`

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जना ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । ४ परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको छ ।

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

राँझा (बाँके), २४ कात्तिकः नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ ।विसं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिनुभयो ।

आयोजनाको काम सम्पन्न भएसँगै केही दिनभित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्ययन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने उहाँले बताउनुभयो ।

आयोजना प्रमुख थापाले भन्नुभयो, “विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ । नेपालगञ्जमा निर्मित टर्मिनल भवन अन्तरराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएकोले आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको छ ।”

उहाँका अनुसार, भ्याट बाहेक कूल रु दुई अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ लागतमा निर्माण कम्पनीले टर्मिनल भवन निर्माण गरेको हो । नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु जाँच कक्ष १४, भिआइपी रूम तीन, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन जाँचका लागि अलग÷अलग कोठा निर्माण गरिएका छन् । भविष्यमा अन्तरररष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तरराष्ट्रिय उडानका लागि अलग÷अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ । नवनिर्मित टर्मिनल भवनको यात्रु क्षमताप्रति घण्टा ६२८ छ ।

नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको परिसरमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ ।

नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा रहेको आयोजना प्रमुख थापाको भनाइ छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् ।मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए ।प्रदेश प्रमुख भण्डारीले काठमाडांै जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ । अहिले प्रदेश प्रमुख र एमालेको व्यापक विरोध सामाजिक सञ्जालमा भइरहेको छ ।

करिव ५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी, २४ कात्तिकः म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो ।

पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुुविन)ले जानकारी दिनुभयो ।

“मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,” उहाँले भन्नुभयो “योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुुनेछ् ।”

पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताउनुभयो ।

प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो ।

म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।

सङ्घीय र प्रदेश सरकारको समपुुरक ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२÷०८३ मा रु २३ करोड २२ लाख विनियोजन भएको छ ।

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ । यो सडकले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.–३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताउनुभयो ।

विसं २०७१ मा मुनामा सडक पुगेको थियो । हाल कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको उहाँले बताउनुभयो । सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने रोकाले बताउनुभयो ।

मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “गत वर्ष मार्ग खुलेको मुना–खोरीया–मरेनी–जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छाँै,” उहाँले भन्नुभयो “बेनीदेखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुँदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयवासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ् ।”

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ । मन्त्रालयले अबदेखि १० लाख रुपैयाँसम्मका औषधि, सर्जिकल सामग्री र उपकरण खरिदमा पनि अनिवार्य रूपमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने ८८ व्यवस्था गरेको छ ।

यसअघि जिल्ला अस्पतालहरूले २० लाख रुपैयाँसम्मका सामग्री सिंधा खरिद गर्न सक्ने प्रावधानमा टेकेर महिनैपिच्छे टुक्रा–टुक्रा पारेर बिचौलियाको दबाबमा सामान खरिद गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो निर्णय गरेको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले जिल्लाका अस्पतालहरूमा औषधि र उपकरण खरिदका क्रममा देखिएका बेथिति अन्त्य गर्न मन्त्रालयले यस्तो निर्देशन जारी गरेको बताए । उनका अनुसार केही बिचौलियाले नेताहरू र उच्च अधिकारीको नाममा दबाब दिँदै अस्पतालका निर्देशक र जनस्वास्थ्य प्रमुखलाई बारम्बार प्रभाव पार्ने प्रयास गर्दै आएका छन् ।

मन्त्री थापामगरले भने, ‘हामी बिरामीको स्वास्थ्यका लागि बजेट विनियोजन गर्छौं, तर बिचौलियाहरूले नेताको हवाला दिँदै अस्पताल र स्वास्थ्य प्रमुखलाई दबाब दिने गरेका छन्। कतिपयले मिलोमतो गरेर एक आर्थिक वर्षमा करोडौँको खरिद टुक्रा–टुक्रा पारेर गर्ने गरेको पाइएपछि अब यस्तो बेथिति रोक्न मन्त्रालयले १० लाखसम्मको खरिदमा पनि बोलपत्र प्रक्रिया अनिवार्य गरेको हो ।’
मन्त्रीका अनुसार यो निर्देशन प्रदेशका सबै १३ वटा जिल्ला अस्पतालमा लागू हुनेछ । मन्त्रालयले यसबारे लिखित परिपत्र पठाइसकेको छ ।

नयाँ व्यवस्था अनुसार, सबै खरिद प्रक्रिया पारदर्शी बनाउन बोलपत्र प्रणाली ( अनिवार्य गरिँदा व्यवसायीहरूबीच निष्पक्ष प्रतिस्पर्धा बढ्ने, गुणस्तरीय सामग्री प्राप्त हुने र बजेटको दुरुपयोग घट्ने मन्त्रालयको विश्वास छ ।स्वास्थ्यमन्त्री थापामगरले भने, ‘अब औषधि खरिदमा बिचौलियाको दबाब चल्ने छैन । हाम्रा स्वास्थ्य संस्था पारदर्शी हुनेछन् र बिरामीलाई गुणस्तरीय सेवा दिने वातावरण तयार हुनेछ ।’

मौसम पूर्वानुमान : आज यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।सोमबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बढ्दैछ अलैंचीको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार पुग्यो

ताप्लेजुङ- पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख नाघेको छ ।

गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो । शनिबार प्रतिमन रु ९६ हजार रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन रु दुई हजारले बढेर रु ९८ हजार पुगेको थियो । फेरि प्रतिमन रु चार हजारका दरले वृद्धि भई रु एक लाख दुई हजार पुगेको उहाँले बताउनुभयो ।

असोज दोस्रो सातासम्म प्रतिमन रु ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा रु १५–१७ हजारले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि रु ८० हजार प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।

तल्लो हेवा खोला जलविद्युत आयोजनामा दुई वाणिज्य बैंकले ऋण लगानी गर्ने

काठमाडौँ, २४ कात्तिकः तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

सो आयोजानमा सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत रु एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ ।
कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २३ पैसा र बिक्रीदर नौ रुपैयाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कर्णालीमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली, २३ कात्तिक : कर्णालीमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताउनुभयो ।

उहाँले शून्य भोकमरी अभियानलाई टेवा पु¥याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, कृषि रणनीतिका साथै परागशेचन रणनीतिको (मस्यौदा) तयार गरेको जनाउनुभयो । मन्त्री शाहले भन्नुभयो, “कर्णालीमा खेतीयोग्य जमिन कम छ । यद्यपि कम जमिनबाट बढी मूल्यका वस्तु उत्पादन गर्न सक्ने गरी सरकारले लागेको छ ।”

सार्वजनिक प्रतिवेदनले सूचाङ्कमा उल्लेख भएका बुँदाहरुले कर्णाली प्रदेश सरकारको नीति निर्माणमा सहयोग पु¥याउने जनाउँदै उहाँले कृषिसँग सम्वद्ध कर्मचारीहरु र कृषकहरुले यसले विशेष मद्दत पुग्ने बताउनुभयो । यो प्रतिवेदनमा उल्लेख विषयवस्तुहरु स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेशका सचिव र कृषि विज्ञहरुले अनिवार्य अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ ।

लिबर्डका कार्यक्रम प्रमुुख लक्ष्मण खत्रीले विगत सात वर्षदेखि लिबर्डले नेपालमा भोकमरी सूचाङ्क प्रतिवेदन सार्वजनिक गर्दै आएको जनाउँदै नेपालमा पुड्कोपन हटाउन नसकिए पनि ख्याउटेपन, बाल मृत्युदरमा सुधार आएको उल्लेख गर्नुभयो । दीगो विकास लक्ष्य अनुसार पोषणसम्बन्धी बहुआयामिक कार्यक्रम कार्यान्वयन गर्नसके भोकमरी शून्यमा झार्न सकिने उहाँको भनाइ छ ।

“यसमा तीनै तहका सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “खाद्य असुरक्षा हटाउन कर्णाली र सुदूरपश्चिममा कृषि र पोषणसम्बन्धी हामीले कार्यक्रम सञ्चालन गरिरहेको छौँ । कार्यक्रम लागू भएका ठाउँमा केही सुधार आएको छ ।”

वेल्ट हङ्गर हिल्फेका देशीय निर्देशक साकिव नावीले कुरा गर्ने र योजना बनाउने मात्रै नभई कार्यान्वयन गर्नेगरी तीनवटै तहका सरकारले काम गर्नसके भोकमरी शून्यमा झार्न सकिने बताउनुभयो ।

विज्ञ विकास देउजाले विश्वभर विभिन्न राजनैतिक द्वन्द्वका कारण भोकमरी शून्यमा झार्ने लक्ष्य हासिल हुन चुनौती रहेको बताउनुभयो । विश्वमा नेपाल मध्यम रहेको जनाउँदै उहाँले यही गतिमा काम गर्दै जाँदै भोकमरी शून्यमा झार्न विश्वलाई अँझै सय वर्ष लाग्ने बताउनुभयो । नेपालले पनि सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कूल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको उहाँको भनाइ थियो ।

पोषणविज्ञ सोमाकुमारी रानाले भोकमरीको सूचाङ्कमा विश्वका १२३ देशमध्ये नेपाल ७२औँ स्थानमा रहेको बताउनुभयो । सन् २०१६ देखि यहाँसम्म आउदाँ खाद्य सुरक्षामा खासै सुधार नआएको जनाउँदै उहाँले भन्नुभयो, “नेपालमा अहिले पनि हरेक आठ जनामा एक जना भोकै हुन्छ । हरेक पाँच जना बालबालिकामा एक जनाले खान नै पाउँदैन । कर्णालीमा ३२ प्रतिशत परिवार खान नपुग्ने अवस्थामा छन् । यस्तो अवस्था अन्त्य गर्न सबै निकाय जुट्नुपर्छ ।”

वेल्टहंगरहिल्फे, कन्सर्न वल्र्डवाइड र आइएफएचभीले विश्व, क्षेत्रीय र राष्ट्रियस्तरमा भोक तथा कुपोषणको स्थिति मापन र मूल्याङ्कन गर्न वार्षिक रुपमा ‘ग्लोबल हंगर इन्डेक्स’ प्रतिवेदन जारी गरिँदै आएको बताइएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागीहरुले शून्य भोकमरी अभियानलाई सहयोग पुग्ने कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवद्वय सञ्जीवकुमार कर्ण र शङ्कर शाह, बुढीगङ्गा नगरपालिका बाजुराका नगरप्रमुख रामबहादुर बानिया, बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन, युनिसेफ बहुक्षेत्रीय पोषण योजनाका पोषण अधिकृत शेरबहादुर दहितसँग लिबर्डका रिता गुरुङले सुदूरपश्चिम र कर्णालीको रेथानेबाली, पोषण, खाद्य सुरक्षा, बनेका नीति एवं ऐन र भएका सफल अभ्यासका बारेमा छलफल सत्र सञ्चाल गर्नुभएको थियो ।

अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा कामेश्वर चौरासिया

काठमाडौँ, २४ कात्तिक : अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाउनुभयो । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भन्नुभयो ।

पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गर्नुभएको छ । तर, उहाँ कलाकारिताको यात्रा त्यति सहज भने थिएन ।

“अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौँ आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहँे । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे । त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो”, उहाँले भन्नुभयो ।

अभिनय सिक्ने जोशमा उहाँले भारतको दिल्लीसम्म पुगेर प्रयास गर्नुभयो, तर सफल हुन सक्नुभएन । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गर्नुभयो ।

‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उहाँलाई खोज्न थाले । तर, उहाँको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए ।

“म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा प¥यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो”, अभिनेता चौरासियाले भन्नुभयो ।

आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उहाँले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गर्नुभयो । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उहाँलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किनुभएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गर्नुभयो ।

“मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ”, उहाँले भन्नुभयो । चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गर्नुभएको छ ।

मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उहाँसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गर्नुभएको

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै 

काठमाडौँ, २४ कात्तिक : विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको प्रस्तावमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रुपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक रुपमा बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । २०३३ सालमा बिपीसँगै राष्टिूय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।

नेता सिंहलाई विसं २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।

विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, २३ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको आज निरीक्षण तथा ‘एनटी फाइबर विद्यार्थी अफर’ घोषणा कार्यक्रममा मन्त्री खरेलले नेपाल टेलिकमलाई सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको पहिलो प्राथमिकता निर्वाचन र सुशासन हो, त्यसैले अब टेलिकमको सेवालाई सुशासनसँग जोडेर हेर्नैपर्छ । सुशासनसँगै जोडेर मैले यो कुरा भनेको हुँ, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गर्नैपर्छ । छोटो अवधि भए पनि केही न केही काम गर्नुपर्ने यो सरकारलाई दबाब छ, चुनौती र ऊर्जा पनि छ ।”

सञ्चारमन्त्री खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिनुभयो । “टावरलगायत पूर्वाधारको काममा जो–जो ठेकेदारले समयमा नै काम नगरेर ‘होल्ड’ गरेका छन् उनीहरुको ठेक्का रद्द गरेर काम गर्ने ठेकेदारलाई जिम्मा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रको सञ्चार टेलिकमले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री खरेलले टेलिकमको कुनै पनि अफ्ठ्यारामा सरकार र मन्त्रीको सधैँ साथ सहयोग रहने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “टेलिकमको सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्ने छँदैछ तर टेलिकमले आफूलाई अब सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्नुपर्नेछ । सुशासनका सुखद समाचार जनमानसमा आउन जरुरी छ, यो मेरो अपेक्षा छ । टेलिकमलाई नेपालको अब्बल संस्थाका रुपमा स्थापित गर्न जरुरी छ ।” मन्त्रालयमा टेलिफोन र इन्टरनेट प्रभावकारी नभएको गुनासो आइरहेको भन्दै मन्त्री खरेलले दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार र सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तो छ, एनटी फाइबर विद्यार्थी अफर

नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै आजदेखि फाइबर विद्यार्थी अफर प्रारम्भ गरेको छ । टेलिकमले २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री खरेलले उक्त अफरको शुभारम्भ गर्नुभयो । मन्त्री खरेलले आर्थिक रुपले सक्षम नभएका विद्यार्थीका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकामा नेपाल टेलिकम परिवारलाई धन्यवाद दिनुभयो ।सञ्चारमन्त्री खरेलले टेलिकमको ‘भ्वाइस’ र ‘डेटा’ सञ्चार सम्बन्ध तथा सम्पर्कका महत्वपूर्ण शूत्र हुन् भन्दै यसलाई बद्लिदो परिवेश र प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी र विद्यार्थीका लागि केही न केही उपहारस्वरुप सेवा दिन सकिन्छ कि भनेर छलफल गरियो । आज सहुलियत प्याकेज घोषणा गरिएको छ । लाखौँ विद्यार्थी सहरी क्षेत्र मात्रै नभई दुर्गम क्षेत्रसम्म रहेकाले उनीहरुका लागि इन्टरनेटको सुविधा सास फेर्नु सरह छ । हामी सबैका लागि पनि हो, तर विशेषगरी विद्यार्थीका लागि यो अति नै उपयोगी हुनेछ ।”

मन्त्री खरेलले टेलिकमको सेवा केवल सहरमा सीमित नहोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै दुरदराजका बस्तीमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तार गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकम आइराख्दाखेरि देश र जनताका लागि केही न केही नयाँ दिनसक्न पाए हुन्थ्यो भन्ने चाहना थियो, आज नेपाल टेलिकमले विद्यार्थीका लागि विशेष प्याकेज घोषणा गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु ।” उहाँले फाइबर सेवाका ग्राहक बढाउन बजारीकरणका उपाय अपनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारका रुपमा रहेकाले नाफाभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजस्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्केले टेलिकमको मुनाफा बढाउन तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन कम्पनीले विभिन्न योजना अगाडि बढाइएको बताउनुभयो । सो अवसरमा सञ्चारमन्त्री खरेलले टेलिकमको जावलाखेलमा रहेको ‘इन्टिग्रेटेड नेटवर्क अपरेसन सेन्टर’ को स्थलगत निरीक्षणसमेत गर्नुभयो ।

अफरअन्तर्गत करसहित रु चार हजार ९९९ मा ३० एमबिपिएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ । अफरका साथमा विद्यार्थीले एक थान म्गब िद्यबलम ऋएभ् र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् । पहिला यही प्याकेजको रु आठ हजार पथ्र्यो । अफर लिन विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ

घोराही (दाङ),२३ कात्तिकः दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ । घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगर, सल्यानको छत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका शरद् बस्नेत र घोराही–१३ का २५ वर्षीय सन्दीप घर्ती रहेका छन् ।जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालय तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो ।

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा

अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन् ।

देशका व्यस्त विमानस्थलहरूमा देखिएको अव्यवस्थाले लामो समयदेखि चलिरहेको सङ्घीय बन्दको असर झन् गहिरो बनाएको छ । यात्रुहरूका गुनासा बढिरहेका छन् । डोमिनिकन गणतन्त्रमा आफ्नो परिवार भेट्न गइरहनुभएकी मियामीकी ३६ वर्षीया एमी होल्गुइन भन्नुहुन्छ, “हामी सबै कतै न कतै जानै पर्छ । म आशा गर्छु सरकारले छिट्टै समाधान गर्छ ।”

विश्लेषकहरूका अनुसार यदि रद्द हुने दर यस्तै बढ्दै गयो भने आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह हुन सक्छ र यसले केवल हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि असर पार्नेछ । पर्यटन र छुट्टीका सामान ढुवानीमा नकारात्मक प्रभाव पर्न थालिसकेको बताइएको छ ।

– उडान रद्दको तथ्याङ्क –

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार मात्र एक हजार ५०० भन्दा बढी उडान रद्द भएका थिए । यसको अघिल्लो दिन सङ्ख्या एक हजार पुगेको थियो । आइतबारका लागि पनि थप एक हजारभन्दा बढी उडान रद्द गरिएको अमेरिकी एयरलाइन्सहरूले जनाएका छन् । एटलान्टा, शिकागो, नर्थ क्यारोलिनाको शार्लोट र न्युजर्सीको नेवार्क विमानस्थलमा दिनभर अवरोधका समाचार आएका छन् । विशेषगरी न्युयोर्क वरपरका विमानस्थलहरूमा हवाई नियन्त्रकहरूको अभावले ढिलाइ र रद्द बढाएको हो ।

एफएएले सबै व्यावसायिक एयरलाइन्सहरूमा ४० प्रमुख विमानस्थलमा प्रारम्भिक रूपमा चार प्रतिशत उडान कटौती गरेको थियो । यो शुक्रबारसम्म बढ्दै १० प्रतिशत पुगेको हो । मङ्गलबार फेरि उडान कटौतीमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

यातायात मन्त्री सिन डफीले यदि सरकारी बन्द लामो समयसम्म जारी रह्यो भने अझ धेरै हवाई यातायात नियन्त्रकहरू तलब बिना काम गर्न अस्वीकार गर्न सक्ने र त्यसले थप उडान कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।

– उडान किन रद्द भइरहेका छन् ? –

नियन्त्रकहरूले लगभग एक महिनादेखि तलब बिना काम गरिरहेका छन् । धेरैजसो कर्मचारीहरू बिरामीको बहानामा काममा उपस्थित हुन सकेका छैनन् । नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार अधिकांश नियन्त्रकहरूले हप्ताको छ दिनसम्म तलब बिना ओभरटाइम काम गर्न बाध्य छन् र कतिपयले बिल तिर्न दोस्रो रोजगारी लिनुपरेको छ ।

सङ्घीय बन्द अन्त्य गर्न माग गर्दै उक्त सङ्घले शनिबार अमेरिकी काङ्ग्रेसका सदस्यहरूलाई एक हजार ६०० हस्तलिखित पत्र पठाएको बताएको छ ।

– यात्रुहरूको अवस्था –

उडान रद्द भएका धेरै यात्रुहरूले शुक्रबारको तालिका केही सामान्य देखिएपछि राहत महसुस गरे पनि उनीहरू पुनः बुकिङ गर्न लामो प्रतीक्षामा छन् । लामो अन्तर्राष्ट्रिय उडानहरू अहिलेसम्म प्रभावित भएका छैनन्, तर यात्रुहरू अनिश्चितताबाट त्रसित छन् ।

शनिबार क्रुज यात्रा सकेर प्युटो रिको फर्किनुपर्ने मियामीकी ४६ वर्षीया हिथर जुले भन्नुहुन्छ, “यात्रा आफैँमा तनावपूर्ण हुन्छ । त्यसमा पनि यस्ता अवरोधले सबथोक अझ कठिन बनाउँछ ।”

भाडाका सवारी कम्पनीहरूले एकतर्फी आरक्षणमा तीव्र वृद्धि भएको जनाएका छन् । केही यात्रुले उडान रद्द गर्दै वैकल्पिक यात्रा विकल्प रोजिरहेका छन् ।

न्युजर्सीकी डायना अल्वियरले अर्को सप्ताहन्त क्यालिफोर्नियामा सासूलाई भेट्न बनाइएको पारिवारिक योजना रद्द गर्नुभएको छ । नियन्त्रकहरूको कमी र लामो कामघण्टाका कारण उहाँले उडान सुरक्षामा चिन्ता व्यक्त गर्नुभएको हो । “हामीले उडान रद्द गर्नुपर्‍यो । युनाइटेड एयरलाइन्सले टिकटको रकम फिर्ता गरे पनि एयरबिएनबीमा झण्डै सात सय डलर जम्मा रकम फिर्ता भएन”, उहाँले भन्नुभयो, “यो हाम्रो लागि आर्थिक रूपमा कठिन र भावनात्मक रूपमा निराशाजनक छ ।”

– अर्थतन्त्रमा असर –

उडान रद्दले केवल यात्रुहरूलाई नभई अर्थतन्त्रका अन्य क्षेत्रमा पनि असर पार्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकाको झण्डै आधा हवाई कार्गो यात्रुवाहक विमानको पेटमा पठाइने भएकाले ढुवानी अवरोधले बजारमा मूल्य वृद्धि गराउन सक्छ ।

सिराक्युज विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ प्रा. प्याट्रिक पेनफिल्डका अनुसार यदि प्रमुख हवाई ढुवानी सेवा प्रभावित रह्यो भने उच्च ढुवानी लागत अन्ततः उपभोक्तामा सारिनेछ ।

एलिभेट एभिएसन ग्रुपका प्रमुख कार्यकारी ग्रेग राइफ भन्नुहुन्छ, “यो बन्दले कार्गो विमानहरू र व्यापारिक यात्रुहरूलाई मात्र नभई, सम्पूर्ण पर्यटन उद्योग र सहरका राजस्वलाई असर पार्नेछ । होटल र स्थानीय कर आम्दानीमा समेत गिरावट आउनेछ ।”सरकारी बन्द जारी रहेसम्म उडान अवरोध र यसको असर थप गहिरिँदै जाने निश्चित देखिएको छ ।

चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित

चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने केही रणनीतिक सामग्रीहरूमा लागू गर्दै आएको प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेको छ । यस अन्तर्गत ग्यालियम, जर्मेनियम, एन्टिमोनी तथा सुपरहार्ड सामग्रीहरूजस्ता दोहोरो प्रयोग हुने वस्तुहरू समावेश छन् ।

मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो निलम्बन चीनको सन् २०२४ को घोषणा नम्बर ४६ को दोस्रो खण्डमा लागू हुनेछ । यसलाई सन् २०२५ नोभेम्बर ९ देखि सन् २०२६ नोभेम्बर २७ सम्मका लागि स्थगित गरिनेछ । उक्त खण्डले विशेषगरी अमेरिकातर्फ यस्ता सामग्रीहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो र ग्रेफाइटजस्ता वस्तुहरूका लागि थप कडा समीक्षा प्रक्रिया अनिवार्य बनाएको थियो ।

तर, वाणिज्य मन्त्रालयले यो अस्थायी निलम्बनले घोषणाको दोस्रो खण्डमा मात्र प्रभाव पार्ने स्पष्ट पारेको छ । अमेरिकी सैन्य प्रयोगकर्ताहरू वा सैन्य प्रयोजनका लागि दोहोरो प्रयोग हुने वस्तुहरूको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने पहिलो खण्ड भने यथावत रहनेछ ।

चिनियाँ ग्लोबल टाइम्सका अनुसार यो निर्णय चीन र अमेरिकाबीच हालै भएको उच्चस्तरीय वार्ताको परिणामस्वरूप आएको हो । यसअघि, सन् २०२४ डिसेम्बरमा जारी गरिएको चिनियाँ निर्यात नियन्त्रण कानूनले कुनै पनि संस्था वा व्यक्तिले चिनियाँ मूलका दोहोरो प्रयोगका वस्तुहरू अमेरिकी संस्थाहरूलाई अनधिकृत रूपमा हस्तान्तरण गरे कानूनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको थियो ।

यसैबीच, यस महिनाको सुरुमा दक्षिण कोरियाको बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको महत्त्वपूर्ण भेटवार्तापछि दुवै देशबीच व्यापार र आर्थिक सहकार्य सम्बन्धी नयाँ सम्झौता सम्पन्न भएको थियो ।

ह्वाइट हाउसले नोभेम्बर १ मा सार्वजनिक गरेको तथ्यपत्रका अनुसार सम्झौता अन्तर्गत चीनले दुर्लभ पृथ्वी तत्वहरू र अन्य महत्त्वपूर्ण सामग्रीहरूमा लगाइएको निर्यात नियन्त्रण अस्थायी रूपमा हटाउने, मार्च ४ देखि लागू अमेरिकी उत्पादनहरूमाथिको प्रतिशोधात्मक शुल्क र गैर–शुल्क उपायहरू समाप्त गर्ने र केही व्यापारिक प्रतिबन्धहरू पुनः समीक्षा गर्ने सहमति जनाएको हो ।

त्यसको सट्टामा, अमेरिकाले पनि यस वर्षको नोभेम्बर १० देखि फेन्टानिल नियन्त्रणसँग सम्बन्धित चिनियाँ आयातमा लागू केही करमा १० प्रतिशतसम्म कटौती गर्ने, धारा ३०१ अन्तर्गतका कर छुट अर्को वर्ष नोभेम्बर १० सम्म लम्ब्याउने र चीनको समुद्री तथा जहाज निर्माण क्षेत्रमा सञ्चालन भइरहेका अनुसन्धानहरू अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ ।

यस्तै, चीनले नेक्सपेरियाको चीनस्थित उत्पादन केन्द्रहरूबाट व्यापार पुनः सुरु गर्न अनुमति दिने र अमेरिकी सेमीकन्डक्टर कम्पनीहरूविरुद्ध भइरहेको अनुसन्धान स्थगित गर्ने सहमति पनि जनाएको छ ।

यस निर्णयलाई दुई देशबीचको व्यापारिक सम्बन्धमा आंशिक सहजता ल्याउने प्रयासका रूपमा विश्लेषकहरूले व्याख्या गरेका छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।

उक्त प्रकरणमा संलग्न भई फरार रहेका मधेस प्रदेशको रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जानकारी दिएको छ ।

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरुबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका बताउनुभयो ।

उक्त घटनाको ठगी, कीर्ते र सङ्गठित अपराधमा संलग्न रही फरार हुँदै आएका खरेललाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप आवश्यक कारबाहीका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

खरेलविरुद्ध आर्थिक वर्ष २०७९÷८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

काठमाडौँ – पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

सभासद् रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमा नै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।

सोही अवसरमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । उहाँले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राख्नुभएको थियो । खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उहाँको भनाइ थियो ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने सभासद्हरुको माग छ ।

सभासद् डा पाण्डेले भन्नुभयो, “कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै दिँदैनन् । यही कारण संसद्मा महिला प्रतिनिधित्व सन्तोषजनक हुन सकेको छैन, अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्छ । त्यसभित्र दलित, जनजाति र अन्य अल्पसङ्ख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।”

प्रतिनिधिमण्डलमा अधिकारकर्मी उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईंलगायतको सहभागिता थियो ।

भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

सिरहा, २३ कात्तिकः भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन् । उहाँका अनुसार, यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ ।

‘विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने शैक्षिक योजना आवश्यक’

गण्डकी, २३ कात्तिकः गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने गरी शैक्षिक योजना ल्याउनुपर्ने बताउनुभएको छ ।

त्रिवेणी इन्टरनेसनल कलेजको १०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै कुलपति प्राडा तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थी आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेका उल्लेख गर्नुुभयो । गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको जिकिर गर्दै उहाँले गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको बताउनुुभयो ।

यही शैक्षिक सत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० सूचना प्रविधिका विद्यार्थी उत्पादन हुने स्पष्ट पार्दै कुलपति प्राडा तिवारीले उनीहरूलाई रोजगारीको अवसर दिन आग्रह गर्नुुभयो । विद्यार्थीलाई रोजगारीका बहुक्षेत्रमा प्रवेश गर्न सक्नेगरी क्षमतावान् बन्ने गरी अध्यापन गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीले रोजगारीसँगै अध्ययनलाई पनि जारी राख्न सक्ने वातावरण क्याम्पस र बजारले बनाई दिनुपर्ने उहाँले बताउनुुभयो ।

कार्यक्रमका अध्यक्ष सुमन भट्टराईले शिक्षामा सरकारी, सामुदायिक र निजी गरी वर्गीकरण गरेर विभेद गर्न नहुने बताउनुुभयो । कलेजमा शुल्क नभएका कारण कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपर्ने भन्दै उहाँले जेहेन्दार र आर्थिक हिसाबले कम अवसर पाएका विद्यार्थीका लागि कलेजले विभिन्न सङ्घसंस्थाको सहकार्यमा छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको जानकारी दिनुुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त त्रिवेणी इन्टरनेसनल कलेजमा व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहका कक्षा सञ्चालन हुँदै आएका छन् । यहाँ झन्डै ६ सय विद्यार्थी अध्ययन गर्दै आएका सो अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, हिसान कास्कीका अध्यक्ष यमबहादुर रोका, कलेजका पूर्वअध्यक्ष राजेन्द्रमणि लामिछाने, कलेजका प्रमुख यदुनाथ आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेललगायतले कलेजको शैक्षिक गुणस्तरका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुुभएको थियो ।

मलेसिया र थाई सीमा नजिकै ९० आप्रवासी बोकेको डुङ्गा डुब्यो, दर्जनौँ हताहत भएको आशङ्का

मलेसिया र थाई सीमा नजिकै करिब ९० जना कागजात नभएका आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ मानिस हताहत भएका छन् । दुर्घटनामा कम्तीमा एक महिलाको मृत्यु भएको र १० जनाको सकुशल उद्धार गरिएको मलेसियाली प्रहरीले आइतबार जनाएको छ।

केदाहका प्रहरी प्रमुख अद्जली अबु शाहले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, “९० जना यात्रु बोकेको डुङ्गा डुबेको छ ।”उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

मलेसियाली पर्यटकीय टापु लाङ्कावीको उत्तरमा तारुताओ टापु नजिकै दुर्घटना भएको मलेशियाको देशको सामुद्रिक प्राधिकरणले जनाएको छ।“अहिलेसम्म एक मृतकसहित ११ जना फेला परेका छन्,” केदाह राज्यका समुद्री सुरक्षा निर्देशक रोम्ली मुस्तफाले भन्नुभयो ।

उहाँले थप पीडितहरू समुद्रमा फेला पर्ने सम्भावना रहेको बताउनुभयो । मलेसिया एसियाका गरिब मुलुकबाट आएका लाखौँ आप्रवासीहरूको कार्यस्थल हो । त्यहाँ रहने धेरै कामदार कागजात नभएका र निर्माण र कृषि लगायतका उद्योगमा काम गर्छन् ।

मानव बेचबिखन सिन्डिकेटहरूले सहयोग पु¥याएका यी जहाजहरू यात्राका लागि प्रायः खतरनाक मानिन्छन् र धेरै दुर्घटनाहरू हुन्छन् ।सबैभन्दा खराब महिनामध्ये एक सन् २०२१ डिसेम्बरमा मलेसियाको समुद्री तटमा २० भन्दा बढी आप्रवासीहरू डुबेर मरेका थिए।

अर्थमन्त्री खनालले संसद् भवन अगाडि गरे दीप प्रज्वलन

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जेनजी आन्दोलनका शहीदहरूको लागि संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् ।

आज साझँ उनले आन्दोलनको दुई महिना पुगेको अवसरमा शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,बेथितिविरुद्ध आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दर्जनौँले ज्यान गुमाएका थिए ।

कात्तिक ३ गतेदेखि हराएका दुई भारतीय पर्यटक मृत भेटिए

मनाङ – यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आज मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्लाई जानकारी गराएको थियो ।

“शव प्रदेश अस्पताल मनाङ ल्याइँदैछ । सोमबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउँछौँ”, प्रजिअ पौड्यालले भन्नुभयो ।

जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गर्ने अछामको मल्लेक गाउँपालिका घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय अमृत साउदलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा साउदलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका साउदसँग प्रहरीले लुटपाट गरेको एक थान कम्प्युटर, सिपियु एक थान, प्रिन्टर मेसिन एक थान, जुत्ता एक जोर तथा तरबार एक थान बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिनुभयो ।

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गर्नुभयो । प्रशासन र प्रहरीलाई पूर्वजानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उहाँको भनाइ थियो ।

“हामी कुनै घुसपैठिया शक्ति होइनौँ । राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका शक्ति हौँ । त्यसकारण हामीविरुद्ध सरकारले संविधानविपरीत विरोध प्रदर्शनमा रोक लगाउने काम गर्नु हुँदैन,” अध्यक्ष ओलीले भन्नुभयो । उहाँले उद्योगीहरुलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा – जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो ।

घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको जनही २० हजारसमेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, धु्रव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठ घाइते भएका थिए

“सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पछि नीति बनाएर सेवासुविधा दिनसक्छ भनेर अहिले घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो ।

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद् छ – अध्यक्ष ढकाल

धुलिखेल – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताउनुभएको छ ।

आज बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको उल्लेख गर्दै उहाँले आन्दोलनका नाममा घुसपैठ गर्नेलाई कारबाही हुनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ढकालले अब नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा नेपालका घरेलु पुँजी परिचालन गरेर ठूला आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि सबै व्यवसायी सहभागी हुने गरी रु १० अर्बको लगानीमा नेपाल डेभेलपमेन्ट कम्पनी सञ्चालनमा ल्याएको बताउनुभएको छ । जसबाट नेपालमा आफ्नै पुँजी परिचालन गरेर धेरै काम गर्न सकिने आत्मविश्वास बढाउने काममा टेवा पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गरेको अवस्थामा उद्योग वाणिज्य महासङ्घको पहलमा यसखालको काम अगाडि बढाइएको छ, कुनै पनि व्यक्तिले आफ्नो व्यवसाय अगाडि बढाउन खोजेको अवस्थामा पैसाको आवश्यक पर्दा उक्त कम्पनीले लगानी गरिदिन्छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो व्यवसायहरु जलिरहेको अवस्थामा व्यवसायीहरु पीडा बोकेर हिँड्नुपरेको अवस्था दुःखद् भएको बताउनुभयो ।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रताप वैद्यले जिल्लाको व्यापारिक नगरी बनेपा, पनौती, धुलिखेलमा हाल अरनिको राजमार्ग विस्तारका क्रममा व्यावसायिक कठिनाइ भोगिरहनु परेको बताउँदै व्यावसायिक वातावरण बनाइ राख्नका लागि छुट्टै व्यावसायिक स्थान, कृषि क्षेत्र, औद्योगिक क्षेत्र निर्माण गर्न राज्यलाई आग्रह गर्नुभयो ।

उहाँले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) र मण्डनदेउपुरमा निर्माण भइरहेको औद्योगिक ग्रामलाई पर्याप्त बजेटको व्यवस्थापन गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री अर्याल र भारतीय राजदूतबीचको भेटवार्तामा के के भयो ?

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको उक्त दुई पक्षीय भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्तिसुरक्षाको विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही अवसरमा गृहमन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै शान्तिसुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको तथा घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सरकार अहोरात्र लागिपरेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने प्रष्टपार्नुभयो । दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।

त्यस अवसरमा भारतीय राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । दुई देशबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध सधैँ सकारात्मक र सुमधुर ढङ्गले अघि बढ्ने उल्लेख गर्दै उहाँले निर्वाचन सफल बनाउन खेल्नपर्ने भूमिका लागि सधैँ सकारात्मक रहेको बताउनुभयो ।

‘शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गरिनेछ’ – शिक्षामन्त्री महावीर पुन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गर्नुभएको छ ।

मन्त्री पुनले आज विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन हुनुपर्ने र उनीहरुले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको तर राजनीतिक दलको जनसङ्गठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक सङ्गठनलाई आफूले मान्यता नदिने बताउनुभयो ।

मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ”, विज्ञप्तिमा भनिएको छ ।

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ – पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो । तर, चलचित्रमा देखिने दृश्यलाई सुन्दर र प्रभावकारी बनाउन पर्दापछाडि काम गर्ने प्राविधिकको भूमिकाका बारेमा धेरैलाई थाहा हुँदैन । प्रभावकारी ‘टिम स्प्रिट’का साथ निर्मण हुने चलचित्रमा पर्दापछाडि काम गर्ने निर्देशक, मुख्य सहायक र सहायक निर्देशकको जिम्मेवारी तथा भूमिका महत्वपूर्ण हुने भए पनि ती सदैव ओझेल परिरहेका हुन्छन् ।

मुख्यतः धेरैले पर्दा पछाडिका ‘हिरो’ भनेर निर्देशकलाई चिन्ने गर्छन् । किनकि निर्देशक नै चलचित्र तयार गर्ने ‘टिम क्याप्टेन’ हुन् । तर, पर्दाभित्र रही निर्देशकलाई पनि सघाउने मुख्य सहायक तथा सहायक निर्देशकहरू आम दर्शकमाझ अपरिचित तथा गुमनाम हुन्छन् ।

चलचित्रको व्यवस्थापनदेखि कलाकारको तालिम, संवाद र दृश्य व्यवस्थापनसम्म उनीहरू सक्रिय रहन्छन् । निर्देशकको योजना र भिजनलाई छायाङ्कन सेटमा कार्यान्वयन गराउने मुख्य व्यक्ति उनीहरू नै हुन् । छायाङ्कनको तालिका तयार पार्ने, कलाकार र प्राविधिकबीच समन्वय गर्ने र दृश्यको तयारी सुनिश्चित गर्नु उहाँहरूको जिम्मेवारी हो । यदि निर्देशक चलचित्रको कप्तान हुन् भने सहायक निर्देशकहरू खेलमैदानमा रणनीति कार्यान्वयन गराउने खेलाडी हुन् ।

हामीले सामान्यता देख्ने ‘क्ल्याप ब्वाई’ देखि ‘एक्सन कट’ भन्ने निर्देशकसम्मकै मेहनतले एउटा चलचित्रलाई पूर्ण बनाउन मद्दत गर्छ । तर, निर्देशकको चर्चा भए तापनि मुख्य सहायक वा सहायक निर्देशकको विरलै चर्चा हुने गर्छ ।

‘पर्दा पछाडिका हिरो’ का रुपमा चिनिने उनीहरूले मेहनत धेरै र चर्चा कम पाउने गर्छन् । विगत डेढ दशकदेखि ‘क्ल्याप ब्वाई’ हुँदै मुख्य सहायक निर्देशकसम्म भूमिका निर्वाह गरिसक्नुभएका फिरोज खड्काका अनुसार निर्देशक र कलाकार बीचको पुलको काम सहायक निर्देशकहरूले गर्दछन् ।

“सहायक निर्देशकका रुपमा जति मेहनत गर्न सक्यो त्यति नै काम सिकिन्छ । तर, निर्देशकको विश्वास जितेर काम गर्न सक्नुपर्छ । आफ्नो कामसँगै अन्य काममा पनि आफ्नो सहभागिता देखाउन सक्नुपर्छ, किनकि सहायक निर्देशक भए पनि निर्देशककै समूहमा रहेर काम गरिरहेका हुन्छौँ”, मुख्य सहायक निर्देशक खड्काले भन्नुभयो ।

उहाँका अनुसार दृश्यको निरन्तरता, एउटा दृश्यमा देखिने सम्पूर्ण समान र कलाकारको भावको निरन्तरतासँगै कलाकारलाई पात्रसँग जोड्ने काम सहायक निर्देशकहरूकै हुन्छ । उहाँले चलचित्र ‘भगवान् सबैको’ मार्फत निर्देशक विभागमा कामको सुरुआत गर्नुभएको थियो । त्यसयता ‘गुडबाई काठमाडौँ’, ‘लूट’, ‘सेतो सूर्य’, ‘राजगञ्ज’ लगायतका लोकप्रिय चलचित्रहरूमा उहाँले काम गरिसक्नुभएको छ ।

उहाँ पछिल्लो समय खोजिने मुख्य सहायक निर्देशकको रुपमा परिचित हुनुहुन्छ । प्रायः निर्देशक निश्चल बस्नेतको मुख्य सहायक भएर उहाँले काम गर्दैै आउनुभएको छ । “निर्देशक बस्नेतसँग सुरुआती दिनदेखि नै काम गरेकाले पनि हामी सहज भयौँ, उहाँले पनि विश्वास गर्नुभयो । त्यसकारण उहाँका चलचित्रमा मैले मुख्य सहायक निर्देशक भएर काम गरेको छु । राम्रो निर्देशकहरूसँग काम गर्न पाउँदा हामीले पनि सिक्दै, बुझ्दै आफूलाई परिपक्व बनाउन सक्छौँ”, उहाँले भन्नुभयो ।

निर्देशन विभागमै रहेर डेढ दशक काम गरिसक्नुभएका अर्का निर्देशक हुनहुन्छ, अनिल खड्का । उहाँले पनि धेरै चलचित्रमा सहायक र मुख्य सहायक निर्देशकका भूमिका निर्वाह गरिसक्नुभएको छ । केही चलचित्रमा निर्देशकले विश्वास गरेर उहाँलाई दृश्य निर्देशन गर्न पनि प्रेरित गर्नुभएको छ ।

“हामीले निर्देशककै अन्तर्गत रहेर काम गर्छौं । कलाकार र निर्देशक बीचको सहजीकरणसँगै निर्देशककै आँखा बनेर हामीले काम गरिरहेका हुन्छौँ । त्यसले हामीलाई काम गर्ने शैलीबारे अवगत गराउनाका साथै कठिनाइसँग पनि जानकार गराउँछ”, उहाँले भन्नुभयो ।

मुख्य सहायक निर्देशक भएर काम गरिरहनुभएका खड्का विस्तारै चलचित्र निर्देशनको तयारीमा हुनहुन्छ । तर, आफूलाई चित्त बुझ्दो पटकथा नपाउँदासम्म उहाँले त्यो आँट गर्न सक्नुभएको छैन ।

“मुख्य सहायक निर्देशकका रुपमा हामीले निरन्तर काम पाउँछौँ, गर्ने वा नगर्ने हाम्रो निर्णय हुन्छ । तर, निर्देशक बनिसकेपछि हामी पछाडि फर्किन सक्दैनौँ, त्यसैले चित्त बुझाउने कथा नपाएसम्म निर्देशन नगरेको हो । प्रस्ताव आएका छन्, तयारी पनि छ । सम्भवतः अर्को वर्ष निर्देशन गर्ने सोचमा छु । तर अहिले केही भन्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

उहाँ झैँ मुख्य सहायक निर्देशककै रुपमा काम गरिरहनुभएका फिरोज खड्का पनि पटकथाको खोजीमा हुनुहुन्छ । आफूले खोजेजस्तो पटकथा पाएमा आएको निर्देशकको प्रस्तावलाई स्वीकार गर्ने उहाँको भनाइ छ ।

उहाँ दुई झैँ मुख्य सहायक निर्देशकका रुपमा लामो समय काम गर्नुभएका वसन्त अधिकारीले ‘जानी नजानी’ चलचित्रमार्फत निर्देशक बन्नुभयो । उहाँसँग प्राविधिकका रुपमा काम गरेकोसँगै सम्पूर्ण टोलीको कप्तानी गरेको अनुभव छ ।

“मुख्य सहायक हुँदै निर्देशक बन्दा चलचित्र भव्य हुनुपर्छ । जसले तपाईंको कामलाई आमदर्शकसँगै अन्य निर्मातासम्म पनि पु¥याउँछ । किनकि पहिलो निर्देशकीय चलचित्र पाउन जति सहज हुन्छ, दोस्रो पाउन त्यति नै मुस्किल । फेरि पर्दापछाडि काम गर्नेहरू पर्दाअगाडि आएर आफ्नो बजारीकरण (मार्केटिङ) पनि धेरै गर्न सक्दैनन् । त्यसैले दोस्रो चलचित्र पाउन मुस्किल हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले पहिलो चलचित्र निर्देशन गरेको करिब पाँच वर्ष भइसके पनि दोस्रो चलचित्र निर्देशन गर्न सक्नुभएको छैन । यसमा उहाँ आफ्नो ‘पब्लिक रिलेसन’ कारक मान्नुहुन्छ । “मैले चलचित्रमा काम गर्दा आफ्नो काममा मात्र केन्द्रित भएर काम गरिरहँे । आफ्नो सम्बन्ध निर्माता वा अन्यसँग बढाउन नसके जति वर्ष काम गरे पनि निर्देशकका रुपमा प्रस्ताव आउन कठिन नै हुन्छ । त्यसमाथि पहिलो चलचित्रले व्यावसायिक रुपमा सफलता पाउन सकेन भने त दोस्रो चलचित्र निर्देशन गर्न निकै कठिन हुन्छ”, निर्देशक अधिकारीले स्पष्ट गर्नुभयो ।

उहाँले चलचित्रमा ध्वनि, वेशभूषालगायतका विभागमा काम गरेपछि मात्र निर्देशन विभागमा काम गर्ने अवसर पाउनुभएको थियो । विदेशतिर चलचित्रमा व्यावसायिक घरानाको लगानी हुने भएकाले निर्देशकहरूले नै आफ्ना सहायक निर्देशकलाई निर्देशकका रुपमा अगाडि ल्याउने चलन छ । तर, नेपालमा भने त्यस्तो परिपाटी नरहेको उहाँको भनाइ छ ।

“हामीले छिमेकी देश भारतकै बलिउडको उदाहरण हे¥यौँ भने त्यहाँ आफ्नो सहायकलाई निर्देशकका रुपमा अगाडि ल्याएको देखिन्छ । तर, नेपालमा लगानीकर्तासँग ‘कर्पोरेट हाउस’ विरलै जोडिन्छन् । फलतः आफ्नो गोजीको लगानीमा ‘रिस्क’ लिन कसैले आँट गर्दैनन् । त्यही भएर मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका धेरैले निरन्तरता दिन सकिरहेका छैनन्”, निर्देशक अधिकारीले भन्नुभयो ।

उहाँहरू झैँ काम गरेर निर्देशक बन्नुभएका भद्र भुजेल, सम्राट शाक्य, मुस्कान ढकाललगायतका निर्देशकले आफ्नो पेसालाई निरन्तरता दिन कठिनाइको सामना गरिरहनुभएको छ । त्यसकारण पनि केही साहायक निर्देशकहरू पूर्णरुपमा निर्देशक बन्न तयार देखिएका छैनन् । उनीहरू निर्देशकीय चलचित्र व्यावसायिक रुपमा असफल भएमा चलचित्र निर्देशनसँगै निर्मातालाई रिझाउनुपर्ने दबाब हुने बताउँछन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसीले प्रधानमन्त्री कार्कीसमक्ष बुझाए दशबुँदे ज्ञापनपत्र

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले दशबुँदे ज्ञापनपत्र बुझाउनुभएको छ ।

प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा आज भेटेर डा केसीले ज्ञापनपत्र बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा सुधा गौतम तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनी झा र डा केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी तथा प्राडा जगदीशप्रसाद अग्रवाल सहभागी हुनुहुन्थ्योे ।

ज्ञापनपत्रमा सरकारी अस्पताल तथा स्वास्थ सेवा संस्थाहरूमा अहिलेको आवश्यकताअनुसार जनशक्ति दरबन्दी वृद्धि गर्ने, चिकित्सकलगायत स्वास्थ्यकर्मीको रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग रहेका छन् ।

रास्वपाको विस्तारित बैठक सौराहामा सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

चितवन, २३ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।

छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।

रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।”

जेनजी आन्दोलनका क्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ । देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९)मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ ।

बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।

केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो ।

विस्तारित बैठकमा केन्द्रीय सदस्य डा तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ ।

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

घोडाघोडी (कैलाली) – पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हेटौँडामा यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती, २३ कात्तिक : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जाडो याम सुरु नहुँदै यशोधराका पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

भोजपुर, २३ कात्तिक : भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने समस्या देखिँदै आएकामा पोशाक वितरणले सहयोग पुगेको उहाँको भनाइ छ ।

सेवक अभियान धरानले विभिन्न दुर्गम विद्यालयमा पुगेर लत्ताकपडा, शैक्षिक सामग्री र सरसफाइ सामग्री वितरण गर्ने गर्दै आएको जनाएको छ । न्यानो कपडा तथा शैक्षिक सामग्री पाएसँगै विद्यार्थी खुसी भएका छन् ।

रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड

देवदह (रुपन्देही), २३ कात्तिक : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।

जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो । यसमध्ये दुई हजार ५८४ पुरुष र एक हजार ७०४ महिला छन् । नयाँ दर्ता गर्नेमध्ये युवापुस्ता धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता गराउन आउनेमा करिब ८० देखि ९० प्रतिशत युवायुवती छन् ।

“जिल्ला निर्वाचन कार्यालयले गर्ने नियमित काममध्ये मतदाता नामावली दर्ता र अद्यावधिक हो । नियमित रूपमा दैनिक ३० जना आउनुहुन्थ्यो । तर निर्वाचनको माहोलले धेरै जना दर्ता गर्न आउनुभएको देखिन्छ, उत्साह छ । अहिले दैनिक दुई सय जना हाराहारीमा नयाँ नामावली दर्ता भइरहेको छ”, उहाँले भन्नुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ नामावली दर्ता गर्नेको भीड रहेको उहाँको भनाइ छ ।

जिल्लामा असोज १० गतेदेखि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो । यहाँ दर्ता गर्न आउने रुपन्देही जिल्ला बाहिरका पनि छन् । “हामीले यहाँ दर्ता गरेको सबै रुपन्देहीका मात्र मतदाता हुनुहुन्छ भन्ने हुँदैन । बाहिरी जिल्लाका पनि रुपन्देहीबाट दर्ता गर्न मिल्छ । बाहिरी जिल्लाबाट रुपन्देहीको हकमा कति दर्ता गर्नुभएको छ । त्यसैगरी अद्यावधिकबाट (ठाउँसारी) गरेर कति आउनुहुन्छ, त्यसमा चाहिँ निर्भर रहन्छ”, उहाँले भन्नुभयो ।

जिल्लामा २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका छ लाख ४४ हजार ३५६ मतदाता छन् । जसमध्ये तीन लाख ३० हजार ७४१ पुरुष र तीन लाख १३ हजार ६०७ जना महिला रहेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार २०८२ कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक (त्रुटि सच्याउने र ठाउँसारी) गर्न सकिन्छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता भइसकेको भए पुनः दर्ता गर्नुपर्दैन ।

आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।

नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँ ले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे।

नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ । आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।

आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मूख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज (सप्तरी) – भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको हो ।

प्रजिअ पोखरेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छ । यस अवधिमा भारतको विहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एकहत्तर सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ ।

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिनुभयो ।

“यसअघि वडामा २० एमबिपिएस क्षमताको लिज लाइन लिइएको थियो । यसको लागत धेरै थियो । अहिलेको लागत कम र क्षमता बढी भएको छ । अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा एक जिबिपिएस आधारभूत र प्रिमियम तथा ५०० एमबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ । २४ घण्टा प्राप्त गर्न सकिने यस सुविधा आगामी साउन मसान्तसम्म रहने छ”, उहाँले भन्नुभयो ।

काफ्लेका अनुसार यो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल (पूर्व क्षेत्र), बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शङ्खपार्कलगायत ७१ केन्द्रका लागि खरिद गरिएको हो ।

उक्त सेवा प्रवाह गर्नका लागि कामपाले नेपाल टेलिकमसँग सम्झौतासमेत गरिसकेको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बाग्मती प्रदेशका निर्देशक इन्दल यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको उहाँले जानकारी दिनुभयो ।