`

गण्डकी प्रदेशसभाः विषयगत समितिमा विभिन्न विधेयकमाथि छलफल जारी

गण्डकी, १६ वैशाखः गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका विभिन्न विधेयकमाथि सम्बन्धित विषयगत समितिमा दफावार छलफल जारी छ ।

प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफलपछि दश वटा विधेयक विषयगत समितिमा हाल दफावार छलफलका क्रममा रहेका छन् । अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आजदेखि औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल सुरु भएको जानकारी दिनुभयो । “आजको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री सचिव, विषयगत समितिका सदस्यहरूले विधेयकमाथि धारणा राख्नुभएको छ”, उहाँले भन्नुभयो, “आगामी २१ गते बस्ने समितिको अर्को बैठकमा सरोकार भएका पक्षहरूसँग उक्त विधेयकबारे छलफल गर्छौं ।” 

सभापति अर्यालका अनुसार अर्थ तथा विकास समितिमा खानी तथा खनिज, घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयक पनि दफावार छलफलका क्रममा रहेको छ । समितिमा रहेका विधेयकमाथि निरन्तर छलफल हुने उहाँले बताउनुभयो ।

सामाजिक विकास तथा कृषि समितिमा छ वटा विधेयक छलफलका लागि आएको समितिका सचिव शशीधर सुवेदीले जानकारी दिनुभयो । आज गण्डकी प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था बनेको विधेयकमाथि सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र समितिका सदस्यहरूबीच छलफल भएको उहाँले बताउनुभयो । बुधबारको बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ ।
सोमबार बसेको उक्त समितिको बैठकमा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयकमाथि विज्ञसहितले सुझाव दिएका थिए ।

समितिका सचिव सुवेदीका अनुसार सामाजिक विकास तथा कृषि समितिमा विद्युत् विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवा, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनेसम्बन्धी र दलित अधिकार तथा सशक्तीकरणसम्बन्धी विधेयक छलफलका क्रममा छ । 

समितिमा दफावार छलफपछि विधेयकलाई प्रतिवेदनसहित प्रदेशसभा बैठकमा पेस गरिने सचिव सुवेदीले बताउनुभयो । विषयगत समिति र प्रदेशसभा बैठकमा छलफल भएपछि कानुन निर्माणको प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विधेयक अधिवेशनका रूपमा लिइने प्रदेशसभाको हिउँदे अधिवेशनबाट दश वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा लगिएका थिए । 

लगानी अनुकूल वातावरण बनाउन ल्याइएको अध्यादेश स्वीकृत गर्ने निर्णय

विराटनगर, १६ वैशाखः कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक प्रदेशमा लगानीको अनुकूल वातावरण बनाउन आठ वटा ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८२ स्वीकृत गरेको छ ।

आज बसेको बैठकले प्रदेश सरकाले आयोजना गर्ने आसत्र लगानी सम्मेलनलाई लक्षित गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सहजीकरणका लागि अध्यादेश स्वीकृत गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

स्वीकृत अध्यादेश आजै प्रदेश प्रमुखको कार्यालयमा पठाइने र प्रणाणिकरणलगत्तै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । संशोधन गर्ने आठवटा ऐनमा सार्वजनिक निजी साझेदारी ऐन, २०७६, प्रदेश सहकारी ऐन,२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, भवन ऐन, २०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन, २०७७, प्रदेश पर्यटन विकास ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन, २०७७ र प्रदेश वन ऐन, २०७७ रहेका छन् । 

कोशी प्रदेश लगानी सम्मेलन सन् २०२५ को अवसरमा प्रदेश सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त प्रतिबद्धता आजै सार्वजनिक गरिने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । यहाँ यही वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन आयोजना हुँदैछ । बैठकलले प्रदेशको प्रमुख सचिवमा चन्द्रकला पौडेललाई स्वागत गर्ने निर्णयसमेत गरेको छ ।

झुट्टा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा

गोलबजार(सिरहा), १६ वैशाखः यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार उक्त विद्यालयको मावि तहमा नियुक्तिका लागि झुट्टा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाइ पटकपटक झुट्टा कागजात पेस गरी राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका छन् ।

आरोपित शिक्षकमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

काठमाडौँ , १६ वैशाखः नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको छ ।

पर्यटकीयउपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि प्रोत्साहित गर्न र मुलुकको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने काम भइरहेको बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले विद्यमान पर्यटन प्रवर्द्धन र प्रचारका लागि नयाँ पुस्तालाई जोडेर प्रविधिको उपयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकाले हामीले पनि नयाँ गन्तव्यको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।”

हाल देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सिइओ जोशीले त्यसको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभरका सातै प्रदेशमा ‘कन्टेन्ट क्रियटर’का रूपमा लागिरहेका युवा पुस्ताले खोजीका साथै दूरदराजका वैभव र विशेषतालाई प्रचार एवं प्रवर्द्धन गरिरहनुभएको छ । उहाँहरूलाई पर्यटकीयउपज उत्पादकसँग जोड्नका लागि पनि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रवर्द्धन हुन नसकेका गन्व्यहरूको भिडियो सामग्रीसमेत समावेश गरिएका थिए । सिइयो जोशीले आगामी दिनमा पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेका युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकासमेत बताउनुभयो ।

लेखक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटनउपज उत्पादक र कन्टेन्ट क्रियटरलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न आग्रह गर्नुभयो । “पर्यटन प्रवर्द्धनका लागि हाम्रो परम्परागत शैली परिवर्तन गरेर जानुपर्ने थियो । बोर्डले यो जमर्को गरेको सकारात्मक सङ्केत हो । अब हामीसँग हिमाल र सगरमाथा छ भनेर मात्र नपुग्ने भएकाले सांस्कृतिक र अन्य प्राकृतिक वैभवताबारे पनि प्रचार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि देशभरमा युवा पुस्ताले व्यक्तिगत रूपमा काम गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन । सरोकार भएका निकाय मिलेर यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्छ ।”

कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्जु) र सुदूरपश्चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहितको श्रव्यदृश्य सामग्री प्रस्तुत गरेका थिए । साथै ‘कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटर’बीच अन्तरक्रियासमेत गरिएको थियो ।

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १६ वैशाख : स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मङ्गलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गर्नुभयो ।

प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना सन्देश प्रस्तुत गर्दै  उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिनुभयो ।

सो अवसरमा महासचिव पोलोलिकाश्विलीले अन्तरराष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकामा बधाई दिँदै नेपालको प्रयासको सराहना गर्नुयभो । उहाँले नेपालको पर्यटन क्षेत्रको पुनःरूत्थान र विश्व पर्यटनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको नेपाली दूतावासले जनाएको छ । 

राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकताजस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवर्द्धनबारे जानकारी दिँदै भविष्यमा युएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव गर्नुभएको थियो ।

भेटमा नेपाल र युएन टुरिजमबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो । महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिनुभएको नेपाली दूतावासले जनाएको छ । 

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयको पहल

काठमाडौँ, १६ वैशाख : राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन प्रतिवेदनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसहित छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा र निजी सचिवालयका कर्मचारीको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माणाधीन राष्ट्रिय प्राथमिकताप्राप्त विभिन्न सडक आयोजनाको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा विकास निर्माणमा देखिएका समस्याबारे प्रस्तुति गरिएको थियो ।  

छलफलमा प्रधानमन्त्रीका निजी सचिव (सहसचिव) विनोदबहादुर कुँवरले  काँकडभिट्टा–लोकही सडक, कञ्चनपुर–कमला, कमला–पथलैया, नारायणगढ–बुटवल तथा बुटवल–गोरूसिङ्गे सडकखण्ड, नागढुङ्गा–नौबिसे–मुग्लिङ, मुग्लिङ–पोखरा सडकखण्ड साथै नागढुङ्गा र सिद्धबाबा सुरूङमार्गका स्थलगत वस्तुस्थिति प्रस्तुत गर्नुभएको थियो । प्रधानमन्त्री कार्यालयका सिडिइ मोहदत्त भट्टले देखिएका समस्या र समाधानका उपायहरूबारे सुुझाव प्रस्तुत गर्नुभयो ।

आयोजना सञ्चालनमा देखिएका स्थलगत खानेपानी, ढल, रूख कटान, विद्युत् पोल स्थानान्तरण, अप्टिकल फाइबर व्यवस्थापनका कारणले भइरहेको आयोजनागत ढिलाइमा सुधार ल्याउन समन्वयात्मक कार्यशैली जरूरी भएको पाइएको छ । ती विषयमा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरणका उच्च पदाधिकारीले निकायगत धारणा व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको निरन्तर चासोमा रहेका देशभरका विकास आयोजनाको केही महिनादेखि निजी सचिवालयले निरन्तर फलोअप र सहजीकरण गर्दै आएको छ ।

छलफलबाट आयोजनामा अवरोध देखिएका नेपाल विद्युत् प्राधिकरणमा पोलहरू १५ दिनभित्र हटाउने, निजी जग्गाको ढुङ्गा, माटो, बालुवालगायतका निर्माण सामग्रीको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा उपयोग गर्ने स्थानीय तहले प्रचलित कानुनबमोजिम राजस्व लिई उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने  निष्कर्र्ष निकालिएको छ ।

यस्तै प्रत्येक स्थानीय तहले आर्थिक वर्ष सुरू भएको तीन महिनाभित्र स्थानीय निर्माण सामग्रीको ठेक्का व्यवस्थापन गर्नुपर्ने पक्षलाई ध्यान दिई राष्ट्रिय प्राथमिकताका आयोजनामा स्थानीय निर्माण सामग्री सहज उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने तय भएको छ ।

आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन तयारी र स्वीकृतिका लागि क्षेत्राधिकार पुनरावलोकन गर्ने व्यवस्थाका लागि वन तथा वातावरण मन्त्रालयबाट  प्रक्रिया अगाडि बढाउने पनि सुझाव दिइएको छ ।

यसैगरी आयोजनाहरूमा देखिएका व्यवधान, अवरोध, अनुगमन, कार्यप्रगतिलगायतका विषयमा तत्काल सहजीकरण एवं निकायको समन्वयलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अधिकार सम्पन्न उच्चस्तरीय समन्वय समिति गठन गर्ने प्रबन्ध मिलाउने  सिफारिस गरिएको छ ।

छलफलमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आयोजनाको शान्ति सुरक्षा र स्थलगत समस्याको समाधान गर्न मन्त्रालय सदैव तत्पर रहेको बताउनुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले स्थानीय तहको नदीजन्य प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनका लागि विकास ऐन जारी हुनुपर्ने धारणा राख्नुभयो । वन तथा वातावरण सचिव डा राजेन्द्रप्रसाद मिश्रले वन र वातावरणसम्बन्धी कानुन र क्षेत्राधिकारमा स्पष्टता आउनुपर्ने बताउनुभयो ।

सो अवसरूमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल, भौतिक तथा यातायात सचिव केशवकुमार शर्मा, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की,  खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य पनि सहभागी हुनुहुन्थ्यो ।

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’ : मन्त्री पौडेल

काठमाडौँ, १६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका तीनै तह मिलेर काम गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै उहाँले तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एक अर्काले फरकफरक ढङ्गले काम गरेर नतिजा दिन गाह्रो छ । बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौँ ।” स्थानीय तह, प्रदेश तथा सङ्घअन्तर्गतका अस्पतालमा भने जति जनशक्ति र स्रोत साधन पुर्‍याउन नसकिएको भन्दै मन्त्री पौडेलले एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र स्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताउनुभयो ।

मन्त्री पौडेलले उपचारात्मक सेवा सुधारसँगै रोग लाग्न नदिनका लागि निरोधात्मक पद्धतिमा काम गर्ने प्रयास सङ्घ सरकारले गरिरहेको भन्दै यसमा प्रदेश र स्थानीय तहबाट सहयोग अपेक्षा गरिएको बताउनुभयो । उहाँले सबै तहमा बीमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गर्नुभयो ।

बैठकमा विभिन्न प्रदेशका स्वास्थ्यमन्त्री, नगरपालिका तथा गाउँपालिका महासङ्घका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बिमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । 

सहिद र बेपत्ता व्यक्तिका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको छः अध्यक्ष दाहाल

गोदावरी (कैलाली), १६ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

आज धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हाल देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ । म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौँ । यो सहिद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो ।”

कार्यक्रममा सहिद परिवारका तर्फबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले सहिद र बेपत्ता परिवारको मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “समस्या जहाँ हुन्छ, त्यस समाधान पनि हुन्छ, सोहीअनुसार यहाँहरूले राखेका माग सम्बोधनको प्रयास गर्नेछौँ, नसके केन्द्रमा पु¥याएर अगाडि बढाउनेछौँ”, उहाँले भन्नुयो ।
अध्यक्ष दाहालले द्वन्द्वमा भएका घटनाको निकाश दिन सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनेको र त्यसकै आधारमा बाँकी प्रक्रियाले गति लिने धारणा राख्नुभयो । उहाँले आयोग बनेपछि राज्यले सहिद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, प्रमाणपत्र वितरणलगायत सहिदहरूको सम्मान र स्मृतिका लागि आवश्यक काम गरिने बताउनुभयो ।

सहिद र बेपत्ता भएका परिवारका कम्तीमा एक जनालाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको अध्यक्ष दाहालको भनाइ थियो । 

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक

काठमाडौँ, १६ वैशाख : सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था चिन्ताजनक रहेको विश्व मानव अधिकार प्रतिवेदनले देखाएको छ । एम्नेस्टी इन्टरनेसनलले आज सार्वजनिक गरेको ‘सन् २०२४ को विश्व मानवअधिकार अवस्था’ नामक प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था चिन्ताजनक भएको देखाएको हो ।

प्रतिवेदनमा सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तघुलित भएको एउटा क्रुर नयाँ युगतर्फ धकेल्दै गएको उल्लेख गरिएको छ ।

एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापीरूपमा नै मानवअधिकार सङ्कट पैदा हुने जनाएको छ । प्रतिवेदनले विश्वभरी भइरहेको अधिनायकवादी अभ्यासले विमतिप्रति निर्मम दमन भएको उल्लेख गरेको छ ।

प्रतिवेदनले जलवायु सङ्कटलाई सम्बोधन गर्न, बढ्दो असमानतालाई उल्ट्याउन र कर्पोरेट शक्तिलाई नियन्त्रण गर्नमा भएको सामूहिक विफलताका कारण विश्वले भावी पुस्तालाई सदाभन्दा झन कठोरतातर्फ धकेलिरहेको प्रमाण प्रस्तुत गरेको छ ।

नयाँ प्रविधिलाई पर्याप्त रूपमा नियमन गर्न विफल भएर, निगरानी उपकरणको दुरूपयोग गरेर र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगमार्फत विभेद् र असमानताको जरालाई अझ गहिराइमा पुर्‍याएर सरकारले वर्तमान र भावी पुस्तालाई थप हानी पुर्‍याइरहेको प्रतिवेदनमा उल्लेख छ ।

मानव अधिकार खोस्न खोज्ने शक्ति र नाफाखोर लापरवाह राज्यसत्ताको विरूद्ध प्रतिरोध गर्नैपर्ने र विशाल र अवचलित आन्दोलन यस धर्तीका सबै मानिसको अन्तर्निहित मर्यादा र मानव अधिकारप्रतिको साझा विश्वासमा सदासर्वदा एकताबद्ध रहने एम्नेस्टीले जनाएको छ ।

एम्नेस्टीले एसिया–प्रशान्त क्षेत्रको सिंहावलोकन गर्दा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख गरेको छ । प्रतिवेदनमा राजनीतिक अस्थिरताले मानवअधिकारको अवस्थामा योगदान पुर्‍याएको सबैभन्दा धेरै जोखिममा मानव अधिकार रक्षक र अभियन्ता रहेको देखाएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचित लगाउने, भेला हुने र सङ्घ/सङ्घठनको प्रदर्शनमाथि दमन, जलवायु परिर्वतनले थप विषाक्त वायु प्रदूषणको मारमा परेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा एम्नेस्टी इन्टरनेसनलका अध्यक्ष विपिन बुढाथोकी र प्रयन्त नेपालका अध्यक्ष सरिता लामिछानेले संयुक्तरूपमा उक्त प्रतिवेदनको सार्वजनिक गर्नुभएको थियो । उहाँहरूले नेपालमा पनि मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो ।

एम्नेस्टी इन्टरनेसनलले निर्देशक निराजन थपलियाले प्रस्तुत गर्नुभएको उक्त विश्व मानव अधिवकार प्रतिवेदनमा सन् २०२४ मा ३०० पत्रकार मारिएको र त्यसमध्ये प्यालेस्टेनी पत्रकार १०० रहेको उल्लेख छ । “सन् २०२४ मा विश्वभरि नै मानव अधिकारको अवस्था चिन्ताजनक रह्यो”–निर्देशक थपलियाले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय सहायता करिडोरको प्रस्तावमा बङ्गलादेशको समर्थन

बङ्गलादेशको अन्तरिम सरकारले म्यानमाको रखाइन राज्यका भोकमरीमा परेका सर्वसाधारणसम्म पुग्न आफ्नो भूमि हुँदै संयुक्त राष्ट्रसङ्घीय सहायता करिडोर निर्माणका लागि खुला रहेको मङ्गलबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले गत मार्चमा बङ्गलादेश भ्रमणका क्रममा उठाएको उक्त प्रस्तावको ढाकाका राजनीतिज्ञहरूले व्यापक आलोचना गरेका छन् ।

सन् २०१७ मा छिमेकी मुलुक म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या समुदायका करिब १० लाख सदस्य बङ्गलादेशको राहत शिविरमा बस्दै आएका छन् ।

रखाइन राज्यमा रहेको विद्रोही अराकान आर्मी (एए) आफ्नो पुरानो मातृभूमिमा जुन्ता सेनाविरुद्ध उभिएको छ भने बङ्गलादेश र संयुक्त राष्ट्रसङ्घले म्यानमारमा रोहिङ्ग्यालाई स्वदेश फर्कनका लागि शान्त वातावरण सुनिश्चितता गराउन चाहेका छन् ।

म्यान्माले एक शताब्दीभन्दा बढी समययताकै भीषण भूकम्प भोगेको एक महिना पूरा भएको छ । चार वर्षे गृहयुद्धमा मानवीय युद्धविरामका बावजुद सैन्य कारबाही निर्वाध रूपमा भइरहेको छ।

रोहिङ्ग्या मामिलासम्बन्धी अन्तरिम सरकारका सल्लाहकार खलीलुर रहमानले एएफपीसँग भन्नुभयो, “हाम्रो अडान के हो भने रखाइन राज्यमा संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा मानवीय सहायता प्राप्त भएमा बङ्गलादेश लजिस्टिक सहयोग प्रदान गर्न इच्छुक हुनेछ ।

“हामीलाई विश्वास छ संयुक्त राष्ट्रसङ्घको सहयोगमा मानवीय सहायताले राखिनलाई स्थिर बनाउन र शरणार्थीहरूको फिर्तीको लागि वातावरण सिर्जना गर्न मद्दत गर्नेछ।

रहमानले सहायतामार्ग परामर्शको चरणमा मात्र रहेको र यसका लागि विभिन्न समूहबीच सहमति आवश्यक रहेको बताएका छन् ।

उहाँले भन्नुभयो, “हामी यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घ र अन्य सम्बन्धित पक्षसँग सम्पर्कमा छौं ।

अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले आइतबार संयुक्त राष्ट्रसङ्घले केही शर्तमा सहमति जनाएमा ढाकाले ‘मानवीय मार्ग’बारे विचार गर्ने बताउनुभएको थियो तर यसले बङ्गलादेशका केही शक्तिशाली राजनीतिक दललाई चिन्तित तुल्याएको छ ।

प्रमुख बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले अन्तरिम सरकारले अन्य राजनीतिक दलसँग परामर्श गर्नुपर्ने बताउनुभएको छ ।

फखरुलले एक र्‍यालीका सहभागीलाई सम्बोधन गर्दै भन्नुभयो, “बङ्गलादेश हुँदै मानवीय मार्ग हाम्रो देशको स्वतन्त्रता र सार्वभौमिकताका साथै क्षेत्रीय शान्ति र स्थिरतासँग जोडिएको छ।”

जमात–ए–इस्लामीका प्रमुख शफिकुर रहमानले आफ्नो पार्टी सुरक्षासम्बन्धी विषयमा चिन्तित रहेको बताउनुभएको छ ।

बङ्गलादेशस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका लुइस बार्बरले उक्त प्रस्तावका लागि बङ्गलादेश र म्यान्माका अधिकारीहरूको स्वीकृति आवश्यक रहेको बताउनुभयो ।

बार्बरले भन्नुभयो, “कुनै पनि मानवीय सहायता वा बङ्गलादेशदेखि म्यान्मासम्मको सीमापार आपूर्तिका लागि सबैभन्दा पहिले दुई सरकारबीच सहमति हुनुपर्छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत प्रस्थान

काठमाडौँ, १६ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली आज भारततर्फ प्रस्थान गरेको छ । भारत सरकारको निमन्त्रणामा आज टोली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँबाट एक साताका लागि भारत भ्रमणमा गएको हो । दुवै देशको तर्फबाट मुख्यमन्त्रीस्तरीय औपचारिक विदेश भ्रमण पहिलोपटक हुन भएको हो ।

भारत भ्रमण जानुअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा छलफल हुने बताउनुभयो । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउलगायत ठाउँको भ्रमण गर्नेछ ।

टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेटपश्चात् लखनउबाट स्थलमार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहनुभएको छ ।

उपराष्ट्रपति यादवसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट

काठमाडौँ, १६ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (इयु) बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो । “नेपाल र इयुबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “इयु नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।” स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली सङ्घ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उहाँले कर्णाली प्रदेशमा इयुको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पु¥याएको बताउनुभयो ।

‘सगरमाथा संवाद’ को महत्त्वबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाडौँमा हुने जानकारी गराउनुभयो ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो । “युरोपेली सङ्घ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ”, उहाँले भन्नुभयो । राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा इयु लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेस प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेस प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।

कांग्रेसका विभिन्न विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको छ : सभापति देउवा

पाटन (ललितपुर), १६ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताउनुभएको छ । कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताउनुभयो ।

“प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्त्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ, महत्त्वपूर्ण सुझाव छन्, भोलिका दिनमा ती सुझाव हेर्नेछौँ । केही सुझाव हेर्दा खर्चिलो पनि छन्”, सभापति देउवाले भन्नुभयो । उहाँले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जनाउनुभयो । “विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्, पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताउनुभयो । “गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सीप, शक्ति र सामथ्र्य दिन सक्नुपर्छ, हामीले दिने सामाजिक भत्ता पनि वैज्ञानिक छैन, सम्पन्न र विपन्नलाई एउटै छ, सम्पन्न मानिसलाई चार हजार भत्ता दिएर विपन्नलाई न्याय गर्न सकिँदैन, अहिले कांग्रेस सरकारमा छ, विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्छ, शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो । “नागरिकहरू विपन्न भएसम्म पार्टी बलियो हुँदैन, विपन्नलाई हुने खाने वर्गमा बदल्ने गरी काम गर्नुपर्नेछ, विपन्नलाई माथि उठाउने हो, हाम्रो सैद्धान्तिक आधार यही हो,” महामन्त्री थापाले भन्नुभयो । उहाँले मानिसलाई प्राप्त भएको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार आर्थिकरूपमा विपन्न भएकै आधारमा उपयोग गर्न सकिँदैन भन्नु त्यो केवल औपचारिक भएको बताउनुभयो ।

“हामीले सार्वभौम नागरिकको समानतामा ध्यान दिनुपर्छ, नेपालको अर्थतन्त्रको आधार भनेको ज्ञान र सीप नै हो, मानिसलाई ज्ञान र सीपयुक्त बनाउनु जरुरी छ, विपन्न लक्षित कार्यक्रममा ज्ञान सीपले दक्ष बनाउने हुनुपर्छ, सीप सूचना र प्रविधिले ल्याएको परिवर्तनसँग मेलखाने र सँगसँगै जान सक्ने खालको हुनुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै विपन्न लक्षित कार्यक्रमका बारेमा विभागले गरेको प्रस्ताव ठीक भएको प्रतिक्रिया दिनुभयो । उहाँले प्रतिवेदन पार्टीको सम्पत्ति भयो भन्दै सङ्घीय बजेटमा पर्नुपर्ने कार्यक्रमका बारेमा सुझाव पेस गर्न आग्रह गर्नुभयो ।

पूर्वउपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्यो भने १५/२० वर्षसम्म प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदनले कोरेका खाकालाई पछ्याउने हो भने २० वर्षमा समृद्ध नेपाल निर्माण हुने धारणा राख्नुभयो ।

विपन्न उत्थान समन्वय विभागका प्रमुख डाक्टर गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट सङ्कलन गरेको तथ्य र तथ्याङ्कका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो । प्रतिवेदनमा वडा र स्थानीय तहले जमानी बसेर विपन्नलाई उद्यमशीलता र रोजगारीका लागि ऋण दिनुपर्ने प्रस्ताव समेटिएको उहाँले जानकारी गराउनुभयो ।

गुरुहरुको गुरुत्तोर जिम्मेवारी

अप्सरा गौतम/काठमाडौँ, १६ वैशाख – संस्कार भनेको असल आचरण, असल जीवनको दर्शन पवित्र शास्त्र हो । संस्कार साँघुरो छ भने खुकुलो पार्ने साहस राख्नुपर्छ । संस्कार यस्तो होस् सबैलाई आदर र माया गर्न सिकाओस्, सत्यतामा बाँच्न सिकाओस्, घृणाबाट प्रेम भावमा लिने गराओस्, पाप हैन, धर्म गर्न सिकाओस्, अहंकार र अहमता हैन, मिजास र मिलनसार बन्न सिकाओस्, मारेर रमाउने हैन बाचेर बचाउन सिकाओस् । सूचना प्रविधिको विकाससँगै रम्न र रमाउन सिकाओस् । यो नै जीवनको आदर्श हो । यतिबेला विद्यालयका शिक्षकहरु सडकमा आन्दोलनरत हुनुहुन्छ । आफ्ना मागहरु पूरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा त्यसले समाजमा खासगरी विद्यार्थीमा पार्ने प्रभावको बारेमा पनि सोच्नुपर्ने हुन्छ । गुरुको गुणले मानिसलाई चेतनाको पाठ सिकाउँछ ।

गुरुको समयले समयकै ज्ञान उत्पादन गरी संज्ञाको क्षेत्र व्यापक विस्तार गर्छ । ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्वको महत्व हुन्छ । साना नानीबाबुहरूको हातमा कलम समाएर क ख रा सिकाउने र पढाउने गुरुआमा गुरुहरूले दिनुभएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना पाएका हौं । हामी जुनसुकै दर्शन, धर्म सम्प्रदाय वा मूल्य मान्यतामा विश्वास राख्ने भए पनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुत्वको महत्व हुन्छ । यो ब्रह्माण्डमा सायद ज्ञान मात्रै यस्तो वस्तु हो, जसलाई जति बाँड्यो त्यति नै बढ्छ । तर पछिल्लो समय ज्ञान दिने गुरुको हातमा ढङ्गा, शिक्षकहरुबीच नै कुटाकुट, शिक्षकहरुलाई तितरबितर बनाउन पानीको फोहोरा हान्ने कामले समाजमा राम्रो सन्देश जाँदैन ।

अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ ज्योति वा प्रकाश गर्ने हो । आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्म स्वरूप मानिन्छन् । शिक्षकमा हुनैपर्ने सबैभन्दा प्रमुख पेसागत गुण हो । विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील हुनुपर्छ ।

यो समाज र देशलाई उन्नतिको दिशामा अगाडि बढाउन सक्षम नागरिकको निर्माणमा गुरुको ठूलो भूमिका रहेको हुन्छ । असल र योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन । शिक्षा भनेको केवल पठनपाठन मात्र होइन, त्यो जीवन बाँच्ने कला हो । शिक्षक त्यो हस्ती हो, जसले बालबालिकाको भविष्य निर्माण गर्छ, समाजमा मूल्य र चेतना स्थापना गर्छ । तर आजको समाजमा शिक्षकहरू आफ्नो पेसामा स्वाभिमान नभएर असन्तोष देखाइरहेका छन् । यसले विद्यार्थीको मनोविज्ञानमा गम्भीर असर पारिरहेको छ । बालबालिकाले देखिरहेका छन् कि शिक्षक सडकमा छन्, नारा लगाइरहेका छन्, आफ्नै हकको लागि भन्दै बारम्बार आन्दोलनमा छन् । यो दृश्यले शिक्षालाई प्रेरणाको होइन, सङ्घर्ष र निराशाको प्रतीक बनाइरहेको छ ।

राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निःस्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय शिक्षाविद्हरुको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावाट गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ । शिक्षाको मूल उद्देश्य भनेको जनता, समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति, प्रगतितर्फ लैजानु हो । तर अहिले दलीय राजनीति शिक्षण संस्थाहरुमा बढ्दै गइरहेको छ । राजनीति गर्नेहरुले आफू नेतृत्वमा पुग्न शिक्षण संस्थालाई बढी प्रयोग गरेको पाइन्छ ।

राणाशासन बेला नेपालको साक्षरता दर २५ प्रतिशत मात्र थियो अहिले साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । विस्तारै शिक्षा क्षेत्रमा आएको सुधारका कारण देशको राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ । पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्थासम्मको अवस्था शिक्षाको विकासका कारण भएको हो । राजनीतिमा भएको परिवर्तनले शिक्षामा पनि परिवर्तन ल्याएको हो । तर, हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञ व्यक्तित्वहरू भने शिक्षित कम छन् ।

संविधान जारी भएको नौ वर्षसम्म पनि संविधान अनुकूल शिक्षा ऐन निर्माण हुन सकिरहेको छैन । शिक्षाप्रति राजनीतिक दलहरुको गैरजिम्मेवारी र अक्षमताका कारण ढिलाइ भएको विश्लेषण हुँदै आएको छ । शिक्षा जनसरोकारको विषय हो । जनप्रतिनिधिका रुपमा राजनीतिक दल, नेताहरु शिक्षाका विषयमा स्पष्ट हुनुपर्छ ।  महत्वपूर्ण कुरा शिक्षक महासङ्घले उठाउँदै आएको मागमा बालबालिकाको सिकाइको पक्ष शून्य हुनु हो । शिक्षक नेताहरु स्वतः स्थायी, संविधानको व्यवस्था प्रतिकूल शिक्षामा स्थानीय सरकारको शासकीय प्रबन्धका खिलाफलगायत सार्वजनिक शिक्षामा दूरगामी रुपमा नकारात्मक असर गर्ने खालका मागको पक्षमा उभिदा प्रदर्शनको निकास जटिल मोडमा पुगेको छ । 

शिक्षकहरू ऐन माग्दै सडकमा आए पनि प्रक्रिया पूरा गर्नैपर्छ  । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएकामा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू आन्दोलनमा छन् । शिक्षक आन्दोलनमा विभिन्न प्रकारका शिक्षक सहभागी छन् । राहत एवं अस्थायी शिक्षक, साबिक उच्च माविका शिक्षक, बालविकास शिक्षकलगायत ऐन अभावमा बढी प्रभावित छन् । उनीहरूले लामो समयदेखि शिक्षण पेसा अपनाउँदै आए पनि स्थायित्व नभएको गुनासो गर्दै आइरहेका छन् । गत वर्ष सरकार र शिक्षकबीच भएको सहमतिमा राहतलगायत सबै प्रकारका शिक्षकको माग सम्बोधन गरिने उल्लेख छ  । राहत शिक्षकहरूका मागहरुलाई पनि राज्यले सम्बोधन गर्नुपर्ने हुन्छ । शिक्षकहरूलाई योग्यताअनुसार सेवा सुविधा दिन नसक्नु, समानता नहुनु र शिक्षा प्रणालीलाई दलगत राजनीतिक खेलको मैदान बनाइनु अहिलेको असन्तोषको मुख्य जड हो । राजनीतिक दलहरु शिक्षाका नीति निर्माणमा चासो गर्दैनन् । शिक्षामा लगानी कम छ, पूर्वाधारको अवस्था दयनीय छ र अनुगमनको संयन्त्र कमजोर छ । हामीले बिर्सनुहुँदैन, शिक्षा दलगत राजनीति होइन, संस्कारको आधार हो । गुरुहरुलाई राजनीतिकरण गरेर गिजोलेको पनि राजनीतिक दलहरुले नै हो ।

सरकारलाई राजस्व संकलनबाट खर्च धान्नै गाह्रो परिरहेको अवस्थामा थप आर्थिक भार लिएर शिक्षकको माग पूरा गर्न चुनौतीपूर्ण छ । नयाँ विद्यार्थी भर्ना अभियान मात्र होइन, नयाँ शैक्षिक सत्रसमेत शिक्षकको आन्दोलनले प्रभावित भएको छ । एसइईको कापी परीक्षण नगर्ने उनीहरुको चेतावनी छ भने कक्षा १२ को परीक्षासमेत प्रभावित भएको छ ।

शिक्षकहरुसँग यसअघि २०७५ सालमा ३० बुँदे सहमति भएको थियो भने २०७८ मा ५१ बुँदे सहमति भएको थियो । त्यस्तै २०८० सालमा आन्दोलनमा उत्रिएका शिक्षकसँग छबुँदे सहमति भएको थियो । तर, ती सहमति कार्यान्वयन नहुँदा आन्दोलनमा उत्रिनु परेको शिक्षकहरु भनाइ छ । ती सबै सहमतिहरु कार्यान्वयन गर्न देशको आर्थिक अवस्थाले भ्याउन नसक्ने सरकारको भनाइ छ । आन्दोलनरत शिक्षकले राखेका सबै माग पूरा गर्दा वार्षिक रु एक खर्बभन्दा बढीको दायित्व राज्यलाई सिर्जना हुने शिक्षा मन्त्रालयले अनुमान गरेको छ ।

हाल देशैभर ३० हजार ४०९ जना बालविकास शिक्षक, सात हजार ७६ जना विद्यालय कर्मचारी र २५ हजार ९५९ जना विद्यालय सहयोगी छन् । यी तीन प्रकारका कर्मचारी श्रमिकका लागि सरकारले २०८० साउन १ गतेदेखि तोकेको न्यूनतम रु १७ हजार ३०० तलब दिँदा तत्कालै राज्यकोषमा रु सात अर्बको दायित्व थपिन्छ । विद्यालय सहयोगीले मासिक रु आठ हजार ५०० तलब पाउँछन् । आन्दोलनरत शिक्षकहरुको मागअनुसार विद्यालय सहयोगीेको तलब रु १७ हजार ३०० पु¥याउँदा मासिक रु २२ करोड ८४ लाखको दायित्व बढ्छ । यी कर्मचारीको मासिक रु आठ हजार ८०० बढाउनुपर्ने हुन्छ । यस्तो रकम वार्षिक रु दुई अर्ब ७४ करोड हुन्छ ।

बालविकास शिक्षकको हालको मासिक पारिश्रमिक रु १० हजार छ । बालविकासका शिक्षकको पारिश्रमिक न्यूनतम श्रमिकसरह बनाउँदा मासिक रु २२ करोड १९ लाख मासिक दायित्व बढ्छ । यस्तो दायित्व वार्षिक रु दुई अर्ब ६६ करोडले बढ्छ । विद्यालय कर्मचारीले रु १३ हजार ५०० मासिक पारिश्रमिक पाउँदै आएका छन् । विद्यालय कर्मचारीको तलब रु १७ हजार तीन सय मात्रै पु¥याउँदा पनि हाल भएको जनशक्तिलाई रु दुई करोड ६८ लाख मासिक र रु ३२ करोड २६ लाख वार्षिक दायित्व बढ्छ । यो पारिश्रमिकलाई केही स्थानीय तहले थप गरेर रु १७ हजार पु¥याएका पनि छन् । अझै पनि यति नै दायित्व बढ्छ भन्ने यकिन छैन ।

तत्कालै मन्त्रिपरिषद्बाट निर्णय गराएर सामाजिक सुरक्षा, औषधि उपचार, दुर्गम भत्ता, ग्रेड मिलानदेखि बालविकासका कर्मचारीलाई न्यूनतम पारिश्रमिकसम्म वार्षिक रु सात अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । यो रकमबाहेक कर्मचारीलाई न्यूनतम बनाउँदा र त्योभन्दा बढी बालविकासलाई प्रावि शिक्षकसरह बनाउने हो भने पनि कम्तीमा रु ३३ हजार ९०२ पुग्न सक्छ । सरकारले २०७९÷८० देखि प्रावि तृतीय तहका शिक्षकको मासिक तलबलाई रु २८ हजार ६०० बाट बढाएर रु ३२ हजार ९०० पु¥याएको छ । मावि शिक्षककको तलब भने तृतीय श्रेणीकाको रु ३४ हजार ६८९ र प्रथम श्रेणीकाको हकमा रु ५६ हजार ६८७ रहेको छ । राहत, करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउनुपर्ने उनीहरुको माग रहेको छ । यसलाई पूरा गर्दा राज्यकोषमा दीर्घकालीन भार थपिनेछ ।

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गयो भनेर मात्र पुग्दैन । शिक्षक महासङ्घका सबै माग पूरा हुनुपर्छ भन्ने होइन, केही मागहरु जायज छन् भने केही मागहरुलाई सुधार्नुपर्ने पनि छन् । अबको विकल्प भनेको आन्दोलनको निकास खोज्नु र शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्नु हो । (लेखिका पत्रकार हुनुहुन्छ)

सयौँ एनआरएन अभियन्ताहरू काठमाडौँमा, कुनै पनि हालतमा महाधिवेशन पर नसार्न गरे अपिल

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा भाग लिन काठमाडौँ आइपुगेका प्रतिनिधि (डेलिगेट) हरूले तोकिएको समयमै महाधिवेशन आयोजना गर्न र कुनै पनि हालतमा पर नसार्न माग गरेका छन्।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) आह्वान गरेको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा उनीहरूले त्यस्तो माग गरेका हुन्।

सोमबार बेलुका बालुवाटारस्थित नेपाल हाउस क्याफेको सभा कक्षमा भेला भएका डेलिगेटहरूले अब महाधिवेशन पर सार्न व्यवहारिक रूपमा पनि सम्भव नहुने बताए।

स्विजरल्याण्डबाट एकता महाधिवेशनमा भाग लिन आइपुगेका एनआरएन अभियन्ता गुणराज शर्मा (गुराँस पौडेल) ले आफूहरू लामो समयदेखि विवादमा अल्झिएको संस्थालाई निकास दिन भनेर छुट्टी मिलाएर, महँगो टिकट काटेर काठमाडौँ आइ पुगेको बताए। “कुनै पनि बहानामा अब महाधिवेशन सर्नु हुँदैन। सबै पक्ष भेला भएर वास्तवमै यसलाई साँचो अर्थमा एकताको महाधिवेशन बनाउनु पर्छ,” उनले भने।

एकता महाधिवेशनमा भाग लिन युरोपबाट भर्खरै काठमाडौँ आइ पुगेका एनआरएनए द नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौड्यालले अब सबै एनआरएनहरूले वैधानिक अधिवेशनमा भाग लिएर संस्थालाई एउटा निकास दिनु पर्ने बताए। “सबल, सक्षम र सर्वसम्मत कार्यसमिति चयन गर्नु पर्छ। सबै एकताबद्ध भएर जानु पर्छ,” उनले भने।

बेलायतबाट आएका प्रतिनिधि विश्वासदिप तिगेलाले आफूहरूले व्यक्ति हैन विधिलाई सम्मान गर्ने बताए। “एनआरएनए हामी सबैको साझा हो। महँगो टिकट लिएर महाधिवेशनमा भाग लिन भनेरै हामीहरू आएका छौँ। कि मिलाउनु पर्‍यो, कि टुङ्ग्याउनु पर्‍यो। अब सधैँ अलमलमा बस्न सकिँदैन,” उनले भने।

त्यस्तै एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष तथा पूर्व गोर्खा सैनिक प्रेम गाहा मगरले एनआरएनए एकजुट भएमा गोर्खा सैनिक लगायत थुप्रै मुद्दाहरू समाधान गर्न मद्दत पुग्ने तर एउटा निहित स्वार्थी तत्त्वले संस्थालाई कमाइ खाने भाँडो बनाएको आरोप लगाए। “हामी सबै मातृभूमिको सेवा गर्न, समाजसेवा गर्न भनेर एनआरएनएमा लागेका हौँ। अब फुटेर हैन जुटेर हामी सबै एकताबद्ध हुनु पर्छ,” उनले भने।

कतारस्थित सफल व्यवसायी तथा एनआरएन अभियन्ता राजेन्द्र कुमार (आर के) शर्माले यो विषम परिस्थितिबाट संस्थालाई निकास दिन जसरी पनि एकताको महाधिवेशन गर्नै पर्ने बताए। उनले सर्वोच्च अदालतको आदेशको पालना गर्नु र एकताको महाधिवेशन सम्पन्न गराउनु नेपाल सरकारको पनि दायित्व हो भन्दै संस्थालाई निकास दिन एकताको महाधिवेशन गर्नुको विकल्प नभएको बताए।

जापानस्थित सफल व्यवसायी तथा एनआरएन अभियन्ता महेश कुमार श्रेष्ठले अब महाधिवेशन सार्न सम्भव छैन भन्दै महाधिवेशन सार्दा सबैलाई अन्याय हुने बताए। “आआफ्नो हठ त्यागौँ। सबै एकता महाधिवेशनमा सहभागी बनौँ। महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले त्यस पछि फेरी बृहत् एकताको लागि पहल गर्नु पर्छ,” श्रेष्ठले भने। उनले अब एनआरएनए भित्रै एउटा न्यायिक निकाय गठन गरेर सानोतिनो विवादमा पनि अदालत धाउनु पर्ने स्थिति अन्त्य गर्नु पर्ने सुझाव पनि दिए।

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता डा केशव पौडेलले उत्तरी अमेरिका, युरोप, मध्यपूर्व तथा एसियाका विभिन्न मूलकहरूबाट सयौँ एनआरएन अभियन्ताहरू एकताको महाधिवेशनमा भाग लिन काठमाडौँमा आइ सकेको र आउने क्रम जारी रहेको बताए। उनले एनआरएन अभियानमा आफू जस्ता थुप्रै अभियन्ताहरूको धेरै ठूलो श्रोत र लगानी भई सकेको भन्दै पहिले संस्थालाई एकताबद्ध बनाएर त्यसपछि एनआरएन नागरिकता, श्रमिक, गोर्खाज तथा लगानी जस्ता मुद्दालाई निष्कर्षमा पुराउन सरकारसँग पहल गर्नु पर्ने बताए। “अब अन्तिम समयमा आएर महाधिवेशन पर सार्छु भन्नु कुनै पनि तरिकाले उचित हैन, एकताको महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेर अगाडी बढ्नु पर्छ,” उनले भने।

यसै गरी बेलायतबाट आएका अभियन्ता थर्क सेनले एनआरएनए एक स्वयंसेवी संस्था हो भन्दै एकताको महाधिवेशनको रूपमा संस्थालाई एकजुट बनाउन सम्मानित न्यायालयले दिएको अवसर खेर नफाल्न आग्रह गरे। उनले अनावश्यक साधन श्रोत खर्च नगरेर सभ्य तरिकाले संस्थालाई अगाडी बढाउनु पर्ने बताए।

मलेसियामा लामो समय देखि व्यवसाय गर्दै आएका एनआरएन अभियन्ता खगेन्द्र न्यौपानेले तोकिएको मितिमै एकताको महाधिवेशन सम्पन्न हुन विश्वास व्यक्त गर्दै सबै साथीहरूलाई काठमाडौँ आएर एकताको महाधिवेशनमा सहभागी हुन अपिल गरे।
कार्यक्रममा योगेन क्षेत्री (युके), डी बी क्षेत्री (ओमान), आशिष पन्त (कतार) , गोविन्द गोविन्द श्रेष्ठ (जापान), चिन्तामणि सापकोटा (स्पेन), भीम बहादुर गुरुङ (सिंगापुर) राज कुमार भुजेल (क्याम्बोडिया), मनोज गोर्खाली (युएई) लगायतका अभियन्ताहरूले सर्वोच्च अदालतको परमादेशको सम्मान गर्दै निर्धारित मितिमै एकताको महाधिवेशन सम्पन्न गरी संसारभरि रहेका एनआरएनहरूलाई एकताको सन्देश दिनु पर्ने बताएका थिए। उनीहरूले एनआरएनहरूले तिरेको सदस्यता फी खर्च गरेर मुद्दा मामिला गर्नु कुनै पनि हालतमा उचित नहुने बताउँदै विगतको तीतो मीठो बिर्सेर एकताको महाधिवेशनमा भाग लिन सबैलाई अपिल पनि गरे।

महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) बन्न झन्डै ३,२०० जनाले आवेदन दिइसकेको समितिले जनाएको छ। निर्वाचन समितिले प्रथम मतदाता नामावली पनि प्रकाशित गरी सकेको छ।

वनमा रुख काट्ने क्रममा च्यापिएर लिम्बूको मृत्यु

बागमती, १६ वैशाख : मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।उहाँले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे बताउनुभयो ।

लुम्बिनी विकास कोषद्वारा सञ्चालित विद्युतीय सवारीसाधन प्रयोगमा ल्याइँदै

लुम्बिनी (मर्चवार), १६ वैशाख : पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।

एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवरद्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ विद्युतीय सवारीसाधन कोषले यहाँ ल्याएको थियो ।

लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँचवटा विद्युतीय बस वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्ने उक्त बस÷भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा रहेको जनाइएको छ ।

यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना समेत भएको थियो । सेतोलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त समयसीमा पनि नाघिसक्यो, अवस्था ज्युँका त्युँ छ ।”

“कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनाँै । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भन्नुभयो, “अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइने छ ।”

लामो समयसम्म खुला आकाशमुनि एकै ठाउँमा थन्क्याएर राख्दा जाम हुने, बिग्रिने र ब्याट्री डिस्चार्ज हुनेजस्ता डर भएर कोषले आन्तरिक प्रयोजनका लागि गुडाउँदै गर्दा केही सवारीसाधनमा सामान्य क्षति पुगेको र आगामी दिनमा त्यस्तो नहुन

यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

तानसेन (पाल्पा), १६ वैशाखः जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट रु १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख घिमिरेले भन्नुभयो, “चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाहमा छिटोछरितो भएकाले चालु आव राजस्व सङ्कलनमा वृद्धि भएको हो ।”

कार्यालयले गत आवको सोही अवधिमा रु १४ करोड ७४ लाख राजस्व सङ्कलन गरेको थियो । उसले गत आव २०८०÷८१ को असार मसान्तसम्म रु १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व सङ्कलन गर्यो । जुन अहिले नौ महिनामै उक्त राजस्वको नजिक पुगेको छ । चालु आव सकिन अझ तीन महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ । जहाँ अघिल्लो पूरै आवमा चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड ४५ लाख २८ हजारमात्र सङ्कलन भएको थियो ।

त्यसैगरी, अघिल्लो पूरै आवमा सवारीसाधनबाट रु १५ करोड ४७ लाख ४३ हजार ७३५ राजस्व सङ्कलन भएको थियो । जुन चालु आवको चैत मसान्तसम्ममै उक्त सङ्कलनको नजिक पुगेको छ । यस्तै चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १८ लाख ४६ हजार ७०० र आयकरतर्फ ४५ लाख ६८ हजार ६२५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । अघिल्लो आवको पूरै महिना कार्यालयले आयकरतर्फ रु ५६ लाख ५८ हजार ६६० सङ्कलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको नौ महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब रु चार करोडभन्दा कम राजस्व सङ्कलन भएको थियो ।

हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपरमिट, सवारी जाँचपास शीर्षकमा आयकर सङ्कलन गर्ने गरेको छ । कार्यालयले चालु आवको चैत समान्तसम्ममा चालक अनुमतिपत्रतर्फ दुई हजार ३२५ वटा नयाँ लाइसेन्स, पाँच सय ३१ वटा थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ वटा लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखितबाट राजस्व सङ्कलन गरेको छ । सवारीतर्फ २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० पटके, नौ सय चार जाँचपास र नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको पनि कार्यालयले जनाएको छ ।

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

मध्यविन्दु (नवलपरासी), १६ वैशाख : नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

“दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ”, उहाँले भन्नुभयो, “सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।”

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुभयो ।

नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध

जुम्ला, १६ वैशाखः जिल्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन गर्नका लागि भगिनी सम्बन्ध कायम गरेका छन् ।

दुवै पालिकाको सीमा क्षेत्र एकआपसमा जोडिएकाले अधिकांश विषय संयुक्त रूपमा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जानकारी दिनुभयो । 

एकआपस समन्वय सहकार्य र साझेदारीमार्फत दुई पालिकाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापित गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष चौलागार्इं र चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले १५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध गाँसेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो ।  

शिक्षा, स्वास्थ्य खानेपानी, जलविद्युत्, यातायात पर्यटनलगायत क्षेत्रमा दीर्घकालीन योजना बनाएर सहलगानीमा अघि बढ्ने भगिनी सम्बन्धको उद्देश्य रहेको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताउनुभयो । 

दुवै पालिकाको संस्थागत सवलता र सुदृढीकरणमा सहकार्य गर्ने, असल अभ्यास तथा सफल अनुभवको आदानप्रदान गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, प्रकृति र पर्यावरणको संरक्षण गर्ने, स्थानीय सुशासनमा सहकार्य गर्ने, स्थानीय सरकारबीच साझेदारी कार्यक्रम गर्ने, स्थानीय उत्पादन र बजार व्यवस्थापनमा सहकार्य गर्ने भगिनी सम्बन्धका क्रममा भएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

मानवीय पालिका बनाउने, आपसीहितका लागि अध्ययन तथा अवलोकन गर्ने, फोहरमैला व्यवस्थापनमा साझा लगानी गर्ने, सीमा विवाद क्षेत्र निर्धारण, तिला नदीको संरक्षण र सवारी साधनको प्रयोग सहलगानीमा गर्ने सहमतिपत्रमा रहेको छ । 

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च

काठमाडौँ, १६ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु २००, तितो करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो १५०, चमसुरको साग रु १५०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १५०, प्याज हरियो प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १३० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु २५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

कुटानी–पिसानी मिलबाट मासिक एक लाख बढी आम्दानी

कञ्चनपुर, १६ वैशाखः बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आउनुभएको छ । मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको हो ।

सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गगरेको बताउनुभयो । मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी चामल निकाल्ने उपकरण राखेका छन् । 

“पटकपटक गरी सहकारीबाट रु २० लाखजति ऋण लिएका हौँ”, उहाँले भन्नुभयो, “सहकारीबाट लिएको ऋणमध्ये रु १८ लाख आम्दानीको रकमले तिर्न भ्याएका छौँ, अब रु दुई लाखमात्रै बाँकी छ, त्यो पनि दुई तीन महिनामा चुक्ता गर्ने योजना छ ।”

व्यवसाय गर्ने पैसा नहँुदा विगतमा खेतबारीमा दिन बिताउने गरेको उल्लेख गर्दै चौधरीले खेतबारीबाट उत्पादन हुने अन्नले खानमात्रै पुग्ने, खर्चका लागि अभाव हुने गरेको बताउनुभयो । सहकारीमा आबद्ध भएर ऋण लिएर मिल सञ्चालन गरेपछि पैसाको अभाव नभएको उहाँको भनाइ छ ।

“महिनामा रु एक लाख ५० हजार जति आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “मिलमा काम गर्ने कामदारको ज्याला, उपकरण मर्मत, विद्युत्को महसुल खर्च कटौती गरी महिनामा रु ७० हजारजति बचत हुने गरेको छ ।” बचत भएको रकम चौधरीले सहकारीमा जम्मा गर्दै आएको जानकारी दिनुभयो । 

उहाँका अनुसार मिलको आम्दानी भएको रकमले उहाँले गाउँमा चार कठ्ठा जग्गा खरिद गर्नुका साथै दुई छोराले धनगढीमा उच्च शिक्षा अध्ययन गराइरहेका छन् । सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने उहाँले जानकारी दिनुभयो । 

दैनिक भारतीयको चार क्विन्टलजतिको गल्ला कुटानी–पिसानीको काम हुने गरेको चौधरीले बताउनुभयो । नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ । नजिक अरु कुटानी–पिसानीका मिल नहुँदा ग्राहकको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ । 

“तोरीको तेल पेल्न, कुटानी–पिसानी गर्ने भारतीय अधिक आउने गरेका छन्”, चौधरीले भन्नुभयो, “भारतीय क्षेत्रमा रहेका मिलले लिने रकमभन्दा यहाँ सस्तो हँुदा उहाँहरू यता आउनुहुन्छ ।” मिलमा ‘ब्रान’ छाडेमा कुनै शुल्क नलिएर धान कुटानी गरिदिने गरेको उहाँले बताउनुभयो । 

गहुँ पिसानी गरेको प्रतिकिलो रु डेढ, मकैको रु अढाइ, तोरीको तेल निकालेको रु सात लिने गरेका जनाउँदै चौधरीले धान कुटानी गरेपछि आउने ब्रान र तोरीको तेल पेलेर निस्कने पिना(खली) बेचेर अतिरिक्त आम्दानी हुने बताउनुभयो । 

आम्दानी भएको रकम बचतमार्फत बजार क्षेत्रमा जग्गा खरिद गरी पक्की घर निर्माण गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । ग्राहकलाई चाहेकोबेला सेवा दिने भएकाले मिलमा ग्राहकको कमी नहुने उहाँको बुझाइ छ ।

जनकपुरमा जानकी जन्मोत्सव सुरु

महेन्द्रनगर (धनुषा), १६ वैशाखः पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ ।

जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ ।

जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।

जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ । 

सोहीदिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिनुभयो । उहाँका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ । 

कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा

काठमाडौँ, १६ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमानविपरीत गएर अनियमितता गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचाैँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध रु सात लाख ७९ हजार २०५ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नं ६ का वडाअध्यक्ष श्यामबाबु साहविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।  

पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा

काठमाडौँ, १६ वैशाखः भारत भ्रमणमा रहनुभएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको छ । डा भट्टराईको सचिवालयका अनुसार उहाँले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गर्नुभएको थियो । सो भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएकोे जनाइएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गर्नुभएको थियो । डा भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा हुनुहुन्छ ।

शिक्षक महासंघ र सरकारबीचको गएरातिको वार्तामा के भयो ?

काठमाडौँ, १६ वैशाखः सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको हो ।

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नुभएको थियो भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।”

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गर्नुभयो । उहाँले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिनुभयो । 

महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताउनुभयो । उहाँले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताउनुभएको थियो । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । 

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा तोकेको छ ।

 केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ६३ पैसा र बिक्रीदर २० रूपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ५० पैसा र बिक्रीदर १७ रूपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १८ पैसा रहेको छ ।

 यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १६ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोबर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षी सम्बन्धका विविध आयामका विषयमा महत्त्वपूर्ण संवाद भएको उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको बताउनुभयो । नेपाल र संयुक्त अधिराज्यबीच भएको शान्ति तथा मैत्री सन्धिको १००औँ वर्षगाँठ सन् २०२३ मा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको उहाँले स्मरण गर्नुभयो ।

उहाँले संयुक्त अधिराज्यलाई नेपालको प्रमुख विकास साझेदारका रूपमा उल्लेख गर्दै विपद्का घडीमा नेपाललाई प्रदान गरिएको सहयोगका लागि धन्यवाद दिनुभयो । “हाम्रा दुई मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा रहेको मित्रता अद्वितीय छ,  पछिल्ला दिनहरुमा यो थप प्रगाढ हुँदै गएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “ब्रिटिस गोर्खाले द्विपक्षीय जनस्तरको सम्बन्ध सुदृढ गर्न पु¥याएको योगदानको सराहना गर्दछु ।”

उहाँले पूर्वब्रिटिस गोर्खाका जायज गुनासा सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेका छलफललाई समयमै टुङ्गोमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तन र विश्व परिवेशमा देखापर्नसक्ने मुद्दाका विषयमा बहस चलाउने उद्देश्यले नेपालले स्थापना गरेको ‘सगरमाथा संवाद’को चर्चा गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, “यही मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने यो संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा संयुक्त अधिराज्यबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा छ ।”

उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत संयुक्त अधिराज्यका राजा चाल्र्स र महारानी क्यामिलालाई व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गर्नुभयो । नेपालका लागि संयुक्त अधिराज्यका राजदूत फेनले नेपाल र संयुक्त अधिराज्य सँगसँगै काम गर्ने घनिष्ट मित्र रहेको उल्लेख गर्दै नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’लाई बेलायतको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । 

“उद्योग र आर्थिक मुद्दाहरुमा लण्डनस्थित नेपाली दूतावाससँग बेलायत निरन्तर संवादमा छ”, उहाँले भन्नुभयो, “ब्रिटिश गोर्खाको सेवा र सुविधालगायत विषयमा पनि लण्डनस्थित नेपाली दूतावाससँग संवाद जारी राखेर समस्या समाधानको प्रयास भइरहेको छ ।”  

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता

पाटन (ललितपुर), १६ वैशाखः ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच आज महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी गराउनुभयो । “राजदूत भेरोनिक लोरेन्जोसँगको भेटघाट अत्यन्तै सौहार्दपूर्ण रह्यो, महानगरमा भएका कामका बारेमा उहाँले चासोपूर्वक जानकारी लिनुभयो, हामीले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका क्षेत्रमा गरेका प्रशस्तै कामका बारेमा रुचिपूर्वक जानकारी लिनुभयो, आपसी हितका विषयमा अति प्रभावकारी छलफल भयो”, उहाँले भन्नुभयो ।

महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउँदै विपद् व्यवस्थापनका क्षेत्रमा देशका सबै नगरपालिकामध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको जानकारी गराउनुभयो ।

युरोपेली युनियनका राजदूत लोरेन्जोले महानगर प्रमुख महर्जनले महानगरको विकासमा गरेको प्रगति, दूरदर्शिता र प्रतिबद्धता प्रशंसनीय भएको धारणा राख्नुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि सक्रियतापूर्वक काम गरिरहेको महानगरको प्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

महानगरको न्यानो आतिथ्यताप्रति आभार प्रकट गर्दै राजदूत लोरेन्जोले यहाँका नागरिकको हित र समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र युरोपेली युनियनबीचको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।

भेटका क्रममा ‘युरोप डे २०२५’ का बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन सङ्ग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक : शिक्षक आन्दोलन वार्ताबाटै समाधान गरिने

काठमाडौँ । सरकारले शिक्षकहरुका माग वार्ताका माध्यमबाट समाधान गर्ने भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्का बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए ।

त्यसैगरी बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय दुवै सदनलाई सम्बोधनमार्फत प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

भोजपुर गोल्डकप : एपीएफ सेमिफाइनलमा प्रवेश

टक्सार (भोजपरु), १५ वैशाख : आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले सलहेश फुटबल क्लब सिरहालाई १–० गोलले पराजित गर्दे सेमिफाइन प्रवेश गरेको छ ।

दोस्रो हाफको दुई मिनेटमा एपिएफका लागि प्रदीप लामाले गरेको गोल नै निर्णायक बन्यो । मङ्गलबारको तेस्रो खेल भगवती स्पोर्टस क्लब खोटाङ र नवोबुद्ध फुटबल क्लब सप्तरीबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । 

करिब रु ४९ लाखमा भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा यही वैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडाँै र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन् । 

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पुरस्कार पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजकले जनाएको छ । 

प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ । गत वर्षको सातौँ संस्करण चर्च व्वाइज युनाइटेड, काठमाडौँले जितेको थियो । 

सर्वोच्चको आदेश कार्यान्वयन गर्न र वार्ताबाट समाधान खोज्न बार एसोसिएसनको अपिल

काठमाडौँ, १५ वैशाख: नेपाल बार एसोसिएसनले शिक्षकहरूको आन्दोलनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र वार्ताबाटै समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेको छ ।

  बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी शिक्षकका उचित मागको न्यायपूर्ण समाधानका लागि पहल गर्न सङ्घीय संसद्, नेपाल सरकार र नेपाल शिक्षक महासङ्घलगायत सबै सरोकार भएका पक्षसँग अपिल गर्नुभयो । 

बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जनजीवन प्रभावित भई जनजीवन कष्टकर हुँदै गइरहेकातर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “आफ्ना माग पूरा गर्न संविधानप्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गर्न, आन्दोलनमा बल प्रयोग नगर्न नगराउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द रहेको, पठनपाठन नभई विद्यार्थीको संविधानप्रदत्त शिक्षासम्बन्धी हकको हनन भई निर्धारित परीक्षा अवरुद्ध भएका छन् । यसमा सबै गम्भीर बन्न नेपाल बार एसोसिएसन हार्दिक आग्रह गर्दछ ।”

शान्ति र प्रजातन्त्रका लागि पेसागत सञ्जालसँग आबद्ध शिक्षकको साझा संस्था नेपाल शिक्षक महासङ्घले पेसागतलगायत माग राखी आन्दोलन भइरहेको सन्दर्भमा यही वैशाख १४ गते दोहोरो झडप भई पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरू घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै बारले उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

खुम्बु क्षेत्रमा भारी हिमपात,पर्यटक र स्थानीयवासी प्रभावित

सोलुखुम्बु, १५ वैशाख : उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।

खुम्बु क्षेत्रमा रहनुभएका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन् । उहाँले भन्नुभयो, “हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर सङ्ख्या यकिन भइसकेको छैन ।”

स्थानीयवासी साङ्गे शेर्पाले बेमौसमी हिमपातका कारण जनजीवनमा असर परेको बताउनुभयो । यसैबीच सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन् । “उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियोे । त्यसपछि सम्पर्कमा आउनुभएको छैन,” उहाँले भन्नुभयो । हिमपातका कारण खोजी गर्न समस्या भएको छ । 

हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ । अधिकांश आरोहीहरु आधार शिविरमै रोकिएका छन् । प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ ।

पठनपाठन सञ्चालन गर्न पोखरा महानगरको आग्रह

गण्डकी, १५ वैशाख : पोखरा महानगरपालिकाले यही वैशाख १७ गतेसम्म महानगरभित्रका सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशन गरी विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएकाले नगर शिक्षा समितिको निर्णयअनुसार १७ गतेसम्ममा विद्यालयहरूमा पठनपाठन गराउन सम्बद्ध सबैमा आग्रह गरेको हो ।

महानगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार यही वैशाख ८ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्नुपर्ने भए पनि यस अघि सूचना प्रकाशित गरी वैशाख ११ गतेबाट पठन पाठन सञ्चालन गर्ने सूचना जारी गरिएकामा आज दोेस्रो सूचना जारी गरिएको हो ।

वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ, १५ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।

धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा रु सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसहित नौ जना विरुद्ध आज आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सव–इञ्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारी विरुद्ध आरोपपत्र दायर गरिएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ तोकिएको शर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाइ बनाइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।

अरुण नदीमा जीप खस्दा तीन घाइते

खाँदबारी (सङ्खुवासभा), १५ वैशाखः सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् ।

प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धर्मदेवी नगरपालिका–८ सूर्तिवारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर नदीमा खसेको जानकारी आएको बताउनुभयो । 

गाडी नदीमा डुबेकाले झिक्ने अवस्था नरहेको र घाइते तीनै जनाको उद्धार गरेर मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो

पाटन (ललितपुर), १५ वैशाख : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरिएको छ । लगनखेलस्थित मच्छिन्द्रबहालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न शाक्यसहितका पानेजुले विधिपूर्वक पूजा गरी बाजागाजासहित बोकेर पुल्चोकमा ल्याएर आज साँझ रथारोहण गराउनुभएको हो ।

रथारोहणका समयमा तोप पड्काएर हर्ष बढाइँ गरिएको थियोे । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ रथारोहण गरिएको हो । ञवाल गुठका नाइके प्रेम महर्जनका अनुसार आजको चार दिनपछि रथ तानेर गावहाल पु-याइन्छ । “गावहालमा नौ टोलले जात्रा मनाउँछ, गावहाल पु-याएको भोलिपल्ट भोज गरिन्छ”, उहाँले भन्नुभयो ।

ञवाल गुठीका गुठियार रत्न डंगोलका अनुसार रथ बनाउन सुरु भएको १५ दिनमा सम्पन्न हुन्छ, जावलाखेल नपु-याएसम्म मर्मत गर्ने काम ञवाल गुठीले नै गर्नुपर्ने हुन्छ । “मच्छिन्द्रनाथसँगै १०८ लोकेश्वर हुन्छन्, लोकेश्वरमध्येका पद्मवाणी लोकेश्वरलाई आज दिउँसो रथारोहण गर्न ल्याउनुनुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल मच्छिन्द्रनाथको पाउमा अर्पण गरियो । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्नुभएको थियोे”, उहाँले भन्नुभयो ।

भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रुपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने पुजारी (३२ पानेजुमध्येका एक) कमलराज बज्राचार्यले बताउनुभयो । “लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्ने परम्परा छ भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओढाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु-याइन्छ”, उहाँले भन्नुभयो । 

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियोे । 

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारूकामाक्षबाट नेपाल ल्याएका थिए । 

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन छ । 

करुणामयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ  नरेन्द्रदेवका छोरा राजा बरदेवले बनाउने चलन चलाएको मानिने पाटन निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन्,“ उहाँले भन्नुभयो ।

रक्तावलोकितेश्वर मुहार अरूणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी  गराउनुभयो। वृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ ।

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने, सीके राउत र मुख्यमन्त्री सिंहले गरे शिलान्यास

सिरहा, १५ वैशाख- सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने भएको छ । आज एक कार्यक्रमका बीच जनमत पार्टीका अध्यक्ष डा सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा पार्कको शिलान्यास गर्नुभयो ।

मधेस प्रदेश सरकारको रु ८० लाख लागतमा डिभिजन वन कार्यालयले आगामी असार १५ भित्र पार्क निर्माण गर्ने गरी काम अगाडि बढेको हो । मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकारले योजना अघि बढाएको बताउनुभयो । “यो क्षेत्र आफैँमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र हो । यसको आफ्नै महत्व र गरिमा छ । यस क्षेत्रलाई व्यवस्थित बनाइ धार्मिक पर्यटन विकास र छिमेकी भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष महत्व दिएर अम्बेडकर पार्क बनाउन लागिएको हो”, उहाँले भन्नुयो, “अम्बेडकर जस्तो विश्वमा प्रतिष्ठित व्यक्तिको नाममा पार्क बनाउँदा यहाँका दलित तथा अन्य समुदायलाई एउटा प्रेरणा मिल्नेछ । यस क्षेत्रको जैविक विविधतालाई ध्यान दिँदै विकास गरिने छ ।”

डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् । धार्मिक वनअन्तर्गत करिब नौ बिघा क्षेत्रफलमा यो क्षेत्र फैलिएको छ । पार्क निर्माणामा थप सहजताका लागि मन्दिरका पुजारी एवं स्थानीय जीतेन्द्रदेव धामी (दनुवार) ले फूलबारीसँगै जोडिएको आफ्नो नामको १० घुर जग्गासमेत दान गर्नुभएको छ । 

 प्रत्यक वर्ष वैशाख १ गते फूलबारी मेला लाग्ने गर्दछ, जहाँ सोही दिनमात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न नेपाल तथा भारतबाट हजारौँ भक्तजन आउने गरेका छन् ।  

को हुन् अम्बेडकर ?
बाबासाहेव भीमराव अम्बेडकर भारतीय नागरिक हुनुहुन्थ्यो । उहाँले भारतीय राजनेता, दलित अगुवा, नागरिक तथा मानव अधिकारकर्मी हुँदै जातीय र धार्मिक सामाजिक विभेदविरोधी सङ्घर्षको सफलतापूर्वक नेतृत्व गर्नुभएको थियो । सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्ष निर्वाचित भई उहाँले अनुसूचीत जातिलाई गरेको भेदभावविरुद्ध समानताको पक्षमा विशेष संवैधानिक प्रबन्ध गर्न महत्वपूर्ण योगदान गर्नुभयो ।

उहाँलाई बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स, लण्डन युनिभर्सिटीबाट ‘डाक्टर अफ अल साइन्स’मा विद्यावारिधि उपाधि प्राप्त गरेको एकमात्र व्यक्तिका रूपमा समेत चिन्ने गरिएको छ । उहाँको सालिक लण्डनको म्युजियममा कार्ल माक्र्सको सालिकसँगै राखिएको कार्यक्रममा जानकारी दिइयो ।  

कोलम्बिया विश्वविद्यालयले सन् २००४ मा विश्वभरिका एक सय विद्वान्हरूको नाम सूचीकृत गरेकामा अम्बेडकरको नाम सो सूचीको पहिलो नम्बरमा राखेको थियो । मानवताका लागि गरेको योगदानको कदर गर्दै उहाँको सालिक विश्वका विभिन्न ठाउँहरूमा स्थापित गरिएको जानकारहरूले बताएका छन् । 

‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’: स्वास्थ्यमन्त्री पौडेल

भक्तपुर, १५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी क्षेत्रमा थप गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।

आज नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा  उहाँले देशका सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनुपर्दैन । भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्न गरी क्षमता वृद्धि गरे पुग्छ ।”

उहाँले देशभरका छ हजार सात सय ४३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पु-याउनुपर्ने र स्वास्थ्य सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधि नहुँदा गुणस्तरीय सेवा दिन नसकिरहेको बताउनुभयो । 

सरकारले नागरिकको स्वास्थ्य बिमाका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बिमा बोर्डले बिभिन्न अस्पताललाई तिर्नुपर्ने रु ३७ अर्ब पुगिसकेको बताउँदै नागरिकमा आधारित बिमा व्यवस्था लागू गर्न नसके बिमा सङ्कटमा पर्ने उल्लेख गर्नुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, “डुब्न लागेको बिमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बिमा प्रणाली लागू गर्नुपर्छ ।”

मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै अस्पतालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा डिके रोशनले देशकै अब्बल अस्पताल बनाउने लक्ष्यका साथ अघि बढिरहेको र हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । 

अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ

काठमाडौँ, १५ वैशाख : अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ ।

उनीहरुले रु १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध कारोबार गरेको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो । उनीहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणवापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा भन्सार छली, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छलीलगायतमा संलग्न व्यक्ति तथा समूहले कारोबार गरेको गैरकानुनी रकमलाई ट्रान्सफर गरेको उहाँले बताउनुभयो ।

त्यसरी रकम ट्रान्सफर गरी विप्रेषणबापतको रकम हिसाब मिलान गरेको देखिएकाले मनी टान्सफर कम्पनी र त्यसका सञ्चालकहरुले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरीत कार्य गरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरउपर अनुसन्धान थालिएको प्रवक्ता शाहीले आज सार्वजनिक गर्नुभएको विवरणमा उल्लेख छ ।

यसरी पक्राउ पर्नेहरुमा मोरङका वीरेन्द्र साह र दीपेन्द्र शाह, महोत्तरीका श्रवणकुमार शाह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महत्तो, धनुषाका निरोजकुमार महत्तो, सञ्जिवकुमार महतो र अलितादेवी महतो, प्रकाश सिंह, पर्साका अरुणकुमार साह, नवलपरासीका राजकमल लोनिया र भीमकुमारी गुरुङ रहेका छन् ।

त्यसैगरी सप्तरीका रामविलास साह तेली, पर्साका विकर्ष जङ्ग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमारी शाह, चितवनका गोविन्दप्रसाद आचार्य, सप्तरीका शम्भू मेहता र ममताकुमारी साह पनि पक्राउ परेका छन् ।