विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण
काठमाडौँ, २५ कात्तिकः विश्व साइकलयात्री पुष्कर शाहले लेख्नुभएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । समारोहमा लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकलयात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धिहरू यस पुस्तकमा लेखेको छु । यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपना र असिम सम्भावनाको कथा पनि हो ।”
विश्वयात्राका क्रममा आफूले विभिन्न संस्कृतिका मानिसहरूसँग भेटेको र कहिले कठिन परिस्थिति भोगेको कहिले असाधारण सहयोग पनि पाएकाले ती सबै अनुभवहरूले आफूलाई नयाँ दृष्टिकोण र जीवन दर्शन सिकाएको शाहले बताउनुभयो ।
कार्यक्रममा उपस्थित वक्ताहरूले पुष्कर शाहको यात्रालाई नेपालको गौरवको विषय बताउनुहुँदै उहाँको अनुभवबाट नयाँ पुस्ताले धेरै प्रेरणा लिन सक्ने उल्लेख गर्नुभएको थियो ।
पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका एक सय ५० भन्दा बढी देशमा साइकलयात्रा गरी विश्व शान्तिको सन्देश फैलाउनुभएको थियो । उहाँले सगरमाथाको शिखरमा पुगेर विश्वका राष्ट्रहरूको झण्डा फहराउँदै ‘विश्व शान्ति’को सन्देश पनि दिनुभएको थियो ।
