चिनियाँ अन्तरिक्ष संस्थाद्वारा निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने योजना सार्वजनिक
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले आगामी दुई वर्षका लागि निजी अन्तरिक्ष क्षेत्रलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित विस्तृत योजना सार्वजनिक गरेको छ ।
कार्ययोजनामा निजी अन्तरिक्ष संस्थाहरूलाई विदेशी बजारमा प्रवेश गर्न र विकासोन्मुख देशहरूलाई उपग्रह प्रविधि निर्माणमा सहयोग गर्न आमन्त्रण गरिएको छ । संस्थाले निजी अन्तरिक्ष परियोजनाहरूलाई चीनको अन्तर्राष्ट्रिय सहकार्य कार्यक्रम भित्र समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।
योजनाअनुसार, निजी क्षेत्रका लागि नागरिक नियन्त्रण, सञ्चार केन्द्र, डाटा सङ्कलन तथा परीक्षण क्षेत्रका साथै रकेट इञ्जिन परीक्षण स्थल र अन्तरिक्ष वातावरण अनुकरण गर्ने प्रयोगशाला उपलब्ध गराइनेछ ।
खुला प्रतिस्पर्धा मार्फत छानिएका निजी संस्थाहरूलाई उन्नत इन्धन प्रणाली, नयाँ पुस्ताका उपग्रह संरचना र उपकरण साथै सञ्चार, मार्गनिर्देशन र दूरदर्शन प्रबन्धजस्ता महत्वपूर्ण परियोजनामा सहभागी गराइनेछ ।
संस्थाले राष्ट्रिय निजी अन्तरिक्ष विकास कोष स्थापना गर्ने र सरकारी खरिद प्रक्रियामा उपग्रह, प्रक्षेपण स्थल समावेश गर्ने योजना पनि अघि सारेको छ ।स्थानीय सरकारहरूलाई पुनः प्रयोग गर्न मिल्ने रकेट र स्मार्ट उपग्रह सम्बन्धी प्रविधि केन्द्र स्थापना गर्न साथै परीक्षणका लागि खुला मंच निर्माण गर्न निर्देशन दिइएको छ ।
योजनामा निजी प्रक्षेपण स्थल निर्माण, अन्तरिक्ष मापदण्ड एकीकरण, र अन्तरिक्ष फोहोर सम्बन्धी जानकारी निजी क्षेत्रका लागि खुला गर्ने व्यवस्था समेत समावेश गरिएको छ । यसले निजी अन्तरिक्ष यानका लागि टक्कर चेतावनी प्रणालीलाई प्रभावकारी बनाउनेछ ।
निजी संस्थाहरूलाई अन्तरिक्ष स्रोत उपयोग, कक्षमा मर्मत सेवा, फोहोर हटाउने प्रविधि, अन्तरिक्ष पर्यटन र अन्तरिक्षमै जैविक उत्पादन जस्ता क्षेत्रमा अगाडि बढ्न प्रोत्साहित गरिएको छ ।
यस कार्ययोजनाको लक्ष्य सन् २०२७ सम्म निजी अन्तरिक्ष क्षेत्रको उच्चस्तरीय विकास सुनिश्चित गर्नु हो । साथै, चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६/२०३०) मा अन्तरिक्ष क्षेत्रलाई रणनीतिक उदीयमान उद्योगको रूपमा उल्लेख गरिएको छ ।
