`

रुसका राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गर्नुभएको क्रेमलिनले सोमबार जनाएको छ ।

किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लङ्घनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गर्नुभएको थियो तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौं पटक उल्लङ्घन गरेको आरोप लगाएका थिए।

“रुसी पक्षले विजय दिवसको ८० औँ वार्षिकोत्सवको अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ। यस अवधिमा सबै लडाकू अभियानहरू स्थगित गरिनेछ,” क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

“युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ। यद्यपि, यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लङ्घन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ,” विज्ञप्तिमा भनिएको छ।

पुटिनले गत महिना युक्रेनले स्वीकार गरेको ३० दिनको पूर्ण र निःशर्त युद्धविरामको अमेरिकी प्रस्ताव अस्वीकार गर्नुभएको थियो ।

किएभ र यसका युरोपेली समर्थकहरूले पुटिनले ३० घण्टे इस्टर युद्धविरामलाई आफूलाई चर्चामा ल्याउने अभ्यासको रूपमा घोषणा गरेको आरोप लगाएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ र सन् २०१४ मा कब्जा गरेको क्रिमियाका अतिरिक्त त्यसलाई आफ्नो भएको दाबी गरेको छ ।

ट्रम्पद्वारा ‘नक्कली’ न्यून अनुमोदन सर्वेक्षणको छानबिन गर्न आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्केको १०० दिन नबित्दै रिपब्लिकन पार्टीका लागि निराशाजनक अनुमोदन रेटिङ देखाएको ‘भुट्टा सर्वेक्षण’को आलोचना गर्नुभएको छ ।

वासिङ्टन पोस्ट र एबीसी न्युजले गत साता गरेको सर्वेक्षणमा ३९ प्रतिशत अमेरिकीले मात्र ट्रम्पको कार्यसम्पादनलाई अनुमोदन गरेको देखाएको थियो भने न्युयोर्क टाइम्सले गरेको सर्वेक्षणमा यो सङ्ख्या ४२ प्रतिशत रहेकोे थियो ।

पोस्टका अनुसार ४० प्रतिशतभन्दा बढी अमेरिकीले ट्रम्पलाई अस्वीकार गरेका छन् ।

प्रसिद्ध अमेरिकी सर्वेक्षक जोन म्याकलफलिनले नतिजालाई न्यूयोर्क टाइम्स, एबीसी र वाशिङ्गटन पोस्टको अविश्वासिलो (फेल भएको) सर्वेक्षण भन्नुभएको छ ।

म्याकलफलिन राष्ट्रपतिका निकट समर्थक र रिपब्लिकन अनुसन्धाता हुनुहुन्छ । उहाँलेसर्वेक्षणको नतिजा लगातार ट्रम्पको पक्षमा प्रकाशित गर्दै आउनुभएको छ ।

लामो समयदेखि मूलधारको सञ्चारमाध्यमको आलोचक रहेका राष्ट्रपति ट्रम्पले सर्वेक्षणकर्ता र समाचार संस्थाहरू ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ बाट पीडित भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “यी व्यक्तिहरूलाई निर्वाचन अनियमितताको लागि अनुसन्धान गरिनुपर्छ ।”

प्यू रिसर्च सेन्टरका अनुसार बिल क्लिन्टन र हाल ट्रम्पबाहेक रोनाल्ड रेगनसम्मका अमेरिकी राष्ट्रपतिको कार्यकालको पहिलो १०० दिनको अनुमोदन दर ५० प्रतिशत रहँदै आएको थियो ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा सरकारी निकायहरूलाई कटौती गर्ने, मित्र हरू र शत्रुहरूसँग समान रूपमा व्यापार युद्ध सुरु गर्ने र आप्रवासन निरूत्साहनका लागि न्यायपालिकाको सामना गर्ने सीमाबाट बाहिर निस्केको उहाँका आलोचकहरूले बताउने गरेका छन् ।

सर्वेक्षणले ह्वाइट हाउसको आर्थिक नीतिप्रति बढ्दो अविश्वासलाई प्रतिबिम्बित गरे तापनि निराशावाद ट्रम्पका समर्थकहरूको मूल आधारसम्म पुग्न सकेको छैन ।

ट्रम्पको लागि कम अनुमोदन दर देखाउनु उहाँको शक्तिमा क्षयीकरण गर्ने विभाजकको रूपमा सर्वेक्षणहरू आएका छन् । यो उहाँको पहिलो कार्यकाल सन् २०१७ को पहिलो १०० दिनको नतिजाजस्तै समान देखिएको छ ।

प्यूका अनुसार आजको अति विभाजित राजनीतिक अमेरिकामा ७० प्रतिशत रिपब्लिकन मतदाता र रिपब्लिकन झुकाव भएका स्वतन्त्र मतदाताले अझै पनि ट्रम्पको कर वृद्धिको समर्थन गरेका छन् भने ९० प्रतिशत डेमोक्र्याटले यसको विरोध गरेका छन् ।

एचआइभी सङ्क्रमितको गुनासोः औषधि अभाव र उपचारमा समस्या

महेन्द्रनगर (धनुषा), १५ वैशाख : एचआइभी सङ्क्रमितहरुले औषधि अभाव र उपचारमा समस्या हुने गरेको गुनासो गरेका छन् । ‘एचआइभी सङ्क्रमित व्यक्तिहरुको मानवअधिकार अवस्था विषयक नीति संवाद कार्यक्रम’ जनकपुरधाममा आज सम्पन्न कार्यक्रमहरुमा उनीहरुले आफूले भोगेका समस्याबारे गुनासो राखेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशद्वारा आयोजित उक्त कार्यक्रममा आयोगले तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी एचआईभी सङ्क्रमित अधिकांशले अस्पतालमा औषधि अभाव र उपचार सेवामा समस्या भोगेको सुनाए ।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुघ्नप्रसाद सिंहले एचआईभी संक्रमितहरूको पीडा सुन्दा आफू दुःखी भएको र खुला सीमाका कारण समस्या थपिएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा चिकित्सकले बिरामीप्रति हेलचेक्र्याइँ गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले पहिलेको तुलनामा अहिले प्रादेशिक अस्पतालको सेवा सुधार भएको दाबी गर्नुभयो । अध्यक्ष बुद्धनारायण सहनीले एचआइभी सङ्क्रमण शरीर तथा समाजभित्र रहेको भए पनि अझै खुलेर आउन नसकेको बताउनुभयो । उहाँले सङ्क्रमित स्वेच्छिक रूपमा आफ्नो अवस्था सार्वजनिक गरेमा उपचार र परामर्श सेवा सजिलो हुने धारणा व्यक्त गर्नुभयो ।

पोखरा कोटिहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा, १५ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ ।

वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो । महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मुल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार आगामि दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रिय वक्ताहरूको सहभागिता रहने छ। महायज्ञमा सोमबार देवी प्रतिभाले कथा वाचन गर्ने क्रममा भगवान कृष्णको जन्म उत्सव मनाई सम्पूर्णलाई फुल मिठाई मार्फ मनोरञ्जन दिलाइएको थियो । भगवान कृष्णको कथा वाचनका क्रममा १० औ दिन यसरीनै भगवान कृष्णको जन्म उत्सव मनाइने गरिएको छ । महायज्ञमा देवि प्रतिभाको सोमबार कथा वाचनको १० औं दिन चलेको छ ।महायज्ञमा साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सक्रिय सहभागिताले महायज्ञ पोखरेली समाजको साझा उत्सवको रूपमा स्थापित भएको छ।

गण्डकी कोटिहोम महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता, सांस्कृतिक कार्यक्रम र आध्यात्मिक प्रवचनहरूले महायज्ञलाई पोखराको धार्मिक र सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनाएको आयोजकको दावी छ । आयोजकले यसलाई सामाजिक एकता, सांस्कृतिक जागरण र आध्यात्मिक उत्थानको अवसरका रूपमा अघि बढाएका छन्, जसले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गर्ने विश्वास गरिएको छ।

मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ । महायज्ञ प्रचार प्रसारका लागि वैशाख १६ गते बिहान ७ वजे भव्य शोभा कलश यात्रा आयोजना हुने छ जसका लागि सोमबार साँझ ११ हजार कलश सजाइने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल शोभा कलश यात्रा गरिने लागेको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए।

शोभा कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त शोभा कलश यात्रामा गंगाको जलसँगै ११ हजार कलश रहने छन् ।

शोभा कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्र्रति कलश १ हजार ३ र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मुल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।

शोभा कलश यात्रालाई सफल बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले जानकारी दिइन् ।ॅशोभा कलश यात्रामा जिल्ला वाहिरबाट पनि उल्लासमय सहभागिता रहने हामीले अपेक्षा गरेका छौ’ संयोजक केसीले भनिन्, ॅशोभा कलश यात्रामा जतिसक्दो बढि सहभागिता जनाउनका लागि अनुरोध गर्दछु ।’

कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुनभएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।

यसअघि प्रचार प्रचारका लागि साइकल र्‍याली, ट्याक्सी र्‍याली, मोटरसाइकल र्‍याली र पैदल यात्रा कार्यक्रम भइसकेका छन् ।
कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।आयोजकले सामाजिक सञ्जालमा मानवसेवाफाउण्डेशन र गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो । महायज्ञमा भक्तजन, दानविरदाताहरुको पनि उपस्थित बाक्लिदै गएको छ ।

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न कांग्रेसलाई चेम्बरको सुझाव

काठमाडौँ, १५ वैशाखः निजी क्षेत्रको संस्था नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहलसहित विभिन्न सुझाव दिएको हो । चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव हस्तान्तरण गर्नुभयो ।

उद्यमी, व्यवसायीको मनोबल खस्किनुको पछाडि विगतका पुराना समस्याको बोझ नै प्रमुख कारण रहेकाले लगानीमैत्री वातावरणका लागि नीतिगत सहजीकरण हुनुपर्ने सुझावमा उल्लेख गरिएको छ । “निजी क्षेत्रको आर्थिक जोखिम बहन क्षमता अत्यन्तै न्यून भएकाले थप जोखिम लिएर नयाँ उद्यम व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन सकिने अवस्था छैन”, सुझावबारे चेम्बरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन चालुपुँजी कर्जा निर्देशिकालाई खारेजी गरिनुपर्ने सुझाव दिएको छ । चालुपुँजी कर्जा निर्देशिकामा रहेका जटिल प्रावधानका कारण बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक भए पनि कर्जा विस्तार हुन नसकेको कार्यवाहक अध्यक्ष मल्होत्राले बताउनुभयो । व्यक्तिले घरजग्गा तथा अपार्टमेन्ट खरिद गर्दा आयश्रोतको विद्यमान झण्झटिलो व्यवस्थामा सहजीकरण गरिनुपर्नेमा समेत उहाँले जोडदिएको बताउनुभयो ।

खस्किँदै गएको घरजग्गा व्यवसायमा सुधार गर्न विदेशी नागरिकलाई पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था आगामी बजेटमा समावेश गर्नुपर्नेमा समेत चेम्बरले सुझाव दिएको छ । यसैगरी कृषिमा परिनिर्भरता घटाउन लगानीमैत्री वातावरण, उत्पादनमुखी नीतिको व्यवहारिक कार्यान्वयन गरिनुपर्ने चेम्बरको जोड छ ।

कृषिमा वैदेशिक लगानी आर्कषित गर्न जग्गामा लाग्दै आएको हदबन्दी हटाउने सुझाव पनि दिइएको छ । यस्तै, जग्गामा हदबन्दी लाग्दा यसले लगानी आर्कषित हुन नसकेको, यान्त्रिकरण र आधुनीकिकरणमा समस्या उत्पन्न भएको चेम्बरको बुझाइ छ । बाँझो जमिन सदुपयोग नीति अङ्गिकार गरेर युवालाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्नसमेत चेम्बरले कांग्रेसलाई सुझाव दिएको छ ।

देशमा पर्यटन प्रवर्द्धन गर्न विदेशस्थित नेपाली दूतावासमा वर्षमा कम्तीमा एकपटक नेपाल प्रवर्द्धन कार्यक्रम आयोजना गर्नुपर्ने, मुलुकमा थप भएका दुई वटा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी सञ्चालनमा ल्याई बढी पर्यटक भित्र्याउने नीति अवलम्वन गरिनुपर्ने सुझावसमेत दिइएको छ । यस्तै, ऊर्जा विद्येयकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र वन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत् आयोजनाको निर्माणमा गम्भीर चुनौती खडागरेको चेम्बरले उल्लेख गरेको छ ।

मंगलबारदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार

पाटन (ललितपुर), १५ वैशाख : ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ ।

 महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गर्न अनुरोध गरेको हो । “महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ । उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप हालसम्म सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ”, पत्रमा भनिएको छ । 

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकले २६ दिनदेखि आन्दोलन जारी राख्दा देशभरका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन प्रभावित भएको छ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, १५ वैशाखः प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद प्रेमबहादुर आलेले पोखरा विमानस्थल दुर्दशाको कारण नियामक र सेवाप्रदायक एउटै व्यक्ति हुनु रहेको बताउनुभयो । विसं २०८० साउन ९ गते क्यानको महानिर्देशकले धम्क्याएर ‘ग्राउण्डेड’ भएको जहाजलाई उडाएकाले दुर्घटना भएको उहाँले बताउनुभयो ।

“पार्टीको दबाब सहन नसकेर अहिलेका महानिर्देशक म मन्त्री भएका बेला बनाएको हुँ, मैले कनिष्ठलाई नबनाऔँ भनेको थिएँ”, पूर्व नागरिक उड्डयन मन्त्रीसमेत रहनुभएका सांसद आलेले भन्नुभयो ।

सांसद नागिना यादवले कर्मचारीका कमजोरी लुकाउने गरेकाले हवाइ दुर्घटना बढेको भनाइ राख्नुभयो । ऐन बनाएरमात्र नहुने र कार्यान्वयन पनि सही रूपमा हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद बिराजभक्त श्रेष्ठले पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाका बारेमा छानबिन गरी त्यसको प्रतिवेदन नआएसम्म निजगढ विमानस्थल बनाउन नहुने बताउनुभयो । निजगढका लागि अहिले नै रुख काट्नेलगायत विषयमा बिचौलियाको चलखेल भइरहेको उहाँको आरोप छ । नेपालमा पर्यटक अझै बढी आउन सक्ने उल्लेख गर्दै सांसद श्रेष्ठले हवाइ सुरक्षा नभएकैले आउनुपर्ने जति पर्यटक आउन नसकेकाले विधेयकले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सांसद हितराज पाण्डेले नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान रहेको र त्यसले प्रशिक्षण पनि दिइराखेकाले त्यसका कामका बारेमा पनि पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभयो । सांसद सुशीला थिङले हवाइ दुर्घटना बढ्नुमा नियामक र सेवा प्रदायक एकै निकाय भएको अवस्थामा अड्किएर बसेको विधेयक आउनु स्वागतयोग्य भएको धारणा राख्नुभयो ।

सांसद सोविता गौतमले प्राधिकरणले राम्रो काम गरेको भए दुई वटा निकाय बनाउनै नपर्ने सुझाव दिनुभयो । सौर्य विमान दुर्घटनाका दोषीलाई कारबाही भयो कि भएन संसद्ले जान्न पाउनुपर्ने उहाँको भनाइ थियो ।

सांसद सुदन किरातीले निजगढ विमानस्थलमा केही प्राविधिक त्रुटी भएकाले त्यसलाई नसच्याइ निर्माणप्रक्रिया अघि बढाउन नहुने बताउनुभयो । सांसद मनिष झाले विसं २०८१ साउन ९ गतेको सौर्य विमानस्थलको दुर्घटनाका बेला मन्त्री नबनेको भए पनि यसको जिम्मेवारी मन्त्रीले लिनुपर्ने बताउनुभयो । यसभित्र केही विषय भए मन्त्रीले सार्वजनिक गर्नुपर्ने धारणा उहाँको थियो ।

सांसद योगेशकुमार भट्टराईले विगत १५ वर्षअघिदेखि नियामक र सेवा प्रदायक निकाय अलगअलग बनाउने विषय नीति तथा कार्यक्रममा पर्दै आए पनि अहिलेसम्म बन्न नसकेकाले यसलाई अहिले अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसदरु राजेन्द्र बजगाइँ, रुपा जोशी चौधरी, लेखनाथ दाहाल, बिजुला रायमाझी, ज्ञानु बस्नेत सुवेदी, विन्ध्यवासिनी कंसाकारले नेपालको उड्डयन क्षेत्र सुधार हुने गरी विधेयकलाई परिमार्जित गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

२५६९औँ बुद्धजयन्तीका अवसरमा अमूल्य अस्तुधातु दर्शन गराइने

काठमाडौँ, १५ वैशाख : २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतम बुद्धको अमूल्य अस्तुधातु, काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइने भएको छ ।

श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्तिसहित शोभायात्रा गराइने भएको जानकारी गराइयो । ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले जानकारी दिनुभयो । 

भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पु-याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ । यस वर्षको बुद्धजयन्ती यही वैशाख २९ गते परेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । यसका लागि बौद्ध क्षेत्रमा मूल समारोह समिति गठन गरिएको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ, १५ वैशाख : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुग्नुभएका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उहाँहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पु¥याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।    भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गर्नुभएको थियो ।

चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

अदानचुली (हुम्ला), १५ वैशाखः हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो ।

“तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताउनुभयो ।

सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ । 

–––

काठमाडौँमा दुई/तीन वटा घर हुने सम्पन्नलाई भत्ता दिनु हुँदैन : सांसद बोहरा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराले आवश्यकताका आधारमा मात्रै ज्येष्ठ नागरिकलाई भत्ता दिनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका बोहराले भनेका छन्, ‘ज्येष्ठ नागरिकले पाउने भत्ता सबैले पाउनु हुँदैन, काठमाडौँमा दुई÷तीन वटा घर हुने आर्थिक रुपमा सम्पन्न छ भने उसलाई भत्ता दिनु हुँदैन, बरु केही पनि सम्पत्ति नभएको गरिब, जसलाई दुई छाक खान धौधौ छ, उसलाई दिनुपर्छ ।’

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट समानुपातिक सभासद बनेका सांसद बोहराले जनताको आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । विंस २०२७ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका ७४ वर्षीय बोहरासँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

वृद्धाभत्ता बढाएर समय सान्दर्भिक बनाउनुपर्छ

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सरकारले ज्येष्ठ नागरिकको भत्ता बढाएर मासिक रु चार हजार पुर्याएको छ । यो आफैँमा राम्रो पक्ष हो । यसलाई राज्यको ढुकुटी हेरेर अझै बढाएर, सान्दर्भिक बनाएर लैजान पनि सकिन्छ । तर यो सुविधा सबैलाई दिने हो भने देशको आर्थिक अवस्थाले थेग्न सक्दैन । राज्यको ढुकुटी सकिन्छ । आर्थिक रुपमा सम्पन्न वृद्धवृद्धाका लागि वृद्धाभत्ता दिनुको कुनै अर्थ छैन । जो पीडित छ, सहाराविहीन छ, जसको केही पनि आयस्रोत छैन, त्यस्ता नागरिकलाई दिनु ठीक कुरा हो । सहाराविहीन वृद्धलाई दिनुपर्छ । जसका छोराछोरी सम्पन्न छन्, उनीहरुलाई भत्ता दिनु राम्रो कुरा होइन ।

विसं २०५१ मा सुरु गरिएको भत्ता पाउने उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० सम्म आइपुगेको छ । नेपालमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र जातिलाई लक्षित गरी अहिले १० किसिमका सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । हामीले राम्रो गरेकालाई राम्रो भन्न सक्नुपर्छ । सरकारले दलित, एकल महिला, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, तोकिएका क्षेत्रका ज्येष्ठ नागरिक, विधवा, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति र बाल पोषणका रुपमा पनि भत्ता दिएको छ । यो राम्रो कुरा हो ।

देश विकासको निम्ति परिवर्तनकारी शक्ति मिल्नुको विकल्प छैन

देश विकास गर्ने हो भने ठूला राजनीतिक शक्तिहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्छ । उनीहरु एकापसमा मिल्दा मात्रै देशको आर्थिक, सामाजिकलगायत सबै विकासले गति लिन्छ । अब यहाँ त एउटाले केही गर्न खोज्यो भने अर्कोले विरोध गर्ने चलन छ । त्यसो गर्न भएन । आपसमा मिलेर देशको विकास गर्नुपर्छ । दलहरु आपसमा लड्ने काम गर्नु भएन ।

दलले काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो

सरकार र राजनीतिक दलले राम्रोसँग काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो । हामीले राजाको पालामा भएका काम पनि देखेकै हो । दलहरु मिलेर जनचाहनाअनुसार देशको विकास गर्ने हो भने राजसंस्थाको कुरा उठ्दैन । गणतन्त्र आएपछि केही राम्रा काम पनि भएका छन्, नभएका होइनन् । तर धेरै काम हुनुपर्ने थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका सरकारले जनताको पक्षमा काम नगरेका कारण जनतामा वितृष्णा आएको हो । यसलाई सच्याउन सरकारहरुले राम्रो काम गर्नुपर्यो । जनताको पक्षमा काम गर्नुप¥यो । उद्योगधन्दा खोलेर विदेश जाने युवालाई रोक्न सक्नुपर्यो । राजनीतिक दलले काम नगरेपछि बेरोजगारी बढेको हो ।

संविधान कार्यान्वयन भएको छ, तर जति हुनुपर्ने हो, त्यति भएको छैन

राष्ट्रियसभाले संविधान बमोजिम धेरै कानून बनाएको छ । कतिपय महत्वपूर्ण कानून बनाउन बाँकी नै छन् । जनताका शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा सदनमा कुरा उठिरहेकै छ । सबै पार्टीका सांसदले निरन्तर यी विषय उठाउँदै आएका छन् । राष्ट्रियसभामा उठेका धेरै विषय कार्यान्वयनमा गएका छन् । दश वर्षमा संविधान संशोधन गर्न सकिने भन्ने छ । यसलाई संशोधन गर्नुपर्छ भन्ने मेरो पनि धारणा हो । खासगरी निर्वाचन प्रणाली, शासकीय स्वरुपमा संशोधन गर्न आवश्यक छ । सङ्घीयतालाई पनि सुधार गर्नुपर्ने जरुरी छ । सङ्घीय प्रणालीलाई पनि परिवर्तन गरेर नयाँ बनाउनुपर्छ ।

सुशासनको लागि सरकारले सही ढङ्गले काम गर्नुपर्यो

रोजगारीका लागि सरकारले आर्थिक विकासमा जोड दिनुपर्छ । राज्यले रोजगारी सिर्जना गर्नुपर्छ । सबैलाई रोजगारी दिनुपर्छ । राज्यले बेरोजगारका लागि केही न केही व्यवस्था गर्नुपर्छ । सुशासन कायम गर्ने पक्षमा पनि सरकारहरुले ठोस काम गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सरकार निर्मम हुनुपर्छ । जनताको विश्वास जित्ने किसिमले काम गर्नुपर्छ ।

हेटाँैडामा बसको ठक्करबाट एक जनाको मृत्यु

बागमती, १५ वैशाखः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटाँैडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकको धनी रहेको खुलेको छ । सोही एरियामा बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पु¥याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको उपरीक्षक अन्सारीको भनाइ छ ।

ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की, १५ वैशाखः कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।”

नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

काठमाडौँ, १४ वैशाख: अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताउनुभएको छ ।

इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

स्थिरता र वित्तीय समावेशीकरण नीतिगत समाधानको रूपमा अनुसन्धान शीर्षकमा आयोजित बहस सत्रमा अर्थशास्त्री प्याकुरेलले भन्नुभयो, “वित्तीय पहुँच र समावेशीकरणलाई प्रवर्धन गर्न डिजिटल प्रविधि र नवीन वित्तीय उपकरणहरूको महत्व औँल्याउँदै दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको छ ।”

नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा नवराज अधिकारी, काठमाडौँ फिनटेकका संस्थापक डा सञ्जीव सुब्बा लगायत उपस्थित बहस सत्रले नेपालको आर्थिक विकासमा वित्तीय समावेशीकरण र स्थिरताको भूमिका स्पष्ट पार्दै नीतिगत दिशानिर्देशहरू तयार पार्न महत्वपूर्ण सुझावहरू प्रदान गरेको छ । 

त्यस अवसरमा, इम्बार्क कलेजका प्रिन्सिपल डा स्टिफन ड्रिभर, कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले कलेजको उद्देश्य, शिक्षा र अनुसन्धान मार्फत् दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्वबारे चर्चा गर्नुभयो ।

––

एनआरएनए अभियन्ताहरू काठमाडौँ आउने क्रम सुरु

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) हरू काठमाडौँ आउने क्रम सुरु भएको छ ।सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) महाधिवेशन आयोजना गर्न लागेको हो ।

समितिकी सदस्य सचिव जानकी गुरुङले विश्वभरबाट अभियन्ताहरू नेपाल आउने क्रम बढेको बताइन् । महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) बन्न झन्डै ३२०० जनाले आवेदन दिइसकेको समितिले जनाएको छ।

राजधानीमा भौतिक रूपमा हुने तय भएको महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको समितिको भनाइ छ। महाधिवेशन रोक्न प्रयास हुँदा नेपाल आएका प्रतिनिधिहरू मारमा पर्ने भन्दै समितिले सबैलाई महाधिवेशन सफल बनाउन आह्वान गरेको छ।

समितिको भनाइमा, महाधिवेशन रोक्ने प्रयासले गैर आवासीय नेपाली अभियन्ताहरूलाई आर्थिक तथा भावनात्मक रूपमा ठूलो क्षति पुर्‍याउनेछ। “हामीले बिदा मिलाएर, महँगो टिकट काटेर महाधिवेशनमा भाग लिन आएका हौँ। अब कुनै पनि बहानामा महाधिवेशन रोकिनु हामी सबैका लागि ठूलो घाटा हुनेछ,” एनआरएनए अमेरिकाका डा सूर्य लम्सालले भने । त्यस्तै बेलायत निवासी एनआरएन अभियन्ता आर के त्रिपाठीले सबै पक्षलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरे। “अब जुँगाको लडाइँ तर्फ न जाऊँ। उच्च स्तरीय समितिका सबै १३ जना बन्द कोठामा बसेर समस्याको निकास खोज्नु होस्,” उनले भने।

काठमाडौँको ठमेल, दरबारमार्ग लगायत क्षेत्रहरूमा एनआरएनएको चहलपहल बढेको छ, जसले स्थानीय आर्थिक गतिविधि समेत चलायमान बनाएको छ। संयोजक घलेका अनुसार महाधिवेशनबाट करिब ३० करोड रुपैयाँ नेपाली अर्थतन्त्रमा योगदान हुने अनुमान गरिएको छ।

अभियन्ता आरके शर्माले एकीकृत एनआरएनए निर्माणका लागि महाधिवेशन अपरिहार्य भएको बताउँदै सबै पक्षलाई सहयोग गर्न आग्रह गरे। उनले केही समूह संस्थालाई कब्जा गर्न खोजिरहेको आरोप समेत लगाए।

उच्चस्तरीय समितिका संयोजक शेष घलेले गत शुक्रवार संस्थाभित्र बृहत् एकताको लागि अपिल गर्दै बद्री केसी पक्षले सरकार प्रयोग गरेर महाधिवेशन पर सार्ने वा स्थगित गर्ने गर्नु उपयुक्त नहुने बताए । घलेले भने, “वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा एकता महाधिवेशनका लागि ३२०० प्रतिनिधिहरूले आवेदन दिएका छन्। छुट्टी मिलाएर र महँगो टिकट काटेर धेरै साथीहरू नेपाल आइपुगेका छन्। निर्वाचन कार्य तालिका पनि प्रकाशित भइसकेको छ।”

उनले सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा महाधिवेशन आयोजना गरिँदै गरेको स्पष्ट पारे। “नेपाल सरकारका प्रतिनिधिहरू बैठकमा सहभागी भइरहेकाले वैधानिकताबारे कुनै शङ्का छैन,” उनले जोड दिए।

गैर आवासीय नेपाली नागरिकता र लगानी प्रवर्द्धनका मुद्दामा सरकारसँग दह्रो वार्ता गर्न फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने उनले बताए।तर केसी पक्षले भने समय अभाव देखाउँदै महाधिवेशन पछि सार्नु पर्ने जनाउँदै आएको छ ।

बगरमा तरबूजा खेती गरेरै जीविका चलाउँँदै कञ्चनपुरका दुई सय परिवार

कञ्चनपुर, १५ वैशाख : यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको छ ।

माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री गर्नु पर्दथ्यो”, उहाँले भन्नुभयो, “हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौँ, तरबूजा बिक्री गरेको पैसा हातोहात पाइन्छ ।”

बगरमा तरबूजा खेती गर्न वडा नं ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन् । वडा नं ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबूजा लगाएका छन् । उनीहरुले बगर बराबर भागबण्डा गरी तरबूजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन् ।

एक परिवारलाई भागमा चार कठ्ठादेखि पाँच कठ्ठासम्म परेको स्थानीय बुधराम चौधरीले बताउनुभयो । भागमा परेको बगरमा तरबूजालगायत खेती गरी प्रत्येक परिवारले एक सिजनमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म  आम्दानी गर्दै आएका छन् ।

 बगरमा माघको पहिलो हप्तादेखि तरबूजा, लौका, काँक्रा रोप्ने गरिन्छ । “फागुनदेखि नै काँक्रा र लौका बेच्न सुरु गर्छौँ”, लालु चौधरीले भन्नुभयो, “तरबूजा बेच्न भने चैतको अन्तिम हप्तासम्म पर्खिनुपर्ने हुन्छ ।”

बगरमा उत्पादित लौका, काँक्रा, तरबूजा जोगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीमा बगर खेती गरिएकाले जङ्गली जनावरले हरानी दिने गरेको लालुले बताउनुभयो ।

 उनीहरु माघदेखि नै झोपडी बनाएर बगरमा बस्ने गरेका छन् । “बगरमा लगाएका विरुवा हुर्काउन सिँचाइ गर्ने, मल राख्ने, गोडमेल गर्ने, छेकवार निर्माण गर्नमै दिन बित्ने गरेका छन्”, अर्का स्थानीय छल्ली चौधरीले भन्नुभयो, “रातिका बेला जङ्गली जनावरबाट बिरुवा र त्यसमा लागेका फलहरु जोगाउन रखवारी गर्नुपर्ने हुन्छ ।” 

अझै पनि किसानलाई यी खेतीका लागि बीउ खरिद गर्न भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ । अरु किसानलाई अनुदान दिए जस्तै बीउ, रासायनिक मल, कीटनाशक र सिँचाइ गर्ने साधनमा अनुदान दिनुपर्ने उनीहरु बताउँछन् । भारतीय नागरिकले बगरमा गरेको खेती हेरेर यहाँका किसानले खेती थालेका हुन् । 

बगर खेतीको आम्दानीले वर्षभरिको घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च धानिँदै आएको स्थानीय हिंगलाल चौधरी बताउनुहुन्छ । “१५ वर्षदेखि बगरमा खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सहयोग कतैबाट पाइएको छैन, आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ ।” स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छन् । 

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ वैशाखः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाटठ भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पहलगाममा आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

इनरुवा (सुनसरी), १५ वैशाख : भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो ।

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते

तानसेन (पाल्पा), १५ वैशाखः रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वाेत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् । 

घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम, १५ वैशाखः शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।

इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताउनुभयो । “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”, उहाँले भन्नुभयो ।

इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताउनुभयो । देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ ।

इलाम नगरपालिका–५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरेपनि खुल्न अझै केही दिन लाग्ने बताउनुभयो । अभिभावकसँग छलफल गरेर निर्णय लिने उहाँको भनाइ छ ।
लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो । नगरप्रमुख केदार थापाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरु समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरुको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ ।”

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताउनुभयो । “विद्यालय भर्नामा असर नहुनेगरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ । सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन ।”

हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

विद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन: प्राधिकरण

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गरी विद्युत् आपूर्तिमा कुनै समस्या नरहेकाले ‘लोडसेडिङ’ को सम्भावना नरहेको स्पष्ट पारेको हो । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको हो । औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकाको समयमा खपत कम गरेर सहयोग गर्न प्राधिकरणले अनुरोधसमेत गरेको छ ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता तीन हजार ५१२ मेगावाट रहेको छ । यसमध्ये प्राधिकरणको स्वामित्वमा रहेका जलविद्युत् आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित दुई हजार १४९ मेगावाट रहेको छ ।

हाल आन्तरिक उत्पादन औसतमा एक हजार १७५ मेगावाट रहेकामा विद्युत्को उच्च माग (पिक लोड) दुई हजार ७७ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । जसमध्ये एक हजार ५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको छ ।

प्राधिकरणले गर्मीयाम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई चौबिसै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट पारेको छ ।

हालको मौसमका कारण कतिपय स्थानमा आँधीहुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुनसक्ने प्राधिकरणले जनाएको छ । मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतैकतै विद्युत् बन्द हुने अवस्था आउनसक्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपालको नदीमा पानीको बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने प्राधिकरणले विश्वास लिएको छ । प्राधिकरणले उपभोक्ताको धैर्य, सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको छ ।

भाटभटेनी लुटपाटमा कांग्रेस सह-महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

“सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

अस्पतालमा मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसहितको छड्के अनुगमन

भक्तपुर- विना स्वीकृति सञ्चालन गरेको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा आईतबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा, स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव डा सुमीत्रा गौतमसहितको टोलीले छड्के अनुगमन गरेको छ ।

अनुमति विपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाको सुधारका लागि  अनुगमन अभियान सुरु गर्ने क्रममा  भक्तपुरको मनोहरादेखि पेप्सीकोलासम्मका स्वास्थ्य संस्थाको अनुगमन गर्दै उक्त टोली मदरल्याण्ड अस्पताल पुगेको थियो ।

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालित सबै स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्रता बढाएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो । विसं २०६५ मा जिल्ला स्वास्थ्य कार्यालय र विसं २०६८ मा स्थानीय तहबाट १५ शैय्याको स्वीकृत लिएर हाल ५५ शैय्यामा सञ्चालन गरिरहेको अस्पतालमा मुख्यमन्त्रीको टोली प्रवेश गरेपछि अस्पताल सञ्चालकले अनुमतिपत्र देखाउन सकेनन् ।

अवैध रुपमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै अनुमति नलिइ अस्पताल सञ्चालन गरेको पाइएपछि मुख्यमन्त्री नेतृत्वको टोलीले तत्काल स्वीकृति लिएर  अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले स्वास्थ्य संस्थालाई पारदर्शी बनाउन दर्ता, नवीकरण गर्न तीन महिनाको समय दिएर सूचना प्रकाशन गर्दा दर्ताका लागि आवदेन नदिएका स्वास्थ्य संस्थामा अनुगमन गरिएको बताउनुभयो । 

अद्यावधिक नगरी सेवा सञ्चालन गरेको पाइएमा खारेजीसम्मको कारबाहही गरिने मुख्यमन्त्री लामाले बताउनुभयो । अनुगमनका क्रममा बागमती प्रदेशका मन्त्री किरण थापाले प्रदेश सरकारसँग अनुमति नलिई १५ शैय्याभन्दा माथिको कुनै पनि सेवा सञ्चालन नगर्न निर्देशन दिनुभयो । 

अनुगमनमा बागमती प्रदेश स्वास्थ्य सचिव डा सुमीत्रा गौतमले कुनै संस्था दर्ता तथा नवीकरणका लागि कुनै व्यक्तिलाई अब कमिसन वा कुनै अतिरिक्त रकम तिर्न नपर्ने बताउँदै विना झण्झट संस्था दर्ता तथा नवीकरणका लागि अनलाइन प्रणाली सुरु गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा कुनै अनियमितता नहोस् भनेर सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन अनलाइन प्रणाली लागू गरिएको छ । अब स्वीकृत लिएर मात्रै अस्पताल, स्वास्थ्य संस्था, क्लिनिक वा औषधि पसल सञ्चालन गर्न आह्वान गर्दछु ।”

मदरल्याण्ड अस्पतालका सञ्चालक प्रा डा  करवीर नाथ योगीले निर्देशनलाई पालना गर्ने प्रतिबद्धता जनाउनुभयो ।  अस्पतालले बिरामीबाट उठाएको विभिन्न शुल्क आफ्नो खातामा जम्मा गरी अपचलन गरेको र सरकारलाई तिर्नुपर्ने राजस्व छलि गरेको पाइएको छ ।

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी गर्दै इटहरीका युवराज

धरान (सुनसरी) १५ वैशाख : यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहनुभएको छ ।

मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ ।  आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उहाँले भन्नुभयो । हाल ६२ घार मौरी उहाँले पाल्नुभएको छ । वार्षिक नौ  देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु आठ लाख बढी आम्दानी गरिरहेको उहाँले बताउनुभयो । 

सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार÷पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उहाँको भनाइ छ । 

भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहनुभएको छ । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ । घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ । मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ । 

भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक  र काठमाडाँैसम्म बिक्री हुने गर्छ । “अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु”, भट्टराईले भन्नुभयो,  “महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ, । मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु । अहिले प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आएको छु । महसँगै रु १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो । 

इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ । यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ ।

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

काठमाडौँ, १५ वैशाख : चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।

 “सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्”, सगरमाथा आधार शिविरमा रहनुभएका पर्वतारोही लाक्पा शेर्पाले भन्नुभयो, “आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।” ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१आँै आरोहणका लागि सगरमाथा पुग्नुभएको हो । आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ । 

  समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी एक हजार तीन सयभन्दा बढी आधार शिविरमा छन् । एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताउनुभयो ।

 सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताउनुहुन्छ । “सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भीडले विश्वको ध्यान खिचिरहेको छ”, उहाँले भन्नुभयो ।

केही दिनयता सामाजिक सञ्जालमा चाँदी झैँ टल्किएका सगरमाथासहितका हिमालका तस्बीर र सुन्दरगाउँको भझल्को दिने सगरमाथा आधारशिविरले संसारको ध्यान खिचेको छ ।  यसले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा परिचय दिलाउन मद्दत पुगेको छ । 

 लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको बताउनुहुन्छ । “वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आइरहेका आरोहीले नयाँ माहोल बनेको छ, यसले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

 सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिनुभयो ।

तेस्रो शिविरसम्म बाटो खुल्यो

यो सिजनमा सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (सपीसिसी) ले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अबको साता, १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ । आरोहण अनुमति लिएका आरोही झण्डै एक महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन् ।

 सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही नेपाल आइरहेका छन् । अधिकांश आरोहण अनुमति लिएर सगरमाथा क्षेत्र पुगिसकेका छन् । कतिपय आरोही अनुमतिको प्रक्रियामा छन् । वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । पर्यटन विभागले आधार शिविरमा सम्पर्क कार्यालय खोलेर आरोहणको व्यवस्थापन गरिरहेको छ । 

सगरमाथा चढ्न चार सय बढी आरोही

 पर्यटन विभागका अनुसार आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिनुभयो । त्यसमध्ये ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए । यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।

सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।

यो सिजनमा सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पाले २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्कनुभएको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँनयाँ कीर्तिमान  थपिने क्रम जारी छ ।

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १४ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको छ । 

त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरिएको छ ।  

माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र,  मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र  लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि समान रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरिएको छ । 

सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दावी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

सोही मुद्दामा आयोगले फरक फरक रुपमा विभिन्न चार वटा मुद्दा  दायर गरेको छ । आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित समेत १५ जना र हस्पिटेक प्रालिका विरुद्ध रु १९ करोड ४६ लाख १३ हजार एक सय २० बराबरको बिगो माग दाबी गरेको छ । 

मधेश प्रदेशका विभिन्न ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा पनि चरम भ्रष्टाचार भएको भन्दै आयोगले रु पाँच करोड एक लाख ९० हजार ८० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । 

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

काठमाडौँ, १५ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ । 

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै

काठमाडौँ, १५ वैशाख : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ । खानेपानीमन्त्री प्रदीप यादवले अब सिंहदरबारमा खानेपानीका  बोतल र जार निषेध गर्ने घोषणा गर्नुभएको थियो । हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रुपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीब्र रुपमा अगाडि बढेको छ ।” 

मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ । अब चाँडै सिंहदरबारमा मेलम्चीको पानी वितरण हुन्छ ।”  

शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह

काठमाडौँ, १५ वैशाख : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ ।

सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि भइरहेको सडक आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय भएको उल्लेख गर्नुभएको छ ।

“शिक्षकमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ । यो कार्य सरकारको विवेकशून्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लङ्घन हो”, विज्ञप्तिमा भनिएको छ ।

उपाध्यक्ष सापकोटाले शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ताका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्न आग्रह गर्नुभएको छ । शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन माग गर्दै प्रवक्ता सापकोटाले प्रदर्शनका क्रममा गम्भीर घाइते शिक्षक एवम् सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न

रूसले शनिबार राति युक्रेनका विभिन्न क्षेत्रमा एकसाथ लगभग १५० ड्रोन प्रहार गरेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनी वायु सेनाका अनुसार तीमध्ये ५७ ड्रोन खसालिएका थिए भने ६७ ड्रोनहरू इलेक्ट्रोनिक रूपमा निष्क्रिय पारिएको थियो ।

ड्रोन आक्रमणका क्रममा डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोह्राड शहरमा एक व्यक्तिको ज्यान गएको छ भने १४ वर्षीया एक किशोरी घाइते भएकी छन् । यस्तै, ओडेसा र झिटोमिर क्षेत्रमा पनि आक्रमणका कारण दुई जना घाइते भएका छन् । खेरसोन शहरमा भएको रूसी हवाई आक्रमणमा थप चार जना नागरिक घाइते भएको जानकारी प्राप्त भएको छ ।

रूसको रक्षा मन्त्रालयले युक्रेनी सेनाबाट ब्रायान्स्क सीमा क्षेत्र र क्राइमिया क्षेत्रमा गरिएको ड्रोन आक्रमणलाई विफल तुल्याइएको दाबी गरेको छ । डोनेत्स्क क्षेत्रको होर्लिभका शहरमा युक्रेनी तोपखानाबाट भएको आक्रमणमा पाँच जना घाइते भएको रूसी मेयरले बताउनुभएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पुटिनले ‘युद्ध अन्त्य गर्ने चाहना राख्दैनन्’ भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभयो, “पछिल्ला दिनहरूमा रूसी सेनाबाट नागरिक क्षेत्रमा प्रहार हुनु अत्यन्तै दुर्भाग्यपूर्ण विषय हो ।”

भ्याटिकनमा आयोजित पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा सहभागी भई स्वदेश फर्कंदै गर्दा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छोटो कुराकानी गर्नुभएका थिए । यो कुराकानी उहाँहरूबीचको पछिल्लो समयको पहिलो प्रत्यक्ष भेटघाट हो ।

क्रेमलिनका एक वरिष्ठ अधिकारीले युक्रेन युद्धको समाधान दीर्घकालीन प्रक्रिया अन्तर्गत अघि बढ्ने बताउँदै वार्ता प्रक्रियामा गहिरो समय लाग्न सक्ने सङ्केत गर्नुभयो । उता राष्ट्रपति जेलेन्स्कीले रूस शान्तिका लागि प्रतिबद्ध नभई केवल युद्धविरामको भ्रम सिर्जना गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।

पूर्वसांसद डङ्गोलको निधनमा शोक प्रस्ताव पारित, अर्को बैठक वैशाख १५ गते

काठमाडौँ, १४ वैशाखः प्रतिनिधिसभाले पूर्वसांसद एवं संविधानसभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

नेपाली कांग्रेसका तर्फबाट २०५६ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित तथा २०६४ सालको संविधासभा सदस्य डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो ।

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते बिहान ११ बस्नेछ ।

बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ, १४ वैशाखः बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राख्नुभएको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताउनुभयो । “राष्ट्रियसभाको सुझावप्रति मेरो सम्मान छ, त्यसलाई ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोण सभासमक्ष राख्दछु,” उहाँले भन्नुभयो । त्यसअघि सांसद प्रेम सुवालले मुलुकको सन्तुलित विकास र जिल्लाभित्रै मात्र बसाइँसराइ हुने व्यवस्था गरिए बैङ्किङ कसूर स्वतः नियन्त्रण हुँदै जाने बताउनुभयो । सांसद सराज अहमद फारुकीले विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त सुझावलाई समेटेर जानुपर्नेमा जोड दिनुभयो ।

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौँ, १४ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको लगानी बोर्डको ६१औँ बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको बोर्डका सहसचिव एवम् प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले. जानकारी दिनुुभयो ।

बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

नेपाली खेलाडी सोहन र हृदयणीलाई अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण

काठमाडौँ, १४ वैशाख ः नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सोहनले पुरुष २४ किलोमुनि तौल समूहमा र हृदयणीले महिला २९ किलोमुनि तौल समूहतर्फ स्वर्ण जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जानकारी दिनुभयो ।

जापानको ओसाकामा यही वैशाख १२ गतेदेखि आजसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप एक रजत र दुई कास्य पदकसमेत जितेको छ । महिला ३४ किलोमुनि तौल समूहमा जोलिना बस्नेतले रजत जितिन् । त्यस्तै एकल पुम्सेतर्फ पुरुष १४ वर्षमुनि तौल समूहमा आश्रय उपाध्याय तथा १२ वर्षमुनि तौलमा सक्षम श्रेष्ठले कास्य हात पारे ।

प्रतियोगितामा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । उनले यसै प्रतियोगिताको २०औँ संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

पार्टी सुदृढ बनाउन जनताको बीचमा पुगेका छौ: अध्यक्ष दाहाल

राँझा(बाँके), १४ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ बनाउन आफूहरु जनताको बीचमा पुगेको बताउनुभएको छ ।

आज बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित फत्तेपुरमा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुर्याउन र जनताका समस्या बुझ्दै जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न अभियान सफल भएको बताउनुभयो । 

“हामीले सरकारमा रहँदा सामाजिक न्याय र सुशासनको पक्षमा गरेको कामबारेमा जानकारी गराउने र तराई मधेसका सबै समुदायका जनतासँग सम्बन्ध जोड्र्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा छाँै”, उहाँले भन्नुभयो, “म पहिलो पटक यो राप्ती सोनारी गाउँपालिकामा आउँदा उत्साहित भएको छु यहाँको विकासको लागि गर्नुपर्ने काममा म प्रतिबद्ध पनि छु ।”

उहाँले बाँकेको राप्ती सोनारी क्षेत्रमा पछिल्लो समयमा विकास निर्माण र शिक्षा स्वास्थ्यको अवस्थामा सुधार भएको उल्लेख गर्दै सडक, स्वास्थ्य चौकी र राप्ती नदीको कटान रोक्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबारनै राप्ती सोनारी–७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री माओवादी स्थायी समितिका सदस्य महेश्वर गहतराज अथक, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमूना र वडा नम्बर सातका वडाध्यक्ष रामलखन थारूले राप्ती नदीले गर्दै आएको कटान, डुबानलगायतका समस्याका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराउनु भएको थियो । 

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल, सचिव चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेताको सहभागिता रहेको थियो । 

‘बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी’

लुम्बिनी, १४ वैशाखः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल राष्ट्र बैङ्कको ७०औं वार्षिकोत्सव समारोहको आज भैरहवा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बैङ्क तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिनुभयो । “सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढङ्गले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैङ्कले समीक्षा गर्न जरुरी छ ।”

प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । राष्ट्र बैङ्क बैङ्कको बैङ्क भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीको समाधानका लागि राष्ट्र बैङ्क चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले राष्ट्र बैङ्कको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थामा आवद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षको उपस्थिति रहेको थियो ।

संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सांसदको माग

काठमाडौँ, १४ वैशाखः राष्ट्रियसभाको बैठकमा सांसद डा बेदुराम भूसालले संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद डा भूसालले विद्यालय संविधानअनुसार बन्नुपर्ने कानुन बन्न नसक्दा धेरै कामकारबाहीमा कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

“शिक्षकहरु ऐन जारी गर्न माग गर्दै सडक आन्दोलनमा गरेको २६ दिन भयो, सरकारले शिक्षकको मागप्रति गम्भीतापूर्वक ध्यान दिएको देखिदैन,” सांसद भूसालले भन्नुभयो, “शिक्षकको माग सरकारले सुन्नुपर्छ, सहकारीपीडित, मिटरब्याजीपीडित पनि आन्दोलनमै छन्, सरकारले महसुस हुने गरी माग सम्बोधन गर्नुपर्छ ।”

सांसद मृगेन्द्रकुमार सिंह यादवले सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न आवश्यक ऐन तत्काल बनाउन जरुरी भएको र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले जनताको निराशालाई चिर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै कानुन चाहियो भनेर कोही पनि व्यक्ति वा संस्था सडक आन्दोलनमा आउनुपर्ने अवस्था सिर्जना गर्न नहुने बताउनुभयो ।

सांसद शेखरकुमार सिंहले धनुषामा तीन÷चार वर्षदेखि खेतबारी बाँझै भएको उल्लेख गर्दै पानी नभएका कारण खेतीयोग्य जमिनमा उत्पादन गर्न नसकिएको बताउनुभयो । उहाँले तत्तकाल सिँचाइको व्यवस्थासमेत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तुलप्रसाद विश्वकर्माले विद्यालय ऐन जारी गर्न माग गर्दै शिक्षक लामो समयदेखि सडक आन्दोलनमा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आर्थिक भारपर्ने भएपनि शिक्षकको माग सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै शिक्षाजस्तो क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभामा हवाई सेवा प्राधिकरण विधेयक पेस

काठमाडौँ, १४ वैशाखः प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ पेस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त सर्वसम्मतीले स्वीकृत गरेको हो ।

बैठकमा सांसदले दिएका सुझावका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्यस्ता सुझाव संशोधनको प्रक्रियाका क्रममा समेटेर विधेयकलाई समृद्ध बनाइने बताउनुभयो । साथै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय आवश्यकताका आधारमा विधेयक ल्याउनुपरेको बारेमा अवगत गराउनुभएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसद उदयशम्शेर राणा, एकनाथ ढकाल, राजेन्द्रकुमार केसी, रामहरि खतिवडा, रोसन कार्की, विराजभक्त श्रेष्ठ, रञ्जुकुमारी झा, प्रेम सुवाल, वासुदेव घिमिरे, नागिना यादव, सुमना श्रेष्ठ, लक्ष्मी तिवारी, शिव नेपाली, डा अमरेशकुमार सिंह, नारायणी शर्मा, दुर्गा राई, ज्ञानु बस्नेत सुवेदी, सुदन किराती, प्रेम आले, रामकृष्ण यादव, हितबहादुर तामाङ, प्रतिमा गौतम, भगवती चौधरी, मनिष झा, हितराज पाण्डे, कुशुमदेवी थापा, राजेन्द्र बजगाईं, माधव सापकोटा, लेखनाथ दाहाल, ठाकुरप्रसाद गैरे, रणेन्द्र बराली, सराज अहमद फारुकी, दयालबहादुर शाही, मैना कार्कीले भाग लिनुभएको थियो ।

बैठकमा यसअघि अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको थियो । त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको थियो ।

झडपमा शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते

काठमाडौँ, १४ वैशाख : काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।

विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो ।

सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गर्नुभएको हो । यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहनुभएका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो ।

बिदाइ कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी हुनुुहुुन्थ्यो । सरकारको आयोजनामा आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा सगरमाथा संवाद हुँदैछ ।