`

गण्डकी कोटिहोममा अनुराधाले सुरु गरिन् कथा वाचन

पोखरा महानगरपालिका वार्ड नं १७ विरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहाम विराटज्ञान महायज्ञ २०८२ मा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।

महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेयज्यू बाट अहिले संगीतमय श्रीमद्भागवत कथा प्रवच भइरहेको छ । बाल विदुषी पाण्डेको मुखारबिन्दबाट कथा श्रवण गर्नका लागि अहिले भक्तजनहरुको उपस्थिती बाक्लो देखिएको छ । कथा प्रारम्भ भएको दोस्रो दिन मै कथा श्रवणका लागि हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो ।

बाल विदुषी अनुराधा पाण्डेयज्यूले शुक्रबारदेखी कथा प्रवचन गर्न सुरु गरेकी हुन् । उनले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ । अहिले कथा प्रवचन लगायतका कार्यक्रमहरु बिरौटाको प्रगतीटोलमा राष्ट्रिय भजन प्रतियोगीताको लागि तयार पारिएको पण्डालमा प्रस्तुत गरिएको छ ।

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

लुम्बिनी (मर्चवार), ३१ चैत : धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।

बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो । यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको सङ्गमका रूपमा काम गर्ने गरेको बौद्ध भिक्षु विवेकानन्द पाण्डेले बताउनुभयो ।

इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध)को जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दू र बौद्ध धर्मावलम्बी विशेष पूजा, ध्यान र दान–धर्मका कार्यमा समर्पित देखिन्छन् ।

मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्य हुनुका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ । मेलामा स्वास्थ्य शिविर र पिउने पानीको व्यवस्था पनि छ । बौद्ध भिक्षु धम्म सिद्धीले लुम्बिनीमा चैत्र पूर्णिमा मेलाको अनुभवलाई अत्यन्त धार्मिक, शान्त तथा प्रेरणादायक बताउनुभयो ।

सो अवसरमा विशेषगरी मायादेवी मन्दिर क्षेत्रमा भक्तजनको भीड देखिन्छ । स्थानीयले यो मन्दिरलाई समयमाई वा रूमिन्देइमाई स्थानको रूपमा पुज्ने गर्छन् । “विशेष भव्यता र व्यवस्थापनका साथ अहिले पाँच दिनसम्म मनाइने यो मेला पहिला १५ दिनसम्म मनाइन्थ्यो”, पर्यटन व्यवसायी हुसेनी लोधले भन्नुभयो ।

अभियानकर्ता मेघनाथ आचार्यका अनुसार यो मेलाले पर्यटनमा केही सुधार ल्याएको छ । यातायात र हस्तकला बिक्रीमा वृद्धि भएको छ । वैशाख पूर्णिमाका अवसरमा लुम्बिनी विकास कोषले लाखौँ खर्च गरेर मनाउने बुद्धजयन्ती तथा लुम्बिनी महोत्सवभन्दा स्वःस्फुर्त लाग्ने यो मेलामा बढी धार्मिकता र रौनकता देखिन्छ ।

यद्यपि लुम्बिनीमा भीड व्यवस्थापन, पार्किङ समस्या, शौचालय, खानेपानीको र धुलाम्मे मेलास्थलमा परिवर्तन देखिएको छैन । तर पनि रुमिन्देइमाई र बुद्धजन्मस्थलप्रति स्थानीयको श्रद्धा र लगाव कायमै देखिन्छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार मेलास्थलमा शान्ति सुरक्षाको प्रबन्ध पर्याप्त छ ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खानले भन्नुभयो, “चैत्र पूर्णिमा महोत्सव लुम्बिनीको अन्तरराष्ट्रिय पहिचान बलियो बनाउने अवसरमात्र नभई धर्मिक आस्था, सांस्कृतिक ऊर्जा र पर्यटनको समुचित मिश्रण पनि हो ।” उहाँले भविष्यमा अझ प्रभावकारी व्यवस्थापन र स्मार्ट मेला प्रणाली लागू गरेर अझ सभ्य बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“लुम्बिनीको चैत्र पूर्णिमा मेला बौद्धकालीन मानिन्छ । यो केवल धार्मिक उत्सव मात्र होइन, सांस्कृतिक विविधता, मानवताबीचको एकता र सद्भावको प्रतीक पनि हो । यसले न केवल स्थानीय समुदायलाई एकत्रित गर्छ, अपितु विश्वभरका बौद्धमार्गीलाई पनि नयाँ ऊर्जा र उत्साह प्रदान गर्दछ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धीचरण भट्टराईले भन्नुभयो, “यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सबै पक्षले मिलेर काम गर्न अत्यावश्यक छ ।”

विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ, ३१ चैत : काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हँुदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ ।

प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् । आज नै माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्नेछन् ।

चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै

हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुने छ ।

शनिबार भएको घरेलु टोली हङ्कङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङ्कङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो । हङ्कङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका थिए । जारी प्रतियोगितामा पाँच अङ्क बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई आठ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई छ विकेटले हराएको थियो । उता कुवेतले शनिबार बिहान भएको खेलमा कतारलाई छ विकेटले हराउँदै चार अङ्कसहित फाइनलमा पुगेको थियो ।

संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : सांसद सुवेदी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी राष्ट्रियसभाको सांसद हुन् । विसं २०३६ देखि राजनीति सुरु गरेका उनी २०६४ सालमा संविधानसभाको सभासद थिए । सुनिल स्मृति गाउँपालिका–६ रोल्पा निवासी सुवेदी २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । सांसद सुवेदी तत्कालीन गाविस अध्यक्ष हुँदै २०४९ सालमा जिल्ला विकास समिति रोल्पाको सभापतिसमेत भएका थिए । सांसद सुवेदीसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश:

रोल्पा जिल्ला पहिल्यैदेखि विकास नभएको दुर्गम जिल्ला हो । भौतिक पूर्वाधार विकासको हिसाबले पछाडि पारिएको जिल्ला हो । त्यहाँको मुख्य समस्या सडक हो । अहिले पनि कच्ची बाटो छ । खोलामा पुल अभाव छ, सडक कालोपत्र हुनसकेको छैन । रोल्पा कृषिमा आधारित जिल्ला हो । तर पम्परागत कृषि छ । पानीको राम्रो व्यवस्था भएकाले व्यावसायिक तरकारी खेती गर्न सकिने राम्रो सम्भावना भएको जिल्ला हो । त्यहाँ राम्रो सुन्तला र कागती उत्पादन गर्न सकिन्छ । तर त्यो पनि व्यावसायिक बन्न सकेको छैन । व्यावसायिक सुन्तलाखेतीका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले रोल्पालाई छनोट गर्दा धेरै सम्भावना छ । यी सबै खेती आधुनिक तरिकाले गर्नुपर्छ ।

पछिल्लो समयमा जिल्लामा शिक्षा र स्वास्थ्य सेवा पुगेको छ । तर ती गुणस्तरीय र व्यवस्थित छैनन् । पर्यटनको हिसाबले थवाङ गाउँपालिकामा पर्ने १२ हजार फिटको उचाइमा रहेको ‘जलजला’ भन्ने स्थानमा आन्तरिक पर्यटक त्यहाँ जान्छन् । त्यहाँ जाने बाटो बनेको छ । तर व्यवस्थित भएको छैन । जलजलालाई केन्द्रबिन्दु बनाएर पूर्वाधारको विकास गर्न सक्ने हो भने पर्यटनको सम्भावना धेरै छ ।

‘सांसद मन्त्री हुने व्यवस्था हटाउनुपर्छ’

अहिलेको शासकीय स्वरुप परम्परागत छ । संवैधानिक राष्ट्रपति र संसद्बाट निर्वाचित कार्यकारी प्रधामन्त्री हुन्छ । अहिलेको निर्वाचन प्रणालीबाट एउटै पार्टीको बहुमत आउँदैन । पार्टीको बुहमत नआएपछि निश्चित रूपमा सरकार अस्थिर हुन्छ । सरकार स्थिर भएमात्र जनतालाई सुशासन दिन सकिन्छ । स्थिर सरकारका लागि आमजनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्छ । संसद्बाट चुनिएको प्रधानमन्त्री सिङ्गो देशका लागि भन्दा पनि आफ्नो निर्वाचन क्षेत्र वा जिल्लामा मात्र केन्द्रित हुने देखियो । तर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुँदा देशभरि दृष्टि पुग्छ । त्यसो गर्दा पाँच वर्ष सरकारलाई काम गर्न ढुक्क हुन्छ । सांसद मन्त्री हुने व्यवस्था हटाउनुपर्छ । अब विषय विज्ञलाई छानेर मन्त्री बनाउने व्यवस्था हुनुपर्छ । अहिले मन्त्रीले मन्त्रालय बुझ्दाबुझ्दै कार्यकाल सकिन्छ । सङ्घीय सांसदले कानुन बनाउने हो । विकासको काम प्रदेश र स्थानीय सरकारले गर्छ । सांसद मन्त्री बन्न तछाडमछाड भयो । पूर्ण समानुपातिक निर्वाचनबाट सांसद चुन्ने व्यवस्था हुनुपर्छ । पार्टीको नाममा मत माग्ने । जुन पार्टीले लोकप्रिय छ, त्यसले मत पाउँछ । अहिले जोसँग पैसा छ, उसले चुनाव जित्ने भएको छ ।

राष्ट्रियसभामा विकासको विषयभन्दा पनि मूलभूत रूपमा कानुनको विषयमा अलि बढी छलफल हुन्छ । साथसाथै जनताका सवाल उठाउने र विकासको सवालमा पनि छलफल हुन्छ । संसद्मा राजनीतिक घोचपेच पनि हुन्छ । प्रतिनिधिसभामा जे भइरहेको छ, त्यसको प्रभाव केही मात्रामा राष्ट्रियसभामा पनि पर्छ । सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने हो, तर त्यस्तो देखिँदैन । संसद्मा उठेका जनताको सवाललाई सरकारले कमै मात्रामा कार्यान्वयन गरेको छ ।

संविधान तीव्र रूपमा कार्यान्वयन हुनुपर्ने हो, तर भएको छैन । सङ्घीयताका बारेमा राजनीतिक पार्टीले मात्र बुझेर हुँदैन । त्यसका बारेमा टोलटोका जनतालाई बुझाउन जरुरी छ । सङ्घीयताका बारेमा प्रहरी, सेना र समग्र कर्मचारीतन्त्रले बुझ्न जरुरी छ । सङ्घीयता भनेको तल अधिकार दिने हो । विकेन्द्रिकरण भनेको माथिबाट तलसम्म दिने हो । सङ्घीयताबारे संविधान नै अधिकारप्रदत्त गरेको छ । स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउनुपर्छ । अधिकार प्रयोग गर्न नपाएपछि जति काम हुनुपर्ने हो, त्यति काम हुनसकेको छैन । त्यसैले सङ्घीय सरकारले संविधानप्रदत्त प्रदेश र स्थानीय तहको अधिकार कार्यान्वयन गर्नुपर्छ ।

सङ्घीयता भनेको अधिकार बाडफाँट हो । सङ्घले अधिकार बाँड्न जरुरी छ । अधिकारजति सङ्घीय सरकारमा थोपरेर सङ्घीयता कार्यान्वयन हुन सक्दैन । स्थानीय तहमा अधिकार अझै बढाउनुपर्छ । शिक्षा, प्रहरी र निजामती ऐन ल्याउन ढिला भएको छ । यी ऐन ढिलो हुनुमा सरकारको कमजोरी हो । हामीले गणतन्त्रको व्याख्या मात्र गरेर हँुदैन । त्यसलाई जनताको घरदैलोमा पुर्याउनुपर्छ । जनताले गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । जनताले राजा चाहिन्छ भनेकै छैनन् । बरु राजनीतिक दलप्रति जनताको असन्तुष्टि छ । त्यो कुरा दलहरूले बुझ्नुपर्छ । अहिले संविधान जनताको अधिकारसम्पन्न छ । तर लागू भएको छैन । संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ । सरकार भनेको जनताको अभिभावक हो ।

नेपाली विद्यार्थीहरूले अध्ययनका लागि खर्बौँ रुपैयाँ विदेश लिएर गएका छन् । त्यसलाई रोक्नका लागि नेपाली शिक्षा गुणस्तरीय बनाउनुपर्छ । रोजगारमूलक शिक्षा बनाउन जरुरी छ । स्वदेशमा पढेका विद्यार्थीलाई क्षमताअुनसारको रोजगारी सरकारले दिन सक्नुपर्छ । उत्कृष्ट डाक्टर, इन्जिनियर विदेश गएपछि नेपालको कसरी विकास हुन्छ ? क्षमतावान् मानिसको उचित कदर हुनुपर्छ । सरकारले विषय विज्ञसँग छलफल नै नगरी परम्परागत रूपमा नीति कार्यक्रम ल्याएको छ । रोजगारीको सिलसिलामा विदेश जाने युवालाई रोक्नका लागि कृषि, पर्यटनमा सरकारले योजना ल्याउनुपर्छ । हामीसँग जलस्रोत छ ।

जलस्रोतबाट बिजुली निकालेर विदेशलाई बेच्न सकिन्छ । विजुलीले नेपाललाई नयाँ ठाउँमा पुर्याउँछ । त्यसका लागि हामीसँग जनशक्ति छैन । पर्यटन पूर्वाधारको विकास हुनसकेको छैन । काठमाडौँबाट भारतसँग जोड्ने छ लेनको बाटो बन्ने हो भने त्यसबाट पनि देशको लागि फाइदा नै हुन्छ । मुक्तिनाथ, हलेसी, खप्तड र पाथिभराबाट भारत जोड्ने छ लेनको बाटो बनाउन सकेको खण्डमा पर्यटनबाट देशलाई फाइदा हुने देखिन्छ ।

देशको व्यवस्था परिवर्तन भयो । अब जनताको व्यवस्था गर्नुुपर्छ भनेर हाम्रो पार्टी लागिरहेको छ । गणतन्त्रलाई व्यावहारिक रूपमा जनताको घरघरमा पुर्याउनुपर्छ । सुशासनको कुरा मात्र भएको छ । सुशासनबिना समृद्धि सम्भव छैन । सरकार सुशासनप्रति प्रतिबद्ध हुनुपर्छ । सुशासन भनेको भ्रष्टाचारको अन्त्य हो । जुन देशका जनता गरिब छ, त्यो देशका जनताका भ्रष्टाचारको विरोधी हुन्छन् । विकसित देशका भ्रष्टाचार भइरहेको हुन्छ । तर कुुरा कम उठेको हुन्छ । गरिब देशमा जनताले सहन नसक्ने भनेको भ्रष्टाचार हो । भ्रष्टाचारको निर्मूल अहिले नै नहोला । तर न्यूनीकरण गर्दै लैजान सकिन्छ । जनप्रतिनिधि भएर सदाचारी बन्न सक्दैनन् भने उनीहरूलाई कानुनअनुसार कारबाही गर्न सक्नुपर्छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ३१ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी  (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।

यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु ६५, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर, ३१ चैत : भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छः उपप्रधानमन्त्री पौडेल

लुम्बिनी- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व नीतिका सम्बन्धमा रुपन्देहीमा निजी क्षेत्रका उद्योगी व्यवसायीसँगको छलफल तथा अन्तरक्रियामा उहाँले वर्तमान सरकार बनेपछि अध्यादेशमार्फत एकैचोटि निजी क्षेत्रसँग सम्बन्धित २९ कानुन संशोधन गरेर निजी क्षेत्रका समस्या समाधानको पहल गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो,“वर्तमान सरकार निजी क्षेत्रलाई सुन्ने हिसाबले अघि बढेको छ । सरकारको उद्देश्य निजी क्षेत्रमैत्री वातावरण बनाउने हो, त्यो प्रयासस्वरुप कानुन संशोधन गरिएको छ । तत्पश्चात् सकारात्मक परिवर्तन देखिएको छ । निजी क्षेत्रमा उत्साह बढेको छ । आत्मविश्वासका साथ अघि बढ्नुस, सरकार निजी क्षेत्रसँगै छ ।”

उहाँले प्राप्त सुझावहरू अध्ययन र विश्लेषण गरेर क्रमशः कार्यान्वयनमा लगिने बताउनुभयो ।अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले राजस्व, अर्थ नीतिलगायत क्षेत्रमा सुधारका लागि निजी क्षेत्रबाट प्राप्त सुझावलाई समावेश गर्दै अगाडि बढिने बताउनुभयो । उहाँले विदेशबाट आउने पर्यटकले नेपाल प्रवेश गर्दा ल्याउने रकमका विषयमा अब समस्याको विषय बने नहुने बताउनुभयो ।  सचिव उपाध्यायले व्यापार सहजीकरण सरकारको पहिलो उद्देश्य भएकाले फलफूल र तरकारी भन्सार भएर आएपछि विभिन्न क्षेत्रमा जाँच र नियन्त्रणमा लिने कामको गुनासो अब आउन नदिइनेस्पष्ट पार्नुभयो । 

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भन्सार मूल्याङ्कन वैज्ञानिक बनाउने र सेवाग्राहीलाई सहज सेवा लिनेगरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले नेपाल आउने हरेक पर्यटकले भन्सारमा घोषणा गरेर आवश्यक विदेशी डलर ल्याउन पाइने व्यवस्था रहेको जानकारी दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको रूपन्देहीमा राजस्व प्रशासन र सुरक्षा निकायबाट राजस्व चुहावटलगायत चोरी–तस्करी नियन्त्रणमा प्रभावकारी काम गरिरहेका  बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले करको दरभन्दा करको दायरा बढाउन जरुरी रहेको भन्दै उच्चस्तरीय राजस्व सुझाव आयोगको सुझावलाई कार्यान्वयन गरिए कर तथा राजस्व क्षेत्रका समस्या समाधान हुने जिकिर गर्नुभयो । 

नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले विगतमा नाकाबन्दीमा प्रयोग भएका अस्थायी सीमा नाका हाल वैध जस्तै गरी चलिरहेका र ती नाकाबाट चोरी–तस्करी बढिरहेको गुनासो गर्नुभयो । उद्योगी–व्यवसायी सरकारी निकायमा सेवा लिन जाँदा अलमल हुने खालका संरचना खारेज गरेर एकद्वार नीतिबाट सेवा पाउने अवस्था बनाउन उहाँले सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसङ्घ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम,  रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटालगायतले सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रम उद्योग र व्यवसायमैत्री हुनपर्ने सुझाव दिनुभयो । उहाँहरूले लामो समयदेखि अल्झिएको ट्रङ्क र डेडिकेटेड लाइनको समस्या समाधानमा जोड दिनुभयो ।

अध्यक्ष लिङ्देनद्वारा तीनकुने घटनामा परी निधन भएका पत्रकार रजकको परिवारसँग भेट

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा परी निधन भएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्नुभएको छ ।

उहाँले ताहाचलस्थित रजक निवास पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो । अध्यक्ष लिङ्देनले रजकको न्यायका लागि आफूहरूले संसद् र सडकमा दुःखद घटनाको विषय उठाइरहेका र सत्यतथ्य छानबिनका लागि सरकारलाई निरन्तर दबाब दिइने बताउनुभयो ।   त्यहाँ बागमती प्रदेशका सभामुख भुवन पाठकको पनि सहभागिता थियो ।

आजदेखि सुरु हुने यू-१९ विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ- आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ । खेलको पूर्वसन्ध्यामा काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो ।

ट्रफीलाई नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । 

पत्रकार सम्मेलनमा नेपालका कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताउनुभयो । युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरुले पनि मैदानमा राम्रो प्रदर्शन गर्ने जिकिर गर्नुभएको छ । 

आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् ।

हुनमान जन्मोत्सवमा झडप हुँदा घाइते भएकाको नारायणी अस्पतालमा उपचार हुँदै

वीरगन्ज (पर्सा), ३१ चैत : हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिनुभयो । “मेरो त दाहिने हातमा चोट लागेको छ”, उहाँले भन्नुभयो, “मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन । अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ ।” वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते हुनुभएको छ ।

पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिनुभयो । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिनुभयो । “शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ”, उहाँले भन्नुभयो, “कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नुभएको छ । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।”

प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिनुभयो । “अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ”, उहाँले भन्नुभयो । सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिनुभयो । “एक जना घाइतेको खुट्टा भाचिँएको छ । उहाँको उपचार जारी छ”, उहाँले भन्नुभयो, “अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।”

जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार बिहान १२ः०० बजेसम्मको अवधिमा कफ्र्यु आदेश जारी गरेको छ ।

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

काठमाडौँ, ३१ चैतः गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ ।

त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो ।

साथै यही चैतको अन्तिमतिर पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि सञ्चालनमा आयो । पर्यटन व्यवसायी विश्वराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले रु एक अर्ब २५ करोड लगानीमा सञ्चालन भएको हो ।

साथै पछिल्लो समय सिद्धार्थ हस्पिटालिटीले पनि चेन होटलका रुपमा आक्रामक व्यापार विस्तार गरिरहेको छ । यस वर्ष सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । सिद्धार्थले केही समयअघि बुटवलमा सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको थियो भने धनगढीमा पाँचतारे होटल निर्माण सुरु गरेको छ । सिद्धार्थले व्यवसाय विस्तारलाई आक्रमक ढङ्गले विस्तार गर्दै लगेको र छिट्टै अन्य स्थानमा पनि होटल स्थापना गर्नेगरी काम भइरहेको जनाएको छ । त्यसैगरी नयाँ वर्षको सुरुआत अर्थात् वैशाख १ गतेदेखि भरतपुरमा सेन्ट्रल प्लाम होटल र साराङ वाइल्डलाइफ स्याङचुरी मेगौलीमार्फत पनि सेवा विस्तार गर्दैछ ।

सङ्घीय राजधानी काठमाडौँमा मात्र होइन देशका विभिन्न सहरमा पाँचतारेदेखि पर्यटकस्तरीय होटल सञ्चालनमा आउने क्रम यस वर्ष पनि जारी रह्यो । त्यसमा पनि विदेशी चेन होटलका साथै स्वदेशी कम्पनीहरूले पनि होटल व्यवसाय विस्तारलाई निरन्तरता दिएका छन् ।

साथै गत पुसमा गुण समूहले रु ६ अर्ब लगानीमा होटल रोयल टुलिप सञ्चालनमा ल्याएको छ भने गत माघमा गौशाला पिंगलास्थानमा रु एक अर्ब ५० करोड लगानीमा चार तारे स्तरको होटल वेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा आइसकेको छ । त्यसैगरी शेष घलेको निर्माणाधीन होटल यस वर्ष पनि सञ्चालनमा आउन सकेन । हाल उक्त होटलको लगानी रु १२ अर्ब पुगिसकेको जानकारहरु बताउँछन् ।

होटल सङ्घ नेपाल (हान)का अनुसार पछिल्ला केही वर्षयता होटलमा लगानी ओइरिएको छ, जुन वर्ष २०८१ मा पनि जारी रह्यो । हानका अनुसार हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्नेगरी होटल निर्माण भइसकेका छन् ।

होटलमा खर्बौँ रुपैयाँ लगानी भए पनि त्यसको अपेक्षित प्रतिफल भने प्राप्त नभएको व्यवसायीहरूको गुनासो छ । हानका अध्यक्ष विनायक शाहले खर्बौँ लगानी रहेको होटलमा ३५ लाख पर्यटक धान्ने पूर्वाधार भए पनि जम्मा एकतिहाइ मात्र उपयोग भएको बताउनुहुन्छ । “होटलहरू बनिरहेका छन्, तर अपेक्षाकृत लाभ भने लिन सकिएको छैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार लगानीका हिसाबले राम्रो वर्ष भए पनि प्रतिफल भने कम आएको बताउनुहुन्छ । “एकातिर एकपछि अर्को गर्दै अन्तरराष्ट्रिय चेन होटल आउने क्रम जारी छ, विश्वप्रसिद्ध चेन होटल आउँदा नेपालबारे अन्तरराष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह हुन्छ”, उहाँले भन्नुभयो ।

थपिदैँ अन्तरराष्ट्रिय चेन होटल

होटल सङ्घका अनुसार यो वर्ष मात्र झन्डै एक दर्जन पाँचतारे र चेन होटल सञ्चालनमा आए । अझै आधा दर्जन पाइप लाइनमा छन् । पछिल्लो एक दशकमा मेरियट, लेमनट्री, रमादा, दूसित थानी, सिन्तामणि, प्रिन्सिेस, अलफ्ट, ह्यात प्यालेसलगायत चेन होटल सञ्चालनमा आएका छन् । काठमाडौँ, पोखरा, लुम्बिनी, विराटनगर, बुटबल, भैरहवा, नेपालगन्जलगायत क्षेत्रमा धमाधम तारे होटल बनिरहेका छन् ।

सरकारले हालै नयाँ कानुन ल्याएर होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा मान्यता दिएको छ । यसबाट होटल उद्योगमा लगानी गरेका व्यवसायी उत्साहित भएका छन् । सङ्घका अध्यक्ष शाहले भविष्यमा विदेशी पर्यटक बढ्ने र होटलको ‘अकुपेन्सी’ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले हालै ल्याएको ऐनमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा वर्गीकरण गरेको छ । यसले होटल व्यवसायीलाई उत्साहित बनाएको छ । पर्यटन व्यवसायीले लामो समयदेखि उठाएको विषय सरकारले सम्बोधन गरेको छ, यसले समग्र पर्यटन उद्योग र व्यवसायी उत्साहित भएका छन् ।”

पर्यटन विभागका अनुसार हालसम्म देशभर ३३७ पर्यटकस्तरीय होटल सञ्चालनमा छन् । हाल नेपालमा पाँचतारे होटल मात्र २३ वटा सञ्चालनमा छन् । तीनवटा पाँचतारे डिलक्स होटल छन् । देशभर ४१ वटा चारतारे होटल छन् । यस्तै डिलक्समा हेरिटेज (चार तारेस्तर) होटल चारवटा छन् भने ३७ वटा तीनतारे होटल सञ्चालनमा छन् । पचास वटाको हाराहारी दुई र एकतारे होटल छन् । साथै लज्जरी बुटिक र हेरिटेज, रिसोर्ट र साधारण रिसोर्ट गरी विभिन्न स्तरका होटल पनि सञ्चालनमा छन् । होटल व्यवसायी महासङ्घमा आबद्ध होटलको सङ्ख्या पनि उल्लेख्य छ ।

आक्रामक अन्तरराष्ट्रिय बजारीकरण

नेपाल पर्यटन बोर्डले होटललगायत पूर्वाधारमा लगानी बढेसँगै आफूहरूले पनि अन्तरराष्ट्रिय बजारीकरणलाई प्राथमिकताका साथ अगाडि बढाइएको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डले आक्रमक रूपमा अन्तरराष्ट्रिय प्रवर्द्धन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो चारदेखि पाँच महिनामा विदेशमा १७ वटा बि–टु–बी कार्यक्रम र नेपाल प्रवर्द्धनका कार्यक्रम गरेका छौँ, जसमा दुई सयभन्दा बढी नेपालका टूर अपरेटर, होटल व्यवसायी, एयरलाइन्सका प्रतिनिधि सहभागी भएर नेपाल गन्तव्यको प्रवर्द्धन गरेका छन् ।”

सिइओ जोशीका अनुसार नेपालका गन्तव्यहरूमा विदेशी ‘इन्फ्लुएन्सर, मिडिया’लाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ । हालसम्म ११४ जनालाई भ्रमण गराइसकिएको छ । “नेपालमा विदेशी पर्यटक आगमन कोरोनापूर्वको अवस्थामा आइपुगेको छ, अन्तरराष्ट्रिय पर्यटन पनि ९५ प्रतिशत पुनरुत्थान भइसकेको छ, नेपालको सन्दर्भमा थप एयरलाइन्स थपिने र तीन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन भएको खण्डमा आगामी दिनमा पर्यटक बढ्ने पक्का छ”, उहाँले भन्नुभयो ।

हवाई पूर्वाधार र सडक सञ्जाल राम्रो भएमा निर्धारित लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

नीतिगत डिपार्चरमा पर्यटन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षमा उल्लेखनीय नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको जनाएको छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनसम्बन्धी ऐन, कानुन निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ । यो पास भयो भने युरोपेली सङ्घ (इयु)को सुरक्षा सूचीबाट नेपाललाई हटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

कानुन निर्माण प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाइएको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार हवाई नीतिको मस्यौदा तयार गरिएको छ । हवाई दुर्घटना जाँच आयोग गठनको मस्यौदा तयार भएको छ । पर्यटन ऐनको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा छलफलमा रहेको र छिट्टै संसद्मा पेस गरिने छ । पर्यटन नीति, संस्कृति नीति र हवाई नीति संसद्मा लैजाने प्रक्रियामा रहेको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

पर्यटन बोर्ड र नेपाल एयरलाइन्सलाई सक्रिय बनाउनेगरी केही कदम चालिएको मन्त्री पाण्डेले बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि कार्ययोजना बनाएर काम अगाडि बढाइएको उहाँको भनाइ छ । वायुसेवा निगमको व्यवस्थापन सुधारका लागि विभिन्न उपायहरूको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । विमानको सङ्ख्या नथपी निगमलाई फाइदामा लैजान नसकिने उल्लेख गर्दै उहाँले सँगै व्यवस्थापन सुधारका लागि उपायको खोजी भइरहेको जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रका उपलब्धि

वर्ष २०८१ मा पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास भएका छन् । वायुसेवा निगमको संरचनागत सुधारका लागि काम थालिएको छ । विमान थपेर सेवालाई प्रभावकारी बनाउन पहल भइरहेको छ । क्षेत्रीय हब विमानस्थल स्तरोन्नति र आधुनिक टर्मिनल भवनको काम भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआइए) को क्षमता अभिवृद्धिको काम धमाधम भइरहेको छ । यसै वर्ष दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थलको स्तरोन्नति गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले रु १५ अर्ब खर्चिएर विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिरहेको छ । हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । संकृतिको संरक्षण तथा प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरेको छ ।

पूर्वाधार निर्माणमा तीव्रता

सुदूरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको एकाइ विस्तार गरिएको छ । प्रत्येक प्रदेशमा एउटा हिल स्टेशन निर्माण गर्ने उद्देश्यले चारवटा प्रदेशका एक–एक स्थान छनोट गरी विस्तृत परियोजना निर्माण सुरु गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

राजविराज विमानस्थलमा रात्रिकालीन अवतरण क्षमतायुक्त बनाई सञ्चालनमा ल्याइएको छ । यससँगै १० वटा विमानस्थल रात्रिकालीन उडान सञ्चालन योग्य रहेको छ । कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदासूचीमा समावेश गर्न पुरातात्विकस्थल पहिचान भएको क्षेत्रको थप जमिन अधिग्रहण, युनेस्को इसिमोडको मिसनद्वारा स्थलगत अवलोकन लगायतका कार्यहरू गरिएको छ ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले समग्रमा वर्ष २०८१ आशा र निराशाको वर्ष भएको प्रतिक्रिया दिनुभयो । “आशा पलाएको निराशा भएको वर्षको रुपमा रह्यो”, उहाँले भन्नुभयो, “भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो तर वर्षको उत्तराद्र्धमा उडान स्थगन भएको छ । समग्रमा धेरै राम्रा काम भएका छन्, यद्यपि गर्नुपर्ने काम धेरै छन् ।”

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३१ चैत: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ९९ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८९ पैसा र बिक्रीदर २० रुपैयाँ ९८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

वैशाख २ गते बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

भक्तपुर, ३१ चैतः मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुनेभएको छ ।

नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको थियो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताउनुभयो । उहाँका अनुसार जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताउनुभयो ।

सुजनले भन्नुभयो, “बुबाले जिब्रो छेडाउँदा म पनि सँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका दुई वर्ष अघि जुर्यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुम्ने छु ।”

बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।”

जात्राअघि गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बुटवल-नारायणगढ सडक सञ्चालन

मध्यविन्दु (नवलपरासी), ३१ चैतः पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो ।

विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि दिनभर सडक अवरुद्ध भएको थियो ।

बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा सवारी बीच बाटोमा अलपत्र परेका थिए । डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने सवारीसाधन पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो भएर आवतजावत गराइएको थियो ।

दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीबार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ । दाउन्ने क्षेत्रमा हिलो माटो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा गत बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी आगामी वैशाख १ देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तारको तयारी गरिएको छ ।

कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य

बेनी (म्याग्दी), ३० चैतः म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शून्य भएको छ । बेनी–१ रत्ने चौरको भानु माध्यमिक विद्यालय र वडा नं ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको हो ।

नगरभित्रका सामुदायिक २४, संस्थागत आठ र एउटा उज्यालो वैकल्पिक विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकामध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका नगरको शिक्षा शाखाका अधिकृत कमलप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले पालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गतवर्षको तुलनामा नजितामा सुधार देखिए पनि दुई विद्यालयको नतिजा भने निराशजनक भएको बताउनुभयो ।

ढकालका अनुसार भानु माविबाट ११ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना मौका परीक्षामा सहभागी हुनेछन् भने १० जना अनुत्तीर्ण भएका छन् । बालप्रिय विद्यालयबाट सहभागी सातमध्ये चार जना मौका परीक्षामा सहभागी हुनेछन् भने तीन जना अनुत्तीर्ण भएका नगरको शिक्षा शाखाले जनाएको छ । 

“कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि एउटै प्रश्नपत्र तयार गरिएको थियो । साथै फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका ‘कोडिङ’ गरेर परीक्षण गरिएको थियो । परीक्षामा एक संस्थागत र नौ सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ”, शिक्षा शाखाका अधिकृत ढकालले भन्नुभयो । 

परीक्षामा सहभागी आठ ८४ विद्यार्थीमध्ये छ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा शाखाले जानकारी दिएको छ । शाखाकाअनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सञ्चालन हुने ‘ग्रेड’ वृद्धिको परीक्षामा एक सय ७३ विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा गणितमा तीन सय ६१, अङ्ग्रेजीमा एक सय ६३, नेपालीमा एक सय ३९, विज्ञानमा दुई सय २४ र सामाजिकमा एक सय ६३ जनाअनुत्तीर्ण भएका छन् । 

ढकालका अनुसार गतवर्ष कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएकामध्ये पाँच विषयमा पाँच÷पाँच अङ्क र दुई विषयमा दुई÷दुई अङ्क ग्रेसमार्क (मापदण्ड नपुगेकाले थपेर दिने अङ्क) दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ग्रेसमार्क नदिँदा पनि ७२ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा नतिजामा सुधार भए पनि शून्य र ५० प्रतिशत विद्यार्थीसमेत उत्तीर्ण नहुने विद्यालयको शैक्षिक अवस्थाले गम्भीर बनाएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । उहाँले कमजोर शैक्षिक अवस्था भएका विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाको नेतृत्वसँगै स्थानीय सरोकार भएका निकाय र विद्यालयसँग सम्बन्धित पक्षबीच छलफल र अन्र्तक्रिया गरी योजना बनाएर अघि बढ्ने जानकारी दिनुभयो । 

हनुमान जन्मोत्सवमा तनाव भएपछि पर्सामा ‘कर्फ्यू’ आदेश जारी

वीरगञ्ज (पर्सा), ३ चैतः जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ । वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यूआदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू

आदेश जारी गरिएको बताउनुभयो । “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन”, उहाँले भन्नुभयो, “केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ ।”

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ । जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ । 

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ ।यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।

‘शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ’ : अध्यक्ष दाहाल

काठमाडौँ, ३० चैतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सरोकार भएकाहरूले संवदेनशील भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाद्वारा लिखित ‘सङ्क्रमणकालीन न्याय’ सम्बन्धी पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसकेको खण्डमा फेरि समाजमा द्वन्द्व निम्तन सक्ने खतरा औँल्याउनुभयो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई राष्ट्रिय सहमतिबाटै टुङ्ग्याउनुपर्छ भनेर पहलकदमी लिइरहेको जनाउँदै अध्यक्ष दाहालले बहुमतबाट टुङ्ग्याउने प्रस्ताव रोकेर आफूले राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी गर्नुभयो । “सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम बहुमतबाट टुङ्ग्याउने कुरा राष्ट्रिय सहमतिबाटै हुनुपर्छ, बहुमतबाट गर्‍यौँ भने शान्ति प्रक्रिया पनि विभाजित हुन्छ, फेरि द्वन्द्वको बिजारोपण हुन्छ । त्यसकारण यसो गर्न हुँदैन भनेर अडान लिएको मैले नै हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाजस्तो संवदेनशील विषय बहुमत र अल्पमतका आधारमा टुङ्ग्याउन नहुने अडानकै कारण सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत रूपमा सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन तर्जुमा भएको बताउनुभयो ।

जनयुद्धको मुख्य नेतृत्वकर्ता माओवादी द्वन्द्वकालीन गम्भीर प्रकृतिको घटनामा आममाफीको पक्षमा थियो भनेर प्रचार गर्न खोजिए पनि त्यो सत्य नभएको उहाँको भनाइ थियो । “आममाफी हुनु हुँदैन, गम्भीर प्रकृतिका मानवअधिकारका घटनाको छानबिन हुनुपर्छ, दोषीमाथि कारबाही गरेर मात्रै शान्ति प्रक्रिया दिगो हुनसक्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन सम्पन्न भए पनि सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन नसक्दा उपलब्धि ओझेलमा परेका बताउनुभयो । उहाँले द्वन्द्वमा परेर पीडित बनेका नागरिकको समस्यालाई आफ्नै सम्झेर व्यवहार गर्न नसक्दा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।

“वर्तमान सरकार सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन संवेदनशील छ, यससम्बन्धी विशेष सल्लाहकार राखेरै काम भइरहेको छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “सर्वसम्मत रूपमा कानुन बनेको छ, न्याय र परिपूरणको ढोका खोल्ने कानुनी आधार निर्माण भएको छ । सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति आयोगमा ल्याउन सबैले सहयोग गरौँ । यसले थप सहज हुनेछ ।”

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले शान्ति सम्झौताको मर्मलाई बिर्सेर सङ्क्रमणकालीन न्याय टुङ्गिन नसक्नेमा भन्दै राष्ट्रिय÷अन्तरराष्ट्रिय समझदारीबाट यसलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । “सशस्त्र युद्धलाई शान्तिमा रूपान्तरण गर्न धेरै काम भएका छन्, अब शान्ति सम्झौताका बाँकी काम टुङ्ग्याउनुपर्छ । यो राष्ट्रिय मुद्दा हो, राजनीतिक फेरबदलले असर गर्नुहुँदैन”, उहाँले भन्नुभयो । 

संविधासभा सदस्य अधिकारीले द्वन्द्वकालीन घटनामा सत्यको अन्वेषण, परिपूरण, अब युद्ध नगर्ने वचनबद्धताको पालाना र गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई कारबाही गरेर जानुपर्ने बताउनुभयो ।

माओवादी नेत्री देवी खड्काले सङ्क्रमणकालीन न्यायको विषयलाई ठीक ढङ्गले बुझ्नुपर्ने र सत्यलाई स्वीकार गरेर उठेका विषयमा सम्बोधन गरिनुपर्ने बताउनुभयो । पूर्वरथी चित्रबहादुर गुरुङले सङ्क्रमणकलीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक देवकोटाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन मार्गचित्र बनोस् भन्ने उद्देश्यले पुस्तक तयार गरेको जानकारी दिनुभयो । “इतिहास पनि नमेटियोस्, अन्तरराष्ट्रिय अनुभव पनि लिपिबद्ध होस् । अब कसरी जानुपर्छ भन्ने दिशानिर्देशन गर्न सकियोस् भनेर पुस्तक लेखेको हुँ”, उहाँले भन्नुभयो ।

छ खण्डमा समेटिएको पुस्तकमा नेपालमा सङ्क्रमणकालीन न्याय यात्रा, सङ्क्रमणकालीन न्यायको विभिन्न पाटो, अन्तरराष्ट्रिय अभ्यास, सङ्क्रमणकालीन न्यायः यात्रा वृत्तान्त, नेपालको शान्ति प्रक्रियाको आगामी बाटो र केही लेखहरू समेटिएका छन् ।

सडकमा शिक्षकः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या

काठमाडौँ, ३० चैतः नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ ।

आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ । आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ ।

अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा÷आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी भएका देखिन्छन् । साथै, स्थानीय कलासंस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ । 

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आन्दोलन सुरु गरेको दशौँ दिन भयो । महासङ्ले सरकारले खास कुरा सुनेको छैन भन्ने लागे पनि नआत्तिकन आन्दोलनलाई उचाइमा पुर्‍याउन साथ, सहयोग र समर्थनका लागि आह्वान गरिरहेको छ ।

आज दशौँ दिन पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, “दिनदिँदै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र ! भन्ने लाग्न सक्छ,  नआत्तिनुस् उपलब्धि हुने क्रममा छ । हामीले यहाँ आए र कराएको सरकारले हेरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन्, तपाईंहरूको मेहनत निरर्थक हुँदैन । आन्दोलन लम्बिन सक्छ तर थाक्ने र भाग्ने नगर्नुस् ।”

धनुषाका शिक्षक सञ्जीवकुमार यादवले पेसागत हकहितका लागि बाध्यताले आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीहरूको एउटै माग मुद्दा भनेको सरकार र शिक्षक सङ्गठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्ने हो ।”

आन्दोलनमा सहभागी काभ्रेका शिक्षक कृष्णप्रसाद उप्रेतीले नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको प्रतिक्रिया दिनुभयो । “आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तोहात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ”, उहाँले भन्नुभयो । 

शिक्षक महासङ्घ खोलुखुम्बुका अध्यक्ष डण्डीकुमार खतिवडाले सरकारसँग विसं २०८० असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाउनुभयो । उहाँले भन्नुभयो,“अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आएकाले यस पटक उधारो नभई परिणाम हात पारेर मात्र फर्कने प्रण गरेका छौँ ।”

शान्तिपूर्ण भनिए पनि काठमाडौँको मूल सडकमै आन्दोलन गरिएकाले राजधानीको यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा भने दिनहुँ समस्या भइरहेको छ । साथै, सुरक्षा व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा प्रहरी खटाउनु परिरहेको छ ।  आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साबिक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन् ।

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझाव कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

तानसेन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्रीले आयोगले दिएका सुझाव अध्ययन गरी कार्यान्वयन गरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए ।

‘अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउछौँ । त्यसको तयारीमा सरकार लागिरहेको छ’, उनले भने ।

अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए ।

यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा अर्थमन्त्री पौडेले नेपाल राष्ट्र बैङ्कको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘बजारमा चर्चा गरिएजस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे ।

समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रिकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ, ३० चैतः समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा परिवारलाई भेट्न गएको प्रतिनिधिमण्डलले आज उक्त रकम रजकी श्रीमतीलाई हस्तान्तरण गरेको हो । यही चैत १५ गते त्यस क्षेत्रमा भएका आन्दोलनको समाचार सङ्कलनका क्रममा आगजनीमा परी उहाँको निधन भएको थियो ।

त्यसक्रममा अध्यक्ष श्रेष्ठले रजकको रहस्यमय मृत्युको अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै रजकलाई सहिद घोषणा गरिनुपर्ने बताउनुभयो । “भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मानवअधिकारमाथिको हमलाको निर्लज्ज उदाहरण हो । रहस्यमय हत्याको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नपर्छ”, उहाँले भन्नुभयो । 

पीडित परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्दै अध्यक्ष श्रेष्ठले राज्य र आन्दोलनकारी दुवैको निशानामा पत्रकार पर्दै आएकामा चिन्ता व्यक्त गर्नुभयो । 

लोकप्रियतावादका नाममा भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्छः महासचिव पोखरेल

काठमाडौँ, ३० चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद नाममा हाल भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकप्रियताको आवरणमा समाजलाई पछाडि धकेल्ने उद्देश्य रहेकाले यस्ता क्रियाकलापबारे सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

हाल राजावादीका नाममा गर्न खोजिएका गतिविधिलाई मुलुक अँध्यारोतिर लैजाने कोसिसका रूपमा चित्रण गर्दै महासचिव पोखरेलले ती कोसिस सफल हुन नसकेको बताउनुभयो । उहाँले मुलुकलाई सामाजिक अराजकताबाट सामान्य अवस्थामा फर्काउन सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । 

नीतिगत रूपमा सरकारको स्थायित्वमा चुनौती रहेको भन्दै महासचिव पोखरेलले एउटा नीति र एउटा योजनामा लगातार काम गर्न पाउँदा मात्र मुलुकले छिटो प्रगति गर्ने बताउनुभयो । अस्थिरताका कारणले देश बन्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश बनाउने हो भने अब मुलुकको राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति हुनुपर्दछ । अब बलियो राष्ट्रिय शक्तिले मुलुकको शासन गर्नुपर्दछ ।” महासचिव पोखरेलले त्यही मान्यताका साथ हाल जनताले मन पराएका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिलेर सरकार सञ्चालन भइरहेको बताउनुभयो ।

आधुनिक प्रविधि र ज्ञानका माध्यमबाट अपाङ्गता क्षेत्रलाई जोड्न जरुरी रहेको भन्दै उहाँले राज्यले वैकल्पिक सीपलाई समेट्न नीति ल्याइरहेको र अब बन्ने शिक्षा ऐनमा त्यसलाई समेटिने बताउनुभयो । सङ्गठनका अध्यक्ष मित्रलाल शर्माले पार्टीले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी, तीन वटा दमकल पुगे

काठमाडौँ, ३० चैतः काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

महेन्द्रनगर (धनुषा), ३० चैतः मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।

आज जनकपुरधाममा डिक्का महासङ्घको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले डिक्का समुदायमा आबद्ध जातजातिका अगुवा नेताहरूलाई शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर काम गनृ आग्रह गर्नुभएको हो ।

सभामुख मण्डलले समाजको समग्र विकासका लागि शिक्षा र नेतृत्व विकास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री शिवकुमार मण्डल, मधेस प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डल तथा महासङ्घका नेताहरूले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

महासङ्घमा धानुक, केबट, कुर्मी र अमात्य जातिका समुदाय आबद्ध छन् । विभिन्न १५ जिल्लाबाट प्रतिनिधि सहभागी रहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष अनिल सदाले जानकारी दिनुभयो । महाधिवेशनले डिक्का समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उत्थानमा योगदान पुर्‍याउने गरी नीति लिने उहाँले बताउनुभयो ।

संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छः उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), ३० चैतः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व रहेको बताउनुभएको छ ।

श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले आज ललितपुरको गाबहालमा आयोजना गरेको श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले पुर्खाले दिएका असल अभ्यास, संस्कार र सभ्यता पुस्तकको माध्यमबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पुस्तक प्रकाशनमा प्रत्यक्ष र परोक्ष रूपमा योगदान पुर्‍याउनेहरूलाई धन्यवाद भन्न चाहान्छु । धर्म, संस्कृति जोगाउन यहाँहरूको निरन्तर प्रयास रहने विश्वास छ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले आउँदै गरेको नयाँ वर्ष २०८२ ले सबै नेपालीजनमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले राम्रो प्रभाव पार्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका प्रकाशन समितिका प्रधानसम्पादक प्रमोद शर्माले धार्मिक स्तोस्त्र र नृसिंहजात्राका विषयमा जानकारी दिने उद्देश्यले दस्ताबेज तयार गरिएको बताउनुभयो ।

‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ – मुख्यमन्त्री पाण्डे

दमौली (तनहुँ), ३० चैतः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही मन्दिरको आज दर्शन गर्दै उहाँले सबै मिलेर यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आज मुख्यमन्त्री पाण्डेले छाब्दीबाराही विकास कोषका पदाधिकारीसँग छलफलसमेत गर्नुभएको छ । छाब्दीबाराही मन्दिर गण्डकी प्रदेशको महत्त्वपूर्ण धार्मिकस्थल भएकाले यसको प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले मन्दिरका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभयो ।

“छाब्दीबाराहीमा सुनको टीका भएको माछाका रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिरबाहिर खोलामा पनि हजारौँ माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ”, अध्यक्ष थापाले भन्नुभयो ।

मन्दिरमा तीनजना मगर जातिका पुजारी रहेका छन् । यहाँ साउन, एकादशी र औँसीबाहेकका दिनमा बलि चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

गत वर्ष पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसक्रममा ६५ जिल्लाबाट भक्तजन यहाँ आएको तथ्याङ्क रहेको कोषले जनाएको छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ ।

गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष थापाले जानकारी दिनुभयो । मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बलि दिने गरिन्छ । छाब्दीबाराही मन्दिर परिसरमा पुरानो छाब्दीबाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणका रूपमा रहेका छन् ।

‘नेपाली सेनाले इतिहास जोगाउने काम गरेको छ’

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले इतिहास संरक्षणमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभएको छ । नेपाली सेनाले गोरखाबाट सुरु गरेको गोरखा–जितगढी एकीकरण पदयात्राको टोलीलाई आज दमौलीमा स्वागत गर्दै उहाँले सेनाले सुरु गरेको पदयात्राले विगतको इतिहासलाई स्मरण गराउने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एकीकरणको सन्दर्भमा कसरी यात्रा भएको थियो, कसरी अगाडि बढेको थियो, तत्कालीन गोरखाली राजालाई गोरखाली जनताले साथ दिएर नेपालको एकीकरणको यात्रालाई सफल बनाएको कुरा यो यात्राले स्मरण गर्न सहयोग पु¥याएको छ ।” उहाँले सेनाले सुरु गरेको पदयात्रालाई सम्बन्धित स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेनाको एकीकरण पदयात्रालाई तनहुँमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियान अहिलेको पुस्ताका लागि अध्ययनको विषय बनेको उल्लेख गर्नुभयो । त्यस क्रममा मुख्यमन्त्री पाण्डे र नगरप्रमुख न्यौपानेले पदयात्राका टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्नुभएको थियो ।

गोरखाबाट सुरु भएको एकीकरण पदयात्राको टोली तनहुँको भानु, व्यास नगरपालिका–११ तनहुँसुर हुँदै दमौली आइपुगेको हो । आजै तनहुँसुरमा आयोजित कार्यक्रममा भानुबाट रुरु भैरवदल गणको नेतृत्वमा आएको टोलीले कालीभञ्जन गण (इ) लाई पदयात्राको झन्डा हस्तान्तरण गरेको थियो ।

तनहुँसुरबाट घिरिङ गाउँपालिकाको धेनुङसम्म कालीभञ्जन गण (इ) ले नेतृत्व गर्नेछ । धेनुङ देउरालीमा कालीभञ्जन गण (इ)ले श्री नम्बर ३ राजदल गणलाई झन्डा हस्तान्तरण गर्ने कालीभञ्जनका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिनुभयो । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झन्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दी फेमस महेन्द्रदल गणलाई झन्डा हस्तान्तरण गरिनेछ ।

केलादीघाटबाट नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झन्डा हस्तान्तरण गर्ने र आगामी वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जितगढीसम्म पुग्ने कार्यक्रम छ । पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झन्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखाबाट जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ, ३० चैतः काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नंको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन (ललितपुर), ३० चैत : तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उहाँको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराउनुभएको हो । “सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु ।

विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ”, श्रेष्ठले भन्नुभयो । नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादिक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताउनुभयो ।

नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको कांग्रेस कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य(अन्तर्वार्ता)

काठमाडौँ । सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा पनि यसका राम्रा पक्ष सबैले अनभूत गरिरहेको बताएका छन् । उनले आमनागरिकमा राज्यको पहुँच पुगेको भएपनि यो व्यवस्था केही खर्चिलो पनि छ, यसलाई कसरी व्यवस्थित गर्ने र खर्च घटाउने भन्ने विषय जिम्मेवार राजनीतिक दल र नेताहरूले सोच्ने अवस्था आइसकेको बताए ।

राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता नारायण न्यौपाने र समाचारदाता अशोक घिमिरेलाई दिएको अन्तर्वार्तामा सांसद आचार्यले भने, ‘सङ्घीयताको कार्यान्वयनका यही विषयवस्तुलाई ध्यान दिएर संविधान संशोधन गर्नेगरी अहिले दुई दल मिलेर गठबन्धन सरकार पनि निर्माण भएको हो ।’ प्रस्तुत छ सांसद आचार्यसँगको अन्तर्वार्ताको सारसंक्षेप ।

पछिल्लो राजनीतिक घटनालाई कसरी लिनुभएको छ ?

राजनीतिक परिवर्तन पछाडिका जनअपेक्षा पूरा गर्न दुई ठूला राजनीतिक दल गठबन्धन सरकार निर्माण गरेर अघि बढिरहेका छन् । आमजनतामा भरोसा र आशाको केन्द्रबिन्दु बन्न सकेको छ । यद्यपि, समयमै ‘डेलिभर’ गर्ने सबालमा गठबन्धन सरकार गम्भीर भएर लाग्नुपर्छ । गठबन्धन सरकार यसमा गम्भीर भएर लागिपरेको पाएको छु ।

दुई ठूला दलहरूले गठबन्धन गर्दैगर्दा संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएका थिए । तर वर्तमान सरकार गठन भएको नौ महिनासम्म अझै संविधान संशोधनबारे वहस नै भएको छैन, यसमा किन ढिलाइ भइरहेको छ ?

संविधानमा लेखेका कुराहरू परिवर्तनशील छन्, त्यो अब समयसापेक्षता अनुसार कमिकमजोरी भएको ठाउँमा परिवर्तन गर्नुपर्नेछ । संविधान संशोधन गम्भीर विषय हो । संविधान संशोधन दलहरूको एजेण्डामा परिसकेको छ । यसको गम्भीरतालाई बुझेर नेपालको ठूला पार्टीहरू मिलेर बनेको गठबन्धन सरकारले एजेण्डा बोकेर अघि बढेको छ । जिम्मेवारी के पनि पूरा गर्नुपर्ने छ भने साना दलहरूसँग पनि कुरा गरेर देशमा शान्तका साथ व्यवस्थित ढङ्गले सबैको प्रतिनिधित्व हुने गरी संविधान संशोधनका विषय लिएर लैजानुपर्छ भन्ने गम्भीरता र गहिराई बुझेर यसले समय लिएको हो ।

पछिल्लो समय सङ्घीयता खर्चिलो प्रणाली भयो, यसलाई धान्न नसकिने भयो भन्ने टिकाटिप्पणी गरिन्छ, यसमा यहाँको धारणा के छ ?

सङ्घीयताका बारेमा आआफ्नो दृष्टिकोण छ । नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा सङ्घीयता भइसकेपछि विकासको अवस्थाका बारेमा सबैले बुझ्न र देख्न सक्छ । यसको राम्रा पक्ष सबैले अनभूत गरिरहेका छन् । आमनागरिकमा राज्यको पहुँच पुगेको छ । यद्यपि, यो व्यवस्था केही खर्चिलो पनि छ, यसलाई कसरी व्यवस्थित गर्ने र खर्च घटाउने भन्ने विषय जिम्मेवार राजनीतिक दल र नेताहरूले सोच्ने अवस्था आइसकेको छ । यही सुझबुझलाई नै ध्यान दिएर संविधान संशोधनका विषय अहिले बनेको गठबन्धन सरकारले अघि बढाएको हो ।

मुलुकको राजनीतिक परिवर्तनको सहयात्री दलहरूबीच मुलुकको समृद्धिका लागि मतैक्य देखिँदैन, तर यो यात्रा के कारणले जटिल र प्रभावित भइरहेको छ ?

एउटा नेपालीको कद घट्दै गर्दा अर्कोको बढ्छ भन्ने विश्वास म राख्दिन । सबभन्दा ठूलो कुरा के हो भने हामीले आमनिर्वाचनमा जनताहरूलाई आफ्नो एजेण्डामा विश्वस्त बनाउन बोल्ने कुरा आफ्नो ठाउँमा रह्यो । आजको चिन्ताको विषय के हो भने हरेक नेपालीले बोकेको राहदानीको ‘भ्यालु’ कति रहन्छ भन्ने महत्वपूर्ण कुरा हो । त्यो राहदानीको सम्मान गर्न हामी सबै सम्पूर्ण राजनीतिक दलका नेतृत्व पङ्क्तिले गम्भीरताका साथ सोच्नेबेला आइसकेको छ । अब यसमा ढिला गर्न हुँदैन । यसका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहित अन्य राजनीतिक दलका नेता गम्भीरताका साथ लाग्नुपर्छ । पक्कै पनि राजनीतिक दलहरूबीच निर्वाचनको मैदानमा आन्तरिक प्रतिस्पर्धा हुने कुरा छदैँछन् । तर राष्ट्र निर्माण, कूटनीतिलगायत विषयमा दलहरूको एकरूपता चाहिन्छ, ताकि त्यसो नभएमा कष्टकर अवस्था आउन सक्छ । यी गम्भीर विषयलाई संवेदनशीलरूपमा लिनुपर्छ । राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर लिनुपर्ने कदममा सम्पूर्ण राजनीतिक दलहरूले गम्भीतारपूर्वक लिनुपर्छ ।

अहिलेको संसद् गठन भएको लगभग साढे दुई वर्ष पुग्न लाग्यो, संसद्को आधा कार्यकाललाई कसरी लिनुहुन्छ ? उपलब्धि गरिरहेको छौँ या समय खर्च गरिरहका छौँ ?

राजनीतिक अस्थिरताका कारण देश आर्थिक सङ्कटमा थियो । अब यसलाई सही ट्रयाकमा ल्याउनु छ । सङ्घीयता लागू गरेपश्चात कहाँकहाँ बढी खर्च भयो ? त्यसलाई कसरी घटाउने ? विकासका मोडल कसरी परिवर्तन गर्ने ? समयमै कसरी ‘डेलिभरी’ दिने ? जनतालाई सहजै सेवासुविधा प्राप्त गर्ने वातावरण बनाउने ? स्वास्थ्य शिक्षाका क्षेत्रमा राज्यले कुन ढङ्गले अघि बढ्ने भन्नेमा गम्भीरताका साथ लाग्नुपर्छ । मैले बुझेसम्म सरकार वर्तमान सरकार यही दिशामा अघि बढिरहेको छ । यद्यपि, हामी गन्तव्यमा पुग्न सकेको छैनौँ ।

‘डेलिभरी’ दिन नसक्नुको कमजोरी कसको वा समस्या के हो ?

सुशासन, सेवा प्रवाह र मौलिक हकको कार्यान्वयनलगायत कानुनी र व्यवहारिक समस्या देखापरेका छन् । यसलाई सुधार गरेर जानुपर्छ ।

प्रजातन्त्रको पुनःवहालीपछिका प्रत्येक नयाँ बन्ने सरकारले अघिल्लो सरकारलाई दोष थुपर्दै जाने प्रवृत्ति देखिएको छ । अहिलेसम्म आइपुग्दा भ्रष्टाचार मौलाउँदो र सुशासन झन् कमजोर बन्दै गएको देखिएको छ । किन यस्तो भइरहेको छ ?

कतिपय अवस्थामा कामकारबाहीमा पर्याप्त ध्यान पुर्याउन नसक्दा त्यस्तो स्थिति देखापरेका छन् । यो व्यक्ति विशेषको प्रवृत्तिमा पनि भर पर्ने कुरा भयो । विगतमा जे जस्तो कमजोरी भए त्यसलाई सुधारेर जानुपर्छ । भोलिका दिनमा नेपाललाई कसरी सबल राष्ट्र बनाउने भन्नेबारेमा जिम्मेवार दल र नेताहरूले ध्यान दिनुपर्छ ।

यहाँ इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा होमिनुभएको छ । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त लगायत आयोजना समयमै निर्माण सम्पन्न नहुने जुन अवस्था देखिएको छ, यसलाई कसरी लिनुभएको छ ?

यो निकै संवेदनशील विषय हो । यसमा ठूलो गृहकार्य आवश्यक छ । हामीले गर्दै आइरहेका कामको विधि सही छैनन् । जसका कारण हामीले प्राप्त गर्न चाहेको चिज पाइरहेका छैनौँ । यसलाई स्वीकार्नुपर्छ । विकसित राष्ट्र कसरी त्यो स्थानमा पुगेँ, हामी कहाँ चुक्यौँ भनेर सोच्नु जरूरी छ । हामी एउटै तरिकाबाट काम गर्दै आइरहेको छौँ । तर हामी नतिजा चै अर्को चाहना गरिरहेका छौँ । यही नै समस्या हो । हामीले के खोजेको छौँ, त्यो अनुसारको प्राप्ति कसरी गर्न सकिन्छ भन्ने नियम, कानुन परिमार्जन गर्नुपर्छ । यो नगरेसम्म पूर्वाधार निर्माण समयमै सम्पन्न हुने र गुणस्तर सुनिश्चित हुँदैन । कमजोर अन्तरनिकाय समन्वय, विभिन्न निकायका आआफ्नै नीतिले गर्दा अनावश्यक समय खर्च भइरहेको छ । त्यसका लागि हामीले कानुनी व्यवस्था मिलाएर छिटोछरितो सकिने बनाउनुपर्छ । सरोकारवालाको राय लिएर अघि बढ्न सक्यौँ भने मात्रै परिणाम हासिल गर्न सकिन्छ । हैन, एउटा कोठामा बसेर सबै ठिकठाक छ भनेर कलम चलायौँ, व्यवहारिक कानुन बनाएनौँ भने चाहेको कुरा प्राप्त गर्न सकिदैन ।

यहाँ रसुवाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुहुन्छ, यहाँको जिल्लाका प्राथमिकता के हुन्, त्यसलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

यो मेरो दोस्रो कार्यकाल हो । म निर्वाचित भएको दिनदेखि नै पिउने पानीका लागि लागिपरेको छु । खानेपानी आयोजनाको विस्तृत परियोजना निर्माण (डिपिआर) निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्न मेहनत गरिरहेको छु । सात वर्ष भयो यी विषय अझै टुङ्गिएको छैन । खानेपानी आयोजनाको मुहान लाङटाङ राष्ट्रिय निकुञ्जभित्र छ । निकुञ्जभित्र आयोजना निर्माण गर्न वातावरणीय अध्ययनन गर्नुपर्छ । त्यसलाई पास गर्न वन मन्त्रालय राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो कि होइन भनेर खोज्छ । राष्ट्रिय योजना आयोगबाट सो आयोजना राष्ट्रिय प्राथमिकताको हो भनेर बनाउन पहिला वातावरणीय अध्ययन भएको छ कि छैन भनेर हेर्छ । मैले यहाँ जटिलताको कुरा उठाएको हुँ । यो समस्या म आफैँले अहिले भोगिरहेको छु । एउटै मुहानबाट ४६ हजार जनसङ्ख्यालाई पिउने पानी योजना छनोट गरेर अहिले पनि काम गरिरहेको छु ।

अर्को रसुवागढी अन्तर्राष्ट्रिय नाकालाई सही ढङ्गले व्यवस्थित गर्नुपर्ने छ । सडक सञ्जाल निर्माण गर्नुपर्ने छ । बजेट त छुट्याइएका छन्, तर व्यवस्थित ढङ्गले काम भएका छैनन् । २०७२ सालको भूकम्पमबाट क्षति भएका पूर्वाधार र निजी आवास अझै टुङ्गेको छैनन् । भूकम्पबाट विस्थापित नागरिकलाई आआफ्नै थातथलोमा सुरक्षित बसोबासको प्रबन्ध मिलाउन लागि परेको छु । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि सकिसकेपछि कसले जिम्मा लिने भनेर दुई तीन वर्ष त बजेट नै व्यवस्था भएन । अहिले गृह र सहरी विकास मन्त्रालयको सहकार्यमा पुनःनिर्माणका काम अघि बढाउन लागि परेको छु ।

सबैभन्दा धेरै सम्भावना भएको जलविद्युत् आयोजना हो । हजारौँ मेगावाटका आयोजना निर्माणाधीन छन् । यी आयोजनालाई सहजीकरण गरेर समृद्ध रसुवा बनाउन लागि परेको छु ।

अब अगाडिकै विषयमा फर्कौं, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतालगायत राजनीतिक उपलब्धिलाई बलियो बनाउने कानुन अझै बन्ने सकेका छैनन्, संसद्को विधायकी भूमिका कमजोर भयो भन्ने जस्तो लाग्दैन ?

कतिपय विषयको संवेदनशीलताले गर्दा सिकाइको समय लिँदो रहेछ । यसले गर्दा कानुन निर्माण र अभ्यासमा पनि प्रभाव पार्छ । प्रत्येक नागरिकसँग जोडिएको विषय हुनाले गहन ढङ्गले अध्ययन, विचार विमर्श गरेरै अगाडि बढ्नुपर्छ । विषयको संवेदनशीलतालाई बुझेर नै केही समय लागेको हुनसक्छ । जनतालाई डेलिभर दिने, कुन कानुन संशोधन गर्ने, कुन नयाँ कानुन निर्माण गर्नेलगायत विषयमा सरकार लागिपरेकै छ । अध्यादेश ल्याएर होस् वा फास्ट ट्रयाकबाट कानुन पास गरेर जनतामा आशा जगाउन सरकार केन्द्रित भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी भइरहेको छ, हाम्रो राष्ट्रिय प्राथमिकता के हुनुपर्छ ?

नेपाल कृषिप्रधान देश हो, कृषिको विकासका लागि बजेट निर्माणका क्रममा ध्यान दिनुपर्छ । जलविद्युत्, पर्यटन नेपालको उच्च सम्भावनायुक्त क्षेत्र हो । यि क्षेत्रलाई प्राथमिकता दिएर जाँदा समृद्धि हासिल गर्न सकिन्छ । म फेरि दोहोर्याएर भन्न चाहन्छु, यसमा ठूलो कानुनी समस्या छन् । न्यून पूँजीगत खर्च बढाउने चुनौतीको विषय हो । जिम्मेवार राजनीतिक दलका नेताहरू यसमा गृहकार्य गरिरहनुभएको छ भन्ने मैले बुझेको छु । आउने समयमा यसले एउटा कोर्ष लिनेछ ।

पछिल्लो समय युवा पलायन बढेको छ, युवा जनशक्तिमा निराशा देखिन्छ । आमनागरिकलाई आशावादी बनाउन यहाँको के सन्देश छ ?

म आफैँ पनि विदेशमा पढेर स्वदेश फर्केको हुँदा यसको गम्भीरता राम्रोसँग बुझ्दछु । उच्च शिक्षाका लागि विदेश जानुभएका युवालाई अथक मेहनतका साथ उच्च सफलता हासिल गर्न शुभकामना दिन चाहन्छु । स्वदेशमा पर्याप्त अवसर नभएर उहाँहरू विदेश जाँदै हुनुहुन्छ । सधैँ नाफा मात्रै हेर्नु हुँदैन । नेपाल हामी नागरिकले नै बनाउने हो । हरेक नेपालीको जिम्मेवारी के हो भने अवसरको कुरा मात्रै होइन, हाम्रो राष्ट्र बनाउने दायित्व हरेक नेपालीको पनि हो । यद्यपि, अहिले समय परिस्थितिले गर्दा हामी कोही सङ्घ, प्रदेश र स्थानीय तहमा हौँला, तर नेपाल बनाउने हरेक नेपालीको जिम्मेवारी हो । समृद्ध नेपाल बनाउने हाम्रै जिम्मेवारी हो, जुनजुन ठाउँबाट सक्छौँ योगदान गरौँ ।

चारदेशीय टी–२० आई सिरिज : आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ, ३० चैत : हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो ।

दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ दुई अङ्कसहित दोस्रो र कुवेत दुई अङ्कसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको कतार शून्य अङ्कसहित तालिकाको पुछारमा छ ।

विसं २०८१ : ६२ नेपाली चलचित्र प्रदर्शन

काठमाडौँ, ३० चैत : नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रू ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली चलचित्रको इतिहासमा स्मरणयोग्य बनिसकेको छ ।

अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली चलचित्रका दर्शक उलेख्य रूपमा बढेको चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए । स–परिवार नै चलचित्र हेर्न आएको पाइयो । पारिवारिक चलचित्रले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ ।”

उहाँले चलचित्र भवन सञ्चालक (प्रदर्शक) ले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताउनुभयो । वर्षको अन्तिममा प्रदर्शन भएका चलचित्रले राम्रो सुरूआत गरेका छन् ।

यस्तै, आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र चलचित्रको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । उहाँले आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्त्वपूर्ण भएको बताउनुभयो ।

“यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ”, निर्देशक झाले भन्नुभयो ।

उहाँ आउँदो वर्ष विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिनुभयो । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान चलचित्रकर्मीले गरेका छन् ।

‘बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल कमाइ रू एक अर्ब ८० करोड गरेको छ । तथ्याङ्क बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान चलचित्रकर्मीको छ । यस कारण नेपाली बजारको आकार रू एक अर्ब ८५ करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौँ, ३० चैत : काठमाडौँ उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ । काठमाडौँसहित देशका केही भू–भागमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँमा वर्षा हुन थालेपछि वातवरणमा देखिएको दूषित धुँवा एवं तुवाँलो हट्ने अनुमान गरिएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुने जनाइएको छ ।

यसैगरी हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा गुरूङ निर्वाचित

काठमाडौँ, ३० चैत : वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित हुनुभएको छ ।सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्को उम्मेदवार नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । अध्यक्षमा गुरूङले ४२८ मत प्राप्त गर्नुभएको भने गेलालले ३६७ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा निर्वाचित गुरूङ सङ्घको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुनुहुन्छ ।

यस्तै, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । यस्तै, महासचिवमा महेशकुमार बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले ४२३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित हुनुभएको छ । सदस्यमा भने रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी हुनुभएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष दीपक थापाले राससलाई जानकारी दिनुभयो ।

कामपाले सञ्चालन गरेको घुम्ती खाद्य प्रयोगशालामा २४ भन्दा बढी प्रकारका परीक्षण

काठमाडौँ, ३० चैत : काठमाडौँ महानगरपालिकाले खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण गरिरहेको छ ।कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार घुम्ती प्रयोगशालाको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल, नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिएको थियो ।

कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच यस अघिनै सम्झौता गरेर कामपा र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गरेका हुन् ।

प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आरविपी आर) छ ।

दूधमा भएको सोडा, चिनी, नून, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एड्ल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएन एफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एड्ल्टरेसन किट, पानीको पिएच परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिनुभयो ।

सङ्कलित खाद्यपदार्थ नमूनाको तौल जाँच्ने उपकरण व्यालेन्स, खाद्य पदार्थको नमूना परीक्षण लागि आवश्यकपर्ने वाटर बाथ, जलाङश परीक्षण गर्ने मोइस्चर व्यालेन्स पनि प्रयोगशालामा छ । नमूना खाद्य पदार्थ जाँच्नका लागि पिनेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमूनालाई एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर छन् । तेल, घ्यू जस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इण्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफूल जुसमा टिएस एस (सम्पूर्ण घुलनशील ठोस्) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ । नमूना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्यूरेट छ । हानीकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ ।

प्रयोगशाला तापक्रम अनुकुलित (एअर कन्डिसन) र सङ्कलित नमूनाका कणहरूको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनीएक्टर पनि रहेको कामपाले जानकारी दिएको छ । खाद्यपदार्थ तताउने प्लेट छ । मिठाइमा प्रयोग गरिने अखाद्य रङको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकाले मिठाइमा रङको मिसावट तत्कालै थाहा पाउन सकिन्छ ।

उपकरणको प्रयोगले बजारबाट सङ्कलित नमूना तत्कालै परीक्षण गरी नतिजा देखाउन सकिन्छ । खाद्य सेवासँग सम्बन्धित अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन ल्याइएको हो ।

नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड

ग्वाङ्ग्जाओ – नेपाली तथा चिनियाँ अधिकारी एवम् उद्यमीहरूले दुई मुलुकहरूबीच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य अरू बढाउन आह्वान गरेका छन्।चीनको ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले स्टार्टअपहरु लाई सहयोग गर्न र लगानी अभिवृद्धि गर्न आह्वान गरेका हुन्।

“नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ गर्न नवप्रवर्तन र लगानी प्रवर्द्धन” विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनालले नेपालमा डिजिटल रूपान्तरण भइरहेको उल्लेख गर्दै कृषि, पर्यटन, उत्पादन र वित्तीय सेवाजस्ता विविध क्षेत्रमा प्रविधिको माग बढ्दो क्रममा रहेको बताए । “सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेश गर्दै छ। आज यो सम्बन्ध व्यापार, पूर्वाधार तथा प्रविधि क्षेत्रमा गतिशील साझेदारीमा रूपान्तरण हुँदै छ। चीनले कृत्रिम बुद्धिमत्ता (एआई), फाइभजी र डिजिटल अर्थतन्त्रमा हासिल गरेका उपलब्धिहरू प्रेरणादायी छन्। हामी नेपालको उदाउँदो प्रविधि क्षेत्रलाई तपाईँहरूको दक्षतासँग जोडेर दुवै देशलाई फाइदा हुने समन्वय सिर्जना गर्न चाहन्छौँ,” उनले भने ।

महावाणिज्यदूत खनालले हालै नेपालको सङ्घीय सांसदबाट सूचना प्रविधि (आइटी) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनहरू पारित भएको जानकारी दिँदै सरकारले प्रविधिको सम्भावनालाई उपयोग गर्न रूपान्तरणकारी पहलहरू अघि सारेको बताए ।

उनले चिनियाँ लगानीकर्ता र प्रविधि विज्ञहरूलाई नेपालको उच्च वृद्धिदर भएका क्षेत्रहरू—जस्तै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा र कृत्रिम बुद्धिमत्ता (एआई)—मा लगानी गर्न, अनुसन्धान र विकासका लागि प्रविधि केन्द्रहरूसँग सहकार्य गर्न तथा शैक्षिक तथा औद्योगिक कार्यक्रमहरूमार्फत ज्ञान आदानप्रदान गर्न पनि आह्वान गरे ।

“आउनुहोस्, प्रविधिबाट हाम्रो सम्बन्धलाई अझ बलियो बनाऔँ। नेपाल सरकार नीतिगत सुधार, लगानी सुरक्षाको प्रत्याभूति र सहकार्यको वातावरण बनाउन प्रतिबद्ध छ । हामी प्रविधिको क्षेत्रमा ज्ञान र अभ्यास साझा गर्न अनुकूल वातावरण बनाउने लक्ष्य राख्छौँ। डिजिटल युगमा नवप्रवर्तन नै आर्थिक विकास र सामाजिक रूपान्तरणको मूल चाबी हो। हामी एक अर्काबाट सिक्ने, सँगै नवप्रवर्तन गर्ने र नेपाल–चीन मित्रता तथा सहकार्यलाई सुदृढ बनाउने यो अवसरको उपयोग गरौँ,” खनालले भने ।

‘नेपाल प्रविधिको उदाउँदो केन्द्र’

कार्यक्रममा बेलायतमा मुख्यालय रहेको आइटी परामर्श तथा साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले “नेपाल: प्रविधिको उदाउँदो केन्द्र” विषयक प्रस्तुतिमा नेपालमा हरेक वर्ष सूचना प्रविधिका हजारौँ स्नातकहरू उत्पादन भई रहेका, ८५ हजारभन्दा बढी फ्रीलान्सरहरू सक्रिय रहेका र झन्डै चार करोड डलर बराबरको डिजिटल अर्थतन्त्र रहेको बताए ।

“नेपाल भारत र चीनबीचको सस्तो, स्वच्छ ऊर्जा भएको प्रविधि गन्तव्य हो र नेपालमा एआई, डिजिटल पूर्वाधार, हरित प्रविधि जस्ता चीनको बेल्ट एन्ड रोड

इनिसिएटिभ (बीआरआइ) सँग मेल खाने साझा रुचिका क्षेत्रहरू पनि छन् । हुवावे नेपालमा ४ जी र ५ जी कनेक्टिभिटी कार्यरत छ। नेपाली फ्रीलान्सरहरूले चिनियाँ स्टार्टअपहरूका लागि एआई/एमएल मोडलहरू निर्माण गरिरहेका छन्। विद्युतीय सवारी साधन, नवप्रवर्तन तथा शिक्षा आदानप्रदान कार्यक्रमहरू कन्फ्युसियस इन्स्टिच्युटमार्फत सञ्चालन भइरहेको छ,” उनले भने ।

चिनियाँ साझेदारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक र डिजिटल पूर्वाधारमा सहकार्य गर्न आह्वान गर्दै फुयाँलले दुई देशले मिलेर प्रविधिमा आधारित उत्थानशील एसिया निर्माण गर्न सक्ने बताए । “नेपाल व्यवसायका लागि मात्र होइन, जिम्मेवार, समावेशी प्रविधि विकासमा अग्रणी बन्न तयार छ। चीनसँग मिलेर हामी लाखौँलाई सशक्त बनाउने डिजिटल सेतु निर्माण गर्न सक्छौँ,” उनले भने ।

‘नेपाल–चीन सहकार्य’

कार्यक्रममा ग्वाङ्गजाओ एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजीकी सचिव तथा कार्यकारी उपाध्यक्ष सु लिउले चीन र नेपालले पारस्परिक मित्रतासहित शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालना गर्दै पूर्वाधार निर्माण, सांस्कृतिक आदानप्रदान र विज्ञान–प्रविधि क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । “प्राचीन कालदेखि नै ग्वाङ्गजाओ समुद्री रेसम मार्गको महत्त्वपूर्ण केन्द्र हो। हामी नेपालका वैज्ञानिक, प्रविधि क्षेत्र र व्यावसायिक समुदायका साथीहरूलाई ग्वाङ्गजाओ भ्रमण गर्न, सहकार्यको अवसर पहिचान गर्न, र ग्वाङ्डोङ–हङकङ–मकाउ ग्रेटर बे एरियाको विकास लाभहरूमा सहभागी हुन हार्दिक स्वागत गर्छौँ,” उनले भनिन् ।

साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँग आबद्ध प्राज्ञ चेन जुन्लोंगले आपसी अनुसन्धान सहकार्य तथा दुवै मुलुकका स्टार्टअपहरु बीच ज्ञान आदानप्रदानमा जोड दिए । कार्यक्रममा बेइजिङ डानचेङ्ग ल अफिसेज एलएलपीकी एटर्नी सुश्री सीआइ लीले नेपालमा चिनियाँ कम्पनीहरूले लगानी गर्दा लागू हुने कानुनी व्यवस्था विषयमा प्रस्तुति दिएकी थिइन् ।

लोटस होल्डिङ्ग्सका सिइओ अजित विक्रम शाह र नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत स्टार्टअप तथा नवप्रवर्तन समिति सदस्य तथा आद्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख निश्चलसिंह भण्डारीले भर्चुअल रूपमा सहभागी भई नेपाल प्रविधिको नयाँ गन्तव्यको रूपमा उदाउँदै गरेको बताउंदै नेपाली कम्पनीहरू चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाए ।

कार्यक्रमको सुरुमा महावाणिज्यदूतावासका कन्सुलर सरोज भट्टराईले सबैलाई स्वागत गरेका थिए । नेपाल र चीनका सरकारी अधिकारी, लगानीकर्ता, प्रविधि उद्यमी र विज्ञहरू उपस्थित सो कार्यक्रममा दुवै देशबीच नवप्रवर्तन, प्रविधि र लगानीमा सहकार्यको सम्भावनाबारे छलफल गरिएको थियो। ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले नेपाललाई प्रविधिको सम्भावनायुक्त केन्द्रका रूपमा प्रस्तुत गर्नुका साथै नेपाल–चीन सहका

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो ।

झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् ।हाइड्रोजनको विशेष ऊर्जात्मक गुणलाई ध्यानमा राखी यस ड्रोनले प्राविधिकरूपमा ठूलो उपलब्धि हासिल गरेको विकासकर्ताहरूले बताएका छन् ।

यो कीर्तिमानी उडान चीनको दक्षिण–पश्चिम सिचुवान प्रान्तको दुज्याङयान क्षेत्रमा गरिएको थियो ।ड्रोनलाई उडाउनको लागि चालकविहीन सवारीसाधनको छतमा राखेर चलाइएको थियो । सवारी साधन गतिमा रहँदा त्यसैको माथिबाट ड्रोन सफलतापूर्वक उडाइएको थियो ।

उडानको क्रममा ड्रोनले आफ्नो बोर्डमा रहेको प्रविधिमार्फत जमिनबाट टाढा रहेर पनि स्थायी रूपमा निगरानी गर्न सक्ने क्षमता देखाएको थियो । यसले हाइड्रोजन ड्रोनको प्रयोग अत्यन्त सम्भावनायुक्त रहेको देखाएको छ ।

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’

वीरगञ्ज (पर्सा), ३० चैत : वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन हँुदैछ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतमा वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार आयोजना गरेको बताउनुभयो । “यो बजारले कम्तीमा अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौंँ”, उहाँले भन्नुभयो, “रात्रिबजारमा वीरगञ्जवासी तथा सीमावर्ती सहर रक्सौलवासीलाई रात्रिबजारमा सहभागी हुनका लागि अनुरोध गर्दछु ।”

यसअघि पनि महानगरले रात्रिबजार सञ्चालन गर्दै आइरहेको छ । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायत सरसामानका स्टल राखिनेछ । त्यसको साथसाथै स्थानीय कलाकारको बेजोड साङ्गितिक प्रस्तुतसमेत रहने आयोजकले जनाएको छ ।

महानगरले रात्रिबजार सञ्चालनका लागि विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेको जनाएको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रिबजार लगाएको हो ।

तनहुँमा चितुवाको आक्रमणबाट दश वर्षीया बालिकाको मृत्यु

दमौली (तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेकी छिन् ।

फुपुको घरमा जाँदै गरेको अवस्थामा चितुवाको आक्रमणबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानुको टोली घटनास्थलमा गएको छ ।

डिभिजन वन कार्यालयले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातिको समयमा घरगोठ उज्यालो बनाउन तथा एक्लै नहिँड्न आग्रह गरेको छ । तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको त्रास बढ्दो छ ।

आन्दोलनरत शिक्षकका मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न महामन्त्री थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार समाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी महामन्त्री थापाले आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्काउन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जिम्मेवारी बोध गर्नुपर्ने बताएका हुन् ।

उनले शिक्षकको आन्दोलन लम्बिँदै जाँदा शैक्षिक सत्र प्रभावित हुने उल्लेख गर्दै जतिसक्दो चाँडो मन्त्रिपरिषद्को बैठक राखेर उनीहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

उनले भने, ‘पछिल्लो समयमा शिक्षकले राखेका कतिपय माग कानुन नबनाइ हल गर्न सकिन्न, शिक्षकको मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्माचारीका कुरा, राहतको बिदा सञ्चितिजस्ता विषय हामीले गर्नैपर्छ ।’ महामन्त्री थापाले कानुन निर्माणको विषयमा सरकारले चाँडै संसद अधिवेशन बोलाउनुपर्ने बताए ।

शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् ।

यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए । उनले शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझ्दिन आग्रह गरेका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब लगायतका मागसहित यही चैत २० गतेदेखि शिक्षकहरु आन्दोलनरत छन् ।

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fthapagk%2Fvideos%2F1774213553172475%2F&show_text=false&width=560&t=0

कोरला नाकाबाट घरायसी प्रयोजनको सामान ल्याउन रोकिएको छैन

मुस्ताङ, ३० चैत : कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार लोमान्थाङ भएको कोरलानाका व्यापार प्रवर्द्धनसम्वन्धि छलफलमा मुस्ताङ भन्सार कार्यालयले उक्त जानकारी दिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितीमा भएको छलफलमा मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र स्थानीय व्यापारीको उपस्थितमा व्यापार प्रवर्द्धनमा हाल देखिएका समस्या र त्यसको समाधानको बाटो पहिल्याउन छलफल भएको थियो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख करबिर गैरेले भन्सार कार्यालयमा स्थानीय कर्मचारी व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । 

नाका खुले पनि मुस्ताङ कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट आयात गरिने सामानको राजश्व सङ्कलन गर्न समस्या भएको प्रमुख गैरेले उल्लेख गर्नुभयो । तर व्यापारिक प्रयोजन छोडेर घरायसी सामान ल्याउन सरकारले नै व्यवस्था गरेकाले त्यस्ता सामान ल्याउन भन्सार कार्यालयले कुनै बाधा नपुर्याउने उहाँले बताउँनुभयो । 

भन्सारको पूर्वाधार नभएको र तत्कालको अवस्था व्यापारिक प्रयोजनका लागि सामान ल्याउन दिँदा अवैध गतिविधि बढ्ने सम्भावना रहेको भन्सार प्रमुख गैरेको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कोरला नाकाबाट व्यापार सहज बनाउन भन्सार कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । 

कोरला नाका व्यापार प्रवर्द्धनसम्वन्धि बसेको छलफलमा (नेपाल–चीन) दुई देशबीचको कोरला नाकाबाट सामान ल्याएर ब्यापार सुरु गर्ने र स्थानीय ब्यापारीको समस्या समाधान गर्नका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय भएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो । 

यसैगरी कोरला नाकाको ब्यापार सहजीकरणका लागि भन्सार, अध्यागन कार्यालयको सञ्चालन गर्ने र भन्सार कार्यालयसंग सम्वन्धि अन्य कार्यालयको स्थापना गर्न पहल गर्ने निर्णय गरिएको  छ । यस्तै उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिकामा स्थानीय ब्यापारीलाई सहज रूपमा ब्यापार गर्ने कार्यका लागि सहजीकरणको पहल गर्ने निर्णय भएको छ ।

कोरला नाका २०८० कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुल्ला भएको हो । तर गत पुसमा कोरला नाकाबाट अवैध रूपमा विद्युतीय चुरोट (भेप) बरामद भएपछि यस नाकाबाट सामान ल्याउन मुस्ताङ भन्सार कार्यालयले कडा निगरानी गरेको छ । नाका खुलेको १४ महिनासम्म सहज व्यापार गर्दै आइरहेका उपल्लो मुस्ताङले पछिल्लो पाँच महिनादेखि कोरला नाकाबाट सामाना ल्याएर व्यापार गर्न पाएका छैन । 

मर्स्याङ्दी जलविद्युत् केन्द्र : घट्यो ‘जलक्षमता’, उत्पादन ४० प्रतिशत मात्रै

तनहुँ, ३० चैत : जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।
६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो ।

लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।”

हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।

सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले जानकारी दिनुभयो ।
केन्द्र प्रमुख गौतमले भन्नुभयो, “वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ ।”

सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको हो ।