‘ग्रामीण स्वास्थ्य र शिक्षाका संरचना सुदृढमा केन्द्रित छौँ’ – मन्त्री भण्डारी
कर्णाली – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षाको संरचना सुदृढ गर्नेतर्फ प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
आज सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– १ देवस्थलस्थित १५ शय्या क्षमताको नवनिर्मित नगर अस्पतालको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले स्वास्थ्य र शिक्षाका कारण बसाइसराइको दर बढिरहेको हुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य र शिक्षाका संरचना सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । सोही अनुरूप स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको उहाँले जनाउनुभयो ।
मन्त्री भण्डारीका अनुसार दार्मा गाउँपालिका बाहेक सल्यान र रुकुमपश्चिमका सबै स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको छ । आवधिक निर्वाचनका माध्यमबाट जनताले जनप्रतिनिधिको परीक्षा लिने गरेको उल्लेख गर्दै उहाँले जनताप्रति उत्तरदायी हुन र सोही अनुरूप सार्वजनिक सेवा प्रवाह गर्दा गुणस्तरीय एवं पहुँचयोग्य बनाउँदै सुदृढीकरण तर्फ ध्यान दिन अपिल गर्नुभयो ।
कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भीमप्रकाश शर्माले प्रदेश सरकारको सहयोग प्राप्तिसँगै मन्त्रालयले अस्पतालका लागि मेडिकल अधिकृतसहितको जनशक्ति व्यवस्थापन गरेकोप्रति कृतज्ञता प्रकट गर्नुभयो । सामान्य उपचार नपाइरहेको यो भूमिमा नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा पाउन राम्रो कुरा भएको जनाउँदै उहाँले अस्पतालको स्तरोन्नतिका लागि आफ्नो तहबाट पहल गर्ने बताउनुभयो ।
नगरप्रमुख कर्णबहादुर बुढाथोकीले अस्पताल सञ्चालन गर्ने नगरवासीको सपना पूरा भएको बताउँदै स्वास्थ्य उपचारका लागि वर्षौँदेखि सास्ती खेपिरहेका नागरिकले राहत प्राप्त गर्ने जनाउनुभयो । अस्पतालको विकासका लागि नगरपालिका निरन्तर लागिपरेको उहाँको भनाइ थियो ।
