संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठक : नीतिनिर्माणमा युवाको सहभागिता सुनिश्चित गर्न जोड


संयुक्त राष्ट्रसङ्घले हालै सम्पन्न एक उच्चस्तरीय बैठकमार्फत विश्वभरिका सरकारलाई युवाहरूलाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेको छ । उक्त बैठक विश्व युवा कार्ययोजना (डब्लुपे) को ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको हो ।
“विश्व युवा कार्ययोजना ३० वर्षपछि पुस्ताबीचको सहकार्यबाट विश्वव्यापी प्रगति तिव्र पारौँ” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न राष्ट्रका नेता, सरकारी अधिकारी र युवाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। बैठक राष्ट्रसङ्घीय महासभाको ८०औं अधिवेशन अन्तर्गत न्युयोर्कस्थित मुख्यालयमा सम्पन्न भएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाउनुभएको सन्देशमा आजका युवाहरूले जलवायु संरक्षण, प्रविधिमा नवप्रवर्तन, स्थानीय समाधानको खोज तथा मानवअधिकारको संरक्षणमा अग्रणी भूमिका खेलेको उल्लेख गरिएको थियो । तर, उहाँले दुःख व्यक्त गर्दै भन्नुभयो, “युवाहरूलाई अझै पनि आफ्नै जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरूबाट टाढा राखिने गरिएको छ ।”
युवालाई निर्णय प्रक्रियामा बराबरीको साझेदारको रूपमा स्वीकार गरी, उनीहरूको विचार, ऊर्जा र नेतृत्व क्षमतालाई समुचित सम्मान दिनुपर्ने उहाँको जोड थियो ।
युवाको चासो र चुनौतीलाई सम्बोधन गर्नुपर्छ
राष्ट्रसङ्घीय महासभाका अध्यक्ष अनालेना बेयरबकले युवाहरूले आजभोलि भोगिरहेका प्रमुख चुनौती बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जब केही नेताहरू जलवायु संकटलाई अस्वीकार गर्छन्, युवाहरूले नै अग्रसरता लिइरहेका छन्। यस्तो स्थितिमा पुस्ताबीचको ऐक्य र सहकार्य अत्यावश्यक छ ।”
संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले अन्य साझेदार संस्थासँग सहकार्य गर्दै एक वैश्विक रणनीतिक परिकल्पना अभ्यास सञ्चालन गरेको थियो ।
यस अभ्यासमा १८२ देशका करिब ७५ हजार युवाहरूले भाग लिएर आफ्ना अनुभव, चुनौती र आकांक्षाहरू प्रस्तुत गरेका थिए।युवा मामिलाका सहायक महासचिव फेलिपे पौलियरले भन्नुभयो, “विश्वभर १५ देखि ३५ वर्ष उमेर समूहमा रहेका २ अर्ब ३० करोडभन्दा बढी युवाहरूले हाम्रो भविष्य निर्माणमा बराबरीको भूमिका पाउनुपर्छ ।”