`

अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् । शुक्रवार नयाँ वर्ष २०८२ को शुभकामना तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले पूँजीवादी आर्थिक व्यवस्था भित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् ।

उनले भने,‘मानव समाजलाई अगाडि बढाउने सन्दर्भमा राजनीतिक प्रणालीका हिसावले सबैभन्दा उत्कृष्ट प्रणाली लोकतन्त्र प्रणाली हो । अर्थतन्त्रलाई अगाडि बढाउने हिसावमा सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी आर्थिक व्यवस्था नै हो । त्यो पूँजीवादी आर्थिक व्यवस्था भित्र नाफा हुन्छ । नाफा कसरी कमाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

उनले निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए । ‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पूँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’ उनले भने ।

कञ्चनपुरमा विपद्जन्य घटना न्यूनीकरणका लागि नेपाली सेनाको ‘कृत्रिम नमूना’ अभ्यास

कञ्चनपुर, ५ वैशाख : विपद्जन्य घटना न्यूनीकरणका लागि नेपाली सेनाले आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कृत्रिम नमूना अभ्यास कार्यक्रम आयोजना गरेको छ ।नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तीनदिने तालिमपश्चात नमूना कृत्रिम अभ्यास कार्यक्रम आयोजना गरेको हो । कृत्रिम नमूना अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्काउट, रेडक्रसकर्मी, एनसिसी क्याडेट, स्थानीय तहका विपद् शाखाका कर्मचारीलगायतको सहभागिता थियो ।

नमूना कृत्रिम अभ्यासका क्रममा आगलागी नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानीका बारेमा अभ्यास गरेर देखाइएको नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्ण भट्टले बताउनुभयो । “खाना पकाउने ग्यास चुहावट भई हुने आगलागी नियन्त्रण गर्न कुन निकायमा खबर गर्ने, के–के सावधानी अपनाउने, नियन्त्रण कसरी गर्ने भन्ने कुरा नमूना अभ्यासका क्रममा देखाइएको छ”, उहाँले भन्नुभयो, “आगलागी भई घरभित्र थुनिएका व्यक्तिको सकुशल उद्धार गर्ने तरिकाबारे पनि अभ्यासका क्रममा देखाइएको छ ।”

आगलागीमा परेर घाइते भएका व्यक्तिलाई प्राथमिक उपचार गरी अस्पताल लैजाने प्रबन्ध मिलाउने कुरा अभ्यासका क्रममा देखाइएको उहाँको भनाइ छ । ग्यास लिकेज भएमा कसरी बन्द गर्ने र सुरक्षित हुने भन्नेबारे पनि नमूना अभ्यास गरिएको छ ।

यसअघिको दुई दिन श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेलले भूकम्पीय जोखिम, कालिरक्षा गण (ई) कैलालीका उपसेनानी विदेश बजगाईँले सर्पदंश, जमदार नृपबहादुर रोकायाले आगलागीसम्बन्धी जानकारी दिनुभएको थियो ।

तालिममा सहभागीलाई विपद्का विविध पक्षबारे जानकारी दिने कार्यसँगै जोगिने उपायका बारेमा बताइएको थियो । तालिमका सहभागीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जैविक विविधतामा देश धनी भएको उल्लेख गर्नुहँुदै जहाँ बढी विविधता हुन्छ, त्यहाँ विपद् बढी हुनु स्वाभाविक भएको बताउनुभयो । “विपद् आउँछ भन्ने थाहा छ”, उहाँले भन्नुभयो, “कहिले आउँछ थाहा हुँदैन, विपद्को प्रतिकार्यमा सबैले आ–आफ्नो स्थानबाट जुट्नुपर्ने हाम्रो अभिभारा छ ।”

तालिममा सिकेका कुरा समुदायमा सिकाएर सशक्त बनाउन उहाँले आग्रह गर्नुभयो । नगर उपप्रमुख पन्तले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । “विपद् जतिबेला पनि आउन सक्छ”, उहाँले भन्नुभयो, “सूचना दिएर आउँदैन, हामीले जहिले पनि पूर्वतयारी गरेर बस्नुपर्छ ।”

मेटालाई नेपालमा सूचीकृत गराउन पहल : मन्त्री गुरुङ

काठमाडौँ, ५ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई समाजप्रति उत्तरदायी बनाउन मन्त्रालयले मेटा नामक कम्पनीलाई सम्पर्क केन्द्र तोक्न जोड दिइरहेको बताउनुभएको छ ।

आज यहाँ सञ्चारिका समूहको नवौैँ महाधिवेशनमा मन्त्री गुरुङले देशको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र समुदायको हितका लागि सामाजिक सञ्जालको नियमन आवश्यक रहेको उहाँको भनाइ छ । यसका लागि हालसम्म मन्त्रालयमा भाइबर, टिकटक, विच्याटलगायत केही सामाजिक सञ्जालले सम्पर्क केन्द्र सूचीकृत गराइसकेको उहाँले जानकारी दिनुभयो । 

मेटासँग मन्त्रालयले सरकारको सम्पर्कमा आउनुपर्ने विषयमा बारम्बार दबाब दिइरहँदा अटेरी गरेको मन्त्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मेटाले सरकारलाई टेर्दैन, यति भन्दैमा हामीले उम्किन भने दिँदैनौँ । जसरी पनि नेपाल सरकारप्रति जवाफदेही बनाउँछौँ र सम्पर्क केन्द्र सूचीकृत गराउछौँ ।” 

उहाँले राष्ट्रियसभाबाट पास भएको मिडिया काउन्सिल विधेयक हाल प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको बताउनुभयो । आमसञ्चार प्राधिकरण बनाउने विषय भने अर्थ मन्त्रालयमा सहमतिका लागि छलफल भइरहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । साथै सञ्चार माध्यमका पुरानो नीति र ऐन संशोधन गर्ने प्रक्रियामा मन्त्रालयले सक्रियता जनाउँदै आएको उहाँको भनाइ छ । “पुराना नीति परिमार्जन गरेर समय सापेक्ष बनाउन लागेको छु”, उहाँले भन्नुभयो । उहाँले सरकारी आमसञ्चार माध्यम कुनै नेता वा पार्टीप्रति उत्तरदायी नभई जनताप्रति जवाफदेही हुनुपर्ने धारणाका साथ सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) बनाएको बताउनुभयो । 

गोरखापत्र र राइजिङ नेपाललाई गाभेर सार्वजनिक सेवा प्रकाशन (पिएसपी) ढाँचामा रुपान्तरण गर्ने प्रक्रिया मन्त्रालयले सुरु गरिसकेको जानकारी उहाँले दिनुभयो ।

‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ५ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन भएको बताउनुभएको छ ।

खेलकुद क्षेत्रसँग सम्बन्धित सङ्घ सँस्था र प्रशिक्षकहरूसँग आज भएको भेटघाटमा उहाँले प्रतियोगिता स्थगन हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना तय गरिएको थियो ।

प्रतियोगिता गर्ने भन्ने तर आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको उहाँको भनाइ छ । पछिल्लो समय प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिनेगरी काम नभएकामा मुख्यमन्त्री कँडेलले असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

खेलकुद प्रतियोगिता कर्णालीमा हुने भए पनि त्यसको मुख्य आयोजक सङ्घीय सरकार भएकाले पूर्वाधारमा प्रदेशलाई सहयोगको आग्रह गर्दासमेत सुनुवाइ नभएको मुख्यमन्त्री कँडेलको गुनासो छ । उहाँले भन्नुभयो, “विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा करोडौँ खर्च गर्ने सङ्घीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा लगानी गर्नुपथ्र्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।”

मुख्यमन्त्री कँडेलले प्रदेश रङ्गशालाको काम सकेर हन्तान्तरण भएको दिन भुक्तानीको समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले कुनैबेला एक प्रतिशत काम बाँकी छ भन्ने कुनैबेला सम्पन्न भयो भन्ने गरेको छ, रङ्गशाला हस्तान्तरण भएको छैन । काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ ।” निर्माण व्यवसायीले काम भन्दा बढी बहानाबाजी गर्दै हिँडेको आरोप लगाउनुभयो ।

रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तिबारे छलफल गरेर चाँडै टुङ्गोमा पुग्ने तयारी भएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते

काठमाडौँ, ५ वैशाख : यस वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । दुई सय ५७ जना घाइते भएको रााष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । मुलुकमा अहिले प्रि–मनसुनको अवधि छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्च देखि मे महिनासम्मको समयलाई प्रि–मनसुन भनिन्छ । प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ । यो अवस्था अझै केही दिन रहने छ । जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न, विपद्बारे चासो राखी चनाखो बनी विपद् सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्याउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

संवैधानिक प्रावधान तथा सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपनको काम हुँदै आएको छ । यसका लागि स्थापित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीयदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचना तथा संयन्त्रको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले जनाएको छ ।

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ, ५ वैशाख : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वार्षिक रु २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उहाँले सो निर्देशन दिनुभएको हो ।

यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा राणाले सो अवसरमा बताउनुभएको थियो । पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री डा राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने सो अवसरमा बताउनुभयो । यस विषयमा उहाँले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गर्नुभएको थियो ।

निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल :प्रमुख सचेतक पाण्डे

काठमाडौँ, ५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले ‘सङ्घीय निजामती सेवाको सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा ‘कुलिङ पिरियड’ कम्तीमा दुई वर्षको राख्नुपर्ने सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवाको सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा प्रमुख सचेतक पाण्डेले भन्नुभयो, “कुलिङ पिरियड नराख्दा विशिष्ट श्रेणीको कर्मचारी कार्यकाल पूरा नहुँदै राजीनामा दिएरसमेत जाने गरेका कारण नागरिकलाई गर्ने सेवा प्रभावित भइरहेको छ, अतिरिक्त सचिवको विषयमा एकपटक अनुभव गरेर हटाइसकिएको हो ।”

नेपाली कांग्रेसका सांसद एवं समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित उपसमितिले विधेयकलाई टुङ्गोमा पुर्याएर समितिलाई गत चैत २० गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथिको छलफलमा सांसद हृदयराम थानीले कोही कसैलाई पनि विभेद हुनेगरी कानुन निर्माण गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटै मापदण्ड बनाउनुपर्छ, फरक–फरक नबनाउँ, कुलिङ पिरियडलाई एक वर्ष राखिएको छ, दुई वर्ष नै राखौँ, सबैको चाहना दुई वर्ष छ भने किन नराख्ने ?”

सांसद दुर्गा राईले सरकारी जागिरका लागि पुरुषको उमेर ३५ वर्ष कायम गर्दैगर्दा महिलाको हकमा ४० वर्ष नै राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पुरुषको ३५ वर्ष हुँदै गर्दा विधेयकमा महिलाको एक वर्ष किन घटाइएको हो ? यसमा किन अनुदार देखिएको हो ? यसमा ४० वर्ष नै राख्नुपर्छ ।”

सांसद रघुजी पन्तले भन्नुभयो, “अतिरिक्त सचिव पनि नराखौँ, नराख्दा त कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको छ, फेरि राखियो भने समस्या आउँछ, एघारौँ र बाह्रौँ तह छँदैछ, अतिरिक्त सचिव राख्ने हो भने फेरि राज्यलाई आर्थिक भार बढ्छ ।”

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटा, ५ वैशाखः राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अनुभूति सुनिन्छ ।

धनकुटाको विगतको त्यो विरासत र गर्विलो इतिहास अहिले नदेखिए पनि धनकुटा बजारको एकछेउमा रहेको सात दशकअघि खुलेको बिस्कुट उद्योगले भने पुराना दिनहरुलाई सम्झाउन छाडेको छैन । धनकुटाको जीवित इतिहासका रुपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरतरुपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ । यहाँको धनकुटे नरिवल बिस्कुटले जिल्लाको पहिचान स्थापना गर्ने मात्र होइन, यसको मौलिक स्वादले धेरैको मुख रसिलो बनाउँदै आएको छ ।

प्रशासनिक काममा धनकुटा आउने धेरै सरकारी कर्मचारी र सेवाग्राहीले चिया पिउँदा होस् वा घर फर्किंदा लैजाने कोसेलीको रुपमा धनकुटे नरिवल बिस्कुट पहिलो रोजाइमा पर्छ । रैथाने खाद्यवस्तु भएकाले धनकुटा बजार पुग्ने जो कोही आगन्तुकले घर फर्कंदा कोसेली स्वरुप धनकुटे नरिवल बिस्कुट खरिद गर्न भुल्दैनन् ।

लोकसेवा आयोगको परीक्षा दिन धनकुटा पुग्नुभएकी एक युवती बसपार्कमा बिस्कुट किन्दै गरेको भेटिनुभयो । बिस्कुट झोलामा हाल्दै उहाँले भन्नुभयो, “जतिपटक धनकुटा आएको छु, उतिनै पटक धनकुटे नरिवल बिस्कुट कोसेली लिएर गएकी छु । अन्य बिस्कुटभन्दा यसको स्वाद बेग्लै छ । स्थानीय उत्पादन भएकाले परिवार र साथीहरुले पनि खुब मन पराउँछन् । सबैले रुचाउने भएकाले यता आउँदा किनेर लैजान्छु ।”

भारतको जोगवनीबाट सुरु हुने कोशी राजमार्ग धनकुटा बजार छिचोल्दै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्छ । यो राजमार्गमा दैनिक हजारौँ गाडी गुड्छन् । ती गाडीको एउटा स्टेसन हो, धनकुटा बसपार्क । ती गाडीमा यात्रा गर्ने यात्रुहरुको रोजाइ पनि धनकुटे नरिवल बिस्कुट पर्ने गर्छ । धनकुटा बसपार्कका सबैजसो पसलमा विभिन्न किसिमका धनकुटे बिस्कुट राखिएको हुन्छ । बसपार्कमा एकछिन गाडी रोकिएको बेलामा पनि यात्रुहरुको आँखा धनकुटे बिस्कुटमै पर्छ । आफन्त भेटघाटमा पनि सबैभन्दा सजिलो कोसेली भएकाले यात्रुहरुले किन्ने गरेको धनकुटा बसपार्कमा रहेको पाथीभरा होटलका सञ्चालक दुर्गा राईले बताउनुभयो । उहाँले पनि होटलको बाहिर सोकेसमा चियासँग बिस्कुट खाने ग्राहकलाई खुवाउन र बाहिरका ग्राहकलाई बिक्री गर्न धनकुटे बिस्कुट राख्नुभएको छ ।

होटल, किराना र नाङ्ले पसलमा धनकुटे नरिवल बिस्कुट बिक्रीका लागि राखिएको हुन्छ । यसैबाट थाहा हुन्छ, धनकुटे नरिवल बिस्कुटको स्थानीय महत्व र बजारमा माग कति धेरै हुन्छ भन्ने। घरेलु प्रविधिबाट बन्ने धनकुटे नरिवल बिस्कुट कोसेली लैजान वा खाजाको रुपमा सबैको रोजाइमा पर्छ । धनकुटा सदरमुकामका ठूला बजारमा मात्र नभई गाउँका स–साना चिया पसलमा समेत यो बिस्कुटले स्थानीय ‘ब्रान्ड’को पहिचान बनाएको छ ।

सदरमुकामस्थित मदनचोकमा रहेको कञ्चनजङ्घा होटलका सञ्चालक गोरख कटुवालको भनाइमा होटलमा आउने आगन्तुकले चियासँगै धनकुटे नरिवल बिस्कुट अनिवार्य रूपमा खोज्छन् । होटलमा बसिञ्जेल नियमित खाजाको रुपमा खान्छन् । अनि घर फर्किंदा कोसेलीको रुपमा किनेर लैजान्छन् । त्यसैले होटलमा अन्य खाद्य र पेय वस्तुसँगै धनकुटे नरिवल बिस्कुट राख्ने गरेको होटल सञ्चालक कटुवालले बताउनुभयो । “प्याकेजिङ हेर्दा खासै राम्रो र लोभलाग्दो देखिँदैन । खै के सारो मन पराएका हुन् । स्वाद मानीमानी खान्छन्”, कटुवालले सुनाउनुभयो ।

विसं २००८ मा धनकुटा–४ निवासी स्व विश्वेश्वरमान श्रेष्ठले धनकुटे बिस्कुट बनाउन थाल्नुभएको हो । लामो अनुभवपछि स्व श्रेष्ठले नै २०३० सालमा घरेलु उद्योगमा मोहन बिस्कुट उद्योग दर्ता गराउनुभएको थियो । यो उद्योग अहिले पनि सञ्चालन भइरहेको छ । उहाँका छोरा मोहन श्रेष्ठले बुबाले थालनी गरेको धनकुटे नरिवल बिस्कुटको विरासतलाई निरन्तरता दिँदै आउनु भएको छ ।

पहिले धनकुटामा एउटा मात्र मोहन बिस्कुट उद्योग भएकाले सुरुमा थोरै उत्पादन हुन्थ्यो । बजार पनि सानै थियो । तर बिस्कुट उद्योगमा काम सिकेका कामदारले आफैँ उद्योग खोल्न थालेपछि अहिले उद्योगहरु बढेका छन् । उत्पादन बढेको छ र धनकुटे नरिवल बिस्कुटको बजार पनि फैलिँदै गएको छ । धनकुटा नरिवल बिस्कुट धनकुटा बजारसँगै भेडेटार, मूलघाट, हिले, सिधुवा, पाख्रीबासलगायत धनकुटाका बजारमा सहजै खरीद गर्न सकिन्छ ।

धनकुटा नरिवल बिस्कुटसँगै यहाँका उद्योगहरुले अहिले कोको, कुकिज, खास्ता, बदाम, डुनोट, फुलकेक, केकजस्ता १७ प्रकारका बिस्कुट उत्पादन गरिरहेका छन् । अहिले धनकुटाका विभिन्न स्थानमा बिस्कुट उत्पादन गर्ने एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । बजारमा यसको माग बढेसँगै उद्योग खुल्नेक्रम पनि झाँगिएको हो। सुरुवाती दिनमा मोहन बिस्कुट मात्रै सञ्चालनमा थियो । अहिले धनकुटा सदरमुकामसहित आँखिसल्ला, पाख्रिवास, हिले, मौनावुधुक, जीतपुर, पात्लेखोलालगायत स्थानमा बिस्कुट उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले नरिवल बिस्कुट, केक, पाउरोटीलगायत अन्य उत्पादन गरी वार्षिक रु एक करोडभन्दा बढीको बिस्कुट उत्पादन गरिरहेको अनुमान छ । करिब एक सय जनाभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी मिलेको छ ।

धनकुटे नरिवल बिस्कुटको इतिहास

विसं २००८ मा धनकुटा–४ देब्रेवासमा मोहन श्रेष्ठका बाबु स्व विश्वेश्वरमान श्रेष्ठले चिया पसल सञ्चालन गर्नुहुन्थ्यो । त्यो बेला पहाडबाट मधेस झर्ने र मधेसबाट पहाड उक्लने मान्छेहरुको मुलबाटो धनकुटा बजार थियो । ती मान्छेहरुको बास बस्ने थलोको रुपमा धनकुटा बजारको देब्रेबास नामी थियो । त्यही ठाउँमा खुलेको चियापसल पहाडी भेगको पहिलो र राम्रो मानिन्थ्यो।

चिया पिउने ग्राहकको मागअनुसार स्व श्रेष्ठले भारतबाट ल्याइएका बिस्कुट बेच्नु हुन्थ्यो रे । त्यतिबेला रु एकको २० वटा बिस्कुट ल्याएर एकआना गोटा बेच्दा चियाको व्यापार पनि बढ्यो रे । चिया खान आउने मान्छेले बिस्कुटका कुरा गर्थे। कतिपयले आफैँ बनाउनु पनि भन्थे रे, छोरा मोहनले बताउनुभयो । “चिया खान आउने मान्छेको कुरा सुनेर बुबाले पनि बिस्कुट बनाउन कोसिस गर्नुभयो । एक पावा मैदाको बिस्कुट आफ्नै पाराले दिनहुँ बनाउँदै सिक्न थाल्नुभयो । बिस्कुट बनाइसकेपछि आफैँले चिया पिउन आउने मान्छेलाई चखाउनुभयो रे । आफैँ चाख्दै र चखाउँदै गर्दा पहिले यो बिस्कुट धेरैले मन पराएनन् । तर, बुबाले हार नमानी हरेक दिनजसो भिन्नभिन्न तरिकाले बिस्कुट बनाउनेक्रममा एकदिन बिस्कुट बनाउँदा प्रयोग गरिने सबै वस्तु हालेर मुछेको पिठोबाट बनाएको बिस्कुट बनाउँदा फुल्यो । चिया खान आउने सबैलाई चखाउँदा मिठो मानेर तारिफ गरेपछि त्यही विधिलाई निरन्तरता दिएर बिस्कुट उत्पादन गर्न थालेको कथा बुबाले सुनाएको मोहनले बताउनुभयो ।

स्थानीय स्रोतसाधनलाई सदुपयोग गर्दै बिस्कुट पोल्ने भट्टी निर्माण गरी बिस्कुट उत्पादन सुरु गर्ने पहिलो व्यक्ति स्व विश्वेश्वरमान श्रेष्ठ बन्नुभएको थियो ।

विसं २००८ देखि बिस्कुट उत्पादनको परीक्षण सुरु भए पनि २०३० सालमा घरेलु उद्योगका रूपमा दर्ता गरी औपचारिक रूपमा मोहन बिस्कुट उद्योग सुरु भएको हो । त्यो बेला बुबाले ३३ हजार लगानीमा थालेको उद्योगमा अहिले २० लाखभन्दा बढी लगानी रहेको मोहनले बताउनुभयो । २०११ सालमा पाँच किलो मैदाबाट सुरू भएको मोहन बिस्कुट उद्योगले अहिले अर्डरअनुसारको बिस्कुट पु¥याउन मुस्किल पर्ने गरेको छ ।

मोहन आफैँ पनि कुनै बेला राम्रो गैरसरकारी संस्थामा जागिरे हुनुहुन्थ्यो । तर बुबाले थालनी गरेको उद्योगको विरासत जोगाउन र स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्नका लागि बुबाकै सल्लाहमा उद्योग सम्हाल्न २०५२ सालमा धनकुटा फर्किएको बताउनुभयो । उहाँलाई आफ्ना बुबाले मेहनत गरेर सञ्चालनमा ल्याउनुभएको व्यवसायभन्दा जागिर ठूलो लागेन । “एक्लै रोजगार हुनुभन्दा आफ्नो व्यवसायबाट अरुका लागि रोजगार सिर्जना गर्नु उचित ठानेर धनकुटा फर्किएँ । २०६५ सालमा बुबाको देहावसान भएपछि उद्योगको सिँगो जिम्मेवारी आफू र श्रीमती निमा श्रेष्ठले सम्हाल्दै आएका छौँ”, उहाँले बताउनुभयो ।

कसरी बन्छ नरिवल बिस्कुट ?

धनकुटे नरिवल बिस्कुट घरेलु प्रविधिबाट बनाइन्छ । काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा पोलेर बिस्कुट तयार पारिन्छ । सञ्चालक श्रेष्ठको भनाइअनुसार माटोको भट्टीभित्र दाउरा बालिन्छ । सो दाउरा जलेर बनेको कोइलामा बिस्कुट तताइन्छ र बिस्कुट पाक्छ । नरिवल बिस्कुटमा स्थानीयस्तरमै पाइने दूध, घ्यू र मैदाको प्रयोग गरिन्छ । घरेलु प्रविधिबाट नै बिस्कुट उत्पादन हुने भएकाले जनशक्ति धेरै नै चाहिन्छ । “बिस्कुट उत्पादनमा मेसिनको प्रयोग गरिँदैन । मैदा मुछ्नेदेखि भट्टीमा बिस्कुट पोल्ने र प्याकेजिङसम्मको सबै काम हातबाटै हुन्छ”, मोहनले बताउनुभयो । यो एक किसिमको परम्परागत प्रविधि पनि हो ।

बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा बिस्कुट उद्योगले मागअनुसार उत्पादन र बजार विस्तार गर्न नसकेको मोहनको भनाइ छ । कामको खोजीमा युवा विदेश पलायन हुन थालेपछि दक्षजनशक्तिको अभाव भएको छ ।

धनकुटा–६ पात्लेमा रहेको ओम बिस्कुट उद्योगका सञ्चालक टीकाराम कटुवालको भनाइअनुसार पनि जनशक्तिबाहेक दाउराको समस्या पनि धेरै छ । घरेलु प्रविधिबाट बिस्कुट उत्पादन हुने भएकाले अनिवार्य दाउराको आवश्यकता पर्छ । दाउरा जहीँतहीँ नपाइने र टाढाबाट ल्याउँदा लागत बढ्ने भएको बिस्कुटको मूल्य बढेको उहाँले बताउनुभयो ।

छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

बागमती, ५ वैशाखः हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उहाँले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग परामर्श, कार्यान्वयनयोग्य बजेट ल्याउन सुझाव

काठमाडौँ-आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूबाट सुझाव आएको छ ।

आगामी आवको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिनुभएको हो । त्यसैगरी उहाँहरूले बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिनुभएको छ ।

पूर्वअर्थमन्त्रीहरूले धेरै आयोजना प्रस्ताव गर्नेभन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । त्यसैगरी, स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डा बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टतासहित कार्यान्वयनयोग्य बजेटलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । पर्याप्त साधन, स्रोत नभइकन राज्यले सबै कुरा गर्न खोज्दा समस्या आएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा भट्टराईले सार्वजनिक, निजी, सहकारी र समुदायको भूमिका पनि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सीमित र कार्यान्वयन हुने खालका आयोजना ल्याउन आग्रह गर्नुभयो । उहाँले वित्त नीति र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणबद्ध रूपमा सम्पन्न गर्न जरूरी रहेको धारणा व्यक्त गर्नुहुँदै बनेका पूर्वाधारलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिलाई विशेष महत्त्व दिनुपर्ने उल्लेख गर्नुहुँदै प्रादेशिक हिसाबले पनि सुन्तलित बजेट ल्याउन सुझाव दिनुभयो ।

त्यसैगरी, पूर्वअर्थमन्त्री जनार्दन शर्माले आयातमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताउनुभयो । उहाँले नयाँ नीति बनाउनुभन्दा परिणाममुखी बजेट बनाउन जरुरी रहेको उल्लेख गर्दै ठूला पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने बताउँदै क्षेत्रीय, प्रादेशिक र भौगोलिक सन्तुलन कायम हुनेगरी बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले जनताले अनुभूति गर्ने खालका र सबै निर्वाचन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । वैदेशिक लगानीलाई विशेष जोड दिन पनि पूर्वअर्थमन्त्री कार्कीले सुझाव दिनुभयो ।

यस्तै, पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले पुराना आयोजनालाई सम्पन्न गर्ने र रु तीन करोडको सीमालाई ख्याल गर्न सुझाव दिनुभयो । तीन करोडभन्दा कम लागतका आयोजनाका लागि सङ्घ सरकारबाट बजेट विनियोजन गर्न नहुनेमा उहाँको जोड थियो । विगतको तुलनामा पर्यटन, पूर्वाधार, सिँचाइ, ऊर्जालगायत क्षेत्रमा धेरै प्रगति भएको उल्लेख गर्दै प्रतिफल दिने उद्योगहरूमा केन्द्रित हुन सुझाव दिनुभयो ।

पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले सङ्घ, प्रदेश र स्थानीय तहमा आम्दानी र खर्चको योजनासहित अनुशासित बजेट ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले उद्योग र कृषिलाई समन्वय गर्ने संयन्त्र जरुरी रहेको उल्लेख गर्दै बजेट निर्माणलाई प्रभावकारी र परिणामुखी बनाउनमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री डा रूप ज्योतिले निजी क्षेत्रलाई सहजीकरण गर्न नीतिगत सुधारमार्फत प्रतिस्पर्धालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न आग्रह गर्नुभयो । छलफलका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रियताको खोजी गरेर बजेट ल्याउने सुविधा नभएको उल्लेख गर्दै यथार्थपरक र अनुशासित बजेटको तयारीमा रहेको बताउनुभयो ।

ट्रम्पको भन्सार शुल्कले युरोजोन वृद्धिमा चिन्ता बढाएपछि इसिबीद्वारा ब्याजदरमा कटौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टप–स्टार्ट (रोक्ने–सुरु गर्ने) भन्सार शुल्क घोषणाले युरोजोनमा वृद्धिलाई खतरामा पार्न सक्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (इसिबी) ले बिहीबार फेरि ब्याज दरहरू कटौती गरेको छ ।इसिबी नीति निर्माताहरूले एकल–मुद्रा क्षेत्रका लागि उधारो लागतमा केन्द्रीय बैंकको लगातार छैटौँ कटौतीलाई चिह्नित गर्दै दरहरू एक चौथाइ–विन्दुले घटाउने निर्णय गरेका छन् ।

यस निर्णयले इसिबीको बेन्चमार्क डिपोजिट रेटलाई दुई दशमलव २५ प्रतिशतमा झारेको छ । यो सन् २०२३ को सुरुदेखि यता सबैभन्दा कम हो ।मुद्रास्फीति इसिबीको दुई प्रतिशत लक्ष्यतिर फर्किएपछि दर निर्धारण गर्नेहरूले युरोजोनमा उधारो लागत विस्तारै कम गरेका छन् ।

तर मुद्रास्फीति सही दिशामा अघि बढ्दै गर्दा ‘व्यापारिक तनावहरू बढ्दै गएका कारण वृद्धिको सम्भावना बिग्रिएको’ इसिबीले एक विज्ञप्तिमा बताएको छ ।
मार्चमा भएको अन्तिम बैठकपछि इसिबीले आफ्नो कटौती रोक्ने तयारी गरेको थियो तर ट्रम्पको आँधीबेहरी भन्सार शुल्क नीतिले उत्पन्न गरेको डरले यसलाई बाध्य पारेको देखिन्छ ।

आइएनजी बैंकका विश्लेषक कास्र्टन ब्रजेस्कीले बिहीबारको कटौती ‘त्यति आश्चर्यको नभएको’ बताउनुभयो । ‘धेरै विचारित’ दृष्टिकोण अपनाएर विस्तारै दरहरू घटाउने खोजेको इसिबी अब ‘फेरि एकपटक पछि पर्ने’ जोखिममा परेको ब्रजेस्कीले बताउनुभयो ।

– भन्सार शुल्क अन्योल –

बैठकमा जाँदा इसिबी दर–निर्धारकहरूलाई अन्ततः ट्रान्स–अटलान्टिक व्यापारमा कुन भन्सार महसुल दर लागू हुनेछ र यसले वृद्धिमा कस्तो प्रभाव पार्न सक्छ भन्ने बारे थोरै जानकारी हुनेछ ।

अमेरिकामा हुने आयातमा १० प्रतिशतको आधारभूत भन्सार शुल्क दरका अतिरिक्त ट्रम्पले अटोमोटिभ, स्टिल र एलुमिनियम क्षेत्रमा २५ प्रतिशत कर लगाउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा सशक्त ‘लिबरेसन डे’ भन्सार महसुल सार्वजनिक गरेर विश्व बजारलाई तर्साउनुभएको थियो तर तुरुन्तै युरोपेली सङ्घ (इयु) सहित दर्जनौँ देशका लागि ९० दिनका लागि उच्च भन्सार शुल्क रोक्नुभएको थियो ।ह्वाइट हाउसले चिप्स र फार्मास्युटिकल्समा पनि जाँच सुरु गरेको छ जसले युरोजोनलाई प्रभाव पार्न सक्ने थप उद्योग–विशिष्ट भन्सार महसुलहरू ल्याउन सक्छ ।इसिबीले ‘असाधारण अनिश्चितता’ को सामना गरिरहेको र आगामी दिनमा ‘डाटा–निर्भर र बैठक–देखि–बैठक’ दृष्टिकोण अपनाउने बताएको छ ।

अनिश्चितताले ‘घरपरिवार र फर्महरूबीच विश्वास घटाउने सम्भावना’ रहेको केन्द्रीय बैंकले बताएको छ भने बजार तनावहरूले कडा वित्तीय अवस्थाहरू निम्त्याउनेछ । इटालियन ऋणदाता युनिक्रेडिटका विश्लेषकहरूका अनुसार त्यस सन्दर्भमा घरपरिवार र व्यवसायहरूमाथिको तनाव कम गर्न र अर्थतन्त्रलाई समर्थन दिन अर्को कटौती ‘सिधा’ देखिन्थ्यो ।

उच्च अमेरिकी भन्सार महसुलका प्रभावहरूले युरोजोनको सबैभन्दा ठूलो सदस्य जर्मनीमा योजनाबद्ध व्यापक खर्चद्वारा दिइएको ‘सकारात्मक प्रभाव’ लाई ‘पछि पार्ने’ उनीहरूले बताए ।फ्रेडरिक मेर्जको नेतृत्वमा बर्लिनमा आउने सरकारले रक्षा र पूर्वाधारका लागि सयौँ अर्ब युरो अतिरिक्त नगद जम्मा गरेको छ । यसले युरोपभरि महसुस गर्न सकिने प्रोत्साहन प्रदान गरेको छ ।

काठमाडौंसहित यी स्थानमा हुनेछ आज वर्षा

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आईपीएलमा मुम्बईको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हराएको हो ।सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बईले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे । तिलक बर्मा २१ रनमा अविजित रहे ।
मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

यस अघि वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो ।
उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए ।जितपछि मुम्बई ६ अङ्क सहित सातौँ स्थानमा उक्लिएको छ । हैदरावाद ४ अङ्क सहित नवौँ स्थानमा छ ।

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज (पर्सा), ५ वैशाखः जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

 “स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ  । गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो । 

मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी, ५ वैशाखः मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण

भद्रपुर (झापा), ५ वैशाख : कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली नोक्सान गरिदिने भएकाले गहुँबालीको विकल्पमा मकैखेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।

“जङ्गली हात्तीले गहुँबाली घाँसका रूपमा खाइदिने भएकाले जोगाउनै मुस्किल पथ्र्यो”, ती दिनको सम्झना गर्दै स्थानीय किसान गणेशले भन्नुभयो, “मकैखेती गर्न थालेदेखि गहुँबालीको तुलनामा उत्पादन पनि धेरै हुनुका साथै जङ्गली हात्तीले समेत कमै मात्रामा नोक्सान पुर्याउने गरेको छ ।”

सिँचाइको सुविधा हुने र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सक्यो भने एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । यो वर्षदेखि कृषि ज्ञान केन्द्र झापाको सहयोगमा शून्य खनजोत कार्यक्रमअन्तर्गत मकैखेती गर्न थालेपछि लागत घटेको उहाँको भनाइ छ ।

अर्जुनधारा नगरपालिका–४ भाङवारी किसान प्रेम आचार्यले गहुँखेती नलगाएको १० वर्ष भयो । हिउँदे खेतीमा गहुँ पाक्ने समयमा दुईवटा खेती गर्न सकिने भएकाले तोरी तथा मकैखेती लगाउन सुरु गरेको उहाँ बताउनुहुन्छ । एउटै याममा दुई खेती गर्न सकिने र राम्रो आम्दानी पनि हुने भएकाले गहुँखेती गर्न छाडेको उहाँका भनाइ थियो ।

झापामा पछिल्ला वर्ष गहुँ उत्पादन हुने जमिनको क्षेत्रफल घट्दै गएको छ । यहाँका किसानले गहुँको विकल्पमा अन्य हिउँदे बाली रोजेपछि गहुँको उत्पादन र क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार आव २०७९÷८० मा चार हजार पाँच सय हेक्टर जमिनमा गहुँखेती लगाइएकामा आव २०८०÷८१ मा तीन हजार हेक्टर पुगेको छ ।

ज्ञान केन्द्रको तथ्याङ्कानुसार मकैखेती लगाएको क्षेत्रफल आव २०८०÷८१ मा ४४ हजार ३५० हेक्टर पुगेको छ । गहुँखेतीभन्दा मकै लगायत अन्य खेतीमा फाइदा हुने भएपछि गहुँखेतीप्रति किसानमा विकर्षण देखिएको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ५ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु १५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ३५, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

दमौली (तनहुँ), ५ वैशाखः मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।

व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो ।

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।

पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।

लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस

काठमाडौँ, ५ वैशाख : संसद्को सार्वजनिक लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदन पेस भएको छ ।

समितिले राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरेर सो विमानस्थल निर्माणका सम्बन्धमा भएको समग्र पक्षको अध्ययन गरेको थियो । उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य हुनुहुन्थ्यो । उपसमितिको प्रतिवेदन समितिमा पेस हुने र आवश्यक छलफलपछि निर्णय हुने समितिले जनाएको छ ।

विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिको २०८१ जेठ २७ को निर्णयबमोजिम अध्ययन तथा अनुगमन गरेको थियो । विसं २०८१ असार २३ देखि २५ गतेसम्म लिङ्देन संयोजकत्वको उपसमितिले स्थलगत अध्ययन गरेको थियो ।

उपसमितिले विमानस्थल निर्माणमा संलग्न सरोकारवाला निकाय, स्थानीय बासिन्दा तथा विज्ञहरूसँग आवश्यक छलफल गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनमा समग्र पक्षका बारेमा उल्लेख गरिएको छ । विमानस्थलको भौतिक संरचना, उपकरण, धावनमार्ग तथा विमानस्थल वरिपरिको स्थल, कटान गरिएको छिनेडाँडाको पनि स्थलगत अनुमगन गरेको थियो ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा करिब रु २२ अर्ब लागतमा सो विमानस्थल निर्माण भएको हो । सो विमानस्थल २९ डिसेम्बर, २०२२ मा निर्माण सम्पन्न भई १ जनवरी २०२३ (२०७९ पुस १७ गते)देखि सञ्चालनमा आएको हो ।

सो विमानस्थलमा केही अन्तरराष्ट्रिय चार्टर उडानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुनसकेको छैन । हाल सो विमानस्थलबाट नियमित रूपमा आन्तरिक उडान मात्र भइरहेको छ । उपसमितिले तयार पारेको प्रतिवेदनको आवश्यक अध्ययनपछि उपयुक्त निर्णयमा पुगिने समितिले जनाएको छ ।

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौँ, ५ वैशाख : सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गर्न लागिएको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिपतिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने उहाँले सुनाउनुभयो ।

सम्पदा प्रभाव मूल्याङ्कन गरिने

सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको हो ।

पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि बनाएको महानिर्देशक सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो । सम्पदा प्रभाव मूल्याङ्कनका लागि नेपालमा सरकारीस्तरबाट दिइएको यो पहिलो तालिम गत वर्ष दिइएको विभागले जनाएको छ । यसरी तालिम लिएका जनशक्तिबाट नै सम्पदा प्रभाव मूल्याङ्कन सुरु भएको उहाँले बताउनुभयो ।

विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय पारेको छ । ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्याङ्कन सुरु गरिएको हो । कार्यविधिले गरेको व्यवस्थाअनुसार सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट , ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी), ५ वैशाख : सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ ।

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

आगलागीमा स्थानीय बाबुनन्द गोइतको रु एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा

काठमाडौँ, ५ वैशाख : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।

तीसपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ । हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको थियो । केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् ।

यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्कनुभएको छ । “बीस दिनभित्र चारपटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ”, उहाँले भन्नुभयो । सन् २०१७ देखि आरोहणमा लाग्नुभएका शेर्पाले सगरमाथा चारपटक आरोहण गरिसक्नुभएको छ । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढ्नुभएको छ ।

सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का २८ वर्षीय टासीले सुरुमा सगरमाथा आरोहण, दोस्रोपटक आमादब्लम आरोहण गर्नुभयो । उहाँका बुबाले सगरमाथा आरोहण गर्नुभएको थियो । बुबाकै प्रेरणाले आरोहणमा नयाँ रेकर्ड बनाउन लागेको उहाँले बताउनुभयो । दावाफुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथामा चढेर कीर्तिमान बनाउनुभएको थियो ।

एटके एक्सपीडिसन कम्पनीमार्फत सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउन त्यसतर्फ लागेको उहाँले बताउनुभयो । टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडका रूपमा काम गर्नुभएको छ । परिवारमा बुबा, श्रीमती एक छोरा एक छोरी हुनुहुन्छ । टासीले सगरमाथाको चारपटक सफल आरोहण गरिसक्नुभएको छ ।

सिनियर आरोहीले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेगरी आरोहण यात्रामा लागेको उहाँले उल्लेख गर्नुभयो । नेपाललाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरितालगायत कीर्तिमानी शेर्पाले विश्वभर परिचित गराउनुभएको छ । आफूमा पनि उहाँहरूले जस्तै सगरमाथामा रेकर्ड राख्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

टासीले सगरमाथाको रेकर्डपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिकालगायत विभिन्न मुलुकका नागरिकलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउने टासीले आगामी दिनमा सात महादेशका अग्ला हिमाल चढ्ने योजना बनाउनुभएको छ ।

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

धुलिखेल (काभ्रेपलाञ्चोक), ५ वैशाख : विसं २०७२ को भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन । सम्झौताअनुसार काम सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने जिल्लाका डाँडापारिस्थित महाभारत गाउँपालिकाका तीनवटा विद्यालयको भवन अझै अलपत्र अवस्थामा छन् ।

निर्माण कम्पनीले कामको जिम्मा लिएर सम्झौता गरी भवनका पिलर ठड्याएर ढलान गरी त्यत्तिकै अलपत्र छाडेको हो । महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित कालीदेवी मावि भवन, वडा नं १ को गोकुलेस्थित गोकुले मावि र वडा नं ८ स्थित घर्तीछापको जनकल्याण माविको भवन ढलान मात्र गरेर अलपत्र पारेको छ । सम्झौता गरेर विगत चार वर्षदेखि निर्माण अलपत्र पारेपछि यहाँका बालबालिकाले सुविधायुक्त भवनमा बसेर अध्ययन गर्न पाएका छैनन् । एकातिर भवन अलपत्र अर्कातिर भवन अभावका कारण विद्यार्थीलाई अध्ययन गर्न सुरक्षित ठाउँमा बस्न नपाएपछि शैक्षिक क्रियाकलापमा नै नराम्रो प्रभाव पारेको विद्यालयले जनाएको छ ।

भूकम्पले जीर्ण बनाएको विद्यालय भवनमा पठनपाठन गर्न नमिल्ने भएपछि नयाँ भवन निर्माणका लागि थालिएको कामले पूर्णता नपाउँदा जिल्लाको विकट डाँडापारिस्थित महाभारत–२ कुपिन्टारका विद्यार्थी अहिले पनि अस्थायी सिकाइ केन्द्रमा बसेर पढ्न बाध्य छन् । विद्यालय भवन निर्माण थालेको वर्षौँ भयो, नयाँ साल फेरिए, कक्षा चढ्दै गए तर, यहाँका बालबालिकाले अझै पनि नयाँ सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाएका छैनन् ।

विद्यालयका प्रधानाध्यापक सुनिल सारूले विद्यालयको भवन नबन्दा बालबालिकाले पठनपाठन गर्न कठिनाइ व्यहोर्दै आएको बताउनुभयो । “तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइले बनाएको चारकोठे भवनमा प्रशासन, कम्प्युटर ल्याब र दुईवटा कोठा साना बालबालिकाका लागि कक्षा सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो । जहाँ छानासमेत हुरीबतासले गर्दा बाँसले बेरेको बार केही नभएकाले खुला ठाउँमा राखेर पढाउनु पर्दा निकै समस्या खेप्नुपरेको प्रधानाध्यापक सारुले बताउनुभयो ।

विद्यालयका लागि छ–छकोठे नयाँ तीन भवन निर्माण गर्नेगरी २०७७ सालमा काम थालेकामा अहिलेसम्म पनि सम्पन्न नगरेपछि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको विद्यालयले जनाएको छ । अहिले तीनवटा भवनको तीन ढलानमात्र गरेर काम अलपत्र पारेको र शौचालय, घेराबारको पर्खाल र खानेपानीसहितको संरचना निर्माण गर्नुपर्नेमा कुनै पनि कामले गति नलिएको अवस्था छ ।

भवन निर्माण थालेर बीचमा अलपत्र पारेर राखेपछि छिटो सम्पन्न गर्नका लागि महाभारत गाउँपालिकाले सम्बन्धीत कार्यालयको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा नेतृत्वको टोलीले केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

महाभारतका अध्यक्ष कान्छालाल जिम्बाले भूकम्पले भत्काएको विद्यालय भवन निर्माणको चरणमा छभने यहाँका तीनवटा विद्यालयका भवन निर्माण व्यवसायीले अलपत्र पारेको बताउनुभयो । जसमध्ये कालीदेवी मावि कुपिन्टारको अवस्था झन् नाजुक छ । निर्माण कम्पनी र सम्बन्धित निकायमा पटकपटक कुरा राख्दा पनि आश्वासनमात्र पाएको तर निर्माणकार्यले गति लिन नसकेको उहाँको भनाइ छ । गाउँपालिकाबाट पटकपटक ताकेता गर्ने, पत्र पठाउने र समझदारी पनि गर्दै काम गर्न आग्रह गरेको भए पनि कामले अझै गति लिन नसकेपछि पछिल्लो समयमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएको अध्यक्ष जिम्बाले बताउनुभयो । समयमा काम सम्पन्न नगरेपछि जरिवाना लगाएर थपेको समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको आयोजनाका प्रमुख लक्ष्मीप्रसाद भट्टराईले बताउनुभयो ।

जनकल्याणको भौतिक प्रगति ७२ प्रतिशत र आर्थिक प्रगति ५१ प्रतिशतमात्र भएको छभने गोकुले माविको ७१ प्रतिशत भौतिक प्रगति र ४८ प्रतिशत, कालीदेवी माविकोे भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४५ प्रतिशतमात्र रहेको जनाएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनकल्याण मावि भवन निर्माणका लागि भ्याटबाहेक रु छ करोड ७१ लाख ६६ हजार ५१६, गोकुलेको रु छ करोड ५४ लाख ९४ हजार ९९० र कालीदेवीको रु सात करोड १५ लाख १२ हजार ८०० लागतमा टिडिआई/आशिष निर्माण सेवाले सम्झौता गरेर काम अगाडि बढाएको आयोजनाले जनाएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ५ वैशाखः नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९२  पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ । 

त्यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७५ पैसा र बिक्रीदर २० रुपैयाँ ८४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आणविक कार्यक्रमबारे पुटिनले इरानका विदेशमन्त्रीलाई भेट्ने

अमेरिकी र इरानी अधिकारीहरूले ओमानमा वार्ता गरेको केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानको आणविक कार्यक्रमबारे छलफल गर्न बिहीबारपछि इरानी विदेशमन्त्री अब्बास अराघचीलाई भेट्ने कार्यक्रम रहेको छ ।सिरिया, ककेसस र क्यास्पियन सागरसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको वार्ताका लागि अराघची मस्कोको भ्रमणमा हुनुहुन्छ ।

“उहाँले आज पुटिनलाई भेट्नुहुनेछ”, क्रेमलिनका सहयोगी युरी उसाकोभले राज्य मिडियालाई बताउनुभयो ।अराघचीले शुक्रबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभलाई पनि भेट्ने कार्यक्रम रहेको रुसको विदेश मन्त्रालयले जनाएको छ ।

इरानी र अमेरिकी अधिकारीहरूले ओमानमा वार्ता गरेको एक हप्ताभन्दा कम समयमा यो भ्रमण भएको हो । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा ऐतिहासिक आणविक सम्झौता त्यागेपछि दुई पक्षबीचको यो उच्चस्तरको बैठक थियो ।

तेहरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीचको गतिरोधको कूटनीतिक समाधान खोज्न सहयोग गर्न रुस आफ्नो शक्तिमा ‘सबै कुरा’ गर्न तयार रहेको क्रेमलिनले बुधबार बताएको छ ।

विश्वको सबैभन्दा ठूलो आणविक हतियारको भण्डारको कमान्ड गर्ने मस्कोले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेदेखि इरानसँगको आफ्नो सैन्य सम्बन्धलाई गहिरो बनाएको छ ।गत महिना ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमलाई प्रतिबन्धित गर्ने वार्तामा संलग्न नभए बम प्रहार गर्ने धम्की दिएजस्तो देखिएपछि रुसले शान्तिका लागि आह्वान गरेको छ । न्युयोर्क टाइम्सले बुधबार ट्रम्पले हालै इरानी आणविक साइटहरूमा आक्रमण गर्ने इजरायली योजनालाई अवरुद्ध गर्नुभएको बताएको छ ।

त्रिवि क्रिकेट मैदान पुनर्निर्माण तोकिएकै मितिमा पूरा हुने

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् ।

विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मितिभित्र काम सकाउने हिसाबले अगाडि बढेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको विशेष चासो भएको प्रोजेक्ट भएकाले योभन्दा अगाडि पनि अवलोकनमा आएका थियौं । र आज हालसम्मको प्रगति बुझ्ने काम भएको छ । यस्तो प्रतिकूल मौसममा पनि काम भइरहेको छ, तोकिएको मिति भित्र काम सकाउने हिसाबले काम अगाडि भएको पाएका छौं ।’

टियू क्रिकेट मैदानको बारेमा सम्बन्धित व्यक्तिहरुसँग पनि मन्त्रालयमा बोलाएर यसको प्रगतिबारे सोध्ने गरेको उनको भनाई छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको क्रममा छ । वैशाख २४ गते भित्र यसको निर्माण कार्य सकिने सहरी विकास मन्त्रालयको भनाइ छ ।

रास्वपाको महाधिवेशन आगामी फागुनमा

 काठमाडौँ, ४ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको अर्को मिति तय गरेको छ । रास्वपाले यही वैशाखमा महाधिवेशन गर्ने भनेपनि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकले विसं २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जन–यात्रा अभियान’ को कार्यविधि सर्वसम्मतले पारित गरेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो । बैठकबाट प्रादेशिक कमिटीहरुलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरुलाई सक्रिय बनाउन प्रदेश इन्चार्ज तोकेको छ ।

 जसअनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेसमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिमा हरि ढकाललाई इन्चार्ज तोकिएको छ ।

 बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’ बारे खाका प्रस्तुत गर्नुभएको थियो । सोसम्बन्धी पूर्ण प्रतिवेदन आगामी असार ७ गते काठमाडौँमा हुने नीति सम्मेलनमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

काठमाडौँ, ४ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादव बङ्गलादेशको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यसअवसरमा यहाँस्थित बङ्गलादेशी राजदूतावासका कार्यवाहक राजदूत महम्मद हुमायु कवीरले बङ्गलादेश र नेपालबीचको परापूर्वकालदेखिको मैत्रीपूर्ण सांस्कृतिक एवं सामाजिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ हुँदै गएको बताउनुभयो । 

उहाँले संयुक्त राष्ट्रसङ्घ, विश्वशान्ति स्थापना, जलवायु परिवर्तन, अल्पविकसित मुुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका रणनीतिलगायत विषयमा नेपालसँग आफ्नो देशले निकट सम्पर्कमा रहेर काम गर्दै आएको बताउनुभयो ।   समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका बङ्गलादेशका नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

चितवन नेपाल सुपर लिगको प्ले अफमा

काठमाडौं, ४ वैशाख : लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको हो ।

चितवनको जितमा नेदिर माभ्लोनोभ र जय गुरुङले गोल गर्दा एक गोल आत्मघाती भएको थियो । यता धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे । खेलको सातौँ मिनेटमा जर्जप्रिन्सको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । नेदिरले खेलको १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चितवनलाई बराबरीमा ल्याए । छिरिङ गुरुङको प्रहार बक्स भित्र धनगढीका रक्षक अशोक खवासको हातमा लागेपछि चितवनले पेनाल्टीमा अवसर पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा जयले गोल गर्दा चितवन २–१ ले अगाडि बढ्यो । उनले छिरिङको क्रसलाई पोस्टको दिशा दिए । त्यसैगरी अमृत श्रेष्ठबाट खेलको ५४औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा चिवतनले ३–१ को अग्रता लियो । भिक्टर मानसारेको क्रस अमृतको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

जितसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो तथा पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा रहे । चितवनको यो जितसँगै काठमाडौँ रेजर्सको यात्रा भने लिग चरणमै सिमित बनेको छ । चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि काठमाडौँ गोल अन्तरमा पछि पर्यो ।
अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी तथा एलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन् ।

विस्का जात्रा सम्पन्न

काठमाडौँ, ४ वैशाख : धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः (जात्रा) आज सम्पन्न भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म विस्का नखः (जात्रा) चलेको थियो ।

यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा विस्का जात्रा सुरु भएको थियो । वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो । यस्तै वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो । रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ । रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर बिसाइएको थियो । 

  यस्तै वैशाख ४ गते सानोलाछीबाट सिन्दूर जात्रा गरी गछेटोलमा लगेर रथ बिसाइएको थियो । उक्त स्थानमा बिसाएको रथलाई विधिवत रुपमा पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ । जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।  

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ ।

“महमुदकी आमाले मलाई बताएकी सबैभन्दा कठिन कुरामध्ये एउटा के थियो भने जब महमुदलाई पहिलो पटक आफ्नो हात काटिएको महसुस भयो, उनले आमालाई भनेको पहिलो वाक्य थियो, ‘म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु ?’”, विश्व प्रेस फोटो सङ्गठनले जारी गरेको विज्ञप्तिमा अबु इलुफले भन्नुभएको छ ।

प्रतिष्ठित फोटो पत्रकारिताको ६८औँ संस्करणको विजेता एक सय ४१ देशका तीन हजार सात सय ७८ फोटोग्राफरले पेस गरेको ५९ हजार तीन सय २० प्रविष्टिबाट चयन गरिएको थियो ।

“यो एउटा शान्त फोटो हो जसले चर्को स्वरमा बोल्छ । यसले एउटा केटाको कथा बताउँछ, तर व्यापक युद्धको पनि जसले पुस्तौँसम्म प्रभाव पार्नेछ”, वर्ल्ड प्रेस फोटोका कार्यकारी निर्देशक जौमाना एल जेइन खोरीले भन्नुभयो ।

सन् २०२४ मार्चमा इजरायली आक्रमणबाट भाग्दा अजजोर घाइते भएको सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ ।

“उनी आफ्नो परिवारलाई अगाडि बढ्न आग्रह गर्न फर्किएपछि, एउटा विस्फोटले उनको एउटा हात काटिदियो र अर्कोलाई क्षतविक्षत पारिदियो”, वर्ल्ड प्रेस फोटो साइटेशनले भनेको छ ।

“यस युवा बालकको जीवन बुझिने योग्य छ र यो तस्बिरले महान फोटोपत्रकारिताले के गर्न सक्छ भन्ने देखाउँछ : एक जटिल कथामा तहगत प्रवेश विन्दु प्रदान गर्ने र त्यो कथासँगको भेटलाई लम्ब्याउने प्रोत्साहन”, निर्णायक समितिकी अध्यक्ष लुसी कोन्टिसेल्लोले भन्नुभयो । कोन्टिसेल्लो फ्रान्सेली पत्रिका ले मोन्डेको साप्ताहिक पत्रिकाकी फोटोग्राफी निर्देशक हुनुहुन्छ ।

विजेता फोटोग्राफर अबु इलुफलाई सन् २०२३ डिसेम्बरमा गाजाबाट निकालिएको थियो र उहाँ अहिले कतारको राजधानी दोहामा अजजोर बस्ने उही अपार्टमेन्ट कम्प्लेक्समा बस्नुहुन्छ ।

इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा विनाशकारी आक्रमण सुरु गरेको थियो । अक्टोबर ७ मा हजारौँ लडाकूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गरेका थिए । आक्रमणमा अधिकांश सर्वसाधारणहित करिब एक हजार दुई सय मानिस मारिएका थिए भने लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए ।

गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ । यसले नागरिक र उग्रवादीहरू बीचको भिन्नता देखाउँदैन तर मृतकहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए । तिनमा कम्तीमा एक वर्षमुनिका आठ सय ७६ शिशु थिए । मन्त्रालयले एक लाख १६ हजारभन्दा बढी मानिस घाइते भएको बताएको छ ।

हमासले आवासीय क्षेत्र र नागरिक भवनहरूबाट आक्रमण र अन्य सैन्य गतिविधिहरू गरेको भन्दै इजरायलले भारी नागरिक क्षतिका लागि हमासलाई दोष दिन्छ ।

प्रतियोगिताका आयोजकहरूले आप्रवासन र जलवायु परिवर्तनका मुद्दाहरूलाई प्रकाश पार्ने दुई वर्ल्ड प्रेस फोटो फाइनलिस्टहरूको नाम पनि राखेका छन् ।

गेट्टी इमेजेजका लागि जोन मुरद्वारा खिचिएको कालो फोटोमा चिनियाँ आप्रवासीहरूले अमेरिका–मेक्सिको सीमा पार गरेपछि आफूलाई तताइरहेको देखाइएको छ भने मुसुक नोल्टेको पानोस पिक्चर्स, बर्था फाउन्डेसनका लागि खिचेको एक तस्बिरले ब्राजिलको अमेजन बेसिन क्षेत्रमा सुकेको नदी किनारामा खाना बोकिरहेको एक युवकलाई देखाइएको छ ।

वर्ल्ड प्रेस फोटो फाउन्डेसनले पहिले घोषणा गरेको क्षेत्रीय परिणामहरूमा एसोसिएटेड प्रेस एसिया–प्रशान्त र ओसिनिया क्षेत्रका विजेताहरूमध्ये एक थियो । फोटोग्राफर जे सी हङले कोरिया एडपसन फ्रड शीर्षकको तस्बिरका साथ एकल वर्गमा जित हासिल गर्नुभएको थियो भने नोएल सेलिसले फिलिपिन्सबाट फोर स्टर्म, १२ डेज शीर्षकको फोटोका लागि स्टोरिज वर्गमा जित हासिल गर्नुभयो ।

सुदूरपश्चिमको शान्तिसुरक्षाको अवस्थाबारे छलफल

कैलाली, ४ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, सचिव, चारैसुरक्षा निकायका प्रमुख तथा प्रदेशअन्तर्गत कार्यालयका प्रमुखहरुसँग विभिन्न विषयमा छलफल गर्नुभएको छ ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्तिसुरक्षाको अवस्था, भन्सार जाँच तथा आवागमन सहजीकरण, राजस्व सङ्कलन र लागुऔषध नियन्त्रणका विषयमा मुख्यमन्त्री शाहले छलफल गर्नुभएको हो । छलफलका क्रममा उहाँले प्रदेशभित्रको शान्तिसुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रभावकारी रुपमा लाग्न निर्देशन दिनुभयो । 

बैठकमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुले शान्तिसुरक्षाबारे मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । बैठकले शान्तिसुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरमा सुरक्षा सम्बन्धित बैठक मासिक रूपमा गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । 

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाशबहादुर बम, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त प्रमुख सचिव लीलाधर सुवेदी, नेपाली सेना, सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजा, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सचिव सुरतकुमार वम, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश कार्यालयका सहअनुसन्धान निर्देशक नगेन्द्रप्रसाद दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।

छ महिनादेखि तलब पाएनन् स्वास्थ्यकर्मीले

त्रिवेणी (रुकुम–पश्चिम), ४ वैशाख : जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब–भत्ता पाउन सकेका छैन्न् । गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने गरेकोमा गत कात्तिक महिनादेखि बजेट नआउँदा छात्रवृत्ति करारमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको अस्पतााल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस विषयमा पटकपटक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्र पठाए पनि सुनवाइ भएको छैन । मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको तलब भत्ता नपाएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले आफूहरुले काम गरेको पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल, सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य विभागलाई पत्रमार्फत ध्यानाकर्षण गराएका छ्न् । साथै तलब–भत्ता नपाएसम्म अस्पतालको आपतकालीन बाहेकको सेवा बन्द गरेका छन् ।

मङ्गलबार जिल्ला अस्पताल विकास समितिले रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा प्रतितिधित्व गर्ने सांसदसँग भेटघाट गरी तलब भत्ता पाउन नसकेको गुनासो पोखेका थिए । तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत सात, डेन्टल सर्जन दुई र जनस्वास्थ्य अधिकृत तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

‘खप्तड बाबाको विचार र चिन्तनले सही मार्गमा हिँड्ने प्रेरित गर्छ’ : उड्डयनमन्त्री पाण्डे

काठमाडौँ, ४ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खप्तड स्वामीको विचार र चिन्तनले सही मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभएको छ ।

खप्तडबाबा ज्योति पुरस्कार समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुरस्कार एवं सम्मान वितरण समारोहमा उहाँले सुदूरपश्चिम प्रदेशको रमणीय स्थल खप्तड क्षेत्रमा बसेर खप्तडबाबाले गर्नुभएको साधनाबाट निःसृत ज्ञानले मानिसलाई सही बाटोमा हिँडाउने गरेको बताउनुभयो । यस्ता साधकको नाममा वितरण गरिने सम्मान एवं पुरस्कारले मानिसलाई सत् मार्गमा लाग्न प्रेरणा दिने उहाँको भनाइ छ ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्रा डा मुकुन्द लामिछानेले खप्तड स्वामीका विचार विज्ञान, स्वास्थ्य विज्ञानजस्ता पुस्तकले व्यक्तित्व विकासमा सहयोग गर्ने बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष उपप्राध्यापक गोविन्दप्रसाद दाहालले संस्कृत अध्ययन गरेका विद्यार्थीलाई दिइने यो पुरस्कारको राशि यसै वर्षदेखि रु एक लाखबाट वृद्धि गरी रु पाँच लाख बनाइएको जानकारी गराउनुभयो । खप्तडबाबाको ज्ञानभण्डार प्रचारप्रसारका लागि संस्थाले काम गर्ने गरेको छ । अध्यक्ष दाहालको व्यक्तिगत लगानीबाट पुरस्कार कोष स्थापना गरिएको हो ।

सो अवसरमा नेपाल वेद विद्याश्रम वनकाली र संस्कृत माध्यमिक विद्यालय रानीपोखरीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने अञ्जन ढुङ्गेल र मन्दीप पौडेललाई रु पाँच÷पाँच हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयबाट स्नातक (शास्त्री) परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई प्रदान गर्ने गरिएको पुरस्कार भने यस वर्ष चार वर्षे शास्त्री कार्यक्रम लागू भई पुरस्कृत विद्यार्थीको नाम प्राप्त नभएपछि सेवामूलक सांस्कृतिक संस्था इन्द्रेणीलाई रु २५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी र काठमाडौँ उपाधिका लागि भिड्ने

कास्की, ४ वैशाख : पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी हिरोज र सिइसी काठमाडौँ भिड्ने भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आज वर्षाका कारण पहिलो सेमिफाइनल खेल पाँच ओभरको खेलाइएकामा काठमाडौँले हिमाल फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गरी फाइनल प्रवेश गर्न सफल भयो ।

यसैगरी दोस्रो सेमिफाइनल खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि खेलको नतिजा टसबाट गरिएकामा गण्डकी भाग्यमानी बन्दै उपाधि नजिक पुग्न सफल भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले पाँच ओभरमा ५७ रन बनाएको थियो । खेलमा जितका लागि ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो ।

ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले आठ बलमा दुई चौका प्रहार गरे । आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । काठमाडौँका लागि मनोज यादवले दुई विकेट लिदाँ युनिश विक्रम सिंह ठकुरीले एक विकेट लिए ।

काठमाडौँका ओपनर रित गौतमले सर्वाधिक २८ रन बनाए । प्रहार गरे । अर्जुन घर्ती १३ र दीपेन्द्र रावत आठ रनमा नटआउट रहे । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३ ओभरको तेस्रो बलमा चार विकेट गुमाउँदै एक ४६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएपछि निर्णय टसबाट गरिएको हो ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेल भोली सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

मध्यविन्दु (नवलपरासी), ४ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । साथीहरूसँग मङ्गलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो ।

मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताउनुभयो । मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो ।

पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।


दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जानकारी दिनुभयो ।

साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व साउदी राजदूतबाट ५० लाख डलर जबरजस्ती उठाउने प्रयासमा हनी–ट्र्याप गर्ने कोशिश गरेको बङ्गलादेश प्रहरीले बिहीबार बताएको छ ।

तीस वर्षीया मेघना आलमलाई सुरुमा यस दक्षिण एसियाली राष्ट्रको विवादास्पद कानूनअन्तर्गत कुनै आरोपबिना पक्राउ गरिएको थियो । उक्त कानूनले संदिग्धहरूलाई अनिश्चितकालका लागि हिरासतमा राख्न अनुमति दिन्छ ।प्रहरी प्रवक्ता मुहम्मद तालेबुर रहमानले आलमलाई अब कथित ब्ल्याकमेल योजनामा जबरजस्ती वसूलीको आरोप लगाइएको बताउनुभयो ।

अर्का एकजना वरिष्ठ प्रहरी अधिकारीले नाम नछाप्ने सर्तमा एएफपीलाई आलम र अन्यले कूटनीतिज्ञलाई पैसा हस्तान्तरण गर्न बाध्य पार्ने योजना बनाएको बताए ।“बङ्गलादेशमा साउदी अरबमा प्रवासी कामदारहरूको सङ्ख्या सबैभन्दा बढी छ । सरकार कूटनीतिक सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, अधिकारीले भने ।

साउदी अरब बङ्गलादेशलाई आर्थिक र मानवीय सहायताको निरन्तर दाता हो र यसका २० लाखभन्दा बढी बङ्गलादेशी कामदारहरू राज्यमा विदेशी मजदुरहरूको सबैभन्दा ठूलो समूह हो ।आलम बिहीबार अदालतको सुनुवाइका क्रममा कानूनी सल्लाह बिना उपस्थित भएकी थिइन् र उनले आफ्नो गिरफ्तारी रद्द गर्न आग्रह गर्दै उनीविरुद्ध लगाइएका आरोपलाई अस्वीकार गरिन् ।

डेली स्टार अखबारले आलमलाई कूटनीतिज्ञले सम्पर्क गरेको भन्दै रिपोर्ट गरेको थियो । कूटनीतिज्ञले उनलाई सम्बन्ध सुरु गर्न आग्रह गरेका थिए ।
उनका बुबा बदरुल आलमले पनि ‘राजदूत र मेघना सम्बन्धमा थिए’ भन्नुभएको छ । “मेरी छोरीले उनको विवाह प्रस्ताव अस्वीकार गरिन् किनकि उनको पहिले नै श्रीमती र बच्चाहरू छन्”, उहाँले गिरफ्तारीपछि भन्नुभयो ।ढाकास्थित साउदी दूतावासले बिहीबार प्रश्नहरूको जवाफ दिएन ।

अप्रिल ९ मा आलमको गिरफ्तारीपछि मिस अर्थ बङ्गलादेश सौन्दर्य प्रतियोगिताको पूर्व विजेता मोडललाई ‘राज्यको सुरक्षामा बाधा पुर्‍याएको’ र ‘देशको आर्थिक हितमा पूर्वाग्रह राखेको’ आरोप लगाइएको प्रहरीले जनाएको छ । विशेष अधिकार ऐनअन्तर्गत उनको नजरबन्दको अधिकार समूहहरूले आलोचना गरेका थिए । “हामी अधिकारीहरूलाई या त मेघनालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अपराधको आरोप लगाउन वा उनलाई रिहा गर्न आह्वान गर्दछौँ”, एम्नेस्टी इन्टरनेशनलले शुक्रबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ ।

देश खत्तम छ’भन्ने भाष्य नेताहरुले नै निर्माण गरे :डा.आरजु राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताएकी छन् ।

विहीबार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा… ’पुस्तक लोकार्पण समारोह तथा सम्मान कार्यक्रममा उनले देशमा जहिले पनि असहज परिस्थिति बनाई राख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको भन्दै यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष रहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौं । किन हामी सकरात्मक काममा समय खर्च गर्दैनौ । यो एउटा ठूलो प्रश्न छ । हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हौं कि जस्तो लाग्छ । जहिले पनि असहज परिस्थिती बनाई राख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ । यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष हो कि भन्ने जस्तो लाग्छ ।’

यस्तै, उनले देशमा केही पनि भएको छैन्, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै यसका पछि नलाग्न सबैलाई आग्रह गरेकी छन् ।यसको साथै, किताबमा छोटो रुपमा एकदमै चासोलाग्ने विषयहरु रहेको भन्दै लेखकले अहिलेको पुस्तालाई लक्षित गरेर एक एक पेजको बुझ्ने भाषामा किताब लेखेको बताइन् ।

तीनकुने घटनाको छानबिन गर्न विज्ञ टोली गठन गर्न माग

रामेछाप । रामेछापका मिडिया सञ्चालकहरूले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि विज्ञ टोली गठन गर्नुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा सञ्चालित रेडियो, पत्रिका तथा अनलाइनका सञ्चालकहरूसँग बिहीबार गरेको छलफलले यस्तो माग गरेको हो ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य नवराज पथिकको उपस्थितिमा भएको छलफलले पत्रकार रजकलाई सहिद घोषणा गरी रजकको परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने माग गरेको छ ।

तीनकुने घटनाबारे सरकारले विज्ञ टोली गठन गरी निष्पक्ष छानबिन गर्नुपर्ने, क्षति भएका सञ्चारगृहमा क्षतिको यकिन गरी तत्काल उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने माग बैठकले गरेको नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए ।

गत चैत १५ गते काठमाडौँको तीनकुने स्थित एक घरबाट भिडियो खिचिरहेका पत्रकार सुरेश रजकलाई घरभित्र थुनी राजावादीले आगो लगाएर हत्या गरिएको थियो । आन्दोलनकारीले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याएका थिए ।

उनीहरूले हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी पत्रकारलाई आक्रमणको प्रयास गरेका थिए । उनीहरूले पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिदिएका थिए भने फोटो पत्रकार निरोज तामाङको क्यामेरा लुटिएको थियो । सोही क्रममा व्यक्तिका घर तोडफोड गर्नुका साथै व्यावसायिक भवनमा लुटपाट मच्चाइएको थियो । आन्दोलनकारीले जडीबुटीको औषधि कारखाना समेत आगो लगाइदिएका थिए । पत्रकार महासंघ केन्द्रीय समितिले घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै देशै भरि आन्दोलन गर्दै आएको छ ।

माग सम्बोधन गर्न भूमि समस्या सामाधान आयोगलाई आग्रह

काठमाडौँ, ४ वैशाख : राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिले भूमिसम्बन्धी आफूहरुका माग सम्बोधन गर्न भूमि समस्या समाधान आयोगलाई आग्रह गरेको छ ।यहाँ आज आयोगको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका प्रतिनिधिहरुले मुक्त हरवाचरवा, हलिया, कमैया, कम्लरीलगायत कृषि बँधुवा मजदुरका समस्या सम्बोधन गर्न यसअघि गरिएका प्रतिबद्धता र सहमति कार्यान्वयनका लागि आग्रह गरेका हुन् ।

कार्यक्रममा सङ्घर्ष समितिका संयोजक दर्शनलाल मण्डल नेतृत्वको टोलीले आफ्ना मागबारे आयोगको ध्यानाकर्षण गराएको हो । समितिले भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीको लगत सङ्कलन र प्रमाणीकरण गर्दा कृषि बँधुवा मजदुरमैत्री नीतिगत प्रक्रिया अवलम्बन तथा भूमि वितरणलगायत कार्य गर्दा आफूहरुबाट कुनै शुल्क नलिन माग गरेको छ । यी समूहलाई विशेष समुदायका रुपमा परिभाषित गर्दै हाल बस्दै र उपभोग गर्दै आएको स्थानमा आवासका लागि कम्तीमा दुई कठ्ठा र कृषिकर्मका लागि आठ कठ्ठा जमिन नघट्ने गरी व्यवस्थापन हुनुपर्ने, जमिन दिँदा शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर मापन गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

आयोगले प्रदेश तथा स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गर्दा अधिकारवालाको हैसियतमा कृषि बँधुवा मजदुरको सहभागिता सुनिश्चित, भूमि वितरणलगायत प्रक्रियामा यी समूहलाई प्राथमिकतामा राखी कार्यारम्भ गर्न समितिको आग्रह छ । साथै, जमिन वितरण नगरुन्जेल हाल बसोबास रहेको स्थानबाट विस्थापित नगर्न नगराउन तत्काल सबै स्थानीय तहलाई निर्देश गर्न समेत आग्रह गरिएको छ ।

यसैगरी आयोगको कार्यक्षेत्र तथा नेपाल सरकार तथा मुक्त हरवाचरवा, हलिया, कमैया र कम्लरीबीच भएका सम्झौतामा देखिएका समस्या समाधान तथा अस्पष्टतालाई प्रस्ट गरी कार्यान्वयनमा लैजान माग गरिएको छ । त्यसक्रममा आयोगका विज्ञ सदस्य डा जगत बस्नेत, टेकबहादुर शाही र सदस्य गोवर्द्धन कोलीले मुक्त हरवाचरवा, हलिया, कमैया र कम्लरीको भूमिसम्बन्धी समस्या सामाधानका लागि आयोग कार्ययोजनाका साथ अघि बढ््ने प्रतिबद्धता व्यक्त गरेका राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालका संरक्षक गणेश विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घर्ष समितिका संयोजक एवं राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चका अध्यक्ष मण्डल, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनार, मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरी, मुक्त कम्लरी विकास मञ्चका अध्यक्ष हिरामोति चौधरी, कमैया महिला जागरण समाज, नेपालकी अध्यक्ष कृष्णी थारु, आवास तथा भूमिअधिकार यूनियनका अध्यक्ष राजुराम भूल र आरडिएनका उपाध्यक्ष श्याम सुनारद्वारा हस्ताक्षरित संयुक्त ध्यानाकर्षणपत्र आयोगलाई बुझाइएको थियो ।