`

चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने

चीनका वैज्ञानिकहरूले ’लिथियम ब्याट्री’ किन असफल हुन्छ भन्ने महत्वपूर्ण कारण पत्ता लगाएका छन्। यो खोज विद्युतीय सवारीसाधनको क्षेत्रमा ठूलो योगदान पु¥याउन सक्ने विश्वास गरिएको छ ।

लिथियम ब्याट्री एक प्रकारको रिचार्जेबल (पुनः चार्ज गर्न मिल्ने) ब्याट्री हो, जसमा उर्जा सञ्चय र उपयोगका लागि लिथियम आयनहरूको प्रयोग गरिन्छ। यसमा दुईवटा इलेक्ट्रोडहरू (एनोड र क्याथोड) हुन्छन् र तिनीहरू बीच लिथियम आयनहरू चार्ज हुँदा एक दिशातर्फ र डिस्चार्ज हुँदा अर्को दिशातर्फ सर्छन्। लिथियम ब्याट्री हल्का, लामो समय टिक्ने, छिटो चार्ज हुने र उच्च उर्जा क्षमता भएको हुन्छ, जसले गर्दा यो मोबाइल, ल्यापटप, विद्युतीय गाडी तथा सौर्य उर्जा प्रणालीहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ ।

हाल चीन लिथियम ब्याट्री उत्पादन र प्रविधिमा अग्रणी राष्ट्र बनेको छ। जापान र कोरियाजस्ता देशहरूसँग नयाँ ब्याट्री प्रविधिमा मित्रवत प्रतिस्पर्धा गर्दै, चीनले थप प्रगति गरिरहेको छ ।

ब्याट्री बिग्रनुको कारण

सामान्य ब्याट्रीमा झोल पदार्थ प्रयोग हुने भए तापनि, लिथियम ब्याट्रीमा कडा पदार्थ प्रयोग हुन्छ। चार्ज गर्ने क्रममा लिथियम फैलिँदा र खुम्चिँदा यस्तो ठोस पदार्थमा चिरा पर्न सक्छ, जसले ब्याट्रीलाई असर पु¥याउँछ ।

टोङ्जी विश्वविद्यालय र हुआझोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरूले अनुसन्धानमार्फत लिथियम धातु बारम्बार प्रयोग हुँदा कमजोर बन्न सक्ने पत्ता लगाएका छन्, जसले ब्याट्री बिग्रन सक्छ ।

यस अध्ययनलाई साइन्स नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ। यसले ब्याट्रीको आयु अनुमान गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।

भविष्यका लागि सकारात्मक सङ्केत

यस्तो ब्याट्रीहरू परम्परागत ब्याट्रीभन्दा धेरै ऊर्जा संचित गर्न सक्ने, सानो आकारको, सुरक्षित र दीर्घकालीन हुने भएकाले आगामी दिनमा यसको प्रयोग व्यापक रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

चिनियाँ वैज्ञानिक टोली र अग्रणी कम्पनीहरूबीच सहकार्य हुँदै गएको छ । कतिपय कम्पनीहरूले सन् २०२७ भित्र सानो स्तरमा उत्पादन सुरु गर्ने योजना बनाएका छन् भने सन् २०३० तिर यसको व्यापक प्रयोग हुने सम्भावना रहेको बताइएको छ ।

चीनसँग बलियो उत्पादन क्षमतासहितको बजार, वैज्ञानिक स्रोत र प्रविधि उपलब्ध भएकाले यस्तो नयाँ प्रविधिमा अझ राम्रो प्रगति हासिल हुने विश्वास विज्ञहरूले व्यक्त गरेका छन् ।

चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्, जुन देशभरका कुल व्यवसायहरूको ९२.३ प्रतिशत हो ।

सालको पहिलो त्रैमासिकमा मात्रै उन्नाइस लाख उनान्सय हजार नयाँ निजी कम्पनीहरू स्थापना भएका छन्, अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले बढी। तीमध्ये ४० प्रतिशतभन्दा बढी व्यवसायहरू प्रविधि, नयाँ उत्पादन र व्यापार मोडलसँग सम्बन्धित छन् ।

डिजिटल अर्थतन्त्रको क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ। जनवरीदेखि मार्चसम्म दुई लाख चौंहत्तर हजार नयाँ डिजिटल सम्बन्धित निजी कम्पनीहरू दर्ता भएका छन्, जुन पहिलो त्रैमासिकका कुल नयाँ कम्पनीहरूको १३.९ प्रतिशत हो ।

सरकारले नीति, कानुन तथा संवादमार्फत निजी क्षेत्रलाई थप सशक्त बनाउन पहल गरिरहेको छ। यसले देशको निजी क्षेत्रलाई नवप्रवर्तन, रोजगारी र समग्र आर्थिक वृद्धिको मुख्य आधार बनाइरहेको छ ।

नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल

काठमाडौँ, ८ वैशाख : नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई रु एक अर्ब ५२ करोड प्रतिफल प्रदान गरेको छ ।

कोष सञ्चालक समितिको बैठकले विसं २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कूल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।

बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो ।

पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव

धुलिखेल (काभ्रेपलाञ्चोक), ८ वैशाख : पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको फुलबारीमा आज आयोजित नवक्षितिज साप्ताहिकको रजतजयन्तीका अवसरमा उहाँले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले समाज, राष्ट्र र संसारलाई नै अझ बढी बुझ्ने भएकाले सोहीअनुसार विश्लेषण गरिनुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा धेरै उपलब्धि भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले व्यवस्था संरक्षणमा लाग्न आग्रह गर्नुभयो । त्यससँगै नदीनाला, पहाड र चुरे दोहनले जलवायु परिवर्तनका असर देखिरहेकाले त्यसमा पत्रकारिताको माध्यमबाट सचेत गराउन उहाँले आग्रह गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले नवक्षितिज साप्ताहिकको स्मारिका विमोचन गर्नुका साथै साप्ताहिकका स्तम्भकार प्रल्हाद दाहालद्वारा लिखित ‘अनुभूतिको सङ्गालो’ र दीपा गुरुङद्वारा लिखित कथा सङ्ग्रह ‘कथा काठमाडौँको’ लोकार्पण गर्नुभयो ।

नवक्षितिज साप्ताहिकका प्रधानसम्पादक नवराज बजगार्इंले साप्ताहिक पत्रिकाले २५ वर्ष प्रवेश गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै यात्रासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद् ज्ञापन गर्नुभयो । कार्यक्रममा पत्रिकामा आबद्ध सञ्चारकर्मी अर्विन्द्र गौतमलाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ ।

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ, ८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो ।

त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।
सम्मान हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) हुनुहुन्छ ।

कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, ८ वैशाख: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, बागमती नगर जग्गा एकीकरण आयोजनामा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोजनाअन्तर्गत गौरीघाटमा कार्यरत यादवविरुद्ध रु तीन करोड २९ लाख ४५ हजार सात सय दुई बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ । आयोगले अमिन यादवको विसं २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको सेवा अवधिको विश्लेषण गरेको थियो ।

यस अवधिमा यादवको अवैध आय रु दुई करोड ४२ लाख २० हजार तीन सय एक र कूल व्यय रु पाँच करोड ७१ लाख ६६ हजार रहेको आयोगले जनाएको छ । त्यसमध्ये रु तीन करोड २९ लाख ४५ हजारभन्दा बढी बराबरको सम्पत्तिको वैध स्रोत नभएको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती अमृताकुमारी यादवको नाममा राखेकाले दुवै जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, कर्णाली प्रदेश कार्यालय सुर्खेतका कामु निर्देशक भीमकान्त लामिछाने, लेखा अधिकृत शिवराम रोकायासमेतका प्रतिवादीबारे विशेष अदालतले गरेको फैसलाविरुद्ध आयोगले आजै सर्वोच्च अदालतमा पुनरावेदनसमेत गरेको छ ।

आयोगले दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयसँग विभिन्न तालिम सम्झौता गरेको भए पनि मिलेमतो गरी तालिम नै सञ्चालन नगरेको पाइएको जनाएको छ । आयोगले रु तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले विसं २०८० फागुन १४ गते सो मुद्दामा सफाइ दिने फैसला गरेको थियो । फैसलाउपर चित्त नबुझेका भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डाइलेसिस सेवा सञ्चालन

दमक (झापा), ८ वैशाख : आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डाइलेसिस सेवा सञ्चालन गरिने भएको छ । अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको सहकार्यमा २० शय्यासहित डाइलेसिस सेवा विस्तार गर्न लागिएको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौता गरिएको आम्दा अस्पतालका प्रशासक सुमन नेपालले जानकारी दिनुभयो ।

सम्झौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षार गर्नुभएको छ । सम्झौताअनुसार आगामी दुई महिनामा डायलेसिस सेवा सुरु गरिनेछ । 

आम्दामा डाइलेसिससेवा नहुँदा यस क्षेत्रका सेवाग्राही दमक बाहिर सेवा लिन जान बाध्य थिए । दमकको आम्दा अस्पतालमा डायलेसिस सेवा सञ्चालनमा आएपछि पूर्वी मोरङ, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरु लाभान्वित हुने अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा नविन ढकालले बताउनुभयो । ओमसाई पाथीभरा अस्पतालले लामो समयदेखि डायलेसिस सेवा उपलव्ध गराउँदै आएको छ ।

त्यस अवसरमा आम्दा अस्पतालका पूर्व मेसु डा प्रकाश शर्मा, डा नविन ढकाल, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागार्इंलगायतको उपस्थिति थियो ।

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा (रूपन्देही), ८ वैशाख : रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए । बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिनुभयो ।
मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उहाँ बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्नुहुन्थ्यो । हाल विद्यालय बिदा रहेकाले उहाँ दुई दिनअघि मात्रै मूल घर आउनुभएको थियो ।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए ।

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ, ८ वैशाख : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौँको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो ।

समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताउनुभयो । “विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदैछ”, उहाँले भन्नुभयो, “निष्पक्षताका लागि लड्नैपर्ने रहेछ । अब नयाँ ढङ्गले एनआरएनए बनाएर अगाडि बढ्ने छौँ ।”

एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटकपटक थप गरिएको घलले बताउनुभयो ।

एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिनुभयो । “उच्चस्तरीय समितिलाई पठाइएको सङ्ख्या हेर्दा उक्त सङ्ख्या ४७ हजार बढी रहेको छ । उच्चस्तरीय समितिको वेभसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बन्नुभएको छ”, उहाँले भन्नुभयो, “एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म दुई हजार पाँच सयभन्दा बढीले निवेदन दिइसकेका छन् । आवेदनका लागि मङ्गलबारसम्म समय रहेको छ ।”

थापाले सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्वपूर्ण मोडमा आइपुगेको बताउनुभयो । यस अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैरआवासीय नेपालीको हकहित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी काम सम्पन्न भएको थापाको भनाइ छ ।

सङ्घले कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौँमा भेला भएर एकता महाधिवेशनलाई सफल बनाउन आह्वान गरिएको छ ।

सदस्य सचिव थापाले भन्नुभयो, “ऐतिहासिक एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । हालसम्म १४ पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ । यसमा नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी हुनुहुन्थ्यो ।”

सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ: अध्यक्ष दाहाल

काठमाडौँ, ८ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताउनुभएको छ ।

ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले घटनामा तीर्थयात्री दुर्गा भट्टराई, आध्या आचार्य, सरिता पौडेल र विनोद पौडेलको मृत्यु भएको दुखद् घटनाले स्तब्ध भएको उल्लेख गर्नुभयो ।

उहाँले मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष मागसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानहरूको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरि छ भन्ने पाठ यो घटनाले सिकाएको छ, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष माग गर्दछु ।”

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौँ, ८ वैशाख: नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न थालिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ मा रहेको जनकधाममा उत्पादित दूध, दही, घ्यू, गहुँत, गोबरसहितका पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु बनाउन थालिएको हो ।

त्यहाँ उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउने उद्देश्यसहित मुख्य बिक्री केन्द्र जनकधाम र काठमाडौँको बुद्धनगरबाट बिक्रीवितरणसमेत गर्न थालिएको छ । सञ्चालक कौशलेन्द्र झाले दुईवटा बिक्री केन्द्र र आवश्यकताअनुसार अन्य क्षेत्रमा यहाँका उत्पादन उपलब्ध गराउन थालिएको बताउनुभयो । हाल घ्यूबाट वैदिक, तुलसी, अर्जुन, ब्राह्मी, शङ्खपुष्पी घृत गरी १२ वटा, मोहीबाट तक्र सुधा, तक्र आसव, पेस्टिसाइड्स गरी सात, गौमुत्रबाट मललगायत विभिन्न २० वटा उत्पादनसहित ६० भन्दा बढी होमकेयर, पर्सनल केयर, लाइफ केयर, फुडजन्य वस्तु बिक्रीमा ल्याइएको उहाँले बताउनुभयो । “जनकधाममा उत्पादित यस्ता सामग्रीको पटकपटक आफैँले प्रयोग र परीक्षण ग¥यौँ । औषधि नै त भन्दैनौँ तर पञ्चगव्य र हर्बलको समिश्रणबाट औषधिजन्य सामग्री, जैविक उत्पादनका लागि मल, कल्चरल लिकुइड फर्टिलाइजर, किटनाशक जस्ता उत्पादन गरेका छौँ”, झाले भन्नुभयो ।

पाँच महिनादेखि काठमाडौँमा बिक्री केन्द्र राखिएकामा हालसम्म करिब एक हजार जनाले यसको प्रयोग गरी लाभ प्राप्त गरेको कम्पनीका अर्का सञ्चालक राघबेन्द्रकुमार झाले जानकारी दिनुभयो । देशभित्रका उपभोक्ता र विभिन्न माध्यमबाट नेपालबाहेक विभिन्न देशमा यी उत्पादनको बजार विस्तार भइरहेको उहाँले बताउनुभयो ।

सञ्चालक कौशलेन्द्र झाले वैदिक सनातन मान्यताअनुसार नेपाली रैथाने गाईमा आधारित पञ्चगव्यमार्फत आममानिकलाई प्राकृतिक जीवन बाँच्न सहयोग गर्ने उद्देश्यले आफूहरू लामो अध्ययनपछि यस कार्यमा लागेको बताउनुभयो । “हाम्रो ध्येय प्राकृतिक जीवन बाँच्नका लागि अभिप्रेरित गर्ने हो, किनकि प्राकृतिक जीवन बाँच्नलाई प्राकृतिक माटो, हावा, पानी र त्यसैको प्रयोगबाट उत्पादित प्राकृतिक भोजन, औषधि, जडिबुटी हुनुपर्छ । हाम्रो वैदिक सनातन मान्यता, आयुर्वेद र आधुनिक विज्ञानले पनि यसको आधार वर्णशङ्कर नगरिएको देशी गाई हुने कुरा प्रमाणित गरिसकेको छ”, उहाँले भन्नुभयो, “त्यसै आधारमा देशी गाई र पञ्चगव्यलाई स्रोत बनाएर अगाडि बढेमा प्राकृतिक जीवन बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न हामीले त्यसमा आधारित उत्पादन र प्रयोग अभियान सञ्चालन गरेका छौँ ।”

सनातन कालदेखि आधुनिक चिकित्सा विज्ञानको युगमा विभिन्न अध्ययनहरूले पञ्चगव्यमा एन्टिक्यान्सर र एन्टिब्याक्टेरियल गुण भएकाले बायोपेस्टिसाइज, किटनाशक, प्रोटिन, क्याल्सियम, भिटामिन, खनिज, अमिनो एसिडलगायत तत्व र रेडियो विकिरणबाट रक्षा गर्ने गुण हुने देखाएका छन् ।

रैथाने प्राकृतिक शुद्ध नश्लका गाईमा आधारित पञ्चगव्यबाट बनेका वस्तुहरू लाभदाय हुने भनेर प्रमाणित भइसकेकाले त्यसैको महत्वबारे बुझाउन पनि ‘रैथाने गाईपालन तथा पञ्चगव्य उत्पादन’ विस्तारमा लागेको झाको भनाइ छ । “रैथाने देशी गाई प्राकृतिक जीवनका लागि महत्वपूर्ण त छँदैछन्, तिनमा आधारित पञ्चगव्यको प्रयोग आधुनिक अप्राकृतिक जीवनशैलीबाट उत्पन्न थरिथरिका रोग निदानमा पनि लाभदायक छन् भनेर देखाउनु हाम्रो उद्देश्य हो । हाल त्यसैको ‘डेमो’ देखाइरहेका छौँ । यसबाट असाध्य दीर्घरोगमा पनि राहत मिलेको भनेर आइरहेका प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।

जय महांकाल ह्विलचियर बास्केटबल प्रतियोगिता वैशाख ११ र १२ मा

काठमाडौँ । चौथो महांकाल कप–२०८२ यही वैशाख ११ र १२ गते हुने भएको छ । जय महांकाल युवा समूहको आयोजना हुने बास्केटबल प्रतियोगितामा १३ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
समूहका महासचिव मनिष विश्वकर्माका अनुसार ह्विलचियर बास्केटबल प्रतियोगितामा ९ पुरुष टिम र ४ महिला टिम सहभागी बन्ने छन् ।
काठमाडौँ महानगरपालिका ४ चण्डोल स्थित विशाल मिलन केन्द्रको बास्केटबल खेल मैदानमा हुने प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, एपिएफको पनि सहभागिता रहने छ । विजेतालाई (महिला/पुरुष)लाई नगद २५ हजार, १५ हजार १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी र हाइ स्कोरर खेलाडीले दुई हजार र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी बन्ने करिब दुई सय खेलाडी र व्यवस्थापकलाई आयोजकले यातायात, खाना र आवासको व्यवस्था मिलाएको छ ।

प्रतियोगिता अवधिमा नायिका श्वेता खड्का, एलिजा गौतम, गायक दुर्गेश थापा, कलाकारहरू माया थामी, रिना थापा मगर, अस्मिता रानापाल, मुकेश नेपाली, शशिकला राई, अञ्जु सुनार, इन्दु थामी, कृष्ण मगर, सारा कार्की, मनु थामी, विमला थामी लगायतले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

२०७६ सालमा स्थापना भएको जय महांकाल युवा समूहले अपाङ्गता भएका व्यक्तिहरूको जीवन उत्थान र सशक्तीकरणका लागि ह्विल चियर बास्केटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यो वर्षदेखि महिला टिमलाई पनि बास्केटबलमा सहभागी गराइएको विश्वकर्माले जानकारी दिए ।

करिब ९ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा केही सङ्घसंस्थाले साथ दिएका छन् । यद्यपि, प्रायोजकको उत्साहजनक साथ नपाएको आयोजकले गुनासो गरेको छ ।

जय महांकाल युवा समूह कोरोना कहरको समयमा दिन दुखीको सेवाको स्थापना भएको र निरन्तर भोकालाई भोजन, प्यासीलाई पानी भन्ने नारा सहित अघि बढेको अध्यक्ष लिला नाथ भण्डारीले बताए । समूहले कोरोना कालदेखि गंगबु क्षेत्र र पशुपति क्षेत्रमा निःशुल्क खाना र पानी वितरण गर्दै आएको छ ।

‘लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण छ’ : मुख्यमन्त्री शाह

कैलाली, ८ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले आज यहाँको भितरियामा आयोजना गरेको कार्यक्रममा उहाँले सो भूमिकालाई राज्यले उचित सम्मान गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गर्दै आफ्ना नीति तथा कार्यक्रम बनाइरहेको उल्लेख गर्नुभयो । सोही नीतिअनुसार प्रदेश नीति तथा योजना आयोगमा महिलालाई नेतृत्व दिइएको उहाँको भनाइ थियो । आयोगमा हाल डा जीवन राना उपाध्यक्ष हुनुहुन्छ ।

लेक लागेर बिरामी परेका दुई पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

ताप्लेजुङ, ८ वैशाखः कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा लेक लागेर बिरामी भएका दुई फ्रान्सेली पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीया नाडिन डेनिस एन्जेल मिशेल, गएको बुधबार कञ्चनजङ्घा बेस क्याम्प गएको र सोही क्रममा लेक लागेका कारण बिरामी हुनुभएको थियो । दुवै जना फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्साको एक गेस्ट हाउसमा फर्किएर बसिरहनुभएको थियो ।

घटनाबारे आज इलाका प्रहरी कार्यालय घुन्सामा जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी टोली खटिएको थियो । थप उपचारका आज दिउँसो मनाङ एयरको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तक उपयोगी : प्रथम राष्ट्रपति डा यादव

काठमाडौँ, ८ वैशाख : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवले गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तक महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ललितपुरको भैँसेपाटीस्थित निवासमा आज राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रथम राष्ट्रपति डा यादवले गणतन्त्र स्थापनापछि केही भएन भन्नेहरुका लागि तस्बिर सङ्गहित पुस्तक गतिलो जवाफ भएको बताउनुभयो ।

उहाँले गणतन्त्रपछिको पछिल्लो अवधिमा ‘मुलुकमा विकास निर्माणको अवस्था कस्तो छ, प्रगति के भए, सांस्कृतिक पक्ष कुन अवस्थामा छ र ती सम्पादको संरक्षण र निरन्तरता’ लगायतका विषयवस्तुलाई समेटेर तयार गरिएको फोटो पुस्तक अत्यन्त उपयोगी भएको धारणा व्यक्त गर्नुभयो ।

प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो, “राससले प्रकाशन गरेको फोटो पुस्तक आफैमा महत्वपूर्ण छ, पुस्तकले केवल तस्बिर, संस्कृति र विकास निर्माणका बारेमा मात्र बोल्दैन, नयाँ र पुराना पुस्तालाई जोड्ने काम पनि गरेको छ । अहिलेका नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डका रीतिरिवाज, चालचलन र विकास निर्माणसँग सम्बन्धित गतिविधिलाई समेत जानकारी गराउन यो पुस्तक अत्यन्त महत्वपूर्ण दस्तावेदका रुपमा स्थापित हुनेछ ।”

   फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र प्राप्तिपछिको उपलब्धिसहित विकास निर्माणको झलक दिने फोटो पुस्तक गणतन्त्रको संस्थागत विकासका पक्षमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

गणतन्त्र दिवसका उपलक्ष्यमा राससद्वारा गत दुई वर्ष आयोजित प्रदशर्नीमा राखिएका तस्बिरहरूलाई समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले यसअघि जस्तै कुनै एक विषयमा केन्द्रित भई तस्बिर प्रदशर्नी जस्तो रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटो पत्रकारले खिचेका एक सय ८२ वटा तस्बिर समावेश छन् ।

   पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र फोटो पत्रकार विकल्प दाहालको उपस्थिति थियो । 

स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार प्रदेश सरकारले स्वीकृत गरेका योजनाहरूलाई यही आर्थिक वर्षमा सम्पन्न गर्नका लागि सो रकम बराबरको वित्त हस्तान्तरण गर्ने निर्णय भएको छ ।

यस्तै मन्त्रीपरिषद्को बैठकले विपद् व्यवस्थापन नियमावली २०८२ लाई अध्ययनका लागि समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले बताए ।

जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी, ८ वैशाखः झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यमा विकसित भएको छ ।

विसं २०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा यही वैशाख १ गते नयाँ वर्षका अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनुभयो । सात / आठ वर्ष चर्चित एवं आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परे पनि हाल पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो ।

जामुनखाडीलाई थप व्यवस्थित गर्नुका साथै आकर्षणका वस्तुहरु थपिँदै गएपछि पर्यटकको आगमनमा वृद्धि भएको उहाँ बताउनुहुन्छ । हालै बाल उद्यान निर्माणसँगै विभिन्न आकर्षक प्रतिमा राखिएको उहाँले जानकारी दिनुभयो ।

स्थापनाकालदेखि नै असुरक्षित जङ्गली जनावरलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको जामुनखाडी सामुदायिक वनको कूल चार सय ४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र छ । जङ्गली जनावरलाई सामुदायिक वनमा पाल्न सरकारले अनुमति नदिएको समयमा असुरक्षित जनावरलाई सुरक्षा प्रदान गरेको स्मरण गर्दै अध्यक्ष गिरीले २०७२ सालमा सामुदायिक वनले बनाएको कार्यविधिलाई डिभिजन वन कार्यालयले अनुमोदन गरेको बताउनुभयो । सोही कार्यविधिअनुसार पूर्वाधार निर्माण, जङ्गली जनावरको बास स्थान निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।

सिमसार क्षेत्रमा हाल ११ बिघामा व्यवस्थित मृगस्थली छ भने अन्य जङ्गली जनावरका लागि सुरक्षित आवासीय स्थल छ । चित्तल, हरिण, बँदेल, चितुवा, भालु, अजिङ्गर, बाँदर, खयारो, विभिन्न प्रजातिका मुसा, हाँस, विभिन्न प्रजातिको चरा छन् । ती वन्यजन्तुलाई उचित आहारविहारको व्यवस्था वन समूहले गरेको छ ।

वन समूहका सचिव दीपक ओलीले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा उपलब्ध गराएको रु एक करोड ५० लाख वन्यन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको बताउनुभयो । टुरिजम बोर्डले आवश्यक सरसहयोग गरिरहेको उहाँ बताउनुहुन्छ ।

प्राकृतिक सुन्दरताले भरिएको जामुनखाडीमा कुनै समय वार्षिक दुई÷तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने स्मरण गर्नुहुँदै सचिव ओली भन्नुहुन्छ, “आर्थिक अभावले समयअनुसार हामीले पर्यटकीयस्थलको विकास गर्न सकेका छैनौँ, हामीले गरिरहेको मेहेनतमा सरकारले सहयोग गर्ने हो भने जामुनखाडीलाई पूर्वकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न कुनै समस्या छैन ।”

वन समूहकी उपाध्यक्ष रेनुका खवासले पर्यटकीयस्थललाई थप व्यवस्थित बनाउन वन समूहका सबै पदाधिकारी दिनरात खटिरहेको बताउनुभयो । “भर्खरै चिल्ड्रेन पार्क बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसले पनि पर्यटक आकर्षित भइरहेका छन् ।” एउटा–एउटा गरेर आकर्षण थपिँदै गएको उहाँ बताउनुहुन्छ ।

वन समूहकी कोषाध्यक्ष चेतकुमारी सापकोटा (रचना) ले यहाँ संरक्षित जनावरलाई दैनिक खानपान गराउनुपर्ने भएकाले आर्थिक अभाव खड्किने गरेको बताउनुभयो । पर्यटकको आगमन कम हुँदा खर्च टार्न धौधौ पर्ने उहाँको भनाइ छ । “१५ जनाभन्दा बढी कर्मचारी छन्, उनीहरुलाई तलब दिनुपर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई ढिलोचाँडो तलब दिए पनि जनावरका लागि दैनिक घाँसदेखि मासुसम्मको व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि आर्थिक अभाव हुन्छ ।”

पूर्वपश्चिम लोकमार्गदेखि करिब एक किलोमिटर उत्तरमा रहेको जामनुखाडी यातायातको सुलभ पहुँच छ । आगन्तुक पर्यटकलाई प्रवेश शुल्क रु १०० तोकिएको छ भने डुङ्गा सयर, बाल उद्यानमा रेल, गाडीलगायतका खेलका लागि छुट्टै शुल्क लाग्ने गर्दछ ।

वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ

चितवन, ८ वैशाखः यहाँस्थित डिभिजन वन कार्यालयमा १०२ मुद्दा फछ्र्योट हुन बाँकी छन् । आर्थिक वर्ष २०७६/७७ देखिका ती मुद्दा फछ्र्योट हुन बाँकी रहेका हुन् ।

आव २०७६/७७ देखि चालु आवको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फछ्र्योट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् ।

आव २०७६/७७ मा १३ , २०७७/७८ मा ३७, २०७८/७९ मा ४३ मुद्दा दर्ता भएका थिए । यस्तै २०७९/८० मा २७ , २०८०/८१ मा २९ र चालु आवको हालसम्म २० मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्दाका ९९फरार प्रतिवादी रहेको उहाँले जानकारी दिनुभयो । मुद्दामा संलग्न व्यक्तिहरुबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।

कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फछ्र्योट गर्ने विषयमा दुविधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरु गत आवबाट मात्रै फछ्र्योट हुन सुरु गरेको हो । फैजदारी संहिता आएसँगै रोकिएको फछ्र्योट गत आवमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फछ्र्योट सङ्ख्या कमी भएको हो ।

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कानुनल सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरु प्रदेश सरकारमा रहेकाले दुविधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो । उहाँले भन्नुभयो, “गत वर्ष मन्त्रालयको परिपत्र आए पछि काम सुरु गरेका हौँ ।” यसअघि डिभिजन वन कार्यालयले मुद्दाहरु अदालतमा पठाउनुपर्ने र अदालतमा मुद्दाका चाप बढी हुने भएकाले ढिला भएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले मुद्दा हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्दाको फछ्र्योट हुने क्रम बढेको उहाँको भनाइ छ ।

दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

ढोरपाटन (बागलुङ), ८ वैशाखः बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट अपहेलित भएका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन सञ्चालन नहुँदा वरपर झाडी पलाएर ढाकिएर बेवारिसेजस्तै बनेको छ ।

आश्रम निर्माणका लागि निर्माण कम्पनीले विसं २०७९ पुस ८ गते सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण कम्पनीले विसं २०८० असार २५ गते काम सम्पन्न गरेको थियो । नगरपालिकाको रु दुई करोड २६ लाख ५४९ मा निर्माण भएको सुविधायुक्त आश्रम बनेको हो । भवन एक तलाको भए पनि सुविधायुक्त रहेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले परिवारबाट तिरस्कारमा परेका वृद्धवृद्धाको संरक्षणका लागि वृद्धाश्रम निर्माणको भन्दै अहिलेसम्म कोही पनि वृद्धवृद्धा आश्रय लिन नआउँदा सञ्चालनमा नभएको बताउनुभयो । करोडौँ खर्चिएर बनाएको संरचनालाई प्रयोग नगरी छोड्नुभन्दा केही समयका लागि मानवसेवा आश्रमलाई सञ्चालन गर्न दिने कार्यपालिकाले निर्णय गरेको उहाँको भनाइ छ ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “कोही पनि बाबाआमा आश्रममा बस्नु नपरोस्, सुखद् भनौँ अहिलेसम्म हाम्रो सम्पर्कमा परिवारबाट हेलामा परे भनेर कोही पनि आउनुभएको छैन, नगरपालिकाले हेलामा परेका वृद्धवृद्धालाई संरक्षण गर्ने उद्देश्यले यो आश्रम बनाएको हो, यसलाई अब प्रयोग गर्नुपर्छ भन्ने हिसाबले मानव सेवा आश्रमलाई दिने निर्णय भएको छ ।”

वृद्धआश्रम नजिकै मानव सेवा आश्रमको भवन निर्माणाधीन छ । उक्त भवन नबन्दासम्म वृद्धआश्रम प्रयोग गर्न दिने उहाँ बताउनुहुन्छ । झाडीले ढाकिएको भवनलाई नगरपालिकाले केही समयमै व्यवस्थित बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उक्त भवनको संरक्षणका लागि घेराबार गर्ने, फोहर व्यवस्थापन लगायतका काम गर्ने उहाँले बताउनुभयो । यदि कोही वृद्धवृद्धा आश्रय लिन आए राम्रो सुविधा दिएर राख्ने श्रेष्ठले बताउनुभयो ।

निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा आश्रम निर्माण भएको छ । भवनमा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सासहित भवनमा २० कोठा रहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो । भवनमा वृद्धवृद्धाका लागि शौचालय, स्नानगृह रहेको उहाँको भनाइ छ ।

बागलुङ नगरपालिका–१ का स्थानीय बालकृष्ण आचार्यले वृद्धआश्रम सञ्चालन नहुँदा राम्रो ठूलो रकम नोक्सान भइरहेको बताउनुभयो । निर्माण सम्पन्न भएको दुई वर्षसम्म सञ्चालन नहुनु दुःखद् विषय भएको भन्दै नगरपालिकाले कुनै प्रयोजनका लागि भए पनि प्रयोग गर्नु पर्ने सुनाउनुभयो । नयाँ भवन प्रयोग नहुँदै झ्यालढोका टुट्न फुट्न लागेको उहाँको भनाइ छ ।

बलेरो आगलागीमा मृत्यु भएका र घाइतेको पहिचान खुल्यो

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा जिल्ला ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१०, का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् ।

त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य उनका छोरा १० वर्षीय भविमय आचार्य रहेका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चँुडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ८ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ७५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ९०, तोरी प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ

निगुरो प्रतिकिलो रु ७०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५५, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १३०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १७०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सोयूज ‘एमएस–२६’ अन्तरिक्ष यान सफलतापूर्वक पृथ्वीमा अवतरण

रुसी अन्तरिक्ष संस्था रोसकोसमोसका अनुसार अन्तरिक्ष केन्द्रबाट ‘सोयूज एमएस–२६’ यान आइतबार बिहान सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ।अन्तरिक्ष यान सोयूज ‘एमएस–२६’ भनेको रुसी अन्तरिक्ष संस्था रोसकोसमोसद्वारा बनाइएको एक मानवसहितको अन्तरिक्ष यान हो, जसले अन्तरिक्ष यात्रुहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लैजाने र फर्काउने काम गर्छ। ‘एमएस–२६’ भन्ने नामले यो सोयूज सिरिजको २६औँ उडान भएको जनाउँछ। यो यान सुरक्षित अवतरण, वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष केन्द्रसँग जडान (डकिङ) गर्न सक्षम हुन्छ।

यो यानले तीन जना अन्तरिक्ष यात्री रुसी यात्री एलेक्सी ओभ्चिनिन, इभान वाग्नर र अमेरिकी यात्री डोनाल्ड पेटिटलाई बोकेको थियो। यान मस्को समयअनुसार बिहान ४:२० बजे काजाखस्तानको जेजकाजगन नजिकै अवतरण भएको हो।

फर्किनुअघि यानले अन्तरिक्ष केन्द्रको रुसी भागमा रहेको रस्भ्येत खण्डबाट सुरक्षित रूपमा अलग भएको थियो। अवतरणको सम्पूर्ण प्रक्रिया योजना अनुसार सम्पन्न भएको जनाइएको छ।

तीनै यात्रीहरूले सन् २०२४ को सेप्टेम्बर महिनामा अन्तरिक्ष केन्द्रमा पुगेदेखि ४३ वटा वैज्ञानिक प्रयोग, एकपटक बाहिरी अन्तरिक्ष यात्रा र तीनवटा अन्य यानसँग जडान (डकिङ) कार्यमा सहभागिता जनाएका थिए।

यो यात्रा एलेक्सी ओभ्चिनिनका लागि तेस्रो, इभान वाग्नरका लागि दोस्रो र डोनाल्ड पेटिटका लागि चौथो अन्तरिक्ष यात्रा थियो।

शान्तिको प्रयासमा बाधाः रुस र युक्रेनबीचको युद्धविराममा आरोप–प्रत्यारोप

रुस र युक्रेनले आइतबार एकअर्कामाथि युद्धविराम उल्लङ्घन (तोडेको) गरेको आरोप लगाएका छन् । यो युद्धविराम रूसी राष्ट्रपति पुटिनले धार्मिक पर्वको अवसरमा शनिबार साँझदेखि आइतबार रातिसम्मका लागि घोषणा गर्नुभएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सेनाले युद्धविरामको समयमा पनि आक्रमण र गोलाबारी जारी राखेको बताउनुभएको छ । उहाँका अनुसार, सुरु भएको ६ घण्टामै ३८७ पटक गोलाबारी र १९ पटक आक्रमण भएको छ, साथै २९० पटक ड्रोन प्रयोग गरिएको छ ।

रूसको रक्षा मन्त्रालयले युक्रेनले डोनेत्स्क क्षेत्रमा आक्रमण गरेको र रूसी सेनाले त्यसलाई रोकिदिएको दाबी गरेको छ । मन्त्रालयले युक्रेनबाट धेरै पटक गोलाबारी र ड्रोन आक्रमण भएको बताएको छ ।

पुटिनले यो युद्धविराम ’मानवीय कारण’ले घोषणा गर्नुभएको थियो, भने जेलेन्स्कीले पनि समर्थन जनाउँदै यसलाई ३० दिनसम्म लम्ब्याउने प्रस्ताव गर्नुभएको छ । तर किभका केही बासिन्दाले रुसमाथि विश्वास गर्न नसकिने बताएका छन्। उनीहरूले शान्तिका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।

शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित

बैतडी – शिक्षकको आन्दोलनका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाले परीक्षा स्थगित गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखि हुने भनिएको आधारभूत तह कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ५ र ८) को ग्रेड वृद्धि परीक्षा यही वैशाख १२ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकामा शिक्षक महासङ्घको आन्दोलनका कारण उक्त परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।”

वैशाख १२ गतेदेखि हुने भनिएको ग्रेड वृद्धि परीक्षा अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी मर्कामा परेका छन् ।

वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ – वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा यहाँ आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।

फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।

वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रहरीको परीक्षा दिने छ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ – प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छ जना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडाँै जिल्ला अदालतबाटम्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ ।

यसैबीच काठमाडाँै प्रहरीले गत चैत १५ गते तीनकुनेमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा धादिङको सिद्धलेक गाउँपालिका–१ का ३४ वर्षीय सन्तोष सिलवाललाई पक्राउ गरेको जनाएको छ ।

न्यायपालिका सुधारका लागि जुनसुकै कदम चाल्न तयार छुः प्रधान न्यायाधीश राउत

काठमाडौँ – प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले संविधानको दायराभित्र रही न्यायपालिका सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभएको छ ।

नेपाल बार एशोसिएसनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिसँगको भेटका क्रममा उहाँले न्यायिक सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभएको हो ।

“बारको जायज माग र गुनासा सम्बोधन गर्न म सदैव तत्पर छु,” प्रधानन्यायाधीश राउतले भन्नुभयो, “आगामी दिनमा बार बेञ्च समन्वय समितिमार्फत आएका समस्या आपसी सहमतिमा समाधान हुन्छ, न्यायपालिका सुधारका लागि म तयार छु ।”

भेटमा बारका नवनिर्वाचित अध्यक्ष बरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको नेतृत्वमा कार्यसमितिका पदाधिकारी उपस्थित थिए । भेटपछि बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा भएको संशोधन तत्काल खारेजी, संशोधित नियमावली खारेजी पश्चात् मात्र न्यायाधीशको नियुक्ति गर्नुपर्ने, बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अपहेलना मुद्दाको शीघ्र सुनुवाई गर्नुपर्ने, वरिष्ठ अधिवक्ताले अनिवार्यरूपमा इजलास समक्ष सहयोगी अधिवक्ता लिई उपस्थित हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको उल्लेख छ ।

पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी छ: अध्यक्ष दाहाल

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ ले पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी रहेको बताउनुभएको छ ।

माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनको यहाँ उद्घाटन गर्दै उहाँले एकताबद्ध भएर लागेकै कारण यस क्षेत्रमा भएको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादीको १८ महिने शासनकालमा भ्रष्टाचारविरुद्धको अभियानले पार्टीप्रति ठूलो आशा जगाएको भन्दै पार्टीको सङ्कल्पअनुसार जनताले देख्ने, बुझ्ने गरी सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीले सञ्चालन गरेको हुलाकी सडक अभियानमा जनताको ठूलो उत्साह, सहभागिता र लहर आएकाले यसलाई सङ्गठनमा रूपान्तरण गरी आगामी निर्वाचनमा विजय हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले विराटनगरको चक्रपथ सम्पन्न गर्न, सुकुम्वासी समस्या समाधान, अन्तरराष्ट्रिय क्रिकेट खेलमैदान र पर्यटन विकासमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर अध्यक्ष नवीन पौडेल, पूर्वमन्त्री अमनलाल मोदी, पार्टीका कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेल, केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्क नेम्वाङलगायतले सम्बोधन गर्नुभएको थियो ।

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ, ८ वैशाखः यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।

धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।

थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिनुभयो । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वर्द्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ ।

सेकुङ तालसम्म जोड्ने गरी बेनी–जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । सङ्घीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नति गर्न सकेको छैन ।

थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुङ्गा राखेर पैदल बाटो निर्माण गरेको थियो । वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो ।

सेकुङ तालमा निलगिरि हिमालको प्रतिबिम्व देख्न सकिन्छ । सेकुङ ताल पर्यटकीय मात्रै नभएर धार्मिक रुपमा पनि महत्त्वपूर्ण रहेको सो वडाका वडाध्यक्ष गौतम शेरचनको भनाइ छ । तालमा सदिँयौँदेखि स्थानीयले प्रकृति पूजा गर्दै आइरहेका छन् । बर्सेनि सेकुङ तालमा हिमपहिरोको जोखिम हुने, बाढी पहिरो र सुख्खा खडेरी हुँदा सेकुङ तालमा धार्मिक पूजा गर्ने प्रचलन विद्यमान रहेको वडाध्यक्ष शेरचनले बताउनुभयो ।

यस ताल क्षेत्र वन्यजन्तु र विभिन्न पक्षीको क्रिडास्थल पनि हो । यहाँ हिउँचितुवा, चितुवा, मृग, कस्तुरी, घोरल, थार, स्याल, बनबिरालो घोरललगायतका वन्यजन्तुको बासस्थान छ । ताल आसपासमा डाँफे, मुनाल, कस्तुरी, कालिज, च्याखुरा र ठिकुरीलगायतका चराचुरुङ्गी पाइन्छन् ।घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिह लालचनले सेकुङ ताल पर्यटकीय तथा प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिनुभयो । यसको सरक्षण, सम्वर्द्धन र प्रचार÷प्रसारमा ध्यान दिनसकेमा पर्यटकको सङ्ख्या वृद्धि हुने बताउनुभयो ।

भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ हुने

भक्तपुर, ८ वैशाखः गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ । आइतबार भक्तपुरमा भक्तपुर साङ्गीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार सम्मेलननमा यसबारे जानकारी दिँदै समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी गीत सङ्गीत एकल साँझमा गुञ्जने बताउनुभयो ।

एक हजार दर्शक सहभागी हुने कार्यक्रममा श्रेष्ठले १६ वटा गीत प्रस्तुत गर्ने र भक्तपुर साङ्गीतिक समाजको तर्फबाट अन्य गायक गायिकाको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रममा भक्तपुरका मौलिक साँस्कृतिक पहिचान झल्किने सामग्री, विभिन्न उत्पादन एवं परिकारका स्टलसमेत राखिने अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वरिष्ठ गायक श्रेष्ठले सङ्गीतमा आधुनिकीकरण बढिरहेकाले आधुनिक गीत सङ्गीतको संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ गीतकार सुभासचन्द्र ढुङ्गेलले भक्तपुरमा पछिल्ला केही वर्षयता हुनथालेका आधुनिक गीत सङ्गीतको एकल गायन साँझ र यहाँका युवा पुस्ताले सुरु गरेको गीत सङ्गीतको अभियानले नयाँ ऊर्जा थपिएको बताउनुभयो ।

कार्यक्रमका संयोजक एवं समाजका सदस्य रोशन धौभडेलले संस्थाले यसअघि पनि अरुण थापा स्मृति साँझ, नारायणगोपाल स्मृति साँझ, दीपक खरेल साँझ, भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरिसकेको उल्लेख गर्नुभयो ।

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी

कर्णाली, ८ वैशाखः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिइएको प्रतिष्ठानले जनाएको ।

प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो । यसअघि प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो ।

हिमाली याकचौँरीपालन सङ्कटमा

मुस्ताङ, ८ वैशाखः यहाँको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ ।

उहाँको करिव ७० वटा याकचौँरी छन् । पूख्र्यौली पेशा अङ्गाल्दै आउनुभएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताउनुभयो । सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । “सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।”

जिल्लाका पाँच वटै स्थानीय तहमा करिब चार हजार ७०० बढी सङ्ख्यामा याकचौँरी छन् । याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौँरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखा अन्तर्गत थासाङ–२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति छ ।

थकाली जस्तै थासाङ–२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७०० बढी सङ्ख्यामा याक नाक पालन गर्दै आइरहेका छन् । पूख्र्यौली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेका छन् ।

थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचाँैरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचाँैरी पालक गौतम शेरचनले जानकारी दिनुभयो । याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक रु दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ ।

पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन सङ्कटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ ।

हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपद्ले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो ।

हिमालयन याक नाक उपसमितिका याकचौँरीपालक किसानले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदिँयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्वन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ ।

एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु ३०० को दरमा बिक्री वितरण गरिन्छ ।

मनाङमा वर्षौँपछि सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ, ८ वैशाखः हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गर्नुभयो । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमा बस सेवा सञ्चालन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । यो हाम्रो उपलब्धी हो । हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो ।”

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा अग्रजले सडक निर्माणमा चासो दिएकाले बसमा यात्रा गर्ने सपना पुरा भएको छ । हालका लागि कच्ची सडकमा भए पनि बस सेवा प्रारम्भ गरेका छौँ । बिस्तारै कालोपत्र सडक बन्ने अपेक्षा छ ।”

नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भन्नुभयो, “चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन पाइँदैन कि भन्ने त्रास हटेको छ ।”

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताउनुभयो ।

गत चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । “बेसीसहर–चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि आजबाट बेसीसहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको हो,” उहाँले भन्नुभयो ।

प्रजिअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना७ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन् । अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ आइतबारदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिनुभयो ।

मनाङमा निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत्का सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेसीसहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप स्थानीय प्रशासनले डुम्रे–बेसीसहर–चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपश्चात बस सञ्चालनमा ल्याइएको हो ।

पन्ध्र वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमोजस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेसीसहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । सोे रुटको भाडादर रु ७४० कायम गरिएको छ ।

यस सडक अन्तर्गत बेसीसहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी, ८ वैशाखः यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।

विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाउनुभएको थियो । पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटकमात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् ।

हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उहाँले बताउनुभयो ।

उक्त गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा बाँदर एकाएक पहरा (चट्टान)को बीचमा रहेको सानो प्वालबाट भित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लगाउनुभएको स्थानीय युवराज भण्डारीले बताउनुभयो ।

गुफाको मुख्य प्रवेशद्वारबाट भित्र भित्तामा देखिने विभिन्न आकृतिले जो केहिको पनि ध्यान केन्द्रित गर्ने गरेको छ । गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्मा मात्र भित्र पस्न सक्छन भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तिको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ ।

जो मानिस त्यहाँभित्र छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछ । गुफा क्षेत्रको विकासका लागि हालसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोड बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताउनुभयो । सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग दुवै रहेको छ ।

शर्मा प्रतिष्ठानको निमित्त उपकूलपति

काठमाडौँ, ८ वैशाखः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।

नयाँ उपकुलपति सिफारिश भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राडा अन्जु प्रधानले जानकारी दिनुभयो ।

शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्नु भएको थियो । डा ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७२ पैसा कायम गरिएको जनाएको छ ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १५ पैसा र बिक्रीदर १४ रूपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०५ पैसा रहेको छ । केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षीय मीनबहादुरको मृत्यु

मलेखु (धादिङ), ७ वैशाख- धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो ।

मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिनुभयो । मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उहाँले बताउनुभयो ।

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन, ७ वैशाख : रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ ।

बुटवलमा खाजा घर सञ्चालन गर्दैआएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो । उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न प्रा डा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पु¥याएको छ । गोली शरीरभित्रै रहेको उहाँले बताउनुभयो ।

डा आचार्यले भन्नुभयो, “चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्याेल हुन्छ ।” बिरामीको अवस्था स्थिर रहेको उहाँले जानकारी दिनुभयो ।

सिरहा नगरपालिकामा माघदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

गोलबजार (सिरहा), ७ वैशाख : सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । सिरहा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।

सिरहा नगरपालिकाको तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको छ । केही योजनाको सम्झौता हुन बाँकी छ । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित छन् ।

सिरहा नगरपालिकामा कार्यरत कर्मचारीले गत चैतमा जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त पदमा सिघ्र पदस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । नगरप्रमुख डा नवीन यादवले पटकपटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित तथा मौखिक जानकारी गराए पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कार्यालयको कामकाज ठप्प भएको बताउनुभयो । मन्त्रालयले कर्मचारी पठाएर सेवा सञ्चालन गरी समन्वय गरिदिनुपर्ने वा अहिलेकै अधिकृतलाई नै पदस्थापन गरी काम गर्न अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।

आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको र अगामी आर्थिक वर्षको बजेटको तयारी गर्ने समय भइसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक, प्रशासनिक काम तथा विकास निर्माणको सबै काम ठप्प भएका नगरप्रमुख यादवले बताउनुभयो ।

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

राजविराज (सप्तरी), ७ वैशाख : मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएको छ ।

सप्तरीको राजविराजस्थित खेल मैदानमा भएको पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराइजबीच भएको खेलमा जनकपुरले दुहबीलाई एक सय ९८ रनले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा बलान बिहुलले काठमाडाँै रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।

पहिलो खेलमा टस जितेर दुहबीले जनकपुरलाई ब्याटिङ गर्न निम्तो दिएकामा जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर दई सय ३५ रनको योेगफल बनायो । यस टोलीका विशाल सुश्लिंगले  विष्फोटक ब्याटिङ गर्दै ८० रन जोडे । यसैगरी अर्का ब्याटर मयन यादवले ६६, विशाल पटेलले ४७ र आदिल खानले २५ रन बनाए । 

बलिङतर्फ साजनकुमार दासले ३ विकेट, नवीन यादव र आयुष रौनियार १/१ विकेट लिए । जवाफमा दुई सय ३६ रनको लक्ष्य लिएका दुहबीले ७ ओभर ४ बलमा ३७ रन मात्र बनाउन सक्यो । दुहबीका नवीन यादव र मोहम्मद सोहिल १५/१५ रनबाहेक ७ जना ब्याटरले खाता खोल्न सकेनन् ।

दुहबीलाई सस्तोमा आउट गर्न विपीन खत्रीले किफायती बलिङ गर्दै ४ विकेट, प्रदीप पासवान तीन, विशाल पटेलले २ तथा तुलबहादुर मगरले १ विकेट लिए । प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घोषित भएको छ ।

यसैगरी आजै काठमाडाँै रोयल्स र बलान बिहुल सुपर किंगबीच भएको खेलमा टस जितेर काठमाडाँैले ब्याटिङ गर्दै १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ६५ रन बनायो । जसमा मिलन बोहराले ११ र रूपेश सिंहले १० रनबाहेक अरु कुनै खेलाडीहरूले दोहोेरो अङ्क पार गर्न सकेनन् ।

बलिङतर्फ भुवन कार्की र अरनिकोप्रसाद यादवले उत्कृष्ट बलिङ गर्दै सामान्य ४÷४ विकेट हात पारेभने राशिद खान र विवेक यादवले १÷१ विकेट लिए । जवाफमा बलान बिहुल ७ ओभर ३ बलमा ४ विकेट गुमाएर विजयी भयो । जसमा ईमरान शेखले अविजित ३२ रन, लोकेश बमले १२ र विकास दासले ७ रन बनाए । बलिङतर्फ काठमाडाँैका नरेन साउदले ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भए ।