`

युक्रेन अग्रिम मोर्चा रोक्ने पुटिनको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको द्वन्द्व अन्त्य गर्ने आफ्नो वाचा पूरा गर्न खोजिरहनुभएको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वर्तमान अग्रिम मोर्चामा युक्रेनमा रुसको आक्रमण रोक्न प्रस्ताव गर्नुभएको फाइनान्सियल टाइम्स (एफटी) ले मङ्गलबार रिपोर्ट गरेको छ ।

‘यस मामिलासँग परिचित व्यक्तिहरू’ लाई उद्धृत गर्ने एफटीका अनुसार पुटिनले यस महिनाको सुरुमा सेन्ट पिटर्सबर्गमा अमेरिकी दूत स्टिभ विटकफसँगको बैठकमा यो प्रस्ताव राख्नुभएको थियो ।

यो लेख त्यस समयमा आएको छ जतिबेला पश्चिमी र युक्रेनी कूटनीतिज्ञहरू तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्वमा सम्भावित समझौताबारे छलफल गर्न लन्डनमा भेला हुने अपेक्षा गरिएको थियो, साथै वार्तामा के कुरा राखिएको छ भन्ने बारे मिडियामा अनुमान गरिएको थियो ।

रुसी राष्ट्रपति पुटिनले रुसद्वारा आंशिक रूपमा कब्जा गरेका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझियाका केही भागमा मस्कोको दाबी फिर्ता लिन इच्छुक हुनेभएको एफटीले जनाएको छ ।

वित्तीय दैनिकका अनुसार बदलामा संयुक्त राज्य अमेरिकाले रुसका अन्य प्रमुख मागहरू स्वीकार गर्न सक्छ, जसमा सन् २०१४ मा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपमाथि उसको सार्वभौमिकतालाई मान्यता र युक्रेनलाई नाटोमा सामेल हुनबाट रोक्ने कुरा समावेश छ ।

क्रेमलिनले यी दाबीहरूलाई अस्वीकार गरेको देखिन्छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राज्य समाचार एजेन्सी आरआइए नोभोस्तीलाई भन्नुभयो, “यस समयमा सम्मानित प्रकाशनहरू सहित धेरै नक्कली प्रकाशित भइरहेका छन्, त्यसैले तपाईंले प्राथमिक स्रोतहरू मात्र सुन्नुपर्छ ।”

किएभ र यसका युरोपेली सहयोगीहरूले युक्रेनको सन् २०१४ अघिको सीमाहरूको पूर्ण पुनःस्थापनाको माग गरेका छन् । यसलाई अमेरिकी रक्षामन्त्री पिट हेगसेथले ‘अवास्तविक’ भन्नुभएको छ ।

भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न

काठमाडौँ, १० वैशाख : भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्कनुभएको छ ।

मन्त्री खट्टरको भ्रमणले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको छ ।

प्रसारण लाइनको अभावमा नेपालमा उत्पादित विद्युत् खेर जानसक्ने चिन्ताकाबीच भारतसँग ४०० केभी क्षमताका अन्तर्देशीय दुई प्रसारणलाइन निर्माणका लागि सम्झौता हुनु ऐतिहासिक कदम मानिएको छ ।

सम्झौतासँगै अब बन्ने इनरुवा–न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ भने दोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहनेछ । यी प्रसारण संरचनाले भारत–नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउने आशा गरिएको छ ।

दुई देशबीच भएको सम्झौतामा नेपालको पूर्वी क्षेत्रमा उत्पादित विद्युत् इनरुवा–न्यु पूर्णिया अन्तरदेशीय प्रसारणलाइनबाट भारतसहित तेस्रो मुलुक बङ्गलादेशसम्म बिक्री गर्ने बाटो खुल्नेछ ।

नेपालको दोधारा र भारतको बरेली प्रसारण लाइन निर्माणपछि नेपालको पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्न सहज हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का इनरुवा–न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन केबल संरचना मात्र नभएर दुई देशबीचको आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा रहेको बताउनुहुन्छ ।

“हामीले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौँ, भारतका समकक्षी मन्त्री खट्टरजीको भ्रमणले यो लक्ष्यप्राप्तिका लागि आवश्यक संरचना र सहकार्यमा महत्त्वपूर्ण टेवा पु¥याउनेछ”, उहाँले भन्नुभयो ।

भारतीय विद्युत्मन्त्री खट्टर नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति भारतका लागिसमेत महत्त्वपूर्ण भएको बताउनुहुन्छ । अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा भएको उहाँको भनाइ थियो ।

भ्रमणका क्रममा मन्त्री खट्टरले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग संयुक्त रूपमा सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो । दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्र निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिसँग आयोजनाको कामका बारेमा जानकारी लिनुभएको थियो ।

यसैगरी, भारतीय मन्त्री खट्टरले पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको थियो । मुक्तिनाथ यात्राका क्रममा उहाँसँग ऊर्जामन्त्री खड्का र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो ।

नेपाल भ्रमणकै क्रममा मन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

किमाथाङ्का, (सङ्खुवासभा), १० वैशाख : उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्ड सञ्चालन भएको छ । पहिरो हटाउपछि अवरुद्ध यातायात झण्डै १० घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान ६ः३० बजे अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

खाँदबारी–भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा स्काभेटर पहिरो हटाएपछि आज दिउँसो ४ बजेदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उत्तर दक्षिण कोशी सडक कार्यालयको स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । रातभरको वर्षापछि आएको बाढीले खाँदबारी–भोटखोला सडक खण्डको कच्ची सडक बगाएको थियो ।

सो क्षेत्रमा लगातार पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

‘विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँ’ – मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), १० वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशका दशवटै जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका बालबालिकासँगको साक्षात्कारमा उहाँले आफ्नो मात्र नभएर विद्यालय जान नपाएका बालबालिकाको पनि सवाललाई उठाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले विद्यालय जान नपाएका बालबालिका बारेमा घर छिमेकमै रहेका बालबालिका नै बढी जानकार हुनेहुँदा उनीहरूलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगीको भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “तपाईहरूकै घरछिमेकका बालबालिका अझै विद्यालय बाहिर छन्, उनीहरूलाई प्रेरित गर्नुहोला ।”

समाजमा देखिएका हानिकारक कूरीति अन्त्य गर्न बालबालिकाको भूमिका महत्त्वपूर्ण हुने पनि मुख्यमन्त्री कँडेलले बालबालिकालाई सुझाव दिनुभयो । हानिकारक कूरीति जन्मिने घरबाट भएकाले आफ्नो घरमा त्यस्तो कूरीति बढ्न नदिन अभिभावकलाई सचेत गराउनुपर्ने मुख्यमन्त्री कडेलको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले राजनीति बुझ्ने तर सानै उमेरमै राजनीति नगर्न पनि बालबालिकालाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यो उमेरकै तपाईहरूलाई राजनीति गर्नुस् त भन्दिन, तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला । राजनीति भनेको अधिकारको खोजीको यात्रा हो ।”

मुख्यमन्त्री कँडेलले बालअधिकारका विषयमा राखेका विषय सान्दर्भिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि लाग्न बालबालिकालाई सुझाव दिनुभयो । यसैबीच कर्णाली प्रदेशस्तरीय बाल सञ्जालका पदाधिकारी र सदस्यले आज भेटघाट गरी ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै सञ्जालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाको उचित सवालको समयमै व्यवस्थापन गर्नुपर्ने, बालविवाह न्यूनीकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथाहरू बालविवाह, जातीय छुवाछूत, छाउपडी प्रथा, अपाङ्गतामाथिको हिंसा न्यूनीकरण गर्न कानुनसँगै व्यवहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गनुभयो ।

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

टर्कीएको इस्तानबुल र वरपरका क्षेत्रमा बुधबार दिउँसो ६.२ रिक्टर स्केलको भूकम्प गएको छ। टर्कीएको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म गम्भीर क्षति वा मानवीय क्षतिको रिपोर्ट आएको छैन।

भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो।

भूकम्पपछि केही पश्चात्कम्पहरू पनि आएका छन्, जसमध्ये एक ५.३ मापनको थियो।

भूकम्प हुँदा धेरै मानिसहरू सडकमा भागेका थिए। केही स्थानमा भवनबाट हाम फाल्दा मानिसहरू घाइते भएको जनाइएको छ। एक पुरानो खाली भवन भत्किएको खबर आएको छ।

इस्तानबुलको मेयरहरूले क्षति धेरै नरहेको भए पनि त्रास फैलिएको बताउनुभएको छ।

शिक्षकका आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने सांंसदहरुको सुझाव

काठमाडौँ, १० वैशाख : सांंसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।

आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् ।

बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको पढाइमा असर परिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

“अहिले पनि शिक्षक विभिन्न मागसहित आन्दोलनरत छन् । जसले गर्दा विद्यार्थीको भर्ना रोकिएको अवस्था छ । उनीहरुको आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भनेर सरकारलाई सुझाव दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले गोरखास्थित बारपाकमा २०७२ को भूकम्पपछिको पुनर्निमाण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । सांसद सुमित्रा विसीले पछाडि परेका प्रदेशहरुलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा उठाइएका विषयबस्तुलाई सम्बोधन गर्न छलफल गरिने प्रतिबद्धता जनाउनुभयो ।

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

काठमाडौँ, १० वैशाख : सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी गराउनुभएको हो ।

यसैगरी, सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्नेसमेत निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । साथै यही वैशाख १६ देखि २२ गतेसम्म भारतको नयाँदिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सचिव डा कमलप्रसाद पोखरेलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

सासेक विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनका लागि सैद्धान्तिक सहमति दिने र उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको मन्त्री गुरुङले बताउनुभयो ।

सरकारले आगामी जेठ २४ गतेदेखि ३१ गतेसम्म जापानमा आयोजना हुने ‘काउन्टर पार्ट प्रोग्राम’मा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई स्वीकृति प्रदान गर्ने, यही वैशाख २४ गतेदेखि २६ गतेसम्म श्रीलङ्का सरकारले कोलम्बोमा आयोजना गर्न लागेका १७औँ ‘रिमेस काउन्सिल मिटिङ एण्ड फोर्थ रिमेस मिनिस्टेरियल कन्फ्रेन्स’मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

बैठकले यही वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने दोस्रो ‘विलाटेरल टक्स विटविन नारकोटिक्स कन्ट्रोल अथोरिटिज अफ नेपाल एन्ड इन्डिया’मा गृह मन्त्रालयका सहसचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी यही वैशाख ८ गतेदेखि १२ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युनाइटेड नेसन इकोनोमिक एण्ड सोसियल कम्युनिकेसन फर एसिया एण्ड द पेसिफिक(युएनइएसएपी) को ८१औँ सत्रमा अध्यक्षता गर्नेगरी सहभागी हुन परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारका नाममा दर्ता स्रेस्ता रहेको कपिलवस्तु जिल्ला, साविक बहादुरगञ्ज गाविस वडा नं ८ ख को ८–१०–९ बिघा सरकारी जग्गा प्रदेशस्तरीय बागवानी स्रोत केन्द्र निर्माण गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई उपयोग गर्न सरकारले स्वीकृति दिएको छ ।

सरकारका नाममा रहेको रुपन्देही जिल्ला साविक मोतिपुर गाविस वडा नं ७ ख को ०–८–० बिघा सरकारी जग्गा बुटवल उपमहानगरपालिका वडा नं १९ को वडा कार्यालय भवन निर्माण गर्न बुटवल उपमहानगरपालिका रुपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सरकारले यही वैशाख ३० र ३१ गते जर्मनीको बर्लिनमा आयोजना हुने ‘युएन पिसकिपिङ मिनिस्ट्रयल २०२५’ मा रक्षामन्त्री मानवीर राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

यही वैशाख र जेठ महिनामा ‘जोइन्ट इन्डो–माउन्टेरिङ टु माउन्ट कञ्चनजङ्घा’ कार्यक्रमअन्तर्गत भारतीय सेनाकोतर्फबाट १० जना र नेपाली सेनाकोतर्फबाट १३ जनागरी कूल २३ जना आरोही समावेश आरोहण दललाई कञ्चनजङ्घा हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर पूर्ण रूपमा छुट दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

नेपाल र हङ्कङबीच हस्ताक्षर हुने ‘एमओयु अन कल्चरल कोपरेसन विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एण्ड सिभिल एभिएसन अफ नेपाल एण्ड द कल्चर’, ‘स्पोर्टस् एण्ड टुरिजम ब्युरो अफ द गर्भरमेन्ट अफ द हङ्कङ स्पेशन एड्मिनिस्ट्रेटिभ रिजन अफ द पिपुल्स रिपब्लिक अफ चाइना’ विषयक समझदारीपत्र स्वीकृत गर्ने र उल्लिखित समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न नेपाल सरकारकोतर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सर्वोच्च अदालत र अन्तर्गतका निकायको मौजुदा सङ्गठन संरचना र दरबन्दी संशोधन गर्ने, आगामी जेठ ११ गतेदेखि जेठ १३ गतेसम्म क्यानडामा आयोजना हुने ‘ग्लोबल कन्फ्रेन्स अफर अ कास्ट फ्रि वर्ल्ड’ कार्यक्रममा सहभागी हुन राष्ट्रिय दलित आयोगको अध्यक्ष देवराज विश्वकर्मालाई स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गर्ने, सार्वजनिक खरिद (चौधौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव चन्द्रकला पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङ्ले बताउनुभयो ।

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक

विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक सङ्कटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेको भए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् ।

दक्षिण एसियाली यस मुलुकको वृद्धिले बैंकको चार दशमलव चार प्रतिशतको पूर्वानुमानलाई पार गर्दै सन् २०२४ मा पाँच प्रतिशत दर्ता गरेको छ । यो सन् २०२२ को सङ्कट पछि पहिलो आर्थिक विस्तार हो ।

“अर्थतन्त्र सुधार हुँदै जाँदा धेरै श्रीलङ्कालीहरू अझै पनि सङ्घर्ष गरिरहेका छन्… सन् २०२४ मा गरिबीको दर २४ दशमलव पाँच प्रतिशतमा खतरनाक रूपमा उच्च रहेको छ”, बैंकले मुलुकको पछिल्लो अपडेटमा भन्यो, “श्रम बजारले निरन्तर सङ्घर्ष गरिरहेको छ, जसले गर्दा मानिसहरूले विदेशमा अवसरहरू खोज्दा आप्रवासन बढेको छ । घरको आम्दानी, रोजगारी र समग्र कल्याण सङ्कटपूर्वको स्तरभन्दा निकै तल रहेको छ ।”

बैंकले तलब अझै सन् २०१९ को स्तरमा पुग्न बाँकी रहेको बताएको छ । त्यसबेलादेखि दैनिक तीन दशमलव ६५ डलरभन्दा कम कमाउनेहरूद्वारा मापन गरिएको गरिबी दोब्बर भएको छ ।

आंशिक रूपमा अमेरिकी भन्सार दरमा तीव्र वृद्धिबाट उत्पन्न विश्वव्यापी व्यापार अनिश्चितताका कारण सन् २०२५ मा तीन दशमलव पाँच प्रतिशतको वृद्धि मध्यम हुने बैंकले अनुमान गरेको छ ।

खाद्यान्न, इन्धन र औषधि जस्ता आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्काले सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न असफल भएको थियो ।

आवश्यक वस्तुहरूको तीव्र अभावका कारण महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेलाई अपदस्थ गरेको थियो ।

उहाँका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट दुई अर्ब ९० करोड चार वर्षे राहत ऋण सुरक्षित गर्नुभयो, अनुदानहरू कटौती गर्नुभयो र अर्थव्यवस्थालाई स्थिर पार्न करहरू बढाउनुभयो ।

आइएमएफले यस महिनाको सुरुमा अमेरिकी भन्सार शुल्कहरू पुनःस्थापित भएमा श्रीलङ्काको पुनरुत्थान कमजोर हुन सक्ने चेतावनी दिएको थियो ।

संयुक्त राज्य अमेरिका श्रीलङ्काको सबैभन्दा ठूलो एकल बजार हो, जसले १२ अर्बको व्यापारिक निर्यातको लगभग एक चौथाइ ओगटेको छ । व्यापार सन्तुलन यो सानो दक्षिण एसियाली राष्ट्रको पक्षमा छ ।

वासिङ्टनले ९० दिनका लागि स्थगित गर्नुअघि यस टापु राष्ट्रमा ४४ प्रतिशत ‘पारस्परिक भन्सार शुल्क’ लगाएको थियो ।

श्रीलङ्काले कुनै प्रतिक्रिया दिएको छैन तर यसको सट्टा वासिङ्टनसँग वार्ताका लागि अपिल गरेको छ ।

सेप्टेम्बरमा सत्तामा आउनुभएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको नेतृत्वमा रहेको वामपन्थी प्रशासनले आफ्ना पूर्ववर्तीको धेरै मितव्ययिता उपायहरू कायम राखेको छ र वासिङ्टनसँग वार्ता रणनीति बनाउन सबै पक्षलाई मिलेर काम गर्न आग्रह गरेको छ ।

ट्रम्पको कर कटौतीको सङ्केतपछि व्यापार वार्ताका लागि ‘ढोका खुला’ रहेको चीनको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि ‘पर्याप्त’ भन्सार शुल्क घटाउने सम्भावनाको सङ्केत गरेको एक दिनपछि वासिङ्टनसँग व्यापार वार्ताका लागि ढोका ‘व्यापक रूपमा खुला’ भएको चीनले बुधबार बताएको छ ।

आफ्नो आक्रामक व्यापार नीतिबाट विश्व बजारलाई थप राहत दिँदै ट्रम्पले मङ्गलबार अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै इरादा नभएको बताउनुभयो ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले चीनबाट आउने धेरै उत्पादनमा एक सय ४५ प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउनुभएको छ ।

यसमा सुरुमा फेन्टानिल आपूर्ति शृृङ्खलामा चीनको कथित भूमिकामाथि लगाइएको भन्सार शुल्क र पछि वासिङ्टनले अनुचित ठानेका अभ्यासहरू समावेश छन् ।

बेइजिङले अमेरिकी सामानहरूमा एक सय २५ प्रतिशतको व्यापक प्रति–भन्सार शुल्कका साथ प्रतिक्रिया दिएको छ, तर बुधवार व्यापार वार्तामा संलग्न हुन इच्छुक रहेको दोहो¥याएको छ ।

“चीनले भन्सार शुल्क युद्ध र व्यापार युद्धमा कुनै विजेता नभएको प्रारम्भिक रूपमा औँल्याएको थियो”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बेइजिङमा दैनिक पत्रकार सम्मेलनमा भन्नुभयो, “वार्ताका लागि ढोका व्यापक रूपमा खुला छ ।”

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार व्यापार युद्धले ‘सबै देशको वैध अधिकार र हितलाई कमजोर पार्छ, बहुपक्षीय व्यापार प्रणालीलाई चोट पु¥याउँछ र विश्व आर्थिक व्यवस्थालाई असर पार्छ’ भनी चेतावनी दिनुभएको छ ।

ट्रम्पले एक सय ४५ प्रतिशत ‘धेरै उच्च’ स्तर हो र त्यो ‘उल्लेखनीय रूपमा तल आउनेछ’ भनेर स्वीकार गरेपछि बेइजिङबाट यो पुनः पुष्टि आएको हो ।

“तिनीहरू त्यो सङ्ख्याको नजिक कतै पनि हुने छैनन् तर यो शून्य हुने छैन”, उहाँले भन्नुभयो, “अन्ततः तिनीहरूले एउटा सम्झौता गर्नुपर्छ किनभने अन्यथा, तिनीहरू संयुक्त राज्य अमेरिकामा सम्झौता गर्न सक्षम हुने छैनन् ।”

अर्थमन्त्री स्कट बेसेन्टले मङ्गलबार एक कार्यक्रममा भन्सार शुल्कहरू पारस्परिक व्यापार प्रतिबन्धको मात्रामा पुगेको बताएपछि ती टिप्पणीहरू आएका हुन् ।

उक्त कार्यक्रममा रहेका एक व्यक्तिका अनुसार बेसेन्टले निकट भविष्यमा तनाव कम हुने अपेक्षा गर्नुभएको थियो ।

उहाँले प्रेसका लागि खुला नभएको जेपी मोर्गन चेसको आयोजनामा भएको कार्यक्रममा यस्तो विकासले बजारहरूलाई केही राहत दिनुपर्ने बताउनुभयो ।

बजार चिन्ता

पावेलविरुद्ध ट्रम्पको हालैका तीव्र आलोचनाले निष्कासनको डरलाई बढाएको थियो जसले आक्रामक व्यापार नीतिहरूले पहिल्यै तर्सिएका बजारहरूमा झन् चिन्ता फैलाएको थियो ।

ह्वाइट हाउसको व्यापक भन्सार शुल्क नीतिले सम्भवतः मुद्रास्फीतिको पुनरुत्थान गर्ने चेतावनी दिएकामा रिपब्लिकन राष्ट्रपति ट्रम्पले पावेलको आलोचना गर्नुभएको थियो ।

“उहाँलाई बर्खास्त गर्ने मेरो कुनै इरादा छैन”, मङ्गलबार ट्रम्पले भन्नुभयो, “म ब्याज दरहरू कम गर्ने उहाँको विचारको सन्दर्भमा उहाँ अलि बढी सक्रिय भएको हेर्न चाहन्छु–यो ब्याज दरहरू कम गर्ने सही समय हो । यदि उहाँले त्यसो गर्नुभएन भने, के यो अन्त्य हो ? होइन ।”

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वसन्त बैठकहरूको छेउमा बेसेन्टको व्यापार टिप्पणीहरूको प्रतिवेदन आएपछि वाल स्ट्रिटका प्रमुख सूचकाङ्कहरूमा उछाल आयो । बुधबार एसियाली बजारहरू सर्वत्र बढे ।

हङकङ र टोक्योका मुख्य सूचकाङ्कहरू दुवै लगभग दुई प्रतिशतले बढे भने सुनको मूल्य घट्यो । लगानीकर्ताहरूले आफ्नो परम्परागत सुरक्षित आश्रय खोजेको एक दिनपछि सुनको मूल्य रेकर्ड उच्च स्तरमा पुगेको थियो ।

धेरै राम्रो गर्दै

बेसेन्टले बेइजिङसँग दिनको अन्त्यमा धेरै गर्न बाँकी रहेको बताउनुभयो तर उहाँले निष्पक्ष व्यापारको आवश्यकतालाई उल्लेख गर्नुभयो र चीनले आफ्नो अर्थतन्त्रलाई पुनः सन्तुलनमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

व्यापार तनाव बढेका कारण हालै दुवै देशबीच कन्टेनर बुकिङ घटेको उल्लेख गर्दै उहाँले चीनसँग सम्बन्ध विच्छेद गर्ने लक्ष्य नभएको जोड दिनुभयो ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पनि वासिङ्टनले ‘चीनसँगको सम्भावित व्यापार सम्झौताको सन्दर्भमा धेरै राम्रो गरिरहेको’ पत्रकारहरूलाई बताउनुभयो ।

विश्वका वित्त मन्त्रीहरू र केन्द्रीय बैंकरहरू यस हप्ता वासिङ्टनमा भेला हुनेछन् । ट्रम्पको नयाँ र व्यापक–दायरा भएको भन्सार महसुलसँग देशहरूले जुझिरहेको बेला साइडलाइनमा व्यापार वार्ताको प्रगतिमा सबैको ध्यान केन्द्रित हुनेछ ।

चीनका विदेशमन्त्री वाङ यीले मङ्गलबार आफ्ना बेलायती र अस्ट्रियाली समकक्षीहरूसँग फोन वार्ता पनि गर्नुभयो र बेलायत र युरोपेली सङ्घलाई अन्तर्राष्ट्रिय व्यापारको संरक्षणमा बेइजिङसँग काम गर्न आग्रह गर्नुभयो ।

जापानले पनि अर्को हप्ता भन्सार महसुल दूत रियोसेई अकाजावाको वासिङ्टनको दोस्रो भ्रमणलाई हेरिरहेको थियो । स्थानीय मिडियाले टोकियोले ट्रम्पलाई शान्त पार्न छुटहरूबारे विचार गरिरहेको रिपोर्ट गरेको थियो ।

चीनले ‘शेन्जोउ–२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान यही बिहीबार अप्रिल २४ तारिखका दिन दिउँसो ५ः१७ बजे उत्तरपश्चिम चीनस्थित जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने जानकारी चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएसएमए) ले दिएको छ ।

‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्ष यान श्रृङ्खला ‘शेन्जोउ’ को एउटा सम्भावित भविष्यको मिशन हो, जुन चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनसँग सम्बन्धित हुनेछ । यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत सञ्चालन हुने मिशनहरूमा पर्दछ, जसलाई चीनको अन्तरिक्ष एजेन्सी (सीएसएमए) ले व्यवस्थापन गर्छ । शेन्जोउ मिशन अन्तरिक्ष यात्री र वैज्ञानिक उपकरणहरूलाई अन्तरिक्ष स्टेशनमा पठाउने तथा फर्काउने कार्यमा प्रयोग गरिन्छ । शेन्जोउ–२० ले पनि चालक दलको अनुसन्धानका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यस अन्तरिक्ष यानमा तीनजना अन्तरिक्ष यात्री डोङ (कमाण्डर), चेन् झोङरुई र वाङ जिए सहभागी हुनुहुनेछ । उक्त जानकारी सीएसएमएका प्रवक्ता लिन सीछ्याङले पत्रकार सम्मेलनमार्फत दिनुभएको हो ।

प्रवक्ता लिनका अनुसार, प्रक्षेपण हुने दिन चीनको दशौं ‘अन्तरिक्ष दिवस’ पनि परेको छ । चीनले सन् २०१६ देखि अप्रिल २४ तारिखलाई आफ्नो पहिलो उपग्रह ‘दोंगफाङहोङ–१’ को सफल प्रक्षेपणको सम्झनामा अन्तरिक्ष दिवसको रूपमा मनाउँदै आएको छ ।

शेन्जोउ–२० को प्रक्षेपणका लागि लङ मार्च–२एफ नामक रकेट प्रयोग गरिनेछ, जसमा चाँडै इन्धन भरिने प्रक्रिया अगाडि बढ्नेछ । हाल सबै तयारी कार्यहरू सुचारु र व्यवस्थित रूपमा अघि बढिरहेको सीएसएमएले जनाएको छ ।

शेन्जोउ–२० मिशन चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको ३५औं उडान हो भने अन्तरिक्ष स्टेशनको प्रयोग र विकास चरणको पाँचौं मानवयुक्त मिशन हो ।

प्रक्षेपण पश्चात् करिब ६.५ घण्टाभित्र अन्तरिक्ष यानले स्वचालित रूपमा ’तियान्हे’ नामक कोर मोड्युलको रेडियल पोर्टमा डक गर्नेछ । यसरी तीन मोड्युल र तीन अन्तरिक्ष यान मिलेर एउटा संयोजन तयार हुनेछ ।

प्रवक्ता लिनका अनुसार, अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उहाँले थप जानकारी दिँदै ‘शेन्जोउ–२०’ का चालक दल आगामी अक्टोबर महिनाको अन्त्यतिर उत्तर चीनको डोङफेङ अवतरण स्थलमा सुरक्षित रूपमा फर्कने तालिका तय गरिएको बताउनुभएको छ ।

पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने

काठमाडौँ, १० वैशाखः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्दै आज उहाँले भन्नुभयो, “पार्टीका हरेक कमिटीमा युवाहरू ३३ प्रतिशत पु¥याउने गरी पार्टीले काम गरिरहेको छ, तीनपुस्ताको संयोजन गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर हामी लागिरहेका छौँ ।”

महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गर्नुभयो । उहाँले पार्टीका हरेक गतिविधिमा युवालाई प्रतिपस्र्धी बनाएर अब्बल बनाउने र महिला सशक्तीकरण तथा सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनेमसङ्घले युवा महिला सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले आज राष्ट्रिय युवा महिला भेला आयोजना गरेको हो । ‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेला आयोजना गरेको अनेम सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो ।

युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा महत्त्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताउनुभयो ।

भेलामा उत्पादन, उद्यमशीलता, रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल भइरहेको छ ।

सम्मेलनमा प्रदेश र जिल्ला कमिटीबाट करिब पाँच सय युवा महिलाको सहभागिता रहेको छ । अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको सहभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ ।

सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ ।

श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

काठमाडौँ, १० वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच द्विपक्षीय छलफल गर्नुभएको छ ।

आज यहाँ भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली श्रमिकको पक्षमा दीर्घकालीन हित हुने विषय प्रस्ताव गर्नुभयो । नेपाली महिला घरेलु कामदार युएई लैजाने सम्बन्धमा एक ‘पाइलट’ परियोजना अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रीकोे निजी सचिवालयले जनाएको छ ।

पछिल्लो समय अध्ययन गन्तव्यको रुपमा पनि विकास भएको युएईमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र निर्माण गर्न भौतिक पूर्वाधारसहित आवश्यक तालिम उपकरण उपलब्ध गराइदिन मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

उहाँले युएईमा कार्यरत नेपाली कामदारको हकमा २४ घण्टा काम गर्दा बिमा लागू हुनुपर्ने प्रस्ताव गर्र्नुभयो । त्यसैगरी, नेपाली कामदारले पारिश्रमिक रेमिट्यान्समार्फत रकम नेपाल पठाउँदा लाग्ने चर्काे शुल्क घटाउन आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले युएईमा रहेका कम्पनीले कर्पाेरेट सामाजिक उतरदायित्व अन्तरगत नेपाली कामदारका लागि स्वास्थ्य, शिक्षा विकासका लागि खर्च गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको जनाइएको छ ।

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

खाँदबारी (सङ्खुवासभा), १० वैशाखः कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।
आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उहाँका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

संविधान संशोधन गरी सङ्घीय तथा प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : सांसद साउद

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउद (एनपी साउद)ले संविधान संशोधन गरी सङ्घीय र प्रदेश सरकारको मन्त्रालय र मन्त्रीको सङ्ख्या घटाएर सानो बनाउनुपर्ने बताएका छन् । सङ्घीय सरकारमा २५ जना मन्त्री र सात वटा प्रदेशमा कम्तिमा ११५ जनाभन्दा बढी मन्त्रीको सङ्ख्या धेरै भएको र त्यसको सङ्ख्या घटाएर कम गर्नुपर्ने पूर्वमन्त्री साउदको भनाइ छ । सांसद साउदले भने, ‘संविधान संशोधन गरी शासकीय स्वरुपलाई सानो, छोटो र छरितो बनाउनुपर्ने छ, मितव्ययी बनाउनै पर्छ, जनतालाई आर्थिक भार नपर्ने किसिमको शासकीय स्वरुप बनाउनुपर्छ ।’ सङ्घीय संसद्का सांसद र प्रदेशसभाका सांसदको सङ्ख्या पनि घटाउनुपर्ने उहाँको भनाइ छ ।  राससका समाचारदाता सुशील दर्नालले सांसद साउदसँग गरेको अन्र्तवार्ताको सम्पादित अंशः 

निर्वाचन खर्चिलो बन्दै गएको छ । मितव्ययी चुनाव कसरी बनाउने भन्ने पनि चुनौती छ । त्यसैगरी एकपटक उम्मेदवार भएको चुनाव जितेपछि पाँच वर्षसम्म उसले जनताका निम्ति के काम गरेको छ भन्ने कुरा बाहिर आउनुपर्छ । सांसदको मूल्याङ्कन गर्ने पद्दति हुनुपर्छ । दुई पटकसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को चुनाव सम्पन्न भएको छ । दुई पटकसम्म भएको संविधानसभा निर्वाचनबाट निर्मित संविधान कार्यान्वयनकै चरणमा छ । अहिले पनि संविधानबमोजिम धेरै ऐनहरू बन्न बाँकी छ । संवैधानिक प्रावधानअनुसार संविधानको हरेक वर्ष पुनरावलोकन गर्नुपर्ने हुन्छ । यसरी हेर्दा संविधान जारी भएको दश वर्ष पुग्दै छ । संविधानमा लेखिएका व्यवस्थाको कार्यान्वयनका चरणमा हामीले देखे भोगेका कमीकमजोरीलाई विस्तारै संविधान संशोधनमार्फत हटाएर लैजानुपर्छ । संविधानलाई संशोधनमार्फत अझ सशक्त, जनमुखी र अझै प्रजातान्त्रिक बनाएर अगाडि बढाउने चुनौती हाम्रो अगाडि छ । 

सत्तारुढ गठबन्धनको सात बुँदे सहमतिमा समेत संविधान संशोधनको मुद्दा उठेको छ । हरेक दश वर्षभित्र संविधान पुनरावलोकन गर्ने भन्ने विषय संवैधानिक व्यवस्थाभित्र पनि रहिआएको छ । संविधानको सम्बन्धमा धेरै मुद्दाहरू छन् । सङ्घीयतालाई कसरी कार्यान्वयन गर्ने भन्ने पनि प्रमुख विषय छ । प्रदेशहरूलाई अधिकारसम्पन्न कसरी बनाउने भन्ने विषय पनि छ । स्थानीय सरकारलाई कसरी अझ बढी अधिकारसम्पन्न बनाउने भन्ने चुनौती छ । संवैधानिक रूपमा रहेको समानुपातिक र समावेशी चरित्रलाई निरन्तरता दिँदै यसको प्रतिनिधित्वलाई अझै बढी लोकतान्त्रिक बनाएर लैजाने र प्रत्यक्ष निर्वाचित प्रणालीमा कसरी अगाडि बढ्ने भन्ने चुनौती पनि छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार गरी अहिले सात सय ६१  वटा सरकार छन् । सरकारको कारणले जनतामा जुन खालको आर्थिक चाप परिरहेको छ । राजस्व साधारण खर्चतर्फ मात्रै गइरहेको अवस्था छ । केन्द्र र प्रदेश गरेर आठ सयभन्दा बढी सांसद छन । मन्त्री पनि लगभग एक सयको हाराहारीमा छन् । स्थानीय तहको प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष, वडाध्यक्ष र सदस्य सबैलाई आर्थिक रूपमा केही न केही पारिश्रमिक दिइएको छ । जसको कारणले देशलाई आर्थिक भार परेको छ । जसको कारणले अर्थव्यवस्था थान्न मुस्किल भएको छ । 

जनताको कर सरकारी संयन्त्र व्यवस्थित गर्न मात्रै लागिरहेको छ । यो एउटा जटिल प्रश्न छ । सङ्घीयता बलियो बनाउनका लागि सङ्घीय सरकारलाई ‘इफेक्टिभ’ हुनेगरी काम गर्नुपर्छ । विदेश गरेर प्रदेश सरकारलाई कर्मचारी छनोटको कुरामा, प्रशासनका विषयमा, अधिकार प्रत्यायोजित गर्नुपर्छ । सुशासनको निम्ति सरकार जिम्मेवार हुनुपर्छ । कुनै पनि फाइल सरकारी टेबलमा आइसकेपछि झुलाउन भएन कि त्यो फाइल ‘रिजेक्ट’ हुनुपर्यो । हरेक चोटी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । छिटो र छरिटो सेवाका लागि सरकारले अनलाइन सर्भिसको व्यवस्था गर्नुपर्छ । सरकारी कार्यालयमा सेवाको बारेमा कुनै गुनासो आएको छभने त्यसको सम्बोधन तत्कालै हुनुपर्छ । सेवाग्राहीको फाइल कि त ‘एसेप्ट’ गर्नुपर्यो, कि ‘रिजेक्ट’ गर्नुपर्यो, झुलाउन भएन । 

रातारात कानुन बनाउने ढाँचामा जाँदा त्रुटि हुनसक्छ । त्यो त्रुटिका कारण निर्दोष मानिसले पनि सजाय पाउन सक्छ । त्यसकारण कानुनका लागि जनस्तरमा छलफल हुनुपर्ने, सरकारको तहमा छलफल हुनुपर्ने, राजनीतिक दलको तहमा छलफल हुनुपर्ने हुन्छ । त्यसपछि मात्र राष्ट्रियसभा र प्रतिनिधिसभामा व्यापक छलफल गरेपछि मात्र दुवै संसद्बाट  पास हुन्छ ।  रातारात कर्मचारीले बनाएको कानुनलाई हतारहतार पास गर्दा कार्यान्वयनमा चुनौती हुन पनि सक्छ । त्यसैले संसदले आफ्नै रफ्तारमा आवश्यक कानुन बनाइनै रहेको छ । यद्यपि कानुन बनाउने गतिलाई संसद्ले तीव्रता दिनुपर्ने छ । सरकारले पर्याप्त विधेयकहरु छलफलका लागि संसद्लाई दिन सकेको छैन । संसद्मा जनताका सवाल पर्याप्त मात्रामा उठ्ने गर्छन् । सांसदहरूले आ–आफ्नै धारबाट, आ–आफ्नो कोणबाट उठाइनै रहेका हुन्छन् । त्यहीअुनसार सरकार जवाफदेही हुनुपर्ने हो । तर भएजस्तो देखिँदैन । संसद्मा सांसदले उठाएका जनताका सवाललाई गम्भीरतापूर्वक लिएर त्यसको कार्यान्वयन गर्नुपर्छ । सांसदले बोलेका धेरै कुरा संसदीय रेकर्डमा छ । तर कार्यान्वयनमा आउँदैन ।

हाम्रो संविधानमा राजसंस्था भन्ने कुरै छैन । कुनै पनि विचारलाई प्रजातन्त्रले निषेध गर्दैन । तर कुनै पनि विचार संविधानको दायिराभित्र रहेर आउनुपर्छ । संवैधानिक प्रक्रिया भएर आउनुपर्छ । कुनै पनि विचारका बारेमा मेरो यही धारणा हो । विश्वव्यापीकरणको युग भएको हुनाले आफ्नो अवसर र क्षमता वृद्धिका लागि जोकोही मानिस संसारभरि जाने कुरा स्वाभाविक छ । तर नेपाल देश रित्तिने गरेर युवा जनशक्ति जसरी बाहिर जाँदै छ, त्यसबाट देशले प्रतिफल लिन सकेको छैन । त्यसका लागि बाहिर जाने मान्छेलाई सीपसम्बन्धी तालिम दिएर मात्र पठाउनुपर्छ । बाहिर जाँदा उनीहरूको जीवन सुखी हुने, उनीहरूको आयस्रोत सुनिश्चित भएको ठाउँमा मात्र पठाउनुपर्छ । नेपाली युवा विदेश पठाउने व्यापारीकरणले कयौँ मानिस ठगिएका छन् । त्यसलाई नियन्त्रण गर्न सरकारले निश्चित कानुनी प्रबन्ध गर्नुपर्छ । देशको अर्थ व्यवस्थाभित्र युवाहरूको विश्वास छैन । अहिलेको अवस्थामा विशेष गरेर दलहरू र नेताका बारेमा युवाहरू नकारात्मक बनेको छ । त्यसकारण नेताहरूले मार्गप्रशस्त गरेर नयाँ पिँढीको विश्वास जित्ने किसिमको परिपाटी विकसित हुने गरेर दललाई प्रजातान्त्रिक बनाउनुपर्छ । दलभित्र प्रजातान्त्रिककरणको प्रक्रियालाई सुदृढ गर्नुपर्छ । अहिले देशमा जति पनि राजस्व आइरहेको छ, त्यो सबै साधारण खर्चतर्फ गइरहेको छ । तीनै तहका सरकारलाई तलब खुवाउनुपर्ने छ । सांसदलाई तलब खुवाउनुपर्ने छ ।

हामीले सङ्घीयतामा गएको कुरा गर्छौँ । तर काठमाडौँमा कृषियोग्य जमिन छैन । भए जतिका ‘फस्टकलास’ र विशिष्ट श्रेणीका कृषि मन्त्रालयका कर्मचारी सबै काठमाडौँमा छन् । विकेन्द्रीकरण भनेको हामीसँग भएको जनशक्तिलाई स्थानीय तह र प्रदेशमा पठाउने हो । जिल्लामा पठाउने हो । केन्द्रका सर्मचारीलाई वडावडामा उठाउनुपर्छ । जुन काम हुनसकिरहेको छैन । त्यो बढो चिन्ताजनक कुरा छ । जनताको अवस्थामा धेरै सुधार आएको छ । अवस्थामा सुधार आउने क्रम पनि जारी छ । अरु देशमा जुन गतिमा आर्थिक  विकास भइरहेको छ, त्यो दिशामा अगाडि बढ्न सकेका छैनौँ । तर जनताको अवस्थामा क्रमिक रूपमा सुधार भएको छ । हामीले पढ्दा र अहिलेको विद्यालयमा अन्तर आएको छ । त्यही हो परिवर्तन भनेको । हामीले पढ्ने बेलामा विद्यालयको भवन थिएन । कम्तीमा अहिले त सबै गाउँगाउँमा विद्यालयका भवन छन् । पहिला र अहिलेको शिक्षाको पद्दतिमा पनि परिवर्तन भएको छ । हाम्रो बेलाको औसत आयु र अहिलेको औसत आयुमा पनि परिवर्तन आएको छ । मातृ शिशु मृत्युदरको सम्बन्धमा पनि परिवर्तन भएको छ । जनचेतना पनि बढेको छ । सडकलागयत पूर्वाधार निर्माण भएका छन्भने देशा अधिकांश भागमा खानेपानी सुविधा उपलब्ध भएको छ । देशमा केही भएको छैन भन्ने भाष्य गलत हो । भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाले गरेको विकास हेर्दा हामी सन्तुष्ट हुने ठाउँ छैन ।

घरजग्गा खरिदबिक्रीमा आएको गिरावटले बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व उठेन

बागमती, १० वैशाखः बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो ।

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१÷८२ मा रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने अनुमान गरिएकामा नौ महिनामा रु १६ अर्ब ७४ करोड २० लाख ८६ हजारमात्र सङ्कलन भएको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१÷८२ मा घरजग्गा रजिस्ट्रेसनबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा रु तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार सङ्कलन भएको छ ।

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१÷८२ मा रु सात अर्ब ५० करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा रु चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार मात्र सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)बापत रु आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा रु पाँच अर्ब ६४ करोड ८१ लाख सङ्कलन भएको छभने अन्तःशुल्क करबापत रु तीन अर्ब ६९ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएकामा रु एक अर्ब ९२ करोड ४१ लाख २१ हजारमात्र असुली भएको छ ।

पहलगाममा आतंकवादी हमला : परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौँ, १० वैशाखः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत उहाँले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गर्नुभएको छ । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

“नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ”, एक्समा उहाँले लेख्नुभएको छ ।

परराष्ट्रमन्त्री डा देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा

काठमाडौँ, १० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।”

उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।

सरकारद्वारा निर्दोष पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलाको निन्दा

काठमाडौँ, १० वैशाखः जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

दिपायल (डोटी), १० वैशाखः भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

एमाले वीरगञ्ज महानगर अध्यक्षमा नवराज शर्मा निर्वाचित

वीरगञ्ज (पर्सा), १० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरगञ्ज नगर कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित हुनुभएको छ ।

मङ्गलबार राति सार्वजनिक भएको मत परिणामअनुसार कमिटीको उपाध्यक्षमा रामकिशोरसिंह पराग, सचिवमा लियाकत अली, उपसचिव (खुला)मा जयनारायणसिंह कुर्मी, उपसचिव (महिला)मा विमला श्रीवास्तव, लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल निर्वाचित हुनुभएको छ ।

यसैगरी, खुला सदस्यमा सतेन्द्रकुमार सिंह, युवा सदस्यमा देवकुमार सर्राफ र महिला सदस्यमा सीतामैया श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि गत चैत ३० गते उम्मेदवारी दर्ता भएको थियो । हनुमान् जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि निर्वाचन कार्यक्रम रोकिएको थियो ।
––

पूर्णिमा श्रेष्ठ र निमा रेञ्जी शेर्पा यूएनडिपीका जलवायु अभियन्ता

काठमाडौँ- संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) ले दुई पर्वतारोहीलाई जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न जलवायु अभियन्ताका रुपमा मनोनित गरेको छ ।

यूएनडिपीले   गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरेको कार्यक्रममा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रेञ्जी शेर्पालाई जलवायु अभियन्ताका रुपमा घोषणा गरिएको हो । श्रेष्ठले आठ हजार मिटरभन्दा अग्ला नेपालका सातवटा शिखर सफलतापूर्वक आरोहण गर्नुभएको छ । नेपालका आठ हजारभन्दा अग्ला सातवटा हिमाल आरोहण गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ । 

यसैगरी शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँ जेनजी पुस्तासँगको सशक्त संवाद र सजिलैसँग जोडिनसकिने कथा प्रस्तुत गर्न सकिने क्षमताका लागि चिनिनुहुन्छ ।
यूएनडिपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा अभियन्ता घोषणा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । यसले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरुको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने जनाइएको छ । यो अभियानको मुख्य उद्देश्य महिला र आदिवासीजस्ता संवेदनशील समुदायमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावलाई उजागर गर्नु हो । 

नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनका तीव्र प्रभाव परिरहेको छ । हिमनदी पग्लिनुदेखि पारिस्थितिक प्रणालीमा आएको अवरोधसम्मको सामना गरिरहेका छन् । सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको अध्ययनले नेपालमा दुई हजार ३२३ हिमताल भएको तथ्य सार्वजनिक गरेको थियो । तीमध्ये ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ । 

विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका हिमाललाई भविष्यको पुस्ताका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेकामा पनि यूएनडिपीले ध्यानाकर्षण गराएको छ । नेपालका लागि यूएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले हिमाल र मानवजातिको संरक्षणका लागि सामूहिक कार्य सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । 

यो साझेदारीले यूएनडिपी नेपालद्वारा सञ्चालित जलवायु कार्यका प्रयासमा महत्वपूर्ण काम गरेको छ । जसमा अनुकूलन, जलवायु सहनशीलता र समावेशी नीति निर्माणमा समावेश छन् । सामाजिक सञ्जाल अभियानअन्तर्गत अभियानकर्मीले अनुभवमूलक कथा प्रस्तुति, देश विदेश भ्रमण, अन्तरक्रियात्मक अनलाइन सामग्रीमार्फत् जलवायु न्यायसम्बन्धी सार्वजनिक संवादलाई फराकिलो बनाउन संलग्न हुने जनाइएको छ ।

सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

मध्यविन्दु (नवलपरासी), १० वैशाखः सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए । हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, १० वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३५, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ६०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकेजी रु ६०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ६०, ब्रकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ११०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोबी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०५ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालय फर्काउन आग्रह

काठमाडौँ- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकलाई सडकबाट विद्यालयमा फर्काउन नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घसमक्ष आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष गुणराज मुक्तानले प्रेस विज्ञप्ति जारी गरी आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालयमा फर्काउन आग्रह गर्नुभएको हो ।

“संविधान जारी भएको एक दशक हुँदा पनि ऐन नआएपछि त्यसको माग गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको सडक आन्दोलनलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक समस्या समाधानमा जिम्मेवार बन्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ,“जिम्मेवारीपूर्वक गम्भीर ढङ्गले परिस्थितिको आकलन गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्दछौँ ।”

महासङघले बालबालिकाको अधिकार, मनोविज्ञान र भविष्यलाई मध्यनजर गर्दै प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीसँग समन्वय गरेर अवरुद्ध रहेको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी भर्ना कार्यलाई सहजीकरण गर्न देशभरिका विद्यालय व्यवस्थापन समितिलाई समेत आह्वान गरेको छ ।

शैक्षिक आमहड्तालबाट करिब २८ हजार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध रहेकाले लाखौँ बालबालिकाको अधिकार र मनोविज्ञानमा गम्भीर असर परेको र अभिभावकमा अन्योलता छाएको प्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

शिक्षक आन्दोलनको प्रभाव : ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ को मिति सारियो

खोटाङ-नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख १५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो ।

वैशाख–१५ गतेदेखि गर्ने तयारी गरिएको महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित हुने भएपछि १२ दिनपछि वैशाख–२७ गते सुरू गर्नेगरी सारिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । 

“महोत्सवको प्रमुख उद्देश्य व्यावसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको प्रर्यटन प्रवर्द्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन् । शिक्षक आन्दोलनका कारण अहिले सबै विद्यालयहरू बन्द छन्”, उहाँले भन्नुभयो, “शिक्षकहरूको आन्दोलनलाई मध्यनजर गर्दै वैशाख–१५ गतेदेखि गर्न लागिएको महोत्सवको मिति १२ दिनपछि सारिएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजक समिति क्षमा प्रार्थी छौँ । सारिएको मितिअनुसार वैशाख २७ गतेदेखि जेठ–४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला प्रतियोगितासहित खुला महिला/पुरूष हाफ म्याराथन, खुला महिला/पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको छ । 

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायत उद्देश्यसहित महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा दश वर्षमुनिका छात्रछात्राका लागि एक माईल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । महोत्सवमा पन्ध्र वर्षमाथिका महिला÷पुरूषका लागि दश किलोमिटर र खुला महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने आयाजकले जनाएको छ ।

दश वर्षमुनिका छात्रछात्रा एक माईल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले रू तीन हजार, रू दुई हजार, रू एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले रू चार हजार, रू तीन हजार र रू एक हजार ५००, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रू पाँच हजार ५००, रू तीन हजार ५०० र रू दुई हजार ५०० का दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रू सात हजार ५००, रू छ हजार ५०० र रू पाँच हजार ५०० को साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रू १५ हजार, रू दश हजार र रू सात हजार पुरस्कार पाउनेछन् । पन्ध्र वर्षमाथिका महिला÷पुरूष दश किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रू १५ हजार, रू दश हजार, रू सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

खुला महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः रू ७७ हजार ७७७, रू ५५ हजार ५५५, रू २५ हजार ५५५, रू १५ हजार ५५५, रू ११ हजार १११, रू सात हजार ७७७ र रू पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिला÷पुरूष हाफ म्याराथन छ दिने महोत्सवको प्रमुख आकर्षण हुने आयोजकको दाबी छ । 

खुला सिनियर पुरूष टेबलटेनिस अन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रू २५ हजार, रू १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रू छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनष्टिले क्रमशः रू १५ हजार, रू सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रू तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन् । 

खुला जुनियर महिला टेबलटेनिसमा प्रथम, द्वितीय र तृतीय हुनेले रू दश हजार, रू पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रू दुई हजार ५०० का दरले नगद पुरस्कार पाउनेछन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

खुला राष्ट्रिय बुद्धिचालमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रू २५ हजार, रू १५ हजार, रू दश हजार, रू आठ हजार, रू सात हजार र रू चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ । 

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस र साहित्य महोत्सव हुने जनाइएको छ । महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ ।  

महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समितिसमेत गठन गरिएको छ । महोत्सवका लागि रू ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १० वैशाख : हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ ।

युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै

काठमाडौँ, १० वैशाख : संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा हुनुहुन्छ ।

उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू हुनुहुन्छ । उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौँ, १० वैशाखः आज विश्व प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो ।

यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपिअधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ ।

यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्छ । यही मितिमा विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो ।

बाँकेका भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी

राँझा (बाँके), १० वैशाखः भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ ।

मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नं. १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो ।

“सर्वदलीय वैठकबाट प्रधानमन्त्री वा विभागिय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने निर्णय भएको छ”, अध्यक्ष खनालले भन्नुभयो,“यससम्बन्धि सम्पूर्ण तयारी भइसकेको छभने भूमि समस्या समाधान आयोगदेखि सरोकारवाला सबै निकायमा जानकारी गराएका छाँै ।”

विगतका आयोगबाट भएको अधुरा र अपूरा कार्यहरुको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्रचार गरेर क्रमशः सबैतिर जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खनालको भनाइ छ ।

सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

काठमाडौँ, १० वैशाखः गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्‍यो ।

उहाँहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो । तर मुद्दा दायर भएको तीन महिनापछि विशेष अदालतले प्रमुख महर्जन निर्दोष भएको फैसला गर्‍यो ।

गोदावरी नगरपालिकाले बागमती प्रदेशको आर्थिक ऐनको व्यवस्थासँग बाँझिने गरी आफ्नो आर्थिक ऐनमा प्रदेश सरकारले तोकेको करको दरभन्दा कम राजस्व तोकेर भ्रष्टाचार गरेको आरोप अख्तियार लगाएको थियो । प्रतिवादी बनाइएका स्थानीय सरकार प्रमुख महर्जन र उपप्रमुख मुना अधिकारीसहितका जनप्रतिनिधिलाई प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (ख) अन्तर्गतको कसुर गरेको आधारमा सजायको माग दाबीसहित अख्तियारले आरोपपत्र दायर गरेको थियो ।

 विशेष अदालतले गोदावरी नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा आर्थिक ऐन पारित गरी प्राकृतिक स्रोततबाट प्राप्त हुने वस्तु निकासीसम्बन्धी करको दर तोकेकोमा विवाद नभएको  व्याख्या गर्‍यो । एकात्मक शासन प्रणाली अवलम्बन गरेको नेपालले २०७२ सालमा सङ्घीय संरचना अनुरुपको संविधान जारी भएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारको व्यवस्था अपनाएको छ । 

तीन वटै तहले संविधानले निर्धारित गरेअनुसार तोकिएको कार्यक्षेत्रमा कर निर्धारणलगायतका अधिकारको अभ्यास गरिरहेका छन । त्यसयता प्राकृतिक स्रोतसाधनमाथिको आधिकारबारे विवादको शृङ्खला जारी नै छ । गोदावरी नगरपालिकाको कर विवाद देखिएको एउटा उदाहरण घटना मात्रै हो । 

गोदावरीमा देखिएको उक्त विवादले तीन तहका सरकारका बीचमा प्राकृतिक स्रोत साधनको सङ्कलन र उपयोगमा लगाइने करको विषयमा सुरु भएको विवाद चर्किरहेको देखाउँछ । नेपालको संविधान २०७२ को धारा २२१ ले स्थानीय तहलाई व्यवस्थापकीय अधिकार प्रदान गरेको छ । “धारा २२६ अनुसार निकासी कर जस्ता शुल्कसम्म लगाउन सक्ने तर सो सम्पत्तिको बिक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानुनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (ख) को कसूर हुने देखिँदैन”, विवादबारे विशेष अदालतले फैसलामा भनेको छ । 

फैसलामा अगाडि भनिएको छ, “उपर्युक्त तथ्य आधार, कारण र प्रमाणको रोहमा प्रतिवादीहरु उपर लगाइएको आरोप दाबी पुष्टि नभएको तर्क गरिएको छ । तर हुन आएन । जबकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ (च) मा ढुङ्गागिट्टी, स्लेट, बालुवा, चुनढुङ्गा, दरीढुङ्गा, अभ्रख र दहत्तर बहत्तरमा प्राकृतिक स्रोत करको दर र प्रक्रिया प्रदेशले निर्धारण गर्ने र गाउँपालिकाले वा नगरपालिकाले सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।

अदालतको व्याख्याअनुसार स्थानीय सरकार सञ्चालन ऐन संविधानसँग बाँझिएकाले गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारी विरुद्ध प्राकृतिक साधनस्रोतको दुरुपयोगसम्बन्धी मुद्दामा कारबाही भएन । सङ्घीय शासन व्यवस्था अवलम्बन भएपछि बागमती प्रदेश र गोदावारी नगरपालिकाबीच करको विषयमा देखिएको यो विवादले प्राकृतिक स्रोत परिचालनमा देखिएको विवाद रहेको देखिन्छ । 

सबै स्थानीय तहले कर लगाएपछि कोभन्दा को कम भन्दै तीन तहका सरकारको बीचमा उत्पन्न बेलाबेलामा यसप्रकारका विवाद बल्झिरहेका छ । व्यापार, व्यवसाय र प्रशासनिक क्षेत्रजस्तै प्राकृतिक साधनस्रोतको करको विषयमा पनि विवाद भइरहेको छ । 

सामुदायिक वन उपाभोक्ता समूह महासङ्घ (फेकोफन) देशमा सङ्घीयता लागू भएपछि सामुदायिक वन क्षेत्रमा तेहोरो कर लगाइएको विरोधमा आन्दोलन गरिरहेको छ । करसम्बन्धी राज्यको स्पष्ट नीति नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहलाई कर तिर्नुपरेको भन्दै सामुदायिक वन उपभोक्ता समूह मारमा परेको फकोफनको भनाइ छ । महासङ्घले तेहोरो कर हटाउन देशभरले विरोध सभा गरिरहेको छ । 

हालको सामुदायिक वन करसम्बन्धी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले सामुदायिक वन उपभोक्ता समितिबाट सङ्कलित वन पैदावारमा कर लगाउने नीति अपनाएका छन् । सामुदायिक वनभित्रका वन पैदावार बाहिर बिक्री गर्दा मधेस प्रदेशमा १५ प्रतिशत, बागमती प्रदेशमा १० प्रतिशत, गण्डकी प्रदेशमा बाह्य बिक्रीमा ३० प्रतिशत, लुम्बिनी प्रदेशमा २५ प्रतिशत, कर्णाली प्रदेशमा १५ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा २५ प्रतिशतसम्म कर निर्धारण गरिएको छ ।

कोशी प्रदेशमा भने अहिलेसम्म करकोे दर नतोकिएको कोशी प्र्रदेशअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनुभयो । “कोशी प्र्रदेश सरकारलाई अहिलेसम्म सामुदायिक वनले कर बुझाउनुपर्दैन । अब आर्थिक ऐन आउँँदैछ, त्यसमा केही व्यवस्था भने हुनसक्छ”, उहाँले भन्नुभयो ।     

तीन तहकै सरकारले कर लगाएका कारण सामुदायिक वन उपभोक्ताहरूमा आर्थिक भार थपिएको भन्दै महासङ्घले आपत्ति जनाउँदै आएको थियो । सर्वोच्च अदालतले २०८० फागुनमा अन्तरिम आदेश जारी गर्दै प्रदेश सरकारलाई सामुदायिक वन पैदावारमा कर सङ्कलन नगर्न निर्देशन दिएको छ । 

त्यसपछि गण्डकी प्रदेश सरकारले वन पैदावरमा ३० प्रतिशत कर लगाएपछि त्यसको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश खारेजीको मागसहित सर्वोच्च अदालतमा पुगेको थियो । वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागू नगर्न गण्डकी प्रदेश सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

प्रदेशहरुले आफू खुसी कर निर्धारण गरेपछि सामुदायिक वन उपभोक्ताहरु मारमा परेको भन्दै बढी कर उठाउने प्रावधानको विरुद्ध सङ्घर्ष अझै जारी रहेको फेकोफनका अध्यक्ष ठाकुर भण्डारीको भनाइ छ । 

तेहोरो करको विषयमा फेकोफनले निरन्तर आन्दोलन गरिरहने अध्यक्ष भण्डारीले बताउनुभयो । फेकोफनले सामुदायिक वनलाई स्थानीय सरकार सञ्चालन ऐनले तोकेको न्यूनतम कर १० प्रतिशत मात्रै लगाउनुपर्नेमा जोड दिँदै आएको छ । “स्थानीय सरकारले १० प्रतिशत र प्रदेश सरकारकाले २० देखि ३५ प्रतिशतसम्म सामुदायिक वनबाट कर लिएको छ । अनि केन्द्रीय सरकारले सञ्चित कोषको २५ प्रतिशतसम्म कर लिन्छ”, उहाँले भन्नुभयो , “खासमा सामुदायिक वनले कर तिर्नुपदैन । किनकी सामुदायिक वन समूह गैरनाफामूलक सङ्गठन हो र यसले सामुदायिक हितमा काम गरिरहेको छ । तर हामी न्यूनतम कर (१० प्रतिशत) कर तिर्न तयार छौँ ।”

बागमती प्रदेश सांसद तथा सामुदायिक वन अभियन्ता भारती पाठकले सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारबीच छलफल र समन्वय गरेर एकद्वार प्रणालीबाट कर सङ्कलन गर्दा पछिल्लो समय देखिएको करको विवाद समाधान हुनसक्ने सुझाव दिनुहुन्छ । “कर सङ्कलनको प्रक्रिया तथा प्राकृतिक स्रोतको बाँडफाँट न्यायोचित छैन । यस विषयमा गम्भीर छलफल जरुरी छ”, उहाँले भन्नुभयो, “सङ्घीयतामा प्राकृतिक स्रोेत व्यवस्थापन तथा कर सङ्कलन र बाँझिएका ऐनको विषयमा अझै गम्भीर रुपमा छलफलबाट समाधान निकाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

खानी र वनको जस्तै प्राकृतिक स्रोतसाधनको रुपमा रहेको अर्को क्षेत्र खानेपानी हो । खानेपानीको स्रोत परिचालनमा तीन तहकै सरकार बीचमा द्वन्द्व देखिन्छ । खानेपानी परियोजना सञ्चालन भएको ठाउँमा स्थानीयले केन्द्र सरकारसँग रोयल्टी माग गरेपछि उनीहरु बीचको द्वन्द्व सतहमा देखिएको छ । 
उदाहरणका लागि मेलम्ची खानेपानी परियोजनाबाट भएको आम्दानीको हिस्सा स्थानीय तहलाई नदिए सेवा अवरुद्ध गर्ने स्थानीय सरकारको चेतावनी छ । मेलम्चीको खानेपानी आयोजनाको पानी काठमाडौँमा महसुल लिएर वितरण गरिने भएकाले प्रभावित क्षेत्रले रोयल्टी पाउनुपर्ने माग राख्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिले सङ्घर्ष समिति गठन गरेका छन् । मेलम्ची खानेपानी परियोजनाको प्रभावित क्षेत्रको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले मेलम्ची खानेपानी बिक्रीबाट आएको रकममध्ये २५ प्रतिशत स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने माग राख्नुभएको छ  । 

अहिलेसम्म हेलम्बु गाउँपालिकाले उठाएको माग सुनुवाइ भएको छैन ।  “मेलम्चीको पानी काठमाडाँैसम्म जाँदा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड  (केयूकेयल)ले उपभोक्तालाई निःशुल्क वितरण गर्दैन । उसले पानी बेचेर कमाएको आम्दानीमध्ये हामीले २५ प्रतिशत रोयल्टी माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यदि हाम्रो माग पूरा भएन भने त्यसपछि मेलम्ची खानेपानी उपत्यकामा पठाउने क्रममा अवरोध सिर्जना हुने छ । आगामी वर्षापछि मेलम्ची बन्द हुन्छ ।”


ह्योल्मोले स्थानीय तहको विकास, पानीको मुहान संरक्षण, विपद् व्यवस्थापन लगायतका कार्यक्रमलाई स्रोत व्यवस्थापनका लागि लाभको २५ प्रतिशत माग गरिएको स्पष्ट पार्नुभएको छ ।

विसं २०७६ सालमा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको विषयमा निस्किएको विवादले पनि चर्चा कमायो । कालीगण्डकी नदी किनार आसपासमा बसोबास गर्ने स्याङ्जा, पाल्पा र तनहुँका स्थानीय बासिन्दा र स्थानीय तहले आपत्ति जनाएका थिए । गण्डकी प्रदेशको सहमतिविना उक्त डाइभर्सन आयोजना अगाडि बढाइएको भन्दै प्रदेशका तात्त्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै विरोध जनाउनुभएको थियो । सङ्घीय सरकारले कालीगण्डकी नदीको पानी सुरुङमार्फत तिनाउ नदीमा झारेर प्रदेश–५ का रूपन्देही, कपिलवस्तु र नवलपरासीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएपछि विरोध भएको थियो । 

सरकारले उक्त बहुउद्देश्यीय आयोजना घोषणा गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले २०७८ असार २९ मा आयोजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न सकेको थिएन । तर गत २०८१ कात्तिक ११ मा सर्वोच्च अदालतले रिट निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतले प्रारम्भिक चरणमै वातावरणीय क्षति आकलन गर्न हतार हुने भन्दै रिट निवेदनहरू खारेज गरेको हो । 

अदालतले वातावरणीय मूल्याङ्कन, नदीजन्य स्रोतको दीगो उपयोग र कालीगण्डकीमा फोहर बिसर्जन रोक्न, वातावरणीय दृष्टिले सचेत रहन, कालीगण्डकीमा न्यूनतम २० प्रतिशत पानी छाड्न, स्रोतसाधनको दीगो उपयोग गर्न र नदीमा फोहर बिसर्जन रोक्न निर्देशन दिएको छ ।  

तीन वर्षअघि पनि लुम्बिनी प्रदेशमा वन क्षेत्रबीच प्रदेश र स्थानीय तहबीच भएको विवादलाई अधिकारको अर्को सङ्घर्षको उदाहरणको रुपमा लिन सकिन्छ । रुपन्देहीको देवदह नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी र खोलामा नदीजन्य वस्तु उत्खननका लागि ठेक्का प्रक्रिया अगाडि बढाउँदा प्रदेश सरकारअन्तर्गत रहेको डिभिजन वन कार्यालय रुपन्देहीले वन क्षेत्रमा पर्ने खोलामा नगरपालिकाले ठेक्का लगाउन नपाउने भन्दै रोकेपछि विवाद उत्पन्न भएको थियो । नगरप्रमुख धुव्रप्रसाद खरेलले अहिले भने कुनै पनि किसिमको विवाद नरहेको बताउनुहुन्छ । 

मधेस प्रदेशमा पर्नेे सागरनाथ वन विकास परियोजना सञ्चालनको विवाद अदालतसम्म पुगेको छ । नेपाल सरकारको वनसम्बन्धी महत्वपूर्ण परियोजनाअन्तर्गत वन क्षेत्रको संरक्षण, पुनःस्थापना र व्यवस्थापन गर्दै वातावरणीय सन्तुलन कायम गर्नु तथा स्थानीय जनतालाई रोजगारी र स्रोत साधनको पहुँच उपलब्ध गराउने लक्ष्यले सञ्चालन भएको सागरनाथ वन परियोजना प्रदेश वा केन्द्रीय सरकारअन्तर्गत हुने विषयको विवाद अझै सुल्झिएको छैन । 

संविधानअनुसार अधिकार नदिएको भन्दै मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध अदालतमा २०७६ साउन २३ गते मुद्दा सर्वोच्व अदालतमा दर्ता गरेको थियो । मधेस प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संविधानको अधिकार सङ्घीय सरकारले मिचेको मधेस सरकारको आरोप छ । प्रदेशको आर्थिक स्रोतको प्रमुख आधारमध्ये करिब १८ हजार हेक्टरमा रहेको सो वन विकास परियोजना सङ्घअन्तर्गतको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिटिसिएन) मा गाभेर प्रदेशलाई कमजोर बनाउन खोजिएको भन्दै मन्त्रालयले रिट दायर गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ भदौमा सङ्घीय सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो । 


मधेस प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त विवादका कारण सागरनाथ वन परियोजना व्यवस्थापनको काममा असर परेको बताउनुभयो । परियोजनाको काममा बाधा परेको त छ नै त्यहाँ कार्यरत कर्मचारीले आठ महिनादेखि तलब नपाएका कारण परियोजनाको भविष्य नै अनिश्चित भएको छ ।

यीमाथि उल्लेखित प्राकृतिक स्रोतका विषयमा देखिएका विवादले आगामी बाटो झन तनावयुक्त हुने सङ्केत देखिएको  छ । नेपालमा प्राकृतिक स्रोतहरूको दोहन र त्यसबाट उठ्ने रोयल्टीको बाँडफाँटको विषयमा बेलाबेलामा विवाद पेचिलो बनिरहेको छ । प्राकृतिक स्रोतको रुपमा सूचीकृत जलविद्युत् आयोजना, खानी तथा खनिज स्रोतहरू, ढुङ्गागिट्टी बालुवा, र वनजङ्गलको उपयोगबाट उठ्ने रोयल्टीको विषयमा समय समयमा स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच रस्साकस्सीको चलेको छ ।    

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ कानुनी अस्पष्टता तथा अभाव र कानुनको पनि आफू अनुकुल व्याख्या, बुझाइको कमी, पारदर्शिताको अभाव र आर्थिक लाभमा असमान पहुँचका कारण प्राकृतिक स्रोतको परिचालनमा सरकारका तीन तहबीच बेला बेलामा विवाद देखिएको बताउनुहुन्छ ।

“प्राकृतिक स्रोतमध्ये पनि सबैभन्दा बढी विवाद पानीको स्रोत परिचालनमा देखिएको छ । एउटा स्थानीय तहमा पानीको स्रोत हुन्छ । उसले अर्को स्थानीय तहलाई नदिने भनेर विवाद सिर्जना पनि भइरहेको छ । तर स्वच्छ खानेपानीको हकलाई नेपालको संविधानले नै मौलिक हकको रुपमा राखेको हुनाले कुनै स्थानीय तहले अर्को स्थानीय तहलाई खानेपानी दिन्न भन्न पाउँदैन”, उहाँले भन्नुभयो, “यसरी सङ्घीय संरचनामा विभिन्न सरकारबीच प्राकृतिक स्रोत प्रयोगको अधिकार र राजस्व बाँडफाँटमा आएका विवादलाई आयोगले तथ्यमा आधारित सुझाव दिई विवाद समाधानमा भूमिका खेल्दै आइरहेको छ ।”

गुरुङले अध्ययनलाई प्रथामिकता तथा समन्वयमार्फत प्राकृतिक स्रोतमाथि देखिएका विवाद समाधान गर्न सकिने बताउनुभयो । तर जनशक्ति तथा आवश्यक वित्त लगानीको अभावले विवाद समाधानका लागि आवश्यकता अनुसारको अध्ययन अनुसन्धान गर्न चुनौती देखिएको उहाँको भनाइ छ । 

“यस्ता किसिमको विवाद समाधानका लागि स्थानीय तहमा पनि स्पष्ट कानुन चाहिन्छ । बुझाइमा देखिएको मुख्य समस्या समाधानका लागि समन्वय र जनचेतना आवश्यक छ”, गरुङले भन्नुभयो, “विवादलाई समाधान गर्न अहिले समानीकरण अनुदान बाँडफाँटमा परिवर्तन भएको छ । प्रदेशले स्थानीय तहलाई अनुदान वितरण कार्य सम्पादनलाई पनि आधार मान्ने छ । यसअघि जनसङ्ख्यालाई मात्रै आधार मानेका थियौ । अहिले भूगोललाई आधार मानेका छौँ । ”

रोयल्टीमा विवाद

प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको असमान वितरणले बेलाबेलामा विवाद उत्पन्न गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको विद्यमान संरचनाको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदनले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटमा असमनता रहेको देखाएको छ । 

प्रतिवेदनअनुसार प्राकृतिक स्रोतको परिचालनको प्रकृति एवं आयामको आधारमा रोयल्टी सङ्कलन हुने र परियोजनापिच्छे बाँडफाँट हुने भएकाले रोयल्टी बाँडफाँटको प्रभावमा आधारित विद्यमान प्रणालीअनुसार प्रदेशहरुको प्राप्त गर्ने जम्मा मधेस र कर्णली प्रदेशको प्रति वर्ष हिस्सा बढीमा दुई प्रतिशत रहेको देखिन्छ भने सुदूरपश्चिमले पाँच प्रतिशत पुर्‍याउन सकेको छैन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सङ्कलन गरेका तथ्याङ्कअनुसार सबभन्दा बढी हिस्सा पाउने बागमती प्रदेशले पाँच वर्षमा प्रतिवर्ष औसत ३५ प्रतिशत रोयल्टी पाएको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशले औसत क्रमशः १७, १९ र २२ प्रतिशत प्राप्त गरेका छन् । 

रोयल्टी आयमा धनी मुलुकहरुले अवलम्बन गरेको रोयल्टी बाँडफाँटको अभ्यासवाट सिक्दै नेपालले न्यून रोयल्टी आय हुने आफ्नो मुलुकको परिवेश अनुसारको मौलिक रोयल्टी बाँडफाँट प्रणालीको विकास गर्नु आवश्यक रहेको आयोगको सुझाव छ ।    

संविधान जारी हुनु अघिदेखि नै नेपालमा खासगरी जलविद्युत्, वन र खानी तथा खनिजको रोयल्टी सङ्कलन र वितरणको अभ्यास सुरु भइसकेको थियो । तर त्यो संविधान र कानुनी हिसाबले त्यत्ति व्यवस्थित थिएन । हाल नेपालमा प्राकृतिक स्रोत (पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज र पानी तथा अन्य) को रोयल्टीको बाँडफाँटको निम्ति संविधान, कानुन र संयन्त्रको व्यवस्था गरिएको छ भने विगत पाँच वर्षदेखि पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिजको रोयल्टी तीन तहका सरकारबीच बाँडफाँट हुँदै आएको छ ।

वित्तीय समानीकरण अनुदानमा विभेद नगर्न सुझाव

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले खास गरी वित्त आयोगले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभेद गर्न नहुने बताउनुहुन्छ ।

“चालु आर्थिक वर्षको पूर्वयोजना बनाएर यति अनुदान भनेर सिफरिस गरिन्छ । त्यसलाई चलाउन मिल्दैन । हामीले सशर्तका टुक्रे बजेट सिर्जना गरिरहेका छौँ । संविधानको हकमा भएको बजेट कटौती हुन्छ । स्थानीय तहको विकास निर्माणको बजेट नै त्यही हो,” उहाँले भन्नुभयो, “राजस्व उठेको आधारमा बाँडफाँट गरिएको छ । आम्दानी हुने र नहुनेलाई स्थानीय तहलाई बराबरी हेरिनुहुन्न । राजश्व नउठेकै कारण सरकारी सुविधाबाट बञ्चित हुँदा गाउँमा युवाहरु पलायन हुने अवस्था आएको छ ।”

स्थानीय तहहरु कसरी राजस्व वृद्धि गर्न भन्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । “वन व्यवस्थापन राम्रो गर्नुपर्छ । नदीजन्य पदार्थ सही व्यवस्थापन भएका छैन । चोरी तस्करी भएको छ । प्राकृतिक स्रोत चलाउनुहुन्न भनिन्छ । सही रुपमा प्रयोग गर्न सक्नुपर्छ ।” 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले समानीकरण अनुदानमा देखिएको विवाद समाधानका लागि सरकारलाई सुझावसहित सिफारिस गरिएको जानकारी दिनुभयो । 

संविधानविद् डा भिमार्जुन आचार्य पछिल्लो समय रोयल्टी बाँडफाँट र यस विषयमा देखिएको समस्याले निम्ताएको विवाद समाधानका लागि संविधान नै संशोधन गरेर अगाडि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताउनुहुन्छ । “तयारी र अनुसन्धान राम्रो नहुँदा प्राकृतिक स्रोत व्यवस्थापन तथा रोयल्टी बाँडफाँटमा विवाद देखिएको हो”,  उहाँले भन्नुभयो, “संविधानले त बाँडफाँटसम्बन्धी कानुनी व्यवस्था गर्‍यो । तर प्रावधान कठिन हुँदा संविधान कार्यान्वयनमा चुनौती देखियो । क्षमताको अभावले अmझै समस्या थपियो । अब संविधान नै संशोधन गरेर सुधार गर्न सकिन्छ ।” यीलगायत स्थानीय, प्रदेश, केन्द्रीय सरकारबीचको समन्वय बढाएर उनिहरुको क्षमता अभिवृद्धि गर्न आजको आवश्यकता रहेको आचार्यको भनाइ छ ।

संवैधानिक व्यवस्था

नेपालको संविधानको धारा ५१ (१) ले प्राकृतिक स्रोतसम्बन्धी राज्यको नीतिअन्तर्गत अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात गर्दै प्राकृतिक स्रोतको दिगो रुपमा उपयोग गर्ने र स्थानीय समुदायको अग्राधिकारसहित प्रतिफलको न्यायोचित वितरण गर्ने कुरा उल्लेख गरेको छ । संविधानको अनुसूची ५, ६, ७, ८ र ९ ले सम्बन्धित प्राकृतिक स्रोतसँग सम्बन्धित तहगत अधिकार र कर्तव्यबारे व्यवस्था गरेको छ भने अनुसूची–९ ले प्राकृतिक स्रोत र त्यसको उपयोगबाट प्राप्त रोयल्टीलाई तीनै तहको अधिकार क्षेत्रभित्र राखेको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको बाँडफाँट र विस्तृतिकरणले यी विषयहरुलाई अझ स्पष्ट पारेको छ ।

संविधानको धारा ५९(४) ले सङ्घ, प्रदेश र स्थानीय तहमार्फत परियोजना प्रभावित क्षेत्र तथा स्थानीय समुदायमा रोयल्टीको समन्यायिक वितरणको व्यवस्था गरेको छ । धारा ६० (२) ले रोयल्टीको रुपमा सङ्कलित राजस्वको तीन तहका सरकारकाबीच न्यायोचित वितरणको प्रावधान गरेको छ भने र धारा ६० (३) ले प्रदेश र स्थानीय तहले प्राप्त गर्ने त्यस्तो वित्तीय हस्तान्तरण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश बमोजिम हुने व्यवस्था गरेको छ ।

संविधानको धारा २५१ ले सङ्घ, प्रदेश र स्थानीय तहवीच राजस्व बाँडफाँटको विस्तृत आधार तथा ढाँचा निर्धारण गर्न, पुनरावलोकन गर्न र नेपाल सरकार समक्ष सिफारिस गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई जिम्मा दिएको छ । उक्त धाराले प्राकृतिक स्रोत परिचालनमा तीन तहका सरकारको लगानी  प्रतिफलको हिस्सा निर्धारणको आधार तय गर्ने, प्राकृतिक स्रोतको बाँडफाँटमा तीन तहका सरकारबीच उठ्न सक्ने विवादको निरुपणको निम्ति सुझाव दिने र प्राकृतिक स्रोतको बाँडफाँटसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन अनुसन्धान र सिफारिस गर्ने कार्यजिम्मेवारी तोकेको छ । 


नेपालमा रोयल्टी सङ्कलन र बाँडफाँटको सन्दर्भमा केही विषय क्षेत्रगत ऐनहरुमा व्यवस्था गरिएको भएता पनि रोयल्टी बाँडफाँटको विषयमा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ बढी भूमिकामा छन् । यी ऐनहरु बाहेक स्थानीय सरकार सञ्चालन ऐन २०७४, सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ र प्रदेश सरकारको कार्य सञ्चालनसम्बन्धी ऐनहरु रोयल्टी बाँडफाँटको सन्दर्भमा केही मात्रामा आकर्षित हुन्छन् ।

विवादको अन्त्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले नेपालको संविधानअनुसार प्राकृतिक स्रोतहरूमाथि स्थानीय, प्रदेश, र सङ्घीय सरकारले आ–आफ्नो अधिकार प्रयोग गर्न सक्ने भए पनि  रोयल्टी सङ्कलन र बाँडफाँटका विषयमा स्पष्ट कानुनी प्रावधान तथा बुझाइको अभावले तीन तहबीच द्वन्द्व बढाइरहेको स्वीकार्नुहुन्छ । सङ्घीय सरकारले ठूलो आयोजना तथा राष्ट्रिय स्रोतहरूबाट रोयल्टी सङ्कलन गर्ने व्यवस्था गरेको छ । स्थानीय तह र प्रदेश सरकार भने  उक्त प्राकृतिक स्रोत प्रयोग गरे वापत वातावरणीय प्रभाव पर्ने भन्दै त्यसको भुक्तानी दिनुपर्ने आवाज उठाइरहेका छन् ।

हालको संरचनामा सङ्घलाई ५० प्रतिशत, प्रदेश र स्थानीय सरकारलाई २५–२५ प्रतिशत र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले स्थानीय तहलाई कम्तीमा ५० प्रतिशत रोयल्टीको माग गरिरहेका छन् ।

वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा केदार बराल पनि जनताको नजिकको सरकारले बढी कर पाउनुपर्नेमा सहमत हुनुहुन्छ । अहिलेको रोयल्टीको प्रावधानको आत्मसमीक्षा गर्न जरुरी रहेको बताउदै उहाँले भन्नुभयो, “राष्ट्रिय वन व्यवस्थापन गर्ने एकल अधिकार सूचीमा प्रदेश सरकारलाई राखिएको छ । तर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजश्व बाँडफाँटको तरिकामा ५० प्रतिशत सङ्घलाई, २५ प्रतिशत प्रदेशलाई र २५ प्रतिशत स्थानीय तहलाई हुने व्यवस्था छ । यो न्यायोचित नै छैन ।” 

वन व्यवस्थापन गर्ने एकल अधिकारको सूची प्रदेशको छ भने राजस्वको ठूलो हिंसा प्रदेशले पाउनुपर्ने उहाँको तर्क छ । तर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुनमा रोयल्टी बाँडफाँटको सीमा परिमार्जन गरेर प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी नेपाल सरकार (सङ्घ), सम्बन्धित प्रदेश र स्थानीय तहमा बाँडफाँट गरिने विद्यमान व्यवस्था परिमार्जनका लागि सरकारलाई सिफारिस गरेको छ ।

वातावरण कानुका विज्ञ प्रकाशमणि शर्मा सङ्घीयतामा तीन तहको सरकारबीच प्राकृतिक स्रोतलाई आयआर्जनको रुपमा मात्रै लिएर द्वन्द्व बढेको र यसले वातावरणीय अपराध पनि बढाएको बताउनुहुन्छ । “प्राकृतिक सम्पदालाई अर्थापार्जन गर्ने स्रोतको रुपमा मात्रै हेरिएको छ । प्राकृतिक महत्व, पर्यावरण सुरक्षाको रुपमा हेरिएको छैन । खोलाका ढुङ्गा, गिट्टी र डाडाँहरुलाई आर्थिक स्रोतको रुपमा मात्रै हेरिन्छ र बजेटमा नै वैदेशिक घाटा घटाउन चुरेका ढुङ्गा गिटट्ी बेच्ने कुरा आउँछ” उहाँ भन्नुहुन्छ, “ललितपुरको गोदावारीमा ढुङ्गा, गिट्टी निकाल्दा पहिरो जस्ता मानव सिर्जित प्राकृतिक विपद्को सामना गर्नुपर्‍यो । त्यसैले यस्ता वातावरणीय अपराध रोकेर पर्यावरणमैत्री विकासमा लाग्नुपर्छ ।”

ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस

काठमाडौँ । सरकारले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ वैकल्पिक विकास वित्त परिचालन गर्ने अवधारणाका साथ नयाँ कानुन प्रस्ताव गरेको छ ।

अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको छ । सङ्घीय संसद्का दुवै सदनले पारित गरेपछि सो विधेयक कानुनका रुपमा कार्यान्वयनमा जानेछ । यो नेपालको विकास प्रक्रियाका लागि प्रस्तावित विधेयक नयाँ हो ।

मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधारलगायतका क्षेत्रको विकास गर्ने लक्ष्यका साथ सरकारले नयाँ कानुन प्रस्ताव गरेको हो । त्यसको उद्देश्यका रुपमा ठूला र महत्वपूर्ण परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानीलगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोग गरिनेछ ।

यस्तै, संस्थागत संरचना, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विषयलाई समेट्ने गरी वैकल्पिक विकास वित्तसम्बन्धी कानुन आवश्यक रहेको सरकारको बुझाइ छ । विकासका नवीन स्रोतको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवद्र्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न, निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्ने उद्देश्य राखिएको छ ।

त्यस्तै, वर्तमान वित्तीय स्रोतको कमी पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रवन्ध गर्न ऋणपत्र, स्वपूँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गरिनेछ ।

विभिन्न तहमा भएका अध्ययनका आधारमा नेपालका लागि आगामी दशकमा रु १०० खर्ब बढी लगानी आवश्यक पर्ने देखिएको छ । वार्षिक रुपमा रु दुईदेखि रु तीन खर्बमात्रै लगानी भइरहेको अवस्था छ । लगानीको आवश्यकता र उपलब्धताको बीचमा रहेको कमी परिपूर्तिका लागि नयाँ स्रोत र उपायको आवश्यकता महसुस गरेर सरकारले नयाँ कानुन प्रस्ताव गरेको जनाएको छ ।

सरकारको १६औँ आवधिक योजनामा समावेश गरेको दीर्घकालीन राष्ट्रिय लक्ष्यमा ४० हजार मेगावाट बिजुली उत्पादन गर्ने भन्नेछ । विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नति, विस्तार र पहुँचका लागि पनि ठूलो लगानी आवश्यक पर्छ । आद्यौगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, स्मार्टसिटी, नगर विकास, पर्यटन विकासका योजना, सडक, सिँचाइ, खानेपानी, विमानस्थल निर्माणलगायतमा पनि बृहत लगानी आवश्यक छ ।

वर्तमान वित्तीय स्रोतको अभाव कम गर्दै राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउने उद्देश्यले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिएको हो । सो विधेयकलाई मन्त्रिपरिषद्को गत चैत २५ गतेको बैठकले स्वीकृति दिएको थियो ।

विधेयकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कोष एक स्वायत्त संस्थाको रुपमा स्थापना हुने परिकल्पना गरिएको छ । सो कोषको अधिकृत पुँजी रु एक खर्ब र चुक्ता पुँजी रु २५ अर्ब हुने प्रस्ताव गरिएको छ । त्यसमा नेपाल सरकारको ५१ प्रतिशत शेयर लगानी रहने प्रस्ताव गरिएको छ ।

चुक्ता पुँजी रु २५ अर्बको ५१ प्रतिशतले हुन आउने रु १२ अर्ब ७५ करोड बराबरको लगानी सरकारले गर्नेछ । यसको प्रभावकारी प्रयोग भई संस्था सबल एवम् सक्षम भएपछि वा लगानी वृद्धि हुँदै गएपछि सरकारको शेयर अनुपात क्रमशः घटाउँदै जाने नीति लिन उपयुक्त हुने सोच राखिएको छ ।

विधेयकले उच्च आर्थिक प्रतिफल दिने, रोजगारीको थप अवसर सिर्जना गर्ने वा मुलुकको आर्थिक विकास गर्न सहयोग पुर्याउने आयोजनाको पहिचान, अध्ययन, विकास वा सोको कार्यान्वयनको लागि विभिन्न उपाय अवलम्बन गर्ने लक्ष्य राखेको छ ।

कुनै आयोजना विशेषको लागि वित्तीय उपकरण वा ऋणपत्र जारी गरी वा स्वपुँजी (इक्विटी), ऋण र मिश्रित वित्तीय उपकरणको माध्यमबाट लगानीकर्ता वा सर्वसाधारणबाट रकम उठाइनेछ । सरकार वा कुनै अन्तरराष्ट्रिय वित्तीय संस्था वा कुनै खास आयोजना कार्यान्वयन गर्ने संस्था वा निकायको जमानत लिई विशेष ऋण उठाउन सकिने प्रस्ताव गरिको छ । त्यसमा आयोजनाको विशेष पनि ऋण उठाउन सकिनेछ ।

सरकार वा अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट पूर्ण वा आंशिक जमानत प्राप्त गरी सर्वसाधारण वा वित्तीय संस्थाबाट ऋण वा ऋणपत्र वा दुवै प्राप्त गर्न जमानत कोष स्थापना गरिने विधेयकमा प्रस्ताव गरिएको छ ।

स्वदेशी वा विदेशी लगानीकर्ताबाट पुँजी सङ्कलन गरी लगानी कोष स्थापना गर्ने प्रस्ताव विधेयकमा छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक बा गैरआवासीय नेपालीको लगानीमा विप्रेषण कोष (रेमिट फन्ड) स्थापना गर्ने प्रबन्ध गरिएको छ । कुनै निकाय वा आयोजनाको सम्पत्ति मौद्रिकीकरण गर्ने, पूर्वाधार आयोजनामा लगानी गर्न स्थापना भएका विभिन्न कोषमा लगानी गर्न एकीकृत कोष स्थापना गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

यस्तै, तोकिए बमोजिमका अन्य वित्तीय उपकरण प्रयोग गरी कोष स्थापना वा वित्तीय उपकरण जारी गरेर स्रोतको जोहो गरिनेछ । वैकल्पिक विकास वित्तको प्रयोग ऊर्जा विकास वा विद्युत् उत्पादन, विद्युत् प्रसारण वा वितरण, सडक निर्माण वा विस्तार, रेलमार्ग निर्माण, विस्तार, विमानस्थल निर्माण एवम् सुधार, सुरुङमार्ग निर्माण, विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, सुक्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माणमा गरिनेछ ।

यस्तै, सूचना प्रविधिपार्क, विशेष पर्यटन पूर्वाधार, विशेष खेलकुद पूर्वाधार जस्ता संरचना निर्माण, सहरी पूर्वाधार निर्माण, सार्वजनिक डिजिटल पूर्वाधारको स्थापनार सञ्चालन, केबुलकार, रज्जु मार्ग र उच्च आर्थिक प्रतिफल दिनसक्ने भनी समितिबाट निर्णय भएका अन्य सम्भाव्य आयोजनामा सो स्रोतबाट जुटाइएको पैसा लगानी गरिनेछ ।

कोष सञ्चालनका लागि नेपाल सरकारको सचिवको अध्यक्षताका एक समिति गठन हुनेछ । कोषको नियमित काम कारवाहीका लागि प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था गरिएको छ ।

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

भीष्मराज ओझा, काठमाडौँ ।विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ ।

विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ ।

अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ । हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् ।

पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् ।

तथ्याङ्कअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मङ्गोलियामा नौ सय ५३, भारतमा सात सय १८, नेपालमा तीन सय ९७ र भुटानमा एक सय ३४ हिउँचितुवा रहेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत सङ्घसंस्थाको सहयोगमा विभिन्न तथ्याङ्क र अनुसन्धानको विश्लेषण र मूल्याङ्कन गरी सो तथ्याङ्क निकालिएको उनले बताए ।

यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्याङ्क निकालिएको हिउँचितुवा विज्ञ शशाङ्क पौडेलले जानकारी दिए। यो तथ्याङ्क क्यामेरा ट्रयाप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँचितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको उनले बताए ।

यस मूल्याङ्कन उपलब्धिले हिउँचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।

यो मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए ।

बासस्थान अतिक्रमणको चुनौती

विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएकाले यसमा चुनौती थपिएको छ । साथै द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती छन् ।

हिउँचितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छन् । हिउँचितुवालाई आइयुसिएनले ‘रेड लिस्ट’ विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । बिरालो प्रजातिको हिउँचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । तथ्याङ्कअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् त्यसमध्ये डोल्पा क्षेत्रमा हिउँचितुवाको सङ्ख्या ९० रहेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले हिउँचितुवाको पछिल्लो तथ्याङ्क नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गर्दै यस तथ्याङ्कले हिउँचितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र नभइ भविष्यका संरक्षण रणनीतिलाई सूचीत गर्ने बताए।

साथै उनले यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्ने बताउँदै मूल्याङ्कनका निष्कर्षहरूले हिउँचितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेको अवगत गराए।

संरक्षणका लागि छ वर्षे कार्ययोजना

वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ ।

कार्ययोजनामा हिउँचितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँचितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँचितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।

हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँचितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् ।

जम्मू-कश्मीर आक्रमण: मोदीले साउदी भ्रमण छोट्याए,ट्रम्पको भारतलाई ऐक्यबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ। उहाँ आज राति भारत फर्कनुहुनेछ।

यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।

यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।

प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिनुभएको छ।

यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुग्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ। सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहनुभएको ह्वाइट हाउसकाे प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिनुभयो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भन्नुभयो, “पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन्।”

राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेख्नुभएको छ, “कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्‍याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

पाल्पामा विद्यालय खोल्न विद्यालय व्यवस्थापन समितिलाई दबाब

तानसेन (पाल्पा), ९ वैशाखः विद्यालय बन्द गरेर तीन हप्तादेखि ंशिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब दिन थालेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीलाई समस्या भएको भन्दै अभिभावकले विद्यालय खोल्न विद्यालय व्यवस्थापन समितिलाई दबाब दिन थालेका हुन् ।

जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकले विद्यालयमै पुगेर व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् । अभिभावकहरू नाराबाजीसहित सोमबार पठनपाठन सुरु गर्न विद्यालयमै पुगे । अभिभावक ताराबहादुर विश्वकर्माले शिक्षकका कारण विद्यार्थीको भविष्य बिग्रिने भन्दै एकजुट भएर दबाब दिनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षकहरूले आफ्ना जायज माग राखेर आन्दोलन गर्नुभएको होला त्यो अन्यथा हैन तर हाम्रा बच्चाको भविष्यप्रति खेलवाड गर्नुभएन, हाम्रा बच्चाको भविष्यका लागि विद्यालय खोल्न आन्दोलन गरेका हौँ ।”

अर्का अभिभावक लीलाकुमारी विकले लामो समय हुँदासमेत विद्यालय खुल्ने छाँटकाँट नदेखेपछि आफुहरू आन्दोलित हुनुपरेको बताउनुभयो । “निजी विद्यालयले पठनपाठन गराइरहँदा हाम्रा बालबच्चा भने घरमै बस्न बाध्य छन् । यो राम्रो भएन । आफ्ना माग राख्न पाइन्छ तर त्यसलाई रचनात्मक रूपमा गरे हुन्थ्यो नि! बन्द गरेर त राम्रो भएन”, उहाँले भन्नुभयो ।

विद्यार्थीलेसमेत पढाइबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् । विद्यार्थी कुसुम परियारले भर्ना भएर पढ्नुपर्ने बेलामा हालसम्म विद्यालय नखुल्दा आफूहरू समस्यामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “आफुसँगैका धेरै साथी निजी विद्यालयमा गए तर आर्थिक अवस्थाका कारण उता जान पनि सकेनौँ । यता कहिले विद्यालय खुल्ने हो टुङ्गो छैन । यसले निकै समस्या भयो ।” अर्का विद्यार्थी दिवस बगालेले पनि आन्दोलनका कारण विद्यालय बन्द भएपछि आफुहरूको भविष्य अन्योलमा रहेको बताउनुभयो ।

अभिभावकले आन्दोलन गरेपछि विद्यालयले पठनपाठन गराउन तयार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले विद्यार्थीप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको र अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि आजदेखि नियमित रूपमा पठनपाठन सुरु गरिएको बताउनुभयो । “हामीले सोमबार नै अभिभावक, विद्यार्थी र शिक्षकहरूसँग छलफल गरेका थियौंँ । विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय भइसकेको थिएन तर आज बिहानै अभिभावक विद्यार्थीसहित आएर विद्यालय नखोजे निजी स्कूलमा जान्छौँ भन्नुभयो”, उहाँको भनाइ छ,“विद्यालय खोल्नुहोस् हामी तपाईहरूकै साथमा छौैँ भन्दै आन्दोलन गरेपछि हामीले विद्यालय खोल्ने निर्णय गरेका हौँ ।” वडाभित्रका अन्य विद्यालयमा पनि पठनपाठन सुरु भएको वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता भएको छ ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आएका भारतीय विद्युतमन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सम्झौता भएको हो ।

गत माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा–न्यू पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेसँगै उक्त कम्पनीलाई अगाडि बढाउनेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षरमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक डा यतिन्द्र दुवेदीले संयुक्त हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ । बाँकी ४९ प्रतिशत दोस्रो पक्षको रहनेछ ।

प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले दुई देशको ऊर्जा विकासमा यो सम्झौता महत्त्वपूर्ण भएको बताए । उनले नेपालको ऊर्जा विकासको क्षेत्रमा भारतले पुर्याएको सहयोगप्रति धन्यवाद दिए । उनले इनरुवा–न्यू पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइनलाई केवल संरचना नभई आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा भएको उल्लेख गरे ।

ऊर्जामन्त्री मन्त्री खड्काले अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, फुकोट कर्णाली, अपर कर्णाली, पश्चिम सेतीजस्ता ठूला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार प्रकट गरे । उनले सन् २०२४ नोभेम्बर १५ को दिनलाई नेपालको ऊर्जा इतिहासमा स्वर्णिम अध्यायको रूपमा उल्लेख गरे । उक्त दिन नेपालबाट पहिलोपटक भारतको प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात भएको थियो ।

कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले दुई देशबीच ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरे । उनले सन् २०२२ मा नेपाल–भारतबीच जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै तीन प्रमुख आधार–संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भएको बताए ।

विद्युतमन्त्री खट्टरले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरू भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाली विद्युत् भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना भएको बताए । नेपालमा उत्पादित जलविद्युत्लाई स्वदेशमा मात्र क्षेत्रीय मुलुकहरूमा हरित ऊर्जाको रूपमा प्रयोग गर्न सकिने भन्दै यसका लागि अन्तरदेशीय प्रसारण लाइनको सम्झौता कार्यक्रम कोसेढुङ्गा सावित भएको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यद्वारा बजेट जनमुखी बनाउन निर्देशन

लुम्बिनी, ९ वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट जनतालाई सन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बजेट तर्जुमासम्बन्धी छलफलमा उहाँले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयनयोग्य योजना समेट्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ । जति बजेटको सिलिङ बनाइएको छ, त्यसैको आधारमा जनसन्देशसहितका कार्यक्रम समेटेर बजेट बनाउन जरूरी छ । कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।”

उहाँले चालु आर्थिक वर्षमा झण्डै रु ३९ अर्बको बजेट ल्याइएको भए पनि आगामी वर्षमा रु ३२ अर्बभन्दा बढी बजेट बनाउने अवस्था नरहेको स्पष्ट पार्नुभयो । बजेट निर्माणका लागि प्राप्त सुझावलाई परिमार्जन गरी लैजाने र विगतका कमजोरी दोहोर्‍याइने पक्षमा नरहेको पनि मुख्यमन्त्री आचार्यले प्रष्ट पार्नुभयो । समानीकरण अनुदान प्राप्त नहुँदा दायित्व थपिएको अवस्था रहे पनि अब त्यसबाट मुक्त भइसकेको प्रदेश सरकारले अब ऋण बोक्ने, भार थो पर्ने काम नगर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणलाई यथार्थपरक, परिणाममुखी र जनउत्तरदायी बनाउनेगरी छलफल प्रक्रिया अघि बढाएको हो । बजेटले दायित्व व्यवस्थापन, स्रोतको उचित परिचालन, सेवा प्रवाह सुधार तथा समृद्धिको दिशा देखाउने अपेक्षा गरिएको छ ।

उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले कार्यान्वयन हुनेगरी बजेट निर्माण गरिनुपर्ने बताउनुभयो । प्रदेश सरकारलाई सवारीसाधन अनुमतिपत्र छपाइको जिम्मेवारीलाई बजेटमा समेट्नुपर्ने बताउँदै उहाँले उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र समृद्ध प्रदेश निर्माणसँग जोडिएका विषयहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मातृ मृत्यु दर, बाल मृत्यु दर, कुपोषणजस्ता समस्यालाई समाधान गर्नेगरी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार मात्र नभई सेवा प्रवाहलाई चुस्त बनाउनेगरी प्राथमिकीकरण गरिनुपर्ने उहाँको भनाइ थियो ।
माजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले बजेट तर्जुमा छलफल गर्दा आयोजनाको क्षेत्र हेरेर सीमा तोक्नुपर्ने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले दोस्रो आवधिक योजनाले निर्धारण गरेका प्राथमिकताका क्षेत्रलाई बजेटमा प्राथमिकता दिनसके धेरै समस्या समाधान हुने बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले सेवा प्रवाह चुस्त बनाउने, नागरिकको विश्वास जगाउने कार्यक्रमलाई बजेटमा समावेश गर्ने तयारी भइरहेको बताउनुभयो । प्रदेशमा रहेका समस्याका सूचकहरूका आधारमा गरिबी निवारण, शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा दोस्रो आवधिक योजनाको प्राथमिकतालाई बजेट तर्जुमाको मुख्य आधार बनाउनुपर्ने, प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गर्नुपर्ने, मर्मत–सम्भारको अभावमा सञ्चालनमा आउन नसकेका आयोजनालाई पुनः सञ्चालनमा ल्याउने गरी बजेट छुट्याउनुपर्ने, आयोजनाको सङ्ख्या घटाउने, प्राथमिकीकरण गर्ने, बहुवर्षीय दायित्व घटाउने गरी बजेट निर्माण गर्नुपर्नेलगायत विषय प्राथमिकताका साथ उठाइएको छ ।

‘वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको छ’ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सङ्कट समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको बताउनुभएको छ ।

पार्टीद्वारा नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित विचार गोष्ठीमा उहाँले राष्ट्रियता, जनजीविका, सामाजिक रुपान्तरणलगायत विषयलाई उचित ढङ्गले अघि बढाउन कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गर्नुपर्ने बताउनुभयो ।

ठूला पार्टीको आत्मकेन्द्रित स्वार्थीपनका कारण जनताको समृद्धिको चाहना पूरा हुन नसकेको बताउँदै उहाँले जनतामा असन्तोष, विरोध र आक्रोश बढ्दै गएकाले यसको जिम्मेवारी ठूला पार्टीहरूले लिनुपर्ने टिप्पणी गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफ्नो पार्टी भएको उल्लेख गर्नुभयो ।

पार्टीको महासचिव घनश्याम भुसालले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहिनताले प्रतिभा पलायन भइरहेको अवस्थामा संविधानका प्रगतिशील र समाजवादी पक्षलाई कार्यन्वयन गर्नुपर्ने जोड दिँदै प्रतिगामी शक्तिकाविरुद्ध सङ्घर्ष गर्न देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउनुभयो ।

उहाँले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो । पार्टी सचिव शेरबहादुर कुँवरले जनता र राष्ट्रका समस्या पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै मुलुकको विद्यमान समस्या समाधान गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताउनुभयो ।

बेगनास तालमा डुङ्गा पल्टिएपछि…

गण्डकी, ९ वैशाख : हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ, बचाउ…’ भन्दै रोइरहेका देखिन्थे । डुङ्गा पल्टेको खबर पाउँदा साथ सशत्र प्रहरी बलको उद्धार टोली तालमा आइपुग्यो । उनीहरूले केही यात्रुको तत्काल उद्धार गरे । प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइयो ।

दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गर्‍यो । ज्यानको पर्वाह नगरी तालमा हेलिएका उद्धार टोलीले यात्रुको जीवन बचाए । यो काल्पनिक घटना–दृश्य कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालको हो । पोखरास्थित सशत्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजनामा आज विपद् प्रतिकार्य नमूना अभ्यास अन्तरगत जल उत्पन्न प्रकोपसम्बन्धी उद्धार अभ्यास गरिएको हो । गण्डकी प्रदेश विपद् व्यवस्थापन टिमअन्तरगत रहेका गोताखोर, तुइन रोप उद्धारकर्तालगायत उक्त अभ्यासमा सहभागी थिए ।

तालको खोँचमा फसेका मानिसको तुइन रोपको सहायतामा उद्धार अभ्याससमेत गरिएको थियो । उक्त अवसरमा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रदर्शनीसमेत राखिएको छ । सशत्र प्रहरीलाई विपद्जन्य उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमूना अभ्यास आयोजना गरिएको कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

विपद् व्यवस्थापनबारे समुदायस्तरमा विभिन्न तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । सशत्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका सशत्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङले गत साउनयता गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी एकल र संयुक्त गरी २९ वटा विपद् प्रतिकार्य नमूना अभ्यास गरिएको जानकारी दिनुभयो ।

विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणमा नमूना अभ्यासले मद्दत पुर्‍याउने उहाँले बताउनुभयो । “यस्ता अभ्यासले विपद्को समयमा हुने संवेदनशीलताको विश्लेषण गरी सुरक्षामा खटिने टोलीलाई विपद् उद्धारमा लाग्न सहजीकरण हुनेछ”, उहाँले भन्नुभयो । उद्धार अभ्यासको अवलोकनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद् न्यूनीकरण, खोज, उपचार र राहतलगायतका काममा सरोकार भएका सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ त्यति नै विपद्का दृष्टिले जोखिमयुक्त रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले जल उत्पन्न प्रकोप व्यवस्थापन र उद्धारका लागि बेगनास तालमा ‘उद्धार टावर’ निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको बताउनुभयो ।

विपद्का घटना न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमूना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रम सञ्चालनमा सहकार्य गर्दै आएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले पानीजन्य विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा गोताखोर तालिम सञ्चालन गरिएको बताउनुभयो । “सक्रिय तयारी, सुदृढ समन्वय र स्थानीय तहसम्म उद्धार क्षमताको विकासले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरण गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले प्रदेशस्तरमा रू १० करोड नघट्ने गरी र जिल्लास्तरमा रू दस लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरेको जानकारी दिनुभयो ।

विसं २०६९ मा स्थापना भएको प्रदेश विपद् व्यवस्थापन टिममा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ४५ जना दक्षजनशिक्त रहेको कालिका गणका गणपति तिमिल्सिनाले जानकारी दिनुभयो । टिममा १३ जना तालिम प्राप्त गोताखोर रहेका छन् । फायर फाइटर चार जना र रोप उद्धारकर्ता सात जना रहेका छन् । हालसम्म विपद् व्यवस्थापन टिमले १२ सय ३० जनाको जीवित र दुई सय ८३ जनालाई मृत अवस्थामा उद्धार गरिएको गणपति तिमिल्सिनाले बताउनुभयो ।

धनगढीमा यो वर्षकै सबैभन्दा बढी तापक्रम

सुदूरपश्चिम, ९ वैशाख : कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुनथालेको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिनुभयो । सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । उहाँले भन्नुभयो,“प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ ।”

मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ । गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ । गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन् । धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति चर्को गर्मी महसुस पहिलो पटक भएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “वैशाख महिनामै यति चर्को गर्मी छ, जेठ महिनाको गर्मीले तराईमा बस्न सकिँदैन जस्तो छ, जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको हुनसक्छ ।”

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन

मुस्ताङ, ९ वैशाखः हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा रु ४७ लाख ९० हजार ९५२ चन्दाभेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार चालु आवमा यहाँको भेटी चार पटकसम्म गणना गरिएको छ । मङ्सिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते मुक्तिनाथमा राखिएको भेटी गणना गरिएको हो ।

 यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनले रसिद काटेर नगद दान गरेको रकम गत वर्षको असारमा करिब रु ८६ लाख र चालु आवमा करिब रु ५० लाख समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा सङ्कलक रविन सुवेदीले जानकारी दिनुभयो ।

मन्दिरमा जम्मा हुने भेटी रकममध्ये भारतीय र अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो । यस्तो रकम समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठेरो भएकाले निकै ठूलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

मुक्तिनाथ विकास समितिले गत आव २०८०/०८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा रु नौ करोड ११ लाख रकम मौज्दात रहेको जनाइएको छ । यहाँ अनौपचारिक रूपमा समिति गठन भएको धेरै वर्ष भए पनि औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी विसं २०६४ मा गठन भएको थियो ।