`

अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ :प्रधानमन्त्री ओली

काठमाडौँ, ७ वैशाख (रासस) : गोन्द्राङ–पुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ । यस अवसरमा यो कार्यमा सहयोग र सहयोगी हात अगाडि बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छु । यसमा योगदान गर्ने झन योगदानका पात्र हुँदै हुनुहुन्छ ।

वास्तवमा यो पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्ट्याण्डरमा विकास गर्नु थियो र यसलाई यसै ठाउँबाट मैले सुरु गर्न किन चाहे भने बुुटवल–भैरहवा पनि यहाँबाट नजिकै पर्छ, हेटौँडा–वीरगञ्ज पनि नजिकै पर्छ, काठमाडौँ जाँदा सेन्टर नै पर्छ, पोखरा जाँदा सेन्टर पर्छ । यो सबै ठाउँको सेन्टर छ । विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षा, स्वास्थ्यका हिसाबले र अनेक हिसाबले यो केन्द्रको रुपमा छ । यसलाई तदअनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसअन्तर्गत नै यस ठाउँबाट सुरु गर्नुपर्छ भनेर नै सडक विकासको काम एसियाली मापदण्डमा निर्माणको काम यहीँबाट थालिएको थियो ।

यहाँहरु सबैलाई थाहा छ, सोच कसैले बनाउनुपर्छ । त्यस सोचलाई अगाडि बढाउन सबैको साथ चाहिन्छ । सबैको तत्परता चाहिन्छ, सबैको योगदान चाहिन्छ । जजसले जहाँबाट योगदान पु¥याउन सकिन्छ, सबैको योगदान चाहिन्छ । त्यसैकारण अघि मैले भनेको हुँ, यसमा योगदान गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ ।

देश अनेक उचार चढावहरुबाट अगाडि बढ्दै आएको छ । यद्यपि २०४७ सालभन्दा पछि हामी यत्ति अल्झिनुु र अल्मलिनुु हुँदैनथ्यो होला । योभन्दा अलिक लोकतान्त्रिक मूल्य मान्यताअनुसार सुशासनको काम र देशलाई विकासको मार्गमा तीव्रताका साथ अगाडि बढाउने काममा हामी विना अलमल तीव्र गतिमा लाग्नुु पर्दथ्यो होला । आफ्नो ठाउँमा आआफ्नो भूमिकामा रहेर भूमिका पूरा गर्नु पर्दथ्यो । केही कमीहरु रहेका छन् । अलिक ढिला भएको छ तर विकासले गति लिएको छैन भन्ने कुरा होइन । हामीले सडकमा काफी उन्नति गरेका छौँ ।

यसभन्दा अघिल्लो मेरो प्रधानमन्त्रीत्वकालमा मैले देश विकासमा पूर्वाधारमा जोड दिनुपर्दछ, आधारभूत रुपमा पूर्वाधार तयार भएपछि अरु विकासलाई त्यस पूर्वाधारमा, त्यस जगमा टेकेर अगाडि बढ्न सकिन्छ भनेर कामहरु अगाडि बढाएको थिए । त्यसमा पनि कनेक्टिभिटी, विद्युत् जस्ता कुराहरु आवश्यक छ । कनेक्टिभिटीमा बाटा, पुलहरु, हवाइ यातायात त पर्ने नै भयो, गर्मी ठाउँबाट चिसो ठाउँमा फुत्त गएर आराम गर्नुप¥यो भने केवलकार चाहियो, एकैछिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन ।

सञ्चारको राम्रो प्रबन्ध हुनुप¥यो, सञ्चारको विकास हुनुप¥यो । त्यसकारण ७७ वटै जिल्लामा अप्टिकल फाइबर ओछ्याएर इन्टरनेट पुु¥याउने कार्यहरु तीव्रताका साथ गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ । त्यो पूरा भएको छ । आज इन्टरनेट सेवा केही दुर्गम ठाउँहरुमा पुग्दैन तर आमरुपमा भन्ने हो भने इन्टरनेट सेवा पुुगेको छ । जहाँ पुुग्दैन, जहाँ पुुगेको छैन र जहाँ अत्यावश्यक छ, जस्तै अस्पताल, विद्यालय त्यहाँ दूरसञ्चार कर्पोरेशनबाट हामी बन्दोवस्त गर्न सक्छौँ । त्यसै गरेर अरु विभिन्न पूर्वाधारका क्षेत्रहरुका साथै यस बीचमा विद्युत् उत्पादनमा असाधारण र उल्लेख्य प्रगति भएको छ ।

खेलकुदका क्षेत्रमा जम्मा एउटा दशरथ रङ्गशाला थियो । त्यो पनि २०७२ सालको भूकम्पले भत्काएपछि देश रङ्गशालाविहीन थियो । अहिले देशका विभिन्न ठाउँमा विभिन्न रङ्गशालाहरु निर्माण भइरहेका छन् । दशरथ रङ्गशाला निर्माण भएको छ, पोखरा रङ्गशाला निर्माण भएको छ, सुर्खेत रङ्गशाला निर्माण भएको छ । अरु पनि रङ्गशालाहरु निर्माण भएका छन् र काम अगाडि बढिरहेको छ । एकैचोटी हामीले यति धेरै कामहरु गरिरहेका छौँ । हामीले विकासको गतिलाई अगाडि बढाएका छौँ ।

खानेपानीको क्षेत्रमा भन्ने हो भने आश्चर्यचकित भइन्छ । अहिले विश्व बंैकले तथ्याङ्कहरु निकालेको छ । जो हामी आफैँ आश्चर्य लाग्ने खालका तथ्याङ्कहरु छन् । यस बीचमा अलिकति गति अवरुद्ध भएको थियो । त्यसका पछाडि केही राजनीतिक कारणहरु थिए । तर ती कुराहरुलाई पनि हामीले सल्टाएका छौँ र विकासको गतिलाई अब तीव्रता दिएका छौँ ।

विकासका लागि स्थिरता र स्थायित्व चाहिन्छ, अहिले देशका प्रमुख दुुई पार्टीहरु मिलेर स्थायित्व र स्थिरता दिने संकल्प र अठोटका साथ अघि बढिएको छ । स्थिरताका साथ देश विकासको कामलाई तीव्रता दिइएको छ । अहिले सुशासन र देश विकासको कामलाई अगाडि बढाइएको छ ।

अहिले एउटा मान्यता स्थापित भएको छ, जोसुकै होस्, कानुन तोड्छ, देशमा विध्वंस मच्चाउन खोज्छ, देशमा संविधान विपरीतका क्रियाकलाप गर्छ वा खासगरी अपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन । त्यस कुरालाई वर्तमान सरकारले कोही पनि कानुुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको छ । शान्ति सुुव्यवस्था, भ्रष्टाचार नियन्त्रणका यी कामहरु दृढताका साथ गरिने छन् । सुशासनको प्रत्याभूति गर्दै जनतालाई राम्ररी सेवा सुविधाहरु यथाशक्य क्षमताअनुसार उपलब्ध गराउँदै जाने, त्यसका निम्ति पूर्वाधार र अन्य मानव संशाधनको पक्षसमेत विकास गर्दै जाने, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकास गर्दै अगाडि बढ्ने नीतिका साथ हामी अगाडि गइरहेका छौँ । त्यसैको फलस्वरुप अघि भर्खर मैले कुरिनटारमा इच्छाकामना गाउँपालिका भवनको उद्घाटन गरेर आएँ । यहाँ बाटो शिलान्यास भएको होइन, निर्माण कार्य सम्पन्न भएको हो । शिलान्यास त भयो, बन्ला कि नबन्ला भन्ने कुरा होइन, बनिसकेपछिको यो उद्घाटन हो । त्यसकारण काम हुन्छ, हँुँदैछ, काम भइरहेको छ र हुनेछ भन्ने कुराको एउटा दृष्टान्त हो ।

एक ठाउँमा मात्रै होइन, देशभरि पूर्व–पश्चिमका आठ खण्डमा यसलाई विभाजन गरेर यसको स्तरोन्नति हुँदैछ । मध्यपहाडी राजमार्ग निर्माण कार्य तीव्रताका साथ हुँदैछ । मदन भण्डारी राजमार्ग केही केही कारणहरु, जस्तै पहिलेकै बाटोसँग जोडेर लैजानुपर्ने अवस्था छ, केही वनका र निकुञ्ज, आरक्षजस्ता कारणले केही केही ठाउँमा अझै ती समस्याको समाधान गरेर निर्माण गर्नुपर्नेछ । नत्र भने काम लगभग सम्पन्न भएका छन् । हुलाकी राजमार्ग मैले भनिरहनुुपरेन । अलिकति आरक्षले गर्दा ठोरीदेखि यता रोकिएको छ । चितवनको खासगरी तीन नम्बर क्षेत्र माडी र पश्चिमको क्षेत्रलाई जोड्ने ठाउँमा बाटो छुटेको छ । नारायणीमा थप पुलको विकास गर्नुपर्नेछ । नारायणीको तटबन्धलाई सम्पूर्ण रुपमा निकट भविष्यमा सुदृढ ढङ्गले सम्पन्न गर्नुपर्दछ । यी कुराहरुतर्फ सरकारको ध्यान गएको छ ।

यो जिल्ला बहुतै ऐतिहासिक जिल्ला छ । यहाँको इतिहास अहिलेको मात्रै होइन, यस ठाउँको इतिहास त्रेतायुुगदेखिको छ । रामजन्मदेखिको इतिहास छ । त्यहाँदेखिको लामो इतिहास छ । यो भूूभाग हाम्रो वास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो । जनकपुरजस्ता, चतराजस्ता ठाउँहरु वा अरु विभिन्न ठाउँहरु, त्यसपछि द्वापरयुुगमा विभिन्न दार्शनिकहरुको यहाँ जन्म भएको थियो । तीन हजार वर्षभन्दा यताका मात्रै कुरा गर्ने हो भने स्वास्थ्य विज्ञान, त्यसको पुरानो इतिहास छ । त्यसलाई हामीले विकास गर्न सकिराखेका थिएनौँ । अहिले हामी ध्यान दिइरहेका छौँ । त्यस क्षेत्रमा पनि आयुर्वेद र परम्परागत उपचार पद्धति, हाम्रा जडिबुुटीहरुको विकास गरेर हामी लिएर जाँदैछौँ । यहाँ क्यान्सर अस्पताल, शिक्षण अस्पताल र अरु विभिन्न अस्पताल बनेका छन् । त्यसबाट विद्यार्थीहरु उत्पादन भइरहेका छन् । अब धेरै नयाँ नयाँ कुराहरु यहाँका अस्पतालहरुले गर्दै छन् भन्ने कुरा मैले थाहा पाएको छु । तसर्थ, यस ठाउँलाई हामीले त्यसैगरी एउटा फराकिलो पन र फराकिलो मनका साथ यसलाई विकास गर्नुपर्छ ।

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको व्यक्ति हुँ । जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छुु । तर, अहिले चुनाव लागेको पनि छैन, चुनाव प्रचार गर्नु परेको पनि छैन । त्यतापट्टि गइहाल्नुुपर्ने आवश्यकता पनि छैन । म सबैलाई आग्रह गर्न चाहन्छु, सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, हामीले विकासमा ध्यान दिऊँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मदभेदमा होइन, एकतामा जोड दिउँ । विचारमा र अरु कुरामा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ । देशको विकास गर्नुपर्छ, सबैले विकास गर्नुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । अरुले आएर हाम्रो देश बनाउँदैन, कसैले बनाइ दिँदैन । जे सहयोग व्यक्तिहरु वा देशहरुले गर्ने गरेका थिए, अहिले विभिन्न सहयोग धरापमा पर्ने गरेको हामीले देखेका छौँ । अरुको भर पर्दा के हुँदो रहेछ, कति वटा देशले अरुका बलमा लड्ने लडाइँ, अरुका बलमा गरिने विकास यी सबै कुरा पनि हामीले देखेका छौँ, काम लाग्दैन । आफ्नो बलमा, आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर अगाडि बढेर हामीले विकास गर्नुपर्छ । त्यसरी मात्रै हामीले हाम्रो देशलाई सुदृढ गर्न सक्छौँ, एकताबद्ध गर्न सक्छौँ, हाम्रो राष्ट्रियतालाई मजबुुत पार्न सक्छौँ, हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ, हाम्रो डेमोक्रेसीलाई मजबुत पार्न सक्छौँ । त्यसकारण डेमोक्रेसीलाई मजबुत पार्ने, राष्ट्रियता बलियो बनाउने, सुशासन र विकासको गतिलाई अगाडि बढाउने कुरामा एकजुटताका साथ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु ।

अहिले एसियन स्ट्याण्डरको भनेर हामीले झण्डै सात (६.०८) किलोमिटर एसियन स्ट्याण्डरमा एउटा बाटो पहिलो बनाएका छौं । यो हाइवे पूर्वदेखि पश्चिमसम्म (काकडभिट्टादेखि गड्डाचौकीसम्म) यो स्ट्याण्डरको बाटो हुनुुपर्दछ । एउटा कुरा के भन्दा यत्तिकै फराकिलो, यत्तिकै सुविधा सम्पन्न ग्रामीण क्षेत्रमा पनि बनाउनुुपर्ने अथवा खाली क्षेत्रमा बनाउनुुपर्ने वा जङ्गल क्षेत्रमा बनाउनुुपर्ने भन्ने हुँदैन । यो सहरी क्षेत्रमा भएको हुनाले एउटा नमूना हो । यो भन्दा अलिक साँघुराले पनि एसियन स्ट्याण्डर हुन्छ । त्यसकारण हामीले सहरी क्षेत्रमा चौडा बाटाहरु बनाएका छौँ, हाइवेलाई र अरु बाटाहरुलाई पनि ताकी सहरका सवारीका चापहरुदेखि लिएर सबै कुरालाई ध्यानमा राखेर । जेहोस् यसलाई हामी चौडा गर्दैछौँ, अघि पनि मैले भनेँ आठ खण्डमा हामीले निर्माण कार्य अगाडि बढाएका छौँ, सबै ठाउँलाई एसियन स्ट्याण्डरमा बनाउने भनेर । यसमा आठ लेनभन्दा ठूलो छ, फुटपाथ पनि चौडा छ । यस्ता बाटाहरु सहरी क्षेत्रमा निर्माण गर्दै जानुपर्छ ।

मुख्यमन्त्रीजीले भन्नुुभयो बनाउँदै फेरि भत्काउँदै, भत्काउँदै बनाउँदै, एउटा नाममा भत्काउने त्यसो नगरौँ । कुनै चिजको निर्माण सम्पूर्ण रुपमा एकैचोटी गरौँ । ढलको निर्माण, खानेपानी पाइपलाइनको विस्तार, बिजुली वा टेलिफोनको छ भने बाटो निर्माण हुनुुभन्दा अगाडि गर्नुपर्छ । यति स्ट्याण्डरको बाटो बनाएपछि फेरि गैती लिएर बीचमा टङ्¥याङ टङ्¥याङ खन्ने खालका कामहरु बीचमा गर्नुहुँदैन । त्यसका लागि पहिले नै समग्र डिजाइन गर्नुपर्छ । डिजाइनिङभित्र सर्भिस लेनहरु, अरु सबै कुराको हामीले प्रबन्धहरु गरेका छौँ । त्यसरी नै अगाडि बढाउनुुपर्छ । यो स्ट्याण्डरमा सडक बनेको छ, म खुसी व्यक्त गर्न चाहन्छुु ।

देश नै विकासको बाटोमा अगाडि बढ्दै छ । यहाँका जनताहरुलाई यो सुुविधा उपलब्ध भएको छ, म बधाई भन्न चाहन्छुु । यहाँका सबै जनताले साथ र सहयोग दिनुुभएको छ । म महानगरपालिका र अन्य पालिकाहरुलाई धन्यवाद दिन चाहन्छुु । यहाँका नागरिकहरु कतिले आपूm बसोबास गरिरहेको ठाउँ छोड्नुुपरेको होला । विसं २०२२ मा यसको निर्माण गर्ने कार्यको सुुरुवात भयो भनौँ अथवा लगभग परिकल्पनाको स्थितिबाट अगाडि बढ्न थाल्यो । त्यसबेलादेखि बसिरहेका ठाउँहरु हुनसक्छन् । ती छोड्नुुपरेको होला । जेसुकै भए पनि आफ्नो घर भत्किँदा व्यक्तिलाई रमाइलो लाग्दैन तर देशको विकासका लागि त्यस्तो कामहरु गर्नुपर्ने हुन्छ । त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ । वैकल्पिक व्यवस्था पहिला नगरिएको भए पनि आजको समयमा र जनताका पीरमर्काप्रति हामी अत्यन्त संवेदनशील छौँ । त्यसकारण जनतालाई परेका पीरमर्काहरुको वैकल्पिक व्यवस्था गरेर नै अगाडि बढेका छौँ र त्यसै गरी अगाडि बढ्छौँ । म यस सफलताका लागि खुुसी व्यक्त गर्दै बधाइ र शुुभकामना भन्न चाहन्छुु । नयाँ वर्ष पनि भर्खरै प्रारम्भ भएको छ । नयाँ वर्ष अझै ३६० दिन चोखै बाँकी छन् । सबैका निम्ति सुखमय, सफलताका र सुुस्वास्थ्यका दिनहरु रहुुन् । धेरै धेरै शुुभकामना छ ।

(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ वैशाख ५ गते पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गर्नुभएको सम्बोधनका आधारमा उहाँको स्वकीय सचिवालयबाट तयार गरिएको)

हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक

काठमाडौँ, ७ वैशाखः दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व एक दशमलव ५६ रहेको अनुमान गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तगर्तको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा विश्व वन्यजन्तु कोष नेपाललगायत संस्थाको सहयोगमा मूल्याङ्कन गरिएको थियो । वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा आज यहाँ अयोजित कार्यक्रममा सार्वजनिक गरिएको सङ्ख्याले नेपालभरि हिउँ चितुवा र तिनीहरूको बासस्थानको स्थितिबारे महत्वपूर्ण जानकारी प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले यो राष्ट्रिय अनुमान नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गर्नुभयो । “यसले हिउँ चितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र प्रदान गर्दैन, भविष्यका संरक्षण रणनीतिहरूलाई पनि सूचित गर्दछ । यो प्रजातिको संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता अटल छ, र हामी यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न स्थानीय समुदाय र विश्वव्यापी साझेदारहरूसँग निकट सहकार्य जारी राख्नेछौँ”, उहाँले भन्नुभयो ।

यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताहरूद्वारा नेतृत्व गरिएका व्यक्तिगत अध्ययनहरूबाट, क्यामेरा ट्र्याप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँ चितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको थियो । यस मूल्याङ्कनले उपलब्धिले हिउँ चितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।


मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए ।

यसैगरी, भूसंरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले नेपालमा हिउँ चितुवाको वासस्थानको एक महत्वपूर्ण हिस्सा संरक्षित क्षेत्रहरू बाहिर रहेको बताउँदै यी भू–परिदृश्यहरू लक्षित संरक्षणका उपायहरूको आवश्यकता औँल्याउनुभयो । “यसका लागि समुदायमा आधारित पहलहरूलाई सुदृढ पार्नु, वासस्थानको निरन्तरता र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका रणनीतिहरू हिउँ चितुवाको सम्पूर्ण क्षेत्रमा दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले विश्व वन्यजन्तु नेटवर्कमा हिउँ चितुवाको राष्ट्रिय जनसङ्ख्याको आधाररेखा स्थापित गर्ने प्रयासलाई सहयोग गर्न पाएकामा गर्व महसुस भएको उल्लेख गर्नुभयो । “यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्नेछ, जसले हामीलाई सबैभन्दा बढी हस्तक्षेप आवश्यक पर्ने क्षेत्रहरूलाई प्राथमिकता दिन सुनिश्चित गर्नेछ”, उहाँले भन्नुभयो, “सरकारी निकायहरू, संरक्षण संस्थाहरू र स्थानीय समुदायबीचको सहकार्य हालसम्मको हाम्रो सफलता र जलवायु परिवर्तन तथा तीव्र पूर्वाधार विकासको सामनामा र यस प्रजातिको भविष्यका लागि पनि महत्त्वपूर्ण छ ।”

मूल्याङ्कनका निष्कर्षहरूले हिउँ चितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेका छन् । यस्तै, दिगो संरक्षण रणनीतिहरूले सामुदायिक सहभागिता र द्वन्द्व न्यूनीकरणका उपायहरूलाई एकीकृत गर्नुपर्ने औँल्याइएको छ । नतिजाहरूले संरक्षित क्षेत्रहरू बाहिरका हिउँ चितुवाको बासस्थान व्यवस्थापनको महत्वमा पनि जोड दिएका छन् ।

एसियाका १२  मुलुकमा पाइने हिउँ चितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को  एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँ चितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् ।

यस पहलले हिउँ चितुवा संरक्षणमा नेपालको विश्वव्यापी नेतृत्वलाई रेखाङ्कित गर्दै यस प्रजातिको भविष्य सुरक्षित गर्न वैज्ञानिक अनुसन्धान, समुदायमा आधारित संरक्षण र सीमापार सहकार्यमा निरन्तर लगानीको महत्वलाई प्रकाश पारेको छ ।

बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान

काठमाडौँ, ७ वैशाखः उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्नुहुने दाता महानुभावहरूलाई आज यहाँ सम्मानपत्र प्रदान गर्नुभयो ।

विसं २०६८ तिर निर्माण प्रारम्भ गरिएको यस महाविहारको निर्माण स्वदेशभित्रबाटै स्रोत जुटाएर सम्पन्न गरिएको हो । यस महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चार करोडभन्दा बढी रकम आर्थिक सहयोग प्रदान गरेको थियो । 

सो अवसरमा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले नेपालीहरूकै अग्रसरतामा स्वदेशकै स्रोत साधन जुटाएर लुम्बिनीमा बज्रयान महाविहार निर्माण सम्पन्न भएबाट कुशल नेतृत्व भए लक्ष्य प्राप्तिसँगै जनविश्वास प्राप्त हुन्छ तथ्य स्थापित हुनपुगेको छ भन्नुभयो । 

महाविहार निर्माणमा सहयोग पु¥याए झैँ विकास निर्माणका गतिविधि तथा स्थिरताका लागि पनि हातेमालो गर्न नेपाली समाजका प्रबुद्ध वर्गसँग उहाँले आह्वान गर्नुभयो ।

महाविहारका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले आफ्नै स्रोतबाट सफलतापूर्वक महाविहारमा निर्माण गर्न वस्तुगत तथा नगद सहयोग गर्ने उदार हृदयका दाताहरूप्रति कृतज्ञता प्रकट गर्दै नेता गणले पनि राजनीतिक विचारधारालाई भन्दा समाज र राष्ट्र हितलाई प्राथमिकता राख्न आग्रह गर्नुभयो । 

समाजसेवी तथा पर्यटन व्यवसायी कर्ण शाक्यले नेपाली जनता सुसंस्कृत तथा मनकारी भएको र यसै कारण पनि विश्वमाझ चिनिएको हो भन्नुभयो । ं    

उक्त कार्यक्रममा महाविहारमा स्थापना गर्न बुद्ध तथा अन्य देवीदेवताका मूर्ति, चैत्य, कलात्मक झ्याल, तोरण, सुनौलो गजुर, बज्रधातु मण्डल, सिंहका प्रस्तर मूर्तिलगायत विभिन्न कलात्मक सामानहरु तथा नगद दान गर्ने दाता महानुभावहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।  

आयोजनाको पुनः प्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न आयोगको सुझाव

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ ।

अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार योजना आयोगले आगामी आर्थिक वर्षको प्रस्तावित बजेट तथा कार्यक्रममाथि सम्बन्धित मन्त्रालय, निकाय तथा आयोगसँग नीतिगत एवं कार्यक्रमगत छलफल गरी सोको प्रतिवेदन अर्थमन्त्री समक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस भएको हो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारहरु भइरहेका र त्यसको परिणाम स्वरुप पछिल्ला दिनमा अर्थतन्त्रका समस्त सूचकहरु सकारात्मक बन्दै गएका बताए । उनले अर्थतन्त्रमा सुधार आइरहेको र आगामी आर्थिक वर्षको बजेट सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने दाबी गरे ।

आयोगका उपाध्यक्ष प्रा डा अधिकारीले आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्देश्यले मन्त्रालय, निकाय र आयोगसँग व्यापक परामर्श र छलफल गरी प्रतिवेदन तयार पारिएको बताए ।

प्रतिवेदनमार्फत आयोगले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने सुझाव दिएको छ । मन्त्रालय तथा निकायहरूले विगत आर्थिक वर्षहरूमा सिर्जित दायित्व तथा आगामी वर्षहरूका लागि आवश्यक पर्ने अनिवार्य दायित्वका लागि हुने आवश्यक पर्ने खर्च रकम प्रस्ताव गरेर मात्र बजेट सीमाभित्र रहेको बजेटका आधारमा आयोजना प्राथमिकीकरण तथा पुनःप्राथमिकीकरण गर्नुपर्ने आयोगको सुझाव छ ।

दीर्घकालीन सोच २१०० तथा सोह्रौँ योजनाले लिएका लक्ष्य हासिल गर्न आवश्यक कार्यक्रम तथा आयोजना प्राथमिकताका साथ प्रस्ताव तथा बजेट विनियोजन हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आगामी आर्थिक वर्षको बजेटमा विनियोजन कुशलता बढाउनुपर्ने आयोगको निष्कर्ष छ ।

‘कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्दा समन्वयात्मक अतिरिक्त लाभ (सिनर्जी) सिर्जना तथा दिगो बनाउन सहयोगी हुने र कार्यान्वयन गर्दा शून्य विरोधाभाष सिर्जना हुने कार्यक्रमलाई प्राथमिकताका साथ प्रस्ताव तथा विनियोजन गरिनुपर्छ’, आयोगले भनेको छ ।

उत्पादन र उत्पादकत्व वृद्धि गर्न सघाउने र रोजगारी सिर्जना हुने आयोजना तथा कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट छुट्याउन भनिएको छ । त्यस्तै, आगामी आर्थिक वर्षमा खर्च हुने र खर्च गर्न सकिने आयोजना तथा कार्यक्रमका लागि मात्र बजेट विनियोजन गर्नुपर्नेमा आयोगको जोड छ ।

चालु आर्थिक वर्षमा दायित्व सिर्जना भएका र आगामी वर्षसम्ममा सम्पन्न हुने चरणमा रहेका वहुवर्षीय आयोजना तथा कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट छुट्याउनुपर्ने आवश्यकतासमेत औँल्याइएको छ ।

सोह्रौँ योजनाका लक्ष्य, उद्देश्य, रणनीति तथा नतिजा खाका र दिगो विकास लक्ष्यका सूचकलाई केन्द्रविन्दुमा राखेर कार्यक्रम तथा बजेट प्रस्ताव गर्न आयोगले अर्थलाई प्रतिवेदनमार्फत सुझाव दिएको छ ।

त्यस्तै, क्रमागत कार्यक्रम तथा आयोजनाको प्रकृतिअनुसार कार्यान्वयनको अवस्था, आयोजना अवधि, सिर्जित दायित्व तथा खर्च गर्ने अवस्थाको आधारमा पुनःप्राथमिकीकरण गरी बजेट विनियोजन गर्न भनिएको छ ।

‘क्रमागत कार्यक्रम तथा आयोजनाको पुनरावलोकन गरी दोहोरोपना रहेका एउटै प्रकृतिका कार्यक्रम वा आयोजना एक आपसमा गाभ्ने वा खारेज गर्नुपर्ने नीति लिईनुपर्छ’, आयोगले भनेको छ ।

त्यस्तै बजेटमा पर्ने आयोजनाको विवरण राष्ट्रिय आयोजना बैंकमा निर्धारित समयावधिभित्र अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने र सोको आधारमा मात्र बजेट विनियोजन गर्न भनिएको छ । थप नयाँ कुनै पनि संस्थागत संरचना निर्माण नगर्ने र मौजुदा संरचनाको अधिकतम उपयोग गर्ने नीति बजेटले अबलम्बन गर्नुपर्ने आयोगको सुझाव छ ।

कतिपय नियमित र चालु प्रकृतिको खर्चसमेत वैदेशिक सहायताबाट व्यहोर्नुपर्ने अवस्था देखिएकाले बजेट तथा कार्यक्रम प्रस्ताव गर्न कठिनाइ देखिएको आयोगले औँल्याएको छ ।

प्रादेशिक सन्तुलन र तीन वटै तह बीचको समन्वय प्रभावकारी हुने गरी कार्यक्रम प्रस्ताव गर्न भनिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा विकास आयोजना बाँडफाँटसम्बन्धी मापदण्ड बमोजिम कार्यक्रम तथा आयोजना बाँडफाँट हुनुपर्ने आयोगको सुझाव छ ।

संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष प्रचण्ड

उनले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय भएको बताए ।

सर्लाहीमा बालकसहित दुई जनाको शव फेला

बरहथवा (सर्लाही), ७ वैशाख : सर्लाहीमा छुट्टाछुट्टै स्थानमा बालकसहित दुई जनाको शव फेला परेको छ ।पर्सा गाउँपालिका–४, जिगड्वास्थित इँट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्यका ४ वर्षीय सुजित माझीको इँट्टा भट्टा परिसरमा खनेको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । पर्सा–२, सङ्ग्रामपुरस्थित सैलश बाबा मन्दिरमा लागेको मेला हेर्न गएका बालक तीन दिनदेखि बेपत्ता थिए ।

उनका परिवारका सदस्यले खोजविनका लागि प्रहरी चौकी नारायणपुरमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा माझी खाडलमा डुबेको अवस्था फेला परेका प्रहरीले जनाएको हो ।

यस्तै लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा एक पुरुषको शव फेला परेको छ । लालबन्दी–२, जुटपानीस्थित जीर्ण झोलुङ्गे पुलमुनि स्थानीय ४५ वर्षीय लक्ष्मण महतोको शव फेला परेको प्रवक्ता राईले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ दुर्घटना अपडेट : मृतक दुवै जनाको सनाखत

दमौली (तनहुँ), ७ वैशाख : डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।

डुम्रेतर्फ लमजुङ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठक्कर खाँदा माइक्रोबसमा सवार मनाङको नार्फु गाउँपालिका–८ का ४० वर्षीय मन घले तथा स्कुटरमा सवार लमजुङको बेँसीसहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

घलेको लमजुङस्थित नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा तथा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेँसीसहर नगरपालिका–८ का ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

त्यस्तै दुर्घटनामा माइक्रोबसमा सवार बँेसीसहर नगरपालिकाकी १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गाका ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दुधपोखरी गाउँपालिका–५ की २४ वर्षीया युनिशा गुरुङ, बेँसीसहर–५ की ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर–३ का ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गाका ३५ वर्षीय अलिश शाही, सोलुखुम्बुका ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गाका ३५ वर्षीय अधिस राई तथा गोरखाका ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बेँसीसहर–२ भकुमथोककी ७८ वर्षीया कृष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा र ३२ वर्षीया मनिका गुरुङको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । माइक्रोबसका चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर

गण्डकी, ६ वैशाखः ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर कोटिहोमका कारण चर्चामा आएको छ । मानव सेवा फाउन्डेसनले पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित हरिहर मन्दिरको व्यवस्थापन तथा सञ्चालनका लागि ‘कोष’ खडा गर्ने र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ काटिहोम गर्ने भएपछि अहिले क्षेत्रमा मन्दिरको चर्चापरिचर्चाले प्राथमिकता पाएको हो ।

कोटीहोम गर्ने स्थानका सम्बन्धमा सुरुमा विवाद भएपछि पोखरा महानगरपालिकाले गठन गरेको पाँच सदस्यीय समितिको सुझावबमोजिम विरौटामा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम हुने भएको हो । सो कोटिहोममा धार्मिक सङ्घसंस्था, व्यक्ति तथा स्थानीय जनताको मात्र नभई स्वदेश तथा विदेशका मानिस समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिने भएकाले हरिहर मन्दिर परिचित हुने र मन्दिरको कोष खडा भएपछि सञ्चालन तथा व्यवस्थापनमा सहज हुने धाराणा आयोजकबाट आएको छ ।  

किंवदन्तीअनुसार तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेती नदीस्थित सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको दिव्यवाणी भएपछि खोज्दै जाँदा काफ्ली गाईले दूध चढाइरहेको शिला भेटिएपछि सोही स्थानमा मन्दिर स्थापना गरी नित्य पूजाआजा सञ्चालन गर्न थालिएको हो । स्थापनाकालको मन्दिर जीर्ण भएपछि मौलिक स्वरुपमा परिवर्तन नहुने गरी मर्मतसम्भार गरिएको र अहिले दर्शन तथा पूजाआजाका लागि भक्तजन आउने गरे पनि मन्दिर ओझेलमा परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो ।

मन्दिर निर्माण भई नित्यरुपमा पूजाआजासहित सञ्चालनका लागि पोखरा महानगरपालिका–१७ पार्दी–विरौटामा २९ रोपनी १२ आना जग्गा गुठीअन्तर्गत रहेको १८६४ सालको लालमोहरले पुष्टि गरेको छ । तर राजगुठीका नाममा दर्ता भएको सो जग्गा भूमाफियाको चलखेलबाट बचाउन आफूहरू सफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार हरिहरको दर्शन गर्दा आफूले सोचेको पुग्ने हुँदा प्रत्येक वर्ष माघे सङ्क्राान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्रि, रामनवमीलगायतका विभिन्न पर्वका अवसरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा निर्माण भएको १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धाराले सो स्थानको आकर्षण बढाएको छ ।

“लामो समयसम्मको स्थानीयको अथक प्रयासका कारण भूमाफियाको अधिकारबाट खोसेर जग्गा मन्दिरको नाममा ल्याउन सफल भइएको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “त्यही जग्गामा अहिले हरिहरको शक्तिले कोटिहोम हुन गइरहेका कारण यस तीर्थस्थल विश्वसामु परिचित हुने विश्वास छ । त्यसमा सबैको साथ–सहयोगको अपेक्षा गरेका छौँ ।”

सीताघाटमा स्नान गरी हरिहर मन्दिर, अकालादेवी, सीताको पाइला, राम मन्दिर, सिद्धेश्वरलगायतका देवदेवीको बासस्थान रहेको सो स्थानमा हुन लागेको कोटिहोममा स्वदेश तथा विदेशबाट आउने गुरु, सन्त–महन्थ, महात्मा, वाचकलगायत सम्पूर्ण भक्तजन आउने र त्यसले प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

सेतीनदीमाथि प्राकृतिक पुल ढुङ्गेसाँघु सोही क्षेत्रमा रहेको छ । हरिहरको शक्तिको कारण ढुङ्गा र माटोबाट निर्मित पुलले मानव निर्मित यातायातका साधनलाई समेत आवतजावतमा सुविधा पुगेको छ । पोखराको लेक साइडस्थित बाराहीघाटमा हुने कोटिहोम विवाद भएपछि पाँच सदस्यीय सुझाव समितिसहित सर्वपक्षीय भेलाको सिफारिसमा विरौटामा यही वैशाख १६ देखि जेठ २६ गतेसम्म कोटिहोम सञ्चालन हुन लागको हो । यसै सन्दर्भमा बाराही घाटमा क्षमा पूजासहित यही वैशाख ३ गते विधिपूर्वक भूमिपूजनसमेत सम्पन्न भएको छ ।

विश्व शान्तिको कामना गर्दै पर्यटकीय नगरी पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रुपमा परिचित गराउने र ऐतिहासिक महत्वको हरिहर मन्दिरलाई देशविदेशमा समेत स्थापित गराउने लक्ष्यका साथ कोटिहोम आयोजना गर्न लागेको मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिनुभयो । 

यसैगरी गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई स्वदेश तथा विदेशमा समेत परिचित गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोटिहोमको माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय  तथा अन्तरराष्ट्रिस्तरमा पु¥याउँदै पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वाससहित वैदिक ज्ञान, धर्म, परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षको उजागर गर्न सहयोग पुग्नेछ ।

“पोखरामा कोटिहोम गर्नका लागि सुरुका दिनमा केही विवाद भए पनि पछिल्लो समयमा सबैको अपनत्व हुने गरी सदाशिवजी हरिहरको शक्तिको प्रभावले मन्दिरकै गुठी जग्गामा हुन लागेको छ,” उहाँले भन्नुभयो, “कोटिहोममा सबै क्षेत्रको सक्रिय सहभागिता रहने विश्वास छ ।”

सो मन्दिरसहित आसपासको झन्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ जसमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ–तिल, घ्यू–चामल र अन्य द्रव्य मिश्रित ‘चरु’ तयार गरी डेढ महिनासम्म नित्य होमहोमादी गरिने विधिलाई ‘कोटिहवन’ भनिन्छ ।

मुक्तिनाथ दर्शन गर्ने प्रत्येक तीर्थालु भक्तजनले ल्याएको जल हरिहर मन्दिरमा चढाउने र विधिपूर्वक गरिएको होमनको विभूति (खरानी) स्वस्ति शान्तिको प्रतीकका रुपमा प्रत्येकको घरघरमा पु¥याउने लक्ष्य कोटिहोमको छ । यसबाट हरिहर मन्दिरको महत्व थप उचाइमा पुग्ने विश्वास लिइएको छ ।

कोटिहोमको पूर्वसन्ध्यामा साइकल, मोटर साइकल, कार तथा डुङ्गा ¥याली, भूमिपूजन, महायज्ञको पूर्वाङ्ग, सामूहिक विवाह, व्रतवन्ध र चौरासी पूजा गरिने कार्यक्रम रहेको सङकल्पकर्ता बालयोगेश्वरले राससलाई बताउनुभयो । प्रवचनमा आउने भक्तजन तथा दर्शकले दिएको स्वेच्छिक दान लिइने बताउँदै कोटिहोम सम्पन्न गर्न ठूलो धनराशि खर्च हुनेछ, सो खर्च कटाएर बाँकी मन्दिर व्यवस्थापन तथा सञ्चालनमा प्रयोग हुने उहाँले बताउनुभयो ।  

पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीका अनुसार कोटिहोमले यस क्षेत्रको धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसारमा महत्वपूर्ण उपलब्धि पुग्नाका साथै पोखरा भ्रमण वर्षलाई समेत सहयोग पुग्नेछ । उहाँले यस किसिमको पवित्र धार्मिक कार्यमा सम्पूर्ण वडावासीको साथ–सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष शाही भन्नुहुन्छ, “कोटिहोमबाट धार्मिक ज्ञान प्राप्त गर्नाका साथै स्थानीय बासिन्दाको आयआर्जनसँग पनि जोडिनु अपरिहार्य छ । सो कोटिहोम सञ्चालन, व्यवस्थापन तथा सहजीकरणका पक्षमा पोखरा महानगरपालिका रहेको आयोजकले स्पष्ट गरेको छ ।  

सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका बँधुवा श्रममा आधारित प्रथा र प्रचलन निषेध गरिसकिएकाले त्यससँग जोडिएका समस्या समाधान गर्न सरकारले प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले मुक्तिको घोषणा गरिए पनि कतिपय समुदायको पुनःस्थापनासँग सम्बन्धित काम सम्पन्न नभएको गुनासा आइरहेकाले सरकारले समस्या समाधानका लागि योजना बनाइरहेको बताए ।

‘सरकारले बँधुवा श्रममा आधारित सबै प्रकारका प्रथा अन्त्य गरिसकिएको छ । त्यस क्रममा कमैया, कम्लरी, हरवाचरवा, हलियालगायतलाई विभिन्न समयमा मुक्तिको घोषणा गरिसकेको छ । धेरैजसो पुनस्र्थापनाका काम सम्पन्न भइसकेका छन् तर थप केहीको पुनस्र्थापनालगायत समस्या समाधान नभएको गुनासाबारे सरकार गम्भीर छ’, उनले भने ।

छलफलमा राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिका सहसंयोजक राजुराम भुल नेतृत्वको टोलीले उपप्रधानमन्त्री पौडेललाई मुक्त हरवाचरवा, हलिया, कमैया र कम्लरीको पुनस्र्थापनाका सवाल तथा विभिन्न माग राखिएको ध्यानाकर्षणपत्र बुझाइएको थियो ।

टोलीले यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिको सिफारिस कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत योजनाबद्ध रूपमा काम अगाडि बढाउन माग गरेको छ ।

चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।

राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, हावाबाट उत्पादन हुने विद्युतको क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७.२ प्रतिशतले वृद्धि देखिएको छ।

यस वर्षको पहिलो तीन महिनामा चीनका ठूला विद्युत कम्पनीहरूले विद्युत उत्पादन योजनामा १३२ अर्ब २० करोड चिनियाँ मुद्रा बराबरको लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले कम हो।

सोही अवधिमा विद्युत प्रसारण लाइन निर्माणमा ९५ अर्ब ६० करोड चिनियाँ मुद्रा लगानी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८ प्रतिशतले बढी हो।

संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली

काठमाडौँ, ७ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्वपूर्ण पक्ष भएकाले त्यससम्बन्धी इतिहासको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताउनुभयो ।

“संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुुलित अर्थ बुुझेमा आफूू र आफ्नो इतिहासलाई बुुझाउन सहयोग गर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सन्तुुलित अर्थ बुुझेर आफूू र आफ्नो इतिहास बुुझाउन पनि सहयोग गर्छ ।”

उहाँले राससको यस प्रकारको प्रयास सराहनीय एवं प्रशंसायोग्य रहेको प्रतिक्रिया दिनुभयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाएको हुन्छ, दुःखमा परेका बेला पनि मानिसले संस्कृतिका माध्यमबाट मनोरञ्जनको सहयोग लिएर बाँचेको हुन्छ ।”

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको संस्कृति, कला तथा विकास र पूर्वाधार शीर्षकमा दुई वर्ष गरेको प्रदर्शनीमा राखिएको तस्बिर समेटेर समितिले फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।

गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्नेहरूका लागि पुस्तक गतिलो जवाफ भएको बताउनुभयो ।   

उहाँले देशलाई चिनाउने गरी सीमित स्रोतसाधनका बाबजुद राससले तयार गरेको सङ्ग्रहणीय  रासस फोटो पुस्तक विदेशी पाहुनालाई उपहारस्वरुप प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै थप प्रति छपाइका लागि अनुरोध गर्नुभयो ।

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पुस्तकमा समेटिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधान सम्पादक उत्तम सिल्वाल, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, समाचारदाता कालिका खड्का र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो ।    

यसअघि उक्त पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।

संगीता अधिकारी भइन् मिसेस डिभा नेपाल–२०२५

काठमाडौं। मिसेस डिभा नेपाल–२०२५ को ताज काठमाडौं सिनामंगलकी संगीता अधिकारीले पहिरिन सफल भएकी छन्। शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको कार्यक्रममा उनले ताजसँगै एन.एफ.इ. ए . अवार्ड २०२६ लण्डनमा सहभागी हुनका लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्।

हिमालयन मुभिजद्वारा आयोजित उक्त कार्यक्रममा फस्र्ट रनर अप टीका राना मगर तथा सेकेण्ड रनर अप सम्झना गौतम चयन भएका छन्। विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा करिव एक दर्जन महिलाहरुले आफ्नो आन्तरिक प्रतिभा र वौद्धिकता प्रदर्शन गरेका थिए। सम्पूर्ण प्रतियोगीहरुलाई तयार गर्ने अभिभारा भने चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले लिएकी थिइन्। सुब्बाकै प्रशिक्षणमा प्रतियोगीहरुले क्षमता विकास, वौद्धिकता प्रस्फुटन, व्यक्तित्व विकास, स्टेजको प्रस्तुती, मिडिया प्रस्तुतीकरणलगायतका विषयमा बन्दसत्रमा सहभागी भएका थिए।

कार्यक्रममा विविध सबटाइटल अर्वाडहरुसमेत वितरण गरिएको थियो। जसमा मोस्ट स्मार्ट टीका राना मगर, मोस्ट कन्फिडेन्ट एवं पब्लिक च्वाइस भिडियो संगीता अधिकारी, बेस्ट पर्सनालिटी एवं मोस्ट पपुलर सम्झना गौतम, , मोस्ट डेडिकेटेड पवित्रा अर्याल, मोस्ट चार्मिङ माया तामाङ, बेस्ट ट्यालेन्ट रिमा विश्वकर्मा, वेस्ट फोटोजेनिक रमिला कुस्वार, मोस्ट याक्टिभ लक्ष्मी शाही शाक्य, मोस्ट डिलिजेन्ट पार्वता पुन र बेस्ट मल्टिमिडिया रोजी ब्लोन हुन सफल भए।
कार्यक्रममा प्रतियोगीहरुले परिचयात्मक चरण, सांस्कृतिक परिधानको प्रस्तुती, प्रश्नोत्तर चरण, लिखित चरण पार गर्दै क्राउनिङ चरणसम्म पुगेर उपाधि चुमेका थिए। कोरियोग्राफर हिमानी सुब्बाका अनुसार घर गृहस्थी तथा आम दैनिकीमा अभ्यस्त महिलाहरुले तीन साताको प्रशिक्षणमा आफूलाई आमुल परिवर्तन गरेको स्टेजको प्रस्तुतीमा छनक पाइन्थ्यो। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कलाकारहरुले विविध नृत्य तथा गायन प्रस्तुत गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा मोडल तथा अभिनेता दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस ग्लोबल नेपाल–२०२४ तथा फेसन डिजाइनर सुनिता भुजेल, मिसेस क्यापिटल क्विन नेपाल–२०२४ रमिता भण्डारी र ब्युटिसियन नेपाल–२०२५ सुष्मा दाहाल रहेका थिए। बद्लिँदो समय सापेक्ष आफ्नो प्रतिभा प्रस्फुटीकरणका हेतु महिलाहरुको लागि आवश्यकीय मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन सुरु

काभ्रे । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ ।

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुवात गरेका छन् । उनले उक्त पालिकाको वडा नम्बर २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको सुरुवात गरेका हुन् । त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे । उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिए । पीडितलाई निस्सा प्रदान गर्नुअघि लेखकले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गरेका थिए ।

गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य सुरु गर्न ढिलो भएको स्वीकार गर्दै अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराए ।

सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख निकासा गरेको छभने काभ्रेपलाञ्चोकमा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ ।

रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन् । रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम सुरु गरिएको छ । यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम सुरु गर्ने छ ।

बढीपहिरोबाट विस्तृत क्षति आकलनपछि जिल्लामा पुनर्निर्माणको काम सुरु गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बताउँछन् । “अब प्रभावित क्षेत्रका निजी घरका साथै पुल, भौतिक संरचना, तटबन्धनलगायत पूर्वाधार निर्माणमा पनि सरकारले सहयोग गर्न सहज हुने विश्वास गरेका छौँ”, ढकालले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताउँछन् । उनी भन्छन्, “यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्रविष्ट गरेको र अबको पूर्ण क्षति आकलनबाट एकीन तथ्याङ्कबाट अझ प्रभावकारी राहत/अनुदानका लागि सहज हुनेछ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले आउँदो वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनसके मात्र अस्थायी र स्थायी आवास निर्माण गर्न सकिने बताउँदै फलामेटारमा बाढीले बगाएर केही बाँकी रहेको पुललाई जोगाउन नसके आगामी दिन अझ कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ८१ जनाको निधन भएको छभने छ जना अझै बेपत्तामा सूचीकृत भएका छन् । यहाँ अर्बौँका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, सङ्ग्रहालयलगायत बाढीपहिरोले क्षति पुर्याएको थियो । बाढीपपहिरोले जिल्लाको १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकमा सबैभन्दा बढी जनधनको क्षति पुगेको थियो ।

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

बेनी (म्याग्दी), ७ वैशाखः धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिनुभएको छ ।

परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “गोठमा गाईभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्”, पुनले भन्नुभयो । भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन् ।

लेकाली क्षेत्रमा पालन गरिने भैँसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैँसी र खसीबोकाको माग धेरै छ । यहाँका किसानले कोदो, मकै, जौँ, गुहँुलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ । पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजङ्गल, लेक–बेँसीका उकाली ओरालीको दुःख र बर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ ।

मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ । आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिनुभएका उहाँले आफ्नो छ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताउनुभयो । “म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु”, उहाँले भन्नुभयो ।

पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको सङ्ख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसानजस्तै हुने गरेको उहाँले अनुभूति सुनाउनुभयो । पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन् । मुनामा अहिले पनि करिब १०० घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए । परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन् । हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन् । वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन् ।

खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताउनुभयो । घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उहाँको भनाइ छ ।

“पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बीचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु”, रोकाले भन्नुभयो । पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ । स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन् ।

हिउँदयाममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ । जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ । हिउँदेबाली जाँै, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरुदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ । यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्याउने गर्छन् ।

यस क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो । “युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौँ, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो”, वडाध्यक्ष रोकाले भन्नुभयो ।

चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग सङ्कलन गरिरहेको छ । म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ । यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

मौरीपालक किसानको सङ्ख्या बढ्यो : यसवर्ष उत्पादन घट्यो

चितवन, ७ वैशाखः गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो ।

उहाँले भन्नुभयो, “लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ ।” अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो । अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन् । तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ ।

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उहाँले बताउनुभयो । उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या छ हजार १३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर छ हजार ८३० पुगेको उहाँले बताउनुभयो ।

उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए । विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासङ्घले जनाएको छ ।

चौध वर्षदेखि बेखबर सञ्चमायाको पर्खाइमा परिवार

इलाम, ७ वैशाख : कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो । घरमा श्रीमान् र पाँच बालबच्चा थिए । ‘एजेन्ट’ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उहाँलाई पैसाको लोभ भयो । विसं २०६८ मा इलामबाट झापा पुर्याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर हुनुहुन्छ ।

“आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भन्नुभयो, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर आमासँग कुरा हुन पाएन ।”

गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ । “एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ”, सृजनाले भन्नुभयो, “म सानो हुँदा आमा जानुभएको अलिअलि सम्झना छ । यतिका समय बित्यो । सम्पर्क छैन । न सास, न लास केही पत्तो भएन ।”

सृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गर्नुभएको छ । “नागरिकता भए सजिलो हुन्थो रे ! मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौँ । तर, आगलागी हुँदा ढड्डा डढ्यो भन्नुभयो । खै केही उपाय होला कि ।”

सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताउनुभयो । “सुरक्षित आप्रवासन सञ्चालन परियोजना (रेमी)मार्फत हामी नागरिकता नम्बर खोजीमा छौँ । कसले फसायो । उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तव्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ”, वडाध्यक्ष बम्जनले भन्नुभयो, “सञ्चमायाका श्रीमान् नरबहादुर सोझो हुनुहुन्छ । खेती किसानी गरेर बच्चा हुर्काउनुभयो । अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन् । वडा साथमा छ ।”

श्रीमती बेपत्ता भएको पीर मनभरि भए पनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन । सम्झनामा गहभरि आँसु पार्दै भक्कानिनुबाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन । “धेरै पढ्नु भएन । बोल्न, भन्न आँट गर्नुहुन्न । हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौँ । भाग्य रहेछ भने आमा भन्न पाइएला”, कान्छा छोरा बिराजले भन्नुभयो । सञ्चमाया र नरबहादुरका छोरा रबिन, देउराज, विक्रम र बिराज हुनुहुन्छ । बिराज माध्यमिक तह पढिरहनुभएको छ । छोरी सृजना झापा बसेर ब्याचलर गरिरहनुभएको छभने तीन छोरा भारतमा श्रम गरिरहनुभएको छ ।

आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म

टक्सार (भोजपुर), ७ वैशाख ः भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडाँै, चर्च ब्वाइज युनाइटेड काठमाडाँै, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हँुदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने
छ । भोजपुर –७ कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छभने अन्य थप रकम सहप्रायोजकबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो । गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाँै, चर्च ब्वाइज युनाइटेड काठमाडाँै, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले प्रतियोगितामा भाग लिएको थियो ।

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ, ७ वैशाख : दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो ।

विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरिरहेका छन् । विद्युतीकरण हुन बाँकी जिल्लाका दुई हजार बढी घरपरिवार उपभोक्तामध्ये कतिपयले अझै पनि मट्टितेलको धिप्री तथा सोलार टुकीको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

विद्युत् बल्न बाँकी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउन रु पाँच करोड बजेट आवश्यक पर्ने विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “हामीले गरेको सर्वेक्षणअनुसार जिल्लाका दुई हजार उपभोक्ताको घरमा विद्युतीकरण हुन बाँकी छ । यसका लागि हामीले केन्द्रमा बजेटसमेत माग गरेका छौँ”, उहाँले भन्नुभयो, “केन्द्रबाट बजेट स्वीकृत भएर आएको खण्डमा आगामी वर्ष नै जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुन्छ । त्यसका लागि सम्बन्धित ठाउँमा पहल गरिरहेका छौँ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सबस्टेशनबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्मा पटकपटक समस्या देखिने गरेको छभने उक्त समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावर अनिवार्य जडान गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् बुइपास्थित ३३ केभी प्रसारण लाइनमा जोडिएका छन् ।

विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा पर्नेे गरेका छन् । यतिसम्म कि अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ । एकैदिन दर्जनौँपटक विद्युत् आउने र जाने समस्याले तीन सेवाग्राही मारमा पर्दै आएका छन् ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् झ्याप्प आउनेजाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले जनाउँदै आएको छ ।

इरान र अमेरिकाबीचको दोस्रो चरणको आणविक वार्ता रोममा सम्पन्न

प्रारम्भिक चरणको छलफलको एक हप्तापछि संयुक्त राज्य अमेरिका र इरानले शनिबार रोममा ओमानद्वारा मध्यस्थता गरिएको तेहरानको आणविक कार्यक्रममा वार्ता गरेका छन् । प्रारम्भिक चरणको छलफललाई दुवै पक्षले ‘रचनात्मक’ भनेर वर्णन गरेका थिए ।

एक अमेरिकी अधिकारी र इरानी राज्य टेलिभिजन अनुसार रोममा ओमानको मध्यस्थतामा गरिएको वार्ता करिब ०९३० जिएमटीमा सुरु भयो ।

इरानी राज्य टेलिभिजनले प्रसारण गरेको तस्बिरहरूमा विदेशमन्त्री अब्बास अराघची इटालीको राजधानी आइपुगेको देखाइएको छ । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफ पनि वार्तामा सहभागी हुने तय भएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले ओमानका राजदूतको निवासमा ‘दुई प्रतिनिधिमण्डल दुई फरक कोठामा’ रहेको बताउनुभयो । ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले उहाँहरूबीच सन्देशहरू आदानप्रदान गरिरहनुभएको छ ।

इरानले मस्कटमा अप्रत्यक्ष वार्ता भनेको दुई पक्षले गरेको एक हप्तापछि यो बैठक भएको हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आणविक सम्झौता त्याग्नुभएपछि यी दुई देशबीच यति उच्चस्तरमा भएको पहिलो छलफल थियो ।

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारहरू प्राप्त गर्न खोजिरहेको आरोप लगाएका छन् । उक्त आरोपलाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ र आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक उद्देश्यका लागि हो भनेर जोड दिँदै आएको छ ।

इरानको सन् १९७९ को इस्लामिक क्रान्तिपछि तेहरान र वासिङ्टनबीच कुनै कूटनीतिक सम्बन्ध छैन ।जनवरीमा आफ्नो कार्यालयमा फर्केपछि ट्रम्पले इरानविरुद्ध प्रतिबन्धहरूको आफ्नो ‘अधिकतम दबाब’ अभियान पुनर्जीवित गर्नुभएको थियो ।

मार्चमा उहाँले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई नयाँ आणविक वार्ता गर्न आग्रह गर्दै पत्र पठाउनुभएको थियो र कूटनीति असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिनुभएको थियो ।

“म सैन्य विकल्प प्रयोग गर्न हतारमा छैन”, ट्रम्पले बिहीबार भन्नुभयो, “मलाई लाग्छ इरान कुरा गर्न चाहन्छ ।”

शुक्रबार अराघचीले इरानले पहिलो चरणमा अमेरिकी पक्षमा ‘केही हदसम्म गम्भीरता’ देखेको तर उनीहरूको ‘अभिप्राय र अभिप्रेरणाहरू’ मा प्रश्न उठाएको बताउनुभयो ।

शनिबार बिहान एक सामाजिक सञ्जाल पोस्टमा बाकाईले भन्नुभयो, “तेहरान यो सहज मार्ग होइन भन्ने कुरामा सचेत छ तर हामी विगतका अनुभवहरूमा भर परेर खुला आँखाले हरेक कदम चाल्छौँ ।”

मध्यस्थकर्ता ओमानका नेता सुल्तान हैथम बिन तारिक आउँदा दिनहरूमा मस्कोमा जाने कुरा उहाँको कार्यालय र क्रेमलिनले जनाएका छन् । क्रेमलिनले सुल्तानले राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डामा वर्तमान प्रश्नहरू’ र अन्य मुद्दाहरूबारे छलफल गर्नुहुने बताएको छ ।

– निर्णायक चरण –

फ्रान्सेली पत्रिका ले मोन्डेद्वारा बुधबार प्रकाशित एक अन्तर्वार्तामा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले भन्नुभयो, “इरान आणविक बम प्राप्त गर्नबाट धेरै टाढा छैन ।”

ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले तेहरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को सम्झौता त्यागेको थियो । उक्त सम्झौताले इरानलाई उसको आणविक कार्यक्रममा प्रतिबन्धहरूको बदलामा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट राहत दिने प्रस्ताव गरेको थियो ।

तेहरानले आफ्नो अनुपालन कम गर्नुअघि ट्रम्पको फिर्तापछि एक वर्षसम्म सम्झौताको पालना गरेको थियो ।

अराघची सन् २०१५ को सम्झौताका वार्ताकार हुनुहुन्थ्यो । रोममा उहाँका अमेरिकी समकक्षी विटकफलाई ट्रम्पले युक्रेन वार्ताको जिम्मा दिनुभएको छ । विटकफ एक रियल इस्टेट व्यापारीसमेत हुनुहुन्छ ।

इरानले हाल ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्दछ । यो सम्झौताको तीन दशमलव ६७ सीमाभन्दा धेरै छ तर अझै पनि हतियार–ग्रेड सामग्रीका लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।

शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूलाई सन् २०१५ को सम्झौताअन्तर्गत ‘स्न्यापब्याक’ संयन्त्रलाई ट्रिगर गर्ने कि नगर्ने निर्णय गर्न आग्रह गर्नुभयो । यसले इरानमाथि यसको गैर–अनुपालनका लागि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू स्वचालित रूपमा पुनःस्थापित गर्नेछ ।

संयन्त्रलाई ट्रिगर गर्ने विकल्प यस वर्षको अक्टोबरमा समाप्त हुँदैछ । इरानले पहिले नै यदि संयन्त्र सुरु गरियो भने उसले आणविक अप्रसार सन्धिबाट पछि हट्न सक्छ भनी चेतावनी दिएको छ ।

यसै हप्ता तेहरानमा इरानी अधिकारीहरूलाई भेट गर्नुभएका ग्रोसीले अमेरिका र इरान वार्ताको ‘अत्यन्त महत्त्वपूर्ण चरणमा’ रहेको र सम्झौता गर्न ‘धेरै समय नभएको’ बताउनुभएको थियो ।

– अपरिवर्तनीय –

इरानी अधिकारीहरूले वार्तामा उसको आणविक कार्यक्रम र प्रतिबन्धहरू हटाउनमा मात्र केन्द्रित रहेको कुरामा जोड दिएका छन् ।

यदि वासिङ्टनले ‘अनुचित र अवास्तविक मागहरू गर्न’ बाट टाढा रह्यो भने अमेरिकासँग सम्झौता हुनसक्ने सम्भावना रहेको अराघचीले बताउनुभयो ।

विश्लेषकहरूले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र मध्यपूर्वमा उग्रवादीहरूलाई समर्थन गर्ने विषयमा छलफल गर्न दबाब दिने बताएका थिए ।

विटकफले यसलाई पूर्ण रूपमा रोक्न आह्वान गरेपछि इरानको युरेनियम संवर्धन गर्ने अधिकार ‘गैर–सम्झौता योग्य’ भएको अराघचीले बताउनुभयो । विटकफले यसअघि इरानलाई सन् २०१५ को सम्झौताले तय गरेको सीमामा फर्किन मात्र माग गर्नुभएको थियो ।

शुक्रबार अमेरिकी सहयोगी इजरायलले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्दै यसलाई रोक्न ‘स्पष्ट कारबाही’ भएको बताएको थियो ।

मङ्गलबार खामेनीले वार्ताहरू प्रारम्भिक चरणमा राम्रोसँग अघि बढेको भए पनि तिनीहरू अझै पनि निष्फल साबित हुनसक्ने चेतावनी दिनुभएको थियो । “वार्ताले नतिजा निकाल्न सक्छ वा नदिन पनि सक्छ”, उहाँले भन्नुभयो ।

चाडमा १०० भन्दा बढी कैदी कारागारबाट भागे

अधिकारीहरूले शनिबार एक गोलीकाण्डमा एक सयभन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । सो क्रममा तीन जनाको मृत्यु भएको थियो भने कारागार भ्रमण गर्ने राज्यका गभर्नर घाइते भएका थिए ।

देशको मध्यमा रहेको मोङ्गो सहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रबार राति उक्त घटना भएको हो ।

“त्यहाँ करिब एक सय जना भागेका छन्, तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्”, मोङ्गो अवस्थित गुयेरा प्रान्तका महासचिव हसन सुलेमाने एडमले भन्नुभयो ।

एक स्थानीय मोङ्गो अधिकारीले नाम नछाप्ने सर्तमा कैदीहरूले बन्दुक चोरी गर्न प्रबन्धकको कार्यालयमा प्रवेश गरेको बताए । “त्यसपछि गार्डहरूसँग गोली हानाहान भयो, त्यही समयमा गभर्नर आइपुगे । उनी घाइते भए”, उनले भने ।

मोङ्गो अधिकारीले त्यहाँ तीन जनाको मृत्यु भएको पुष्टि गरे र भागेका कैदीहरूको कुल सङ्ख्या एक सय ३२ रहेको बताए ।

खानाको अभाव भएको गुनासो गरेपछि कैदीहरूले विद्रोह गरेको उनले बताए ।

चाडका न्यायमन्त्री युसुफ टोमले यस क्षेत्रमा उड्न लागेको जानकारी दिँदै भन्नुभयो, “आउँदो घण्टामा म मोङ्गोमा पुगेपछि सटीक जानकारी दिन सक्षम हुनेछु ।”

करिब २०० जना म्यान्माबाट थाइल्यान्डमा भागे : थाई अधिकारीहरू

करिब दुई सय जातीय कारेन मानिसहरू जातीय करेन मानिसहरू म्यान्मामा भएको लडाईंबाट भागेर थाइल्यान्डको सीमा पार गरेको थाई सीमा अधिकारीहरूले शनिबार बताएका छन् ।

थाइल्यान्डको सिमानामा रहेको म्यान्माको पूर्वी करेन राज्यमा स्थानीय जातीय मिलिसियाहरू सन् २०२१ को विद्रोहमा सत्ता कब्जा गर्ने सैन्य जुन्तासँग लडिरहेका छन् ।

म्यान्मामा चार वर्षको द्वन्द्वले ठूलो विस्थापनलाई उत्प्रेरित गरेको छ । द्वन्द्वले दशौँ हजारलाई सीमा पार गरेर छिमेकी थाइल्यान्डमा पुर्‍याएको छ ।

म्यान्माको सीमाबाट केही किलोमिटर टाढा बम विस्फोट र नागरिक अशान्तिका कारण शुक्रबार र शनिबार करिब दुई सय जातीय कारेन मानिस थाइल्यान्डतर्फ भागेको थाई सेनाको नरेसुआन फोर्स सीमा एकाइका कमान्डर मेजर जनरल मैत्री चुप्रिचाले बताउनुभयो ।

उहाँका अनुसार त्यहाँ रहेका मानिसहरू सैन्य फौजलाई लक्षित गरी गरिएको ड्रोन बम आक्रमणबाट डराएका थिए । केहीलाई मोई सीमा नदी पार गरेर टाक प्रान्तमा लगिएको थियो ।

“लगभग दुई सय जना… हिजो दिउँसोदेखि आउन सुरु गरेका थिए”, तिनीहरू जातीय कारेन मानिस रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।

उहाँले पार गर्नेहरूलाई रत्चामानु टास्क फोर्सले अस्थायी आश्रयमा राखेको जानकारी दिनुभयो । उहाँको भनाइलाई थाई सेना एकाइको आधिकारिक फेसबुक पृष्ठमा एक पोस्टले पुष्टि गरेको छ ।

मैत्रीले थाइल्यान्डमा थप मानिसहरू प्रवेश गर्न सक्ने र सुरक्षा सुधार भएपछि अधिकारीहरूले उनीहरूलाई फिर्ता गर्न चाहेको चेतावनी दिनुभयो ।

मार्च २८ मा मध्य म्यान्मामा सात दशमलव सात म्याग्निच्युडको भूकम्प आएपछि तीन हजार सात सयभन्दा बढी मानिस मारिएपछि जुन्ता र धेरै विपक्षी समूहले राहत प्रयासलाई सहज बनाउन युद्धविरामको घोषणा गरेका थिए ।

यद्यपि म्यान्माका बासिन्दाहरूले यस हप्ता पश्चिमी थाइल्यान्डको सीमावर्ती सहर माई सोट जाने प्रमुख राजमार्गमा कारेन सहरहरूमा लडाइँ भइरहेको बताएका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ७ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ९०, तोरी प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५५, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १५० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ७८० तोकेको छ ।

सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

दोधारा चाँदनी (कञ्चनपुर), ७ वैशाख : कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हँुदैछ ।

पुल निमार्णका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निमार्णको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ । डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार पुल निमार्णको सम्झौताअनुरुप त्यतिबेला काम सुरु भएर तीन पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो । पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको उहाँले बताउनुभयो ।

पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सबइन्जिनियर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पुल निमार्णको काम तीव्रगतिमा भइरहेको छ असारसम्म सक्ने तयारी छ ।” सम्झौताअनुसार पुल निमार्णको काम आगामी माघमा सक्नुपर्ने छ । पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयवासीले आवतजावतमा समस्या झेल्दै आएका छन् । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर राना बताउँछन् ।

“नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्खामा नदी तर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले त पुल आधा बनिसक्यो, हामी खुसी छौँ ।”

सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

मुस्ताङ, ७ वैशाख : ‘मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने उद्घोषसहित जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानको बृहत् सरसफाइ तथा जनचेतनमूलक पाँचदिने अभियान शनिबार सकिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा मुस्ताङका पाँच पालिकाले संयुक्त रूपमा आयोजना गरेको पाँचौँ दिन शनिबार म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा पुगेर समापन भएको हो ।

यसअघि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको (नेपाल–चीन) कोरलानाकाबाट मुस्ताङस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत् सरसफाइ तथा चेतनामूलक अभियान सुरु गरिएको थियो । अभियानअन्तर्गत जिसससहित मुस्ताङका पाँचै वटा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षलगायत जनप्रतिनिधि एवं कर्मचारीको उपस्थितिमा अभियान सम्पन्न भएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।

धार्मिक तथा पर्यटकीय गन्तव्यको पूर्ण सरसफाइ तथा चेतनामूलक अभियानमार्फत जिल्ला भित्रिने पर्यटक तथा पर्यटन व्यवसायी तथा आमसरोकारवालाई फोहरमैला व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लाका पाँचवटै पालिकाले आपसमा समन्वय र सहकार्य गरी फोहरमैला व्यवस्थापनमा जुटेको अध्यक्ष गौचनको भनाइ छ ।

अभियानमा मुस्ताङका जनप्रतिनिधिले सहभागिता जनाएका थिए । नेपाल–चीन सीमानाका कोरलाबाट सुरु भएको फोहर व्यवस्थापन अभियान न्हेचुङ भन्सार, झोङ गुफा, ठिङ्गर, लोमान्थाङ, लोघेकर गुम्बा, लुरी गुम्बा, छुसाङ, कागबेनी श्राद्धस्थल हुँदै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रको बृहत् सरसफाइ गरिएको छ । त्यसैगरी, ढुम्बाताल, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, सेकुङ ताल, लेते हुँदै म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसासम्मको एक सय ४५ किमी दूरीमा बृहत् सरसफाइ गरिएको छ ।

जनप्रतिनिधि एवं कर्मचारीको संयुक्त टोलीले झन्डै १० ट्रयाक्टरभन्दा बढी फोहर सङ्कलन गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । “हाम्रो अभियानअन्तर्गत फोहर उठाएर सम्बन्धित पालिकामै राखेका छौँ, सङ्कलन भइसकेको नकुहिने फोहरलाई जोमसोम ल्याएर प्रशोधन केन्द्रमा पठाउने काम गर्नेछौँ”, अध्यक्ष विष्टले भन्नुभयो ।

अभियान समापनमा मुस्ताङका जनप्रतिनिधिले जलवायु परिवर्तनको असरले हिमाली जिल्लामा परेको प्रत्यक्ष तथा अप्रत्य प्रभावका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले जलवायु परिवर्तनको प्रभावले सेताम्मे हिमाल कालापत्थरमा परिणत भएको र यसले वातावरण सन्तुलनमा समेत क्षति पुगेको उल्लेख गर्नुभयो । प्राकृतिक सम्पदा र हिमालको सौन्दर्यता जोगाउन सकेमात्र पर्यटन क्षेत्रको विकास हुने भएकाले प्रदूषण घटाउन र सौन्दर्यता बचाउन सरसफाइ अभियानमा हातेमालो गर्दै सरसफाइ अभियानलाई प्राथमिकता दिएको जिसस प्रमुख गुरुङले जनाउनुभयो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले फोहरमैला व्यवस्थापनका लागि आ–आफ्नो पालिकाले वडा तहबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले फोहरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई संविधानले अधिकार प्रत्यायोजन गरेकाले स्थानीय तहले अपनत्व लिएर सरसफाइ अभियानलाई पूर्णता दिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुस्ताङका स्थानीय तह र जिससको यसप्रकारको बृहत् सरसफाइ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । “पालिकाहरूबीच मेलमिलाप, ऐक्यबद्धता, मित्रता भएको देखिन्छ, यो अभियानले नेपालका सात सय ५३ वटै स्थानीय तहका लागि असल अभ्यास सिको गर्ने सन्देश प्रवाह भएको छ”, प्रजिअ भुसालले भन्नुभयो ।

समयमै परेको पानीले किसानको मुहारमा खुसी

तानसेन (पाल्पा), ७ वैशाख : समयमै परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । लामो समयको खडेरीले निरास बनेका यहाँका किसान वैशाख लागेयता खुसी भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका हुन् ।

“सिँचाइ सुविधा नभएर मकै छर्न पाएका थिएनौँ । वर्षापछि मकै छर्ने तयारी गरेका छौँ”, तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले भन्नुभयो । मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । “खडेरीले मकै खेतमै सुक्न थालेको थियो । यो वर्षाले धेरै राहत पुर्यायो”, माथागढीकी मीना खाम्चाले भन्नुभयो, “सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि वर्षाले सघाएको हो ।”

हिजोआज वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको बगनासकाली गाउँपालिका–२ का रमेश न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको खडेरीपछि पानी परेको छ, अब बारीमा मकै छर्ने तयारी गर्दैछौँ”, सिँचाइका लागि अकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । “बारीमा मकै छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौँ, ढिलाइ भए पनि छर्न पाउने भयौँ”, पाल्पाको रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले भन्नुभयो । सुक्खा रहेको खेतबारी वर्षाले चिस्यान भएको छ ।

लामो समयसम्मको खडेरीले खेतबारीमा लगाएको तरकारी फस्टाउन पाएको थिएन । जिल्लाका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । खेतमा मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । अहिले पाल्पाका अधिकांस बारीमा गहुँ पाकेको छ भने केही ठाउँमा गहुँ स्याहारेर मकै छर्ने तयारीमा किसान छन् ।

वर्षाले अकासे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारीखेतीलाई सहयोग पुर्याएको छ । पानी नपर्दा मकै छर्न नपाएकाले छर्न पाएको र छरेका मकै खडेरीले सुक्न लागेका बेला वर्षाले किसानलाई राहत मिलेको हो । कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरीले मर्न लागेका थिए । लामो समय समयसम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको बताएका छन् । चैत अन्तिमसम्म पनि पानी नपर्दा मकै धेरैले छर्न नपाएकामा पानी परेपछि पाल्पासहित पहाडी जिल्लाका किसानलाई छर्न चटारो छ ।

जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान अकासे पानीमा भर पर्नुपर्ने बाध्यता छ । पाल्पामा आठ हजार आठ सय पाँच हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ चार हजार ८७१ हेक्टरमा गर्न सकिन्छ ।

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

मध्यविन्दु (नवलपरासी), ७ वैशाखः यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनुभयो ।

“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु चार करोड नौ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु २३ लाख ५८ हजार ४६० र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो ।

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैतमा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताउनुभयो । यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको जाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावका रूपमा चैतमा मात्र रु चार करोड ८० लाख २५ हजार ६२५ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्तदुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो, सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो”, उहाँले भन्नुभयो, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।”

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताउनुभयो । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको उहाँले जनकारी दिनुभयो ।

“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।” गत आव २०८०÷८१ मा यातायात व्यवस्था कार्यालयले रु ३० करोड ३५ लाख ५३ हजार ९५३ सङ्कलन गरेको थियो ।

नेपाल-भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

महेन्द्रनगर (धनुषा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख १२ गते त्यहाँको मधुवनी जिल्ला भ्रमणमा आउने कार्यक्रम तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

त्यसका लागि नेपाली पक्षसँग समन्वय गर्न शनिबार भारतकै जयनगरमा नेपाल—भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता रहेको थियो । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारी, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधि सहभागी हुनुभएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।

बैठकमा भारतीय प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन दुवैै देशका सुरक्षा संयन्त्रबीच पूर्वतयारी, समन्वय र जानकारी आदानप्रदान गरिएको उहाँले बताउनुभयो ।

यस्तै, सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षागस्ती बढाउने, सीमा नाका र भन्सार क्षेत्रमा सवारीसाधन तथा व्यक्तिको निगरानी प्रणाली कडा बनाउने विषयमा छलफल भएको थियो । त्यसैगरी गैरकानुनी हतियार, लागुपदार्थ तथा मानव तस्करी नियन्त्रणमा संयुक्त अपरेसन तथा सूचना आदानप्रदान गर्ने, भ्रमण अवधिभर सीमामा विशेष सतर्कता अपनाउने, शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिको निगरानी गर्ने, स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीबीच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक तथा जानकारी आदानप्रदान गर्नेबारे पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताउनुभयो ।

सम्भावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ‘र्‍यापिड रिस्पोन्स टिम’ तयार राख्नेलगायतका सात बुँदामा सहमति भएको उहाँले जानकारी दिनुभयो ।

‘सुकुटे’ पर्यटकीय क्षेत्र घोषणा

सिन्धुपाल्चोक – ‘सुकुटे’लाई १५ बुँदे गुरुयोजनासहित पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले शनिबार एक कार्यक्रमका बीच पर्यटकीय क्षेत्र घोषणा गरेकोे हो ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सुकुटेलाई पर्यटकीय हबका रूपमा विकास गर्न अल्पकालीन र दीर्घकालीन गुरुयोजनासहित दिशानिर्देश गर्ने १५ बुँदे पत्र पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले पर्यटन भनेको आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो । सिन्धुपाल्चोकमा पर्यटनको प्रचुर सम्भावना भए पनि दूरदृष्टि र सम्भावनाको खोजी गर्नुपर्ने उहाँको तर्क थियो ।

बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषण गरेसँगै सिङ्गोे सिन्धुपाल्चोकलाई पर्यटकीय क्षेत्र घोषणा गर्न बाटो खुलेको बताउनुभयो । सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापाले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने काम गौरवको विषय भएको बताउनुभयो । नगरपालिकाले सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले २०७६ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीसँग नगरपालिकाको छलफल, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको संयोजनमा २०८१ सालमा भएको राष्ट्रिय बिच भलिबल प्रतियोगितामा भएका निचोडलाई समेत आधार मानी यो निर्णय गरिएको नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी, होटल, रिसोर्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायलाई दिगो रुपमा सञ्चालन गर्न नीति निर्माण गरी स्थानीय तहमार्फत नियमन गर्ने, सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न आगामी नगरसभाबाट कानुन निर्माण गरी सुकुटे पर्यटन विकास समिति गठन गरी उक्त समितिलाई पर्यटन शुल्क उठाउने र त्यसलाई सुकुटेको पर्यटकीय पूर्वाधार विकासमा खर्च गर्न पाउने गरी व्यवस्था गरिने भएको छ ।

प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्ने, सुकुटेमा कृषि सङ्कलन केन्द्र निर्माण गरी र आसपासका क्षेत्रका कृषिजन्य वस्तु सङ्कलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने नीति लिइने भएको छ । यस्तै नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियानसहित जैविक विविधता तथा पर्यावरण संरक्षण गरिने, निश्चित क्षेत्रलाई र्याफ्टिङ जोनका रूपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिने तथा सुकुटे क्षेत्रलाई जलबिहारको हब बनाउनेलगायत उद्देश्य घोषणापत्रमा उल्लेख गरिएको छ ।

विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु

बैतडी – विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन् ।

विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा शनिबार बसको ढोकाबाट खसेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

घटनापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित छः सञ्चारमन्त्री

रसुवा- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातोहाब्रे) संरक्षणमा चेतना अभिवृद्वि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र लाङ्टाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्ताह, १३औँ रेडपाण्ड ट्रफी तथा चौँथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उहाँले जनताका आकाङ्क्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताउनुभयो ।

मन्त्री गुरूङले विगतमा अधुरा रहेका आयोजनालाई वर्तमान सरकारले पूर्णता दिनेगरी अघि बढिरहेको उल्लेख गर्नुभयो । वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा जुटेकाले गाउँगाउँमा परिवर्तन महसुस हुनेगरी काम भइरहेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट बनेको वर्तमान सरकार परिवर्तन नहुने बताउँदै उहाँले भन्नुभयो, “सरकार परिवर्तन भइरहँदा कतिपय आयोजना अलपत्र पर्ने भएकाले पुराना अधुरा आयोजनालाई पनि पूर्णता दिने कामलाई यो सरकारले प्राथमिकतामा राखेको छ ।” 

मन्त्री गुरूङले स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग व्यवस्थित गराउने प्रतिबद्धता जनाउनुभयो । रसुवाको पर्यटन, सडकलगायत पूर्वाधार विकासमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

केरूङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौंँ रेलमार्ग सुरू गर्ने, चालु आवभित्र रसुवाका प्रत्येक घरघरमा टेलिफोन सेवा पु¥याउने, जिल्लाका २७ वटै वडामा सञ्चार सेवा पु¥याइ इन्टरनेट सेवा विस्तार गर्ने, सुशासन प्रत्यभूत गराउने, विज्ञान प्रविधिको विकास गर्दै इन्टरनेटको माध्यमबाट नागरिकको गुनासो सुनुवाइ गर्नेलगायत योजना सरकारले बनाएको मन्त्री गुरूङले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय बासिन्दा, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार जितु नेपाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति थियो ।

मनाङमा विदेशी पर्यटकको आगमन बढ्दै, एक वर्षमा ३३ हजार बढी भित्रिए

मनाङ-मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ । मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ । दुई याममा गरी यस वर्ष ३३ हजार छ सय ४८ विदेशी पर्यटक जिल्लामा भित्रिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विस्तारै सडक सञ्जालको सहजता, प्राकृतिक सौन्दर्यताले विश्वका पर्यटकको आगमन बढ्दो छ । साथै आन्तरिक पर्यटकको पनि आगमन बढे पनि तथ्याङ्क भने राखिएको पाइदैन ।” उहाँका अनुसार बीस हजार १६१ पुरुष र १३ हजार ४८७ महिला विदेशी पर्यटकले यहाँका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् । 

भुजेलका अनुसार गत वर्ष एक सय २३ देशका नागरिकले अन्नपूर्ण पदमार्गका साथै मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन् । उहाँले भन्नुभयो, “विसं २०८१ मा सबैभन्दा बढी तीन हजार ३८८ जना फ्रान्सका नागरिकले मनाङ भ्रमण गरेका छन् ।” इजरायल, जर्मनी, भारत, बेलायत, अमेरिका, अस्टे«लिया, चीन, नेदरल्याण्ड, रसिया, पोल्याण्डलगायत मुलुकका नागरिकले मनाङ भ्रमण गरेका उहाँले जानकारी दिनुभयो । 

सबैभन्दा बढी कात्तिकमा नौ हजार २७९ विदेशी पर्यटक यहाँ आएका प्रमुख भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम साउनमा दुई सय ५२ विदेशी पर्यटकको आगमन भएको छ । मनाङ भ्रमणका लागि मौसम अनुकूल हुने समयमा स्वदेश तथा विदेशी पर्यटकको आगमन वृद्धि हुँदै गएको एक्यापले जनाएको छ । 

“अहिले नेपाली नागरिकमा पनि भ्रमणमा जाने प्रचलन बढ्दै गएको छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा आन्तरिक पर्यटक पनि जोडिन थालेका छन् । यसले मुलुकमा रहेका पर्यटकीय गन्तव्य प्रचारप्रसार र पर्यटन प्रवर्द्धन भइरहेको छ”, कार्यालय प्रमुख भुजेलले भन्नुभयो, “विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका छन् ।” 

तालगाउँका पर्यटन व्यवसायी एवं होटल पिसल्याण्डका सञ्चालक गुरुप्रसाद गुरुङले अहिले पर्यटकको आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार स्वदेशी तथा विदेशी गरी दैनिक आउने पर्यटकको सङ्ख्या करिब दुई सयले बढेको छ । पर्यटकीय याममा अन्य समयको तुलनामा बढी पर्यटक आउने गरेका उहाँको भनाइ छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । 

विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । 

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सहज भएपछि चामे, खाङ्सारसम्म सवारीसाधनमार्फत पर्यटक पुग्ने गरेका छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा तय हुन्छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७ वैशाखः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की, ७ वैशाख : कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ३ गतेदेखि सुरु प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दर्शिलले १६ वर्षमुनि पुरुष एकल र पुरुष ‘डबल्स’को उपाधि जित्दा साराले महिला एकलतर्फ १४ र १२ वर्षमुनिको दुवै विधामा च्याम्पियन बनिन् । दर्शिलले एकलतर्फ असव सम्राट हाडालाई ६–१ र ६–४ अङ्कको सोझो सेटमा पराजित गरेका हुन् । ‘ब्वाइज डबल्स’ मा सिर्जन भट्टराईसँगको ‘पार्टनरसीप’मा दर्शिल जोडीले प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ५–७ र १०–४ अङ्कले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

यसैगरी साराले १४ वर्षमुनि महिला एकलतर्फको प्रतिस्पर्धामा आर्य पौडेलसँगको फाइनल खेलमा ६–१ र ६–४ अङ्कको नतिजा निकालिन् । साराले १२ वर्षमुनिको फाइनलमा स्वरा थापालाई ६–२ र ६–३ अङ्कले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् ।

त्यसैगरी, १४ वर्षमुनिको ‘ब्वाइज सिङ्गल’तर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ अङ्कले पराजित गर्दै प्रथम हुन सफल भए । यसैगरी, १२ वर्षमुनिको ‘ब्वाइइज सिङ्गल’मा आरित मल्लले आर्यसराज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६, ७–६ र १०–४ अङ्कले पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको १६ वर्षमुनिको एकलतर्फ विजेताले नगद रु १५ हजार तथा उपविजेताले नगद रु सात हजार ५०० सहित मेडल प्राप्त गरे । चौथ वर्षमुनिको एकल विजेताले नगद रु १० हजार तथा उपविजेताले नगद रु पाँच हजारसहित मेडल प्राप्त गरे ।

यसैगरी, १२ वर्षमुनिको एकलतर्फ विजेताले नगद रु आठ हजार तथा उपविजेताले नगद रु चार हजारसहित मेडल प्राप्त गरेका छन् । प्रतियोगिताको आठ, नौ र दश वर्षमुनिको महिला तथा पुरुष एकल विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे । विजयी खेलाडीलाई प्रतियोगिताका मुख्य प्रायोजक मोहनबहादुर शाही, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले पुरस्कृत गरे ।

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्ने

काठमाडौँ, ७ वैशाख : राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।

कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य रु एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।

रु दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।

यस्तै, ४० प्रतिशतले हुने रु एक अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पूँजी रु ३० अर्ब, जारी पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।

‘बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन’ : उपसभापति गुरुङ

काठमाडौँ, ६ वैशाखः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विनियोजित बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको बताउनुभएको छ । कांग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताउनुभयो ।

  स्याङ्जाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गुरुङले स्याङ्जाका सडकलाई जोखिममुक्त बनाउने अभियानमा आफू लागेको बताउनुभयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिदेखि भित्री सडक जोखिममुक्त बनाउने अभियानमा आफू लागेको उल्लेख गर्नुभयो ।

उपसभापति गुरुङले विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर समाज, जिल्ला र समग्र मुलुकको विकास सम्भव हुने धारणा राख्नुभयो । एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने भन्दै उहाँले आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।  

समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैनः गृह मन्त्रालय

काठमाडौँ, ६ वैशाख: गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“ संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”

सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा,एक हजारभन्दा बढीको सहभागिता

काठमाडौँ, ६ वैशाखः काठमाडौँको सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा गरिएको छ । नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण भएको बद्रीनारायणधामलाई स्वदेश तथा विदेशमा चिनाउने तथा यही वैशाख १९ देखि २७ गतेसम्म हुन लागेको प्राण प्रतिष्ठाको पूर्व तयारीका लागि आज पदयात्रा गरिएको हो ।

नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेसनद्वारा संयुक्त रूपमा आयोजित पदयात्रामा एक हजारभन्दा बढीको सहभागिता थियो । नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा आगामी वैशाख १९ देखि २७ गतेसम्म प्राण प्रतिष्ठा हुन लागेको जनाइएको छ । 

प्राण प्रतिष्ठाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायणधाम’ निर्माण गरेको हो ।

रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त धाममा रु सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छभने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई बासस्थानको व्यवस्थालगायत संरचना निर्माण भइरहेका छन् ।

चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले राससलाई जानकारी दिनुभयो । स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय रहनुभएको थियो ।

स्वर्गीय पोखरेलले भौतिक विकास नभएसम्म समुन्नतमूलुक निर्माण हुनसक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो । विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ ।

स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन  गर्नुभएको थियो । पोखरेलको निधन भएसँगै विसं २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ । 

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहत् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुभयो । “नेपालमा ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै छ”, उहाँले भन्नुभयो । 

धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ ।

भिरबाट लडेर छुट्टाछुट्ट ठाउँमा दुईको मृत्यु

सिमकोट (हुम्ला), ६ वैशाखः हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो । आज दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उहाँका आफन्त पूर्ण बुढाले जानकारी दिनुभयो ।

यस्तै, भिरबाट लडेर पाल्पामा एक पुुरुषको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उहाँ अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा आज दिउँसो उहाँलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । 

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

खोटाङ, ६ वैशाखः खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गएिको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले रु दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेका हुन् ।

परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीयवासी हर्षित भएका थिए । त्यसविपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन । 

यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन बृहत् मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेराबार निर्माण गरिएको छ । 

इन्द्रेणीपोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ । राज्यकोषको रु २० लाख रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावाहुरीले ढाल्यो र पुनः राखियो । फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणीपोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो । 

पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको रु ४० लाख, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट रु २० लाख गाउँपालिकाको रु एक करोड ५२ लाखभन्दा बढी बजेट खर्च भएको छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरु अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिएसँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीयवासी निराश बनेका छन् । 

प्राकृतिक संचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गर्नुभयो । “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ  । इन्द्रेणीपोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन”, उहाँले भन्नुभयो, “बिनाअध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।”

इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तरपूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थलहरू जोड्न सडकमार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाहै्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् । 

पर्यटन प्रवद्र्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताउनुभयो । “इन्द्रेणीपोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा–चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरुले पनि आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरूको स्तरोन्नति गरिरहेका छन् । हलेसी, बराहपोखरी, टेम्के, जन्तेढुङ्गा, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायत धार्मिक तथा पर्यटकीयस्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ । 

जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

घोडाघोडी (कैलाली), ६ वैशाखः जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ ।सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिनुभयो । पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उहाँले बताउनुभयो ।

गन्हाएपछि स्थानियले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छभने थप अनुसन्धानका लागि विभिन्न अङ्ग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ ।