`

जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित छः सञ्चारमन्त्री

Nepal One HD ७ वैशाख २०८२ ६:२२
राजनीति

रसुवा- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातोहाब्रे) संरक्षणमा चेतना अभिवृद्वि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र लाङ्टाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्ताह, १३औँ रेडपाण्ड ट्रफी तथा चौँथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उहाँले जनताका आकाङ्क्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताउनुभयो ।

मन्त्री गुरूङले विगतमा अधुरा रहेका आयोजनालाई वर्तमान सरकारले पूर्णता दिनेगरी अघि बढिरहेको उल्लेख गर्नुभयो । वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा जुटेकाले गाउँगाउँमा परिवर्तन महसुस हुनेगरी काम भइरहेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट बनेको वर्तमान सरकार परिवर्तन नहुने बताउँदै उहाँले भन्नुभयो, “सरकार परिवर्तन भइरहँदा कतिपय आयोजना अलपत्र पर्ने भएकाले पुराना अधुरा आयोजनालाई पनि पूर्णता दिने कामलाई यो सरकारले प्राथमिकतामा राखेको छ ।” 

मन्त्री गुरूङले स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग व्यवस्थित गराउने प्रतिबद्धता जनाउनुभयो । रसुवाको पर्यटन, सडकलगायत पूर्वाधार विकासमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

केरूङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौंँ रेलमार्ग सुरू गर्ने, चालु आवभित्र रसुवाका प्रत्येक घरघरमा टेलिफोन सेवा पु¥याउने, जिल्लाका २७ वटै वडामा सञ्चार सेवा पु¥याइ इन्टरनेट सेवा विस्तार गर्ने, सुशासन प्रत्यभूत गराउने, विज्ञान प्रविधिको विकास गर्दै इन्टरनेटको माध्यमबाट नागरिकको गुनासो सुनुवाइ गर्नेलगायत योजना सरकारले बनाएको मन्त्री गुरूङले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय बासिन्दा, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार जितु नेपाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति थियो ।

प्रतिक्रिया