`

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह

काठमाडौँ, ११ वैशाखः युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले बिहीबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको हो ।

उनीहरुले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान तयार रहेको समेत बताए । संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकास विरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताउनुभयो । 

सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उहाँले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुभयो । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ थियो ।  

केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने उल्लेख गर्दै उहाँले पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घ–संस्थासँग वार्ता र संवाद हुनुपर्नेमा जोड दिनुभयो । 

लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वद्र्धनको ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वका अधिकांश राजनीतिक आन्दोलनहरू वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, “केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ भन्नुभयो । 

पहिचानका लागि युवाका केन्द्रीय संयोजक बिराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनु पर्नेमा जोड दिनुभयो ।

अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुुपर्ने बताउनुुभएको छ ।

नेकपा (एमाले)द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युुवा उत्सव (युुथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो ।

  “देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजित र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ । निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ । सामन्ती व्यवस्थालाई पुनःफर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जङ्गली र राक्षसी प्रकृति गलत हो । यस्ता कार्य सह्य हुँदैनन ।”

  एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणका कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गर्नुभयो । एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै उहाँले आफ्नो पार्टीले सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको बताउनुुभयो ।      युवालाई भड्काउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका नागरिकलाई भड्काउने प्रयास भएकामा  यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज (सप्तरी), ११ वैशाख : राजविराजमा आज सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मिथिला वारिर्यसले जितेको छ । फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई ५ विकेटले पराजित गरेको हो । । विजेता मिथिलाले रु ९ लाख एक हजार तथा उपविजेता बलानबिहुले रु ४ लाख एक हजार पुरस्कार प्राप्त गरे ।

टस जितेर पहिला ब्याटिङ गर्दै बलानबिहुले १९ दशमलव ३ ओभरमा सबै बिकेट गुमाएर १५३ रन बनायो । एक सय ५४ रनको विजयी लक्ष्य मिथिला वारियर्सले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बलानबिहुका लागि विवेक यादवले सर्वाधिक ४५ रन बनाए । यस्तै लोकेश बमले ४१, सुजन थपलियाले २८ तथा फिर्दाेष अन्सारीले १५ रन बनाए । बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले तीन, शेर मल्ल र कुुशल भुर्तेलले दुई दुई तथा नन्दन यादवले एक विकेट लिए ।

यसैगरी मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाए । यसैगरी रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ बलानबिहुका विवेक यादव र अरनिको यादवले दुई दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ मिथिलाका कुशल भुर्तेल घोषित भए ।

‘प्लेयर अफ दी सिरिज’ विशाल पटेल (जनकपुर सनराइज), उत्कृष्ट ब्याटर आशिफ शेख (जनकपुर सनराइज) तथा उत्कृष्ट बलर शेर मल्ल (मिथिला वारियर्स) घोषित भएका आयोजक समितिका अध्यक्ष सञ्जिवनारायण यादवले जानकारी दिए । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य आयुष श्रेष्ठलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।

डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डिपसिकले प्रयोगकर्ताको सहमति बिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले बिहीबार जनाएको छ । प्राधिकरणका अनुसार यो अझै डाउनलोडका लागि उपलब्ध रहेको थियो ।

व्यक्तिगत सूचना संरक्षण आयोग (पिआइपिसी) का अनुसार एआई प्रम्प्टमा उपकरण, नेटवर्क र प्रयोगकर्ता इनपुटहरू समावेश रहेको जानकारी बेइजिङ प्लेटफर्म भोल्केनो इन्जिनमा सर्भरहरूमा हस्तान्तरण गरिएको थियो ।

डिपसिकको आर१ च्याटबटले पश्चिमी प्रतिस्पर्धीहरूको कार्यहरूसँग मेल खाने क्षमता नगण्य लागतमा देखाएपछि जनवरीमा लगानीकर्ताहरू र उद्योग विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो ।

यद्यपि दक्षिण कोरिया, इटाली, अस्ट्रेलिया र केही अमेरिकी राज्यहरूले डिपसिकको प्रयोगकर्ता डेटाको भण्डारणमाथि प्रश्न उठाएका छन् र यसको प्रयोगमा प्रतिबन्ध वा सीमित गरेका छन् ।

पिआइपिसीले फेब्रुअरीमा अनुसन्धान सुरु ग¥यो र डिपसिकको व्यक्तिगत डाटा सङ्कलन अभ्यासहरूको समीक्षा पूरा नभएसम्म यो अब डाउनलोडका लागि उपलब्ध हुनेछैन भन्यो ।

“सुरुमा, डिपसिकले प्रयोगकर्ताहरूको सहमति प्राप्त नगरी वा सेवा शुरू हुँदा गोपनीयता नीतिमा यो खुलासा नगरी चीन र संयुक्त राज्य अमेरिकामा अवस्थित कम्पनीहरूमा व्यक्तिगत डाटा स्थानान्तरण गरेको थियो”, आयोगका अधिकारी नाम सेओकले पत्रकारहरूलाई भन्नुभयो, “विशेष गरी, डिपसिकले उपकरण, नेटवर्क र एप जानकारी मात्र नभई, एआई प्रम्प्टहरूमा प्रयोगकर्ता इनपुटहरू पनि भोल्केनो इन्जिनमा स्थानान्तरण गरेको पुष्टि भएको थियो ।”

नामका अनुसार अनुसन्धान पश्चात्, डिपसिकले कोरियाको डाटा संरक्षण कानूनहरूलाई अपर्याप्त रूपमा विचार गरेको स्वीकार गर्‍यो, आयोगसँग सहकार्य गर्न इच्छा व्यक्त गर्‍यो र स्वेच्छाले घरेलु एप बजारहरूबाट नयाँ डाउनलोडहरू निलम्बित गर्‍यो ।

डिपसिकले टिप्पणीको अनुरोधका लागि तत्काल प्रतिक्रिया दिएन । कम्पनीले डाटा ‘जनवादी गणतन्त्र चीनमा अवस्थित सुरक्षित सर्भरहरू’ मा सङ्कलन गरिएको बताएको छ ।

कम्पनीले लागत घटाउँदै यसको एआई उपकरण यसको प्रतिस्पर्धीहरू भन्दा कम परिष्कृत चिप्स प्रयोग गरेर निर्माण गरिएको दाबी गरेको छ । यो एप सुरु भएको केही हप्तामा दशौँ लाख पटक डाउनलोड गरिएको थियो ।

भोल्केनो इन्जिन बेइजिङमा आधारित क्लाउड सेवा प्लेटफर्म हो जुन बाइटडान्सको स्वामित्वमा छ । यो अत्यन्तै लोकप्रिय प्लेटफर्म टिकटकको मूल कम्पनी पनि हो ।

भोल्केनो इन्जिनमा डाटा स्थानान्तरणका बारेमा सोधिएको प्रश्नमा डिपसिकल यो सुरक्षा कमजोरीहरू समाधान गर्न र प्रयोगकर्ता इन्टरफेस र अनुभव सुधार गर्ने उद्देश्यका लागि पठाइएको बताएको थियो ।

अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी ‘आधारहीन’ : बेइजिङ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाउनुभएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ।

विश्वका दुई प्रमुख अर्थतन्त्रहरू चिनियाँ सामानहरूमा ट्रम्पको नयाँ भन्सार शुल्कबाट सुरु भएको बढ्दो प्रतिस्पर्धात्मक व्यापार युद्धमा बन्द छन् । भन्सार शुल्क धेरै उत्पादनमा एक सय ४५ प्रतिशत पुगेको छ ।

बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको छ ।ट्रम्पले अनुचित व्यापार अभ्यासहरूको जवाफी कारबाही र साथै अमेरिकी उत्पादन क्षमता पुनःस्थापना गर्ने प्रयासका रूपमा उल्लेख गर्नुभएको भन्सार महसुलको यो आक्रमणले बजारहरूलाई हल्लाएको छ र विश्वव्यापी मन्दीको डर बढाएको छ ।

बेइजिङले वार्ताहरू दैनिक रूपमा सञ्चालन भइरहेको ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ ।“विदेशी आर्थिक र व्यापार सम्बन्धका लागि सक्षम विभागका रूपमा म यो कुरामा जोड दिन चाहन्छु कि हाल चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै आर्थिक र व्यापार वार्ता चलिरहेको छैन”, चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले पत्रकार सम्मेलनमा भन्नुभयो, “चीन–अमेरिका आर्थिक र व्यापार वार्ताको प्रगतिको बारेमा कुनै पनि दाबी आधारहीन छ र यसको कुनै तथ्यात्मक आधार छैन, चीनले संयुक्त राज्य अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, वार्ताका लागि आवश्यक इमानदारी देखाउन (र) समान संवाद र परामर्शको सही मार्गमा फर्कन आग्रह गर्दछ ।”

वासिङ्टनले बेइजिङसँग कुरा गरिरहेको छ कि भनेर सोध्दा ‘सबै कुरा सक्रिय छ’ भन्दै ट्रम्पले बुधबार पत्रकारहरूलाई आफ्नो देशले ‘चीनसँग निष्पक्ष सम्झौता’ गर्ने बताउनुभयो ।व्यापारमा चीनसँग अमेरिकाको प्रत्यक्ष सम्पर्क छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “हरेक दिन ।”

काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।

हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म सारा विश्वलाई भन्छु : भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुना सम्म खोज्नेछौँ ।”

पर्यटकीय स्थल पहलगाममा भएको गोलीकाण्ड सन् २००० यता विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो ।

मारिएका पुरुषहरूमध्ये २६ जना भारतीय र एक जना नेपाली थिए ।

भारतले बुधबार इस्लामाबादलाई ‘सीमापारि आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृङ्खलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाएको थियो ।

पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ ।

बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले मारिएकाहरूको सम्झनामा पहिले दुई मिनेट मौन धारण गर्नुभयो ।

“म यो स्पष्ट रूपमा भन्छु : जसले यो आक्रमण गरेको छ र जसले यसको योजना बनाएको छ, तिनीहरूको कल्पनाभन्दा बाहिर तिनीहरूलाई भुक्तान गरिनेछ”, उहाँले ठूलो भिडको अगाडि हिन्दीमा बोल्दै भन्नुभयो, “तिनीहरूले निश्चय नै भुक्तान गर्नेछन् । यी आतङ्कवादीहरूसँग जति थोरै भूमि छ, त्यसलाई धूलोमा मिलाउने समय आएको छ । एक अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले यी आतङ्कवादीहरूको मेरुदण्ड तोड्नेछ ।”

उहाँले अङ्ग्रेजीमा दुर्लभ टिप्पणीहरू दिएर आफ्नो भाषण समाप्त गर्नुभयो र तिनीहरूलाई विदेशमा दर्शकहरूसम्म पुर्‍याउनुभयो ।

“आतङ्कवाद दण्डित हुने नै छ”, मोदीले भन्नुभयो, “न्याय सुनिश्चित गर्न हरेक प्रयास गरिनेछ ।”सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्छन् ।

विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् ।

भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।

पाकिस्तान र इरानबाट एकै दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार एक हजार एक सय २७ अफगान परिवारका छ हजार सात सय ७४ मानिस आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्ति अनुसार शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा विन्दु हुँदै घर फर्केका छन् ।

आयोगले स्वदेश फर्कनेहरूका लागि आ–आफ्ना प्रान्तमा अस्थायी आश्रय, पोषण, पानी, चिकित्सा सेवा र यातायात लगायतका सेवाहरू प्रदान गर्दछ ।

गत वर्ष ती मुलुकबाट करिब २० लाख अफगान घर फर्केका छन् । पाकिस्तानी सरकारले सन् २०२५ मा ३० लाख अफगानलाई आफ्नो देशमा निर्वासित गर्ने तयारी गरेको छ भने इरानी अधिकारीहरूले कागजातविहीन विदेशी नागरिकहरूलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्न र आफ्नो घर फर्कन आग्रह गरेका छन् ।

करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा बसिरहेका छन् ।

‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ – ऊर्जामन्त्री खड्का

काठमाडौँ, ११ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताउनुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गर्नुभयो ।

बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेमात्रै १७ हजारभन्दा बढीले रोजगारी पाउने उहाँको भनाइ थियो । उहाँले मुलुकको विकासका लागि इञ्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताउनुभयो ।

गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत

काठमाडौँ, ११ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययनन तथा विकास संस्थापनले आज आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरु’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने धारणा राख्न्ुभयो ।

“गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो”, प्रवक्ता डा महतले भन्नुभयो, “जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ ।”

आगामी आर्थिक वर्षको बजेट सन्तुलित र अनुशासित हुनुपर्नेमा जोड दिँदै प्रवक्ता डा महतले भन्नुभयो– “बजेट वर्षभरिको आम्दानी र खर्चको विवरण हो । आम्दानी खर्च जुटाउने, स्रोतको सुनिश्चितता हुने र हाम्रा आवश्यकता तथा प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ ।” मौद्रिक नीति र वित्त नीतिलाई लयमा लैजानुपर्ने उहाँको भनाइ थियो ।

प्रवक्ता डा महतले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाउनेगरी बजेट व्यवस्थापन हुनुपर्ने सुझाव दिनुभयो । देखाउनकै लागि ठूलो बजेट ल्याइने गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “आम्दानी स्रोतको सुनिश्चितता हुनुपर्छ । पुँजीगत खर्च बढाउनुपर्छ, त्यसैले बजेट लोकप्रय हैन अनुशासित हुनुपर्छ । प्राथमिकीकरणका आधारमा बजेट बनाइनुपर्छ ।”

सामाजिक सुरक्षा, शिक्षा, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्र आदिलाई बजेटले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले मुलुकको विद्यमान आर्थिक अवस्थालाई सुधार्नेगरी आगामी बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको आर्थिक अवस्था लचिलो भएको छ । स्रोतसाधनको सही उपयोग गर्न आम्दानीभन्दा खर्च बढी छ । ऋणले खर्च धान्नुपरेको छ, यो अवस्थालाई सुधार्न बजेटले ध्यान दिनुपर्छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले प्रतिफल दिने क्षेत्र र मुख्य पूर्वाधार सम्पन्न हुनेगरी बजेट विनियोजन गरिनुपर्ने बताउनुभयो ।

“क्षमता विकासमा लगानी गरिनुपर्छ, ठूला जलासययुक्त आयोजनामा लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रमैत्री लगानीको वातावरण सिर्जना गर्दै आयात प्रतिस्थापन, फजुल खर्च रोक्नेजस्ता विषयलाई बजेटले प्राथमिकता दिनुपर्छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले अर्थतन्त्रलाई सही मार्ग दिन नीतिगत र संरचनागत सुधार जरुरी भएको औँल्याउनुभयो । “संरचनागत समस्याले बजेट संयन्त्र कमजोर हुने गरेको छ”, उहाँले भन्नुभयो, “बजेटमार्फत प्राथमिकता प्राप्त आयोजनामा लगानी गरिनुपर्छ । शिक्षाको गुणस्तर अभिवृद्धि र कृषि उत्पादन प्रवद्र्धनका विषयलाई प्राथमिकता दिनुपर्छ ।”

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बजेट परम्परागत हुने गरेको उल्लेख गर्दै आर्थिक क्षेत्रलाई चलायमान हुनेगरी प्राथमिकता प्राप्त आयोजना समेटिनुपर्नेमा जोड दिनुभयो । उहाँले बजेट स्रोतको सुनिश्चितता हुनेगरी सन्तुलित र पूर्वाधारमा लगानीयोग्य हुुनुपर्ने सुझाव दिनुभयो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले विकासको सूचकलाई सम्बोधन हुनेगरी बजेट ल्याइनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षाको सुनिश्चिता तथा पुँजीगत खर्च गर्ने क्षमता बढाएर निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी खर्च गर्ने क्षमता बढाउनुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले राजनीतिक नेतृत्वमा आध्यात्म ज्ञान र नैतिकता जरुरी भएको खाँचो औँल्याउनुभयो । संसदीय अध्ययन तथा विकास संस्थापन समितिका महासचिव रुद्र शर्माले बजेट यथार्थ र तथ्यपरक ढङ्गले ल्याइनुपर्ने धारणा राख्नुभयो ।

आन्दोलनरत शिक्षकको माग वार्ताका माध्यमबाट सम्बोधन गर्छौंः शिक्षामन्त्री पन्त

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेका छन् ।

त्यसक्रममा उनले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताए । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उनले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पारे ।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ – उपप्रधानमन्त्री सिंह

भक्तपुर, ११ वैशाखः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनआन्दोलनबाट प्राप्त जनताको अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको छ ।

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका समाजवादी नेता जगन्नाथ आचार्यको १०२औँ जन्मजयन्ती कार्यक्रममा उहाँले अधिकार प्राप्तिका लागि कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएर आन्दोलन गरे जस्तै उपलब्धि रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको हो ।

अधिकार मात्र माग्ने तर कर्तव्य पूरा नगर्नाले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउँदै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “विसं २०४६ को आन्दोलन होस् या २०६२÷०६३ को जनआन्दोलन सबै दलहरू एक ठाउँमा उभिएर सङ्घर्ष गर्दै ठूलो त्याग, तपस्या र बलिदानबाट ल्याएको यो अधिकार र व्यवस्था हो, यो व्यवस्था जोगाउन सबै दल एकै ठाउँमा आउनु आवश्यक छ । अधिकार खोज्ने तर संरक्षण नगर्ने र कसैको लहैलहैमा लाग्ने हो भने मुस्किलले प्राप्त गरेको अधिकार गुम्नसक्ने खतरा आउन सक्छ ।”

उहाँले जगन्नाथ आचार्यको राजनीतिक योगदानको चर्चा गर्दै २०४६ सालको जनआन्दोलनपछि गणेशमान सिंहले प्राप्त प्रजातन्त्रलाई सही बाटोमा लैजान सुरु गरेको जनजागरण अभियानमा आफूले संयोजक भएर काम गरेको स्मरण गर्नुभयो । कार्यक्रममा नेताहरु ढुण्डराज शास्त्री, तिलकप्रकाश कायस्थ, गोविन्द जोशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थले जगन्नाथ आचार्यले प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । आचार्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विनोद आचार्यले जगन्नाथ आचार्यले राजनीतिक परिवर्तनका लागि सिङ्गो जीवन आहुति दिएको चर्चा गर्नुभयो ।

सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् ।

साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी संसदीय दलको बिहीबारको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू संसद्बाट पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र त्यसले सङ्गठनलाई अझ मजबुत बनाएको बताए ।

बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे छलफल भएको थियो ।

सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौँ,११ वैशाखःमुलुकमा राष्ट्रिय पूँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालमा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभएको छ ।

निरङ्कुशता कदापि स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै वर्ग, जाति समुदाय, धर्मावलम्बीलाई सामाजिक न्याय, समानता, राजनीतिक तथा आर्थिक अधिकार स्थापित गराउन सहज हुने सन्देशमा उल्लेख गर्नुभएको छ

टहरा भत्काएर सडक विस्तार गर्दै म्याग्दी दरवाङका बासिन्दा

म्याग्दी, ११ वैशाखः मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् ।

दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उहाँले जानकारी दिनुभयो । हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकका दुवै किनारमा ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ । मालिका गाउँपालिकाले रु ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले रु पाँच लाख ४१ हजार आठ सय ३३ श्रमदान गरेका थिए ।

च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङ, ११ वैशाखः लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।

च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो ।

हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि अलपत्र परेको केन्द्र स्थानीय उपभोक्ताले सम्हालेका हुन् । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन केन्द्रले एक जना फार्म व्यवस्थापकसहित पाँच जना गोठाला, एक जना पशु प्राविधिकको व्यवस्था गरेको छ ।

केन्द्रका जनशक्ति व्यवस्थापन तलबभत्ता उपलब्ध गराउनेदेखि च्याङ्ग्रालाई चाहिने दाना, घाँस औषधिउपचारलगायत उपकरणको व्यवस्था सरकारले गरेको छ । आठ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका लागि कार्यालय स्थापना तथा फार्म निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको पशु प्राविधिक धीरज बरुवालले राससलाई बताउनुभयो ।

केही स्थानीय र केही तिब्बती च्याङ्ग्रा ल्याएर च्याङ्ग्रापालनको नश्ल सुधार गरी पश्मिना उत्पादन तथा प्रवद्र्धनमा जोड दिने गरी स्थापना भएको फार्ममा पाठापाठी हुर्किरहेका छन् । केन्द्रमा बर्सेनि १५० भन्दा बढी च्याङ्ग्राको पाठापाठी उत्पादन हुने गरेका छन् ।

जङ्गलमा खेर गइरहेको अल्लोलाई गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

दिपायल (डोटी), ११ वैशाखः यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।

जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एकमहिने तालिम सञ्चालन गरेपछि महिला यस कार्यमा जुटेका हुन् । उक्त गाउँपालिका–४ काउलेबजारमा पालिकाको उद्यम विकास शाखाको अर्थिक सहयोग तथा जिआइजेडको प्राविधिक सहयोगमा गाउँपालिकाले करिब रु २० लाख लगानीमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादनमा सहयोग तथा तालिम दिएको थियो । 

अल्लो प्रशोधनका लागि उपकरण र कपडा बुन्ने तानलगायत सामग्री बडीकेदार गाउँपालिकाले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको उद्यम विकास शाखा प्रमुख भूपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । यहाँका १५ जना महिला मिलेर अल्लो प्रशोधन तथा कपडा बन्नमा जुटेका उहाँले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष भैरव साउदले पछिल्लो समय अल्लोको धागो र कपडाको माग उच्च रहेकाले पालिकाले आवश्यक सहयोग गरेको बताउनुभयो । अल्लोको कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरी यस कार्यमा लाग्न सहजीकरण गरिएको उहाँले बताउनुुभयो ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लोको व्यावसायिक उत्पादन गरी बजार विस्तार गर्नुपर्ने बताउनुभयो । यस व्यवसायलाई पूर्णकालीन बनाउँदै उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । 

गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको आधार बन्न थालेको उद्यमी तुल्सी बुढामगरले बताउनुुभयो । उहाँले यस कार्यको दीगो व्यवस्थापनका लागि आफूहरू जुटेको र यसमा सरोकार भएका निकायले पनि थप प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । “आवश्यक तालिम र उपकरण पाएपछि हामी १५ जना महिला यसमा जुटेका छौँ । स्थानीय स्रोतको उपयोग गरी हाम्रो आम्दानीको स्रोत पनि बनेको छ । यसको दीगो व्यवस्थानका लागि सरोकार भएका निकायले थप सहयोग र बजार विस्तारका लागि सहजीकरण गरिदिने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।  

‘हिमालहरूमा जीवन छैन’: राजकुमारी अलथानी

सोलुखुम्बु, ११ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भन्नुभयो, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।” 

सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिनुभएको छ । “पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ”, राजकुमारी अलथानीले भन्नुभयो । 

जलवायु परिवर्तनको प्रत्यक्ष मारमा थामे बस्ती

हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पु¥याएको थियो । त्यसबाट दर्जनौँ घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो । 

राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भन्नुभयो, “यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।”

बाढीपहिरो, हिमताल विस्फोट, र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । “हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरूरी छ ।” 

सगरमाथाको संरक्षणमा विश्वको दायित्व

राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानवजातिको साझा धरोहर भएको उल्लेख गर्नुभयो । “हामी जस्ता आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौँ, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,” उहाँले चेतावनी दिनुभयो । राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरणविज्ञ, आरोही र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए । 

सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली सङ्कट र समाधानको विमर्शको थलो बन्यो । सम्मेलनमा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीमा परेको छ । राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उहाँको अन्तिम सन्देश थियो, “हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौँ । सगरमाथा बचाउन हामी सबैको साझा दायित्व हो ।”

उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उहाँले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले वातावरणीय सङ्कटबारे जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथसाथै फाउन्डेसनले तिनै तहका सरकारसँगको समन्वयमा मङ्गलबार थामेमा आयोजना गरेको सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना हुने सगरमाथा संवादको पूर्वकार्यक्रमका रूपमा अपनत्व लिएको छ । 

सौन्दर्यविद चन्दा पुनको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा सञ्चालन

काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा ५० लाख भन्दा माथिको लगानीमा काठमाडौंको बसन्तनगर, बलाजुमा सञ्चालनमा ल्याएकी छिन्। कार्यक्रमलाई विधिवत रूपले उद्घाटन आफ्ना गुरु रुसका श्रेष्ठ र राधा शर्मा गरिएको थियो साथै मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी , अनिता गिरी , सृष्टि घिमिरे को उपस्थिति थियो l कार्यक्रममा आफ्नो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड पनि दिएको थियो। सौन्दर्यविधहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सौन्दर्य विद चन्दापुन भन्छिन- हामीले सम्पूर्ण ग्राहक वर्गहरुलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएका छौंl

गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफल यात्रापछि व्यवसाय विस्तारको क्रममा पुनले नयाँ शाखा स्थापना गरेकी हुन्। यस सौन्दर्य केन्द्रमा विभिन्न सौन्दर्य सेवासँगै, ब्यूटी सम्बन्धी पेशागत तालिम समेत प्रदान गरिन्छ।

चन्दा पुनले विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रही, लाखौं ग्राहकहरूलाई सेवा दिँदै आएका छन्। सिटीभिटी मान्यता प्राप्त क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’ बाट उनले हजारौँको सङ्ख्यामा विद्यार्थीहरूलाई व्यवसायिक प्रशिक्षण दिई स्वावलम्बी बन्न प्रेरित गरेकी छन्।

उनको अनुभव, सीप र समर्पणले ‘क्युटी केयर’लाई सौन्दर्य तथा तालिम केन्द्रको विश्वसनीय नामका रूपमा स्थापित गर्न सफल भएको छ।ग्राहकहरूको विश्वास, विद्यार्थीहरूको उत्साह, र सौन्दर्य सेवा तथा सीप विकासमा उनको योगदान प्रशंसनीय छ।

एनआरएनएको एकता महाधिवेशन गराउन गठित निर्वाचन समितिद्वारा निर्वाचन कार्यक्रम प्रकाशित

काठमाडौँ । यही वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनको क्रममा नयाँ कार्य समितिको निर्वाचन गराउन गठित निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ।

निर्वाचन समितिले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै २०८२ वैशाख १२ गते मतदाता प्रथम नामावली प्रकाशन गर्ने, वैशाख १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र वैशाख २० गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ। यसै गरी आइतबार, वैशाख २१ गते ( ४ मे २०२५) मा काठमाडौँमा बिहान ८ बजेदेखि अपराह्न ४ बजे सम्म मतदान हुने र मतगणना समाप्त भए पश्चात् निर्वाचनको परिणाम घोषणा गरिने पनि निर्वाचन कार्यक्रममा उल्लेख छ।

निर्वाचन समितिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२५-२७ कार्यकालको लागि अध्यक्ष १, उपाध्यक्ष खुल्ला ६, उपाध्यक्ष (महिला) १, महासचिव १ सहित ३६ जना पदाधिकारीहरू चयन गर्न निर्वाचन गराइने जनाएको छ। उच्चस्तरीय समितिद्वारा प्रमाणीकरण भएका प्रतिनिधि (डेलिगेट) ले तोकिएको मनोनयन दस्तुर बुझाएर उम्मेदवारी मनोनयन गर्नु पर्नेछ।

यसैबिच सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले बुधवार गरिएको बहस पछि निवेदक पक्षले गरेको माग दाबी अनुसारको आदेश नआई थप कागजात झिकाउने आदेश दिएकाले मे ३–५, २०२५ मा आयोजना हुन लागेको एकता महाधिवेशनलाई कुनै वाधा नपुग्ने समितिले जनाएको छ।

निर्वाचन समितिले एकता महाधिवेशनको मर्म अनुरूप स्वतन्त्र निष्पक्ष र पारदर्शी निर्वाचन गराउन सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गरेको छ।

सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो । वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् ।

भारत आतङ्कवादसँग कहिल्यै झुक्दैन : भारतीय गृहमन्त्री शाह

भारतका गृहमन्त्री अमित शाहले बुधबार अनन्तनागस्थित सरकारी मेडिकल कलेज (जीएमसी) अस्पताल पुगेर पहलगाम आतङ्कवादी आक्रमणमा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्नुभएको छ ।

मङ्गलबार पहलगामको बाइसारन घाँसे मैदानमा भएको आतङ्कवादी आक्रमणमा केही व्यक्तिको ज्यान गएको थियो भने धेरैजना घाइते भएका थिए । सन् २०१९ को पुलवामा हमलापछि यो कश्मीर उपत्यकामा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

बुधबार बिहान गृहमन्त्री शाह घटनास्थल बाइसारन मैदान पुगेका थिए । उहाँ हेलिकप्टरमार्फत हवाई निरिक्षण गर्दै प्रत्यक्ष रुपमा मैदानको अवस्थाबारे जानकारी लिनुभयो ।

त्यसअघि, श्रीनगरको प्रहरी नियन्त्रण कक्षबाहिर आयोजित श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र पीडित परिवारजनहरूसँग भेट गर्नुभयो ।

उहाँले सामाजिक सञ्जाल ‘एकस’ मार्फत शोक व्यक्त गर्दै भारत आतङ्कवादका अगाडि झुक्ने छैन भन्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“पहलगामको आतङ्कवादी आक्रमणमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । भारत आतङ्कवादका अगाडि झुक्ने छैन । यस क्रूर आक्रमणका दोषीहरूलाई उन्मुक्ति दिइने छैन,” गृहमन्त्री शाहले भन्नुभयो ।

यता, रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, वायु सेनाका प्रमुख एपी सिंह लगायत उच्च अधिकारीहरूसँग बैठक गरी क्षेत्रको सुरक्षा स्थितिको समिक्षा गर्नुभएको छ ।

यसैबीच, राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को टोली पनि घटनास्थल पुगेको छ । डिपुटी इन्स्पेक्टर जनरल (डिआइजी) स्तरका अधिकारीको नेतृत्वमा गएको टोलीले जम्मु–कश्मीर प्रहरीले गरिरहेको अनुसन्धानमा सहयोग पु¥याउनेछ । यो हमला पछिल्ला लगभग २० वर्षको अवधिमा नागरिकहरूलाई लक्षित गरी गरिएको सबैभन्दा घातक मानिएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ११ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु २५०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ६०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ६०, ब्रकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ११०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०५ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान

काठमडौँ, ११ वैशाखः हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रूपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २३ पैसा र बिक्रीदर १४ रूपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८२ पैसा र बिक्रीदर २० रूपैयाँ ९१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८० पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेश्नल ग्रल्स आइसिटी डे’

काठमडौँ, ११ वैशाखः आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेश्नल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेश्नल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ ।

विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ । ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नारायका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ ।

सूचना प्रविधिको क्षेत्रमा केटीहरुलाई पनि समान रुपमा अवसर दिनुपर्ने जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रुपमा उपस्थित भएर तथा श्रव्यदृश्यका माध्यमबाट छलफल गरिने छ ।

महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो

महोत्तरी, ११ वैशाखः महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् ।

बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ भने अहिलेदेखि नै गुइँठाको व्यवस्थापन गर्ने गरिनछ । हिउँदभरि सडक किनार र चरन क्षेत्रका चउर चाहर्दै गोबर सङ्कलन गर्नु यहाँका ग्रामीण महिलाको नियमित तालिका नै हो । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरन क्षेत्रबाट बटुलेर ल्याएको गोबरबाट खाना पकाउने दाउरा प्रयोजनका लागि ‘गुइँठा’ बनाउँछन् । हिउँदमा बनाइएका ‘गुइँठा’ वेशाख लागेपछि बर्खाकालका लागि सुरक्षित साथ राख्ने यहाँको चलन हो । हाल यहाँ सो कार्य भइरहेको छ ।

हिउँदमा गोबर पथारेर विभिन्न आकारका ‘गुइँठा’ बनाइन्छन् । यसबाट ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । घरका भित्तामा पथारेर सुकाइएर बनाइएका गोबरलाई ‘चिपरी’ भनिन्छन् । यसैगरी, गोबर पथारेर त्यसभित्र ससाना भिक्रा वा पराल राखी डोल्याएर सुकाइने ‘गोरहा’ र यी दुवैलाई दुवैलाई ‘गुइँठा’ भनिन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । नगर क्षेत्रका भित्री बस्ती पनि ‘गुइँठा’ को प्रयोग भइरहेकै छ । बर्खाकालमा खेतबारीका झिक्राझिक्री भिजेर नबल्ने हुँदा गृहिणी त्यस समयका लागि अहिलेदेखि नै ‘गुइँठा’ बनाएर राख्छन् । “खाना त पकाउनै पर्छ, बर्खामा दाउरा कहाँ खोज्नु ? त्यसैले अहिले नै यिनलाई जोगाएर राख्नु परेको हो”, भङ्गाहा नगरपालिका–४ रामनगरकी पानवती दनुवार भन्नुहुन्छ, “अहिले जोगाइएन भने झमझम पानी परेका बेला दुःख पाइन्छ ।” 

‘गुइँठा’ बनाउन पैसा खर्च गर्नु नपर्ने र एकपटक सल्काएपछि आगो ननिभ्ने हुँदा खाना पकाउने प्रयोजनका लागि गृहिणीको रोजाइमा पर्ने गरेको छ । अझ गरिब बस्तीमा त ग्यासचुल्हा र काठका दाउराको जोहो गर्न नसक्ने हुँदा ‘गुइँठा’ अनिवार्यजस्तै छ । त्यसैले यी बस्तीका गृहिणी कात्तिकदेखि चैतसम्म गोबर सङ्कलन गरेर ‘चिपरी’ र ‘गोरहा’ पथार्ने र तिनलाई राम्ररी सुकाउने इन्तजाम गर्छन् । ‘चिपरी’ घरगोठका भित्ताभरि पथारिन्छन् । सुक्दै गएपछि एक ठाउँमा थुपारिन्छ । ‘गोरहा’ भने पथारेर घाम लाग्ने ठाउँमा चाङ लगाएर सुकाइन्छ । यसरी वैशाख लागेपछि सुकेका ‘चिपरी’ र ‘गोरहा’ गोठको एकछेउ वा सानो छाप्रो बनाएर थन्क्याइन्छ । असारदेखि असोजसम्म त्यसको प्रयोग हुन्छ ।

“खाने चामल, पीठो त बनिबुतोबाट पाइएला तर दाउराको धेरै समस्या पर्छ”, औरही  नगरपालिका–७ भोइलटिम्कियाकी भुट्टी सदा मुसहर भन्नुहुन्छ, “त्यसैले अहिलेदेखि नै पराले झुप्रामै गुइँठा राख्नु परेको हो ।” 

‘गुइँठा’ बर्सायाममा सहजताका लागि मात्रै होइन, यसमा पाकेका खानेकुरा स्वादिला हुने भएकाले पनि ग्रामीण बस्तीका साना किसान र कतिपय मध्यमवर्गीय परिवारको पनि रोजाइमा पर्ने गरेको छ । गौशाला–६ जमुनियाँकी रामपरी थारू इन्धनका लागि अन्य साधनको जोहो गर्न नसक्ने आर्थिक रूपमा विपन्नहरूका लागि गुइँठाले निकै राहत दिने गरेको बताउनुहुन्छ ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य निरीक्षक सुरेश पासवान ‘गुइँठा’ मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने भएकाले यो धेरैको रोजाइमा पर्ने  गरेको बताउनुहुन्छ । यद्यपि यसको धुवाँ खाना पकाउने गृहिणीको स्वास्थ्यमा अत्यन्त प्रतिकूल हुनेहुँदा विशेष सतर्कता भने आवश्यक रहेको उहाँको भनाइ छ । “खासगरी ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या धेरैजसो भान्साघरको धुवाँबाटै हुने गरेको पाइन्छ । आर्थिक अवस्थाले वैकल्पिक इन्धनको जोहो गर्न नसक्नेहरूका लागि ‘गुइँठा’को प्रयोग अनिवार्य बाध्यता पनि हो । यसर्थ धेरै धुवाँ हुने गरी होइन, हावा ओहोरदोहोर हुने ठाउँमा खाना पकाउने र अन्य स्वास्थ्य सतर्कता अपनाउन जरूरी हुन्छ”, वरिष्ठ स्वास्थ्य निरीक्षक पासवानको सुझाव छ । 

महोत्तरीसहित मधेसका जिल्लामा धेरैजसो गोबर खाना पकाउने इन्धन प्रयोजनमा खपत हुने गरेको छ । यसले खेतीका लागि रासायनिक मलको निर्भरता बढाएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय किसान दीपबहादुर फुयालको बुझाइ छ । “कम्पोष्ट मल बनाइने गोबर दाउरा बन्छ । कम्पोष्ट मल नभएपछि खेतबारी मलिलो हुन नसक्दा उत्पादन घट्दो छ । रासायनिक मलमा निर्भरता बढ्दो छ”, उहाँले भन्नुभयो ।  

इन्धनमा गोबरको विकल्प खोज्नैपर्ने फुयालसहितका पाका किसानको मत छ । “कम्पोष्ट मलको अभावमा जग्गामा उत्पादन घट्दो छ । सरकारले किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनउपज (दाउरा) मा पहुँच दिन आवश्यक पर्छ”, फुयालकै छिमेकी ८५ वर्षीय छविलाल दाहालले भन्नुभयो ।

बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार

तनहुँ, ११ वैशाखः जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ ।

आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिनुभयो ।

पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । पाण्डेले भन्नुभयो, “पुल निर्माण कार्य सकिएको छ, अब फिनिसिङ्को काम भइरहेकाले औपचारिक रूमा गाडी गुड्न मिलेको छैन । मोटरसाइकल भने गुड्न थालेका छन्, अबको एक हप्ताभित्रमा गाडी पनि आवतजावत गर्न मिल्छ । कम्पनीले उच्च प्राथमिकताका साथ काम गरेकाले यो सम्भव भएको हो ।”
निर्माण कम्पनीले अब छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ईमान्दार भएर काम गर्ने हो भने सम्झौता अवधिभन्दा अघि पनि काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश प्रवाह भएको छ । यसबाट अन्य निर्माण व्यवसायीले पनि केही सिक्न आवश्यक छ ।”

समयअगावै गुणस्तरीय निर्माण कार्यसम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको सोअनुसार पुल निर्माण कम्पनीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ ।

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख ३२४ बजेट विनियोजन गरिएको थियो । पुल बनेपछि आवागमन सहज हुनाका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिनुभयो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारीसाधन र स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौँ, ११ वैशाखः आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”

निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।

जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति  समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

विसं २०६२÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । 

प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् ।

जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ ।

आयोगका सदश्य डा प्रकाशकुमार श्रेष्ठले बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा पुरानो प्रोजेक्ट बैंकलाई पूर्ण रूपमा बन्द गरेर नयाँ प्राजेक्ट बैङ्क तयार पारिएको बताए । यद्यपि, पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’ का रूपमा राखेर राम्रा आयोजनालाई नयाँ प्रोजेक्ट बैङ्कमा सारिएको उनको भनाइ छ ।

‘आयोजना बैङ्क निकै अव्यवस्थित भयो । बैङ्कमा १८ हजारभन्दा बढी आयोजना राखिएका रहेछन् । गत वर्ष मात्रै अन्तिम समयमा करिब ११ हजार आयोजना प्रविष्ट गराइएको पाइयो’, अर्थ समिति बैठकमा डा श्रेष्ठले भने,’केहीको त नाम मात्रै प्रविष्ट गराइएको रहेछ । आयोजनाबारे अरू कुनै विवरण नै त्यहाँ छैन ।’

पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’का रूपमा राखेर हाल नयाँ प्रोजेक्ट बैङ्क तयार पारी छ हजार २०० भन्दा बढी आयोजना प्रविष्ट गरिसकेको उनले जानकारी दिए । जसमध्ये तीन हजार १८० आयोजना नयाँ छन् ।

आगामी आर्थिक वर्षको बजेटमा पर्ने आयोजना गत चैत मसान्तभित्रै प्रोजेक्ट बैङ्कमा प्रविष्ट गरिसक्नुपर्ने गरी आयोग आफैँले मापदण्ड बनाएको भए पनि अझै आयोजना प्रविष्ट गर्ने क्रम रोकिएको छैन ।

नयाँ प्रोजेक्ट बैङ्कमा राखिएका आयोजनाहरू धेरैजसो पूर्वाधार क्षेत्रसँग सम्बन्धित रहेको डा श्रेष्ठले बताए । सबैभन्दा धेरै सहरी विकास मन्त्रालयका मात्र दुई हजार ४२५ भन्दा बढी आयोजना प्रविष्ट भइसकेका छन् ।

यस्तै, खानेपानी मन्त्रालयका दुई हजार ११८ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक हजार १०० भन्दा बढी आयोजना बैङ्कमा राखिएका छन् ।

नेपाल सरकारको वार्षिक बजेटमा पर्ने आयोजनालाई अनिवार्य रूपमा प्रोजेक्ट बैङ्कमा राख्नुपर्ने व्यवस्थासहित आयोगले मापदण्ड तयार पारेको छ । राष्ट्रिय आयोजना बैङ्क (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ अनुसार निश्चित उद्देश्य, लक्ष्य र परिणामका लागि कार्यान्वयन गरिने समयसीमा तथा बजेट लागतसमेत खुलाएर प्रोजेक्ट बैङ्कमा आयोजना प्रविष्ट गर्नुपर्ने हुन्छ ।

पूर्वतयारी सम्पन्न भइसकेका, निर्माणसम्पन्न भएपछि सार्वजनिक सम्पत्तिमा वृद्धि वा रुपान्तरण हुने पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय तथा अन्य विकाससँग सम्बन्धित कार्यलाई आयोजना मानिने र त्यस्ता आयोजना प्रोजेक्ट बैङ्कमा राखिने मापदण्डमा उल्लेख छ ।

यस्तै, आयोजना निर्माणको स्रोत पनि खुलाउनुपर्ने हुन्छ । नेपाल सरकारको स्रोत, वैदेशिक तथा आन्तरिक ऋण वा अनुदानमा सञ्चालन हुने सबै खालका आयोजनालाई प्रोजेक्ट बैङ्कमा राख्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक–निजी साझेदारीमा सञ्चालन हुने आयोजना, प्रदेश तथा स्थानीय सरकारबाट कार्यान्वयन हुने राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि प्रोजेक्ट बैङ्कमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्डअनुसार रु तीन करोडभन्दा बढी लागत भएका वा विनियोजन भएका आयोजना मात्र यसमा प्रविष्टि गर्नुपर्ने हुन्छ । यस्तै, चालु प्रकृतिका वा सालबसाली रूपमा कार्यान्वयन हुने आयोजना वा कार्यक्रमबाहेकका अन्य आयोजना मात्र राष्ट्रिय आयोजना बैङ्कमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ आयोजनाको हकमा प्रोजेक्ट बैङ्कमा चालु आर्थिक वर्षको फागुन मसान्तभित्र प्रविष्टि गरिसक्नुपर्ने व्यवस्था मापदण्डमा राखिएको छ तर आगामी आर्व २०८२/८३ का लागि भने चैत मसान्तभित्र आयोजना प्रविष्टि गरिसक्नुपर्ने व्यवस्था मापदण्डमा राखिएको थियो । यद्यपि, विभिन्न मन्त्रालय तथा निकायहरूबाट आयोजना प्रवृष्टि हुनेक्रम जारी रहेको आयोगका सदस्य श्रेष्ठले समितिमा स्वीकार्नुभयो । जुन विद्यमान प्रोजेक्ट बैङ्कसम्बन्धी मापदण्डको व्यवस्थाविपरीत हुनजान्छ ।

बजेटमा जथाभावी आयोजना हाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रोजेक्ट बैङ्कको अवधारणा ल्याइएको हो । पूर्वतयारी नै नसकिएका, स्रोत सुनिश्चितता नभएका, लागतका आधारमा निकै कम प्रतिफल दिने आयोजना बजेटमा पर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न यो ल्याइएको हो । यसलाई सरकारका अन्य विभिन्न सूचना प्रणालीसँग आबद्ध गर्नुपर्ने व्यवस्था मापदण्डमा राखिएको छ ।

आयोजना बैङ्कलाई मध्यमकालीन खर्च संरचना, समपूरक र विशेष अनुदान प्रणालीबीच आवश्यक सूचना आदानप्रदान हुनेगरी अन्तरआबद्धता कायम गर्नुपर्ने हुन्छ । यस्तै, अर्थ मन्त्रालयसँगको समन्वयमा बजेट व्यवस्थापन सूचना प्रणाली, सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा विद्युतीय खरिद प्रणाली तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको समन्वयमा एकीकृत ‘अनलाइन’ अनुगमन प्रणालीसँग आयोजना व्यवस्थापन सूचना प्रणालीलाई अन्तरआबद्धता कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्राजेक्ट बैङ्कमा कुनै योजना तथा कार्यक्रम प्रविष्टि गर्दा विभिन्न कागजात पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ । जसअन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन वा विस्तृत आयोजना प्रतिवेदन, आयोजनाको सङ्क्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

यस्तै, आयोजनाका लागि जग्गा अधिग्रहण गर्नुपर्ने भए सोको कार्ययोजना, खरिद योजना, कार्यान्वयन कार्ययोजना, नतिजा खाकालगायत विषयहरू उल्लेख गर्नुपर्ने हुन्छ । पुरानो प्रोजेक्ट बैङ्कमा यी कागजात नै उपलब्ध नरहेका आयोजना धेरै सङ्ख्यामा थिए । जसकारण त्यसलाई काँटछाँट गर्नु परेको आयोगको दाबी छ । यद्यपि, नयाँ प्रोजेक्ट बैङ्कमा समावेश हुने परियोजनाको गुणवेत्ता कस्तो हुने भन्नेमा पनि प्रश्न गर्ने पर्याप्त ठाउँ देखिन्छन् ।

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ११ वैशाखः बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढङ्गले वृद्धि भइरहेको र यस अवधिसम्म  रु सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । “कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म रु चार करोड ३० लाख राजस्व सङ्कलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु तीन करोड छ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ । पछिल्ला महिनामा राजस्व सङ्कलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो ।  

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा रु एक करोड दुई लाख रकम राजस्व सङ्कलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व सङ्कलन बढेको जनाएको छ । यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट रु तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट रु तीन करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व सङ्कलन भएको छ । 

यातायात क्षेत्रको आम्दानीबापत रु ४० लाख ८४ हजार ५४० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत रु २५ हजार ५०० र बेरुजुबापत रु ६७ हजार ३३६ रकम सङ्कलन भएको छ । कार्यालयले चालु आवमा करिब रु १० करोड राजस्व सङ्कलन हुने अनुमान गरेको छ ।

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

भारतले जम्मु-कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले ‘सिमा-पार आतङ्कवाद’ लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।

विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको ‘इन्डस जल सम्झौता’ तत्काल स्थगित गर्ने निर्णय गरेको छ। उहाँले भन्नुभयो, “जबसम्म पाकिस्तानले सिमा-पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ।”

इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन-तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो। सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो।

साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ। यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ। यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ।

भारतले थप रूपमा नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। यस्तै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ।

कश्मीरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो। घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन। सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

भारत र पाकिस्तान दुवैले कश्मीर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ। इन्डस नदी एशियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो ।यस घटनासँगै भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।

तराईमा आगामी दुई दिन अत्यधिक गर्मीको सम्भावना,सावधानी अपनाउन अनुरोध

काठमाडौँ, १० वैशाख : जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

विभागले भनेको छ, “आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी दुई दिन तातो लहरकोसमेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”

जारी विशेष बुलेटिनमा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख छ । 

साथै मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ । 

सम्भावित असर

विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरु जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरु अपनाउन हुन अनुरोध गरेको छ ।

सावधानीका उपाय

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्तमात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ । 

यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध गरिएको छ ।

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

काठमाडौँ, १० वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताउनुभएको छ ।

आज सिंहदरबारभित्रमा मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उहाँले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिंहदरबारमा प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको छ । यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।”

यही वैशाख मसान्तसम्मा सिंदरबारमा मेलम्चीको सफा पानी वितरण गरिने मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना छ । शुद्ध पानी सबैको पहुँचमा पु¥याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।”

कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति

काठमाडौँ, १० वैशाख : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यातायात व्यवसायी र मजदुरको समस्या कांग्रेसले समाधान गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पार्टी लाग्ने बताउनुभयो ।

  “यातायात क्षेत्रको लगानी देशको विकाससँग जोडिएको छ, यसको संरक्षण गर्ने जिम्मा सरकारको यो, तीनै तहसँग जोडिएको यातायात क्षेत्रको मुद्दालाई पार्टीले समन्वय गरेर समाधान निकाल्छ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकको राजनीतिक अस्थिरता चिर्नका लागि कांग्रेस र एमालेबीच गठबन्धन भएको भन्दै गठबन्धनको मर्म र भावनाअनुसार सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । सबै राजनीतिक दलसँग छलफल गरेर संविधान संशोधनमा सरकार लाग्नुपर्ने उहाँको भनाइ थियो । 

  कांग्रेस उपसभापति धनराज गुरूङले नेपालको रोजगारी सिर्जना गर्ने ठूलो सेवामूलक क्षेत्र यातायात क्षेत्र भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताउनुभयो । यातायात क्षेत्रले मुलुकले राम्रो राजस्व सङ्कलन गरिरहेको उहाँको भनाइ थियो । उहाँले यातायात व्यवसायीले राखेको मागप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै माग सम्बोधनका लागि पार्टी लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

  कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विसं २०४६ पछि कांग्रेस नेतृत्वमा बनेको सरकारले लिएको नीतिका कारण गाउँगाउँमा मोटरबाटो र यातायात पुग्न थालेको स्मरण गर्नुभयो । मोटरबाटो र यातायातको विकासविना देशको विकास हुन नसक्ने उहाँको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनको मारमा नेपालको यातायात क्षेत्र परेको बताउनुभयो । उहाँले शिक्षकसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

  कृषिमन्त्री रामनाथ अधिकारीले सुरक्षित यात्राका लागि यातायात व्यवसायीले नागरिकमा विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य सीता गुरूङ, शिवप्रसाद हुमागार्इं बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँ, ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायतले यातायात क्षेत्रमा गरिएको लगानी सुनिश्चित गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले १२ खर्ब लगानी र १५ लाख श्रमिकलाई रोजगारी प्रदान गरेको यातायात क्षेत्रको पुँजी र श्रमको संरक्षण हुनुपर्ने बताउनुभयो ।

  नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कमाचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतम, नेपाल यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले व्यवसायीको मुद्दामा एकजुट भएर अगाडि बढेमात्र आफ्नो माग सम्बोधन हुने बताउनुभएको थियो ।

उहाँहरूले सर्वोच्च अदालतले यातायात समितिलाई कायम राख्ने फैसला गरिसकेको भन्दै यसलाई कार्यान्वयनका लागि सरकारले काम गर्नुपर्ने बताउनुभएको थियो । आज र भोलि चल्ने महाधिवेशनमा देशभरबाट झण्डै ५०० प्रतिनिधिहरू काठमाडौँ आउनुभएको छ । महाधिवेशनले  नयाँ नेतृत्वसमेत चुन्नेछ ।

कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

काठमाडौँ, १० वैशाख : काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो ।

हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा परेर रिमकला घाइते हुनुहुन्छ ।

मन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिनुभएको थियो । मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गर्नुभएको थियो ।

सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौँ हवाई जहाजमा तथा लखनौबाट नेपालको सीमासम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो । दिल्लीबाट लखनौँको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ । त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गर्नुभएको छ ।

घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो । सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । सो आतङ्ककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।

काठमाडौँ महानगरपालिकाले थाल्यो सहकारीको अनुगमन

काठमाडौँ, १० वैशाख : काठमाडौँ महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र आकस्मिक अनुगमन सुरू गरेको छ । कामपा सहकारी विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित सहकारी अनुगमन टोलीले गत चैतदेखि नै अनुगमन सुरू गरेको हो ।

प्रमुख ढकालका अनुसार अहिलेसम्म १० वटा सहकारी संस्थाको अनुगमन गरिसकेको छ । यसपटक ४० वटाको अनुगमन गर्ने लक्ष्य छ । अनुगमनका लागि ५६ वटा सूचक निर्धारण गरिएका छन् । यिनै सूचकका आधारमा अनुगमन हुन्छ । अनुगमनमा जनप्रतिनिधि, कर्मचारी, वित्तीय विश्लेषक र अभियानकर्तासहितको टोली छ । सहकारीहरूलाई तीन भागमा वर्गीकरण गरेर अनुगमन योजना बनाइएको टोलीका संयोजक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गुनासा आएका, असल अभ्यास भएका र रू २५ करोड धेरै लगानी भएका सहकारी प्राथमिकतामा छन् ।

कामपाको सहकारी ऐन २०७४ को दफा ७९ र दफा १९६, नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा ३० को उपदफा (२) बमोजिम समिति गठन गरिएको हो । समितिलाई अनुगमन सूचकको अधिनमा सम्बन्धित वडा समितिसँगको समन्वय र सहयोगमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । टोलीले वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञको सहयोगमा नियामकीय क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको अनुगमन गर्ने र प्रतिवेदन तयार पार्नेछ ।

कामपाको कार्यक्षेत्र भएका एक हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये २०८०/०८१ को साधारणसभाको विवरण अद्यावधिक गराउनेको सङ्ख्या ७५० रहेको छ । सहकारी तथा गरिबीसम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोअपरेटिभ एण्ड पोभर्टी रिलेटेड म्यानेजमेन्ट इन्फरमेसन सिस्टम–कोपोमिस) मा दर्ता भएका सहकारीको सङ्ख्या एक हजार ७४८ छ । दुई वटा समस्याग्रस्त घोषणा भएका सहकारी छन् ।

टोलीमा फागुन २३ गतेको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयानुसार गठित टोलीमा काठमाडौँ जिल्ला सहकारी सङ्घका अध्यक्ष सुमन केसी, सहकारी विभागका शाखा अधिकृत नारायण विक र लेखापाल दीपेन्द्र केसी सदस्य हुनुहुन्छ । सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटामगर समितिको सदस्य सचिव हुनुहुन्छ ।

एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला

सिन्धुपाल्चोक, १० वैशाख : ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् ।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मङ्गलबार साझँदेखि सम्पर्कविहीन भएका थिए ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन् । सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन् ।

बा २ क ९०५६ नं को एक्स्काभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ ।

सरकारको नीति कार्यक्रम तथा बजेटको तयारी

सुदूरपश्चिम, १० वैशाख : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र बजेट तर्जुमाका विषयमा आज छलफल सुरू गरेको छ ।

छलफलका क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने र कार्यान्वयन योग्य नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गरी सोको प्रतिवेदन आगामी १५ दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मातहतका मन्त्रालयलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्रीले नागरिक जीवनसँग सम्बन्धित प्रभावकारी एवं नवीनतम नीति कार्यक्रम र आवश्यकताअनुसार योजनाको छनोटमा ध्यान दिनुपर्ने बताउनुभयो ।

दीर्घकालीन कार्यक्रमहरू र कार्यान्वयनको अवस्था, आयोजना बैंक कार्यान्वयनको प्रारम्भ एवं आगामी वर्ष संस्थागत विकास गरिने विषय, चालु खर्च कटौती गर्ने, पुँजीगत खर्च बढाउने, विकासमा सुशासन, नागरिक सहभागिता एवं उपभोक्त समितिको कामको प्रभावकारितालगायत विषयमा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा छलफलमा प्रदेश सरकारका मन्त्री, सचिवलगायतको सहभागिता थियो ।

तत्कालीन सरकारले गत असार १ गते चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा पेस गरेपनि बजेटमाथि छलफल गरेर पारित नहुँदै सत्तासमीकरण फेरिएपछि मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाह नेतृत्वको सरकारले ढिलोगरी भदौ महिनामा चालु वर्षका लागि अर्को बजेट ल्याएको थियो ।

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ – अर्थमन्त्री पौडेल

काठमाडौँ, १० वैशाख : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले न्यून बजेट खर्चप्रति सम्बन्धित मन्त्रालय नै जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।

“अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ । अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो । तर विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री पौडेलले बेरुजु फछ्र्यौट, वैदेशिक लगानीलाई सहजीकरण, पुँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाहलगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गानाले आर्थिक तथा मौद्रिक परिसूचकहरुले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिनुभयो ।

अर्थसचिव घनश्याम उपाध्यायले नियमन र कारबाहीलाई प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले बैठकमा आगामी आर्थिक वर्षका लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

युक्रेन अग्रिम मोर्चा रोक्ने पुटिनको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको द्वन्द्व अन्त्य गर्ने आफ्नो वाचा पूरा गर्न खोजिरहनुभएको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वर्तमान अग्रिम मोर्चामा युक्रेनमा रुसको आक्रमण रोक्न प्रस्ताव गर्नुभएको फाइनान्सियल टाइम्स (एफटी) ले मङ्गलबार रिपोर्ट गरेको छ ।

‘यस मामिलासँग परिचित व्यक्तिहरू’ लाई उद्धृत गर्ने एफटीका अनुसार पुटिनले यस महिनाको सुरुमा सेन्ट पिटर्सबर्गमा अमेरिकी दूत स्टिभ विटकफसँगको बैठकमा यो प्रस्ताव राख्नुभएको थियो ।

यो लेख त्यस समयमा आएको छ जतिबेला पश्चिमी र युक्रेनी कूटनीतिज्ञहरू तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्वमा सम्भावित समझौताबारे छलफल गर्न लन्डनमा भेला हुने अपेक्षा गरिएको थियो, साथै वार्तामा के कुरा राखिएको छ भन्ने बारे मिडियामा अनुमान गरिएको थियो ।

रुसी राष्ट्रपति पुटिनले रुसद्वारा आंशिक रूपमा कब्जा गरेका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझियाका केही भागमा मस्कोको दाबी फिर्ता लिन इच्छुक हुनेभएको एफटीले जनाएको छ ।

वित्तीय दैनिकका अनुसार बदलामा संयुक्त राज्य अमेरिकाले रुसका अन्य प्रमुख मागहरू स्वीकार गर्न सक्छ, जसमा सन् २०१४ मा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपमाथि उसको सार्वभौमिकतालाई मान्यता र युक्रेनलाई नाटोमा सामेल हुनबाट रोक्ने कुरा समावेश छ ।

क्रेमलिनले यी दाबीहरूलाई अस्वीकार गरेको देखिन्छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राज्य समाचार एजेन्सी आरआइए नोभोस्तीलाई भन्नुभयो, “यस समयमा सम्मानित प्रकाशनहरू सहित धेरै नक्कली प्रकाशित भइरहेका छन्, त्यसैले तपाईंले प्राथमिक स्रोतहरू मात्र सुन्नुपर्छ ।”

किएभ र यसका युरोपेली सहयोगीहरूले युक्रेनको सन् २०१४ अघिको सीमाहरूको पूर्ण पुनःस्थापनाको माग गरेका छन् । यसलाई अमेरिकी रक्षामन्त्री पिट हेगसेथले ‘अवास्तविक’ भन्नुभएको छ ।

भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न

काठमाडौँ, १० वैशाख : भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्कनुभएको छ ।

मन्त्री खट्टरको भ्रमणले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको छ ।

प्रसारण लाइनको अभावमा नेपालमा उत्पादित विद्युत् खेर जानसक्ने चिन्ताकाबीच भारतसँग ४०० केभी क्षमताका अन्तर्देशीय दुई प्रसारणलाइन निर्माणका लागि सम्झौता हुनु ऐतिहासिक कदम मानिएको छ ।

सम्झौतासँगै अब बन्ने इनरुवा–न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ भने दोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहनेछ । यी प्रसारण संरचनाले भारत–नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउने आशा गरिएको छ ।

दुई देशबीच भएको सम्झौतामा नेपालको पूर्वी क्षेत्रमा उत्पादित विद्युत् इनरुवा–न्यु पूर्णिया अन्तरदेशीय प्रसारणलाइनबाट भारतसहित तेस्रो मुलुक बङ्गलादेशसम्म बिक्री गर्ने बाटो खुल्नेछ ।

नेपालको दोधारा र भारतको बरेली प्रसारण लाइन निर्माणपछि नेपालको पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्न सहज हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का इनरुवा–न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन केबल संरचना मात्र नभएर दुई देशबीचको आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा रहेको बताउनुहुन्छ ।

“हामीले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौँ, भारतका समकक्षी मन्त्री खट्टरजीको भ्रमणले यो लक्ष्यप्राप्तिका लागि आवश्यक संरचना र सहकार्यमा महत्त्वपूर्ण टेवा पु¥याउनेछ”, उहाँले भन्नुभयो ।

भारतीय विद्युत्मन्त्री खट्टर नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति भारतका लागिसमेत महत्त्वपूर्ण भएको बताउनुहुन्छ । अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा भएको उहाँको भनाइ थियो ।

भ्रमणका क्रममा मन्त्री खट्टरले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग संयुक्त रूपमा सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो । दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्र निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिसँग आयोजनाको कामका बारेमा जानकारी लिनुभएको थियो ।

यसैगरी, भारतीय मन्त्री खट्टरले पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको थियो । मुक्तिनाथ यात्राका क्रममा उहाँसँग ऊर्जामन्त्री खड्का र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो ।

नेपाल भ्रमणकै क्रममा मन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।