`

स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता

काठमाडौँ, ३ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच अभिवृद्धि गर्ने विषयमा सम्झौता भएको छ । मन्त्रालयमा आज एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रुइतले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा मन्त्री पौडेलले आँखाको क्षेत्रमा तिलगङ्गाले पु¥याएको योगदान सराहनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तिलगङ्गाबाट उत्पादित लेन्सले अन्तरराष्ट्रियस्तरमै विश्वसनीयता प्राप्त गरेको छ । मन्त्रालयले अस्पतालले गरेका काममा सहकार्य र समन्वय गर्नेछ ।”

कार्यकारी निर्देशक डा डा रुइतले आँखाको क्षेत्रमा पहुँच नपुगेका र सिमान्तकृत वर्गमा तिलगङ्गा पुगिरहेको उल्लेख गर्दै उत्पादन गरिरहेको लेन्सको क्षमता विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हेटौँडामा लेन्स उत्पादनको क्षमता विस्तार गर्न तयारी गरिरहेका छौँ । यसले तीनदेखि चार गुणा नै बढी उत्पादन गर्छ । निर्माणमा खर्च अपुग छ । सरकारको सहयोगको अपेक्षा छ ।” 

मोतियाबिन्दु शल्यक्रिया पश्चात उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानुन बमोजिम भन्सार तथा मूल्य अभिवृद्धिकर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सहमति भएको छ ।

सहमतिअनुसार नेपाल आँखा कार्यक्रमबाट उत्पादन भएको मोतियाबिन्दु शल्यक्रिया पश्चात उपयोग हुने (पोलिमेथाईल मेथाक्रालेट ईन्ट्राअकुलर) लेन्समध्ये १० प्रतिशत लेन्स आँखा स्वास्थ्य सेवाका पहुँच बाहिर दुर–दराजका समुदायमा रहेका नागरिकको उपचारका लागि सरकारी अस्पतालद्वारा सञ्चालित शिविरमार्फत निःशुल्क प्रदान गर्न उपलब्ध गराउनुपर्नेछ । 

मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, ३ चैत : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताउनुभयो । छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखापरेका चुनौती तथा समस्यालाई समाधान गरेर अघि बढ्न सकिने उहाँको भनाइ थियो । 

अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उपलब्ध साधन स्रोतको ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेश गर्न उहाँले आग्रह गर्नुभयो ।

गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी, सस्त्र प्रहरी बलका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो । 

रुस र अमेरिकाबीच युक्रेनमा ‘अर्को कदम’ बारे छलफल

किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई बिना शर्त ३० दिनको युद्धविराम गर्न आग्रह गरेको केही घण्टापछि रुस र संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्ने ‘अर्को कदम’ बारे छलफल गरेको क्रेमलिनले आइतबार बताएको छ ।

संयुक्त राज्य अमेरिकाले यस हप्ता साउदी अरबमा वार्ता गरेपछि तीन वर्षभन्दा लामो युद्धमा लडाइँ रोक्न प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई किएभले स्वीकार गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै स्पष्ट जवाफ दिनुभएको छैन, झन् केही सर्त सूचीबद्ध गरेर प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाउनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार क्रेमलिनलाई युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाउनुभयो र मस्कोले कुनै पनि युद्धविराममा सहमत हुनुअघि ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार गर्न’ चाहेको चेतावनी दिनुभयो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनमा ‘समझदारी कार्यान्वयनका ठोस पक्षहरू’ बारे छलफल गरेको मस्कोले आइतबार जनाएको छ ।

फेब्रुअरीमा भएको रियाद भेला मस्कोले आफ्नो आक्रमण सुरु गरेपछि संयुक्त राज्य अमेरिका र रुसबीचको पहिलो उच्चस्तरीय बैठक थियो ।“सर्गेइ लाभरोभ र मार्को रुबियो सम्पर्कमा रहन सहमत हुनुभयो”, रुसी विदेश मन्त्रालयले अमेरिकाले सुझाएको युद्धविरामको कुनै उल्लेख नगरी भनेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले शनिबार यो जोडीले युक्रेनमा ‘अर्को कदमहरूबारे छलफल गरेको’ बताउनुभयो ।उहाँले रुबियो र लाभरोभ ‘संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनःस्थापनाका लागि काम जारी राख्न सहमत भएको’ पनि बताउनुभयो ।

बेलायतले आयोजना गरेको युक्रेनसम्बन्धी भर्चुअल शिखर सम्मेलनमा प्रधानमन्त्री किर स्टार्मरले पुटिनलाई युद्धविराममा ‘आफ्नो खुट्टा तानेको’ आरोप लगाएको केही घण्टापछि यो फोन आएको थियो ।“रुसबाट आएको ‘हो, तर’ पर्याप्त छैन”, स्टार्मरले भन्नुभयो । उहाँले ‘युक्रेनमा एक पटक र सबैका लागि बर्बर आक्रमणहरू’ रोक्न आह्वान गर्नुभयो ।अर्को दिन किएभले रुसले युक्रेनका नौ क्षेत्रमा ९० वटा इरानी निर्मित साहेद ड्रोन प्रहार गरेको बताएको थियो ।

– पुटिन ‘झुटो बोल्दै’ हुनुहुन्छ ः जेलेन्स्की –

यस हप्ताको सुरुमा युद्धविरामप्रति आफ्नो प्रतिक्रियामा पुटिनले यस पहलले रुसी सेनालाई नभई मुख्यतया युक्रेनलाई फाइदा पुग्ने भन्दै यसलाई धेरै क्षेत्रमा ‘अगाडि बढिरहेको’ बताउनुभएको थियो ।उहाँले पहलमाथि ‘गम्भीर प्रश्नहरू’ उठाउनुभयो । दक्षिणी र पूर्वी युक्रेनको केही भाग ओगटेको रुसले मोर्चाका केही क्षेत्रमा गति लिएपछि यो प्रस्ताव आएको हो ।

यसले आफ्नो कुर्स्क क्षेत्रका केही भागबाट युक्रेनी सेनालाई हटाएको छ । त्यहाँ किएभले भविष्यको कुनै पनि वार्तामा सम्भावित मोलमोलको चिप्सका रूपमा रुसी क्षेत्र कब्जा गर्ने आशा राखेको छ ।पुटिनले फोनमा ट्रम्पसँग मस्कोको चिन्ताबारे छलफल गर्न चाहेको बताउनुभयो ।

जेलेन्स्कीले शनिबार युद्धविराममा सहमत नभएर पुटिन ट्रम्पको विरुद्ध पनि जाँदै गरेको भन्दै मस्कोमाथि युद्ध समाप्त नगर्ने तरिकाहरू खोज्ने प्रयास गरेको आरोप लगाउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबारे केही मैत्रीपूर्ण बयान दिनुभएको छ ।

जेलेन्स्कीले पुटिनलाई ‘युद्धविराम कथित रूपमा अत्यन्त जटिल छ भनेर झुट बोलेको’ आरोप लगाउनुभयो । युक्रेनले आइतबार खार्किभ क्षेत्रको इजियम सहरमा रूसी ड्रोन हमलामा एक व्यक्तिको मृत्यु भएको बताएको छ । खार्किभलाई रुसले युक्रेन आक्रमणको सुरुमा कब्जा गरेको थियो र पछि किएभका सेनाले फिर्ता लिएका थियो ।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको तेस्रो जित

घोराही (दाङ), ३ चैत : लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ । दाङको लमही क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ३२.४ ओभरमा सवै विकेट गुमाएर ११५ रन मात्र बनायो । एक सय १६ रनको लक्ष्य पछ्याउने क्रममा बागमती २२.५ ओभरमा ६७  रनमै समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापाले १५ र कप्तान देव खनालले १५ रन बनाए । बलिङतर्फ बागमतीका लागि गौतम केसीले ५.४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । सूर्य तामाङ र इशान पाण्डेले दुई दुई तथा रिजन ढकाल र सोनु देवकोटाले एक एक विकेट लिए ।

यसैगरी लुम्बिनी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए । आशुतोष घिरैयाले ११ तथा सुमन सुनारले ११ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि विप्रासन केसी र अजय चौहानले तीन तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले दुई दुई विकेट लिए ।

लुम्बिनीले हालसम्म चार खेल खेल्दा तीनमा जित निकालेको छ भने बागमतीले चार खेलमा एउटामा मात्र जित निकालेको छ । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको धानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही चैत १६ गतेसम्म चल्ने छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ, ३ चैतः प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको हो । 

विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले यस विधेयकले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्नेमा सरकार विश्वस्त रहेको बताउनुभयो । “यो विधेयकले निःसन्देह आर्थिक र व्यावसायिक वातावरण सुधार गर्छ । लगानी अभिवृद्धिका लागि आधार प्रदान गर्छ भन्ने सरकारको दृढ विश्वास छ”, उहाँले भन्नुभयो, “तथ्यहीन र आधारहीन आरोपको पछाडि लाग्नुभन्दा तथ्यलाई अनुसरण गर्नु राम्रो हुन्छ, राजस्वमा कुनै सम्झौता हँुदैन ।”

यसअघि विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले यस विधेयकले ठूला प्रकारका व्यावसायिक घरानाहरूलाई कर छुट दिने व्यवस्था गरेको तर मझौला र साना उद्योग व्यवसायबारे कम बोलेको टिप्पणी गर्नुभयो । उहाँले विदेशी लगानीलाई प्रोत्साहन गर्दा स्वदेशी पुँजीबारे पनि ध्यान दिन सक्नुपर्ने सुझाव दिनुभयो ।  

माओवादी केन्द्रकै सांसद विमला सुवेदीले सीमित व्यक्तिका लागि लक्षित गरेर विधेयक ल्याइएको टिप्पणी गर्नुभयो । स्वदेशी पुँजी विदेश पलायन गराउने र गैरकानुनी ढङ्गले आर्जन गरेको सम्पत्ति घुमाउरो बाटोबाट शुद्धीककरण गर्ने मनसाय यसमा रहेको उहाँको आरोप थियो ।  

छलफलका क्रममा नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आमनागरिकलाई आर्थिक वृद्धिको पहुँचमा पु¥याउन लगानीलाई उदार गर्नुपर्ने धारणा राख्नुभयो । “लगानीको क्षेत्र सुधार गर्नुपर्छ, निजी क्षेत्र नै विकासको इञ्जिन हो । हरेकलाई शङ्काको नजरले हेरेर हँुदैन”, उहाँले भन्नुभयो ।   

सांसदहरू जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, सराजअहमद फारुकी, विजुला रायमाझी, महेन्द्रबहादुर शाही, रुपासोशी चौधरी, नारायणी शर्मा, डा अमरेशकुमार सिंह, प्रेम सुवाल, शिव नेपाली, रणेन्द्र बराली, सूर्यप्रसाद ढकाल, सुशीला सिर्पाली ठकुरी, लेखनाथ दाहाल, प्रेम सुवाल र मेटमणि चौधरीले सैद्धान्तिक पक्षमा धारणा व्यक्त गर्नुभएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ । 

पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन

काठमाडौँ, ३ चैतः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आङ्गिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको हो । उहाँले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

निर्देशन दिएकामध्ये उपत्यकाका छ र उपत्यका बाहिरका नौ आङ्गिक क्याम्पस रहेका छन् । “त्रिविका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते स्वविुय निर्वाचन सम्पन्न गर्नुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको हो ?”, सदस्यसचिव अधिकारीले जारी गर्नुभएको पत्रमा प्रश्नसहित भनिएको छ, “सम्बद्ध पक्षसँग समझदारी गरी जुन अवस्थामा र प्रक्रियामा रोकिएको हो सोही अवस्था र प्रक्रियाबाट स्ववियु निर्वाचन कार्य तत्कालै अगाडि बढाउन निर्देशन गरिन्छ ।”

उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोविचौर, शङ्करदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । यस्तै, उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुव रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढेको छैन । त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा मङ्गलबार (चैत ५) का लागि एकैदिन स्ववियु निर्वाचन घोषणा गरिएको छ ।

स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन ।

उक्त आगालगीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वयम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो ।

आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

कानुन बनाउनभन्दा पनि कार्यान्वयन गर्न चुनौती छ: सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रियसभामा तीन वर्ष रहँदैगर्दा तितामिठा दुवै अनुभव भयो । नीति निर्माणको क्षेत्रमा के हुने रहेछ भन्ने अनुभव भयो । संसद्भित्र देशको हितमा काम गर्न चाहने र नचाहने बीचमा के कस्ता खेल हुने रहेछ भन्ने कुराको पनि केही अनुभूति भयो । मैले सुनेको संसद् र भोगेको संसद्मा आकाश पातालको फरक रहेछ । संसद् भनेको जनताको सर्वोच्च निकाय हो । कानुन निर्माण गर्ने थलो हो । संसद्मा रहँदा देश र जनताको निम्ति धेरै काम गर्न सकिन्छ भन्ने लागेको थियो । तर संसद्भित्र छिरेपछि सांसदहरु जनतातिर फर्किंदा रहेनछन् भन्ने थाहा भयो ।

देश र जनताको निम्ति केही गर्छु भनेर आएका ठूला राजनीतिक दलहरु नै सत्ताको लागि लडाइँ झगडा मात्रै गर्दा रहेछन् । सत्तामा जानका लागि संसद्मा दृष्य र अदृष्य दुवै खालका खेल हुँदा रहेछन् । जनताका सवाललाई संसद्मा उठाउने भन्दा पनि सांसदहरुलाई सरकारमै जान हतार हुँदोरहेछ । कानुन निर्माण गर्नेभन्दा पनि सांसदहरुले व्यक्तिगत र पार्टीगत स्वार्थमा मात्रै केन्द्रित भएको पनि देखियो । संसद्मा बहुमत र अल्पमतको खेल हुने भएकाले पनि होला जुन पार्टीको बहुमत छ, उसले जे गरेपनि हुँदोरहेछ । बहुमत हुनेले आफू र आफ्नो पार्टी अनुकूल कानुन बनाए पनि हुँदोरहेछ । संसद् भनेको जालजेल गर्ने थलो पनि रहेछ । ठूला दल भन्ने अनेक स्वार्थकाबीच सरकारमा जाने र बाँडेर खाएको पनि देखियो । त्यसैले मेरो सोचाइको संसद् र भोगेको संसद्मा अत्यन्तै फरक पाएँ ।

संविधान कार्यान्वयनको अवस्था हेरौँ त । यो अत्यन्त फितलो छ । संविधान अनुसार केही हदसम्म कानुन बनेका छन् तर बन्नुपर्ने अत्यन्त आवश्यक कानुन अहिले पनि बन्न सकेका छैनन् । त्यसमा पनि मुख्य समस्या कार्यान्वयनमा छ । ऐन कानुन नभएको होइन । राम्रा ऐन कानुन पनि छन् । तर कार्यान्वयन पटक्कै भएको जस्तो लाग्दैन । २०६८ सालमा जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) ऐन जारी भएको आज १३ वर्ष हुँदा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जातीय भेद्भाव तथा छुवाछूतको बहानामा दलितहरु पीडित भएकै छन् । पीडक खुलेआम हिँडिरहेका छन् । उनीहरुलाई कुनै कारबाही हुँदैन । यतिसम्म कि ऐन लागू भएको १३ वर्ष हुँदा पनि प्रहरी प्रशासनले ऐनबारे अनविज्ञता जनाइरहेको छ । अनि ऐन मात्रै बनाएर हुन्छ ? त्यसको व्यवहारिक रुपमै प्रभावकारी कार्यान्वयन हुनुपर्दैन ? सोजुकै सत्तामा गएपनि भएका कानुनको इमान्दारिपूर्वक प्रभावकारी कार्यान्वयन गरिरहेका छैनन् ।

कुनै एउटा दल होइन, सत्तामा गएपछि जुन दलले पनि कानुन कार्यान्वयनमा ध्यान दिएको पाइन्न । कानुन कार्यान्वयनमा अरुचि र उदासिनता देखिन्छ । यद्यपि हामी दलित समुदायको प्रतिनिधित्व गर्ने सांसदहरुले दलित समुदायका विषयवस्तु संसदम उठाइनै रहेका छौँ । धारा २४ र धारा ४० लाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ भनिरहेका छौँ । तर सरकारले टेर्दैनन् । कानुन त सम्बन्धित मन्त्रालय वा मन्त्रीले ल्याउने हो । दलितका बारेमा कानुन बनाउनेतर्फ उनीहरुको ध्यान गएको छैन । हामीले दलित कार्ययोजना तयार गरेर पनि सरकारलाई दिएका छौँ । दलित समुदायको सम्बन्धमा छुट्टै एकीकृत कानुन बन्नुपर्छ भनेर पनि हामीले विकास, आर्थिक मामिला तथा सुशासन समितिमा प्रतिवेदन पनि बुझाएका छौँ । त्यो राष्ट्रि

संविधान संशोधनको नाममा सदनबाट पारित गर्न नसक्ने विषयवस्तु पेस गर्नुहुँदैन । अध्यादेशमार्फत् जथाभावी विधेयक संसद्मा ल्याउने काम पनि भएको छ । संसद् हुँदाहुँदै सरकारले अध्यादेश ल्याउनु खतरापूर्ण छ । सङ्घीयता यो देशले धान्न सक्दैन भनेर हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै विरोध गर्दै आएको हो । यति सानो देशमा सङ्घीयताको केही अर्थ छैन । अहिले बल्ल कतिपय दलका लागि घाँडो जस्तै भएको छ, तर बोल्न सकेका छैनन् । सङ्घीयता आवश्यकताभन्दा पनि विदेशीको इसारामा ल्याइएको हो । सिंहदरबारको एउटा सरकार चलाउन नसक्नेले विदेशीसँग ऋण काढेर आठआठ वटा सरकार चलाउन सक्छ ? विगत फर्केर हेर्ने हो भने सङ्घीयताका निम्ति भनेर कुनैपनि आन्दोलन भएनन् । जनताले सङ्घीयता चाहिन्छ भनेर कहिल्यै भनेका छैनन् । सङ्घीयता कुनैपनि राजनीतिक दलको घोषणापत्रमा थिएन । त्यसैले यो सङ्घीयता खारेज हुनुपर्छ भन्ने हाम्रो पार्टीका माग छ ।

सुशासनको निम्ति बनेका कानुनलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्छ । सदाचार नीतिलाई पालन गर्नुपर्यो । सरकारमा रहेका मन्त्रीहरु पारदर्शी हुनुपर्छ । दलका नेताहरु पारदर्शी हुनुपर्छ । संविधानमा समावेश नभएका महिला, मधेशी, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको क्षेत्रको थप अधिकारलाई संशोधन गरेर समावेश गर्नुपर्छ । त्यसको निम्ति संविधान संशोधन गर्न जरुरी छ । सरकारमा जाने भनेको कमाउन जाने होइन । आफ्नालाई जागिर लगाइदिन जाने होइन । त्यहाँ त जनताको सेवा गर्न जाने हो । युवा पलायनलाई रोक्नका लागि देशमा उद्योगधन्दाको विकास गर्नुपर्यो । देशमा एउटा उद्योग नखोल्ने, अनि युवा विदेशतिर छिरे भनेर हुन्छ ? सरकारले कलकारखाना खोल्नुपर्यो । भएका उद्योग सबै बन्द गरेर देशभित्र युवा कसरी बस्छन् ? नेपालले विद्यमान शिक्षा प्रणालीमा व्यापक सुधार गरी व्यावसायिक शिक्षामा जोड दिनुपर्छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभाको सदस्य हुन् । विसं २०१५ असोज १ गते बाग्लुङ जिल्लामा जन्मिएका उनले सानैदेखि जातीय भेद्भाव तथा छुवाछूतको विरुद्धमा सङ्घर्ष गर्दै आएका छन् ।
(कुराकानीको सम्पादित अंश)

वीरगञ्जमा लामखुट्टेको आतङ्कले सर्वसाधारण आजित

वीरगञ्ज (पर्सा), ३ चैत : औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।

होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो ।

वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगञ्जमा लामखुट्टे देखिए पनि वीरगञ्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताउनुभयो । “साँझ र बिहानको समयमा बाहिर बसिसक्नुछैन”, उहाँले भन्नुभयो, “यतिविघ्न लामखुट्टे आउँदा पनि महानगर के हेरेर बसेको छ ।” तेली मात्रै होइन, वीरगञ्ज महानगर वडा नं ४ बिर्ताका राकेश झा पनि लामखुट्टेको आतङ्कबाट आजित भएको गुनासो गर्नुहुन्छ ।

“एक त वीरगञ्जको नाला खुल्लै छ । जसको कारणले लामखुट्टेको आतङ्क बढेको बढ््यै छ”, उहाँले भन्नुभयो, “मेयरसाबले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउँछु भन्नुहुन्छ । यहाँ त मच्छडगञ्ज भइसक्यो ।” डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरूवा रोग हो ।

डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ ।वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगञ्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरू गर्न लागेको जानकारी दिनुभयो ।

 ‘‘गर्मीको सुरूवातसँगै बढ्दो लामखुट्टेको प्रकोप र त्यसबाट फैलन सक्ने डेङ्गी, मलेरिया र इन्सेफलाईटिस जस्ता प्राणघातक रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न वडा नं १ देखि ३२ वटै वडामा कार्यतालिका बनाएका छौँ,” उहाँले भन्नुभयो, “महानगरले लामखुट्टको लार्भा मार्नका लागि बिहानदेखि साँझमा नालामा पम्प स्प्रेबाट लार्भा साईटिङ स्प्रे तीन पटक तथा वयस्क लामखुट्टे मार्न बेलुकीदेखि रातिसम्म ऐयर स्प्रे दुई पटक कार्यक्रम राखिएको छ ।”

 यद्यपि वीरगञ्ज महानगरले गत फागुन २५ गते लामखुट्टे नियन्त्रणको लागि चैत ३ गतेदेखि पम्प तथा ऐयर स्पे कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो । यो अभियान आइतबारदेखि चैत २४ गतेसम्म जारी रहने बताइएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।यसैगरी, ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

दमौली (तनहुँ),-नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको छ । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यानविधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सवमा गण्डकी प्रदेशको आख्यान, आख्यानको आविष्कार, नलेखिएका कथा, पाँच कथाकारका पाँचकथा र ‘मर्यादा’ नामक नाटक प्रस्तुत गरिएको थियो ।

महोत्सवमा डा षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासको बारेमा प्रवचन दिनुभएको थियो भने उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने, साहित्यकार अम्बिका भट्टराईलगायतले टिप्पणी गर्नुभएको थियो । महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस गरिएको थियो । बहस कार्यक्रमको सहजीकरण प्राध्यापक डा अशोक थापाले गर्नुभएको थियो । उक्त बहसमा सहभागी साहित्यकारहरू अमर न्यौपाने, प्रभा बराल, गनेश पौडेल, बन्धुराज अधिकारीले आख्यान के हो र यसभित्र के के पर्दछन् ? कस्तो आख्यान लेख्ने ? आख्यानको सैद्धान्तिकस्वरूप र परम्परा लगायतको विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्राध्यापक डा अशोक थापाले नै सहजीकरण गर्नुभएको तेस्रो चरणको ‘नलेखिएका कथा’ विषय कार्यक्रममा साहित्यकार रूपेन्द्र प्रभावी कटु, अञ्जना पौडेल, नारायण मरासिनी, विद्या ढकालले समाजमा नलेखिएका कथाहरूको विषय औँल्याउनुभएको थियो । चौथो चरणको ‘पाँच कथाकारका पाँच कथा’ वाचन कार्यक्रममा साहित्यकारहरू रमेशचन्द्र घिमिरे, देवीबहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य, भीम रानाभाटले हाउभाउसहित कथा वाचन गर्नुभएको थियो ।

साहित्यकारले प्रस्तुत गरेका कथामाथि मुस्ताङका साहित्यकार बसन्त शेरचन प्रतिक्रियात्मक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको पाँचौंँ चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटकमञ्च तनहुँद्वारा ‘मर्यादा’ नामक नाटक मञ्चन गरिएको थियो ।कार्यक्रममा प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेले प्रतिष्ठान नलेखिएका कथाहरू खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनुभयो । नलेखिएका कथाहरू बाहिर ल्याउनु प्रतिष्ठानको दायित्व भएको उहाँको भनाइ थियो । न्यौपानेले नेपाली साहित्य तथा लोपोन्मुख भाषा संरक्षणका लागि नेपाल प्रज्ञा प्रतिष्ठान जिल्ला एवं स्थानीय तहमा गठन भएका प्रतिष्ठान तथा विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्दै आएको उल्लेख गर्नुभयो ।

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

भैरहवा (रुपन्देही), ३ चैत : पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हँुदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरेका छन् । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।

थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा पाँच सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरू अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरले बताउनुभयो ।

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्नुपर्ने छ । सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्ने छ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्म यात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उहाँहरू श्रावणेर बन्नुभएको हो । उहाँहरूलाई पहेलो चिवर प्रदान गरिएको थियो । यसरी श्रावणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षासम्बन्धी कक्षा लिएको भिक्षु श्रीवजीरले बताउनुभयो । “प्रवज्या भनेको भगवान् बुद्धले ज्ञान प्राप्त गर्नुभन्दा अगाडि उहाँले आफ्नो राजपाट र घरगृहस्थ त्याग गरेर सन्यासी हुनुभयो, त्यसैलाई हामीले प्रवज्या भन्छौँ”, श्रीवजीरले भन्नुभयो, “प्रवज्या जीवनबाट नै भगवान् बुद्धले आफ्नो ज्ञानको मार्ग सुरु गर्नुभएको थियो ।”

नयाँ भिक्षुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेषगरी युवापुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रवज्या कार्यक्रम महत्त्वपूर्ण हुने गरेको छ । धम्मकाय फाउन्डेसनको आयोजनामा भएको धम्म यात्रालाई बौद्ध समाज नेपालले सहजीकरण गरेको थियो । भगवान् गौतमबुद्ध फागु पूर्णिमाको दिन ज्ञानको प्राप्ति गरेकाले फागु पूर्णिमाको नजिक पर्ने गरी गत वर्षदेखि धम्म यात्रा गरिँदै आएको छ । गौतमबुद्ध ज्ञान प्राप्तिपछि बुबालाई भेट्नका लागि फर्किँदा अहिलेको भैरहवा क्षेत्र रहेको स्थानबाट नै फर्केका कारण भैरहवामा धम्म यात्रा गराइएको बौद्ध समाज नेपालका केन्द्रीय अध्यक्ष शङ्कर गाहाले बताउनुभयो ।

यसरी प्रवज्या हुनेमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, दाङका साथै म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, इन्डोनेसियालगायत रहेको बौद्ध समाज नेपालका वरिष्ठ उपाध्यक्ष हरिओम विश्वकर्माले बताउनुभयो । उहाँले धम्म यात्राका क्रममा श्रामणेरहरूले बुटवल, बुद्ध मावली देवदहलगायत क्षेत्रको पनि भ्रमण गर्नुभएको जानकारी दिनुभयो । लुम्बिनीमा सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच सय र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष पाँच सय जनालाई प्रव्रज्या गरिएको छ ।

‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी

काठमाडौँ, ३ चैत : जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहनुभएकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहनुभएको छ । अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थाल्नुभएको छ । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।

सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गर्नुभएको भूमिकाले चर्चा पायो । उहाँले पहिलोपटक चलचित्रमा अभिनय गर्नुभएको हो । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा तयार भएको सो चलचित्रका लागि महिला कलाकारको खोजी भएको थाहा पाउनुभएपछि आरतीले अडिसन दिनुभएको थियो ।

“जनकपुरमा चलचित्र छायाङ्कन हुँदैछ र मधेसी पात्र चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ । अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गर्नुभयो । त्यसपछि केही समय अभिनय कार्यशाला गरेर तयार भएँ”, पत्रकार मण्डलले भन्नुभयो । यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उहाँले पहिलोपटक चलचित्रका लागि अभिनय गर्नुभयो । छायाङ्कनभन्दा अगाडि गरिएको कार्यशाला र कलाकारसँग घुलमिल भएपछि आरतीलाई पात्रलाई जीवन्त बनाउन सहज भयो । फलतः चलचित्र हेर्नेले उहाँको भूमिकाको प्रसंशा गरेका छन् ।

“मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई चलचित्रले दर्शाउँछ । यसमा महिला नै मुख्य भूमिकामा हुनुहुन्छ, घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैँमा ठूलो विषय हो”, पत्रकार मण्डलले भन्नुभयो ।

उक्त चलचित्रमा पत्रकार मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवले समेत अभिनय गर्नुभएको छ । यस चलचित्रमा सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीको रङझैँ चित्रण गर्नुभएको छ । चलचित्रको मूलकथा र पात्र यी सात महिला नै हुनुहुन्छ ।

“मैले अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि जस्तो पनि लागेको थियो, तर मेरो अभिनय हेरेर मलाई अर्को भूमिका दिनुभयो । आगामी दिनमा यस्तै आफूलाई सुहाउँदो भूमिका प्राप्त भएमा अभिनय पनि गर्छु, साथै म आफ्नो सञ्चारकर्मलाई पनि अगाडि बढाउँछु”, पत्रकार मण्डलले भन्नुभयो ।

नेपाली चलचित्र प्रायः पुरुष पात्र केन्द्रित हुने गर्छन् । पारिश्रमिकको विषय होस् वा भूमिकाको प्रायः पुरुष नै अगाडि देखिने गर्छन् । थोरै यस्ता चलचित्र छन्, जसमा महिला कलाकार शीर्ष भूमिकामा रहन्छन् । महिला कलाकारले मात्र चलचित्रलाई व्यावसायिक सफलता दिलाउन नसक्ने सोच धेरै चलचित्रकर्मीमा पाइन्छ । तर, चलचित्र ‘राजागञ्ज’ महिला कलाकारकै वरपर घुमेको छ । निर्देशक रौनियारले चलचित्रमा सात महिला पात्रमार्फत कथावस्तुलाई अगाडि बढाउनुभएको छ । चलचित्रमा पुरुष पात्रको उपस्थिति सहायक भूमिकामा छ ।

चलचित्रमा निर्देशक रौनियारले एउटा दृश्य राख्नुभएको छ, जहाँ घुम्टोमा छोपिएर बस्नुभएकी एक महिलालाई पुलिस अफिसर महिलाले प्रश्न गर्नुहुन्छ । जहाँ महिला घुम्टो बाहिर आएर बोल्न डराएका छन्, त्यहीँ अर्की महिलाले प्रहरीको नेतृत्व गर्नुभएको छ । यो चलचित्रले प्रस्तुत गरेको विषय र महिलालाई प्रस्तुत गरेको शैली सुन्दर रहेको अभिनेत्री ऋचा शर्माले बताउनुभयो ।

“यस चलचित्रमा काम गर्दाको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । सात महिलामार्फत यसमा समाजलाई चित्रण गरिएको छ । महिलाको विभिन्न रुप यसमा प्रस्तुत गरिएको छ । मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । महिला कलाकारलाई केन्द्रमा राखेर कथा तयार गर्नु र त्यही अनुरुप चलचित्र निर्माण गर्न ठूलो आँट चाहिन्छ”, अभिनेत्री शर्माले भन्नुभयो ।

निर्देशक रौनियारले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको जानकारी दिनुभएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नेपलमा सार्वजनिक प्रदर्शनअगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।

 

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको बताउनुभएको छ । यस हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराममा रुस तुरुन्तै सहमत भएन किनकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहलको बारेमा प्रश्न उठाउनुभएको छ । “उनीहरू युद्धविराम अघि बलियो स्थिति चाहन्छन्”, जेलेन्स्कीले किएभमा एक पत्रकार सम्मेलनमा भन्नुभयो, “मलाई लाग्छ प्रक्रियाको ढिलाइ मैले भनेको कुराकै कारणले हो । उनीहरू युद्धक्षेत्रमा आफ्नो स्थिति सुधार गर्न चाहन्छन् ।”

युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि रुसले मोर्चाका धेरै क्षेत्रमा गति लिएपछि युद्धविरामको प्रस्ताव आएको हो । मस्कोले रुसको कुर्स्क क्षेत्रका भागहरूबाट युक्रेनी सेनालाई पनि हटाएको छ । त्यहाँ युक्रेनले गत गर्मीमा आश्चर्यजनक आक्रमण गरेको थियो ।

जेलेन्स्कीले युद्धविराममा सहमत नभएर पुटिन ट्रम्पको विरुद्ध पनि जाँदै गरेको भन्दै मस्कोमाथि युद्ध समाप्त नगर्ने तरिकाहरू खोज्ने प्रयास गरेको आरोप लगाउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबारे केही मैत्रीपूर्ण बयान दिनुभएको छ । “आज पुटिन ट्रम्पको प्रस्तावसँग सहमत नहुने व्यक्ति हुनुहुन्छ”, उहाँले भन्नुभयो ।उहाँले ३० दिनको युद्धविरामले दीर्घकालीन शान्तिमा वार्तालाई अनुमति दिने बताउनुभयो । यद्यपि उहाँले कुनै पनि क्षेत्र रुसलाई दिने कुरा अस्वीकार गर्नुभयो ।

“संयुक्त राज्य अमेरिकाले जेद्दामा भएको बैठकमा यो मुद्दा उठाएको थियो । उनीहरूले युक्रेनी स्थिति प्राप्त गरे”, साउदी अरबमा अमेरिका र युक्रेनी टोलीहरू बीचको वार्तालाई उल्लेख गर्दै जेलेन्स्कीले भन्नुभयो, “हाम्रो स्थिति यो हो कि हामीले कब्जा गरिएका युक्रेनी क्षेत्रहरूलाई कुनै पनि अवस्थामा रूसी भनेर मान्यता दिँदैनौँ ।” जेलेन्स्कीले क्षेत्रहरूको मुद्दा जटिल भएको र ‘वार्ताको टेबलमा पछि समाधान गर्नुपर्ने’ बताउनुभयो ।रुसले दक्षिणी र पूर्वी युक्रेनको ठूलो भाग कब्जा गरेको छ । मस्कोले चार युक्रेनी क्षेत्र पूर्ण रूपमा नियन्त्रण नगरेको भए पनि कब्जा गरेको दाबी गरेको छ ।

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा, ३ चैत : पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।

जितसँगै चर्च ब्वाइजले नगद रु १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ, भने उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद रु पाँच लाख प्राप्त गरेको छ । खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गर्नुभएको थियो । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित हुनुभयो । उहाँले नगद रु ११ हजार प्राप्त गर्नुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित हुनुभयो । उहाँले नगद रु ५१ हजार प्राप्त गर्नुभयो । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक हुनुभयो । उहाँहरूले जनही नगद रु २५ हजार र ट्रफ्री पाउनुभएको थियो ।

उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ हुनुभयो । उहाँलाई नगद रु २१ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा हुनुभयो । उहाँले नगद रु २१ हजार प्राप्त गर्नुभयो । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ घोषित हुनुभयो । उहाँले नगद रु २१ हजार प्रदान गरिएको थियो ।

उदियमान खेलाडीको पुरस्कार आयोजकका पर्शु राईले पाउनुभयो । उहाँलाई नगद रु १५ हजार प्रदान गरिएको थियो । फागनु २४ गतेदेखि सुरू प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।

यसैबीच, सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित हुनेहरुमा सङ्गीता राउत, सन्देश श्रेष्ठ, नरोत्तम गौतम, लुना प्रधान, लीला थापालगायत रहनुभएको थियो ।

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्दित

गोरखा, ३ चैत : गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरुषले स्वास्थ्य जाँच गराएको उहाँको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि पाठेघरको क्यान्सर स्क्रिनिङ (भिआइए) परीक्षण गराइएको थियो ।

भिआइए परीक्षण गराइएकामध्ये चार जनामा भने क्यान्सरको जोखिम भएको पाइएको प्रमुख श्रेष्ठको भनाइ छ । उनीहरूलाई पहिलो चरणमा थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार थालिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ ।

त्यस्तै शिविरमार्फत एक सय ४९ जनाले हाडजोर्नीसम्बन्धी उपचार सेवा लिए भने दुई सय ५४ जनाले अन्य विभिन्न रोगको जाँच गराएको उहाँले बताउनुभयो । शिविरमा १० जनाले दन्त उपचार, ९० जनाले स्त्रीरोगसम्बन्धी उपचार, २२ जनाले छाला रोगसम्बन्धी उपचार र ७३ जनाले प्रयोशालासेवा लिएका छन् ।

उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको प्रमुख श्रेष्ठले बताउनुभयो । ‘‘शिविरमा हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, जनरल ओपिडी परीक्षणदेखि लिएर निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको हो, उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।”सो क्रममा करिब रु तीन लाखभन्दा बढीको औषधि बिरामीलाई वितरण गरिएको छ । लायन्स क्लब अफ गोरखाकाली, प्रभु र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, ३ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रू २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रू २२, आलु रातो प्रतिकिलो रू ३५, आलु रातो (भारतीय) प्रतिकिलो रू ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रू ५८, गाजर (लोकल) प्रतिकिलो रू ४०, गाजर (तराई) प्रतिकिलो रू २५, बन्दा (लोकल) प्रतिकिलो रू १२, बन्दा (नरिवल) प्रतिकिलो रू १५, काउली (स्थानीय) प्रतिकिलो रू २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रू २०, मूला रातो प्रतिकिलो रू ४०, मूला सेतो (लोकल) प्रतिकिलो रू २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रू २५, भन्टा लाम्चो प्रतिकिलो रू ५० तथा भन्टा डल्लो प्रतिकिलो रू ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रू ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रू ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रू ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रू ९०, टाटे सिमी प्रतिकिलो रू ७०, तिते करेला प्रतिकिलो रू ११०, लौका प्रतिकिलो रू ४५, परबर (तराई) प्रतिकिलो रू १२०, घिरौला प्रतिकिलो रू ७०, झिगुनी प्रतिकिलो रू ७०, फर्सी पाकेको प्रतिकिलो रू ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रू १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रू १५ तथा भिण्डी प्रतिकिलो रू १२० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रू ४०, पिँडालु प्रतिकिलो रू ९०, स्कूस प्रतिकिलो रू ४०, रायो साग प्रतिकिलो रू ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रू ८०, तोरीको साग प्रतिकिलो रू ४०, मेथीको साग प्रतिकिलो रू ६०, प्याज हरियो प्रतिकिलो रू ३०, बकुला प्रतिकिलो रू ४०, तरूल प्रतिकिलो रू ९०, च्याउ (कन्य) प्रतिकिलो रू १३०, च्याउ (डल्ले) प्रतिकिलो रू २८० निर्धारण गरिएको छ । कुरलिो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रू ४०, चुकुन्दर प्रतिकिलो रू ६०, सजीवन प्रतिकिलो रू १५०, कोइराला प्रतिकेजी रू २००, रातो बन्दा प्रतिकिलो रू ५०, जिरीको साग प्रतिकिलो रू ५०, सेलरी प्रतिकिलो रू १५०, सौफको साग प्रतिकिलो रू ८०, पार्सले प्रतिकिलो रू ३३०, पुदिना प्रतिकिलो रू ३००, गान्टे मूला प्रतिकिलो रू ६०, इमली प्रतिकिलो रू १६०, तामा प्रतिकिलो रू १००, तोफु प्रतिकिलो रू १२० र गुन्द्रुक प्रतिकिलो रू ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रू २५०, स्याउ (फूजी) प्रतिकिलो रू ३५०, केरा (दर्जन) रू १५०, कागती प्रतिकिलो रू २५०, अनार प्रतिकिलो रू ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रू २००, अङ्गुर (कालो) प्रतिकिलो रू २५०, सुन्तला (भारतीय) प्रतिकिलो रू १२०, मौसम प्रतिकिलो रू २००, जुनार प्रतिकिलो रू १५०, काँक्रो (लोकल) प्रतिकिलो रू ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रू ४०, निबुवा प्रतिकिलो रू ५०, नासपाती (चाइनिज) प्रतिकिलो रू २५०, मेवा (नेपाली) प्रतिकिलो रू ५०, मेवा (भारतीय) प्रतिकिलो रू ११०, लप्सी प्रतिकिलो रू १००, खरबुजा प्रतिकिलो रू ४५, स्ट्रबेरी प्रतिकिलो रू २००, किबी प्रतिकिलो रू ४००, अमला प्रतिकिलो रू १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रू १००, खुर्सानी सुकेको प्रतिकिलो रू ३२५, खुर्सानी हरियो प्रतिकिलो रू १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रू ११०, भेडे खुर्सानी प्रतिकिलो रू १००, लसुन हरियो प्रतिकिलो रू ६०, हरियो धनिया प्रतिकिलो रू ८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रू २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रू २३०, छ्यापी सुकेको प्रतिकिलो रू १६०, छ्यापी हरियो प्रतिकिलो रू ७०, ताजा माछा (रहु) प्रतिकिलो रू ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रू २६०, ताजा माछा (छडी) प्रतिकिलो रू २४०, रूख टमाटर प्रतिकिलो रू १८०, राजा च्याउ प्रतिकिलो रू ३०० र सिताके च्याउ प्रतिकिलो रू ८०० तोकेको छ ।

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ३ चैत : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बाग्मती नदी किनारमा भएको सफाइबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको ६१८औँ हप्तामा शङ्खमूल दोभानस्थित बाग्मतीको सेतो पुल क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीयवासी, आलोकनगर बाग्मती सफाइ समूहको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

यही चैत ९ गते शनिबार ६१९औँ हप्तामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ । विशेष कार्यक्रमका साथ गरिने उक्त दिनको सरसफाइ अभियानमा सहभागिताका लागि महाअभियानले अपिल गरेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएको छ । महाअभियानबाट प्रभावित भएर देशका मुख्य नदी, सहर गरी १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मी डा माला खरेलले जानकारी दिनुभयो ।

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, बैठक आज बस्ने

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पु¥याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले जानकारी दिनुभयो ।

आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा अध्यक्ष दाहालले जनताको बलमा चुनावमा जाने बताउनुभयो । विसं २०६४ को निर्वाचनमा आफ्नै मुद्दाको बलमा विजयी भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आगामी दिनमा माओवादी केन्द्रले कांग्रेस र एमालेसँग समीकरण गर्दैन, आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छौँ ।”

पार्टीभित्र गुटबन्दी, अराजकतावादी तथा व्यक्तिवादी आत्मकेन्द्रित हुने प्रक्रिया बढेकाले पार्टीमा सङ्गठनात्मक गतिविधि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो नबढेको अध्यक्ष दाहालको भनाइ थियो । पार्टीका गतिविधि गतिशील बनाएर अघि बढ्दै यथास्थितिलाई तोडेर नयाँ यथार्थतिर र नयाँ प्रक्रियातिर जाने सङ्कल्प लिएको उहाँले बताउनुभयो ।

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र र जनताको समाजवादी गणतन्त्रबीच ठूलो वैचारिक सङ्घर्षको फाइदा उठाएर राजावादीहरूले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा पार्टीका जिल्ला सदस्य, विभिन्न भ्रातृ सङ्गठनका पदाधिकारी प्रतिनिधिलगयतको सहभागिता रहेको थियो ।

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ३ चैत : घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ । 

विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो । 

मालपोत कार्यालय कलङ्कीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । 

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २९ पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८० पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन

बन्दीपुर (तनहुँ), ३ चैत : आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो ।

केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।”

उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ”, सहायक प्रबन्धक हुसेनले बताउनुभयो ।

मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।

एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

वीरगञ्ज (पर्सा), २ चैतः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको सात महिनामा नौ जिल्लामा चार सय २० वटा अनुगमन गरेर रु १३ लाख दश हजार जरिवाना सङ्कलन गरेको छ ।

उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज यहाँ अयोजना गरेको सरोकारवाला निकायबीच शनिबार अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

कार्यालयका निमित्त प्रमुख सुनिल चौरसियाका अनुसार कार्यालयसँग ११ जना जनशक्ति भए पनि बजार अनुगमन भने १० जिल्लामा गर्नुपर्ने जिम्मेवारी छ । कार्यालयले मधेश प्रदेशका आठ, बाग्मती प्रदेशका चितवन र मकवानपुर गरी १० जिल्लाको बजार अनुगमन गर्नु परिरहेको उहाँले जानकारी दिनुभयो । सीमित जनशक्तिका बाबजुद चालु आवका सात महिनामा चार सय २० पटक बजार अनुगमन गरिएको निमित्त प्रमुख चौरसियाले बताउनुभयो ।

“कार्यालयसँग सीमित स्रोधसाधन र जनशक्ति छ त् पनि नौ जिल्लामा बजार अनुगमन गरिरहेका छौँ । सप्तरी जिल्लामा अनुगमन गर्न समस्या भएको छ”, चौरसियाले भन्नुभयो,‘‘सबैभन्दा धेरै बजार अनुगमन पर्सा जिल्लामा भएको छ । यहाँ एक सय ५७ पटक बजार अनुगमन गरेर रु चार लाख ९५ हजार जरिवाना असुलउपर गरिएको छ ।”

बजार अनुगमनको जिम्मेवारी कार्यालयसँग मात्रै सीमित छैन । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय मातहत पनि नियमित बजार अनुगमन हुने गरेको छ । कार्यालयले गत आवमा पाँच सय ११ पटक बजार अनुगमन गरेर रु छ लाख ३० हजार जरिवाना सङ्कलन गरेको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले सबै सरकारी निकाय र उपभोक्ता आफैँ पनि जिम्मेवार भएर उपभोक्ता हित संरक्षणका लागि हातेमालो गरेर अघि बढ्न जरूरी रहेको बताउनुभयो । “बजारलाई स्वस्थ र प्रतिस्पर्धी बनाउनको लागि बहुसरोकारवालाको भूमिका हुने गर्दछ”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले पनि निरीक्षण अधिकारीका रूपमा र संयुक्त बजार अनुगमन टोलीमा सहभागी भएर भूमिका निर्वाह गर्दै आइरहेको छ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता र उद्योगी दुवै ठगिएको बताउनुभयो । “राज्यका निकायले विभिन्न समस्या देखाएर प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता र उद्योगी दुवै ठगिनुपरेको छ । प्रहरी र अन्य सरकारी निकायबाट विभिन्न समयमा अनुगमन भए पनि यसले समस्या समाधान हुनसकेको छैन । यसर्थ बजार अनुगमन गर्ने प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

उद्योग विभागका निमित्त महानिर्देशक रिमा साहले व्यापारी र उपभोक्ता दुवै सजग र सर्तक भएर वस्तु तथा सेवाको बिक्री तथा किनमेल गर्नुपर्ने बताउनुभयो । उपभोक्ता हित संरक्षणमञ्च नेपाल पर्साका उपाध्यक्ष अजित भुजेलले उपभोक्ता संरक्षण ऐन, २०७५ आएको छ वर्षपछि उपभोक्ता अदालत सञ्चालनमा आउनु सकारात्मक रहेको बताउनुभयो ।

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली आक्रमणमा पत्रकारहरूसहित नौ जनाको मृत्यु भएको बताएको छ । उक्त आक्रमणलाई हमासले नाजुक युद्धविरामको ‘स्पष्ट उल्लङ्घन’ भनेर निन्दा गरेको छ ।

“बेइत लाहिया सहरमा ड्रोनले एक गाडीलाई लक्षित गरेको र साथै सोही क्षेत्रमा तोपखाना गोलाबारी गरेको परिणामस्वरूप नौ शहीद (अस्पताल) मा स्थानान्तरण गरिएका छन्, जसमा केही पत्रकार र अल–खैर चेरिटेबल अर्गनाइजेशनका केही कार्यकर्ता समावेश छन्”, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भन्नुभयो ।

हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण उत्तरी गाजा पट्टीको इन्डोनेसियाली अस्पतालमा गम्भीर मामिलासहित नौ जना शहीद र धेरै घाइते भएको रिपोर्ट गरेको छ ।

“सेनाले दुई आतङ्कवादीलाई आक्रमण गर्‍यो… एक जनाले ड्रोन सञ्चालन गरिरहेका थिए जसले बेइत लाहिया क्षेत्रमा आइडिएफ सैनिकहरूलाई खतरा निम्त्याएको थिए”, इजरायली सेनाले एक वक्तव्यमा भनेको छ, “पछि धेरै अतिरिक्त आतङ्ककारीहरूले ड्रोन सञ्चालन गर्ने उपकरणहरू सङ्कलन गरे र एउटा गाडीमा प्रवेश गरे, आइडिएफले आतङ्ककारीहरूलाई प्रहार गर्‍यो ।”

आक्रमणपछि हमासले इजरायललाई गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगायो ।

“कब्जाकारी (इजरायल) ले पत्रकार र मानवीय कार्यकर्ताहरूको समूहलाई लक्षित गरेर उत्तरी गाजा पट्टीमा एक भयानक नरसंहार गरेको छ, यो युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो”, हमास प्रवक्ता हाजेम कासिमले एक वक्तव्यमा भन्नुभयो ।

गाजामा हमास–सम्बद्ध मिडियाका निर्देशक इस्माइल थवाब्तेहले स्थानीय फोटो पत्रकारहरू ‘बेइत लाहियामा रमदानको भोजन टेबलको छवि खिच्न गर्न ड्रोन प्रयोग गरिरहेको’ बेला मारिएको बताउनुभयो ।

उहाँका अनुसार उनीहरू उनीहरूको काम स्पष्ट हुँदाहुँदै पनि कब्जाकारीद्वारा दुई हवाई आक्रमणमा प्रत्यक्ष लक्षित भए ।इजरायलले मार्चको सुरुदेखि गाजामा लगभग दैनिक हवाई आक्रमणहरू गरेको छ । प्रायः सेनाले भनेअनुसार विस्फोटक उपकरणहरू रोप्ने लडाकूहरूलाई लक्षित गरेको छ ।

आक्रमणका बावजुद र युद्धविराम विस्तार गर्ने कुनै सहमति नभएको भए पनि जनवरी १९ देखि हमाससँगको इजरायलको युद्धमा युद्धविराम धेरै हदसम्म कायम छ ।युद्धविरामको पहिलो चरण मार्च १ मा समाप्त भयो तर इजरायल र हमास दुवैले पूर्ण युद्धमा फर्कनबाट जोगिएका छन् ।

‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’ – मन्त्री अधिकारी

चितवन, २ चैतः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही अध्यादेश पारि गरिबी निवारण भइसकेका र अब सो अध्यादेश आवश्यकतानुसार पेस हुने बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “सरकारले कुनै न कुनै बाटोबाट ल्याउँछ । ६० दिन पुगे पनि अरू बाटाहरू पनि छन् । राष्ट्रियसभामा बहुमत पुग्नासाथ अध्यादेश पेस हुन्छ । सरकारले गरेका कामलाई सधँै नकारात्मक दृष्ट्रिले मात्रै हेर्न हुँदैन ।” उहाँले सरकार गरिब तथा सुकुम्वासीको समस्या समाधानका लागि काम गर्न तत्पर रहेको भन्दै फाइदा–बेफाइदा हेरेर धारणा बनाउँदा समस्या भएको जिकिर गर्नुभयो ।

मन्त्री अधिकारीले सहकारीसम्बन्धी समस्या समाधानका लागि ल्याएको अध्यादेश पारित भएर कानुन बन्ने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार सहकारीलाई नियमन गर्न लागेको छ । त्यहीअनुसार काम हुन्छ ।” फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले सरकारले विशिष्ट व्यक्तिहरूको सुविधाका विधिलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताः आठ टोली फाइनलमा

किमाथाङ्का (सङ्खुवासभा), २ चैतः सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा आठ टोली फाइनलमा प्रवेश गरेका छन् । मादी नगपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन् ।

आज ओखरबोटे बजारको कभर्डहलमा भएको सेमिफाइनल खेलबाट पुरुष डबल भेट्रान्सतर्फ पोखराका विशाल खड्का, मोरङका उत्तम सिम्खडा र सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । खुल्ला पुरुष डबलतर्फ उदयपुरका विनय चौधरी, मोरङका लाक्पा शेर्पा र सङ्खुवासभाका सुनिलजङ्ग कार्की भोजपुरका विशाल तामाङ फाइनल प्रवेश गरेका छन् । पुरुष डबस ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई, दिवन तामाङ र सङ्खुवासभाका सन्दीप भगत र गङ्गालाल श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । त्यसैैगरी, महिला डबल उदयपुरका रोजी राई, सृष्टि राई र इलामकी निशामहाङ्मा सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठ फाइनल प्रवेश गरेका छन् ।

‘विकास, अनुशासन र गतिशीलताका लागि पृथक पहिचान, मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका विभिन्न राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको नगरप्रमुख जीवन लिङ्थेपले बताउनुभयो । पुरुष डबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद रु ७५ हजार, रु ५० हजार र रु २०/२० हजार प्राप्त गर्नेछन् । पुरुष डबल भेट्रान्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार, रु ३० हजार र रु १०/१० हजार प्राप्त गर्नेछन् ।

यस्तै, महिला डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ४० हजार, रु ३० हजार र रु १०/ १० हजार प्राप्त गर्नेछ । ब्याडमिन्टन प्रतियोगितामा ५९ वटा टोलीले सहभागी भएका आयोजकले जनाएको छ । आइतबार प्रतियोगिताको समापन खेल हुँदैछन् ।

फुङ्लिङमा ‘मकै घर’, बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने

फुङ्लिङ (ताप्लेजुङ), २ चैतः जिल्ला सदरमुकाम फुङ्लिङमा आजदेखि बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने भएको छ । यहाँ स्थानीय उद्यमी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा ‘मकै घर’ स्थापना भएको छ ।

पहाडी र हिमाली क्षेत्रमा हरियो मकै खान वर्ष दिन कुर्नुपर्ने बाध्यता रहँदै आएकामा मकै घर सञ्चालनपछि अब बाह्रै महिना त्यसको स्वाद लिन पाइने छ । मकै उत्पादनमा संलग्न किसानहरूको प्रोत्साहन, मकैको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख काशिराम पाण्डेले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँ सञ्चालित मकै जोन कार्यक्रमअन्तर्गत यो घर सञ्चालनमा ल्याएको हो । कार्यालय प्रमुख पाण्डेका अनुसार यहाँ पोलेको हरियो मकैका साथै मकैबाट बन्ने विविध परिकार उपलब्ध हुनेछन् । “मकैका परिकार लोप हुने क्रममा छन् । यसको प्रवर्द्धन र महत्व बुझाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । परियोजनाले एक लाख २७ हजार अनुदान र उद्यमीले सोही बराबरको लगानी गरेका छन्”, उहाँले भन्नुभयो ।

मकैको चटपटे, हलुवा, रोटी, पकौडा, सुप, मोमो र पराठाजस्ता परिकार उपलब्ध गराइने मकै घर सञ्चालक यशोदा गिरीले बताउनुभयो । मकै उत्पादनमा संलग्न किसानहरूलाई पनि मकै घर स्थापनाले प्रत्यक्ष फाइदा पुग्ने उहाँको विश्वास छ ।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजेन्द्र भारतीका अनुसार हरियो मकै प्रतिघोगा रु १० मा बिक्री हुने भए पनि पोलेर बिक्री गर्दा रु २० भन्दा बढीमा बेच्न सकिने भएकाले यसमा राम्रो आम्दानीको सम्भावना छ । उहाँले ३६५ दिन नै ‘अग्र्यानिक’ हरियो मकैका परिकारको स्वाद लिन पाउने भएकाले उपभोक्ता र किसान दुवै लाभान्वित हुने बताउनुभयो ।

वैशाखदेखि मङ्सिरसम्म ताप्लेजुङमा हरियो मकै उत्पादन हुने गरेको छ । मकै घर स्थापनापछि किसानहरूले आफ्नो उत्पादनको भरपुर लाभ लिन सक्नेभन्दै कृषक कमल विष्टले खुसी व्यक्त गर्नुभयो । यस कार्यले बेंसीदेखि हिमाली क्षेत्रका किसानलाई बजार पहुँच दिलाउने र उत्पादनमा वृद्धि गराउने अपेक्षा गरिएको छ ।

मकै घर स्थापना पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । फुङ्लिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय स्वादका रूपमा पोलेको हरियो मकै र अन्य परिकारको स्वाद लिन पाउनेछन् । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र कृषि उत्पादनमा समेत सुधार ल्याउने परियोजना कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

महोत्तरी, २ चैतः महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ ।

गत मङ्सिर २६ गते उखु क्रसिङ सुरु गरेको उद्योगले बिहीबार उखु नपुगेपछि यसपालिको क्रसिङ रोक्नुपरेको जनाएको छ । उद्योगले यसपालि लक्ष्यभन्दा चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । “हामीले यसपालि ९२ दिनमै क्रसिङ बन्द गर्नु पर्‍यो, उखु नै नभएपछि यसपालिको क्रसिङ लक्ष्य प्राप्त गर्न सकिएन”, उहाँले भन्नुभयो ।  

शुक्लाका अनुसार उद्योग सञ्चालनका ९२ दिनमा छ दिन उखु अभावले क्रसिङ रोक्नुपरेको र २५ दिन क्षमता घटाएर क्रसिङ गर्नुपरेको थियो । यसपालि उद्योगले कम्तीमा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य निर्धारण गरे पनि ३१ लाख तीन हजार ५१ क्विन्टल मात्र क्रसिङ गरिएको उहाँले गुनासो गर्नुभयो । यसपटक तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य पनि उखु अभावले पूरा हुन नसकेको उद्योग प्रशासनले जनाएको छ । 

यसैबीच उद्योगले फागुन २५ सम्म किसानबाट ल्याइएको उखुको भुक्तानी दिइसकेको जनाएको छ । यस अवधिमा पाँच दिन पहिलेसम्मको ३० लाख ८० हजार क्विन्टल उखुको रु एक अर्ब ७० करोड ५७ हजार भुक्तानी दिइसकिएको महाप्रबन्धक शुक्लाले जानकारी दिनुभयो । यसपालि चिनी उत्पादनको परिणाम यकिन गर्नभने अझै केही दिन लाग्ने उद्योगले जनाएको छ

पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी प्रक्रिया क्रमशः सरल बनाउँदै लगेर यसपालि प्रत्येक पाँच दिनमा उखुको भुक्तानी किसानको खातामा चुक्ता गरेको छ । भुक्तानी प्रक्रिया सरलीकृत भए पनि उचित मूल्य नपाएपछि उखु किसान निराश भएका र यसले गर्दा उत्पादन घट्दा फागुनमै उद्योगले उखु अभाव खेप्नुपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ ।  

किसानले उखुको प्रतिक्विन्टल रु ७५० पाउनुपर्ने माग राख्दै आएका थिए तर सरकारले गत वर्षको मूल्यमा प्रतिक्विन्टल रु २० मात्र बढाएर ५८५ कायम गरेको छ । उद्योगीले दिने मूल्यबाहेक सरकारले रु ७० अनुदान दिने व्यवस्था गरेको छ । यसअनुसार किसानले उखुको मूल्य प्रतिक्विन्टल रु ६५५ पाउनेछन् । 

यस वर्ष उद्योगले लक्ष्यअनुसार उखु क्रसिङ हुन नसके पनि गत वर्षभन्दा दुई लाख क्विन्टलभन्दा बढी क्रसिङ गरेको छ । गत वर्ष (२०८०/८१) को  ‘सिजन’ मा २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरिएको थियो । 

बन्धक प्रस्तावपछि हमासले भन्यो– ‘बल इजरायलको कोर्टमा छ’

गाजा युद्धविराम वार्ताको एक हिस्साका रूपमा इजरायली–अमेरिकी बन्धकलाई रिहा गर्ने र अन्य चार जनाको शव फिर्ता गर्ने प्रस्ताव गरेपछि हमासले शनिबार ‘बल इजरायलको कोर्टमा छ’ भनेको छ । शुक्रबारको प्रस्तावपछि इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूतको प्रस्तावपछि प्यालेस्टिनी लडाकूहरू ‘एक मिलिमिटर पनि विचलित नभएको’ बताएको छ ।

जनवरीमा शुरू भएको युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणको बारेमा सहमति नभई समाप्त भयो । हमासका एक अधिकारीले वार्ता मङ्गलबार दोहामा शुरू भएको बताए । “बल इजरायलको कोर्टमा छ”, हमासका प्रवक्ता अब्दुल लतिफ अल–कानोउले इजरायललाई यसको कार्यान्वयनमा ‘ढिलाइ’ गरेको आरोप लगाउँदै भन्नुभयो, “हामी युद्धविराम सम्झौतालाई बलियो बनाउन चाहन्छौँ र (इजरायल) लाई यसका सर्तहरू कार्यान्वयन गर्न बाध्य पार्न चाहन्छौँ ।”

उहाँले मार्च २ देखि गाजामा मानवीय सहायता प्रवेशमा भइरहेको अवरोधलाई औँल्याउनुभयो ।हमासको राजनीतिक ब्युरोका एक सदस्यले अज्ञात रूपमा बोल्दै एएफपीलाई हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा अपहरण गरिएका २१ वर्षीय सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने र अन्य चार इजरायली–अमेरिकी बन्धकहरूको शव फिर्ता गर्ने प्रस्ताव ‘अद्वितीय सम्झौता’ को हिस्सा भएको बताए ।

अधिकारीका अनुसार बदलामा इजरायलले प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ र यसको सङ्ख्या अझै वार्तामा रहेको छ ।अधिकारीका अनुसार वार्ता ५० दिनको अवधिभित्र समाप्त हुने गरी प्रस्तावित आदान–प्रदान युद्धविरामको दोस्रो चरणको कार्यान्वयनका लागि एकै समयमा वार्ता शुरू गर्ने सर्त गरिएको थियो ।

प्रस्तावले गाजामा मानवीय सहायता प्रवेशका लागि सबै सीमा क्रसिङहरू तुरुन्तै खोल्न र फिलाडेल्फिया करिडोरबाट इजरायली सेना फिर्ता लिने आह्वान पनि गरेको उनले बताए ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार हमासलाई ‘हेरेफेर र मनोवैज्ञानिक युद्धमा’ भर परेको आरोप लगाएको थियो ।नेतान्याहुको कार्यालयले ‘वार्ता टोलीबाट विस्तृत प्रतिवेदन प्राप्त गर्न र बन्धकहरूलाई मुक्त गर्ने दिशामा अर्को कदमहरू निर्णय गर्न’ प्रधानमन्त्री नेतन्याहुले शनिबार अबेर धेरै मन्त्रीहरूसँग भेट्नुहुने बताएको छ ।

ह्वाइट हाउसले शुक्रबार हमासलाई ‘पूर्ण रूपमा अव्यावहारिक’ मागहरू गरेको र ‘समय आफ्नो पक्षमा छ भनेर धेरै खराब शर्त लगाएको’ आरोप लगाएको छ । जनवरी १९ मा लागु भएको युद्धविरामको प्रारम्भिक छ हप्ताको चरणमा लडाकूहरूले इजरायली जेलमा रहेका लगभग एक हजार आठ सय प्यालेस्टिनी बन्दीहरूको सट्टामा आठजना मृतकसहित ३३ जना बन्धकलाई रिहा गरेका छन् । गाजामा अझै ५८ बन्धक छन् । तीमध्ये ३४ जनालाई इजरायली सेनाले मृत घोषित गरेको छ ।

युक्रेनमा युद्धविरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ विश्व नेताहरूलाई स्टार्मरको आग्रह

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा गर्दै मित्रराष्ट्रहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्धविराम गर्न ‘दबाब कायम राख्न’ आग्रह गर्नुभएको छ ।आफ्नो प्रारम्भिक टिप्पणीमा शनिबार स्टार्मरले पुटिन ‘ढिलो वा चाँडो’ वार्ताको ‘टेबलमा आउनुपर्ने’ बताउनुभयो ।मार्च २ मा भएको पहिलो शिखर सम्मेलनको विपरीत स्टार्मरले ‘इच्छुकहरूको गठबन्धन’ भनेको बैठक भर्चुअल रूपमा सञ्चालन भइरहेको छ ।

भर्चुअल बैठकमा देशहरूले युक्रेनलाई सैन्य र वित्तीय रूपमा कसरी मद्दत गर्न सक्छन् र पुटिनले युद्धविराम गर्न समर्थन गरेको खण्डमा भविष्यमा हुनसक्ने शान्ति स्थापना मिसनको लागि समर्थन मापन गर्ने अपेक्षा गरिएको छ ।

“मेरो अनुभव के हो भने चाँडो होस् या ढिलो उहाँ टेबलमा आउनु पर्नेछ र गम्भीर छलफलमा संलग्न हुनु पर्नेछ, तर — यो ठूलो कुरा हो तर आज बिहान हाम्रो बैठकमा — हामी केवल बसेर त्यो हुने प्रतीक्षा गर्न सक्दैनौँ”, स्टार्मरले टेन डाउनिङ स्ट्रिटको कार्यालयमा स्क्रिनको अगाडि बसेर नेताहरूलाई भन्नुभयो, “मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् र स्पष्ट रूपमा सैन्य क्षमताको सन्दर्भमा, कोषको सन्दर्भमा, हामी सबैबाट युक्रेनलाई थप समर्थनको प्रावधानको सन्दर्भमा सुदृढ बनाउनु हो ।”

फ्रान्स, इटाली र युक्रेन जस्ता युरोपेली साझेदारहरूसहित करिब २५ वटा देश बैठकमा संलग्न हुने अपेक्षा गरिएको छ । अस्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डका नेताहरूका साथै नाटो र युरोपेली सङ्घ (इयु) का कार्यकारी अधिकारीहरूले पनि भाग लिने तयारी गरिएको छ । बैठकमा अमेरिकाको प्रतिनिधित्व छैन ।

शनिबारको बैठक युक्रेनमा ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्तावको प्रकाशमा हुँदैछ, जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले समर्थन गर्नुभएको छ । पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने सङ्केत दिनुभएको छ तर युद्धविराममा सहमत हुनुअघि स्पष्ट गर्नुपर्ने धेरै विवरणहरू प्रस्तुत गर्नुभएको छ ।

“आज बिहान हामीसँग रहेका राष्ट्रपति जेलेन्स्कीले युक्रेन शान्तिको पार्टी हो भनेर फेरि एकपटक देखाउनुभएको छ, किनभने उहाँ ३० दिनको बिना शर्त युद्धविराममा सहमत हुनुभएको छ र प्रतिबद्ध हुनुहुन्छ” स्टार्मरले भन्नुभयो, “अब हामीले के देख्छौँ, र यो आज हाम्रो छलफलको केन्द्रविन्दु हो, पुटिनले ढिलाइ गर्न खोजिरहनुभएको छ ।”

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि संयुक्त राज्य अमेरिकाले युद्धका बारेमा आफ्नो दृष्टिकोण परिवर्तन गरेको छ । ट्रम्पका पूर्ववर्ती जो बाइडेनको तुलनामा दृष्टिकोणमा परिवर्तन फेब्रुअरी २८ मा ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच झडप भएपछि विशेष रूपमा उल्लेखनीय भयो ।

शुक्रबार ट्रम्पले यस हप्ताको सुरुमा अमेरिकी प्रतिनिधि दूत स्टिव विटकफसँग भेट गर्नुभएका पुटिनले युद्धविरामलाई समर्थन गर्नुहुन्छ भन्ने आशावाद व्यक्त गर्नुभयो । “म युद्धविरामको दृष्टिकोणबाट र अन्ततः एउटा सम्झौताका बारेमा रुसबाट केही राम्रा सङ्केतहरू आउँदैछन् भन्ने कुरा प्राप्त गर्दैछु”, ट्रम्पले भन्नुभयो ।

आंशिक रूपमा ट्रम्पलाई किएभलाई समर्थन जारी राख्न मनाउन स्टार्मरले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर ‘इच्छुकहरूको गठबन्धन’ एकत्रित गर्न नेतृत्व लिनुभएको छ । एउटा परिणाम पहिले नै विशेष गरी युरोपेली देशहरूबाट आफ्नो सुरक्षा सुनिश्चित गर्न अधिक गर्नुपर्ने स्वीकार्यता बढ्दै गएको छ । यसमा आफ्नो रक्षा खर्च बढाउने पनि समावेश छ । एलिसीका तस्बिरहरूमा म्याक्रोन र उहाँका सहयोगीहरूले फ्रान्सेली राष्ट्रपति दरबारको कोठामा स्टार्मरको उद्घाटन वक्तव्य सुन्दै गरेको देखाइएको छ । रुसको पूर्णस्तरको आक्रमणको तीन वर्षपछि अग्रपङ्क्तिका केही भागमा गम्भीर सैन्य दबाबमा रहेको युक्रेनले युद्धविराम प्रस्तावलाई पहिले नै समर्थन गरिसकेको छ । रुसको सेनाले युद्ध क्षेत्रमा गति हासिल गरेको छ र विश्लेषकहरूका अनुसार पुटिन सम्भवतः आफूसँग लाभ भएको महसुस गर्दा युद्धविराममा हतार गर्न अनिच्छुक हुनुहुनेछ । “यदि पुटिन ‘शान्तिका लागि गम्भीर हुनुहुन्छ’ भने उहाँले युक्रेनमा ‘आफ्नो बर्बर आक्रमणहरू रोक्नु पर्छ’ र युद्धविरामका लागि सहमत हुनुपर्दछ”, स्टार्मरले भन्नुभयो, “संसारले हेरिरहेको छ ।”

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । शनिबार बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो ।

क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ ।

भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।

‘समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो’ : महासचिव पोखरेल

काठमाडौँ, २ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ ।
एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवद्र्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको बताउनुभयो ।

महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण महिला पछाडि पारिएका टिप्पणी गर्नुभयो । महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उहाँले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्छ भन्नुभयो ।

महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको बताउनुभयो ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलन कमजोर भएको भन्दै सबै राजनीतिक दलले महिलालाई अगाडि सार्नुपर्ने बताउनुभयो ।संविधानले महिला अधिकारलाई सुनिश्चित गरे पनि अझै पनि त्यो पूरा हुन नसकेको उहाँले बताउनुभयो ।

आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २ चैतः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज घिमिरे पक्राउ परेका छन् । निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

चार जना मृत भेटिए

यसैबीच, झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारे बस्ने ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा आज मृत अवस्थामा फेला परेका छन् ।     झापाकै मेचीनगर नगरपालिका–१५ गाईनोबारी बस्ने ३२ वर्षीय वीरबहादुर राजवंशी पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका–५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा  नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।    रौतहट, चन्द्रपुर नगरपालिका–७ स्थित आमो खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष मृत भेटिएका समाचारकक्षले प्रकाशन गरेको आजको समाचार बुलेटिनमा जनाइएको छ । 

‘आउटलः दफा २१९’बाट फर्किएका सुशीलको तारिफ नै तारिफ

बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । आज शनिबार पनि फिल्म हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगे ।नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ ।
फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि यो फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै फिल्मसँग तुलना गरिरहेका छन् ।

४ वर्षपछि नायक सुशील श्रेष्ठ फिल्ममा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो ।तर, सुशीलले यतिबेला सबैको तारिफ बटुलिरहेका छन् । सामाजिक संजालमा पनि फिल्म हेरेर फर्किएका दर्शक, फिल्मीकर्मी र पत्रकारहरुले सुशीलको काम र मिहिनेतको तारिफ गरिरहेका छन् ।फिल्म ‘आउटलः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् ।

हलमा पुगेका सुशीललाई दर्शकहरुले उत्साहजनक रुपमा साथ दिएपछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन् । आफूहरुले गरेको मिहिनेतको प्रतिफल पाएको सुशील बताउँछन् ।
काठमाडौंमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकार तथा कलाकारहरुले पनि यो फिल्मको मुक्तकण्ठले प्रशंसा गरे । फिल्मले शनिबारसम्म राम्रो दर्शक पाएको निर्माता अमित अग्रहरि बताउँछन् ।

शनिवार ‘अञ्जिला’को बम्पर व्यापार: शो थप हुने बित्तिकै हाउसफूल हुँदा दङ्ग छु – निर्देशक

काठमाडौं – बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन देखि नै चर्चा सुरु भएको यो चलचित्र हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।

दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् । टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्, जसले चलचित्रको लोकप्रियतालाई अझ बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।

यो चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले स्वतन्त्र समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । सोसल मिडियाहरूमा चलचित्रका बारेमा आएका समीक्षाहरू सबै सकारात्मक छन् भने, उनीहरूले ‘अञ्जिला’ले नेपाली चलचित्र उद्योगमा नयाँ रेकर्ड राख्न सक्ने सम्भावना जताएका छन् । यस चलचित्रको कथा, निर्देशन, अभिनय र गीत-संगीतलाई व्यापक प्रशंसा मिलिरहेको छ ।

चलचित्रको टिम दर्शकहरूको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ । निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिए । “चलचित्र निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइन । शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दङ्ग छु । ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको भए पनि शनिवारको बम्पर व्यापारले उत्साहित बनाएको छ । चलचित्र हेरेर दर्शकहरू भावुक भएका छन्, र यो चलचित्रले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ,” निर्देशक चाम्सले भने ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

धरान (सुनसरी), २ चैतः आज यहाँ सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्प सेर्माले जितेकी छिन् । प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिका–१८ को संयोजन र धरान उपमहानगरपालिकाको सहयोग रहेको थियो ।

उपाधि विजेता सुरज लिम्बूले ३४ मिनेट ४५ सेकेन्ड र पुष्पा सेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो । विजेता दुवै जनालाई नगद रु २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । विजेता दुवै जनाले सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो । 

जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिताअन्तर्गत धरान–१८ स्थित रत्न चोकबाट सुरु भएको दौड मङ्गलबारे, सर्दु पुल, भञ्ज्याङ हुँदै गोर्खा स्मृति पार्क पुगेर समापन भएको थियो । प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटालगायत जिल्लाबाट ४०० बढीको सहभागिता रहेको अध्यक्ष राईले बताउनुभयो ।

प्रतियोगिताका अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्वब्रिटिस गोर्खा सैनिक दलबहादुर राई र धरान १८ रत्नचौक निवासी ज्येष्ठ नागरिकहरूलाई  सम्मान गरिएको छ ।

होस्टल ३ का हिरो कुल व्यायले गरे के.एल. टावर पुगेर स्मार्ट पोइन्टको उद्घाटन, देखियो यस्तो भव्य माहोल

काठमाडौँ । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गरेका छन् । काठमाडौँको के।एल। टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्ट फेसन हाउसको शनिबार एक कार्यक्रमका बिच कुलले उद्घाटन गरेका हुन् । डक्टर डेनिमका ब्राण्ड एम्बासडर समेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । सो अवसरमा कुलले संचालक जयराम भण्डारीको लगनशिलताको पनि खुलेर तारिफ गरेका थिए । अभिनेता समेत रहेका कुलले डक्टर डेनिम लगाएर स्मार्ट बन्न आग्रह गरेका थिए । नेपाली ब्राण्डको एक क्लोथिङ्ग ब्राण्ड हो डक्टर डेनिम । जसले पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्दै आइरहेको । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ संचालनमा आएको डक्टर डेनिमसँग कुल केही वर्ष रहनेछन् ।

डक्टर डेनिमलाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने कुलले बताए । सो अवसरमा स्मार्ट पोइन्ट फेसन हाउसका संचालन जयराम भण्डारीले आफ्नो पसल केएल टावरमा रहेको भएता पनि सामानहरु सस्तो मूल्यमा पाइने बताए । ब्यबसायको क्षेत्रमा करिब १ दशकदेखि लागी पर्दै आएका उद्यमी भण्डारीले आम दर्शकलाई एक पटक स्मार्ट पोइन्टको भिजिट गर्नका लागि सबैकमा अपिल गरेका छन् ।

भण्डारीले आँफुले ब्यबसायको क्षेत्रलाई निकै नै आशालाग्दो क्षेत्र भएका कारण लामो समयदेखि यही क्षेत्रमा लागिपरिरहेको दोहोर्याए । त्यस्तै स्मार्ट पोइन्ट फेसन हाउसकी प्रोपाइटर मेनुका दानीले आम दर्शकका लागि भनेर नयाँ शैलीमा स्मार्ट पोइन्ट संचालनमा ल्याइएको बताइन् । सो अवसरमा गायक तथा संगीतकार दीपक चौलागाईले संचालक जयरामको मुक्तथकण्ठले तारिफ गरेका थिए । उनले आफ्नो गीत मार्फत सँधै दत्तचित्त भएर लाग्न पनि शुभकामना दिएका थिए । सँधै सकारात्मक सोचौँ भन्ने मूल नारासहित संचालनमा ल्याइएको यस स्मार्ट पोइन्टले उद्घाटनका क्रममा उपस्थित संचारकर्मीलाई पनि आफ्नो ब्राण्डका सामाग्रीहरु दिएर सम्मान गरेको थियो । त्यस्तै अफरका रुपमा आगामी ९ गतेसम्म स्मार्ट पोइन्टमा पुग्ने ग्राहकलाई विशेष गिफ्ट ह्याम्परको पनि व्यबस्था गरिएको स्मार्ट पोइन्ट फेसन हाउसकी प्रोपाइटर मेनुका दानीले जानकारी दिइन् ।

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

पाटन (ललितपुर), २ चैतः समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुुभयो ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताउनुभयो । उहाँले देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको बताउनुभयो । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग–व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताउनुभयो । उहाँले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताउनुभयो । “भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आमनेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ”, अध्यक्ष दाहालले भन्नुभयो,“यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरुप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका माओवादीलाई एकधारमा ल्याउने अभियान र छलफल चलिरहेको बताउनुभयो ।