`

चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक

Nepal One HD १० असोज २०८२ २१:२४
समाज

गण्डकी, १० असोजः जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उछृङ्खल गतिविधि नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाई अशान्ति फैलाउने, जुवातास खेल्ने/खेलाउनेलगायत गतिविधि नियन्त्रण गर्न ‘चाडपर्व विशेष सुरक्षा योजना २०८२’ सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहत समेतबाट सवारीसाधन जाँच गर्ने, यात्रुलाई सहायता गर्ने, बढी भाडा असुल गर्ने सवारीसाधनलाई तथा सिट क्षमताभन्दा बढी यात्रु चढाउने सवारीसाधनलाई कारबाही गर्ने, आवश्यकताअनुसार सहजीकरण गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दैनिक रूपमा सुरक्षा जाँच गरिनेछ ।

त्यसैगरी, पैदल गस्ती, ग्रामीण गस्ती, पट्रोलिङ, एम्बुसिङ चेकप्वाइन्ट, बजार अनुगमन र सादा पोशाकमा सेमत प्रहरी परिचालन गरी आमनागरिकमा शान्ति, सुरक्षाको प्रत्याभूति सुदृढ एवं थप मजबुत बनाउने योजनासहित प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । योजनाको प्रभावकारी कार्यान्वयनका लागि जिल्लामा नौ सय २३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *