मन्त्री घिसिङको चेतावनी – ‘अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ, कसैलाई छोड्दैनौ’


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भ्रष्टाचारको कुनै किसिमको गन्ध आयो भने तत्काल कारवाही गर्ने निर्देशन दिन्छु भन्दै उनले कसैलाई नछोड्ने बताए ।
उनले भने – मेरो र प्रधानमन्त्रीज्यूको पनि ठुलो इच्छा छ–नेपाललाई सुशासनको दिशामा अगाडि बढाउने र कसैले अनियमितता र भ्रष्टाचारको कुनै किसिमको गन्ध आयो भने तत्काल कारवाही गर्ने निर्देशन पनि छ,’
उनले थपे, ‘त्यसलाई हामीले हुबहु कार्यान्वयन गर्नुपर्छ । यसमा कसैलाई छुट छैन । यो विषयमा हामी चुक्यौ र कतै यस्तो क्रियाकलाप भयो भने वा गर्न सकेनौ भने यो देशमा अर्को ठुलो विद्रोह हुनेछ । त्यो विद्रोहले कसैलाई पनि छाड्ने छैन् ।’देशमा सुशासन कायम गरी युवा पुस्ताको चाहना पुरा गर्न गम्भीर रुपमा सबैजना लाग्नुपर्ने समेत बताए ।