सप्तरीमा बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित


राजविराज (सप्तरी), २० असोज ः अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन् ।
।
जिल्लाका तटीय र नदी किनारका बस्तीमा बाढी पस्दा स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । त्रियुगा नदीमा आएको बाढीले सप्तकोसी नगरपालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी घर डुबानमा पारेका छन् । भीषण वर्षापछि नदी ‘ओभरफ्लो’ हुँदा वडा नं ६ बोचही गाउँ नै जलमग्न बनेको छ । उक्त वडाका छ घर भत्किएपछि ती परिवारलाई राष्ट्रिय आधारभूत विद्यालय बोचहीमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका अरू नौ स्थानमा बाढीबाट दुई सय ५६ परिवार प्रभावित भएका छन् । जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं ९ मा १५ घरमा पानी पसेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका— १२ मा ४०, राजगढ गाउँपालिका–६ मा एउटा घर भत्किएको छ भने तिलाठी कोइलाडी गाउँपालिका–१ मा खाँडो नदीको बाढी पसेर गाउँ नै जलमग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
तिलाठी कोइलाडी—४ मा १५ हनुमाननगर कंकालिनी—१४ मा ११ घर डुबानमा परेका छन् ।
प्रहरी उपरीक्षक गोतम केसीको नेतृत्वमा खटिएको टोलीले जिल्लाका विभिन्न ठाउँबाट बाढीमा फसेका ३८ जनालाई उद्धार गरेको छ । टोलीले जिल्लाको सप्तकोशी नगरपालिका—६ बाट १२ जना, हनुमाननगर कङ्कालिनी–१२ बाट आठ जना, राजगढ गाउँपालिका–६ बाट सात र तिलाठी कोइलाडी–४ बाट ११ जनालाई उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।