`

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ, ४ वैशाखः कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ ।

देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ ।

कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । “एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले राससलाई बताउनुभयो ।

“कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रवद्र्धन गर्नु बजारको उद्देश्य हो,” दीर्घकालीन रूपमा मुलुकको कृषि र ग्रामीण विकासमा योगदान पु¥याउने लक्ष्य सुनाउँदै उहाँले भन्नुभयो ।

कोरलानाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ

मुस्ताङ- समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमाना जोडिएको कोरलानाकास्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ । जिल्लाका पाँचै वटा गाउँपालिकाको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको समन्वयमा चार दिने मुस्ताङ जिल्ला सरसफाइ तथा जनचेतनामूलक अभियान (नेपाल—चीन) उत्तरी कोरलानाकाबाट विधिवत् शुभारम्भ गरिएको हो ।

विश्वव्यापी रुपमा बढ्दै गइरहेको कार्वन उत्र्सजनका कारण वातावराणीय क्षेत्र तथा तथा हिमाली जिल्ला मुस्ताङमा कृषि, पर्यटन, जैविक विविधता, धर्मसंस्कृति र यहाँको मौलिकतामा प्रतिकूल असर पुगेको उल्लेख गर्दै मुस्ताङका पाँचैँवटा पालिकाले प्रदूषण घटाउन सामूहिक एक्येबद्धता जनाएका हुन् ।

मुस्ताङमा राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै बर्सेनि पर्यटक सङ्ख्या वृद्धि भइरहेको अवस्थामा नागरिक तथा पर्यटकबाट हुने जथाभावी फोहर मिल्काउने परिपाटीले मुस्ताङ जिल्लाको सौन्दर्यतामा असर पुगेको र यसले वातावणीय सन्तुलनमा क्षति पुग्दै जान थालेप्रति चिन्ता व्यक्त गर्दै मुस्ताङका जनप्रतिनिधि र कर्मचारीलगायत वातावरणसँग सम्वद्ध संस्थाहरुले यसप्रकारको मुस्ताङ जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बृहत्त सरसफाइ अभियान थालेका हुन् ।

अभियानको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङसहित मुस्ताङका पाँचवटै गाउँपालिकाका अध्यक्षहरुले सामूहिक रुपमा मुस्ताङ जिल्ला सरसफाइ तथा जनचेतनामूलक अभियान कार्यक्रम शुभारम्भ भएको कोरलानाकाको दशगजा क्षेत्रको २४ नं सीमास्तम्भबाट घोषणा गरेका थिए ।

अभियान घोषणा कार्यक्रममा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले विश्वकै चिन्ताको विषय बनेको जलवायु सङ्कट असर मुस्ताङ जिल्लालेसमेत व्यवहोर्नु परेको बताउनुभयो । अनुकूल समयमा हिमपात नहुन, वर्षा हुनु, चिसो भूगोलको क्षेत्रमा मौसमी तापमान वृद्धि हुनु, कृषि र जैविक विविधतामा क्षति बढ्दै जाने प्रभाव देखिन थालेको अध्यक्ष विष्टको भनाइ छ ।

उहाँले मुस्ताङले मात्रै जलवायु क्षति न्यूनीकरण गर्न सम्भव नभए पनि यहाँका वातावरणीय सौन्दर्यतालाई जोगाउन सामूहिक सरसफाइ तथा जनचेतनामूलक अभियानको थालनी गरिएको बताउनुभयो । अध्यक्ष विष्टले भन्नुभयो, “यसकालाई हामीले यसप्रकारको अभियानमार्फत विश्व समुदायमाझ मुस्ताङको सन्देश प्रवाह गर्न खोजेका हौँ, यसले मुस्ताङका स्थानीयहरू रचनात्मक र सिर्जनात्मक कार्यमा एकजुट हुन सक्छन् भन्ने यो नै गतिलो सन्देश हो ।”

मुस्ताङको नेपाल–चीन कोरलानाकाबाट शुभारम्भ भएको बृहत् सरसफाइ तथा जनेचनामूलक अभियान मुस्ताङको पाँचवटै स्थानीय तहमा हुने बताइएको छ । अभियानको अन्तिम तथा चौथो दिन म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको घाँसामा पुगेर समापन हुने घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको पहिलो दिन लोमान्थाङअन्तर्गत कोरलानाकाबाट शुभारम्भ भएको र पहिलो दिन लोमान्थाङको न्हेचुङ भन्सार कार्यालय अगाडिको सडकमार्ग, झोङ गुफा, छोसेर, ठिङ्गर र लोमान्थाङमा बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

अभियानको पहिलो दिन लोमान्थाङपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बा, चराङ गाउँ र लुरी गुम्बालगायत स्थानमा बृहत् सरसफाइ तथा जनचेतनामूलक अभियान सकिएको उहाँको भनाइ छ । अभियानका क्रममा घरपझोङका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा पर्यटकको सङ्ख्या बढेको र चीनबाट आयात हुने सामग्री किनमेलले कोरलानाकामा फोहर बढेको र त्यसको व्यवस्थापन हुन नसकेको औँल्याउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, “यसका कारण कोरलानाकामा बसेका व्यापारीलाई फोहर व्यवस्थापनका बारेमा सुसूचित गराउने कार्य भएको छ, यो अभियान सबै पालिकामा पुगेर नागरिक, व्यवसायी र पर्यटकलाई फोहर व्यवस्थापनबारे सचेत गराउने हाम्रो ध्येय हो ।”

अध्यक्ष विष्टले मुस्ताङमा ७२ राष्ट्रकाभन्दा बढी विदेशी नागरिक घुम्न र धार्मिक कार्यमा आउने भएकाले विश्वव्यापी सन्देश प्रवाह गर्ने प्रमुख लक्ष्य भएको अध्यक्ष लालचनको कथन छ ।कोरलानाकाबाट शुभारम्भ भएको फाहरमैला सरसफाइ तथा जनचेतनामूलक अभियान अन्तरगत क्रमशः वारागुङ मुक्तिक्षेत्रको छुसाङ, कागबेनी र मुक्तिनाथमा गरिने तय गरिएको छ ।

यसैगरी मुस्ताङको घरपझोङअन्तर्गत ढुम्बाताल, जोमसोम र मार्फा लगायतका स्थानमा सरसफाइ तथा जनचेतना हुने लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बू गुरुङले जानकारी दिनुभयो । अभियान अन्तरगत थासाङ गाउँपालिकाको सेकुङ ताल र टिटी तालको बृहत्त सरसफाइ तथा जनेचना फैलाउँदै मुस्ताङको घाँसामा पुगेर समापन हुने थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनको भनाइ छ ।

मुस्ताङका पाँच पालिकाले उपल्लो मुस्ताङको कोरलानाकादेखि तलको क्षेत्रमा सङ्कलन भएका अजैपविक फोहरमैलालाई यथोचित स्थानमा सङ्कलन गरी पालिकाहरूकै खर्चमा जोमसोम ढुवानी गरी पोखराको प्रशोधन केन्द्रसम्म पठाउने निर्णय गरेका छन् । अव्यवस्थित नकुहिने अजैविक फोहरलाई सङ्कलन गरी मोहोरमा परिणतगरी प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङ जिल्लालाई फोहरमुक्त जिल्लाको रूपमा विकास गर्न अभियान शुभारम्भ भएको जनाएका छन् । अभियानमा लागेको आर्थिक खर्च मुस्ताङका पाँचै स्थानीय तहले व्यहोर्ने गरी अभियानको पहिलो अभ्यास गरेका हुन् ।

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको आग्रह

काठमाडौँ-जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आमनागरिकमा आग्रह गर्नुभएको छ । पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व भइरहेकाले उहाँले सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकलाई आग्रह गर्नुभएको हो ।

ऐतिहासिक क्रान्तिको सहर वीरगञ्जको मौलिक पहिचान धार्मिकस्थल, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उहाँले उल्लेख गर्नुभएको छ । 

मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताउनुभएको छ । 

केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पुर्‍याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्नुपर्नेमा जोड दिइएको छ । 

मन्त्री यादवले भन्नुभएको छ, “विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरी शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगञ्ज क्षेत्रका सबै नागरिकसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र आग्र गर्दछु । म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।”

शहर व्यवस्थापनमा प्रविधिको सहारा : चीनमा स्मार्ट सार्वजनिक शौचालय

चीनको शिनजियाङ प्रान्तको राजधानी उरुम्छीमा पहिले फोहोर र दुर्गन्धित मानिने सार्वजनिक शौचालयहरू अब सफा र प्रविधियुक्त हुँदै गएका छन् । नयाँ प्रविधिको प्रयोगले यी शौचालयहरूलाई अझ सहज र प्रयोगकर्तामैत्री बनाइएको छ ।

सायबाक जिल्लाको एक पर्यटकीय स्थानमा हालै सञ्चालनमा आएको नयाँ स्मार्ट शौचालयमा सफा गर्ने रोबोट प्रयोग गरिएको छ । प्रयोगकर्ताले बाहिरिएपछि रोबोट सक्रिय भएर शौचालय सफा गर्छ, साबुन र डिसइन्फेक्टेन्ट छर्छ र भुइँ सुकाउने काम पनि गर्छ । यसले सरसफाइमा सुधार ल्याउनुका साथै चिप्लिएर लड्ने जोखिम घटाएको छ ।

स्थानीय बासिन्दाले यी नयाँ शौचालयहरूको प्रशंसा गरेका छन्। एक प्रयोगकर्ताले भन्नुभयो,“शौचालय सफा र दुर्गन्धरहित छ ।”

शौचालय निर्माण र व्यवस्थापन गर्ने ‘कुओलिन’ कम्पनीका अनुसार सफा गर्ने रोबोटले ७० सेकेन्डमै काम सम्पन्न गर्छ । कम्पनीले थप प्रविधिको प्रयोग गर्दै शौचालयमा तापक्रम, प्रयोग सङ्ख्या, ग्यास सान्द्रता, पानी र विद्युत् खपतजस्ता विवरण संकलन गर्ने सेन्सरहरू पनि जडान गरेको छ। यसले शौचालयको निगरानी र व्यवस्थापन सजिलो बनाएको छ ।

सहरका व्यस्त बजार र राति लाग्ने मेलामा कम्पनीले शौचालयहरू निर्माण गरेको छ, जसमा अपाङ्गता भएका व्यक्तिहरू, वृद्ध र बालबालिकालाई सहज बनाउने सुविधा जस्तै रेलिङ, र्याम्प, बेबी केयर रूम आदि राखिएको छ । केही शौचालयमा पानी कम लाग्ने विमानमा प्रयोग हुने भ्याकुम शौचालय प्रविधि पनि प्रयोग गरिएको छ ।

शौचालयको बाहिरी भागमा पहेंलो र खैरो रङ्गको प्रयोग गरिएको र भित्तामा स्थानीय संस्कृति झल्काउने कला चित्रहरू पनि राखिएको छ ।

चीन सरकारले सन् २०१५ देखि सुरु गरेको ‘शौचालय क्रान्ति’ अभियानपछि देशभर सार्वजनिक शौचालयको सङ्ख्या र गुणस्तरमा सुधार ल्याउन थालिएको हो । उरुम्छीमा पनि वर्षौंदेखि थला परेका शौचालयहरू सुधार गरिएको र निजी लगानी भित्र्याएर सफा गर्ने पेशागत कम्पनीहरूलाई जिम्मा दिइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार भविष्यमा अझ धेरै शौचालयमा सफा गर्ने रोबोट प्रयोग गरिनेछ । उहाँहरू भन्नुहुन्छ, “शहरी पूर्वाधारले प्रविधिको विकाससँगै अगाडि बढ्नुपर्छ, जसले सेवा अझ सहज बनाउँछ र व्यवस्थापन पनि प्रभावकारी हुन्छ ।”

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ, ४ वैशाखः बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ ।

आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएरसहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ–आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।
यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले राससलाई बताउनुभयो ।

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौँ, ४ वैशाखः हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विभागका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ४ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा

बरहथवा (सर्लाही), ४ वैशाखः सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी नाम परिवर्तन १८ वर्षीया सिमा खातुन कक्षा १२ मा पढ्नु हुन्छ । उहाँ हरिपुर्वा नगरपालिका–५, मा रहेको श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।

बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा उहाँ पछिल्लो समय बालविवाह हुननदिन लागिपर्नु भएको छ । उहाँले तराई मधेसमा कुरीतिका रुपमा रहेको बालविवाह तथा दाइजो प्रथा रुचि भएकी सिमाले कुरीतिविरुद्धको लडाइँमा लागेको बताउनुभयो ।

विभिन्न सङ्घसंस्थामा जोडिएपछि लैङ्गिक विभेद, परम्परागत कुरीतिका बारेमा जन्ने मौका पाएको र त्यसविरुद्ध लाग्ने अवसर पाएकी उहाँ क्रियशील बाल क्लबले गाउँमा बालविवाह, दाइजो प्रथालगायतको कुरीति हटाउन चेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । लामो समयदेखि जरो गाडेको बालविवाह, दाइजो प्रथा त्यति सजिलै अन्त्य नहुने उहाँ बताउनुहुन्छ । मुस्लिम समुदायमा यो अभिशाप बनेको छ । सोही समुदायकी उहाँ छोरी मान्छे बोल्नु नै गलत मान्ने समाजमा अधिकारका कुरा गर्न आफूलाई कठिन भएको बताउनुभयो । “हाम्रो समुदायमा छोरा चाहिने गलत सोचका कारण धेरै छोरी जन्मिएका छन्,” उहाँले भन्नुभयो, “छोरी धेरै भएपछि आमाबुबालाई विवाहमा हुने आर्थिक भारको चिन्ता हुन्छ । त्यसबाट छुटकारा पाउन वाल्यावस्थामा नै बिहे गरिदिने चलन छ ।”

बाल क्लबमा आबद्ध भएपछि किशोरकिशोरी अवस्थामा हुने शारीरिक परिवर्तन, लैङ्गिक विभेद, बालविवाह, दाइजो प्रथाले निम्त्याउने दीर्घकालीन असरबारे जान्न पाएको उहाँले सुनाउनुभयो । मुलुकको कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानिएको छ । बालविवाह गैरकानुनी हुन्छ । बालविवाह गरे स्वतः बदर हुने र विवाह गर्नेगराउनेलाई कानुनी कारबाही हुने व्यवस्था छ तर त्यो कार्यान्वयन नहुँदा कुरीति नियन्त्रण नभएको किशोरी हरिपुर्वा नगरपालिका–२, निवासी रीता चौधरीले गुनासो गर्नुभयो ।

बाल क्लबबाट गाउँमा भइरहेको बालविवाह रोक्न जाँदा वा जानकारी दिँदासमेत आफूहरूलाई समस्यामा पार्ने गरेको उहाँको गुनासो छ । कानुनले अपराध मानेको बालविवाहको भोजमा जनप्रतिनिधिदेखि सामाजिक व्यक्तित्व र राजनीतिक दलका नेता स्वयम् उपस्थित भएर भोज खाने गरेका उहाँले सुनाउनुभयो ।

“हामीले गैरसरकारी संस्थाको सहयोगबाट बाल क्लब गठन गरेका छौँ”, उहाँले भन्नुभयो, “यस क्लबले बालविवाह कम गर्न लागि अभिभावकलाई सचेत गराउन सडक नाटक, ¥यालीदेखि, बालविवाह रोक्नेसम्मका काम गरिरहेको छ । एक पटक गाउँमा बालविवाह हुनलागेको थाहा पायौँ । सबै साथी रोक्नुपर्छ भनेर बिहे घर पुग्यौँ । बालिकाका बुबा, आमालगायत परिवारलाई सम्झाउने कानुनी कारबाहीको डर देखायौँ । जनप्रतिनिधिले उल्टै हामीलाई धम्क्याए ।”

समाजका अगुवा भनिएका जनप्रतिनिधि, कानुन कार्यान्वयन गर्न बसेका प्रहरी प्रशासनले यस्ता कुरीतिलाई प्रोत्साहन दिने गरेका अर्की नाम परिवर्तन कुमारी साहको दाबी छ । घटनाको विषयमा प्रहरीलाई सुटुक्क जानकारी दिँदा पनि प्रहरीले उजुरीकर्ताको गोपनीयता भङ्ग गरिदिने गरेको उहाँको अनुभव छ । “मैले गाउँको एउटा घटनाका बारेमा प्रहरीलाई खबर गरेको थिए”, उहाँले भन्नुभयो, “तुरुन्त केटी पक्षका आफन्त तिमीले प्रहरीलाई बालविवाह हुँदैछ, भनेर भनेको रे हो ? मेरो छोरीको विवाह तिमी गरिदिन्छौँ, उनको भविष्यको चिन्ता तिमीलाई कि हामीलाई ? भनेर गाली गर्नुभयो ।”

सामान्य कुरामा समेत केटाकेटी भाग्ने परिपाटीले चिन्तित तुल्याउने गरेको अभिभावक सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, का रामबाबु चौधरीले बताउनुभयो । घरमा थोरै गाली गरे, हप्काए पनि छोराछोरी भाग्न थालेकाले त्यही डरले अधिकांश अभिभावकले सानै उमेर छोरीको विवाह गरिदिने गरेका उहाँ बताउनुहुन्छ । “तराई मधेसमा इज्जत ठूलो मान्छन्”, चौधरीले भन्नुभयो, “छोरी भाग्नु त्यो परिवारका लागि गम्भीर सामाजिक प्रतिष्ठाको विषय हो । त्यसमा पनि अन्तरजातीय भयो भने त्यो परिवारको समाजमा कुनै इज्जत रहँदैन ।”

रीता जस्तै जिल्लाको हरिपुर्वा नगरपालिकामा १२ वटा र पर्सा गाउँपालिकामा सातवटा र एउटा गाउँपालिकास्तरीय बाल क्लब सञ्जाल गरी ३७८ जना किशोरकिशोरी बाल क्लबमा आबद्ध छन् । उहाँहरूले बालविवाह, दाइजो प्रथालगायतको कुरीतिविरुद्ध काम गर्ने गरिरहेका संस्थाका कार्यक्रम संयोजक प्रमेश बादेले बताउनुभयो । संस्थाले पालिकासँगको सहकार्यमा बाल विकासका क्षेत्रमा विभिन्न काम गरिरहेको उहाँले बताउनुभयो ।

विकास साझेदार संस्था वल्डभिजनको सहयोगमा बागमती सेवा समाजले दुईवटा पालिकामा बाल विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हो । यस्ता कार्यक्रम पछि बालविवाह, दाइजो प्रथा नियन्त्रणमा सहयोग पुगेको स्थानीयको भनाइ छ । संस्थाका अनुसार किशोरकिशोरीहरूलाई नियमित रूपान्तरण कक्षामा जीवन उपयोगी सीप तथा सुरक्षासम्बन्धी तालिमसमेत गराउने गरिएको छ ।

बालविवाहमा कमी

यसरी गाउँगाउँमा गठन गरिएको बाल क्लब र तिनीहरूको निगरानी तथा गतिविधिका कारण विगतका जस्तो खुलेआम बालविवाह तथा दाइजो लेनदेन कम हुँदै गएको छ । तर, पछिल्लो समय क्लबमा आबद्ध किशोरकिशोरीहरूले थाहा पाए रोकी दिन्छन् भनेर भारतमा आफन्तकामा लगेर विवाह गर्ने गरेको हरिपुर्वा–४, का दिनेश रायले बताउनुभयो ।

“हामीलाई छलेर भारत पु¥याएर पनि केहीले विवाह गराएका छन्”, उहाँले भन्नुभयो, “हामीले त्यसपछि पनि उजुरी गर्ने गरेका छौँ । त्यसो गर्दा नेता, जनप्रतिनिधिले घरमै आएर हाम्रा परिवारलाई समेत धम्क्याउने दुःख दिने गर्नुभयो । त्यसपछि परिवारले समेत गाली गर्न थाल्नुभयो ।” उल्टै हाम्रो परिवारको कामसमेत वडा कार्यालयले नगरीदिन गरेको उहाँको दुःखेसो छ । यही निहुँमा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, बालिकाहरूको परिवारले धेरै पटक आफ्नो घर घेरेका उहाँले दुःखेसो पोख्नुभयो ।

बालविवाह कानुनी अपराध र यसले बालिकाहरूको स्वास्थ्यलगायतको क्षेत्रमा पार्ने दीर्घकालीन असरका बारेमा अभिभावकहरू जानकार रहेका स्थानीय वीरेन्द्र ठाकुरले बताउनुभयो । तर, समाजिक रुपमा रहेको गलत मान्यताले गर्दा यस्ता विकृति नियन्त्रण हुन नसकेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताउनुभयो ।

बालविवाह, दाइजो प्रथाजस्ता समाजलाई नै कुरूप पार्ने कुरीति न्यूनीकरणका लागि समाजका सबै तह र तप्का एक हुनुको विकल्प नरहेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोद साह तेली बताउनुहुन्छ । पालिकाले समेत यस्ता गतिविधि नियन्त्रणका लागि बाल क्लब तथा विभिन्न गैरसरकारी सङ्घसंस्थासँग हातेमालो गरिरहेको उहाँको भनाइ छ । कुसंस्कारका रुपमा रहेका यस्ता व्यवहारलाई क्रमिक रुपमा नियन्त्रण गर्न सकिने उहाँ बताउनुहुन्छ ।

“नगरका जनप्रतिनिधि स्वयम् यस्ता घटना र कुसंस्कारलाई प्रोत्साहन गर्नतर्फ लाग्नु गलत मात्र नभई गैरकानुनी हुन्छ”, प्रमुख साहले भन्नुभयो, “यस्ता कार्य नियन्त्रणको पहल सबै तहको प्रयासमा सफल हुनेछ ।” समाजमा कुरीतिका रुपमा रहेका गलत व्यवहार क्रमिक रुपमा कम हुँदै गएको भन्दै सरोकारवाला निकायलाई निगरानी गरिदिनसमेत उहाँले आग्रह गर्नुभयो । जुनसुकै बहानामा हुने बालविवाह तथा दाइजो प्रथा रोक्नुपर्ने मानव अधिकार आयोग सर्लाहीका अध्यक्ष रजनिकान्त झाको भनाइ छ ।

पछिल्लो समय स्थानीयस्तरमा गाउँका पढेलेखेका किशोरकिशोरीहरू स्वयम् यस्ता गतिविधि नियन्त्रणमा सक्रिय हुनु खुसीको कुरा भएको उहाँले बताउनुभयो । समाजका राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायले सहयोग गर्नुपर्ने ठाउँमा उनीहरूलाई अप्ठेरोमा पार्ने काम गर्नु निन्दनीय भएको उहाँको दाबी छ । समाजले किशोरकिशोरीहरूको उपस्थितिलाई स्वीकार गरेर अगाडि बढेमात्र समाज सुसंस्कृत हुने पूर्वप्रधानाध्यापक झा बताउनुहुन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सर्लाहीमा कुल विवाहको ३७.२ प्रतिशत विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेको छ । यो मुलुकको कानुनले तोकेको उमेरभन्दा कम उमेरमा बालविवाह गर्नेको सङ्ख्या हो । यसलाई समयमै नियन्त्रण गर्नुपर्नेमा उहाँको जोड छ ।

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी), ४ वैशाखः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो ।

केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार ३१९ र सर्सियु एक हजार ७१५ मेट्रिक टन रहेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा यहाँ दुई हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गर्दा दुई हजार ९७१ मेट्रिक टन र २०७९÷८० मा दुई हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती गरिँदा दुई हजार ९२० मेट्रिक टन उत्पादन भएको थियो ।

आव २०८०÷८१ भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो । “विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढिरहेको छ । जिल्लामा तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्ले अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गर्नु राम्रो हुने बुझाईले किसानहरू तोरीखेतीमा आकर्षित हुँदै गएका बताउनुहुन्छ । यहाँको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा बढी मात्रामा तोरीखेती गरिन्छ ।

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

दोधारा चाँदनी (कञ्चनपुर), ४ वैशाखः पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो । “यहाँबाट अहिले विदेशी पर्यटक भित्रिने क्रम बढ्दो छ,” उहाँले भन्नुभयो, “यो वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ ।”

जोशीका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन् । सन् २०२५ को हालसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन् ।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताउनुभयो । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिकहरू आउने गरेका छन् ।

मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती, ४ वैशाखः पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडाँै सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ ।

काठमाडाँैबाट हेटाँैडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उहाँले बताउनुभयो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’

सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो । माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षिय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन् । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरे ।

त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल भइन् उनी तर त्यस घटनाले बाँच्न भने दिएन । घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौतारिइन् । चारैतिरबाट न्यायको आश मरेपछि अन्ततः मृत्यु नै अन्तिम विकल्प बनेर आयो । मङ्गलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत फेला परिन् ।

“घट्ना घटेको दिन आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै रुँदै र कराउँदै घर आएकी थिइन्”, मृतककी भाउजू विनीतादेवी सदायले उक्त दिनको घटनाबारे भनिन्, “उनको कम्मरमुनि सुरुवालको भाग धुजाधुजा पारी च्यातिएको थियो । हातको पाखुरामा चोट लागेको थियो । जीउको विभिन्न भागमा दाँतले टोकेको स्पष्ट डोबहरू थिए ।”

आनन्दीदेवीलाई जबर्जस्ती करणीको प्रयास गर्ने दुई व्यक्तिले सुरुमा पैसा दिन्छौँ भन्दै ललाईफकाई प्रयाससमेत गरेको उनको भनाइ छ । “तीन हजार पैसा दिन्छौँ हामीसँग हिँड् भनेपछि नन्दले इन्कार गर्दै प्रतिकार गरेपछि श्यामले हातपात गर्दै घिसार्दै नजिकै रहेको परालको कुन्यूँमा लगे, अर्का पीडक सञ्जीवले मोबाइलबाट भिडियो खिचे । नन्दले यो कुरा मलाई सुनाउनुभएको थियो । उहाँ प्रतिकार गर्दै त्यहाँबाट उम्केर जसोतसो नन्द घर आइपुग्नुभयो, त्यतिबेला दिउँसोको करिब १ बजेको हुँदो हो”, भाउजू विनीतादेवीले भनिन् ।

प्रहरीद्वारा जाहेरी दर्ता गर्न आलटाल

घटना भएको दिन आनन्ददेवीका श्रीमान् उमेश सदाय ससुराली घरमै थिए । श्रीमतीमाथि घटना घटिसकेपछि सोही दिन अर्थात् पुस ९ गते श्रीमान्सहित आनन्दीदेवीले महेशपुरस्थित पतारी प्रहरी चौकीमा आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै किटानी जाहेरी दिएका थिए तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेको मृतक आनन्दीदेवीका श्रीमान् उमेशले बताए ।

उनले भने, “प्रहरीले सुरुमा जाहेरी दर्ता गर्ने र पीडकमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको थियो । यसको लामो समयसम्म प्रहरीबाट घटना सम्बन्धमा कुनै प्रतिक्रिया आएन । माघ ४ गते मात्रै प्रहरीले उक्त जाहेरी दर्ता भएको भन्दै एउटा कागजमा दर्ता नम्बरसहितको चिट दियो । फेरि त्यसको भोलिपल्ट पुनः कार्यालयमा बोलाएर उक्त दर्ता नम्बरको कागज हाम्रै सामुन्नेमा प्रहरी च्यातिदियो ।”

यही क्रममा अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर मानवअधिकारकर्मीहरूको समूहले मार्च ६ तारिखका दिन नवराजपुरमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आफ्नो पीडा सुनाउन आनन्दीदेवी र उहाँकी आमा बिलटौनदेवी सदाय उपस्थित भइन् ।

महेशपुर पतारी प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रबिन मैनालीसमेत उपस्थित उक्त कार्यक्रममा पीडित आनन्दीदेवीले प्रहरीले आफूमाथि भएको घटनाको जाहेरी दर्तासमेत नगरेकोे बताएको मानवअधिकारकर्मी मुक्ति नेपालका अध्यक्ष देवकुमारी महराले जानकारी दिए । त्यसपछि जिल्लास्थित मानवअधिकारकर्मीको संयुक्त टोलीले घटनासम्बन्धमा चासो राखी प्रहरीलाई दबाब दिएपछि मात्रै जाहेरी दर्ता भएको उनको भनाइ छ ।

महराले भने, “घटनाबारे जानकारी पाउनासाथ हामीले तत्कालै प्रहरी निरीक्षक मैनालीलाई के कति कारणले जाहेरी दर्ता नभएको भनी प्रश्न गर्यौं । उनले तत्कालीन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितको ठाडो आदेशका कारण आफूले जाहेरी दर्ता नगरेको जवाफ दिए । त्यसपछि हामीले जिल्ला प्रहरीमा दबाब सिर्जना गरेका कारण भोलिपल्ट जाहेरी दर्ता त भयो तर कुनै पनि अनुसन्धान प्रक्रिया अघि बढेन, जुन खेदजनक र निन्दनीय छ ।”

घटना सार्वजनिक भइसकेको, पीडितले न्यायका लागि गुहारिसकेको अवस्था पनि प्रहरी प्रशासनले त्यसलाई गम्भीर रूपमा नदिएकाले ज्यान गुमाउन बाध्य हुनुपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल सिरहाका प्रतिनिधि दुर्गा परियार बताउँछन् ।

मानवअधिकारकर्मीको तीव्र दबाबका बीच पीडितलाई न्याय दिलाउन प्रहरीले उदासीनता देखाएको भए यस्तो अवस्था नआउने उनको बुझाइ छ । “पीडकहरू खुलेआम हिँड्डुल गर्दा पनि पक्राउ नपर्नुले र पीडितलाई न्यायको अनुभूति दिलाउन नसक्दा अप्रिय घटना घट्यो । यसको जवाफदेहिता अब कसले लिन्छरु”, परियारले प्रश्न गरे ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले गत फागुन २५ गते उक्त घटना सम्बन्धमा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जानकारी दिए । किटानी जाहेरी दिएको ७५ दिनपछि मात्रै मुद्दा दर्ता भएको देखिएको र यो घटना आफू जिल्लामा आउनुअघिको भएकाले किन त्यसो भएको हो भनेर बुझ्नुपर्ने उनको भनाइ छ ।

“गत फागुन २५ गते यस घटना सम्बन्धमा पीडितका तर्फबाट जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको रहेछ । पीडकहरुरू फरार छन् । पीडितमाथि यौन दुव्र्यवहारपश्चात् प्रहरीले मेडिकल जाँच र जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम समयमै गरेको पाइन्छ । हामी अनुसन्धानकै क्रममा छौँ । बुधबार पीडित परिवारलाई भेटेर जानकारीसमेत लिएका छौँ”, प्रहरी उपरीक्षक शर्माले भने ।

घटना मिलापत्रको प्रयास

कानुनअनुसार यस्तो घटनालाई मिलाउन पञ्चायती बस्न वा गाउँमै मिलापत्र गर्न मिल्दैन तर घटना मिलापत्र गर्न भन्दै पीडितलाई दबाब आएको परिवारले जनाएको छ । “प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेकै बेला घटनामा संलग्न व्यक्तिका आफन्त आएर रु एक लाख दिने र गाउँघरको घटना गाउँमै मिलाउनुपर्छ, बाहिर लैजानु हुँदैन भन्दै दबाब दिए । गरिबको पनि इज्जत हुन्छ । हामीलाई न्याय चाहिन्छ, पैसा होइन भन्ने जवाफ दियौँ तर न्याय पाइएन” भावुक हुँदै मृतककी भाउजू बिनीतादेवीले भनिन् ।

उनले कानुन बुझेका शिक्षक र कानुनको पालना गराउने र न्याय दिलाउने जिम्मेपवारीमा रहेका केह्री प्रहरी अधिकारीले पनि मिलापत्रका लागि दबाद दिएको परिवारको आरोप छ । मृतककी आमा बिलटौनदेवी सदायले भनिन्, “कानुनको कार्यान्वयन गर्ने व्यक्ति र निकायबाटै छोरीमाथि घोर ज्यादती भएको छ । यस्तो ज्यादती गर्ने र पैसा नभएको व्यक्ति मुद्दा नलड्न भन्दै मिलापत्र गर्न उक्साउनेमाथि पनि अनुसन्धान हुनुपर्छ ।”

यस्तै वडा नं ३ का अध्यक्ष वंशीलाल यादवले घटनामा जिम्मेवार निकायबाटै कमजोरी भएकाले पीडितले ज्यान गुमाउनु परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरे ।

गृहमन्त्रीद्वारा घटनाको सूक्ष्म छानबिन गर्न निर्देशनपछि प्रहरी सक्रिय

पीडित आनन्दीदेवी मङ्गलबार झुन्डिएर मृत फेला परेपछि घटनाको सूक्ष्म रूपमा छानबिन गर्र्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । उनले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यस घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी

इनरुवा (सुनसरी), ४ वैशाखः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गर्नुभएको थियो । उहाँले सबै खर्चसहित रु छ लाख खर्च गर्नुभएको थियो । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताउनुभयो ।

तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । रु १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु आठ लाख आम्दानी भएको उहाँले बताउनुभयो । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भन्नुभयो ।

यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उहाँले बताउनुभयो । समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुँदै

लिस्बन (पोर्चुगल), ४ वैशाखः मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिनुभयो ।

पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली सङ्घसंस्था र क्लबका गरी १६ भन्दा टोलीको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको योजना रहेको उहाँले सुनाउनुभयो । प्रतियोगिताको विजेताले तीन हजार ५०० युरो नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले दुई हजार युरोसहित ुिरस्कार प्राप्त गर्नेछ ।

यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई कप तथा प्रमाणपत्रले पुरस्कृत गरिने समाजले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि पोर्चुगलस्थित सङ्घसंस्था, क्लबका साथै खेलप्रेमीहरूलाई समाजले विशेष आग्रहसमेत गरेको छ । मोन्तिजोस्थित नगरपालिकाको खेल मैदानमा खेल हुने समाजले जनाएको छ ।

सन् २०२३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै विभिन्न खालका सामाजिक एवं रचनात्मक गतिविधिहरू गर्दै आएको छ ।

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौँ, ४ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उहाँ एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगरेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुनुहुन्छ ।

कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लाग्नुभएको छ । उहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक  रेकर्ड दर्ज गर्नुभएको थियो । पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर  चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले राससलाई जानकारी दिनुभयो । “सगरमाथा आरोहणका लागि एक÷दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ”, उहाँले भन्नुभयो ।

आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गर्नुभयो । उहाँ सेभेनसमिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीलाई लिएर यसपटक सगरमाथा आरोहणमा जान लाग्नुभएको हो । 

एकतिसौँ पटक जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीको सामाजिक सुरक्षाका लागि भने राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । शेर्पाले हिमाल सफाइका लागि बजेट र जनशक्ति व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याउनुभयो । यसका साथै ३०औँ पटक सगरमाथाको चुचुरोमा पुग्दा आरोही शेर्पाले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएकामा चिन्ता लागेको बताउनुभयो ।

सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको ७२ वर्षको अवधिमा ३०औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उहाँको रेकर्ड कसैले तोड्न सकेको छैन तर प्रकृतिले भने हरेक पटकजसो सगरमाथाको प्राकृतिक स्वरुपको ‘रेकर्ड’ तोड्दे गएको आफूले महसुस गरेको शेर्पाले सुनाउनुभयो । “मेरो रेकर्ड कसैले तोड्न सकेको छैन । सगरमाथा आरोहणमा विश्वकीर्तिमानी कायम गर्ने एक्लो प्रतिस्पर्धीका रूपमा छु, यस हिसाबले खुसी छु तर सगरमाथाको सुरुको स्वरूपमा अहिले निकै बद्लाव आएको छ । हरेक पटक आरोहण गर्दा केही न केही समस्या देखिरहेको आभाष गरेको छु । यसले खिन्न बनाइरहेको छ”, उहाँले भन्नुभयो । 


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।  

कामीरिताले सगरमाथा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ बनेको बताउनुभयो । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा कीर्तिमानी कामीरिता ३१औँ पटक सगरमाथा आरोहणका लागि आफ्नो कम्पनीबाट जान लागेकामा खुसी व्यक्त गर्नुहुन्छ । “सगरमाथाको रेकर्ड राष्ट्रकै लागि गौरवको कुरा हो, यो कुनै व्यक्ति र कम्पनीको मात्रै हैन”, उहाँले भन्नुभयो । 


जोखिमपूर्ण र संवेदनशील यात्राका रूपमा लिइने सगरमाथा आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा अफ्नो जीवन उत्सर्ग गरेका छन् । एक तथ्याङ्कअनुसार हालसम्म ४०० भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यसर्थ आरोहीहरूको सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ । 

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले यस वर्ष सगरमाथासहितका हिमाल आरोहण उत्साहवद्र्धक हुने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार यस याममा पनि कामीरितासहित विभिन्न आरोही नयाँ कीर्तिमान कायम गर्नेगरी जान लागेका छन् ।

पर्वतारोहणसम्बन्धी (छैटाँै संशोधन) नियमावली २०८१ जारी भएपछि कीर्तिमान राख्ने आरोहीले आरोहण अनुमति लिएर मात्रै कीर्तिमानलाई मान्यता दिइने उल्लेख छ । सोहीअनुरुप थप कीर्तिमान बनाउन आरोहीहरू सगरमाथामा लामबद्ध भएका हुन् । अघिल्लो वर्षको आरोहणमा गोरखाकी फुञ्जोझङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभयो । यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाउनुभयो । 

कुनै आरोही कीर्तिमानी गर्ने हो भने त्यसका लागि पर्यटन विभागमा निवेदन दिएर राज्यका निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ । पर्यटन विभागका अनुसार बुधबारसम्म यस सिजनका लागि ३० आरोही समूहका ५८ महिला र २५३ पुरुष गरी कुल तीन सय ११ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । हिमाल आरोहणमार्फत रु ५२ करोड ६४ लाख रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ४६ करोड ‘रोयल्टी’ सङ्कलन भएको जनाइएको छ । 

विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार बुधबार साँझसम्म विभिन्न २१ हिमाल आरोहणका लागि ७४ आरोही समूहले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि निकै कठिन मानिएको खुम्बु आइसफलसम्मको बाटो निर्माणसम्पन्न भएको विभागले जनाएको छ । आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको निर्देशक अवस्थीले बताउनुभयो । उहाँले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनिसकेकाले अब केही दिनमै दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन दक्ष शेर्पाको टोली खटिने जानकारी दिनुभयो ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले जिम्मेवारी लिँदै आएको छ । पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्नेछ । सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।

सगरमाथा आरोहणको इतिहास दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखमा बनाउनुभएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का आरोहण सुरु भएयता हालसम्म सात हजार ६२६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । आरोहीले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कतिपयले यात्राकै क्रममा ज्यानसमेत गुमाउने गरेका छन् ।

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

तुलसीपुर, ४ वैशाखः दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् । पटक–पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक चक्काजाम गर्नाका साथै सडकमा केरासमेत रोपेका थिए ।

बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताउनुभयो । “सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ”, उहाँले भन्नुभयो ।    सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताउनुभयो ।  

राजस्व कार्यालय भद्रपुरद्धारा नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ४ वैशाखः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०÷८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा रु दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको ंसूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको नौ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताउनुभयो । कार्यालयले नौ महिनामा आयकरबाट रु एक अर्ब सात करोड ९४ लाख ९४ हजार, ब्याजबापत रु सात करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु ७६ करोड ७१ लाख नौ हजार, अन्तःशुल्कबापत रु ३९ करोड ९७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी रु एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिनुभयो । “कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैङ्क खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ”, उहाँले भन्नुभयो ।

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४ वैशाखः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रूपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १४ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८३ पैसा र बिक्रीदर २० रूपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७ रूपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

वैशाख ९ गते कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी

काठमाडौँ, ३ वैशाख : नेकपा (एकीकृत समाजवादी) पार्टीले यही वैशाख ९ गते काठमाडौँमा कार्यकर्ता भेला गर्ने भएको छ ।पार्टीले कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षका अवसरमा भेला आह्वान गरेको हो ।

भेलामा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने भेलामा सबै जनवर्गीय सङ्गठनका कार्यप्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने जनाइएको छ । पार्टीको १०औँ महाधिवेशनमा पारित एजेण्डा, कार्यदिशा कार्यान्वयनको अवस्थाबारे छलफल गरिने भेलामा राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा पेस गरिनेछ ।

पार्टीले मातहतका कमिटीलाई देशभर कम्युनिष्ट पार्टी स्थापनाका अवसरमा राजनीतिक प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, वृक्षरोपणलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्य आयोजना गर्न पत्राचार गरेको महासचिव भुसालले जानकारी दिनुभयो ।

लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, ३ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँले आगामी दिनमा नयाँ कार्यक्रमलाई अगाडि बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विपन्न वर्गका नागरिकको घरमा सौर्य ऊर्जा जडान गरेर डबल मिटरिङ गर्नसके उनीहरुको जीवनस्तरमा सुधार आउने भएकाले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो । उहाँले सरकारले सन् २०३५ सम्म राखेको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रसारण लाइन निर्माणको गतिलाई तीव्रता दिनुपर्ने भन्दै निजी क्षेत्रलाई समेटेर प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

  मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई भार परेको भन्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न कम्पनी खडा गरे पनि उक्त कम्पनीले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई १० वर्षदेखि बाँकी रहेको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउनका साथै प्राधिकरणको हालको अवस्थाबारे श्वेतपत्र जारी गर्न निर्देशनसमेत दिनुभयो । उहाँले बजेट माग्ने तर खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

  “आयोजना अध्ययन निजी क्षेत्रले चाँडो सके पनि सरकारी संयन्त्रमा भइरहेको ढिलाईले हामीलाई चिन्तित बनाएको छ, हिजो मागेको बजेटको प्रतिफल देखिएन भने आगामीका लागि कसरी माग गर्ने”, उहाँले प्रश्न गर्नुभयो । वर्षे बजेटको बहानामा बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

  मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले बजेटको सुनिश्चितता हुँदाहुँदै पनि राष्ट्रिय गौरवका आयोजनामा प्रगति हुन नसकेको बताउनुभयो । उहाँले ऊर्जा विकासका क्षेत्रमा सरकारले गरेका प्रतिबद्धता पूरा हुन नसकेको भन्दै त्रिशूली थ्री वी आयोजना, मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुभयो । आगामी आवदेखि आयोजनाका बारेमा नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

  मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तेस्रो चौमासिकसम्म आइपुग्दा काम सन्तोषजनक नभएको बताउनुभयो । गत आवको तुलनामा यस समयसम्म बजेट कम खर्च हुनु दुःखद् भएको उहाँको भनाइ थियो । उहाँले प्राप्त सिलिङभित्र बसेर आगामी आवको बजेट बनाउनुपर्ने बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले आयोजनाको प्राथमिकतालाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गर्नुभयो ।

छलफलमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरुले नौ महिनामा भएको भौतिक तथा वित्तिय प्रगतीका बारेमा जानकारी गराउनुभएको थियो । 

घोडेपानी–पुनहिल घुम्ने पर्यटक बढे

म्याग्दी, ३ वैशाख : यहाँको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या विसं २०८० को तुलनामा विसं २०८१ मा बढेको छ । पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार विसं २०८० मा ३१ हजार ४३९ जना पर्यटक आएकामा विसं २०८१ मा ३२ हजार ३५० आएका छन् । चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक अरविन्द्र कडेलले अघिल्लो वर्षको तुलनामा विसं २०८१ मा ९११ जना बढी पर्यटक आएको जानकारी दिनुभयो ।

सबैभन्दा बढी कात्तिक महिनामा पाँच हजार ८१८ र त्यसपछि चैतमा पाँच हजार ६५८ जना पर्यटक आएका छन् । समुन्द्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।

घोडेपानीमा बास बस्ने पर्यटकहरु एकाबिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । घोडेपानीमा साना ठूलागरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्नसक्ने क्षमता रहेको छ । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ४० लाख एक हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले रु ५० र विदेशीले रु १५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 

अनुकूल मौसम र याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वध्यक्ष डमबहादुर पुनले बताउनुभयो । पोखरेबगर–चित्रे–घोडेपानी सडकको घोप्टेखर्कको पहिराका कारण यातायात अवरुद्ध हुँदा सार्वजनिक यातायातमार्फत घोडेपानी घुम्न आउने पर्यटकलाई समस्या भएको उहाँले बताउनुभयो । 

अन्नपूर्ण चक्रीय पदमार्ग परिक्रमा गरी तातोपानी हुँदै कास्कीको वीरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चार वटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । 

संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार : सभामुख घिमिरे

विर्तामोड (झापा), ३ वैशाख : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको मौलिक पर्व, परम्परा र विविध संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार भएको बताउनुभएको छ ।

यहाँको मेचीनगरस्थित धाइजनमा आयोजित लोपोन्मुख मेचे समुदायको राष्ट्रिय पर्व वैशागु बथर तथा वृहत् जनसांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सबै जातजातिको धर्म, संस्कृति, रीतिरिवाज खुला रूपमा मनाउन पाउनु गणतन्त्रको देन भएको उल्लेख गर्नुभएको हो ।  

सभामुख घिमिरेले संविधानसभाबाट घोषित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अघि बढ्नुपर्ने बताउँदै नेपाल विभिन्न जातजातिको साझा थलो भएको बताउनुभयो । यसमा सबैको धर्म, संस्कृति, पहिचानलाई समान महत्व दिएरमात्र राष्ट्र बलियो र समृद्ध बन्ने उहाँको भनाइ छ ।

घिमिरेले जातीय सौहार्द बिगार्न खोज्ने तत्वबाट सजग रहनसमेत आग्रह गर्नुभयो । “लोपोन्मुख जातिहरू जोगिएनन् भने राष्ट्रिय मौलिकता हराउने खतरा रहन्छ । मेचे समुदायजस्ता लोपोन्मुख जातिको संरक्षण राज्यको दायित्व हो ”, सभामुख घिमिरेले भन्नुभयो । मेचे समाज शिवियारी आफात केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा सभामुख घिमिरेले मेचे भवनकोसमेत उद्घाटन गर्नुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच हजार १९३ जनसङ्ख्या रहेको मेचे समुदायको बसोबास झापाका नौ स्थानीय तहमा मात्र छ । मेचीनगरमा करिब दुई हजार जनसङ्ख्या रहेको छ । 

‘लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायको आह्वानः पहिचानसहित संरक्षित क्षेत्र स्थापना गर्ने हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आयोजना भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामुदायिक सशक्तीकरणका सन्देश प्रस्तुत गरिएको छ ।

कार्यक्रममा एसइई परीक्षामा मेचे समुदायबाट उत्कृष्ट अङ्क ल्याउने आइस्था मेचे, दीपा मेचे, अञ्जली मेचे, गरिमा मेचे र प्रकृति मेचेलाई सम्मान गरिएको थियो । साथै, नवनिर्मित भवनका लागि जग्गा दान गर्ने नरेन्द्र मेचे गछम, बुद्धलाल मेचे र विशु मेचेलाई कदरपत्र सहित सम्मान गरिएको थियो । 

लेबनानमा इजरायली आक्रमणः दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको इजरायलको दाबी

लेबनानको दक्षिण क्षेत्रमा इजरायली आक्रमणका कारण बुधबार दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले हिजबुल्लाह समूहका एक लडाकुलाई मारिएको दाबी गरेको छ, यद्यपि दुबै पक्षबीच युद्धविराम जारी रहेको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार वाडी अल–हुजैर क्षेत्रमा इजरायली ड्रोनबाट एक सवारीमाथि भएको आक्रमणमा एक जनाको मृत्यु भएको हो । यो स्थान इजरायलको सीमाबाट करिब १२ किलोमिटर टाढा पर्छ । त्यसपछि अर्को आक्रमण हानिन नामक गाउँमा भएको थियो, जहाँ एक जनाको मृत्यु र अर्को घाइते भएका छन् ।

इजरायली सेनाले कान्तारा क्षेत्रमा हिजबुल्लाहको ‘राडवान फोर्स’ का एक सदस्यलाई मारेको जनाएको छ ।

युद्धविराम नोभेम्बर २७ देखि लागू भएपनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । करिब दुई महिनाको खुला युद्धपछि उक्त युद्धविराम लागू भएको थियो । मङ्गलबार दक्षिण लेबनानको आइतारुनमा इजरायली आक्रमणमा घाइते भएका १७ वर्षीय युवकको पनि मृत्यु भएपछि त्यस हमलामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । इजरायलले उक्त हमलामा पनि हिजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयका अनुसार युद्धविराम लागू भएपछि इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ७१ सर्वसाधारणको मृत्यु भएको छ । हिजबुल्लाहका सांसद हसन फदलल्लाहले भन्नुभयो,“युद्धविरामपछि हालसम्म १८६ जनाको मृत्यु भइसकेको छ, तर तिनमध्ये कति हिजबुल्लाह सदस्य थिए भन्ने खुलाइएको छैन ।”

सुरक्षा परिषद्को प्रस्तावअनुसार युद्धविरामपछि लेबनानको दक्षिण क्षेत्रमा केवल लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेना मात्रै रहनुपर्ने र हिजबुल्लाहले लिटानी नदीभन्दा दक्षिणबाट लडाकुहरू हटाउनु पर्ने शर्त राखिएको थियो ।

इजरायलले पनि आफ्ना फौजहरू फिर्ता गर्नु पर्ने भए पनि उसले अझै पनि रणनीतिक रूपमा महत्त्वपूर्ण ठानेका पाँच स्थानमा आफ्नो कब्जा कायम राखेको छ । यता, हिजबुल्लाहले लिटानी नदीभन्दा दक्षिणका २६५ सैन्य चौकीमध्ये १९० वटा लेबनानी सेनालाई सुम्पिएको स्रोतहरूले बताएका छन् । लेबनानी सेना अहिले ती क्षेत्रहरूमा तैनाथ भइरहेको छ ।

जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

दमौली (तनहुँ), ३ वैशाखः पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रुपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना४च ८३९० नम्बरको तरकारी बोक्ने जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१६प १५७० नम्बरको स्कुटर ठोक्किँदा घाइते गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो । 

दुर्घटनामा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–३ का १९ वर्षीय रोहन मगर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

कास्की, ३ वैशाख : पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । पोखरा रङ्गशालामा समूह ‘डी’ को आज सम्पन्न अन्तिम खेलमा अत्तरिया क्रिकेट एकेडेमी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया अन्तिम चारमा पुग्न सफल भयो ।

यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौँ, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । खेलमा जितका लागि १२५ रनको विजयी लक्ष्य अत्तरियाले १४ ओभरको दोस्रो बलमा चार विकेट गुमाउँदै भेट्टायो । अत्तरियाका निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अर्जुनले १४ बलमा दुई चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिँदै आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिँदै आउट भए । ओपनर सोहनकुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारीले रन बनाए ।  अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २/२ तथा भोजराज भट्टले एक विकेट लिए । 

त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैँचा क्रिकेट क्लबलाई सात विकेटले हराएको थियो । १४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२ ओभरको तेस्रो बलमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो । 

अत्तरियाले कूल तीन खेलमा तीन जित हात पार्दै छ अङ्कका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले तीन खेलमा दुई जित र एक हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले तीन खेलमा एक जित दुई हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा रहँदा सुन्दरहरैँचा क्रिकेट क्लब जितविहीन हुँदै पुछारमा रह्यो । प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल काठमाडौँ र हिमाल फ्रेण्ड्स तथा दोस्रो सेमिफाइनल गण्डकी र अत्तरियाबीच हुनेछ ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेल वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच  लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । 

चिसापानी–मङ्गलसेन सडक स्तरोन्नति सुरु गर्न मुख्यमन्त्रीको निर्देशन

लम्की (कैलाली), ३ वैशाखः चिसापानी–मङ्गलसेन सडकखण्डको १६ किमी सडक स्तरोन्नति सुरु गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय वनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन सम्झौता भएसँगै मुख्यमन्त्री शाहले सो निर्देशन दिनुभएको हो ।

आज मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कैलालीको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने चिसापानी–मङ्गलसेन सडकखण्डसँग सम्बन्धित पक्षसँगको छलफल पछि स्तरोन्नति सुरु गर्न निर्देशन दिनुभएको थियो । छलफलमा सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर प्रकाश खड्का, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल, वन निर्देशनालय सुदूरपश्चिम प्रमुख हेमराज विष्ट, मोहन्याल गाउँपालिका–७ का वडाध्यक्ष नवराज कठायत, युवा नेता नेत्र भण्डारीलगायतको सहभागिता थियो ।

मङ्गलबार चिसापानी–मङ्गलसेन सडकखण्डमा पर्ने राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभागबीच सम्झौता भएको थियो ।

“चिसापानी–मङ्गलसेन सडकखण्ड परापूर्वकालदेखि हटेरु बाटोका रुपमा परिचित छ”, बैठकमा मुख्यमन्त्री शाहले भन्नुभयो, “पिता पुर्खाहरुको नासोका रुपमा रहेको यस सडकखण्डको स्तरोन्नति गरी जनतालाई विकासको प्रत्याभूति गराउनु पर्दछ ।” उहाँले २०२४ सालमा स्व हरिप्रसाद भण्डारीले मङ्गलसेनसम्म मोटर गाडी पु¥याउनु भएको स्मरण गराउनुभयो । 

सडक डिभिजन कार्यालय महेन्द्रनगर, डिभिजन वन कार्यालय पहलमानपुर र वन निर्देशनालय सुदूरपश्चिमले बिहीबारदेखि काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना, निर्माण व्यवसायी र वन मन्त्रालयबीच त्रिपक्षीय समन्वयमा काम सञ्चालन गर्नुपर्ने निर्णय बैठकमा गरिएको छ ।

प्रदेश गौरवको योजनाभित्र रहेको यस सडकलाई चालु आर्थिक वर्षमा प्रदेश सरकारले स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिका–७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि रु २१ करोड ७३ लाख, साँघुरे खोलामा मोटरपुल निर्माणका लागि रु १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि रु १० करोड बजेट विनियोजन गरेको छ ।

‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङ

काठमाडौँ ३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताउनुभएको छ । मन्त्रालयमा आज वैशाख ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताउनुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट ट्र्याक’ अपनाएर विधेयक पास गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो । “शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, त्यसको व्यवस्थापन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विधेयक पास गर्ने तयारीमा छौँ”, मन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल शिक्षक महासङ्घले उठाएका मागप्रति नेपाल सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवादलाई निरन्तरता दिने एवं सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङका अनुसार सरकारले आन्दोलनरत शिक्षकलाई आ–आफ्नो काममा फर्कन आह्वान गरेको छ । विधेयक छिटो पारित गर्न सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने विश्वास दिलाइएको उहाँले जानकारी दिनुभयो ।

हाल विद्यालयमा नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने समय रहेको र माध्यमिक शिक्षा परीक्षा कक्षा १० को उत्तरपुस्तिका परीक्षण गर्ने एवं कक्षा १२ को परीक्षा सञ्चालन गर्नेजस्ता महत्त्वपूर्ण कार्य गर्नुपर्ने भएको हुँदा प्रदर्शनका कार्यक्रम रोकी विद्यार्थी र अभिभावकको हितलाई मध्यनजर गरी शिक्षकहरूलाई आ–आफ्नो काममा फर्किन आह्वान गर्ने र सोको लागि आवश्यक वातावरण बनाउन नेपाल शिक्षक महासङ्घलाई अनुरोध गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न सरकारले छलफल चलाएको जानकारी दिँदै चाँडै गभर्नर नियुक्त हुने विश्वास दिलाउनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्तिका बारेमा वार्ता भइसकेको र छिट्टै नियुक्ति गरिनेसमेत उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले यही वैशाख ९ गतेदेखि १५ गतेसम्म चीनको कुनमिङ्गमा आयोजना मन्त्रिपरिषद्को कार्यालय हुने ५६ औँ इसिमोडको गभर्नर बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको छ ।

विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणको लागि १३७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिनको लागि सैद्धान्तिक सहमति दिने एवं ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिमरूप दिन नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय छ ।

त्यसैगरी साना सिँचाइ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८ लाख ८ हजार स्वीस फ्रयाङ्क प्राप्त गर्ने सरकारले निर्णय गरेको छ । यही वैशाख ५ गतेदेखि ११ गतेसम्म कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृषि विकास डा गोविन्दप्रसाद शर्मालाई भारत भ्रमणको लागि स्वीकृति दिइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल अन्तरगतका बोर्डर आउटपोष्ट, गुल्म तथा विपद् व्यवस्थापन वेशसमेतका १३ कार्यालयको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ । सरकारले नेपाली सेनातर्फ दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने र तीन जना सहायक रथीको सरुवा गर्ने निर्णय गरेको छ । आगामी जेठ १२ गतेदेखि १५ गतेसम्म बेलायतको ब्रिटिस गोर्खा वेलफेयर ट्रस्ट (जिडब्लुटी) द्वारा सञ्चालित कल्याणकारी कार्यक्रमको अवलोकन भ्रमण तथा बेलायतका उच्च पदाधिकारीसँग हुने शिष्टाचार भेटमा सहभागी हुन रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाललाई स्वीकृति दिइएको छ ।

दैलेखको दुल्लूस्थित नेपाली सेनाको कालीदत्त गुल्मले साविकदेखि प्रयोग गर्दै आएको जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँले आगामी जेठ ८ मा चीनको बेइजिङमा आयोजना हुने ‘१३ औँ सेसन अफ द इनबार काउन्सिल’ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति दिइएको बताउनुभयो ।

उहाँका अनुसार वैशाख ९ र १० गते हङकङमा आयोजना हुने ‘एसिया कल्चरल को–अपरेसन फोरम (एसिसिएफ) प्लस २०२५’ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिइएको छ । सरकार, सहरी विकास मन्त्रालय र गणतन्त्र भारतको ‘मिनिस्ट्री अफ हाउजिङ एन्ड अर्वान अफियरर्स’ बीच हस्ताक्षर हुने दिगो सहरी विकासका लागि सहकार्य विषयक समझदारीपत्र स्वीकृत गरिएको छ ।

आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ आगामी साउन १ गतेदेखि नेपाल राज्यभर प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति चौँथो संशोधन आदेश, २०८१ स्वीकृत गर्ने र अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिइएको छ ।

सरकारी जग्गा दर्ता, उपयोग तथा भाडामा उपलब्ध गराउनेसम्बन्धी (पहिलो संशोधन) कार्यनीति, २०८१ स्वीकृत गर्ने, हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने र चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन–२०८१ कार्यान्वयनको लागि ७ दिनभित्र कार्यान्वयन कार्ययोजना बनाइ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (शासकीय मामिला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव राजस्व र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव उद्योग रहेको समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी यही वैशाख १२ गते शुक्रबारका दिन १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु

तडी, ३ वैशाखः यहाँको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरू भएको छ । कमल विशाल पार्क खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मन्त्री भण्डारीसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, पूर्वसंविधानसभा सदस्य नरेन्द्र कुँवर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतको उपस्थिति थियो ।

जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता यही वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको यो १५औँ संस्करण हो । दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहमा रहेका विद्यालयका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरूमा प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । जिल्लास्तरीय रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ सिल्डका लागि छनोट हुनेछन् ।

मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सुरु

धुलिखेल (काभ्रेपलाञ्चोक), ३ वैशाखः गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनको औपचारिक सुरुवात यहाँको रोशी गाउँपालिका–२ नारायणटारबाट भएको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘२०८१ को मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलन(डिडिए) शुभारम्भ कार्यक्रम’मा विपद् प्रभावित परिवारको लगत सङ्कलन कार्यक्रम सम्पन्न तथा प्रभावितलाई निस्सा वितरण गर्दै उहाँले निजी आवास पुनःनिर्माण सुरु भएको बताउनुभएको हो ।

“गत असोजमा गएको बाढीपहिरोले देशका विभिन्न ठाउँमा क्षति पु¥याएकामा पुनःनिर्माण गर्ने काम आजबाट सुरु भएको छ”, उहाँले भन्नुभयो, “आजदेखि काभ्रेजिल्लाभरि क्षति भएका घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ भएको छ ।” सो क्रममा पूर्ण रुपमा क्षति भएका घरको पुनःनिर्माण गर्ने र आंशिक रुपमा क्षति भएका घरको प्रवलीकरण गर्ने उहाँको भनाइ छ ।

बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका रहेकाले विस्तृत क्षतिको आँकलन यहीँबाट सुरवात गरेको गृहमन्त्री लेखकले बताउनुभयो । उक्त मनसुनजन्य विपद्बाट क्षति पुगेका अन्य जिल्लाको क्षतिग्रस्त निजी घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ गर्ने जनाएको छ ।

बजेटको व्यवस्थापन, कानुन, नीति निर्देशिका परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाइ भएकाले क्षति आँकलन ढिलाइ भएको उहाँले स्पष्ट पार्नुभयो । जसमा अस्थायी आवास निर्माण गर्न दुई चरणमा रु २५÷२५ हजार रकम उपलब्ध गराउने र स्थायी घर निर्माणका लागि प्रति घर रु चार लाख उपलब्ध गराउने गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

अस्थायी घर निर्माणका लागि काभ्रेपलाञ्चोकका लागि रु सात करोड ३५ लाख रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आजै उपलब्ध गराइसकेको गृहमन्त्री लेखकले बताउनुभयो । अब सरकारबाट थालनी गरेको कामलाई ढिला नगरिकन तीव्रता दिन जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो । जसमा सबै तहका सरकार र सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

सो क्रममा बोल्दै गृहमन्त्री लेखकले सडक र पुल पुनःनिर्माण सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अगाडि बढाउने बताउनुभएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण अगाडि बढिसकेकोमा वर्षामा पनि आवातजावत गर्न यातायात अवरुद्ध नहुने गरी काम भइरहेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले कतिपय ठाउँमा बस्ती बसाल्नै नसकिने गरी भएको क्षतिले अझै पुनःस्थापनाका लागि चुनौती रहेको बताउनुभयो । पहिला बस्ती भएको ठाउँको नामनिसाना नै नभएको र अरु योग्य ठाउँ पनि नभएकाको क्षतिको आँकलन गर्न समस्या हुने र पुनःस्थापनाका लागि समस्या देखिएको उहाँको भनाइ छ । काम गर्ने भन्ने तर सार्वजनिक खरिद ऐनले अवरोध सिर्जना गर्ने, आर्थिक वर्षको अन्त्यतिर आएका कारण बजेट सञ्चालन र कार्यान्वयनमा समस्या हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले यसअघि मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन गर्नका लागि बजेट अभाव भएकाले नसकेको बताउँदै बजेट व्यवस्थापनसँगै काम अगाडि बढेको बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाभित्रमा बाढीपहिरोबाट पीडित नागरिकलाई तत्कालका लागि उद्धार र राहत वितरणपछि मृतक परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त रकम वितरण, सङ्घ संस्थासँगको समन्वयमा सबै पीडित परिवारलाई तत्कालका लागि गुजारा खर्च र अवस्था अनुसार अस्थायी आवास निर्माण गरेर अब पुनःनिर्माणमा केन्द्रित भएको बताउनुभयो ।

बाढीपहिरोबाट रोशी गाउँपालिकाको ५६३ निजी घर क्षतिग्रस्त बनाएको थियो । रोशी गाउँपालिकामा पालिका र प्राधिकरणका १८ जना प्राविधिकहरु पुनःनिर्माणमा खटिसकेका छन् ।

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

काठमाडौँ, ३ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय गर्नुभएको थियो । त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकैठाउँमा रहनेगरी ‘युनिक हेल्थ आइडी’ निर्माणको तयारी थालिएको जनाइएको छ ।

आज मन्त्रिस्तरीय निर्णय गर्दै उहाँले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गर्नुभएको छ । समितिमा मन्त्रालयको नीतियोजना तथा अनुगमन महाशाखा, कानुन तथा फैसला कार्यान्वयन महाशाखा, पञ्जीकरण विभागका प्रतिनिधि रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी, सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बिमा बोर्ड, विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल उद्योग परिसङ्घका प्रतिनिधि समितिमा छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी हुनुहुन्छ । समितिलाई स्वास्थ्य पहिचान नम्बर सिर्जना गर्ने विधि, प्रक्रिया तथा ‘अल्गोरिदम’ अध्ययन गरी प्रस्ताव गर्न कार्यादेश दिइएको छ ।

राष्ट्रिय परिचयपत्र, स्वास्थ्य बिमा प्रणाली तथा सरकारबाट जारी भएका मान्यता प्राप्त परिचयपत्रसँग आवश्यक अनुसन्धान गर्न  भनिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिएपछि थप प्रक्रिया अघि बढ्नेछ ।

यसले व्यक्तिका स्वास्थ्यसम्बन्धी सबै विवरण एकत्रित हुने र  उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्याङ्कका आधारमा कार्यक्रम, योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरुको भनाइ छ । 

समितिका सदस्य न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागू हुनसके मद्दत पुग्ने बताउनुभयो ।

परदेशी भावनामा आधारित मनछुने प्रस्तुति यूके लान्छु बजारमा

नेपाली सङ्गीत क्षेत्र अहिले लोकदोहोरी गीतहरूले व्यापक लोकप्रियता हासिल गरिरहेको समय हो। यही सन्दर्भमा समीप इन्टरटेन्मेन्टले ‘यूके लान्छु’ शीर्षकको नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो भव्य रूपमा सार्वजनिक गरेको छ। यस गीतको कथावस्तु युकेमा बसेका एक लाउरेको जीवनकथामा आधारित छ।

उनले आफ्नी प्रेमिकालाई सम्झँदै आफ्नै घरमा बहिनीको विवाहमा सहभागी हुन आउँदा उत्पन्न हुने भावनात्मक पलहरू भिडियोमा मार्मिक ढंगले चित्रण गरिएको छ। गीतले परदेशी नेपालीको भावना, प्रेम र पारिवारिक सम्बन्धलाई सजीव ढंगले प्रस्तुत गर्छ।

गीतमा गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। अभिनयमा सुनिल न्यौपाने र चर्चित अभिनेत्री गरिमा शर्माले मुख्य भूमिका निर्वाह गरेका छन्। साथै सहायक कलाकारहरूमा सरोज पौडेल, भीमार्जुन ओली, निकसन लोहनी, ईश्वर श्रेष्ठ, तथा बहिनीको भूमिकामा रविना पाण्डे देखिएका छन्।

गीतको शब्द र संगीत सचिन भट्टराई स्वयम्‌ले तयार गरेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्।प्राविधिक पक्षमा पनि विशेष ध्यान दिइएको छ। छायांकन हरी हुमागाईं, कोरियोग्राफर रोशन विश्वकर्मा, मेकअप दिपु पौडेल, सम्पादन तथा रङ संयोजन दिल्सन शाह, सह–निर्देशन सुनिल बुढाथोकी, प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने, तथा निर्माण मिना बर्तौलाले गरेकी छिन्।गीतको निर्देशन भने हाल चर्चामा रहेका निर्देशक दिलीप समनले गरेका छन्।

विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु

काठमाडौँ, ३ वैशाखः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको राससलाई जानकारी दिनुभयो ।

दुबईबाट काठमाडौँ आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

“उक्त घटनामा देखिएका प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाएर छानबिन थालेका छौँ, छानबिनपछि यकिन कुरा आउँछ”, तामाङले भन्नुभयो । ट्रली बाहिर ल्याएको विषयमा विमानस्थलकै कर्मचारीसँग विवाद भएको र त्यसपछि विवाद भएको जनाइएको छ । सामाजिक सञ्जालमा प्रहरीको व्यवहारको आलोचना भइरहेको छ ।उनी वैदेशिक रोजगारीबाट फर्कने क्रममा विमानस्थलमा भन्सार जाँच पासपछि उक्त घटना भएको थियो ।

वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने

काठमाडौँ, ३ वैशाखः वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ । विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो ।

वायुप्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ । 

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुमगन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिनुभयो । 

“लामो समयसम्म पानी नपर्दा एक साताअघि प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुगेको थियो । अहिले वर्षासँगै एक सय १३ एक्युआइको हाराहारीमा प्रदूषण पुगेको छ । जबकि साता  दिनअघि ३७० एक्युआइ नाघेको थियो”, उहाँले भन्नुभयो, “वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्छ । नियन्त्रणका लागि हामी प्रदूषणको अवस्था उच्च हुँदामात्रै होइन बाह्रै महिना प्रयासरत रहनेछौँ ।”

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।

नेपालमा ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’ : अध्यक्ष यादव

जलेश्वर, ३ वैशाखः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताउनुभएको छ ।जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उद्घाटन सत्रमा उहाँले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताउनुभयो ।

उहाँले केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहे पनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने उहाँको भनाइ छ । 

अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेकोसमेत उल्लेख गर्नुभयो । देशमा विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिको जिम्मेवार वर्तमान सरकार रहेको र उनीहरुलाई आउने दिनमा जनताले निर्वाचनमार्फत जवाफ दिने उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमहरू सहमतीय आधारमा साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर माओवादी केन्द्रको सो विभागका प्रमुख माधव सापकोटासहितको टोलीले यस कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेको हो ।

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचार भन्दामाथि उठेर यसलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्त्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो । उहाँले यसलाई सफल बनाउन विभिन्न राजनीतिक दलसँग पत्राचार गरिने पनि जनाउनुुभयो ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी, ३ वैशाखः “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिनुभयो । करिब दुई किलोमिटर ढलान पनि गरिएको छ ।

चार वर्षअघि रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उहाँले बताउनुभयो । पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो ।

हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।

चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो ।तीन मिनेट लामो ट्रेलरले सामाजिक कथावस्तुमा आधारित रहेर सिनेमा बनेको देखाएको छ । भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ ।

वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ । जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस सिनेमाले भन्ने संकेत गरेको छ ।

पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ । परिवारमा धर्म संस्कारलाई लिएर भएको विवादले पर्ने प्रभाव पनि ट्रेलरले देखाएको छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदैछ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ । चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन आज गरिदै

पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आज गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् ।

बैशाख ३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

काठमाडौँ, ३ वैशाखः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ ।मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताउनुभयो ।
मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताउनुभयो ।

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रेपलाञ्चोक, ३ वैशाखः सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका थिए ।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।