जनतासँगको सम्बन्ध सुदृढ नहुँदा पार्टी कमजोर हुँदै गएको भन्दै त्यही सम्बन्धलाई सुदृढ बनाउन जागरण अभियान सुरु गरिएको बताउनुभयो । अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएका व्यक्तिका परिवारसँगको सम्बन्ध घनिष्ट र सुदृढ बनाएर नजानु विगतमा पार्टीको कमजोरी भएका र यसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“किसान, मजदुर, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायको सम्बन्धलाई बलियो बनाउँदै जाने कुरामा कमी हुनु नै हाम्रो कमजोरीको मुख्य कारण हो भन्ने निष्कर्ष निकालेपछि जागरण अभियान सुरु गरेका हौँ ।”

जनताको त्याग र बलिदानीबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले फेरि षडयन्त्र भइरहेको र त्यसलाई परास्त गर्न जनताको तागत आवश्यक हुने बताउनुभयो ।

गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान बुधबार कञ्चनपुरमा समापन हुने जनाइएको छ ।

६ एआईजीको पदस्थापन

काठमाडौँ । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार बढुवा भएकाहरूको मंगलबार पदस्थापन गरिएको जनाएको छ । बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी हुन् ।

उनीहरूलाई वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक गोगेन्द्रसिंह थापाका अनुसार खापुङलाई केन्द्रीय अनुसन्धानन ब्युरो, आचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, कार्कीलाई प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, अधिकारीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र केसीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा आजै पदस्थापन गरिएको छ ।

काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता काश्मिरमा भएको घातक आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘अपरेशनल फ्रिडम’ दिएको एक वरिष्ठ सरकारी स्रोतले मङ्गलबार एएफपीलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार मोदीले सेना र सुरक्षा प्रमुखहरूलाई बन्द कोठामा भएको बैठकमा आतङ्कवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय सङ्कल्प भएको बताउनुभएको थियो ।

मोदीले भन्नुभयो, “काश्मिरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ ।”

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’ : मुख्यमन्त्री कार्की

बिर्तामोड, १६ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कोशी प्रदेशलाई लगानीमैत्री गन्तव्य बनाउने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

लगानी सम्मेलनको तयारीबारे राससलाई जानकारी दिँदै उहाँले आर्थिक समृद्धिको मूल आधार बनाउने दृढ विश्वासका साथ कोशी प्रदेश सरकार अघि बढेको र अथाह सम्भावनासहित तयारी अवस्थामा रहेको बताउनुभयो । 

कोशी प्रदेश सरकारले यही १८ गतेदेखि विराटनगरमा आयोजना गर्न लागिएको ऐतिहासिक लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले अबका दिनमा कोशी प्रदेशले आर्थिक छलाङ मार्ने विश्वास बढेको बताउनुभयो ।

मुख्यमन्त्री  कार्कीका अनुसार कोशी प्रदेश सरकारले ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन, उद्योग तथा सूचना प्रविधिलाई प्राथमिक लगानी क्षेत्रका रूपमा पहिचान गर्दै सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

“हामीले लगानीकर्ताका लागि सहुलियत, सुरक्षा र सहजीकरण सुनिश्चित गरेका छौँ”, उहाँले भन्नुभयो, “सम्मेलनपछि कोशी प्रदेशमा प्रत्यक्ष वैदेशिक र आन्तरिक लगानी प्रवाह तीव्र हुनेछ ।”

मुख्यमन्त्री कार्कीले सम्मेलनलाई प्रदेश विकासको ‘टर्निङ प्वाइन्ट’ का रूपमा चित्रण गर्दै भन्नुभयो, “यो केवल सम्मेलन मात्र होइन, दीर्घकालीन आर्थिक नीतिको यात्राको थालनी हो । हामीले नीति, संरचना र मनोवृत्तिमा आमूल परिवर्तन ल्याउने अठोट गरेका छौँ ।”

कोशी प्रदेशले सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका अग्रणी व्यवसायी, बैंक तथा वित्तीय संस्था, विदेशी नियोग, विकास साझेदार र विभिन्न मुलुकका सम्भावित लगानीकर्ताको सहभागिता रहने जनाएको छ । प्रदेश सरकारले सम्मेलन सफल पार्न व्यापक प्रचारप्रसार, नीति सुधार र समन्वयात्मक पहलहरू अघि सारेको बताइएको छ ।