`

नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १२ वैशाखः पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । आज बिहान प्रतापपुर गाउँपालिका-६ गुठ्ठीप्रसौनी बस्ने ३६ वर्षीय रघुवीर केवटले बारीमा काम गरिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो । उहाँको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ ।

केवटलाई चितुवाले आक्रमण गरेको चार घण्टापछि फेरि तीन जनालाई आक्रमण गरी घाइते बनाएको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “केवटको उद्धार गरी उपचार भइरहेको थियो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको बेला थप तीनलाई आक्रमण गरी घाइते बनाएको जानकारी प्राप्त भयो ।” 

चितुवाले प्रतापपुर-६ का दुई र सुस्ताका एक जनालाई घाइते बनाएको प्रनाउ पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतापपुरका ३० वर्षीय प्रेमे कोइरीको हातमा, २८ वर्षीय उमालाल कोइरीको खुट्टाको पञ्जामा र सुस्ता गाउँपालिका-५ बस्ने महमद मियाको बाँया हातमा चोट लागेको छ ।

चितुवाले आक्रमण गरेका सबै उपचारपछि घर फर्किएका छन् । मानिसलाई घाइते बनाएको चितुवालाई इलाका प्रहरी कार्यालय बेलाटारी र प्रतापपुर/सुस्ताको सवडिभिजन वन कार्यालय बरुवाको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन

काठमाडौँ, १२ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ ।

यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न ऊर्जामन्त्री खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहेका छन् ।

घटनापछि गम्भीर चासो व्यक्त राख्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनुभयो । समितिलाई दुर्घटना कसरी ? किन ? र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्नका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य बिमाको रकम नआएपछि भरतपुर अस्पतालमा २४ परीक्षण बन्द

चितवन, १२ वैशाखः चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको सङ्घीय भरतपुर अस्पतालले बिमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको हो ।

बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रु ५० करोड नाघेपछि सञ्चालनमा कठिनाइ भएसँगै ती परीक्षण बन्द गरिएको अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् ।”

यसअघि बिमा बोर्डले तीन महिनामा एक पटक मात्रै परीक्षण गर्न पाउने गरी नीति बनाएको थियो ।  भिटामिन डी, भिटामिन १२ लगायत परीक्षण बिमामार्फत गर्न रोकिएको हो । पौडेलले भन्नुभयो, “अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ । ती परीक्षणको किट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो भएकाले रोकिएको हो ।”

बिमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार फागुनदेखिको रु १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ । परीक्षण सामग्री उपलब्ध गराउने कम्पनीले अस्पताललाई समान दिन नसक्ने भनेपछि परीक्षण रोकिएको उहाँको भनाइ छ ।

पौडेलका अनुसार अस्पताल सञ्चालनका लागि अहिले तत्काल रु २५ करोड भुक्तानी भयो भने अस्पतालको आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुन्छ । बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउन कठिन हुन थालेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ ।” अस्पतालमा अहिले दैनिक एक हजार ५०० बढी स्वास्थ्य बिमाका बिरामीले उपचार लिँदै आएका पौडेलले जानकारी दिनुभयो ।  अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बिमाका बिरामी रहने गरेकाले पाउनुपर्ने भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको उहाँले उल्लेख गर्नुभयो । 

अस्पतालको बिमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आवको रु ३७ करोड भुक्तानी भए पनि चालु आवको अहिलेसम्म भुक्तानी भएको छैन । अस्पताल विकास समितिको पैसाबाट बिमाका बिरामीलाई सेवा दिइएको बताउँदै उहाँले यही अवस्था रहे अस्पताल आर्थिक सङ्कटमा धकेलिने उल्लेख गर्नुभयो ।

नेपालमा सबैभन्दा बढी बिमाका बिरामीको उपचार यहाँ गराउने गरिन्छ । अस्पतालले मासिक रु छ करोड बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको बिमा संयोजक पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पताल स्वास्थ्य बिमामा देशकै उत्कृष्ट र नमूना मानिन्छ । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा दाबी प्रक्रिया बुझ्न यहाँ कर्मचारीहरू आउने गर्दछन् । 

समस्या देखिएका अस्पतालका कर्मचारीहरूलाई बोर्डले यहाँ जान सुझाउने गरेको संयोजक पौडेलको भनाइ छ । देशका धेरै अस्पतालबाट आएका कर्मचारीलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुरमा अटोबाट खसेर १२ वर्षीय बालकको मृत्यु

कञ्चनपुर, १२ वैशाखः शुक्लाफाँटा नगरपालिका-७ का १२ वर्षीय निराजन ठगुन्नाको आज अटोबाट खसेर मृत्यु भएको छ । झलारी बजारबाट म१ह १२३३ नम्बरको अटोमा बजारबाट घरतर्फ जाँदै गरेका ठगुन्ना स्टेसनपुर नजिक अटोबाट खसेका हुन् ।

अटोबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार अटो चालक ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

गुल्मीमा आगलागीबाट चार वर्षीय बालकको मृत्यु

तम्घास (गुल्मी), १२ वैशाखः जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उहाँका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । “आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन् । बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो”, धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले भन्नुभयो । आगलागीबाट ढुङ्गा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।  

‘विपद् जोखिम न्यूनीकरण गर्न राज्यले थप तयारी गर्नु आवश्यक छ’ : उपाध्यक्ष श्रेष्ठ

गोरखा, १२ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण गर्न राज्यले थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

बारपाक सुलिकोट गाउँपालिका–२ बारपाकमा गोरखा भूकम्पको स्मृतिमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा विभिन्न खालका विपद्ले ठूलो नोक्सानी गर्दै आएको भन्दै राज्यले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ ढङ्गले तयारी थाल्नुपर्ने बताउनुभयो ।

“भूकम्प, बाढीलगायत अन्य विपद्का हिसाबले नेपाल जोखिमयुक्त देश हो”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “यहाँ भूकम्पको जोखिम सधैँ रहेको विज्ञहरूले चेतावनी दिइरहेकाले राज्यले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्नुपर्छ ।” विगतमा भएका विपद्बाट शिक्षा लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

विपद्लाई रोकेर रोक्न नसकिने भए पनि न्यूनीकरण गरेर ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले जोखिम न्यूनीकरण गर्नु राज्यको महत्त्वपूर्ण पक्ष रहेको उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । 

“गोरखा भूकम्पले देशलाई पुनर्निर्माणको एउटा अवसर पनि दिएको थियो । त्यसले हामीले कति सकारात्मक ढङ्गले अवसरलाई उपयोग गर्न सक्यौँ, कति आफ्नै कमजोरीका कारण अवसर सदुपयोग गर्न सकेनौँ त्यसको समिक्षा गर्दै जानुपर्छ”, उहाँले भन्नुभयो ।

सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धि हासिल गर्दै जनताको जीवनस्तर उठाउनु देशको मुख्य कार्यभार रहेको उपाध्यक्ष श्रेष्ठले धारणा राख्नुभयो । “युवालाई नयाँ जीवन दिन मुलुकभित्र प्रशस्त सम्भावनाहरू छन्”, उहाँले भन्नुभयो, “ती सम्भावनालाई समातेर फड्को मार्न सक्नुपर्छ ।”

ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, १२ वैशाखः नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ, काठमाडौँ–८ गौशाला बस्ने मागुरा मागुरासदर थाना बेरोइलग्राम घर भएका ४७ वर्षीय मिल्टन भन्नेकाजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बङ्गलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा निजहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरिएको हो ।”

निजहरूले नेपाल हुँदै वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायत मुलुकमा पठाउन सहज हुने भनी एजेन्टमार्फत पर्यटक भिसामा बङ्गलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५०० अमेरिकन डलर लिई सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूका साथबाट राहदानी १९ थान, मोबाइल चार थान, अमेरिकन डलर नौ हजार ८५०, बङ्गाली टाका ३९ हजार ९०५ र नेपाली रु २५ हजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित शिवसताक्षी गेष्ट हाउसबाट काठमडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता आचार्यले बताउनुभयो ।

विश्व औलो दिवसः औलोको उच्च जोखिममा पाल्पा

तानसेन (पाल्पा), १२ वैशाखः पाल्पा औलोको उच्च जोखिममा रहेको छ । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोका कारण जिल्ला उच्च जोखिममा परेको हो ।

जिल्लामा हरेक वर्ष औलो सङ्क्रमित बिरामी भेटिने गरेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको पछिल्लो छ वर्षको तथ्याङ्क अनुसार यहाँ २५ जनामा औलो पुष्टि भएको छ । 

आर्थिक वर्ष २०७६÷७७ मा दुई, आव २०७७÷७८ मा एक, आव २०७८÷७९ मा एक, आव २०७९÷८० मा पाँच, आव २०८०÷८१ मा सात र चालु आवको हालसम्म नौ जना बिरामीमा औलो फेला परेका स्वास्थ्य कार्यालयका औलो रोग कार्यक्रमका फोकल पर्सन एवं वरिष्ठ ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ मध्ये २४ जना आयातित औलोबाट सङ्क्रमित बिरामी हुन् । 

“गत वर्ष पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय औलोबाट सङ्क्रमित भएका थिए । बाँकी सबै भारतबाट आउनेहरूमा देखिएको हो”, उहाँले भन्नुभयो । चालु आवको चैतसम्म नौ जना औलोका बिरामी भेटिएका छन् । 

फोकल पर्सन भट्टराईले यहाँका छ स्थानीय तहमा औलोका बिरामी फेला परेका बताउनुभयो । उहाँका अनुसार माथागढी गाउँपालिकामा तीन, बगनासकाली गाउँपालिकामा दुई, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाका एक÷एक जनामा औलो पुष्टि भएको हो ।

कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोबाट सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । विशेष गरी महाराष्ट्र, दिल्ली, गुजरातबाट आएकामा  देखिएको भट्टराईले जानकारी दिनुभयो । खुला सिमानाका कारण दैनिक भारत आवतजावत गर्नेहरू औलो सङ्क्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा सङ्क्रमण फैलिने जोखिम बढेको उहाँले बताउनुभयो ।

फोकल पर्सन भट्टराईले जिल्लामा बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढी छ । यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौती थपेको हो । 

“पाल्पामा स्थानीय मलेरियाका बिरामी देखिनु, आयातित औलोका बिरामी बढ्दै जानु, कीटनाशकयुक्त झुल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाइ, आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरूको अभाव, मलेरिया टेस्टकीट आवश्यकताअनुसार प्राप्त नहुनुलगायत कारणले औलो निवारणमा थप चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

औलोबाट गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुने स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितलाई स्वास्थ्य कार्यालयले विशेष निगरानी बढाएको बताउनुभयो । उहाँका अनुसार सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुँदै आएको छ । 

स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औलो बिरामीको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सीमानाका तथा समुदायमा शङ्कास्पद बिरामीको रक्त परीक्षण तथा रोगबारे सचेतना, जोखिमयुक्त क्षेत्रहरूमा झुल वितरण तथा कीटनाशक विषादी छिड्काउलगायत कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलो रोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको हो । 

पर्यटनमुखी बजेट निर्माण गर्न लुम्बिनी प्रदेश सरकारलाई नेता कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लुम्बिनी प्रदेश सरकारलाई पर्यटनमुखी बजेट निर्माण गर्न सुझाव दिएका छन् । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेसंग काठमाडौँमा शुक्रबार भएको भेटका क्रममा नेता डा. कोइरालाले पर्यटन विकासबाट मात्रै प्रदेश समृद्ध बन्न सक्ने भन्दै आगामी बजेटमा पर्यटनको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका हुन् । लुम्बिनी प्रदेश पर्यटन विकासको प्रचुर सम्भावना रहेको भन्दै नेता डा. कोइरालाले यो सम्भावनालाई प्रदेशको आर्थिक विकास संग जोड्नु पर्ने बताए ।

‘लुम्बिनी प्रदेश पर्यटन क्षेत्रका हिसावले धनी प्रदेश हो,’ डा. कोइरालाको भनाई उदृत गर्दै मन्त्री न्यौपानेले भने ‘प्रदेशको पर्यटकीय थलोहरुको प्रवर्धन गरेर आर्थिक लाभ लिने ठाउँ प्रशस्न छन्, फलतः आगामी बजेटमा पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गरिनुपर्छ ।’

पर्यटन सर्किट निर्माण गरेर बाह्य पर्यटकहरुलाई लुम्बिनीमा आकर्षित गर्न सकिने भन्दै नेता कोइरालाले लुम्बिनीका पर्यटकीय थलोहरुको प्रचारप्रसार संगै पर्यटकीय पूर्वाधार निर्माणको कामलाई समेत जोड दिनु पर्ने सुझाव दिए ।
भेटमा मन्त्री न्यौपानेले आगामी बजेटमा मन्त्रालयले पर्यटन विकासलाई प्राथमिकतामा राख्ने भन्दै नीति तथा कार्यक्रममा यो बिषयलाई प्रमुखताका साथ उल्लेख गरिने बताए ।

‘लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि अहिले भइरहेका कामलाई बढोत्तरी दिनेगरि कार्यक्रम बनाइने छ,’ मन्त्री न्यौपानेले भने ‘प्रदेशको समृद्धिसंग जोडिएको बिषय पर्यटन क्षेत्रको विकासलाई सरकारले गम्भिरताका साथ हेरेको छ ।’ उद्योग, पर्यटन तथा यातायात मन्त्रालय आफ्नो नीति तथा कार्यक्रम निर्माणमा जुटेको छ । मन्त्रालयले पर्यटन विकासलाई केन्द्रमा राखेर आफ्नो कार्यक्रम बनाउने तयारी गरेको छ ।

यसैगरि नेता डा. कोइरालाले नागरिकलाई प्रदेशको अनुभुती दिलाउने गरि मन्त्रीहरुले काम गर्नु पर्ने सझाव दिए । प्रदेशको औचित्य छ भन्ने देखाउनै पर्ने भन्दै उनले नागरिकका सरोकारका बिषयमा सरकार बढि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए ।

‘प्रदेशको औचित्य छ भन्ने देखाउनु पर्ने छ, यसका लागि बोलेर हैन, काम गरेर देखाउनु पर्छ,’ नेता कोइरालाले भने ‘नागरिकका सरोकारका बिषयमा प्रदेशतहका हरेक जनप्रतिनिधि प्रत्यक्ष रुपमा सकृयता पूर्वक जोडिनुपर्छ ।’
शुक्रबार भएको भेटमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल पनि सहभागी थिए ।

एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संस्था भित्र बृहत् एकताका लागि अपिल गरेका छन्।

शुक्रवार एक वक्तव्य प्रकाशित गर्दै संयोजक घलेले संघ अहिले गम्भीर मोडमा आइ पुगेको बताए।

“यही वैशाख २० देखि २२ गते सम्म (मे ३-५, २०२५) मा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनको लागि डेलिगेट्स बन्न संसारभरिका ३,२०० साथीहरूले आवेदन दिई सक्नु भएको छ। छुट्टी मिलाएर, महँगो टिकट काटेर कतिपय साथीहरू नेपाल आइसक्नु भएको छ, आउने क्रममा हुनुहुन्छ। निर्वाचन कार्य तालिका पनि प्रकाशित भइसकेको छ ,” घलेले भने।

“यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै पनि किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन। सम्मानित सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा हामीले एकताको महाधिवेशन आयोजना गर्न गइरहेका छौँ । हाम्रा बैठकहरूमा नेपाल सरकारका प्रतिनिधिहरू पनि सहभागी भई रहनु भएको छ। त्यसैले वैधानिकताको बारेमा कुनै शङ्का छैन। गैर आवासीय नेपाली नागरिकता, लगानी प्रवर्द्धनजस्ता मुद्दाहरूमा नेपाल सरकारसँग दह्रो वार्ता गर्न पनि हामी फुटेर हैन जुटेर अगाडी बढ्नु पर्ने अवस्था छ,” डा घलेले वक्तव्यमा भनेका छन्।

उनले एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, र उच्चस्तरीय समितिका सबै १३ जना एक ठाउँमा बसेर छलफल गरी निकास निकाल्न पनि आग्रह गरेका छन्।।

“यो अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नयाँ उपलब्धि हासिल गर्नका लागि लाग्नु पर्ने बेला हो । विगतमा कसले के ग-यो त्यो कुरा अहिले छाडौँ । अहिलेको सन्दर्भमा सर्वोच्च अदालतको परमादेश अनुसार उच्चस्तरीय समितिले तोकेको मितिमा नै महाधिवेशन आयोजना गर्नु एकताको सूत्र हो। म एक पक्षको मात्रै जितको कामना गर्ने व्यक्ति होइन । हिजो पनि संघको अध्यक्ष हुँदा सबैलाई समेटेर, सहकार्य गरेर हिँडेको हुँ। त्यसैले एकै थलोमा भेला भएर, खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न पनि म सबै मित्रहरूलाई अपिल गर्दछु,” उनले वक्तव्यमा भनेका छन्।

बागमती प्रदेशः डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

बागमती, १२ वैशाखः बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् । मानवीय लापर्वाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ ।

गत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोबाट सबैभन्दा बढी चितवनमा चार हजार २२१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने सबैभन्दा कम दोलखामा २३ दशमलव ५५ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको छ । 

रामेछापमा एक सय ५०, सिन्धुलीमा पाँच सय ९२, रसुवामा एक सय ६४ दशमलव एक, धादिङ्गमा दुई सय ९८, काभ्रेमा एक सय ८९ र नुवाकोटमा ६७ हेक्टर वन क्षेत्रमा क्षति भएको बागमती प्रदेश वन निर्देशनालयले जनाएको छ । 

ती जिल्लाका सामुदायिक वनहरूमा लागेको डढेलोबाट करिब १५ लाखभन्दा बढी बोटबिरूवा जलेर नष्ट भएका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण मकवानपुरको राप्तीमा एक जनाको मृत्यु भएको छ ।


जङ्गलमा लागेको डढेला बस्तीसम्म पुग्दा रामेछापमा तीन जनाको चार वटा घर, दुई वटा गोठ, आधा दर्जन बाख्रा र ३५ वटा कुखुरा जलेर मरेका डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्कर जयसवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वर्ष लागेको डढेलोले वनका कलिला बिरूवा नष्ट गरेको छ ।

गाउँ बस्तीमा समूहहरू निर्माण गरेर डढेलोसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अघिल्ला वर्षको तुलनामा गत वर्ष करिब ६० प्रतिशतले डढेलो नियन्त्रणमा आएको प्रमुख जयसवालले बताउनुभयो । 

“डढेलो नियन्त्रणका लागि पालिकास्तरीय समितिहरू बनाएका छौँ, सुरक्षा निकायसँग पनि निरन्तर समन्वय भइरहेको छ”, प्रमुख जयसवालले भन्नुभयो, “डढेलो लागेलगत्तै हामी ती समूहहरूसँगै नियन्त्रणमा जुटिहाल्छाँै, त्यसमा सुरक्षाकर्मीको पनि साथ पाइरहेका छौँ ।” अघिल्लो वर्ष करिब एक हजार ८०० हेक्टरमा लागेको डढेलो गत वर्ष छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र लागेको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशको कूल क्षेत्रफलको ५९ दशमलव २७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । बर्सेनि हुने डढेलो नियन्त्रण गर्न प्रदेशका जिल्लाहरूमा सचेतनामूलक कार्यक्रमसँगै ह्याढडपम्पसहिका उपकरण वितरण गरिएको प्रदेश वन निर्देशनालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । 

दोषी कानुनी दायरा नआउँदा समस्या

वनजङ्गलमा हुने डढेलोको मुख्य कारण मानवीय लापर्वाही हो । मानवका कारण वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने गरे पनि दोषीहरू कानुनी दायरा नआउँदा घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय रामेछापका प्रमुख जयसवालले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा डढेलो लगाउने छ जनालाई यस वर्ष डिभिजन वन कार्यालयले पक्राउ परेको छ ।  

“गाउँलेहरूले वनमा आगो लगाउनेको सूचना दिएपछि हामीले ती व्यक्तिलाई पक्राउ ग¥यौँ”, उहाँले भन्नुभयो, “त्यसपछि सरकारी वकिलमार्फत मुद्दा चलाउन प्रक्रिया अघि बढाउने क्रममा मुचुल्काका लागि यकिन बयान दिने व्यक्ति नभएपछि मुद्दा अघि बढ्न सकेन ।” वनसम्बन्धी ऐनमा डढेलो लगाउने व्यक्तिलाई रु ६० हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । 

संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र

काठमाडौँ । प्रतिनिधिसभाका समानुपातिक सांसदले समेत राष्ट्रियसभाका सदस्यलाई हेर्ने दृष्टिकोण केही फरक पाएको छु । जबकि राष्ट्रियसभाका सदस्यहरू पनि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबाटै निर्वाचित भएर आएका हुन्छन् । राष्ट्रियसभाको महत्वलाई कमजोर बनाउने प्रयत्न गर्नु ठीक होइन । मेरो विचारमा राष्ट्रपति र प्रधानमन्त्री हुने र चुन्ने अधिकार पनि राष्ट्रियसभाका सदस्यलाई हुनुपर्छ, यस्तो संवैधानिक व्यवस्था गर्नुपर्छ । प्रतिनिधिसभाका केही सांसदले राष्ट्रियसभाका सन्दर्भमा दिएका अभिव्यक्ति शोभनीय छैनन् । राष्ट्रियसभाको महत्व, काम र गरिमाका सन्दर्भमा भइरहेका गलत टिप्पणी खेदजन्य छन् । प्रतिनिधिसभामा जनताका सवाल जति उठेका छन्, राष्ट्रियसभामा पनि त्यति नै उठाइएका छन् ।

संविधानमा गरिएका कतिपय व्यवस्था महत्वाकाङ्क्षी पनि छन् । संविधानमा लेखिएका सबै कुरा तत्कालै कार्यान्वयन हुन्छ जस्तो मलाई लाग्दैन, र त्यो सम्भव पनि छैन । संविधान दूरदृष्टियुक्त दस्तावेज भए पनि कार्यान्वयन गर्न सकिने विषयलाई मात्र समेट्न सकेको भए अहिले जटिलता आउने थिएन । अहिले हामी संविधान सम्भावित संशोधनको छलफलमा जुटेका छौँ । तर यस्तो संशोधनका लागि कम्तीमा संसद्मा रहेका अधिकाधिक राजनीतिक दलहरूको सहमति आवश्यक छ । के बुझ्नु पर्दछ भने संविधान संशोधन सरकारले चाहेर मात्रै हुँदैन । संविधान कुन विषयमा संशोधन गर्ने हो, त्यो विषयमा सरकार प्रष्ट हुनुपर्छ । राजनीतिक दल प्रष्ट हुनुपर्छ । त्यसपछि जनताको राय पनि लिनुपर्छ । जनताले नचाहेसम्म संविधान संशोधन हुँदैन । संविधान संशोधनमा सर्वोपरि भूमिका जनताको हुन्छ । उनीहरूको इच्छाविपरीत संविधान संशोधन गर्नु हुँदैन ।

मलाई लाग्छ सरकारले अहिले सुशासन कायम गर्नेतर्फ राम्रैसँग काम गरिरहेको छ । सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले जनतालाई सेवा दिइरहेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता कायम राखेको पनि छ ।

हामीले २०४६ साल वा २०६२–६३ सालमा गरेको आन्दोलन लोकतान्त्रिक गणतन्त्रका निम्ति गरेको हो । लोकतान्त्रिक गणतन्त्रमा रहेका व्यवस्था कार्यान्वयन गर्नका लागि एकले अर्कालाई अवरोध पुर्याउनु हुँदैन । स्थानीय र प्रदेश सरकारलाई आफ्नै तरिकाले चल्न दिनुपर्छ । त्यसलाई सङ्घीय सरकारले हस्तक्षेप गर्नु हुँदैन । अर्को कुरा, स्थानीय र प्रदेश सरकारलाई संविधानले दिएको अधिकार हस्तान्तरण गर्नुपर्छ । त्योसँगै स्थानीय र प्रदेश सरकारले आत्मनिर्भर हुन सिक्नुपर्छ । बजेटका लागि केबल सङ्घीय सरकारको मुख ताक्नु हुँदैन । स्थानीय स्रोत साधनबाटै स्थानीय सरकार बलियो बन्नुपर्छ । स्थानीय तहमा हुने सानातिना कामका लागि सङ्घीय सरकारको भर पर्नु हुँदैन ।

देशको व्यवस्था फेरियो अवस्था उस्तै छ भन्नेहरूले देशलाई भड्खालोमा हाल्न खोज्दैछन् । देशको व्यवस्था फेरिएसँगै जनताको अवस्था पनि फेरिएको छ । पहिला मेरो गाउँमा साइकल चढ्ने हैसियत नभएका कैयौँ मानिस अहिले मोटरसाइकल, गाडी चढ्ने भएका छन् । यो जनताको अवस्थामा आएको परिवर्तन हो । एउटा सामान्य सिटामोल किन्न पनि धेरै टाढा जानुपर्ने हुन्थ्यो । अहिले गाउँगाउँमा, वडावडामा स्वास्थ्य चौकी छन्, र तिनमा विशेषज्ञ स्वास्थ्यकर्मी भेटिने अवस्था बनेको छ । केही वर्षअघिसम्म पनि यो अवस्था थिएन । अहिले टोलटोलमा विद्यालय पुगेका छन् । प्रत्येक टोलमा इन्टरनेट सेवा पुगेको छ । गाउँका मानिसले गाउँमै बसेर संसार हेर्न पाइरहेको छ । गाउँमा उत्पादित वस्तु गाउँमै बिक्री गर्न सक्ने अवस्था आएको छ । हो, हामीले शिक्षा, शिक्षाको गुणस्तर कायम गर्न सकेका छैनौँ, त्यसलाई सुधार गरेर लैजानुपर्छ । जनताको अवस्था परिवर्तन भएको छैन भन्न मिल्दैन ।

युवा शक्तिलाई देशभित्रै राख्न त्यति सजिलो कुरा होइन । हामीले युवालाई कृषिसँग जोड्न सकेका छैनौँ । उत्पादन बढाउन सकेका छैनौँ । देशमा उद्योग, कलकारखाना पर्याप्त सङ्ख्यामा खोल्न सकेका छैनौँ । हामीले चाहेको खण्डमा कृषिबाटै विदेशिएका युवालाई रोक्न सक्छौँ । त्यतातिर सबैको ध्यान जानुपर्दछ । कृषिमा लगानी गर्न सके धेरै युवालाई नेपालमै रोक्न सकिन्छ ।

सरकारले ज्येष्ठ नागरिकका लागि समयअनुसार भत्ता बढाउनुपर्छ । राज्यले उनीहरूको सम्मान गर्नुपर्छ । उनीहरूको अनुभवको कदर गर्नुपर्छ । ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ । ज्येष्ठ नागरिकका लागि व्यवस्था गरिएको वृद्धाश्रम सुविधासम्पन्न हुनुपर्छ । किनभने यो सुविधा सबैका लागि हो ।
विकासका लागि राजनीतिक दलहरू मिल्नुको विकल्प छैन । हिजो राजतन्त्र फाल्नका लागि जसरी राजनीतिक दलहरू मिलेर सडकमा आएका थिए अब त्यसैगरी देशको विकास गर्नका लागि सबै दल एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । सधैँभरि राजनीतिक खिचातानी गर्नु हुँदैन । संविधान जारी गर्दा जस्तै विकासमा पनि दलहरूले सहमति गरेर अगाडि बढ्नुपर्छ ।

मेरो योजना भनेको देशलाई आर्थिक रूपमा बलियो बनाउन पहल गर्ने नै हो । सबैभन्दा पहिला देश आत्मनिर्भर बन्नुपर्छ । उद्योग, कलकारखाना खोल्नका लागि सरकारलाई घच्घच्याउने मेरो भूमिका हुन्छ । मैले संसद्मा पनि यही कुरा बोलिरहेको हुन्छु, सबैभन्दा पहिला देशले आफैँ आम्दानी गर्नुपर्छ । अनि मात्रै सबै समस्याको समाधान हुन्छ । अर्को, भएका ऐन कानुन कार्यान्वयनमा मेरो भूमिका हुन्छ । कानून बनेन भनेर मात्रै हुँदैन । जनताका विषयलाई संसद्मा उठाउने र सरकारको ध्यानाकर्षण गराउने पनि मेरो भूमिका हुन्छ ।

राष्ट्रियसभाका सदस्य नारायणदत्त मिश्रको परिचय

नेपाली कांग्रेसका महासमिति सदस्य नारायणदत्त मिश्र तीन वर्षदेखि राष्ट्रियसभाको सदस्य छन् । नेपाल विद्यार्थी सङ्घबाट २०२८ सालदेखि राजनीति सुरु गरेका सदस्य मिश्र मुलुक परिवर्तनको निम्ति भएका आन्दोलनका क्रममा पटकपटक जेल परेका छन् ।

(कुराकानीको सम्पादित अंश)

भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ, १२ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिनुभएको छ । भूकम्प स्मृति दिवसका अवसरमा आज उहाँले दिनुभएको सन्देशमा उक्त कुरा उल्लेख छ ।

राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले, “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मिति भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु”, भन्नुभएको छ ।

नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख गर्दै उहाँले सन्देशमा पुनर्निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरिएकामा खुसी व्यक्त गर्नुभएको छ । उहाँले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभएको छ ।

सन्देशमा राष्ट्रपतिले प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने हुँदा भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि भूकम्पीय जोखिम न्यूनीकरण, पुनर्निर्माण एवं पुनःस्थापनालगायत कार्यमा सबै नागरिक एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

म्याग्दी, १२ वैशाख: मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र रु १० करोड ७० लाखको लागतमा सिम–पानाबगर खण्डको चार किलोमिटर कालोपत्र भइसकेको छ ।

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिका गाउँपालिका–६ दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ सालमा रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर कालोपत्र भएको छ ।

दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु १४ करोडमा ठेक्का सम्झौता भएको एउटा योजना चालु रहेको र थप रु ९२ करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ ।

लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै

नेपालगञ्ज, १२ वैशाखः लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ ।

अपराह्न ४ः०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच भीडन्त हुने छ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताउनुभयो ।

एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताउनुभएको छ । प्रतियोगिताको विजेतालाई रु पाँच लाख पाँच हजार ५५५ र उपविजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्का प्रदान गरिने छ ।

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

कास्की, १२ वैशाख : पोखरा महानगरपालिका–४ र ५ जोड्नेगरी फिर्केखोलामा निर्माण गर्न गरिएको पुलको ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय पोखराले सो पुल निर्माणका लागि विसं २०७५ असोजमा ठेक्का सम्झौता गरेकामा निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरतासमेत नदेखाएपछि कार्यालयले ठेक्का सम्झौता तोडेको हो ।

पुल निर्माणको ठेक्का पाएको शान्ति–आरोग्य जेभी सानेपा ललितपुरले पटकपटक म्याद थपे पनि काम नगरेका कारण ठेक्का सम्झौता अन्त्य गर्नुपरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर नवराज बाँस्तोलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुल निर्माण सम्पन्न गर्न पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएको कार्य सम्पन्न गर्न सक्ने प्रतिबद्धता र तदारूकता नदेखाइएकाले नियमानुसार ठेक्का सम्झौता अन्त्य गरिएको हो । अब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि नयाँ ठेक्का प्रक्रिया सुरु हुन्छ ।”

यसैगरी सडक डिभिजन कार्यालयले सो पुलको निर्माण कम्पनी शान्ति–आरोग्य जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । “सार्वजनिक खरिद ऐन, २०६३ दफा ५९ (८) र ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्यसम्पादन, पेश्की जमानत र धरौटीबापतको रकम जफत गरिने छ । साथै कार्यालय पोखरा, प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय र निर्माण व्यवसायी वा निजको आधिकारिक प्रतिनिधिको रोहबरमा आठदेखि १५ दिनभित्र हालसम्म अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच गरी मूल्याङ्कन गर्नेछौँ”, कार्यालय प्रमुख बास्तोलाले भन्नुभयो ।

पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको छ लेनको सडकको बीचमा फिर्केखोलामाथि साँघुरो पुलका कारण दुर्घटना बढेपछि नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको हो । अहिले भइरहेको साँघुरो पुलको दायाँ–बायाँ ११ मिटर चौडाइ र ५०–५० मिटर लम्बाइका दुईवटा निर्माणका लागि रु १७ करोड १० लाखमा सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको थियो ।

सो पुल सम्झौताको ३० महिना अर्थात् विसं २०७७ चैत ३० भित्रमा निर्माण सकिनुपर्ने सम्झौता रहे पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आलटाल गर्दै आएको थियो । पुल निर्माण सम्पन्न गर्न तीनपटकसम्म म्याद थप गरिएको थियो । सडकअनुसार फिर्केखोला पुल साँघुरो हुँदा धेरै दुर्घटना भइरहेका छन् । स्थानीयवासीले पनि पुलः निर्माण तोकिएको समयभित्रमा सम्पन्न गर्न जिल्ला प्रशासनलगायत कार्यालयमा दबाब दिँदै आएका थिए ।

भूकम्पको दशक :भूकम्पले के सिकायो ? के सिकेनौँ ?

काठमाडौँ, १२ वैशाख : विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।

भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन् । जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए । दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू ।

अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् । विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन एकाइ (भवन तथा आवास) तथा त्यसअन्तर्गतका निकायबाट सम्पादन भएका आयोजनाको विवरण सार्वजनिक गरेको छ । एकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये सात लाख ७० हजार ७७५ (९२.४%)ले दोस्रो किस्ता र सात लाख ४३ हजार २४९ (८९.१%)ले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रकाश अर्यालले सरकारले उपलब्ध गराएको रु तीन लाख अनुदानले निजी आवास निर्माणको काम सम्पन्न नहुने र थप लगानीका लागि क्षमता नहुने सर्वसाधारणले ढिलो निर्माणकार्य थालनी गरेको जानकारी दिनुभयो । “थप लगानी जुटाउन सक्ने सर्र्वसाधरणले त छिट्टै घर निर्माणको काम सम्पन्न गरेका छन् । तर कतिपयले लगानीको अभावले समयमा घर निर्माण गर्न नसक्दा लामो समयसम्म निजी आवास निर्माणको काम सम्पन्न हुन सकेन”, उहाँले भन्नुभयो, “भूकम्प गएको छ वर्षसम्म पनि लाभग्राही छनोटमा गुनासो बढिरहँदा ती गुनासो सम्बोधनका लागि पनि थप समय लागेको हो ।”

अर्यालले लगानी व्यवस्थापन, पुरातात्विक सम्पदा निर्माणको क्रममा स्थानीय बासिन्दासँगको विवाद, अनुुदान ल्याउन प्रक्रिया लम्बिँदालगायत कारण पुनर्निर्माणको प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै आगामी एक वर्षमा ९९ प्रतिशत काम सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार विभिन्न जिल्लामा भूकम्पपश्चात आंशिक क्षति भई मर्मत गरिएका सरकारी भवन सङ्ख्या दुई सय ५३ रहेका छन् । विभिन्न जिल्लामा भूकम्पपश्चात सरकारी कार्यालय सञ्चालन गर्नका लागि निर्माण भएका नमूना सङ्ख्या दुई सय ८८ रहेका छन् ।

“विभिन्न १० जिल्लामा भूकम्पपश्चात अस्थायी रूपले बसोबास गर्नका लागि बनाइएको सामुदायिक भवनको सङ्ख्या सात सय ५६ परिवारका लागि निर्माण गरिएकामा ५० वटा (हात विभिन्न उद्देश्यका लागि प्रयोग भइरहेको) छ”, अर्यालले भन्नुभयो, “विभिन्न जिल्लामा सरकार तथा एसियाली विकास बैंकको सहयोगमा सम्पन्न सरकारी भवनको सङ्ख्या एक सय ५१ रहेका छन् । भवन प्रवलीकरणतर्फ कुल ११ वटा राणाकालीन भवनमा आठवटा सम्पन्न, तीनवटाको प्रवलीकरण कार्य भइरहेको छ । भारतीय सरकारको सहयोगमा संरक्षण तथा पुनर्निर्माण भइरहेका पुरातात्विक सम्पदा आयोजना सङ्ख्या २८ रहेका छन् । कार्यान्वयन नभएका आयोजना सङ्ख्या दुईवटा छन् । सम्पन्न भएका आयोजना सङ्ख्या १३ वटा रहेका छन् ।”

यसैगरी निर्माणाधीन आयोजना सङ्ख्या १२ वटा रहेको एकाइले जनाएको छ । एकीकृत बस्ती विकासतर्फ विभिन्न जिल्लामा ९७ वटा बस्ती विकासका कार्य सम्पन्न भइसकेको र नौवटा कार्यकम कार्यान्वयनको क्रममा छ । यसैगरी भूकम्पपश्चात निर्माण भएका एक हजार १२६ वटा स्वास्थ्य भवनमध्ये एकाइमा राष्ट्रिय पुनर्निर्माण प्रधिकरणमार्फत हस्तान्तरण भएका पाँच सय ४४ भवनमध्ये तीन सय ३६ वटा स्वस्थ्य भवन निर्माण सम्पन्न भएका र अरू निर्माणाधीन रहेको एकाइको भनाइ छ । एकाइका अनुसार धरहरा पुनर्निर्माणको काम पनि अझै १४ प्रतिशत बाँकी नै छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव, नीतिगत अस्पष्टता, आवश्यक कच्चा पदार्थको अभावले समयमा नै निर्माणको काम सम्पन्नमा चुनौती रहेको बताउनुभयो । “विश्व सम्पदा क्षेत्रभित्रका एक सय ७० र बाहिरका सात सय ५०, गुम्बा दुई सय १५, अन्य भूकम्पबाट क्षति भएको तर सूचीकृत नभएका तीन सय ६५ गरी एक हजार ५०० वटा संरचना क्षति भएको थियो । जसमध्ये गुम्बासहित आठ सय १५ वटाको काम सम्पन्न भएको छभने एक सय ५४ को काम निररन्तर अघि बढिरहेको तथा पाँच सय ३१ संरचनाको काम बाँकी छ । हालसम्मको खर्च करिब रु सात अर्ब २० करोड भएको छ”, उहाँले भन्नुभयो, “सम्पदा पुनर्निर्माणका क्रममा परम्परागत समानको अभावले गर्दा निर्माणको काम पनि पछि धकलिएको हो ।”

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माणकार्य सम्पन्न गरी भूकम्पबाट विस्थापित भएका व्यक्ति र परिवारको पुनर्वास तथा स्थानान्तरणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको सुझाव दिएको छ । प्रतिवेदनअनुसार पुरातात्विक सम्पदा र एकीकृत बस्ती विकास तथा सुधारलगायत क्षेत्रमा चालु कार्य सम्पन्न भएका छैनन् । बाँकी कार्य सम्पन्न गर्न पहल गर्नुपर्नेमा प्रतिवेदनको जोड छ । पुनर्निर्माण प्राधिकरणले २०७६ पुस २८ मा विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्लाभ कार्य ढाँचा तयार गरी पुनर्निर्माण कार्यको संशोधित लागत अनुमान रु चार खर्ब ८९१३ करोड ५३ लाख कायम गरेको थियो ।

प्राधिकरण स्थापना हुँदा पाँच वर्षमा पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकामा प्राधिकरण खारेज भई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)लाई कार्यकम हस्तान्तरण गरिएको हो । बाँकी रहेका लाभग्राहीको अनुगमन गरी प्रवलीकरणको कार्यलाई पूर्णता दिनुपर्ने प्रतिवेदनको सुझाव छ । अनुदान वितरण भूकम्प प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७३ को अनुसूची–१ मा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण एवं प्रवलीकरण अनुदानका लागि छनोट मापदण्डको व्यवस्था गरेको थियो ।

पहिलो र दोस्रो किस्ता लिई कार्यसम्पन्न नगर्ने लाभग्राहीको सन्दर्भमा अनुगमन गरी अनुदान रकमको सदुपयोग भएको सुनिश्चित हुनुपर्नेमा पनि महालेखाको सुझाव रहेको छ । निर्माण सम्पन्न निजी आवास प्रयोजनमा नगई अन्य प्रयोगमा आएकाले सदुपयोगको सुनिश्चितता गर्नुपर्नेमा पनि महालेखाको सुझाव छ ।

पूर्र्वाधारविद् कमलराज पाण्डेले दीर्घकालीन योजनाको अभावले समयमा नै पुनर्निर्माणको काम सम्पन्न हुन नसकेको बताउनुभयो । “पूर्वतयारी कमजोर हुँदा समयमा विपद् व्यवस्थापन गर्न सकिँदैन । पुनर्निर्माणको काममा ढिलाइ हुनुको मुख्य कारण यही हो । अनि प्राथमिकरण राम्रो हुन सकेन”, उहाँले भन्नुभयो ।

विसं २०७२ मा गएको विनाशकारी भूकम्पपछि समेत सरकारले पुनर्निर्माणका लागि पैसा जम्मा गर्न भन्दै दाता सम्मेलन गरेको थियो । जुन सम्मेलनमा रु चार खर्बभन्दा बढी रकम सहयोग गर्ने घोषणा भएको थियो । तर घोषणाअनुरूप अनुदान भने आउन सकेन । गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

भूकम्पले के सिकायो ? के सिकेनौँ ?

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिका के हुने ? लगायत विषयमा २०७२ सालको भूकम्पले पाठ सिकाएको बताउनुभयो । “नेपालमा जुनसुकै बेलामा पनि भूकम्प जाने जोखिम छ । काठमाडौँदेखि दक्षिणतिरको चुरे क्षेत्रसम्म भूकम्कपीय जोखिम बढी छ । भूकम्प जाँदा अब कसरी सुरक्षित हुने, कसरी आफ्ना संंरचना भूकम्प प्रतिरोधी बनाउनेलगायत विषयमा हामीले पाठ सिकेका पनि छौँ”, उहाँले भन्नुभयो, “२०७२ सालको विनाशकारी भूकम्पपछि कतिले त उपत्ययकामा अग्ला घर भत्काएर होचा पनि बनाएका थिए । संरचना बलियो हुनुपर्ने चेतना आएको थियो । त्यसपछि भवन आचारसंहिता अधिकांश स्थानीय तहले लागू गरेका छन् । खुला स्थान चाहिन्छ र पूर्वतयारी आवश्यक रहेको पाठ सिकायो ।”

अझै पूर्वतयारीका गतिविधि अगाडि बढाउन सकेमा भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम न्यूनीकरण हुन सक्ने अधिकारीको भनाइ छ । “हामीले भनिरहेका छाँै, अझै पनि भूकम्पीय जोखिम छ । विसं २०७२ को भूकम्पले कति कुरा सिकायो । कति कुरा हामीले सिक्नै बाँकी रह्यो”, उहाँ भन्नुहुन्छ, “पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने, भूकम्पीय शिक्षा र जनचेतना अभिवृद्धि गर्नुपर्ने, खुला स्थानको व्यवस्था गर्नुपर्ने, बलियो संरचना निर्माण गर्नुपर्र्नेलगायत कतिपय कुरा सिक्नै बाँकी छ ।”

अधिकारीले २०७२ सालपछि भूकम्पसम्बन्धी अध्यायन अनुसन्धानलाई प्रथामिकता दिनु सकरात्मक रहेको टिप्पणी गर्नुभयो । आर्किटेक इन्जिनियर अमितप्रसाद तिमल्सेनाले पनि भूकम्पपछि संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्ने चेतना बढाएको बताउनुभयो । “भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यन्वयन गराउनुपर्छ । संहिताको कार्यन्वयन भए/नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “भूकम्पप्रतिरोधी संरचना निर्माणसम्बन्धी व्यापक प्रचारप्रसार भने अझै जरूरी छ ।”

ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्कीले २०७२ सालको भूकम्पको मनोवैज्ञानिक त्रास अझै बाँकी रहेको र सानासाना भूकम्पको पराकम्पनमा पनि मानिस अत्तालिने समस्या अझै बाँकी रहेको बताउनुभयो । “प्राकृतिक विपद्मा कोही आफन्त, कोहीले बासस्थान गुमाएका हुन्छन् । कति घाइते हुन्छन् । कतिलाई फेरि भूकम्प आएर केही घटना हुन्छ कि डर हुन्छ । यसले मनोवैज्ञानिक स्वास्थ्यमा असर बढाएको हुन्छ,” उहाँ भन्नुहुन्छ, “मनोवैज्ञानिक रूपमा कसरी मानसिक स्वास्थ्यको विषयमा पनि विपद्मा मनोवैज्ञानिक परामर्शको समेत जरूरी भएकाले पूर्वतयारी जरूरी छ ।”

ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश: ‘अब शान्ति सम्झौता गरौं’

कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ। आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ र ९० भन्दा बढी घाइते भएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभयो, “म कीभमाथिको रुसी आक्रमणबाट खुशी छैन। यो अनावश्यक र गलत समय हो। भ्लादिमिर, रोक! शान्ति सम्झौता गरौं।” उहाँका विशेष दूत स्टिभ विटकोफ चाँडै रूस भ्रमणमा जाने र पुटिनसँग वार्ता गर्ने तयारीमा छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई रूसमाथि थप दबाब दिन आग्रह गर्दै आक्रमणलाई ‘सबैभन्दा घातक र दुस्साहसी’ भनेका छन्।

कीभमा रातभरि ७० भन्दा बढी मिसाइल र १४५ ड्रोन प्रहार गरिएका थिए। रूसी पक्षले भने ती आक्रमण युक्रेनको रक्षा उद्योगका लक्ष्यहरूमा केन्द्रित भएको दाबी गरेको छ।यस आक्रमणले ट्रम्पको युद्ध रोक्ने प्रयासमा थप चुनौती थपिएको देखिन्छ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, १२ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु २००, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ६०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ५०, ब्रकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

काठमाडौँ, १२ वैशाख : काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का

आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

काठमाडौँ, १२ वैशाखः आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।

सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ । यसलाई अन्तरराष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ ।

उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसङ्घ स्थापनाको बिजारोपण भएको हो । दुई महिनासम्म सञ्चालन भएको उक्त सम्मेलनमा ५० देशका ८५० प्रतिनिधि सहभागी थिए ।

संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरूकता बढाउन सन् २०१९ मा राष्ट्रसङ्घीय महासभाले २५ अप्रिललाई अन्तरराष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो ।

समुद्रमा पाइने ८० प्रजातिका माछा अब एउटै टनेलमा हेर्न पाइने

काठमाडौँ। समुद्रमा पाइने ६० देखि ८० प्रजातिका माछा अब एउटै टनेलमा हेर्न पाइने भएको छ । ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ मा जाने जो कोहीको आर्कषणको केन्द्र बन्न पुगेको छ ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ ।

बच्चादेखि युवा युवतीसम्मलाई लक्षित गर्दै संचालनमा ल्याइएको ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ मा विभिन्न उमेर समूहका व्यक्तिलाई लक्षित गर्दै खेल, मनोरञ्जन तथा विभिन्न स्वादका परिकार एकै ठाउँमा राखिने व्यवस्था गरिएको छ। एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ। समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो फिल आउने गरी फिस टनेल स्थापना गरिएको छ। सो टनेल नेपालमा पहिलो पटक ल्याइएको एक्स्पो व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिए।

त्यस्तै, सुनामी राइड पनि नेपालमा पहिलो पटक परीक्षण गरिएको छ। सामुन्द्रिक सुनामीकै अनुभूति हुने गरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ। यसअघि बुटवल र नेपालगन्जमा सुनामी राइड गर्नेहरूको भीड थाम्न हम्मे परेको अर्का व्यवस्थापक दीपक दाहालले बताए। ‘काठमाडौँ उपत्यकामा पहिलो पटक सञ्चालनमा ल्याइएको छ ।

आशा छ, मन पराइन्छ।’ उनले भने। एक्स्योमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिने छ। एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने छ । कला संस्कृति संरक्षण नेपाल मुख्य आयोजक रहेको ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’लाई संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा।ली।ले आयोजना गरेको हो। राजधानी अम्यूजमेन्ट राइड्स नेपालले व्यवस्थापन गरेको एक्स्पो सञ्चालनमा जाउलाखेल युवा क्लबले सहयोग गरेको छ। चिडियाखानासँगै रहेकाले यहाँ दुवैतर्फको मनरञ्जन लिन सकिनेछ।

आज १० औँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौँ, १२ वैशाख : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो ।

रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।

आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गराँै, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

सङ्घीय संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?

काठमाडौँ, १२ वैशाखः सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनुहुने छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नुहुने छ । व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने छ । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले राससलाई बताए । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ । यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ । अधिवेशन सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभएको छ ।

हास्यकलाकार जितु नेपाल बने ‘नमस्ते प्लम्बिङ’ ब्रान्ड एम्बसडर

काठमाडौं । लोकप्रिय हास्यकलाकार जितु नेपाल ‘नमस्ते प्लम्बिङ’ को ब्रान्ड एम्बसडर नियुक्त भएका छन् । अमेरिकाको कोलोराडो राज्यमा स्थापना भएको नमस्ते प्लम्बिङ कम्पनीले नेपाललाई ब्रान्ड एम्बसडर नियुक्त गरेको हो ।

नमस्ते प्लम्बिङका सिइओ दीपक सुनुवारले हालै एक कार्यक्रममा कलाकार नेपाललाई ब्रान्ड एम्बसडर नियुक्त गरेका हुन् । आफूलाई ब्रान्ड एम्बसडर नियुक्त गरेकोमा कलाकार निर्मातासमेत रहेका नेपालले कम्पनीका सिइओ सुनुवार र सिओओ प्रकाश सिलवालप्रति आभार व्यक्त गरेका छन् ।

अमेरिकाको कोलोराडो राज्यमा स्थापना भएको नमस्ते प्लम्बिङले अब नेपालमा पनि उच्च प्रविधि र दक्ष जनशक्तिसहित प्लम्बिङ र इलेक्ट्रिकल सेवा सुरु गरेको छ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १२ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा रहेको छ । 

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ

काठमाडौँ, १२ वैशाख : पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो ।

संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवाहरू तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकासविरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताउनुभयो ।

सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उहाँले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ छ ।

सबै पहिचानवादी समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरेपछि मात्र वार्ता र संवादबाट समाधान निस्किने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । आन्दोलनमा अलगअलग समूह रहेकाले सार्थक वार्ता हुन नसक्दा समस्या बल्झिएकाले जनस्तरमा रहेको वास्तविक समस्या बुझेर समस्याको समाधान निकाल्न सकिने अध्यक्ष चोङवाङको भनाइ छ ।

केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने भन्दै पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घसंस्थासँग वार्ता र संवाद हुनुपर्ने अध्यक्ष चोङवाङको भनाइ थियो । आफूहरू खुला ढङ्गले संवाद गर्न र त्यसको पहल लिन तयार रहेको बताउँदै उहाँले निकासका लागि सबै पक्षको ध्यानाकर्षण गराउनुपरेको बताउनुभयो ।

सरकारले सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नुपर्ने र त्यसले मात्र समाधान दिन सक्ने ठहर पहिचानवादी युवाहरूको छ । लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बूको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको संवर्द्धनका ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वका अधिकांश राजनीतिक आन्दोलन वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, “केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ”, भन्नुभयो ।

पहिचान र विकासलाई सँगसँगै लैजानुपर्छ भन्ने पक्षमा आफ्नो धारणा राख्दै अबको विकास मोडिलाटी सम्बन्धमा थप छलफल र बहस गर्नुपर्ने जोडदार माग पनि गरे । पहिचानका लागि युवाका केन्द्रीय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनुपर्नेमा जोड दिनुयो ।

पहिचानवादी युवाहरूका संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माणलाई अघि बढाउन सबै पक्षसँग अपिल गरिरहेको पनि बताए । राज्यले सबैलाई वार्तामा बोलाउने र केबलकार निर्माण कम्पनीले पनि आफ्नो धारणा जनस्तरमा लैजाँदा समस्या समाधान हुने विश्वास पनि संयोजक आङदम्बेले राख्नुभयो ।

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको परीक्षण

भक्तपुर, १२ वैशाख : स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न चाँगुनारायण नगर अस्पताललाई भौतिक पूर्वाधारदेखि उच्च प्रविधिमैत्री बनाउँदै आएको चाँगुनारायण नगरपालिकाले थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको कमीको परीक्षण सुरु गरेको छ ।

सहरदेखि गाउँघरका बासिन्दामा पछिल्लो समय थाइराइडको रोग बढ्दै गएको, शरीर कमी भएको भिटामिनका बारेमा जानकारी नपाउँदा रोग पाल्दै बस्नुपर्ने र थाइराइडको परीक्षण एवं औषधि लिन भक्तपुरदेखि काठमाडौँका अस्पतालसम्म नै धाउनुपर्ने समस्या नगरपालिकाले अन्त्य गरेको छ ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रमअन्तर्गत रु १० लाख बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन हस्तान्तरणपछि चाँगनारायण नगर अस्पतालले यो सेवा विस्तार गरेको हो । कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीलाई एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन बुधबार हस्तान्तरण गरेसँगै चाँगुनारायण अस्पतालले आफ्नो नगर अस्पतालमा यो सेवा विस्तार गरेको हो ।

कागेश्वरीका नगरप्रमुख कार्कीले चाँगुनारायण नगरवासीलाई गुणस्तरीय सेवा विस्तार गर्न आफ्नो नगरपालिकाले पनि प्रविधि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गर्दै यसले स्थानीय सरकारबीचको अन्तरनगर सम्बन्धलाई घनिष्ट र मजबुद् बनाउने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले नगर अस्पतालाई थप प्रविधिमैत्री बनाउन कागेश्वरी मनोहराको मेसिन सहयोगले तत्कालै सेवा विस्तार गर्न सहज भएको बताउँदै अब नगरवासीले यस्ता सेवा लिन टाढा धाउनु नपर्ने बताउनुभयो ।

दुई स्थानीय सरकारकाबीचको मजबुद सम्बन्धले एकापसमा सहयोगको भावना बढाएको बताउँदै चाँगुनारायणवासीलाई नगरपालिकाले निःशुल्क अक्सिजन वितरण गर्दै आएको, प्रसूतिदेखि अधिकांश सेवा आफ्नै अस्पतालमा विस्तार गरेको र अस्पताल आउन नसक्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको बताउनुभयो ।

उहाँले उपचार नपाएर चाँगुनारायणवासीले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताउँदै चाँगुनारायण अस्पताललाई सुविधासम्पन्न र प्रविधिमैत्री बनाउँदै लगेको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ), १२ वैशाख : लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताउनुभयो ।

फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताउनुभयो । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।

दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।

ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ११ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताउनुभएको छ ।

  काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग आज ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा ग्रीन हाइड्रोजनको महत्वपूर्ण भूमिका भएकाले यसलाई कार्यविधि बनाएर अगाडि बढाउने बताउनुभयो । “ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो, यसलाई व्यवस्थित ढङ्गले अघि बढाउन कार्यविधि निर्माणका लागि सरकारले आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको बताउनुभयो । उहाँले वातावरणमैत्री प्रविधिको प्रयोगले इँटाभट्टा र केमिकलजन्य उद्योगबाट हुने प्रदूषण कम गर्न सकिनेमा जोड दिनुभयो ।

सिँचाइ सचिव सरिता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी तथा संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले अन्तरमन्त्रालय समन्वयमा सरकार आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पार्नुभयो ।

कार्यदलका संयोजक एवं मन्त्रालयका सहसचिव जीवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको बताउनुभयो ।

  काठमाडौँ विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रा डा विराजसिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तरराष्ट्रिय तुलनामा सस्तो पर्ने भएकाले यसलाई शीघ्र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार भारत, जापान, कोरिया र युएईजस्ता देशले यस प्रविधिलाई व्यवहारमा ल्याइसकेका छन् ।

छलफलमा मन्त्रालयका सहसचिवद्वय सुशीलचन्द्र आचार्य र सुरेन्द्र घिमिरे, अर्थविज्ञ अमित श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका डा राम लामा, डा लक्ष्मण लामालगायतको उपस्थिति रहेको थियो । 

आवासीय चिकित्सक भन्छन्ः श्रमको मूल्य नपाउँदा काम गर्ने मनोबल नै घटेको छ

काठमाडौँ, ११ वैशाखः जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्मालाई नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह त्याग्नुभयो । तर त्यो निर्णय उचित थिएन कि भन्ने लागेको छ । बिरामीको सेवा लाग्नुपर्ने उहाँ अहिले तीन हप्तादेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिएर बसिराख्नुभएको छ ।

उहाँसँगै सोही कलेजमा आवासीय चिकित्सकको रुपमा कार्यरत डा निशा थापा पनि उहाँसँग हुनुहुन्छ । टण्टलापुर घाममा उहाँहरुजस्तै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ताको माग गर्दै २२ दिनदेखि आन्दोलनरत छन् ।

चिकित्सक शर्मा भन्नुहुन्छ, “आफूलाई चिकित्सक भनेर के गर्नु ? अहिलेसम्म मासिक रुपमा बुवाआमासित पैसा माग्नु परिरहेको छ । आमबुझाइमा चिकित्सकले धेरै पैसा कमाउँछ भनेर सोचिन्छ । तर पैसा हामीले होइन अस्पताल सञ्चालकले कमाउँछन् । न्यूनतम पारिश्रमिक दिइएको छैन ।” हाल उहाँ कार्यरत अस्पतालले आवसीय चिकित्सकलाई मासिक रु १९ हजार दिइरहेको छ ।

“सोही तहमा सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको रु ४८ हजार पाइरहनुभएको छ, हामीले रु १९ हजारले के गर्ने ? कोठा भाडा तिर्न र कलेजको खर्चमै जान्छ । त्यति पनि पुग्दैन । डेन्टल विधामा हामीले आफ्नो अभ्यासकालागि सामान समेत आफै किन्नुपर्छ । जसका लागि महिनाकै २२ देखि २५ हजार जान्छ । हामी कसरी बाँचिरहेका छौँ । अबको दुई तीन वर्षमा चिकित्सकहरु नै बस्दैनन् होला”, उहाँले प्रश्न गर्नुभयो । डा थापा देशको अवस्थाले गर्दा काम गर्न मनोबल नै घटेको प्रतिक्रिया दिनुभयो ।

लुम्बिनी मेडिकल कलेज, पाल्पामा कार्यरत आवासीय अर्थोपेडिक चिकित्सक डा कुन्दन सिंहको समस्या पनि त्यस्तै छ । हप्तामा १३६ घण्टा काम र तलब जम्मा रु १९ हजार आठ सय निकै कम भएको उहाँको भनाइ छ ।

डा सिंह भन्नुहुन्छ, “हामीले रहरले सडकमा आएका होइनौँ । सरकारीमा त्यही तहका चिकित्सक त्यही ड्युटी तर हामीलाई सेवा सुविधामा भने त्यति कम ? निर्णय कार्यान्वयन हुन्छ भनेर बोलीमा आश्वसान पटक पटक पाएका छौँ ।”

कतिपय आवासीय चिकित्सक भने आफूहरुलाई आन्दोलनमा गएकै कारण डर धम्की प्राप्त गरेको सुनाउनुभयो । “जति डर धम्की आए पनि हाम्रो खातामा पैसा नआइकन हामी काममा फर्किदैनौँ । आन्दोलन जारी रहन्छ”, एक चिकित्सकले भन्नुभयो ।

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णयले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निर्देशन दिएको थियो तर निजी मेडिकल कलेजहरुले निर्णय कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन् ।

चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी) अध्ययन गर्ने आवसीय चिकित्सकलाई मासिक रु ४८ हजार निर्वाह भत्ता दिने आयोगले निर्णय गरेको थियो । आयोगको १६औँ बैठकले गरेको उक्त निर्णय दुई महिना बितिसक्दा पनि निजी मेडिकल कलेजले त्यो निर्णय मान्न अटेरी गरिरहेका छन् ।

हाल देशभरका करिब दुई हजार ५०० आवासीय चिकित्सकहरु आन्दोलित छन् । उनीहरुले सेतो एप्रोनमा दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । आजबाट नेपाल चिकित्सक सङ्घले पनि आवासीय चिकित्सकहरुको आन्दोलनमा सहकार्य गर्ने निर्णय गरेको छ ।

उनीहरुले सम्पूर्ण निजी मेडिकल कलेजका एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकहरुको मासिक पारिश्रमिक (सरकारी आठौं तह सरह) हुनुपर्ने माग गरिरहेका छन् । प्रतिबद्धताअनुसार छुटै नियामक अङ्कको व्यवस्थासहित कार्य समय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने व्यवस्था, विश्वविद्यालय र मेडिकल कलेज प्रशासन आचरण र व्यवहार, अध्यापक जनशक्तिहरुको आचरण र व्यवहारलगायत विषय समेटी स्नातकोत्तर कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गर्ने मस्यौदा समिति समेत बनाउनुपर्ने उहाँहरुको माग छ ।

उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै जाने समेत निर्णय गरेका छन् । आन्दोलनरत सम्पूर्ण आवासीय चिकित्सकको पारिश्रमिक उपलब्ध नहुन्जेलसम्म र स्नातकोत्तर कार्यक्रम कार्यविधि नबनुन्जेलसम्म गरिएका कुनै पनि निर्णय र कार्यदल स्वीकार्य नहुने सङ्घर्ष समितिको भनाइ छ ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’ का संयोजक शेषराज घिमिरेले नियमसङ्गत भएको निर्णय नै कार्यान्वयन गर्न आन्दोलनमा उत्रिनु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आवासीय चिकित्सकले गर्ने श्रमको मूल्य दिनुस् भन्ने नै हाम्रो माग हो । कानुन विपरीतका कुरा मागेको होइन । श्रमको न्यूनतम मूल्य मागेका हौँ । राज्यले गम्भीरतापूर्वक लिएर कार्यान्वनयनमा जोड दिनुपर्छ ।”

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले आवासीय चिकित्सकहरुको मुद्दामा सुरुदेखि नै काम गरेको बताउनुहुन्छ । “राज्यले आफ्नो निर्णय कार्यान्वयन गराउनुपर्छ । पुरस्कृत गर्नेलाई पुरस्कार र दण्ड पाउनेलाई दण्डित गर्नुपर्छ । राज्यले आफ्नो निर्णयको अपनत्व लिनुपर्छ । आवासीय चिकित्सकको मात्र मुद्दा बुझिएको छ तर अस्पतालभित्रका स्वास्थ्यकर्मीका श्रम शोषणका त कुरै निस्केको छैन”, उहाँ भन्नुहुन्छ ।

डा कार्कीका अनुसार सरकारी सरह निर्वाह भत्ता खातामा नराखेसम्म आन्दोलन गरिराख्ने र आकस्मिक र सघन उपचार कक्षबाहेक अन्य उपचार सेवामा सहभागी नहुने निर्णय भइसकेको छ ।

हप्ताको १४० घण्टा बढी काममा घोटिनुपर्ने त्यसमाथि तलब रु १७ देखि रु १९ हजार मात्र हुनु चर्को श्रम शोषणको नमूना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा मङ्गल रावलले बताउनुभयो । डा रावलले श्रमको उचित सम्मान नपाएकै कारण भारी मात्रामा स्वास्थ्यकर्मीहरु विदेश पलायन हुनुपरिरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “आवासीय चिकित्सकलाई ७२ घण्टाभन्दा बढी काममा लगाइनहुँदैन भन्ने निर्देशन दिइनुपर्छ । देशमा सुरक्षित भविष्य नदेखेकै कारण स्वास्थ्यकर्मी पलायन भइरहेका छन् । यस्तो अवस्थामा कुन मनोबलले काम गरिरेहका होलान् चिकित्सकहरु ? चिकित्सा शिक्षा आयोगले गरेको निर्णय अक्षरसः कार्यान्वयन हुनुपर्छ ।” उहाँले नेपालको चिकित्सा शिक्षाको गुणस्तर हुने गरी र नेपालमा कार्यरत चिकित्सक मनोबल उच्च हुने गरी निर्णय सरकारले गर्नुपर्ने माग गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच भएको वार्तामा निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नभएसम्म सम्बन्धित कलेजले मन्त्रालयबाट कुनै सहयोग नपाउने बताउनुभएको छ । निर्णय कार्यान्वयन गराउनमा मन्त्रालयको साथ रहेको उहाँको भनाइ छ ।

कर्णालीमा मन्त्रालय पुनर्संरचना गर्न उच्चस्तरीय अध्ययन समिति

सुर्खेत । कर्णालीमा मन्त्रालय पुनर्संरचना गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रि परिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा कर्णालीका पूर्वमुख्य सचिव डा।गोपीकृष्ण खनाल र डा।सुरेश तिवारी सदस्य रहेको उच्च स्तरीय अध्ययन समिति बनाएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोद शाहले जानकारी दिए ।

समितिलाई प्रदेश सरकारको संगठन संरचनाकै अध्ययन, अनुसन्धानको जिम्मेवारी दिइएको छ । समितिले असार १५ गतेभित्र सरकारलाई अध्ययन प्रतिवेदन बुझाउनु पर्ने कार्यदेश रहेको बताइएको छ ।

समितिलाई प्रदेश सरकारको आर्थिक अवस्था र खर्च वहन गर्ने क्षमताको विश्लेषण गर्दै कर्णाली सरकारका विद्यमान मन्त्रालय, आयोग, समिति, बोर्ड, कार्यालय र निकायहरूको आवश्यकता, औचित्य, हालको कार्यक्षेत्र, कार्य बोझ, कार्य प्रकृति एवं संगठन संरचनामा हेरफेर गर्न सिफारिस गर्नेसहित विभिन्न पाँचवटा कार्यक्षेत्र दिइएको छ ।

प्रदेश सरकारको विद्यमान कार्य बोझ, कार्य प्रकृति, दरबन्दी संरचनाहरुको विश्लेषण गरी हालको संरचना वा दरबन्दी थप्ने, घटाउने, गाभ्ने वा जिम्मेवारी फेरबदल गर्ने सम्बन्धमा सिफारिस गर्ने, संघीय तथा प्रदेश सरकारका निकायहरूको उपस्थितिको अवस्था समेतको विश्लेषण गरी कर्णाली प्रदेश सरकार मातहतका जिल्ला एवम् स्थानीयस्तरमा रहेका कार्यालयहरूको आवश्यकता एवं औचित्य समेतको विश्लेषण गरी फेरबदल गर्न सिफारिस गर्ने अधिकार पनि उक्त समितिलाई दिइएको छ ।

प्रदेश निजामती सेवामा रहनुपर्ने सेवा समूह पद र हालको दरबन्दी संरचना अध्ययन गरी हेरफेर गर्ने र आयोगले आफ्नो सिफारिससहितको प्रतिवेदन तयार गर्ने क्रममा सरोकारवाला पक्षहरूलाई बोलाई छलफल गर्ने, लिखित वा मौखिक सुझाव लिन सक्ने कार्य क्षेत्र समितिलाई दिइएको छ ।

हाल कर्णालीमा आठवटा मन्त्रालयको संगठन संरचना छ । सामाजिक विकास मन्त्रालयको मात्रै विभिन्न ३५ भन्दा बढी कार्यालयहरू छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पनि विभिन्न अमिल्दा विषयहरू छन् । प्रदेश सरकारका मन्त्रालयसहित १४० भन्दा बढी युनिट छन् ।

पत्रकारमाथि दुव्र्यवहार गर्ने दीपेश यादव पक्राउ

लुम्बिनी (मर्चवार), ११ वैशाखः पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार स¬ङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ ।

सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार यादवमाथि अभद्र व्यवहार मुद्दामा खोजतलासको क्रममा नेपाल‐भारत सिमाक्षेत्रबाट पक्राउ गरिएको बताउनुभयो ।

पत्रकार विश्वकर्माल यादव नेतृत्वको ७÷८ जनाको समूहले समाचार सङ्कलनको क्रममा आफूलाई अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिनुभएको थियो । यादवलाई कानुनी कारबाही र पत्रकार विश्वकर्मालाई न्यायका लागि लुम्बिनी प्रेस क्लबले यही वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।

अवधिमा यादव पक्राउ नपरेपछि प्रेस क्लबले तीन दिने आन्दोलन कार्यक्रमको घोषणा गर्दै पहिलो दिन कार्यक्रमअन्तर्गत आज ११ गते बिहान सवा १० बजेदेीख एक घण्टासम्म जिल्ला प्रशासन कार्यालय रूपन्देही अगाडि धर्ना दिएको थियो ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरिबहादुर थापा, तीर्थ कोइराला, उज्ज्वल शर्मा, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत पेशागत सङ्घ सङ्गठनले ऐक्यबद्धता जनाउनुभएको थियो ।

क्रियाशील सदस्यबाट सभापति निर्वाचित गर्ने प्रक्रियामा कांग्रेसलाई लैजानुपर्छ: महामन्त्री थापा

काठमाडौँ, ११ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आज यहाँ आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताउनुभयो । पार्टीका नेतामा गुटप्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ थियो । गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उहाँले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताउनुभयो । मुलुकको शीर्ष नेतृत्व वैधानिक भए पनि वैध नभएकाले नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्नुहुँदै वैध नेतृत्व ल्याउन सबैको सहयोग हुनुपर्ने उहाँको विचार थियो ।

शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड थियो । कांग्रेसको नेतृत्मा मुलुकमा राजनीतिक परिवर्तन भई संविधान जारी भएको उल्लेख गर्नुहुँदै उहाँले देखिएका समस्या समाधानमा समाजले कांग्रेसकै भूमिका खोजिरहेको बताउनुभयो ।

कांग्रेस सहममहामन्त्री जीवन परियारले पार्टीभित्र नीति, सिद्धान्तका बारेमा बहस चलाउनुपर्नेमा जोड दिनुभयो । लामो बहस र छलफलबाट बन्ने नीति, नियम एवं कानुन नै व्यावहारिक हुने भएकाले यसमा सबैको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले मधेसमा कांग्रेस किन कमजोर भयो भन्ने कुराको खोजी गरिनुपर्ने बताउनुभयो । वर्तमान सरकार सुशासन र संविधान संशोधनकै लागि गठन भएकाले यसमा ठोस काम हुने बताउनुभयो । सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायले नागरिकका विचारसँग कांग्रेसका विचार मेल खायो कि खाएन भनी विश्लेषण गर्ने समय आएको बताउनुभयो । लोकतन्त्र दिवसका अवसरमा पार्टीले यसको सही मूल्याङ्कन गरिनुपर्नेमा उहाँको जोड थियो ।

राजनीतिक विश्लेषक हरि शर्माले कांग्रेस बलियो बनाउन यसका हरेक सदस्यले आफू क्रियाशील रहेको तहका नेतृत्वलाई प्रश्न गर्नुपर्ने बताउनुभयो । सबैको कुरा सुनेर आफू निर्णय गर्न सक्ने नेतृत्वको आवश्यकता कांग्रेसमा रहेको उहाँको भनाइ थियो । कार्यक्रममा संवाद केन्द्रका अध्यक्ष नारायणप्रसाद भट्टराई, सदस्य जनकराज गिरी र डा लता घिमिरेलगायतले लोकतन्त्र स्थापना भएको १९ वर्ष पुगिसक्दा पनि नागरिकले गरेका आशा पूरा नभएकाले नेतृत्व सच्चिनुपर्नेमा जोड दिनुभएको थियो ।

चितवनका पाँच सामुदायिक वनमा जिप सफारी सुरु

चितवन, ११ वैशाख : पूर्वी चितवनका पाँच सामुदायिक वनमा जिप सफारी सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज जिप सफारीको शुभारम्भ गर्नुभएको हो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले टिकौली, मिलीजुली, चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन र खोरसोर संरक्षित वनलाई जोडेर खगेरी राप्ती मध्यवर्तीमा जिप सफारी सुरु गरेको हो । सो अवसरमा मन्त्री शाहीले वनको समुचित उपयोग गर्ने नीति सरकारले लिएको बताउनुभयो । वन, वन्यजन्तु र वनस्पतिलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको जीवनस्तर उकास्ने गरी राष्ट्रिय वनको उपयोग गर्ने नीति सरकारले लिएको उहाँले स्पष्ट पार्नुभयो । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको उल्लेख गर्दै मन्त्री शाहीले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताउनुभयो ।

खोरसोर संरक्षित वनबाट सुरु भएको जिप सफारी टिकौली हुँदै बीसहजारी तालसम्म पर्यटकलाई वन, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराइनेछ । जसमा २० किलोमिटर दूरी जिप सफारी गर्न पाइनेछ । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगरमा पहिलो पटक जिप सफारी सुरु भएको भन्दै खुसी व्यक्त गर्नुभयो । 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवनमा नयाँ पर्यटकीय गन्तव्यको थालनी भएको बताउनुभयो । सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुङ्गाना, अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतले पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्र एक हुन जरुरी रहेको बताउनुभयो । यसअघि मन्त्री ठकुरीले आजै राप्ती नदीमा १५ पोथी गोही छाड्नुभएको थियो ।

क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारमा क्यानको पाँच लाख सहयोग

काठमाडौँ, ११ वैशाख : नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।

मधेस प्रदेश क्रिकेट सङ्घको आयोजनामा गत २०८० जेठ १५ देखि २६ गतेसम्म जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो । सोही प्रतियोगिताका दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए । उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए । 

गण्डकी प्रदेशविरुद्धको खेलमा उनको घुँडामा चोट लागेका थियो । उनको उपचारका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिद्धान्तको हाल भारतमा उपचार भइरहेको छ । 

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह

काठमाडौँ, ११ वैशाखः युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले बिहीबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको हो ।

उनीहरुले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान तयार रहेको समेत बताए । संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकास विरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताउनुभयो । 

सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उहाँले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुभयो । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ थियो ।  

केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने उल्लेख गर्दै उहाँले पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घ–संस्थासँग वार्ता र संवाद हुनुपर्नेमा जोड दिनुभयो । 

लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वद्र्धनको ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वका अधिकांश राजनीतिक आन्दोलनहरू वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, “केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ भन्नुभयो । 

पहिचानका लागि युवाका केन्द्रीय संयोजक बिराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनु पर्नेमा जोड दिनुभयो ।

अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुुपर्ने बताउनुुभएको छ ।

नेकपा (एमाले)द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युुवा उत्सव (युुथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो ।

  “देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजित र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ । निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ । सामन्ती व्यवस्थालाई पुनःफर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जङ्गली र राक्षसी प्रकृति गलत हो । यस्ता कार्य सह्य हुँदैनन ।”

  एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणका कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गर्नुभयो । एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै उहाँले आफ्नो पार्टीले सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको बताउनुुभयो ।      युवालाई भड्काउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका नागरिकलाई भड्काउने प्रयास भएकामा  यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज (सप्तरी), ११ वैशाख : राजविराजमा आज सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मिथिला वारिर्यसले जितेको छ । फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई ५ विकेटले पराजित गरेको हो । । विजेता मिथिलाले रु ९ लाख एक हजार तथा उपविजेता बलानबिहुले रु ४ लाख एक हजार पुरस्कार प्राप्त गरे ।

टस जितेर पहिला ब्याटिङ गर्दै बलानबिहुले १९ दशमलव ३ ओभरमा सबै बिकेट गुमाएर १५३ रन बनायो । एक सय ५४ रनको विजयी लक्ष्य मिथिला वारियर्सले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बलानबिहुका लागि विवेक यादवले सर्वाधिक ४५ रन बनाए । यस्तै लोकेश बमले ४१, सुजन थपलियाले २८ तथा फिर्दाेष अन्सारीले १५ रन बनाए । बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले तीन, शेर मल्ल र कुुशल भुर्तेलले दुई दुई तथा नन्दन यादवले एक विकेट लिए ।

यसैगरी मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाए । यसैगरी रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ बलानबिहुका विवेक यादव र अरनिको यादवले दुई दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ मिथिलाका कुशल भुर्तेल घोषित भए ।

‘प्लेयर अफ दी सिरिज’ विशाल पटेल (जनकपुर सनराइज), उत्कृष्ट ब्याटर आशिफ शेख (जनकपुर सनराइज) तथा उत्कृष्ट बलर शेर मल्ल (मिथिला वारियर्स) घोषित भएका आयोजक समितिका अध्यक्ष सञ्जिवनारायण यादवले जानकारी दिए । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य आयुष श्रेष्ठलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।

डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डिपसिकले प्रयोगकर्ताको सहमति बिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले बिहीबार जनाएको छ । प्राधिकरणका अनुसार यो अझै डाउनलोडका लागि उपलब्ध रहेको थियो ।

व्यक्तिगत सूचना संरक्षण आयोग (पिआइपिसी) का अनुसार एआई प्रम्प्टमा उपकरण, नेटवर्क र प्रयोगकर्ता इनपुटहरू समावेश रहेको जानकारी बेइजिङ प्लेटफर्म भोल्केनो इन्जिनमा सर्भरहरूमा हस्तान्तरण गरिएको थियो ।

डिपसिकको आर१ च्याटबटले पश्चिमी प्रतिस्पर्धीहरूको कार्यहरूसँग मेल खाने क्षमता नगण्य लागतमा देखाएपछि जनवरीमा लगानीकर्ताहरू र उद्योग विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो ।

यद्यपि दक्षिण कोरिया, इटाली, अस्ट्रेलिया र केही अमेरिकी राज्यहरूले डिपसिकको प्रयोगकर्ता डेटाको भण्डारणमाथि प्रश्न उठाएका छन् र यसको प्रयोगमा प्रतिबन्ध वा सीमित गरेका छन् ।

पिआइपिसीले फेब्रुअरीमा अनुसन्धान सुरु ग¥यो र डिपसिकको व्यक्तिगत डाटा सङ्कलन अभ्यासहरूको समीक्षा पूरा नभएसम्म यो अब डाउनलोडका लागि उपलब्ध हुनेछैन भन्यो ।

“सुरुमा, डिपसिकले प्रयोगकर्ताहरूको सहमति प्राप्त नगरी वा सेवा शुरू हुँदा गोपनीयता नीतिमा यो खुलासा नगरी चीन र संयुक्त राज्य अमेरिकामा अवस्थित कम्पनीहरूमा व्यक्तिगत डाटा स्थानान्तरण गरेको थियो”, आयोगका अधिकारी नाम सेओकले पत्रकारहरूलाई भन्नुभयो, “विशेष गरी, डिपसिकले उपकरण, नेटवर्क र एप जानकारी मात्र नभई, एआई प्रम्प्टहरूमा प्रयोगकर्ता इनपुटहरू पनि भोल्केनो इन्जिनमा स्थानान्तरण गरेको पुष्टि भएको थियो ।”

नामका अनुसार अनुसन्धान पश्चात्, डिपसिकले कोरियाको डाटा संरक्षण कानूनहरूलाई अपर्याप्त रूपमा विचार गरेको स्वीकार गर्‍यो, आयोगसँग सहकार्य गर्न इच्छा व्यक्त गर्‍यो र स्वेच्छाले घरेलु एप बजारहरूबाट नयाँ डाउनलोडहरू निलम्बित गर्‍यो ।

डिपसिकले टिप्पणीको अनुरोधका लागि तत्काल प्रतिक्रिया दिएन । कम्पनीले डाटा ‘जनवादी गणतन्त्र चीनमा अवस्थित सुरक्षित सर्भरहरू’ मा सङ्कलन गरिएको बताएको छ ।

कम्पनीले लागत घटाउँदै यसको एआई उपकरण यसको प्रतिस्पर्धीहरू भन्दा कम परिष्कृत चिप्स प्रयोग गरेर निर्माण गरिएको दाबी गरेको छ । यो एप सुरु भएको केही हप्तामा दशौँ लाख पटक डाउनलोड गरिएको थियो ।

भोल्केनो इन्जिन बेइजिङमा आधारित क्लाउड सेवा प्लेटफर्म हो जुन बाइटडान्सको स्वामित्वमा छ । यो अत्यन्तै लोकप्रिय प्लेटफर्म टिकटकको मूल कम्पनी पनि हो ।

भोल्केनो इन्जिनमा डाटा स्थानान्तरणका बारेमा सोधिएको प्रश्नमा डिपसिकल यो सुरक्षा कमजोरीहरू समाधान गर्न र प्रयोगकर्ता इन्टरफेस र अनुभव सुधार गर्ने उद्देश्यका लागि पठाइएको बताएको थियो ।