`

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ, १ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै अमेरिकामा पढेर फर्किएका सुशील

म्याग्दी, १ चैत : मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो । मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गर्नुभएको छ ।

“हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए”, खड्काले भन्नुभयो, “जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।”

अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गर्नुभएको छ । खड्काको सातबिसेमा एक सय रोपनी पुख्र्याैली जग्गा छ ।

सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका सुशील सन् २०१५ मा नेपाल आउनुभएको थियो ।

कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उहाँलाई पुख्र्याैली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थाल्नुभएको हो ।

केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाउनुभएको छ । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गर्नुभएका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा हुनुहुन्छ । आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उहाँको योजना छ ।

“देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो”, खड्काले भन्नुभयो, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।”

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै

महोत्तरी, १ चैत : मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ । फागुन औँसीका दिन सुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन् ।

मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ । अहिले पञ्चकोशी परिक्रमाका यात्री जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपङ्क्ति देखिँदो छ । यो अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यस वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन् ।

मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन (जलाएर खरानी बनाउने) गरिने चलन छ । परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आपूmभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन् । यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ ।

अन्तरगृह यात्रामा मध्यमा परिक्रमामा सरिक हुन नसकेका सर्वसाधारण पनि सरिक हुन्छन् । मध्यमा परिक्रमा गर्न नसकेकाहरूले अन्तरगृहसम्म यात्रा गरे पनि पुण्य प्राप्त हुने मैथिल जनविश्वास छ । यसै विश्वासले आज महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँका सङ्ख्यामा सर्वसाधारण अन्तरगृह परिक्रमामा सरिक भएका छन् ।

मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार आज पर्व मनाउने तयारी छ । मध्यमा परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ । यसअनुसार मिथिला मध्यमा परिक्रमा पथभित्र भोलि शनिबार होली मनाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । निर्धारित वृत्तभित्रका १५ ठाउँ रात्रिविश्राम गरेर १६औँ दिन बिहान सम्पन्न गरिने मिथिला मध्यमा परिक्रमा यात्रा कल्याण र मोक्षको कामनासाथ गरिन्छ ।

अघि त्रेतायुगमा श्रीराम र सीताले मिथिलाका विभिन्न भेगको विहार गरेका ठाउँमा सो पदचाप पछ्याउँदै १८औँ शताब्दीमा मिथिला मध्यमा परिक्रमा थालिएको विश्वास गरिन्छ । यद्यपि यसको समापनसम्म आइपुग्दा सत्ययुगमा राक्षसराज हिरण्यकशिपुले विष्णुभक्त छोरा प्रह्लादलाई मार्न गरेका अनेकौँ प्रयत्न विफल भएको कथावस्तु पनि जोडिएको मिथिला लोकपरम्पराका ज्ञाता एवं मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।

खासमा होलीपर्व प्रह्लादलाई मार्न अग्निले नडढाउने वरदान पाएकी आफ्नी बहिनी होलिकाको काखमा छोरालाई राखेर चितामा बसाइ आगो झोस्दा होलिका डढेर खरानी भएकी र पह्लाद भक्ति मुद्रामा सकुशल रहेका कथा रहेको उहाँ बताउनुहुन्छ । मध्यमा परिक्रमाको समापन र प्रह्लाद कथा यहाँ एउटै समय (फागुन पूर्णिमा) पर्दा दुवै कथावस्तु जोडिएका रायको भनाइ छ । यसमा मध्यमा यात्रा श्रीराम सीताको पदचाप पछ्याउन र फागुपर्वचाहिँ प्रह्लाद बचेर राक्षसी प्रवृत्ति अन्त्य भएको खुसीमा मनाइने परम्परा बसेको निष्कर्ष निकाल्न सकिने रायसहितका पाका मैथिल बताउँछन् ।

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु, १ चैतः हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ ।

जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ”, शेर्पाले भन्नुभयो ।

ओपिडीका बिरामीलाई पनि अक्सिजन

अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । “अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, डा रामबाबु जोशीले भन्नुभयो ।

भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताउनुभयो । स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ ।

दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।

भवन सुविधासम्पन्न, जनशक्ति अभाव

साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।

कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताउनुभयो । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ । हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको रु २१ करोड २१ लाखको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

यस वर्ष को बन्लान् महामूर्ख ? यसरी छनोट गरिन्छ महामूर्ख ?

धनुषा, १ चैत : कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ ।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।

होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् (मिनाप) यसका आयोजक हुन् । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्गात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ ।

मिथिला ना्यय कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । आपसी भाइचाराका रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दूसँगै मुस्लिम युवाहरूले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।

मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरू गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न फागुन २९ गते (बिहीबार) र आज चैत १ गते दुई दिवसीय होली महोत्सव आयोजना गरिएको बताउनुभयो । पहिलो दिन होरी अर्थात् फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी भएको मिनापका महासचिव मल्लिकले बताउनुभयो ।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्त्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन छ ।

यस्तो छ सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ वीरगन्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।

यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा बताउनुहुन्छ, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो ‘कन्सेप्ट’ आएको थियो ।” समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले ठूलो भूमिका खेल्ने गर्छ झाले थप्नुभयो । वीरगन्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले)का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगन गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो भने २०८० को महामूर्खको उपाधि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो ।

यसरी छनोट गरिन्छ महामूर्ख ?

महामूर्खको छनोट कसरी हुन्छ भन्ने विषय धेरैको उत्सुकताको विषय हुनसक्छ । यस कार्यका लागि धेरै मेहेनत गर्नुपर्छ, धेरै दिमाग खियाउनुपर्छ आयोजकहरू बताउनुहुन्छ । महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्य कला परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर बताउनुहुन्छ, “महामूर्ख छनोटका लागि तयारी आयोजनासँग खोजी सुरू भइहाल्छ । यसका लागि एक कमिटी गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । केही व्यक्ति महामूर्ख बन्नका लागि कम्मर कसेर लागेको हुन्छ ।”

जनकपुरधामको स्थानीय पत्रिकाहरू एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाउँछन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य राजेश कर्ण भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई मिडियाले क्यास नगर्ने कुरै आउँदैन । फेरि मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढ्ने गर्छ । सामान्यतः धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ ? तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपालि म महामूर्ख बनु ।”

विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि हो, प्रेमले मानिस हरेकथोक अर्थात् विष पनि पिउने गरेको इतिहास छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।”

यस वर्ष को बन्लान् महामूर्ख ?

मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकाङ्क्षीको नाम चर्चामा छ ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न सांसद तथा समाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छनोट समितिले लगभग सबै तयारी गरिसकेको छ, अब आज हुने महामूर्ख सम्मेलनमा नै नाम घोषणा गरिन्छ, अहिले यसलाई रहस्यमै राख्नु उचित हुन्छ ।”

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नवलपरासीसहित तराई तथा मधेसमा आज होली मनाइँदै

मध्यविन्दु (नवलपरासी), १ चैतः रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।

मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।

सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताउनुभयो । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ ।

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूृर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

“अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ”, उहाँले भन्नुभयो, “अपरिचित मान्छेसँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरून्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।”

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट लगाइएको करको बदलामा इयू मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २०० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तराष्ट्रिय प्रतिस्पर्धी र साझेदार मुलुकसमेत विरुद्ध व्यापार युद्ध सुरु गर्नुभएको छ । व्यापार र अन्य नीतिगत मुद्दाहरूमा देशहरूलाई दबाब दिने उपकरणको रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आउनुभएको छ ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले यूरोपेली मदिराजन्य आयातमा नयाँ करवृद्धिको घोषणा गर्नुर्भको हो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा बिहीबार लेख्नुभएको छ, “यदि यो कर वृद्धि तत्काल हटाइएन भने अमेरिकाले चाँडै नै फ्रान्स र अन्य इयकोू प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, शैम्पेन र मदिराजन्य उत्पादनमा २०० प्रतिशत कर लगाउनेछ।”
ट्रम्पले अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत करलाई ’नराम्रो’ भन्दै समूहको कडा आलोचना गर्नुभएको छ ।

उहाँले इयू राष्ट्रलाई ‘विश्वको सबैभन्दा शत्रुतापूर्ण र अपमानजनक कर लगाउने र राजश्व उठाउने मुलुकहरूमध्ये एक’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाबाट फाइदा लिने एकमात्र उद्देश्यको लागि इयूको गठन भएको थियो।”ट्रम्पको पछिल्लो घोषणापछि फ्रान्सले वाइन र मदिराजन्य सामानमा लगाइएको कुनै पनि करको प्रतिकार गर्ने बताएको छ ।विदेश व्यापार मन्त्री लोरेन्ट सेन्ट मार्टिनले भन्नुभयो, “हामी चेतावनीको अगाडि झुक्ने छैनौँ । फ्रान्स ‘प्रतिकार गर्न कटिबद्ध’ रहेको छ ।”

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन् । उनीहरूलाई यही फागुन २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

योसँगै उक्त घटनामा हालसम्म पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित आठजना पक्राउ परेका थिए ।

गत माघ २७ गते राति शौच गर्न निस्केकी सदा सामूहिक बलात्कारमा परेकी थिइन् । माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । माघ ३० गते साँझ रिङ्कु आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक

काठमाडौँ, २९ फागुनः गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ । घरपरिवार तथा गाउँघरको माया तथा परदेशी जीवनको कथा समेटिएको गीतमा बी पाण्डेको शब्द, बिपी वाग्लेको सङ्गीत र भद्र ओलीको एरेञ्ज रहेको छ ।

एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतमा चन्द्र चौधरीले मिक्सिङ गर्नुभएको छ । पार्वती चापागाईंको निर्देशन र शीतल वाग्लेको सह–निर्देशन रहेको गीतको भिडियोमा मदन सिलवाल, राजा राजपुत, सुरज खाती, दीपकराज कालीराजको अभिनय छ । भिडियोको छायाङ्कन धर्म मानन्धर र सम्पादन निराजनसिंह ठकुरीले गर्नुभएको छ । गीत मिसन इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा

झापा, २९ फागुन: चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्चब्वाइज युनाइटेड फाइनलमा पुुगेको हो ।

चर्चब्वाइज युनाइटेड यो जितमा अफ्रिकन खेलाडी अबयोमी फकुन्लेले ह्याट्रिक गरे । जितसँगै चर्च ब्वाइज युनाइटेडले शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्ने पक्का भएको छ । 

पहिलो हाफसम्म मच्छिन्द्रसँग ३–० ले पछाडि रहेको चर्चब्वाइज युनाइटेडले दोस्रो हाफमा रोमाञ्चक कमब्याक ग¥यो । उसका लागि ६१औँ मिनेटमा अबयोमी फकुन्लेले पहिलो गोल गरे । उनैले ६९औँ मिनेटमा थप एक गोल गर्दै खेललाई २–३ को अवस्थामा ल्याए । त्यसपछि ७८औँ मिनेटमा चर्च व्याइजका लागि रिचार्ड विल्सनले गरेको गोलपछि खेल बराबरीमा पुग्यो । खेलको ८७ औँ मिनेटमा फकुन्लेले गरेको ह्याट्रिक गोल नै जितका लागि पर्याप्त भयो ।  

त्यसअघि मच्छिन्द्रका लागि खेलको ३०औँ मिनेटमा विदेशी खेलाडी युसुफ मलिकले अग्रता दिलाएका थिए । साथै ४३औँ मिनेटमा एन्द्रेस नियालेले गोल थप्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । साथै ४४औँ मिनेटमा युसुफ मलिकले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेका थिए । 

प्लेयर अफ द म्याच अबयोमी फकुन्ले रु ११ हजार पाए । चर्चब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले २५ वर्षमा पहिलो पटक यति रोमाञ्चक पुनरागमन भएको प्रतिक्रिया दिए । 

प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसँगै ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार उच्च गोलकर्ताले रु २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले जनही रु २१ हजार र उदीयमान खेलाडीले नगद रु ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी

काठमाडौँ, २९ फागुन : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले लैङ्गिक समानताको प्राप्ति र महिला तथा बालिकाको सशक्तीकरण समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्यूयोर्कमा आयोजित महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९औँ सत्रमा बुधबार राष्ट्रिय वक्तव्य प्रस्तुत गर्दै मन्त्री सुडीले लैङ्गिक समानता दिगो र न्यायपूर्ण समाजको प्रवद्र्धनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । नेपालले विगत तीन दशकमा यस दिशामा गरेका महत्त्वपूर्ण प्रगतिलाई प्रकाश पार्दै भन्नुभयो, “नेपालको संविधानले सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । नेपालले सदैव लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई उच्च प्राथमिकता दिँदै आएको छ ।”

महिलालाई सशक्त बनाउन वित्तीय समावेशीकरण विस्तार गर्ने, सामाजिक सुरक्षा सुदृढ गर्ने, लैङ्गिक उत्तरदायी बजेटलाई अगाडि बढाउने, लैङ्गिक डिजिटल विभाजनलाई कम गर्ने, र लैङ्गिक–विश्लेषित तथ्याङ्कको सङ्कलन तथा उपयोगलाई बढाउनेलगायतका क्षेत्रमा रणनीतिक हस्तक्षेपको महत्त्वमा मन्त्री सुडीले जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई विद्यमान खाडललाई पुर्न र लैङ्गिक समानतालाई केवल एक आकाङ्क्षाका रूपमा नभई सबैका लागि जिवित यथार्थ बनाउन ऐक्यबद्धताको भावनाका साथ मिलेर काम गर्न आह्वान गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

मन्त्री सुडीले सिएसडब्लुको ६९औँ सत्रको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभएको थियो । सो बैठकमा उहाँले लैङ्गिक समानता र महिला सशक्तीकरण अभिवृद्धि गर्न नेपालका राष्ट्रिय संयन्त्रले गरेका कार्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले नेपालका कानुन र नीतिले आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा सबै प्रकारका लैङ्गिक भेदभाव उन्मूलन गरेर महिला सशक्तीकरण र लैङ्गिक समानताको प्रत्याभूति गरेको अवगत गराउनुभएको थियो ।

बालिका शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तीकरणमा कार्यक्रम तथा पहलमा लगानी बढाउन र सार्वजनिक तथा निजी वित्त परिचालन गर्न मन्त्री सुडीले आह्वान गर्नुभयो । सोही अवसरमा उहाँले युनिसेफद्वारा आयोजित ‘शक्ति र किशोरीः बालिकामा लगानी गरौँ, विश्व परिवर्तन गरौँ’ र खाद्य तथा कृषि सङ्गठन (एफएओ)द्वारा आयोजित ‘अधिकार–आधारित र लैङ्गिक–न्यायपूर्ण खाद्य सुरक्षा र पोषणतर्फः भोकमरी अन्त्य गर्ने र कसैलाई पनि पछाडि नछोड्ने मार्गहरू’ विषयका साइड इभेन्टहरूलाई पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपालले लैङ्गिक समानता र महिला सशक्तीकरणमा गरेका प्रयासबारे प्रकाश पार्नुभएको थियो ।

मन्त्री सुडीले शुक्रबार नेपाल, बङ्गलादेश र फिनल्याण्डद्वारा संयुक्त रूपमा आयोजना गरिने तथा  युनिसेफद्वारा आयोजना गरिने छुट्टाछट्टै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्थायी नियोगले जनाएको छ । मन्त्री सुडी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सङ्घीय संसद्का सदस्यहरू, मन्त्रालयका सचिव र वरिष्ठ सरकारी अधिकारीहरू सहभागी हुनुहुन्छ ।

आमाबाट छुट्टिएको छावाको उद्धार

इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ।

सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । वल्र्ड वाइड फन्ड फर नेचर’का अनुसार विश्वमा दुई हजार ४०० देखि दुई हजार ८०० को हाराहारीमा मात्र रहेको सुमात्रेली हात्ती लोप हुने अवस्थामा पुगेका छन् ।

स्थानीय संरक्षण निकायका अधिकारी उजाङ होलिसुदिनले एएफपीलाई दिएको जानकारीअनुसार सुमात्राको पश्चिमी टापुको रियाउ प्रान्तमा रहेको पाम तेलको बगानमा सोमबार दुई महिनाको भाले छावा फेला परेको हो ।

उजाङले भन्नुभयो, “यो छावा उसको समूह वा उसकी आमाबाट संयोगबस छुट्टिएको हुन सक्छ । यो उसको आमाको अन्य कतै मृत्यु भएपछि एक्लिएको पनि हुनसक्छ।”

उहाँले भन्नुभयो, “बगानमा एक्लो रहेको छावा भोकले भूईमा लडेको अवस्थामा कसैले देखेपछि प्रशासनलाई खबर गरेको र अहिले उसको उद्धार भएको छ ।”

“उक्त छावाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य राम्रो रहेकोले उसलाई प्रान्तीय राजधानी पेकानबारु नजिकै रहेको संरक्षण निकायको हात्ती प्रशिक्षण केन्द्रमा ल्याइएको छ,” उहाँले बताउनुभयो ।

अधिकारीहरूले उक्त क्षेत्रमा हात्तीको बथानको निगरानी गरिरहेका र देखिएमा छावालाई परिवारसँग पुनर्मिलन गर्न सकिन्छ कि भनेर थप प्राकृतिक उद्धारको पहल भइरहेको बताइएको छ ।

अवैध वन्यजन्तुको व्यापारमा बहुमूल्य मानिने हात्तीको दाँतको अत्यधिक चोरी सिकारले हात्तीको सङ्ख्या लाई खतरामा पारेको छ।

इन्डोनेसिया वन्यजन्तु अपराधसँग जुधिरहेको छ र हालैका वर्षहरूमा हात्तीको विषाक्तताका धेरै घटनाहरू भएका रोपोर्ट भएका छन्।

वन फँडानीले उनीहरूको प्राकृतिक वासस्थानलाई पनि घटाएको छ र उनीहरूलाई मानिससँग बढ्दो द्वन्द्वमा ल्याएको छ।

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ, २९ फागुनः फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ ।

हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ ।

आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउने चलन छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । आज हिमाली र पहाडी गरी ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो । शुक्रबार तराइका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यस पर्वका अवसरमा आज राजधानीको टुँडिखेल, खुलामञ्च, वसन्तपुर, रामशाहपथजस्ता स्थानमा हजारौँ मानिस जम्मा भएर फागु पूर्णिमा पर्व मनाएका छन् । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नसालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । समग्रमा राजधानीलगायत पहाडी र हिमाली जिल्लामा फागु अर्थात् होली अनुशासित बन्दै गएको छ ।

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ, २९ फागुनः होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् ।

पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ । जसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन् । आज साँझसम्म दुुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारी साधन छाडिसकिएको छ ।

पर्साको बालसुधार गृहमा होली मनाइयो

वीरगञ्ज (पर्सा), २९ फागुनः यहाँस्थित बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

“बाल सुधारगृहमा बालबालिकाले पनि होली मनाउन सकनु भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “बालबालिकालाई अबिर लगाउनुका साथै मिष्ठान्न परिकार खुवाएका हौँ, होली मनाउन पाउँदा उनीहरु निकै हर्षित देखिन्थे ।” उहाँले होलीले त्यहाँ रहेका बालबालिकालाई आत्मबल बढाउन र सुधारको बाटोमा अघि बढ्न प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

“बालसुधार गृहमा बसेर पनि जीवनमा धेरै काम गर्न सकिन्छ, म त्यहाँ रहेका बालबालिकालाई सिर्जनात्मक बन्न आह्वान गर्दछु, जिन्दगी जिउने कला सिकेर सकारात्मक बाटोमा अघि बढ्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । कार्यक्रममा बालबालिकाले गीत, कविता मुक्तक वाचन गरेका थिए ।

त्यसअवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको उपस्थिति थियो । बालबालिकालाई व्यवसायी रोशन गुप्ताले भोजन गराउनुभएको थियो ।

अबिर र फूलको वृष्टि गरेर मनाइयो होली

आजै वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आज अबिर र पुष्पवृष्टि गरी पहाडी र तराई–मधेसका समुदायका युवाले होली मनाएका हुन् । गहवामाई तीर्थ विकास समितिले आयोजना गरेको ब्रजको होलीमा दुवै समुदायका युवाहरुले एकआपसमा शुभकामना साट्टासाट गर्दै सौहार्दपूर्ण ढङ्गले होली मनाए ।

“फूल र अबिरको वर्षात् गरेर होली मनाएको दृश्य निकै रमणीय देखिन्थ्यो”, सामाजिक अभियन्ता प्रकाश थारुले भन्नुभयो, “मधेस आन्दोलनले पहाडी र तराईका समुदायबीच विभाजनको रेखा कोर्न खोजेपनि यहाँका दुवै समुदायले पुरानै सुमुधुर सम्बन्धलाई बचाउँदै होली मनाउनुभएको छ ।”

फागु पूर्णिमाको दिन पहाडी जिल्लामा होली मनाउने चलन छ भने तराई–मधेसमा भने त्यसको भोलिपल्ट मनाउने गरिन्छ । “वीरगञ्जमा विभिन्न समुदायको बसोबास रहेकाले दुई दिन नै होली मनाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यहाँ मारवाडी समुदायले आफ्नै किसिमका हुन्छन् । पहाडी र मधेसी समुदायले आफ्नै शैलीले होली मनाउँदै आएका छन्, होलीका कारण दुवै समुदायमा भातृत्व विकास भइरहेको छ ।”

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ज्ञान बाटिका माविको परिसरमा युवा अभियान मधेस प्रदेशले विद्यालयको पर्खाल रङ्गाएर होली पर्व मनाएका छन् । युवा अभियान मधेस प्रदेशका अध्यक्ष गङ्गा श्रेष्ठले होलीलाई अनावश्यक तडकभडक ढङ्गले मनाउनुभन्दा रचनात्मक ढङ्गले विद्यालयको पर्खाल रङ्गाएर मनाएको बताउनुभयो ।

प्रदेशसभा सदस्य शङ्कर चौधरीले युवाहरूले विद्यालयको पर्खाल रङ्गरोगन गर्ने काम प्रशंसनीय रहेको बताउनुभयो । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकाले शिक्षाको विकास र प्रवर्द्धनका लागि काम गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) ले जनाएको समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै सुरु भएको बढ्दो व्यापार युद्धका कारण बजारलाई प्रभावित पार्न सक्ने देखिएको छ ।

आइइएको तथ्याङ्क अनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थव्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।

सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बिपिडी) ले बढ्ने अनुमान गरिएको छ । यो सन् २०२४ मा आड लाख ३० हजार बिपिडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण दश लाख ३९ हजार बिपिडीमा लैजानेछ।

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ ।

“नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,” आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आइइएका अनुसार आपूर्ति यस वर्ष छ लाख बिपिडीभन्दा बढी हुने अनुमान गरिएको छ, बिहीबार यो मूल्याङ्कनले कच्चा तेलको मूल्य घटाउन मद्दत गर्ने देखिएको छ ।

कच्चा तेलको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने ब्रेन्टको मूल्यमा ०.५ प्रतिशत कमी आई ग्रीनविच समएअनुसार बिहीबार बिहान १०ः५० प्रति ब्यारेल ७०.५७ डरमा कारोबार भएको छ ।

युक्रेनका लागि युद्धविराम ’राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको आलोचना गर्दै यसले युक्रेनी सेनाका लागि ‘राहत’ मात्र हुने बताउनु भएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोनमा कुरा गरेपछि युरी उशाकोभले सरकारी सञ्चारमाध्यमसँग भन्नुभयो, “यो युक्रेनी सेनाका लागि अस्थायी ‘विश्राम’ बाहेक अरू केही हुनेछैन ।”

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ‘सम्भवतः थप विशिष्ट र ठोस आँकलन’ गर्ने उहाँले बताउनुभयो ।

उशाकोभले रुसले ‘दीर्घकालीन शान्तिपूर्ण समाधान’को लक्ष्य राखेको र यसले रुसको ‘वैध हित’ सुरक्षित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी त्यसैका लागि प्रयासरत छौँ । साथै, शान्तिपूर्ण कदमको नक्कल गर्ने कुनै पनि कदम अहिलेको परिस्थितिमा कसैलाई पनि आवश्यक छैन भन्ने मलाई लाग्छ ।”

वासिङ्टनले मस्कोलाई तीन वर्षे द्वन्द्वलाई ‘बिनाशर्त’ रोक्न दबाब दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न बिहीबार रुस आएका छन् ।

युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ

युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएर २५ वर्षयताकै उच्च भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सङ्गठनले सङ्क्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिएको छ ।

गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना दर्ता भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो ।

रोमानिया र कजाखस्तानमा क्रमशः ३० हजार ६९२ र २८ हजार १४७ जनामा सङ्क्रमण देखिएको थियो ।

डब्लूएचओका अनुसार युरोपका आधाभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ भने ४० प्रतिशत घटनामा पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।

डब्लुएचओका युरोप निर्देशक हान्स क्लुजले भन्नुभयो, “दादुरा फेरि आएको छ र खोपको उच्च दर बिना यसको प्रकोपबाट सुरक्षा हुँदैन । यो एक जागृत आह्वान हो ।”

उहाँले खोप नलगाएका र नपाएका समुदायको सुरक्षाका लागि खोप अभियानलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

सन् २०२३ मा यस क्षेत्रका पाँच लाख बालबालिकाले खोपको पहिलो मात्रा पाएका थिएनन् ।

क्लुजले भन्नुभयो, “खोपको उच्च दर बिना स्वास्थ्य सुरक्षा हुँदैन।”

दादुरा अत्यधिक सङ्क्रामक हुन्छ, यो श्वासप्रश्वासमार्फत फैलिन्छ र सङ्क्रमित व्यक्तिले कुनै क्षेत्र छोडेको दुई घण्टासम्म हावामा रहन्छ।

ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या दादुराको मुख्य लक्षण हो र यसले निमोनिया, मस्तिष्कको सूजन र मृत्युजस्ता गम्भीर जटिलताहरू पनि निम्त्याउन सक्छ।

सन् २०२४ मा विश्वमा दादुराका एक तिहाइ बिरामी युरोपमा देखिएका थिए ।

सन् १९९७ मा दुई लाख १६ हजार सङ्क्रमित भएपछि युरोपमा दादुराको प्रकोप ह्वात्तै घटेको थियो र सन् २०१६ मा यो सङ्ख्या चार हजार ४४० पुगेको थियो ।

सन् २०१८ र २०१९ मा यो रोग फेरि बढेको र कोभिड–१९ को महामारीका बेला खोप अभियान रोकिएपछि सन् २०२३ देखि सङ्क्रमितको दरमा उल्लेख्य वृद्धि भएको छ ।

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी बिहीबार नयाँदिल्ली पुगेकी हुन्।

मन्त्री डा राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले स्वागत गरे।

मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन्।

मन्त्री डा राणाले यही मार्च १७ मा उद्घाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ नामक अलग अलग सेसनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै उनले यसैअन्तर्गत डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रमका दौरानमा मन्त्री डा राणाले भारतका विदेशमन्त्री डा एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ।

संस्कृति जोगाउन घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु

मुस्ताङ, २९ फागुनः थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

हिमाली क्षेत्रको इतिहास र संस्कृतिसँग जोडिएको धनुषवाण खेललाई संरक्षण, सम्वद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले प्रदीप गौचनले बताउनुभयो । 

थासाङ थकाली समुदायहरुको उद्गमस्थलका रुपमा परिचित छ । यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वलाई गाउँपालिकाले यसै वर्षदेखि प्रतियोगिताका रुपमा मनाउन लागेको हो । गाउँपालिकाले धनुषवाण खेललाई यस वर्ष पालिका खेलकुदमा सूचीकृत गरिसकेको छ ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गर्नुभयो । उहाँले थकाली समुदाय थातथलो थासाङमा यसप्रकारको प्रतियोगिता आयोजना हुँदा संस्कृति र परम्परा जोगाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । सांसद थकालीले थाकसातसय क्षेत्रको मुखिया प्रथा, त्यसको अगुवाको मिरमुखिया, परम्परागत धनुषवाण खेल यस समुदायको सम्पत्ति रहेको बताउनुभयो । “थकालीको महान पर्व तोरन्ल हो, यसपर्वमा फागुपूर्णिमा पनि जोडिन्छ, यस पर्वमा पनि सरकारले सार्वजनिक बिदा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतियोगितामा ११ गाउँका युवा सहभागी रहेको खेल संयोजक एवं थासाङ–४ का वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिनुभयो । प्रतियोगितामा सादा धनुषवाण प्रतियोगिता र आधुनिक आर्चरी प्रतियोगिता गरी दुई विधामा खेल आयोजना हुने संयोजक शेरचनले बताउनुभयो । 

त्यसअवसरमा गाउँपालिकाले सामाजिक योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । थासाङ गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि तीन रोपनी जग्गादान गर्ने थासाङ–४ का जीवन शेरचन र विपना शेरचन, झिप्रा देउरालीस्थित स्वास्थ्य चौकी भवन निर्माणका लागि दुई रोपनी जग्गादान गर्ने सुकबहादुर परियार र सन्तमाया परियार र पर्यटक र तीर्थालुलाई सहयोग गर्ने शेरचन थासाङ–२ नाउरीकोटका इन्द्रसिंह शेरचनलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन छ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ । 

त्यसअवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, न्यायाधिवक्ता देवेन्द्र आचार्य, थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घका अध्यक्ष कृष्णकुमार शेरचन, नेपाल आर्चरी सङ्घका केन्द्रीय सचिव योगेन्द्र शेरचन, गाउँपालिका अध्यक्ष प्रदीप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, वडाध्यक्ष नरेन्द्र शेरचन, थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले फागुपूर्णिमा तथा थकाली तोरन्ल पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको कडाइ, १२० बढी स्थानमा चेकिङ

काठमाडौं । होलीको अवसरमा मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधनमा चलाउनेमाथि प्रहरीले बिहानैदेखि कडाइ गरेको छ ।
उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको छ ।

यसै क्रममा बालाजु चोक र दरबारमार्गमा पनि प्रहरी कडा नियन्त्रण रहेको छ । होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका १२० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट मासपे गरि चलाएको सवारी साधन नियन्त्रणमा पनि लिने काम गरिरहेको छ ।

यता, अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ ।

‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’ : मन्त्री सुडी

काठमाडौँ, २९ फागुनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै हाल न्यूयोर्कमा रहनुभएका मन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा बुधबार आयोजित मन्त्रिस्तरीय गोलमेच बैठकमा उक्त प्रतिबद्धता गर्नुभएको हो ।

उहाँले महिलालाई राज्यका सबै तहमा अवसर दिने, उनीहरूविरुद्धका हिंसा उन्मूलन गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कानुनी तथा नीतिगत संरचना बलियो बनाइएको बताउनुभयो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार मन्त्री सुडीले नेपाल सरकार राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनका लागि सधैँ तत्पर रहेको, महिला समानता र विकास सुनिश्चित गर्नका साथै राजनीतिक अधिकार, शासन व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यलगायत क्षेत्रमा उनीहरूलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले महिलाहरूको लागि संविधानमा धेरै सकारात्मक व्यवजस्था गरिएको तथा लैङ्गिक समानता प्रवद्र्धन र महिला सशक्तीकरणप्रति नेपालको दृढ प्रतिबद्धता दोहो¥याउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा होलीको शुभकामना

काठमाडौँ, २९ फागुनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहनुभएका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उहाँले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बढाउने बताउनुभको छ ।

“वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ”, एक्समा उहाँले लेख्नुभएको छ ।

होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने

काठमाडौँ, २९ फागुनः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “आपसी भाइचारा र सद्भावको रुपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछौँ ।”

अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रुपमा मनाइने रङहरुको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज (विहीवार) फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।
रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछोएको पौराणिक कथा यो पर्वसँग जोडिएको छ ।

यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भईन । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

त्यसवेलादेखी शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका र राक्षसी पुतना मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको छ ।
हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराब प्रवृत्तिको अन्य हुने र असल प्रवृत्तिको विजय प्रतीकका रुपमा होली पर्वलाई लिइन्छ ।

प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् ।

फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका हुन् ।

“फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,” फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !”

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा, २९ फागुनः मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उहाँलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उहाँ गाउँ फर्किनुभयो । यही क्षण उहाँका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उहाँ सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल हुनुभएको छ ।

न्यौपानेले हाल मासिक करिब रु एक लाखसम्म कमाई हुने गरेको सुनाउनुभयो । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उहाँ जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उहाँ अचेल निकै हर्षित हुनुहुन्छ । “दुई छोराछोरीको पठनपाठनदेखि पवरिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उहाँले रासससँग भन्नुभयो । 

हाल उहाँले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीनुभएको थियो, आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाउनुभएको छ । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताउनुभयो । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्नुहुन्छ । “मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु ।  त्यही  मूत्र तरकारीमा प्रयोग गर्छु”, उहाँले भन्नुभयो,“यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।”

माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गर्नुभएका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहनुभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि  ।” उहाँले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताउनुभयो । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाउनुभयो । 

चारवटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती गरिरहनुभएका उहाँले अन्तरबालीका रूपमा बन्दा पनि लगाउनुहुन्छ । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताउनुभयो । 

यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहनुभएको छ । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ । यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उहाँको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उहाँको आग्रह छ । 

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २९ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १७०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १६०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सबै मिलेर अवस्था परिवर्तनका लागि काम गरौँः महामन्त्री थापा

नवलपरासी (ब सु प), – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था परिवर्तनका नाममा जनतालाई भड्काउनेभन्दा सबै मिलेर अवस्था परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको सुनवलमा नेपाली कांग्रेस क्षेत्र नं २ (क) ले यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालसम्म भएका उपलब्धि र कमजोरीको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । “हामी सबैले आ–आफ्ना कमजोरी र गल्तीलाई सुधार्ने हो ।

दशकौँको सङ्घर्षपछि प्राप्त व्यवस्थाबाटै जनअपेक्षाअनुसार काम गर्ने थुप्रै सम्भावना छन् तर व्यवस्था फेर्ने नाममा समय खेर नफालौँ । लामो संघर्षपछि आएको संविधानमा भएका विभिन्न व्यवस्थालाई सुधार्दै, हाम्रा कमजोरी केलाउँदै अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।

उहाँले हाल जनता भड्काउने काम भइरहेको भन्दै त्यसलाई असल काम र आवश्यक संवादमार्फत रोक्नुपर्ने धारणा राख्नुभयो । “हाल विविध कारणले रिसाएका नागरिकलाई थप भड्काउने प्रयत्न भइरहेको छ । कतिपय हाम्रै कारणले पनि त्यसमा मलजल पुगिरहेको छ । त्यसमा सचेत हुनैपर्छ । सुधारका लागि काम गर्नैपर्छ । नागरिकले सुशासन, विकास, हाम्रो राजनीतिक चालचलनबारे उठाइरहेका प्रश्नको सम्बोधन गर्नुपर्छ”, महामन्त्रत्री थापाको भनाइ थियो ।

उहाँले प्रदेशमा दुई/तीनवटा मन्त्री भए काम चल्ने अवस्थामा धेरै मन्त्री आवश्यक नरहेका र केन्द्रमा सरकार बदल्नेवित्तिकै प्रदेशको मुख्यमन्त्री फेर्ने काम रोक्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न आग्रहसमेत गरेको छ ।

पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा गणतन्त्रको रक्षाका लागि आगामी चैत १ गते पार्टीले सबै जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई काठमाडौँमा प्रशिक्षण दिने र त्यस कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । बैठकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालनका कार्ययोजना तथा भावी आन्दोलनका कार्यक्रम घोषणा गरी त्यसलाई प्रभावकारी बनाउनेबारे छलफल र चैत १ गते पत्रकार सम्मेलनमार्फत पार्टीको कार्ययोजनाबारे जानकारी दिने निर्णय गरेको छ ।

नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

काठमाडौँ, २९ फागुनः नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो ।

कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर  मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताउनुभयो । 

मङ्गलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको  लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताउनुभयो । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो । कार्यदलका संयोजक डा अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो । कार्यदलका सदस्य प्रा भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्रा राम लोहनी, डा कृष्णप्रसाद चालिसे, डा कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गर्नुभएको फन्ट निर्माता कलाकार पौडेलले राससलाई जानकारी दिनुभयो ।  

प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा तामाङ, सहसंयोजकमा डा विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा भीमनारायण रेग्मी, डा तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहनुभएको थियो ।

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

सोलुखुम्बु, २९ फागुनः वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले जनाएको छ ।

एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढेको छ ।

टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ । 

टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपिसिसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । 

खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।

परम्परागत विधि र साइत हेर्ने परम्परा
सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ । एसपिसिसीका अनुसार आरोहण मार्ग निर्माण कार्य सुरु गर्न बौद्ध परम्पराअनुसार विशेष पूजा गरिन्छ । यस क्रममा स्थानीय लामा गुरुहरूले पूजाआजा गरी पर्वत देवतालाई खुसी पार्ने प्रयास गर्छन् । पर्वत देवताको कृपा प्राप्त गरेपछि मात्र आइसफल क्षेत्रजस्तो जोखिमयुक्त क्षेत्रमा पाइला राख्ने चलन रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । 

मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ ।

दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ । आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ ।

सगरमाथा क्षेत्रमा आरोहण मार्ग निर्माण तथा मर्मतका लागि एसपिसिसीले विदेशी आरोहीहरूबाट शुल्क लिँदै आएको छ । प्रत्येक विदेशी आरोहीबाट ६०० अमेरिकी डलर लिने व्यवस्था छ । यो शुल्क मार्ग निर्माण, मर्मत तथा वातावरणीय सरसफाइका लागि प्रयोग गरिन्छ । एसपिसिसीले आरोहण अनुमति जाँच गर्नाका साथै आधार शिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने यी ‘आइसफल डाक्टर’हरूले  जोखिम मोलेर हिउँको पुल बनाउने, आरोहीहरूको सुरक्षाका लागि मार्ग पहिल्याउने र अत्यधिक जोखिमपूर्ण क्षेत्रमा आधारभूत संरचना तयार गर्ने काम गर्छन् । “उनीहरूबिना आरोहीहरूको सफल यात्रा कल्पनै गर्न सकिँदैन । हामीले बाटो बनाउने र सरसफाइ गर्ने सबै काम गर्छौं । पर्यटन मन्त्रालयसँगको सम्झौताअनुसार हाम्रा दायित्व पूरा गरिरहेका छौँ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही शुल्क हो”, एसपिसिसी अध्यक्ष शेर्पाले भन्नुभयो । 

सगरमाथा आरोहणको तयारी तीव्र
वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ । आरोहीहरूको सुविधाका लागि आवश्यक सबै कार्य अघि बढाइएको छभने सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । वातावरण संरक्षणको दृष्टिकोणले समेत एसपिसिसीको टोली सक्रिय रहेको छ । यस वर्ष आरोहण मौसममा कति आरोहीहरू सगरमाथा चढ्नेछन् भन्ने विषयमा अझै निश्चित तथ्याङ्क आइसकेको छैन तर विगतका वर्षहरूसँग तुलना गर्दा ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गरिएको छ ।

“यस वर्ष पनि सगरमाथा आरोहणमा ठूला व्यावसायिक टोलीहरू आउने सम्भावना छ । हामीले आधार शिविरमा पूर्वाधार निर्माण तथा आरोहीहरूको सुरक्षाका लागि आवश्यक तयारी गरिरहेका छौँ । हिमाली पर्यटन नेपालको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण भएकाले हामी सबैसँग समन्वय गरेर सुरक्षित आरोहणको वातावरण सिर्जना गर्नेछौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो ।

यस्तै, पर्यटन व्यवसायी बलबहादुर दर्नाल मौसम अनुकूल रह्यो भने यो सिजन निकै सफल हुने बताउनुहुन्छ । “हामी यो वर्ष पनि ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गर्दैछौँ । सुरक्षित आरोहणका लागि मार्ग निर्माण, सरसफाइ, वातावरण संरक्षण तथा आवश्यक तयारी गरिरहेका छौँ । यो सिजन पनि सफल हुने विश्वास छ”, उहाँले भन्नुभयो । 

सगरमाथा आरोहणमा संलग्न सबै निकायहरू पूर्ण रूपमा तयारीमा जुटेका छन् । आरोहीहरूको सुविधाका लागि आधार शिविरदेखि माथिल्लो भागसम्म आवश्यक उपकरण, खाद्य सामग्री र सञ्चार सुविधाहरू उपलब्ध गराइँदैछ । स्थानीय शेर्पा गाइडहरूलाई विशेष तालिम प्रदान गरिएको छभने हिमाली वातावरणको दीर्घकालीन संरक्षणका लागि विभिन्न नीति तथा कार्यान्वयन योजनाहरू अघि सारिएको छ ।

विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई

मोरङ, २९ फागुनः विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ । प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का  खेलाडी दीपेश घलेले ६३ मिनेटमा एक/एक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।

थ्री स्टारका खेलाडी श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई रु ५१ हजार प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत रु ११ हजार प्रदान गरियो । 

प्रतियोगितको विजेता टोली थ्री स्टारले नगद रु ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले रु पाँच लाख प्राप्त गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरप्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुली, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गोल्ड कप, सिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए  ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ४१ पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १०४ रूपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्रीदर १९ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३७ पैसा र बिक्रीदर २० रूपैयाँ ४६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल

काठमाडौँ, २९ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भन्नुभयो । उहाँले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

सभामुखद्वारा मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन अपिल

काठमाडौँ, २९ फागुनः सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैमा प्रेम, शान्ति र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । धार्मिक रूपमा भक्त प्रह्लादको कथासँग जोडिएको यो पर्वले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ । यो विभिन्न जातजाति, धर्म, क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने, नेपाली समाजको पहिचान झल्काउने पर्व हो, रङ, रमाइलो र उत्सवमय वातावरणले यस पर्वलाई अझ उल्लासमय बनाउँछ”, सभामुख घिमिरेले भन्नुभएको छ । 

उहाँले पछिल्लो समय फागु पूर्णिमा मनाउने तरिकामा केही विकृतिहरू देखिन थालेको उल्लेख गर्दै  जबर्जस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थको दुरुपयोग गर्ने जस्ता प्रवृत्तिले चाडको वास्तविक भावना धमिल्याइरहेको उल्लेख गर्नुभएको छ । “नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोलिक विशेषता भएको देश हो । नेपालमा अनेक जाति, भाषा, संस्कृति छन्, आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व छन् । विविध चाडपर्व र संस्कृतिभित्र नेपाली एकता प्रतिविम्बित छ । नेपालका सबै चाडपर्वका विशेषता भनेको आपसी एकता, सद्भाव, सहकार्य कायम राख्नु रहेको छ”, सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ,  

होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, २९ फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन सबैमा आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जथाभाबी लोला हान्ने, फोहर पानीको प्रयोग गर्ने, हूलहुज्जत गर्नेजस्ता विकृति पनि देखिन थालेकाले यसो नगर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सद्भाव,  भ्रातृत्व र विविध रङहरूको पर्व फागु पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवं विविध रङहरूको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।”

नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पर्व एक विशिष्ट पर्व हो । पहाडमा पहिलो दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेषगरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एकअर्कालाई विविध रङ दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्वपूर्ण पर्वका रूपमा यसलाई मनाउने गरिन्छ । नेपालका अधिकांश जातजाति, भाषाभाषी र समुदायले हर्षोल्लासपूर्वक मनाउने यस पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ । 

“पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वहरूका दृष्टिले हामी धेरै सम्पन्न छौँ, विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो”, उहाँले भन्नुभएको छ । 

होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा

काठमाडौँ, २९ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताउनुभएको छ ।

नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उहाँले सम्पूर्णमा  शुभकामना व्यक्त गर्नुभएको छ । “फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ”, सन्देशमा भनिएको छ । 

सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

आज तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, २९ फागुनः आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भन्नुभयो, “प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन÷चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”

बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।

विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्शन आन्तरिक र अन्तरराष्ट्रिय उडानतर्फ हवाइजहाज प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए ।