`

मध्यमा परिक्रमाः गुञ्जदै होरी गीत, रङ्गिदै माटो

महोत्तरी, २६ फागुनः मध्यमा परिक्रमाका यात्री जहाँ पुग्छन्, त्यहाँ होलीमय परिवेश बन्छ । नाच्दै, झुम्दै अघि बढेका यात्री होरीगीत र सीताराम नाम सङ्कीर्तनमा मस्त देखिन्छन् । यात्राको आठौँ दिन महोत्तरीको कञ्चनवनमा ‘होरी’ खुलेपछि यात्रा झन् उत्सवमय बनेको छ ।

‘मिथिलामें राम खेलैय होरी हो, मिथिलामें’ यी बोलका गीतसँगै झुमेका यात्री एकआपसमा रङ्गअबिर छ्यापाछ्याप गर्न पछि पर्दैनन् । ‘किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी !’ (कसको हातमा सुनौलो रङ् छेप्ने पिचकारी छ ? अनि कसको हातमा अबिरको झोला ?) यात्रीमध्येकै एक समूहबाट गीतमै प्रश्न तेर्सिन्छ । अनि अर्को समूहले गीतबाटै जवाफ फर्काउँछ, ‘रामजीके हात कनक पिचकारी, सीयाजीक हात अबिर झोरी’ (रामजीका हातमा सुनौला पिचकारी छ अनि सीताजीका हातमा अबिरको झोला) हो.., मिथिलामें राम खेलैय होरी हो मिथिलामें ।

फागु गीत आफैँ शृङ्गार रसका हुन्छन्, अनि त्यसमा गवैया (गाउने)को मनमस्तपन मिसिँदा अहिले मिथिला माध्यमिकी परिक्रमाको यात्रा होलीमय बनेको छ । सब नाच्दा छन्, यात्रीले एकआपसमा छ्याछ्याप गरेका रङ्गअबिरले मान्छेमात्र हैन, माटो रङ्गिएको छ । स्वरमा स्वर मिसिएका छन्, लयमा लय, ‘होरी खेले रघुवीरा सीयासँग, होरी खेले रघुवीरा !’

यात्राका सात दिनसम्म भक्तिमा डुब्ने यात्री महोत्तरीको कञ्चनवनमा होलीमहोत्सवमा सरिक भएपछि रङ्गिन बन्छन् । यात्रा अवधिका सबै विधि र व्रत अवलम्बन गरिरहेपनि कञ्चनवनले थपेको होलीमय परिवेशले बाँकी यात्रा नाचगान र रङ्गअबिर खेलिँदै रमाइलोमा बित्ने यात्रीमध्येका महोत्तरीसँगै जोडिएको भारतीय सीमावर्ती गाउँ डिमाहीका हनुमान शरण दास बताउनुहुन्छ ।

फागुन औँसीका दिन सुरु भएर लगातार १५ दिनको यात्राको अठोट । टाउकोमा  सामल–खाजा र एकसरो फेरफार लुगाको मोटरी (पोको), वाणीमा जय सीयारामको लय । नाङ्गा खुट्टा, परिचित÷अपरिचित हजारौँ सहयात्री । कल्याण र मोक्षको कामना, १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अध्यात्मिक यात्रा । यात्रु भन्छन, “माथ में मोटरी, मन में सीयाराम !” (टाउकोमा सामल खाजाको पोका, मनमा सीतारामप्रति श्रद्धा, भक्ति र समर्पणको भाव) । आठौँ दिनपछि होलीको रमाइलो । गुञ्जदै होरीगीत, रङ्गिदै माटो ।

यात्रामा महोत्तरीको कञ्चनवनमा विहारकै क्रममा श्रीराम र सीताजीले रङ्ग, अबिर खेलेका विश्वासमा यात्री एकआपसमा रङ्ग, अबिर खेलेर फागु पर्व मनाउने गर्छन् । वसन्तपञ्चमीका दिनदेखि फागु पर्वको सुरुवात मानिएपनि मैथिल परम्परामा कञ्चनवनमा रङ्ग, अबिर खेलेपछि नै फागु विधिवत सुरु हुन्छ ।

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

जाजरको-गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ । उहाँले भूकम्प पीडितका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालयको एक समारोहबीच उद्घाटन गर्दै गृहमन्त्री लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । चर्किएका र भत्किएका घर सरकारले निर्माण गर्ने उहाँले बताउनुभयो । भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण पुनःस्थापना प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार एकसाथ सो कार्यमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

“ विस्तृत क्षति आँकलनको काम छिटोछरितो रुपमा अघि बढाउनुपर्छ । सो कार्य समयमा सम्पन्न गरी पुनःनिर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो । भूकम्पले घर भत्किएपछि पुनर्निर्माण अघि गरिने विस्तृत क्षति आँकलनका लागी जाजरकोटमाा ५० जना र रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरिरहेको उहाँले बताउनुभयो । प्राविधिकको सङ्ख्या कम भए सरकारले थप गर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री लेखकले जाजारकोटमा अलपत्र परेका योजनाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमार्फत्  छिटोछरितो सम्पन्न गर्न पहल गरिने बताउनुभयो । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । यसका लागि आवश्यक बजेट व्यवस्थापन गरी  विस्तृत क्षति आँकलनको प्रतिवेदन चाँडो आएपछि सरकारले बजेट व्यवस्थापन गरी पुनर्निर्माणको कामलाई अघि बढाउने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

“पुनर्निर्माणको काम छिटोछरितो गरी भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासमा राख्ने सरकारको लक्ष्य छ”, उहाँले भन्नुभयो । भूकम्प जति बेला पनि आउनसक्ने भएकाले स्थानीय सरकारले विपद् जोखिम न्यूनिकरण कोषलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्र बिन्दु भई गएको भूकम्पबाट धनजनको क्षति भएपछि भूकम्प पीडितको घर निर्माण गर्न जाजरकोट र रुकुम पश्चिममा कार्यालय स्थापना गरिएको हो । 

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा प्राधिकरणका भिष्मकुमार भुसाल, नेपाली कांग्रेस जाजरकोटका सभापति एवं प्रदेशसभा सदस्य वेदराज सिंह, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टलगायतले पुनर्निर्माण तथा पुनःस्थापनाको काम सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । 

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २६ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु २००, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु ११०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा (हरियो), प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १४०, निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

मनाङमा पहिलोपटक सार्वजनिक बस सेवा सञ्चालनमा आउँदै

मनाङ, २६ फागुनः हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले आज सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

बैठकले सार्वजनिक बस सेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्षसहित सो निर्णय गरिएको प्रजिअ आचार्यले बताउनुभयो । “भौगोलिक रूपमा विकट क्षेत्र मनाङमा पहिलो पटक सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको छ,” उहाँले भन्नुभयो, “सार्वजनिक सवारीसाधन सञ्चालनले स्थानीयवासीका साथै पर्यटक र कर्मचारीलाई सहज हुनेछ ।”

मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ । सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ । 

प्रजिअ आचार्यले सार्वजनिक सवारीसाधन सञ्चालनमा आउँदा यसले यातायात व्यवस्थापनलाई थप सुधार गर्नुका साथै व्यवस्थित बनाउने बताउनुभयो । बेँसीसहर–चामे सडक–खण्डमा यात्रुबाहक बस सञ्चालनका लागि विगतमा विपद् व्यवस्थापन समितिले निर्णय गरिसकेको भए पनि कार्यान्वयनमा ल्याउन सकिएको थिएन । समन्वय बैठकले उक्त निर्णयलाई पुनःअनुमोदन गर्दै तत्काल बस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ । 

बस सञ्चालनका लागि आवश्यक रुट इजाजत पत्र लिनुपर्ने भएकाले लमजुङ कालिका प्रालिलगायतका यातायात व्यवसायीलाई सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरिने जानकारी दिनुभयो । 

बेसीसहर–चामे सडक खण्ड जोखिमयुक्त भएकाले बस सेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त स्थानको पहिचान गरी मर्मत एवम् निर्माणलाई तीव्रता दिइने प्रजिअ आचार्यले बताउनुभयो । उक्त कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी कामलाई तिव्रता दिइने जनाइएको छ । 

प्रजिअ आचार्यले भन्नुभयो, “पहिचान गरिएका स्थानको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय दमौली, डुम्रे–बेसीसहर–चामे सडक आयोजना, जलविद्युत् आयोजना तथा स्थानीय तहसँग आवश्यक पहल गर्नेछौँ ।” 

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ २० पैसा र बिक्रीदर १०४ रूपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३ रूपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १५ पैसा र बिक्रीदर २० रूपैयाँ २३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ २७ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ८३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २६ फागुनः हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

झापा, २५ फागुन : काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आज भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा हराउँदै चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि ‘टाइब्रेकर’मा खेल धकेलिएको थियो । टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि सडनडेथमार्फत खेलको निर्णय भएको थियो ।

टाइब्रेकरमा चर्च ब्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गरेका थिए । झापा एफसीका तर्फबाट रोशन पहारी, प्रवीन बस्नेत, बाफोर र गौरव धिमालले गोल गरेका थिए । 

यसअघि खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । खेलको ९०औँ मिनेटमा झापा एफसीका श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।  खेलको ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । सोमबार धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच खेल हुनेछ । 

प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टोली सहभागी छन् ।

प्रदेश र स्थानीय सरकारलाई साथमा लिएर सङ्घीय सरकार अघि बढ्छ : प्रधानमन्त्री ओली

सुदूरपश्चिम, २५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर सङ्घीय सरकार अघि बढ्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा उत्पन्न विविध अफ्ठेरा एवं व्यवधानका चुनौतीलाई सामना गर्न सबै प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर अघि बढिने स्पष्ट पार्नुभयो । उहाँले उद्यमशीलताको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । प्रदेशलाई आधुनिक, विकसित, समृद्ध बनाउन र सुशासन कायम गर्न पहल हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “छिट्टै रोजगार प्रवद्र्धनका लागि हुन लागेको सम्मेलनमा सुदूरपश्चिम प्रदेशको पनि सहभागिता जरुरी छ ।”

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालादेखि बिग्रिएको देशको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले आफू प्रदेशका समस्यासँग जानकार रहेको उल्लेख गर्दै कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा छिट्टै सञ्चालन गरिने बताउनुभयो । टनकपुर सम्झौता गर्दा बिग्रिएको पञ्चेश्वर परियोजनालाई सुधारेर अघि बढेको, खुटिया–दिपायल–चैनपुर जाने बाटो महाकाली करिडोर, दार्चुलाको तिङ्करसम्म बाटो बनाउनेजस्ता विकासका काममा सरकारको ध्यान गएको उहाँले बताउनुभयो । 

सभ्यता, संस्कृति र विनम्रताको संस्कार भएको हाम्रो देशमा नराम्रो संस्कार देखाउने, असभ्यता देखाउने बाटोमा धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “समाजमा सभ्य, शालीन उन्नत संस्कृति स्थापित गर्न सबै लाग्नुपर्छ ।”

लोकतन्त्र, संविधान र कानुन नमान्ने प्रवृत्ति बढेको तथा अस्थितरता र अराजक क्रियाकलापले देश अफ्ठेरोमा पर्न लागेकाले लोकतान्त्रिक विधि र कानुनअनुसार देश चल्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको संविधान कसैले दिएको नभई जनताको बलिदानीसहित संविधानसभाबाट बनेको संविधान हो, अराजकताको बाटोबाट हिँडेर कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना नदेखे हुन्छ ।”

सुशासन र विकासका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । कांग्रेस र एमालेको अहिलेको सरकारले सहमतिबमोजिम पूरा समय काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रदेशलाई विकसित एवं समृद्धिको दिसामा लैजाने काममा लाग्न उहाँले प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीद्वारा धनगढी सभाहल उद्घाटन

सुदूरपश्चिम, २५ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढी उपमहानगरपालिका–८ मा नवनिर्मित धनगढी सभाहलको आज उद्घाटन गर्नुभएको छ ।त्यस अवसरमा उहाँले सभाहल निर्माण विकासको प्रमाण भएको भन्दै यसलाई आम जनताको चिन्तन, मनन गर्ने थलो बनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रूपमा सञ्चालन गर्नेगरी काम भइरहेको बताउनुभयो ।

प्रदेश राजधानीका सन्दर्भमा उहाँले संविधानसम्मत ढङ्गले प्रदेशसभाले गर्ने काममा सङ्घीय सरकारले सघाउने बताउनुभयो । प्रदेश राजधानी निर्माण गरिने स्थल कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा हालसम्म निर्माणका कुनै पनि काम अघि बढ्न सकेको छैन ।

कार्यक्रममा मन्त्रालयका उपसचिव मदनकाजी महर्जनले सभाहल निर्माणको प्रतिवेदन पेस गर्नुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सभाहलको अभाव खड्किएको अवस्थामा नयाँ सभाहल निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीले आजै सभाहल धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुभयो । सहरी विकास मन्त्रालयको रु ३२ करोड बढीको लागतमा निर्माण गरिएको सभाहल सात सय ५३ जना अटाउने क्षमताको छ ।

‘अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन’ : मन्त्री चौधरी

कर्णाली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताएका छन् ।

आइतबार कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय खेलकुद परिषद् ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै उनले आगामी जेठ ३–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिता तोकिएकै समयमा हुने बताए ।

‘अब यो पुगेन, त्यो भएन, तलमाथि केही गर्न र भन्न पाइने छैन । आजकै दिनबाट सातै प्रदेशका मन्त्री तथा सदस्यसचिवलगायतलाई तोकिएको समयमा खेल हुने पत्र पठाइनेछ । यद्यपि कार्य सहजताका लागि कर्णाली प्रदेशको सदस्यसचिव जतिसक्दो चाँडो नियुक्त गर्न आवश्यक छ’, मन्त्री चौधरीले भने ।

प्रदेशले राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गरेको कर्णाली प्रदेश रङ्गशालाका लागि मन्त्री चौधरीले पूर्व तथा बहालवाला मुख्यमन्त्रीलाई धन्यवाद दिए । पत्रकारहरूलाई अब खेल हुन्न भन्ने नलेख्न आग्रह गर्दै जेठमा गर्मीको ‘सिजन’ भएकाले प्रतिकूल अवस्थामा भए पनि राष्ट्रिय ‘रेकर्ड’ राख्ने गरी प्रतियोगिता सम्पन्न गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगिता तोकिएकै समयमा हुने विश्वास बढेको बताए । जेठमा प्रतियोगिता सञ्चालन गर्न मौसम प्रतिकूल हुने चुनौतीबारे सूचित गर्दै उनले आयोजकले अलमल पर्ने गरी काम नगर्न आग्रह गरे ।

आयोजकलाई बाहिर प्रश्न चिह्न खडा हुने काम नगर्न सुझाउँदै मुख्यमन्त्री कँडेलले आयोजकसँगको समन्वयमा व्यवस्थापनका काम गर्न प्रदेश सरकार तयार रहेको बताए । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीवासीका लागि स्वागतयोग्य रहेको बताइन् ।

हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न : नेताहरु

काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको पुनरागमन असम्भव भएकाले त्यसका पछाडि नलाग्न आग्रह गरेका छन् ।

नेपालमा राजतन्त्र इतिहासको विषय भइसकेकाले राजा फर्काउने सपना नदेख्न सुझाव दिँदै उनीहरुले इतिहासमा सीमित भइसकेको विषयवस्तुलाई शासन व्यवस्था परिवर्तनसँगै दाँज्ने कार्य नचिताउन सुझाव दिए ।

–श्यामकुमार घिमिरे, प्रमुख सचेतक नेपाली कांग्रेस 

संविधानतः नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिककै हैसियतले आउँदा–जाँदा समर्थक र शुभेच्छुकले स्वागत, सत्कार र अभिवादन गर्ने कार्यलाई सामान्य रुपले लिइनुपर्छ । त्यसलाई सम्मान गर्नुपर्छ । तर अहिले सडकमा भइरहेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ, पाच्य हुन सक्दैन ।

राजतन्त्र इतिहासको विषय बनिसक्यो । अब फेरि सत्तामा फर्किने र राजतन्त्र ब्युँताउने सपना छोडिदिए हुन्छ । यसले पूर्वराजालाई नै क्षति पुर्याउन सक्छ । सबै राजनीतिक दलहरु कांग्रेसजस्ता उदारवादी हुँदैनन् । यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिने राजनीतिक दल पनि छन् । यो पक्षलाई मनन नगर्ने हो भने पूर्वराजालाई नै चोट पुग्न सक्छ । त्यो परिस्थिति आउन दिन हुन्न । पूर्वराष्ट्रप्रमुखका रुपमा सम्मानका साथ आफ्नो स्थानमा बस्नु उचित हुन्छ भन्ने मेरो सल्लाह हो ।

–महेशकुमार बर्तौला, मुख्य सचेतक नेपाल कम्युनिष्ट पार्टी (एमाले)

लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र र गणतन्त्र हो । लोकतन्त्रमा  मात्रै नागरिकले आफ्नो प्रतिनिधि छनोट गरी शासन गर्ने यो सुविधा पाउँछन् । लोकतन्त्रमा मात्रै चुनिएका दल र प्रतिनिधिले त्रुटिपूर्ण गरेमा प्रत्येक पाँच वर्षमा त्यसलाई दण्डित गर्दै अर्काेलाई चयन गर्न पाउने अधिकार जीवन्त रहन्छ । त्यसकारण पनि लोकतन्त्र र गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन ।

अहिले पूर्वराजाका नाममा सडकमा देखिएका गतिविधिबाट अराजकतालाई प्रोत्साहन र राजनीतिक अस्थिरतालाई बल पुर्याउने मनसायका साथ अगाडि बढाउन खोजिएको छ । अराजकता र अस्थिरता निम्त्याउने किसिमका प्रवृत्तिलाई बल पुग्ने कार्य कसैबाट हुनुहुन्न । यसले मुलुकलाई ठीक ठाउँमा लैजाँदैन । नेपालमा राजतन्त्रको पुनरागमन असम्भव कुरा हो । यसको पछाडि नलाग्नका लागि सबैलाई आग्रह गर्न चहन्छौँ ।

जनताको सबैभन्दा महत्वपूर्ण उपयुक्त र उच्चस्तरको शासन व्यवस्था भनेकै लोकतन्त्रसहितको गणतन्त्र हो । शासकीय कार्यशैलीबारे केही प्रश्न भए त्यहीँ भित्रबाटै समाधान खोज्न सकिन्छ । संसदमार्फत प्रमुख प्रतिपक्षसहितका दलले सरकारलाई खबरदारी गरिरहेको अवस्था छ । जनताको आन्दोलनबाट विस्थापित भइसकेको हुकुम प्रमाङ्गीबाट अब देश र शासन व्यवस्था चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न । त्यस्तो शक्तिले कुनै पनि हालतमा विजय हात पार्न सक्दैन ।

हिजो दरबार वरिपरि र राजतन्त्रको छेउछाउमा बसेकाले पूर्वराजालाई ‘ब्यानर’ बनाएर हिँडाउन खोजेको देखिन्छ । कुनै पनि हालतमा त्यस्ता गतिविधि सफल हुने र गन्तव्यमा पुग्ने कुरा होइन । संविधानबमोजिम उहाँ आमनागरिक सरह हुनुहुन्छ । पूर्वराजालाई जनताको सेवा गर्छु भन्ने लागेको छ भने अधिकार छ । यही व्यवस्थाभित्र रही राजनीतिक दल खोल्ने, चुनावमा बहुमत ल्याउने अनि प्रधानमन्त्री वा राष्ट्रपति बन्ने अवसर मिल्छ । तर कुनै वंशकै आधारमा कसैको  निगाहबाट अब देशको सर्वोच्च पदमा रहने कुरा किमार्थ दिवा सपना मात्रै हुन्छ । त्यो आपत्तिजनक छ ।

– राजकिशोर यादव, उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपाल

सरकार र दलहरुप्रति जनतामा केही असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई कसैले व्यवस्थाको विरुद्ध प्रयोग गर्न खोेजिरहेको छ । सरकार र राजनीतिक दलले सेवा प्रवाहलाई सहज र सुशासन कायम गर्दै जनताको पक्षमा काम गरिएमा यस्ता गतिविधि आफैँ समाप्त हुन्छन् । नेपाली समाजको चेतना, समाजको आवश्यकता र विश्व परिस्थितिका आधारमा पछाडि फर्कन मिल्दैन ।

पूर्वराजाले वर्तमान सङ्घीय लोकतन्त्रात्मक गणतन्त्रात्मक शासन व्यवस्थाबाटै सम्मान पाइरहनुभएको छ । जनतामा देखिएको निराशाका कारण मात्र सडकमा विरोध देखिएको हो । सरकार र राजनीतिक दलले जनताका भावना बुझेर काम गर्नुपर्छ । तर अहिलेको सडकका गतिविधिबाट व्यवस्था परिवर्तन हुन्छ भनी कसैले नचिताए हुन्छ । पूर्वराजा नेपालको सम्मानित नागरिक हुनुहुन्छ । यसअघि उहाँसँग कार्यकारी अधिकारसहित अभ्यास गरेको अनुभव छ । उहाँ कसैको लहडमा अब लाग्नु हुन्न । त्यसले क्षति गराउँछ । राम्रो नतिजा दिँदैन । राष्ट्र र नागरिकको कल्याण हुँदैन ।

–मनिष झा, कार्यवाहक प्रवक्ता राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वराजासँग जोडिएर सडकमा भइरहेका गतिविधि सरकार र प्रमुख राजनीतिक दलको कार्यशैलीप्रतिको केही नागरिकको आक्रोश हो । सहकारीलगायतका समग्र समस्या समाधानको व्यक्ति लक्षित आरोप लगाउने र पूर्वाग्रहका  गतिविधिले पनि मलजल गरेको छ । सडकमा यस्ता गतिविधि हुँदा प्रमुख दलका नेताबाट आवाज उठ्नुपर्छ ।

लोकतन्त्र र गणतन्त्रको विकल्प भनेको अझ उन्नत र इमानदार अभ्याससहितको लोकतन्त्र हो । राजतन्त्र गणतन्त्रको विकल्प हुँदै होइन । पूर्वराजाले राज्य सञ्चालन गर्ने अवसर पाउनुभएकै थियो । शक्ति हातमा लिँदा गलत व्यक्ति र समूहको चङ्गुलमा पर्नुभयो । लोकतन्त्रको मर्म र सिद्धान्तभन्दा बाहिर जानुभयो । तर आफूले गलत गरेको कुरा अहिलेसम्म उहाँले स्वीकार्नु भएको छैन । पूर्वराजा संविधान र कानुनको परिधिमा बस्नुपर्छ ।

‘पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गयो’ – एमाले उपाध्यक्ष शाक्य

काठमाडौँ, २५ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गएको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घले ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन र महिलाः अवसर र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले महिला आन्दोलन कमजोर बनेकाले राजनीतिक दलका महिला सङ्गठनले साझा ‘एजेन्डा’ बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले उत्पादनशील काम नहुँदा युवा विदेश पलायन भएको धारणा राख्दै युवाको विदेश पलायन र तीव्र बसाइँसराइ हुनुमा राजनीतिक दलका घोषणापत्र पनि जिम्मेवार रहेका जिकिर गर्नुुभयो । युवा विदेश पलायन हुँदा गाउँ शून्य भएका र त्यसको प्रत्यक्ष असर महिलालाई परेको उहाँको भनाइ थियो ।

उपाध्यक्ष शाक्यले मुलुक गणतन्त्रको दिशामा धेरै अघि बढिसकेकाले लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक दललाई निस्तेज पार्ने र निरङ्कुशता फर्किने कुरा सम्भव नभएको बताउनुभयो ।

एमालेका सचिव पद्मा अर्यालले महिला आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको प्रयासले मात्र महिला आन्दोलनलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

अनेमसङ्घका अध्यक्ष टुकाभद्र हमालले महिला आन्दोलनलाई कमजोर पार्ने कोसिस भइरहेकाले सबै राजनीतिक दलका महिला सङ्गठन सचेत हुनुपर्ने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रियः नीतिगत पैरवीका सवाल र सम्भावना विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै, अनेमसङ्घका उपाध्यक्ष डा विमला राई पौडेलले जलवायु परिवर्तन र महिलाः प्रभाव, अवसर र जनप्रतिनिधि, महिला सङ्गठनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अनेमसङ्घका प्रचार उपप्रमुख सिर्जना आचार्यले जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न स्थानीय तहबाट हुनसक्ने पहलका विषयमा सुझाव दिइएको बताउनुभयो ।

श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौँ, २५ फागुन : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

भक्तपुरको बोडेमा यही फागुन २१ र २२ गते सम्पन्न राष्ट्रिय परिषद्को भेलाको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसको चितवनमा सम्पन्न पाँचौँ महाधिवेशनमा नेपाल ट्रेड युनियन कांग्रेस र पार्टीबीच भएको सातबुँदे सम्झौताअनुसार कांग्रेसको वैधानिक संरचनामा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्ने सम्झौता भएकाले सोही सम्झौतालाई कार्यान्वयन गर्न माग गरेको हो । उक्त सम्झौतामा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेपाल ट्रेड युनियन कांग्रेसका तर्फबाट लक्ष्मणबहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो । उक्त परिषद् भेलाले बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक सेवा क्षेत्र लागू हुने अन्य प्रतिष्ठान एवम् श्रम क्षेत्र र पर्यटन तथा होटल क्षेत्रलगायत सम्पूर्ण श्रम क्षेत्रमा पूर्ण रुपमा श्रम ऐनको कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्न माग गरेको थियो ।

संविधानमा श्रमिकका लागि छुट्टै ‘क्लष्टर’ बनाउने व्यवस्थाका लागि राजनीतिक दल, सरकार र सरोकारवालासँग पहलकदमी लिने भेलाले निर्णय गरेको युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिनुभयो । उक्त भेलाले ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर ल्याउन मुलुकमा वित्तीय अनुशासन, शासकीय सुधार एवम् सुशासनयुक्त मुलुकका रुपमा पहिचान कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युनियनले ट्रेड युनियन ऐन, २०४९ लाई समयसापेक्ष पुनर्लेखन गर्नुपर्ने, सरकारबाट चिया बगान, श्रमजीवी पत्रकार र अन्य क्षेत्रका श्रमिकको ज्याला तोक्ने काम भइरहेको भन्दै त्रिपक्षीय सहमतिमा उक्त ज्याला तोक्न भेलाले सरकारको ध्यानाकर्षण गरेको छ । यसैगरी, अनौपचारिक तथा स्वरोजगार क्षेत्रका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न मागसमेत गरेको छ ।

युनियनका महासचिव अजयकुमार राईले श्रम विवादको चाँडो निरुपण, श्रमिककको न्यायिक अधिकार एवम् पहुँच सुनिश्चित गर्न श्रम अदालतमा गठन गर्ने प्रस्ताव भेलाले पास गरेको जानकारी दिनुभयो । भेलाले नेपाली श्रमजीवीको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न र रोजगारीलाई मर्यादित एवं व्यवस्थित गर्न देशभरका ७५३ वटै स्थानीय तहमा श्रम तथा रोजगार केन्द्र स्थापना गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

मुलुक सङ्घीयतामा गएको लामो समय भइसक्दा पनि सङ्घीय निजामती ऐन, शिक्षा ऐन र स्वास्थ्य ऐनलगायतका ऐन संसद्बाट पास हुन नसकेको भन्दै उक्त ऐनलाई चाँडो छलफल र परामर्श गरी पास गर्न सरकारसँग माग गरेको छ । नेपालमा श्रम अधिकारको संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि श्रम कार्यालय विस्तार गर्न, श्रम प्रशासनको संस्थागत क्षमता वृद्धि गर्न एवम् श्रम अडिट र श्रम निरीक्षण प्रणालीलाई नियमित एवम् प्रभावकारी तुल्याउन भेलाले माग गरेको छ ।

दुईदिने भेलाले श्रमिकको काम गरेको पारिश्रमिक समयमा उपलब्ध गराउनुपर्ने, बन्द रहेका उद्योगलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने, स्वदेश तथा विदेशमा कार्यरत श्रमिकलाई कार्यस्थलबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ । मुलुकभर चार लाख ५३ हजारभन्दा बढी सदस्य रहेको उक्त युनियनमा देशभरका २७ राष्ट्रिय आबद्ध सङ्घ, सातवटै प्रदेश सङ्घ, ७७ वटै जिल्ला सङ्घका अध्यक्षसहित ४५० पार्षद् र ५० पर्यवेक्षक गरी ५०० पार्षद्को सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका रहने’

मोरङ, २५ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौँ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको कतिपय क्षेत्रहरु प्रदेशलाई हस्तान्तरण भएमा सङ्घीयताको सबल कार्यान्वयनमा सहज हुने धारणा राख्नुभयो । आफ्नो स्रोत र साधनलाई अधिकतम उपयोग गरी प्रदेशको समृद्धि र जनताको जीवनस्तर उकास्न कार्य गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अब हामी आफ्नै प्रयत्नमा उत्पादन र स्वरोजगारमूलक बजेट बनाएर काम गर्ने तयारीमा छौँ ।”

छलफलमा भाग लिँदै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र डा सोमलाल सुवेदीले संविधानका धेरै विषय र अनुसूचीलाई परिवर्तन गरेर संविधान कार्यान्वयन गरी व्यवहारमा उतार्न आवश्यक भएको बताए ।

दक्षिण सुडानमा तत्काल युद्ध अन्त्य गर्न अफ्रिकी सङ्घ प्रमुखको आग्रह

अफ्रिकी युनियन (एयू) आयोगका प्रमुख मोसा फकी महामतले दक्षिण सुडानमा भइरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान गर्नुभएको छ ।

“झडपहरूमा संयुक्त राष्ट्रको हेलिकप्टरमा घातक आक्रमण र अन्य क्षेत्रहरूमा हिंसा समावेश छ, जसले शान्ति प्रक्रियामा खतरा निम्त्याउँछ ।”

जिम्मेवार व्यक्तिहरूलाई पूर्ण रूपमा जवाफदेही बनाउन अधिकारीहरूलाई आग्रह गर्दै उहाँले सबै पक्षहरूलाई अत्यन्त संयम अपनाउन, तत्काल शत्रुताको अन्त्य गर्न, युद्धविरामको व्यवस्थाको पालना गर्न र राष्ट्रिय वार्तामा संलग्न हुन आग्रह गर्नुभयो ।

“एयूले हाल दक्षिण सुडानी अधिकारी र अन्य सरोकारवालाहरूसँग सङ्कट कम गर्न प्रयासहरू समन्वय गर्न परामर्श गरिरहेको छ ।”

शुक्रबार दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले शान्तिको अपील गर्दै शान्तिप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् । नासिर काउन्टीमा सरकारी सेना र संयुक्त राष्ट्रसङ्घको हेलिकोप्टरमा भएको हिंस्रक आक्रमणमा २७ जनाको मृत्यु भएको थियो ।

मुम्बई दुर्घटना : ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर ४ जनाको मृत्यु

मुम्बईको नागपाडाको मिन्ट रोडमा गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै निर्माणाधीन भवनमा पानीको ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर चार जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

निसास्सिएर हसिपाल शेख (१९), राजा शेख (२०), जिउल्ला शेख (३६) र इमान्डु शेख (३८) का मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानी ट्याङ्कीमा उपस्थित पाँचौं कामदार पुरहान शेख (३१) लाई अस्पतालमा भर्ना गरिएको र उनको उपचार भइरहेको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) अधिकारीहरूका अनुसार, घटना मिन्ट रोड नागपाडा मुम्बईको गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै १२.२९ बजे भएको र मुम्बई फायर ब्रिगेड (एमएफबी) लाई १.३५ बजे रिपोर्ट गरिएको जनाएको छ ।

बीएमसी अधिकारीहरूले एक मजदुरलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको जानकारी दिए ।यस विषयमा थप विवरणहरू आउन बाँकी छ ।

‘पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको छ’ – मुख्यमन्त्री कार्की

धरान (सुनसरी), २५ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताउनुभएको छ ।

आज सुनसरीको इटहरी धरानरोडस्थित आँपगाछीमा सुरु भएको तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’को उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र भएकाले यसमा सरकारले ध्यान दिइरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धि र विकासलाई उच्च प्राथमिकतामा राखेर कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा सरकार अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।

प्रदेशमा रहेको आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटक आगमन बढाउन स्थानीय तहसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा आजदेखि सुरु भएको मार्ट यही २७ गतेसम्म सञ्चालन हुनेछ ।

मार्टको उद्घाटन समारोहमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भूटान र बङ्गलादेशलगायत मुलुकका विदेशी पर्यटकहरूको उपस्थिति रहेको छभने कार्यक्रम अवधिमा प्रदेशमा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने मार्टका सचिव वासुदेव बरालले जानकारी दिनुभयो ।

पूर्वराजा बारे प्रधानमन्त्री ओली : कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट गरे ।

उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका यसविरुद्ध उभिएकामा धन्यवाद व्यक्त गरे ।

‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएको छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?’, प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रूपमा हुनुहुन्छ । अरू कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?’

उनले अहिले दुई ठूला दलको सहमतिबमोजिम सरकार बनेको र सहमतिबमोजिम आफूले पूर्वघोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याए ।

इराकलाई इरानी बिजुली किन्ने छुट नरहने

वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन्।

आफ्नो अपार तेल र ग्याँस भण्डारको बावजुद, इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर रहन्छ, र इरानले त्यहाँ खपत हुने ग्याँस र बिजुलीको एक तिहाई आपूर्ति गर्दछ।

“अमेरिकी विदेश मन्त्रालयले इराकलाई इरानी बिजुली खरिदका लागि मार्च ८ मा दिइएको छुटको नवीकरण गरेको छैन”, दूतावासका प्रवक्ताले भन्नुभयो, “यो निर्णयले अमेरिकी वर्तमान् प्रशासनले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत दिने छैन भन्ने सुनिश्चित गर्दछ।”

वक्तव्यमा इरानी ग्यास आयातको बारेमा उल्लेख गरिएको छैन, जुन इराकको घरेलु बिजुली उत्पादनको लागि महत्त्वपूर्ण छ।

ट्रम्पले आफ्नो पहिलो कार्यकाल अर्थात् सन् २०१८ मा इरानसँगको आणविक सम्झौता त्यागेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएपनि उक्त छुटको घोषणा गरिएको थियो ।

गत जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा सपथ खाएपछि ट्रम्पले इरानविरुद्ध आफ्नो ‘अधिकतम दबाब’ को नीति लाई पुनः स्थापित गर्नुभएको छ ।

दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिको अधिकतम दबाब अभियान इरानको आणविक खतरा अन्त्य गर्न, ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई कम गर्न र आतङ्कवादी समूहलाई समर्थन गर्नबाट रोक्नको लागि डिजाइन गरिएको छ।

इरानलाई ‘अविश्वसनीय ऊर्जा आपूर्तिकर्ता’ को संज्ञा दिँदै प्रवक्ताले बग्दादलाई ‘जतिसक्दो चाँडो इरानी ऊर्जा स्रोतहरूमाथिको निर्भरता अन्त्य गर्न’ आग्रह गर्नुभयो ।

इराकी सरकारका प्रवक्ता बासेम अल–अवाडीले शनिबार सरकारी सञ्चारमाध्यमलाई बताएअनुसार अधिकारीहरूले छूटको सम्बन्धमा ‘सबै परिदृश्यका लागि’ तयारी गरेका छन्।

बग्दादले इरानमाथिको निर्भरता कम गर्न र विशेष गरी गर्मीयाममा इराकको दीर्घकालीन विद्युत् कटौतीलाई कम गर्न ऊर्जा स्रोतहरू विविधीकरण गर्नुपर्ने आवश्यकतामा बारम्बार जोड दिँदै आएको छ ।

कोशी प्रदेशसभामा विधेयक पारित

विराटनगर, २५ फागुनः कोशी प्रदेशसभामा आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयकमा संशोधनका प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता नभएको र प्रदेशसभा सदस्यले दफावार छलफलमा पनि भाग नलिएपछि सो विधेयकलाई पारित गरियोस् भनी आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।

सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

विशेष समय

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सही ढङ्गले जनतालाई सेवा प्रवाह गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सङ्घीय सरकारले दिने अनुदानमा भारी रकम कटौती भएकोमा प्रदेश सरकार आफ्ना अधिकार खोज्न असफल भएको बताउँदै पुँजीगत र चालु खर्चको फेहरिस्त हेर्दा प्रदेश सरकार निकै कमजोर अवस्थामा देखिएको टिप्पणी गर्नुभयो ।

नेता आङ्बोले राजनीतिक स्थिरता कायम गर्न, संविधान संशोधन गर्न र मुलुकको आर्थिक अवस्था सुधार गर्न बनेको दुई दलको गठबन्धन पनि आफ्ना काममा असफल भएको चर्चा गर्दै मुलुकको अर्थ सङ्कुचन भएकाले नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

विशेष समयमै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले २०५९ साल फागुन २४ गते सङ्खुवासभामा मालपोत, कृषि विकास बैङ्क र नापी शाखामा तत्कालीन जनयुद्धमा रहेका माओवादीबाट भएका आगलागीका कारण बैङ्कमा धित्तोका रुपमा राखेको जनताका जग्गाका सबै प्रमाण जलेर खरानी भएको अवस्थामा अहिलेसम्म पनि पीडितहरुले जग्गा प्रमाणपत्र पुर्जा नपाउनु दुःखको कुरा हो भत्रुभयो ।

उहाँले ३० हजार हेक्टर जग्गाभन्दा बढीका प्रमाणपत्र जलेर खरानी हुनु र २०७६ सालबाट सुरु भएको नापीअनुसार छ हजार जग्गा मात्र नाप नक्सा हुनुले अझ २० वर्ष लाग्ने काम सुशासन होइन जिकिर गर्नुभयो । सम्पत्ति भएर पनि सम्पत्तिबाट बेदखल ती परिवारलाई जतिसक्दो चाँडो धनी प्रमाणपुर्जा दिन सरकारको सचेतक लिङ्थेपले ध्यानाकर्षण गराउनुभयो ।

शून्य समय
शून्य समयमा कोशी प्रदेशसभाका सदस्य गणेशप्रसाद उप्रेती, मीना श्रेष्ठ, किशोरचन्द्र दुलाल, राधाकृष्ण खनाल, गीतादेवी रेग्मी, सुनिताकुमारी गुरुङ, प्रेमराज थाम्सुङ र होमबहादुर थापाले प्रदेशका जल्दाबल्दा विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न २ बजे बस्नेछ ।

‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक, जनकपुरमा गरियो भव्य प्रिमियर

काठमाडौं । दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सिनेमाको शनिबार सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्षीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ ।मधेशको सेटअपमा खिचिएको गीतलाई सिनेमाका कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियामा सिनेमाका प्राय सवैजसो कलाकारलाई स्थान दिइएको छ ।

यसैबीच, सिनेमाको छायांकन स्थल जनकपुरमा सिनेमाको भव्य प्रिमियर शोको आयोजना गरिएको छ । जनकपुरमा अवस्थित ६ सय दर्शक क्षमताको गिरिजा हलमा सिनेमाको रेड कार्पेट प्रिमियर गरिएको थियो । जनकपुरका मेयरदेखि प्रहरीका उच्च पदस्थ पदाधिकारीले प्रिमियर शोमा सिनेमा हेरेका थिए ।जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज कुमार शाह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त, मानव अधिकारकर्मी, अभियन्ता र सिनेमामा आबद्ध जनकपुरका कलाकारले सिनेमा हेरेका थिए । सिनेमाका निर्देशक दीपक रौनियार, अभिनेत्री आशा मगराती, आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्रलगायत उपस्थित थिए ।

सिनेमा हेरिसकेपछि अधिकांश पाहुनाले प्रमुख पात्र ‘पूजा सर’को तारिफ गरेका थिए । महिलाहरु पूजा, सर जसरी नै आँटिलो, जोशिलो अनि हिम्मतिलो हुनुपर्छ, अहिलेका महिलाहरु कमजोर छैनन् । अन्तर्राष्ट्रिय महिला दिवसका दिन गरिएको प्रिमियर शोमा सिनेमा हरेका दर्शकले प्रतिक्रिया दिएका थिए ।
सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।

सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।

संविधान संशोधन गर्दा पनि दलहरू एकै ठाउँमा हुनुपर्छः सांसद ढुङ्गाना

काठमाडौँ । राष्ट्रियसभाको सदस्य हुनुभन्दा पहिला प्रतिनिधिसभाको सांसद थिएँ । प्रतिनिधिसभामा चार वर्ष रहेर काम गरेको अनुभव अहिले राष्ट्रियसभामा काम लागेको छ । प्रतिनिधिसभामा रहँदै गर्दा मैले संसदीय प्रक्रियाका बारेमा धेरै जानिसकेको थिएँ । संसद् भनेको जनताका सवाललाई उठाउने थलो हो । त्यतिबेला जनताका सवाललाई प्रतिनिधिसभामा जोडदार रूपमा राखेको थिएँ र अहिले राष्ट्रियसभामा पनि त्यही गर्दैछु । अर्को भनेको नीति निर्माणको विषय ऐन, कानुन बनाउनका लागि पनि राष्ट्रियसभामा भूमिका निर्वाह गर्दै आएको छु । जनकपुर चुरोट कारखानाका बारेमा मैले धेरैपटक सभामा कुरा उठाएको छु । त्यो चुरोट कारखाना अहिले डुबेको छ, बन्द भएको वर्षौँ भइसक्यो । त्यसैगरी सडक, खानेपानी, शिक्षा, विद्यालय र ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकी निर्माण गर्ने विषयमा संसद्मा आवाज उठाउँदै आएको छु ।

संविधानको कार्यान्वयनका विषयमा केही प्रश्नहरू उठिरहेका छन्, तर कार्यान्वयन भएन भन्न मिल्दैन । जति हुनुपर्ने हो त्यति भएको छैन । यसको मतलब कार्यान्वयन नै भएन भन्नु हुँदैन । संविधान जारी भएपछि देशमा संसद्का लागि दुईवटा आमनिर्वाचन भएका छन् । सङ्घीयताको मर्मलाई हामीले समात्न सकेका छैनौँ । राष्ट्रियसभाको भूमिका सङ्घीयता सबलीकरणमा हुन्छ । गाउँपालिका र नगरपालिकाका प्रतिनिधिको मत पाएर हामी राष्ट्रियसभामा आएका हौँ । त्यसैले हामीले पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यसँग भेटेर उनीहरूको पनि कुरा सुन्नुपर्छ र त्यसलाई सरकारसम्म पुर्याउनुपर्छ । उनीहरूका समस्यालाई सभामा राख्नुपर्ने हुन्छ । पहिलेको राष्ट्रियसभाको नियमावलीमा ‘प्रादेशिक समय’ भन्ने थिएन । यसपटक संशोधनबाट प्रादेशिक समय राखिएको छ । जुन हरेक शुक्रबार हुन्छ । शुक्रबार सदनमा सबैले आ–आफ्नो प्रदेशका स्थानीयको विषयमा कुरा राख्दै आएका छन् । राष्ट्रियसभाको कामलाई सुधार गरेर पहिलेको भन्दा अलि बढी प्रभावकारी बनाएका छौँ ।

संविधान जारी भएको १० वर्षमा आवश्यकताका आधारमा संशोधन गर्न सकिने कुरा संविधानमै उल्लेख गरिएको छ । यो दश वर्ष भनेको संविधानको समीक्षा गर्ने बेला पनि हो । यो संविधानअनुसार काम भए–नभएको वा राम्रा र नराम्रा कामका बारेमा समीक्षा गर्ने बेला हो । समीक्षा गरिसकेपछि सुधार गर्नुपर्ने विषयलाई सुधार गरेर जानुपर्छ । हिजो जसरी संविधान जारी गर्दा सबै राजनीतिक दल एकै ठाउँमा थिए, आज संशोधन गर्ने बेलामा पनि सबै दल मिलेर संशोधन गर्नुपर्छ । जारी गर्दा जस्तै संशोधन गर्दा पनि दलहरु एकै ठाउँमा हुनुपर्छ । संशोधन गर्ने हो भने सरकार पक्ष वा प्रतिपक्ष सबैलाई समेट्नुपर्छ । जनताको राय समेट्नुपर्ने हुन्छ । संविधान संशोधन गर्नुको अर्थ अहिलेसम्म हामीले पाएको अधिकार समाप्त गर्ने भन्ने होइन । पाएको अधिकारलाई व्यवस्थित गर्दै त्रुटि भएका विषयमा परिवर्तन गर्नुपर्ने हुन्छ । संविधान संशोधन नेपालमा मात्रै होइन, संसारका धेरै देशले आवश्यकताका आधारमा पटकपटक संशोधन गरेका छन् । हामीले संशोधन गर्न हुँदै हुँदैन भन्नु हुँदैन । २०४६ सालको आन्दोलनपछि बनेको २०४७ सालको संविधानमा पूर्णविराम पनि संशोधन हुनु हुँदैन भन्ने भाष्य निर्माण गरियो । उत्कृष्ट संविधान भन्दै गर्दा आज त्यो संविधान काम लागेन । अब पनि हामीले परिवर्तन हुँदैन, संशोधन हुँदैन भनियो भने अगाडि बढ्न सकिँदैन ।

सङ्घीयता सुदृढीकरणका लागि गर्नुपर्ने काम धेरै छ । जस्तो, सङ्घीयताका लागि ४० वटा ऐन सङ्घले बनाइदिनुपर्ने छ । तर त्यो बन्न सकेको छैन । सङ्घीयता बलियो बनाउन निजामती सेवा ऐन, प्रहरी ऐन र शिक्षा ऐनलगायत थुप्रै ऐनहरू बन्न अझै बाँकी छ । प्राथमिक शिक्षाको जिम्मा स्थानीयलाई दिने कुरा संविधानमै लेखिएको छ । किनभने आफ्नो ठाउँमा भएको विद्यालयको बारेमा स्थानीयलाई जति थाहा हन्छ, त्यति सङ्घलाई हुँदैन । स्थानीयलाई दिएको अधिकार उसैलाई कार्यान्वयन गर्न दिनुपर्छ त्यसमा सङ्घले अवरोध सृजना गर्नु हुँदैन । बरु सङ्घले स्थानीय सरकारलाई बलियो बनाउन सहयोग गर्नुपर्छ । अहिले आएर शिक्षकहरूले हामी स्थानीयमा जाँदैनौँ भन्न मिल्दैन । संविधानमा जे लेखिएको छ, त्यो कार्यान्वयन गर्नुपर्छ ।

हिउँदे अधिवेशन र बर्खे अधिवेशन सुरु हुनुभन्दा पहिला राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नो स्थानीय निकायमा जानुपर्ने प्रावधान पनि छ । सोहीअनुसार उनीहरूसँग भेट गरेर समस्यालाई राष्ट्रियसभामार्फत सरकारसँग पुर्याउँदै आएका छौँ । नियमावलीमा छुट्याइएको प्रादेशिक समयलाई शुक्रबार मात्रै होइन अब हप्ताको दुई दिन राख्ने व्यवस्था गर्नुपर्छ ।

सुशासनका लागि हामीले प्रतिनिधिसभाबाट द्र्र्रूतगतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन बनाएका छौँ । त्योभन्दा पहिला पनि ऐन थियो । तर त्यो त्यति बलियो थिएन । जबसम्म देशमा भ्रष्टाचार कायम रहन्छ देशमा अनेक विकृति देखा पर्दछन् । जनताको अधिकार व्यवस्थित पनि हुँदैन । भ्रष्टाचारले जरो गाडेको समाज र राष्ट्रमा सुशासन कायम हुन सक्दैन, देशको विकास पनि हुँदैन । सुशासनका लागि हामी सुध्रिनुपर्छ । सार्वजनिक पद धारण गरेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्री, सांसद वा समाजसेवा गर्छु भनेर पार्टीमा लागेका सबै राजनीतिक दलका नेताको सम्पत्ति शुद्धीकरण गर्नुपर्छ । राजनीति गर्ने मानिस पारदर्शी हुनुपर्छ । त्यसैगरी, विभिन्न पार्टी र सङ्घसंस्था एवं सरकारी कर्मचारीले पनि आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।

मैले जुन भूगोल, समुदाय वा जातिको प्रतिनिधित्व गरेर संसद् पुगेको छु, त्यसका बारेमा संसद्मा बढी बोल्नुपर्छ । अहिले राष्ट्रियसभामा मेरो भूमिका भनेको कानुन निर्माण गर्न पहल गर्ने नै हो । अर्को, मैले प्रतिनिधित्व गरेका जनताको सवालमा आवाज उठाउनुपर्छ । हामीलाई मत दिएर निर्वाचिच गरेका प्रदेश सरकार र स्थानीय सरकारलाई बलियो बनाउनेतर्फ मेरो भूमिका रहन्छ ।

राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुङ्गानाको परिचय

नेपाली कांग्रेस अनुशासन समितिका संयोजकसमेत रहेका पार्टीका वरिष्ठ नेता आनन्दप्रसाद ढुङ्गाना विगत एक वर्षदेखि राष्ट्रियसभाको सदस्य छन् । विसं २०२२ देखि राजनीतिक यात्रा थालनी गरेका उनी तत्कालीन निरङ्कुश पञ्चायतविरोधी अभियानमा सक्रिय रहँदै पटकपटक जेलजीवन व्यतित गर्नुका साथै देशमा लोकतन्त्र प्राप्तिका लागि भएका सबैजसो आन्दोलनमा अग्रणी भूमिकामा रहेका थिए । पार्टीभित्र प्रखर वक्ताका रूपमा समेत परिचित ढुङ्गाना यसअघि मन्त्रीसमेत भइसकेका छन् ।
(कुराकानीको सम्पादित अंश)

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

लुम्बिनी । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ ।

चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो।

धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो ।

नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरे । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैंमा महत्त्वपूर्ण भएको बताए ।

उनले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको बताए । यसैगरी कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा सुवर्णलाल बज्रचार्यले दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताए ।

सकियो त्रिपिटक पाठ

बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित चारदिने चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।

त्रिपिटक पाठको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गरे ।

बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

बागमती, २५ फागुनः हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो । “अफ्रिकन स्वाइन फिवरबाट धमाधम बङ्गुर मर्न थालेपछि हामीले सरसफाइसँगै नियन्त्रण अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा ब्रजकिशोर ठाकुरले भन्नुभयो, “अहिले अब फिवर नियन्त्रणमा आइसकेको छ ।”

गत मङ्सिरदेखि फैलिएको स्वाइन फिवरबाट हेटौँडा उपमहानगरपालिका–१, ११ र १७ मा किसानले पालेका दुई सयभन्दा बढी बङ्गुर मरेका थिए । यस्तै, पशु सेवा कार्यालयले तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाएको छ । सो कार्यालयले यही माघ २४ देखि ३० गतेसम्म मकवानपुरका १० वटै पालिकामा सञ्चालन गरेको पिपीआर खोप कार्यक्रमअन्तर्गत तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा ठाकुरले बताउनुभयो ।

भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । पशुपालनतर्फ बाख्रा पाल्ने किसानको सङ्ख्या बढ्नुका साथै भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण र रोकथाममा प्रदेश सरकारको निर्देशअनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । कार्यालयका पशु चिकित्सक डा विजय पौडलका अनुसार हेटौँडासहित जिल्लाका विभिन्न पालिकाका किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । खोप कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९, १२ र १५ तथा मनहरी गाउँपालिका–६ र ७ मा छ हजारभन्दा बढी पशुमा खोरेत रोगविरुद्धको खोप लगाइएको जनाएको छ । पशुहरूको बढी आवतजावत हुने ती स्थानमा खोरेत रोगविरुद्धको अभियान चलाइएको पशु चिकित्सक डा पौडैलले बताउनुभयो । यस्तै, जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको जनाएको छ ।

हिमपात हुनथालेपछि किसानमा खुसी

मनाङ, २५ फागुनः जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् ।
हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताउनुभयो ।

“हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ”, उहाँले भन्नुभयो, “पानीको काम नै हिउँले गर्छ ।” हिउँ नपरेको बेलामा समेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् ।

किसान सेराप विष्टले मुहानमै पानी जम्ने हुँदा वैकल्पिक तरिकाबाट सिँचाइ गर्न नसकिने बताउनुभयो । “पानीको मुहान लामो दूरीमा हुन्छ, सीमित आयोजनाले पूरा गर्न सक्दैन, धेरै समस्या रहेको छ”, उहाँले भन्नुभयो । ढिला गरी परेको हिउँले स्याउखेती, तरकारी तथा खाद्यान्न उत्पादनमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
हिमालमा हिउँ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । पहिले कालापत्थर देखिने हिमालमा हिउँ देखेपछि लोभिन थालेका पर्यटक बताउँछन् । यतिबेलाको समयमा पर्यटक आउनुपर्ने उनीहरू बताउँछन् । समयमा हिमपात भइरहेको अवस्थामा सेताम्मे देखिने हिमालले अझ पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् ।

जिल्लामा पर्यटक आगमनको याम सुरु भएको छ । दुई याम गरी मनाङमा पर्यटक घुम्न आउने गर्छन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा निस्कन्छन् । लामो दूरीको पदयात्रामा अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्छन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

आज पूर्वराजा पोखराबाट काठमाडौँ आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।

पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हँुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।

अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते

समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा केही व्यक्ति हताहत भएका र उक्त आँधीका कारण तीन लाख ३० हजारभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन् ।अल्फ्रेड नाम दिइएको उक्त आँधीका कारण एक जनाको मृत्यु भएको र र उद्धारका लागि खटिएका १३ सैनिक घाइते भएका अस्ट्रेलियाली अधिकारीहरूले जनाएका छन् ।

आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ। तर आँधीको प्रभाव जमिनमा आइपुग्न बाँकी रहेको कारण स्थानीय प्रशासनले यसको खतरा अझै ‘नटरेको’ बताएका छन्।उक्त आँधी जमिनमा अवतरण हुनअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए। होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन्। प्रहरीले एक जना ६१ वर्षका पुरुषको शब बाढीमा भेटिएको बताएको छ। ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएको छ ।उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्।

अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पु¥याउने पूर्वानुमान गरिएका छन्। शनिवारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आँकलन गरिएको छ।

आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ। बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ।क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन्। दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन्।

ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा दुई लाख ८७ हजार उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ।अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको बताएको छ।क्विन्सल्यान्डको राजधानी ब्रिसबेनका बासिन्दा शुक्रवार राती ठूलो आँधी र वर्षाको त्रासबीच सुतेका थिए। शनिवार बिहान मात्रै उनीहरूले आँधी कमजोर भएको थाहा पाए।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ‘सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको’ भन्दै सुरक्षाका सम्भावित सबै उपाय अवलम्बन गर्न नागरिक र उद्धारकर्ताहरूलाई निर्देशन दिनुभएको छ । केही दिनयता खराब मौसमी अवस्था सामना गरिरहेको उक्त क्षेत्रमा अझै पनि अवस्था चरम रहेको बताइएको छ। उक्त क्षेत्रमा मुसलधारे वर्षा र तीव्र गतिको हुरी चलिरहेको छ।
बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन्। उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन्।

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, २५ फागुनः पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो । जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २५ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु २००, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा (हरियो), प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १४०, निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको छ । त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेले जारी गर्नुभएको विज्ञप्तिमा कार्यकक्ष तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन अपिल गर्नुभएको हो ।

यही फागुन २३ गते त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसी र अध्ययन संस्थानको डिन कार्यालयको कार्यकक्षमा विद्यार्थी समूहले तोडफोड गरेको थियो । देश–विदेशमा छुट्टै पहिचान कायम गर्न सफल त्रिवि आफ्नो उद्देश्यअनुसार काम गर्दा कुनै कमीकमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

“फागुन २३ गते कार्यालय समयमा विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीहरूलाई आतङ्कित गर्दै शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट भएको तोडफोड क्षम्य नहुने अपराध भएको विश्वविद्यालयको ठहर रहेको छ”, विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही चैत ५ गते हुन गइरहेको स्ववियुलाई भयरहित वातावरणमा सम्पन्न हुन नसकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको स्पष्ट रहेको त्रिविले जनाएको छ ।

राजनीतिक दलले सधैँ चुनावको मात्र चिन्ता गरेर देश बन्दैन : महामन्त्री शर्मा

काभ्रेपलाञ्चोक- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ एवं शुभेच्छुक संस्था विस्तार कार्यक्रममा पार्टीले आगामी २०८४ सालमा हुने निर्वाचनभन्दा पनि मुलुक र जनताको चिन्ता गरेको उहाँले बताउनुभयो ।

“केही पुराना र नयाँ पार्टीले २०८४ सालको चुनावको चिन्ता गरिरहेका छन्, राजनीतिक दलले सधैँ चुनावको मात्र चिन्ता गरेर देश बन्दैन । देशको चिन्ता गर्नेतर्फ लागौँ”, शर्माले भन्नुभयो । उहाँले निर्वाचनको मात्रै चिन्ता गर्दा देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गर्नुभयो । “कांग्रेस इतिहास बोकेको पार्टी हो, लाखौँ कार्यकर्ताको विश्वास जितेको छ । यो पार्टीले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन”, उहाँले थप्नुभयो । 

महामन्त्री शर्माले नेताकार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्नसमेत निर्देशन दिनुभयो । “बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै खालका विवाद छैन, काम गर्दा केही कमीकमजोरी भएका हुनसक्छन्”, उहाँले भन्नुभयो, “तपाईंहरू नआत्तिनुस् र निर्धक्क भएर काम गर्नुस् ।” पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले आगामी चुनावमा कांग्रेस एकढिका भएर जाने प्रस्ट पार्नुभयो । 

“कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता हो, पार्टीभित्रको केही आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन पनि जित्न सकिँदैन, त्यसो भएर कांग्रेस एकढिका भएर जानुपर्छ”, शर्माले दाबी गर्नुभयो । उहाँले आजै मण्डनदेउपुरका राजनीतिज्ञ एवं समाजसेवी स्व हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने विचार व्यक्त गर्नुभयो । कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, कांग्रेस जिल्ला सभापति तीर्थ लामा, क्षेत्रीय सभापति महेश खरेल, कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेललगायतले नेपाली कांग्रेस एक ढिका भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । 

नेपाल पुलिस क्लबलाई दोस्रो वीरगञ्ज गोल्डकपको उपाधि

वीरगञ्ज, (पर्सा- दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै दोस्रो पटक पनि उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीका तर्फबाट १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको १३औँ मिनेटमा मच्छिन्द्र क्लबका समिराज थोकरले ‘हेड’मार्फत गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५८औँ मिनेटमा नेपाल पुलिस क्लबका विकास विकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पुलिस क्लबका तर्फबाट ट्राइब्रेकरमा कप्तान रामचन्द्र वाजी, सञ्जीव लामा र अमित टमटाले गोल गरेका थिए । उज्ज्वल राईको ‘पेनाल्टीसुट’ गोलमा परिणत हुन सकेन । 

त्यस्तै, मच्छिन्द्र क्लबका तर्फबाट ट्राइबे्रेकरमा विशाल राई, दिवाकर चौधरी र समिराज थोकरले गोलमा परिणत गर्न सकेनन् । वीरगञ्ज गोल्डकपको विजेता बनेको नेपाल पुलिस क्लवले रु ११ लाख ११ हजार एक सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै, उपविजेता बनेको मच्छिन्द्र क्लबले रु पाँच लाख ५५ हजार पाँच सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा पुलिस क्लबका कप्तान रामचन्द्रवाजी सर्वाेकृष्ट खेलाडी घोषित हुँदै इलेक्ट्रिक स्कुटर हात पारे । 

पुलिस क्लबका अमित टमता उत्कृष्ट गोलरक्षक बने । त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि पुलिस क्लबकै चेतन घिमिरे भएका छन् । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २० हजारले पुरस्कृत गरियो । फाइनल खेलमा ‘म्यान अफ दी म्याच’ भने मच्छिन्द्र क्लबका समिराज थोकर बने । उनले नगद रु १० हजार पुस्कार प्राप्त गरे । 

वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका  प्रहरी प्रमुख गौतम मिश्रलगायतले खेलाडीलाई मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार महानगरले खेलकुदको विकास र प्रवर्द्धनका लागि योजनाबद्ध काम गर्दै आइरहेको छ ।

गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि गुठी युनाइटेडलाई

गण्डकी-गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि ग्रेस गुराँस गुठी युनाइटेड क्लबले जितेको छ । बागलुङ जेसीजद्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई टाइबे्रकरमा पराजित गर्दै युनाइटेड क्लबले तेस्रो संस्करणको जेसीज कप उपाधि जितेको हो ।

बाङ्गेचौर खेलमैदानमा भएको खेलको निर्धारित समयमा दुवै तर्फको एक÷एक गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो । टाइबेकरमा साविक विजेता बागलुङ सुधार केन्द्रविरुद्ध ४–३ गोलको जित निकाल्दै युनाइटेड क्लबले उपाधि जितेको हो । खेलको दोश्रो हाफको ५६औँ मीनेटमा गुठीका विराज खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै बागलुङ सुधार केन्द्रबाट खेलेका अफ्रिकन खेलाडी अबेक रिचार्जले गोल फर्काएर खेललाई बराबरी गरे ।

अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो । विजेता गुठी युनाइटेड क्लबले रु दुई लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता बागलुङ सुधार केन्द्रले रु एक लाख नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिता अवधिभर विधागत रूपमा उत्कृष्ट खेल्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो । गण्डकी प्रदेशसभाका सदस्य दीपेन्द्रबहादुर थापाले विजेता खेलाडीलाई ट्रफी प्रदान गर्नुभयो । प्रतियोगितामा ११ टोलीले भाग लिएका बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

सरकारको आकार सानो बनाउनुपर्छ : महामन्त्री थापा

सिन्धुली- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार सानो बनाउनुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सङ्घीय सरकारको मन्त्रालय सङ्ख्यालाई घटाएर १०–१२ वटा मात्र बनाउनुपर्ने सुझाव दिनुभयो । “ मन्त्रालयको सङ्ख्या धेरै हुनु समस्या हो, सरकार सानो बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेको तर प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने र अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्था गर्नुपर्छ ।” प्रदेश सरकारलाई आर्थिक र प्रशासनिक रूपमा अधिकारसम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारको चासोलाई अनावश्यक भन्दै त्यसको आलोचना गर्नुभयो । “तीन–चार महिनापछि सेवानिवृत्त हुन लागेका व्यक्तिको पछि लागेर सरकार किचकिच गरिरहेको छ, यो बेठिक हो”, उहाँले भन्नुभयो, “पचास राम्रो काम गर्दा एउटा नराम्रो भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । राम्रो गर्न सकिँदैन भने कम्तीमा नराम्रो काम नगर्नोस् ।”

मन्त्रीहरूलाई सही मार्गमा लैजान महामन्त्री थापाले प्रधानमन्त्रीसँग आग्रहसमेत गर्नुभयो । “प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि प्रधानमन्त्रीले पाउँछन्, नराम्रो कामको अपजस पनि लिनुपर्छ” उहाँले भन्नुभयो । सङ्घीयताको मर्मअनुसार प्रदेशलाई थप अधिकार दिनुपर्ने र सरकारको कार्यसम्पादन सुधार गर्नुपर्ने उहाँको धारणा थियो ।

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना

काठमाडौँ, २५ फागुन : हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।

बाङखोलामा पुुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

म्याग्दी, २५ फागुनः धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हँुदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो ।

धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।

छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो । पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ ।

यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पुनर्निर्माण गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट बाङखोला माथि फलामको पुल बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने व्यवस्था मिलाएको वडाध्यक्ष रोकाले बताउनुभयो । पचास किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाबाट पाँच सय ८० घरपरिवार लाभान्वित भएका छन् ।

दरगाउँ सडक सञ्जालमा जोडियो

यसैगरी धवलागिरि गाउँपालिका–३ को दरगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिकाको सहयोगमा दरका बासिन्दाले उपभोक्ता समितिमार्फत गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । गाउँपालिकाको रु २७ लाख अनुदानमा मुुना–मुदी सडकदेखि दर जोड्ने एक किलोमिटर पाँच सय मिटर सडक निर्माण भएको धवलागिरि गाउँपालिका–३ का प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो ।

सडक निर्माण भएपछि दरगाउँका एक सय घरपरिवार लाभान्वित भएका छन् । आवतजावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुुजन्य वस्तु निकासीमा सहज भएको छ ।दर जोड्ने सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु पाँच लाख, २०८०÷८१ मा रु १३ लाख र चालु आव २०८१÷८२ मा रु १० लाख विनियोजन गरेको थियो ।

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

इलाम, २५ फागुनः सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।

दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । “कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्”, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भन्नुभयो, “ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ ।”

कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँचदेखि १० हजारसमम्म बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । “हिजो रु नौ हजारको बिक्री भयो । कुनै दिन चार– हजारको मात्रै बिक्छ । सिजन सुरु हुँदैछ । पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको”, स्थानीय सुजन सापकोटाले भन्नुभयो ।

यहाँ आउने पर्यटक खाली हात जाँदैनन् । कुनै न कुनै कोसेली बोकेर जाने चलन नै बसिसकेको स्थानीय बताउँछन् । “इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ ।” स्थानीय व्यापारी अमीर आचार्य भन्नुहुन्छ, “फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली बस्तु हो । धेरै पसल छन्, कुनै खाली हुँदैनन् ।”

काठमाडौँमा व्यवसाय गरिरहनुभएका दीपक खड्का चिनजानका कोही इलामबाट काठमाडौँ आउने सूचना पाए इलामे कोसेली मगाइहाल्नुहुन्छ । “छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्”, उहाँले भन्नुभयो, “इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन ।”

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ । अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ । यी मिठाई अहिले ‘इलाम ब्रान्ड’का रुपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले बताउनुभयो ।

जिल्लामा दुई दर्जनको हाराहारीमा ललिपप उद्योग छन् । यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाडौँ र भारतलगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउनुहुन्छ । सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य रु ५० र ठूलो रु एक सयमा बिक्री हुँदै आएको छ । उपहारका लागि कलात्मक ढङ्गले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’समेत इलामका बजारमा पाइन्छ ।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध बिक्री हुने गरेका थियो । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए । ललिपप, बम्बइसनजस्ता मिठाई उद्योगले पाँच हजार लिटर र भारतीय बजारमा तीन हजार लिटर दूध बिक्री हुने गरेको छ । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ ।

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी, २५ फागुन : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुनिल चन्द, सौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन विक छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा वसन्त खत्री, हिक्मत महरा, सचिन भट्ट र गजेन्द्र भण्डारी छन् । प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन् । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा हुँदैछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २५ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ८३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

वाग्मतीबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २५ फागुन : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं ३१ को अग्रसरतामा वाग्मती सफाइ गरिएको छ ।
काठमाडौँ महानगरपालिका–३१ का अध्यक्ष सरोज ढकालको नेतृत्वमा तीनकुने वडा नं ३१ को कार्यालय अगाडि वाग्मती नदीमा वडा सदस्यहरू अशोक केसी, हुमा आचार्य, वडा नागरिक समाज सञ्जालका पदाधिकारीको सफाइमा सक्रिय सहभागिता थियो । सफाइमा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेल, आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेललगायतको सफाइमा सक्रियता थियो ।

यसैगरी आलोकनगर वाग्मती अभियानकर्मी, अधिकारसम्पन्न वाग्मती सम्पन्न वाग्मती समितिका मञ्जु राई, सुन्दरीघाट वाग्मती सफा अभियान, योगगुरु किशोर जोशीसहित योग साधक, नेपाल प्रहरी, सामुदायिक नेपाल प्रहरी, वडा नं ३१ का कर्मचारी, वडावासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुका सरसफाइ गाडीसहित टोलीको पनि सहभागिता थियो । सफाइबाट करिब तीन मेट्रिक टन फोहर सङ्कलन गरिएको थियो ।

सङ्कलन गरिएको फोहर महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाही जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको आज ६१६औँ हप्ता पूरा भएको छ ।