`

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत- लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला पर्नुभएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ । उहाँ सम्पर्कमा आउनुभएसँगै नेपालस्थित उहाँको परिवारलाई खबर गरेका छौँ, उहाँहरुकै आग्रहमा नेपाल फिर्ता पठाउने तयारी सुरु भइसकेको छ ।”

दूतावाससँग कमल स्वयम्ले पनि नेपाल फर्कने इच्छा देखाएको दुवाडीको भनाइ छ । उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ ।

लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो । त्यसपछि उहाँ लन्डनबाटै सम्पर्कविहीन हुनु भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो ।

कमल हराएको सूचना पाएलगत्तै लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेको थियो । धनुषाको हंसपुर–६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आउनुभएको थियो ।

काठमाडौँ उपत्यकासहित ठाउँठाउँमा वर्षा

काठमाडौँ, २८ फागुन : काठमाडौँ उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अहिले राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर तथा फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ । विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो । जसका कारण आज हवाई उडानसमेत प्रभावित भएको थियो ।

पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

काठमाडौँ, २८ फागुन : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ ।

क्यानले आज सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, डी’ मा १२ तथा इमर्जिङ प्लेयरमा सात खेलाडीलाई छनोट गरेको छ ।

केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन् । उनीहरूले मासिक जनही रू एक लाख प्राप्त गर्नेछन् । ग्रेड बी मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन् । यी खेलाडीहरूले मासिक रू ७० हजार प्राप्त गर्नेछन् । ग्रेड सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । उनीहरूले रू ५५ हजार पाउनेछन् ।

त्यस्तै ग्रेड डि मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा र मयन यादव छन् । उनीहरूले मासिक रू ३५ हजार प्राप्त गर्नेछन् ।

यसैगरी अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रूपेश सिंह, अर्जुन कुमाल, शुभ कंशाकार र सन्तोष यदावलाई इमर्जिङ प्लेयसमा राखिएको छ । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी महिला खेलाडीको नयाँ केन्द्रीय सम्झौताअनुसार चार खेलाडीलाई ग्रेड ‘ए’ मा समवेश गरिएको छ । जसमा कप्तान इन्दु बर्मा, रूविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन् । उनीहरूले मासिक रू ५० हजार प्राप्त गर्नेछन् ।

ग्रेड ‘बी’ मा कविता जोशी छन् । उनले मासिक ३५ हजार पाउनेछिन । ग्रेड सी’ मा कविता कुँवर र सम्झना खड्का छन् । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् ।

यस्तै ग्रेड डि मा विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमान केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृस्मा गुरूङ, ज्यात्निका मरासिनी, रचनाकुमारी चौधरी र मनिषकुमारी उपाध्याय छन् । उनीहरूले मासिक २० हजार पाउनेछन् ।

उक्त केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि छ महिनासम्म हुनेछ । छमहिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी छ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ ।

बत्तीस क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

काठमाडौँ, २८ फागुन : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलद्वारा आज जारी विज्ञप्तिअनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना, माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द, सङ्खुवासभा बहुमखी क्याम्पसमा चेतन भण्डारी, तेज–निरला क्याम्पस मुस्ताङमा अञ्जु परियार, नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द, मङ्गला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन र सेती क्याम्पस बझाङमा दीपेन्द्र दौल्याल सभापतिमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी दर्छा क्याम्पस रामपुर पाल्पामा अनिशा कोइराला, मैनापोखर शारदा बहुमुखी क्याम्पस बर्दियामा सागर खत्री, लटिनाथ क्याम्पस दार्चुलामा रुकेशसिंह विष्ट, कृष्ण स्नातक क्याम्पस दार्चुलामा ओमकार पाल, नव प्रभात संयुक्त क्याम्पस कुलाउ पञ्चेश्वर बैतडीमा सपना चन्द, देवदह आदर्श बहुमुखी क्याम्पसमा अश्विन न्यौपाने, बूढीनन्दा क्याम्पस बाजुरामा भाष्कर शाही, हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतमा मिना रावत, कुशादेवी क्याम्पस काभ्रेपलाञ्चोकमा मोनिका हुमागार्इं, जनक क्याम्पस काभ्रेपलाञ्चोकमा सञ्जिव गिरी, सर्वमङ्गला क्याम्पस काभ्रेपलाञ्चोकमा श्रीकृष्ण भट्टराई, तेजगङ्गा क्याम्पस काभ्रेपलाञ्चोकमा सुजन सापकोटा, जनआदर्श बहुमुखी क्याम्पस चितवनमा अनुज न्यौपाने सर्वसम्मत सभापति पदमा निर्वाचित हुनुभएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी गुल्मीका दिगाम आदर्श बहुमुखी क्याम्पसमा उषा पाण्डे, सिन्धुपाल्चोकको सिन्धु भ्याली क्याम्पसमा सन्दिपा चौलागाईं, धनकुटाको हिले क्याम्पसमा विशाल तितुङ, बर्दिया बहुमुखी क्याम्पसमा दुर्गा खत्री, सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा रुद्र रावत, जाल्पादेवी क्याम्पस धनकुटामा चेतराज पौडेल, शारदा क्याम्पस सल्यानमा विश्व खड्का, सिन्धुपाल्चोकको ठोर्कपा क्याम्पसमा शर्मिला घर्ती उदबुद्ध कलेज पाल्पामा कृष्णा झापुर्लुक, मिर्मी बहुमुखी क्याम्पस स्याङ्जामा मुना न्यौपाने र धुलिखेल क्याम्पस काभ्रेपलाञ्चोकको सभापतिमा स्वागत चापागाईं निर्वाचित हुनुभएको प्रवक्ता पौडेलले बताउनुभयो ।

सहकारीसम्बन्धी विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिबाट स्वीकृत

काठमाडौँ, २८ फागुन : प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । त्यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सभासमक्ष सो प्रस्ताव पेस गर्नुभएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले एक संस्थामा दुई कार्यकालभन्दा उही व्यक्ति बस्न नपाउने व्यवस्था विधेयकमा राखिएको बताउनुभयो । सरकारले अध्यादेशमार्फत अगाडि सारेका सबै विधेयक जनताको समस्या समाधान गर्ने उद्देश्यले ल्याएको उहाँको भनाइ छ ।

सैद्धान्तिक छलफलमा सांसद हितराज पाण्डे, जुलीकुमारी महतो, विमला सुवेदी, हितबहादुर तामाङ, रणेन्द्र बराली, नारायणी शर्मा, माधव सापकोटा, पे्रम सुवाल, दयालबहादुर शाही, सूर्यबहादुर थापा र श्यामकुमार घिमिरेले आआफ्नो धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगमी चैत ३ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराए ।

इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरे ।

सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रणा

प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरे । वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनसँग आग्रह गरे ।

नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादका क्रममा पहिलो शृङ्खलाको आयोजना गर्न लागेको हो ।

संवादका क्रममा संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो ।

अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा

नासा र स्पेसएक्सले सूर्यबाट डाटा सङ्कलन गर्न एउटै रकेटमा दुईवटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् ।

एसपेयरएक्स (स्पेक्ट्रो–फोटोमिटर फर द हिस्ट्री अफ द ब्रह्माण्ड) र पन्च ( हेलियोस्फियरको एकीकरणको लागि ध्रुवीय मिटर) प्रशान्त समयको बिहान ८ः१० बजे स्प्याकसबर्गमा स्प्याकसेनबर्गबाट स्प्याकसेनबर्कबाट प्रक्षेपण गरियो ।

प्रक्षेपण पछि, नासाले सबै उपकरणहरू सफलतापूर्वक तैनात गरिएको पुष्टि गर्यो ।
एसपेयरएक्सले आकाशको अप्टिकल र इन्फ्रारेड प्रकाशमा सर्वेक्षण गर्ने तथा मिल्की वेका १० लाख ताराको डेटा सङ्कलन गर्नेछ ।

नासाका अनुसार प्रत्येक छ महिनामा एसपेयरएक्सले पूरै आकाश स्क्यान गर्ने र ९६ रङ ब्यान्डमा नक्सा उत्पादन गर्नेछ । पन्च मिसनले सूर्य र यसको वायुमण्डल अवलोकन गर्न चार सुटकेस आकारका उपग्रहहरू प्रयोग गर्नेछ ।

नासाका अनुसार, पृथ्वीको तल्लो कक्षामा अवस्थित उपग्रहहरूले थ्रीडी अवलोकन गर्न सँगै काम गर्नेछन् ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, २८ फागुनः अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल मध्यपुरथिमि–३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम

पाटन (ललितपुर), २८ फागुन : ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ । रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

प्रमुख महर्जनले भगिनीसम्बन्ध कायमसँगै दुवै देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गर्नुभयो । “उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन्, दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ, एकअर्काको आवश्यकता र समझदारीअनुसार नागरिकस्तरमा सम्बन्ध कायम हुनेछ, उनीहरूको असल अभ्यास हामी लिन्छौँ, हाम्रो असल अभ्यास उहाँहरूले लिनुहुनेछ”, उहाँले भन्नुभयो ।

प्रमुख महर्जनले ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउनुभयो । उहाँले उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको उल्लेख गर्नुभयो । उहाँले दुई देशका सहरबीचको आपसीसम्बन्ध र भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रूपमा परियोजना सञ्चालन गर्ने जानकारी दिनुभयो ।

बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै प्रमुख महर्जनले बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिनुभयो । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताउनुभयो ।

उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनीसम्बन्धले नेपाल र रूसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्थित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण, ग्यालरी र म्युजियम स्थापनाका, सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ ।

ललितपुर महानगर प्रमुखसँगै प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी हुनुहुन्छ । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिबार रसिया गएको हो ।

नेपाली चलचित्रले नेपाललाई विश्वमा चिनाइरहेको छ : निर्देशक रौनियार

काठमाडौँ, २८ फागुनः नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचय बनाउनुभएका निर्देशकमध्येका एक हुनुहुन्छ, दीपक रौनियार । उहाँले विसं २०७० मा निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘हाइवे’ बर्लिन अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘प्रिमियर’ हुने पहिलो चलचित्र बन्यो । रासससँगको सङ्क्षिप्त कुराकानीमा निर्देशक रौनियारले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुका साथै ‘अन्तरराष्ट्रिय प्लेटफर्म’मा प्रवेश दिलाउन नेपाली चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

यसै सन्दर्भमा पछिल्ला दिनमा छोटा चलचित्र, वृत्तचित्र तथा चलचित्रहरूले अन्तरराष्ट्रिय महोत्सवमा स्थान पाउने गरेका छन् भने कैयौँ नेपाली चलचित्र अब्बल सावित हुन सफल भएका पनि छन् । यद्यपि यतिमै खुसी हुनुपर्ने अवस्था नरहेको निर्देशक रौनियार बताउनुहुन्छ ।

“हामीले विश्वका अधिकांश चलचित्र महोत्सवमा नेपाली झण्डा फरफराइ रहेका छौँ । चलचित्रमार्फत पनि हामीले देशसँगै कला र संस्कृतिलाई चिनाउने काम गरेका हुन्छौँ । तर, हामी अब त्योभन्दा अगाडि बढ्नुपर्छ, यो विन्दुमा अलमल गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।

विसं २०७० पछि नेपाली चलचित्र बनाउन विदेशी सहायता पनि जोडिएको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत चलचित्र निर्माणका लागि प्राप्त हुने सहयोगका लागि सोही देशका चलचित्रकर्मी निर्माताका रुपमा जोडिएका हुन्छन् । चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि रहेको ‘चलचित्र ऐन’ नयाँ नआउँदासम्म कठिनाइको सामना गर्नुपरेको निर्देशक रौनियारले बताउनुभयो ।

“हामीले आफ्ना चलचित्रलाई विदेशीमाझ पु¥याउन सफल भएका छौँ, पुरस्कार पनि जितिरहेका छौँ । तर, उनीहरुको लगानी नेपाल ल्याउन मौजुदा कानुनले रोकेको छ, त्यसलाई संशोधन गरेर चलचित्रकर्मीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । किनकी हामीले अहिले जे जस्तो उपलब्धि हासिल गरेका छौँ, त्यसका लागि हाम्रो प्रयास, लगनशीलता र मेहनत जोडिएको छ, तर हामीले चाहेको उपलब्धि हासिल गर्न राज्यको भूमिका र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँले सर्वाेच्च शिखर ‘सगरमाथा’ र ‘खेलकुद’ विधाले जस्तै ‘चलचित्र’ क्षेत्रले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत गरेको छ भन्ने तत्थ्यलाई हामी सबैले मनन गरी सोहीअनुसार यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । आफू सम्बद्ध चलचित्र ‘सेतो सूर्य’ संसारकै सबैभन्दा पुरानो भेनिस अन्तररष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर ‘इन्टरफिल अवार्ड’ जित्न सफल भएपछि विश्वका चलचित्रसम्बन्धी आयोजना हुने धेरै मेला महोत्सवमा पुग्नुभएका निर्देशक रौनियार आवश्यक नीतिगत सहयोग, आर्थिक लगानी र अनुकूल वातावरण बनाएर चलचित्रकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुहुन्छ ।

“मसँगै धेरै चलचित्रकर्मी अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पुगिरहनुभएको छ । हाम्रो काम देखेर लगानी गर्न खोज्ने धेरै छन्, हामीले अहिले नेपाली चलचित्रको राम्रो बजार बनिरहेको संयुक्तराज्य अमेरिका, अस्ट्रेलियालगायतका देशबाट लगानी ल्याउन सक्छौँ । तर, नीतिगत कठिनाइ छ, रचनात्मक स्वतन्त्रता पनि कम छ । यसले हामी जस्ता चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सकेको छैन”, निर्देशक रौनियारले भन्नुभयो ।
उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र हो,‘राजागञ्ज’ । उक्त चलचित्रले समाजलाई प्रश्न गर्ने, छलफल गराउने र बाटो देखाउने काम गर्ने उहाँको भनाइ छ । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि समेटिएको चलचित्रले उठाएको विषयले माथि उल्लेखित तथ्यलाई समेटेको उहाँले बताउनुभयो ।

“खेलकुद झैँ चलचित्रले पनि समाजलाई जोड्ने काम गर्छ । हामी चलचित्रकर्मीले आफ्नो दायित्व बोध गरेर त्यस किसिमका विषयवस्तुमा आधारित चलचित्र ल्याइरहेका हुन्छौँ, हामीले गल्तीबाट नै सिक्ने हो । चलचित्रमा पनि गलत गर्नु हुन्न् भन्ने देखाउन गलत देखाएर त्यसले दिएको नकारात्मक परिणामले गरिरहेको असर देखाउँदै सही बाटो रोज्न प्रेरित गर्ने हो । एउटा चलचित्रकर्मीका रुपमा मैले आफ्नो दायित्व बोध गरेको छु”, निर्देशक रौनियारले भन्नुभयो ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्रले पुरस्कार जिते पनि घरेलु व्यापारमा भने त्यस प्रकारको सफलता निर्देशक रौनियारले निर्देशन गर्नुभएको चलचित्रले पाउन सकेको छैन । उहाँले निर्देशन गर्नुभएको ‘हाइवे’ र ‘सेतो सूर्य’ युट्युबमा सार्वजनिक हुँदा राम्रो प्रतिक्रिया आए पनि चलचित्र भवनमा दर्शकको उपस्थिति नगन्य थियो । घरेलु बजारमा कलात्मक चलचित्र कमजोर हुनुलाई जानकारी सम्प्रेषणमा देखिएको कठिनाइ रहेको उहाँको बुझाइ छ ।

“हामी कहाँ महोत्सवमा छानिएका चलचित्र बुझ्नै कठिन हुन्छ भन्ने भाष्य बनेको छ, त्यो गलत हो । महोत्सवमा पठाउन र चलचित्र भवनमा चलाउन दुई किसिमबाट सम्पादन गरेका हुन्छौँ, साथै उक्त चलचित्रमा गाउँ, समाजकै कथा हुने भएकाले बुझ्न नसकिने वा गाह्रो केही हुँदैन । चलचित्र भवनसम्म आएर हेर्नुभयो भने उस्तै मनोरञ्जन पाउनुहुनेछ, तर यस्ता चलचित्र विषय प्रधान हुन्छन्”, निर्देशक रौनियारले स्पष्ट गर्नुभयो ।

उहाँले नेपालमा आगामी चैत १ गतेदेखि सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर प्रदर्शन भइसकेको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौँ, २८ फागुन : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ ।

न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो । संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने २०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गर्नुभएको थियो ।

यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैंँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । आदेशअनुसार २०७७ फागुन ६ गते प्रधानमन्त्री ओली आफै उपस्थित भएर लिखित जवाफ पेस गर्नुभएको थियो ।

यी हुन् गत सोमबार बसेको मन्त्रीपरिषद्का निर्णयहरू

काठमाडौँ, २८ फागुन : जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यही फागुन २६ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो ।

सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले सरकारले गरेका २५ वटा निर्णय सार्वजनिक गर्नुभयो । भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्राबास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदानप्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

त्यस्तै, सरकारबाट क्वालिटी टिभीइटी फर युथ (क्वालिटिटिभी) प्रोजेक्ट, फेज आई कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम १ दशमलव ६८ मिलियन स्वीस फ्रैंक (करिब नेपाली २५ करोड ६५ लाख रूपैयाँ बराबर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्सचेञ्ज अफ लेटरमा नेपाल सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय भएको छ ।

सरकारले विश्व बैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प (आरआरओ) स्थापना गर्नका लागि उल्लिखित आयोजनाको वित्तीय सम्झौतामा नेपाल सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । त्यस्तै आगामी चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसिप एण्ड लिभरेजिङ द ग्लोबल एसआइए नेटर्वक कार्यक्रम र चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालित हुने आइडिआइएडीबी लिडरसिप फोरम कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति प्रदान गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो ।

त्यस्तै, अन्य निर्णयमा विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनीतिक सडक सञ्चालन तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी दिइएको छ । आगामी चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालित हुने एजुकेशनल वर्कसप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेन्ट कार्यक्रममा सहभागिताका लागि उपमहालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारीलाई स्वीकृति दिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश, स्थानीय तहबीच रोयल्टी बाँडफाँटका आधार, विधि र हिस्सा स्वीकृत गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएन्डएम) गर्न पूर्वस्वीकृति दिइएको छ । आगामी चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६औँ एनआरएन युरो रिजनल कन्फ्रेन्स मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिइएको छ ।

सरकारले भागीरथी भट्टराई (ज्ञवाली), काठमाडाँैलाई विद्युत् नियमन आयोजनाको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले रेट एनलाइसिस नर्मस फर वर्कस् २०८१ स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडाँैका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ । त्यसैगरी सो मन्त्रिपरिषद् निर्णयबाट अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने निर्णय भएको छ ।

गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृित दिइएको छ । जिल्ला समन्वय समितिका नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गाविस वडा नं ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिइएको छ । त्यसैगरी जग्गा प्रशासन निर्देशिका, २०२५ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरिएको छ ।

यसैगरी, आगामी चैत २१ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पेटेरेसबर्ग क्लाइमेट डाइलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति दिइएको छ । बडीचौर–विम्रेनी–बाबियाचौर–विद्यापुर सडक निर्माणका लागि सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं २, ५, ६, ७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १० दशमलव ३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव (प्रा) डा बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाउने र नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरिएको छ ।

मन्त्रीपरिषद्बाट कान्तिबाल अस्पताल भवन पुनःनिर्माण कार्यलाई विशेष परियोजनाका रूपमा कार्यान्वयन गर्नेगरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने, चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान(वस्तुगत सहायता) स्वरूप प्रदान गर्ने ५० थान विद्युतीय सवारीसाधन स्वीकृत गर्न स्वीकृति प्रदान गर्ने र स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय भएको छ ।

हामी सामन्तवादतर्फ, पुँजीवादतर्फ वा अर्को कुनै वादतर्फ उन्मुख छैनौँ

-केपी शर्मा ओली

कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण यहाँको भूूगोल र यहाँका हिमाल नदीनाला आदिका बारेमा मलाई जानकारी पनि छ । यहाँका जाति जनजातिहरुका बारेमा, यहाँका कला संस्कृतिहरुका बारेमा, जनताका आस्था र विश्वासहरुका बारेमा मलाई जानकारी छ । यो एउटा ऐतिहासिक सभ्यताको सुरुआत भएको, प्राकृतिक हिसाबले अत्यन्त महत्वपूर्ण यस्तो प्रदेश हो, जसमा हामी गौरव गर्न सक्छौँ । हाम्रो भूूगोल, प्रकृति र हाम्रा पुर्खाहरुप्रति हामी गर्व गर्न सक्छौँ । हाम्रो इतिहासप्रति हामी गर्व गर्न सक्छौँ । यसै प्रदेशमा सर्वोच्च शिखर सगरमाथा, विश्वकै तेस्रो हिमशृङ्खला कञ्चनजङ्घा, अर्को मकालु र चोयुु, त्यसैगरी ल्होत्से, ल्होत्सेसार, आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरु छन् । हामी कञ्चनजङ्घा भनेर एउटा हिमाल भन्छौँ तर त्यहाँ चार वटा हिमाल आठ हजार मिटरभन्दा माथिका छन् । पूर्व–पश्चिम–उत्तर र दक्षिण नाम गरेका ‘पिक’हरु छन् ।

कोशी प्रदेशको सबैतिर समेट्ने, सबैतिर जोड्ने मुख्य नदी कोशी नदी, काठमाडौँको फुुल्चोकी पहाडबाट आउँदै गर्दा रोशी हुँदै कोशीमा आइपुुग्छ । भक्तपुरबाट काभ्रेपलाञ्चोक जाने बाटोमा साँगा भञ्ज्याङको यतापट्टीको भागबाट पाउने यहीँ नै हो । त्यसैगरेर हामी इन्द्रावतीको कुरा गर्छौं, मेलम्चीको कुरा गर्छौं, याङ्ग्रीको कुरा गर्छौं, अरु नदीहरुको कुरा गर्छौं, ती  सबै खोला र नदीको पानी पनि यही कोशी नदीमा बग्छ ।

वास्तवमा यसको सभ्यताको इतिहास छ । हलेसी, पाथीभराजस्ता तीर्थस्थलहरु, अर्जुनधारा जस्ता तीर्थस्थलहरु जहाँ जनताको आस्था जोडिएको छ, ऐतिहासिकता जोडिएको छ । जहाँ किच्चकवधजस्ता कुराहरु रहेका छन् । यहीँ नजिकै रहेको बर्जुतालको द्वापरयुुगसँग सम्बन्ध रहेको छ । जलथल द्वापरयुुगसँग सम्बन्ध रहेको छ । अर्जुनधारा त्रेतायुुगसँग जोडिएको रहेको छ । हलेसीको सत्ययुुगसँग सम्बन्ध रहेको छ । अथवा सभ्यताको सुरुआतदेखि इतिहास बोकेको र पहिलो ज्ञानको ज्योति छरियो भने यहाँ छरियो । शिवले आफ्ना सप्त शिष्यलाई अगाडि राखेर, शिक्षा दिएर सप्तऋषि अथवा चेला बनाएका थिए । त्यसबेला विद्धान् र प्रोफेसरलाई ऋषि भनिन्थ्यो । आजकाल हामी प्रोफेसर भन्ने गछौँ । त्यसबेला ठूला प्रोफेसर भनेको महर्षि भन्ने हुन्थ्यो ।

यस क्षेत्रसँग सत्ययुग र त्रेतायुगको सभ्यता गाँसिएको  छ । मैले पहिले पनि भनेको थिएँ, विश्वको सबैभन्दा पुरानो ग्रन्थ, अलिखित ग्रन्थ जसलाई द्वापरयुगमा व्यासले लिपिमा परिणत गर्नुभएको थियो । त्यो ग्रन्थ वेद र वेदका मन्त्रको पनि महामन्त्र भनेर चिनिने गायत्री मन्त्र, त्यसको रचना विश्वामित्रले गर्नुभएको थियो, यही कोशी किनारमा । एउटा भ्रम के छ भने विश्वामित्रको अर्को नाम कौशिक थियो र कौशिक ऋषिका नामबाट खोलाको नाम रह्यो भन्ने छ । यहाँ आएपछि कोशीको नाम रह्यो होला, दूधकोशी, तामाकोशी, सुनकोशी, भोटेकोशी लगायतका सबै कोशी कहाँबाट विश्वामित्र अथवा कौशिकका नाममा आए । यहाँ धरानमा बस्ने एउटा विद्धानका नाममा जराजरासम्म कहाँबाट त्यसरी नाम रहन्छ ? त्यस्तो होइन, कोशीको किनारमा बसेर तपस्या गर्ने वमर्षि महाविद्धान् विश्वामित्र ती कोशीपुत्र जस्तै छन्, कोशीका धर्तीपुत्र जस्तै छन् र विद्धान् छन् भनेर कहाँका बासिन्दाको हुन्भन्दा कौशिक हुन् कोशीमा बस्ने भन्ने नामबाट उनको नाम कौशिक राखिएको हो । उनको लगाव कोशी नदीसँग थियो । यस्तो कुराहरुमा हामीहरु त्यति भ्रममा पर्नु हुन्न ।

मैले भन्दै आएको छु, ज्ञानको सुरुआत यहाँ भएको थियो । ध्यान, तन्त्र र योगको सुरुआत यहीँबाट भएको थियो । योग पनि शिवले आफ्ना शिष्य सप्तऋषिहरुलाई सूूर्य दक्षिणायन हुने, सबैभन्दा लामो दिनका दिन शिक्षा दिनुभएको थियो । त्यसकारण त्यस दिनलाई शिक्षा आरम्भ भएको दिन (२१ जुन) भनेर मानिन्छ । २१ जुनलाई सबैभन्दा लामो दिन मानिन्छ । योग आरम्भ भएको, ज्ञान आरम्भ भएको र विश्वमा शिक्षाको प्रारम्भ भएको दिन भनेर त्यस दिनलाई मानिन्छ । त्यो यसै प्रदेशमा पर्छ । भष्मासुरलाई शिवजीले वर दिनुभयो । जसका टाउकामा हात राख्छु, त्यो भष्म होस् भने, यो वर लाग्दैन होला, लाग्छ र भने । भष्मासुरले भने, मैले दिएको वर फरक नै पर्दैन भनेपछि शिवजीकै टाउकोमा हात राख्न ल्यायो लाग्छ कि लाग्दैन हेर्छु भनेर । किनभने सबैभन्दा शक्तिशाली मान्छे सिद्धाइसकेपछि अरु त उसले केही बाँकी राख्ने नै भएन । सबैभन्दा खतरा त उसका लागि शिव नै हुन् । त्यसकारण शिवको टाउकोमा हात राखेर शिवलाई नै भष्म बनाउन पायो, शिव नै भाग्नु पर्‍यो । यो कथा हलेसीसँग जोडिन्छ । हलेसीमा यताबाट लुक्ने, उताबाट छलिने, यताबाट पस्ने भन्ने कथा त्यहाँ गएर जोडिन्छ र त्यसपछि विष्णु पनि यतैतिरका थिए भन्ने कुरा विष्णुुले आएर छल गरेर भष्मासुरलाई मोहनी रुप धारण गरेर बध गरे भन्ने कथा जोडिन्छ । यी ऐतिहासिक तथ्यहरु, हामीलाई शास्त्रहरुले बताएका कुराहरु अथवा यो भूमि एउटा ऐतिहासिक भूमि हो, पुण्यभूमि हो । एउटा  गीतमा पनि छ, शिवले जहाँ सृष्टिको, पहिलो बिहान ल्याएथे, ज्ञानको  पहिलो ज्योति ल्याएथे भन्ने । त्यो गीत यिनै कुराहरुसँग आधारित भएर बनेको हो ।

मैले अघि नै भनें, प्राकृतिक हिसाबले यस कोशी नदीका सप्त शाखा र प्रशाखाहरु अनेक छन् । यो चिसो र उर्बरभूमि हो । जुन मैलेअघि कुरा गरें, आजको वातावरणको बारेमा जुन चासो छ । वातावरणलाई सन्तुलित राख्ने, पर्यावरणलाई ठीक राख्ने, ‘ग्लोबल वार्मिङ’ हुन नदिने सबै काम हिमालहरुले गर्छन् । त्यसकारण हाम्रा हिमालहरुको असाधारण महत्व छ । हाम्रा फाँटहरुको अन्न उब्जाउका लागि महत्व छ तर हिमालले पानी दिएन भने, हिमालका चट्टानहरुले पानी सोचेर राखिदिएन भने, विस्तारै विस्तारै ‘रिचार्ज सिस्टम’बाट पानी छोडिदिएन भने तातेर आएको ‘लु’ जस्तो हावालाई हिमालको नजिक पुग्दापुग्दै चिसो पारेर त्यसलाई  थान्को लगाएर फेरि चिसो हावामा परिणत गरेर फिर्ता गरेन भने यो धर्ती ‘ग्लोबल वार्मिङ’ मात्रै होइन कि, यो धर्ती तात्दैतात्दै धेरै तातोमा पुग्न सक्छ । त्यसकारण हाम्रा हिमालहरुको त्यति महत्व छ ।

आज हामी विश्वको ध्यान हिमालतिर त्यसकारण तानिरहेका छौँँ, हामी सगरमाथा संवाद तुरुन्तै गर्दैछौँँ । सगरमाथा संवादको हाम्रो विषय वातावरण, हिमाल विकाससँग सम्बन्धित छ । ‘माउण्टेन क्लाइमेट’, ‘माउण्टेन इकोनोमी’ कसरी बनाउने भनेर । अर्को कुरा सबैभन्दा अग्ला हिमालहरु यसै प्रदेशमा छन् । अग्ला शिखरहरु यसै प्रदेशमा छन् । विश्वको सबैभन्दा सघन ढङ्गले अग्ला हिमालहरु भएको यही नै प्रदेश हो । अरु हिमालहरु त यहाँ थुप्रै छन् । नुप्से हिमाल, अमादब्लम हिमालजस्ता सुन्दर अरु थप हिमालहरु यहाँ छन् ।

हाम्रा नदीहरु, जसले ‘रिचार्ज सिस्टम’को काम गरिराखेका छन्, मुहानहरु फुटिराखेका छन्, हिउँ पर्छ, बस्छ, पग्लिन्छ । हाम्रोमा झरी पर्छ । झरी किन पर्छभन्दा त्यो चट्टानमा विस्तारै पानी सोस्दै जान्छ र पछि विस्तारै थोपाथोपा गर्दै मुल फुटाएर फेरि ‘रिचार्ज सिस्टम’लाई छाड्ने गर्छ । त्यसकारण प्राकृतिक उर्बरता, हराभरा छ । प्रकृतिको सबैभन्दा ठूलो कुलिङ सेन्टर (चिस्यान केन्द्र), सबैभन्दा रिचार्ज सेन्टर, सबैभन्दा ठूलो ‘इकोसिस्टम’ पैदा गर्ने र व्यवस्थापन गर्ने प्रणालीको कुरामा जानुुपर्छ भने सबैभन्दा महत्वपूर्ण प्रदेश कोशी प्रदेश हो ।

मैले खाली प्रकृतिको, इतिहास र इतिहासका गौरवगाथाको मात्रै वर्णन गर्न खोजेको होइन । यी कुराहरुलाई आगामी दिनमा तिनको खोजी गर्ने र समाधान गर्ने कुरासँग जोड्न खोजेको हुँ । आगामी दिनमा हाम्रा विकासका सम्भावनाहरु खोज्न खोजेको हुँ । हामीले के प्रयासहरु गरिराखेका छौँँ र कस्ता प्रयास गर्नुपर्छ भन्ने कुरा जोड्ने खोजेको हुँ । यस प्रदेशसभाले बनाएको सरकारले के कस्ता नीति निर्माण गर्नुपर्छ र कसरी सुशासन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा मैले राख्न खोजेको हुँ ।

एउटा गलत भाष्य के निर्माण गर्न खोजिएको छ भने व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन, हामी जहीँको त्यहीँ छौँँ, कुनै विकास भएन भन्ने । मैले केही सार्वजनिक सभाहरुमा सम्बोधनको क्रममा भनेको थिएँ कि अनेक तथ्य र प्रमाणहरुले अवस्थामा पनि ठूलो परिवर्तन ल्याएको छ । हामीले कति वर्षदेखि नभएका काम र कति वर्ष लाग्ने खालका कामहरु केही वर्षभित्र गरेका छौँँ । असाधारण काम गरेका छौँँ । विकास निर्माणको सम्बन्धमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेका छौँँ । नेपाली जनताको आकाङ्क्षा के होभन्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । सिङ्गै नेपाल सुशासनयुक्त र समृद्ध बनाउनु पर्दछ र नेपाली जनतालाई सुखी जनता बनाउनु पर्दछ । त्यसमा सबैभन्दा नमिलेको कुरा २० प्रतिशतभन्दा बढी जनता अहिले निरपेक्ष गरिबीको रेखामुनि छन् । निरपेक्ष गरिबीको रेखामुनिको जनसङ्ख्या यस प्रदेशमा अलिकति कम छ । यहाँ साक्षरताको प्रतिशत माथि छ । यहाँ शिक्षाको स्तर माथि छ । त्यसकारण यहाँको शैक्षिकस्तरलाई अझ माथि उठाउन सकिन्छ, अझ गुणस्तरमा पुुर्‍याउन सकिन्छ । यहाँको गरिबी निवारणलाई अगाडि बढाउन सकिन्छ । तर, कतिपय कुराहरुमा ध्यान नपुगेको पनि देखिन्छ । जस्तो कृषिको क्षेत्रमा हामीले ‘सुपरजोन’, ‘जोन’, ‘ब्लग’ र ‘पकेट एरिया’ भनेर ठूलो मात्रामा उत्पादन गर्ने, ब्लगमा उत्पादन गर्ने र त्यसोगर्दा प्रविधिको प्रयोग गर्न, मेसिनको प्रयोग गर्न, सिँचाइको प्रयोग गर्न र अरु कुराका लागि सजिलो हुन्छ । साथै, बजार खोज्न र गुणस्तरीय वस्तु उत्पादन गर्न सजिलो हुन्छ । त्यसलाई जीविकाको मात्रै होइन, विकासको विषय बनाउन सकिन्छ । आज हामी जीविकाका लागि मात्रै सङ्घर्ष होइन, विकासका लागि, अगाडि बढ्ने कुरा र समृद्धिका लागि सङ्घर्ष गरिराखेका छौँँ । यसो गर्दा गरिबी उन्मूलन गर्नु नै छ, हटाउनु नै छ । तर, हाम्रो उद्देश्य गरिबी हटाउनेमा मात्रै सीमित छैन, समृद्धि हासिल गर्ने कुरामा पुगेको छ । हामी गरिबी हटाउँछौँं तर गरिबी हटाएर सन्तोष गर्दैनौँ । गरिबी हटाउनु भनेको खासगरी आधारभूत आवश्यकताहरुको परिपूर्ति हो तर समग्र जैविक र मानवीय न्यायोचित आवश्यकताको सहज आपूर्ति समृद्धितिर पुग्छ । तसर्थ, हामी सुशासन र समृद्धिको बाटोमा यतिबेला तीब्रताका साथ लाग्न खोजेका छौँ । त्यसैका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, सेवा, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गरेका छौँं, रोजगारीका अवसरहरु सिर्जना गर्न कोसिस गरेका छौँं, रोजगारीका अवसर सिर्जना गर्ने मात्रै भनेका छैनौँ ।

म यस सभाको विशेषगरी ध्यान आकर्षित गर्न चाहन्छु, रोजगारीका अवसरहरु सिर्जना गरौँ तर रोजगारीका अवसर कहाँबाट आउँछ ? त्यसकारण रोजगारीका अवसरभन्दा बढी जोड दिनुपर्ने कुरा उद्यमशीलतामा हो । हरेक मान्छे जागिर खोज्न हिंड्यो भने कहाँ पाउने ? सरकारी जागिर सीमित छन्, कहिले एक दुईवटा अवकाश हुन्छ, त्यो खाली हुनेबित्तिकै लोकसेवाले जाँच लिंदैन, अलिक समय महिना वा कहिले वर्षौं पनि लगाउँछ । वर्षमा साढे तीन चार वा पाँच लाख श्रमशक्ति बजारमा आउँछन् । मान्छे ‘रिटायर्ड’ कहिले हुन्छ र हामी सरकारी जागिर पाउँछौँं ? त्यसो भएर सरकारी जागिर भनेको बहुत थोरैले प्राप्त गर्ने कुरा हो । सायद दुई, तीन प्रतिशतले मुस्किलले पाउँलान् । तर, हामीलाई त कमसेकम ६० प्रतिशत जनता आम्दानीयुक्त भएको हुनुपर्‍यो र सामाजिक सुरक्षामा आबद्ध भएको हुनुपर्‍यो, उसको जीवन भोलि असुरक्षित हुनुभएन । यिनै कुराका लागि अघिल्लो पटक म प्रधानमन्त्री हुँदा विकासका लागि पहिला पूर्वाधार चाहिन्छ भनेर पूर्वाधारको विकास अगाडि बढाएँ । पूर्वाधारबिना विकास गर्न सकिंदैन, बाटोबिना कसरी विकास गर्ने, विजुली, सञ्चारको ‘कनेक्टिभिटी’बिना कसरी विकास गर्ने ? तसर्थ, विकासका साधनहरु पहिला चाहियो । त्यसकारण मैले हुलाकी राजमार्गमा किन ध्यान दिएँ ? किन मध्यपहाडी राजमार्गमा ‘स्मार्टसिटी’ बनाउने कुरा, हुलाकी राजमार्गमा १२/१३ वटा ‘स्मार्टसिटी’ बनाउने ती योजनाहरु किन अगाडि सारेँ ? सातवटा प्रदेशमा आठवटा औद्योगिक क्षेत्रहरु स्थापना गर्ने र हजारौँ उद्योग स्थापना गर्ने र जसबाट रोजगारीका अवसरहरु सिर्जना गरिन्छ, निर्माण र उत्पादनका कामहरु गर्न सकिन्छ । त्यसले जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउँछ ।

आज हामीले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व र स्थिरता दिनुु छ । संविधान, जसले लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिभाषित गरेर त्यसलाई स्थायित्व दिनका लागि मूल कानुुनको रुपमा काम गरेको छ । यो संविधान त्यसका लागि बनेको छ । संविधानको रक्षा गर्नु छ । आवश्यकताअनुसार जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा संविधान संशोधन गर्दै पनि जानुु छ । कानुुनी राजको स्थापना गर्नुपर्नेछ तर कानुनी राज बनाउनका लागि पहिला हामीले न्यायोचित कानुन निर्माण गर्नुपर्‍यो । अन्यायपूर्ण कानुन बनाउने अनि त्यसअनुसारको राज भन्ने हो भने त्यो त उहिले पनि थियो त । त्यो राणाशासनमा पनि त्यस्तै थियो, पञ्चायत कालमा पनि त्यस्तै थियो । तसर्थ, ती प्रणालीहरुलाई नेपाली जनताले हटायो, हामीले हटायौँ ।

अब हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँं । त्यसको रक्षा गर्नु छ अर्थात् हामीले प्राप्त उपलब्धिहरुको सुदृढ ढङ्गले रक्षा गर्नु छ । यिनमा कही कमीकमजोरी छ भने सुधार गर्दै अगाडि बढ्नुु छ र थप उपलब्धिका लागि अगाडि बढ्नु छ । लोकतन्त्रलाई साँचो अर्थमा प्रयोग गर्दै, लोकतन्त्रलाई जनताको जीवनसँग, जीवनस्तरसँग, आम्दानीसँग जोड्ने, उनीहरुको संस्कृति र विकाससँग जोड्ने र उनीहरुको सामाजिक मूल्य मान्यतासँग जोड्नु छ । देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने, हो । देश पछाडि फर्किन सक्दैन । देशलाई अगाडि बढाउनुपर्छ । त्यसैकारण हामीले मदन भण्डारी राजमार्ग बनायौँ । मध्यपहाडी पुष्पलाल राजमार्ग त्यसलाई पूरा गर्ने दिशामा गइराखेका छौँं ।

मैले अघि कृषि क्षेत्रको अलिकति कुरा गरेँ । कृषि क्षेत्रलाई हामीले आधुनिकीकरण गर्ने, व्यवसायिकीकरण गर्ने र यान्त्रीकीकरण गर्ने काम गरेका छौँं र कतिपय जिल्लामा बहुत राम्ररी कामहरु भइराखेका छन् । त्यहाँ ‘सुपरजोन’हरु बनिराखेका छन् । कहीँ जुनार र सुन्तलाखेती, कहीँ आलुखेती, कहीँ माछापालन, कहीँ केराखेती, कहीँ उखुखेती जस्ता विभिन्न प्रकारका खेतीहरु ठूलो स्केलमा भइराखेका छन् । तिनीहरुले मेसिनको सुविधा र अरु थुप्रै कुराको सुविधा पाइराखेका छन् । तालिमको सुविधा पाइराखेका छन् ।

यसै साता काठमाडौँमा श्रम मन्त्रालयको अग्रसरतामा र विभिन्न निजी क्षेत्रका विभिन्न उद्यमी व्यवसायी र तालिम दिने खालका संस्थाहरुसँगको सहकार्यमा दशवटा कम्पनीसँग व्यावसायिक तालिम कसरी दिने भनेर सम्झौता भएको छ । मान्छे हामीसँग छ तर तालिम दिने ठाउँ छैन, तालिम प्राप्त मान्छे छैन, काम गर्न सक्दैन । काम गर्ने रुचि छैन । यी कुराहरुलाई बदल्नुु छ । त्यो गोष्ठीमा हामीले सुन्यौँ, २० लाख श्रमिक निर्माण व्यवसायको क्षेत्रमा चाहिएको छ । तर उहाँहरु २० लाख श्रमिक पाइराख्नु भएको छैन, जम्मा छ/सात लाख श्रमिक पाउनुहुन्छ । काम छिटो किन हुँदैन भने श्रमिक पाउँदैन । त्यो पनि पारीबाट ल्याउनुपर्छ । छ/सात लाख पनि यहाँको श्रमिकले काम गरिराखेको छैन । मान्छे रोजगारी पाइन भनेर हिंडिराखेको छ, बाहिर गइराखेको छ । यहाँ व्यवसायीहरु भन्छन्, बीस लाख त निर्माण व्यवसायको क्षेत्रमा चाहियो भनेर । अरु क्षेत्र त्यस्तै भनिराखेका छन् कि हामीलाई यति श्रमशक्ति चाहियो भनेर । तनखा थोरै छ, त्यसकारण मान्छे बाहिर गइराखेको छ । काम गर्‍यो गर्‍यो खान, लगाउन, छोराछोरी  पढाउँन पुग्दैन, अनि काम मात्रै गरेर घाटामा गएर के हुन्छ भनेर उनीहरु बाहिर गएका छन् । यसरी एउटा देश छोेड्नुपर्ने खालको मनस्थितिमा पुग्नुपर्ने अवस्था छ । उनीहरु किन राम्रो तलब पाउँदैनन् भने उनीहरुमा दक्षता छैन, व्यावसायिक तालिम छैन, उनीहरुले राम्ररी काम गर्न सक्दैनन् । हामीले आधुनिक तरिकाले उत्पादनका लागि प्रयोग गर्नुपर्ने प्रविधिको प्रयोग उनीहरु गर्न सक्दैनन् । किनभने उनीहरुको प्रविधिसँग पहिचान छैन । डिजिटल नेपाल हामीले भनेका छौँं, त्यसअनुसार अगाडि बढ्नु छ । त्यसमा हामी प्रयास गरिराखेका छौँं तर अहिले पर्याप्त प्रयास भएको छैन ।

हामीसँग यति उर्बर फाँटहरु अहिले छन् । अलिकति खेतीयोग्य जमिनहरु जनसङ्ख्या वृद्धिसँगै मासिनु स्वभाविक हो । एउटा परिवारमा दुई–तीन भाइ हुन्छन् । उनीहरुलाई त्यही जमिनले पुुग्दैन, अनि उसका दुईभाइ छोराहरु कमसेकम बाहिर जान्छन् । त्यसकारण जग्गा टुक्रिन्छ । त्यो खालको स्थिति स्वभाविक हो । कृषिमा पहिलाको जस्तो एउटा परिवार नै उत्पादनको एकाइ हुने समय गयो । अब कलेक्टिभिजमतिर, सामूहिकतातिर, सहकारीतिर जानुपर्छ । केही गैरसहकारी तत्वहरुले सहकारीमा घुसपैठ गरेर सहकारीको बदनाम गरे । सहकारी वा सामूहिक खेती प्रणाली वा ठूलो परिणाममा लानका लागि, थोरैथोरै पुँजी, थोरै जमिन जे छ हामीसँग, त्यसलाई संगोलमा सञ्चालन गरेर लान सकिन्छ । अहिले हामीले हेर्‍यौँ भने चितवनमा त्यस्तै गर्दैछन् । उनीहरुले चार विगाहाको एउटा गरो बनाउँछन् । चार विगाहाको एउटा फाँटमा कति जनाको खेत त्यहाँ पर्छ, कसैको एक विगाहा होला, कसैको डेढ विगाहा होला । २० विगाहा जमिनका चार/पाँचवटा गरा हुन्छन्, कहिले कहिले दुुई/तीनवटा गरा हुन्छन् । त्यो उनीहरुको आली हुँदैन, नक्सामा मात्रै  उनीहरुको सीमाना हुन्छ । कति जमिन छ भन्ने थाहा छ, कति मल लाग्यो, कति सिँचाइ भयो, कति खर्च भयो र कति आम्दानी भयो भनेर जग्गाअनुसार छुट्याउन सकिन्छ । त्यहाँ किन आली लगाउनुु पर्‍यो ? कति जमिन हो भन्ने कुरा नक्सामा छ, श्रेस्तामा छ । त्यसो भएपछि त्यसमा भएको खर्च, लगानी, श्रमशक्ति आफ्नो आफ्नो ढङ्गले उनीहरुले छुट्याउन सक्छन् । तर मैले आज बिहानको राति मात्रै एउटा भिडियो हेरेको थिएँ, किसानले भन्छन्, हामीसँग धान रोप्ने मेसिन छ, हामी धान रोप्दैनौं । धान काट्ने मेसिन छ, गोड्ने मेसिन छ, पराल छुट्याउने मेसिन छ, पराल र धान छुट्याउने मेसिन छ, पराललाई अर्को काममा लगाउने मेसिन छ, हामीसँग सबैको मेसिन छ । उनीहरुले भने, ‘प्रधानमन्त्रीज्यू अब मर्मतसम्भार गर्ने पनि अफिस राखिदिनुु पर्‍यो भनेर ।’ हामीले मेसिन दियौँ, सबै दियौँ तर मर्मसम्भार गर्ने त्यहाँनिर चाहिएछ । अर्थात्, उहाँहरुको गरिबी हट्यो तर उहाँहरु पर्याप्त समृद्ध भइसक्नु भएको छैन । त्यसकारण मर्मतसम्भार गर्ने चिज मागिरहनु भएको छ ।

हामीले पछाडि परेको नेपाललाई अगाडि बढाउनु पर्नेछ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य संयुक्त राष्ट्रसङ्घले तोकेको छ । त्यो दिगो विकास लक्ष्य पूरा हुने सम्भावना त देखिंदैन तर गतवर्ष हामीले मूल्याङ्कन गर्दा सरदर १७ देखि १८ प्रतिशत मात्रै दुनियाँमा काम भएको रहेछ । दिगो विकासको लक्ष्य सन् २०१५ बाट सुरु भयो । सन् २०२४ मा मूल्याङ्कन गर्दा १७  देखि १८ प्रतिशत मात्रै काम भएको रहेछ । तर हामीले सन् २०१५ देखि २०२५ सम्म पुग्दा ४८ प्रतिशत काम गरेका रहेछौँं । यो खुशीको कुरा हो । दिगो विकास लक्ष्य भेट्नका लागि हामीले ४८ प्रतिशत काम अगाडि बढाएका रहेछौँं वा काम पूरा गरेका रहेछौँं । अरुले भन्दा बढी तीव्रताका साथ नै गरेका रहेछौँ । कोभिडभन्दा अगाडि आइपुग्दा विश्व बैंकले नेपालको मूल्याङ्कन गरेको थियो कि नेपाल आर्थिक क्षेत्रमा दक्षिण एसियाको एउटा उदाउँदो तारा हो भनेर । राइजिङ स्टार अफ साउथ एसिया भनेको थियो । त्यसपछि कोभिड आयो, अरु कुराहरु भए, हामी केही पछाडि पर्‍यौँ । एक वर्ष हामीलाई कोभिडले थला पार्‍यो, त्यसपछि हामी फेरि तंग्रिन थाल्यौँ, उठ्न थाल्यौँ । अब कोभिडलाई अपजस लगाएर हुँदैन, कोभिडलाई छिचोलेर मान्छे अगाडि बढिसके र आइसके । अब हामी समालिनु पर्दछ । हामी जता जानुपर्ने हो, त्यो बाटो नै समाउनुपर्छ । हाम्रो आजको आवश्यकता त्यो हो ।

यतिबेला हामीलाई शान्ति र राष्ट्रिय एकता चाहिएको छ । हाम्रो विविधतायुक्त देश छ । भौगोलिक विविधता, जैविक विविधता, वनस्पतीय विविधता, सामाजिक विविधता, भाषिक विविधता, सांस्कृति विविधता र अनेक विविधता छन् । पूर्वदेखि पश्चिमसम्म सबै हाम्रो देश हो । त्यसकारण विविधतायुक्त हाम्रो देश छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी विविधतामा एकता, विविधता हाम्रो सम्पन्नता हो, विविधता हाम्रो सम्पदा हो । यति सानो देशमा, यति सानो जनसङ्ख्यामा यति ठूलो विविधता अत्यन्तै बिरलै हुने कुरा हो । यो सजिलो कुरा होइन तर हामी कहाँ छ ।

हिजो इतिहासमा सामाजिक असमानता, आर्थिकलगायत विभिन्न प्रकारका सांस्कृतिक विभेदहरु थिए । राजनीतिक प्रणालीले त्यस विभेदलाई जन्म दियो, रक्षा गर्‍यो, सुरक्षा दियो र हुर्कायो । आज हामी ती प्रणालीअन्तर्गत छैनौँ । जसले त्यस्ता विभेदहरु जन्माउने र हुर्काउने काम गरे, तिनको पक्षमा हामी छैनौँ । आज हामी सबैका निम्ति प्रणाली, विकास, सुरक्षा, सुशासन, अधिकार सुनिश्चित गर्ने प्रणालीमा छौँं, हामी लोकतन्त्रमा छौँं । लोकको तन्त्र वा जनताको तन्त्रमा छौँं । तसर्थ, आज हामीले यी कुराहरुमार्फत् सामाजिक न्याय र समानता कायम गर्दै, तिनलाई बढावा दिंदै, तिनलाई स्थापना गर्दै, तिनलाई सुदृढ गर्दै सामाजिक सद्भाव कायम गर्ने बाटोमा र सामाजिक सद्भावमार्फत् राष्ट्रिय एकता कायम गर्ने बाटोमा र सिंगै राष्ट्र एकजुट भएर देशको विकास गर्ने, सुशासन र विकासको बाटोमा अगाडि बढ्नुपरेको छ । आजको हाम्रो अभिभारा र आवश्यकता यही हो ।

आज हामीलाई देश विकासका निम्ति शान्ति चाहिएको छ । हामी आज पछाडि फर्किन सक्दैनौँ । आजको हाम्रो प्रणाली प्रतिस्पर्धात्मक प्रणाली हो । जो कोही पनि आफ्नो क्षमताले अगाडि बढ्न सक्छ, पाउँछ र पाउनुपर्दछ । अहिले व्यवस्था र संविधानविरुद्धमा पनि केही आवाजहरु उठ्न खोजेको देखिन्छ तर अस्पष्ट,  चाहियो के त ? योभन्दा राम्रो प्रणाली कुनै छ भने ठीक छ । राम्रो प्रणालीमा छलफल गरौँ न त, योभन्दा राम्रो प्रणाली के हो ? जसो पायो त्यसै एकाध मान्छेहरुका स्वार्थ पछाडि मुलुक लाग्न सक्दैन । त्यो सुधारका लागि त सधैँ संविधान तयार छ, सरकार तयार छ र सार्वभौमसत्ता सम्पन्न जनता तयार छन् । तर त्यसको बाटो हामीले तय गरेका छौँ, शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली र प्रक्रियागत बाटो तय गरेका छौँ । त्यस बाटोबाट हामी अगाडि बढ्छौँ । सुशासन, कानुनसम्मत, न्यायसम्मत, समाजसम्मत, सामाजिक मूल्यमान्यतालाई दखल नपारी हाम्रा सभ्यता र संस्कृतिहरुलाई दखल नपारी अगाडि बढ्ने बाटोमा हामी छौँ ।

हामी राजनीतिक हिसाबले स्पष्ट छौँ । सार्वभौमसत्ता जनतामा रहेको, जनताको वा नागरिक सर्वोच्चता भएको प्रणाली छ । हामी अब समाजवादतर्फ उन्मुख छौँ । हामी सामन्तवादतर्फ, पुँजीवादतर्फ वा अर्को कुनै वादतर्फ उन्मुख छैनौँ । सर्वसम्मत जस्तै गरेर बनेको, संविधानसभाबाट बनाइएको संविधानमा हामीले व्यवस्था गरेका छौँ कि जनता सार्वभौमसत्ता सम्पन्न छ, जनताबाट शक्ति निश्रित हुन्छ, अरु कसैबाट होइन । संविधानसभाले संविधान बनायो, संसदले त्यसलाई त्यही दुई तिहाईको विधिबाट संशोधन गर्न सक्छ । हामी उपलब्धिहरुको रक्षा गर्ने, लोकतन्त्रको रक्षा गर्ने, लोकतन्त्रलाई व्यवस्थित गर्ने संविधानको रक्षा गर्ने बाटोबाट राजनीतिक रुपमा अगाडि बढ्दैछौँ । यसमा कुनै कही कतै अर्गेल्याइँ कसैप्रति गर्नुपर्ने आवश्यकता नै छैन ।

हामी विकास, सुशासन, भ्रष्टाचार नियन्त्रणको बाटोमा सङ्कल्पका साथ आज अगाडि बढ्नुपरेको छ । त्यस बाटोमा सरकार अगाडि बढेको छ र बढ्छ । भ्रष्टाचार नियन्त्रण गर्न, भ्रष्टाचारको छानबिन गर्न, भ्रष्टाचार हुन नदिन, भएको थाहा पाइएमा त्यसमा कारबाही अगाडि बढाउन सरकार सदैव प्रतिबद्ध छ ।

विकासलाई स्पष्ट योजना र दृष्टिकोण साथ योजनाबद्ध ढङ्गले कार्यक्रम बनाएर हरेक क्षेत्रमा कृषि, उद्योग, व्यापार, पर्यटन अथवा सामाजिक विकासको सन्दर्भमा हामीले थुप्रै काम गरेका छौँ । बीमाका काम, सामाजिक सुरक्षाका काम वा अरु यस्ता थुप्रै काम गरेका छौँ । यी कामहरुलाई सुदृढ ढङ्गले अगाडि बढाउँदै लान्छौँ । स्वास्थ्य बीमाको सन्दर्भमा केही बेठीक कामहरु हुन गएका छन् । त्यस्ता कुराहरुलाई रोकेर, त्यसलाई ठीक बाटोमा अगाडि बढाउने प्रयासमा पनि हामी लाग्नेछौँ ।

हामीले केही गरेका छैनौँ होइन, केही गरेका छौँ । गोठगाउँ हिजो गोठ थियो, गोठ भएको ठाउँ थियो । त्यहाँ आज पूर्वाञ्चल विश्वविद्यालय बनेको छ, यो असाधारण कुरा हो । आठ हजार एक सय पचास जना विद्यार्थीहरु दीक्षित भएका छन् । यसअघि बीसौं हजार दीक्षित भइसके । विद्यार्थीको ठूलो सङ्ख्याले त्यहाँ अध्ययन गरिराखेका छन् । त्यसो भएर हामीले केही गरेका छैनौँ भन्ने होइन । यातायातको क्षेत्रमा भन्ने हो भने पूर्व–पश्चिम मूल ‘लाइफलाइन’ राजमार्गहरु बनाउने कुरा अथवा ‘रिभर करिडोर’ बनाउने कुरा अगाडि बढाएका छौँ । आज ओलाङ्चुङगोलाभन्दा माथि तिप्ताङ पासबाट पनि मोटर छिचोलेको छ । आज ओलाङ्चुङगोलासम्म पक्की बाटो निर्माण गर्दैछौँ । कोशी करिडोर किमाथान्काबाट बाटो वारपार गरिसक्यो, अब पक्की हुन मात्रै बाँकी छ । गाडी किमाथान्का पुगिसक्यो, त्यहाँका जनताले खुशीयाली मनाए र सबै मौसम काम लाग्ने किमाथान्का बाटो हामीले बनाइसकेका छौँ । तमोर, अरुण, सुनकोशीलगायत अरु नदी ‘करिडोर’हरु बनाएका छौँ । जहाँ दुर्गम थियो, त्यो ठाउँ अब दुर्गम रहेन । सबैभन्दा दुर्गम ठानिने सोलुखुम्बु जिल्लाको सल्लेरीमा अहिले कालोपत्रे पुगिसकेको छ । लुक्लाभन्दा ठ्याक्क मुनिको बाटोको मैले अस्ति ट्रयाक खोलेर आएँ । अब अलिकति माथि बढाउने हो भने ट्रयाक लुक्ला पुग्छ । यो खालको सजिलो स्थिति हामीले प्रदेशभरी निर्माण गरेका छौँ ।

हाम्रा केही उत्पादनहरु चर्चित छन् । हाम्रो चिया, अलैंचीको उत्पादन कसरी बढाउन सकिन्छ भनेर हाम्रा विश्वविद्यालयहरुले अनुसन्धान गरुन् । अहिले ५८ लिटरसम्म दूध एउटा गाईले एक दिनमा दिएको रेकर्ड हामीले हाम्रै प्रदेशमा कायम गरिसकेका छौँ । यो सानो कुरा होइन । सरदर ३० लिटर दूध गाईले दिने त्यो खालको तहमा हाम्रा गाईफर्महरु पुगिसकेका छन् । देशभरिमा अहिलेसम्म सबैभन्दा बढी उत्पादन दिने गाईफर्म यही प्रदेशको भएको छ । हाम्रो सुपारी, मरिच, अदुवा, बेसारको उत्पादनदेखि स्कुस, अम्रिसोलगायत सारा कुरालाई व्यवस्थित गरेर अगाडि बढाउनुुपर्छ । इलाम अरुभन्दा अगाडि किन छ ? गरिबी निवारणमा अरुभन्दा अगाडि किन छ भने उसले जमिनको सदुुपयोग गरेको छ । केही भएन भने अम्रिसो लगाउँछ र बेच्छ । इलामको रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग मैले भेटेको थिएँ, उहाँहरुले साग, पालुङ  लगाउनुहुन्छ, गुन्द्रुक बनाउनुहुन्छ । त्यसका लागि धेरै ठूलो उद्योग चाहिएन, गुन्द्रुक बनाएर गुन्द्रुकलाई ‘ब्राण्डिङ’ गरेर राम्रो आर्जन गरिरहनुभएको छ । साग बेच्नभन्दा तीन गुणा बढी गुन्द्रुक बेचेर नाफा कमाइरहनुभएको छ । घरघरमा मौरी पाल्नुभएको छ । गाउँपालिका अध्यक्षलाई आफ्ना यति घर छन्, हरेक दिन मह यति जम्मा हुन्छ भन्ने थाहा छ । सुकेको गुन्द्रुक यति हुन्छ, यसरी प्याकिङ गर्नुपर्छ भन्ने त्यो कुरा थाह छ । हामीले केही मौलिक कुराहरु गरौँ, नयाँ कुराहरु गरौँ । त्यसो भएर अलिकति उद्यमशीलतामा जोड दिऔँ ।

हामी केही कुराहरुको निर्णय अलिकति राम्ररी गर्दै छौँ । अझ राम्ररी ठहर गरेर निर्णय गर्नुपर्ने अवस्था के छ भने, उखु उत्पादनमा हामीले समर्थन मूल्य तोक्छौँ, त्यसपछि फेरि अनुदान दिन्छौँ । न हामी चिनीमा आत्मनिर्भर हुन्छौँ, न केही हुन्छौँ तर अनुदान दिइराखेका छौँं । पैसा गइराखेको छ । न चिनीले हामीलाई पुगेको छ, सरकारले उत्पादनका लागि पैसा तिरिराखेको छ । त्यो किन तिर्ने ? त्यसो भए आलु उत्पादनलाई किन नदिने, धान उत्पादनलाई किन नदिने, अर्को उत्पादनलाई किन नदिने ? या त अझै हामी उखु उत्पादनमा लाग्छौँ र चिनी मिलहरु स्थापना गछौँ र चिनीमा आत्मनिर्भर हुन्छौँ । त्यसो भएपछि कमसेकम एउटा चिज त आत्मनिर्भर भयो । त्यो पनि नहुने तर अनुदान दिने जस्ता कुराहरु छन् ।

जुट मिलहरुले पारीबाट जुट ल्याउनुपरेको छ । यहाँ त्यसलाई थिचथाच गर्‍यो, धागो बनायो र त्यसबाट फेरि बोरा र झोला बनाएर उतै पठायो । खानेकुरा त्यसमा राख्न पाइँदैन भन्छ । उता बनाएको जुटमा खानेकुरा राख्न हुने, यहाँ बनाएर उता पठाएपछि खानेकुरा राख्न नहुनेजस्ता कुराहरु छन् । यस्तोमा हामी कुराकानी गर्दैछौँ । ‘डम्पिङ साइट’ आदिका विषयमा हामी कुराकानी गर्दैछौँ । हामी चियाको सम्बन्धमा कुराकानी गर्दैछौँ । चियाको गुणस्तरको परीक्षण कसरी गर्ने, त्यसका लागि मेसिन स्थापना गर्ने, त्यसले ‘लेवलिङ’ र प्रमाणित गरिदिने जस्ता कुराको सहजीकरण गर्नेमा हामीले ध्यान राखिराखेका छौँ । अहिले अलैंची र अदुवा आदिको राम्रो उत्पादन यी क्षेत्रहरुमा हुने गरेको छ । यी कुराहरुलाई पनि बढाऔँ । हाम्रो ठाउँ धानवालीका लागि पनि प्रसिद्ध छ । तर, यसलाई आधुनिक ढङ्गले गरौँ । सय जना रोपार लगाउने ठाउँमा दुुई जना मेसिनमा बसेर रोपाइँ सकिन्छ । सय जनाले रोपेकोभन्दा एउटा मेसिनले बढी रोप्छ । अहिले बिउ उखेल्नै पर्दैन, ठ्याक्क उठाउने, ल्याउने र राख्ने गर्छ । त्यसपछि मेसिनले आफैँले खुरुखुरु रोप्छ । यति सजिलो तरिका गर्दा किसानलाई लागत कम हुन्छ, प्रतिफल बढी हुन्छ र उत्पादन बढी हुन्छ । खेतमा जोताइ र सिँचाइ राम्रो हुन्छ । खेतमा मल राम्ररी मिलाएर पुुग्छ । यसो भएर हामीले यस दिशातर्फ जाने खालका उपायहरु र तरिकाहरु अवलम्बन गर्नुपर्दछ ।

किसानले यति बेला कमसेकम चैते धान कसरी लगाइराखेका छन् । चितवनमा यस प्रदेशसभाबाट दुुई–तीन दिनको भ्रमण यात्रा आयोजना गरौँ । त्यो हेरेर आइयो, सिद्धियो होइन । त्यो कुरा यहाँ फेरि लागुु गर्नुपर्‍यो । हामीले एउटा ‘डिपबोरिङ्ग’ गर्‍यौँ भने ६० विगाहा जमिनमा पुर्‍याउन सक्छ । प्रदेश सरकारले त्यो चिज गर्न सक्छ र सकेन भने कतिपय ठाउँका लागि डिपबोरिङ केन्द्र सरकारले पनि गर्दिनसक्ला । जहाँनिर पालिकाले सक्छ, पालिकाले सकेन भने प्रदेशले सक्ला, प्रदेशले सकेन भने सङ्घीय सरकारले सक्छ । सङ्घीय सरकार तपाईंहरुको साथमा छ । त्यसकारण तपाईंहरु आँटका साथ काम अगाडि बढाउनुस्, मेरो आग्रह छ । केरा खेती कसरी गरिराखेको छ, त्यो तपाईंहरुले हेर्नुस्, बीमा कसरी गर्छ र कसरी आफ्नो आम्दानीलाई सुरक्षित गर्छ र कसरी खतराबाट मुक्त गर्छ, त्यो कुरा त्यहाँ हेर्नुस् । पोल्ट्री फर्म कसरी गर्छ त्यो हेर्नुस् । थुप्रै कुराहरु त हाम्रै ठाउँमा हामीले हेर्न सक्छौँ । विभिन्न प्रकारका फोहोर र घाँसपातबाट कसरी कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ, ग्यास उत्पादन गर्न सकिन्छ र घरघरमा ग्यास वितरण गर्न सकिन्छ, ती चिजहरु हामी गर्न सक्छौँ ।

म साथीहरुलाई आग्रह गर्न चाहन्छु, अलिकति नयाँ ठाउँहरुमा कहाँ कहाँ के के गर्दै छन् हेरौँ । सिन्धुली र रामेछापमा जुनार र सुन्तला खेती हेर्न जाऔँ । सुन्तला र जुनारले डाँडै रातै र पँहेलै भएको देखिन्छ । त्यहाँ सुनजस्तै देखिएको हुन्छ । त्यही चिज हामी यो प्रदेशमा किन नल्याउने, किन नसक्ने ? त्यसका निम्ति विभिन्न ‘जोन’हरु बनाएर हामी सहयोग गर्न सक्छौँ । जस्तो मनाङमा स्याउ खेती गरियो, त्योसँगै स्लाइस बनाउने, सुख्खा चानाहरु बनाउने, ‘वाइन’ बनाउन सकिन्छ । राम्रो अङ्गुर फल्यो भने बजारमा जान्छ, अलिक सस्तो मूल्य पाउँछ । अलिक कच्याककुचुक पर्‍यो भने त्यसबाट ‘वाइन’ बन्छ र चार गुणाबढी मूल्य दिन्छ । तर, अब किसानले कमसेकम सग्लो र राम्रो खालको स्याउलाई खानका लागि नै पठाउँछ । अलिक सस्तो परे पनि केही छैन, मान्छेले खाउन् भनेर । हामीले मुस्ताङमा स्याउखेती प्रवद्र्धन गरिराखेका छौँ । कहीँ जैतुनको खेतीमा सहयोग गरेका छौँ ।

मैले आज बिहान मात्रै भिडियो हेरेको थिएँ कि किसानले भन्छन्, केरा खेतीबाट मैले वर्षमा ३० लाख रुपैयाँ नाफा कमाउँछु । कमसेकम उहाँले ३० लाख रुपैयाँ त कमाउनु हुँदोरहेछ । खाएर, लगाएर र सबै खर्च कटाएर रु ३० लाख त बचत हुँदो रहे । भनेपछि महिनामा अढाइ लाख रुपैयाँ उहाँको बचत हुन्छ । त्यही चिज हामी यता किन गर्न सक्दैनौं ? त्यसो भएर नयाँ चिजहरु, ‘इनोभेटिभ’ चिजहरु गर्नका लागि केही ठाउँहरुमा जाऔं, हेरौँ । नवलपरासीको सब्जी खेतीको अध्ययन गरौँ । कसरी मान्छेले सब्जी लगाएर धनी हुँदोरहेछ । यस्ता कुराहरु सिकौँ र हामी गाउँघरमा गएर यस्ता कुराहरु भनौँ । हामी सामूूहिक ढङ्गले केही कदमहरु चालौँ । जमिन मिसाएर केही हुँदैन, हामी जमिन मिसाएर काम गरौँ । मिलेर ससाना उद्योगहरु स्थापना गरौँ ।

कोभिडमा दमकमा एउटा बाबुले मास्क बनाउन सुरु गरे । बाँच्ने आधार त केही चाहियो, केही त गर्नुपर्‍यो भनेपछि मास्क सिलाएर बेच्ने गरे । त्यसपछि उनी अहिले मास्क, झोला, दुना टपरी, कागजका, प्लास्टिकका बनाउँछन् र उनको अहिले उद्योग राम्रो चलेको छ । अथवा अप्ठ्याराका बेला एउटा मास्क बनाउनेदेखि थालेको र कतिपय ठाउँमा त गरिबले मास्क किन्न पनि सक्दैनन्, निःशुल्क पनि दिनुुपर्‍यो । तर, त्यसका बावजुत उनी एउटा राम्रो साना मझौला उद्योगको विकास गरेका छन् । उनले ३५/४० जनालाई उद्योगमा रोजगारी दिएका छन् । त्यसकारण देश बनाउने अभियानमा हामी छौैँ । जनताले हामीलाई छानेको र जनप्रतिनिधि बनाएर पठाएको भनेको केही गर्नका लागि हो, परिवर्तन ल्याउनका लागि हो, उहाँहरुका समस्या सुनिदिनका लागि हो र ती समस्या समाधान दिनका लागि हो । हामीलाई यत्तिकै पठाएको होइन । हामीलाई पठाएको केही नयाँ गर्नका लागि हो । यथार्थ समाजमा परिवर्तन ल्याउन, जनताको जीवनमा परिवर्तन ल्याउन, देशमा परिवर्तन ल्याउन र हामी विकाशशील राष्ट्रमा परिणत हुँदैछौँ । त्यसका लागि हामीले बढी ऋण पाउँदैनौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले भनिसक्नुुभयो, अब युएसआइडीबाट ऋण नदिने भनेर । यस्ता कुराहरु हुन्छन् । अरुको सहायतामा बाँच्छु भन्ने कुरा होइन, आफ्नो बलमा, आफ्नो तरिकाले मज्जाले बाँच्न सकिन्छ । हामीले त्यो तरिका सिकाऔँ, त्यो तरिका खोजौँ, तरिका विकास गरौँ ।

म जनप्रतिनिधि साथीहरुलाई भन्न चाहन्छु, हाम्रा सरकारका विकासे अड्डाहरु छन् । ती विकासे अड्डाहरुसँग कुरा गरौँ । वन क्षेत्र भनेको छ, वन क्षेत्र खाली छ, वनसँग सहमति गरेर हामीले फलफूल खेतीका लागि लिन सक्छौँ । वन वनको हुन्छ, रुख वनको हुन्छ, फलफूल किसानका । त्यहाँ समुदायले अरु कामसँगै फलपूmल खेती पनि गर्छ । बार लगाउँछ, बचाउँछ, जोगाउँछ र राम्रो गर्छ । के बिग्रियो त्यसबाट ? त्यसबाट किसानहरुको आम्दानी हुन्छ, समुदायको आम्दानी हुन्छ, अरु समुदायले पनि त्यस्तो गर्न पाउँछन् । जङ्गल भएका ठाउँमा हामीले थुप्रै चिज गर्न सक्छौँ । खाली ठाउँहरुमा काजुका, मरिचका रुखहरु रोपिदिन सक्छौँ । ल्वाङ रुखमा फल्छ, मरिच लहरामा फल्छ । यो ल्वाङ र काजुको रुखहरु लगाउन सकिन्छ । यस्ता चिजहरु हामीले जङ्गलभित्र लगाउन सक्छौँ । किसानलाई त्यो लगाउन, त्यसको रेखदेख गर्न र त्यसबाट भएको आम्दानी समुदाय बनाएर दिन सकिन्छ । यस्ता चिजहरु सरकारी अड्डा र जनप्रतिनिधिहरुले मिलेर अगाडि बढाउनुपर्छ । ससाना उद्योगहरु स्थापना गर्न जनतालाई सहयोग गरौँ, तरिका दिऔँ । किसान र सरकारी कार्यालयहरुका बीचमा जनप्रतिनिधिहरुले पुलको काम पनि गर्दिऔँ । बैंकहरु र उनीहरुले गर्न खोजिरहेका आयोजनाहरुका बीचमा पुलको काम गर्दिऔँ । यसो गरेपछि हामीले थुप्रै विकासका कामलाई हरेक ठाउँबाट हरेकले अगाडि बढाउन सक्छौँ ।

यसर्थ, यति बेलाको आवश्यकता हामी भावनामा बगेर होइन, यथार्थमा हामीले हाम्रा काम, कर्तव्य र अभिभाराहरु के हुन्, के गर्नु पर्नेछ, कसरी अगाडि बढाउनुपर्नेछ, त्यस कुरामा लागेर त्यस काममा लागेर अगाडि बढ्नुछ । दुनियाँ अगाडि बढिसक्छ, हामी भावानात्मक कुराहरु गरेर पछाडि परिराखेका हुन्छौँ । हामी पछाडिको पछाडि छौँ, हाम्रा कुरा माथि पर्छन् तर हाम्रो देश तल पर्छ । त्यसकारण हामीले अब व्यवहारिक कुरा, देश बनाउने कुरा, जनतालाई आम्दानी हुने र उनका खल्तीमा कसरी पैसा पुुग्छ, कमाइ कसरी हुन्छ र उनीहरुको आम्दानी र खर्चमा खर्च कटाएर आम्दानी बचतमा कसरी जान्छ भन्ने कुरालाई ध्यान दिनुपर्‍यो । यदि जनतालाई बचतको स्थितिमा पुर्‍याउन सक्यौँ, हरेकको आम्दानी बचतको स्थितिमा जान सक्यो भने देश धनी हुन कुनै समय लाग्दैन । गरिबी त निवारण भयो भने देश पनि धनी हुन्छ । यी कामहरुमा लागौंँ ।

हामी शिक्षकहरु पनि हो । मेरो आग्रह के छ भने, हामी आफूलाई कहिले कहिले नेता ठान्ने, प्रवृत्ति देखिन्छ । मिडियाका खपतका लागि बोल्ने, मिडियाको खपतका लागि बोल्न जरुरी नै छैन, देशको खपतका लागि बोलौँ, जनताको खपतका लागि बोलौँ । जनताको जीवनमा परिवर्तन ल्याउनका लागि बोलौँ । हाम्रो शैक्षिकस्तर बढाउनका लागि बोलौँ । हाम्रो स्वास्थ्यस्तर उठाउनका लागि बोलौँ । मलाई खुशी लागेको छ, मैले अघिल्लो पटक तीन सय ९६ वटा आधारभूत तहका पाँच/दश/पन्ध्र शय्याका अस्पतालहरु एकैपटक शिलान्यास गरेका थिएँ । त्यसले बीचमा केही तलमाथि परे पनि धेरैवटा बनिरहेका छन्, कतिवटा बनेर पनि आफैँले त्यसको उद्घाटन गरिसकेको छुु, कति राम्रै चल्न थालेका छन् र कति राम्ररी चल्ने अवस्थामा पुुगेका छन्, कति त अहिले निर्माणाधीन अवस्थामा छन् ।

कतिपय मान्छेहरुले मलाई भन्छन् र भने पनि पालिका–पालिकामा किन आधारभूत अस्पतालहरु किन चाहिए ? त्यो स्वास्थ्य सुविधा पालिका पालिकामा किन चाहियो ? आज एउटा पालिका भनेको हिजोका धेरैवटा गाविस हुन् । हिजोका गाविस त अहिलेको एउटा वडा बनिराखेको छ । धेरैवटा गाविसलाई वडामा मिलाएर अहिले पालिका बनेको छ । पालिकाको जनसङ्ख्या ठूलो छ । हाम्रो डाँडाकाँडा भएको दुर्गम देश छ । त्यहाँ यदि प्राथमिक तहको पनि स्वास्थ्य सुविधा छैन भने मान्छे मर्छ । त्यसकारण हामीले अति जटिल, अति गम्भीर विषयहरुमा हेलिकप्टर उद्धार गर्ने, सुत्केरी हुने स्तरमा ती प्रबन्ध गर्‍यौँ भने आधारभूत अस्पतालको प्रबन्ध गर्‍यौँ । त्यसै गरेर शिक्षा क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा हामीले थुप्रै कामहरु गर्‍यौँ । फेरी पनि गर्नुपर्छ, जसको फेहरिस्त हामीले के के काम गर्‍यौँ, कसरी अगाडि बढ्ने, मैले एउटा डिरेक्शनको मात्रै कुरा गरेको हो । हामी कसरी काम गर्दैछौँ, कसरी अगाडि बढ्दैछौँ र कसरी अगाडि बढ्नुपर्छ भनेर ।

उत्पादनका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्दछ । शिक्षाका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्दछ । स्वास्थ्यका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्दछ । आधुनिकता र देशको आधुनिकीकरणका लागि मानव जातिले विकास गरेका सुविधाहरु जस्तो यो सभाहल । यो वातानुकूलित छ । बाहिर गर्मी छ, यहाँ गर्मी छैन । यो मानव जातिले विकास गरेका सुविधाहरुको हामीले प्रयोग गरिराखेका छौँ । यी डेक्स, टेबल, माइक, विजुली, कुर्सी टेबल सबै कुराहरु हामी मानव जातिले प्रयोग गरी आएका र प्रयोग गर्न पुगेका हौँ । पहिले नपुगेको हो, अहिले विकासले अगाडि बढाएको कुराहरुको प्रयोग गर्ने ठाउँमा पुगेका छौँ । हामी दुनियाँ सँगसँगै अगाडि बढिरहेका छौँ । अन्यत्र विकसित देशका सभाहल पनि यस्तैयस्तै हो । यसैगरी बसेको हुन्छ, यस्तैगरी चलाएको हुन्छ, यस्तै टेबल कुर्सी हुुन्छन् । त्यहाँ पनि सुनका र चाँदीका हुँदैनन् । हामी अगाडि बढिरहेका छौँ  ।

विकास केही भएन होइन, थुप्रो भएको छ । आज ३३ प्रतिशत महिला संसदमा हुनुहुन्छ, आरक्षित छ । अरु थुप्रै क्षेत्रहरुमा आरक्षित गरी हामीले अगाडि बढाएका छौँ । तर हामीले बढाउनुपर्ने आरक्षण होइन, क्षमतावृद्धिका अवसर पाऔँ, क्षमता बढाउन पाऔँ, छोराछोरी राम्रो ठाउँमा पढाउन पाऔँ, उनीहरुको क्षमता बढाउन पाऔँ, उनीहरुलाई दक्ष नागरिक बनाउन पाऔँ । हाम्रा प्रयास त्यसमा हुनुपर्छ । हामी युवा, विद्यार्थी, बालबालिकाको राम्रो स्याहारसम्भार र तिनलाई उचित ढङ्गले भविष्यका योग्य र सक्षम नागरिक बनाउने कामतिर लागिराखेका छौँ । हामी हिंड्नुपर्ने आजको बाटो यो हो ।

हाम्रा पूर्खाहरुले भने, विश्व नै एउटा गाउँ हो, वसुदैव कुटुम्वबकम् । सबै हाम्रा दाजुुभाइ दिदीबहिनी हुन् । त्यही भावना फेरि लिएर मानवतावादी चिन्तनका साथ अगाडि बढौं । मानवता सर्वोपरी हो । मानवको हित, मानवको कल्याण, मानवको भलाइ, भविष्यका लागि वातावरण, वातावरणीय सन्तुलन, पर्यावरणको सुरक्षा र संरक्षण । त्यो किन चाहियो भन्दा मानव जातिको भविष्यका लागि चाहियो । त्यसकारण मानव जातिको भविष्यका लागि आजदेखि नै हामी हाम्रा प्रयासहरुलाई सचेत र योजनाबद्ध ढङ्गले अगाडि बढाउन क्रियाशील भएका छौँ ।

मैले विश्वास लिएको छु, यस प्रदेशलाई यो प्रदेशसभाले त्यसैगरी नेतृत्व दिनेछ र अगाडि बढाउनेछ । यो प्रदेशसभाले राम्रा कानुनहरु तुर्जमा गर्नेछ र तिनको कार्यान्वयन गर्नेछ । सक्रियता र सक्षमताका साथ कार्यान्वयन गर्नेछ, त्यो मैले विश्वास लिएको छु। यदि संघीय सरकारबाट केही गर्नु परेमा सङ्घीय सरकार सधैँ तपाईंहरुको साथमा छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु । मान्छेहरुले यस्तो भएन र उस्तो भएन भन्ने कुरा र चर्को स्वरमा गर्ने बानी छ । अहिलेको सरकारका लागि चर्को स्वर नै चाहिंदैन । यसो गरौँभन्दा खेरी सहजै बुझिने, सहजै त्यसलाई स्वीकार गर्ने, त्यसमा तर्क गर्ने, बहस गर्ने र यसो गरौं भन्दा गरौँ भन्ने अहिलेको सरकार छ । यो जनताका कुरा सुन्नका लागि, जनप्रतिनिधिका कुरा सुन्नका लागि यो सरकार बनेको हो ।

तपाईंहरुलाई थाहा छ, मैले कति हो कतिपटक अप्रेशन गरेँ, दुईपटक त ‘किड्नी ट्रान्सप्लान्ट’ नै गरेर बाँचेको मान्छे हुँ । कतिपटक कस्ता कस्ता अपर्झट रुपमा अप्रेशन गरेर बाँचेको मान्छे हुँ । म भर्खर ७३  लागेर ७४ पुगें, ठिटै छु भन्नुपर्छ । मैले बुढो भए भन्न मिलेन । म यति दुुःख पाएको पृष्ठभूमिबाट आएर अहिले पनि रातदिन खटिएर किन काम गर्नुपरेको थियो र ! मैले यस देशको मुहार फेर्नका लागि नै राम्रो कामको नेतृत्व गरौँ, अगुवाई गरौँ भनेर यो गर्न खोजेको हो । मलाई कुनै प्रकारको कसैसँग लफडा गर्न मन छैन, कसैसँग वादविवादमा अल्झिन मन छैन । मलाई खाली जनताका कुरा सुन्ने, जनताका आकाङ्क्षा पूरा गर्ने, जनताका भावनालाई सम्बोधन गर्नेमा मेरो रुचि हो । अब मान्छेले नबुझेर कहिले कहिले के के कुरा गर्दिन्छन्, त्यो उनीहरुको कुरा हो । तर म सबैका कुरा सुन्न तयार छु, सबैका कुरामा यथोचित ढङ्गले छलफल र बहस गर्न तयार छु, राम्रा कुरा छन्, ग्रहण गर्न तयार छु । कतिवटा कुरा मिलेका छैनन् भने म सम्झाउन पनि तयार छु । सम्झाएर यसो नगरौँ ठीक हुँदैन, यसो गरौँ भन्न तयार छु ।

म राष्ट्रिय एकताका पक्षमा छु, अनेकताको पक्षमा छँदैछैन । जहिले सुकै पनि मेरो मुखबाट कसैले पनि अनेकता र फाटो ल्याउने कुरा कसैले पनि सुन्नुहुन्न । मैले सदैव राष्ट्रिय एकता, राष्ट्रिय एकता भनेको छु । सधैँ राष्ट्रिय एकता । मैले सधैँ शान्तिपूर्ण वातावरण अगाडि जाऔँ, मेरो सधैँ निवेदन त्यही छ सबैसँग । म यस प्रदेशको उन्नतिका लागि अत्यन्तै ब्यग्र छु । तपाईंहरुका प्रयासमा मेरो सदैव साथ, सहयोग रहने छ, म साथै छु । कोशी प्रदेशका जनताको सुखका लागि, खुसीका लागि र समृद्धिका लागि म सधैँ क्रियाशील रहनेछु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते कोशी प्रदेशसभामा गर्नुभएको विशेष सम्बोधनको सम्पादित सामग्री)

दयाहाङको मुख्य भूमिका रहने ‘मितज्यू’बाट नेपाली सिनेमामा डेव्यु गर्दै तेरिया

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ ।

नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे । उनले समाजिक सञ्जालमा पोस्ट गर्न तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ । उनले नेपाली सिनेमा ‘मितज्यू’मा अभिनय गर्ने कन्र्फम भएसँगै यो सिनेमा दर्शकको प्रतिक्षामा रहनेछ ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरुले यसअघि यसवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरेका थिए । गत असार २८ गते प्रदर्शकमा आएको सिनेमाले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को–को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन ।
आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।

बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने

हेटौँडा, २८ फागुनः बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा रु एक अर्ब र आगामी आर्थिक वर्षमा रु १६ अर्ब ऋण लगानी गर्ने तयारी रहेको बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको हो । मन्त्री श्रेष्ठले आज यहाँ रासससँग कुराकानी गर्दै प्रदेशमा तीन लाख ३१ हजार किसान रहेको र उनीहरुलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले किसानलाई ऋण उपलब्ध गराउँदा स्थानीय तहसँग समन्वय गरिने बताउनुभयो । उहाँका अनुसार किसान परिचयपत्र, वर्गीकरण र उत्पादनको आधारमा प्रदेश सरकारले नीति बनाएर विभिन्न प्रोत्साहन कार्यक्रमका साथै प्रदेशमा ‘स्मार्ट फार्म’ निर्माण गरिनेछ । उहाँले भन्नुभयो, “श्रम र उत्पादनलाई जोडेर कोष स्थापना गरी योगदानका आधारमा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्छ, यसको तयारी हामी गर्दैछौँं ।”

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका कार्यालय प्रमुख डा जनार्दन खड्काले माटो परीक्षणका क्रममा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय क्रियाकलापका कारण माटोमा अम्लीयपन बढ्दै गएको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारीखेती हुने जिल्ला काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको मात्रा बढी पाइएको उहाँले बताउनुभयो । प्रदेशमा तीन लाख २८ हजार दुई सय ९७ हेक्टर अर्थात् १६ दशमलव १७ प्रतिशत जमिन खेतीयोग्य छ । जसमध्ये दुई लाख ८९ हजार ६६२ हेक्टरमा खेती गरिएको छ ।
राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ्क अनुसार प्रदेशका अधिकांश किसानले माटो परीक्षण नगराएको देखिन्छ ।

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौँ, २८ फागुन : प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रधानमन्त्रीका तर्फबाट विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरूङले सरकारले सुशाससम्बन्धी विधेयकलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्ने उद्देश्यले अध्यादेशमार्फत विधेयक ल्याएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “योगमायालाई सम्मान गर्दा भोजपुर जिल्लावासीको कसरी अपमान हुन्छ ?,

सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद हितराज पाण्डेले शिक्षा, स्वास्थ्य जस्तो सार्वजनिक महत्त्वलाई विधेयक समावेश गर्न नसकेको बताउनुभयो । सांसद जुलिकुमारी महतोले सुशासन विधेयकमा स्थानीय तहदेखि सङ्घीय सरकारसम्म नागरिक सुझाव सङ्कलन गर्ने डिजिटल प्लेटफर्मको व्यवस्था उल्लेख गर्नुपर्ने बताउनुभयो । 

सांसदहरू रञ्जुकुमारी झा, विमला सुवेदी, देवेन्द्र पौडेल, रणेन्द्र बराली, हितबहादुर तामाङ, नारायणी शर्मा, दुर्गा राई, प्रेम सुवाल, माधव सापकोटा, सुशीला श्रीपाली ठकुरी, बिजुला रायमाझी, रूपा शोसी चौधरी र महेशकुमार बस्र्तौला लगायतले सो विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुभएको थियो । 

सर्वाेच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

वीरगञ्ज (पर्सा), २८ फागुन : सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेजी गरेको छ । वीरगञ्जका छुट्टाछुटै पाँच घरधनी निवेदकले वीरगञ्जको मेनरोड खण्डमा सडकको दायाँबायाँ २५–२५ मिटरको विस्तार गर्न नहुने भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

वीरगञ्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गर्नुभएको थियो । अन्य निवेदकहरूले पनि फरक–फरक मितिमा सडक विस्तार विरूद्धमा रिट दायर गरेका थिए ।

सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले बुधबार रिट निवेदकहरूको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको मेनरोड खण्डको सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको छ । सो रिट हालेसँगै सडक विस्तारको काम रोकिँदै आइरहेको थियो ।

त्रिभुवन राजपथ अन्तर्गतपर्ने गण्डकचोकदेखि पावर हाउसचोक, घण्टाघरचोकदेखि–आर्दशनगर, रजतजयन्तीचोक, शङ्कराचार्यगेट हुदैँ मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम मुद्दासँगै रोकिएको थियो । यो मुद्दाको रिट २८औँ पटक मङ्गलबार पेसी तोकिएको थियो । मङ्गलबार सो मुद्दा सम्बन्धित रिट हेर्न नभ्याएपछि बुधबारको लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

काठमाडौँ, २८ फागुन : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताउनुभयो । “राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाएहुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ”, उहाँले भन्नुभयो । 

महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि शिक्षक महासङ्घको सहयोग पनि आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने भनाइ राख्नुभयो । उहाँले नेपालमा राजनीतिक दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको भन्दै अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन नहुने बताउनुभयो ।


महासचिव पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गर्न आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै शिक्षाले नागरिक कर्तव्यसहितको जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले शिक्षक र कर्मचारी हितमा चाँडै शिक्षा ऐन जारी गर्नुपर्ने बताउनुभयो । उहाँले ऐन जारी गर्नका लागि राजनीतिक दललाई दबाब दिनका लागि धर्ना कार्यक्रम राखिएको बताउनुभयो । 

महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत यही फागुन २७ गतेदेखि चैत ५ गतेसम्म शिक्षा ऐन जारी गर्न र विद्यालय शिक्षा विधेयक अघि बढाउनका लागि प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिइरहेको छ । 

जर्मनीमा नवीकरणीय ऊर्जाबाट ६० प्रतिशत बिजुली उत्पादन हुने

जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूले ओगटेको सङ्घीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले बुधबार जनाएको छ ।

डेस्टाटिसको अनुसार, नवीकरणीय विद्युत उत्पादन २५६.४ बिलियन किलोवाट–घन्टा (पध्ज) को सबै समयको उच्चमा पुगेको छ, जुन वार्षिक रूपमा २.३ प्रतिशतले बढेको प्रतिनिधित्व गर्दछ । उत्पादनमा अलिकति गिरावट आए पनि वायु उर्जा जर्मनीको सबैभन्दा ठूलो बिजुलीको स्रोत बनेको छ ।

वायु उर्जाबाट उत्पादन सन् २०२३ मा १.४ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । तर, कुल विद्युत उत्पादनमा यसको अंश सन् २०२३ मा ३०.८ प्रतिशतबाट बढेर सन् २०२४ मा ३१.५ प्रतिशत पुगेको छ ।

फोटोभोल्टिकबाट विद्युत उत्पादन १०.४ प्रतिशतले ५९.५ बिलियन पध्ज सम्म बढेर सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि देख्यो । यसले जर्मनीको कुल बिजुली आपूर्तिमा सौर्य ऊर्जाको हिस्सा १३.८ प्रतिशतमा पुर्यायो, जुन सन् २०१८ मा डाटा सङ्कलन सुरु भएदेखिकै उच्च स्तर हो ।

सन् २०२४ मा जम्मा ४३१.५ अर्ब किलोवाट प्रतिघण्टा बिजुली उत्पादन गरी जर्मन ग्रिडमा जोडिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कमी हो ।डेस्टाटिसले यो गिरावटको कारण औद्योगिक बिजुलीको मागमा आएको कमी, कम उत्पादन र विदेशबाट बिजुली आयातमा भएको वृद्धिलाई बताएको छ ।

जनतासँग माफी मागेर सरकारका गलत कामको खबरदारी गरिरहने हो : अध्यक्ष दाहाल

लुम्बिनी, २८ फागुनः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताउनुभएको छ । उहाँले त्यस्ता विरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउनेसमेत बताउनुभयो ।

आज बुटवलमा आयोजित मगर मुक्तिमोर्चाको छैटौँं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले विगतमा नागरिकसँगका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधारेर जाने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले विगतका निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा गल्ती गरिएको स्वीकार गर्दै जनतासँग माफी माग्न मैदानमा आएको बताउनुभयो । “माओवादीले अब पहिले गरेका गल्ती कमजोरी दोहो¥याउँदैन”, उहाँले भन्नुभयो, “जनतासँग माफी मागेर सरकारका गलत कामको खबरदारी गरिरहने हो ।”

अध्यक्ष दाहालले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी ‘एजेन्डा’मा जानु उचित रहेको उल्लेख गर्दै कसैले पनि प्रतिगमनबारे नसोच्न चेतावनी दिनुभयो ।

पार्टीले गरेको जनयुद्ध उत्पीडित समुदायको मोर्चाबाटै सफल भएको बताउँदै उहाँले ती समुदायप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले कार्यशैलीका कारण निरङ्कुशतन्त्रले प्रहार गर्न खोजेको बताउनुभयो । उहाँले हालका सबै परिवर्तनको आधार माओवादी जनयुद्ध रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले राजतन्त्रले टाउको उठाउन खोजेकाले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

वीरगञ्ज (पर्सा),२८ फागुन : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै नेपालमा पनि अग्रिम जमानतको कानुन प्रबन्ध गर्न लागेको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४९औंँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री चौरसियाले अग्रिम जमानतको कानुनी प्रबन्ध गर्नका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

“अग्रिम जमानतको कानुन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “व्यापारी तथा व्यवसायीले उठाउँदै आउनुभएका जसोतसो मागलाई अग्रिम जमानतको कानुनले सम्बोधन गर्ने अपेक्षा लिएका छौँ ।”

मन्त्री चौरसियाले अग्रिम जमानतको कानुनले आर्थिक अपराध गर्नेलाई कैद सजायभन्दा पनि आर्थिक जरिवानालगायत पक्षलाई समेट्नेगरी बनाइने बताउनुभयो । “प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश हालसालै स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “सो ऐनले पनि मुलुकको खस्किएको अर्थतन्त्रलाई उकास्ने अपेक्षा राखेका छौँ ।”

मन्त्री चौरसियाले मधेश आन्दोलनबाट सबैभन्दा धेरैक्षति वीरगञ्जको औद्योगिक तथा व्यापारिक क्षेत्रले भोगेको बताउनुभयो । “मधेश आन्दोलनका कारण सबैभन्दा धेरै क्षति वीरगञ्जको औद्योगिक र व्यापारिक क्षेत्रले बेहोर्नु प¥यो”, उहाँले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा अवैध चोरीतस्करीलाई नियन्त्रण गरेर वैध व्यापारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले भन्सार प्रशासनलाई पारदर्शी र व्यवस्थित गर्ने जमर्काे गर्दै आइरहेको बताउनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यापारी र कर्मचारी दुवैमा आर्थिक अनुशासन कायम गरेमात्रै सुशासन कायम गर्न सकिने बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सरकारको अव्यवहारिक कानुन र ऐनकै कारण वैधभन्दा पनि अवैध कारोबारले प्रश्रय पाइरहेकाले नियन्त्रण गर्न जरूरी रहेको आँैल्याउनुभयो ।

“सरकारले स्वदेशी उद्योग, व्यवसायसहित विदेशी लगानी प्रवर्द्धन गर्न उचित ऐन, कानुन र नीति दिन सकेको छैन”, उहाँले भन्नुभयो, “व्यवहारिक खालको कानुनको अभावमा मुलुकमा अवैध व्यापारले फस्टाउने मौका पाइरहेको छ । यसलाई तत्कालै नियन्त्रण गर्न जरूरी छ ।”

मधेश प्रदेश सांसद श्याम पटेलले सरकारले औद्योगिक वातावरण बनाएर उद्योगभन्दा फस्टाउने मौका दिनुपर्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले आर्थिक मन्दी र अन्य कारणले उद्योगी व्यवसायीको मनोबल खस्किएकाले उकास्ने खालको नीति अवलम्बन गर्न अनुरोध गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुवोधकुमार गुप्ताले मुलुकको अर्थतन्त्र खस्किएको व्यवसायलाई उकास्ने खालको नीति अवलम्बन गर्न अनुरोध गर्नुभयो ।

राससकर्मी लम्साल सम्मानित

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो ४९औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालय प्रमुख हिमाल लम्साललाई सम्मान गरेको छ ।

सङ्घले रासस वीरगञ्ज कार्यालय प्रमुख लम्सालले पत्रकारितामार्फत पर्सा–बारा क्षेत्रका उद्योग, वाणिज्य, अर्थ र विकाससँग सम्बन्धित विषयका साथै सामाजिक जीवनका समग्र पक्षमा सशक्त ढङ्गले उजागर गरेको भन्दै सम्मान गरेको हो ।

कानुन, न्याय र संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सम्मानपत्रसहित गम्छा ओढाएर सम्मान गर्नुभयो । वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०८०/८१ मा भारततर्फ सबैभन्दा धेरै समान निर्यात गर्ने क्रमश: डाबर नेपाल, जगदम्बा स्टिल, हुलास स्टिललाई पनि सम्मान गरेको छ ।

त्यसैगरी आव २०८०/८१ मा तेस्रो मुलुकमा सबैभन्दा धेरै निर्यात गर्ने क्रमशः त्रिवेणी स्पिनिङ मिल्स, शिवशक्ति दालमिल उद्योग र मरियम लेदरलाई पनि सम्मान गरिएको छ । सङ्घले युवा उद्यमीतर्फ सुमित झुनझुनवाला, महिला उद्यमीतर्फ आकृति अग्रवाललाई पनि सम्मान गरेको छ । सङ्घमा दीर्घ सेवा गरेका पूर्व कर्मचारी अरूणकुमार बर्मा, हेमशङ्करलाल कर्ण र श्यामसुन्दर धामीलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । त्यस्तै खुलकुद क्षेत्रमा योगदान पुर्‍याएको भन्दै करण यादवलाई पनि सम्मान गरेको थियो । सामाजिक सेवामा सक्रिय आशाकिरण केन्द्रलाई पनि सम्मान गरिएको थियो ।

राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हो : उपमहासचिव पोखरेल

कटारी (उदयपुर), २८ फागुनः नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताउनुभएको छ । आज यहाँ पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरणगर्दै उहाँले फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उहाँको भनाइ थियो ।

“हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँं”, उहाँले भन्नुभयो, “हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ ।”नेपाली जनताको चेतना धेरैमाथि उठिसकेकाले उहाँले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले कटारीका सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।

सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

काठमाडौँ, २८ फागुन : सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज आयोजना गरेको ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनःनिर्माणको प्रगतिको अवस्था विषयक छलफलमा सो जानकारी दिइएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना प्रमुख सुनिलकुमार ठाकुरले भवनको वित्तीय प्रगति पनि २० प्रतिशत भएको जानकारी दिनुभयो । “अदालतमा मुद्दा पर्नु, ठक्का रद्ध हुनु लगायतका चुुनौतीका कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न पनि चुनौती छ,” उहाँले भन्नुभयो, “आयोजनाको काम तीव्र रूपमा अगाडि बढाउनका लागि हामीले चार ओटा सिसी क्यामरासमेत जडान गरेका छौँ ।” भवनको रेट्रोफिटिङ कार्यका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग ठेक्का स्म्झौता भएको थियो ।

विसं २०८२ मङ्सिर ६ गते आयोजनाको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो । आयोजनाको लागत करिब रु ३९ करोड रहेको छ । सांसदहरूले आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी अगाडि बढाउन निर्देशन दिनुभएको थियो । समितिका सभापति मायाप्रसाद शर्मा लगायतका सांसदहरूले भवनको अवलोकन गर्नुभएको थियो ।

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी, २८ फागुनः बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा–दुखुखोला–तल्लोदुखु–रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र भएको छ ।

“फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ”, पौडेलले भन्नुभयो, “बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो । यसअघि बेनी–सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ । सिम–पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ ।

देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः राष्ट्रियसभा सदस्य यादव (अन्तर्वार्ता)

काठमाडौँ, २८ फागुनः राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ । संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै आएको छ । विकास निर्माणमा सरकारलाई घच्घच्याउने काम पनि गर्दै आएको छ । तर पछिल्लो समय प्रतिनिधिसभाका एक सांसदले राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ भनेर होच्याएको पनि पाइयो । तर त्यसो होइन । कानुन निर्माण गर्ने सवालमा प्रतिनिधिसभाको तुलनामा बढी छलफल हुन्छ राष्ट्रियसभामा । सरकारले ल्याएका सबै विधेयकमा राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा विस्तृत रूपमा छलफल हुन्छ । समितिमा सरोकारवाला विज्ञलाई बोलाएर छलफल गरिन्छ । म प्रतिनिधिसभामा पनि सांसद थिएँ । तर त्यहाँ राष्ट्रियसभामा जति छलफल हुँदैन ।

जनता समाजवादी पार्टी नेपालले पहिलेदेखि नै अहिलेको संविधानमा सुधार गर्नुपर्छ भन्दै आएको हो । अहिले पनि भन्छौँ, संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ । संविधानमा धेरै कुरा छुटेका कारण कतिपय विषय कार्यान्वयन हुनसकेको छैन । जस्तो, सङ्घीयताको सही कार्यान्वयन हुनसकेको छैन । सङ्घीयता कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन पनि बन्न सकेका छैनन् । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिएको छैन । प्रहरीबिना, कर्मचारीबिना प्रदेश सरकार चलिरहेको छ । यदि सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउने हो भने सङ्घीय सरकारले जतिसक्दो चाँडो सङ्घीयतासम्बन्धी कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । शिक्षा ऐन पनि आउन सकेको छैन । संविधान संशोधनकै लागि हामीले वर्तमान सरकारलाई अहिलेसम्म समर्थन गरिरहेका छौँ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भनेर यो सरकारलाई समर्थन दिएको हो ।

सरकारले मधेसी समुदायको मात्र होइन, महिला, आदिवासी जनजाति, दलितलगायत समग्र सीमान्तकृत समुदायको निम्ति काम गर्नुपर्छ । सरकारले कसैलाई पनि भेदभाव गर्नु हुँदैन । सरकारको नजरमा सबै जनता बराबर हुन् । सरकारले सीमान्तकृत समुदायसँग सम्बन्धित कानुन बनाएर लागू गर्नुपर्छ । कानुनमा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन । सरकार सबैको हो । सुशासनको निम्ति पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ । प्रधानमन्त्री वा मन्त्रिपरिषद्का सदस्यले भ्रष्टाचार गरेका छन् भने पनि कारबाही हुनुपर्छ । भ्रष्टाचार अन्त्य गर्ने हो भने सरकारमा रहेका मन्त्री र राजनीतिक दलका नेताबाट छानबिन सुरु गर्नुपर्छ । त्यसपछि निजामती कर्मचारीमा पनि छानबिन गर्नुपर्छ । यहाँ त भ्रष्टाचारीलाई ढाकछोप गर्ने चलन छ । आर्थिक हिनामिना गरेको छ, भ्रष्टाचार गरेको छभने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्छ ।

यो देशको मुख्य समस्या भनेकै स्थिर सरकार नहुनु हो । एउटाले बल्लतल्ल सरकार बनाएको हुन्छ, अर्कोले ढाल्ने खेल सुरु भैहाल्छ । नौ–नौ महिनामा सरकार परिवर्तन भएर कहाँबाट विकास हुन्छ ? मन्त्रीहरूले राम्रोसँग बुझ्न नपाउँदै सरकार ढलिसक्छ । जोपनि प्रतिपक्षमा हुँदा ठूला– ठूला कुरा गर्ने सरकारमा गएपछि केही पनि नगर्ने परिपाटी छ । जनताको अवस्था कसरी सुधार गर्ने भन्नेतर्फ कुनै राजनीतिक पार्टीको ध्यान छैन । देश विकासका बारेमा कसैले सोचेकै छैन । भाषण ठुल्ठूला गर्ने, काम भनेको सत्तामा जाने मात्रै गर्ने । खासगरी, देशका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सत्ताकेन्द्रित राजनीति मात्र नगरी मुलुकका मुख्य समस्यालाई सम्बोधन गर्न गम्भीर हुनुपर्ने खाँचो छ ।

विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि शोषित, पीडित, उपेक्षित समुदाय सङ्गठित हुनु जरुरी छ । देशमा सङ्घीय शासन व्यवस्था त्यसै आएको होइन, कठोर सङ्घर्षबाट आएको हो । परिवर्तनबाट थोरै भए पनि अधिकार प्राप्त गरेका जनताले महसुस गर्न पनि पाएका छैनन् । शोषित, पीडित, उपेक्षित जनतालाई यो व्यवस्थामा कमबेसी राहत मिलेको छ । यसलाई पनि उल्ट्याउन विभिन्न शक्तिहरू सक्रिय भएको देखिन्छ ।

देशबाट युवा पलायन रोक्न सरकारले रोजगारी सृजना गर्नुपर्छ । हाम्रो देश कृषिप्रधान हो । यहाँ झण्डै ६५ प्रतिशत जनता कृषि पेसामा छन् । तर कृषकले समयमा मल पाइरहेका छैनन्, सिँचाइको भरपर्दो सुविधा पनि छैन । कृषिलाई आधुनिकीकरण गरेर वैज्ञानिक प्रविधिसँग जोड्नुपर्छ । त्यसो गरेको खण्डमा आयात प्रतिस्थापन गर्न सक्छौँ । अहिले अर्बौँको कृषिउपज आयात भइरहेको छ । देशभित्रै आम्दानीका स्रोत उपलब्ध भए ४०–५० डिग्री तापक्रममा काम गर्न कुन युवा विदेश जान्छ र ? त्यसैले सरकारले कृषिमा लगानी बढाउँदै लैजानुपर्छ । हामी सांसदको काम कानुन बनाउने हो । जनताका विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने हो । अब म राष्ट्रियसभामा जतिन्जेल बस्छु, जनताको पक्षमा कानुन निर्माणका लागि भूमिका निर्वाह गर्नेछु । जनताका सवाललाई सरकारसमक्ष पुर्याउन पहल गर्नेछु ।

राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमारसिंह यादवको परिचय

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादव राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । विसं २०४३ मा पहिलोपटक राष्ट्रिय पञ्चायतको सदस्यसमेत बन्नुभएका यादव पूर्वमन्त्री, प्रतिनिधिसभाको सांसद समेतका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । उहाँ विगत पाँच वर्षदेखि राष्ट्रियसभामा हुनुहुन्छ । विगत लामो सयमदेखि मधेसी समुदायको अधिकारको निम्ति सङ्घर्ष गर्दै आउनुभएका उहाँ एक परिपक्व नेता मानिनुहुन्छ ।(राष्ट्रियसभा सदस्य श्री मृगेन्द्रकुमारसिंह यादवसँग समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती, २८ फागुन: मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

प्रतिनिधिसभा बैठकः यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौँ, २८ फागुनः प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नहुने भएको छ ।

संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने छ ।

गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुहुने कार्यसूची छ ।

‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक छिट्टै पारित हुन्छ’

काठमाडौँ, २८ फागुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा विनोदप्रकाश सिंहले नेपाल युरोपेली सङ्घ (इयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औँ वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै उहाँले इयूको चासोको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने र योसँगै नेपाल इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गर्नुभयो । प्राधिकरण विभाजनसम्बन्धी विधेयक हालै सङ्घीय संसदमा पेस भएको छ । यसलाई संसद्को दुवै सदनले छलफल गरेर पारित गर्नुपर्ने हुन्छ ।

“नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउने हो”, सचिव सिंहले भन्नुभयो, “उक्त विधेयक अहिले संसद्मा दर्ता भएको छ । यसमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।”

युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको छ । सन् २०१३ बाटै अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो । नेपालले पछिल्लोपटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको कालोसूचीबाट हट्ने सरोकारवालाको विश्वास छ ।

 सचिव सिंहले मुलुकको आर्थिक विकासका लागि दिगो पर्यटन विकास अपरिहार्य भएको उल्लेख  गर्नुभयो । “मुलुकको दिगो विकास र रोजगारी सिर्जनाका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ, जबसम्म पर्यटनको दिगो विकास हुँदैन तबसम्म मुलुक समृद्ध बन्न सक्दैन”, उहाँले भन्नुभयो, “नीतिगत उल्झन र संरचनागत कमजोरीका कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन भने सकेको छैन ।” सचिव सिंहले ६० वर्षको इतिहास बोकेको नाट्टाले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय रुपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

 त्यसअवसरमा पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालको पर्यटन विकासका लागि नेपालको हवाई क्षेत्र इयूको सुरक्षासूचीबाट हट्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गरेर हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

  नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधार जरुरी भएको खाँचो औँल्याउनुभयो । कार्यक्रममा नाट्टाका पूर्वकार्यकारी प्रमुख डा हरि शर्मा, नाट्टाका पूर्वअध्यक्ष परिषद्का संयोजक भोलाविक्रम थापालगायतले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।  

नाट्टा विसं २०२२ फागुन २७ गते स्थापना भएको हो । नेपालको पर्यटन प्रवर्द्धन, विकास र नीति निर्माणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । नाट्टामा हाल मुलुकभर एक हजार एक सयभन्दा बढी टूर तथा ट्राभल व्यवसायी कम्पनी आबद्ध छन् ।

 नाट्टाले नेपालमा पर्यटन व्यवसायलाई संस्थागत गर्दै अन्तरराष्ट्रियस्तरमा नेपाली पर्यटनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्य गर्दै आएको जनाएको छ । समयानुकूल नीति निर्माण, पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम, विभिन्न अन्तरराष्ट्रिय मेलामा सहभागिता जनाउँदै सरकार र निजी क्षेत्रको प्रभावकारी समन्वय र सहकार्य गर्दै आएको संस्थाले जनाएको छ ।

सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी

तुलसीपुर, २८ फागुनः दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।

नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिनुभयो । सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध हुनुभएको छ । 

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २८ फागुनः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६३, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १८०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १७०, कोइराला प्रतिकेजी रु ३५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान

फुङ्लिङ (ताप्लेजुङ), २८ फागुनः जिल्लाका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका छन् ।

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन् । कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार एक सय ४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो । समूहले सामुहिक खेतीका निम्ति रु १६ लाख लगानी गरेको छ । कुल लागतको ५० प्रतिशत किसानले बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइले अनुदान प्रदान गरेको छ ।

रामपुर हाइब्रिड १६ र मनकामना–३ प्रजातिका उन्नत जातका लगाइएको छ । परियोजनाका प्रमुख काशीराम पाण्डेका अनुसार चक्लाबन्दी कार्यक्रमअन्तर्गत किसानलाई आधुनिक कृषियन्त्र प्रयोग गर्ने ज्ञान, खेती गर्ने प्रविधिबारे जानकारी दिइने गरेको छ ।

सूर्यज्योति कृषक समूहका अध्यक्ष देवेन्द्र गुरागाईँका अनुसार सामूहिक खेतीका सदस्य आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजनामा छन् । स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधि पनि अपनाउने सोचमा उनीहरु छन् । कृषि पर्यटन प्रवर्द्धन गर्दै अन्य किसानलाई समेत सामूहिक खेतीप्रति आकर्षित गर्ने समूहको लक्ष्य छ ।

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति

मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताउनुभयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।

वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे।

यस वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए।

यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने सङ्केत गर्नुभयो।

फेब्रुअरी २८ मा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच विवाद भएको थियो। त्यसयता अमेरिका र युक्रेनबीच उच्चस्तरीय वार्ता हुन सकेको थिएन। राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायता र खुफिया जानकारी आदानप्रदानमा रोक लगाएपछि दुई देशबीचको सम्बन्ध नाजुक बनेको थियो। हाल कीभले अमेरिकासँग सम्बन्ध सुधार गर्न निरन्तर पहल गरिरहेको छ।

अब प्रस्तुत युद्धविराम प्रस्तावमा रुसले कसरी प्रतिक्रिया जनाउनेछ भन्ने चासोको विषय बनेको छ। यदि रुसले सहमति जनाएको खण्डमा युद्ध अन्त्यतर्फ एक महत्वपूर्ण कदम अघि बढ्ने विश्वास गरिएको छ।

मर्यादित भएर होली पर्व मनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनकाे अनुरोध

काठमाडौँ-काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गर्नुभयो ।

  एक सूचना जारी गर्दै भन्नुभयो, “सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न÷नगराउन सबैमा अनुरोध छ ।”

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गर्नुभएको छ ।

यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि आजै छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन् । यही फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ ।  

लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा, २८ लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिनुभयो ।

डा साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छभने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । “आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ,” उहाँले भन्नुभयो

नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताउनुभयो । अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आचार्य निर्वाचित

जुम्ला, २८ फागुनः यहाँस्थित सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित हुुनुभएको छ ।

चार वटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलबार आचार्य सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिनुभयो । 

उहाँका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित हुनुभएको जनाइएको छ  । क्याम्पसमा हाल १८० विद्यार्थी छन् ।

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौँ, २८ फागुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल भ्रमण गर्न सबै फ्रान्सेली नागरिकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । नेपाललाई आफ्नो यात्रा सूचीमा समावेश गर्न अनुरोध गर्दछौं ।”

 मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल सरकारद्वारा पर्यटन प्रवद्र्धनका लागि अवलम्बन गरिएका नीति तथा कार्यक्रमहरूको जानकारी गराउँदै नेपाल सुरक्षित र आकर्षक गन्तव्य रहेको जानकारी गराउनुभएको हो ।

 फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक भएको बताउँदै नेपाल भ्रमण गर्ने फ्रान्सेली नागरिकहरूको अनुभव सधैं सकारात्मक रहनेमा विश्वास व्यक्त गर्नभयो । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालेका पहलमाथि प्रकाश पार्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि आकर्षक प्याकेजहरू उपलब्ध रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा प्रसिद्ध फ्रान्सेली पर्वतारोही स्वर्गीय मौरिस हर्जोगकी पत्नी एलिजाबेथ हर्जोगलाई सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि हर्जोगले नेपालसँगको आफ्नो विशेष सम्बन्धबारे चर्चा गर्दै नेपाल भ्रमणका सुखद अनुभवहरू अभिव्यक्त गर्नुभएको छ ।     कार्यक्रममा करिब ६० जना पर्यटन व्यवसायी, संस्कृतिप्रेमी तथा नेपालप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता थियो । 

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८ फागुनः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३४ पैसा र बिक्रीदर २० रूपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४५३ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६३ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चुरे समितिमा दस वर्षमा झण्डै रु १५ अर्ब खर्च, उपलब्धि कति ?

काठमाडौँ, २८ फागुन : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ ।

विसं २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०÷८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशलवल ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा लिने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।

समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको समितिका अध्यक्ष डा किरण पौडेलले जानकारी दिनुभयो । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवद्र्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार विरुवा उत्पादन र वितरणलाई समितिले उपलब्धिमा मानेको छ ।

“हालसम्म हामीले नदि÷खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण÷पुनःनिर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरेको छौँ”, उहाँले भन्नुुभयो, “यस बाहेक अन्य विभिन्न कार्य पनि गर्दै आएका छौं, गुरुयोजनाअनुसार बजेट प्राप्त गर्न नसकेका कारण अपेक्षाकृत काम गर्न सकेका छैनौ, आवश्यकताअनुसारको जनशक्तिको पनि कमी छ ।”

ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको जनाएको छ । चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ । कमलो भूवनोट, जनसङ्ख्या बसाईसराई, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले चुरे विनास हुँदै गएको छ । चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्बद्र्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ भएको समितिको स्थापना भएको हो ।

समितिले स्थापनाकालदेखि नै विभिन्न विवाद र चुनौतीको सामना गर्नुपरेको थियो । राजनीतिक हस्तक्षेपको सामना गर्नुपरेको गुनासो गर्दै आएको समितिले आफै बेला बेला भ्रष्टाचार र अनियमितताको आरोप पनि खेप्दै आएको छ । हाल समितिका दुई पदाधिकारीको नियुक्तिमा अयोग्यता पुष्टि भएपछि अदालतको आदेशानुसार पदमुक्त भएका छन् । पछिल्लो समय समितिलाई प्रभावकारी र चुस्त बनाउन सरकारले यसको पुनःसंरचनाका लागि कार्यदल गठन गरी सुझाव सङ्कलन गर्न लागेको छ ।

स्थापनाकालदेखि नै समिति गठनको विरोध
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले समुदायलाई वेवास्ता गरी समितिको स्थापना भएको भन्दै सुरुदेखि नै विरोध जनाउँदै आएको छ । महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले समितिका काम स्थानीय जनतासँग नजोडिएको भन्दै समिति जनतामाथि शासन गर्न गठन गरिएको टिप्पणी गर्नुभयो ।

“यसले स्थानीय आदिवासी÷जनजातिको अधिकार कुण्ठित गरेको छ । यो समिति तत्काल खारेज गर्नुपर्छ, यो जति दिन रहन्छ, त्यति नै चुरे विनाश हुने क्रम पनि जारी रहन्छ, चुरेको संरक्षण गर्न समुदाय नै सक्षम छन्”, उहाँले भन्नुभयो, “समुदायलाई पन्छाएर गरिएका काम दिगो हुन सक्दैनन् । प्राकृतिक स्रोतको अधिकारबाट स्थानीय समुदायलाई बञ्चित गर्नुहुँदैन ।”

चुरे समितिका संस्थापक अध्यक्ष रामेश्वर खनालले भने समितिले चुरेको संरक्षणमा उल्लेख्य योगदान रहेको बताउँदैै समितिका काम प्रभावकारी बनाउन समितिलाई गुरुयोजना कार्यान्वयन गर्ने गरी बजेटको व्यवस्था हुनुपर्ने र आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । साथै चुरेसम्बन्धी ऐन ल्याउनुपर्ने, समितिमा समुदायको समेत प्रतिनिधित्व गर्नुपर्ने, प्रदेश सरकार र सरोकारवाला निकायलाई समन्वय गर्ने गरी काम गर्नुपर्ने उहाँको सुझाव छ ।

त्यस्तै चुरे विज्ञ डा विजयसिंह दुनवारले तराई मधेसको सुरक्षित भविष्यका चुरेको संरक्षण अतिआवश्यक भएको बताउँदै चुरे विनाश भएमा तराई क्षेत्र मरुभूमिमा परिणत हुनेमा चिन्ता व्यक्त गर्नुभयो । चुरे संरक्षणका लागि समितिको महत्व दर्शाउँदै उहाँले पनि समितिका काम प्रभावकारी बनाउन चुरेसम्बन्धी ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो ।

महालेखापरीक्षकको कार्यालयले समितिले लक्ष्यअनुसार प्रगति नभएको औल्याएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा समितिको गुरुयोजनाको पहिलो पाँच वर्षको लक्ष्य प्रगति विवरणअनुसार ३६ जिल्लामा वन व्यवस्थापकीय एकाइ छुट्टिने गरी वन क्षेत्रको नक्साङ्कन गर्ने, १४ हजार १५० हेक्टर वन अतिक्रमण नियन्त्रण गर्ने, चार हजार ८०० कृषक समूहमा वन क्षेत्र तथा बगरमा चरिचरन व्यवस्थापन गर्ने जस्ता लक्ष्यमा प्रगति नभएको उल्लेख छ ।

त्यस्तै सात हजार २६५ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार गर्ने, एक लाख ६५ हजार ६७५ हेक्टर वन व्यवस्थापन गर्ने, १८० नदीमा नदीजन्य पर्दाथको उपयोग व्यवस्थापन गर्ने, संवेदनशील क्षेत्रमा रहेका २० हजार ५०५ घरधुरीका लागि बस्ती व्यवस्थापन गर्ने, ३८ हजार ४८४ घरधुरीमा गार्हस्थ्य सौर्य ऊर्जा विस्तार र लघु जलविद्युत् विकास तथा उपयोग २६१ किलोवाट पु¥याउने जस्ता लक्ष्यमा पनि प्रगति नभएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी ८९ सीमसार क्षेत्र व्यवस्थापन गर्ने लक्ष्य भएकामा ६५ मात्र प्रगति भएको, ६४ नदीमा एकीकृत नदी प्रणाली स्रोत विकास कार्ययोजना तयार गर्ने लक्ष्य भएकोमा ४७ मा मात्र प्रगति भएको, ८१ हजार १३७ घरधुरीमा गोबरग्यास विस्तार गर्ने लक्ष्य भएकोमा एक हजार ९१७ घरधुरीमा मात्र विस्तार भएको प्रतिवेदनमा उल्लेख छ । गुरुयोजना कार्यान्वयनका पाँच वर्षमा अपेक्षित उपलव्धि हासिल हुन नसकेको औल्याउँदै प्रतिवेदनले गुरुयोजनामा समावेश भएका लक्ष्यहरू पूरा हुने गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाएको छ ।

आजको मौसम: देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, २८ फागुनःहाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन

काठमाडौँ, २७ फागुन : काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन् ।उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले राससलाई जानकारी दिनुभयो ।

उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारीप्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । मृत्युको कारण भने नखुलेको पनि उहाँले बताउनुभयो ।

यस्तै तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा आजै मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आज आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ ।