`

वनमन्त्री शाहीसँग र बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २७ फागुन : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि सयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले शिष्टचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरूबीच नेपाल र बेलायतबीचको द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री शाहीले भोलिदेखि हुने आफ्नो लण्डनको भ्रमण बारेमा राजदूतसँग छलफल गर्नुभएको थियोे । साथै उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न सगरमाथा संवादको बारेमा राजदूतलाई जानकारी गराउनु भएको थियोे ।

भेटवार्तामा राजदूत फेनले सगरमाथा संवादले जलवायुका क्षेत्रमा विश्वलाई नयाँ सन्देश दिने बताउनुभएको थियो । नेपालले उठाएको हिमालका विषयमा बेलायत सरकार सकारात्मक रहेको राजदूतको भनाइ छ ।

काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी

काठमाडौँ, २७ फागुन : अभद्र व्यवहार तथा लागु औषध मुद्दाका प्रतिवादी पेस्तोल र लागुऔषधसहित काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं २ भाडगाउँस्थित मीरा तामाङको घरमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशीलाई प्रहरीले निजको कोठाबाट एक थान पेस्तोल, दुई थान म्यागजिन, १० राउण्ड गोली र २५० ग्राम लागु औषध पोल्याण्ड र ट्रामाडोल ५०० चक्की बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निज जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती वस्तु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । प्रहरीले निजलाई बरामद हतियार र लागुऔषधसहित आज सार्वजनिक गरेको हो । 

उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उहाँले जानकारी दिनुभयो ।

ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज (पर्सा), २७ फागुन : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिको लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्ववियु निर्वाचन समिति २०८१ ठाकुरराम बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत दिलीपकुमार सिंहले ठाकुर राम क्याम्पसको स्ववियु सभापति पदका लागि विभिन्न सङ्घ–सङ्गठन र समूहकोतर्फबाट १४ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो ।

“आज बिहान ११ बजेदेखि २ बजेसम्मको अवधिमा मनोनयन दर्ता गर्ने समय तोकेका थियौंँ”, उहाँले भन्नुभयो, “यहाँ सभापतिसहित २१ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुदैँछ । जसमा प्रत्यक्षतर्फबाट ११ र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना निर्वाचित हुनेछन् ।” सभापति पदका लागि नेपाल विद्यार्थी सङ्घको तर्फबाट विकास मण्डल धानुक, अनेरास्ववियु पवन यादव, अखिल क्रान्तिकारी अनिषकुमार पटेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी सभापति पदका लागि जय नेपाल विद्यार्थी सङ्घबाट राजु गुप्ता, समाजवादी विद्यार्थी युनियनको तर्फबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपाल मोहमद सजिज अली, स्वतन्त्र विद्यार्थी युनियन समूहबाट दिलीपराज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, स्वतन्त्र युवा समूहबाट श्यामप्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समूह धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी शुद्धामशुप्रसाद चौरासिया, भोट फर चेञ्ज स्वतन्त्र विद्यार्थी युनियन सिकेन्द्रकुमार यादव, सुधीर पटेल समूहको तर्फबाट कमलेशकुमार यादवको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै गरी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको तर्फबाट दिपेशकुमार साह रहेका छन् । प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष र आठ सदस्य निर्वाचित हुनेछन् । समानुपातिकतर्फ भने उपाध्यक्ष, सहायक सचिव र अन्य आठ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन अधिकृत सिंहले विभिन्न यसअघि यस क्याम्पसको स्ववियु निर्वाचनको लागि ३४ वटा विद्यार्थी सङ्घ, सङ्घठन र समूहले दर्ता गरेका थिए ।

वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा तीन जनाको उम्मेदवारी

वीरगञ्ज नर्सिङ क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वीरगञ्ज नर्सिङ क्याम्पस स्ववियु निर्वाचन समितिका सदस्य सचिव सुरेन्द्र ओझाका अनुसार नेपाल विद्यार्थी सङ्घको तर्फबाट दियान्सु श्रेष्ठ, अनेरास्ववियुको तर्फबाट आर्जु राय र अखिल क्रान्तिकारीको तर्फबाट कविता आचार्यको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार तीनवटै सङ्गठनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

वीरगञ्ज नर्सिङ क्याम्पसमा क्याम्पसमा १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुदैंछ। प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच कार्यसमिति सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् । त्यस्तै समानुपातिकमध्येबाट एक उपाध्यक्ष जना, सहायक सचिव एक जना र पाँच जना कार्यसमिति सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुनेछन् ।

प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता गण्डकी प्रदेश विजयी

देउखुरी (दाङ), २७ फागुन : नेपाल टेलिकम प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मङ्गलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

दीपक डुम्रेको अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरूद्ध ४ विकेटको जित निकालेको हो । सामान्य लक्ष्य पछ्याएको गण्डकीका सुरूवाती ब्याटर आउट भएपछि दबाबमा परेका बेला दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए । बाह्र ओभरको खेल सकिँदा २२ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा दीपक र सुजनले राम्रो साझेदारी गर्दै नतिजा आफ्नो पक्षमा पारे ।

दीपक डुम्रेले सात चौकाको मद्दतमा ५० रन र सुजन गौतमले ३ चौकाको मद्दतमा २२ रन बनाए ।

टिमलाई जित दिलाउन अविजित अर्ध शतक बनाएका दीपक डुम्रे प्लेयर अफ द म्याच भए । कर्णालीका लागि विपिन शाहीले २० रन, अर्जुन घर्ती १७ रन, विपिन रावलले १५ रन, हिमांशु शाहीले १२ रन बनाउनु बाहेक अरू खेलाडीले दोहोरो अङ्कको रन जोड्न नसक्दा २७ दशमलव २ ओभरमा अलआउट हुँदै केवल ९१ रन बनायो ।

अब प्रतियोगिताअन्तरर्गत बिहीबार विभागीय टिम एपिएफ र मधेस प्रदेशबीच खेल हुने तालिका रहेको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् ।

दाङसहितमा रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्काे टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

राष्ट्रिय सुरक्षामा देखिएका आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँनयाँ आयामहरूलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आज आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको द्रुर्त विकाससँगै यसको दुरूपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागुऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरूपयोगजस्ता कारणले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने उल्लेख गर्नुभयो ।

उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्ति देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा के कस्ता असर, प्रभाव र चुनौती सिर्जना हुनसक्ने भएकाले समयमै आँकलन तथा विश्लेषण गरी तदनुसार उपयुक्त रणनीति तय गर्न आवश्यक हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धित निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको जोड दिँदै राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेशन’ को अवधारणाअनुसार काम गर्न आवश्यक छ भन्नुभयो ।

नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । उक्त भागको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको प्रबन्ध गरिएको छ ।

विसं २०५८ फागुुन २७ गतेदेखि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको स्थापना भएको थियो । सचिवालयले राष्ट्रिय सुरक्षा परिषद्को कार्यलाई सहजीकरण गर्ने, आवश्यक राय सुझाव दिने तथा सुरक्षा विश्लेषण प्रतिवेदन तयार गर्ने कार्यहरू गर्दै आइरहेको छ ।

चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी, २७ फागुनः बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहको खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०८१ लाईसमेत स्वीकृत गर्ने निर्णय गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले जानकारी दिनुभयो ।

बैठकले प्रदेश अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति गर्ने निर्णय पनि गरेको छ । प्रदेशमा भएका विकास निर्माणका कामलाई अनुगमन, नियमन तथा मूल्याङ्कनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मूल्याङ्कन नहुँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो ।

बैठकले भक्तपुरमा रहेको सात रोपनी सात आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । भक्तपुर नखेलमो नेपाल सरकारको नाममा रहेको १० रोपनीमध्ये पाँच रोपनी जनस्वास्थ्य प्रयोगशाला काभ्रेको कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको मन्त्री खड्काले बताउनुभयो । यस्तै, भरतपुरको सूर्यविनायक नगरपालिका–७ स्थित नेपाल सरकारको नाममा रहेको १२ रोपनीमध्ये सात रोपनी जग्गा प्रशासनिक कार्य सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने गरी यातायात कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

जनप्रशासन क्याम्पसमा क्रान्तिकारी र नेविसङ्घबीच गठबन्धन, अनिकेत सभापतिका उम्मेदवार

काठमाडौँ, २७ फागुन : आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि जनप्रशासन क्याम्पस बल्खुमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनबीच गठबन्धन भएको छ ।

जसअनुसार अखिल क्रान्तिकारीका अनिकेत तिवारी सभापतिको उम्मेदवार हुनुभएको छ । तिवारी क्याम्पसको वर्तमान स्ववियु कार्यसमितिका उपसभापति हुनुुहुन्छ । प्रत्यक्षतर्फ नेविसङ्घले सचिव र कोषाध्यक्ष पद पाएको छ । जसमा विनोद ऐर र संयोगमणि अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रत्यक्षतर्फ अखिल क्रान्तिकारीले सभापतिसहित चारवटा सदस्य पद पाएको छ भने नेविसङ्घले सचिव, कोषाध्यक्ष सहित ३ सदस्य पाएको छ । त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनले एक सदस्य पद पाएको छ ।

त्यसैगरी एमाले निकट अनेरास्ववियूबाट अग्रबहादुर शाहीले सभापतिको उम्मेदवारी दिनुभएको छ भने शङ्खर दुबे सचिवको उम्मेदवार बन्नुभएको छ । त्यस्तै समानुपातिकतर्फ नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा (एस) निकट अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय एकता विद्यार्थी युनियनले उम्मेदवारी दर्ता गराएका छन् ।

जनप्रशासन क्याम्पसले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ ३२ जना र प्रत्यक्षतर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

साफ यू–१९ च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल र भारत एकै समूहमा

काठमाडौँ, २७ फागुनः भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् । काठमाडौँको सोल्टी होटलमा आज आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ ।

त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा  पाकिस्तान भने सहभागी हुने छैन । भारतको अञ्चल प्रदेशमा हुने उत्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ । 

राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताएका छन् ।

काठमाडौँमा हुलाक सेवा विभागले मंगलबार आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रष्ट पारे ।

सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे। राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भए लगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रूपमा समापन भएको तर्क गर्दै मन्त्री गुरुङले भने, “कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।”

मन्त्री गुरुङले संसदमा रहेको सामाजिक सञ्चालन नियमनसम्बन्धी बनेको विधेयक ल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे । समाज व्यवस्थित गर्न र अराजकताबाट जोगाउन विधेयक आवश्यक रहेको उनले जोड दिए ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

ताप्लेजुङ २७ फागुन : ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

‘नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ’ – सांसद सुवाल

भक्तपुर, २७ फागुन: नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको नवाँै स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहिल्यै नरहेको बताउनुभयो ।

सचिव सुवालले भन्नुभयो, “पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको छ । नेमकिपा कहिल्यै पनि राजाको पक्षमा छैन, हिजो पनि थिए, अब पनि हुदैन । त्यसैले भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौँ, राजसंस्था अब फर्किन्न ।” सत्तामा पुगेका दलहरूले जनता र देशको पक्षमा काम गर्नुपर्ने बताउँदै उहाँले विदेशी प्रतिक्रियावादीसँग सधैँ चनाखो रहनुपर्ने बताउनुभयो ।

सांसद सुवालले चाँगुनारायण नगरपालिकाले विसं २०८२ मा आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ मा आन्तरिक र बाह्य पर्यटकको भ्रमणसँगै यहाँका ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण, उत्खननलाई पनिसँगै लैजानुपर्ने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वैशाख १ गतेदेखि वर्षभरी मनाइने भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पयटकलई आकर्षित गर्न आवश्यक योजना तथा कार्यक्रम अगाडि बढाउने बताउनुभयो । उहाँले यहाँका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्व मानचित्रमा प¥याउन भ्रमण वर्षको आयोजना गर्न लागिएको र भ्रमण वर्षले सिङ्गो चाँगुनारायणको समृद्धिमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका निवर्तमान् प्रमुख सोमप्रसाद मिश्र, निवर्तमान् उपप्रमुख जुना बस्नेत, नेपाली कांग्रेसका प्रतिनिधि शिवहरि केसीलगायतले नगरकोट भ्रमण वर्ष चाँगुनारायण नगरवासी सबैको भएकाले आवश्यक सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाको कानुन पुस्तक सार्वजनिक गरिएको थियो भने भ्रमण वर्षका विज्ञ डा धनश्याम खतिवडाले भ्रमण वर्षको तयारीबारे र नगरपालिकाका सामाजिक शाखा अधिकृत निला घिमिरेले नगरपालिकाको चालु आर्थिक वर्षमा भएका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

न्यायपालिकाप्रति जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो, सहज एवम् सर्वसुलभ ढङ्गले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आज ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले आत्मसाथ गरेको मूल्य र मान्यताको अधीनमा रही संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारवाही समेटेर तयार गरिएका प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले न्यायको पुनित उद्देश्य हासिल गर्ने अभियानलाई सार्थक तुल्याउन सर्वोच्च अदालतलगायत सबै तहका अदालत एवम् न्यायिक निकायले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताउदै न्यायिक निष्पक्षता एवम् प्रभावकारी न्याय सम्पादनका लागि आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरुद्ध, कार्यसूचीमा प्रवेश नगरी स्थगन

सुदूरपश्चिम, २७ फागुनः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्य आ–आफ्नो आसनबाट उभिएर विरोध जनाउनु भएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक अवरुद्ध हुन पुगेको हो ।

सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा भनाइ राखेका प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले सरकारले अनावश्यक खर्च बढाएको भन्दै विरोध जनाउनुभयो । शाहीले प्रदेश नीति तथा योजना आयोगमा तीन जना सदस्य नियुक्त गर्नुपर्ने ठाउँमा कानुन संशोधन गरेर पाँच जना नियुक्त गर्ने कार्य गरिएको भन्दै यस्तो कानुन सच्याउन माग गर्नुभयो ।

त्यसपछि पनि प्रतिपक्षी दलका सदस्य विरोध कायमै राखेपछि सभामुख भण्डारीले प्रतिपक्षी दलका सदस्यबाट सदन अवरुद्ध हुँदा कारबाही अघि बढ्न नसकेकाले आजको कार्यसूची हटाई अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराउनुभयो ।

आजको बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची थियो ।

पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० रेल यात्रु बन्धक

पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाए । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको छ ।

अफगानिस्तान र इरानको सीमामा रहेको बलुचिस्तान प्रान्तको दुर्गम, पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिँदा लडाकुहरूले चालकलाई घाइते बनाए ।

“रेलमा रहेका ४५० भन्दा बढी यात्रुहरूलाई बन्दुकधारीहरूले बन्धक बनाएका छन्,” प्रान्तको राजधानी क्वेटाका एक वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफले एएफपीलाई बताउनुभयो ।“यात्रुमा महिला र बालबालिका पनि छन् ।”

आक्रमणको जिम्मेवारी तुरुन्तै बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको थियो, जसले स्वतन्त्रताको लागि लडिरहेको छ । यस क्षेत्रको सम्पत्तिबाट बाहिरीहरूलाई नाफा गरेको आरोप लगाउँदछ ।

एक विज्ञप्तिमा, बन्दुकधारीहरूले रेलमा आक्रमण गर्नु अघि रेलवे ट्र्याकमा बम विस्फोट गराएको भनिएको छ“आतङ्ककारीहरूले द्रुत गतिमा रेल नियन्त्रणमा लिए र सबै यात्रुहरूलाई बन्धक बनाए,” मिडियालाई जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

सैन्य समूहले बन्धकहरूलाई उद्धार गर्ने प्रयास गरेमा डरलाग्दो परिणामको चेतावनी दिएको छ घटना दिउँसो १ः०० बजे ग्रामीण सिबी जिल्लाको स्टेशन नजिकै भएको थियो ।

सिबीका एक वरिष्ठ सरकारी अधिकारीले भन्नुभयो,“जफर एक्सप्रेस नामको यात्रुवाहक रेललाई सशस्त्र बन्दुकधारीहरूले रोकेका थिए । उनले आफूलाई मिडियासँग कुरा गर्ने अधिकार नभएको बताए ।”

“यात्रुहरूलाई बन्धक बनाइएको छ । चालक घाइते भएका छन् ।सरकारी अधिकारीका अनुसार सिबीका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ ।

सिबीसँग जोडिएको क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी भन्नुभयो,“रेल पहाडले घेरिएको सुरुङको ठीक अगाडि अड्किएको छ ।”

यो क्षेत्र पहाडी क्षेत्र हो, जसले गर्दा सशस्त्र बन्दुकधारीहरूलाई लुक्न र आक्रमणको योजना बनाउन सजिलो हुन्छ ।

सुरक्षा बलहरूले बलुचिस्तानमा दशकौं लामो विद्रोहसँग लडिरहेका छन्, जसलाई उग्रवादी समूहहरूले शोषण गरिरहेको दाबी गर्छन् ।

सन् २०२१ मा तालिबानले सत्ता फिर्ता लिएपछि अफगानिस्तानसँगको पश्चिमी सीमावर्ती क्षेत्रहरूमा उत्तरदेखि दक्षिणसम्म हिंसा बढेको छ ।

इस्लामाबादस्थित विश्लेषण समूह, अनुसन्धान तथा सुरक्षा अध्ययन केन्द्रका अनुसार, सन् २०२४ मा पाकिस्तानमा भएका आक्रमणहरूमा एक हजार ६०० भन्दा बढी मानिसहरू मारिएका थिए ।

फेब्रुअरीमा, बीएलए सशस्त्र बन्दुकधारीहरूले सात पञ्जाबी यात्रुहरूलाई बसमा चढ्न आदेश दिएपछि मारेका थिए ।

गत वर्ष मुख्यतया जातीय पञ्जाबहरूलाई लक्षित गरी भएको समन्वित आक्रमणमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।

नोभेम्बरमा, बीएलएले क्वेटाको मुख्य रेलवे स्टेशनमा भएको बम विस्फोटको जिम्मेवारी लिएको थियो,जसमा १४ सैनिक सहित २६ जनाको मृत्यु भएको थियो ।

समाजवादी मोर्चाले नागरिक समाजसँग अन्तरक्रिया र जनप्रदर्शन गर्ने

काठमाडौँ, २७ फागुनः समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसामा आबद्ध व्यक्तित्वसँग बृहत् अन्तक्र्रिया गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले प्रतिगामी शक्तिविरुद्ध कसरी एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ भन्नेबारे सुझाव सङ्कलन गर्न आगामी चैत १ गते अन्तक्र्रिया गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै परिवर्तनकारी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने विषयमा छलफल गरिएको र बैठकमा गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्ने विषयमा समीक्षा गरिएको उहाँले बताउनुभयो ।

बैठकमा यही फागुन २५ गते राजावादीहरूले गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल गरिएको र मोर्चाले निर्माण गर्ने कार्ययोजना चैत १ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिनेसमेत निर्णय गरिएको छ ।

मोर्चाले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालन कार्ययोजनामा तथा समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरेको पनि नेता विश्वकर्माले जानकारी दिनुभयो । बैठकले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्र रक्षाका लागि विशाल प्रदर्शन तथा आमसभा गर्ने निर्णयसमेत गरेको छ ।

प्रहरी सहायक निरीक्षक यादवको मृत्यु

जनकपुरधाम, २७ फागुनः मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक वीरेन्द्र यादवको मृत्यु भएको छ ।

सिरहा नगरपालिका–२ सुखचैना स्थायी घर भएका ४५ वर्षीय यादवको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मधेश प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यसपछि विराटनगरको नोवेल अस्पतालमा उपचारका लागि लगिएका उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।

यादवको दरबन्दी नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी गणमा रहेको बताइएको छ ।

ओझेलमा बालबालिकामाथिको यौन हिंसा

काठमाडौँ, २७ फागुनः “अहिले पनि ती दिन सम्झदा आङ सिरिङ हुन्छ, मलाई त्यो पीडादायी बाल्यकालको घटना सम्झनै मन लाग्दैन”, कोटेश्वर निवासी एक युवा आफू १३ वर्ष हुँदा भोगेको यौन दुर्व्यावहारको तीतो सम्झना हो यो ।

बुबाको असामायिक निधन भएपछि आर्थिकरूपमा समस्याका कारण उहाँलाई ठूलोबुबाको घरमा राखियो । ठूलोबुबाको घरमा गएर कक्षा ८ मा भर्ना भएर पढाइ सुरू भयो । उहाँलाई ठूलोबुबाको छोरा दाइसँग सुत्नुपर्ने भयो । दाइले विस्तारै ती युवालाई यौन दुर्व्यावहार गर्दै गएपछि सहनै नसक्ने पीडा हुन थाल्यो ।

“दाइले मलाई नियमितरूपमा यौन दुव्यर्वहार गर्न थाल्नुभयो, यौनाङ्ग दैनिक धेरैबेरसम्म चलाउने, यसो गर उसो गर भनेर अनेक गर्न लगाउने, दुखेर रून्थेँ, म तर दाइले छोडनुहुन्थ्यो”, उहाँले विगतको पीडा घरीघरी रोकिँदै भन्नुभयो, “यति दुख्ने पीडा त छँदैछ, पछि त दाइले मलाई सिरिज लगाएर पनि यौन दुर्व्यावहार गर्न लाग्नुभयो, मलाई सहनै नसक्ने मलाई त सम्झदा पनि श्वास रोकिएलाजस्तो हुन्छ ।”

दैनिकजसो पीडादायी समयहरू सहन नसकेर ती युवाले धेरैपटक भन्न खोज्दा दाइको डरले आँट आएन । त्यसरी नै दुई वर्ष बित्यो । तर रातहरू कष्टकर बन्दै गए । पढाइ कमजोर हुँदै गयो । निराशा बढ्दै गएपछि उहाँले निकै ठूलो साहस गरेर एक दिन आमालाई भन्नैपर्ने अवस्था आयो । “यौनाङ्ग दुखेर कपडा लगाउनै नहुने भयो, मानसिक र शारीरिकरूपमा धेरै पीडा हुन्थ्यो, मैले राम्रोसँग पढ्न पनि सकिन”, उहाँले लामोलामो श्वास फेर्दै भन्नुभयो, “दुई वर्षसम्म मैले यस्तै यातना सहेर बसे, कसैलाई पनि भन्न पनि सकिन, धेरै सहन नसकेपछि आमालाई आँट गरेर भने अनि आमासँगै बस्न थालेँ ।”

आमासँग बस्दा पनि उहाँलाई केटाहरू देख्नैबित्तिकै डर लाग्थ्यो । कसैसँग पनि बोल्न मन नलाग्ने हुन्थ्यो । अहिले ती युवा २७ वर्ष हुनुभयो । अहिले राजधानीकै एक कलेजमा स्नातक तहमा पढ्दै हुनुुहुन्छ । “समाजमा छोरा भनेर छोरासँगै सुताउने चलन छ, जुन राम्रो होइन, सबै दाजु, मामा, काकाको व्यवहार राम्रो हुन्छ भन्ने छैन”, बुबाआमाले ध्यान दिनुपर्ने कुरा सुनाउँदै उहाँले भन्नुभयो, “यस्ता पुरूषसँग बालकलाई राखियो भने बालकको जीवन बर्बाद हुन्छ, नर्क नै हुन्छ ।”

बाल्यावस्थामै यौन हिंसामा पर्ने उहाँ एक्लो हुनुहुन्न । समाजमा बाहिर नआए पनि यस्ता घटनाहरू भइरहेका छन् । गोरखा घर भई हाल कीर्तिपुरमा बस्ने अर्का युवाको पनि सानै उमेर यौन हिंसा भोग्नुपरेको नमीठो अनुभव छ । “म ११ वर्षको थिएँ, मेरो काका १६ वर्षको हुनुहुन्थ्यो, जहिले पनि पोर्नग्राफी भिडियोहरू देखाउने, भिडियोमा जस्तै गर भने गोप्य अङ्गहरूमा छुन लगाउने गर्नुहुन्थ्यो”, आफ्ना पीडादायी विगत सुनाउँदै उहाँले भन्नुभयो, “दैनिकजसो त्यो कार्य गर्न लगाउने, विभिन्न प्रलोभनमा पार्ने, चकलेट दिने, नयाँ कपडा किनिदिने, बजार लगेर घुमाउने धेरै नै माया गरेझैँ देखाउने तर यातना धेरै दिने हुनुहुन्थ्यो ।”

काकाले आफूलाई गर्ने व्यवहारबारे उहाँले आमाबुबालाई पनि सुनाउनुभयो । “धेरै सहन नसकेपछि आमासँग रोएँ, आमाले काकासँग कुरा गर्नुभयो, काकाले मैले भतिजलाई माया गर्न पनि नहुने भन्नुभयो”, उहाँले थप्नुभयो, “पछि घरमा सबैलाई थाहा भयो, मेरो उमेरमा भन्दा धेरै उचाइ र तौल पनि बढ्यो, स्कुल जान मन लगाग्ने, मानसिक रूपमा धेरै असर पर्‍यो ।”

तीन वर्षसम्म काकाबाट यौन दुव्र्यवहार भइरह्यो । उहाँलाई १४ वर्षमा पुनःस्थापना केन्द्रमा लगेर राखियो । त्यसपछि विस्तारै सामान्यजस्तै भयो । अहिले ती युवाको स्वास्थ्य अवस्था ठीक छ । “म अहिले ठीक छु, तर बेलाबेलामा केटा मान्छे देख्नैबित्तिकै धेरै नै डर लाग्छ, पुरानो दिन याद आउँछ, असाध्यै पीडा हुन्छ”, २२ वर्षीय उहाँले भन्नुभयो, “यस्तो कुरा सुन्दा अहिले पनि डर लाग्छ, अहिले एयर होस्टेज पढ्दैछु, ठीक छु ।”

कलिलो उमेर बालकहरू अलि ठूला उमेरका केटा वा पुरूषबाट प्रताडित भएका यस्ता धेरै घटनाहरू छन् । जुन बाहिर आउन सकेका छैनन् । बालबालिकाको क्षेत्रमा काम गर्ने साथसाथ नामक संस्थाले यौन शोषणमा परेका बालकलाई उद्धार, सामाजिक पुनःस्थापना, मनोसामाजिक मनोविमर्श गर्ने काम गरिरहेको छ । विसं २०७४ मा यौन शोषणमा परेका १२ वटा बालकका घटनालाई लिएर ‘म पनि नभनिएका कथाहरू’ नाम पुस्तक समेत प्रकाशन गरेको छ । ती घटनामा अनौठो तरिकाले आफन्त पुरूषबाटै बालकहरू हिंसामा परेको र त्यसले मानसिक र शारीरिकरूपमा गम्भीर असर परिरहेको देखाएको छ ।

साथसाथ संस्थाकी स्रोत व्यक्ति कविता शाहले बालकहरूको संरक्षण गर्ने उद्देश्यले १६ वर्षदेखि काम गरिरहेको सुनाउनुभयो । “कतिपय अवस्थामा बालकहरूलाई होटलबाट पनि उद्धार गरेका छौँ”, उहाँले यौन हिंसामा परेका बालकको अवस्थाबारे सुनाउँदै भन्नुभयो, “एक पटक बालकलाई यौन दुव्र्यवहार भएको खबर आयो, होटलबाट उद्धार गरेर ल्यायौँ, त्यो भाइले यौनाङ्गमा घाउ र दुखाइले प्याड लगाएको रैछ ।”

समाजमा बालकमाथि पनि यौन दुव्र्यवहार भन्ने कल्पना गरिँदैन । बालिकामाथि मात्रै दुर्व्यावहार हुन्छ भन्ने चेत र सोचको विकास भएको छ । भित्रभित्रै बालकहरू सानो उमेरमै शारीरिक र मानसिक पीडा भोगिरहेका छन् । “बालकहरूको न्यायका लागि बोल्ने बेला भएको छ, उनीहरूमाथि भएको हिंसाले मानसिकरूपमा पर्ने अवसरजस्ता गतिविधिलाई रोकथाम जरूरी छ”, शाहले थप्नभयो, “पुरूषले पुरूषलाई बलात्कार गर्‍यो भने कानुन छैन, अप्राकृतिक मैथुनमा पनि प्रष्ट कानुन छैन, बालकलाई पनि संरक्षण गर्न कानुन बनाउन जरूरी छ ।”

विद्यमान कानुनमा भएका कमजोरीलाई संशोधन गर्दै बालकमाथि यौन हिंसालाई समयमै रोक्न ध्यान दिनुपर्ने देखिन्छ । साथसाथले बालबालिकाको क्षेत्रमा काम गर्न सुरू गरेको २७ वर्ष भएको छ भने बालकमाथि हुने यौन हिंसाविरूद्ध १६ वर्षदेखि काम गर्दै आएको छ । “महिला तथा बालिका मात्र यौन दुर्व्यावहारमा पर्छन् भन्ने समाजको सोच छ, पुरूषहरू पुरूषबाटै यौन हिंसामा पर्छन् भन्ने चेतना छैन”, उहाँले थप्नुभयो, “हुर्काउने क्रममा दुवैलाई दुर्व्यावहार हुनसक्छ, एउटा केटाले केटालाई नै यौन दुर्व्यावहार गर्नसक्छ भने सचेत गराउन जरूरी छ ।”

बालमनोविज्ञानमा कस्तो अवसर पर्छ ?

वरिष्ठ मनोविद् चेतना लोपसाङ्गका अनुसार बाल्यकालमा बालक यौन हिंसामा पर्दा हीनताबोध हुने, धेरै रिसाउने र डराउनेजस्ता समस्याहरू देखिन्छ । “बालकमा ममाथि यत्रो याताना हुँदा पनि मेरो शक्ति रहेनछ भन्ने खालको महसुस हुन्छ, रिसाहा हुने, कसैले धेरै खाने, कसैले खानै नखाने, चिटचिटहाट खालको व्यवहार देखिन्छ”, उहाँले भन्नुभयो, “बच्चाहरूले डर, त्रासका कारणले आफूलाई भइरहेको दुर्व्यावहारबारे भन्न पनि सक्दैनन्, व्यक्तित्व स्वभावमा परिर्वतन हुने, कति लामोसम्म, कुन तरिकाले दुर्व्यावहारमा पर्‍यो भन्ने कुराले मानसिकरूपमा विक्षिप्त पार्छ ।”

बालकलाई पनि स्कुलमै शिक्षक, विद्यार्थी र अभिभावक राखेर राम्रो छुवाइ वा गलत छुवाइको पनि शिक्षा दिनुपर्ने जरूरी देखिन्छ । आफ्ना परिवारले पनि बच्चाहरूको अवस्थाबारेमा जान्न बुझ्नुपर्ने जरूरी छ । “अभिभावकले यौन दुर्व्यावहारमा परेमा साङ्केतिक चिह्नहरूका बारेमा पनि जानकारी गराइराख्नुपर्छ, बच्चाहरूलाई आफूले चिनेका मानिसहरूबाट यौन दुर्व्यावहार बढी हुन्छ भन्ने बुझाउन जरूरी छ”, मनोविद् लोपसाङ्गले थप्नुभयो, “बच्चाहरूले भन्न खोजेको कुरालाई ध्यानपूर्वक सुन्ने गर्नुपर्छ, बुबाआमाले विश्वास नगरेपछि बच्चाले भन्न नसक्ने अवस्था हुन्छ, असाध्यै नजिकैबाट बच्चाले भन्न सक्ने माहोल सिर्जना गर्नुपर्छ ।”

बालकहरूमाथि यौन हिंसा रोक्न सदनमै कुरा उठाइरहेका छौँ : सांसद श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि यो विषयमा काम गरिरहेको छ । सङ्घीय संसद्अन्तर्गतको महिला तथा सामाजिक समितिले पनि बालकमाथि हुने हिंसा न्यूनीकरणका लागि काम गरिरहेको छ ।

महिला तथा सामाजिक समितिका सदस्य शान्ति श्रेष्ठका अनुसार बालकहरूमाथि पनि हिंसा भइरहेको हुँदा रोकथामका लागि आवश्यक कानुन जरूरी छ भनेर सदनमै कुरा उठिरहेको छ । “बाल सुधारगृहमा पनि सबैजसो बालकहरू नै हुन्छन्, हामीले अनुगमन गरेर अध्ययन प्रतिवेदनहरू पनि निकालेर सरकारलाई कार्यान्वयनका लागि निर्देशन समेत दिइसकेका छौँ”, सांसद श्रेष्ठले भन्नुभयो, “बालकमाथि यौन हिंसाको घटना न्यूनीकरण गर्नका लागि सदनमा कुरा उठाउने काम पनि गरिरहेको छौँ, समाजमा बालिकामाथि मात्र नभएर बालकमाथि पनि यौन हिंसा हुने गरेको छ, सबैले न्यूनीकरणमा ध्यान दिनुपर्छ ।”

बालकमाथि हुने यौन हिंसा रोक्न कानुन संशोधन जरूरी छः अधिवक्ता लामा

अधिवक्ता बिनु लामाका अनुसार सामाजिक कलङ्कको डर, पुरूषमैत्री कानुनी प्रावधानको अभाव, केटाहरूलाई बलियो हुन्छन् भन्ने सामाजिक सोचका कारण बालकहरू आफूमाथि भएको यौन हिंसाका बारेमा खुलेर भन्न सक्दैनन् ।

यौन हिंसा कसैको सहमति बिना कसैमाथि गरिएको यौन क्रियाकलाप (जबर्जस्ती, फकाउने, प्रभावित पार्ने), जबर्जस्ती करणी, यौन दुव्र्यवहार, बाल यौन दुर्व्यावहार, व्यभिचार, यौन उत्पीडन, यौन शोषण पर्दछन् । यौन हिंसा विश्वमा नै मानवअधिकार उल्लङ्घनको एउटा गम्भीर घटना हो । विश्वभरिमा नै यौन हिंसा एउटा जटिल समस्याको रूपमा देखिएको छ ।

“यौन हिंसाका बहुसङ्ख्यक प्रभावित महिला तथा बालिकाहरू भए पनि यसले महिला, पुरूष, बालिका, बालक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समेतलाई प्रभावित पारको छ”, अधिवक्ता लामाले भन्नुभयो, “सबै उमेर समूह, शारीरिक अवस्था, यौनिकता तथा यौन पहिचानका व्यक्तिहरू प्रभावितहरू हुने गरका छन् ।”

नेपालको संविधानको मौलिक हकको धारा ३९ मा बालबालिकाको हक रहेको छ । यसमा भनिएको छ, “कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यावहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।”

मुलुकी अपराध संहिता–२०७४ मा करणीसम्बन्धी कसुरको दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १८ वर्षभन्दा कम उमेरको कुनै बलिकालाई निजको मञ्जुरी लिएर करणी गरेमा त्यस्तो कार्य जबर्जस्ती करणी मानिनेछ भन्ने व्यवस्था छ तर केटाकेटाबीच हुने दुव्र्यवहारको कही पनि व्यवस्था गरिएको छैन ।

संहिताको दफा २२५ (२) मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिनेछ भनी उल्लेख छ । यस्तो कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रू ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

बालकविरूद्ध हुने यौन हिंसा बढ्दै गएको भए पनि अधिकांश बेवास्ता गरिएको कारण यकिन तथ्याङ्क छैन । यस्ता घटनाहरू एकदम कम मात्र बाहिर आउने गरेको हुँदा बालकहरू यौन हिंसाको सिकार भइरहेका छन् । केटाबाट केटालाई यौन दुर्व्यावहार हुन्छ भन्ने सोच राखेर कानुनी व्यवस्था गरी बालकलाई न्याय दिन जरूरी छ ।

आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल

काठमाडौँ, २७ फागुनः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा कृषि क्षेत्रमा उपलब्ध गराइने अनुदान र सहुलियतलाई कसरी व्यवस्थित एवं प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल भएको हो । बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढङ्गले अघि बढ्ने र नतिजामुखी बनाउने विषयले प्राथमिकता पाएको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइए पनि तिनको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरूरी रहेको बताउनुभयो । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै उत्पादन वृद्धि र कृषिवस्तुमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपक्षी बिमाको प्रिमियम अनुदान, उखुखेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहनलगायत अनुदान सहयोग दिँदै आएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान तथा सहुलियतका लागि चालु आवमा करिब रु ३६ अर्ब विनियोजन गरिएको छ ।

छलफलमा सहभागीले अनुदानलाई उत्पादन प्रोत्साहनसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका थिए । संवैधानिक जिम्मेवारीअनुसार प्रदेश र स्थानीय तहको क्षेत्राधिकारसँग मिल्ने तर सङ्घीय तहबाट हाल कार्यान्वयनमा रहेका निश्चित कार्यक्रमलाई तल्लो तहका सरकारमा पठाउनुपर्नेमा छलफलका सहभागीले जोड दिएका थिए ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव, कृषि सचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो ।

यसअघि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग, वाणिन्य तथा आपूर्ति, खानेपानीलगायत मन्त्रालयसँग छलफल गरिसकेको छ ।

विद्यार्थी पलायन हुने हैन, देश निर्माणमा लाग्नुपर्छ: प्रधानमन्त्री

बेलबारी (मोरङ), २७ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश निर्माणमा लाग्न आग्रह गर्नुभएको छ । आज यहाँ पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले देश र जनताका लागि ईमान्दारीपूर्वक सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्ण रूपमा प्रयत्न गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विकासका लागि सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

दीक्षान्त समारोहमा आठ हजार एक सय ५० विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कला सङ्कायतर्फ दुई सय चार, कानुनतर्फ चार सय ९७, शिक्षाशास्त्रतर्फ नौ सय छ, व्यवस्थापनतर्फ दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ छ सय ५४ तथा इञ्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्र्थी दीक्षित भएका छन् ।

खेलकुद स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दै : मन्त्री चौधरी

दमौली (तनहुँ), २७ फागुन: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताउनुभएको छ । व्यास नगर ब्याडमिन्टन क्लबले व्यास नगरपालिका–३ बिपी वन वाटिकामा निर्माण गरेको कभर्डहलको आज उद्घाटन गर्दै उहाँले खेलकुदमा लागेर खेलाडी बाँच्न सक्ने अवस्थाको विकास हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।

“खेलकुद शारीरिक, मानसिक विकासका लागि मात्र नभइ खेलाडीको जीवनयापन गर्ने बलियो माध्यमको रूपमा विकास हुँदै गएको छ”,मन्त्री चौधरीले भन्नुभयो,“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा रहँदै आएको छ तर आज आर्थिक उपार्जनको आधार बन्दै गएको छ । यो खुसीको कुरा हो ।”

नेपालमा केही समय पहिला भएको एनपिएल क्रिकेटले खेलाडीको आर्थिक जीवनस्तर सुधारका लागि महत्वपूर्ण काम गरेको र अब खेलाडी दिगो रूपमा यही खेलमा लागेर बाँच्न सक्ने अवस्था बनिरहेको उहाँको भनाइ थियो ।

मन्त्री चौधरीले कतिपय नेपाली खेलाडीले विदेशमा खेलेर देशको नाम उचो राख्न र आफ्नो आर्थिक अवस्था सुधारका लागि राम्रो आम्दानी गरिरहेका बताउनुभयो । “खेल क्षेत्रमा लागेकाहरूले अब निराश बन्नुपर्ने अवस्था छैन । सरकारले पनि सीमित आर्थिक स्रोतका कारण खेल क्षेत्रको विकासमा उल्लेख्य प्रगति गरिसकेको छैन । यसका बाबजुद सरकारले यस क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले जिल्लामा खेलकुदका पर्याप्त पूर्वाधार नभएकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेल क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विश्व बाँस्तोला, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतले खेलकुद राष्ट्र चिनाउने महत्वपूर्ण माध्यम भएकाले यसमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

व्यास नगरपालिकाको आर्थिक सहयोगमा कभर्डहल निर्माण गरिएको व्याडमिन्टन क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । उहाँले व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ सहयोग अन्य नगद सहभागिता र श्रमदान गरी रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको हो ।

उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने

काठमाडौँ, २७ फागुनः उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नुहुँदै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिनुभयो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो । सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन थियो छ । उपभोक्ता अदालतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ ।

त्यस्तै आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पेस गर्नुभएको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित सम्बन्धित समितिमा पठाइयोस्’ भनी पेस गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

रेडियो, टेलिभिजन, अनलाइन, डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चारमाध्यमको व्यवस्थापन एवं नियमनका लागि नयाँ कानुनी व्यवस्थासहित यो विधेयक ल्याइएको हो । विश्व प्रेस काउन्सिल, दक्षिण एसियाली प्रेस काउन्सिललगायत विश्वका अन्य देशका काउन्सिलहरूसँग सम्बन्ध स्थापना गर्नका लागि पनि यो कानुनले भूमिका खेल्ने जनाइएको छ । 

त्यस्तै, पत्रकारिताको क्षेत्रमा आएका परिवर्तन र प्रविधिमा भएको विकासको प्रयोगलाई आत्मसात् गर्नका लागिसमेत नयाँ संरचना आवश्यक रहेको सरकारको भनाइ छ । यो कानुन बनेपछि सबै मिडिया र पत्रकारलाई समेटी आचारसंहिता पालना गराउन वा अनुगमन गर्न मार्ग प्रशस्त हुने, प्रेस काउन्सिलको पुनःसंरचना हुनुका साथै भूमिका अझ प्रभावकारी हुनेलगायत काममा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

विधेयकले काउन्सिलको स्थापना तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थालाई संशोधन गरेको छ । त्यस्तै, पत्रकार आचारसंहिता जारी गर्नेसम्बन्धी व्यवस्था, आचारसंहिताको पालना, अनुगमन तथा कारबाहीसम्बन्धी व्यवस्था, प्रेस प्रतिनिधिसम्बन्धी व्यवस्था, काउन्सिलको कोष तथा लेखा परीक्षणसम्बन्धी व्यवस्था, कर्मचारीसम्बन्धी व्यवस्थालगायत विषयहरू विधेयकमार्फत परिमार्जित ढङ्गले ल्याउन खोजिएको छ । ‘स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना गरिने’ विधेयकमा उल्लेख छ । काठमाडौँमा उपत्यकामा कार्यालय रहने यो संस्था अविच्छिन्न उत्तराधिकारवाला स्वशासित एवम् सङ्गठित संस्था हुने र यसले कानुनी व्यक्तित्व प्राप्त गर्ने जनाइएको छ ।

आजको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै वनमन्त्री शाहीले संसद्बाट आएका सुझाव ग्रहण गर्दै यसलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । मोन्ट्रियल प्राटोकलको किगाली संशोधनलाई कार्यान्वयन गर्दा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै वातावरणसम्बन्धी मुद्दाहरू व्यवस्थापनमा नेपाललाई सहज हुने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाको आजको बैठकले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छ : प्रधानमन्त्री ओली

विराटनगर, २७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताउनुभएको छ । कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिनुभयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरूआतको थोरै अवधिमा धेरै काम भएको स्पष्ट पार्नुभयो । व्यवस्थामा परिवर्तन आयो तर अवस्थामा परिवर्तन नआएको भाष्य गलत भएको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रमा सरकारले निकै सराहनीय काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले बेरोजगारी अन्त्य गर्न उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास गर्न र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रक्षा गर्छ भत्रुभयो ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेश ज्ञान, सभ्यता र त्यागको भूमि भएको बताउँदै सन्तुलित वातावरण र उचित पर्यावरण बनाउन कोशी प्रदेशका हिमालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

“प्राकृतिक हिमाल र भूगोल एवं सम्पदाको धनी कोशी प्रदेश हाम्रो लागि गौरव हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जातजाति, धर्म, संस्कृति र कलाको धनी यो प्रदेशमा अनेक प्राकृतिक सम्पदा र धार्मिक आस्थाका धरोहर छन् ।” उहाँले दिगो विकास लक्ष्यमा नेपाल ४८ प्रतिशत प्रगति हासिल गरेको दाबी गर्नुभयो ।

“म शान्ति, राष्ट्रिय एकता र विकासका निम्ति अडिग छु । व्यावसायिक दक्षताको कमीका कारण नेपाली श्रमिक उचित पारिश्रमिक नपाउने कारणले वैदेशिक रोजगारमा जाने गरेका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रमा नै सामाजिक न्याय र समानता हुन्छ एवं नागरिकको सर्वोच्चता कायम हुन्छ ।”

सरकार भ्रष्टाचारलाई नियन्त्रणको बाटोमा अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेश सरकार सक्रियता र सक्षमताका साथ अघि बढ्नुपर्ने र यसका लागि सङ्घीय सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै देशको मुहारलाई फेर्न सरकार सुशासन र समृद्धको बाटोमा तीव्र गतिमा काम गरिरहेको बताउनुभयो ।

यातायात सेवा कार्यालय हेटौँडाले सवारीसाधनको विद्युतीय अभिलेख राख्दै

बागमती, २७ फागुनः यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखिकरणको शुभारम्भ गर्नुभएको थियो । यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्याङ्क प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारी दर्ता छन् । ती सबै सवारीसाधनको तीन–चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

घरघरमै पुगेर व्यक्तिगत घटना दर्ता

जन्म र मृत्यु अर्थात् सुख र दुःखको क्षणमा नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी मकवानपुरको मनहरि गाउँपालिका–७ वडा कार्यालयले घरदैलो अभियान सुरु गरेको छ । वडा कार्यालयले नागरिकको घरदैलोमा पुगेर जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्तालगायत व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण गर्न घरदैलो अभियान सञ्चालन गरेको हो ।

वडाभित्र जन्मिने शिशुको जन्मदर्ता र केही व्यक्तिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र दिने वैधानिक व्यवस्थालाई घरदैलोमै पुर्याउन घरदैलो अभियान सञ्चालन गरिएको मनहरी–७ का वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिनुभयो । व्यक्तिगत घटना भएको ३५ दिनभित्र उक्त घटना वडा कार्यालयमा दर्ता गराउनुपर्ने कानुनी व्यवथा भएकाले नागरिकलाई निर्धारित समयमै व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण वडा कार्यालयले घरघरमा पुग्न थालेको उहाँको भनाइ छ । यसबाट नागरिकले घरघरमै स्थानीय सरकारको अनुभूति गर्ने र जरिवानामा समेत नपर्ने वडाध्यक्ष तितुङले बताउनुभयो ।

वडाभित्र रहेका टोल विकास संस्था र वडाका जनप्रतिनिधिमार्फत व्यक्तिगत घटनाको विवरण सङ्कलन गरी परिवारका सदस्यसँग समन्वय गरेर घटनाको सूचक खडा गर्ने र घटना दर्ता प्रमाणपत्र व्यक्तिको घरमै पुगेर उपलब्ध गराउन थालिएको वडाअध्यक्ष तितुङले बताउनुभयो । शिशु जन्मेको व्यक्तिको घरमा पुगेर जन्मदर्तासँगै सुत्केरी स्याहारका लागि पौष्टिक सामग्री तथा मृत्यु भएर शोकमा बसिररहेकाको घरमा फलफूल तथा श्रद्धाञ्जलीपत्र बोकेर जाने गरिएको उहाँको भनाइ छ ।

महिलाहरूबीच प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र छुट्याउनुपर्छः सांसद चौधरी

काठमाडौँ । एक वर्षदेखि राष्ट्रियसभामा रहँदै गर्दा मैले आफ्नो जिम्मेवारी इमान्दारीका साथ पूरा गरेको छु भन्ने लागेको छ । यो एक वर्षको कार्यकाल चुनौतीपूर्ण भयो । सभामा बोल्दा बाहिर बोलेको जस्तो हुँदोरहेनछ । संसद्मा अलि बढी अध्ययन गरेर, अनुशासित भएर बोल्नुपर्ने रहेछ । यो एक वर्षको बीचमा संसद्मा बाढी, पहिरो, डुबान, आगलागी, भूकम्पलगायत जनताका जल्दाबल्दा समस्या गम्भीरताका साथ सभामा उठाउन पाएँ । महिला अधिकार, महिला हिंसाको अन्त्य, मधेसी समुदायको सवाल, देशमा बढ्दै गएको महँगी, भ्रष्टाचार, शान्ति, सुरक्षालगायत विषयमा पनि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएँ ।

त्यसैगरी, संविधानको मर्मअनुरुप कानुन बनाउने विषयमा योगदान गरिरहेकी छु । संविधान जारी भएको १० वर्ष पुग्न लागेको छ । संविधानको मौलिक हकअन्तर्गतका धेरै कानुन बनाउन बाँकी छन् । महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजातिलगायत उत्पीडित समुदायसँग सम्बन्धित कानुन बन्न सकेका छैनन् । जनतासम्म पुगेर उनीहरूका समस्यालाई संसद्मार्फत सरकारसम्म पुर्याउने काम गर्दै आएकी छु । सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनता केन्द्रित बनाउन धेरैपटक संसद्मा आवाज उठाएकी छु ।

संविधान कार्यान्वयन गर्ने दायित्व सरकारको मात्र होइन, राज्यका सबै अङ्गको हो । राज्य भनेको तपाईँ हामी पनि हौँ । संविधानको कार्यान्वयन तपाईँ हामीले नै गर्नुपर्छ । सरकारले संविधान कार्यान्वयन गरेन भन्दा पनि हामीले कार्यान्वयन गरेनौँ भन्नुपर्छ । संविधानअनुसार भनेजति कानुन बन्न सकेका छैनन् । बनिसकेका कानुन कति कार्यान्वयन भए भन्ने मूल प्रश्न हो ।

संविधान संशोधनको विषयलाई हामीले संसद्मा पनि उठाउँदै आएका छौँ । खासगरी महिलाको हकमा संविधान संशोधन गर्नुपर्छ । महिलाको लागि छुट्याइएको समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै भन्दा पनि प्रत्यक्ष निर्वाचनबाट महिलालाई संसद्मा ल्याउन सक्नुपर्छ । महिलाहरू केबल समानुपातिकबाट मात्रै आएर हुँदैन । महिलाका लागि ३३ प्रतिशतले मात्रै हुँदैन । पुरुषसँग होइन, महिला–महिलाबीच प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली हुनुपर्छ । त्यसका लागि निर्वाचन क्षेत्र सुनिश्चित गरिनुपर्छ । महिलाको सवालमा संवैधानिक अधिकार र भएका कानुन कार्यान्वयन गर्नुपर्छ । त्योसँगै महिलाको आर्थिक अधिकार पनि बढाउनुपर्छ । महिला आफैँ पनि आत्मनिर्भर बन्नुपर्छ । त्यसका लागि महिलाको शिक्षामा सरकारले लगानी गर्नुपर्छ । महिलाको आर्थिक अवस्थामा सुधार ल्याउन र उनीहरूलाई आत्मनिर्भर बनाउन महिलाका निम्ति उद्योग, कलकारखाना खोल्न सरकारले विशेष प्राथमिकता दिनुपर्छ । महिला पुरुषमा परनिर्भर हुने होइन, आत्मनिर्भर बन्नुपर्छ ।

सङ्घीयता सुदृढीकरणका लागि सङ्घीय सरकारले ल्याउनुपर्ने निजामती सेवा ऐन, शिक्षा ऐन र प्रहरी ऐनलगायत सङ्घीयतासँग जोडिएका कानुनलाई जतिसक्दो चाँडो ल्याउनुपर्ने हुन्छ । हाम्रो देश बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको हुनाले सबै भाषा र जातिलाई समेटेर लैजानुपर्छ । सङ्घीयता सुदृढीकरणका लागि स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्छ । सङ्घीयता सुदृढीकरणका लागि सङ्घीय सरकारको ठूलो भूमिका हुन्छ । त्यो भूमिका सङ्घीय सरकारले पूरा गर्नुपर्छ ।

हामी सुशासनको कुरा धेरै गर्छौँ तर व्यवहारमा कार्यान्वयन गर्दैनौँ । मन्त्री वा दलका नेताले सुशासनको कुरा धेरै गरेका हुन्छन् तर उनीहरूले नै त्यसलाई भङ्ग गरेको पाइन्छ । सुशासनका निम्ति पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ । अर्को, सुशासनको अनुभूति हुनेगरी सङ्घीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले जनतालाई द्रुतगतिमा सेवा दिनुपर्छ । अहिले पनि जनताले घुसबेगर समयमा सहज रूपमा सेवा पाउन सकेका छैनन् ।

नेपाली युवा अहिले विदेश पलायन हुनेक्रम बढेको छ । यो अवस्थाको अन्त्यका लागि देशभित्र रोजगारीको अवसर सृजना गर्नुपर्छ । अर्को, शिक्षा प्रणालीमा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता छ । रोजगारमूलक शिक्षा प्रणाली बनाउनुपर्छ । शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षाका बारेमा पनि सरकार चनाखो हुनुपर्छ । पछिल्लोपटक भारतमा नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनालाई हेर्न सकिन्छ ।

राजनीतिक दलहरूको ध्यान सरकार बनाउने र ढाल्ने खेलमै गएको देखिन्छ । दलहरू जनताको सेवा गर्नेभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित हुनु मुलुककै लागि दुर्भाग्य हो । आफ्ना नेता, कार्यकर्ताको संरक्षण र पक्षपोषणमै दलहरूले समय दिइरहेका छन् । त्यसो गर्नु हुँदैन । नेता भनेको एउटा पार्टीको र कार्यकर्ताको मात्र होइन, सम्पूर्ण जनताको हो । राजनीतिक पार्टीले निर्वाचनको समयमा जनतासमक्ष राखेका वाचा पूरा गर्नुपर्छ । चुनावको समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नका लागि पनि सबै राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ । विरोधका लागि विरोध गर्नु हुँदैन । कम्तीमा सरकारले गरेका राम्रा कामलाई राम्रो भन्न सक्नुपर्छ ।

संसद्मा रहँदैगर्दा मधेसी समुदायमा देखिएको अशिक्षाको समस्या समाधान गर्नका लागि पहल गर्नुपर्ने छ । मधेसी सुमदायमा रहेको गरिबी अन्त्य गर्नका लागि मैले भूमिका निर्वाह गर्नुपर्ने छ । अहिले पनि मधेसी समुदायका महिला दोहोरोतेहोरो मारमा परेका छन् । अरु प्रदेशको तुलनामा मधेसमा महिला हिंसा अलि बढी छ । मधेसमा हुने महिला हिंसा अन्त्य गर्नका लागि मेरो भूमिका रहने छ । जबसम्म मानिस शिक्षित हुन सक्दैन, तबसम्म देशको विकास हुन सक्दैन । मधेसका समुदायलाई कमजोर बनाएर समृद्ध नेपाल निर्माण हुन सक्दैन । सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को आकाङ्क्षा पूरा गर्न मधेसी समुदायलाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रूपमा अझ बलियो बनाउनुपर्छ । उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यले लगानी गर्नुपर्छ ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य पूजा चौधरी विगत एक वर्षदेखि राष्ट्रियसभाको सदस्य हुन् । रौतहटस्थित गुजरा नगरपालिका वडा नं ८ की स्थायी बासिन्दा श्री चौधरी विशेषगरी महिलाको अधिकारका निम्ति सक्रिय छिन् ।
(कुराकानीको सम्पादित अंश)

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी, २७ फागुनः म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा रहेको तातोपानीको बस्ती संरक्षण आयोजना सञ्चालन गरेका हुन् ।

बेनी –४ का वडाध्यक्ष अणबहादुर खड्काले चालु आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय र प्रदेश सरकारको विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा पक्की पर्खाल निर्माण थालिएको बताउनुभयो । रु एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती मावि मुनी कम्पोजित प्रविधिको पर्खाल निर्माण थालेको हो । यो योजनाका लागि रु दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।

म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन–तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण गरिने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ गुरुङले बताउनुभयो ।

यो ठेक्काको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको कामलाई तीव्र पारिएको छ । जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको रु ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण थालेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण गर्न लागिएको हो ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि नदी कटानको जोखिममा छ ।

यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष खड्काले बताउनुभयो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा नदी कटान नियन्त्रणका लागि चालु आर्थिक वर्षमा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का आह्वान भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजित पर्खाल निर्माण गर्न ठेक्का आह्वान भइसकेको छ ।

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा

काठमाडौँ, २७ फागुनः संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरको टोलीलाई स्वागत गरिएको छ ।

टोलीलाई सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गर्दै चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । सो अवसरमा स्वागत कार्यक्रममा साङ्गीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण अवसर हुने फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिकस्थलको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन् । उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् । नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्ता कार्यक्रमले विशेष योगदान पुर्याउने विश्वास लिएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २७ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १२, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १९०, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १७०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु ११०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले

काठमाडौँ, २७ फागुनः सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा वाग्ले कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा आज यहाँ जारी जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा काफ्ले सदस्य हुनुहुन्थ्यो । कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।

यसअघि डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गर्नुभएको थियो । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बिमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उहाँको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम उहाँले आरम्भ गर्नुभएको थियो ।

डा काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत हुनुहुन्थ्यो । यसैगरी उहाँ विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आउनुभएको छ । अर्थशास्त्रमा विद्यावारिधि डा काफ्लेले लामो समय प्राध्यापनसमेत गर्नुभएको थियो ।

‘अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ’: मन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताउनुभएको छ ।

अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे आज मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, अरुण चौथोलगायतका आयोजनालाई समयमै सम्पन्न गरेर मुलुकले अत्यधिक फाइदा लिनुपर्ने बताउनुभएको हो । काम गर्ने सिलसिलामा समस्या आउने भन्दै यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले लगानी सुरक्षित हुने र मुलुकलाई अत्यधिक फाइदा हुनेगरी काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले आयोजना निर्माण हुँदा हजारौँ व्यक्तिले रोजगारी पाउनुका साथै मुलुकको आर्थिक विकास हुने भएकाले आयोजना निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

छलफलमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, माथिल्लो अरुणको प्रमुख कार्यकारी निर्देशक फणिन्द्र जोशी, नेपाल विद्युत् प्राधिकरणका निर्देशक नसिवमान प्रधान, माथिल्लो अरुणका आयोजना प्रमुख रामचन्द्र पौडेललगायतको सहभागिता थियो ।

छलफलमा सहभागीले दुवै आयोजनाबाट मुलुकले कसरी अधिकतम फाइदा लिन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताउनुभएको थियो । यस सम्बन्धमा अध्ययन गरी निष्कर्षमा पुग्नका लागि एक प्राविधिक समिति गठन गरिने भएको छ ।

कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना छैन’ : अध्यक्ष बिजुक्छें

भक्तपुर-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताउनुभएको छ । वासु मावि कालीघाट व्यासी भक्तपुरको आजोजित ६३औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा उहाँले राजतन्त्र फर्कने सम्भावना नरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “प्रजातन्त्रप्राप्तपछि राजनीतिक दलले जनताको मन जित्ने गरी काम गर्न नसक्दा निराशा छाएको छ । तर त्यसको अर्थ अब राजा चाहिन्छ भन्ने होइन, जसरी सानो छँदाको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कदैन र फर्किन दिनुपनि हुन्न ।”

प्रजातन्त्र पुनःस्थापनापछि बनेका सरकारहरुले अपेक्षाअनुसारको काम गर्न नसकेको उहाँको भनाइ थियो । वर्गीय रुपमा राजाहरु गरिब वर्गको नभई सामन्त वर्गमै हित गर्ने भएको उहाँले बताउनुभयो । अध्यक्ष बिजुक्छेंले राजनीतिक दलका नेताहरु आफ्ना कमजोरीका कारण जनता राजाका पक्षमा फर्केलान भन्ने त्रासमा रहेको उल्लेख गर्नुभयो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७ फागुनः नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९, स्वीस फ्र्याङ्क एकको खरिददर १५९ रूपैयाँ र बिक्रीदर १५९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रूपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २१ पैसा र बिक्रीदर १९ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८० पैसा र बिक्रीदर १३ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २९ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९५ पैसा र बिक्रीदर १८ रूपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ २० पैसा र बिक्रीदर ३६३ रूपैयाँ ७५ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

काठमाडौँ, २७ फागुनः रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी शर्मालाई प्रदान गरेको छ ।

सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवामा पाण्डेले उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।

सो अवसरमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले बहुआयामिक व्यक्तित्व सरदार रुद्रराज पाण्डे नेपाली साहित्यको मुर्धन्य व्यक्तित्व भएको उल्लेख गर्नुभयो । रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो ।

समितिका अध्यक्ष बद्रीराज पाण्डेले बहुआयामिक व्यक्तित्व रुद्रराज पाण्डे शिक्षा, साहित्य, इतिहास र आत्यात्मिक विधामा सक्रिय व्यक्तित्व भएको बताउनुभयो । आधारभूत शिक्षाको ज्ञानको ज्योति फैलाएर सफलताका लागि निरन्तर सङ्घर्ष चाहिन्छ भन्ने भावनाले पाण्डेले शिक्षा, चेतना र समाजसुधारको भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ थियो ।

समितिका सदस्य एवं संस्कृतिविद् डा गोविन्द टण्डनले रुद्रराज पाण्डेले शिक्षा र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । नेपाली साहित्यमा पाण्डेले पु¥याएको योगदानलाई स्मरणीय बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व गार्गी शर्माले स्वर्गीय पाण्डेको शिक्षा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्दै अहिलेका पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । समितिका संरक्षक ई कृष्णराज पाण्डेले स्व रुद्रराज पाण्डेको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । समितिका महासचिव डा नील पाण्डेले साहित्य र शिक्षाको विकास तथा प्रवद्र्धनमा रुद्रराज पाण्डेको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौँ, २७ फागुनः नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ । ललितपुरको क्युएफएक्स लाविम मलमा सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको राम्रो उपस्थिति थियो ।

चलचित्रमा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता देखाइएको छ । चलचित्र यसअघि हङ्कङ, बेलायत र दक्षिण कोरियामा प्रिमियर भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विदेशमा भन्दा नेपालमा प्रतिक्रिया राम्रो आएको छ, खेलाडीको जीवनीमा चलचित्र बनाउनु चुनौतीपूर्ण विषय थियो”, उहाँले भन्नुभयो, “चलचित्र एउटा फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्तावेज पनि हुनेछ ।”

चलचित्र हेर्न पुग्नुभएका अभिनेता दयाहाङ राईले अञ्जिला सम्झनलायक चलचित्र बनेको बनाउनुभयो । “खेलप्रेमीका हिसाबले मेरा लागि यो चलचित्रमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो । खेलाडी र खेलका विषयलाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्ने बेला आएको छ, अन्य चलचित्रकर्मीले पनि यो आँट गर्नुहुन्छ भन्नेमा विश्वस्त छु”, अभिनेता राईले भन्नुभयो ।

कप्तान सुब्बाका धर्मपिता तथा चलचित्र निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । कप्तान सुब्बालाई काठमाडौँ ल्याएर विभागीय टिम सशस्त्र प्रहरी बलमा भर्ना गराउनुका साथै होस्टेल राखेर पढाउनुभएका निर्माता श्रेष्ठले सुब्बाको सङ्घर्ष कनाथक चलचित्रको पटकथाभन्दा कम नभएको बताउनुभयो ।

निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताउनुभयो । “खेलकुदमा आधारित रही चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म प्रयास गरेका छौँ । सुब्बाको जीवनको महत्त्वपूर्ण हिस्सालाई चलचित्रमा समावेश गरेका छौँ”, उहाँले भन्नुभयो ।

चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ । सुदीप बरालले छायाङ्कन गर्नुभएको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गर्नुभएको छ । चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ ।

ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

काठमाडौँ, २७ फागुनः नेपाली चलचित्र अन्तरराष्ट्रिय मेला महोत्सवमा सहभागी हुनु र पुरस्कृत हुनु नौलो खबर रहेन । गत भदौमा मीनबहादुर भामले निर्देशन गर्नुभएको चलचित्र ‘शाम्बाला’ र यही फागुन २९ मा प्रदर्शन हुने दीपक रौनियारले निर्देशन गर्नुभएको चलचित्र ‘राजागञ्ज’ले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।

यसैक्रममा नेपाली अभिनेता टङ्क धमालाले अभिनय गर्नुभएको ब्रिटिस चलचित्र ‘कामा’ बेलायत र आयरल्याण्डमा यही फागुन २३ गतेदेखि प्रदर्शनरत छ । चलचित्रमा उहाँसँगै हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट र भारतीय अभिनेत्री पूजा गुप्ताले अभिनय गर्नुभएको छ । नेपाली चलचित्र ‘सरौतो’ मा अभिनय गर्नुभएका धमालाले अभिनय यात्रामा नयाँ अनुभव सङ्गालेको बताउनुभयो ।

“चलचित्र हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । मेरो मुख्य भूमिका रहेको चलचित्र यसरी अन्य विदेशी चलचित्र झैँ प्रदर्शन हुँदा म निकै उत्साहित छु । यो क्षणलाई मैले शब्दमा व्यक्त गर्न सकेको छैन, मेरो अभिनय यात्रामा यसले इँटा थप्ने काम गरेको छ”, उहाँले भन्नुभयो ।

ब्रिटिस चलचित्र ‘डेन्जरस गेम’ र भारतीय चलचित्र ‘एनिमल’ मा पनि अभिनय गर्नुभएका धमालाले विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने कथालाई ‘कामा’मार्फत देखाउने प्रयास गरिएको बताउनुभयो । उहाँले चलचित्रमा आर्मीको भूमिका निर्वाह गर्न त्यससम्बन्धी प्रशिक्षण समेत लिएको जानकारी बताउनुभयो ।

“मलाई अभिनय सिकाउनु हुने साइमन गिब्बनसँग केही समय पात्रको मनोविज्ञानबारे प्रशिक्षण लिएपछि शारीरिक रुपमा चुस्त देखिन मेहनत गरेँ । आर्मीको सोचाइ र शारीरिक हाउभाउलाई उतार्न सफल भएपछि छायाङ्कनमा पुगेको थिएँ । नेपालीपछि भारतीय र ब्रिटिस चलचित्रमा काम गर्न पाउँदा मैले उहाँहरुको कार्यशैलीलाई बुझ्ने मौका पाएँ”, धमालाले भन्नुभयो ।

चलचित्रमा उहाँले निर्वाह गर्नुभएको पात्रलाई युद्धबाट फर्किएर घर आइपुग्दा श्रीमतीको मृत्युको खबर थाहा हुन्छ । त्यसपछि घट्ने घटनाक्रमले ‘क्राइम र थ्रिलर’ विधाका चलचित्र रुचाउने दर्शकलाई मनोरञ्जन दिने धमालाले बताउनुभयो ।

सन् २०१८ देखि मोडलिङमा सक्रिय धमालाले चलचित्र, विज्ञापन र म्युजिक भिडिओमा काम गरिरहनुभएको छ । विदेशी चलचित्रमा काम गर्दा थप अनुभवी बनाएको बताउँदै अभिनेता धमालाले आगामी दिनमा सङ्ख्यात्मकभन्दा पनि गुणात्मक चलचित्रमा काम गर्ने बताउनुभयो ।

यस्तो छ प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूची

काठमाडौँ, २७ फागुनः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नुहुने छ ।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नुहुने छ ।

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

गण्डकी, २७ फागुनः पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो । उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो ।

पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताउनुभयो । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उहाँको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताउनुभयो ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उहाँले बताउनुभयो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर नेपालले बताउनुभयो ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उहाँको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कूल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

कूल ४१ दशमलव ४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इञ्जिनियर नेपालले बताउनुभयो ।

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

काठमाडौँ, २७ फागुनः चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।

सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई रु ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड थियो ।

दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा, धर्ना जुलुस गर्न नपाइने

काठमाडौँ, २६ फागुन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म यहाँको तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ल्ला अधिकारी ऋषिराम तिवारीले त्यसरी कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उछृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भीडन्त एवं हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने हुँदा अन्तरराष्ट्रिय अभ्यास र यसअघि अदालतबाट भएको आदेश एवं फैसलालाई मध्यनजर गरी उक्त आदेश जारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखि कै निरन्तरताको रूपमा देहायको क्षेत्रमा आइतबारदेखि लागू हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।

साथै देहायका निषेध आदेश जारी गरिएका क्षेत्रबाहेक स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं विना हातहतियार शान्तिपूर्ण रुपमा भेला भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिबद्ध रहेको जनाइएको छ ।

जारी आदेशमा भनिएको छ, “संविधान एवं प्रचलित कानुन प्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र अति भएमा स्थानीय प्रशासन ऐन २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्बन्धी कार्यविधि, २०८१८ बमोजिम क्षतिको मूल्याङ्कन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति वापतको रकम असुल उपर गराइने व्यहोरा सम्बन्धित सबैमा स्मरण गराइएको छ ।”

धर्ना जुलुस गर्न नपाइने स्थलहरु

शीतलनिवास (राष्ट्रपति कार्यालय महाराजगञ्ज क्षेत्र) को उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोटदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म निषेध स्थल तोकिएको छ । त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।

सिंहदरवार क्षेत्र अन्तर्गत भद्रकाली मन्दिर (तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म । त्यसैगरी पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वीगेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म, पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मारदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको बालुवाटार पवित्र वर्कशप चोकदेखि नेपाल राष्ट्र बैंक हुँदै इटालिया चोक र सो चोकदेखि भाटभटेनीतर्फ ५० मिटरसम्म, इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रियसभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म निषेधाज्ञा स्थल तोकिएको छ । प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म, प्रधानन्याधीश निवासको मोडदेखि पूर्वदक्षिणतर्फ राष्ट्रियसभा अध्यक्षको निवासको मोडसम्म, राष्ट्रबंैक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म निषेध स्थल तोकिएको छ ।

संसद् भवन नयाँ बानेश्वर क्षेत्र अन्तर्गत संसद् भवनको चारैतर्फको सडक क्षेत्र, संसद् भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ ३०० मिटरसम्म, बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटरसम्म निषेधाज्ञा स्थल तोएिको छ ।

गुनासोको सही व्यवस्थापन सुशासनको महत्वपूर्ण पक्ष

गण्डकी, २६ फागुन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज पोखरामा आयोजित ‘हेलो सरकार पोर्टल सञ्चालन तथा हेले सरकार गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा गुनासोको सही व्यवस्थापन सुशासनको महत्वपूर्ण पक्ष भएकामा जोड दिइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश र जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा सञ्चालित कार्यक्रममा वक्ताहरूले सार्वजनिक सेवा प्रवाहमा गुनासो आउनु स्वभाविक भए पनि समयमा नै त्यसको व्यवस्थापन गर्न जरूरी रहेकामा जोड दिए ।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले सेवा प्रवाहका क्रममा आउने साना गुनासो पनि सम्बोधन नगर्दा त्यसले ठूलो अपजस ल्याउने बताउनुभयो ।सेवा प्रवाह गर्दा कर्मचारीले गुनासो नै नआउने गरी काम गर्नेतर्फ लक्षित हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले गुनासो आएमा पनि त्यसलाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरी लाग्नुपर्ने बताउनुभयो । गुनासोका नाममा उजुरीका लागि उजुरी गर्ने प्रवृत्ति भने गलत रहेको बिष्टको भनाइ थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सेवा प्रवाहका क्रममा आउने गुनासालाई समयमै सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । एउटै प्रकृतिका गुनासा ठाउँठाउँबाट आउने क्रमलाई व्यवस्थित गर्दै एकै ठाउँबाट आउने व्यवस्था मिलाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठले हेलो सरकारलाई प्रभावकारी बनाउँदै जनगुनासालाई सही ढङ्गबाट समाधान गर्ने लक्ष्य राखिएको बताउनुभयो । गुनासो व्यवस्थापनलाई कार्यसम्पादनसँग जोड्न आवश्यक रहेको बताउँदै उहाँले गुनासो व्यवस्थापनमा एउटै प्रणाली प्रयोग हुनुपर्ने बताउनुुभयो ।

कार्यक्रममा सोही कार्यालयका उपसचिव कलाकुमारी गैरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका उपसचिव प्रविण ढकाललगायतले गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन भइरहेका प्रयासलगायत विषयमा धारणा राख्नुभएको थियो ।

टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता : नेपाल हङकङसँग पराजित

काठमाडौँ, २६ फागुन: युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको हो । हङकङले जितको लागि दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रनको योगदान दिइन् । यस्तै, पूजा महतोले १९, विन्दु रावलले १४, रोमा थापाले अविजित १३ तथा साना प्रविनले १० रन बनाइन् ।

हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई÷दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक÷एक विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । नेपालले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नामिबियासँग छ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको जित निकालेको थियो ।

लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अङ्क भएको छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको हार बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।