`

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

गण्डकी, २७ फागुनः पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो । उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो ।

पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताउनुभयो । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उहाँको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताउनुभयो ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उहाँले बताउनुभयो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर नेपालले बताउनुभयो ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उहाँको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कूल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

कूल ४१ दशमलव ४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इञ्जिनियर नेपालले बताउनुभयो ।

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

काठमाडौँ, २७ फागुनः चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।

सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई रु ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड थियो ।

दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा, धर्ना जुलुस गर्न नपाइने

काठमाडौँ, २६ फागुन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म यहाँको तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ल्ला अधिकारी ऋषिराम तिवारीले त्यसरी कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उछृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भीडन्त एवं हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने हुँदा अन्तरराष्ट्रिय अभ्यास र यसअघि अदालतबाट भएको आदेश एवं फैसलालाई मध्यनजर गरी उक्त आदेश जारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखि कै निरन्तरताको रूपमा देहायको क्षेत्रमा आइतबारदेखि लागू हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।

साथै देहायका निषेध आदेश जारी गरिएका क्षेत्रबाहेक स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं विना हातहतियार शान्तिपूर्ण रुपमा भेला भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिबद्ध रहेको जनाइएको छ ।

जारी आदेशमा भनिएको छ, “संविधान एवं प्रचलित कानुन प्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र अति भएमा स्थानीय प्रशासन ऐन २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्बन्धी कार्यविधि, २०८१८ बमोजिम क्षतिको मूल्याङ्कन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति वापतको रकम असुल उपर गराइने व्यहोरा सम्बन्धित सबैमा स्मरण गराइएको छ ।”

धर्ना जुलुस गर्न नपाइने स्थलहरु

शीतलनिवास (राष्ट्रपति कार्यालय महाराजगञ्ज क्षेत्र) को उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोटदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म निषेध स्थल तोकिएको छ । त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।

सिंहदरवार क्षेत्र अन्तर्गत भद्रकाली मन्दिर (तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म । त्यसैगरी पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वीगेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म, पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मारदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको बालुवाटार पवित्र वर्कशप चोकदेखि नेपाल राष्ट्र बैंक हुँदै इटालिया चोक र सो चोकदेखि भाटभटेनीतर्फ ५० मिटरसम्म, इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रियसभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म निषेधाज्ञा स्थल तोकिएको छ । प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म, प्रधानन्याधीश निवासको मोडदेखि पूर्वदक्षिणतर्फ राष्ट्रियसभा अध्यक्षको निवासको मोडसम्म, राष्ट्रबंैक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म निषेध स्थल तोकिएको छ ।

संसद् भवन नयाँ बानेश्वर क्षेत्र अन्तर्गत संसद् भवनको चारैतर्फको सडक क्षेत्र, संसद् भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ ३०० मिटरसम्म, बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटरसम्म निषेधाज्ञा स्थल तोएिको छ ।

गुनासोको सही व्यवस्थापन सुशासनको महत्वपूर्ण पक्ष

गण्डकी, २६ फागुन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज पोखरामा आयोजित ‘हेलो सरकार पोर्टल सञ्चालन तथा हेले सरकार गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा गुनासोको सही व्यवस्थापन सुशासनको महत्वपूर्ण पक्ष भएकामा जोड दिइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश र जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा सञ्चालित कार्यक्रममा वक्ताहरूले सार्वजनिक सेवा प्रवाहमा गुनासो आउनु स्वभाविक भए पनि समयमा नै त्यसको व्यवस्थापन गर्न जरूरी रहेकामा जोड दिए ।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले सेवा प्रवाहका क्रममा आउने साना गुनासो पनि सम्बोधन नगर्दा त्यसले ठूलो अपजस ल्याउने बताउनुभयो ।सेवा प्रवाह गर्दा कर्मचारीले गुनासो नै नआउने गरी काम गर्नेतर्फ लक्षित हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले गुनासो आएमा पनि त्यसलाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरी लाग्नुपर्ने बताउनुभयो । गुनासोका नाममा उजुरीका लागि उजुरी गर्ने प्रवृत्ति भने गलत रहेको बिष्टको भनाइ थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सेवा प्रवाहका क्रममा आउने गुनासालाई समयमै सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । एउटै प्रकृतिका गुनासा ठाउँठाउँबाट आउने क्रमलाई व्यवस्थित गर्दै एकै ठाउँबाट आउने व्यवस्था मिलाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठले हेलो सरकारलाई प्रभावकारी बनाउँदै जनगुनासालाई सही ढङ्गबाट समाधान गर्ने लक्ष्य राखिएको बताउनुभयो । गुनासो व्यवस्थापनलाई कार्यसम्पादनसँग जोड्न आवश्यक रहेको बताउँदै उहाँले गुनासो व्यवस्थापनमा एउटै प्रणाली प्रयोग हुनुपर्ने बताउनुुभयो ।

कार्यक्रममा सोही कार्यालयका उपसचिव कलाकुमारी गैरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका उपसचिव प्रविण ढकाललगायतले गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन भइरहेका प्रयासलगायत विषयमा धारणा राख्नुभएको थियो ।

टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता : नेपाल हङकङसँग पराजित

काठमाडौँ, २६ फागुन: युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको हो । हङकङले जितको लागि दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रनको योगदान दिइन् । यस्तै, पूजा महतोले १९, विन्दु रावलले १४, रोमा थापाले अविजित १३ तथा साना प्रविनले १० रन बनाइन् ।

हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई÷दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक÷एक विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । नेपालले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नामिबियासँग छ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको जित निकालेको थियो ।

लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अङ्क भएको छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको हार बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।

पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख छ ।

यस्तै, पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायत विविध विषयमा छलफल गर्न आगामी चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ । बैठकले आमराजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको छ ।

गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा ‘समाजवादी मोर्चा’ को जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत पार्टी अबद्ध ‘समाजवादी मोर्चा’ ले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

सिहंदरबारमा सोमबार बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निरासाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागिता बैठकले भोलि फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले सरकारले गरेका गतिविधिका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको जिकिर गरे । एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक दलहरूको लामो सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन गणतन्त्रवादीहरू सङ्गठित हुनुपर्नेमा जोड दिए ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता गंगा नारायण श्रेष्ठले देश अफ्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौँ, २६ फागुन : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाँले आज मनोनयन पत्र वितरण गरिएका उम्मेदवारले भोलि फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको बताउनुभयो । उहाँले सबै सङ्गठनका उम्मेदवारले मनोनयन पत्र लगेको बताउनुभयो । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि आफ्नो सङ्गठनले सबै क्याम्पसमा मनोनयन पत्र लगेको जानकारी दिनुभयो । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले सबै क्याम्पसबाट उम्मेदवारीका लागि मनोनयनपत्र लगेको बताउनुभयो ।  

अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन मगरले सबै क्याम्पसमा आफ्नो सङ्गठनको उम्मेदवारी दर्ता गराउने बताउनुभयो । स्ववियु निर्वाचन एकै दिन चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । 

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

दशरथचन्द (बैतडी), २६ फागुन : माध्यमिक परीक्षा (एसइई) का लागि जिल्लामा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिले आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो ।

यो वर्ष दुई वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । प्राविधिक धारतर्फका परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र र ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ग) केन्द्र कायम गरिएको उहाँले बताउनुभयो । 

 प्राविधिक धारतर्फका सात वटै विद्यालयका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र कायम गरिएको छ । वीरेन्द्र मावि शाहिलेकमा तीन वटा (क, ख र ग) केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डको पत्रअनुसार जिल्लामा दुई वटा केन्द्र थप गरिएको हो ।

यस वर्षको एसइई परीक्षामा बैतडीका पाँच हजार तीन सय ६२ विद्यार्थीहरु सहभागी हुँदैछन् । नियमित र ग्रेडवृद्धि गरेर पाँच हजार तीन सय ६२ जना परीक्षार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो । 

साधारणतर्फका नियमित दुई हजार एक सय १५ छात्रा र एक हजार नौ सय ७६ छात्र गरेर चार हजार ९१ परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र एक सय २० छात्र गरेर दुई सय १६ परीक्षार्थी सहभागी हुने शर्माले बताउनुभयो । पाँच सय ८६ छात्रा र चार सय ६९ छात्र गरेर एक हजार पाँच जनाले ग्रेडवृद्धि परीक्षा दिने उहाँले जानकारी दिनुभयो । बैतडीमा एक सय २८ वटा सामुदायिक र पाँच वटा संस्थागत विद्यालयका परीक्षार्थीले एसइई परीक्षामा सहभागिता जनाउने छन् । 

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ, २६ फागुन : सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने रु साढे तीन खर्ब हाराहारी मौज्दात देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा रु सात खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको छ । जसमध्ये चालु खर्च रु पाँच खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च रु ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च रु एक खर्ब ६३ अर्ब ८१ करोड रहेको छ ।

यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने रु छ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व रु पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व रु ७७ अर्ब २१ करोड रहेको छ ।

यसरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गत माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा रु तीन खर्ब ५० अर्ब सात करोड नगद मौज्दात रहेको छ । यो राष्ट्र बैंकमा रहेका तीनवटै तहका सरकारको खातामा रहेको रकम हो । गत असार मसान्तसम्ममा सरकारी खातामा रु ८३ अर्ब ९९ करोड मौज्दात रहेको थियो ।

चालु आवको सात महिनामा प्रदेश सरकारको कूल खर्च रु ५१ अर्ब ९० करोड र स्रोत परिचालन रु एक खर्ब एक अर्ब ८९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु २० अर्ब ९५ करोड रहेको छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो सात महिनामा विस्तृत मुद्राप्रदाय चार प्रतिशतभन्दा बढीले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने गत माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १० दशमलव एक प्रतिशतले बढेको छ ।

जनमत पार्टीद्वारा नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न कार्यदल गठन

काठमाडौँ, २६ फागुन : जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सो पार्टीको आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, डा शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो । सङ्गठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसङ्गठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य सरिता श्री ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन कानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरेको छ । मुलुकमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सङ्गठनलाई तयार राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यही फागुन २५ र २६ गते महोत्तरीको बर्दिवासमा भएको बैठकले आगामी रणनीति विषयमा छलफल गरी सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गरेको छ । बैठकले तराई–मधेसको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नदीनालाको अवैध उल्खनन् रोक्न विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरेको छ ।

समग्र देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ हुने भनेर त्यसका लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमको आयोजना गरेर माहोल निर्माण गर्ने निर्णय भएको कार्यकारिणी सदस्य ज्ञवालीले जानकारी दिनुभयो ।

हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्ने विषयलाई जोडदार रूपले उठाउने, तराई–मधेस फास्ट–ट्र्याक सम्पन्न गर्न तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा पैरवी गर्ने सो पार्टीको निर्णय छ । पार्टी अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको बैठकले सदस्यता र सङ्गठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमका साथै सशक्त आन्दोलनका लागि युवा दस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ ।

आपसी मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

सुदूरपश्चिम, २६ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज धनगढीमा सुरु भएको पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा उहाँले आपसी प्रतिस्पर्धाका नाममा पार्टीलाई अहित गर्ने काम गर्न नहुने र सुदूरपश्चिमबाटै यसको सुरुआत गर्न आग्रह गर्नुभयो । “पार्टीभित्रको प्रतिपस्र्धा स्वभाविक मानिए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ । यसको सुरुआत यहीबाट गरौँ”, उहाँले भन्नुभयो ।

  कांग्रेस–एमालेबीच गठबन्धन गर्नुपर्ने विविध कारण उल्लेख गर्दै सभापति देउवाले मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकताअनुसार मिलेर सरकार बनाउनुपरेको धारणा राख्नुभयो । उहाँले प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राखेर देशका हितमा भोलिका दिनमा पनि मिलेर काम गर्न सकिने बताउनुभयो ।  “संविधानबमोजिम राष्ट्र नै समावेशी र समानुपातिक पद्धतिमा चलेकाले प्रत्यक्ष चुनावमा कुनै पनि पार्टीको बहुमत प्राप्त गर्न नसकेकाले कुनै पनि पार्टीसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको छ । प्रतिस्पर्धा हुन्छ तर मिलेर पनि काम गर्नुपर्ने आवश्यकता छ । भोलिका दिनमा हामी सबै मिले सङ्गठन बलियो बनाउन लाग्यौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ । त्यसका लागि इमान्दर भएर लागौँ”, उहाँको आग्रह थियो ।   

उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका राम्रा कामको प्रचार गरेर पार्टीप्रति जनताको विश्वास र भरोसा जगाउन जरूरी रहेको धारणा राख्नुभयो ।  उहाँले भन्नुभयो, “पार्टीप्रतिको भरोसाको जगलाई आधार बनाएर अहिले देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सकिन्छ । त्यसमा सबै जुटौँ, आआफ्नो क्षेत्र र तहबाट राम्रो काम गरौँ ।” 

 महामन्त्री गगनकुमार थापाले देशमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको गुनासो आइरहेकाले पार्टीले नागरिकको असन्तुष्टिको आगो निभाउनेतिर लाग्नुपर्ने बताउनुभयो । उहाँले शासनको भार संविधानलाई बोकाएर नहुने भन्दै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानबमोजिम जनताको अवस्था बदल्ने विश्वास दिन जरूरी रहेको उहाँको भनाइ थियो । “नागरिकले हामीले भनेको हरेक परिवर्तनका आन्दोलनमा साथ दियो । हामीले व्यवस्था बदल्न साथ देऊ, अवस्था बदल्न लाग्छौँ भनेर वाचा ग¥यो । आज त्यो पूरा भएन भनेर असन्तुष्टि छ । जनताले अवस्था बदल्ने गरी सेवा प्रवाह खोजेकोले व्यक्तिगत आकाङ्क्षातिर नलागेर काम गर्नुपर्छ । वाचा पूरा गर्न ठोस काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो । 

  महामन्त्री थापाले समयमै पार्टीको महाअधिवेशन गर्ने कुरा पार्टीका क्रियाशील सदस्यमा भर पर्ने बताउँदै समयमै सदस्यता नवीकरण गराएमा अधिवेशन समयमै हुने बताउनुभयो । 

 अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको व्यवस्थाभित्रैबाट सबैको हित गर्न सकिने चर्चा गर्दै पुरानो व्यवस्थाबाट पार नलाग्ने बताउनुभयो । विगतमा देशको प्रतिकूलतालाई अनुकूलतामा लैजाने कामको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै उहाँले पार्टीले संयमता, एकता, परिपक्ताका साथ काम गर्ने समय आएको बताउनुभयो । 

 कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले व्यवस्था र संविधानविरुद्ध भइरहेको षड्यन्त्रलाई राष्ट्र र कांग्रेसविरुद्धको षडयन्त्रको संज्ञा दिनुभयो । उहाँले सहिष्णुता, उदारता जस्ता नेपाली लोकतन्त्रका विशेषतालाई कमजोरीका रूपमा नलिन परिवर्तनविरोधीलाई चेतावनी दिनुभयो । 

 कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासन कायम गर्न प्रदेश सरकारले इमान्दारिता र नैतिकताका साथ काम गरिरहेको बताउनुभयो । सम्मेलनको उद्घाटन समारोहमा कांग्रेसका केन्द्रीय प्रवक्ता डा प्रकाशशरण महत, सहमहामन्त्रीहरू जीवन परियार, भीष्मराज आङदम्बे, महालक्ष्मी (डिना) उपाध्याय, पूर्वमहामन्त्रीद्वव कृष्ण सिटौला, डा.शशाङ्क कोइराला, प्रदेश सभापति वीरबहादुर बलायरलगायतले सम्बोधन गर्नुभएको थियो । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट कांग्रेसका प्रतिनिधि सहभागी सम्मलेनमा पार्टीका प्रदेश महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

अछाममा घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुई जनाको मृत्यु

अछाम, २६ फागुन: अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँको रातोमाटेमा आज दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका–८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुवै जनाको घटनास्थलमै मृत्युु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ ।

हङकङले नेपाललाई दियो एक सय एक रनको चुनौती

काठमाडौँ, २६ फागुन: हङकङले महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई जितको लागि एक सय एक रनको लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको हो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई÷दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

स्ववियु निर्वाचनः मुस्ताङमा सर्वसम्वत नेतृत्व

मुस्ताङ, २६ फागुन – हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ ।आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत आज उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ÷संगठनबिचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।

क्याप्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका सङ्घ÷सङ्गठनको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो । 

उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्वत निर्वाचित हुनुभएको छ । 

उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसङ्घका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसङ्घ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसंघ) सर्वसम्वत निर्वाचित हुनुभयो । 

यसैगरी सदस्यमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसङ्घबाट मनिका विक निर्वाचित भएकी क्याम्पस प्रमुख थकालीले जानकारी दिनुभयो ।

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

चितवन, २६ फागुन: भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट बढेकोमा अहिले विस्तारै घट्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा १० दशमलव ७७, २०७७/७८ मा पाँच दशमलव ४८, २०७८/०७९ मा पाँच दशमलव ४९, २०७९/०८० मा सात दशमलव ६२ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८०/०८१ मा छ दशमलव ५२ मा रहेको थियो । यस आवमा भने यस विगत वर्षका भन्दा कम चुहावट भएको पाइएको श्रेष्ठले बताउनुभयो ।

चुहावट नियन्त्रणका लागि सचेता अभिवृद्धिलगायत विभिन्न कार्यक्रम गर्नाका साथै समाजमा साक्षरता बढेसँगै चुहावटमा कमी आएको उहाँको बुझाइ छ ।

विद्युत् चुहावटमा कमी आएसँगै ग्राहकको सङ्ख्या थपिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ५७ हजार चार सय ६८ ग्राहक रहेको यस कार्यालयमा हाल ७२ हजार ८१ ग्राहक पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा १६ दशमलव दुई करोड युनिट विद्युत् खपत भएको यस केन्द्रले हाल २२ दशमलव तीन करोडभन्दा बढी विद्युत् बिक्री गर्दै आएको छ ।

पछिल्लो समय अनलाइन महसुल बुझाउने ग्राहकको सङ्ख्यासमेत बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा ३४ प्रतिशत ग्राहकले अनलाइनबाट विद्युत्  महसुल बुझाउने गरेकामा हाल ६२ प्रतिशत ग्राहकले अनलाइन विद्युत् महसुल बुझाउने गरेका छन् । 

राजावादीले संविधानको मार्गभन्दा बाहिर गएर सडक तताउनु आवश्यक छैन : शंकर पोखरेल

गौशाला (महोत्तरी), २६ फागुनः नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताउनुभएको छ ।आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गर्नुभएको छ । यति हुँदासमेत अहिले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक छैन् ।”

राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको धारणा राख्नुभयो । अहिले मधेसी जनताको पहिलो रोजाई नेकपा (एमाले) रहेको उहाँको भनाइ थियो  । कार्यक्रमकाबीच नेकपा एमालेका मधेस प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेको विकास गतिविधिको सम्बन्धमा यहाँका आमसञ्चार चुकेको बताउनुभयो ।

मुलुकमा अर्थतन्त्रको बाह्य क्षेत्र सबल: विप्रेषण र मुद्रा सञ्चिति बढ्यो, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ, २६ फागुन: चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव, माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले प्राप्त गर्ने विप्रेषण बढेको छ भने विदेशी मुद्रा सञ्चिती पनि उच्च बिन्दुमा पुगेको छ । यस्तै, चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

चालु आवको पछिल्लो सात महिनामा रु नौ खर्ब विप्रेषण भित्रिएको छ । यो अवधिमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई रु नौ खर्ब ५८ करोड पुगेको छ । यही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ७४ हजार छ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार आठ सय ८६ रहेको छ ।

यस्तै, चालु आवको सात महिनामा चालु खाता रु एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ८३ करोड रहेको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, समीक्षा अवधिमा रु सात अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

गत माघ मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति रु दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिनामा १६ दशमलव एक प्रतिशतले वृद्धि भई समीक्षा अवधिमा रु २३ खर्ब ६९ अर्ब आठ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति सात महिनामा १३ दशमलव नौ प्रतिशतले वृद्धि भई रु २१ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३७ दशमलव एक प्रतिशतले वद्धि भई रु दुई खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।

हाल मुलुकसँग कायम विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्षद्वारा ४ विधेयक प्रमाणित, भोलि राष्ट्रपतिकहाँ पठाइने

काठमाडौँ, २६ फागुन : राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रमाणित गर्नुभएको छ । अध्यक्षले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’, ‘विधायनसम्बन्धी विधेयक, २०८०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ प्रमाणित गर्नुभएको हो ।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि भोलि मङ्गलबार राष्ट्रपति कहाँ पठाइनेछ । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ ।  राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ ।

मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

काठमाडौँ, २६ फागुन : चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्रै देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः छ दशमलव ५९ प्रतिशत र तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १२ दशमलव ८० प्रतिशत देखिएको छ । त्यस्तै, दाल तथा गेडागुडीको नौ दशमलव ०६ प्रतिशत, तरकारीको सात दशमलव ५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव ३६ प्रतिशतले बढेको छ । 

मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने दुई दशमलव ९८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ९१ प्रतिशतले बढेको छ । त्यसैगरी कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव ३६, मदिराजन्य पेयपदार्थको पाँच दशमलव ०८, यातायातको पाँच दशमलव ०१, सुर्तीजन्य पदार्थको चार दशमलव १० र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ०७ प्रतिशतले बढेको छ ।

यो अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ९६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव १५, मधेश प्रदेशको तीन दशमलव ९१, बागमती प्रदेशको तीन दशमलव ३५, गण्डकी प्रदेशको तीन दशमलव ४०, लुम्बिनी प्रदेशको चार दशमलव १६, कर्णाली प्रदेशको चार दशमलव ०५ र सुदूरपश्चिम प्रदेशको चार दशमलव ७१ प्रतिशत रहेको छ । त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, तराईको चार दशमलव २५, पहाडको चार दशमलव ११ र हिमालको पाँच दशमलव २१ प्रतिशत रहेको छ ।

अबुवामा नौ दशमलव ८४ मेगावाटको ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुने

गोरखा, २७ फागुनः यहाँको गोरखा नगरपालिका–१३ स्थित अबुवामा नौ दशमलव ८४ मेगावाटको ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले करिब रु दुई अर्ब २८ करोड लागतमा जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

सो आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ भने वातावरण प्रभाव मूल्याङ्कन (इआईए) तयार भइसकेको छ । विद्युत् खरिद प्रक्रिया (पिपिए) पनि भइसकेको प्रवर्द्धक कम्पनी मनकामना दरौँदी हाइड्रोपावरले जनाएको छ । 

आयोजनाको प्रस्तावित बाँध अबुवा पुलबाट पाँचसय मिटरमाथि सतिढुङगामा निर्माण हुने डिपिआरमा उल्लेख छ । पावर हाउस भने तीनकिलो नजिकै रहेको सिमलगैरीमा निर्माण गरिने आयोजनाका सञ्चालक बलराम केसीले जानकारी दिनुभयो । 

दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी २०८२ सालको सुरुवातसँगै आयोजनाको शिलान्यास गरिने उहाँले बताउनुभयो । आयोजनाले १४ हेक्टर क्षेत्रफल ओगट्ने, जसमध्ये ६ हेक्टर जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने हुन्छ । हाल मुआब्जा दिने प्रक्रिया चलिरहेको उहाँले बताउनुभयो । 

आयोजनाको ढाँचा ‘पिकिङ रन अफ दि रिभर’ (पिआरओआर) प्रकृतिको छ । विद्युत् प्राधिकरणका पूर्वकर्मचारी समाज आयोजनाका प्रवर्द्धक छन् । जसमध्ये डा डम्बरहादुर नेपालीको नेतृत्वमा नौ जनाको कार्यकारी टिम रहेको छ । नेपाल विद्युत् प्राधिकरणका सेवा निवृत्त कर्मचारीले आर्जन गरेको ज्ञान, सीप, दक्षता, अनुभव र पूँजीलाई विद्युत्कै क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित आयोजना विकास गरिएको कम्पनीले जनाएको छ । 

दुई वर्ष छ महिनाभित्र अर्थात सन् २०२७ जनवरीभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिसक्ने सो आयोजनाको प्रतिवेदनमा उल्लेख छ । 

आयोजनाका लागि कूल बजेटको ३० प्रतिशत स्वपूँजी र बाँकी ७० प्रतिशत बैङ्कबाट कर्जामा लिने आयोजनाले जनाएको छ । पूँजी ३० प्रतिशतलाई सतप्रतिशत मान्दा त्यसको ७५ प्रतिशत लगानी प्रवर्द्धकले गर्ने छन् भने १५ प्रतिशत आइपिओ र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाको सेयरबाट आयोजना निर्माण गर्ने प्रतिवेदनमा भनिएको छ । 

परिवर्तनकामी लोकतान्त्रिक शक्तिसँग सहकार्य गरिने

काठमाडौँ, २६ फागुनः नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले गणतन्त्रात्मक राज्यव्यवस्था समुन्नत बनाउन देशमा रोजगारी वृद्धि तथा समाजवादी वितरण प्रणाली कायम गर्न पार्टीले योजना निर्माण गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो । 

मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीले गरेको प्रदर्शन, पार्टीका गतिविधिबारे छलफल गरिएको बैठकमा देशभर सांगठनिक सुदृढीकरणका लागि सशक्त जनपरिचालनका कार्य योजनामा छलफल गरिएको थियो । समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे  समीक्षा गरिएको बैठकमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबारे समीक्षा गरिएको थियो ।

बैठकमा पार्टी सदस्य विस्तार तथा जनवर्गीय सङ्गठनको कार्ययोजनाको समीक्षा गरिएको बैठकमा बामपन्थी शक्तिबीचको एकतालाई जोड दिने निर्णय गरिएको जनाइएको छ ।
पार्टीको आगामी कार्ययोजना तथा रणनीति तयार गर्न जनताको सुझावलाई सङ्कलन गरी आगामी चैत १ गते विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे भनाइ ‘तरङ्गी’ : ग्रीनल्याण्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ ।

सोमबार डेनिस प्रान्तको विधायिकी निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री म्यूट एजेडले डेनिस सार्वजनिक रेडियोसँगको कुराकानीमा उहाँले भन्नुभयो, “अहिले विश्व व्यवस्था धेरै मोर्चाहरूमा विभाजित भएको र डगमगाइरहेको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले धेरै अप्रत्याशित धारणा सार्वजनिक गर्दै विश्व समुदायलाई तरङ्गीत र असुरक्षित महसुस गराउनुहुन्छ।”

गत हप्ता अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका कारण अमेरिकालाई विशाल आर्कटिक टापुको आवश्यकता रहेको तर्क गर्दै ग्रीनल्याण्ड कब्जा गर्ने आफ्नो योजना दोहोर्याउनुभएको थियो ।

डेनमार्कबाट ग्रीनल्याण्डको स्वतन्त्रताको समयसीमा निर्धारण गर्दा यस क्षेत्रको चुनावी अभियान हावी भएको छ ।ट्रम्पले भन्नुभएको थियो,“हामी आफ्नो भविष्य आफै निर्धारण गर्ने तपाईंको अधिकारको दृढतापूर्वक समर्थन गर्दछौं र यदि तपाईंले रोज्नुभयो भने हामी तपाईंलाई संयुक्त राज्य अमेरिकामा स्वागत गर्दछौँ।”

अमेरिकाले कुनै न कुनै रुपमा ग्रीनल्याण्ड पाउनेमा आफू विश्वस्त रहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो । अमेरिकी कङ्ग्रेसमा कतिपय रिपब्लिकनसमेतलाई हाँसाको बिषय बनेका यी योजनालाई धेरै ग्रीनल्याण्डवासीहरूले उपहासको रूपमा लिएका थिए।“हामी सम्मानका साथ व्यवहार गर्न योग्य छौँ तर अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गरेदेखि पछिल्लो समय यस्तो गरिरहेको जस्तो मलाई लाग्दैन,” इजेडले भन्नुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिले हालै दिएका अभिव्यक्तिको अर्थ यो हो कि हामी अमेरिकासँग विगतमा जति नजिक थियौँ त्यति नजिक हुनु चाहदैनौ ।” ट्रम्पले कङ्ग्रेसलाई सम्बोधन गरेको भोलिपल्ट नै इजेडले फेसबुकमा लेख्नुभएको थियो, “ग्रीनल्याण्डका बासिन्दाहरू अमेरिकी वा डेनिस केही पनि बन्न चाहँदैनन् । हामी ग्रीनल्याण्डवासी हौँ । अमेरिकी र उनीहरूका नेताले यो कुरा बुझ्नुपर्छ।”

सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक

काठमाडौँ, २६ फागुन : सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् ।
नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरुले बताएका हुन् । “सूर्तिजन्य तथा मदिराजन्य पदार्थ प्रयोगको अवस्था, यसको प्रभाव र नियन्त्रण तथा नियमनसम्बन्धी स्वास्थ्य क्षेत्रका सञ्चारकर्मीहरुसँग छलफलमा क्यान्सर रोग विशेषज्ञ प्रा डा विवेक आचार्यले सूर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर असर पु-याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सूर्तिजन्य पदार्थले १२ देखि १३ प्रकारका क्यान्सर गराउँछ । यो एकदमै घातक हो । मुटुरोग, मष्तिष्कघात, फोक्सोको समस्या आदि यसले निम्त्याउन सक्छ । यसले स्वास्थ्यमा असर पार्नुका साथै आर्थिक भार थपेको छ ।”

उहाँले वयस्कमा चुरोट सेवनको लत बढिरहेको बताउँदै नेपालमा अबको २० देखि ३० वर्षमा क्यान्सर खेप्न नसकिने अवस्थामा देखिने बताउनुभयो । “सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन गर्न सकेका छैनौँ । क्यान्सर बढ्दो अवस्थामा छ । अहिले नै रोकथाममा सम्बोधन नगरेपछि भयावह स्थिति आउन सक्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले विश्वमा मदिराको हानिकारक प्रयोगका कारण हरेक वर्ष ३० लाख मानिसको मृत्यु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मदिराको प्रयोगले दुई सय भन्दा बढी रोग र चोटपटक लाग्ने अवस्था निम्त्याउँछ । यसले अकालमा मृत्यु गराउने र जीवनशैलीमा ह्रास ल्याउँछ ।” 

मदिराको उपलब्धतामा भएका प्रतिबन्धलाई बढावा दिने, स्क्रिनिङ सहजताका साथै उपचारमा पहुँच, विज्ञापन, प्रायोजन तथा पदोन्नतिमा व्यापक प्रतिबन्ध, अन्तःशुल्क तथा मूल्य निर्धारण नीतिमार्फत मदिराजन्य पदार्थमा मूल्य वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।

केन्द्रका निर्देशक डा केशवराज पण्डितले नसर्ने रोगको भारको मुख्य कारकमध्ये सूर्तिजन्य तथा मदिराजन्य पदार्थ रहेको बताउनुभयो । उहाँले यी सम्बन्धी बनेका कानुन कार्यान्वयनमा समन्वय आवश्यक रहेको बताउनुभयो ।

राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ को ट्यालेन्ट शो राउण्ड सम्पन्न

काठमाडौं – राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ को ट्यालेन्ट शो राउण्ड हालै सफलतापूर्वक सम्पन्न भएको छ, जहाँ सहभागीहरूले आफ्नो अद्भुत प्रतिभा र सिर्जनशीलता प्रस्तुत गरे। कार्यक्रमको निर्णायक भूमिकामा रोमा न्यौपाने (नेपालकी पहिलो एक खुट्टा नृत्यांगना), प्रनिच्ज़ मान सिंह अधिकारी (सिइओ, ड्यनमोच्क्स नेपाल), दिव्या महर्जन (मोडल/केबिन क्रु), टेकराज पाण्डे (इभेन्ट अर्गनाइजर/मेकअप ट्रेनर), र चुन सुंगजिन (सिइओ, ओएसिस इमिग्रेशन ग्रुप – कोरिया र क्यानडा) थिए ।

कार्यक्रममा कामल खत्री (प्रख्यात गायक), सपन श्रेष्ठ (गायक), र सबिना राउत (मोडल तथा नृत्य कोरियोग्राफर) जस्ता विशेष अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनायो। यसका साथै, दिवस राज भट्टराई, शोवन गौतम, सोनित राज ढुंगेल, ऋतिका शाह, धर्मराज परेनु, रबी लामा, इसा गुरुङ, दीपक लामा, पवन कोईराला, जुनिता राई, जेनीका धिमाल, सरला राई, र निलम गुरुङ जस्ता अतिथिहरू पनि उपस्थित थिए।

कार्यक्रमको आरम्भ अर्जु महर्जन (औपचारिक फेसन कोरियोग्राफर) र हिस्से शेर्पा (इभेन्ट कोअर्डिनेटर) द्वारा गरियो, जसको साथमा सुरज थापा (सिइओ/संस्थापक) ले कार्यक्रमको स्वागत गर्नुभयो। कार्यक्रमको उद्घोषणा रोबिन लामा ले गरेका थिए।

विशेष धन्यवाद सचिब श्रीमती अनिता श्रेष्ठ प्रजापति लाई, जसले सहभागी तथा अतिथिहरूलाई स्वादिष्ट खाजाले स्वागत गर्नुभयो।

कार्यक्रमलाई अझ स्मरणीय बनाउन साविन खडा (आईटी हेड) र अंकित मल्ल (इभेन्ट कोअर्डिनेटर) को योगदान सराहनीय रह्यो। साथै, क्युपिड फोटो स्टुडियो का बिन्द्रा प्रजापति र युनिकर्न फोटो फिल्म स्टुडियो का मिलन द्वारा तस्वीर र भिडियोग्राफी मार्फत कार्यक्रमका रमाइलो क्षणहरू कैद गरियो।

स्मारिका सुवेदी, प्रज्ञा केसी, मुना खपांगी, अञ्जिला खनाल, पूर्णिमा तामाङ, अञ्जली रोका मगर, सुनिशा गुरुङ, आन्जुम लिम्बू, लसता महर्जन, र उर्मिला तामाङ जस्ता प्रतिभाशाली सहभागीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन देखाएर कार्यक्रमलाई थप रोचक र प्रेरणादायी बनाए।

यस कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सबैलाई आयोजक टिमको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ। आगामी चरणको प्रतीक्षामा सहभागीहरू र दर्शकहरू उत्साहित छन्। Grace Events का सिइओ/संस्थापक तथा कार्यक्रम आयोजक सुरज थापा ले ग्रान्ड फिनाले र अष्टलक्ष्मी सम्मान २०८१ नव दुर्गा पार्टी प्यालेस मा २०८१/११/२७ मंगलबारको दिन हुने बताए।

कालीगण्डकी करिडोरः बादरजुङ र काभ्रेभिरको यात्रा सहज

म्याग्दी, २६ फागुनः बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउनुहुन्छ ।

“तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो”, उहाँले भन्नुभयो, “अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।”

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो । काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

“धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ”, योजनाका इञ्जिनियर विष्णु चापागाईले भन्नुभयो, “तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ÷रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।”

उहाँका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।

काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ । काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरुले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेका बताउनुभयो ।

दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उहाँले बताउनुभयो । “मजदुरहरुले भिरमा रसिमा झुन्डिएर रड राख्ने प्वाल बनाएका थिए । फराकिलो पारिएको सडकलाई ढलान गरेर डिलतर्फ सिमेन्टको पिल्लर र फलामको साइडबार राखिएको छ”, उहाँले भन्नुभयो, “धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पु¥याएको छ ।”

यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताउनुभयो ।

पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पु¥याइएको हो । चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताउनुभयो ।

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’

काभ्रेपलाञ्चोक, २६ फागुनः प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व स्थानीय उपभोक्ता समितिलाई अभिमुखीकरण सम्पनन गरेको छ भने सञ्चालित योजनाको नियमित अनुगमन गरिएको जनाएको छ । नगर रोजगार सेवा केन्द्रले रोजगार व्यक्तिको सूचीमा दर्ता हुने आवेदन प्रक्रिया र समय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी विविध पक्षको जानकारी तथा अभिमुखीकरण गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त रोजगार कार्यक्रममा नगरभित्र बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा ११ वटै वडामा अभिमुखिकरण गरिएको केन्द्रका संयोजक अमृत खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालानार्थ तालिम प्रदायक छनोट भई ४० बेरोजगार सूचीमा सूचीकृत व्यक्तलाई आउँदो चैत २ गतेबाट प्लम्बर र डकर्मीसम्बन्धी तालिम सञ्चालन गरिने छ । यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगार व्यक्तिलाई एक सय दिनको रोजगारी प्रदान गरिएको केन्द्रले जनाएको छ ।

विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य

नेपालगञ्ज, २६ फागुनः बाँकेका आठ स्थानीय तहले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अन्तरपालिका समन्वय, सहकार्य एवं अनुभव आदान प्रदानसम्बन्धी भएको समन्वय बैठकमा सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । जिल्लाका स्थानीय तहबीच विपद् जोखीम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागी समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवद्र्धन गर्ने, विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय तहमा भएका असल अभ्यास र सिकाइको अनुशरण गर्दै आवश्यक पर्दा एक स्थानीय तहले अर्को स्थानीय तहलाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख छ ।

यसबाहेक विपद् व्यवस्थापनमा सहयोग आदानप्रदान गर्न तथा सहकार्य गर्न स्रोत साझेदारीको लागि सम्बन्धित स्थानीय तहको मौजुदा कानुन अद्यावधिक गर्ने, आगलाीगको समयमा कुनै स्थानीय तहले दमकल सेवा माग गर्दा तुरुन्त उपलब्ध गराउनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका एम्बुलेन्सको विवरण अद्यावधिक गरी आपत र विपद्को समयमा तुरुन्तै सेवा दिन प्रबन्ध मिलाउने, विपद् सूचना प्रणालीलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको स्थापना एवं सुदृढीकरण गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनेलगायत समझदारीपत्रमा जनाइएको छ ।

विपद्को समयमा आवश्यक पर्ने उद्धार, राहत तथा पुनःस्थापनाको लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, अस्थायी आवास आदिजस्ता अत्यावश्यक सेवा तत्काल प्रदान गर्ने उद्देश्यले त्यस्ता सामग्रीरुको निश्चित मात्रामा भण्डार गर्ने पनि समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा नेपालगञ्ज उपपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहलगायत विभिन्न पालिकाका विपद् सम्पर्क व्यक्तिले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउनुभयो । उक्त बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठ, परियोजनाका जनसम्पर्क अधिकृत रुपन ज्ञवालीले परियोजनाको विभिन्न विषयमा जानकारी दिनुभएको थियो । सबै पालिकाले विपद्मा गरेका विभिन्न असल कामको अभ्यासबारे समेत जानकारी दिएका थिए ।

प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी, २६ फागुन : पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ । पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिइएको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो ।

दैनिक सरदर तीन सय बिरामी आउने उक्त केन्द्रमा जनशक्ति र उपकरण पनि थप गरी सेवालाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा जनशक्ति र उपकरणको अभाव रहँदै आएको थियो । यसअघि प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन हुँदै आएकामा अहिले त्यसलाई छुट्टाछुट्टै कोठाबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । “प्रयोगशाला सेवा अनलाइन प्रणालीबाट सञ्चालनमा आइसकेको छ, भिडियो एक्सरेका लागि उपकरण ल्याउने प्रक्रिया अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई पोखरा महानगरपालिकाकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन सकिन्छ ।”

केन्द्रले प्रयोगशाला परीक्षणको ‘रिपार्ट’ अनलाइन प्रणालीबाट घरमै हेर्न सकिने सुविधा दिएको छ । “क्यूआरबाट प्रयोगशालाको रिपोर्ट मोबाइलमै हेर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “अहिले इसिजी जाँच सेवा पनि थप गरिएको छ, थाइराइडका जाँचका लागि उपकरणको खाँचो छ ।” बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवालाई थप व्यवस्थित बनाउन लागिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालित छ ।

केही समय अघिसम्म अस्तव्यस्त देखिने उक्त केन्द्रमा गत मङ्सिरदेखि पूर्वाधार व्यवस्थापन र सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको हो । घेराबार नहुँदा केन्द्रको भवन परिसर सवारीसाधन पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने स्थलका रुपमा प्रयोग हुँदै आएकामा अहिले पर्खाल र प्रवेशद्वारा निर्माण गरिएको छ । स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।

बिरामीको चापअनुसार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको संख्या अपुग रहेको छ । १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो । उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् ।

बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको छ । केन्द्रमा स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतन आदि सेवा उपलब्ध छन् । प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । केन्द्रले बहिरङ्ग सेवा, खोप तथा पोषण सेवा, एकीकृत बालरोग व्यवस्थापन, परिवार नियोजन सेवा, सुरक्षित मातृत्वलगायतका सेवा प्रदान गर्दै आएको छ ।

खेत धितोमा राखेर मेयरले ठेकेदारलाई दिए भुक्तानी, अनि अघि बढ्यो सडक निर्माणको काम

डुम्रे (तनहुँ), २६ फागुन-भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो ।

नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उहाँले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ । “वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु”, नगर प्रमुख त्रिपाठीले भन्नुभयो ।

काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु –१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराउनुभएको छ । ठेकेदारलाई काम गर्न सहज होस् भनेर रु १५ लाख बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम दु्रत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुुभयो ।

“नगर प्रमुखले ऋण लिएर ठेकेदारले रकम दिएसँगै काम तदारुकताका साथ काम भइरहेको छ”, उहाँले भन्नुभयो । सरकार प्राप्त हुने भुक्तानी आउन समय लाग्ने भएकाले काम प्रभावित नहोस् भनेर भानु –२ स्थित भानु बचत तथा ऋण सहकारीमा खेत धितो राखेर रु १० लाख ऋण लिएर ठेकेदारलाई भुक्तानी दिएको नगर प्रमुख त्रिपाठीले बताउनुभयो ।

“रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो । भानु नगरपालिका–१ सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकार्नुभयो । पेटी ठेकेदारको रुपमा काम गर्दै आउनुभएका राजेन्द्र पराजुलीले नगर प्रमुुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न मद्दत गर्नुभएको बताउनुभयो ।

ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौँस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहनुभएका पराजुलीलाई जिम्मा दिइएको हो । पटक–पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ ।

भानु–१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका कामका लागि विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

बर्सातका समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले सास्ती खेप्दै आएकाले छिटो सम्पन्न गर्न नयाँ ठेकेदारलाई सहयोग गरिएको उहाँले बताउनुभयो । वडाध्यक्ष अधिकारीका अनुसार नयाँ ठेकेदारले जिम्मा लिएपछि हाल करिब ८० प्रतिशत सडक निर्माणको काम पूरा भएको छ ।

चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगर प्रमुख र वडाध्यक्षले व्यक्तिगत रुपमा रकम उपलब्ध गराइदिएपछि काम गर्न सजिलो भएको ठेकेदार राजेन्द्र पराजुलीले बताउनुुभयो । शङ्करमालीले काम गरेको रकम भुक्तानी नदिएपछि रकम अभावले काम प्रभावित हुने जानकारी नगरपालिकामा गराएपछि व्यक्तिगत रुपमा रकम दिएर काम गर्न सहज भएको उहाँले बताउनुभयो ।

मिर्लुङ बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक कुशलचन्द अधिकारीले सडकको दूरावस्ताले दैनिक उपभोग्य सामग्री बजारसम्म पु¥याउन र ल्याउनमै समस्या परिरहेको बेला जनप्रतिनिधिको सहयोगमार्फत सडक निर्माणले गति लिएको बताउनुभयो । उहाँले सडक स्तरोन्नतिको लागि दिनरात खटिएपछि कामले गति लिन थालेको बताउनुभयो । “यस वर्ष पानी पर्दा हिलोमा चिप्लिने र नपर्दा धुलोले हैरान भएको बेला कालोपत्रको कामले गति लिन थालेसँगै स्थानीयवासीमा खुसी छाएको छ”, उहाँले भन्नुभयो ।

यस वर्ष समयमा नै सडक निर्माण सम्पन्न भएपछि यस भेगका स्थानीयवासी सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि सहज यात्रा गर्ने आशामा रहेका स्थानीयवासी कालोपत्रको कामले तीव्रता पाएपछि हर्षित भएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक

खोटाङ, २६ फागुनः हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लोगो सार्वजनिक गर्नुभएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । पूर्वअर्थमन्त्री डा महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा सङ्कलन भएका सात लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाउनुभएको लोगो उत्कृष्टमा छनोट भएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन् ।

हलेसी तुवाचुङ –७ महादेवस्थानमा रहेको हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र त्रिधार्मिकस्थल हलेसीलगायत ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्र समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि जिल्ला समन्वय समिति खोटाङले आफ्नो जिल्लाको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याएको थियो । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म आफ्नो छुट्टै लोगो प्रयोग गरेका छैनन् ।

कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेसका पूर्व सभापति एवंम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको बताएका हुन् ।

उनले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्, प्रतिकुलता र अस्थिरताको बिचमा सामाजिक न्याय सहितको उदार अर्थ व्यवस्थाको नीति जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमा सहि रोजगारीको जे जस्ता अवस्था सिर्जना भएका छन् । निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ । यसलाई जि.वी भन्दा फरक पर्दैन । गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो ।’उनले संसद पाँच वर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताए ।

नेपाली कांग्रेसले “राजनीतिक विमर्शको केन्द्रमा रोजगार – सरकारको प्राथमिकतामा रोजगार“ भन्ने लक्ष्यका साथ “मिसन रोजगारी“ अभियान सञ्चालन गरेको छ ।
आइतवार (आज) नेपाली कांग्रेस पार्टी कार्यालय तथा नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा संचालन हुने यस अभियानको उद्घाटन भएको हो ।

थारुआलु खेतीबाट आम्दानी लिँदै किसान,चौधरीले यस वर्ष तीन लाख आम्दानी गरे

अत्तरिया (कैलाली),२६ फागुन- यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् । धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष रु तीन लाख आम्दानी लिएको बताउनुभयो ।

उहाँले यस वर्ष आठ कठ्ठामा आलु खेती गर्नुभउको थियो । ४० क्विन्टल आलु उत्पादन गर्नुभएका उहाँले भन्नुभयो “अझै २० क्विन्टल आलु बेच्न बाँकी छ । यस वर्ष आलु राम्रो फलेको थियो । समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो । प्रतिकिलो रु एक सय ५० मा बिक्री गरियो ।”

उहाँका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन । उहाँले तरकारी खेती समेत गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिजनअनुसारको तरकारी लगाउँछु । तरकारीखेती र आलुबाट सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुन्छ । तरकारी खेतीबाटै चार जनाको परिवारको घरखर्च र छोराछोरीको पढाइलेखाइ खर्च धानेको छु ।”

सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यस वर्ष सात कठ्ठा जग्गामा थारु आलु लगाएको थिएँ । आठ क्विन्टल बेचेको छु । बाँकी अब असारतिर बेच्ने गरी राखेको छु । २० क्विन्टलसम्म विक्री गर्छौँ । बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।” 

उहाँले पनि आलुखेतीसँगै तरकारी खेती समेत गर्ने गरेको बताउनुभयो । उहाँले तरकारी र थारु आलु बिक्रीबाट वार्षिक रु तीन लाखसम्म बचत गर्ने गर्नुभएको छ । माग बढ्न थालेपछि लगाउन छाडिएको थारुआलु पछिल्लो समय लगाउन थालिएको उहाँको भनाइ छ ।

सोही ठाउँका स्थानीय रवि चौधरीले यस वर्ष चार कठ्ठामा थारुआलु खेती गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष आठ क्विन्टल जति उत्पादन भएको छ । अहिले मूल्य घटेकाले बेचेका छैनौँ । मूल्य बढेपछि बिक्री गर्छौँ ।” उहाँले तरकारी तथा थारुआलु बिक्रीबाट वार्षिक रु दुई लाख आम्दानी हुने गरेको बताउनुभयो ।

मध्यमा परिक्रमाः गुञ्जदै होरी गीत, रङ्गिदै माटो

महोत्तरी, २६ फागुनः मध्यमा परिक्रमाका यात्री जहाँ पुग्छन्, त्यहाँ होलीमय परिवेश बन्छ । नाच्दै, झुम्दै अघि बढेका यात्री होरीगीत र सीताराम नाम सङ्कीर्तनमा मस्त देखिन्छन् । यात्राको आठौँ दिन महोत्तरीको कञ्चनवनमा ‘होरी’ खुलेपछि यात्रा झन् उत्सवमय बनेको छ ।

‘मिथिलामें राम खेलैय होरी हो, मिथिलामें’ यी बोलका गीतसँगै झुमेका यात्री एकआपसमा रङ्गअबिर छ्यापाछ्याप गर्न पछि पर्दैनन् । ‘किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी !’ (कसको हातमा सुनौलो रङ् छेप्ने पिचकारी छ ? अनि कसको हातमा अबिरको झोला ?) यात्रीमध्येकै एक समूहबाट गीतमै प्रश्न तेर्सिन्छ । अनि अर्को समूहले गीतबाटै जवाफ फर्काउँछ, ‘रामजीके हात कनक पिचकारी, सीयाजीक हात अबिर झोरी’ (रामजीका हातमा सुनौला पिचकारी छ अनि सीताजीका हातमा अबिरको झोला) हो.., मिथिलामें राम खेलैय होरी हो मिथिलामें ।

फागु गीत आफैँ शृङ्गार रसका हुन्छन्, अनि त्यसमा गवैया (गाउने)को मनमस्तपन मिसिँदा अहिले मिथिला माध्यमिकी परिक्रमाको यात्रा होलीमय बनेको छ । सब नाच्दा छन्, यात्रीले एकआपसमा छ्याछ्याप गरेका रङ्गअबिरले मान्छेमात्र हैन, माटो रङ्गिएको छ । स्वरमा स्वर मिसिएका छन्, लयमा लय, ‘होरी खेले रघुवीरा सीयासँग, होरी खेले रघुवीरा !’

यात्राका सात दिनसम्म भक्तिमा डुब्ने यात्री महोत्तरीको कञ्चनवनमा होलीमहोत्सवमा सरिक भएपछि रङ्गिन बन्छन् । यात्रा अवधिका सबै विधि र व्रत अवलम्बन गरिरहेपनि कञ्चनवनले थपेको होलीमय परिवेशले बाँकी यात्रा नाचगान र रङ्गअबिर खेलिँदै रमाइलोमा बित्ने यात्रीमध्येका महोत्तरीसँगै जोडिएको भारतीय सीमावर्ती गाउँ डिमाहीका हनुमान शरण दास बताउनुहुन्छ ।

फागुन औँसीका दिन सुरु भएर लगातार १५ दिनको यात्राको अठोट । टाउकोमा  सामल–खाजा र एकसरो फेरफार लुगाको मोटरी (पोको), वाणीमा जय सीयारामको लय । नाङ्गा खुट्टा, परिचित÷अपरिचित हजारौँ सहयात्री । कल्याण र मोक्षको कामना, १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अध्यात्मिक यात्रा । यात्रु भन्छन, “माथ में मोटरी, मन में सीयाराम !” (टाउकोमा सामल खाजाको पोका, मनमा सीतारामप्रति श्रद्धा, भक्ति र समर्पणको भाव) । आठौँ दिनपछि होलीको रमाइलो । गुञ्जदै होरीगीत, रङ्गिदै माटो ।

यात्रामा महोत्तरीको कञ्चनवनमा विहारकै क्रममा श्रीराम र सीताजीले रङ्ग, अबिर खेलेका विश्वासमा यात्री एकआपसमा रङ्ग, अबिर खेलेर फागु पर्व मनाउने गर्छन् । वसन्तपञ्चमीका दिनदेखि फागु पर्वको सुरुवात मानिएपनि मैथिल परम्परामा कञ्चनवनमा रङ्ग, अबिर खेलेपछि नै फागु विधिवत सुरु हुन्छ ।

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

जाजरको-गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ । उहाँले भूकम्प पीडितका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालयको एक समारोहबीच उद्घाटन गर्दै गृहमन्त्री लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । चर्किएका र भत्किएका घर सरकारले निर्माण गर्ने उहाँले बताउनुभयो । भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण पुनःस्थापना प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार एकसाथ सो कार्यमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

“ विस्तृत क्षति आँकलनको काम छिटोछरितो रुपमा अघि बढाउनुपर्छ । सो कार्य समयमा सम्पन्न गरी पुनःनिर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो । भूकम्पले घर भत्किएपछि पुनर्निर्माण अघि गरिने विस्तृत क्षति आँकलनका लागी जाजरकोटमाा ५० जना र रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरिरहेको उहाँले बताउनुभयो । प्राविधिकको सङ्ख्या कम भए सरकारले थप गर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री लेखकले जाजारकोटमा अलपत्र परेका योजनाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमार्फत्  छिटोछरितो सम्पन्न गर्न पहल गरिने बताउनुभयो । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । यसका लागि आवश्यक बजेट व्यवस्थापन गरी  विस्तृत क्षति आँकलनको प्रतिवेदन चाँडो आएपछि सरकारले बजेट व्यवस्थापन गरी पुनर्निर्माणको कामलाई अघि बढाउने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

“पुनर्निर्माणको काम छिटोछरितो गरी भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासमा राख्ने सरकारको लक्ष्य छ”, उहाँले भन्नुभयो । भूकम्प जति बेला पनि आउनसक्ने भएकाले स्थानीय सरकारले विपद् जोखिम न्यूनिकरण कोषलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्र बिन्दु भई गएको भूकम्पबाट धनजनको क्षति भएपछि भूकम्प पीडितको घर निर्माण गर्न जाजरकोट र रुकुम पश्चिममा कार्यालय स्थापना गरिएको हो । 

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा प्राधिकरणका भिष्मकुमार भुसाल, नेपाली कांग्रेस जाजरकोटका सभापति एवं प्रदेशसभा सदस्य वेदराज सिंह, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टलगायतले पुनर्निर्माण तथा पुनःस्थापनाको काम सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । 

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २६ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु २००, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु ११०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा (हरियो), प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १४०, निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

मनाङमा पहिलोपटक सार्वजनिक बस सेवा सञ्चालनमा आउँदै

मनाङ, २६ फागुनः हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले आज सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

बैठकले सार्वजनिक बस सेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्षसहित सो निर्णय गरिएको प्रजिअ आचार्यले बताउनुभयो । “भौगोलिक रूपमा विकट क्षेत्र मनाङमा पहिलो पटक सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको छ,” उहाँले भन्नुभयो, “सार्वजनिक सवारीसाधन सञ्चालनले स्थानीयवासीका साथै पर्यटक र कर्मचारीलाई सहज हुनेछ ।”

मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ । सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ । 

प्रजिअ आचार्यले सार्वजनिक सवारीसाधन सञ्चालनमा आउँदा यसले यातायात व्यवस्थापनलाई थप सुधार गर्नुका साथै व्यवस्थित बनाउने बताउनुभयो । बेँसीसहर–चामे सडक–खण्डमा यात्रुबाहक बस सञ्चालनका लागि विगतमा विपद् व्यवस्थापन समितिले निर्णय गरिसकेको भए पनि कार्यान्वयनमा ल्याउन सकिएको थिएन । समन्वय बैठकले उक्त निर्णयलाई पुनःअनुमोदन गर्दै तत्काल बस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ । 

बस सञ्चालनका लागि आवश्यक रुट इजाजत पत्र लिनुपर्ने भएकाले लमजुङ कालिका प्रालिलगायतका यातायात व्यवसायीलाई सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरिने जानकारी दिनुभयो । 

बेसीसहर–चामे सडक खण्ड जोखिमयुक्त भएकाले बस सेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त स्थानको पहिचान गरी मर्मत एवम् निर्माणलाई तीव्रता दिइने प्रजिअ आचार्यले बताउनुभयो । उक्त कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी कामलाई तिव्रता दिइने जनाइएको छ । 

प्रजिअ आचार्यले भन्नुभयो, “पहिचान गरिएका स्थानको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय दमौली, डुम्रे–बेसीसहर–चामे सडक आयोजना, जलविद्युत् आयोजना तथा स्थानीय तहसँग आवश्यक पहल गर्नेछौँ ।” 

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ २० पैसा र बिक्रीदर १०४ रूपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३ रूपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १५ पैसा र बिक्रीदर २० रूपैयाँ २३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ २७ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ८३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २६ फागुनः हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

झापा, २५ फागुन : काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आज भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा हराउँदै चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि ‘टाइब्रेकर’मा खेल धकेलिएको थियो । टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि सडनडेथमार्फत खेलको निर्णय भएको थियो ।

टाइब्रेकरमा चर्च ब्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गरेका थिए । झापा एफसीका तर्फबाट रोशन पहारी, प्रवीन बस्नेत, बाफोर र गौरव धिमालले गोल गरेका थिए । 

यसअघि खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । खेलको ९०औँ मिनेटमा झापा एफसीका श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।  खेलको ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । सोमबार धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच खेल हुनेछ । 

प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टोली सहभागी छन् ।