`

च्याउ खाँदा तनहुँको शान्तिटोलका दश जना बिरामी

दमौली (तनहुँ), २ चैत : च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् ।

बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो । 

उहाँका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ । 

दूध बेचेर मासिक दुई लाख कमाइ !

तनहुँ, २ चैत : जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लाग्नुभएको छ । गाडी व्यवसायीसमेत रहनुभएका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गर्नुभएको हो ।

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले यस पेसा अँगालेको कृषक बाँस्तोला बताउनुहुन्छ । उहाँका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लइना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आउनुभएको छ । सुरूमा रू एक करोडको लगानी भएको छ”, उहाँले भन्नुभयो, “मासिक रू चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक रू दुई लाख कमाउँदै आएको छु ।”

त्यसैगरी अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । तेह्र वर्ष वैदेशिक रोजगारीमा रहनुभएका आचार्य स्वदेश फर्किएर गाईपालन व्यवसायमा लाग्नुभएको हो । खर्च कटाएर मासिक रू ४५ हजार कमाउँदै आएको कृषक आचार्य बताउनुहुन्छ । आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु”, उहाँले भन्नुभयो, “सुरूमा रू दश लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सन्तुष्ट छाँै ।”

गाउँका अधिकाँश व्यक्ति पशुपालन र कृषिमा लागेपछि यस क्षेत्रको मुहार फेरिएको छ । आर्थिक क्षेत्रमा सबल बन्नुका साथै अन्यका व्यक्तिका लागि पनि गरे हुँदोरहेछ भन्ने गतिलो सन्देश यस क्षेत्रका पशुपालन कृषकले दिएका छन् ।

गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ । संस्थामा आबद्ध एक सय जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गर्दै आएको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कृषकको खरिद मूल्यअनुरूप दैनिक रू एक लाख ३० हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ, थोरैमा रू १५ हजारदेखि दुई लाखसम्म मासिक कमाउने गरेका छन् ।” यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट छ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ । पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझै बढी फाइदा लिनसक्ने उहाँ बताउनुहुन्छ ।

दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुनसक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताउनुभयो ।

गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । कृषकका मागबमोजिम बेलबास दुग्ध उत्पादक सहकारी संस्थालाई दुई वटा डिप फ्रिज अनुदानमा सहयोग गरिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रतिलिटर दूधमा रू एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना बनाएको छ ।”

म्याग्दीको ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन

म्याग्दी, २ चैत : यहाँको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताउनुभयो ।

“कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,” उहाँले भन्नुभयो “स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।”

मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन (१२ वटा)लाई रु. दुई सय ५० र चिनी मिसाएको बिस्कुट प्रति दर्जन रु. एक सय ३० मूल्य कायम गरिएको छ । 

काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ । पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले बताउनुभयो । 

उहाँले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । ३७ वर्षीय भण्डारी रोजगारीका लागि छ वर्ष मलेसिया, दुई वर्ष कतार, दुई महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्किनुभएको हो । 

भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले आफ्नै जग्गामा करिब रु ७५ लाख लगानीमा पूर्वाधार निर्माण गरिरहनुभएको छ । धवलागिरी गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गरिने बताउनुभयो । 

“कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,” वडाअध्यक्ष खत्रीले भन्नुभयो, “विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्नेछ ।”

युक्रेनलाई यसै वर्ष ४० अर्ब युरोसम्मको हतियार उपलब्ध गराउन सदस्य राष्ट्रहरूलाई इयुको आग्रह

शुक्रबार देखिएको एक प्रस्तावअनुसार अमेरिकी समर्थनबारे प्रश्नहरू घुमिरहेका बेला युरोपली सङ्घ (इयु) ले आफ्ना सदस्य राष्ट्रहरूलाई यस वर्ष युक्रेनलाई ४० अर्ब युरोसम्मको हतियार दिने प्रतिबद्धता जनाउन दबाब दिइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी भोलोदिमर जेलेन्स्कीसँगको विवादपछि युक्रेनका लागि वासिङ्टनको सैन्य सहायता छोटो समयका लागि निलम्बन गरेर किएभ र यसका युरोपेली समर्थकहरूमा तरङ्ग ल्याउनुभएको थियो ।

इयुका विदेश मामिला प्रमुख काजा कालासको प्रस्तावले ब्लकमा रहेका देशहरूलाई रुस विरुद्ध सङ्घर्ष गरिरहेका किएभका सेनाहरूको सबैभन्दा महत्वपूर्ण आवश्यकताहरू पूरा गर्न ‘तीव्र र केन्द्रित’ बनाउन खोज्दछ । “सहभागी राष्ट्रहरूलाई सन् २०२५ मा युक्रेनलाई कम्तीमा २० अर्ब युरो अनुमानित मूल्यको र युक्रेनी आवश्यकताहरूका आधारमा सम्भावित रूपमा ४० अर्ब युरोसम्म पुग्ने सैन्य समर्थन प्रदान गर्न प्रोत्साहित गरिन्छ”, दस्तावेजमा भनिएको छ ।

प्रस्तावमा भनिएको छ, “देशहरूले आफ्नो ‘आर्थिक भार’ अनुसार योगदान गर्नुपर्दछ र योजनाको एक हिस्सामा सन् २०२५ मा युक्रेनलाई पाँच अर्ब युरो बराबरको २० लाख तोपखानाहरू दिनेछ ।”

दस्तावेजअनुसार कुल रकमको दुई अर्ब युरोभन्दा कम रकम पनि रूसी फ्रिज गरिएको सम्पत्तिबाट नाफा उपयोग गर्ने र पहिले नै युक्रेनलाई प्रतिबद्ध युरोपेली कोषबाट आउनेछ । 

कूटनीतिज्ञहरूले यो योजनाले फ्रान्स, इटाली र स्पेन जस्ता ठूला अर्थतन्त्रहरूको विरोधको सामना गर्ने बताएका छन् । ती मुलुकलाई युक्रेनका लागि सहायतामा आफ्नो वजन कम गरेको आरोप लगाइएको छ ।

उनीहरूले यो योजनाले इयुमा रुसको निकटतम मित्र हङ्गेरीले सामेल हुन इच्छुक देशहरूका लागि मात्र योजना खोलेर अवरोध ल्याउन सक्ने बताएका छन् । तर छलफल जारी छ ।

अधिकारीहरूले यो योजना बेलायत र नर्वे जस्ता ब्लक बाहिरका देशहरूका लागि खोल्न सकिने बताएका छन् ।

सोमबार ब्रसेल्समा हुने इयु विदेशमन्त्रीहरूको बैठकमा हप्ताको अन्त्यमा नेताहरूद्वारा हुने शिखर सम्मेलनअघि प्रस्तावमा छलफल हुने अपेक्षा गरिएको छ ।

इयुका नेताहरूले यस महिनाको सुरुमा भएको बैठकमा योजनामा थप कामका लागि आफ्नो प्रारम्भिक स्वीकृति दिएका थिए ।

ट्रम्पले रुसको आक्रमण अन्त्य गर्न किएभलाई प्रतिकूल शान्ति सम्झौता स्वीकार गर्न बाध्य पार्न सक्ने डरले युरोपले युक्रेनका लागि आफ्नो समर्थन बढाउन खोजिरहेको छ ।

किएभले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएपछि वासिङ्टनले यस हप्ता युक्रेनलाई आफ्नो सहायता पुनः सुरु गरेको छ तर मस्कोले अहिलेसम्म पहलका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।  थकित युक्रेनी सेनाहरू हाल अग्रिम मोर्चामा पछि धकेलिँदै छन् र रुस गत वर्ष किएभले कब्जा गरेको कुर्स्क क्षेत्रलाई पुनः प्राप्त गर्न नजिक छ ।

ट्रम्पद्वारा पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गर्नुभएको छ । उहाँले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र फलदायी’ युद्धविराम छलफल भन्नुभएको छ । तीन वर्षको युद्धपछि रुस र युक्रेनबीच ३० दिने युद्धविरामको योजनाबारे छलफल गर्न उहाँका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

“हामीले हिजो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै राम्रो र उत्पादक छलफलहरू गर्‍यौँ र यो भयावह, रक्तपातपूर्ण युद्ध अन्त्यमा समाप्त हुनसक्ने धेरै राम्रो सम्भावना छ”, ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा भन्नुभयो ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पछि पत्रकारहरूलाई स्पष्ट पार्दै ट्रम्प आफैँले बिहीबार राति पुटिनसँग कुरा नगर्नुभएको बताउनुभयो । उहाँले शुक्रबार कुनै कल निर्धारित नभएको उल्लेख गर्दै ‘तर त्यो स्पष्ट रूपमा परिवर्तन हुनसक्छ’ भन्नुभयो ।

गत हप्ता ट्रम्पले आफू कार्यालयमा फर्किएपछि फेब्रुअरीमा आधिकारिक रूपमा घोषणा गरिएको फोनवार्ता बाहेक पुटिनसँग ‘धेरै पटक’ कुरा गरेको बताउनुभएको थियो । आधिकारिक फोनवार्ताले वर्तमान युद्धविराम प्रयासलाई अघि बढाएको हो ।

शुक्रबार आफ्नो पोस्टमा ट्रम्पले पुटिनलाई ‘हजारौँ’ युक्रेनी सैनिक ‘पूर्ण रूपमा रूसी सेनाले घेरिएको, र धेरै खराब र कमजोर स्थितिमा रहेको’ भन्दै एउटा असामान्य अपील पनि जारी गर्नुभयो ।

किएभले तुरुन्तै ट्रम्पको दावीलाई अस्वीकार गर्‍यो ।

“मैले राष्ट्रपति पुटिनलाई उनीहरूको ज्यान बचाउन आग्रह गरेको छु । यो दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखेको एउटा भयानक नरसंहार हुनेछ । भगवानले ती सबैलाई आशीर्वाद दिनुहोसु !!!” ट्रम्पले लेख्नुभएको छ ।

मस्कोले गत हप्ता युक्रेनको धेरैजसो सेनालाई रुसको कुर्स्क क्षेत्रबाट बाहिर निकाल्दै आएको छ । कुर्स्कको केही भाग किएभले गत वर्ष कब्जा गरेको थियो ।

सन् २०१४ मा क्रिमिया कब्जा गरेर सन् २०२२ फेब्रुअरीमा पूर्ण आक्रमण सुरु गरेदेखि युक्रेनको करिब पाँचौँ भाग ओगटेको रुससँग भूमि साटासाट गर्न कुर्स्क किएभको केही मोलतोल गर्ने चिप्सहरू मध्ये एक थियो ।

पुटिनले ट्रम्पलाई युद्धविरामका बारेमा ‘थप’ सङ्केत पठाएको र सम्झौताको सम्भावनाका बारेमा ‘सावधानीपूर्वक आशावादी’ रहेको बताएको रुसले शुक्रबार भनेको थियो । अमेरिकी दूत स्टिभ विट्कफले संयुक्त अमेरिकी–युक्रेनी योजनाको विवरणहरू प्रस्तुत गर्न बिहीबार राति पुटिनसँग भेट गर्नुभयो । क्रेमलिनले ट्रम्प र पुटिनबीच ‘कुराकानी आवश्यक छ’ भन्ने कुरामा दुवै पक्ष सहमत भएको तर समय निर्धारण हुन बाँकी रहेको बताएको छ ।

दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग

खोटाङ, २ चैत : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरू गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरू गर्नुभएको हो ।

प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना–टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताउनुभयो । मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा रू पाँच र टपरीको प्रतिगोटा रू आठका दरले निर्धारण गरिएको जनाइएको छ ।

निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना–टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिनुभएको छ । “सालको पातबाट बनाइने दुना–टपरीको कारण सालको पातसमेत सदुपयोग भएको छ । जङ्गलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा रू ३५ देखि रू ६० सम्ममा खरिद गर्दै आएको छु”, उहाँले भन्नुभयो, “बिना प्रयोग जङ्गलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम सुरू भएको छ । दुना–टपरी गाँस्नेलाई प्रतिगोटा रू एकका दरले दिने गरेको छु । यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ ।”

गाउँमा हुने हरेक बिहे–कार्जे, भोज–भतेर तथा पूजापाठमा दुना–टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिकरूपमा दुना–टपरी बनाउन सुरू गरिएको सञ्चालक राईले बताउनुभयो । “गाउँघरमा हुने अधिकांश काजभोजमा प्लाष्टिकको भाडा प्रयोग हुने थालेका छन् । यो स्वास्थ्यका लागि मात्र नभई वातावरणीय हिसाबले पनि ठीक होइन”, उहाँले भन्नुभयो, “दुना–टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले पनि मेसिनमार्फत व्यवसायिकरूपमा दुना–टपरी बनाउन सुरू गरेका छौँ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरूरी छ ।”

बाम्राङमा उत्पादित दुना–टपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुना–टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ ।

उता, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना–टपरी उद्योग सञ्चालन गरेको हो ।

च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा रू पाँच र टपरी प्रतिगोटा रू दशमा बिक्री सुरू गरिएको छ । सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना–टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना–टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ । ¬हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना–टपरीमात्र प्रयोग गर्ने÷गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ-हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो ।जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्ये ९० किशोरीलाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २१ किशोरीले भने जिल्ला बाहिर नै खोप लगाएका छन् ।

जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको उहाँले बताउनुभयो । खोप अधिकृत श्रेष्ठले भन्नुभयो, “जिल्लाभित्रका किशोरीलाई जिल्लामा तोकिएका केन्द्रबाट खोप लगाइयो भने बाहिर रहेका किशोरीले बाहिरी जिल्लाकै खोप केन्द्रबाट खोप लगाएका छन् ।”

कक्षा ६ देखि १० सम्मका अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप पहिचान गरिएको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरी एचभिपी खोपका लागि पहिचान गरिएको थियो, २१ जनाले बाहिरी जिल्लाबाट खोप लगाएको जानकारी प्राप्त भएको छ ।”

मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउनका लागि खोप केन्द्र तोकिएको थियो । जिल्लामा दुई सय थान खोप जिल्लामा भित्रिएकामा ९० थान मात्रै प्रयोग भएको उहाँको भनाइ छ ।

गत फागुनको १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विाद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाश ज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताउनुभयो ।

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्याल मनाङ र जिल्ला आयुर्वेदिक अस्पताल मनाङको प्रत्यक्ष सहभागितामा खोप लगाइएको हो ।

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्रबाट किशोरीलाई एचपिभी खोल लगाइएको कार्यालयले जनाएको छ ।

चार वर्षमा झापाबाट वैदेशिक रोजगारीमा गएका १६६ जनाको मृत्यु

झापा- पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरुको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ ।

सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ४२ जना, गत आव २०८०/०८१ मा ८० जना र आव २०७९/८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । 

चार वर्षमा अङगभङ्ग भएका ५४ जनामध्ये चालू आवको पुससम्ममा १० जना, गत आव  २०८०/०८१ मा ३३ जना र आव २०७९/०८० मा ११ जना छन् ।

गत आव २०८०/०८१ मा झापाबाट छ हजार ५२८ जना महिलासहित ३४ हजार ३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । सोही आव २०८०/०८१ मा कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

मेचीनगरमा चालू आवमा ३१ वटा अभिमुखीकरण, वित्तिय साक्षरतालगायतका कार्यक्रम गरिएको छ । यस अवधिमा नगरपालिकास्थित वैदेशिक रोजगारीबाट फर्केका र उनीहरुका परिवार गरी एक हजार ६४६ जनाले सो परियोजनाको विभिन्न सेवा लिएको जनाइएको छ ।

निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड

काठमाडौँ, २ चैत : चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नु पर्ने दबाब महसुस गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रलाई समाजको ऐना भनिन्छ, त्यसैले त्यहाँ सकारात्मक र नकारात्मक दुवै पक्षलाई देखाउने गरिन्छ । नराम्रो देखाएर त्यसले निम्त्याउने गलत अवस्थालाई चित्रण गरेर सही गर्नुपर्ने वा सकारात्मक हुनुपर्ने दृश्य देखाउनु पर्छ । तर, हामीले हरेक विषयमा आफूलाई सङ्कुचित पारेर काम गर्न थाल्यौँ भने त्यसले हाम्रो सृजनामा ह्रास आउँछ ।”

निर्देशक दीपक रौनियारले आफ्नो देशको परिवेश र कथालाई निर्धक्कसँग चलचित्रमा ल्याउन सक्ने वातावरण हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो चलचित्र ‘राजागंज’ को प्रसङ्गलाई लिएर गरिएको कडाइमा आफ्नो असहमति रहेको बताउनुभयो । 

चलचित्रकर्मी दीपकराज गिरीले चलचित्र निर्माणको विषय छनोट गर्दा नै प्रदर्शनको समयमा हुनसक्ने अवरोधलाई सम्झिने गरेको बताउनुभयो । “हामीले चलचित्र प्रदर्शनमा यी–यी विषयमा विनाकारण झमेला भोग्नुपर्छ भन्ने लागेपछि लेखकले त्यहाँ सिर्जना गर्ने पात्र र परिवेशमै अङ्कुश लागेको महसुस गर्छ, मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन”, उहाँले भन्नुभयो । 

निर्देशक अशोक शर्माले विश्वमै चलचित्र काँटछाँट भन्दा पनि वर्गीकरण गर्ने परिपाटी भएकाले त्यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आग्रह गर्नुपर्ने बताउनुभयो । 

निर्देशक नवीन सुब्बाले चलचित्रकर्मीको आशय समाजको सदभाव बिगार्नु नभई मनोरञ्जन प्रदान गर्दै विचार प्रस्तुत गर्नु रहेको बताउनुभयो । उहाँले बेलाबेलामा सुनिने चलचित्र ‘सेन्सर’ को विषयमा सम्बन्धित निकायसँग छलफल गर्नु आवश्यक रहेको बताउनुभयो ।     भेलामा निर्देशक गणेशदेव पाण्डे, उपेन्द्र सुब्बा, विनोद पौडेल, मनोज पण्डितलगायत सहभागी हुनुहुन्थ्यो । 

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रू २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रू २२, आलु रातो प्रतिकिलो रू ३५, आलु रातो (भारतीय) प्रतिकिलो रू ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रू ५८, गाजर (लोकल) प्रतिकिलो रू ४०, गाजर (तराई) प्रतिकिलो रू २५, बन्दा (लोकल) प्रतिकिलो रू १२, बन्दा (नरिवल) प्रतिकिलो रू १५, काउली (स्थानीय) प्रतिकिलो रू २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रू २०, मूला रातो प्रतिकिलो रू ४०, मूला सेतो (लोकल) प्रतिकिलो रू २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रू २५, भन्टा लाम्चो प्रतिकिलो रू ५० तथा भन्टा डल्लो प्रतिकिलो रू ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रू ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रू ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रू ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रू ९०, टाटे सिमी प्रतिकिलो रू ७०, तिते करेला प्रतिकिलो रू १००, लौका प्रतिकिलो रू ५०, परबर (लोकल) प्रतिकिलो रू १२०, परबर (तराई) प्रतिकिलो रू १६०, घिरौला प्रतिकिलो रू ७०, झिगुनी प्रतिकिलो रू ७०, फर्सी पाकेको प्रतिकिलो रू ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रू १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रू १५ तथा भिण्डी प्रतिकिलो रू १२० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रू ४०, पिँडालु प्रतिकिलो रू १००, स्कूस प्रतिकिलो रू ४०, रायो साग प्रतिकिलो रू ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रू ८०, तोरीको साग प्रतिकिलो रू ४०, मेथीको साग प्रतिकिलो रू ६०, प्याज हरियो प्रतिकिलो रू ३०, बकुला प्रतिकिलो रू ५०, तरूल प्रतिकिलो रू ९०, च्याउ (कन्य) प्रतिकिलो रू ११०, च्याउ (डल्ले) प्रतिकिलो रू २८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रू ४०, चुकुन्दर प्रतिकिलो रू ६०, सजीवन प्रतिकिलो रू १५०, कोइराला प्रतिकेजी रू ३००, रातो बन्दा प्रतिकिलो रू ५०, जिरीको साग प्रतिकिलो रू ५०, सेलरी प्रतिकिलो रू १५०, सौफको साग प्रतिकिलो रू ८०, पार्सले प्रतिकिलो रू ३००, पुदिना प्रतिकिलो रू ३००, गान्टे मूला प्रतिकिलो रू ६०, इमली प्रतिकिलो रू १६०, तामा प्रतिकिलो रू १००, तोफु प्रतिकिलो रू १२० र गुन्द्रुक प्रतिकिलो रू ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रू २५०, स्याउ (फूजी) प्रतिकिलो रू ३५०, केरा (दर्जन) रू १५०, कागती प्रतिकिलो रू २५०, अनार प्रतिकिलो रू ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रू २००, अङ्गुर (कालो) प्रतिकिलो रू २५०, सुन्तला (भारतीय) प्रतिकिलो रू १२०, मौसम प्रतिकिलो रू २००, जुनार प्रतिकिलो रू १५०, काँक्रो (लोकल) प्रतिकिलो रू ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रू ३०, निबुवा प्रतिकिलो रू ६०, नासपाती (चाइनिज) प्रतिकिलो रू २५०, मेवा (नेपाली) प्रतिकिलो रू ५०, मेवा (भारतीय) प्रतिकिलो रू ११०, लप्सी प्रतिकिलो रू १००, खरबुजा प्रतिकिलो रू ४५, स्ट्रबेरी प्रतिकिलो रू २००, किबी प्रतिकिलो रू ४००, अमला प्रतिकिलो रू १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रू १००, खुर्सानी सुकेको प्रतिकिलो रू ३२५, खुर्सानी हरियो प्रतिकिलो रू ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रू १००, भेडे खुर्सानी प्रतिकिलो रू ९०, लसुन हरियो प्रतिकिलो रू ६०, हरियो धनिया प्रतिकिलो रू ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रू २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रू २३०, छ्यापी सुकेको प्रतिकिलो रू १६०, छ्यापी हरियो प्रतिकिलो रू ७०, ताजा माछा (रहु) प्रतिकिलो रू ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रू २६०, ताजा माछा (छडी) प्रतिकिलो रू २४०, रूख टमाटर प्रतिकिलो रू १८०, राजा च्याउ प्रतिकिलो रू ३०० र सिताके च्याउ प्रतिकिलो रू ८०० तोकेको छ ।

महोत्तरीका सात स्थानीयतहमा आज होली

महोत्तरी, २ चैत : यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ ।

मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली पर्व मनाउने गर्छन् । 

यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेल्ने स्थान पनि छन् । ती हुन् जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात  स्थानीयतहका गाउँ तथा नगरक्षेत्र । खासमा १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीले यात्राको १६ औं दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेको भोलिपल्ट होली मनाउने चलन छ । शुक्रबार अन्तर्र्गृह परिक्रमा गरिएपछि यी बस्तीमा आज होली मनाउने गरिएको हो । यो मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्रको पुरानो परम्परा हो ।

फरकफरक परम्परागत मान्यताले होली मनाइने दिन फरक परेपनि यहाँ तीनै दिनको होलीमा सबैजसो सरिक हुँदै आएका छन् । यो उल्लासमय रमाइलो पर्व हुनुका साथै आपसी घुलमिलको परिणाम भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने

काठमाडौँ, २ चैत : नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ । 

त्यसैगरी जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली काटिनेछ । मुुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ । 

सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म लाइन काटिनेछ । 

जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ । प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएका लाइन पुनः सञ्चालनमा आउने जनाएको छ ।   बिजुली कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । 

सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीद्धारा अनुगमन

भक्तपुर, २ चैत : प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोली अनुगमन गरेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के अनुगमन गर्नुभएको हो ।

मन्त्री थापा मगरसहितको टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपिडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसियू, सिटी स्क्यान जडान कक्ष, विभिन्न विभागका सेवाहरुको अनुगमन गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीसँग भेट गरी अस्पतालको सेवा र सुविधाका बारेमा सोधपुछ गर्नुभएको थियो ।

अनुगमन पश्चात मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने चेतावनी दिनुभयो । उहाँले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन जडान भएसँगै मेमोग्राम मेशिन सञ्चालन गर्ने, उच्चस्तरीय प्रविधिसहितको आँखा उपचार सेवा विस्तार गर्ने, १०० शय्यामाथिका अस्पताललाई नर्सिङ कक्षा सञ्चालन गर्न दिइने, मापदण्ड पुरा नगर्ने अस्पतालको दर्ता, नविकरण रोक्ने, हेटौँडा अस्पतालमा मुटु रोग र भक्तपुर अस्पतालमा न्यूरोको ओटी सवासमेत सञ्चालन गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य सचिव डा. गौतमले ३०० शय्याको सम्बन्धन पाएको भक्तपुर अस्पतालले पूर्ण शय्यामा सेवा सञ्चालन नगरे शय्या घटुवा गरिने र पाँच वर्षका लागि भनेर दिएपनि १३ वर्षदेखि सञ्चालित मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भवन छाड्न पत्राचार गर्न निर्देशन दिनुभयो । उहाँले भक्तपुर अस्पताल क्षेत्रभित्र साझा आषधि पसल ल्याउन रोक लगाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगत दईवषदेखि देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । अस्पताल विकास एवं व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अस्पतालले सञ्चालनमा ल्याउन लागको क्याबिनको सङ्ख्या चारबाट १० मा पु-याउन मन्त्रालयलाई सहयोगको आग्रह गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्र भट्टले अस्पतालमा दैनिक एक हजार देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउने गरेको जानकारी दिनुभयो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रूपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १८० रूपैयाँ ५३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ७० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रूपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १० पैसा र बिक्रीदर १०४ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३ रूपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २९ पैसा र बिक्रीदर २० रूपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७ रूपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८० पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपात हुने

काठमाडौँ, २ चैत : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौँ, १ चैत ः नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश फर्किएको छ ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रङ्गशालामा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाएकी थिइन् ।

प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा तीन दशमलव ९६ मिटर जम्प गर्दै रजत जितेकी हुन् । उनले लङजम्पसहित दुई सय र चार सय मिटर दौडमा सहभागिता जनाएकी थिइन् ।

नेपालबाट ६ खेलाडी सहभागी थिए । पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । गोविन्दले ज्याभ्लिन थ्रोमा खेलेका थिए ।

अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर त्यहाँ गएका थिए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

क्यानाडा : नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी

मुलुक संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा बिग्रिएको बेला पूर्व केन्द्रीय बैंकर मार्क कार्नी शुक्रबार क्यानाडाको अर्को प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ ।

उहाँ जस्टिन ट्रुडोको उत्तराधिकारी बन्नुभएको छ । ट्रुडोले करिब एक दशक सत्तामा रहेपछि र गत वर्ष घट्दो समर्थनपछि जनवरीमा आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।

सत्तारूढ लिबरल पार्टीले ट्रुडोको स्थानमा कार्नीलाई व्यापक समर्थन दिएको छ । उक्त समर्थनले ऐतिहासिक सङ्कटबीच दुई केन्द्रीय बैंकको नेतृत्व गर्नुभएका कार्नीको अनुभवले सम्भावित विनाशकारी व्यापार युद्धको सामना गरिरहेको जनसङ्ख्यालाई आश्वासन दिने आशा गरेको छ ।

शपथग्रहण समारोह ओटावामा बिहान ११ः०० बजे (१५०० जिएमटी) हुनेछ र राजा चाल्र्स तृतीयको प्रतिनिधि गभर्नर जनरलद्वारा प्रशासित हुनेछ ।

कहिल्यै सार्वजनिक पदमा निर्वाचित नहुनुभएका ५९ वर्षको उमेरमा राजनीतिक नवागन्तुकको रूपमा कार्नीले ‘निर्बाध र द्रुत’ परिवर्तनको वाचा गर्नुभएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक आयात भन्सार शुल्क लगाउँदै र क्यानाडालाई संयुक्त राज्य अमेरिकाको ५१औँ राज्यका रूपमा गाभ्ने बारम्बार धम्की दिँदै गर्दा उहाँ कार्यालयमा प्रवेश गर्दै हुनुहुन्छ ।

“त्यसैले अमेरिकीहरू, उनीहरूले कुनै गल्ती नगरून्, व्यापारमा जस्तै हक्कीमा, क्यानाडाले जित्नेछ”, उहाँले गत हप्ता लिबरल पार्टीको नेतृत्वका लागि आफ्नो स्वीकृति भाषणमा संयुक्त राज्य अमेरिकातर्फ अवज्ञापूर्ण स्वरमा भन्नुभयो, “क्यानाडा कहिल्यै पनि कुनै पनि तरिका, आकार वा रूपमा अमेरिकाको हिस्सा हुनेछैन, यस्तो कहिल्यै हुने छैन ।”

उहाँले बुधबार थप आर्थिक द्वन्द्वबाट बच्नका लागि नयाँ व्यापार व्यापार सम्झौताका लागि वार्ता गर्न ट्रम्पसँग ‘बस्न तयार’ भएको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकामा इस्पात र एल्युमिनियम आयातमा २५ प्रतिशत कर यस हप्ता लागू भएको छ । क्यानाडाले अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाएर जवाफ दिएको छ ।

सन् २००८–२००९ को वित्तीय सङ्कटको समयमा बैंक अफ क्यानाडा र ब्रेक्जिट मतको वरिपरि अनिश्चितताको बीचमा बैंक अफ इङ्गल्यान्ड दुवैको गभर्नरको रूपमा सेवा गरेपछि कार्नी गोल्डम्यान स्याक्समा एक इन्भेस्टमेन्ट बैंकर हुनुहुन्थ्यो ।

उहाँले आफूलाई दक्षिणी छिमेकी र एक पटकको सबैभन्दा ठोस मित्रदेशसँगको व्यापार युद्धले हल्लाएको देशको नेतृत्व गर्ने उद्देश्यका रूपमा प्रस्तुत गर्न खोज्नुभएको छ । दक्षिणी छिमेकी र एक पटकको सबैभन्दा ठोस मित्रदेशलाई कार्नीले क्यानाडाले ‘अब विश्वास गर्न सक्दैन’ भन्नुहुन्छ ।

तर उहाँसँग धेरै लामो समयसम्म यो पद नहुन सक्छ ।क्यानाडाले अक्टोबरसम्ममा चुनाव गराउनु पर्छ तर केही हप्ताभित्रमा स्न्याप पोल हुनसक्छ । हालको जनमत सर्वेक्षणमा विपक्षी कन्जर्भेटिभहरूलाई थोरै मनपर्नेका रूपमा देखाएको छ ।

ट्रम्पले उठाउनुभएका खतराहरू निश्चित रूपमा चुनावी अभियानमा हावी हुनेछन् ।ट्रम्पको भन्सार शुल्क युद्धले क्यानाडा, मेक्सिको र चीनलाई उनीहरूले संयुक्त राज्य अमेरिकामा फेन्टानिल तस्करी वा अवैध आप्रवासन रोक्न पर्याप्त काम नगरेको आरोपमा लक्षित गरेको छ । क्यानाडाको सन्दर्भमा पनि सीमाले नगण्य तस्करी देखिन्छ ।

पुटिनले युद्धविराममा ट्रम्पलाई ‘अतिरिक्त’ सङ्केत पठाएको क्रेमलिनको भनाइ

रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा वासिङ्टनद्वारा प्रस्तावित युद्धविरामका बारेमा समकक्षी डोनाल्ड ट्रम्पलाई ‘अतिरिक्त’ सङ्केत पठाउनुभएको र सम्झौताको सम्भावनाका बारेमा ‘सावधानीपूर्वक आशावादी’ रहेको बताएको छ ।

अमेरिकी दूत स्टिभ विटकफले बिहीबार राति पुटिनलाई अमेरिकी–युक्रेनी योजनाको विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त विवरणले मस्को र किएभबीच तीन वर्षको लडाइँपछि ३० दिनको शत्रुताको विराम परिकल्पना गरेको छ ।

पुटिनले ट्रम्पलाई विटकफमार्फत ‘अतिरिक्त’ सङ्केतहरू प्रेषित गर्नुभएको र ट्रम्पलाई यी सन्देशहरूबारे जानकारी दिइएपछि दुई नेताले कुरा गर्नसक्ने क्रेमलिनले बताएको छ ।

“जब विटकफले सबै जानकारी राष्ट्रपति ट्रम्पलाई ल्याउनुहुन्छ, हामी कुराकानीको समय निर्धारण गर्नेछौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई भन्नुभयो, “यस्तो कुराकानी आवश्यक छ भन्ने सबै पक्षको बुझाइ छ ।”

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले फक्स न्युजसँगको अन्तर्वार्तामा विटकफको भ्रमणपछि अमेरिका ‘केही सावधानीपूर्वक आशावाद’ थियो भन्नुभयो ।

“सावधानीपूर्वक आशावादी हुनुका कारणहरू छन्”, वाल्ट्जको टिप्पणीमा टिप्पणी गर्दै पेसकोभले शुक्रबार भन्नुभयो, “अझै धेरै गर्न बाँकी छ, तर राष्ट्रपतिले राष्ट्रपति ट्रम्पको स्थितिसँग पहिचान गर्नुभएको छ ।”

पुटिनले बिहीबार युक्रेनसँग युद्धविरामको विचारलाई समर्थन गरेको बताउनुभयो तर उहाँले यसलाई कसरी कार्यान्वयन गरिनेछ भन्नेबारे ‘गम्भीर प्रश्नहरू’ रहेको र उहाँ ट्रम्पसँग छलफल गर्न चाहेको बताउनुभयो ।

युक्रेनलाई नाटोबाट प्रतिबन्धित गर्ने मस्कोको मागलाई सङ्केत गर्दै पुटिनले कुनै पनि सम्झौताले ‘दीर्घकालीन शान्ति’ सुनिश्चित गर्न चाहेको बताउनुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार प्रस्तावप्रति पुटिनको अनिश्चित प्रतिक्रियालाई ‘धेरै छली’ भनेर निन्दा गर्नुभयो भने जर्मनीले यसलाई ‘ढिलाइ गर्ने रणनीति’ भनेको छ ।

हात्ती मृत्युको समस्या समाधान गर्न रेल समय समायोजन गर्दै श्रीलङ्का

श्रीलङ्काका वन्यजन्तु र रेलवे अधिकारीहरूले शुक्रबार सात हात्तीको ज्यान जाने सबैभन्दा खराब वन्यजन्तु दुर्घटनापछि रातको समयमा रेलको ठक्कर कम गर्न समयतालिका समायोजन गर्ने लगायतका कम–प्राविधिक उपायहरूको शृङ्खलाको घोषणा गरेका छन् ।

यी उपायहरू फेब्रुअरी २० मा राजधानी कोलम्बोदेखि लगभग १८० किलोमिटर पूर्वमा रहेको हबरानाको एक वन्यजन्तु आरक्षण नजिकै एक एक्सप्रेस रेलले सात हात्तीलाई किचेपछि आएका हुन् । यो यस प्रकारको सबैभन्दा खराब दुर्घटना थियो ।

अधिकारीहरूले टापुको उत्तरी र पूर्वी क्षेत्रहरूमा हात्ती बसोबास गर्ने वन क्षेत्रहरूमा रेलवे ट्र्याकहरूको कमजोर खण्डहरू पहिचान गरेको र न्यूनीकरणका उपायहरू पहिले नै सुरु गरिसकिएको बताएका छन् ।

“हामीले ट्र्याकको दुवै तर्फका झाडीहरू सफा गर्न थालेका छौँ ताकि चालकहरूले झुण्डहरू नजिकै छन् भने स्पष्ट देख्न सकून्”, रेल्वे प्रवक्ता भिएस पोलवत्तागेले कोलम्बोमा पत्रकारहरूलाई भन्नुभयो ।

वन्यजन्तुसम्बन्धीे दुर्घटना हुने सम्भावना भएका क्षेत्रहरूमा रातमा कम रेलहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।अधिकारीहरूले ठक्कर कम गर्न राम्रो ब्रेकिङ क्षमता भएका पावर–सेट रेलहरू पनि तैनाथ गरिरहेका छन् ।

फेब्रुअरी २० को घटनामा कुनै यात्रु घाइते भएनन् तर लगभग एक दिनसम्म सेवाहरू अवरुद्ध भएका थिए ।

वन्यजन्तु संरक्षण निर्देशक मञ्जुला अमरारत्नले हात्तीहरू रेलबाट भाग्न खोज्दा तिनीहरू फस्नबाट रोक्न अधिकारीहरूले स्लिपरहरू (रेलमुनि समानान्तरमा बस्ने लगहरू) बीचको खाली ठाउँहरू पनि भर्न थालेको बताउनुभयो ।

“हामीले ट्र्याकहरू उज्यालो पार्न सौर्य ऊर्जा बत्तीहरू पनि प्रयोग गरिरहेका छौँ र ट्र्याकमा जङ्गली जनावरहरूको बारेमा चालकहरूलाई सचेत गराउने मोशन सेन्सरहरू स्थापना गर्ने प्रक्रियामा छौँ”, अमरारत्नले भन्नुभयो ।

अधिकारीहरूले तथ्याङ्क सङ्कलन गर्न थालेपछि विगत १७ वर्षमा रेलबाट एक सय ३८ वटा हात्ती मारिएको उहाँले जानकारी दिनुभयो ।

दुई हप्ताअघि सरकारले टापुमा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण एक दशकमा एक हजार एक सय ९५ जना मानिस र ती हजार चार सय ८४ जनावर मारिएको घोषणा गरेको थियो ।

श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पु¥याउनु अपराध हो । त्यहाँ अनुमानित सात हजार जङ्गली हात्ती छन् । हात्तीलाई बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वका कारणले आंशिक रूपमा राष्ट्रिय खजाना मानिन्छ ।

तथापि निराश किसानहरू आफ्ना बालीहरू लुट्ने र जीविकोपार्जन नष्ट गर्ने हात्तीहरूसँग सङ्घर्ष गर्दा हत्याहरू जारी छन् ।

धेरै हात्ती विद्युतीय झट्का, गोली र विष दिएर मारिएका छन् । कहिलेकाहीँ जनावरहरूलाई अङ्गभङ्ग गर्नका लागि विस्फोटक पदार्थले भरिएका फलहरू प्रयोग गरिन्छ, जसको परिणाम प्रायः पीडादायक मृत्यु हुने गर्छ ।

नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी अगाडि बढेका छौँ : उपप्रधानमन्त्री सिंह

तानसेन (पाल्पा), १ चैत : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी आफ्नो मन्त्रालय अगाडि बढेको बताउनुभएको छ । उहाँले सबैभन्दा धेरै प्रभाव पर्ने र सहज हुने सहरको पहिचान गरी तिनीहरूलाई व्यवस्थित गर्नेगरी मन्त्रालयले काम अगाडि बढाएको बताउनुभयो ।

आज नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता सिंहले अघिल्ला सरकारहरूले समेत अगाडि सारेको सहरी योजनालाई पूर्णता दिन आफूहरूले मन्त्रालयमा परामर्श गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्रले धान्न सक्नेगरी बढीसे बढी काम गर्ने गरी हामी अगाडि बढेका छौँ ।”

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले नागरिकका पक्षमा केन्द्रित रहँदै आशा जगाउने काम गरिरहेको पनि बताउनुभयो । उपप्रधानमन्त्री सिंहले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधारमा सरकार योजना बनाएर अघि बढिरहेको उल्लेख गर्नुभयो । स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेकाले देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उहाँले दाबी गर्नुभयो ।

लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उहाँले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग सम्बोधन गर्दै गएको छ, नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बहुमत प्राप्त गरेरमात्र सरकार स्थिर नरहने भन्दै नेताहरूले चरित्र परिवर्तन गर्न जरूरी रहेको बताउनुुभयो । उहाँले कांग्रेस महाधिवेशन हुने/नहुने तल्लो तहमै निर्भर रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वडा, टोल समितिबाटै काम भए मात्र पार्टीको महाधिवेशन हुन्छ नत्र हुन्न ।” नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जनतामा निराशा छाएकाले त्यसलाई चिर्न कांग्रेसको काधमा जिम्मेवारी आएको बताउनुभयो ।

कांग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले जनतामा असन्तुष्टि पैदा भएकाले त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । “हामी सधैँ भुइँमान्छेको जिम्मेवारी लिएर काम गरेका छौँ तर केन्द्रीय नेतृत्वका कारण साथीहरूको मनोबल गिरेको छ”, उहाँले भन्नुभयो ।

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

जनकपुर, १ चैत : मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ ।

जनकपुरधामको अनुमान गढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन् । मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य रूपमा अन्तरगृह परिक्रमामा सहभागी हुनुपर्ने चलन रहेकाले अन्तरगृह परिक्रमामा सहभागी भएर घर फर्केको हो ।

परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए । परिक्रमाका तीर्थयात्रीहरूले नेपालका एक सय सात र भारतको २६ गरेर एक सय ३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा तय गर्ने गरेको छ ।

जलविद्युत् आयोजनाले मुआब्जा नदिएको जग्गाधनीको गुनासो

खोटाङ, १ चैत : केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत् आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरूको जमिन उपयोग गरेबापत मुआब्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं ६ दिप्सुङ र वडा नं ७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत् आयोजना सञ्चालन गर्ने तीनवटा हाइड्रोपावर कम्पनीबाट मुआब्जा नपाएको गुनासो गरेका हुन् ।

रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मिड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले फरक–फरक तीनवटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् विसं २०७७ भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो ।

जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइप लाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले हालसम्म पनि पाउन नसकेपछि चरणबद्ध आन्दोलन सुरु गरिएको निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँपालिकाका संयोजक माइतीराज राईले बताउनुभयो । “रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीलाई क्षतिपूर्ति दिएको छैन । उनीहरूले स्थानीय जनता ठगेका छन्”, उहाँले भन्नुभयो, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समेत जानकारी गराएका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । यही चैत ३ गतेभित्र जग्गाधनीलाई मुआब्जा नदिएको खण्डमा चैत ४ गतेदेखि आयोजनाको काम नै बन्द गर्छौँ ।”

निर्माणाधीन जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइनले बाक्सिलाका ३८ जनासहित ४९ जनाको जग्गा प्रयोग गरेको छ । जलविद्युत्को पोल र तार टाँग्ने क्रममा स्थानीयको करिब पाँच हजार २०० मिटर जग्गाको प्रयोग भएको सङ्घर्ष समितिले जानकारी दिएको छ ।

यस्तै, पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४ जना, बाक्सिलाका दुई जना र दिप्सुङका एक जनाको ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर, हालसम्म पनि मुआब्जा नदिएको जग्गाधनीको गुनासो छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्नेगरी पाइपलाइनको काम सुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यन्वयन नभएको सङ्घर्ष समितिका संयोजक राईले बताउनुभयो ।

यस्तै, रावा इनर्जी डेभलपमेन्ट प्रालिले खोलामा १० प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिले जनाएको छ । दुई दशमलव पाँच मेगावाट विद्युत् उत्पादनको तयारी गरेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेशविपरीत कृष्णमाया खत्रीको जग्गामा पाइपलाइनको काम गरिरहेको पाइएको छ ।

निर्माणाधीन अवस्थामा रहेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले विद्युत् उत्पादनको प्रक्रिया पूरा नगरी छ कित्तामा रहेको तीन सय ८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी ऊर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावरहाउस बनाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

सङ्घर्ष समितिले गत फागुन–७ गते जग्गाधनीलाई जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दिनका लागि रावा इनर्जी डेभलपमेन्ट र हलेसी ऊर्जा कम्पनीको ध्यानाकर्षण गराएको थियो । गाउँपालिकाका सातवटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जग्गाधनीसहित बसेको सर्वपक्षीय बैठकको निर्णयानुसार सङ्घर्ष समितिले हाइड्रोपावर कम्पनीसँग जग्गाधनीको तर्फबाट माग राखेको हो ।

सर्वपक्षीय भेलामा जग्गा धनीले ट्रान्समिसन लाइन विस्तार गर्ने क्रममा जलविद्युत् आयोजना प्रयोग गरेको जग्गाको प्रतिमिटर रु पाँच हजारका दरले क्षतिपूर्ति दाबी गर्ने निर्णय गरेको छ । यही चैत ३ गतेसम्ममा आफूहरूको माग सम्बोधन नभए चैत ४ गतेदेखि जलविद्युत् आयोजनाको काम नै बन्द गराउने सङ्घर्ष समितिले चेतावनी दिएको छ ।

सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन

काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भुसालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।

समितिमा मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, नेपाल मेडिकल काउसिन्सलका रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्यसचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्यसचिव रहनेगरी तोकिएको छ ।

इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो । सोहीअनुसार सम्झौताका लागि समिति गठन भएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्ने बताए ।

उनले भने, ‘दुवै देशका मेडिकल काउन्सिलका मापदण्ड अध्ययन गरेर द्विपक्षीय सम्झौता तथा अन्त्यमा मन्त्रालयहरूबीच औपचारिक हस्ताक्षर गर्ने वातावरण तयार गर्न समितिलाई कार्यादेश दिइएको छ । यससँगै अन्य सार्क राष्ट्रका विद्यार्थीलाई समेत अध्ययन गर्ने वातावरण तयार हुनेछ ।’

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

नौमुले (दैलेख), १ चैत: भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो ।

राप्रपा युवा संगठनको हेटौंडा अध्यक्षमा देवकोटा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा नगरको अध्यक्षमा प्रकाश प्रसाद देवकोटा चयन भएका छन् ।

संगठनको शुक्रबार मकवानपुरको हेटौंडामा सम्पन्न नगर अधिवेशनले देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्ष डेविट श्रेष्ठ, सचिव दिक्षान्त खड्का चयन भएका छन् भने कोषाध्यक्ष पछि निर्वाचित गरिने भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बिनय थापा, कृष्ण केसी, दिपेश राना मगर, रमेश लामा, किशोर श्रेष्ठ, जित सिं भण्डारी चयन भएका छन् ।

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा १३ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, १ चैत : जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।


समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले जनाएको छ । उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादका कारण भएको बन्दलगायत कारण यो वर्ष सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्छ । स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ ।

मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

मलङ्गवा (सर्लाही), १ चैत: जिल्लाको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।


बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिनुुभयो । घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उहाँले बताउनुभयो ।

एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ
यसैबीच आज यहाँ मनाइँदै गरेको होलीपर्वलाई लिएर विषेश सुरक्षा सतर्कता अपनाइएको सर्लाहीका प्रहरी उपरीक्षक रबिहन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन अपिल गर्दै उहाँले नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको लागि ठाउँठाउँमा प्रहरी टोली जाँचका साथै मोबाइल गस्ती टोली खटाइएको बताउनुभयो ।

दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

काठमाडौँ, १ चैतः विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।सञ्चालनका लागि अग्निहोतृ नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोतृशाला बन्द थियो । पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सो सञ्चालनमा रहेको थियो । संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुनःसञ्चालन गर्न लागिएको सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

अग्निहोतृको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । अग्निहोतृशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ ।

विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोतृले अग्निहोतृशाला सञ्चालन गरिरहेका थिए । गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि विगत दुई वर्षदेखि बन्द भएको हो । अग्निहोतृ परिवारकी डा माया गौतम पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोतृशाला नियमित सञ्चालन हुँदै आएको बताउनुहुन्छ । यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उहाँले सुनाउनुभयो ।

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त

काठमाडौँ, १ चैतः परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उहाँलाई नियुक्त गर्नुभएको हो । डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गर्नुभएको छ ।

यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसक्नुभएकी डा पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

संविधान संशोधनको विषयलाई नकारात्मक ढङ्गले हेर्नुहुँदैनः उपाध्यक्ष घिमिरे

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् । विसं २०४७ मा अखिल नेपाल महिला सङ्घ हुँदै राजनीतिमा प्रवेश गरेकी उपाध्यक्ष घिमिरे २०६८ मा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६ मा पार्टी जिल्ला कमिटी उपसचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरिसकेकी छन् ।

उपाध्यक्ष घिमिरेसँग राष्ट्रियसभाको सदस्य र उपाध्यक्ष हुँदाको अनुभव, राष्ट्रियसभाका गतिविधि, संविधान कार्यान्वयनको अवस्था र संशोधन, नीति निर्माणमा महिलाको सहभागिताको अवस्था र रोजगारी सिर्जनालगायत मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईं अहिले राष्ट्रियसभाको उपाध्यक्ष हुनुहुन्छ । राष्ट्रियसभाको उपाध्यक्ष भएर काम गर्दाको तपाईंको अनुभव कस्तो रह्यो ?

राष्ट्रियसभाको उपाध्यक्ष भएको एक वर्ष भयो । सांसद मात्रै हुँदा संसद्को आकस्मिक समय, शून्य समय र विशेष समयमा जनताका सवाललाई उठाउन पाउँथे । विधेयकमा संशोधन हाल्न पाउँथे । तर, उपाध्यक्ष भएपछि ती काम गर्न पाएकी छैन । उपाध्यक्ष भएपछि सङ्घीय संसद् कसरी चल्छ, संसद्को व्यवस्थापनको पाटो, अधिवेशन सञ्चालनको विषयमा बढी ध्यान दिने गरेकी छु ।

राष्ट्रियसभाको भूमिका के रहेछ, के देख्नुभयो ?

राष्ट्रियसभाको भूमिकाको विषयमा पछिल्लो पटक प्रतिनिधिसभामा केही टीकाटिप्पणी भएको देखियो । तर उहाँहरुले राष्ट्रियसभाको भूमिकाको विषयमा बिनाअध्ययन बोलिरहनुभएको छ जस्तो लाग्छ । हामी राष्ट्रियसभाका सदस्य पनि जनताका प्रतिनिधिबाट निर्वाचित भएका हौँ । राष्ट्रियसभा पालिका र प्रदेशप्रति बढी उत्तरदायी हुन्छ । त्यसकारण पनि सङ्घीयता कार्यान्वयनमा राष्ट्रियसभाको ठूलो भूमिका हुन्छ । प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलन समेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गको रुपमा परिकल्पना गरेको छ । सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराइ समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभाको आवश्यकता छ । प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित आठ जना गरी निर्वाचित ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना हुन्छन् । राष्ट्रियसभाको मुख्य काम भनेको विज्ञ सेवा प्रदान गर्ने, कानुन बनाउने, सरकारलाई उत्तरदायी बनाउने, नियमन र निर्देशन गर्ने र संसदीय सुनुवाइ गर्ने हो । यो विषयलाई सबैले अध्ययन गर्न जरुरी छ । बिना अध्ययन गलत प्रचार गर्नुहुँदैन । ३५ वर्ष उमेर पुगेको व्यक्ति मात्रै राष्ट्रियसभामा आउन पाउँछ । त्यसैले पनि राष्ट्रियसभा परिपक्व व्यक्तिहरुको सभा हो । विधेयकहरु राष्ट्रियसभामा पनि दर्ता हुन सक्छ, प्रतिनिधिसभामा पनि दर्ता हुन सक्छ । कानुन निर्माणमा राष्ट्रियसभा र प्रतिनिधिसभाको उत्तिकै भूमिका हुन्छ । एउटा कुरा, यदि राष्ट्रियसभाले समयमा विधेयक पारित गरेन भने प्रतिनिधिसभाले मात्रै पनि पारित गर्न सक्छ । त्यसैलाई हेरेर प्रतिनिधिसभाका सांसदले राष्ट्रियसभालाई कमजोर आँकलन गर्नुभएको जस्तो लाग्यो । जुन गलत छ ।

पछिल्लो सयममा राष्ट्रियसभाले के काम गरिरहेको छ ?

पछिल्लो यो अधिवेशनमा दैनिकजसो राष्ट्रियसभाको बैठक बस्दै आएको छ । योबीचमा राष्ट्रियसभाले ‘कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘मिडिया काउन्सिल विधेयक २०८०’ सहित तीन वटा विधेयक पारित गरेको छ । ‘तिलगङ्गगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथिको छलफल चाँडै सुरु हुँदैछ । राष्ट्रियसभामा छ महिनाभन्दा बढी विधेयक राख्न पाइँदैन । यो हाम्रो विनियमावलीमा व्यवस्था गरिएको छ । अहिले राष्ट्रियसभामा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८९’ दर्ता भएको छ । त्यसमाथि दफावार छलफल भइरहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, बाढी, पहिरो, भूकम्प, महँगी, विकास निर्माण लगायत जनताका समसामयिक विषयमा समेत सभाका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराइराख्नुभएको हुन्छ ।

राष्ट्रियसभाअन्तर्गतका समितिहरुले गरिरहेका कामको प्रभावकारिता कस्तो छ ? ती समिति कति सक्रिय छन् ?

पछिल्लो समयमा राष्ट्रियसभाअन्तर्गतका चारवटै समितिले अझै सक्रियता बढाएका छन् । विधायन व्यवस्थापन समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्री अनिवार्य बोलाउनुपर्छ । चारवटै समितिले अहिलेसम्म विधेयक अड्काएर राखेका छैनन् । सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा रायसल्लाह दिन राष्ट्रियसभामा संविधानको धारा ९७ बमोजिम विधायन व्यवस्थापन समितिको गठन भएको हो । यो समितिले आफ्नो अधिकारभित्र रहेर सक्रियताका साथ काम गरिरहेको छ । त्यसैगरी ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ ले पनि राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण, राजनीतिक, वित्तीय तथा प्रशासनिक सङ्घीयता, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोत, सामाजिक न्याय, मानव अधिकार र परराष्ट्र सम्बन्ध, सन्धिसम्झौताको कार्यान्वयनको क्षेत्रमा काम गरिरहेको छ । त्यसैगरी यो समितिले राष्ट्रिय सुरक्षा, संवैधानिक निकाय, श्रम रोजगार र उपभोक्ता हित, शान्ति प्रक्रिया, विपद् व्यवस्थापन, सामाजिक सदभाव, शिक्षा, स्वास्थ्य, समावेशीकरण, लैङ्गिक मामिला, पिछडिएको क्षेत्र, समुदाय तथा संस्कृतिसम्बन्धी विषय र सम्बद्ध निकायको क्षेत्रमा पनि सक्रियताका साथ काम गर्दै आएको छ । एउटा समस्या भनेको देशको आर्थिक अवस्था र हिजोका नियामावली विनियिमावली अनुसार काम गर्दै समितिमा रहेका सांसदहरु स्थलगत अनुगमनमा जान सकिरहेका छैनन् । त्यसको लागि पर्याप्त बजेटको व्यवस्था गर्न सकेका छैनौँ ।

संविधान जारी भएको करिब दश वर्ष पुगेको छ । संविधान कार्यान्वयनको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ ?

संविधानले परिलक्षित गरेका मूलभूत कामहरु कार्यान्वयन भइरहेका छन् । तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । संविधानको मौलिक हकमा रहेका कतिपय धाराअनुसार कानुन बन्न सकेका छैनन् । त्यसको कारण भनेको अस्थिर सरकार पनि हो । एउटा सरकारले विधेयक बनाएर ल्याउँछ, अर्को सरकारले त्यसलाई फिर्ता गरिदिन्छ । संविधान जारी भएपछि दुई पटकसम्म समयमै निर्वाचन हुनु भनेको पनि संविधान कार्यान्वयन हुनु हो । निर्वाचनमा समावेशिता लागू हुनु भनेको पनि संविधान कार्यान्वयन हुनु हो ।

संविधान संशोधनका बारेमा अहिले चर्चा र बहस चलिरहेको छ । संशोधनका विषयमा तपाईंको धारणा के छ ?

संविधान संशोधनको विषय सरकारले औपचारिक रुपमा अघि ल्याएको छैन । तर पनि संशोधन गर्ने विषय मधेसी समुदाय र महिलाबाट पनि उठेको छ । संविधान चलायनमान दस्तावेज हो । आवश्यकताअनुसार संशोधन गर्नुपर्छ । संशोधनको विषयलाई नकारात्मक ढङ्गले हेर्नुहुँदैन । संशोधन गरेर ‘महिलाको वा’ भन्ने शब्द हटाएर अनिवार्य उपस्थितिको व्यवस्था गर्नुपर्छ । संविधान संशोधन गरेर राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक जना महिला अनिवार्य गर्नुपर्छ । भावनात्मक रुपमा संविधानले महिलालाई प्राथमिकता दिएको देखिन्छ । तर विभिन्न चलखेलले गर्दा महिलालाई उपमै सीमित गरिएको छ । जस्तो, वडाध्यक्षमा महिला अनिवार्य छैन । अब संशोधन गरेर महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्छ । संशोधनको क्रममा महिलाको विषयमा पक्कै पनि छलफल हुनेछ ।

महिला सहभागिताको कुरा गर्दैगर्दा राज्यका नीतिनिर्माण तहमा महिलाको सहभागितालाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

विगतको तुलनामा संविधान जारी भएपछि महिलाको सहभागिता बढेको छ । संसदमा ३३ प्रतिशत महिलाको सहभागितालाई संविधानले नै सुनिश्चित गरेको छ । २०७९ सालको निर्वाचनपछि सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको सहभागिता छ । प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत सहभागिता छ ।

त्यसैगरी पछिल्लो तथ्याङ्क हेर्दा निजामती सेवामा करिब २८ प्रतिशत महिलाको प्रतिनिधित्व छ । तर संविधानले कति प्रतिशत महिलामन्त्री बनाउने भन्ने विषयमा बोलेको छैन । संविधानमा उल्लेख भएको विषय अनिवार्य रुपमा लागू भएको छ । जहाँ संविधान र कानुनले व्यवस्था गरेको छैन, त्यँहा लागू भएको छैन । महिलाको अधिकारको सवालमा अन्य देशको संविधान भन्दा नेपालको संविधान उत्कृष्ट छ । तर महिलाप्रतिको दृष्टिकोण परिवर्तन भएको छैन । महिला र पुरुष समान हुन् भन्ने कुरा राजनीतिक र कानुनी कुरा मात्रै नभएर मूल्यमान्यता, परम्परा र धर्मसंस्कृतिसँग पनि जोडिएको विषय हो ।

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

सुशासनको निम्ति सुशासनसँग जोडिएका ऐन कानुनलाई कडाइका साथ लागू गर्नुपर्छ । हामीकडाँ बाहिर मिडियामा देखाउँदा ठूलाठूला भ्रष्टाचारका विषयलाई मात्रै देखाइन्छ । कर्मचारीले काममा ढिलाइ गर्नु, समयमा जनतालाई सेवाप्रवाह नगर्नु पनि भ्रष्टाचार हो । जनप्रतिनिधि र कर्मचारीको बीचमा धेरै अन्तर छ । यो अन्तरले भ्रष्टाचार बढाउने विषयमा झन मलजल गरेको छ ।

पछिल्लो समय अध्ययनको सिलसिलामा वा रोजगारीका निम्ति नेपाली युवा विदेशिनेक्रम बढ्दै गएको छ । युवा पलायनलाई कसरी रोक्न सकिन्छ होला ?

हामीले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेकै कारणले ठूलो सङ्ख्यामा युवा विदेशिन बाध्य भएका हुन् । तर पैसा नभएका कारणले मात्रै युवा पलायन भएका छैनन् । स्थायी जागीरेहरु पनि त्यो छाडेर विदेश जाने गरेका छन् । यसलाई हामीले अन्तरराष्ट्रियकरण भएको भनेर बुझ्नुपर्छ । कोही अध्ययनको सिलसिलामा जाने गरेका छन् । मुख्य कुरा श्रम गर्न जाने युवाको लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।

गुलाम अली शनिबार ललितपुरमा गुञ्जिने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बीहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।

नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । उनले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकीर गरे। उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई । मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र भगवानको कृपा छ ।’

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए ।अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ ।

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १५ वटा अस्पताल बन्द गर्न निर्देशन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल र अन्य निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका छन् ।

बिहीबार साँझ अनुगमनक्रममा १९ मध्ये अवैध र अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिएका छन् ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएपछि मुख्यमन्त्री सिंहले खाना खुवाउने क्यान्टिन नै परिवर्तन गर्न प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रादेशिक अस्पतालका आकस्मिक कक्षका लागि निर्धारित जनशक्ति पूर्णतामा परिचालन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकका नाम मेटाउन पनि निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिँहले अस्पताल अनुगमन गरिरहेको हल्ला फिजिएपछि मलंगवा बजारका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक तथा कर्मचारी फरार भएका थिए ।

‘चार–पाँच बाहेक सबै निजी स्वास्थ्य संस्थामा ताल्चा लागेको पाइयो, तीमध्ये तीनवटासँग मात्र नवीकरण नभएका सेवा सञ्चालन अनुमतिपत्र फेला परे,’ स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले भने ।

अनुगमनक्रममा जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णका अनुसार मलंगवास्थित मैक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिक, इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिइएको छ ।

बिहीबारको अनुगमनसँगै मुख्यमन्त्री सिंहले जनकपुरधाम, महोत्तरीको बर्दिवास, सर्लाहीको हरिवन, रौतहटका चन्द्रपुर र गरुडा, पर्साको वीरगन्जसहितका ठाउँमा ११४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । अनुगमन ७३ वटा निजी स्वास्थ्य संस्थालाई बन्द गर्ने निर्देशन दिइएको छ । २३ वटालाई नवीकरण गर्ने दिइएको छ भने १५ वटा अस्पताल सञ्चालन अवैध रहेको पाइएको छ ।

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौँ, १ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उहाँका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

“लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,” स्रष्टा क्षेत्री र उहाँको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ ।
साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३  वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गएराति गुवाहाटीमा निधन भएको साहित्यिक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी दिए ।

‘बसाइँ, अतृप्‍त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेरै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु १२०, परबर (तराई) प्रतिकिलो रु १६०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १६०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार

तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको विरोधमा इरानले बिहीबार बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञलाई सोधपुछका लागि पत्राचार गरेको छ ।

संयुक्त राज्य अमेरिकाको एकपक्षीय दृष्टिकोणअनुरूप भएको यो बैठकलाई ‘उत्तेजक र राजनीतिक’ पूर्वाग्रहबाट आएको धारणा भन्दै विज्ञप्तिमा बैठकको ‘कुनै प्राविधिक वा कानूनी औचित्य’ नभएको उल्लेख गरिएको छ ।

इरानको आणविक कार्यक्रमसम्बन्धी बुधबारको बैठकमा अमेरिकी मिसनले ‘निर्लज्ज व्यवहार’ गरेको आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको पछिल्लो प्रतिवेदनलाई लिएर परिषद्का केही सदस्यराष्ट्रले बैठकका लागि अनुरोध गरेका थिए ।

इरानले आफ्नो अत्यधिक सम्वद्र्धित युरेनियमको भण्डार ६० प्रतिशत शुद्धतामा वृद्धि गरेको छ, जुन आणविक बमका लागि आवश्यक ९० प्रतिशत को हाराहारीमा छ ।

इरानको विदेश मन्त्रालयले भनेको छ, “संयुक्त राज्य अमेरिकासँग उनीहरूको संलग्नताको विरोधमा र इरानको शान्तिपूर्ण आणविक कार्यक्रमबारे प्रत्यक्ष सोधपुछका लागि तीनै जना कूटनीतिक प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयमा बोलाइएको थियो।

सन् २०१५ मा इरानले बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकासँग आफ्नो आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौता गरेको थियो।

सन् २०१८ मा ह्वाइट हाउसको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानसँगको सम्झौताबाट पछि हट्नुभएको थियो र पुनः कडा प्रतिबन्ध लगाउनुभएको थियो ।

गत जनवरीमा ह्वाइट हाउस फर्केपछि राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गर्नुभएको छ तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्ध जारी रहन्छ तबसम्म त्यस्तो सम्झौता सम्भव नभएको बताएको छ ।

चीनले रुस र इरानसँग यसै साताको अन्त्यमा त्रिपक्षीय आणविक वार्ता गर्ने बुधबार जनाएको थियो ।

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइ सकारात्मक

इजिप्ट, जोर्डन, हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ बताएको बिहीबारको भनाइलाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन् ।

ट्रम्पको टिप्पणीले प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँका जनसङ्ख्यालाई छिमेकी देशहरूमा विस्थापित गर्ने उहाँको व्यापक आलोचना गरिएको प्रस्तावबाट पछि हट्ने सङ्केत गरेको देखिन्छ । यद्यपि, यसको व्याख्याबारे तत्काल थप स्पष्ट भएको छैन।

प्यालेस्टिनीलाई गाजाबाट निकाल्ने योजनाबारे आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँग छलफल भइरहेको छ कि छैन भनेर सोधिएको एक पत्रकारको प्रश्नको खण्डन गर्दै ट्रम्पले भन्नुभयो, “कसैले पनि प्यालेस्टिनीलाई देश निकाला गर्दैन।”

अमेरिका र कतारसँगै हमास र इजरायलबीचको युद्धविराम वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले ‘गाजा क्षेत्रका बासिन्दाहरूलाई वस्ती छोड्न माग नगर्ने सम्बन्धमा’ अमेरिकी राष्ट्रपति ट्रम्पको वक्तव्यको प्रशंसा गरेको छ ।

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “ट्रम्पको वक्तव्यलाई ‘सकारात्मक दिशा’ हो । यसलाई शान्तिका लागि प्रयास अघि बढाउनका लागि प्रयो गरिनुपर्छ ।”

जोर्डनले ‘अमेरिकी राष्ट्रपतिको बुधबारको टिप्पणी’ को स्वागत गर्दै दुई–राज्य (प्यालेस्टिनी र इजरायली) समाधान र ‘न्यायपूर्ण र दिगो शान्ति हासिल गर्ने महत्वलाई जोड दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको सरकारले प्यालेस्टिनी राज्यको दर्जा अस्वीकार गरेको छ ।

नेतन्याहूको भ्रमणका क्रममा ट्रम्पले युद्धग्रस्त गाजाबाट २० लाखभन्दा बढी पालेस्टिनीलाई विस्थापित गर्ने विचार अघि सार्नुभएको थियो ।

इजिप्ट र जोर्डनले उक्त प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले सोही महिनाको अन्त्यतिर उक्त योजनालाई ‘जबरजस्ती नगर्ने’ बताउनुभएको थियो ।

हमासका प्रवक्ता हाजेम कासिमले पनि ट्रम्प गाजाका लागि अमेरिकी प्रस्तावबाट ‘स्पष्ट रूपमा पछि हटेको बताउनुभएको छ ।

“गाजाका बासिन्दालाई देश निकाला नगर्ने ट्रम्पको अभिव्यक्ति स्वागतयोग्य छ,’ उहाँले एएफपीसँग भन्नुभयो ।

गाजाबारे ट्रम्पको विचारको अमेरिकी सहयोगीहरूले पनि आलोचना गरेका थिए ।

त्यसपछि अरब राष्ट्रहरूले प्यालेस्टिनी प्राधिकरणको भावी प्रशासनअन्तर्गत गाजा पट्टीको पुनर्निर्माण गर्ने योजनाका साथ प्रतिवाद गर्दै आएका छन्।

‘प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन’का महासचिव हुसेन अल–शेखले लेख्नुभएको छ, “अमेरिकी राष्ट्रपतिले गाजा पट्टीका बासिन्दालाई आफ्नो मातृभूमि छोड्न आवश्यक छैन भन्ने पुष्टि गर्नुभएको अभिव्यक्तिको हामी सराहना गर्दछौँ ।”

इजिप्टको नेतृत्वमा रहेको अरब लिगले अघि सारेको पुनर्निर्माण योजनालाई आफूलाई ‘मुस्लिम विश्वको सामूहिक आवाज’ भन्ने ५७ सदस्यीय इस्लामिक सहयोग सङ्गठनले अङ्गीकार गरेको थियो ।

सोल्मा वडाकप पुरूष फुटबल प्रतियोगिताको उपाधि महादेवस्थानलाई

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तरवडास्तरीय पुरूष फुटबल प्रतियोगिता–२०८१’ को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महहादेवस्थानले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेलमैदानमा सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि प्राप्त गरेको हो ।

प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निकै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरूद्ध कुनै पनि गोल फर्काउन नसक्दा उपाधि चुम्नबाट चुकेको हो ।

प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले रू एक लाख ३३ हजार तीन सय ३३ तथा उपविजेता केएफएले नगद रू ७१ हजार एक सय ११ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका सेमी फाइनलिष्ट दुई टिम आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले जनही रू ३५ हजार पाँच सय ५५ नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कारअन्तर्गत पाँचौँ संस्करणको प्रतियोगिताको बेस्टप्लेयर घोषित महादेवस्थानका भुवन श्रेष्ठले रू पाँच हजार पाँच सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । जिल्लाका विभिन्न १२ वटा वडाका खेलाडी सहभागी प्रतियोगितामा महादेवस्थानका श्रेष्ठ बेस्ट प्लेयर घोषित हुनुभएको हो ।

प्रतियोगिताका बेस्ट गोलकिपरमा महादेवस्थानका कुसन राई, बेस्ट डिफेन्डरमा सोल्माका आशिष राई, बेस्ट मिडफिलडरमा केएफएका सोइसन राई, हाइस्कोररमा केएफएकै शैलेन्द्र बजिमय, राइजिङ प्लेयरमा केएफएकै सुलभ भुजेल र बेष्ट कोचमा महादेवस्थानका लोकेन्द्र केसी घोषित हुनुभएको छ । विद्यागत पुरस्कार विजेता खेलाडीलाई जनही रू तीन हजार तीन सय ३३ का दरले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता समापनका अवसरमा खेल क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार चिसाङ शेर्पालाई रू पाँच हजार पाँच सय ५५ नगदसहित ‘खेल पत्रकारिता पुरस्कार २०८१’ प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजयी टिम, खेलाडी तथा पत्रकारलाई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कोशी प्रदेश उपाध्यक्ष समिर राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईलगायतले पुरस्कार वितरण गर्नुभएको हो । सोल्माका पूर्वनिर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सोल्माका २० जना व्यक्तिलाई सो अवसरमा सम्मान गरिएको आयोजकले जनाएको छ ।

यही फागुन २४ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले औपचारिक उद्घाटन गर्नुभएको थियो । विसं २०७२ मा नगरकप सञ्चालन गरेको सोल्मा स्पोर्टस् क्लबले दोस्रो वर्षदेखि खुला पुरूष अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सञचालन गर्दै आएको छ ।

राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी चैत १ गते गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा आयोजना गरिने कार्यक्रमका लागि आवश्यक तयारी पूरा गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

पार्टी निकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुनेछ । शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् ।

पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर सङ्गठित सदस्य विस्तार तथा सङ्गठन थप सुदृढीकरण गर्ने राजनीतिक अभियान सञ्चालन गरिने छ । बाँकी रहेका वडा, क्षेत्र, जिल्ला, प्रदेशका अधिवेशन गरी कमिटी गठन गरिने जनाइएको छ । पार्टीले तल्लो कमिटीदेखि माथिल्लो तहका कमिटीका सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज साथै साङ्गठनिकलगायत अन्य दस्तावेज टुङ्ग्याउने उहाँले जानकारी दिनुभयो ।

दस्तावेज टुङ्गो लगाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदलसमेत गठन गरेको पार्टीले आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने जनाइएको छ ।

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

दमौली (तनहुँ), १ चैत : शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् ।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक धु्रव वाग्लेले जानकारी दिनुभयो । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा समेत विद्यार्थीले नौमती बाजा बजाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाएपछि विद्यार्थी नौमती बाजा बजाउन सक्ने भएका छन् । विद्यार्थीको प्रतिभा देखेर अभिभावक पनि दङ्ग छन् ।”

कक्षा ७ का विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा कक्षा ७ का विद्यार्थी सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा र कक्षा ८ का विद्यार्थी रूविन बैदास, अर्विन परियार र प्रसुन पौडेल रहेको तालबेँसी बाजा क्लब गठन भएको छ ।

सधैँ किताबमात्र पढ्ने र लेख्ने गर्दा सिर्जनशील हुन नसकेको बताउँदै विद्यालयले बाजा व्यवस्था गरेपछि आफूलाई आवश्यक पर्ने सामान्य कापी, कलम किन्ने खर्च व्यवस्थापनमा सहजता भएको बाजामा संलग्न विद्यार्थी अर्विन परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “सानैदेखि वाद्यवादन क्षेत्रमा रमाउने इच्छा विद्यालयले पूरा गराउन खोजेकामा विद्यालयलाई धेरै धन्यवाद दिन चाहन्छु ।”

आफू सानै उमेरमा सिर्जनशील हुन खोजेको बताउँदै वडामार्फत विद्यालयले बाजाको सेट उपलब्ध गराएपछि व्यावसायिकतर्फ अगाडि बढेको समूहका संयोजक सुकबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा पनि एक न एक काममा व्यस्त रहन्थे । हाल शुक्लागण्डकी नगरपालिका–९ ले बाजाको सेट उपलब्ध गराएपछि मलाई व्यावसायिकतातर्फ अगाडि बढ्ने बाटो खुलेको छ ।” विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दाबाहेक अन्य सवालमा नियमित बाजाको प्रयोग बढेको विकको भनाइ छ ।

विद्यालयको सेवा क्षेत्रमा दलित बस्ती बढी भएको र यो क्षेत्रको सम्भावना पनि बाजासँग सम्बन्धित लोक संस्कृतिको क्षेत्र फराकिलो भएको हुँदा बाजाको कार्यक्रमलाई प्राथमिकता दिइएको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको मागलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थी भाइबहिनीको क्षमतालाई प्रस्फुटन गर्न सहज हुने कार्यक्रमलाई वडा कार्यालयले महत्व दिएको छ । विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् । हामीले बनाउने योजना दीर्घकालीन हुनुपर्छ ।”

विद्यार्थी पहिचानको क्षेत्रलाई फराकिलो बनाउँदै विद्यार्थीको आफ्नो क्षमता उजागर गराउन विद्यालय प्रतिबद्ध रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता पहिचान गर्दै व्यावहारिक शिक्षातर्फ विद्यालय अगाडि बढेको उल्लेख गर्नुभयो ।

वडाको एकमात्र मावि भएको र विद्यालयको भौतिक, शैक्षिक एवं वातावरणीय पक्षको विकासका लागि स्थानीय सरकार तल्लीन रहेको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य कमल थापाले बताउनुभयो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अध्यापनका लागि बाजा अपरिहार्य रहेको र विद्यालय भनेको लोक संस्कृतिको जर्गेना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको हुँदा लोक बाजाको कार्यक्रम विद्यालयको लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कक्षा ६ देखि ८ सम्मका नौ जना विद्यार्थी भाइहरूको एक समूह छ जसले लोक बाजालाई सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा लिएको छ । विद्यालयको मात्र नभई शुक्लागण्डकी नगरपालिकाको विभिन्न कार्यक्रम र तनहुँ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटनसत्रमा पनि विद्यार्थी भाइहरूले कुशलतापूर्वक बाजा बजाई आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए ।”