`

भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने

भक्तपुर, १३ वैशाखः भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आज नेपाल किक बक्सिङ सङ्घ, भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यहाँ पहिलोपटक यही वैशाख १९ र २० गते सूर्यविनायक नगरपालिका–८ जगाती कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ देशभरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्दै अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो । हालै सम्पन्न १९औँ एसियाली खेलकुद, गोङ्जाउ, चीनमा किक बक्सिङ समावेश भएसँगै यस खेललाई आगामी एसियाली खेलकुदको तयारीका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिइएको उहाँले जानकारी दिनुभयो । 

प्रतियोगितामा नेपालका सातै प्रदेशका कम्तीमा २० जिल्लाका एक सय १० जनाभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको सङ्घका महासचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घद्वारा स्वीकृत के–१ नियमावलीअनुसार सञ्चालन हुनेछ । प्रत्येक खेलमा तीन राउन्ड हुने छभने प्रत्येक राउन्डको अवधि दुई मिनेटको हुनेछ । प्रतियोगितामा खेलाडीहरूको शारीरिक क्षमता, प्रविधि र मानसिक बलको उत्कृष्ट प्रदर्शन हुने उहाँले बताउनुभयो । 

प्रतियोगितामा पुरुषतर्फ ११ वटा (४५ देखि ७५ केजी खुल्ला तौलसम्म) र महिलातर्फ सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । साथै सातवटा पेसागत (व्यावसायिक) फाइटहरू पनि आकर्षणका रूपमा आयोजना गरिनेछ र खेलाडीहरूको तौल जाँच वैशाख १८ गते हुने उहाँले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छभने विशिष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ । खेलाडीको नाम दर्ताको अन्तिम मिति वैशाख १८ गते तोकिएको छभने खेलाडीहरूको दीर्घकालीन अभिलेख राखी भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा छनोट प्रक्रिया सहज बनाउने बताइएको छ । 

फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउनसक्छः सभामुख घिमिरे

पाटन (ललितपुर), १३ वैशाखः सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउन सक्ने भएकाले महत्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आज ललितपुरमा आयोजित पाँचौँं फोटो पत्रकारिता अवार्ड वितरण समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले समाजमा फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका भए पनि यो पेसा ज्यादै चुनौती रहेको धारणा राख्नुभयो । “फोटो पत्रकारिताको विकासका लागि संस्थागत पहल महत्वपूर्ण छ, भ्रम सिर्जना गर्न सकिने प्रविधिको युगमा फोटो पत्रकारिताले शताब्दीसम्म सत्यतथ्य र समाजको यथार्थतालाई चित्रण गर्न सक्नेछ । फोटो पत्रकारको महत्व र आवश्यकतालाई राज्यले सम्बोधन गर्दै पेसाप्रति प्रेरित गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले फोटो पत्रकारको सम्मान र सहयोगका लागि संस्थागत रूपमा अक्षयकोष स्थापना गरी समूहले सम्मान गर्नु सराहनीय काम भएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फोटो पत्रकारिताले निष्पक्षता र प्रमाणित कुरा सम्प्रेषण गर्दा नै विश्वसनीय भएको बताउनुभयो । “दृश्यबिना पत्रकारिता अपूरो हुन्छ, लेखेको समाचारभन्दा तस्बिरबाट देखाइएको पत्रकारिता महत्वपूर्ण हुन्छ । चुनौती, दुःख, कष्टलाई सहेर समाजको परिदृष्यलाई चित्रण गर्नु ठूलो काम हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा फोटो पत्रकार समूहले सात वटा प्रदेशबाट एक/एक जना, १५ वटा विद्यामा १५, लाइफटाइम एचिभमेन्ट अवार्डबाट एक र मरणोपरान्त एक गरी २४ जनालाई सम्मान गरेको छ ।
सम्मानित व्यक्तित्व छनोटका लागि गठित समितिको निर्णायक मण्डलका सदस्य मनोज दाहालले सीमित स्रोतसाधनका बाबजुद नेपालको फोटो पत्रकारिता उन्नत हुँदै गइरहेको बताउनुभयो । फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले संस्थाको सदस्यता लिएका फोटो पत्रकारलाई क्यामेरा किन्नका लागि ग्लोबल आइएमईबाट सहुलियत ऋणको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

विसं २०५३ असोज ६ गते स्थापना भएको यस संंस्थाले फोटो पत्रकारको क्षमता अभिवृद्धिका साथै यस क्षेत्रमा लाग्ने उत्कृष्ट पत्रकारलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

‘नेपाल-चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छ’

लुम्बिनी, १३ वैशाखः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै दैजानुपर्ने धारणा राख्नुभएको छ ।

‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ विषयक दुई दिने अन्तरराष्ट्रिय गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो गोष्ठी नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा रहेको बताउनुभयो । 

लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवर्द्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा भएको गोष्ठीमा उहाँले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । “लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो”, उहाँले भन्नुभयो, “बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।”

नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । उहाँले गोष्ठीले बौद्ध दर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिनसक्ने धारणा राख्नुभयो । विशेषगरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकार बौद्ध संस्कृति, कला र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो । “यो गोष्ठी मात्र नभइ बौद्धिक विमर्शको मञ्च, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकतालाई विश्व समुदायसम्म पुर्‍याउने उत्सव पनि हो”, मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ, १३ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताउनुभएको छ ।

नेपाल रिपब्लिक मिडियाले आज यहाँ आयोजना गरेको १६औँ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जसरी लोकतन्त्रबिना स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोहो¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकामा मलाई खुसी लागेको छ ।”

राष्ट्रपति पौडेलले वर्तमान समयमा लोकप्रियतावाद हाबी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने धारणा राख्नुभयो । यसकारण सजग प्रेसले सदैव सही, सत्य सूचना प्रवाह गरेर लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्ने उहाँको विश्वास थियो । –

बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला तत्कालीन अवस्थामा पत्रकारलाई बोलाएर पत्रिका निकाल्न र सरकारको निरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रसँंग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण बिपीले सो आग्रह गरेको बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताउनुभयो । प्रविधिको दुरुपयोग गरेर भ्रम छर्ने, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएकामा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कैलालीकी वन संरक्षक अभियानकर्मी नन्दादेवी कुँवर, रुपन्देहीका शिक्षासेवी घनश्याम पाठक र महोत्तरीकी क्रिकेट खेलाडी पूजा महत्तोलाई नागरिक सम्मान २०८२ बाट सम्मानित गरिएको थियो ।

राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग

संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

अप्रिल २५ मा जारी गरिएको प्रेस विज्ञप्तिमा काउन्सिलका अध्यक्ष फ्रान्सका जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार तथा पिडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आक्रमणले विश्वव्यापी आक्रोश निम्त्याएको जनाउदै युएनएससीले अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने तत्कालीन आवश्यकतामा जोड दिनुभएको छ ।

आतङ्कवाद विश्वव्यापी शान्ति र सुरक्षाका लागि खतरा भएको परिषद्ले उल्लेख गरेको छ ।

विज्ञप्तिमा कुनै पनि निर्दोष नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्न नहुने विषयमा जोड दिएको छ । युएनएससीले जम्मू र कश्मीरको द्वन्द्वको प्रभावले आतङ्कवादी गतिविधिहरूमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ता थपिएको जनाइएको छ ।

आक्रमण प्रतिको जवाफदेहितामा जोड दिँदै युएनएससीले आक्रमणका जिम्मेवारहरू विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेको छ । विज्ञप्तिमा न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुन र विद्यमान सुरक्षा परिषद्को प्रस्ताव अन्तर्गत सहयोग गर्न सबै राष्ट्रलाई आग्रहसमेत गरिएको छ ।

जानकारी साझा गर्ने, संदिग्धहरूलाई सुपुर्दगी गर्ने र आतङ्कवादी सञ्जाललाई आर्थिक सहयोग कटौती गर्नेजस्ता कुराहरू अपिलमा समावेश छन् ।

राजनीतिक, वैचारिक वा धार्मिक अभिप्रेरणाको प्रवाह नगरी आतङ्कवाद कुनै पनि परिस्थितिमा अन्यायपूर्ण रहेको विज्ञप्तिमा दोहोर्याइएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मानव अधिकार र मानवीय दायित्वहरू लगायत अन्तर्राष्ट्रिय कानूनको आधारमा आतङ्कवादसँग लड्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्रको बडापत्रलाई आत्मसाथ गर्दै परिषद्ले मौलिक स्वतन्त्रताको रक्षा गर्दै सुरक्षा खतराहरूलाई सम्बोधन गर्न कानुनी र समन्वित उपायहरूको आवश्यकतालाई जोड दिएको छ ।

गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ

नक्कली कागजातहरूका साथ भारतमा बसोबास गरेको आरोपमा बङ्गलादेशका ५५० भन्दा बढी अवैध आप्रवासीहरूलाई अहमदाबाद र सुरतमा हिरासतमा लिइएको गुजरात प्रहरीले शनिबार जनाएको छ । प्रहरी अधिकारी अनुसार प्रमाणिकरण तथा सोधपुछ भएपछि निर्वासन कार्यवाही हुनेछ ।

विशेष परिचालन समूह (एसओजी) अपराध शाखा, मानव बेचबिखन विरोधी एकाइ (एएचटीयू) अपराध शाखा रोकथाम (पिसिबी) र स्थानीय प्रहरी सहितका कानून सम्मत एकाइहरुले संयुक्त कारबाहीको नेतृत्व गरेका थिए । अधिकारीहरूले हिरासतमा लगिएका सबै व्यक्तिहरू आवश्यक कागजात बिना भारतमा रहेको तथा निवास स्थापना गर्नका लागि नक्कली कागजातहरू प्रयोग गर्ने गरेको पुष्टि गरेका छन् ।

सुरतमा एसओजी, डिसिबी, एएचटियू, पिसिबी र स्थानीय प्रहरीको संयुक्त अपरेसनको परिणामस्वरूप १०० भन्दा बढी बङ्गलादेशी नागरिकहरू पक्राउ परेका थिए । “उनीहरू अवैध रूपमा भारतमा प्रवेश गरेका थिए र नक्कली कागजात लिएर सुरतमा बस्दै आएका थिए,” अनुसन्धानपछि उनीहरूलाई स्वदेश पठाइने बताउँदै विशेष कारबाही एकाइका प्रहरी उपायुक्त राजदीप सिंह नकुमले बताउनुभयो ।

अपराध शाखा, एसओजी, आर्थिक अपराध शाखा (इओडब्लु) जोन–६ र मुख्यालयका टोलीहरूले अवैध आप्रवासी भएको शङ्कामा शनिबार अहमदाबादम गरिएको अपरेशनमा ४५० भन्दा बढी व्यक्तिहरूलाई हिरासतमा लगिएको जनाइएको छ । अपराध शाखाका डिसिपि अजित राजियानले घटनाको पुष्टि गर्नुभएको छ ।

प्रहरी आयुक्त, अपराध शाखा अहमदाबादका शरद सिँहले गृहमन्त्री, र प्रहरी महानिर्देशकको आदेशको पालना गर्दै कारबाही गरेको बताउनुभएको छ ।

“गृहमन्त्री, सिपि र डिसिपीले अवैध आप्रवासीलाई हिरासतमा राख्न निर्देशन दिएको बताउदै राजियानले अपराध शाखाले अप्रिल २०२४ देखि अहिलेसम्म दुईवटा एफआइआरएस दर्ता गरेको र १२७ जना अवैध बङ्गलादेशीहरू अपहरण गरी ७७ जनालाई निर्वासित समेत गरिएको पुष्टि गर्नुभएको छ ।

अहमदाबादमा पछिल्लो अपरेसनमा उल्लेख्य सङ्ख्यामा कागजातविहीन आप्रवासीहरू रहेको आशङ्काको आधारमा गरिएको जनाइएको छ ।

चान्डोला क्षेत्रमा ठूलो सङ्ख्यामा बङ्गलादेशीहरू बसोबास गरिरहेको सूचनाको आधारमा प्रहरीले गरेको कारबाहीमा अहिलेसम्म ४५७ जनालाई पक्राउ गरेको र सोधपुछपछि निर्वासन प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन

वीरगञ्ज (पर्सा), १३ वैशाख: सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले आज आयोजना गरेको निःशुल्क आँखा शिविरबाट एक सय ४९ जना सेवाग्राही लाभान्वित भएका छन् । वीरगञ्ज महानगर-२ छपकैयाँस्थित छठघाटस्थित धर्मशालामा आयोजित शिविरमा ३५ जना मोतियाविन्दुका बिरामी भेट्टिएका हुा् ।

वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महानगरका सहरी तथा ग्रामीण बस्तीमा आँखाका बिरामी उपचार गर्न आनाकानी गर्ने प्रवृत्तिले बस्तीबस्तीमा शिविर गर्न आवश्यक भएको बताउनुभयो । “वीरगञ्जका टोलटोलमा आँखा अस्पताल छन् । उपचार गर्न जाने प्रवृत्ति कम भएकाले त्यस्ता बिरामीलाई लक्षित गरी शिविर गर्न आवश्यक छ । सोही अनुसार अहिले सुरुवात गरेका छौँ ।”

वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले तराई-मधेसमा आँखाका बिरामी उपचार गर्न अस्पताल जान असहज मान्ने भएकाले शिविर जरुरी रहेको बताउनुभयो । “केन्द्रले समुदायमा रहेका सीमान्तकृत तथा  आर्थिक अभावका कारण समस्यामा परेका नागरिकको शिविरमार्फत मोतियाविन्दु पहिचान गरी निःशुल्क शैल्यक्रिया गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले निःशुल्क आँखा शिविर वर्षभरि गर्दै आइरहेका छौँ । जसबाट हजारौँ सर्वसाधारणले आँखाको ज्योति पाउँदै आउनुभएको छ ।”

केन्द्रले तिलगङ्गा आँखा प्रतिष्ठान र क्रियुर ब्लाइन्डनेस संस्थासँगको साझेदारीमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा सातापिच्छे निःशुल्क आँखा शिविर र निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आइरहेको छ । नेत्र अधिकृत सिंहले तराई-मधेसका नागरिकले आँखाको हेरचाह र सुरक्षामा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आँखा मानव जीवनको अभिन्न अङ्ग भएकाले यसको विशेष हेरचाह र सुरक्षामा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराहीले आँखा शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो । “मोतियाविन्दु भेट्टिएका बिरामीलाई निःशुल्क शल्यक्रियाको पनि प्रबन्ध गरेका छौँ”, उहाँले भन्नुभयो ।

गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तिब्र, बृहत् मोटरसाइकल र्‍याली सम्पन्न

पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए।

र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्‍यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्‍यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताउनुभयो। “यो र्‍यालीले महायज्ञप्रतिको उत्साहलाई अझै बढाएको छ। पोखरेली जनताको सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ,” उहाँले भन्नुभयो।

र्‍यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरे। धार्मिक भजन र सन्देशमूलक नाराहरूले र्‍यालीको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। स्थानीय बासिन्दा र दर्शकहरूले र्‍यालीलाई हौसला प्रदान गर्दै स्वागत गरे।

आजको अतिथिको विशेष आकर्षणमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा होन्डा मोटरसाइकल बिक्रेता चन्द्र कुँवरको सहभागिता रहेको थियो। उहाँले मोटरसाइकल र्‍यालीको आयोजनाले सामाजिक एकता र धार्मिक उत्साहलाई प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो।

मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। फाउण्डेशनका अनुसार,बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना हुनेछ। यसअघि बैशाख ११ गते साइकल र्‍याली र बैशाख १२ गते ट्याक्सी र्‍याली सम्पन्न भइसकेका छन्।

र्‍यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति थप उत्साह जागेको छ। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सबैमा अपिल गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै

सुदूरपश्चिम, १३ वैशाखः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली यही वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको छ । मुख्यमन्त्री शाहले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै मित्रराष्ट्र भारत सरकारको औपचारिक निमन्त्रणामा यही वैशाख १६ देखि २२ गतेसम्म भ्रमणमा जाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको इतिहारसमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ, प्रदेश सरकारले यसलाई उपलब्धिको रूपमा लिएको छ ।” भ्रमण टोलीले प्रदेश सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका साथै ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा भारतीय पक्षसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।

टोलीले भारतको दिल्ली, देहरादून, अयोध्या, लखनउलगायत ठाउँको भ्रमण गर्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । भ्रमण तालिका अनुसार भ्रमण टोली पहिलो दिन काठमाडौँबाट हवाई मार्ग हुँदै दिल्ली पुग्नेछ । दिल्लीमा सङ्घीय मन्त्रीसँग भेटवार्ता गरेपछि विवेकानन्द अन्तरराष्ट्रिय फाउण्डेसनसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

त्यसपछि टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेटवार्ता पश्चात उत्तर प्रदेशको राजधानी लखनउबाट स्थलमार्ग हुँदै कैलालीको धनगढी आइपुग्ने कार्यक्रम तय भएको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो ।  

मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशकुमार शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का झपटबहादुर साउद, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका प्रमुख सचिव डा कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जितु उपाध्याय, स्वकीय सचिव रामबहादुर विष्ट सहभागी हुनुहुने छ ।

आगलागी पीडितलाई आर्थिक सहयोग

सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा आज बिहान भएको आगलागी पीडितलाई तत्काल रु १० लाख सहयोग गर्ने भएको छ । 

धनगढीमा आज बसेको प्रदेश सरकार, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायतास्वरुप रु १० लाख सहयोग गर्ने निर्णय गरेको हो । 

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले साँफेबगर नगरपालिका, हाटबजारका प्रेम खड्काको ममः सेन्टरमा आज बिहान ३ः४५ बजे विद्युत्को तार ‘सट’ भई आगलागी भएको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र  स्थानीयको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

आगलागीबाट प्रेम खड्कासहित गङ्ग कुँवर, मकर कुँवर, टीका कुँवर, ज्ञानेन्द्र कुँवर, दीपक सुनार, भीम कुँवर, सुमन कुँवर, किशोर भाट र सुरेश कुँवरको पसल जेलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिनुभयो । उहाँका अनुसार १० वटा पसलमा लागेको खागोका कारण रु तीन करोड ८६ लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मुलुकलाई हालको आर्थिक अवस्थाबाट माथि उठाउन अब समाजवाद निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् ।

उनले पछिल्लो समयमा देशमा देखिएको राजनीतिक अस्थिरता र मुलुकको कमजोर आर्थिक अवस्थालाई लिएर जनतामा वितृष्णा बढ्दै गएकाले त्यसको अन्त्यका लगि समाजवादको निम्ति तुरून्तै आह्वान गरी काम सुरू गर्नपर्ने बताएका हुन् ।

गौतमले भने, ‘राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ, अरू सबै पूर्ण समानुपातिकमा निर्वाचन प्रणालीमा जानुपर्छ, प्राप्त मतका आधारमा राजनीतिक पार्टीले व्यक्ति पठाउँछन्, प्रतिनिधिसभामा १५ जना सांसद भए पुग्छ भने राष्ट्रियसभामा १० जना पर्याप्त हुन्छ ।’

सांसद गौतमसँग मुलुकको वर्तमान राजनीति, राष्ट्रियसभाको कार्य जिम्मेवारी र भूमिका, सुशासन र युवाको विदेश पलायनलगायत समसामयिक विषयमा राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

पछिल्लो समय तपाईको दिनचर्या कसरी बितिरिहेको छ, आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान सञ्चालन गरी नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानको काम गर्दैआएको थिएँ । त्यो सम्भव भएन । अहिले पनि पार्टी एकताको निम्ति विभिन्न पार्टीसँग छलफल भइरहेको छ । पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिष्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी) सँग एकताको निम्ति छलफल भइरहेको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरू भएको छ । केही समय पहिला नेकपा (एमाले) सँग पार्टी एकताको निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो । त्यहीअनुसार तयार भइयो उहाँहरूले नै ढोका बन्द गर्नुभयो । मेरा निम्ति नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पनि एमाले नै हो । किनभने मैले निर्माण गरेका कार्यकर्ता र सँगै काम गरेका नेताहरू दुवै दलमा हुनुहुन्छ ।

तपाईसँग लामो राजनीतिक अनुभव छ, अहिले मुलुकमा भइरहेको संसदीय र राजनीतिक अभ्यासलाई कसरी हेर्नुभएको छ ?

संसारभरिको संसदीय अभ्यास करिब हाम्रोजस्तै हो । तर अन्य मुलुकमा संसद्ले काम गरेको हुन्छ । युरोपेली देश र अमेरिकामा पनि संसद् छ । तर, अमेरिकालगायत कतिपय देशमा शासन प्रणाली फरक छ । नेपालमा भने संविधानमा समाजवादाृन्मुख अर्थतन्त्र भनियो त्यसमा काम गर्न ढिला भएको छ । त्यसको अभ्यासमा अति कति ढिला भयो भने सबै बिग्रन्छ । हामीले जुन दिन संविधान जारी गरेको हो, त्यही दिनदेखि समाजवाद निर्माण थाल्न पथ्र्याे । अलमलमा पर्‍यौँ । संविधान जारी गर्ने बेलाको शक्ति तितरबितर हुँदै सत्ताको खेलमा केन्द्रित भएको देखिन्छ । जुन पार्टी मिलेर संविधान बनाएको हो, उनीहरू मिलेर समाजवाद अगाडि बढाउनुपर्ने थियो । त्यो हुन सकेन । समाजवाद कहीँकतैबाट टिपेर लिएर राख्ने होइन, आफैँले निर्माण गर्ने हो । अब समाजवादसँगै विकासको कामलाई अगाडि बढाउनुपर्ने छ । समाजवादमा सबै जनता मिलेर उत्पादन गर्ने भएकाले उत्पादित वस्तुमा सबैको अधिकार हुन्छ । संविधानले प्रजातान्त्रिक समाजवादको परिकल्पना गरेकाले त्यसैमा जानुपर्छ । समाजवादमा पनि बहुदलीय राजनीतिक प्रणाली हुन्छ । अहिले अभ्यासमा रहेको संसद्ले कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था हाम्रा लागि गलत छ । त्यही भएर अहिलेसम्म पनि पाँच वर्षसम्म एउटै व्यक्ति प्रधानमन्त्री हुन पाएको छैन । जसले अराजकता र जथाभावी हुन पुगेको छ । यस्तो चरित्र भएको अभ्यासले जनताको जीवनस्तरमा सुधार ल्याउने र विकासका काम हुँदैन । विकास भनेको उत्पादन अनि निर्माण गर्ने हो । त्यो समयमा हुन नसक्दा परिस्थिति आजसम्म बिग्रिँदै गएको छ । अवस्था बिग्रिँदै जाँदा एकथरि मानिस पहिल्यै समाप्त भएका राजालाई ल्याउनुपर्छ भनेर लागेका छन् । यो मुलुकमा राजा कोही छैन ।

निरङ्कुशताले घुँडा टेकेको, जनताले जितेको दिन लोकतन्त्र दिवसमा सङ्घर्ष गर्ने नेताहरूप्रति प्रशंसा हुनुपर्ने हो, तर यो हुन सकेको छैन, यसमा तपाईको भनाइ के छ ?    

देशको परिवर्तनका निम्ति लामो सङ्घर्ष गर्नुभएका अहिले नेतृत्व गर्नुभएका सबै नेताहरू असफल हुनुभएको छ । अहिलेसम्म राज्य सञ्चालनमा पुग्नुभएका प्रधानमन्त्रीहरूले देशको निम्ति जे गर्नुपर्ने थियो, त्यो गर्न सक्नु भएन । उहाँहरूसँग देशको विकासका निम्ति स्पष्ट दृष्टिकोण देखिएन । प्रधानमन्त्री वा मन्त्रीहरूले अवसर पाउनुभएको छ, तर अवसर पाएअनुसार काम गर्न सक्नुभएको छैन ।

तपाईसँग प्रतिनिधिसभाको लामो अनुभव छ, अहिले राष्ट्रिय सभामा हुनुहुन्छ । अहिले भइरहेको राष्ट्रियसभाको संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ ?

राष्ट्रियसभाको मेरो अनुभव कमजोर छ । पार्टीको प्रतिनिधिको रूपमा संसद्मा गएको भए अलि राम्रो भूमिका खेल्न सक्थे । तर म राष्ट्रपतिले मनोनीत गरेर विज्ञको रूपमा गएको हुँ । अरू सांसदले पार्टीको हिसाबले ४०–४५ मिनेट समय पाउँदा मैले पाउने समय दुई तीन दिनमा पाँच मिनेट मात्रै हो । त्यो पाँच मिनेट रोष्टममा जाँदा र आउँदामै सकिन्छ । यद्यपि मैले पाउने समयमा आफ्नो विचार दिने काम गर्दैआएको छु । त्यो सभामा राजनीतिक रूपमा कुनै आरोप–प्रत्यारोप हुँदैन । राष्ट्रिय सभाको निम्ति म उपयुक्त व्यक्ति होइन । लामो अनुभव र अभ्यास प्रतिनिधिसभाकै छ । प्रतिनिधिसभामा वर्षौं अभ्यास गरेको छु । त्यहाँ म क्रियाशील सांसदको रूपमा थिए । उल्लेखनीय भूमिका हुन्थ्यो । राष्ट्रियसभामा आफैँलाई पनि सन्तुष्टि लागेको छैन । एउटा बाध्यताले राष्ट्रिय सभामा गएँ ।

तपाई गृहमन्त्री हुँदा र अहिले देशको शान्ति सुरक्षाको पाटोलाई कसरी हेर्नुभएको छ ?

अहिले देशको शान्ति सुरक्षामा यो अवस्थामा आउनुको मुख्य कमजोरी राजनीतिक पार्टीहरू नै हुन् । गृहमन्त्री भएर काम गर्दा मलाई सञ्चालन गर्ने कोही भएन । त्यसबेलाका प्रधानमन्त्रीले काम गर्ने सवालमा कुनै अवरोध गर्नुभएन । मैले मेरो निम्ति होइन, जनता र राष्ट्रको निम्ति तथा इज्जत र प्रतिष्ठाका निम्ति काम गरेँ । मैले विकृति जहाँ छ, त्यहाँ सिधै आक्रमण गर्ने गर्थें । गुण्डागर्दी जहाँ हुन्छ, त्यहाँ मेरो आक्रमण हुन्थ्यो । शान्ति सुरक्षा भङ्ग जहाँ भएको छ, त्यसलाई केन्द्रमा राखेर काम गरेको थिए । मैले गलत भएका हरेक ठाउँमा कारवाही गर्ने गर्थें । त्यतिबेला गुण्डाहरू लुकेर हिँड्ने गरेका थिए । तर अहिलेका नेताले तिनै गुण्डालाई पार्टिभित्र ल्याएका छन् । तिनै गुण्डालाई मन्त्री बनाइएको छ ।

अहिले चर्चामा रहेको संविधान संशोधनको विषयमा यहाँको धारणा के छ ? 

सबैले संविधान संशोधन गर्ने मात्रै भनेका छन् । तर कुन विषयमा संशोधन भन्ने कुरा बाहिर ल्याएका छैनन् । सरकारले संविधान संशोधन भन्ने तर विषय नदिँदा झन कमजोर हुन्छ भन्ने मेरो भनाइ हो । सरकारले संशोधनका विषयलाई संसद्मा राख्नुपर्छ । तर संविधान संशोधन गर्ने भनेर जनतालाई भुलभुलैयामा राख्नु भनेको संविधानलाई कमजोर बनाउनु हो । संविधान संशोधनको विषयलाई बजारमा बिक्री गर्ने वस्तुको रूपमा प्रचार गरिनुहुँदैन ।

मैले सुनेअनुसार समानुपातिक निर्वाचन प्रणाली हटाउने भन्ने छ । यो प्रतिगामी हुन्छ । समानुपातिक प्रतिनिधित्व भनेको प्रतिनिधित्व नभएको समुदायको पनि प्रतिनिधित्व कसरी गर्ने भन्ने हो । नेपालमा एउटै मात्रै जाति छैन, एउटै मात्रै समुदाय छैनन् । अनेक जाति र समुदाय छन् । नेपालीहरू विभिन्न भाषा, भाषी, धर्म र संस्कृतिको हिसाबले मिलेर बसेको समाज हो । त्यसका लागि समानुपातिक व्यवस्था गरिएको हो । प्रत्यक्ष निर्वाचनमा आउन नसक्नेलाई समानुपातिकमा ल्याउनुपर्छ । समानुपातिक हटाउनु भनेको पश्चगामी विचार हो । अर्को, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको निम्ति संविधान संशोधन गर्नुपर्छ । राष्ट्रपतिलाई नियन्त्रण गर्ने काम संसद्ले गर्छ  । अहिलेको शासकीय प्रणाली असफल भइसक्यो । प्रधामन्त्री नौ महिनामा फेरिने व्यवस्था ठीक छैन । अहिलेसम्म एउटै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री भएकै छैन । सङ्घीयता र संसद् कार्यसञ्चालनमा परिमार्जन गर्नुपर्नेछ ।

अहिलेको निर्वाचन प्रणाली अलि बढी खर्चिलो भयो भन्ने छ नि ? 

यो सत्य हो । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ । राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ । अरू सबै पूर्ण समानुपातिकमा जानुपर्छ । पूर्ण समानुपातिकमा जाँदा राजनीतिक पार्टीले व्यक्ति पठाउँछन् । जितेर आएपछि ती व्यक्तिले निर्वाचन क्षेत्र पाउँछन् । निरन्तर बसेर काम गर्ने प्रतिनिधिसभामा १५ जना भए हुन्छ । हरेक वर्ष दुई वटा अधिवेशन हुन्छन् । एक पटक विधेयक पारित गरेर कानुन बनाउने अर्को पटक कार्यक्रम र बजेट पारित गर्न हुन्छ । राष्ट्रियसभामा १० जना सांसद भए पुग्छ काम गर्नका लागि । त्यो भए कम खर्च हुन्छ । सांसदबाट सरकार बनाउने काम गर्न हुँदैन । निर्वाचनमा व्यक्ति होइन, पार्टी निर्वाचित हुनुपर्छ । यसो गर्न सकेमा देश छिट्टै समृद्धिको बाटोमा अगाडि बढ्छ ।

मुलुक अहिले तीन तहको सरकारको अभ्यासमा छ । उनीहरूबीचको समन्वय र सहकार्यलाइ कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

सरकार तीन तहकै हुनुपर्छ । स्थानीय तहलाई भने सरकार भन्न हुँदैन । प्रदेश र सङ्घीय सरकारलाई मात्रै सरकार मान्नुपर्छ । सात वटा प्रदेश सरकार र एउटा केन्द्रीय सरकार गरी जम्मा आठ वटा सरकार मात्रै हुन्छन् । तर अहिले ७६१ वटा सरकार छन् । यति धेरै सरकारलाई पाल्दापाल्दै राज्यको ढुकुटी सकिन्छ । अनि जनता गरिबको गरिब हुन्छन् ।

तपाईले सुरू गरेको कम्युनिष्ट पार्टीबीचको एकता अभियान कसरी अघि बढिरहेको छ ?

मैले देशमा एउटै कम्युनिष्ट पार्टी हुनुपर्छ भन्दै आएको हो । हामीले सिङ्गो राष्ट्रलाई केन्द्रमा राखेर हेर्नुपर्छ । राष्ट्रको निम्ति सोच्दा एउटै कम्युनिष्ट पार्टी हुनुपर्छ भन्ने हो । कम्युनिष्टसँग अरू पार्टी मिल्नु हुँदैन । कम्युनिष्ट एउटा विचार लिएर जाने हो, त्यसैले एउटा मात्रै कम्युनिष्ट पार्टी हुनुपर्छ । यद्यपि हामीले बहुदलीय प्रजातन्त्र अवलम्बन गरेको हुनाले जो कसैले पनि पार्टी खोल्न पाउने व्यवस्था छ । तर पार्टी खोल्न पाउने व्यवस्था अलि कडा पनि गर्नुपर्छ ।

तपाईको विचारमा कानून निर्माणको सवालमा राष्ट्रिय सभा के कतिको सक्रिय छ ?

राष्ट्रियसभालाई कमजोर बनाइएको छ । धेरै कानुन प्रातिनिधिसभामा उत्पत्ति हुन्छन् । कुनै कुनै कहिलेकाहीँ राष्ट्रियसभामा उत्पत्ति हुन्छ । दुई वटा विधेयक राष्ट्रियसभामा प्रस्तुत भयो भने दश वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुन्छ । राष्ट्रियसभामा मैले कानून निर्माण गर्ने सवालमा र अरू हिसाबले पनि कमजोर देख्छु । त्यसका बाबजुत राष्ट्रियसभाले जति काम गरेको छ, परिपक्व काम गरेको छ । त्यसकारण परिपक्वताको हिसाबले राष्ट्रियसभा उपयुक्त छ । यद्यपि संसारका धेरै देशमा राष्ट्रियसभा छैनन् । हामीले प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा निर्माण गर्छौं । राष्ट्रियसभाका सांसदको मतदाता भनेको प्रदेश सांसद र पालिकाका प्रमुख र उपप्रमुख हुन् । प्रतिनिधिसभाभन्दा यो गम्भीर छ, यो स्थायी सभा हो । राष्ट्रियसभामा केही हैसियत प्राप्त गरेका व्यक्तिहरू हुनुपर्छ ।

अध्ययन र रोजगारीलगायतका कारण युवाको विदेश पलायनको घटनालाई कसरी हेर्नुभएको छ ? 

अध्ययन र रोजगारीका लागि नेपालबाट मात्र होइन, चीन, जापान, कोरिया, भारत र युरोपका देशहरूबाट समेत हाम्रोभन्दा ३० औँ गुणा बढी व्यक्ति विदेश गएका छन् । अहिले विश्वव्यापीकरणको युग पनि हो । संसारबाट जति मानिस त्यहाँ गए पनि काम गर्न पाउँछन् । अमेरिका मात्रै होइन, अष्ट्रेलिया, चीनमा पनि संसारका देशबाट लुकेर काम गर्ने मानिस त्यतिकै छन् । त्यसकारण यसलाई त्यति ठूलो रूपमा लिनु हुँदैन । बर्बाद भयो भनेर चिन्ता गर्नु पर्दैन । नेपालमा समाजवाद आएसँगै सबै मानिस रोजगार भएपछि फर्कन्छन् । विदेशी मुद्रा आर्जन र विभिन्न विदेशी अनुभवको निम्ति पनि नेपालीलाई विदेश पठाउनुपर्छ ।

एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन

काठमाडौँ, १३ वैशाख : काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता ङ्गोलले एउटै योजनाबाट धेरै नागरिकलाई लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाका बारेमा समीक्षा गर्दै उपप्रमुख डङ्गोलले एउटै योजनाबाट धेरै नागरिक लाभान्वित हुने कार्यक्रमको लागि निर्देशन दिनुभएको हो ।

उहाँले, आगामी आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रमको आन्तरिक तयारी थाल्ने बेला भइसकेको पनि बताउनुभयो । “आउँदो वर्षमा स्रोत अनुमान समितिले प्रदान गरेको सिमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य, धेरैलाई लाभ हुने र नीतिले निर्दिष्ट गरेका कार्यक्रम प्रस्ताव हुनुपर्छ । क्रमागत योजना घटाउँदै लैजानुपर्छ ।” उहाँले अपेक्षित हासिल गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भन्नुभयो, “कार्यक्रम तर्जुमा गर्ने समय भएकाले कर्मचारी सरूवा नगर्नु एउटाले अघि बढाएको कामबीचमा आएर अर्कोलाई टुङ्गोमा पुर्‍याउन कठिन हुन्छ ।”

बिहीबारको बैठकमा उहाँले नतिजामुखी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न योजनाबद्ध काम गर्नुपर्ने बताउनुभयो । सङ्घ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने, बैठक गर्नुपर्ने, कानुनले समय तोकेर गर्नु भनेका काम जिम्मेवारीमा पर्ने अधिकारीले समयमा सम्पन्न गर्नुपर्ने, नगरसभामा प्रस्तुत हुने आर्थिक विधेयक र विनियोजन विधेयकलाई व्यवहारिक समयसापेक्ष र व्यवहारिक बनाउन योजना गर्नुपर्ने, आउँदो वर्षको कार्यक्रममा भौतिक पूर्वाधारतर्फ डिजाइन र लागत अनुमान भएका कार्यक्रमलाई समेट्नुपर्ने पनि उहाँको भनाइ छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले, प्रक्रियामा आएका फाइल कतै नरोकिने गरी निर्णय प्रक्रियामा लगिएको जानकारी दिनुभयो । त्यस्तै कामपाले आव २०८२/०८३ का लागि प्रदेश सरकारले तर्जुमा गर्ने आर्थिक ऐनमा समेट्नुपर्ने करसम्बन्धी विषयमा छलफल सुरू गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट माग भएको करसम्बन्धी सुझाव र राजस्व समितिबाट पेस भएको सुझावसम्बन्धी प्रस्तावका विषयमा छलफल भएको हो । समितिले प्रदेश र स्थानीय सरकारका साझा अधिकारमा रहेका कर शीर्षकहरू मनोरञ्जन कर, विज्ञापन कर, जरिवाना छुटलगायत विषयमा छलफल भएकोे राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा कति छन् विद्यालय ?

काठमाडौँ, १३ वैशाख : नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ ।

पूर्वप्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिको प्रतिशत ६६ दशमलव ९ पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगका अनुसार, प्राथमिक तह कक्षा १ देखि ५, आधारभूत तह कक्षा १ देखि ८ माध्यमिक तह कक्षा ८ देखि १२ को खुद भर्नादर क्रमशः ९६ दशमलव ९ प्रतिशत ९२ दशमलव ७ प्रतिशत र ४६ दशमलव ४ प्रतिशत पुगेको छ ।

कक्षा ५ र कक्षा ८ सम्मको टिकाउ दर क्रमशः ८९ दशमलव ६ प्रतिशत र ७७ दशमलव ९ प्रतिशत रहेका जानकारी दिइएको छ । आधारभूत तथा माध्यमिक तहमा ७२ लाख १४ हजार ५२५ विद्यार्थी भर्ना भई अध्ययन गरिरहेको पनि आयोगले जानकारी दिएको छ । प्रारम्भिक बाल विकास शिक्षामा नौ लाख ७४ बालबालिका अध्ययनरत रहेका छन् । लैङ्गिक समता सूचकाङ्क आधारभूत तह र माध्यमिक तहमा क्रमशः ० दशमलव ९८ र १ दशमलव ०१ रहेको आयोगले जनाएको छ । विद्यालय दोेहो¥याउने कक्षा १ देखि ५ सम्म आधारभूत तहमा ३ दशमलव ८ र कक्षा ६ देखि ८ सम्म ४ दशमलव ४ तथा कक्षा ९ र १० को माध्यमिक तहमा ३ दशमलव ७ मा झरेको छ ।

आयोगका अनुसार अहिले मुलुकभर सार्वजनिक र निजी लगानीका गरी ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा छन् । अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीलाई सेवा प्रवाह गरिरहेको छ ।

विसं २०६८ को जनगणनामा १५ वर्षमाथिको जनसङ्ख्याको साक्षरता ५८ प्रतिशत रहेकोमा आव २०७४/७५ मा १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता ८८ दशमलव ६ प्रतिशत पुगेको छ । हालसम्म ५१ जिल्ला सक्षर घोषणा भइसकेका आयोगद्वारा प्रकाशित प्रमुख आर्थिक सूचकको प्रयोग विधि पुस्तकमा उल्लेख छ ।

कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो

बेलबारी (मोरङ), १३ वैशाख : प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।

पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् । भारतको विहार राज्यबाट इलामको कन्याम घुम्न आउनुभएका कम्लेश शर्मा भन्नुहुन्छ, “नेपाल वास्तवमै स्वर्गको टुक्रा रहेछ सुनेकोभन्दा पनि धेरै राम्रो लाग्यो, साथीहरूसँग नेपाल घुम्न आएको दुई दिन भयो एक साता बसेर मात्र फर्कने योजना बनाएका छौँ ।”

कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो । “हामी होटल व्यवसायी एकदमै खुसी छौँ, आशा छ पर्यटन वर्ष २०८२ ले कोरोना माहामारीपछि थलिएको होटल व्यवसाय अव चलायमान हुनेछ”, होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले भन्नुभयो ।

यहाँ विशेषगरी भारतीय पर्यटक आउनेगरेका छन् । भन्सार पास भएर आइसकेका भारतीय पर्यटकलाई बढिमात्रामा चेकजाँचको झन्झट हुने गरेको गुनासो आइरहेकामा हाल पर्यटन वर्षलाई लक्षित गरेर सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँसेर सहज बनाउको अध्यक्ष लिम्बू बताउनुहुन्छ । कोशी प्रदेश सरकारले सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँस्न सुरू गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूआत गर्नुभएको थियो । पर्यटकलाई सहज होस् भनेर यो अभियान सुरू गरेको प्रदेश सरकारले जनाएको छ । दैनिक १०० को हाराहारीमा भारतीय पर्यटकको सवारी भेडेटार आइरहेको बताउँदै अध्यक्ष लिम्बूले भेडेटार र आसपासमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने व्यवस्थित होटल तथा होमस्टे रहेको उहाँको भनाइ छ ।

गत सालभन्दा यो साल सुरुआती दिनमै आन्तरिक पर्यटकको चहलपल बढेको अनुमान गर्न सकिने धनकुटा साँगुरीगडी–६ नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले बताउनुभयो । अरू दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने यस ठाउँमा अरू दिनमा पनि पर्यटकको चाप बढ्न थालेको उहाँको भनाइ छ ।

नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत १९ वटा घर आबद्ध रहेको र ती घरमा ९० देखि १०० जनासम्म राख्न सकिने उहाँको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटन गर्नेको सङ्ख्या बढेको बताउँदै घुम्नका लागि गाडी भाडामा जाने गरेको यातायात व्यवसायी मोरङ बेलबारी–९ का नगेन्द्र भट्टराईले बताउनुभयो ।

कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन वर्ष २०८२ सञ्चालन गरिरहँदा प्रदेशको समग्र आर्थिक क्षेत्र चलायमान हुने र यो कार्यक्रम सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउनुहुन्छ ।

चैत २७ गते गुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गर्नुभएको थियो । पर्यटन वर्षमा विशेषगरी धार्मीक, प्राकृतिक, सांस्कृतिक पर्यटक कोशी घुम्न आउने कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक यहाँ आउने गरेका छन् । पर्यटन वर्षमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री ओली लुम्बिनीमा

लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरेका थिए । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ ।

नेपाल र चीनबीचको कला र संस्कृति प्रवद्र्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।

संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ : सांसद खाँण

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद मञ्जु खाँणले अन्नको भण्डारका रूपमा परिचित मधेश प्रदेशका लागि समयमै मल, बीऊ र सिँचाईको व्यवस्था गर्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट २०४८ सालदेखि राजनीतिक यात्रा सुरू गर्नु भएकी सांसद खाँणले पर्सा, सप्तरी र सिरहालगायत मधेश प्रदेशका जिल्लाहरू कृषिको लागि उत्कृष्ठ भएपनि त्यहाँका किसानले हरेक वर्ष मलको अभाव भोग्नु परिरहेको बताइन् । सांसद खाँणले तराइमा भइरहेको बालविवाह, दाइजो प्रथा र बोक्सी प्रथाको अन्त्य गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिएकी छन् । सांसद खाँणसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश ।

हामी सानै हुँदा हरियो वन नेपालको धन भन्ने गरेको सुनेको हो । नेपाललाई कृषिप्रधान देश पनि भनिन्छ । तर तराई मधेशमा धान, चामल, गहँु, मकै उत्पादनका लागि मलखादको अभाव हुनेगरेको छ । बर्सेनि किसानले मलखादको अभाव भोग्नुपरेको छ । यो कुरा विशेषगरी तराई मधेशबाट प्रतिनिधित्व गर्ने हरेक सांसदले संसदका प्रत्येक अधिवेशनमा उठाइरहेका हुन्छन् । तर ठोस नीति र कार्यान्वयन भइरहेको देखिन्न । किसानका लागि आवश्यक कृषि औजार, मल, बीऊ, सिंँचाइको व्यवस्था किन नगर्ने ? किसानलाई राहत दिएर उत्पादन बढाउँदा परनिर्भरता बिस्तारै घट्दै जान्छ । तराईमा पहिलेको जस्तो चापाकलबाट पानी आउँदैन । पानीका मुहान सुक्दै गएका छन् । तराईका जमिन मरूभूमिकरणबाट जोगाउने चुरे क्षेत्रका रूख पनि जथाभावी काटिएको छ । चुरे क्षेत्रको अत्यधिक दोहनका कारण तिब्र गतिमा चुरे पहाड नाङ्गो हुँदै गएको छ । यस्तो अवस्थामा जमिनमा पानीको सतह घट्दै जानु स्वाभाविक हो । यसबाहेक तराई क्षेत्रमा सडक पूर्वाधारमा पनि पर्याप्त काम हुन सकेको देखिन्न । हुलाकी सडक पनि धेरै ठाउँमा निर्माण हुन बाँकी नै छ । त्यस सडकमा बनेका कतिपय पुलहरू साना र साँघुरा छन् । कतिपय भत्किएका पुलहरू लामो समयसम्म बन्न सकेका छैनन् ।

अर्को कुरा, तराई–मधेश क्षेत्रमा बाल विवाहको पनि समस्या छ । हामीले विवाहको उमेरका सम्बन्धमा रहेको कानुनी व्यवस्थामा पनि पुनर्विचार गर्नुपर्ने देख्दैछु । दाइजो प्रथाको त्यत्तिकै समस्या छ । यो प्रथा व्यवहारमा चरम स्थितिमा छ । दाइजोका कारण महिलाहरूलाई जिउँदै जलाउने घटना पनि भएका छन् । अहिले हामी सुदूरपश्चिम र कर्णाली पिछडिएको छ भन्छौं, तर यथार्थमा त्योभन्दा बढी तराई–मधेश पिछडिएको छ । तराईमा बोक्सी प्रथा पनि छ । सामाजिक विकृति, विसङ्गति र कुरीतिलाई हटाउन सरकारले शिक्षामा लगानी बढाउनुपर्छ । तराईका महिला तेहेरो मारमा परेका छन् । घरेलु हिंसा चरम अवस्थामा छ । सिरहा जिल्लामा आन्तरिक पर्यटनको सम्भावना छ । त्यहाँका मठमन्दिर, धार्मिक स्थलहरू आन्तरिक पर्यटनका लागि उत्कृष्ट छन् । कतिपय स्थानमा पर्यटनका लागि सुन्दर तालतलैयाहरू बनाइएको छ ।

महिलाको सवालमा संविधान अपूर्ण देख्दैछु । संविधानमा महिलाका लागि ३३ प्रतिशत आरक्षणको अधिकार छ तर यो ५० प्रतिशत हुन आवश्यक छ । राजनीतिक पार्टीको संगठन संरचना भित्र पनि महिलाका निम्ति ५० प्रतिशत अधिकार सुनिश्चित गर्नुपर्छ । दलहरूले महिलालाई समानुपातिक प्रतिनिधित्वमा मात्रै सीमित गर्नु हुँदैन । निर्वाचनमा हरेक पार्टीले प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति ५० प्रतिशत स्थान छुट्याउनु आवश्यक छ । संविधानमा व्यवस्थित त्यही ३३ प्रतिशत पनि पूर्ण रूपमा सबै ठाउँमा लागू भएको छैन । संसदीय समितिअन्तर्गत उपसमिति गठन गरिएको छ । तर त्यहाँ एक जना महिलालाई संयोजक दिइएको छैन । महिलाहरू अहिले पनि उपेक्षित छन् । त्यसैले महिलाको सवालमा संविधानमा मात्रै लेखेर हुँदैन । त्यसको कार्यान्वयन पक्ष फितलो छ । महिला मुक्तिका निम्ति अझ लडाई लड्नुपर्ने छ । हाम्रो लडाई अझै जारी छ ।
सदनमा मेरो पहिलो अनुभव हो । संसद र मैँले प्रतिनिधित्व गर्ने जिल्लाको सवालमा जति गर्नुपर्ने थियो त्यति काम गर्न पाएको छैन । संविधान सरकारले मात्रै कार्यान्वयन गर्ने होइन । संविधान कार्यान्वयनमा सरकार, राजनीतिक दल, नागरिक समाज र नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । संविधान एकैचोटी कार्यान्वयन पनि हुँदैन । विस्तारै कार्यान्वयन हुँदै जाने कुरा हो । यद्यपी संविधानमाथिको आक्रमण बढ्दै गएको जस्तो देखिन्छ । त्यसका बारेमा राजनीतिक दलहरू चनाखो हुनुपर्ने देखिन्छ । संविधानलाई अझै बलियो र परिपक्व बनाउने मुख्य भूमिका दलहरूकै हो । संविधान भनेको आफैँमा बोल्ने, हास्ने, रूने होइन । संविधानमा भएका व्यवस्थाको अभ्यास गर्ने हो । संविधानमा भएका व्यवस्थालाई सच्याउँदै लैजानुपर्छ । समयको मागअनुसार संशोधन गर्दै लैजानुपर्छ । संविधान, राष्ट्र, राष्ट्रियता जोगाउने दल र जनताको दायित्व हो । यत्तिकै हचुवाको भरमा संविधान संशोधन गर्ने मात्रै भनेर हुन्छ र ? सांसद, संविधान विज्ञ सबै बसेर छलफल गरेर आवश्यकता हेरिकन संशोधन गर्नुपर्छ संविधान । यो कुरा हामीले संसदमा पनि उठाएका छौँ । बसेर छलफल गरौँ पनि भनिरहेका छौँ ।

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

म्याग्दी, १३ वैशाख : सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी भएको हो । कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्न लागिएको जानकारी दिनुभयो ।

“एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ”, उहाँले भन्नुभयो, “थप दुई सय मिटर ढलान र तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।” नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले आधुनिक प्रविधिको कालोपत्र र ढलान गरिने भएको छ ।

विसं ०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । यसअघि एक घण्टाको यात्राअवधी हाल २० मिनेटमा छोटिएको छ ।

उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट बिनियोजन नभए पनि थप भएको समयअघिनै योजना सम्पन्न गर्न लागिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि थप बजेट व्यवस्थापन गर्न सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो । अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट भएको थियो ।

सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

काठमाडौँ, १३ वैशाख : नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहनुभएका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उहाँको परिवार स्रोतले जनाएको छ ।

विसं २००४ सालमा काठमाडौँमा जन्मनुभएका ७७ वर्षीय उहाँ कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाउनुभएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिनुभएको थियो ।

उहाँका श्रीमती हुनुहुन्छ । उहाँको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिनुभयोे ।

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

झापा । काठमाडौंबाट झापा गइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएक छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा काठमाडौंमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका छन् । घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीका अनुसार शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ । ‘म ड्राइभरको सिट पछाडि नै थिएँ,’ घाइते शिक्षक भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।’

बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए ।

वैशाख १८ गतेदेखि १५ दिन कान्तिलोकपथ सडकमा सवारीसाधन आवागमन बन्द गरिने

बागमती, १३ वैशाख : हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ ।

ठिङ्गन–बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताउनुभयो । सडक बन्द हुने भएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

मधेस प्रदेश सरकारले डोम समुदायका लागि निर्माण गरिदिएका घर प्रयोगविहीन

सिरहा, १३ वैशाख : सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् ।

सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ ।

यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको कार्यक्रमका प्राविधिक रवीन्द्र यादवले बताउनुभयो । “तीन घर परिवारको लालपुर्जा नभएका कारण घर बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “पालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा उनीहरू जान नमानेपछि समस्या भएको हो । बनेका घरहरू सम्बन्धित व्यक्तिलाई दुई वर्षअघि हस्तान्तरण गरिसकिएको छ ।” उहाँका अनुसार एक घर निर्माण गर्न जनता आवास कार्यक्रमले रू तीन लाख ३२ हजार अनुदानमा उपलब्ध गराएको थियो ।

यो कार्यक्रम सञ्चालन गरिँदा कतिपय डोम परिवारले जमिन खोज्दै घर निर्माण गर्नुभएको थियो । आफ्ना नाममा जमिन नहुनेहरूले अर्कासँग जमिन खरिद गरी घर निर्माण गर्नुभएको थियो । यिनैमध्येका एक हुन् कैला मरिक । बाटो, बिजुली, खानेपानीको सुविधा नभएकाले बस्न नसकेको मरिकको भनाइ छ । उहाँले भन्नुभयो, “अरू सुविधामा सरकारले बेवास्ता गरेका कारण उक्त घरमा नबसेर यही झुप्रोमा बस्नुपरेको हो ।” सरकारले घरसम्म जाने बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिए आफूहरू तत्कालै उक्त घरमा सर्ने उहाँले बताउनुभयो ।

पटकपटक उक्त घरमा सर्न आग्रह गरे पनि उनीहरू नमानेको वडाको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष विनोदकुमार यादवले डोम परिवार बजार छोडेर वरपर जानै नमान्ने गरेको गुनासो गुर्नभयो । उहाँले भन्नुभयो, “यदी उनीहरू उक्त घरमा बस्ने सुनिश्चित भए वडाले तत्कालै बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिन्छ । तर जाने निश्चित उनीहरूले गर्नुपर्छ । हामीले लगानी गरेर उनीहरू गएनन् भने वडाको लगानी पनि बालुवामा पानी सरह हुने भयो नि ।”

वडाध्यक्ष यादवका अनुसार यहाँका डोम समुदाय बाँसबाट बुनेका सामग्री बनाउने र बजारमा बेच्ने हुँदा उक्त स्थान छोड्न नमान्ने प्रवृत्ति रहेको छ । हुलाकी सडक विस्तारको काम पुनः सूचारू हुँदा डोम समुदायले अहिले वसोबास गरिरहेको थातथलो पनि छोड्नुपर्ने अवस्था आउने र त्यो बेला उक्त घरहरू प्रयोगमा आउन सक्ने उहाँले बताउनुभयो ।

यहाँका स्थानीय जनता आवस कार्यक्रमले कतिपय घरहरू पूर्णरूपमा निर्माण नै नभई जीर्ण भएको भन्दै सरकारको लगानी बालुवामा पानीसरह भएको बताउँछन् । घर निर्माण भइसकेपछि केही डोम परिवार निकै हर्षित भए भने आधा दर्जन बढी घरहरू बेवारिसे र जीर्ण बने । यसको उपयोगिताको लागि पालिकाले ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ ।

पहिरोले घरबारविहीन बनेका १७ वर्षीय छितिजको परिवारलाई नयाँ घर

खोटाङ, १३ वैशाख : केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाउनुभएको थियो । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाउनुभएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवैमा कमजोर हुनुहुन्छ ।

बुबाको अप्राकृति मृत्युपछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ । ठूली बहिनी दीपा राई कक्षा ७, निशा कक्षा ५ र कान्छा भाइ मुस्कान कक्षा ३ मा अध्ययनरत छन् ।

भाइबहिनीको पठनपाठनसँगै आफूसमेत कक्षा १० मा अध्ययनरत छितिजको घर गत असार ९ गतेदेखि सुरू भएको भारी वर्षासँगै आएको पहिरोले पु¥यो । सुङ्देलस्थित भीरखर्कमा रहेको घर तथा घरमा भएका सम्पूर्ण सामग्री पहिरोमा पुरिएपछि छितिज पाँचजनाको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएको थियो ।

पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमेपछि विचल्लीमा परेका छितिजको परिवारलाई स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । स्थानीय देवानसिं कोयी राईले खाजु भन्ने ठाउँमा निःशुल्क उपलब्ध गराउनुभएको एक रोपनी १३ आना जग्गामा करिब रु नौ लाख खर्चेर निर्माण गरिएको ढुङ्गामाटोको गाह्रो तथा जस्तापाताको छाना भएको दुईतले घर शुक्रबार औपचारिक रुपमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको हो ।

देश तथा विदेशमा रहेका आफन्तबाट सङ्कलन गरिएको चन्दा तथा श्रमदानबाट निर्माण गरिएको घर गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको संयोजनकर्ता एवं सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र कोयी राईले जानकारी दिनुभयो । “पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री पुरेपछि विचल्लीमा परेका छितिजको परिवार आफन्तकामा आश्रय लिएर बसिरहेका थिए । उनीहरुका लागि गाउँपालिका, हङकङ र बेलायतमा सङ्कलन गरिएको चन्दाबाट घर निर्माण गरिदिएका हौँ”, उहाँले भन्नुभयो, “यो अभियान सफल पार्नका लागि सबैको साथ र सहयोग महत्वपूर्ण रह्यो । अभियानमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ! छितिजको परिवारलाई उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछु ।”

पहिरोपीडित छितिजको परिवारका लागि घर निर्माण गर्न कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालन गरिएको चन्दा सङ्कलन अभियानमा हङकङबाट हितबहादुर कोयी राईको पहलमा रु तीन लाख ५० हजार, बेलायत (युके)बाट कृतबहादुर कोयी राईको पहलमा रु एक लाख ५० हजार र केपिलासगढी गाउँपालिकाले रु एक लाख ५० हजार उपलब्ध गराएको जनाइएको छ । घर निर्माणमा नगद र श्रमदानगरी रु नौ लाख बढी खर्च भएको छितिजको घर निर्माण अभियानमा आर्थिक व्यवस्थापनको जिम्मा लिनुभएका स्थानीयवासी एवं सूर्य माध्यमिक विद्यालय सुङ्देलका शिक्षक भूपिन्द्र कोयी राई (बि)ले जानकारी दिनुभएको छ ।

घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई गाउँपालिकाको तर्फबाट उपलब्ध हुने सुविधालाई निरन्तरता दिने स्टाटसमार्फत प्रतिबद्धता जनाउनुभयो । “आजदेखि तिमी तिम्रो परिवारसहित आफ्नो घरमा सरेका छौँ । बाँकी जीवन उन्नति, प्रगति र परिवारको जिम्मेवारी समालेर बस्ने छौँ । पूर्णरूपमा विश्वास लिएको छु । तिम्रो साथमा सधैँ स्थानीय सरकार रहने पनि प्रतिबद्धता व्यक्त गर्दछु ।” गाउँपालिका प्रमुख राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखिएको छ, “तिमीले सानो उमेरमा बाबा गुमायाँै, आमाको अवस्था कमजोर छ । कलिलो भाइबहिनीको जिम्मेवारी तिम्रो काँधमा छ । आफ्नो विद्यालयको पढाइ, त्यहिबेला प्राकृति प्रकोपले तिमीलाई सतायो । तर, पनि विचलित नभई समस्यासँग पौठेजोरी खेलिरह्यौँ । तिम्रो साहसलाई म सेलुट गर्छु ।”

पहिरोपीडित छितिजको परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि नगदसँगै खानाको लागि दाल, चामल र पठनपाठनका लागि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जनाइएको छ । प्राकृतिक प्रकोपमा परेर पीडित भएका छितिज राईको परिवारलाई सबैको साथ, सहयोग र मायाले पुनः स्थापित हुन सहज भएको सुङ्देलका वडाध्यक्ष तेजकुमार राईले बताउनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य

काठमाडौँ, १३ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु २००, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ६०, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० उच्चस्तरीय समितिले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गरी सङ्घलाई एकताबद्ध बनाउने प्रयासमा सहयोग गर्न अपिल गरेको छ । समितिका संयोजक एवं पूर्वअध्यक्ष शेष घलेले विज्ञप्ति जारी गर्दै महाधिवेशनको वातावरण बनाउन संस्थापक, पूर्वअध्यक्ष र उच्चस्तरीय समितिका सदस्यलाई छलफलमा जुट्न आग्रह गर्नुभएको हो ।

“अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नयाँ उपलब्धि हासिल गर्नका लागि लाग्नुपर्ने बेला हो”, उहाँले भन्नुभयो, “विगतमा कसले के ग¥यो त्यो कुरा अहिले छाडौँ, तोकेको मितिमा महाधिवशेन आयोजना गर्नु नै एकताको सुत्र हो, फुटेर होइन, जुटेर अघि बढौँ ।” संयोजक घलेले खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न अपिल गर्नुभएको छ ।

‘भूकम्पले क्षति पुगेकासम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ :मन्त्री पाण्डे

भक्तपुर, १३ वैशाखः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाका सम्पदा केबल सम्पदा मात्र नभई हाम्रो सभ्यताको चिनारी र परिचयको आधार भएको बताउनु भएको छ ।

 भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा २०७२ सालको भूकम्पपश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन र अन्तरराष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र)को तेस्रो वार्षिक बैठकको शुक्रबार उद्घाटन गर्दै    उहाँले  उपत्यकाका भौतिक र अभौतिक सम्पदाको इतिहासले देशको गर्विलो इतिहासलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्नुभयो । मन्त्री पाण्डेले भूकम्पले क्षति पुगेका भौतिक र अभौतिक सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरवको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्पदाप्रतिको मोह र आस्था नयाँ पुस्तामा जागृत गराउनु आवश्यक रहेको बताउदै उहाँले सम्पदा स्थानीय हुँदै विश्वव्यापी मान्यतासँग जोड्दै लैजान विश्वव्यापी रूपमा प्रचारप्रसार हुनुपर्छ । ”सम्पदा संरक्षणमा स्थानीयको सहभागिता महत्वपूर्ण पक्ष हो भएको जनाउँदै उहाँले पुरातात्विक सम्पदामाथि हुने हमला र हस्तक्षेपबारे सबैजना सचेत हुनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पूर्वाधार निर्माणस्थल, निर्माण सामग्री, निर्माणमा लाग्ने प्राविधिक र अन्य श्रमिक, निर्माणस्थलमा बस्ने सर्वसाधारण जनतालाई भूकम्पीय जोखिम न्युनीकरण गर्ने प्रविधिबारे जानकारी दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, काठमाडौँ महानगरपालिकाका प्रमुख सुनिता डङ्गोल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, नेपालका लागि युनेकास्कोका प्रतिनिधि जाको डु टुइट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगयतले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेका सम्पदाको जिर्णाेद्वार तथा पुनःनिर्माण सम्पन्न गर्नु आवश्यक रहेको बताउनुभयो ।

‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य

रामपुर (पाल्पा), १३ वैशाखः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताउनुभएको छ । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उट्घाटन गर्नुहुँदै उहाँले २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रतादिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “उत्तर दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ ।” रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमशः अघि बढाउने उहाँले बताउनुभयो ।

फरक विचार र आस्था भएपनि विकासको निम्ति एउटै पार्टी बन्न उहाँले आग्रह गर्नुभयो । दलले केही गरेनन् भन्नेलाई विगत र वर्तमानको विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । वर्तमान व्यवस्था र राजनैतिक दलले केही गरेन भन्ने भाष्यनिर्माण भइरहेको प्रतिलक्षित गर्दै उहाँले विगत र वर्तमान अवस्थाको विश्लेषण गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा (एमाले)का संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले राजनैतिक स्थायित्वका लागि गठन भएको नेपाली कांग्रेस र एमालेको सरकार हल्लाको भरमा नढल्ने बताउनुभयो । लुम्बिनी प्रदेश अर्थ, उद्योग तथापर्यटन समितिका सभापति एवं रामपुर साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बढ्दो शहरको रूपमा रहेको रामपुरको खाने पानी आपूर्तिको लागि सङ्घीय सरकार खाने पानी मन्त्रालय, खाने पानी तथा ढल निकास विभागबाट सहलगानीमा सात हजार धारा सङ्ख्या पु¥याउने गरी रु ६२ करोड ७६ लाख ८९ हजार १८४ को कुल लगातमा आयोजना २०८२÷८३ भित्र कार्यान्वयनमा लैजाने निर्णय गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले रामपुर साना शहरी खाने पानी अहिले भूमिगत पानीमा निर्भर रहेको बताउनुभएको छ । काली गण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता, वातावरणसँगै यहाँका खाने पानीका स्रोतमा प्रत्यक्ष असर पुग्ने भएकाले डाइभर्सन जुनसुकै हालतमा रोक्नु आवश्यक रहेको बताउनुभयो ।

मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना

झापा, १३ वैशाखः मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ ।

नगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा उपभोग्य मिति गुज्रिएको पास्ता, सुजी र मैदा भेटिएको थियो ।

उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितमाथि खेलवाड गरेको अभियोगमा रु ५० हजार जरिवाना गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । जरिवाना तिरेपछि अबोप्रान्त लापर्वाही नगर्ने शर्तमा नगरपालिकाले अनुगमनको क्रममा उद्योगमा लगाएको ताला खोलिदिएको छ ।

नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० स्थित नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ स्थित सिङ्गापुर बेभरेज नेपाल प्रालिसमेतमा अनुगमन गरिएको बताउनुभयो ।

सरसफाइमा ध्यान नदिइएको पाइएका कारण नन्दा फुड इन्डस्ट्रिजका सञ्चालकलाई सचेत गराएर उद्योगमा सरसफाइको व्यवस्था मिलाउन निर्देशन दिइएको खाद्य विश्लेषक कार्कीले जानकारी दिनुभयो ।

यसैबीच, नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मेचीनगरको १५ वटा सहकारी संस्थामा स्थलगत अनुमगन गरेको छ ।

सहकारी समन्वय समितिको सचिवसमेत रहनुभएको नगरपालिकाका अधिकृत कार्कीले १५  सहकारीमा अनुगमन गर्दा सहकारी मूल्य र मान्यता पालना नगरेका आठ वटालाई सुध्रिनका लागि सुझाव दिइएको बताउनुभयो । 

समितिले मेचीनगर–१० को लङ्कासरी महिला संवृद्वि बहुउद्देश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ ।

यसैगरी, मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को वौद्धमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–४ को पानस कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था र मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको छ ।

अनुगमन गरिएकामध्ये आठ वटा सहकारीमा सञ्चालक समितिको वैठक नियमित नगरेको, विना धितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्त पत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा नराखेको, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृति भएको पत्र नराखिएको, मासिक रिपोर्ट नबनाइएको, सूचना पार्टीनराखिएको, तोकिएको अवधिमा साधारणसभा नगरिएको, सदस्य शिक्षा कार्यक्रम नगरेको, कर्जा जोखिम कोषको व्यवस्था नगरिएको पाइएको थियो ।

सहकारी अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन्नाथ भट्टराई र सदस्य सचिव कार्की रहनुभएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्थानीय सरकारलाई उपभोक्ताको अधिकार सुरक्षित गर्नका लागि अनुगमनको अधिकार दिइएको हुँदा बजार, सहकारी र अन्य क्षेत्रको अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउने बताउनु भएको छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा रहेको बजार अनुगमन टोलीमा राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक सङ्गीता साह, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायव सुब्बा सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका नायव सुब्बा विजयनन्द चौधरी, मेची उद्योग बाणिज्य सङ्घका सदस्य विष्णु बुढाथोकीलगायत प्रहरीको सहभागिता रहेको थियो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ वैशाखः नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०४ रुपैयाँ २६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैङ्कले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

काठमाडौँ, १३ वैशाखः चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजानिक गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’लाई संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसक्नुभएको छ । नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । 

यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास थालिनीसमेत गरिसकेको छ । यो अभ्यास एशिया प्रशान्त क्षेत्रमा नै एक नवप्रवर्तनीय अभ्यास मानिएको छ ।  

नगरपालिकाको सभाकक्षमा हालै आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा प्रधान लगायतले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’ (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गर्नुभयो । 

सो अवसरमा नगरप्रमुख गिरीले समृद्धिको आधार भौतिक पूर्वाधारका साथ साथमा आर्थिक, सामाजिक र प्रविधियुक्त समाज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेको छु । दिगो विकासका विभिन्न लक्ष्यमध्ये पाँचवटा क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । लक्ष्य प्राप्तिका लागि नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित छन् ।” 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले दिगो विकास लक्ष्यलाई हाँसिल गर्न नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित रहेको जानकारी दिनुभयो । सोही अवसरमा युएन ह्याविट्याटका प्रतिनिधि प्रधानले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’को महत्वका बारेमा जानकारी दिनुभएको थियो । 

कार्यक्रममा  नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्ययोजना ढाँचाका बारेमा पनि प्रस्तुति गरिएको थियो । 

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ), १३ वैशाख : मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो ।

दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रको काम अन्तिम चरणमा पुगेपनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाई हुँदा काममा ढिलाई भएको थियो । यो खण्डको काम ८२ दशमलब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

चार लेनतर्फ ३३ दशमलब ५६ र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । उहाँले भन्नुभयो, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । 

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ, १३ वैशाख : हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हिउँ चितुवाको बासस्थान सुधार तथा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही

काठमाडौँ, ११ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवाको कुनै पनि राष्ट्र भाषा नभएकाले यसलाई कुनै देशको सिमानाभित्र रहनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय हिउँ चितुवा संरक्षण कार्यशालाको उद्घाटनमा उहाँले हिउँ चितुवाको बासस्थान सुधार तथा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

“नेपालले हिउँ चितुवा संरक्षणमा आन्तरिक र बाह्य सहकार्यलाई जोड दिँदै आएको छ”, मन्त्री शाहीले भन्नुभयो, “नेपालले विगतदेखि नै पर्वतीय क्षेत्रको संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई प्राथमकिता दिँदै आएको छ ।” हिमालकी रानी भनेर चिनिने हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वच्छ पारस्थितीय प्रणाली दर्शाउने सूचक हो । नेपालमा ३९७ वटा हिउँ चितुवा रहेको तथ्याङ्क रिपोर्ट प्रकाशन उल्लेख गर्दै उहाँले यो सङ्ख्या विश्वमा पाइने हिउँ चितुवाहरूको अनुमानित सङ्ख्याको करिब १० प्रतिशत रहेको अवगत गराउनुभयो । यो सङ्ख्याले नेपाल हिउँ चितुवा संरक्षणका लागि कटिबद्ध छ भन्ने प्रमाणित गरेको उहाँको भनाइ थियो ।

“यो महत्त्वपूर्ण उपलब्धिका लागि वन मन्त्रालय र मातहतका निकायहरू, राष्ट्रिय प्रकृति संरक्षण कोष, संरक्षणकर्मीहरू, अनुसन्धानकर्ता, गैरसरकारी संस्था र स्थानीय समुदायहरू सबैलाई धन्यवाद दिन चाहन्छु”, मन्त्री शाही भन्नुभयो, “यो उपलब्धी तपाईहरूको योगदानकै कारण वैज्ञानिक सर्वेक्षण सम्भव भयो, लुकेर बस्ने लजालु स्वभावको यो जीव त्यसै देख्न गाह्रो हुन्छ । यस्तो अवस्थामा यो जीवको अनुगमन गर्न हामीले क्यामेरा ट्रयाप, डीएनए परीक्षण तथा अन्य प्रविधिहरूको प्रयोग गर्दै संरक्षणको नयाँ युगमा पाइला बढाएका छौँ ।”

हिउँ चितुवाको संरक्षणमा सङ्ख्याले मात्रै नहुने उल्लेख गर्दै उहाँले दीर्घकालीन योजना निर्माण गरिनुपर्ने र त्यसैलाई आधार मानेर हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४–२०३० ल्याएको बताउनुभयो । 

यो कार्ययोजनामा भएका काम सम्पन्न गर्न करिब रु एक अर्ब ७७ करोड लाग्ने अनुमान छ । हिउँ चितुवाको बासस्थानको करिब ४२ प्रतिशत भूभाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्ने भएकाले यसको बासस्थान संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध शिकार नियन्त्रण, अनुसन्धान अभिवृद्धि र स्थानीय समुदायको सहभागितामा आधारित संरक्षण कार्यलाई प्राथमिकता दिनुपर्नेमा मन्त्री शाहीले जोड दिनुभयो ।

कार्यक्रममा कोषका सदस्य सचिव डा नरेश सुवेदीले यस कार्यशालाको मुख्य उद्देश्य प्रविधि हस्तान्तरण तथा सहकार्यका साथै सामूहिक ज्ञान हस्तान्तरण र अनुभव आदनप्रदान तथा क्षमता अभिवृद्धि गर्ने रहेको बताउनुभयो । 

यो उद्देश्य हाम्रो हिउँ चितुवा संरक्षण कार्ययोजनासँग मेल खाने बताउँदै उहाँले हिउँ चितुवा संरक्षणमा स्थानीय समुदायहरूको भूमिका अति महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । “स्थानीयले संरक्षण गर्दा लाभ उनीहरुलाई नै बढी हुन्छ जहाँ पर्यापर्यटनदेखि वैकल्पिक आयको ग्यारेन्टी हुनेगर्छ, सदस्य सचिव डा सुवेदीले भन्नुभयो, “यस कार्यशालाबाट प्राप्त अनुसन्धान, नीति संवाद, शिक्षा तथा क्षमता अभिवृद्धिको पहल गर्न एक महत्वपूर्ण अवसरले प्रदान गर्नेछ ।”

दुई दिनसम्म चल्ने कार्यशालामा हिउँ चितुवा संरक्षणसँग सम्बन्धित विभिन्न सत्रमा छलफल हुनेछ भने कार्यशालामा संरक्षणकर्मीहरू, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका सरोकारवाला अधिकारीलगायतको सहभागिता रहेको छ । 

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि एपीएफलाई

खजुरा (बाँके), १२ वैशाखः विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई अन्तिम समयमा एक गोल गरेर स्तब्ध बनाएको हो । एपीएफका तर्फबाट खेलाडी गीता रानाले एक मात्र निर्णायक गोल गरिन् । राना प्लेयर अफ द म्याच भइन् ।

एपीएफले रौतहट फुटबल सङ्घलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो । जितसँगै एपीएफले रु पाँच लाख पाँच हजार ५५५ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ ।

उपविजेता पुलिसले रु दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरिन् ।

खेलको समापनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायतले विजेता समूहलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा ‘अन्तराल’द्वारा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता थियो ।

पहलगाम घटना : आतङ्ककारी हमलामा मारिएकाको सम्झनामा भैरहवामा दीप प्रज्वलन

भैरहवा (रूपन्देही), १२ वैशाख : भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ ।

भैरहवाको बुद्धचोकमा आज साँझ नेपाल–भारतमैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्वसैनिक परिवार कल्याण सङ्गठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो । 

प्रतिनिधिसभा सदस्य एवं पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरेपनि कमै हुने बताउनुभयो । उहाँले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

 पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतंकवाद स्वीकार्य नहुने बताउनुभयो । मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपुसैनिकका अध्यक्ष रेशम केसीले आतङ्ककवादी घटनाले आफूलाई दुःखी तुल्याएको जनाउनुभयो । 

शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीयलगायत सहभागी थिए । शोकसभापछि दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरिएको थियो ।

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

काठमाडौँ, १२ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको स्पष्ट पार्नुभएको छ । प्राधिकरण गठनपश्चात सहकारी विभागको भूमिका विषयमा सहकारी पत्रकार समाजले आज आयोजना गरेको कार्यक्रममा उहाँले अब नियामकका रूपमा प्राधिकरणले काम थाल्ने बताउनुभयो ।

    सहकारी विभाग र प्राधिकरणको काम, कर्तव्य र भूमिकाबारे स्पष्ट हुन सहकारीकर्मीलाई आग्रह गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “प्राधिकरणलाई अघि सारेर विभाग खारेज गर्ने कुरा पनि आएको थियो । कामको पाटो फरक छ । काम र जिम्मेवारीलाई नबुझ्दा गलत सूचना जान्छ, अब समन्वय गरेर अगाडि बढ्ने हो ।” सहकारी विभागको अनावश्यक संरचना हटाइने उहाँको भनाइ थियो ।

    “प्राधिकरण स्थापना भएपछि अब विभागको औँचित्य के हुन्छ भन्नेबारे प्रश्न उठेको छ । आवश्यक संरचना राखेर र अनावश्यक हटाउँछौँ । राष्ट्रिय सहकारी बोर्ड खारेज गरिसक्यौँ । अब विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र पनि मर्ज हुन्छ”, उहाँले भन्नुभयो ।

   सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले एउटै संस्थाको नियमन गर्न दुई वटा निकाय रहनु स्वाभाविक नरहेको बताउनुभयो । विभागको काम नियमन, प्रवर्द्धन र प्रशिक्षण भएको जनाउँदै उहाँले प्राधिकरणसँग पनि समन्वय गरेर प्रभावकारी कदम चालिने बताउनुभयो ।

    प्राधिकरणका सञ्चालक मदन कोइरालाले सहकारीको नियमनलाई कसरी प्रभावकारी बनाउने भन्नेतर्फ आफूहरूले काम गरिरहेको बताउनुभयो । “विभाग हुँदाहुँदै प्राधिकरण आएर ‘डुप्लिकेशन’ भयो भन्ने कुरा आएको छ । खासगरी बचत तथा ऋणको कारोबार गर्ने संस्थालाई नियमन गर्न प्राधिकरण आएको हो । नियन्त्रण गर्न होइन । प्राधिकरण सशक्त छ”, उहाँले भन्नुभयो ।

    राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले नेपाल राष्ट्र बैङ्कको मापदण्ड तथा निर्देशनले सहकारी क्षेत्रमा केही अन्योलता थपिएको बताउनुभयो । सहकारी क्षेत्रमा नियमन, प्रवर्द्धन र प्रशिक्षण नभएका कारण पनि समस्या आएको उल्लेख गर्दै उहाँले अबका दिनमा सहकारी प्रवर्द्धन र प्रशिक्षणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी व्यवस्थापनका लागि अब छुट्टै बचत तथा ऋण सहकारी ऐन (साकोस ऐन) निर्विकल्प भएको बताउनुभयो ।

राष्ट्रिय खेल भलिबललाई बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री तामाङ

त्रिशूली (नुवाकोट), १२ वैशाख : नेपालको राष्ट्रिय खेल भलिबलको महत्त्व बढाउन बागमती प्रदेस सरकारले आगामी वर्ष प्रदेशस्तरीय भलिबल प्रतियोगिता गराउने भएको छ ।

नुवाकोटको म्यागङ गाउँपालिकाले आयोजना गरेको राष्ट्रव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको आज आयोजित समापनलाई सम्बोधन गर्दै बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले भलिबल खेलको महत्त्व बढाउन र नयाँ खेलाडी उत्पादनका लागि प्रदेश सरकारले प्रदेसस्तरीय राष्ट्रव्यापी महिला–पुरुष सम्मिलित प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो ।

देशको राष्ट्रिय खेल भलिबल भए पनि यसलाई टेवा पुग्ने प्रतियोगिता नभइरहेको र नयाँ खेलाडी उत्पादनको अवस्था निराशाजनक भएकाले प्रदेश सरकारले भलिबलको महत्त्व वृद्धि र खेलाडीको स्तर बढाउन सहयोग पु¥याउन प्रतियोगिता सञ्चालन गर्न लागि रहेको मुख्यमन्त्री लामाको भनाइ छ ।

“प्रतियोगिताको उत्कृष्ट खेलाडीले गर्ने अभ्यास र हुने प्रतिस्पर्धाले क्षमता बृद्धिमा सहयोग पुग्दछ”, उहाँले भन्नुभयो, “प्रतियोगिता सञ्चालनसहित त्यसको लागि आवश्यक पूर्वाधार र खेल सामग्रीको प्रबन्ध मिलाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गर्नेछाँै ।”

म्यागङ गाउँपालिकाले आयोजनामा आज सम्पन्न ‘तेस्रो राष्ट्रव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता’ को उपाधि स्याङ्जाको चापाबोट नगरपालिकाले जितेको छ । फाइनलमा स्याङ्जाकै वालिङ नगरपालिकालाई सोझो सेट ३–० ले हराउदै चापाबोटले उपाधि जितेको हो ।

प्रतियोगितामा पहिलो भएको चापाबाटोले रु तीन लाख ३३ हजार तीनसय ३३ र दोस्रो भएको वालिङले रु दुई लाख २२ हजार दुई सय २२ प्राप्त ग¥यो । प्रतियोगितामा ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका तेस्रो बन्यो । उसले रु एक लाख ११ हजार एक सय ११ नगद पाएको छ । उत्कृष्ट भएका टिमलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र मुख्यमन्त्री लामाले प्रदान गर्नुभयो ।

म्यागङ गाउँपालिकाको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको भलिबल प्रतियोगितालाई आगामी संस्करणमा थप सुधारसहित महिला र पुरुष समूह बनाइ निरन्तरता दिने अध्यक्ष आशा तामाङले बताउनुभयो । 

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ, १२ वैशाखः यहाँको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका पाँच दम्पतीलाई सम्मान गरेको छ । वडा नं १ लिकुवापोखरीका सुदेश राई र रीता खड्का, शम्भुजित कटवाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ तथा वडा नं २ वाप्लुखाका आस्मिन राई र सुष्मा विश्वकर्मा दम्पतीलाई गाउँपालिकाले बिहीबार सम्मान गरेको हो ।

फरक–फरक समुदायका भए पनि विवाह गरेर राम्ररी घरजम बसाएका जोडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिनुभयो । गाउँपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट विनियोजित रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान कार्यक्रम गरिएको जनाइएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले आयोजना गरेको वडास्तरीय जनचेतनामूलक कार्यक्रमको अवसरमा गाउँपालिका उपप्रमुख राईले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गर्नुभयो । जातीय विभेदको पर्खाललाई भत्काउँदै विवाह गरेका अन्तरजातीय दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभयो । 

प्रत्येक दम्पतीलाई नगद रु दुई हजारका दरले यातायात खर्च प्रदान गरिएको जनाएको छ । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेको विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  

अन्तरजातीय विवाह गर्ने गाउँपालिकाको नौवटै वडाका दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ । सम्मानका लागि सबै वडामा विवरण सङ्कलन भइरहेको छ ।

जनताको माग सम्बोधन गर्नुपर्नेमा महासचिव गुरुङको जोड

कर्णाली, १२ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताको माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिद्वारा आज सुुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव गुरुङले अहिले मुलुकमा थुप्रैखाले समस्या देखिँदा जनतामा निराशा छाएको बताउनुभयो । सहकारी, मिटरब्याजी पीडित, शिक्षक, कर्मचारी, चिकित्सक स्वास्थ्यकर्मीहरुका समस्या एकैपटक बाहिर आउनुमा सरकारको कार्यशैली जिम्मेवार भएको उहाँले आरोप लगाउनुभयो । 

मुलुकको विकासका निम्ति स्थिरता र राजनीतिक स्थायित्व आवश्यक रहेको महासचिव गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “समस्याका विषयमा प्रतिपक्षीको हिसाबले माओवादी केन्द्रले सदन र सडक दुवैबाट खबरदारी गर्दै आएको छ । अझै सरकारले मुलुकमा देखिएका सबै मुद्दाका बारेमा बेलैमा पुनर्विचार गर्नुपर्दछ ।” 

नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १२ वैशाखः पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । आज बिहान प्रतापपुर गाउँपालिका-६ गुठ्ठीप्रसौनी बस्ने ३६ वर्षीय रघुवीर केवटले बारीमा काम गरिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो । उहाँको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ ।

केवटलाई चितुवाले आक्रमण गरेको चार घण्टापछि फेरि तीन जनालाई आक्रमण गरी घाइते बनाएको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “केवटको उद्धार गरी उपचार भइरहेको थियो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको बेला थप तीनलाई आक्रमण गरी घाइते बनाएको जानकारी प्राप्त भयो ।” 

चितुवाले प्रतापपुर-६ का दुई र सुस्ताका एक जनालाई घाइते बनाएको प्रनाउ पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतापपुरका ३० वर्षीय प्रेमे कोइरीको हातमा, २८ वर्षीय उमालाल कोइरीको खुट्टाको पञ्जामा र सुस्ता गाउँपालिका-५ बस्ने महमद मियाको बाँया हातमा चोट लागेको छ ।

चितुवाले आक्रमण गरेका सबै उपचारपछि घर फर्किएका छन् । मानिसलाई घाइते बनाएको चितुवालाई इलाका प्रहरी कार्यालय बेलाटारी र प्रतापपुर/सुस्ताको सवडिभिजन वन कार्यालय बरुवाको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन

काठमाडौँ, १२ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ ।

यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न ऊर्जामन्त्री खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहेका छन् ।

घटनापछि गम्भीर चासो व्यक्त राख्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनुभयो । समितिलाई दुर्घटना कसरी ? किन ? र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्नका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य बिमाको रकम नआएपछि भरतपुर अस्पतालमा २४ परीक्षण बन्द

चितवन, १२ वैशाखः चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको सङ्घीय भरतपुर अस्पतालले बिमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको हो ।

बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रु ५० करोड नाघेपछि सञ्चालनमा कठिनाइ भएसँगै ती परीक्षण बन्द गरिएको अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् ।”

यसअघि बिमा बोर्डले तीन महिनामा एक पटक मात्रै परीक्षण गर्न पाउने गरी नीति बनाएको थियो ।  भिटामिन डी, भिटामिन १२ लगायत परीक्षण बिमामार्फत गर्न रोकिएको हो । पौडेलले भन्नुभयो, “अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ । ती परीक्षणको किट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो भएकाले रोकिएको हो ।”

बिमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार फागुनदेखिको रु १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ । परीक्षण सामग्री उपलब्ध गराउने कम्पनीले अस्पताललाई समान दिन नसक्ने भनेपछि परीक्षण रोकिएको उहाँको भनाइ छ ।

पौडेलका अनुसार अस्पताल सञ्चालनका लागि अहिले तत्काल रु २५ करोड भुक्तानी भयो भने अस्पतालको आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुन्छ । बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउन कठिन हुन थालेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ ।” अस्पतालमा अहिले दैनिक एक हजार ५०० बढी स्वास्थ्य बिमाका बिरामीले उपचार लिँदै आएका पौडेलले जानकारी दिनुभयो ।  अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बिमाका बिरामी रहने गरेकाले पाउनुपर्ने भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको उहाँले उल्लेख गर्नुभयो । 

अस्पतालको बिमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आवको रु ३७ करोड भुक्तानी भए पनि चालु आवको अहिलेसम्म भुक्तानी भएको छैन । अस्पताल विकास समितिको पैसाबाट बिमाका बिरामीलाई सेवा दिइएको बताउँदै उहाँले यही अवस्था रहे अस्पताल आर्थिक सङ्कटमा धकेलिने उल्लेख गर्नुभयो ।

नेपालमा सबैभन्दा बढी बिमाका बिरामीको उपचार यहाँ गराउने गरिन्छ । अस्पतालले मासिक रु छ करोड बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको बिमा संयोजक पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पताल स्वास्थ्य बिमामा देशकै उत्कृष्ट र नमूना मानिन्छ । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा दाबी प्रक्रिया बुझ्न यहाँ कर्मचारीहरू आउने गर्दछन् । 

समस्या देखिएका अस्पतालका कर्मचारीहरूलाई बोर्डले यहाँ जान सुझाउने गरेको संयोजक पौडेलको भनाइ छ । देशका धेरै अस्पतालबाट आएका कर्मचारीलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।