`

सहकारी रकम अपचलनमा २० जना पक्राउ, ४६ जना फरार

काभ्रेपलाञ्चोक, ६ वैशाखः जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन्भने ४६ जना फरार रहेका छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २० जनालाई सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो । ती सहकारीमध्ये बनेपाको पुण्यश्वरी सहकारीको रु तीन करोड ८० लाख ९३ हजार ४१८, गरुड सहकारीको रु १४ करोड र युनिटी सहकारीको रु तीन करोड ५० लाखभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ ।

सूचना अधिकारी घलेका अनुसार यहाँ सात सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बाँकी चार सहकारीको अनुसन्धान जारी छ । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भएको जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको बताउनुभयो । “सात सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा परेकामा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन्, फरारको खोजीकार्य भइरहेको छ । पछिल्लो समय उजुरी आउने क्रम बढिरहेको छ”, उहाँले भन्नुभयो ।

‘शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समुदाय-प्रहरी साझेदारी’ – महानिरीक्षक थापा

कास्की, ६ वैशाखः नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले आज पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले प्रहरी र स्थानीय समुदाय, सङ्घसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राख्नुभयो ।

विभिन्न सचेतनामूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमासमेत सामुदायिक सेवा केन्द्रको योगदान भएको खण्डमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, “समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराइ अपराधीलाई कानुनी दायरामा ल्याउन समुदाय र प्रहरीको साझेदारी आवश्यक छ । यसबाट छिटो अपराध अनुसन्धानमा सहयोग पुग्दछ ।”

थापाले देशभर रहेका एक सय ८१ सामुदायिक सेवा केन्द्रले प्रहरी र नागरिकका बीचमा पुलको रूपमा काम गरेर सुमधुर सम्बन्ध कायम राखी शान्ति सुव्यवस्था, अमनचयन कायम राख्ने तथा अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गरेको बतानउनुभयो ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भीम पराजुलीले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा घट्ने आपाराधिक घटनामा कमी आएको बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गङ्गा थापालगायतले सामुदायिक सेवा केन्द्रको भूमिकालाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

मुस्ताङको घट्टेखोलामा आजदेखि चौँरी मेला सुरु

मुस्ताङ (जोमसोम), ६ वैशाखः हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ । मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ । यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।

हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ । यस पटक आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न मेला १० दिनसम्म सञ्चालन गर्ने आयोजकको योजना छ । उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचनले स्थानीय व्यापार/व्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनि मेला आयोजना गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेषगरी म्याग्दीबाट मानिस आउने गरेका छन् । मेलामा एक गिलास चौँरीको रगतको मूल्य रु तीन सय तोकिएको छ ।  

मेलाको पहिलो दिन आज करिब २०० बढी मानिसले चौँरीको रगत पिएको आयोजकले जनाएको छ । यसको सेवनले शरीरमा हुने विभिन्न किसिमका रोग निको हुने जनविश्वासका कारण पनि यसको महत्व बढ्दै गएको तुलाचनको ठम्याइ छ । “मेलालाई परम्परागत रूपमा अगडि बढाई स्थानीय कृषकको व्यापार/व्यवसायमा पनि थप मद्दत गर्नेछौँ । यहाँ आउने बिरामी, अशक्त र पाहुनाका लागि खान र बस्नको कुनै पनि समस्या छैन”, उहाँले भन्नुभयो ।  

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङका देउबहादुर गर्बुजाले विगत छ वर्षदेखि नियमित रूपमा मेलामा सहभागी भई चौँरीको  रगत पिउँदै आएको र यसले  ग्यास्ट्रिक, गानो दुख्ने र हाडजोर्नीलगायत समस्या निको भएको सुनाउनुभयो । मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु निवासी बिसन पुर्जाले पनि नियमित रुपमा चौँरीको आलो रगत पिउँदै आउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “चौँरीको आलो रगत पिउने कार्य पुरानो जनविश्वास रहे पनि यसको सेवनपश्चात् आफूलाई धेरै राम्रो गरेको छ ।” 

मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका लेकहरू मुलि, ह्याङ्देन, खल्क्यु, बतासेडाँडा, सानुसरेपहाड, छाक्ताङ, मार्चे र नुप्साङमा हुर्के बढेका याक नाक/चौँरीहरूको पालैपालो रगत निकालेर बिक्री गरिनेछ । उपसमितिअन्तर्गतका १० जना कृषक समूहमा करिब ७०० चौँरी रहेका छन् ।

आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै,भारतको एकसहित नेपालका सात टोलीले सहभागिता जनाउने

टक्सार (भोजपुर), ६ वैशाखः प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एकसहित नेपालका सात टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडाैँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ, नमोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ । भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छभने थप रकम सहप्रायोजकहरूबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ ।  

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । 

गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई ‘पेनाल्टी सुट’मा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो । गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाैँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लबखोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता थियो ।

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा प्रमुख तीन दल एकमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार साँझ भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।

ओमानका सुल्तानले पुटिनसँग मस्कोमा भेट गर्ने

ओमानका सुल्तानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मङ्गलबार मस्कोको भ्रमण गर्नुहुने क्रेमलिन र मस्कटले शनिबार बताएका छन् । खाडी राष्ट्र ओमानले इरानको आणविक कार्यक्रममा उच्चस्तरीय वार्ताको मध्यस्थता गरिरहेको छ ।

क्रेमलिनले ओमानका सुल्तान हैथम बिन तारिकसँगको वार्ताले ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डाका वर्तमान प्रश्नहरू’ साथै ‘व्यापार र आर्थिक’ र ‘वित्त र लगानी’ क्षेत्रमा सहयोग विकास गर्ने कुरा समेट्ने बताएको छ ।

ओमानका सुल्तानको कार्यालयले एक विज्ञप्तिमा पुटिनले सोमबारदेखि सुरु हुने दुई दिने राजकीय भ्रमणका लागि राजालाई आमन्त्रित गर्नुभएको बताएको छ ।

“यो भ्रमण ओमानको सल्तनत र रूसी सङ्घबीचको सम्बन्धलाई दुई देशको आकांक्षा पूरा गर्ने गरी प्रवर्द्धन गर्ने सन्दर्भमा आएको हो”, राजदरबारले भनेको छ ।

नेताहरूले ‘विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यका क्षेत्रहरू र साझा हितलाई सेवा गर्न तिनीहरूलाई बढावा दिने उपायहरू’ बारे छलफल गर्ने बताइएको छ ।

प्रारम्भिक चरणको छलफलको एक हप्तापछि संयुक्त राज्य अमेरिका र इरानले शनिबार रोममा ओमानद्वारा मध्यस्थता गरिएको तेहरानको आणविक कार्यक्रममा वार्ता गरेका छन् । प्रारम्भिक चरणको छलफललाई दुवै पक्षले ‘रचनात्मक’ भनेर वर्णन गरेका थिए ।

वीरगञ्ज महानगरद्वारा डुबान रोक्न नाला सफाइ

वीरगञ्ज (पर्सा), ६ वैशाखः वीरगञ्ज महानगरपालिकाले बर्सातको समयमा यहाँको बजार क्षेत्रमा हुनसक्ने सम्भावित डुबानलाई लक्षित गरेर नाला सरसफाइको काम अगाडि बढाएको छ । महानगरले घण्टाघर नजिकै रहेको जिल्ला हुलाक कार्यालयदेखि भन्सार कार्यालय क्षेत्रसम्मको मुख्य नाला सरसफाइको कामलाई तीव्रता दिएको जनाएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले बर्सातको समयमा डुबानको समस्या हुन नदिन नाला सफाइको कामलाई अघि बढाइएको जानकारी दिनुभयो । “मुख्य सडकको नालादेखि सहायक सडकका नाला पनि सरसफाइ हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाइको काम भइरहेको छ ।” 

महानगरका अनुसार छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको काम सकेर हाल दक्षिणतर्फ भन्सारसम्म सफाइको काम भइरहेको छ । 

महानगर प्रमुख सिंहले स्काभेटरले सफाइ गर्न सक्ने ठाउँमा त्यसले र नसक्ने ठाउँमा मानव जनशक्ति खटाएर सरसफाइ भइरहेको बताउनुभयो । सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ भए मात्रै वीरगञ्ज डुबानबाट बच्ने भएकाले सरसफाइलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । मुख्य नाला सफाइ गर्न चारवटा स्काभेटर र २५ जना सफाइकर्मी दैनिक खटिरहेका छन् ।

सुनकोशीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने

रामेछाप । गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ ।असोज महिनामा आएको भीषण बाढीले खाँडादेवी गाउँपालिका–४ को पुछिघाटमा रहेको झोलुङ्गे पुलमा क्षति पु¥याएको थियो । पुलमा क्षति पुग्दा स्थानीयलाई नदी वारपार गर्न निक्कै समस्या भएको छ ।

पुछिघाटका स्थानीयको खेती सुनकोशी पारी सिन्धुलीको घुमाउने चैनपुर लगायतका क्षेत्रमा भएको, विद्यार्थीहरू पढ्नको लागि नदी तरेर पारी नै जानु पर्ने तथा बिपी मार्गमा जानको लागि पनि नदी तर्नु पर्ने भएको कारण पुलमा क्षति पुग्दा जोखिमपूर्ण रूपमा वारपार गरिरहेका छन् ।

स्थानीयले पुल मर्मत नहुँदा जीवन नै जोखिममा परेको गुनासो गरेपछि वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ प्राविधिक सहित लिएर पुछिघाट पुगेका थिए । प्राविधिकले तत्काल पुल मर्मतको लागि सर्वेक्षण गरेपछि पुल मर्मतको काम अघि बढ्ने भएको छ । ‘केही दिनमा नै काम सुरु हुन्छ, आउने वर्षा अगाडि नै सहज रूपमा आवागमन गर्न मिल्ने गरी पुल बन्छ’, श्रेष्ठले भने ।

सो पुल मर्मतका लागि खाँडादेवी गाउँपालिकाले पहिलो चरणमा रकम बेहोर्ने भएको छ । थप रकम आवश्यक परे त्यसको पनि व्यवस्थापन गरिने श्रेष्ठले बताए ।
यसै गरी सोही दिनको बाढीले क्षति पु¥याएको खाँडादेवी गाउँपालिका–१ बेघारीको झोलुङ्गे पुल मर्मतको लागि पनि आवश्यक पहल भइरहेको उनले बताए । बाढीले सो पुलमा राखिएका स्ल्याप बगाएको छ । ‘सोही नदीले सित्खामा बगाएको झोलुङ्गे पुलको बाँकी रहेका स्ल्यापहरु राखेर पनि मर्मत गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको छ, चाँडै प्राविधिक लगेर सो काम पनि अघि बढ्छ’, उनले भने ।

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

काठमाडौँ, ६ वैशाख : काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई वोर्ड हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट रु ४३ लाख ५९ हजार ५४० मूल्यमा सामान प्राप्त गरेको हो ।

बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भन्नुभयो, “पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे भन्नुपरो त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ ।”

उहाँले विद्यालयका लागि करिब रु ४० लाख लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताउनुभयो । वडाबाट गरिएको लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । वडाध्यक्ष तिवारीले अपेक्षा राख्नुभयो ।

शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो । वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताउनुभयो ।

त्यस्तै कामपाले केही दिन अघिमात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो ।

कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताउनुभयो ।

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा (बाँके), ६ वैशाख : लामो समयपछि नेपालगञ्जमा आयोजना भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता आयोजना हुन नसक्दा अलपत्र अवस्थामा रहेको करोडौँको भौतिक संरचनासहितको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

“लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रङ्गशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगञ्ज रङ्गशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ”, अध्यक्ष शाहीले भन्नुभयो, “नियमति रुपमा ठूला खेलकुद प्रतियोगिता हुनसके नेपालगञ्ज रङ्गशालाको रौनक अझै बढ्दै जानेछ ।”

अन्तरराष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रङ्गशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रङ्गशालामा हरियाली छाएकोे लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रङ्गशालामा नियमित अभ्यास हुन सकेको थिएन । आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक लुम्बिनी कप महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएपछि रङ्गशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो ।

आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको रु ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगञ्ज रङ्गशाला आकर्षक देखिएको । अन्तरालको आयोजना तथा जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा नेपालगञ्ज रङ्गशालामा शुक्रबार सुरु भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिनुभयो ।

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

ढोरपाटन (बागलुङ), ६ वैशाख : बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।

पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् ।

गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । शालिग्राम सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उहाँको भनाइ छ ।

ऋषि प्रपन्नचार्यले भन्नुभयो, “सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।”

त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।

गैँडाकोटबाट घुम्न आउनुभएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताउनुभयो । पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उहाँको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाउनुभयो ।

नवलपरासीबाट घुम्न आउनुभएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाउनुभयो । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उहाँको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाउनुभयो ।

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

काठमाडौँ, ६ वैशाख : समन्यायीक समाज नेपालले सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पुजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।

समाजका अध्यक्ष भक्त विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पूजाकुमारी घरबाट राति एक्कासि बेपत्ता भएपश्चात् घरदेखि एक किलोमिटर दक्षिणतर्फ तिनगक्षियोंमा यही वैशाख २ गते मङ्गलबार मृत भेटिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको हो ।

समाजले दलित महिलामाथि हुने यौन हिंसा र त्यसले जन्माएको मृत्युको दुःखद् घटनाप्रति विरोध गर्दै उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन नेपाल सरकार, प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।

त्यसैगरी, समाजले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–३ जगतपुर, दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माथि यौन दुव्र्यवहार तथा बलात्कार प्रयासपश्चात् आफ्नै माइतीघरमा झुन्डिएको अवस्थामा यही वैशाख ३ गते मृत फेला परेको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

पीडितले युवा २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबर्जस्ती करणी गर्न प्रयास गरेपछि प्रहरीमा उजुरी दिएको तर प्रहरीले जाहेरी लिन नमानेको देखिएको छ । उक्त घटनाको गम्भीर अध्ययन गरी दोषीलाई कारबाही गर्न समाजको आग्रह छ ।

मुस्ताङस्थित छोसेरको गुफा पर्यटकको रोजाइमा

मुस्ताङ- जोमसोम–ऐतिहाँसिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले मात्र होइन पृथक प्रकारको भूबनोट कारण उपल्लो मुस्ताङ पर्यटक आर्कषणका लागि निकै महत्वपूर्ण मानिन्छ । उपल्लो मुस्ताङमा सदियौँ वर्ष पुराना तिब्बती कलासंस्कृति, रहनसहन भेषभूषाका साथै त्यहाँको पृथक प्रकारको भूगोलले उपल्लो मुस्ताङ भ्रमण गर्ने जोकोही पर्यटकका लागि पनि मोहित नतुल्याउने कुरै भएन ।

उपल्लो मुस्ताङको हरियाली बिनाको ग्रीन लेस सुख्खा पठार भूगोलको बीचमा त्यहाँको राताम्मे कलात्मक पहाड निकै आर्कषण देखिन्छनन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यस्तै राताम्मे कलात्मक पहाड अवस्थित छन् । 

जहाँ सदियाँै वर्षपहिले यसप्रकारका कलात्मक पहाडलाई खोपेर तयार गरिएका दर्जनौँ मानव निर्मित गुफा छन् । यस्ता गुफामा त्यसबेलाका मानिसले घामपानी र शत्रुसँग सुरक्षित रहनका लागि ओतलाग्ने आश्रय बनाएर बसेको प्रष्ट झल्किन्छ । उपल्लो मुस्ताङमा अवस्थित दर्जनौँ यसप्रकारका मानव निर्मित गुफामध्येको मुख्य एक हो लोमान्थाङ–१ छोसेरमा अवस्थित सिजा झोङ गुफा । एक दशक अघि गुमनाम जस्तै रहेको छोसेरको मानव निर्मित सिजा झोङ गुफाको अहिले पर्यटकीय दृष्ट्रिकोणले चर्चा निकै हुने गरेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ बजारदेखि उत्तर करिव सात किमी र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाकादेखि दक्षिण÷पश्चिम १४ किमी यता जोमसोम–कोरला सडकको नजिकै अवस्थित पर्छ । जोमसोम–कोरला सडकमार्ग अन्तर्गत छोसेरस्थित नेचुङ भन्सार कार्यालयबाट पश्चिमतर्फ मोडिएमा केहीबेरको यात्रा तय गरेपछि गुफा भएको स्थानमा पुग्न सकिन्छ । सडकमार्गबाटै प्रष्टसँग देखिने गुफा रहेको पहाडलाई रातो रङले लेपनलगाएको जस्तै देखिन्छ । पछिल्लो समय कोरलानाका अवलोकन गरी फर्किएका पर्यटक छोसेरको सिजा झोङ गुफा अवलोकन गर्न छुटाउँदैनन् । उपल्लो मुस्ताङ भ्रमणका लागि पुगेका विदेशी पर्यटकसमेतले गुफाको अवलोकन गरेर फर्किन गरेको पाइएको छ ।

समून्द्री सतहको तीन हजार ७९५ मिटरको उचाइमा चारैतीर हरियाली बिनाको नाङ्गो पहाडको भित्ता यो गुफा अवस्थित छ । झन्डै १५५ फिट अग्लो पाँच तले गुफाभित्र ४० वटा कोठा छन् । गुफाको ससर्ती अवलोकन गर्दै एक वास्तविक मूर्तीकारको उत्कृष्ट कृतिको रूपमा निर्माण गरिएको अनुभुत हुन्छ । गुफाभित्रका कोठा पुरै एकआपसमा जोडिएको छ । गुफाभित्रको उपल्लो तल्ला उक्लिन काठको सिँढी राखिएको छ । गुफाभित्र पस्दा सुरुङमार्ग जस्तै दखिन्छ । गुफाको कोठाभित्र पस्दा र माथिल्लो तला उक्लिन टाँउको झुकाउनुपर्छ । गुफाको माथिल्ला तलाको बाहिरी भागमा छिद्रछिद्र प्वाल देख्न सकिन्छ । गुफाभित्र प्रवेश गरिसकेर त्यहाँको छिद्र प्वालबाट टाउँको बाहिर निकालेर अवलोकन गर्दा छोसेर गाउँलगायत त्यस आसपासको प्राकृतिक भूगोल निकै मनमोहक देखिन्छ ।

विशाल पहाडलाई घरेलु हतियारले खोपेर सदियाँै वर्ष पहिले गुफा निर्माण गरिएको भएपनि गुफाको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन । स्थानीयबासी र जानकारका यस मानवनिर्मित गुफालाई सत्रुसँग बच्नका लागि बनाइएको हो भन्ने भनाइ छ ।

छोसेरको सदियौँ वर्ष पुरानो मानव निर्मित गुफा निकै पुरानो प्राचिन गुफा हो । गुफाको भुइतलाबाट पाँच तला माथिसम्म चाहार्ने हो भने त्यहा अवलोकन गर्ने पर्यटकलाई करिव दुई घण्टाभन्दा बढी बेसी समय लाग्ने बताइएको छ । गुफाभित्र बत्ति बाल्ने ठाउँ र सामग्री भण्डारणलगायत विभिन्न कलासंस्कृति र ऐतिहासिक सामग्री अवलोकन गर्न सकिने छ । मानव सभ्यता झल्काउने गुफाभित्र त्यसबेला मानिस बसोबास गथ्र्ये भन्ने तथ्यलाई पुष्टि गर्दछ ।

लोमान्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित प्राचिन मानव निर्मित गुफा प्रवेश गर्न पर्यटकको सहजताका लागि काठका भ¥याङ राखिएका छन् । बेनी–जोमसोम–कोरला राजमार्ग निर्माणधिन सडक सहज बन्दै जान थालेपछि पछिल्लो समय गुफा अवलोकन गर्नेको सङ्ख्यासमेतमा वृद्धि भइरहेको छ । 

लोमान्थाङ–१ का वडाध्यक्ष पेमाआङ्गेल गुरुङले लोमान्थाङ गाउँपालिकाको लागि छोसेरमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तब्यको रूपमा विकास भइरहको जानकारी दिए । निकै अनौठो र राताम्मे पहाडभित्र रहेको कोठैकोठा भएका यसप्रकारका गुफालाई संरक्षण, संम्वरद्धन, प्रवर्द्धन गर्नुपर्ने वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।    ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक महत्वको छोसेरको गुफा अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक उपस्थिती बढ्दै गइरहेको छ ।

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर परिवारसहित आफ्नै गाउँ फर्किए

खोटाङ-अठार वर्ष पहिले बसाइँ सरेर जानुभएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ । उहाँ २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर जानुभएको थियो । खड्का अहिले परिवारसहित पुनः आफ्नै गाउँ फर्किनुभएको हो ।

गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गर्नुभएको हो । आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव विर्सन नसकेर पुनः आफ्नै गाउँ फर्किएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बसाइँ सरेर गए पनि यहाँको जग्गा बेचेको थिइनँ । बाँझिएको जमिन खनजोत सुरु गरेका छौँ ।”

गाउँ फर्किए लगत्तै घर निर्माण गर्नुभएका खड्काले आफ्नो परिवारलाई पुनः स्थापित गराउन गाउँपालिकाले ठूलो सहयोग गरेको बताउनुभयो ।

गाउँपालिकाले हरेक वडामा पूर्वाधार निर्माण गरिरहेको छ । “अब सुविधाको खोजीमा कोही बसाइँ सरेर अन्यत्र जानुपर्दैन । यसअघि गएकालाई गाउँ फर्क अभियान चलाएका छौँ”, अध्यक्ष बञ्जराले भन्नुभयो । 

पछिल्लो समय सुविधाको खोजीमा बसाइँसराइ गर्नेहरुका कारण बर्सेनि जनङ्ख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि ‘गाउँ फर्क अभियान’ चलाएका छन् । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले  विकासमा फड्को मारे पनि त्यहाँका स्थानीयवासी भने, सुविधाको खोजिमा सहर पस्ने क्रम तीव्र छ । शैक्षिक क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयमा ठूल्ठूला भवन निर्माण गरिएका छन् । बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवन प्रयोगविहीन हुने अवस्था छ । 

नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात

भद्रपुर (झापा)-प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको नौ महिनामा रु १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त नौ महिनाको अवधीमा सबैभन्दा धेरै चिया रु आठ अर्ब ४१ करोड ८९ लाख, अलैँची रु पाँच अर्ब ६३ करोड २० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ८७ करोड ३१ लाख मूल्य बराबरको निर्यात भएको छ । 

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २७ करोड २१ लाख, अम्लिसो रु ८७ करोड २१ लाख, बन्दा रु आठ करोड १७ लाख, जडिबुटी रु चार करोड ५८ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ ।  सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधीमा पूर्वीनाकाबाट रु दुई अर्ब ७० करोड ६८ लाख २६ हजार मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ । 

आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफुल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १४ करोड ४५ लाख ७६ हजार, चामल रु ६ करोड एक लाख, ताजा तरकारी रु ३४ करोड चार लाख मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफुल रु ३१ करोड ८० लाख, लसुन रु ६३ करोड ८० लाख, आलु रु ३६ करोड ४९ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ६ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १५० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

खजुरा (बाँके), ६ वैशाखः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन । हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो सन्देश दिएको छ ।”

उद्घाटन समारोहमा मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दलगायतले बोल्नुभएको थियो ।

उद्घाटन पश्चात् भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । आज त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शून्य गोल अन्तरले त्रिभुवन आर्मी क्लब बिजयी भएको हो । यो जितसँगै त्रिभुवन आर्मीक्लबले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा यही वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले बताउनुभयो । प्रतियोगिताको विजेता टिमले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टिमले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय

ललितपुर (गोदावरी), ६ वैशाख : जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ ।चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित रेस्क्यु टोली तत्काल घटनास्थलमा पुगी रेस्क्यु गर्छन् ।

“हामीसँग अनुभवी रेस्क्यु टिम छन्, जसले उपत्यकाभित्र मात्र होइन, नेपाल अधिराज्यभरि पुगेर जनावरलाई उद्धार गर्ने गर्छन्”, शाहले बताउनुभयो । केही दिनअघि मात्र रामेछापमा दुई पटक चितुवा रेस्क्यु गरिएको पनि उहाँले जानकारी दिनुभयो । सूचना प्राप्त भएको केही समयमै चिडियाखाना र सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको थियो ।

शाहका अनुसार, चिडियाखानाको केन्द्रीय टोली काठमाडौँ उपत्यकामा सक्रिय रहन्छ भने चितवन, बर्दिया, शुक्लाफाँटा र कोशी क्षेत्रमा पनि रेस्क्यु शाखाहरू सञ्चालनमा छन् ।

चिडियाखानाले जनावरमाथि दुव्र्यवहार, आक्रमण वा बेवास्ता नगरी तुरुन्तै सम्बन्धित निकाय वा चिडियाखानामा जानकारी गराउन आमसर्वसाधारणसँग प्रमुखले अनुरोध गर्नुभएको छ । यसले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज

इलाम,६ वैशाखः सूर्योदय नगरपालिकामा स्थानीय सडक ३३३ वटा छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा छुट्याइएका ती सडक १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभल र ६६८ दशमलव ९३ किमी कच्चि(माटे) बाटो रहेको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताउनुभयो ।

नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियोे । गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ । हालसम्म १३ दशमलव पाँच किमी कालोपत्रे, ८३ दशमलव ०८ किमी ग्राभल गरिएको छ भने ६६८ दशमलव ९३ किमी सडक स्तरउन्नतीको क्रमममा रहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

उहाँका अनुसार, नगरपालिकाभित्र स्ट्राटेजिक रोड नेटवर्क(एसआरएन) अन्तर्गतका ठुला तीन सडक छन् । जसअनुसार पर्ने मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–श्रीअन्तु सडकको कालोपत्रे ४८ दशमलव २० किमी, ग्राभल २ दशमलव ४५ किमी र माटेबाटो २ दशमलव ४१ किमी पर्छ । सूर्योदयमा डिस्ट्रिक्ट रोड केयर नेटवर्क (डीआरसीएन) अन्तर्गत १० दशमलव ८३ किमी कालोपत्रे, १६ दशमलव १२ किमी ग्राभल र ३६ दशमलव ५६ किमी मोटर बाटो छन् ।

सडकको व्यवस्थित र योजनावद्ध तरिकाले निर्माण गरी जनताको जिवनस्तर सुधार गर्न नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाइएको नगरप्रमुख राईको भनाइ छ । “पुरानै शैलीमा सडक निर्माणका काम गरिए नगरभित्रका सडक पुरै ग्राभेल गर्न १२८ वर्ष लाग्ने देखियो ।” उहाँले भन्नुभयो, ‘“जनताका घरमा पुग्ने सडकको व्यवस्थित तरिकारले स्तरोउन्ती गर्ने कामका लागि गुरुयोजना बनाएरै सडक पूर्वाधार निर्माण सुरुआत गरेका थियौँ । अहिले काम धमाधम छ ।” 

सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आगन छेउको बाटो कालोपत्रे भइरहेको देख्दा सपनाजस्तै लागेको छ । बाटोको डिलमा उभिएर निर्माण नियाल्दै उहाँले भन्नुभयो, “हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना होकी जस्तो लागिरहेको छ ।” उहाँमात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका गाउँका नागरिक स्थानीय सरकारले बाटो कालोपत्रे गर्न सुरु गरेपछि उत्साहित देखिएका छन् ।

सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जाडिने मुख्य बाटोका रूपमा रहेका ती सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नति गर्दै आएको नगरपालिकाले यतिबेला उक्त सडक कालोपत्रेको चरणमा पुर्र्याएको छ । गाउँमा सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित भएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक÷एक वटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रेको चरणमा आएको नगरपालिकाका सिभिल इञ्जिनियर सापकोटाले बताउनुभयो ।

नगरभित्रका सडक २७ वर्षभित्र ग्राभेल गर्नका लागि हरेक पाँच वर्षमा ५९ करोड रुपैयाँ खर्च नगरपालिकाले गर्नुपर्ने हुन्छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडक स्तरउन्नतीमा लाग्ने खर्च हो । पाँच वर्षमा ५९ करोडको ५ प्रतिशत वातावारण संरक्षण, ५ प्रतिशत सर्भे ढाँचा, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलमा खर्च हुने गुरुयोजनामा उल्लेख छ । अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि तीन अर्ब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ ।
गाउँ–गाउँमा सडक कालोपत्रे हुन थालेपछि यहाँका कृषि उपज बजारसम्म पुर्याउन किसानलाई सहज भएको छ । सूर्योदय–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजानुहुन्छ । पैदल यात्रा गर्न करिब तीन घन्टा लाग्नेमा सडक बनेपछि अहिले उहाँलाई बजार पुग्न सहज भएको छ । “बाटो अप्ठ्यारो हुँदा घोडामा तीन–चार घन्टासम्म लाग्थ्यो । अहिले बाटो सजिलो भएको छ । घोडाले नाल झार्छ भन्ने पीर छैन । बर्खामा पनि गाडीमा जान सकिने भएको छ ।” उहाँले भन्नुभयो । विगतमाभन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ । 

स्थानीय रबिन सापकोटाले भन्नुभयो, “एकैपटक सबै विकास सम्भव छैन । २८ वर्षमा सफलता हात पर्ने गरी दिगो विकासको लक्ष्य लिएर नगरपालिकाले काम गरिरहेको छ ।” 

किसानले दुःख गरेर उत्पादन गरेका उपजले सडक अभावकै कारण बजार नपाउने समस्याको अन्त्य भएको किसान बताउँछन् । कृषक ख्यामराज रिजालले भन्नुभयो,  “हामीले बर्खामा बाटो नहुँदा कति दुग्धजन्य उत्पादन त्यसै पोखेका थियौँ । हाम्रा टमाटर बजारसम्म पुग्न नपाएर धेरै कुहिएका थिए । त्यो समस्याबाट मुक्ति पाएका छौँ ।” 

जथाभावी बाटो विस्तार गर्ने तर समयमा निर्माण सम्पन्न नहुँदा पहाडी क्षेत्रका बासिन्दालाई हिलो, चिप्लो र पहिरोको त्रास भइरहने स्थानीयको भनाइ छ । सूर्योदय नगरपालिकाले एक वडा एक अलवेदर सडकको अवधारणा ल्याएर दिगो विकासको काम गरिरहँदा सेवाग्राहीले लाभ लिन थालेको स्थानीय गोविन्द सापकोटा बताउनुहुन्छ । “अबको २४ वर्षमा सबै वडामा कालोपत्र पुग्नेगरी नगरपालिकाले काम गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा लागि नभए पनि छोरानातीको पालामा सुविधासम्पन्न गाउँ बन्नेछ ।” दीर्घकालीन विकासको यात्रामा लम्किएको सूर्योदयलाई अब दोस्रो पुस्ताले दुई दशकपछि सम्झिएर धन्यवाद दिने उहाँले बताउनुभयो  ।

बाटो बनाउन उपकरण प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिकालाई हटाएर दिगो विकासको मोडलमा पालिका अघि बढेको उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । “माटो र बाटोमात्र विकास हो भन्ने परम्परागत भाष्यलाई परिवर्तनका लागि आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समानान्तररूपमा योजना तथा कार्यक्रम अघि बढाइएका छौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चतताका लागि नगरपालिकामा नै पूर्वाधार परीक्षण प्रयोगशाला स्थापना गरी गुणस्तर सुनिश्चितताका साथै आन्तरिक आयको दायरा बढेको छ ।”

सूर्योदयका किसानले चियापछि धेरै दुग्ध उत्पादन गर्छन् । चियालाई स्थानीय उद्योगमा पुर्र्याउन, दुग्धलाई डेरीमा लैजान र आलु, अलैँची, अदुवा, स्कुस, साग, टमाटरजस्ता कृषि उत्पादनलाई बजार पु¥याएर बिक्री गर्न बाह्रमासे सडकले ठूलो राहत गरेको किसान बताउँछन् । भारतसँग जोडिएको मानेभञ्ज्याङ, पशुपतिनगर र फाटकसहित स्थानीय, फिक्कल, हर्कटे, आइतबारे, गोर्खेलगायत बजार यहाँका किसानको मुख्य व्यापार स्थल हो । किसान सरोज पोखरेलले भन्नुभयो, “मानेभञ्ज्याङ, पशुपतिनगर, फाटक, गोखेबाहेकका सबैजसो बजार मेची राजमार्गले छोएका छन् । त्यहाँसम्म पुग्न गाउँको भित्रि कुनाबाट एक घण्टादेखि पाँच घण्टासम्मको पैदल बाटो हिँड्नुपर्ने बाध्यता सडक संरचनाको पहुँचले हटाएको छ ।” 

सडक गुरुयोजनाअनुसार सूर्योदय नगरपालिकाभित्रका सडकमा सबैभन्दा बढी दुईपाङ्ग्रे मोटरसाइकल प्रयोग हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल प्रयोग हुन्छन् । त्यस्तै जिप कार २६ प्रतिशत, ट्रयाक्टर १७ प्रतिशत र ट्रक बस १२ प्रतिशत नगरपालिका भित्र गुड्ने गरेका छन् ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १७ पैसा र बिक्रीदर १४ रूपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७६ पैसा र बिक्रीदर २० रूपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

राँझा (बाँके), ६ वैशाखः नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताउनुभयो ।

“नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।”

नगर प्रमुख बिष्टले आनन्दनगर टोलमा नेपालगञ्ज–९ को वडा कार्यालय भवन शिलान्यास गर्नुभएको हो । उहाँले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा वडाको रु २५ लाख बजेट र बाँकी नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिनुभयो । भवन निर्माणको लागि रु ४० लाखमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उहाँले बताउनुभयो । 

वडासचिव तेजबहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका–४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

पर्यटन प्रवद्र्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

काठमाडौँ, ६ वैशाख : नेपालको पर्यटन विकास र प्रवद्र्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् । विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको नेपाल बसाई लम्ब्याउन नवीन गन्तव्यको प्रवद्र्धन गरी आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्ने उनीहरुको सुझाव छ ।

 आइएचएम कलेजको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘पोलिसी कन्क्लेभ’ को प्यानल छलफलमा सहभागी पर्यटन विज्ञ एवं सिटीइभिटीका पूर्व सदस्यसचिव डा रामहरि लामिछानेले विदेशी पर्यटकलाई आकर्षण गर्न नेपालको आतिथ्य सेवालाई गुणस्तरीय बनाईनुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत तौरतारिकाको पर्यटन प्रवद्र्धनले आजको समयमा सान्दर्भिक नहुने जनाउँदै डिजिटल प्रवद्र्धन र स्तरीय पर्यटकीय ‘प्याकेज’ घोषणा गरिनुपर्ने खाँचो औंल्याउनुभयो । पूर्व सदस्य सचिव डा लामिछानेले नेपालमा उत्पादित दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी सुनिश्चितताका लागि सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

 अर्का प्यानलिस्ट राससमा पर्यटन ‘विट’मा कलम चलाउने पत्रकार सिबी अधिकारीले नेपालमा विदेशी पर्यटक आगमन सुधार्न र उनीहरुको बसाई र खर्च लम्ब्याउन नीतिगत सुधारका साथै नयाँ पर्यटकीय उपजहरुको विकास गर्न जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय पूर्वाधारको भरपुर उपयोग गर्दै दिगो पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्छ ।  ”     

हस्पिटालिटी गाइड्सका प्रमुख कार्यकारी अधिकृत सुराच प्रसाईले पर्यटन क्षेत्रका जल्दाबल्दा विषयलाई आगामी बजेटमा कसरी समेट्ने र विगतका कमजोरीलाई सच्याएर अगाडि बढ्ने सोचकासाथ कार्यक्रम गरिएको बताउनुभयो । दोस्रो शत्रको प्यानल छलफलमा सहभागी रमदा इन्कोर होटलका महाप्रबन्धक महेस फुँयालले आतिथ्य उद्योगको लगानी र उत्पादित जनशक्तिको उपयोगका लागि नीतिगत सुधार जरुरी भएको औंल्याउनुभयो ।

 रोयल टुलिफ काठमाडौँ होटलका महाप्रबन्धक बलराम पाठकले होटल पूर्वाधारको लगानीको प्रतिफल सुनिश्चित गर्न र दक्ष जनशक्ति उत्पादनतर्फ सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
 कार्यक्रममा सोल्टी होटलका ‘क्लस्टर ह्युमन रिसोर्स म्यानेजर’ खेम पौडेल, सोल्टकी लर्निङ डेभलपमेन्ट क्लस्टर डिरेक्टर’ डा रुपेश श्रेष्ठ, आइएचजी होटल ग्रुपका लर्निङ एन्ड क्वालिटी म्यानेजर भिलास खत्री, हस्पिटालिटी विज्ञ रविन्द्र सिंह, प्रनिसा ढुंगेललगायतले हस्पिटालिटी क्षेत्रमा देखिएका चुनौति र सरोकारपक्षका जिम्मेवारीका विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

 सहभागीहरुले नेपालमा विदेशी पर्यटक आगमन बढाउन नीतिगत सुधारका साथै, गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चिता, हवाई भाडा सहज बनाउने, सडकसञ्जाललाई चुस्त दुरुस्त बनाउने र नयाँ गन्तव्यहरुको पहिचान र समयसापेक्ष प्रवद्र्धनजस्ता विषयमा ध्यान पुर्याइनुपर्नेमा जोड दिए । आगामी बजेटमा नीतिगत संशोन, पर्यटन क्षेत्रका मूल मुद्दा, उद्योगको प्रवद्र्धनका साथै राष्ट्रिय प्राथमिकताप्राप्त पर्यटकीय आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।–

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ वैशाख : हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

आवश्यक कानुन सक्दो चाँडो ल्याउने पक्षमा छौँ : रक्षामन्त्री राई

काठमाडौँ, ५ वैशाख : रक्षामन्त्री मानवीर राईले सरकारलाई काम गर्न सहज हुने आवश्यक सबै ऐन÷कानुन सक्दो चाँडो ल्याउने पक्षमा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको तर्फबाट जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, “प्रधानमन्त्रीले कानुन बनाउने विषयमा बारम्बार निर्देशन दिँदै आउनुभएको छ ।”

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवाको सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सम्बन्धमा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा मन्त्री राईले भन्नुभयो, “विधेयकका केही कुरामा हाम्रा विमति छन्, विमति भएका विषयमा केही दिनभित्र समितिले सहमति गरेरै टुङ्गो लगाउँछ ।”

निजामती सेवासम्बन्धी ऐन बनाउने विषय कुनै राजनीतिक विषय नभएर सबैको साझा विषय भएको उल्लेख गर्दै उहाँले अन्तिममा सबै सहमतिमा पुग्नुपर्ने बताउनुभयो । आगामी वर्खे अधिवेशको सुरुआतमै वैशाख १२ गते नै संसद्मा टेबुल गर्नेगरी विधेयकलाई पूर्णता दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले छलफल गरेका छन् ।

शुक्रबार राति महासंघका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका हुन् ।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोही बैठकले महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेको थियो ।

छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।

सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान

काठमाडौँ, ५ वैशाख : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता आज अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने ‘आदिवासी जनजातिहरूका मुद्दाहरू’ सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको २४औँ सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले यही वैशाख ८ देखि १९ गते (अप्रिल २१ देखि मे २ तारिखसम्म) आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउनुहुने छ । उहाँ वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ । ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यु’ विषयक सो कार्यक्रममा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दामा पनि छलफल हुनेछ ।

प्रमुख आयुक्त थपलियाको बिदाइ

काठमाडौँ, ५ वैशाख : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज बिदाइ गरिएको छ । आयोगले यहाँ आज एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी यही वैशाख ६ गतेदेखि निवृत्त हुनुहुँदैछ ।

बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको छ ।”

साथै उहाँले स्वतन्त्रताको उद्घोषसँगै सुरू भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले झन्डै छ दशकमा भोगेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन प्रक्रियाका उतारचढावपूर्ण यात्राले निर्वाचन लोकतन्त्रको आत्मा हो र नागरिक सहभागिता त्यसको प्राण हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ ।”

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको कुशल नेतृत्व तथा आयोग परिवार र सरोकारवालाबीचको आपसी समन्वय र क्रियाशीलताबाट निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार हुँदै गएको उल्लेख गर्नुभयो । बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले २०७६ साल वैशाखदेखि २०८१ चैतसम्म निर्वाचन आयोगबाट सम्पादित प्रमुख कार्यहरूको विवरण रहेको निर्वाचन आयोगका छ वर्ष शीर्षकको पुस्तिका सार्वजनिक गर्नुभएको थियो ।

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

भरतपुर (चितवन), ५ वैशाख : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अझै मजबुत र लोकप्रिय शक्तिका रूपमा स्थापित गर्दै जाने बताउनुभएको छ ।

नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी हुलबाट निर्देशित नभई सही विचार र नीतिका कारण जनताको मनमा बस्न सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी देश र जनतका पक्षमा काम गरेर स्थापित हुने हो, भ्रम पालेर होइन । अहिलेको अवस्थामा आत्तिनुपर्ने होइन ।” अध्यक्ष ओलीले मिसन २०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाले हुलबाट निर्देशित हुने पार्टी नभई सही नीति र नेतृत्वबाट सञ्चालित हुने उहाँले बताउनुभयो । एमालले लिएको नीति सही भएको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय नीति नै यही आधारमा तय हुने गरेको धारणा राख्नुभयो ।

जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिइने

काठमाडौँ, ५ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नीति निर्माणमा जनआवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाम सुनिश्चित गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौँ ।”

बोर्डले अघि सारेका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गर्नुभयो । “खानेपानी क्षेत्रको सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता छ”, उहाँले स्पष्ट पार्नुभयो ।

सो अवसरमा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक डा सञ्जीवबिक्रम राणाले चार सयभन्दा बढी स्थानमा वर्षा पानी सङ्कलन प्रणाली स्थापना भई करिब एक लाख जनसङ्ख्या लाभान्वित भएको, दुई सय तीनवटा ढुङ्गेधारा, इनार र कुवा संरक्षण एवं पुनःउत्थानले सांस्कृतिक र सामुदायिक जलस्रोतलाई पुनर्जीवित बनाएको, ३१ स्थानमा पानी एटिएम प्रणालीमार्फत गुणस्तरीय पिउने पानी सर्वसुलभ रूपमा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

घोराही (दाङ), ५ वैशाख : दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।

बारामा टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कलैया (बारा), ५ वैशाख : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा आज टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय नारायणहरि शर्मा र तत्काल नाम, थर, वतन नखुलेको कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका दुवै जनाको प्रसूति अस्पताल निजगढ बारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो । टिपर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति

काठमाडौँ – गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सदस्यता वितरणको काम सम्पन्न भए पछि अहिले पूर्णरुपमा डेलिगेट्स (प्रतिनिधि) छनोटको काममा व्यस्त रहेको सचिवालयले जनाएको छ ।

यही अप्रिल २२ तारिख (नेपालको समय राती १२ बजे सम्म) सचिवालयको वेबसाइट (www.nrnahlc.com ) मा गएर आवेदन दिन सकिने उच्चस्तरीय समितिकी प्रचारप्रसार संयोजक रविना थापाले जानकारी दिइन् । उनले भनिन्, ‘सदस्यतामा उत्साहजनक सहभागिता रहेको छ, डेलिगेट्समा पनि साथीहरूले आवेदन दिइरहनु भएको छ, समय अझै बाँकी रहेकाले पक्कै डेलिगेट्समा सङ्ख्या बढ्छ भन्ने हाम्रो अपेक्षा हो ।’

अहिलेसम्म झन्डै १४ सय जनाले डेलिगेट्समा आवेदन दिएका छन् । उनीहरूको कागजात जाँच गरेर उच्चस्तरीय समितिले उक्त सूची निर्वाचन समितिलाई हस्तान्तरण गर्ने छ । निर्वाचन समितिलाई अधिवेशनको ५ दिन अघि सूची बुझाउने गरी काम अघि बढेको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिलाई एकताको महाधिवेशन गर्ने जिम्मेवारी रहेको छ । एकता महाधिवेशनका लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद् ) निर्वाचित गर्नका लागि निर्वाचन समिति गठन भई सकेको छ। वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशीष उप्रेती सदस्य रहेका छन् । यसै गरी संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ।

अधिवेशनका लागि समितिले भेन्यु तय गरिसकेको छ । एकताको अधिवेशनको होटेल हायातमा उद्घाटन हुने छ भने निर्वाचनको कार्यक्रम याक एन्ड यति होटेलमा आयोजना गरिने समितिले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश : प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा समिति गठन

सुदूरपश्चिम, ५ वैशाख : सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुख तथा सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिवलाई तोकिएको छ ।

प्रदेशमा लागुऔषध सेवन तथा ओसारपसारको समस्या डरलाग्दो रुपमा फैलिन थालेपछि यसको नियन्त्रणका लागि मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले प्रदेशका प्रमुख सचिवकै संयोजकत्वमा सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यमा आर्थिक मामिला मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखलाई तथा सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई तोकिएको छ ।

समितिले राजस्व वृद्धि, भन्सार जाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण, रोजगरीको शिलशिलामा भारत जाने नेपालीको अभिलेख व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्ययोजना तयार गरी काम गर्ने छ ।

अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

संयुक्त राज्य अमेरिकाले घरेलु जहाज निर्माण उद्योगलाई बढावा दिन र यस क्षेत्रमा चीनको प्रभुत्व रोक्नका लागि भन्दै बिहीबार चीनमा निर्मित र उसबाट सञ्चालित जहाजहरूमा नयाँ बन्दरगाह शुल्क जारी गरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको करवृद्धिलाई लिएर संयुक्त राज्य अमेरिका र चीनबीच ठूलो व्यापार युद्ध चलिरहेको र यसले थप तनाव बढाउन सक्ने अवस्थाबीच यो कदम चालिएको हो ।

“अमेरिकी आर्थिक सुरक्षा र वाणिज्यको स्वतन्त्र प्रवाहका लागि पानीजहाज र पानीमार्फत् हुने ढुवानी महत्वपूर्ण छन्,” अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले नयाँ शुल्कको घोषणा गर्दै भन्नुभयो ।

नयाँ नियमअनुसार प्रति टन भार वा प्रति कन्टेनर शुल्क प्रत्येक बन्दरगाहमा नभई चीनसँग जोडिएका प्रत्येक जहाजको अमेरिकी यात्रामा लागू हुनेछ ।

शुल्क प्रति वर्ष पाँच पटकसम्म मात्र मूल्याङ्कन गरिनेछ र यदि उदोग मालिकले अमेरिकी निर्मित जहाजको लागि अर्डर राख्छ भने यो शुल्क मिनाह गर्न सकिन्छ ।

दोस्रो विश्वयुद्ध पछि अमेरिकी जहाज निर्माण उद्योग बिस्तारै गिरावट आएको छ र अब वैश्विक उत्पादनको केवल ०.१ प्रतिशत मात्र कायम रहेको छ ।

यस क्षेत्रमा अहिले एसियाको प्रभुत्व छ । चीनले दक्षिण कोरिया र जापानलाई पछि पार्दै सञ्चालनमा आएका सबै जहाजहरूको लगभग आधा निर्माण गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार यी तीन एसियाली देशले ९५ प्रतिशतभन्दा बढी पानी जहाज निर्माण गर्छन् ।

चीन सञ्चालित पानीजहाज र चीनमा निर्मित जहाजका लागि छुट्टाछुट्टै शुल्क लाग्नेछ र त्यसपछिका वर्षहरूमा यी दुवै क्रमशः बढ्नेछन्।

चीनमा निर्मित जहाजका लागि प्रति कन्टेनर १८ डलर वा प्रति कन्टेनर १२० अमेरिकी डलर शुल्क तोकिएको छ, जसको अर्थ १५ हजार कन्टेनर भएको जहाजमा १८ लाख अमेरिकी डलर शुल्क लाग्नेछ ।

बेइजिङले शुक्रबार नयाँ शुल्क ‘सबै पक्षका लागि हानिकारक’ हुने चेतावनी दिएको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो, “यसले विश्वव्यापी ढुवानी लागत बढाउँछ, विश्वव्यापी उत्पादन र आपूर्ति श्रृंखलाको स्थिरतालाई बिथोल्छ, संयुक्त राज्य अमेरिकाभित्र मुद्रास्फीतिको दबाब बढाउँछ र अमेरिकी उपभोक्ता र व्यवसायहरूको हितलाई हानि पुर्याउँछ ।

“अन्ततः, उनीहरूले अमेरिकी जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्न सफल हुनेछैनन्,” उहाँले भन्नुभयो ।

करिब ३० वटा उद्योगको प्रतिनिधित्व गर्ने अमेरिकी समूहले यस्तो शुल्कले आयातित वस्तुको मूल्यमा पर्न सक्ने जोखिमबारे मार्चमा चिन्ता व्यक्त गरेका थिए ।

समूहहरूले सर्वेक्षण गरेका एक व्यवसायीले चीन र अन्य देशहरूमा करका साथै स्टिल र आल्युमिनियम आयातमा करसहित प्रस्तावित शुल्कले ‘अमेरिकी खुद्रा बिक्रेताहरूलाई असाधारण दबाब’ दिने चिन्ता व्यक्त गरे।

सबै गैर–अमेरिकी निर्मित कार ढुवानी गर्ने जहाजहरू पनि १८० दिनमा सुरु हुने शुल्कबाट प्रभावित हुनेछन् ।

वासिङ्टनले तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) बोक्ने जहाजका लागि पनि नयाँ शुल्क लागू गर्दैछ, यद्यपि ती तीन वर्षसम्म लागू हुँदैनन् ।

उक्त घोषणासँगै लेखिएको तथ्यपुस्तिकामा भनिएको छ, ‘ग्रेट लेक्स वा क्यारेबियन सिपिङ, अमेरिकी क्षेत्रहरूमा ढुवानी वा संयुक्त राज्य अमेरिकामा खाली आउने जहाजहरूमा ढुवानी हुने निर्यातलाई शुल्कले समेट्ने छैन।

ग्रीरले केही जहाज, क्रेन र चिनियाँ कार्गो बोक्ने उपकरणहरूमा प्रस्तावित अतिरिक्त कर लागू हुने घोषणा गर्नुभएको हो ।

“ट्रम्प प्रशासनको कदमले चिनियाँ प्रभुत्वलाई उल्ट्याउनेछ, अमेरिकी आपूर्ति श्रृङ्खलामा रहेको खतरालाई सम्बोधन गर्नेछ र अमेरिकानिर्मित जहाजहरूको लागि माग सङ्केत पठाउन सुरु गर्नेछ,” ग्रीरले भन्नुभयो ।

चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?

चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ । यस मिसनले क्षुद्रग्रहको नजिक पुगेर अध्ययन गर्ने र नमुना सङ्कलन गर्नेछ ।

क्षुद्रग्रह अन्वेषण मिसन भन्नाले अन्तरिक्षमा रहेका साना ग्रहजस्तै आकृतिका वस्तुहरू, जसलाई क्षुद्रग्रह भनिन्छ, तिनीहरूको अध्ययन गर्न पठाइने अन्तरिक्ष अभियानलाई जनाइन्छ । यस्ता मिशनहरूबाट क्षुद्रग्रहको बनावट, उत्पत्ति, सतहको अवस्था, गति आदिको बारेमा जानकारी लिइन्छ, जसले सौरमण्डलको इतिहास बुझ्न सहयोग पु¥याउँछ । साथै, पृथ्वीमा खतरनाक रूपमा नजिक आउने क्षुद्रग्रहहरू पहिचान गर्न र भविष्यमा यिनबाट बच्ने उपाय सोच्न पनि यस्ता मिसन उपयोगी हुन्छन् ।

त्यस्तैगरी, ‘शेञ्चौ–२०’ र ‘शेञ्चौ–२१’ नामक मानिस चढाइने यानहरू पनि यही वर्ष अन्तरिक्षतर्फ पठाइने छन् ।

चीनले अन्य देशहरूसँग मिलेर संयुक्त अन्तरिक्ष अनुसन्धान पनि गर्दैछ । युरोपसँग मिलेर बनाइने एउटा अभियानले सूर्यको हावा पृथ्वीको चुम्बकीय क्षेत्रमा कसरी असर गर्छ भन्ने कुरा पत्ता लगाउनेछ । अर्को परियोजनामा चीन र इटालीले मिलेर भू–कम्प पहिल्यै थाहा पाउने उद्देश्यले एउटा उपग्रह निर्माण गरिरहेका छन् ।

चीनले बेल्ट तथा सडक पहलमा सहभागी भएका देश, ब्रिक्स समूहका राष्ट्र र युरोपेली साझेदारहरूसँग मिलेर चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने, अन्तरिक्षमा संयुक्त अध्ययन गर्ने र विज्ञान प्रविधिको आदानप्रदान गर्ने योजना अघि बढाइरहेको छ ।

चीनले आफ्नो उपग्रह सेवामार्फत कृषि विकास, विपद् व्यवस्थापन तथा स्मार्ट सहर निर्माणजस्ता क्षेत्रमा पनि अन्य राष्ट्रहरूलाई सहयोग गर्नेछ ।

यसै सन्दर्भमा, चीनले यस वर्षको अन्तरिक्ष दिवस अप्रिल २४ मा मनाउनेछ । सो अवसरमा शाङ्घाइ शहरमा बृहत् कार्यक्रमहरू आयोजना गरिने छन्, जसमध्ये उद्घाटन समारोह, अन्तरिक्ष प्रदर्शनी, सांस्कृतिक गोष्ठी तथा शैक्षिक सम्मेलनहरू मुख्य हुनेछन् ।

देशभर करिब ६५० वटा सार्वजनिक कार्यक्रम आयोजना हुनेछन्, जसमा विद्यालय खुला गर्ने, वैज्ञानिकद्वारा कक्षा सञ्चालन, विज्ञान प्रदर्शनी, प्रतियोगिता तथा कार्यशाला हुनेछन् ।

यस पटकको अन्तरिक्ष दिवसमा थाइल्याण्डलाई विशेष अतिथि राष्ट्रको रूपमा आमन्त्रित गरिएको छ । चीन र थाइल्याण्डले चन्द्र–अभियान, संयुक्त उपग्रह निर्माण र पृथ्वी अवलोकनसम्बन्धी सहकार्यलाई अझ विस्तार गर्ने योजना बनाएका छन् ।

चीनले आफ्नो पहिलो उपग्रह ‘तुङफाङहोङ–१’ सन् १९७० को अप्रिल २४ मा प्रक्षेपण गरेपछि, यही दिनलाई सम्झनाका रूपमा सन् २०१६ देखि प्रत्येक वर्ष ‘चीन अन्तरिक्ष दिवस’ को रूपमा मनाउँदै आएको हो ।

‘राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको छ’

पाटन (ललितपुर), ५ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको बताउनुभएको छ ।

आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनद्वारा आज आज यहाँको गोदावरी नगरपालिका–४ बडिखेलमा आयोजित पाँचौँ पुरुष तथा महिला राष्ट्रव्यापी क्योकुशिनकाई कराते प्रतियोगितामा मन्त्री गुरुङले नेपालको भूगोलअनुसार मार्सल आर्टमा ध्यान दिने हो भने अन्तरराष्ट्रिय क्षेत्रमा धेरै सफलता हासिल गर्न सकिने बताउनुभयो ।

“खेलकुदलाई महत्व दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु, खेलकुदमा हामीले धेरै काम गर्न सक्छौँ, नेपालको गरिमा र प्रतिष्ठा कायम गर्न सक्छौँ, राष्ट्रिय स्वाभिमान कायम राख्न सक्छौँ”, उहाँले भन्नुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा खेलकुदका पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्ने कुरालाई समेट्ने प्रयास गर्ने बताउनुभयो ।

“विश्वस्तरमा हुने प्रतिस्पर्धामा भाग लिन सक्ने खेलाडी उत्पादनमा हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौं, खेल पूर्वाधारको पर्याप्त विकास गर्न नसक्दा हामी पछाडि परेका छौँ, त्यसलाई ध्यान दिने छौँ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशका सचिव नवराज सिलवालले स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले युवा खेलाडीलाई उत्प्रेरणा प्राप्त हुने बताउनुभयो । उहाँले खेलाडीलाई प्रतिबद्ध भएर खेल्न आग्रह गर्नुभयो ।

आइकेओके क्योकुशिनकाई नेपालका मुख्य प्रशिक्षक समीर श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न डोजोमा प्रशिक्षण गराउने १७ जना प्रशिक्षकले निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ । आजबाट सुरु भएको प्रतियोगिता भोलि शनिबार सम्पन्न हुने आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनका शाखा प्रमुख केशव देसारले जानकारी दिनुभयो ।

व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको छ : उपप्रधानमन्त्री सिंह

चितवन, ५ वैशाख-उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको बताउनुभएको छ ।
पुलचोक–गोन्द्राङ् ६ लेन सडकको आज यहाँ उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले पछिल्ला वर्षमा धेरै काम भएको तर जनताको अपेक्षाअनुसार काम गर्न भने समय लाग्ने बताउनुभयो । आफ्नै लगानीमा काम गर्न सकिन्छ भन्ने बलियो उदाहारण यो सडकले दिएको उहाँको भनाइ थियो ।

“अब सडक बनाउने अनी भत्काउने गर्न हुँदैन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम गर्नुपर्छ । सङ्घीयताको भावना भनेकै सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने हो”, उहाँले भन्नुभयो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले यसरी नै पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो । उहाँले यो सडक सरकारकै लगानीमा बन्दै गरेको बताउनुभयो । 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सडक निर्माणका क्रममा एकैपटक सबै पूर्वाधार रहने गरी गृहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता परियोजना बनाउँदा धेरै बाधा व्यवधान आउने भन्दै सबै मिलेर निर्माणका काम गर्नुपर्ने बताउनुभयो । यो बागमती प्रदेशकै नमूना सडक भएको उहाँले बताउनुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पहल कदमी महानगरले लिएकाले यो सडक निर्माण सम्पन्न हुँदै गर्दा सबैभन्दा खुसी आफू र महानगरवासी भएको बताउनुभयो । सडक निर्माणका लागि महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर आग्रह गरेपछि काम भएको उहाँले जानकारी दिनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हालसम्म देशभर एक लाख पाँच हजारभन्दा बढी किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । विसं २०६२÷६३ मा ६५ हजार किलोमिटर सडक कालोपत्र भएकामा २०४७ साल अघि २५ हजार किलोमिटर मात्र सडक कालोपत्र भएको उहाँले जानकारी दिनुभयो । देशका ७७ जिल्लाका सदरमुकाममा यातायातका साधन पुगेको र १९ पालिकाको कार्यालय मात्र सडक सञ्जालसँग जोडिन बाँकी रहेको सचिव शर्माले बताउनुभयो । ६ दशमलव ८ किलोमिटर लम्बाइ भएको उक्त सडक खण्ड रु एक अर्ब १३ करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो । 

चार लेनमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

नवलपुर (नवलपरासी), ५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताउनुभएको छ ।

उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताउनुभयो । सडक निरीक्षणकै क्रममा उहाँले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिनुभयो ।  

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी हुनुहुन्थ्यो । देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उहाँले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । 

खेलकुदमा लगानी गर्न हिच्किचाउनुहुँदैन : सभामुख घिमिरे

कास्की, ५ वैशाख : सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका लागि खेलकुद अवसर प्रदान गर्दै युवा प्रतिभा विकास गर्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आज समापन समारोहमा उहाँले खेलकुदमा लगानी गर्न पुरानो पुस्ता हिच्किचाउने गरेको उल्लेख गर्नुभयो ।

“खेलकुदका नयाँ पूर्वाधार विकास र अधुरा काम छिटो पूरा गर्न सबैको ध्यान जानुपर्दछ । अहिले स्थानीय युवाको सक्रियता र सरकारको ध्यान पुग्दा केही काम भएका छन् । सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ,” सभामुख घिमिरेले भन्नुभयो ।

खेलको माध्यमबाट सम्बन्ध विकास, युवाको सक्रियतालाई बढाउने, युवाको निराशा अन्त्य र प्रतिस्पर्धामा अगाडि बढ्दै अन्तरराष्ट्रिस्तरमा देशलाई चिनाउने काम गरेको उहाँको भनाइ छ । “नेपालले छोटो समयमै खेलकुदमा अन्तरराष्ट्रिय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । खेलको माध्यमबाट पर्यटन विकास र कूटनीतिक सम्बन्ध विकास भएको छ । युवालाई खेलकुदमा अघि बढाउँदै नेपाललाई विश्वव्यापी रुपमा खेलको आकर्षक देशमा चिनाउनुपर्दछ”, सभामुख घिमिरेले भन्नुभयो ।

राज्यले प्रतिभालाई नयाँ मञ्च स्थापना गर्दै भौतिक पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एकेडेमीका अध्यक्ष धुव्र आचार्यले क्रिकेटको विकासका लागि आफ्नै टिम बनाउने बताउनुभयो । उहाँले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अन्य खेलाडीको छनोट गरिने जानकारी दिनुभयो ।

आचार्यले भन्नुभयो, “छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्नेछौँ । उचित सेवा सुविधा खेलाडीलाई प्रदान गर्नेछौँ ।” प्रतियोगितामा कूल १६ टिमको सहभागिता रहेको थियो ।

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

कास्की, ५ वैशाख : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौँलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो । प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौँले रु पाँच लाख र ट्रफी पुरस्कार पायो ।

फाइनल खेलमा जितका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा ‘नटआउट’ रहँदै टोलीलाई जित दिलाए । वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे भने नारायणले १० बलमा एक छक्का प्रहार गरे । किरण ठगुना ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए ।

काठमाडौँका लागि दीपेन्द्र रावतले तीन विकेट लिँदा मनोज यादव र सूर्य तामाङले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ ओभरको चौथो बलमा अलआउट हुँदै एक सय ८२ रन बनाएको थियो । अर्जुन घर्ती ६८ रनको उत्कृष्ट पारी खेल्दै ‘क्याचआउट’ हुन पुुगे ।

पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्दै आउट भए । शिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन–तीन विकेट लिएभने विपीन खत्री र मिलन बोहोराले दुई–दुई विकेट हात पारे । प्रतियोगितामा काठमाडौँका दीपेन्द्र रावत ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै रु ३० हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान रु २० हजार पाए । प्रतियोगिताका विजेता खेलाडीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले पुरस्कार वितरण गर्नुभयो ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टिमको सहभागिता थियो । प्रतियोगितामा बागमती प्रदेशबाट चार र अन्य प्रदेशबाट दुई–दुईवटा टोलीको सहभागिता थियो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले एकेडेमीका संस्थापक रहनुभएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा गत वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघिको पहिलो संस्करणको उपाधि मधेस प्रदेशले जितेको थियो ।