`

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

काठमाडौँ, ३ वैशाखः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ ।मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताउनुभयो ।
मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताउनुभयो ।

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रेपलाञ्चोक, ३ वैशाखः सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका थिए ।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।

विद्युत् सवारीको ब्याट्री सुरक्षा नियममा चीनको नयाँ पहल

चीनले विद्युत् सवारीसाधन (इभी) मा प्रयोग हुने ब्याट्रीको सुरक्षासम्बन्धी नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड सन् २०२६ जुलाई १ देखि लागू गर्ने भएको छ ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो मापदण्डको शीर्षक ‘जीबी३८०३१–२०२५’ राखिएको छ ।

संशोधित मापदण्डमा केही महत्वपूर्ण सुधारहरू गरिएको छन् । यसमा ब्याट्रीको ताप सम्बन्धी परीक्षणमा परिमार्जन गरिएको छ, जसअन्तर्गत आवश्यक तापक्रम, परीक्षण अवलोकनको समय तथा सवारी परीक्षणको अवस्था अझ स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

त्यस्तै, ब्याट्रीमा पटक–पटक तीव्र चार्ज गरेपछि त्यसको सुरक्षा अवस्था जाँच गर्न नयाँ परीक्षण पनि थपिएको छ । अब ३०० पटकसम्म तीव्र चार्ज गरेपछि बाहिरी छोटो सर्किट परीक्षण गरिनेछ ।
संशोधित मापदण्डले यो नियम सवारीसाधन चलाउन प्रयोग हुने शक्ति ब्याट्रीहरूमा मात्र लागू हुने उल्लेख गरेको छ । यो कदमले विद्युत् सवारीको सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानले पछिल्ला १३ दिनमा झण्डै ६० हजार अफगान नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ( आईओएम) ले जानकारी दिएको छ ।आईओएमका अनुसार सन् २०२५ अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट धेरै अफगान नागरिक अफगानिस्तान फर्किएका छन् ।

सङ्गठनले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ । सन् २०२३ सेप्टेम्बर यता पाकिस्तान र इरानबाट करिब २४ लाख ३० हजार अफगान नागरिकहरू फर्किसकेका छन्, जसमा धेरैजसोलाई स्वेच्छाले नभई बाध्य भएर फर्कनु परेको बताइएको छ ।

पाकिस्तान सरकारले सन् २०२५ भित्र करिब ३० लाख अफगान नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ ।हाल करिब ७० लाख अफगान नागरिक विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश पाकिस्तान र इरानमा छन्। तीमध्ये धेरैजसोसँग आवश्यक कागजातहरू छैनन् ।

वीरगञ्ज भन्सार कार्यालयद्धारा नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ३ वैशाखः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो । यसैगरी, फागुनमा रु १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ३ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ३५, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम, ३ वैशाखः वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उहाँहरुलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ ।

“शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भन्नुभयो, “गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन् ।” उहाँ मात्रै होइन उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ । यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ ।

विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरु बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन् । पातलो बस्ती र जनघनत्व पनि कम भएको यी ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो । “घरबाट धाएर पु¥याउँदा टाढा हुन्छ । गत सालदेखि आफू उतै कोठामा बसेर नातिनी पढाइरहेकी छु”, सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६९ वर्षीय निम लमुले भन्नुभयो ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द गरिएको थियो । “सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन”, उहाँले भन्नुभयो ।

अहिले यस क्षेत्रबाट करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १८ देखि २० हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले राससलाई बताउनुभयो । जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिनुभयो । यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने लामाको दुखेसो छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने एक वर्षअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकार भएका निकायले चासो देखाएका छैनन् ।

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौँ, ३ वैशाख : नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात् उक्त दिन प्रदर्शनरत चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेको देखिन्छ ।

यस वर्षको सुरुआतमा दर्शकको भीडभाड चलचित्र भवनमा देखिएको छ । प्रदर्शनरत चलचित्र ‘पिताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’, ‘कर्मा’ लगायत हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पिताम्बर’ले नयाँ वर्षको दिन सोमबार प्राप्त गरेको शोहरू भरिभराउ रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले काठमाडौँ उपत्यकाका अधिकांश चलचित्र भवन पुगेर दर्शक कोप्रतिक्रिया लिएका छौँ । चलचित्र हेर्नेले राम्रो प्रतिक्रिया दिनुभएको छ । नेपालमा यस्तो चलचित्र बन्छ भन्ने प्रतिक्रिया दिनु नै हाम्रो सफलता हो ।” उहाँले व्यापारिक रुपमा आफ्नो समूह सफल हुने विश्वास व्यक्त गर्नुभयो । उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरी, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस चलचित्रलाई ‘मल्टीस्टारर’ भनिएको छ । उल्लेखित कलाकार कथाको मागका कारण राखिएको निर्देशक चौलागाईंले जानकारी दिनुभयो । उहाँले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताउनुभयो ।

“हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ । कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो चलचित्रपछि अन्य निर्मातालाई यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ”, निर्देशक चौलागाईंले भन्नुभयो । उक्त चलचित्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा रु एक करोड ८६ लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क छ । 

अभिनेता विपीन कार्की, दिव्यदेव पन्त, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायतले अभिनय गर्नुभएको चलचित्र ‘कर्मा’ मा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । सौरभ चौधरीले निर्देशन गर्नुभएको चलचित्र द्वन्द्व प्रधान विधामा तयार भएको छ । 

प्रकाश सपूतले अभिनय तथा निर्देशन गर्नुभएको चलचित्र ‘वसन्त’, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ मा पनि नयाँ वर्षमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । ‘बक्सअफिस’ मा यस चलचित्रले रु एक करोड ७७ लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ ।

‘अञ्जिला’ चलचित्रका निर्देशक मिलन चाम्सले प्रदर्शनको पाँचौँ हप्तामा प्राप्त दर्शकको साथले निर्माण समूह कृतज्ञ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक खेलाडीको जीवनीमा बनेको नेपाली चलचित्रले सफलता पाएको छ । यसले आगामी दिनमा अन्य क्षेत्र झै खेलाडीको विषयलाई चलचित्रमा ल्याउन निर्मातालाई आँट दिएको छ । साथै, हामीले कप्तान सुब्बाको घर बनाउने भनेका छौँ, यो पनि छिट्टै पूरा हुने भएको छ ।” उक्त चलचित्रमा कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज, ३ वैशाख : जिल्ला प्रहरी कार्यालय, बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादार, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो । 

“यसमा अदालतले फैसला गरेका र केही मुद्दा मात्रै चलेका अभियुक्त छन्”, उहाँले भन्नुभयो । प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा रु ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो । अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । 

चैत महिनामा दर्ता भएका एक सस ५८ मुद्दातर्फ एक सय ९३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । तीन हजार सात सय २० सावरीसाधनका चालकलाई कारबाही गरी रु २९ लाख ५८ हजार राजस्व सङ्कलन गरिएको छ । सो अवधिमा ७१ सवारीसाधन दुर्घटना हुँदा सात जनाको मृत्यु तथा एक सय २० जना घाइते भएका थिए । विभिन्न स्थानबाट हराएका तथा चोरी भएका छ मोटरसाइकल र २६ स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।  

जुनियर टेनिस प्रतियोगिता आजदेखि

गण्डकी, ३ वैशाख : कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आजदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि छात्र तथा छात्रा एकल, डबल्स गरी विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । एकलतर्फ विजेताले रु १५ हजार तथा उपविजेताले रु सात हजार पाँच सयसहित मेडल प्राप्त गर्ने छन् । छात्र तथा छात्रा ओपन डबल्सतर्फ विजेताले रु १० हजार र उपविजेताले रु पाँच हजारसहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।

चौध वर्ष एकलतर्फ विजेताले रु १० हजार तथा उपविजेताले रु पाँच हजारसहित मेडल प्राप्त गर्ने छन् । बाह्र वर्ष उमेर एकलतर्फ विजेताले रु आठ हजार तथा उपविजेताले रु चार हजारसहित मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति नातिनीको नामबाट मुख्य प्रायोजन गरेका छन् । पोखरासहित काठमाडाँै, चितवन, बुटवलका खेलाडीले भाग लिने प्रतियोगिता निर्देशक कुमार अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा सङ्घ कास्कीका सदस्य प्रिति बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिताबारे आफ्नो धारणा राखेका थियो ।

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४१ पैसा तोकिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । 

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१  पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । 

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो

तानसेन (पाल्पा), ३ वैशाख : गत चैत २८ गतेदेखि गोरखाबाट तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै पाल्पा आइपुगेको हो । उताबाट आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सीमाना केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ । उक्त टोलीलाई यहाँ भव्य स्वागत गरिएको छ ।

स्वागतमा स्याङ्जा चापकोटा नगरपालिका–६ का वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गर्नुभयो । टोलीलाई पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले केलादीमा स्वागत गरेको थियो । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ । उक्त पदयात्राका क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो ।

नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा सेना ११ दिने पदयात्रामा निस्किएको हो । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ले मङ्गलबारदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने छ । उक्त टोलीले बुधबार केलादीघाट हुँदै देवीस्थान बगैचा, श्रीनगर होटल दर्छा सिताकुण्ड, तुने भञ्ज्याङ्ग, बेलडाँडा, सिलुवा पिलुवा जब्गादी, विरकोट ३५ किलोमिटर यात्रा गर्दै छ । वैशाख ३ गते विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी हुँदै माथागढी ३९ किलोमिटर टोलीले पदयात्रा गर्ने पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ का गणपति प्रमुख सेनानी भूपेन्द्र गुरूङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ४ गते माथागढी, गोठादी झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्ने छ । 

यस्तै वैशाख ५ गते प्रभास, लामडाँडा, बर्तुङ्ग, तानसेन, काजीपौवा हुँदै पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरि वास बस्ने छ । सोही दिन तानसेनमा जिल्लाका प्रमुख स्थानको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । वैशाख ६ गते प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान ३२ किलोमिटर यात्रा गर्ने छ । वैशाख ७ गते नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रर्वद्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको संयोजक सेनानी जितबहादुर कार्कीले जानकारी दिनुभयो । ‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने छ ।’ पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको संयोजक कार्कीले बताउनुभयो ।

पदयात्रामा नेपाली सेनाका ५३ अधिकृत, सकलदर्जा, सुरक्षाकर्मीको सहभागिता रहेको छ । पदयात्रा गोरखाबाट सुरू भई रूपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रुपमा सहभागी भई टुङ्गिने छ । नेपाल आक्रमणमा आएको अङ्ग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै वैशाख ७ गते ऐतिहासिकस्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अङ्ग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ । 

जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झण्डै तीन महिना अङ्ग्रेजसँग लडेको र दुई पटक अङ्ग्रेज सेनाले आक्रमण गर्दा उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रुपमा लिने गरिएको छ ।

नारायणघाट–बुटवल सडक : २२ वटै साना पुल निर्माण सम्पन्न

नवलपुर (नवलपरासी), ३ वैशाख : चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् ।

नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् । “निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन्”, उहाँले भन्नुभयो, “निर्माण सकिएका दुई ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन् ।” यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।  

निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताउनुभयो । आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । “गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन्”, उहाँले भन्नुभयो, “यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ ।” 

अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२ दशमलव ५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ । “यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “दाउन्नेको चार किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो वर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ ।” 

यस खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । नारायणघाटबाट बुटवलसम्मको एक सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ । 

ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख गरिएको भन्दा चार गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड–१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । ४२ महिना (२०७९ साउन) मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ । 

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ, ३ वैशाखः काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो ।

गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थियो ।

कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ ( ०८ः०७ बजे) र (०८ः१० बजे) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई म्यााग्निच्युड र दोस्रो पाँच दशमलव पाँच म्यााग्निच्युडका थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

चैत २० गते दार्चुलामा चार म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर चार दशमलव पाँच म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ ।

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर), ३ वैशाख : शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिनुभयो । “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।” उहाँले भन्नुभयो, “सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छन् ।” उहाँले कक्षा ११ को पठनपाठन बन्द गरिएको बताउनुभयो ।

शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले सूचना जारी गर्दै विद्यालयका शैक्षिक गतिविधि बन्द गरिएको उल्लेख गर्नुभयो । जिल्लाका अधिकांश विद्यालयका शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौँ गएकाले सामुदायिक विद्यालयको पठनपाठन लगायतका शैक्षिक कार्यक्रम बन्द छन् । महेन्द्रनगरस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहने बताउनुभयो ।

“सरकारले हाम्रा माग सम्बोधन गर्ने वित्तिकै हामी कार्यक्षेत्रमा फर्किन्छाँै”, उहाँले भन्नुभयो, “सरकारले माग सम्बोधन नगरे वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा प्रभावित हुन्छ ।”

शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द छन् । यहाँका स्थानीय तहले मङ्गलबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने भने पनि शिक्षकको आन्दोलनका कारण विद्यालय खुल्न सकेका छैनन् । भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले यहाँका सबै सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताउनुभयो ।

“शिक्षकहरु शैक्षिक आमड्ताल गरेर आन्दोलनमा छन् । सबै सामुदायिक विद्यालय बन्द छन्”, उहाँले भन्नुभयो, “शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन हुन सकेको छैन ।” सरकारले आजभोलिमा केही निकाश निकाल्नेमा आफूहरु आशावादी रहेको उहाँले बताउनुभयो ।

सुनसरी गोली प्रहार घटना, तीन जना पक्राउ

इनरुवा (सुनसरी), ३ वैशाख : सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ ।

एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार रहेका छन् । पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको अपराधिक गतिविधि गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

घटनामा ६ जनाको संलग्नता रहेको थियो । ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो । पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग

काठमाडौँ, २ वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग सरकारसँग आग्रह गरेको छ । आयोगले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सञ्चालन गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन एवं शिक्षकसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताको कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

आयोगले शिक्षा ऐनलाई समयानुकूल बनाउन, शिक्षा नीतिलाई उत्पादनशील बनाउन तथा यस सम्बन्धमा विगतमा नेपाल सरकारसँग गरिएको सम्झौता कार्यान्वयनको माग राखी नेपाल शिक्षक महासङ्घद्वारा विगत १३ दिनदेखि काठमाडौँमा जारी आन्दोलन तथा यसबाट बालबालिकाको शिक्षाको अधिकारमा पर्न गएको जनाएको छ । आयोगले शिक्षक आन्दोलनको स्थलगत अनुगमन गरिरहेको छ ।

“आन्दोलन लम्बिँदै गएमा एसइई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत १३ दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनबाट पाइएको छ,” विज्ञप्तिमा भनिएको छ, “विद्यालयका शिक्षकशिक्षिकाले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै हुन्छ ।”

आफ्ना मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको जनाएको छ ।

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालसहितको टोली बर्दघाटमा

पाल्हीनन्दन (नवलपरासी ब सु प), २ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश जागरणअभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बर्दघाट पुगको छ ।

आज साँझ यहाँ पुगेको टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले अध्यक्ष दाहालसहितको टोलीले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता राजुराम पौडेलको परिवारलाई भेट्ने र आज राति त्यही बस्ने व्यवस्था मिलाइको बताउनुभयो ।

पार्टीको बर्दघाट नगरकमिटी अध्यक्ष तजेन्द्र पुर्जाका अनुसार विद्यार्थी नेता पौडेललाई २०५८ साल फागुन २५ गते पोखराको नदीपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

बुधबार सहिद स्मृति सामुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेपछि अन्य राजनीतिक भेटघाट कार्यक्रम हुने नेता ज्ञवालीले बताउनुभयो ।

तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन

भक्तपुर, २ वैशाख : बिस्काः जात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–८ बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज स्थानीय २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको छ ।

बोडे पाँचो गणेश मन्दिर अगाडिको फल्चामा बोडेका सबै देवीदेवतालाई साक्षी राखेर जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे सहरको टोलटोल घुम्दै जात्रा सम्पन्न गरेको हो । विगत १०७ वर्षभन्दा अगाडिदेखि निरन्तर रूपमा चल्दै आएको ऐतिहासिक यो जात्रामा यसवर्ष तेस्रौ पटक जिब्रो छेडाएर सुजनले जात्रालाई निरन्तरता दिनुभयो ।

सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडिदिनुभयो ।

जिब्रो छेडेर चन्द्राँकारकोे भ्वाय् अर्थात् महाद्विप बोकेर सुजनले बोडे सहर घुम्दै भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्विपलाई मन्दिरस बाहिर राखेर सुजन मन्दिरभित्र गएर जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको दीलकृष्ण प्रजापति बताउनुहुन्छ ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवाँै पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा विगत तीन वर्षदेखि जिब्रो छेडेर जात्राले निरन्तरता दिनुभएको छ ।

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ, २ वैशाख : कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो । उहाँहरूबीच कतारमा अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा आज भेटवार्ता भएको हो ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार महानिर्देशक प्रदीप अधिकारीले भैरहवा र पोखराबाट उडान गर्न आग्रह गर्नुभएको थियो । जवाफमा कतारको सिभिल एभिएसनका अध्यक्षले दुवै विमानस्थलको प्राविधिक पक्ष र बजारको अययन गरेर निर्णय लिने प्रतिक्रिया दिएको थियो । कतारले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साविक बमोजिम उडान गर्नेगरी नेपालसँग प्रस्ताव राखेको छ । कतारले काठमाडौँमा दैनिक चारसहित साताको २८ उडान गर्दै आएको छ । यसबीचमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको क्रममा एक उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाइएको थियो । नेपालकोतर्फबाट भैरहवा र पोखरामा उडान गर्न आग्रह गरिएको थियो ।

त्यसको लागि सहकार्य गरेर नयाँ विमानस्थलको प्राविधिक र बजारको अध्ययन गरेर निर्णय लिने जतारले प्रतिक्रिया दिएको छ । कतारी पक्षले काठमाडौँ विमानस्थलमा साताको २८ उडानको अपेक्षा गरेको थियो । नेपालले भैरहवा र पोखरा विमानस्थलमा उडान गर्नेगरी शर्त राखेको थियो । दुवै विषयमा छिट्टै निर्णयमा पुगिन क्यानले उल्लेख गरेको छ । “भैरहवा र पोखराबाट कतार एयरवेजको उडान गर्नका लागि सहजीकरण गरिदिन त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको छ”, सूचना अधिकारी भुलले भन्नुभयो ।

सो अवसरमा कतारले आइकाओ काउन्सि परिषद्को निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थियो । नेपालले सहयोग गर्ने बचन दिँदै र पोखराबाट उडान गर्नुपर्ने शर्त राखेको थियो । आइकाओ आवद्ध एकसय ९३ देशहरुमध्ये ३६ देशको काउन्सिल परिषद् हुन्छ । तीन समूहमा १२–१२ देश रहन्छन् । कतार सन् २०२२ मा तीन वर्षका लागि निर्वाचित भएको थियो ।

सन् २०२६ मा हुने काउन्सिल निर्वाचनका लागि कतारले नेपाललाई सहयोग मागेको छ । प्राधिकरणले भैरहवा र पोखराबाट उडान गर्नुपर्छ उहाँहरूबीच पारस्परिक हित र सम्बन्ध सुमधुर बनाउन फलदायी छलफल भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त बैठकमा कतारले कतार एयरवेजको टिआइएएमा हप्तामा २८ उडानको अनुमति पुनः गर्ने र आगामी आइकाओको काउन्सिलेको निर्वाचनमा कतारको सदस्यताका लागि नेपालको समर्थनमा केन्द्रित भएको थियो ।

क्यानले कतार एयरवेद्धार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाली वायुसेवा कम्पनीसँग घरेलु कोड साझेदारी व्यवस्थामा सहयोग गर्ने आश्वासन दिएको थियो । हवाई उद्योगको हितका लागि आपसी चासोको समाधान गर्न छिट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने समझदारीसहित बैठक सम्पन्न भएको क्यानले जनाएको छ ।

भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन एयरलाइन्सले उडान गर्दै आएकामा समर सिजन अप्रिल १ अर्थात् चैत १९ देखि सुरु भएको समर सिजनमा कुनै पनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडानको ‘सेड्युल’ पेस नगरेपछि तत्काललाई अन्तरराष्ट्रिय उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थलमा ३० मार्चसम्म अन्तरराष्ट्रिय उडान भएको थियो ।

भैरहवामा जजीरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान र सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेका छन् ।

धार्मिक पर्यटकका लागि भक्तपुरको कमलसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २ वैशाखः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कमलसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकाको कमलसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उहाँले कमलसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उहाँले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौँ आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राख्नुभयो । 

एक सय आठ फिट अग्लो शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ यहाँ शिवपुराण महायज्ञ सुरु भएको छ । महायज्ञ १३ दिनसम्म सञ्चालन हुनेछ ।

अन्तरदेशीय प्रसारण लाइन निर्माण कम्पनी स्थापनाका लागि सम्झौताको मस्यौदा तयार गरिँदै

काठमाडौँ, २ वैशाखः नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि दुवै देश सम्मिलित कम्पनी स्थापना गर्न सम्झौतापत्रको मस्यौदा तयार गर्न लागिएको छ ।

गत माघ ९ गते नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले चार सय केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेसँगै दुवै देशको छलफलमा सम्झौतापत्रको मस्यौदा तयार गर्न लागिएको हो ।

दुई देशका सचिवस्तरीय बैठकपश्चात् संयुक्त उपक्रम सम्झौता (ज्वाइन्ट भेन्चर अग्रिमेन्ट) को मस्यौदा अन्तिम चरणमा पुगेको हो । नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसनबीच सहकार्यमा कम्पनी स्थापना गरी निर्माणको प्रक्रिया सुरु हुन लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विद्युत् व्यापारलाई अन्तरराष्ट्रियस्तरमा लैजान ‘रणनीतिक प्रसारण पूर्वाधार निर्माण’ लाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौता भइसकेको छ ।

मन्त्री खड्काको नेतृत्वमा तयार पारिएको ऊर्जा विकास मार्गचित्र तथा कार्यान्वयन योजना–२०८१ मा सन् २०३५ सम्म भारतमा १० हजार मेगावाट र बङ्गलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ ।

उक्त लक्ष्य पूरा गर्न इनरुवा–न्यु पूर्णिया प्रसारण लाइन सन् २०२८/२९ भित्र र दोधारा–बरेली प्रसारण लाइन सन् २०२९/३० भित्र सम्पन्न गरिसकिने छ । दुई वर्षदेखि छलफल सुरु भएको यी प्रसारण लाइनको लगानी मोडालिटीमा पनि उक्त बैठकले समझदारी जुटाएको थियो । चार सय केभी दोधारा–बरेली प्रसारण लाइनमा भारततर्फ १५० किलोमिटर र नेपालतर्फ करिब ३५ किलोमिटर,  इनरुवा–पूर्णियामा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ एक सय किलोमिटर दूरी हुनेछ ।

यसका लागि नेपालतर्फको प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फको प्रसारण लाइनका लागि भारतको ५१ प्रतिशत र ४९ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको स्वपुँजी रहने गरी संयुक्त उपक्रमको मोडालिटीमा निर्माण गर्ने सहमति भएको थियो ।

उक्त बैठकमा ऊर्जा निर्यात प्रवर्द्धन गर्न निजगढ–मोतीहारी, कोहलपुर–लखनऊ र चमेलिया–जलजिबी प्रसारण लाइनको अध्ययन तथा निर्माण कार्य पनि क्रमशः अघि बढाउने सहमति भएको थियो । 

गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २ वैशाखः सर्वाेच्च अदालतले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षे उमेर हद नचाहिने गरी नेपाल सरकारले गरेको मापदण्डमा संशोधनको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनोट समितिलाई यही वैशाख ७ गते उपस्थित हुन भनेको छ ।

गभर्नरको नियुक्तिका मापदण्डलाई आ–आफ्नो अनुकूल संशोधन गर्न गैरकानुनी भएको उल्लेख गर्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

गत फागुन २७ गते अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३(ग) हटाएर नेपाल सरकारले गभर्नरको नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाएको थियो । उक्त दफामा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यवस्था थियो ।

रिट निवेदनमा उमेरजन्य योग्यता नै नतोकी आफूले मन पराएको व्यक्तिलाई नियुक्ति गर्न खोजिएको उल्लेख गर्दै उक्त उमेरको योग्यता हटाउने निर्णयसमेत झिकाइ मगाइ बदर गर्न माग गरिएको थियो । साथै, रिट निवेदनमा सरकारको निर्णय बदर गरी नेपाल राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति गर्दा उमेरजन्य योग्यतासमेत तोकी योग्य व्यक्तिको नियुक्ति गर्नु गराउनु भनी परमादेशसमेत माग गरिएको थियो ।

सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना

काठमाडौँ, २ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सङ्घको चैत २९ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलगायतको कार्यसमितिलाई उहाँले आज बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अगाडि सारेका उम्मेदवारलाई विजय गराउन सफल भएकामा नेतृत्वलाई धन्यवाद दिनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन नयाँ कार्यसमिति लाग्नुपर्ने बताउनुभयो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा परिवर्तन र सेवा शुल्क परिमार्जनजस्ता दीर्घकालीन सुधारका कामहरू अगाडि बढाउने बताउनुभयो ।

एसोसिएसनका अध्यक्ष दीपक थापाले संगठनले अगाडि सारेका उम्मेदवारविरूद्ध लाग्ने एसोसिएसनकै केही व्यवसायीलाई कारबाही गर्न सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।

भेटमा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, सङ्घका नवनिर्वाचित पदाधिकारी एवं सदस्य र एसोसिएसनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

जब अटवामा गुन्जियो ‘नेपालीले माया मार्‍यो बरिलै’

अटवा – नयाँ वर्ष विसं २०८२ को अवसरमा नेप्लिज क्यानेडियन एसोसिएसन अफ अटवा (एनसीएओ) ले आयोजना गरेको संस्थाको साधारण सभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो।

गत नोभेम्बर २०२४ मा स्थापना गरिएको मादले गोठाले र्‍याप्सडीका उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व धर्मराज थापाको ‘नेपालीले माया मार्‍यो बरिलै’ गीत गाएर श्रोता/दर्शकलाई मन्त्रमुग्ध पारे। झन्डै सात दशक पहिले नेपालीहरू रोजगारीका लागि दार्जीलिंग, आसाम, बर्मा (हाल म्यानमार), भाक्सु, देहरादुन र नैनी ताल जाने गरेको थापाले आफ्नो गीतमा उल्लेख गरेका छन्। समय फेरिएको छ, तर नेपालीहरू संसारभरि फैलने क्रम भने रोकिएको छैन।

कार्यक्रममा ब्यान्ड सदस्यहरू नवीन गौतम र दिलीप दुलालले स्व पुष्प नेपाली तथा रुबी जोशीको ‘शितलु माथि नि शितलु भयो नि’ बोलको गीत गाए भने
स्व झलक मान गन्धर्वको ‘तिम्रो नै माया लाग्दछ साइँली’ जस्ता कालजयी गीतहरू पनि सुनाए। डा अजय विष्ट, डा जगदीश घिमिरे, उत्तम भण्डारी, दीपक श्रेष्ठ लगायतले विभिन्न इन्स्ट्रुमेन्टमा साथ दिए।

“हामीले नेपाली सम्पदा केन्द्र मार्फत प्रवासमा पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तालाई हाम्रो विपुल सम्पदा हस्तान्तरण गर्न सक्दो प्रयास गरिरहेका छौँ। अटवास्थित नेपाली समुदायको सहयोगका लागि हामी आभारी छौँ,” केन्द्रका बोर्ड अफ डाइरेक्टर तथा ब्यान्डका लिड डा विष्टले भने।

कार्यक्रममा स्वस्तिका शर्मा लगायतले नृत्य प्रस्तुत गरेका थिए भने इदिका र श्रीदिकाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए।

ब्रिटानिया पार्कस्थित सभा कक्षमा आयोजित कार्यक्रमको पहिलो चरणमा एनसीएओको वार्षिक साधारण सभा आयोजना गरिनुका साथै नयाँ सञ्चालकहरूको चयन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको जगेर्ना गर्न एनसीएओले गरिरहेको कामको प्रशंसा गरे। उनले गत वर्ष पनि आफू एनसीएओको कार्यक्रममा सहभागी भएको स्मरण गर्दै खासगरी युवा तथा बालबालिकालाई समावेश गरेर कार्यक्रमहरू आयोजना गरेकोमा संस्थाको प्रशंसा गरे। उनले आफूसँग रहेको सीप, अनुभव र श्रोत नेपालको हितमा उपयोग गर्न सबै प्रवासी नेपालीहरूलाई आग्रह पनि गरे। राजदूत पौडेलले एनसीएओको प्रकाशन ‘अटवा चौतारी’ को नयाँ अङ्कको लोकार्पण पनि गरे। अटवा चौतारीको सम्पादन समूहका सदस्य वीरेन्द्र सापकोटाले लेख रचना पठाउने बालबालिका लगायत सबैलाई धन्यवाद दिए।

कार्यक्रममा नेपाली सम्पदा केन्द्र अटवाका अध्यक्ष डा कालिदास सुवेदीले हाल अटवास्थित बारहेभनमा भाडामा घर लिई धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको बताए। उनले आउँदो दस वर्ष भित्र अटवामा नेपाली मन्दिर तथा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्य लिइएकाले उक्त अभियानमा सघाउन अटवा लगायत क्यानडाभरि रहेका नेपाली समुदायका अगुवाहरूलाई आग्रह गरे।

उक्त अवसरमा अटवा वेस्ट नेपियनबाट ग्रिन पार्टीको तर्फबाट सङ्घीय सांसद पदका उम्मेदवार प्रशान्त ढकालले नेपाली समुदायको हकहितका साथै वातावरणीय मुद्दालाई प्राथमिकता दिँदै आफूले उम्मेदवारी दिएको बताए। उनले जलवायु परिवर्तनजस्ता चुनौतीहरूसँग जुध्दै सुपथ आवासको व्यवस्था गरेर दक्ष युवा जनशक्तिलाई देशमै रोजगारी दिनु पर्ने बताए। त्यस्तै एनआरएनए क्यानडाका प्रज्वल कार्की, एनसीएओकी बोर्ड अफ डाइरेक्टर मेनुका चिमोरिया लगायतले शुभकामना दिएका थिए ।

एनसीएओका बोर्ड अफ डाइरेक्टर मोहन बस्नेतले सबैलाई स्वागत गरेका थिए भने युवा व्यवसायी नारायण क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए।

उम्मेदवारी खुला गर्ने उच्चस्तरीय समितिको निर्णयको एनआरएन अभियन्ताहरूद्वारा स्वागत

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का सबै प्रतिनिधि (डेलिगेट्स) हरूले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का सबै पदहरूमा उम्मेदवारी दिन पौने निर्णयको एनआरएन अभियन्ताहरूले स्वागत गरेका छन्।

नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी उच्चस्तरीय समितिको पछिल्लो बैठकले त्यस्तो निर्णय गरेको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए।

अब तोकिएको शुल्क तिरी आगामी मे ३-५, २०२५ मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा भाग लिनका लागि नाम लेखाएका जो कोही प्रतिनिधि आइसिसीको कुनै पनि पदमा उम्मेदवारी दिन योग्य हुने छन्।

“विगतमा डेलिगेट्स बन्न पनि निकै अवरोधहरू राखिएका थिए । तर अहिले विशेष परिस्थितिमा सबै पञ्जीकृत सदस्य डेलिगेट्स बन्न पाउने र सबै डेलिगेट्सहरुले आइसिसीको लागि उम्मेदवारी दिन पाउने नियम संस्थाको लोकतान्त्रिकरणको लागि कोशे ढुङ्गा साबित हुने छ,” एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले भने। उनले यसबाट योग्य तथा समर्पित व्यक्तित्व आइसिसीको नेतृत्वमा पुग्ने ढोका खुलेको पनि उनले बताए।

यसै गरी एनसीसी क्यानडाका पूर्व अध्यक्ष दीपक गौतमले आइसिसीको नेतृत्वमा पुग्न कसैलाई पनि छेकबार लगाउन नहुने बताए। “संसारभरिबाट आएका डेलिगेट्सहरुले आफ्नो विवेक प्रयोग गरेर नयाँ नेतृत्व चयन गर्ने कुरा हो। त्यसैले नेतृत्व चयन प्रक्रियालाई खुला र पारदर्शी बनाउनु पर्ने अहिलेको आवश्यकता हो,” उनले भने।

एनसीसी डेनमार्कका पूर्व अध्यक्ष शैलु अधिकारीले पनि नयाँ निर्णयको स्वागत गरे। “आइसिसीको कुनै पनि पदमा उम्मेदवारी दिन पाउनु हरेक डेलिगेट्सको अधिकार हो। अब सबै प्रतिनिधिहरूले एनआरएनएमा अनुभवी र संस्थालाई डाइनामिक नेतृत्व दिन सक्ने साथीहरूलाई चुन्नु हुने छ भन्ने हामीले विश्वास लिएका छौँ,” उनले भने।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले आगामी २२ अप्रिल (नेपालको समय राती १२ बजे अगावै) समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर आवश्यक प्रमाण सहित डेलिगेट्स दर्ताको लागि आवेदन दिन आग्रह गरेको छ।

बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गरिदै

पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी बैशाख ३ गते गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् ।

बैशाख ३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी

कास्की, २ वैशाख : पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तरगत समूह ‘डी’ का आजका खेलमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई चार विकेटले पराजित गरेको हो । जितका लागि एक सय ४० रनको लक्ष्य पाएको अत्तरियाले १८ ओभरको दोस्रो बलमा छ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।

अत्तरियाका टेक रावतले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रनको अविजित पारी खेले । विपिन रावलले २६ रन बनाए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले समान दुई/दुई तथा महेश भार र निर्मल गुरुङले एक/एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९ ओभरको पहिलो बलमा एक सय ४० रन बनाउँदै सबै विकेट गुमाएको थियो । होरिजोनको सुरुआत राम्रो हुन नसके पनि चौथो विकेटका लागि आएका कमल विष्टले ‘इनिङ’ उकास्ने काम गरे ।

विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे । अत्तरियाका लागि वसन्त खत्री र भोजराज भट्टले समान तीन विकेट लिए । सुशील साउदले दुई तथा हिकमत महर र अर्जुन विकले समान एक/एक विकेट लिए ।

यसैगरी आजको दोस्रो खेलमा टस जितेर ब्याटिङ सुरु गरेको सुन्दरहरैँचाले निर्धारित ओभरको खेलमा एक सय २८ रन बनाएपछि जितका लागि मालपोखरी क्रिकेट क्लबले एक सय २९ रनको लक्ष्य पाएको थियो । विजयी लक्ष्य मालपोखरीले १७ ओभरको तेस्रो बलमा छ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । सुन्दर हरैचा क्रिकेट क्लबलाई मालपोखरीले चार विकेटले हराउन सफल भएको हो । मालपोखरीका विजय गुुप्ताले सर्वाधिक ५९ रनको उत्कृष्ट पारी खेल्दै ‘रन आउट’ भए । सुन्दर हरैचाका लागि समिर कार्कीले दुई तथा सन्दीप ढुङ्गाना, प्रकाश कार्की र ओमकार यादवले समान एक/एक विकेट लिए ।

मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले दुई/दुई तथा सन्दीप खड्का, पङ्कज यादव र सोहनकुमार यादवले समान एक÷एक विकेट लिए । मालपोखरीका विजय गुप्ता ‘प्लेयर अफ दी म्याच’ घोषित भए । प्रतियोगिता अन्तरगत समूह ‘डी’ दुई खेलमा दुई जितनै हासिल गरेको अत्तरिया चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार पहिलो खेलमा होरिजोनले सुन्दर हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

गत चैत २३ गतेदेखी सुरु भएको प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, १ वैशाख: जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो ।

यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।

श्रीषा र तुलाको स्वरमा आएको जुन झारी दिउँलाको चर्चा

काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् । मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक समेत रहेका तुलाले भिडियोमा कैद गरेका छन् ।

प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने जुन झारी दिउँलामा मोडलद्धय मोहन कुमार र सम्झना तमाखुको रोमान्टिक अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतका दुवै मोडल नयाँ भएपनि उनीहरुको अभिनय हेर्दा लाग्छ उनीहरु चल्तिका कलाकारहरु हुन् ।

भिडियोमा गायक तथा निर्देशक तुलाले परदेशी भूमिमा पनि कम स्रोत र साधनको प्रयोग गर्दै भरपूर रुपमा भिडियोलाई वाईड स्क्रिनमा देखाउने गरेको कोशिश तारिफ योग्य छ । करिब २ दशकदेखि मकाउमा रहेर आफ्नो कामलाई थाँती दिँदै म्यूजिक भिडियोको क्षेत्रमा पनि अनवरत रुपमा सक्रियता देखाउँदै आएका तृुलाले यो भिडियोबाट दर्शकको मन जित्नेमा झनै आशावादी छन् ।

निर्देशक तुलाकै अफिसियल च्यानल वाइड स्किन मिडियाबाट बजारमा आएको भिडियोले आम दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेको निर्माण यूनिटको भनाई रहेको छ । भिडियोको छायांकन र सम्पादन निर्देशक तुलाले नै गरेका हुन् । मकाउमा मात्रै उनले यो भिडियो सहित गरेर दर्जन बढी छायांकन गरिसकेका छन् । जसमा उनले नेपाली कलाकारहरुका अलावा मकाउकै स्थानीय मोडललाई समेत अभिनय गराइसकेका छन् ।

जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने

कञ्चनपुर, १ वैशाख: कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनकि पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने भएको छ ।

 जनप्रतिनिधिले आफ्नो एवं आफ्नो एकाघरका बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइए सेवा सुविधा कटौती गरिनाका साथै नगरपालिकाका अन्य प्रक्रियामा सहभागी नगराइने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो वा एकाघरका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइएमा प्राप्त गर्ने सेवा सुविधा रोक्का गरिने उहाँले बताउनुभयो । 

“विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक समितिका पदाधिकारी एवं सदस्यले आआफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ”, अधिकृत विष्टले भन्नुभयो, “त्यसो नगरेको पाइए सेवा सुविधा कटौती गरिनुका साथै जिम्मेवारीबाट हटाइनेसम्मका कारबाही हुनसक्छ ।” 

केही दिनअघि नगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि सेवा सुविधा रोक्ने, कटौती गर्ने जानकारीसहितको पत्र विद्यालयसहित सम्बन्धित व्यक्तिलाई पठाइएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । नगरप्रमुख र नगरपालिका क्षेत्रमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच भएको छलफलबाट सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी कार्यपालिकाको निर्णय र थप व्याख्यात्मक टिप्पणीमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, स्वतन्त्र विद्यार्थी समूहलगायतले एकबद्धता व्यक्त गरेका छन् ।

विद्यार्थी सङ्गठनले नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दल, समाजसेवी, पत्रकारलगायत व्यक्तिलाई आआफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनका लागि आग्रह गरेका छन् । सार्वजनिक शिक्षा सुधारको यो अभियानमा सहयोग गर्न विद्यार्थी सङ्गठनले पनि अपिल गरेका छन् । 

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर (नवलपरासी), १ वैशाख : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ ।

सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । आजदेखि यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उहाँले बताउनुभयो । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो । 

“दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङका काम बाँकी छ”, उहाँले भन्नुभयो, “साँघुरो क्षेत्रमा सवारीसाधन रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।” दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको खनालले जानकारी दिनुभयो । १४ किलोमिटर दाउन्ने क्षेत्रको पहाडमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक अप्ठ्यारो भएको खनालको भनाइ छ । 

नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेखनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । सहरी क्षेत्रको सडकमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन रहने गरी काम भइरहेको खनालको भनाइ छ । खनालका अनुसार दाउन्नेको पूर्वी खण्डमा मात्रै ७० वटा कल्भर्ट निर्माण गर्नुपर्नेछ । 

राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र त्यसपछि पहाडको भित्ता काट्ने काम अगाडि बढाइने उहाँले बताउनुभयो । गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । 

संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ: वनमन्त्री शाही

काठमाडौँ, १ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको संविधानले व्यवस्था गरेका अधिकार पूर्ण कार्यान्वयनले सबैखाले विभेदको अन्त्य हुने बताउनुभएको छ ।

नेपाल–भारत दलितमैत्री सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संवैधानिक अधिकारको पालना भए कसैले पनि विभेदको पीडा भोग्नुनपर्ने बताउनुभयो । “समाजमा देखिएका विकृति, विसङ्गतीको अन्त्य गर्न, विभेदमा परेका समुदाय र वर्गलाई न्याय दिलाउन संविधानले धेरै व्यवस्था गरेको छ । त्यसको कार्यान्वयनको खाँचो छ । सरकार कानुन कार्यान्वयनमार्फत विभेद अन्त्यका लागि लागिपरेको छ”, मन्त्री शाहीले भन्नुभयो ।

संविधानले राज्यका सबै तह र निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै उहाँले सरकार सबै नागरिकका अधिकारको रक्षा गरी समाजलाई साझा फूलबारी बनाउने उद्देश्यका साथ अगाडि बढेको उल्लेख गर्नुभयो ।

डा भीमराव अम्बेडकरको १३४औँ जन्मजयन्ती समारोहका अवसरमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष ओमप्रकाश विश्वकर्माले दलित समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रममार्फत अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले अभियान अघि बढाउन सबै समुदायका व्यक्ति आफ्नो स्थानबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ

काठमाडौँ, १ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गर्नुभएको छ । काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उहाँले जात्राको शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणकों पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको थियोे ।

सुनसरीमा अपरिचित व्यक्तिको गोली लागेर दुई घाइते

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल

नवलपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् ।

आज साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताए ।

उनले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गरे । माओवादी केन्द्रले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उनको भनाइ छ ।

‘अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको कुरा नजिकबाट सुन्ने अवसर पाएको छु’, उनले भने, ‘यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्ने कोसिस गरेको छु ।’

जनताकै घरमा बसेर जनताको कुरा जनताकै मुखबाट सुन्ने कोसिस गर्दा माओवादी केन्द्र राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार, परिवर्तनप्रति संवेदनशील र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिप्रति समर्पित पार्टी हो भन्ने कुरा जनताले बुझ्ने अवसर पाएका उनको भनाइ छ ।

बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

पाल्हीनन्दन (नवलपरासी ब सु प), १ वैशाख ः पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ ।शुक्रबारदेखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर रु एक करोडभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिनुभयो । क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।

श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन् ।बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

तानसेन (पाल्पा), १ वैशाख: पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र एक जना घाइते भएका छन् । । जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको आज मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक दर्लामी गम्भीर घाइते भएकामा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।    दुर्घटनामा मोटरसाइकल पछाडि सवार उहाँका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाइते हुनुभएको छ । उहाँको मिसन अस्पतालमै उपचार भइरहेको छ । 

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

मुस्ताङ, १, वैशाख: विसं २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले जनाएको छ ।

कार्यालय प्रमुख उमेश पौडेलका अनुसार एक वर्षमा ७२ राष्ट्रका पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् । सबैभन्दा बढी असोज महिनामा सात सय ३४ जना र सबैभन्दा कम माघ महिनामा ३० जना पर्यटकले यहाँको भ्रमण गरेका छन् । अघिल्लो वर्ष विसं २०८० मा तीन हजार छ सय १३ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यस अवधिमा सार्क राष्ट्रका ५२ र अन्य मुलुकका तीन हजार पाँच सय ६१ जनाले भ्रमण गरेका थिए । विसं २०८० को अनुपातमा विसं २०८१ मा पाँच सय १३ जना अर्थात् १२ दशमलव ६४ प्रतिशत बढी पर्यटक सङ्ख्या वृद्धि भएको एक्यापका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । 

सडक यातायात सहज भएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन वृद्धि हुन थालेको उहाँले बताउनुभयो । मुस्ताङ जिल्लामा भित्रिने कुल विदेशी पर्यटक सङ्ख्याको करिब चार प्रतिशत मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेको पौडेलले बनाउनुभयो ।

रु २७ करोडभन्दा बढी राजस्व सङ्कलन

उपल्लो मुस्ताङबाट गत वर्ष पर्यटक रोयल्टी शुल्कवापत रु २७ करोड  २९ लाख राजस्व सङ्कलन भएको छ । चालु वर्षको विदेशी मुद्राको औसत नेपाली मुद्रा अनुमानमा सरकारले उक्त राजस्व सङ्कलन गरेको हो । चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा सूचीकृत गरेको छ । सीमा क्षेत्रमा अवान्छित गतिविधि हुनसक्ने भन्दै सरकारले यस क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा राखेको हो । यसैकारण मुस्ताङ भित्रिएका सीमित पर्यटक मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमाथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा राखेको छ । तल्लो मुस्ताङका दुई गाउँपालिका, बारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र कागबेनीसम्म पुग्नका लागि एक्यापले लिने प्रवेशआज्ञा शुल्कबाहेक अन्य शुल्क पर्यटकले बुझाउनुपर्दैन  तर, कागबेनीदेखि माथि उपल्लो मुस्ताङ जाने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनको प्रवेशआज्ञा अनुमतिस्वरुप पाँच सय डलर शुल्क लिने गरेको छ । 

सरकारलाई शुल्क बुझाएर अनुमति लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क बुझाउनुपर्ने प्रावधान छ । उपल्लो मुस्ताङको प्रवेश शुल्क महँगो भएकै कारण यहाँ विदेशी पर्यटकको उपस्थित न्यून भएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले यस क्षेत्रलाई निषेधित क्षेत्रको सूचीमा राख्दा पर्यटकीय हिसावले समस्या भएको बताउनुभयो । सरकारले विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेवापत उठाउने राजस्वको कम्तीमा यसबाट पर्यटन व्यवसायीलाई मार परेको उहाँले बताउनुभयो । “सीमा क्षेत्र हो, सुरक्षाको हिसाबले निषेधित क्षेत्रमा राखिनु गलत होइन तर निषेधित क्षेत्रले यहाँको पर्यटन चलायमान हुन सकिरहेको छैन, यसैकारण यहाँका युवा जति विदेशपलायन हुन थालेका छन्”, अध्यक्ष विष्टले भन्नुभयो । 

उपल्लो मुस्ताङको पृथक भूगोल, ऐतिहासिक धर्मसंस्कृति, सहनसहन र मौलिकता अवलोकन गर्न विदेशी पर्यटक यहाँ आउने गरेको छन् । यहाँ तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो पृथक धर्मसंस्कृति र परम्परा विद्यमान छ । लोमान्थाङमा साताँैै शताब्दीमा बनेको ऐतिहासिक लोमान्थाङ दरबार छ । त्यहाँका गुम्बा, माने, छोर्तेन पर्यटक आर्कषणका आधार हुन् । लोघेकर दामोदरकुण्डको मराङमा साताँैै शताब्दीमा निर्मित लोघेकर (घर) गुम्बा छ । उक्त गुम्बा गुरु पद्यसम्भवसँग सम्बन्धित छ ।

यहाँ पुगेपछि लुरी गुम्बा, चराङ गुम्बा, ढाक्मरमा रातो पहाड, छोसेर गुफा, चिउसी गुफा, मुस्ताङ गेट, विश्वकै अग्लो ठाउँमा रहेको गल्फ खेल मैदानलगायत दर्जनौँ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गर्र्न पाइन्छ । यहाँ बर्सेनि तिजी र यार्तुङ पर्वमा विदेशी पर्यटकको उपस्थित बढी हुने गरेको छ ।

ढालियो ५५ हात लामो योसिद्यः

भादगाउँ (भत्तलपुर), १वैशाख ः भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचाँै दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो ।

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाडिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ । योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विषेश पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पु¥याइ रथ जुधाउने जात्रा गर्ने परम्परा छ ।

यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।