`

बेगनास तालमा डुङ्गा पल्टिएपछि…

गण्डकी, ९ वैशाख : हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ, बचाउ…’ भन्दै रोइरहेका देखिन्थे । डुङ्गा पल्टेको खबर पाउँदा साथ सशत्र प्रहरी बलको उद्धार टोली तालमा आइपुग्यो । उनीहरूले केही यात्रुको तत्काल उद्धार गरे । प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइयो ।

दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गर्‍यो । ज्यानको पर्वाह नगरी तालमा हेलिएका उद्धार टोलीले यात्रुको जीवन बचाए । यो काल्पनिक घटना–दृश्य कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालको हो । पोखरास्थित सशत्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजनामा आज विपद् प्रतिकार्य नमूना अभ्यास अन्तरगत जल उत्पन्न प्रकोपसम्बन्धी उद्धार अभ्यास गरिएको हो । गण्डकी प्रदेश विपद् व्यवस्थापन टिमअन्तरगत रहेका गोताखोर, तुइन रोप उद्धारकर्तालगायत उक्त अभ्यासमा सहभागी थिए ।

तालको खोँचमा फसेका मानिसको तुइन रोपको सहायतामा उद्धार अभ्याससमेत गरिएको थियो । उक्त अवसरमा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रदर्शनीसमेत राखिएको छ । सशत्र प्रहरीलाई विपद्जन्य उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमूना अभ्यास आयोजना गरिएको कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

विपद् व्यवस्थापनबारे समुदायस्तरमा विभिन्न तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । सशत्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका सशत्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङले गत साउनयता गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी एकल र संयुक्त गरी २९ वटा विपद् प्रतिकार्य नमूना अभ्यास गरिएको जानकारी दिनुभयो ।

विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणमा नमूना अभ्यासले मद्दत पुर्‍याउने उहाँले बताउनुभयो । “यस्ता अभ्यासले विपद्को समयमा हुने संवेदनशीलताको विश्लेषण गरी सुरक्षामा खटिने टोलीलाई विपद् उद्धारमा लाग्न सहजीकरण हुनेछ”, उहाँले भन्नुभयो । उद्धार अभ्यासको अवलोकनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद् न्यूनीकरण, खोज, उपचार र राहतलगायतका काममा सरोकार भएका सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ त्यति नै विपद्का दृष्टिले जोखिमयुक्त रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले जल उत्पन्न प्रकोप व्यवस्थापन र उद्धारका लागि बेगनास तालमा ‘उद्धार टावर’ निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको बताउनुभयो ।

विपद्का घटना न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमूना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रम सञ्चालनमा सहकार्य गर्दै आएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले पानीजन्य विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा गोताखोर तालिम सञ्चालन गरिएको बताउनुभयो । “सक्रिय तयारी, सुदृढ समन्वय र स्थानीय तहसम्म उद्धार क्षमताको विकासले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरण गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले प्रदेशस्तरमा रू १० करोड नघट्ने गरी र जिल्लास्तरमा रू दस लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरेको जानकारी दिनुभयो ।

विसं २०६९ मा स्थापना भएको प्रदेश विपद् व्यवस्थापन टिममा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ४५ जना दक्षजनशिक्त रहेको कालिका गणका गणपति तिमिल्सिनाले जानकारी दिनुभयो । टिममा १३ जना तालिम प्राप्त गोताखोर रहेका छन् । फायर फाइटर चार जना र रोप उद्धारकर्ता सात जना रहेका छन् । हालसम्म विपद् व्यवस्थापन टिमले १२ सय ३० जनाको जीवित र दुई सय ८३ जनालाई मृत अवस्थामा उद्धार गरिएको गणपति तिमिल्सिनाले बताउनुभयो ।

धनगढीमा यो वर्षकै सबैभन्दा बढी तापक्रम

सुदूरपश्चिम, ९ वैशाख : कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुनथालेको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिनुभयो । सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । उहाँले भन्नुभयो,“प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ ।”

मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ । गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ । गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन् । धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति चर्को गर्मी महसुस पहिलो पटक भएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “वैशाख महिनामै यति चर्को गर्मी छ, जेठ महिनाको गर्मीले तराईमा बस्न सकिँदैन जस्तो छ, जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको हुनसक्छ ।”

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन

मुस्ताङ, ९ वैशाखः हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा रु ४७ लाख ९० हजार ९५२ चन्दाभेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार चालु आवमा यहाँको भेटी चार पटकसम्म गणना गरिएको छ । मङ्सिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते मुक्तिनाथमा राखिएको भेटी गणना गरिएको हो ।

 यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनले रसिद काटेर नगद दान गरेको रकम गत वर्षको असारमा करिब रु ८६ लाख र चालु आवमा करिब रु ५० लाख समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा सङ्कलक रविन सुवेदीले जानकारी दिनुभयो ।

मन्दिरमा जम्मा हुने भेटी रकममध्ये भारतीय र अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो । यस्तो रकम समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठेरो भएकाले निकै ठूलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

मुक्तिनाथ विकास समितिले गत आव २०८०/०८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा रु नौ करोड ११ लाख रकम मौज्दात रहेको जनाइएको छ । यहाँ अनौपचारिक रूपमा समिति गठन भएको धेरै वर्ष भए पनि औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी विसं २०६४ मा गठन भएको थियो । 

सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सिरहा, ९ वैशाख : सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय राजीव सिंह र सोही मोटरसाइकलको पछाडी सवार १९ वर्षीय प्रिन्स सिंह रहेका छन् ।

प्रहरीले प्रिन्सको साथबाट सानो कटुवा पेस्तोल कम्मरमा भिरेको अवस्थामा एक थान र सो को गोली एक थान बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिरहाबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संस्कार क्रिकेट लिगको उपाधि नारायण स्पोर्टलाई

कैलाली, ९ वैशाख : कैलालीको धनगढीमा जारी टिम ११ संस्कार क्रिकेट लिग प्रतियोगिताको आज भएको फाइनल खेलको उपाधि नारायण स्पोर्ट क्लब कञ्चनपुरले जितेको छ ।

जितसँगै नारायण स्पोर्ट क्लबले नगद रु एक लाख ११ हजार एकसय ११ सहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा बनेको युथ अफ टीकापुरले रु ५५ हजार ५५५ नगदसहित ट्रफी प्राप्त गरेको छ । फाइनल खेलमा युथ अफ टीकापुरलाई पाँच विकेटले पराजित गर्दै नारायणले उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो ।

युथ अफ टीकापुरका लागि सुदीप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निरासाजनक रह्यो । टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान तीन/तीन विकेट लिए । 

उनान्असी रनको लक्ष्य पछ्याएको नारायण स्पोर्ट क्लबले १२ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गर्याे । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले । बलिङतर्फ युथ अफ टीकापुरका सागर रावलले तीन विकेट लिए ।

संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा चैत ३० गतेदेखि सुरू भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ वटा टोली सहभागी रहेका थिए । प्रतियोगिताको वेष्ट ब्याट्स म्यान नारायण स्पोर्टका सुमित बुढाल भए । त्यसैगरी वेष्ट बलर उत्तर त्रिशुलका अनुप छेडाल घोषित हुँदा संस्कार वि

का कप्तान रावल इमर्जिङ प्लेयर बनेका छन् ।

दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि

काठमाडौँ, ९ वैशाख : अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा यहि वैशाख ११ गते (बिहीबार) देखि दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित छ राष्ट्रका ८५ खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । सङ्घका महासचिव कुबेरप्रकाश सिंहले भुटानबाहेक सबै दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने जानकारी दिनुभयो ।

यु–१९ र यु–१५ उमेर समूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसको छनोटका रूपमा रहेको टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यु–१९ को टोलीको स्पर्धामा पहिलो र दोश्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका लागि स्वतः छनोट हुनेछन् । यो उपलब्धि हासिल गर्न नसक्ने राष्ट्रको हकमा प्रत्येक राष्ट्रलाई यु–१५ उमेर समूहमा समान १/१ पुरुष, महिला खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागिताका लागि ‘कोटा’ प्रदान गरिने छ ।

एसियाली टेबलटेनिस युनियनको वार्षिक क्यालेन्डरअनुसार हुन लागेको चारदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछन् ।

‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ : मन्त्री यादव

काठमाडौँ, ९ वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेश र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताउनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी विषयमा खानेपानी मन्त्रालयबाट हालसम्म भएका कार्य प्रगति र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री यादवले जनतालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको मुख्य प्राथमिकता भएकाले यस पटकको खानेपानी बजेटमा दुर्गम तथा पिछडिएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी कर्णाली प्रदेशका दश जिल्लामा खानेपानीको अवस्था अत्यन्तै गम्भीर छ । आगामी बजेटमा उक्त प्रदेशका जनतालाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन विशेष योजना निर्माण गरी कार्यान्वयन गरिने छ ।”

फिनल्याण्ड सरकार, स्थानीय तह र खानेपानी मन्त्रालयको समन्वयमा कर्णालीका दश जिल्लामा खानेपानीका क्षेत्रमा काम भइरहेको मन्त्री यादवले जानकारी दिनुभयो । 

समितिका सदस्यहरूका प्रश्न जवाफमा उहाँले आफूले मन्त्रालय सम्हालेपछि रोकिएका थुप्रै योजनाको विस्तृत अध्ययन गरिएको, धेरै आयोजनाहरू पुनः सञ्चालनमा ल्याइएको र हालसम्म ९८ प्रतिशत नेपाली जनतालाई आधारभूत तथा २७ प्रतिशतलाई सुरिक्षत खानेपानी उपलब्ध गराउने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

मन्त्री यादवले बबरमहलमा केही महिला पहिले खानेपानीको फुटेको पाइपका विषयमा छानबिन समिति बनाइएको र पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताउनुभयो । 

राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालमा पानीको समस्या नभएको तर शुद्ध पानीको समस्या हुने गरेकाले सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद झक्कुप्रसाद सुवेदीले सरकारले नागरिकका पानी समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताउनुभयो । 

बैठकमा सांसद उर्मिला अर्याल, सावित्रा मल्ल, विष्णुबहादुर विश्वकर्मा, भुवनबहादुर सुनार, घनश्याम रिजाल, सारदादेवी भट्टलगायतले सहज रूपमा पानी वितरणमा विषेश ध्यान दिनुपर्ने तथा ठूला तथा बजेट अभावमा रोकिएका आयोजनाहरू यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।समिति सभापति कमला पन्तले बैठकमा उठेका विषयमा सरकार र मन्त्रालयले गम्भीरताका साथ आवश्यक काम गर्नुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि

पाटन (ललितपुर), ९ वैशाख : नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा निहित रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान विषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा पूर्वउपसभापति निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकारात्मक धारणा विकास गराउन सङ्गठित सैद्धान्तिक, राजनीति र वैचारिक बहसलाई जोड दिनुपर्ने बताउनुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा केही परिवर्तन हुन्छ, लोकतान्त्रिक पद्धतिको सफल प्रयोग जनताका पक्षमा गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

पूर्वउपसभापति निधिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने भ्रमपूर्ण प्रचारलाई चिर्दै थप समृद्धि हासिल गर्न लाग्नुपर्ने अवस्था छ भन्नेमा नेता तथा कार्यकर्ताको ध्यानाकर्षण गराउनुभयो । “सहभागितमूलक नीतिनिर्माण र समावेशी शासन व्यवस्थाका लागि कांग्रेसले धेरै काम गरेको छ, पहिलेभन्दा धेरै परिवर्तन भएको छ, लोकतन्त्रमा दल, नेता र नेतृत्वलाई खबरदारी गर्न अधिकार जनतामा छ”, उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री निधिले वर्तमान समयमा विषयमा केन्द्रित रहेर गरिने बहसको अभाव हुँदै गएको छ भन्दै चिन्ता व्यक्त गर्नुभयो । “राष्ट्रको निर्माण, राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको छ, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको विकास राज्यको व्यवस्थित आम्दानी र खर्च प्रणाली, लोकतान्त्रिक राज्य प्रणालीको विकासमा नेपाली कांग्रेसले अतुलनीय योगदान गरेको छ, २००७ सालपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अभ्यास सुरुआत भयो, त्यसअघि राणाहरुको हुकुमी शासनका आधारमा हुन्थ्यो, गहिरिएर अध्ययन गर्ने हो भने आधुनिक राज्यको निर्माण र राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले धेरै काम गरेको छ”, उहाँले भन्नुभयो ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीको इतिहास बुझाएर वर्तमान र भविष्यप्रति जिम्मेवार बनाउँदै युवाहरुलाई पार्टीमा सक्रिय बनाउन वैचारिक अभियान चलाउनुपर्ने बताउनु । “सामाजिक सञ्जाल आएका धारणाको आधारमा मात्रै पार्टीको धारणा बनाउनु पनि उचित हुँदैन, विगतको दुःखलाई मूल्याङ्कन गर्दै वर्तमानको परिस्थितिलाई मूल्याङ्कन गर्दै सुधार गरेर सुन्दर भविष्य निर्माणमा पार्टी क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी आधारमा संसदीय व्यवस्थाबाट नै यो सम्भव हुन्छ”, उहाँले भन्नुभयो ।

पार्टीको सूचना, सञ्चार तथा प्रसार विभागका प्रमुख एवं पार्टीको केन्द्रीय सदस्य मीन विश्वकर्माले जनजन र मनमनमा विकसित हुँदै गएको नकारात्मक धारणालाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । “देशव्यापी रुपमा पार्टीको बारेमा विकसित भएको नकारात्मक धारणा र गलत बुझाइलाई चिर्न आवश्यक छ, २००७ पछि नेपालको राष्ट्र निर्माणमा कांग्रेसका युवाहरुले दिएको योगदानका विषयमा अहिलेको युवाहरूलाई सचेत गराउनु आवश्यक छ, कांग्रेससँग कायम रहेको गौरवशाली विगत, जिम्मेवारीपूर्ण वर्तमान र समृद्ध भविष्यको सम्पूर्ण जनजनमा सत्यतथ्य इतिहास बुझाउन अनिवार्य भएको छ”, उहाँले भन्नुभयो ।

पार्टीको जिल्ला समन्वय तथा सम्पर्क विभागका प्रमुख एवं केन्द्रीय सदस्य नानु बाँस्कोटाले भ्रमपूर्ण र मिथ्याको राजनीतिलाई अन्त्य गर्ने नेपाली कांग्रेसले निरन्तर बहस र छलफललाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आरोपप्रत्यारोपबाट मुक्त भएर तथ्य र तथ्याङ्कलाई जनतासामु पुर्‍याएर वर्तमान व्यवस्थाका सकरात्मक पक्ष र सत्यतथ्य उजागर गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको स्थापनाकालमा नै युवाहरूले नेतृत्व गरेकोले अब पनि जनतालाई आशा र भरोसा दिलाउने गरी पार्टीमा युवाहरूको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले पार्टीबाट टिकट पाएर निर्वाचन जितेका सांसदहरुले नै नेपाली कांग्रेसको नीतिविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका भन्दै नेपाली कांग्रेसको अनुशासन समिति सक्रिय भएर यसतर्फ सचेत गराउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

तथ्यमा आधारित राजनीति यात्रा विषयमा प्रस्तुतीकरण गर्नुहुँदै अग्रज पत्रकार हरिबहादुर थापाले १०४ वर्षे राणा शासन, २९ वर्ष तीन महिने पञ्चायती शासन र १४ महिने ज्ञानेन्द्रकालीन शासनले नै आन नागरिकलाई आजित बनाएर उदारवादी गणतन्त्रको आवश्यक भएको बताउनुभयो ।

डा. जगत नेपालले कांग्रेसको आन्दोलनको इतिहास, प्रचारप्रसारमा मिडियाको महत्त्व र भूमिका, नेतृत्वमा रहेर विपी कोइरालाले खेल्नुभएको सकरात्मक भूमिका, विपी, गणेशमान र सुवर्ण शम्शेरले पुर्‍याउनुभएको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । विभागका सदस्य एवं वरिष्ठ अधिवक्ता गणेश केसीले देशमा विकसित हुँदै गएको नकारात्मक धारणा र सोचलाई चिर्नुपर्ने धारणा राख्नुभयो ।

शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा राजीनामा: झलनाथ खनाल

काठमाडौँ-नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकहरुको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताउनुभएको हो । समाजवादी शिक्षा स्थापीत गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौं शिक्षकहरुको मागलाई कुल्चिएर हिडेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका बिषयलाइ सत्तामा पुगेपछि वेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राख्नुभयो । खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको तर्क गर्नुभयो । कांग्रेसको पिठ्युँमा बसेर केहिदिनअघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उहाले तर्क गर्नुभयो । उहाले कांग्रेस दलाल पूँजीपति वर्गको पार्टी भएको धारणा राख्नुभयो ।

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा निकायहरूले सञ्चालन गरेको दुई छुट्टाछुट्टै गुप्त सूचना-आधारित सैनिक कारबाहीमा ६ जना आतंककारी मारिएका छन्।

पाकिस्तानी सेनाको सञ्चार विभाग (आईएसपिआरमा ) द्वारा सोमबार जारी गरिएको वक्तव्य अनुसार, उत्तर वजीरिस्तानको आदिवासी क्षेत्रमा पाँच जना आतंककारी मारिएका हुन्। उनीहरूको उपस्थितिको सूचनाका आधारमा कारबाही थालिएको थियो।

त्यस्तै, छिमेकी दक्षिण वजीरिस्तान जिल्लामा भएको अर्को कारबाहीमा एक जना उच्च-प्रोफाइल आतंककारी कमान्डरलाई सुरक्षा बलहरूले मारेका छन्।

वक्तव्यमा उल्लेख गरिएअनुसार, उक्त आतंककारी सुरक्षा निकाय र सर्वसाधारणमाथि भएका थुप्रै आक्रमणमा संलग्न थिए र कानून कार्यान्वयन निकायहरूको खोज सूचीमा रहेका थिए।कारबाहीपछाडि, क्षेत्रमा अझै बाँकी रहेका सम्भावित खतराहरू हटाउन ‘सैनिटाइजेसन अपरेसन’ जारी रहेको सेनाले जनाएको छ।

विश्वव्यापी सौर्य ऊर्जा उत्पादन क्षमता ३० प्रतिशतले वृद्धि हुने अनुमान

हालै प्रकाशित प्रतिवेदनका अनुसार सन् २०२५ मा विश्वभर सौर्य (फोटोभोल्टाइक) ऊर्जा उत्पादन क्षमतामा करीब ३० प्रतिशत तथा हावाबाट उत्पादन हुने ऊर्जा क्षमतामा १० प्रतिशतभन्दा बढी वृद्धिको अपेक्षा गरिएको छ।

फोटोभोल्टाइक ऊर्जा भन्नाले सूर्यको प्रकाशलाई सिधै विद्युत् ऊर्जा (बिजुली) मा रूपान्तरण गर्ने प्रविधिबाट प्राप्त ऊर्जा हो। यस प्रविधिमा विशेष प्रकारका अर्धचालक पदार्थ (जस्तै: सिलिकन) प्रयोग गरिन्छ, जुन सूर्यको किरण पर्दा इलेक्ट्रोनहरू उत्सर्जन गर्छन् र त्यसैबाट विद्युत् उत्पन्न हुन्छ। फोटोभोल्टाइक प्रणालीलाई सामान्यतया सौर्य प्यानल वा सोलार प्यानल भनिन्छ, जुन घर, भवन, उद्योगदेखि लिएर सौर्य पावर प्लान्टहरूमा प्रयोग हुन्छ। यो स्वच्छ, नवीकरणीय र वातावरणमैत्री ऊर्जा स्रोत हो, जसले पारम्परिक जीवाश्म इन्धनमा निर्भरता घटाउन महत्वपूर्ण भूमिका खेल्दछ।

उक्त प्रतिवेदन ग्लोबल इनर्जी इन्टरकनेक्शन डेभलपमेन्ट एन्ड कोअपरसन अर्गनाइजेशन तथा चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (सीएमए) द्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो। यो प्रतिवेदनले विश्वस्तरमा तथा प्रमुख देशहरूमा नवीकरणीय ऊर्जाको दीर्घकालीन सम्भाव्यता र प्रवृत्तिहरूको विश्लेषण गर्दै पहिलोपटक पूर्वानुमान प्रस्तुत गरेको हो।

यस अध्ययनमा मौसम सम्बन्धी तत्वहरूलाई ऊर्जा उत्पादनसम्बन्धी पूर्वानुमानमा समावेश गरिएको छ, जसले ऊर्जा र मौसम विज्ञान क्षेत्रको सहकार्यमा उल्लेखनीय प्रगति दर्शाउँछ।

वर्तमानमा, विश्वको ऊर्जा संरचना एक गहिरो रूपान्तरणको चरणमा रहेको छ, जसमा हावा र सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरूको योगदान निरन्तर वृद्धि भइरहेको छ।

सन् २०२४ को अन्त्यसम्ममा, विश्वभर पवन तथा सौर्य जस्ता नवीकरणीय ऊर्जाको कुल जडित क्षमता १.४५ अर्ब किलोवाटमा पुगेको छ, जुन इतिहासमै पहिलोपटक तापीय ऊर्जा क्षमताभन्दा बढी हो।

चीन मौसम विज्ञान प्रशासन (सीएमए) का उपप्रमुख श्री सिओङ शाओयुआनले संस्था नवप्रवर्तनमा आधारित दृष्टिकोणमार्फत ऊर्जा मौसम विज्ञान पूर्वानुमानलाई अझ प्रभावकारी र समयमै उपलब्ध गराउने कार्यमा प्रतिबद्ध रहेकाे बताउनुभएको छ।

उहाँका अनुसार,सीएमएले अनुसन्धानको परिणामलाई व्यावहारिक प्रयोगमा रूपान्तरण गर्न गति दिने, नवीकरणीय ऊर्जा मौसम विज्ञानको प्रमुख विषयमा संयुक्त अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा संबन्धित मापदण्डहरूको विकासमा सहकार्य गर्ने लक्ष्य राखेको छ।

अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार

काठमाडौँ, ९ वैशाखः अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीले युवा महिलाको सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्ने भएको छ ।

अनेमसङ्घ केन्द्रीय युवा कमिटीले आज यहाँ पत्रकार सम्मेलन गरी ‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेलाको आयोजना गर्न लागिएको जनाएको हो ।

युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताउनुभयो ।  “युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण हुन्छ, युवा परिचालनबाट मात्र कुनै पनि देशले विकासको गति समात्न सक्छ”, उहाँले भन्नुभयो, “पछिल्लो राजनीतिक घटनाक्रमले युवामा राजनीतिप्रति अत्यधिक चासो छ भन्ने देखाउँछ, तिनको सही ढङ्गले परिचालन हुन नसक्दा पश्चगामी सोच राख्ने र गणतन्त्रविरोधी तत्वले उनीहरूलाई गलत बाटोमा लैजाने खतरा हुन्छ ।”

भेलामा उत्पादन, उद्यमशीलता र रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल हुनेछ । साथै युवा महिला केन्द्रित राज्यका नीति, कार्यक्रम र प्रभावकारिता, जलवायु परिवर्तन, आप्रवासन र युवा महिलामा अर्थतन्त्रले पारेको प्रभाव, अनुकूलनको अभ्यास र प्रविधिको विकासले महिलामा पारेको प्रभाव, सम्भावना र चुनौतीको विषयमा विस्तृत रूपमा छलफल हुने जानकारी दिइयो ।

सम्मेलनमा सात प्रदेश र ७७ जिल्ला कमिटीबाट तीन÷तीन जना गरी ४० वर्षमुनिका करिब पाँच सय युवा महिलाको सहभागिता रहने सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो । भेला युवा महिलाको आवश्यकताः आकाङ्क्षा र आवाजलाई राज्य र राजनीतिक दलका नीति, संरचना र कार्यक्रममा पुर्याउने अभियानको सुरुआत भएको उहाँले बताउनुभयो ।

अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको महभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ । सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ । यसअघि पहिलो राष्ट्रिय भेला २०८९ सालमा भएको थियो ।

बदलिँदो विश्वमा सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ९ वैशाख: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बदलिँदो विश्वमा सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त भएको बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेशनको संयुक्त आयोजनामा यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’ मा अहिलेको समाजमा सूचना प्रविधिको पहुँच र उपलब्धता भएकाहरू नै शक्तिशाली भएको उल्लेख गर्दै नेपालमा पनि सोहीअनुसार पूर्वाधार विकासको खाँचो औँल्याउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “ हुन त हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै शक्तिशाली बन्दै गइरहेको छ । बेलायतले संसारभर कब्जा जमाउँदा उसको प्रमुख अस्त्र सूचना र प्रविधि नै थियो । सूचना र प्रविधिकै कारण अहिले अमेरिका विश्वशक्तिका रूपमा स्थापित भएको हो । हाम्रै छिमेकी भारत र चीन पनि सूचना प्रविधिको विकासबाटै शक्तिराष्ट्र बनेका हुन् । त्यसैले ग सूचना तथा प्रविधिलाई आत्मसात् गर्दैै अगाडि बढौँ ।”

इन्टरनेटको सहज पहुँचसँगै आमनागरिकको जीवनशैली सहज बन्दै गएको र यसको उपयोग सार्वजनिक निकाय, निजी व्यवसायदेखि हरेक क्षेत्रमा अपरिहार्य भएको भन्दै उहाँले कर्णालीमा ब्रोडब्यान्ड, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर अवस्थामा रहेकाले यसमा ध्यान दिइने बताउनुभयो ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको भित्ते पात्रो विमोचन

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक गरिएको छ। मंगलवार काठमाण्डौको अनामनगरस्थित किम्ची रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै भित्तेपात्रो सार्वजनिक गरिएको हो।

भित्तेपात्रो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि गोकर्णोश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालसंगै संस्थाका निवर्तमान अध्यक्ष हरिवल्लब नेपाल, अध्यक्ष चन्द्रमणी गौतम लगायतका अतिथिले सामुहिक विमोचन गरे । प्रमुख अतिथी रिसालले नेपालको भाषा संस्कृति रितिरिवाज जोगाउनका लागी लोक सञ्चारकर्मीको टिमले धेरै राम्रो काम गर्दै आएको र यस ०८२ सालमा अझ राम्रो काम गर्नका लागी शुभकामना दिए ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिका, वडा २९ का अध्यक्ष कुस कुमार ढकाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली , गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष नवराज लामा , पर्ल्स इङ्लिस एकेडेमीका अध्यक्ष केशव सापकोटा , बाग्मती अभियान्ता दुर्गा सापकोटा, कुलेखानी ड्याम साइट होटलका सञ्चालक हिरा गोपाली लगायतका अतिथीको उपस्थिती रहेको थियो।

स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक

काठमाडौँ, ९ वैशाखः स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय गरेको छ ।

अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बिमामा दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै त्यस्तो नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पचात्रार गरेको छ । 

आधारभूत स्वास्थ्य उपचारका लागि दिने रकमका लागि समेत स्वास्थ्य बिमा कार्यक्रममा मागदाबी परेको भन्दै बोर्डले दोहोरोपना हटाउन सकिए दायित्व कम पर्ने निष्कर्षका साथ यसमा सघाउन मन्त्रालयमा अनुरोध गरेको बोडैले जनाएको छ ।  

बोर्डको अनुरोधपश्चात् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य उपचारको मापदण्ड पूर्ण कार्यान्वयन गर्न र दोहोरोपना हटाउनका लागि सुझाव कार्यदल गठन गरिसक्नुभएको छ ।   

बोर्डले नयाँ आम्दानीका स्रोतस्वरुप नेपालमा औषधि बिक्रीवितरण गर्ने सबै कम्पनीको खर्चको निश्चित प्रतिशत स्वास्थ्य बिमा कोषमा खर्च गर्न सकिने प्रस्ताव गरेको छ । यसका लागि पनि स्वास्थ्य मन्त्रालयलाई सहयोगका लागि बोर्डले पत्राचार गरेको कार्यकारी निर्देशक डा रघुराज काफ्लेले जानकारी दिनुभयो ।

यसैगरी बोर्डले आम्दानी बढाउने उपायस्वरुप स्वास्थ्य बिमा चिठ्ठा कार्यक्रम सञ्चालनका लागि सरकारसँग अनुमति मागेको छ ।  स्वास्थ्यमन्त्री पौडेलले यसअघि सबै सङ्घीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत सोझै बिमा कोषमा जम्मा गर्ने निर्णयसमेत गरिसक्नुभएको छ ।

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

काठमाडौँ, ९ वैशाखः प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकबारे विभिन्न ट्रेड युनियन कर्मचारी सङ्घ सङ्गठनसँग छलफल गरेको छ ।

समितिको आजको बैठकमा निजामती सेवासँग सम्बन्धित विभिन्न छ वटा ट्रेड युनियनका पदाधिकारीसँग उक्त विधेयकमा समेटिनुपर्ने विषयवस्तु र त्यसको औचित्यबारे जानकारी लिन छलफल गरिएको हो ।

ट्रेड युनियनका तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भई गएका कर्मचारीलाई पुनः छनोटका लागि एक पटक अवसर दिन, कुनै पनि पदमा पाँच वर्ष सेवा गरेकालाई एक तह तथा १० वर्ष वा सोभन्दा माथि गरेकालाई एक श्रेणी वृद्धि गरी तह मिलान गर्न सुझाव दिइयो ।

यस्तै, निजामती कर्मचारीको सरुवा प्रणालीलाई चक्रीय र पूर्वानुमान योग्य बनाइनुपर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहका जुनसुकै सेवामा रहे पनि खुला–आन्तरिक प्रतिस्पर्धाद्वारा बढुवा भएमा निवृत्तिभरण प्राप्तिमा सेवा अवधि जोड्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

विधेयकमा अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक प्रतिस्पर्धाका लागि उमेर हद नलाग्ने गरी सिमित प्रतियोगिताको अवसर प्रदान गरिनुपर्ने तथा त्यसमा सफल नभएकालाई उपदानको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

स्थानीय तह र प्रदेशमा समायोजन भएका वा नियुक्त गरिएका कर्मचारीलाई अन्तर–प्रदेश सरुवाको व्यवस्था गर्न तथा स्वास्थ्य र संसद् सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टीकृत सेवाका रूपमा विकास गर्ने व्यवस्थाका लागि पनि आग्रह गरिएको छ ।

समितिले नेपाल चिकित्सक सङ्घ र सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।

समितिमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल मधेस निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठनका प्रतिनिधिले आ–आफ्ना सङ्गठनका तर्फबाट त्यससम्बन्धी राय सुझाव प्रस्तुत गर्नुभयो ।

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानाडाको नजिक ल्याउँदै

लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानाडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

अमेरिकाको उत्तरी छिमेकी विरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उहाँको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

अपेक्षाहरू विपरीत क्यानाडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

“यो पागलपन हो, केवल केही हप्तामा मैले धेरै कुरामा विकास गरेको छु – म आफूलाई धेरै क्यानोडाली भएको महसुस गर्दछु”, क्यारोल पोटभिनले स्वतन्त्रता समर्थक ब्लक क्युबेकिस पार्टीको गढ रहेको मन्ट्रियल छिमेकमा कफी पिउँदै बसेर फ्रान्सेली भाषामा भन्नुभयो, “हामीले खतरामा परेको महसुस ग¥यौँ र अमेरिकी शत्रुको सामना गर्न मलाई यो स्पष्ट लाग्छ कि हामी एकजुट हुनुपर्छ ।” क्युबेकको विशिष्ट संस्कृति र राजनीतिक इतिहाससँगै यस भाषाले स्वतन्त्रताको सपनालाई पोषण गरेको छ ।

विभाजनबारे प्रान्तको सबैभन्दा भर्खरको जनमतसङ्ग्रह सन् १९९५ मा भएको थियो । यद्यपि हालसम्म धेरैले नयाँ जनमत सङ्ग्रह चाँडै हुन सक्ने आशा गरेका थिए ।

कतिपयका लागि सीमाको दक्षिणमा ट्रम्पको शपथग्रहण पछिका हप्ताहरूले सबै कुरा परिवर्तन गरेको छ ।“म लामो समयदेखि क्युबेक स्वतन्त्र हुने पक्षमा थिएँ, तर मलाई लाग्छ आजको संसारमा यो समयको बर्बादी हो”, पोटभिनका साथी पियरे चोइनियरले भन्नुभयो, “जब तपाईँ अमेरिकाविरुद्ध हुनुहुन्छ, तपाईँ ठूलो र बलियो हुनुपर्छ ।”

– प्रतिकूल हावा –

क्युबेकवासीहरूले क्यानाडाली भएकोमा ‘गर्व’ वा ‘धेरै गर्व’ भएको मतदानकर्ताहरूलाई बताउने अनुपात डिसेम्बर २०२४ मा ४५ प्रतिशतबाट बढेर दुई महिनापछि ५८ प्रतिशत भयो ।

क्युबेकवासीहरूको समग्र ‘गर्व’ अनुपात क्यानाडामा सबैभन्दा कम भए तापनि ‘धेरै गर्व’ गर्नेहरूको सङ्ख्या समग्र आँकडाभन्दा पनि बढी बढेको छ ।

यस्ता सङ्ख्याहरूले जुन केवल फ्रान्सेली भाषी प्रान्तमा मात्र चुनावका लागि उम्मेदवार खडा गर्ने ब्लक क्युबेकोइसलाई अस्थिर बनाएको छ । शरद ऋतुसम्म यसले २०२१ मा क्यानाडाको संसद्मा ३३ सिट सुरक्षित गरेपछि अप्रिल २८ को राष्ट्रिय चुनावमा समर्थन बढ्ने अपेक्षा गरेको थियो ।

“पार्टीले कहिल्यै यस्तो बलियो प्रतिकूल हावाको सामना गरेको छैन”, सन् २००७ देखि सन् २०२१ सम्म क्युबेक सिटीका मेयर रहनुभएका स्वतन्त्रता समर्थक राजनीतिक अनुभवी रेजिस लाबेउमले भन्नुभयो, “क्यानाडाको एकता बढ्दै जाँदा आफूलाई स्थापित गर्न सजिलो छैन, यस पटक धेरै मानिसले आफ्नो हृदयबाट नभई रणनीतिक रूपमा मतदान गर्नेछन् ।”

लाबेउमले क्यानाडाको समृद्धि र सार्वभौमसत्तामा ट्रम्पको खतरामा मतदाताहरूको आघातबाट स्पष्ट रूपमा परिवर्तन भएको देख्नुहुन्छ ।

“क्यूबेकवासी र क्यानाडालीका रूपमा हामीले कहिल्यै युद्ध देखेका छैनौँ, हामी कहिल्यै हाम्रो शारीरिक अखण्डताका लागि डराएका छैनौँ, त्यसैले यी धम्कीहरू ठूलो आघात हुनुको कारण यही हो”, लाबेउमले भन्नुभयो, “मानिसहरू अचम्मित छन् ।”यसैबीच अन्य पृथकतावादीहरूले गिलासलाई आधा भरिएको रूपमा हेर्ने प्रयास गरिरहेका छन् ।

“हामी गम्भीर खतराको सामना गरिरहेको बेला पनि लगभग एक तिहाई मानिसहरू क्यूबेकको स्वतन्त्रता चाहन्छन्”, पृथकतावादी महासङ्घ ओइ क्युबेकका अध्यक्ष क्यामिले गोयेट–जिङ्ग्रासले भन्नुभयो, “हाम्रो प्रान्त क्यानाडाको बाँकी भागभन्दा आर्थिक रूपमा फरक छ र त्यसैले हामी आफ्नो रक्षा गर्न सक्षम हुनुबाट लाभान्वित हुनेछौँ ।”

यस्ता तर्कहरू हुँदाहुँदै पनि पछिल्लो जनमत सर्वेक्षण अनुसार ब्लक क्यूबेकोइसले आउँदो चुनावमा प्रान्तको मतको केवल २५ प्रतिशत मात्र पाउने देखिन्छ ।यसले पृथकतावादीहरूलाई पछिल्लो पटक जितेको सिट सङ्ख्याको लगभग आधा मात्र छोड्न सक्छ । यो राष्ट्रिय परिणामको केवल पाँचदेखि छ प्रतिशत मात्र हो ।

प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उहाँले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्नुहुने बताइएको छ ।

सन् २०१४ देखि प्रधानमन्त्री मोदीले साउदी अरब र खाडी मुलुकहरूसँग भारतको सम्बन्धको दिशा परिवर्तन गर्नुभएको छ । सन् २०१६ र २०१९ मा साउदी अरबको भ्रमणपछि यो उहाँको तेस्रो भ्रमण हुनेछ । खाडी क्षेत्रको कुनै मुलुकको उहाँको यो १५औँ भ्रमण पनि हो ।

“आज म साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा साउदी राज्यको दुई दिने राजकीय भ्रमणमा प्रस्थान गर्दैछु”, उहाँले प्रस्थानपूर्व विज्ञप्तिमा भन्नुभयो । 

“हालैका वर्षहरूमा रणनीतिक गहिराइ र गति प्राप्त गरेको साउदी अरबसँगको लामो र ऐतिहासिक सम्बन्धलाई भारतले गहिरो महत्त्व दिन्छ”, उहाँले भन्नुभयो, “सँगै, हामीले रक्षा, व्यापार, लगानी, ऊर्जा र जनता–जनता सम्बन्धका क्षेत्रहरू सहित पारस्परिक रूपमा फाइदाजनक र ठोस साझेदारी विकास गरेका छौँ । क्षेत्रीय शान्ति, समृद्धि, सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न हाम्रो साझा चासो र प्रतिबद्धता छ ।”

साउदी अरबमा जीवन्त भारतीय समुदायसँग सम्पर्क गर्न पनि उत्सुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय समुदायले हाम्रा राष्ट्रहरू बीचको जीवित पुलको रूपमा सेवा गरिरहेको छ र सांस्कृतिक र मानवीय सम्बन्धलाई सुदृढ पार्न अपार योगदान पु¥याइरहेको छ ।”

शनिबार एक विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्रीले भ्रमणले प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो । यसमा पश्चिम एसियाको अवस्था, इजरायल–प्यालेस्टिन द्वन्द्व र हुथी आक्रमणका कारण समुद्री सुरक्षामा खतरा समावेश छ ।

विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

जनकपुरधाम, ९ वैशाखः धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त हुनुहुन्छ ।

गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

विष सेवनबाट स्थानीय सुशील साहका छ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत प्रदान

चितवन, ९ वैशाखः चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई रु एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो । उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका आठ जनाको परिवारलाई रु ८० लाख, घाइते २७ जनाको उपचार खर्च रु १६ लाख ९३ हजार ६४२, दुई सय ४४ वटा खाद्यान्नबाली क्षतितर्फ रु १४ लाख १७ हजार राहत रकम बुझाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ९५ पशुधन क्षतितर्फ रु नौ लाख १९ हजार ७००, १८ घरगोठ क्षतितर्फ रु एक लाख ६६ हजार, १३ भण्डारण गरेको अन्नबाली क्षतिका लागि रु ८३ हजार र कुखुरा क्षतिबापत रु २७ हजार ५०० राहत रकम बुझाइएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिबापत राहत रकम दिने गरिन्छ । मृत्यु भएमा निजको परिवारलाई रु १० लाख दिने व्यवस्था छभने घाइते र अन्य क्षतिमा दिइने रकम प्रकृति हेरेर दिइने गरिन्छ । सूचना अधिकारी थापामगरले भन्नुभयो, “वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको परिपूर्ति हुन नसक्ने भए पनि केही राहत होस् भनेर निकुञ्जले राहत वितरण गर्ने गरेको छ ।” मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण हुने यस्ता घटना न्यूनीकरणका लागि निकुञ्जले राहतको कार्यक्रम मात्र नभएर विभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आएका छन् ।

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन : एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद

वीरगन्ज (पर्सा), ९ वैशाख : सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा रु ४१ करोड ९२ लाख ३१ हजार ७०७ को अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिनुभयो ।

“सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “ सशस्त्र प्रहरीले वीरगन्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।”

सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म रु २८ करोड ११ लाख छ हजार ४८७ मूल्यका भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यसैगरी, सोही अवधिमा रु १३ करोड ८१ लाख २५ हजार २२० मूल्यको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । गणपति धिमालले सशस्त्र प्रहरी बलले जिल्लामा एक सय सात किलोमिटर खुला सीमाको सुरक्षा, सीमानाकामा हुने अवैध चोरीपैठारी निकासी रोकथाम र सीमावासीसँग सशस्त्र प्रहरीलगायतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो ।

प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

गण्डकी, ९ वैशाख : गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पताल स्तरोन्नति गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई प्रदेश मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयले हाल अस्पतालहरूमा रहेका स्वीकृत शय्या तीन सय ९५ लाई विस्तार गरी सात सय शय्या पुर्याउन बाटो खुलेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी गत महिना आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाएको थियो । प्रदेशवासीलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति जरूरी देखिएको मन्त्री पाठकले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गर्न लागिएको हो । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिने जनाउँदै उहाँले कास्कीस्थित २५ शय्या क्षमताको मातृशिशु मितेरी अस्पताललाई ५० शय्यामा पुर्याउने स्वास्थ्य मन्त्रालयको योजना रहेको उल्लेख गर्नुभयो ।

बागलुङस्थित धवलागिरि प्रादेशिक अस्पताललाई ५० बाट एक सय शय्यामा र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय शय्यामा स्तरवृद्धि गरिने भएको हो । आगामी आर्थिक वर्षदेखि धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालमा प्राविधिक शिक्षा पढाउने मन्त्रालयको योजना छ । प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० शय्यामा सञ्चालित छन् ।

प्रदेश सरकारले चालु आवमा गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई आफूमातहत लिई सञ्चालन गरिरहेको छ । दुवै अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ ।

यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्ुयाको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिएको थियो । स्वास्थ्यमन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताउनुभयो ।

मन्त्रालयका अनुसार अस्पतालहरूमा पाँच सय ६४ जनाको स्थायी दरबन्दी रहेकामा एक सय ८७ को पदपूर्ति हुन बाँकी छ । आठ सय बढी करार जनशक्तिसहित हाल एक हजार १३३ जना प्रदेश मातहतका अस्पतालमा कार्यरत रहेका मन्त्रालय जनाएको छ । अस्पताल स्तरोन्नति हुँदा पदपूर्ति हुन बाँकीसहित कुल एक हजार २४४ को दरबन्दी व्यवस्थापन गर्नुपर्ने मन्त्री पाठकले बताउनुभयो ।

कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९)मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । तर मोतीदेवी भौतिक रूपमा उपस्थित हुनुहुन्थेन ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।

नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले शोषण, उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

अहिले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले)लगायतका पार्टी छन् । विसं २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि त्यो पनि धेरै लामो समय टिक्न सकेन ।

नेपालका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै छन् । स्थापना दिवसका अवसरमा आज एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ः३० बजे विशेष कार्यक्रम गर्ने जनाएको छ ।

दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुभएका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने र ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ । यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीले पनि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् ।

‘भगवान् श्रीपशुपतिनाथ’ : पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

काठमाडौँ, ९ वैशाख : नेपालमा राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको माहात्म्य र महत्वका बारेमा धेरैले जान्न इच्छा राख्छन् । पशुपतिनाथका विषयमा केन्द्रित भएर लेखिएका पुस्तक त पाइन्छन् तर धेरै विषय समेटिएको पुस्तक पाउन गाह्रो भइरहेका बेला पाठकका लागि आवश्यक सामग्री समेटिएको पुस्तक सार्वजनिक भएको छ ।

‘भगवान् श्रीपशुपतिनाथ’ नाम दिइएको यो पुस्तकले पाठकका धेरै जिज्ञासा शान्त गर्छन् । श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा पाँच खण्डमा पशुपतिनाथको वर्णन गरिएको छ । पहिलो खण्डमा पशुपतिनाथको स्तुति प्रस्तुत गरिएको छ । यो खण्डमा रुद्रसूक्त, पशुपतिस्तुति, दारिद््यदहनशिवस्तोत्र, शिवस्तुति, पशुनां पतये नमः, पञ्चवक्त्रस्तुति, शिवषडक्षरस्तोत्र, वेदसारशिवस्तोत्र, श्रीशिवापराधक्षमापनस्तोत्र, महेश्वरस्तुति, शङ्करस्तव, शिवस्तोत्र, भैरवस्तोत्र, श्रीरुद्राष्टकम्, पशुपतये नमः, शिवस्तवः, शिवशरणगति, शिवमहिम्नस्तव, किरातेश्वरस्तुति, पञ्चवक्त्रस्तुति, शिवस्तुति, अर्धगौरीश्वरस्तुति, छत्रचण्डेश्वरस्तुति, रुद्रस्तुति, पशुपतिस्तुति, शिवस्तुति, ॐ नमः शिवाय, प्रभु पशुपति, परमपशुपतिं नौमि नित्यं, ॐ नमः पशुपतये, महेशाष्टकम्, श्रीशङ्करप्रमाणिकाष्टकम्, ङ्करं तं नमामि, जय शम्भो ! शिव ! चन्द्रशेखर !, वन्दे हे पशुका पते !, शिव दिऊन् कल्याणको चुम्बन र पशुपते गरी ३७ वटा स्तोत्र यो खण्डमा समावेश गरिएको छ । यी स्तोत्रको पाठ मात्रले पनि व्यक्तिलाई आनन्दानुभूति हुन्छ ।

दोस्रो खण्डमा तत्व दर्शनसँग सम्बन्धित २५ लेख समावेश गरिएको छ । यो खण्डमा स्वामी आत्मानन्द गिरी, उमेशप्रसाद घिमिरे, कविराज न्यौपाने, प्रा डा कार्तिकेय झा, प्रा डा कुलप्रसाद कोइराला, गिरिधारी भट्ट, प्रा गोपालनिधि तिवारी, पण्डित गोविन्द भट्टराई, प्रा चूडानाथ भट्टराय, डा चेतमणि न्यौपाने, प्रा चेतोनाथ गौतम, डा जगमान गुरुङ, दधिराज सुवेदी, प्रा डा दीर्घराज घिमिरे, प्रा डा दुगाप्रसाद दवाडी, प्रा डा देवमणि भट्टराई, रथी धनशम्शेर जबरा, प्रा भवानीप्रसाद खतिवडा, प्रा बुद्धिसागर पराजुली, स्वामी डा रामानन्द गिरी, प्रा डा विष्णुप्रसाद शर्मा देवाकोटा, पूर्वसचिव शरत्कुमार भट्टराई, शिवगोपाल रिसाल गरी यो खण्डमा २१ जना श्रष्टाले पशुपतिनाथको महत्व र महिमाका बारेमा कलम चलाउनुभएको छ ।

पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाईँ बताउनुहुन्छ ।

प्रतिष्ठानको यो पाँचौँ प्रकाशन हो । पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा तत्व दर्शन, तेस्रो खण्डमा उपासना, चौथो खण्डमा इतिहास–संस्कृति र पाँचौँ खण्डमा अनुसूची समावेश गरिएको छ । स्तुति खण्डमा ३७ स्तुति समावेश गरिएको छ । तत्व दर्शन खण्डमा विभिन्न विद्वान्का २५ वटा लेख समावेश गरिएको छ । उपासना खण्डमा १८ वटा लेख, इतिहास–संस्कृति खण्डमा इतिहास र संस्कृतिसँग सम्बन्धित विभिन्न विद्वानका २१ लेख समावेश गरिएको छ ।

पशुपतिक्षेत्रका स्थापित देवीदेवताहरू, गुह्येश्वरीपीठ, पशुपतिक्षेत्रका जात्रापर्व, रामायणमा पशुपतिनाथ, पशुपतिनाथ र पाशुपतक्षेत्र, भगवान् पशुपतिनाथको मन्दिर र परिसरक्षेत्रको सङ्क्षिप्त परिभ्रमण, नेपालमा पाशुपत धर्मको विकास, सर्वधर्मसमभावका प्रतीक भगवान् पशुपतिनाथ, पशुपतिक्षेत्रको धार्मिक पर्यटन, पशुपतिनाथको पुजारीपरम्परा, प्राचीन नेपालमा पाशुमत, त्वं शङ्करोऽसि भुवनत्रयशङ्करत्वात्, पशुपतिक्षेत्रका केही प्राचीन शिवलिङ्गहरू, वेदमा रुद्र र पशुपति, पुराणहरुमा पशुपति–चिन्तन, नेपाली स्थापत्यविधामा श्रीपशुपतिमन्दिर, विश्वसम्पदाको रुपमा पशुपति मन्दिर, पशुपति परिसरका देवीदेवता, वाग्मती र पशुपति, शिवमहापुराणमा पशुपतिनाथ, भगवान् पशुपतिथान तथा पशुपति मुद्राजस्ता विषयमा लेख समावेश गरिएको छ ।

पाँचौँ खण्डमा पाशुपतत्रसूत्रम्, श्रीमच्छङ्काचार्यविरचितम् पशुपतिपूजा विधाननम् पाशुपतदीक्षा, पशुपतिक्षेत्रमा अग्निहोत्र परम्परा, पशुपतिक्षेत्रको भौतिक स्वरुप र मूर्त सम्पदाहरु, वैदिक सनातन धर्ममा आरतीको महिमा, विभिन्न कार्यक्रम एवं गतिविधिको तस्बिर सङ्कलन गर्न पाइने जनाइएको छ ।

पुस्तकमा एक हजार १६४ पृष्ठ छ । पुस्तकको सम्पादनमण्डलमा प्रा ई देवीप्रसाद चापागाईँ, डा नयँनाथ पौडेल, प्रा डा कुलप्रसाद कोइराला, प्रा डा दिवाकर आचार्य, डा गोविन्द टण्डन, डा माधवपसाद लामिछाने, रवीन्द्रप्रसाद गिरी, मदनकुमार डङ्गोल, पण्डित गोविन्द भट्टराई, डा विनुबाबा अर्याल, ज्योतिष पण्डित युवराज तिमल्सिना, श्रीधर गौतम, खगेन्द्रप्रसाद गिरी र राजेन्द्रराज कठायत रहनुभएको छ ।

प्रत्येक स्तुतिको नेपालीमा भावानुवाद गरी सामान्य मानिसले पनि यो पुस्तक पढ्न सक्ने बनाइएको छ । पुस्तकले पशुपतिनाथका बारेमा धेरै कुरा स्पष्ट पारेको छ । धेरै गहन विषयवस्तु भएकाले सामान्य पढाइबाट पुस्तकले उठाउन खोजेकाले एकैपटकको पढाइबाट सबै कुरा बुझ्न कठिन हुनसक्छ ।

पाशुपतदर्शन विषयक लेखमा डा जगमान सुरुङ पशुपति शब्दबाटै पाशुपत दर्शन बनेको जनाउँदै पाशुपत दर्शन, कार्य, कारण योग, विधि र दुःखान्तका विवेचनामा पुस्तक आधारित भएको उहाँले बताउनुभयो । वेद, पुराणलगायत ग्रन्थमा पशुपतिनाथका विषयमा उल्लेख गरिएका विषयलाई पनि लेखकहरूले यो पुस्तकमा प्रस्तुत गर्नुभएको छ ।

पशुपतिनाथ, पाशुपतदर्शन र पशुपति तत्वका बारेमा विभिन्न ग्रन्थले उल्लेख गरेका विषय खोजी गरी पुस्तकमा समावेश गरिएकामा त्यसलाई अझ सरल भाषामा राख्न सकिएको भए अझै प्रभावकारी हुने थियो । भाषा शैलीका हिसाबले पनि एकपटक हेरेर सहज रूपमा प्रस्तुत गरिएको भए यो ग्रन्थ अझै प्रभावकारी हुने थियो । अझै धेरै मानिसले यसको अध्ययनबाट लाभ लिन सक्ने थिए । अहिलेलाई त्यसो नभए पनि यो ग्रन्थ एउटा ऐतिहासिक एवं सङ्ग्रहणीय कृतिका रूपमा नेपाली पाठकमाझ आएको छ ।

विद्यालय खुल्ने वातावरण बनाउन माग

इलाम, ९ वैशाख : इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ”, बालककी आमाले भन्नुभयो, “विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ ।”

वैशाख लागेसँगै नयाँ शैक्षिकसत्र सुरु भयो । यतिबेला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना धमाधम हुनुपर्ने हो, तर हुन सकेको छैन । विद्यालय बन्द छ, विद्यार्थी घरघरमा छन् । सरकारले माग पूरा गर्छ÷गर्दैन भनेर शिक्षकलाई चिन्ता छ । तर, अभिभावकलाई बालबच्चा बिग्रिएकामा पिरलो छ ।

सूर्योदय नगरपालिका–७ का गणेश भट्टराईले तत्काल विद्यालय खुल्ने वातावरण नबने बालबालिकालाई असर पुग्ने बताउनुभयो । “सहरका मात्र होइन, गाउँघरका बच्चा पनि गलत क्रियाकलापमा सग्लग्न थालेका छन् । विद्यालय नहुँदा घरमा काम छैन, खराब सङ्गत र स्वतन्त्रताले धेरै बिग्रिसके । यो विषय संवेदनशील छ ।”

जिल्लाका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको सरोकारवाला बताउँछन् । बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको मानवअधिकार मञ्च नेपालका कार्याकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताउनुभयो । “बालबालिका कुलतमा फसिरहेको देखेमा वा थाहा पाएमा सचेत नागरिकले जिल्ला प्रशासन र प्रहरीमा जानकारी दिनुपर्छ । अभिभावक थप सचेत बन्न जरुरी देखिन्छ ।”

हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । “यतिका दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका पक्कै बिचल्ली भएका छन् । हामीलाई उनीहरूको चिन्ता छ । राज्यले हाम्रो माग सम्बोधन गरेर विद्यार्थीप्रति संवेदनशील बन्नुपर्छ”, शिक्षक खड्काले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषधबाट बालबालिकालाई बचाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रम गरिरहेकै हुन्छ, जिल्लामा बाहिरबाट लागुऔषध भित्रिन र यहाँ प्रयोग गर्न नदिन प्रहरी सधैँ क्रियाशील छ ।”

“पोप फ्रान्सिसजस्तो महान् आत्मालाई चिन्ने अवसर पाउनु मेरो जीवनको सौभाग्य ”

क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर शोकको लहर फैलिएको छ । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति जो बाइडेन तथा अन्य उच्चपदस्थ नेताहरूले अत्यन्तै सम्मानका साथ उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा छोटो तर भावुक सन्देश लेख्दै पोपप्रतिको श्रद्धा प्रकट गर्नुभयो । “पोप फ्रान्सिसको आत्माले चिर शान्ति पाओस् । ईश्वरले उहाँ र उहाँप्रति प्रेम गर्ने सम्पूर्णलाई आशिष दिऊन् ।”

पूर्वराष्ट्रपति राष्ट्रपति जो बाइडेनले पोपलाई ‘समयका सबैभन्दा प्रभावशाली र प्रेरणादायी धर्मगुरु’ को रूपमा स्मरण गर्दै लेख्नुभयो, “पोप फ्रान्सिसजस्तो महान् आत्मालाई चिन्ने अवसर पाउनु मेरो जीवनको सौभाग्य हो ।” उहाँले पोपसँगको सम्झनात्मक तस्बिरसहित श्रद्धाञ्जली सन्देश सामाजिक सञ्जाल ‘एक्स’ मार्फत साझा गर्नुभयो ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पनि पोपप्रतिको श्रद्धा प्रकट गर्दै भन्नुभयो, “हामी सम्पूर्ण क्याथोलिक समुदायसँग एकतामा रहँदै दिवङ्गत धर्मगुरुको चिरशान्तिको लागि प्रार्थना गर्दछौं ।”

अमेरिकी कांग्रेसका वरिष्ठ नेताहरूले पनि गहिरो सम्मान प्रकट गरेका छन् । डेमोक्रेटिक सिनेटर चक स्चुमरले भन्नुभयो, “पोप फ्रान्सिसको गरीब, पीडित र बंचितप्रतिको करुणामय व्यवहारले उहाँको धर्मगुरुत्वलाई आशा र उज्यालोको प्रतीक बनाएको छ । उहाँको स्मृति सदैव अमर रहनेछ ।”

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पोप फ्रान्सिसको सेवा भाव र विनम्रताप्रति श्रद्धा व्यक्त गर्दै भन्नुभयो, “उहाँले गरिब र असहायहरूको सेवा गर्नुभएको कार्य अत्यन्तै प्रेरणादायी छ । सन् २०१५ मा अमेरिकी संसदलाई दिनुभएको सम्बोधन दलबन्दीभन्दा माथि उठेको ऐतिहासिक क्षण थियो ।”

विश्वका अन्य नेताहरू जस्तै, अमेरिकाका नेताहरूले पनि पोप फ्रान्सिसको आध्यात्मिक नेतृत्व, मानवीय सेवा र अन्तरधार्मिक सद्भावका लागि समर्पित जीवनप्रति गहिरो सम्मान प्रकट गर्दै उहाँको अनुपम योगदान सधैं स्मरणीय रहने बताएका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ९ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ६०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ६०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ११०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०५ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग

सिरहा, ९ वैैशाख : सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् । उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् ।

अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बताउनुभयो । “हामीले विगतदेखि अस्पताल सुधारका लागि पटकपटक अस्पताल प्रशासनलाई ध्यानाकर्षण गरायौँ”, उहाँले भन्नुभयो, “तर मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका अध्यक्षले अस्पतालको गतिविधिमा अनियमितता, बिरामीले पाउनुपर्ने सेवा सुविधा, औषधि खरिद र वितरणमा कैफियत रोकिएन । सेवाग्राहीको गुनासोमात्र निरन्तर आइरह्यो ।” आफूहरूको माग सम्बोधन नभए तीन दिनपछि अझ सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

मागपत्रमा पछिल्लो तीन आर्थिक वर्षमा अस्पतालबाट खरिद गरिएका औषधिको हिसाब, बिरामीलाई वितरण भएको औषधिको विवरण, म्याद सकिएका औषधि, खरिद गरिएका प्रयोगशालाका सामानको हिसाब विवरण सार्वजनिक गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, आमा सुरक्षा कार्यक्रम, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)मार्फत सेवा लिएका बिरामीको विवरण र भएको खर्च, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको नामावली र नियुक्तिसँग सम्बन्धित कागजात, अस्पतालका विभिन्न उपकरण खरिद बिक्रीमा रकम हिनामिना भएको जनाउँदै हरहिसाब मागिएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलबभत्ता हरेक महिना दिने व्यवस्था गर्नुपर्ने, अस्पतालमा कार्यरत हरेक कर्मचारीको ड्रेस कोडको व्यवस्था हुनुपर्ने, सरसफाइ तथा सम्पूर्ण कर्मचारीको नामावली र समयतालिकासहित सूचनापाटीमा टाँस्नुपर्र्नेे माग गरेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ४ वैशाखको राति अस्पताल अनुगमन गरेर फर्किएको चौथो दिन स्थानीय युवाहरूले अस्पताल सुधारको माग गर्दै तीनदिने अल्टिमेटमसहित मागपत्र बुझाएका हुन् । मुख्यमन्त्रीले अनुगमनका नाममा अस्पतालको भौतिक पूर्वाधार, रजिस्ट्रारलगायत सम्बन्धित कागजातमात्र हेरेर फर्किएको गुनासो युवाहरूले गरेका छन् ।

पोखरामा सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी, ९ वैशाखः पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे जानकारी गराउँदै यसको समाधानका लागि आग्रह गरिएको सङ्घका अध्यक्ष सुवेदीले बताउनुभयो । 

पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको अवस्थामा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा सामस्या परेको बताउँदै पर्यटकको बढी चहलपहल हुने लेकसाइड, ड्यामसाइडलगायत क्षेत्रमा खानेपानी प्राप्तिमा कठिनाइ हुनु दुःखद् भएको उल्लेख गर्नुभयो । यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जानसक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

“आन्तरिक तथा बाह्य पर्यटन आउने पोखराका होटलसहित अन्य व्यवसायीले सुक्खायामसँगै आवश्यकताअनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन”, सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “होटल तथा पर्यटन व्यवसायीले दैनिकजसो बोरिङको पानी खरिद गरी पाहुनालाई सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति रहेको हुँदा पोखरा र पर्यटकको आवासीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रूपमा खानेपानीको व्यवस्था मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”

सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले खानेपानीको समस्यालाई तत्काल समाधान गर्न आग्रह गर्नुभयो ।

संस्थान प्रमुख कार्कीले सन् २०१५ को पुरानो आयोजनाअनुसार अघि बढेको आयोजना भएकाले जाइकाले ल्याएको पानीले पनि पोखरेलीको आवश्यकता पूरा गर्न नसकिएको बताउँदै चुहावट र चोरीकाे समस्या रहेको बताउनुभयो । उभोक्तालाई आवश्यकताअनुसारको पानी दिन पाए आफूहरूको पनि आम्दानी बढ्ने बताउँदै उहाँले सहज पानी आपूर्तिका प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संस्कार क्रिकेट लिगः युथ टीकापुर र नारायण क्लब फाइनलमा

कैलाली, ९ वैशाखः धनगढीमा जारी टिम ११औँ संस्कारको क्रिकेट लिग प्रतियोगिताको फाइनलमा नारायण स्पोर्टस् क्लब कञ्चनपुर र युथ अफ टीकापुर कैलालीबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी धनगढीलाई चार विकेटले पराजित गर्दै नारायण स्पोर्टस् क्लबले फाइनल यात्रा तय गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको नारायण क्लबले २० ओभर खेल्दै छ विकेटको क्षतिमा दुई सय १४ रन जोडेको थियो । दुई सय १५ रनको लक्ष्य पछ्याएको वेष्ट्रन एकेडेमी १७ दशमलव पाँच ओभरमा अल आउट हुँदै एक सय १९ रनमा समेटिन पुग्यो । 

सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सायल गाउँपालिका डोटीलाई पराजित गर्दै युथ टीकापुर फाइनलमा प्रवेश गरेको छ । सायलले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको टीकापुरले १५ दशमलव तीन ओभरमा पूरा गर्दै फाइनलका लागि स्थान पक्का गरेको हो । 

प्रतियोगिता विजेता टोलीले नगद रु एक लाख ११ हजार १११ सहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले रु ५५ हजार ५५५ सहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ बजे सुरु हुनेछ । गत चैत ३० गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टिम सहभागी छन् ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०० पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९९ पैसा र बिक्रीदर २१ रुपैयाँ ०८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ०२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

नवलपरासी, ९ वैशाखः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको रु ८५ लाख ८० हजार ७५५ रकम सञ्चालक समितिले हिनामिना गरेको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब रु ८६ लाख रकम हिनामिना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा नवलपरासी जिल्ला अदालतमा दर्ता भएपछि प्रतिवादी सुरेश चौधरी (कुर्मी), वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी (कुर्मी) ले जनही रु पाँच लाख धरौटी राखेर तारेखमा बसेका जानकारी दिनुभयो । 

“सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव हाजिर हुनुभएको छैन”, जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले भन्नुभयो । 

उहाँका अनुसार सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएपछि मुद्दामा उल्लेख गरिएका १५ जनालाई जिल्ला अदालतले पक्राउ पुर्जीसहित ३५ दिनभित्र अदालतमा हाजिर हुन आउनु भनी पात्र पठाइएको छ ।

उक्त सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दामा तीन जना हाजिर भएका जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधले बताउनुभयो । उहाँका अनुसार सहकारी दर्ता रहेको राप्ती उपत्यका दाङ (देउखरी) को पत्रबाट मुस्तफा शेखको जाहेरीले वादी नेपाल सरकार भएर जिल्ला अदालतमा सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । 

सहकारीको रकम हिनामिनासम्बन्धी कसुर ठहर भएमा बिगो बराबरको जरिवाना र तीन वर्षसम्म कैद हुने सहकारी ऐन, २०७४ को दफा १२४ मा व्यवस्था रहेको सरकारी वकिल कार्यालयका सूचना अधिकारी लोधले जानकारी दिनुभयो ।

खुम्बुमा एकैदिन सात सय पर्यटक प्रवेश, होटल भरिभराउ

सोलुखुम्बु, ९ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय आठ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उहाँले जानकारी दिनुभयो । श्रेष्ठले नाम्चेको यात्रामा छ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेका बताउनुभयो । 

वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताउनुभयो । मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ । सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन् ।” 

खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल(टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो । कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उहाँले उल्लेख गर्नुभयो । 

उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उहाँको भनाइ छ । स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व सङ्कलन वृद्धि भएको जनाइएको छ ।

निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार ५००, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति रु तीन हजार र नेपालीबाट रु एक सय प्रवेश शुल्क लिने गरिएको छ । उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनुभयो । उहाँका अनुसार अधिकांश पर्यटक काठमाडौँ र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उहाँले जानकारी दिनुभयो । 

विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौँ, ९ वैशाखः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्नेगरी स्वीकृति दिएको हो ।

गत वर्षसम्म समितिको स्वीकृति लिएर प्रकाशित हुने पञ्चाङ्गको सङ्ख्या १४ थियो । विसं २०८१ मा स्वीकृति लिएर पनि दिव्यपुरुष ढकालको तारकेश्वर पञ्चाङ्ग प्रकाशन नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाश दर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ र नारायणप्रसाद नेपालको गौरीशङ्कर पञ्चाङ्ग विगतका वर्षदेखि समितिको स्वीकृति लिएर प्रकाशित हुँदै आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिलाई पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम समितिको गठन आदेश, २०७७ ले दिएको छ । सरकारले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी उक्त जिम्मेवारी दिएको हो । धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नेगरी समितिको छुट्टै विधेयक मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ ।

मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित १९ परिवालाई मुआब्जा वितरण

तनहुँ, ९ वैशाखः जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो ।

जग्गा अधिग्रहणका लागि रु २१ करोड ७८ लाख ८५ हजार ९६७ रकम प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गाका लागि रु १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घर टहराका लागि रु तीन करोड ९० लाख ९९ हजार ३१५ वितरण गरिएको छ । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी रु एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो । 

आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए । अहिले मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन् । 

केन्द्रको बाँध किनारमा रहेका स्थानीयको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले सो क्षेत्रको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो । 

मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । मुआब्जा पाउन सङ्घर्ष गर्नुपरेको भन्दै ढिलै भएपनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली, ९ वैशाखः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्री तथा सचिवलाई निर्देशन दिनुभएको हो ।

बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उहाँले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उहाँले बताउनुभयो । 

जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन नसकेकाबारे उहाँले सचिवलाई मुख्यमन्त्री कँडेलले गर्नुभयो । “पहिला जनशक्ति पर्याप्त थिएन भनेर काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन अपेक्षित परिणाम आउन सकेन ? समीक्षा गर्नैपर्छ”, उहाँले भन्नुभयो, “हामीले साउनदेखि मेहनत गरिरहे पनि उल्लेख्य प्रतिफल प्राप्त गर्न सकेका छैनौँ । सुशासन र बजेट कार्यान्वयनमा प्रभावकारी नतिजा आउने गरी मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण गराउँछु ।”

आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको बताउँदै उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र परम्परागतभन्दा जनताले अनुभूति हुनेगरी बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । अनुशासनको नाम काम अड्काएर राख्ने नभई स्थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्नेगरी काम गर्नसमेत मुख्यमन्त्री कँडेलले मन्त्री तथा सचिवहरूलाई सुझाउनुभयो । 

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका लागि संघकै अग्रजहरूले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शीतलनिवासमा सोमबार भएको भेटमा उनले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकाले व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने बताए।

राष्ट्रपति पौडेलले भने, ‘तपाईहरुको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ।’

भेटमा अध्यक्ष डा केसीले संघको वर्तमान अवस्था र मागबारे जानकारी गराएका थिए। भेटमा उपाध्यक्षद्वय डा हेमराज शर्मा, रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्कबहादुर केसी, अमेरिकाका प्रतिनिधि आरसी पन्त, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास तथा डा मीन रानाभाट (यूके), संघका सिइओ राजेन्द्रकुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेलगायतको उपस्थिति थियो।

आयोगले भन्यो- शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिनू

काठमाडौँ, ८ वैशाख: राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट समाधान खोजी बालबालिकालाई शिक्षाको अधिकारबाट बञ्चित नगर्न आन्दोलनरत पक्ष र नेपाल सरकारसँग आग्रह गरेको छ ।

 आयोगले समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखाँै विद्यार्थीहरूमा मनोवैज्ञानिक रुपमा दूरगामी असर पर्नसक्ने उल्लेख गर्दै यस्तो  आग्रह गरेको हो ।

 आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौँ विद्यार्थीहरूमा मनोवैज्ञानिक रुपमा दूरगामी असर पर्नसक्ने, शिक्षाको अधिकार प्रचलनमा अवरोध हुनसक्ने र शैक्षिक क्यालेण्डर नै प्रभावित भई समग्रमा शिक्षा प्रणालीमा नै नकारात्मक प्रभाव पर्न सक्ने हुन्छ ।”

 आयोगले शान्तिपूर्ण र सहज तरिकाले समाधान खोज्नुपर्नेमा जोड दिएको छ । “यस विषयमा गम्भीर भई वार्ताको माध्ययमबाट समस्या समाधान गरी सहज र शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन हुने वातावरण मिलाई शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आयोग आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारसमक्ष पुनः अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । 

 विद्यालयमा शैक्षिक सत्र सुुरु भइसकेको, यही वैशाख ११ गतेदेखि सुरु हुनेगरी कक्षा १२ को परीक्षा कार्यक्रम प्रकाशित गरिएको, एसइई परीक्षाका उतरपुस्तिका परीक्षण र विद्यालय भर्ना कार्यक्रम सुरुआत हुन नसकेको र सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्तगर्ने अधिकार हनन् भएको भनी अभिभावक सङ्घ नेपालले आयोगको ध्यानाकर्षण गराएको पनि जनाइएको छ । आयोगले समस्या समाधानको लागि यही वैशाख ७ गते नेपाल सरकारलाई पत्राचार गरेको थियो ।

 पत्रमा नेपालको संविधानको धारा ३१ र ३९ द्वारा प्रदत्त बालबालिकाको मौलिक हक संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासङ्घसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूपर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरिएको थियो ।

गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

गण्डकी, ८ वैशाख – गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको हो ।

आज एक कार्यक्रमका बीच यस कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकमा प्रविष्ट हुने योजनाको प्राथमिकता निर्धारण र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्न सहज हुने गरी योजना बैंक सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।

आजै भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमबारे जानकारी लिनुभएको थियो । कृषि र पर्यटन केन्द्रित साझेदारी कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना र युवा पलायन रोक्ने गरी भूमिका खेल्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

लागत साझेदारीमा प्रतिफल देखिने खालको योजना बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रूपमा केही योजना सञ्चालन गरिने बताउनुभयो ।

अफगानिस्तानमा पोलियो विरुद्धको राष्ट्रव्यापी खोप अभियान सुरु

अफगान अन्तरिम सरकारका सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारदेखि मुलुकभर पोलियो विरुद्धको खोप अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गत पाँच वर्ष मुनिका एक करोड १६ लाख बालबालिकालाई पोलियो खोप दिने लक्ष्य रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शरीफत जमान अमर्खिलका अनुसार सोमबारदेखि बिहीबारसम्म चल्ने यो अभियान घर–घर पुगेर खोप दिने ढाँचामा सञ्चालन हुनेछ । साथै, पाँच वर्षमुनिका बालबालिकालाई ‘भिटामिन ए’ पनि दिइनेछ ।

अमर्खिलले स्थानीय समाजका अगुवा, धार्मिक विद्वान तथा आम नागरिकलाई पोलियो कार्यकर्ताहरूसँग सहकार्य गरी अभियान सफल बनाउन अनुरोध गरेका छन् ।

यस अभियानले पोलियो निर्मूल गर्न र बालबालिकाको स्वास्थ्य संरक्षण गर्न मद्दत गर्ने मन्त्रालयले विश्वास लिएको छ ।