`

वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा आठ घर, आठ पाली जलेर नष्ट

टक्सार (भोजपुर), ४ चैत : सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ । पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो ।

आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको डिएसपी तिमिल्सिनाले बताउनुभयो । आगोलागीबाट ढुङ्गा माटोले बनेका घरमा क्षति पुगेको हो । आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ । 

 हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिका–४ दलगाउँ केराबारीमा पाँच घरभन्दा बढी जलेर नष्ट भएको छ । सो वडाका वडाध्यक्ष बाबुकुमार राईले आगलागी पूर्णरुपमा निभाउन नसकिएकाले क्षतिको विवरण अझै बढन् सक्ने बताउनुभयो । 

कर्णाली नदीमा खसेर २३ वर्षीय सेजुवाल बेपत्ता

मान्म (कालीकोट), ४ चैत ः ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता हुनुभएको छ । कालीकोटको कर्णाली करिडोरअन्र्तगत पलाता–९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल आज बेपत्ता हुनुभएको हो ।

कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आउनुभएका सेजुवाल आज कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिनुभयो । “तीन वटा ड्रम जोडेर बनाइएको डुङ्गा चढेर नदी पार गर्ने डुङ्गा ढल्किए छ । त्यसमा रहेका चार जनामध्ये देवनाथ नदीमा खसेछन्”, उहाँले भन्नुभयो ।  

स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । कालिकोटको पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाल कर्णाली करिडोर निर्माण गरिरहेको छ ।

चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियानमा छ सयभन्दा बढीले सेवा लिए

चितवन, ४ चैत: जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्द्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् । कालिका नगरपालिका–१० को सिद्धि स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रोगसम्बन्धी परीक्षण गरिएको थियो ।

कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार ६६ जनाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिएकामा तीन जनामा संक्रमण देखिएको छ । त्यस अवसरमा दुई सय २६ जनाको सामान्य सेवा, ३० वर्षभन्दा माथि उमेरका दुई सय छ जनाको नसर्ने रोग, एक सय ६० को आँखा, एक सय ४१ को हाडजोर्नी परीक्षण गरिएको छ । यस्तै, बालरोगतर्फ ७६, आयुर्वेद सेवातर्फ ६९, प्रसूति सेवासम्बन्धी ७८, भिडियो एक्सरे एक सय चार र १५ जनाको मुटु परीक्षण गरिएको थियो । अभियानका क्रममा ७१ जनामा आँखाको समस्या देखिएकामा ६० जनालाई चस्मा लगाउन सिफारिस गरिएको र ११ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको हमालले जानकारी दिनुभयो । 

कार्यालयले हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा यो अभियान सञ्चालन गर्दै आएकामा यस वर्ष कालिका नगरपालिकामा गरेको कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । यहाँका सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी यस वर्षको अभियान सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक हमालले बताउनुभयो ।  

सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु

सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।प्रभावित क्षेत्रका स्थानीय समाचार च्यानलहरूले घरहरूको छत च्यातिएको, रुखहरू ढलेका र तीव्र हावाले ट्रकहरू पल्टिएको भिडियो देखाएका छन् ।

कान्सासमा ‘गम्भीर धुलोको आँधी’ को समयमा कम दृश्यताका कारण ५० भन्दा बढी सवारी साधन समावेश भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।ओक्लाहोमामा राज्यभरि जङ्गली आगो र तीव्र हावा चल्दा चार जनाको मृत्यु भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ ।

“हामी दक्षिण र मध्यपश्चिमका धेरै राज्यलाई असर गरेको गम्भीर आँधीबेहरी र तूफानलाई सक्रिय रूपमा निगरानी गरिरहेका छौँ”, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा आइतबार पोस्ट गर्नुभयो । अर्कान्सासमा नेसनल गार्ड सेना तैनाथ गरिएको उहाँले बताउनुभयो । त्यहाँ अधिकारीहरूले आँधीमा तीन जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताएका छन् ।

“क्षति ठूलो छ”, मिसौरीका गभर्नर माइक केहोले त्यस राज्यका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि एक विज्ञप्तिमा भन्नुभयो, “घर र व्यवसायहरू ध्वस्त भएका छन्, सम्पूर्ण समुदायहरू बिजुलीविहीन छन् र पुनःप्राप्तिको बाटो सजिलो हुनेछैन ।”

यसअघि मिसौरी स्टेट हाईवे गस्तीले आँधीबेहरीसँग सम्बन्धित १२ जनाको मृत्युको पुष्टि गरेको थियो र मौसमले विनाश गरेको मरिनामा एक अर्कामाथि थुप्रिएका डुङ्गाहरूका तस्बिरहरू साझा गरेको थियो । टेक्सासमा स्थानीय अधिकारीहरूले धुलोको आँधी र आगोका कारण सडकमा दृश्यता कम भएका कारण सवारी दुर्घटनाहरूमा चार जनाको मृत्यु भएको बताएका छन् ।

नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार संयुक्त राज्य अमेरिकामा गत वर्ष लगभग एक हजार आठ सय आँधीसहित दोस्रो सबैभन्दा धेरै बबन्डर देखिएको थियो ।

धनुषाको भठिहनमा प्रहरीको गोली लागेर एक जना घाइते

जनकपुर । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ ।दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजना युवक घाइते भएका छन् ।

घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।

एमाले सचिवालय बैठक : लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प

काठमाडौँ, ४ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विभिन्न प्रस्ताव पारित गर्दै नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

“संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न हामी प्रतिबद्ध छौं,” बैठकपछि उहाँले भन्नुभयो । बैठकमा केही समय यता लोकतान्त्रिक गणतन्त्र र संविधान विरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 

“लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो”, पारित प्रस्तावमा भनिएको छ, “जनताको फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ ।”

पार्टीले लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्पलगायत प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तरराष्ट्रिय सम्बन्धलगायत क्षेत्रमा हासिल गरेको उपलब्धि महत्त्वपूर्ण भएको ठहर गरेको छ  ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभएको थियो । मुलुकको समसामयिक परिस्थिति र विकसित राजनीतिक घटनाक्रमका बारेमा सचिवालयका सदस्यहरूले बैठकमा आआफ्नो राय प्रस्तुत गर्नुभएको थियो ।    बैठकले लुम्बिनी प्रदेश कमिटीले थप गरेका २८ जनाको नाम अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । 

एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण

महोत्तरी, ४ चैत : यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराउनुभएको छ । परीक्षा सञ्चालन हुन तीन दिनमात्र बाँकी रहँदा मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक नभई गोलाप्रथाद्वारा तय गर्न समितिको ध्यानाकर्षण गराउनुभएको हो ।

मुख्यमन्त्री सिंहले एसइई परीक्षा सञ्चालनबारे प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले समसामयिक सुधार गरिँदै अघि बढ्न यसअघि नै जिल्ला परीक्षा समन्वय समितिलाई केन्द्राध्यक्ष गोलाप्रथाबाट नियुक्त गर्न पत्राचार गरिएको स्मरण गराउनुभएको छ । तर केही जिल्ला परीक्षा समन्वय समितिले पुरानै प्रक्रियाअनुसार केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री सिंहले यसबारे विज्ञप्ति प्रसारित गरेरै ध्यानाकर्षण गराउनुभएको हो ।

आइतबार साँझ सिंहका तर्फबाट प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रसारित गर्नुभएको विज्ञप्तिमा परीक्षा सञ्चालनबारे परीक्षाको मर्यादाका लागि सम्बन्धित केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नतोकिने यसअघि भएका निर्णयको स्मरण गराइएको छ । केन्द्राध्यक्ष गोलाप्रथाबाट तोकिँदा निष्पक्षता र परीक्षाको मर्यादा दुवै पक्षमा सकारात्मक सन्देश र परिणाम प्राप्त हुने अवस्थाको अवज्ञा केही जिल्लाबाट भएको भन्दै यस्तो भए परीक्षा सञ्चालन प्रक्रियाबाट मधेस सरकार अलग्गिनेसम्मको ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख छ ।

यता जिल्ला परीक्षा समन्वय समितिहरूले यसअघिका वर्षहरूझै केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक तोकेर नै प्रक्रिया अघि बढाएका छन् । महोत्तरीमा पनि यसअघिका वर्षहरूमा भइआएको व्यवस्थाबमोजिम नै केन्द्राध्यक्ष तोकिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनुभयो ।

फरक प्रक्रिया अघि बढाउन तयारीका लागि पर्याप्त समय नहुनु जिल्ला परीक्षा समन्वय समितिको बुझाइ छ । परीक्षाको मुखमा जिल्ला परीक्षा समन्वय समिति र प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिबीच बढ्ने असमझदारीले परीक्षा गञ्जागोल हुने चिन्ता शिक्षाविद्हरूले व्यक्त गरेका छन् ।

“परीक्षा मर्यादित र निष्पक्ष बनाउन समसामयिक सुधार गरिँदै लगिनु सकारात्मक कुरा हुन्, यद्यपि यी कुरामा परीक्षासम्बद्ध सबै पक्षबीच आपसी समन्वय आवश्यक हुन्छ”, तीस वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिनुभएका बर्दिबास–१ का केदारबहादुर कोइराला भन्नुहुन्छ, “अहिले अब प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिबीच असमझदारी नभई समन्वय हुन आवश्यक छ ।”

महोत्तरीमा यसपालि एक सय सात सामुदायिक र ३० संस्थागत विद्यालयका गरी एक सय ३७ विद्यालयका १० हजार नौ सय ४६ जना एसइई परीक्षामा सामेल हुँदैछन् । परीक्षा सञ्चालनका लागि जिल्लामा गत वर्ष २०८० कै ३२ केन्द्र कायम गरिएका छन् । परीक्षा सञ्चालनबारे केन्द्राध्यक्ष नियुक्तदेखि जनशक्ति व्यवस्थापन र अन्य सबै तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रजिअ कवारीको भनाइ छ ।

ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार मृत फेला

दमौली (तनहुँ), ४ चैत : जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झु ण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

नेता कार्यकर्ता भ्रष्टाचारमा संलग्न छन् भनेर पार्टीले कारबाहीका लागि सहयोग गर्नुपर्छः सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य छन् । रूकुम जिल्लाबाट २०४३ सालदेखि विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरू गरेका शर्माले २०४६ सालको लोकतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएका थिए ।

त्यसपछि तत्कालीन एकता केन्द्रमा समाहित भएसँगै उनले २०५० सालदेखि भूमिगत रहेर राजनीति गरेका थिए । उनी २०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए । राष्ट्रियसभा सदस्य शर्मासँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंशः


तपाईँ राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । पाँच वर्षको संसद्को अनुभव कस्तो रह्यो ?

सांसदको भूमिका भनेको सरकारले विधेयकका रूपमा अगाडि सारेका कानुनको बारेमा पर्याप्त छलफल गर्ने र त्यसलाई पारित गर्ने हो । अर्को, जनताका समस्यालाई सदनमा उठाउने र सरकारसम्म पुर्याउने काम राष्ट्रियसभाको काम हो । पाँच वर्ष राष्ट्रियसभाको सांसद हुँदैगर्दा मैले पनि कानुन निर्माण र जनताका सवाललाई संसद्मार्फत सरकारसम्म पुर्याउनका लागि भूमिका निर्वाह गरेको छु । राष्ट्रियसभाको अर्को भूमिका विकास निर्माणको विषयबारे सदनमा आवाज उठाउने र सरकारको ध्यानाकर्षण गराउने काम पनि गर्दै आएको छु । संसद्मार्फत सरकारलाई सचेत बनाउने, खबरदारी गर्ने र रचनात्मक आलोचना गर्ने काम पनि गर्दै आएको छु । विकास निर्माणको हिसाबले उत्पादन वृद्धि गर्ने र रोजगारी सृजना गर्ने विषयमा संसद्मा सरकारको ध्यानाकर्षण गराउने काम पनि हुँदै आएको छ ।

पछिल्लो पाँच वर्षयता भूकम्प, बाढीपहिरो, डुबान, कोरोनालगायत विभिन्न विपद्का समस्यालाई पनि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम भयो । संसद्मा देशको शान्ति सुरक्षा, अमनचयन कायम गर्ने र उत्पीडित जाति, वर्ग, मधेसी, दलित, महिलामाथि हुने विभेदका घटनाको विषयलाई संसद्मा उठाउने काम भएको छ । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर सरकारलाई सचेत बनाउने काम पनि भएको छ ।

संविधान जारी भएको करिब दश वर्ष भएको छ । यो दश वर्षको अवधिमा संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ?

जुन गतिका साथ संविधान कार्यान्वयन हुनुपर्ने हो, त्यो गतिमा भएको देखिँदैन । पूर्ण रूपमा कार्यान्वयन नहुनुमा विभिन्न पक्षले काम गरेको हुन्छ । पहिलो कुरा, हाम्रो देशमा स्थिर सरकार बन्न सकेन । आठ–नौ महिनामै सरकार परिवर्तन गर्ने परिपाटीका कारण पनि संविधान कार्यान्वयनमा समस्या भएको देखिन्छ । कुनै पार्टीको एकल बहुमत पनि हुन सकेन । दलहरूको बीचमा समीकरण बनाएर निर्वाचन लड्नुपर्ने र समीकरण बनाएरै सरकार बनाउनुपर्ने बाध्यात्मक परिस्थिति रहँदै आएको छ । त्यसको असर संविधान कार्यान्वयनमा देखिएको छ । त्यसकारण संविधानको मूल भावनाअनुसार कानुन बन्न सकेको छैन । यो एउटा विडम्बना नै भन्नुपर्छ ।

पछिल्लो समयमा संविधान संशोधनको विषय उठिरहेको छ । यो संविधान संशोधनको विषयलाई कसरी लिनुभएको छ ?

संविधान जारीको भएको १० वर्ष पूरा भइसकेपछि संविधानबारे पुनरावलोकन गर्न सकिने संवैधानिक प्रावधान छ । त्यसकै सन्दर्भमा अहिले बहस चलिरहेको छ । संविधान कार्यान्वयन गर्नका निम्ति शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विषयलाई संशोधन गर्ने कुरा उठिरहेको छ । जनता र राष्ट्रको हितमा आएको संविधानलाई कार्यान्वयन गर्ने र त्यसअनुरूपका कानुन बनाउने सवालमा सरकार पछि परेको छ । कुनै पनि सरकारले संविधानअनुसार कानुन बनाउन सकेनन् । संविधान जारी गर्ने समयमा नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरूपमा फरकमत राखेको थियो । त्यो हिसाबले पनि संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ । त्यसैले शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

राजनीतिक दलहरूको लामो सङ्घर्षबाट देशको व्यवस्था परिवर्तन भएको छ, तर जनताको अवस्था उस्तै छ । जनताको अवस्था परिवर्तन गर्न के गर्नुपर्ला ?

हामीले जसरी सबै राजनीतिक दलहरू मिलेर व्यवस्था परिवर्तन गरियो, त्यसरी नै अब जनताको अवस्था परिवर्तन गर्नुपर्छ । जनताको जीवनस्तर उकास्ने राजनीतिक दलको मुख्य भूमिका हुनुपर्छ । नेपालका सबै राजनीतिक पार्टीले बुझ्न जरूरी छ । जनताको अवस्था सुधार गर्नका लागि पनि दलहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको छ ।

अब देशको सुशासनको निम्ति सरकारलाई तपाईँको सुझाव के छ ?

विसं २०७९ सालको आमनिर्वाचनमा राजनीतिक पार्टीको साझा मुद्दा भनेको देशमा सुशासन कायम गर्ने हो । सुशासनको निम्ति सरकार र सबै दलहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ । सरकारले भ्रष्टाचारीलाई कानुनबमोजिम कारबाही गरेको छैन । यदि मन्त्रीले भ्रष्टाचार गरेको खण्डमा प्रधानमन्त्रीले कारबाही गर्न सक्नुपर्छ । कुनै पनि पार्टीले आफ्ना नेता तथा कार्यकर्ता भ्रष्टाचारमा संलग्न छन् भनेर त्यो पार्टीले संरक्षण गर्नेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्छ । सुशासन र सामाजिक न्यायको एजेण्डा र समृद्धिमा अहिलेको सरकार लाग्नुपर्ने थियो, तर बाटो बिराएको जस्तो देखिन्छ । सरकारले यी कुरामा ध्यान दिने हो भने मात्र देशको वर्तमान राजनीतिक सङ्कट र आर्थिक सङ्कटको सही ढङ्गबाट समाधान गर्न सकिन्छ ।

तपाईंको विचारमा सङ्घीयता सुदृढीकरणको लागि के गर्न सकिन्छ होला ?

सङ्घीयता सुदृढीकरणको निम्ति निजामती कर्मचारी र प्रहरी समायोजन र सङ्घीयता कार्यान्वयनसम्बन्धी रहेका सबै कानुन जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने देखिन्छ । कानुन बनाएर दृढतापूर्वक कार्यान्वयन गरेको खण्डमा सङ्घीयतालाई सुदृढ बनाउन सकिन्छ ।

पछिल्लो समय वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा नेपाली युवापुस्ता विदेश पलायन हुनेक्रम बढ्दै गएको छ । यसलाई रोक्नका लागि के गर्न सकिन्छ होला ?

नेपालको प्राकृतिक स्रोतसाधन, खनिजलगायत सबै हिसाबले देश सम्पन्न छ । विदेशी विज्ञहरूले पनि नेपाल आफैँमा सुनको कचौरा हो, तर नेपालीहरूले सुनको कचौरा थापेर भिख मागिरहेका छन् भनेर व्यङ्ग्यात्मक टिप्पणी गरिरहेका छन् । नेपालमै प्रशस्त उत्पादन गरेर रोजगारी सृजना गर्न सकिन्छ । सम्भावना छ । कुनै पनि सरकारले त्यता ध्यानै दिएनन् । ४६ प्रतिशत नेपालको जङ्गल छ । तर सुकेको काठ हामीले सदुपयोग गर्न सकेका छैनौँ । नेपालसँग थुप्रै गिट्टी, बालुवा छ । त्यसको सही सदुपयोग र व्यवस्थापन हुनसकेको छैन । नेपालमा भएको स्रोतसाधन उपयोग गर्नका लागि हामीसँग पर्याप्त कानुन छैन । इच्छाशक्ति पनि छैन । नेपाल जलस्रोतको धनी राष्ट्र हो तर त्यसको सही उपयोग गर्न सकिराखेका छैनौँ । त्यसैले नेपालका प्राकृतिक स्रोतसाधन सदुपयोग गर्न कानुन निर्माण गर्ने र कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यान दिन जरूरी छ । हामीले उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्दै त्यसको वृद्धि गर्दा युवा पलायन विस्तारै रोक्न सकिन्छ । नेपाली युवालाई मात्र होइन देशको स्रोतसाधन प्रयोग गरेर उद्योगहरू सञ्चालन गरेको खण्डमा विदेशी युवालाई पनि रोजगारी दिन सकिन्छ । यो विषयमा सरकार र राजनीतिक पार्टीहरूले गम्भीरतापूर्वक आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आइसकेको छ । यो बन्छ भन्ने माहोल जनतासम्म पुर्याउनुपर्ने छ ।

तपाईँ राष्ट्रियसभाको सदस्य हुँदैगर्दा अबको तपाईँको भूमिका कस्तो हुन्छ ?

मुख्यतः संविधानको मर्मअनुरूप कानुन निर्माण गर्नेमै मेरो भूमिका रहन्छ । अर्को जनताका सवाललाई संसद्मार्फत सरकारसम्म पुर्याउने काम हुन्छ । त्यसैगरी विकास समृद्धिको निम्ति सरकारलाई सृजनात्मक दबाब सृजना गर्ने काम पनि हुन्छ । सरकारले गलत गरेको खण्डमा समेत गराउने काम पनि हुन्छ ।

बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज, ४ चैत : प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद र रु चार लाख ३५ हजार ५५ जरिवाना असुलउपर गरिएको प्रनाउ पातलीले उल्लेख गर्नुभयो ।

नेपालगन्जबाट रु १४ लाख ७१ हजार आठ सय ७५ बराबरको अवैध भन्सार छलीको सामान बरामद गर्दै नेपालगन्ज भन्सार कार्यालय बुझाइको छभने फागुनमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाई रु ४८ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बाँकेमा अवैध बोइलर कुखुराविरुद्धको कारबाहीमा भारतबाट ल्याइएका रु तीन लाख ७६ हजार आठ सय १० मूल्य बराबरको कुखुरा र मासु बरामद गरेर आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएर नष्ट गरिएको प्रनाउ पातलीको भनाइ छ ।

जिल्लामा प्रहरीले फागुनमा दर्ता भएका एक सय ३१ वटा मुद्दातर्फ एक सय दुई जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो अवधिमा ६५ वटा पेन्डिङ रहेका मुद्दा फछ्र्योट भएका छन् ।

फागुनमा जिल्लामा गरिएको ट्राफिक कारबाहीमा तीन हजार छ सय १४ सवारीसाधनलाई कारबाही गर्दै रु २९ लाख ११ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले एक किलो १०६ ग्राम ४१६ मिलीग्राम ब्राउन सुगर, पाँच हजार ट्याब्लेट ट्रामाडोल र चार किलो २०० ग्राम चरेससहित २२ जना ओसारपसारकर्तालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको प्रनाउ पातलीले बताउनुभयो ।प्रहरीले फागुनमा सीमानाकाबाट ८१ महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार गरेको छभने अलपत्र अवस्थामा परेका १५ जनालाई फेला पारी संरक्षणका लागि संस्थामा पठाएको छ ।

स्थानीयको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी), ४ चैत : रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन् ।

स्थानीयवासीको चर्को दबाबपछि रघुगङ्गामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले विभिन्न मागमा लिखित सहमति जनाएका हुन् । विगत लामो समयदेखि समुदायका मागलाई बेवास्ता गर्दै आएका जलविद्युत् आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीसँगको विभिन्न समयमा भएको छलफलपछि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत् आयोजनाका प्रमुखहरूको छलफलमा जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन् ।

आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि विगतका सहमति पालनामा अटेरी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव पाँच मेगावाट क्षमताको राहुघाट मङ्गले, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका थिए ।

गत फागुन १५ र २५ गते भएको सरोकारवालाको भेलाले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनालाई उक्त माग प्रस्तुत गरेकामा तत्काल र दीर्घकालीन रूपमा आयोजनाले गर्नुपर्ने उत्तरदायित्वका सम्बन्धमा लिखित प्रतिबद्धता गराइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । जलविद्युत् आयोजनाले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाको सामूहिक मागका रूपमा पेस भएका बुँदामा बृहत् छलफल गरी सहमति भएको अध्यक्ष भण्डारीको भनाइ छ ।

रघुगङ्गाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत सेयर वितरणका लागि पनि जलविद्युत् आयोजना सहमत भएका छन् । आयोजनाले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै सेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए । सहमतिपत्रमा बेनी–जोमसोम सडकखण्डको घुमाउने तालबाट मौवाफाँट हुँदै बाँध रहने बुक्लसम्मको सडकलाई तत्काल ग्राभेलसहित स्तरोन्नति गर्न रघुगङ्गा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको छ । हाल राहुघाट जलविद्युत् आयोजनाको आयोजना प्रतिवेदनमा सो सडकलाई ठेकेदार कम्पनीले आयोजना हस्तान्तरणका क्रममा ग्राभेलसहित स्तरोन्नति गर्ने उल्लेख भए पनि सरोकारवालाको मागबमोजिम घुमाउनेतालबाट मौवाफाँटसम्मको सडकलाई आयोजनाले कालोपत्र गरिनेछ ।

राहुघाटको ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्सले आयोजनालाई सडक हस्तान्तरण गरेपछि डिबिएसटी प्रविधिको कालोपत्र गर्न रघुगङ्गा हाइड्रोपावरले ८० प्रतिशत र यस गाउँपालिकामा निर्माणाधीन अन्य आयोजनाले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने छन् ।

त्यसैगरी मौवाफाँटबाट दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटोलाई स्तरोन्नति गर्न तुँदी पावर, संयुक्त ऊर्जा र ठूलोखोला हाइड्रोपावरले चालु आर्थिक वर्षमा थप रु एक करोड ५० लाख बराबरको काम गर्ने र दीर्घकालीन रूपमा सडकलाई स्तरीय बनाउन गाउँपालिकासँगै प्रदेश र सङ्घीय सरकारसँगै हाल निर्माणाधीन जलविद्युत् आयोजनाले सहकार्य गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

यस्तै, आयोजना प्रभावित झिँ र पाखापानीमा पनि आयोजनाहरूले चालु आवमा सडक स्तरोन्नतिमा रु २५–२५ लाख उपलब्ध गराउने सहमति भएको छ । आयोजनाले सामाजिक उत्तरदायित्वको रकमलाई पारदर्शी बनाउन वडा र पालिकाको संयुक्त सिफारिसमा मात्र बजेट खर्च गर्ने सहमति गरेका छन्भने खानेपानी योजना, सिँचाइ योजना निर्माणमा सघाउने र प्रभावित क्षेत्रका विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक सहयोगलाई निरन्तरता गर्ने प्रतिबद्धता जनाएका छन् ।

आयोजनाहरूले गर्नुपर्ने प्रतिबद्धतामा रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसी, तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल, ठूलोखोला हाइड्रोपावरका बित्त प्रमुख प्रदीप खतिवडा र संयुक्त ऊर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपालप्रसाद निउरले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सहमतिको पालना नभए जलविद्युत् आयोजनाले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

मुन्धुम संरक्षणको आवश्यकता

– राजकुमार दिक्पाल
लिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत पद्धति मुन्धुममा आधारित हुन्छ । मुन्धुमसँग लिम्बूहरूको जीवनदर्शन जोडिएको छ । पृथ्वीको सृष्टिको कथादेखि मुन्धुम सुरु हुन्छ । मानिसको सृष्टि र सभ्यता, ईश्वरीय शक्ति, सिकार युग, खेतीपाती, महिला र पुरुषबीचको सम्बन्ध, घर निर्माण, पशुपालन, नीतिनियम, मानिसको प्रकृतिसँगको सम्बन्ध आदिको वर्णनलाई लिम्बूका पुरोहितहरू साम्बा, येवा, येमा तथा फेदाङ्माहरूले काव्यात्मक शैलीमा गाउने वा फलाक्ने धर्मशास्त्र नै मुन्धुम हो ।

लिम्बूहरूको सांस्कृतिक तथा आध्यात्मिक जीवनसँग सिधै सम्बन्ध राख्ने मुन्धुम गेयात्मक शैलीको हुन्छ । श्रुतिशास्त्रमा आधारित भएकाले यसलाई ‘थुतुरी वेद’ पनि भनिन्छ । मुन्धुमलाई पारिभाषिक रूपमा अथ्र्याउने श्रेय मुन्धुमविद् वैरागी काइँलालाई जान्छ । काइँलाले उल्लेख गरेअनुसार ‘मुन्’ र ‘थुम्’ शब्द जोडिएर मुन्धम शब्दको निर्माण भएको हो । लिम्बू भाषामा मुन् (मुम्–मा)को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने लाग्छ । यस्तै थुम् (थुम्–मा)को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने अर्थ लाग्छ । यसरी हेर्दा लिम्बूहरूको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठिन किसिमबाट अगाडि बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ । पृथ्वीको सृष्टिकालदेखि नै लिम्बूहरूको जीवनशैली गतिशील, बलियो तथा कठिन ढङ्गबाट बढिरहेको सन्दर्भलाई विविध कोणबाट गेयात्मक रूपमा प्रस्तुत गरिने धर्मशास्त्र नै मुन्धुम हो ।

मौखिक रूपमा प्रस्तुत गरिने भएकाले तथा मुन्धुम फलाक्ने वा गाउने व्यक्तिहरू अभाव हुँदै जाने भएकाले मुन्धुम पनि लोप भई जाने खतरा पनि उत्तिकै छ । मुन्धुमलाई जोगाउन यसको लिप्यान्तर अत्यन्तै जरुरी देखिएपछि मुन्धुमप्रति चिन्तित र सचेत व्यक्तिहरूले मुन्धुमको लिप्यान्तर र प्रकाशनमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । पछिल्लोपटक युवाहरू पूर्णप्रसाद तबेबुङ, खड्कबहादुर इधिङ्गो, साम्बा बुद्धिराज मादेन, फेदाङ्मा मेघराज इधिङ्गो र युमा भक्तिदेवी फुरुम्बो आदिबाट सङ्कलन गरी संस्कृतिविद् डिबी आङ्बुङले सम्पादन, अनुवाद र लिप्यान्तर गरी निकै ठूलो मुन्धुमको ठेली ‘याक्थुङ साम्जिक मुन्धुम’को प्रकाशन भएको छ । यो कृतिलाई मुन्धुम संरक्षणको क्षेत्रमा निकै ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

मुन्धुम लिप्यान्तरको क्रम

सत्रौँ शताब्दीमा सक्रिय विद्वान् सिरिजङ्गाले आफैँ लिपिको आविस्कार गरी मुन्धुम संरक्षणको सुरुआत गरेका थिए । उहाँले आविष्कार गरेको लिपिलाई ‘सिरिजङ्गा लिपी’ भनिन्छ । पछि नेपाल र सिक्किमका गाउँहरूबाट सिरिजङ्गा र उहाँका चेलाहरूले लेखेको लेखोटहरू सङ्कलन गरेर ब्राइन हज्सनले बेलायत पुर्याएका थिए । हज्सनले त्यसबेला जोभानसिंह फागो, गुनमान खजुम, च्याङ्ग्रेसिंह आदिबाट मुन्धुम लेख्न लगाई ती पाण्डुलिपिहरू बेलायत पुर्याएका थिए । तिनै पाण्डुलिपिका छायाँ प्रतिहरू लिएर २०१२ सालमा लन्डन युिनभर्सिटीको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टिडजका प्राध्यापक आरके स्प्रिग नेपाल आएका थिए ।

लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृित, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखत पाण्डुलिपिको छायाँप्रति लिएर नेपाल आउँदा उहाँ पाँचथर, सारतापस्थित डबल सुब्बा खड्गबहादुर नेम्वाङको घरमा महिना दिनजति श्रीमतीसहित बस्नुभएको थियो । पछि यी पाण्डुलिपिहरू अध्ययन गर्ने अवसर पाएपछि इमानसिंह चेम्जोङले २०१८ सालमा किरात मुन्धुम (किरातको वेद) प्रकाशनमा ल्याउनुभयो । यो नै लिम्बूहरूको मुन्धुमको लिप्यान्तरित पहिलो प्रकाशन हो । यहीँ पुस्तकमा आँखा लागेपछि आफू लिम्बूहरूको मुन्धुमप्रति आकर्षित भएको संस्मरण मुन्धुमविद् वैरागी काइँलाले ठाउँठाउँमा उल्लेख गरेको पढ्न पाइन्छ ।

पछि काइँला आफैँ हज्जन पेपर अध्ययनका लागि लण्डन पुग्नुभयो । त्यहाँ सुरक्षित कागजहरूमध्ये लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लेखिएका सामग्री अध्ययनका लागि आफ्नो परियोजनामा संस्कृतिविद् डा रमेश ढुङ्गेलले उहाँलाई लण्डन पुर्याउनुभएको थियो । उहाँ सन् २००४ जुलाई र अगस्टका बीच पाँच साता लण्डनमा हज्सन पेपर अध्ययन गरी फर्किनुभयो । हज्सन पेपर अध्ययन गर्नुभन्दा धेरैअघिदेखि नै काइँलाले प्रशस्तै मुन्धुम सङ्कलन र प्रकाशन गर्नुभएको थियो ।

मुन्धुम सङ्कलनको रोचक घटना

मुन्धुमप्रति काइँलामा जागरुकता आएपछि उहाँ मुन्धुम सङ्कलनको अवसर खोज्दै हुनुहुन्थ्यो । उहाँले येबा दलबीर नायेम फागुबाट पहिलोपल्ट मुन्धुम सङ्कलन गर्ने अवसर पाउनुभयो । मुन्धुमको अध्ययनको सिलसिलामा आफ्नो घर झापाको खुदुनाबारीमा २०३४ मङ्सिर ८ देखि ११ गतेसम्म तङ्सिङ अनुष्ठानको आयोजना गर्नुभयोे । विसं १९६० भदौ २९ गते जन्मेका येवा दलवीरको जन्मस्थल मैवाखोला इलाका थादिङ गाउँ चैनपुर हो । पछि उहाँ इलाम जिल्लाको नाम्सेलिङ गाउँमा बसाइँ सर्नुभयो । उहाँका सहयोगी रामप्रसाद याक्खा हुनुहुन्थ्यो । येवा दलवीरले गाएको मुन्धुम सो अवसरमा टेप गरेर पछिबाट आलेखन गरी सम्पादन गर्ने सिलसिलामा उहाँसँग काइँलाले पटकपटक भेट र छलफल गर्ने काम पनि गरेको उहाँले आफ्ना पुस्तकहरूमा मन्तव्यका क्रममा व्यक्त गर्नुभएको छ ।

येवा दलवीरबाहेक अन्य जानकार येवाहरूको खोजी गर्दा याङ्रोक निवासी, पछि झापाको खुदुनाबारीमा बस्ने वीरबहादुर खेवाङ लिम्बूसँग भेट भयो उहाँको । यिनै वीरबहादुर नै पछिबाट वैरागीका माइला दाजु डिल्लीविक्रम नेम्वाङको घर झापाको खुदुनाबारीमा २०४९ माघ १६ देखि १९ गतेसम्म तीन राते तङसिङको आयोजना गर्दा मुख्य येवा हुनुहुन्थ्यो । येवा वीरबहादुरसँग येवा दलवीरले गाएको मुन्धुमको पाण्डुलिपि र उनी आफैँले गाएको मुन्धुमको पाण्डुलिपिमाथि व्यापक छलफल भई तुुलनात्मक अध्ययनका साथ संशोधन तथा सम्पादन गर्ने कार्य वैरागी काइँलाले गर्नुभयोे । यसरी मुन्धुमविद् वैरागी काइँला मुन्धुमको साधनामा लागेको पाइन्छ ।

काइँलाको दलवीर नायम फागुसँगको भेट भएको घटना पनि रोचक छ । २०३३ सालतिर वैरागी झापाको खुदुनाबारीबाट पाँचथरको सारताप आफ्नो गाउँ हिँड्नुभएको थियो । उहाँ बेलुकी इलाम बजार, सुन्तलाबारीस्थित आफ्नी साइँली छेमाको घरमा बास बस्न पुग्नुभएको थियो । थाकेर सुतेको तर अचानक रातको १ः०० बजेतिर कसैले गाउँदै गरेको मीठो आवाजले उहाँ ब्युँझिनुभयो । त्यसपछि केही तलको मामाको घरमा झर्नुभयो, जहाँ पूजा लगाइएको रहेछ, एक राते तङसिङ । साह्रै मीठो स्वरले मुन्धुम गाउँदै थिए, ती येवा । उहाँले बिहानसम्म बसेर येवाले गाएको मुन्धुमलाई टेप रेकर्ड गर्नुभयो ।

‘साप्पोःक् चोमेनः लिम्बूजातिमा कोखपूजा’ (२०४९)को प्रकाशनबाट लिम्बू मुन्धुमसम्बन्धी पुस्तक प्रकाशन सुरु गरेका उनले हालसम्म मुन्धुमसम्बन्धी मात्रै ११ वटा कृति पाठकसमक्ष समर्पित गरिसकेका छन् । मुन्धुममा काइँलाले गरेको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई २०७५ सालमा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार समर्पण गरेको थियो ।

मुन्धुम लिप्यान्तरको महत्व

मुन्धुम संरक्षणको पहल र यसको दार्शनिक व्याख्याका लागि डा चैतन्य सुब्बाको योगदान पनि अविस्मरणीय रहेको छ । उहाँले आफ्नै घरमा अनुष्ठान राखेर मुन्धुम रेकर्ड र उत्पादन गराउनुभएको थियो । उहाँ मुन्धुमको भरपर्दो दार्शनिक व्याख्याता हुनुहुन्थ्यो । मुन्धुम दर्शन निर्माण गरिरहेकै बेला तीन वर्षअघि उहाँको देहान्त हुनपुग्यो ।

मुन्धुमको लिप्यान्तर र संरक्षण क्षेत्रमा योगदान दिनेहरूमा साधुसन्त स्वभावका लालसोर सेन्दाङ पनि एक हुनुहुन्थ्यो । मुन्धुम संरक्षणका लागिरहेको बेला राणाकालमा ताप्लेजुङबाट निर्वासित भई दार्जिलिङ र सिक्किमका विभिन्न गाउँहरूमा फिरन्ता भई मुन्धुमको प्रचार गरेको इतिहासमा पढ्न पाइन्छ ।

यस्तै रणध्वज श्रेङ चोङवाङ, लक्ष्मण मेन्याङ्बो, हर्कराज कुरुम्बाङ, धनराज थलङ, अर्जुनबाबु मावुहाङ आदिलाई मुन्धुमको लिप्यान्तर, संरक्षण र व्याख्याका लागि महत्त्वपूर्ण व्यक्तित्वका रूपमा लिइने गरिएको छ । सामाजिक, नैतिक र धार्मिक धारणाको विकासको चरम अभिव्यक्ति मुन्धुममा पाइन्छ । अनेक आख्यानहरूद्वारा धार्मिक, नैतिक र सामाजिक अवधारणाका लागि सनातनी हिन्दूहरूको लागि अठार पुराणको महत्वजस्तै लिम्बूहरूका लागि मुन्धुमको महत्व छ ।

मुन्धुम येवा, येमा, साम्बा तथा फेदाङ्माहरूले मुखले गाउने वा फलाक्ने विधा भएकाले यस विषयमा जानकार वा विज्ञ पुस्ताको अन्त्यसँग यो विधा पनि लोप भएर जाने खतरा उत्तिकै छ । त्यसैले यसको संरक्षणका लागि लिप्यान्तर र प्रकाशन अति जरुरी हुन पुग्यो । एउटा सिङ्गो समुदायको सभ्यता, त्यो समुदायको आध्यात्मिक तथा सांस्कृतिक मान्यता तथा जीवन दर्शनको आधार रहेकाले मुन्धुम अत्यन्तै महत्त्वपूर्ण अभौतिक सम्पत्ति भएकामा दुईमत छैन ।

मुन्धुमको लिप्यान्तरको जति महत्व छ, यसको दार्शनिक व्याख्याको पनि उत्तिकै आवश्यकता छ । मुन्धुम लिप्यान्तर कार्यमा उल्लेख्य प्रगति भइरहेको पनि पाइन्छ । तर यसको दार्शनिक व्याख्या भने उल्लेख्य रुपमा हुन सकिरहेको छैन । विज्ञजनबाट मुन्धुमको दार्शनिक व्याख्या पनि उत्तिकै अपेक्षित हुन पुगेको छ ।

सिरियामा लगाइएको प्रतिबन्ध हटाउन इयुलाई टर्कीको आग्रह

ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले आइतबार युरोपेली सङ्घ (इयु) लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको छ । सम्मेलनमा युद्धग्रस्त देश सिरियाका नयाँ अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ ।टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्तिमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी डिसेम्बरमा सत्ता सम्हालेका सिरियाका नयाँ शासकहरूसँग गठबन्धन गरेर अङ्काराले देशमा ‘शान्तिपूर्ण सङ्क्रमण’ का लागि यस्तो कदम आवश्यक ठानेको बताएको छ ।

इयुले सोमबार सिरियाको समर्थनमा नवौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ । पहिलो पटक सिरियाको सरकारका प्रतिनिधिहरू–नयाँ अन्तरिम अधिकारीहरूलाई–उपस्थित हुन आमन्त्रित गरिएको छ ।

यस कार्यक्रमको उद्देश्य १३ वर्षभन्दा बढी गृहयुद्धपछि सिरियाको सङ्क्रमण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो ।सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–सारालाई केही चुनौतीबाट राहत दिन इयुले फेब्रुअरी २४ मा नै सिरियाको ऊर्जा, यातायात र बैंकिङ क्षेत्रमा प्रतिबन्धहरू खुकुलो पारेको थियो ।

तर युरोप र अन्य शक्तिहरू डिसेम्बर ८ मा असदलाई अपदस्थ गर्ने अप्रत्याशित आक्रमणको नेतृत्व गर्ने साराको इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) ले सिरियालाई कुन दिशामा लिन सक्छ भन्ने कुरामा सावधान छन् ।साराका अधिकारीहरूले देशलाई स्थिर बनाउन र समावेशी भविष्यको सुरुआत गर्न सक्ने आशा भए पनि असद सम्बन्धित अलावी अल्पसङ्ख्यकलाई लक्षित गरेको हालैको घातक हिंसाले शङ्का कायम राखेको छ ।

इयुका विदेशमन्त्रीहरूले सिरियाका नयाँ नेताहरूले अल्पसङ्ख्यकहरूको अधिकारको सम्मान गर्ने र लोकतन्त्रतर्फ अघि बढ्ने वाचा भङ्ग गरेमा उनीहरूले कम गरेका प्रतिबन्धहरू पुनः लागु गर्नसक्ने चेतावनी दिएका छन् ।

“सिरियाको आर्थिक सुरक्षा देशको स्थिरता र सुरक्षाका लागि आवश्यक छ”, टर्कीको मन्त्रालयले भन्यो, “आर्थिक अवसर र रोजगारी सिर्जना गर्न आवश्यक छ, प्रतिबन्धहरू बिना शर्त र अनिश्चित अवधिका लागि हटाउनुपर्छ ।”

करिब ३० लाख सिरियाली शरणार्थीलाई आश्रय दिने टर्कीले पनि ‘फिर्तीलाई प्रोत्साहित गर्न’ सिरियाको पुनर्निर्माण गर्न आग्रह गरेको छ । टर्कीका उपविदेशमन्त्री नुह यिलमाजले ब्रसेल्स सम्मेलनमा भाग लिनुहनेछ ।

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने छ ।

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

मध्यविन्दु (नवलपरासी), ४ चैत : एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा ह त्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो ।

तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।

रोजगारीका लागि मलेसिया जानुभएकी २५ वर्षीय तिलमायाको ह त्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया जानुभएकी तिलमायाको पाकिस्तानी नागरिकले ह त्या गरेका थिए ।

छोरी तिलमायाको ह त्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाउनुभएको थियो । तर पनि ह त्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो । शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।

“लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ ।”

मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिनुभयो । “वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइने छ”, उहाँले भन्नुभयो, “आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।”

लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गर्नुभएको थियो । तिलमायाको ह त्या भएको खबरलगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि ढिलाइ भएपछि राससमार्फत समाचार प्रकाशन गरिएको थियो ।

मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताउनुभयो । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । “तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइने छ”, लम्सालले भन्नुभयो ।

प्रतिनिधिसभाको बैठक ११ बज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका साथै पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक १०८१ माथिको दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु

धनकुटा, ४ चैत : गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । “कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ”, होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भन्नुभयो । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरुको  व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मूख रहेको बताउनुभयो । यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उहाँ बताउनुहुन्छ ।

होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भएपनि टावरको प्रवेश शुल्क केही महङ्गो भएकाले सोचे जस्तो पर्यटकहरु आकर्षित नभएको गुनासो गर्नुभयो । 

हाल भेडेटारमा पर्यटकलक्षित एक सय भन्दा बढी सुविधा सम्पन्न र करिब दुई सय बढी साना होटलहरु सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रुपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा एक लाख ५० हजार बढी पर्यटकहरुले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाले जानकारी दिनुभयो । उक्त अवधिमा स्काई वाक टावरबाट रु पाँच करोड बढी कारोबार भएको उहाँले बताउनुभयो ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ४ चैतः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ४५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु १२०, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४५, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १४०, कोइराला प्रतिकेजी रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ५५, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध, दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

जनकपुर । जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएको १८ वर्षीय आशु यादवका परिवारजन र स्थानीयवासीले बाटो अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरुले मृतक आशुको शव सडकबीचमै राखेर प्रदर्शन गरेका हुन् ।

आशुको हत्यामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो ।यता आशुका परिवारजनले आशुको हत्यामा अन्य युवकहरुको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।

चिनियाँ चलचित्र “म कहिल्यै नमरी जीउन चाहन्छु” लुम्बिनीमा छायाङ्कन गर्नेबारे छलफल

लुम्बिनी-चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र निर्माण गर्ने विषयमा लुम्बिनी विकास कोषमा छलफल गरेका छन् । “म कहिल्यै नमरी जीउन चाहन्छु” नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा छायाङ्कन गर्ने योजना रहेको जनाउँदै निर्माता तथा कलाकारले छलफल गरेका हुन् ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचारप्रसार गर्ने गरी चलचित्र निर्माण हुने कुराले लुम्बिनीको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चलचित्रले चीनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । चलचित्र छायाङ्कनका लागि कानुनले दिएका बिषयमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । 

छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले भगवान बुद्धले लुम्बिनी भ्रमण गर्दा जीवनमा भएका पापहरु क्षम्य हुने भनी बौद्धशास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सही रुपमा चलचित्रले उठान गर्न सुझाव दिनुभयो । लुम्बिनीमा शाक्यमुनी बुद्ध र कपिलवस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई समेटेर छायाङ्कन गर्दा अझ प्रभावकारी हुने उहाँको सुझाव थियो ।

चलचित्रका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दूतावास हुँदै लुम्बिनीमा छायाङ्कनका लागि आउने जानकारी गराउनुभयो । निर्माता चाउसँगै छायाङ्कार डेङ्ग छुङमिनसहितको टिम लुम्बिनी आएको थियो । उनीहरुले चीनबाट चलचित्र छायाङ्कन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा सागर न्यौपानेले बताउनुभयो । 

भन्सार छलेर ल्याएको दुई करोड ७५ लाखको सामानसहित तीन जना नियन्त्रणमा

काठमाडौँ- प्रहरीले रु दुई करोड ७५ लाख ११ हजार चार सय ९८ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यही चैत १ गतेराति काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।” बरामद गरिएको उक्त सामानसहित निजहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रवक्ता बोहराले बताउनुभयो ।

रुखबाट खसेर वृद्धको मृत्यु

धौलागिरि (म्याग्दी), ४ चैत : यहाँको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ । स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

स्थानीयले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको प्रनाउ श्रेष्ठको भनाइ छ । वृद्धको घटनास्थलमै मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

बन्दीपुर (तनहुँ), ४ चैत : यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ । हाल उहाँले मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उहाँले बताउनुभयो ।

“पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ”, गुरुङले भन्नु्भयो । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । “व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ”, उहाँले भन्नुुभयो ।

आजको मौसम : कोशी र मधेसमा हावाहुरीको सम्भावना

काठमाडौँ, ४ चैत : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २५ पैसा र बिक्रीदर २० रूपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७ रूपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ४ चैत : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।”

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।

लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

सोलुखुम्बुमा हावाहुरीको वितण्डा, घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति

सोलुखुम्बु, ४ चैत : “खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भन्नुभयो ।

विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ ।

दुई महिनामा २६ घटना

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजि घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ ।

जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

“अघिल्ला वर्षहरुमा यस वर्षको जस्तो ठुलो हावाहुरीले क्षति पु¥याएको देखिएन, यो वर्ष त माघदेखि जिल्लामा हावाहुरीले ठुलो मात्रामा क्षति पु¥याउन थालेको छ”, प्रनाउ घिमिरेले भन्नुभयो । हावाहुरीका कारण कतिपय स्थानमा रुखहरु जरा पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मालगायतका क्षेत्रमा ढलेको रुखका कारण हाइटेन्सन लाइनमा क्षति पुग्दा बारम्बर विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।

लाइन विस्तार भएका क्षेत्रमा रुखहरु ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो ।

हावाका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ । घरका छानोहरु उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदसिं तामाङले बताउनुभयो । जसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ ।

तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।

जलवायु परिवर्तनको गम्भीर असरः विज्ञ

विज्ञहरुका अनुसार यसरी तीव्र्र गतिमा अस्वाभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो । जलवायु विज्ञ तथा सगरमाथा संवादका विज्ञ सदस्य डा धर्मराज उप्रेतीका अनुसार स्थानीय मौसमी प्रणालीहरू पर्वतीय भूभाग भएका क्षेत्रमा स्थानीय मौसमी प्रणालीको विकास हुन सक्छ । जसले तीव्र हावाहुरी निम्त्याउन सक्ने डा उप्रेतीको भनाइ छ । हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना भइरहेको उहाँले बताउनुभयो ।

डा उप्रेतीले भन्नुभयो, “वैश्विक तापमान वृद्धिका कारण मौसम प्रणालीहरूमा अस्थिरता बढ्दै गएको छ, जसले गर्दा अनियमित र तीव्र हावाहुरीजस्ता घटनाको आवृत्ति र तीव्रता बढेको हो, यो पृथ्वीका लागि गम्भीर खतराको सङ्केत हो । मुख्यतः यो जलवायु परिवर्तनकै असर हो ।”

नेपालमा प्रायः यस बेला पश्चिमी वायु प्रणालीको प्रभावले हावाहुरी र वर्षा हुने गर्दछ । यदि यस्तो प्रणाली सक्रिय छ भने सोलुखुम्बुमा तीव्र हावाहुरीको सम्भावना बढ्न सक्ने जलवायु जानकार डब्लूडब्लुएफका राष्ट्रिय कार्यक्रम प्रबन्धक राजन थापा बताउनुहुन्छ । पृथ्वीमा हावा चल्नुको मुख्य कारण सूर्यको ताप, वायुदाबको भिन्नता, पृथ्वीको घुमाइ र स्थल तथा जलका गुणहरू हुन् । वायुदाबको भिन्नता भन्नाले पृथ्वीको विभिन्न स्थानमा वायुमण्डलद्वारा पारिएको हावाको चापमा हुने फरक हो । यी कारकले मिलेर पृथ्वीको वायुमण्डलमा हावाको गति सिर्जना गर्ने थापाले बताउनुभयो ।

जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्यधिक तातिरहेको छ जसले हावाको वेगमा परिवर्तन आएको हुन सक्ने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले हावाको दिशा पृथ्वीको घुमाइले प्रभाव पार्छ । जलवायु परिवर्तनको कारणले पृथ्वीको घुमाइलाई असर पारेको छ भने हिमाली भेगमा हावाको गति अस्वाभाविक हुन सक्छ । यो गम्भीर अध्ययनको विषय हो । यो असर भोलीका दिनमा बढ्न सक्छ, जसका लागि पुर्वसूचना प्रणाली जडान गर्नुपर्छ ।”

ट्रम्पसँग सम्झौता गर्दा युरोपमा गठबन्धन खोज्दै क्यानाडाका प्रधानमन्त्री कार्नी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि गरेको आक्रमणको सामना गर्दै मित्रताको खोजी गर्न क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नी सोमबार पेरिस र लन्डन जाँदै हुनुहुन्छ ।क्यानाडाको प्रारम्भिक अस्तित्वलाई आकार दिने दुई देशको राजधानी सहरहरूमा कार्नीले जानाजानी आफ्नो पहिलो विदेश भ्रमण गर्दै हुनुहुन्छ ।

शुक्रबार आफ्नो शपथ ग्रहण समारोहमा कार्नीले फ्रान्सेली, अङ्ग्रेजी र आदिवासी गरी तीन जनताको आधारशिलामा देश निर्माण भएको उल्लेख गर्दै क्यानाडा अमेरिकाभन्दा मौलिक रूपमा भिन्न रहेको र ‘कुनै पनि आकार वा रूपमा कहिल्यै पनि संयुक्त राज्यको हिस्सा हुनेछैन’ भन्नुभयो ।

“ट्रम्प फ्याक्टर नै यस यात्राको कारण हो । ट्रम्प फ्याक्टरले कार्नीले सामना गर्नुपर्ने अरू सबै कुरामा प्रभुत्व जमाउँछ”, टोरन्टो विश्वविद्यालयका प्राध्यापक इमेरिटस नेल्सन वाइजम्यानले भन्नुभयो ।

उन्साठ्ठी वर्षीय पूर्व केन्द्रीय बैंकरले सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नुहुनेछ र त्यसपछि लन्डन जानुहुनेछ । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधीकरण र सम्भवतः ट्रम्पको भन्सार महसुलको प्रतिक्रियाको समन्वय गर्ने प्रयास गर्नुहुनेछ ।

उहाँले बेलायती नरेश चार्ल्स तृतीयसँग पनि भेट गर्नुहुनेछ । चार्ल्स तृतीय क्यानाडाका राज्य प्रमुख हुनुहुन्छ । कार्नी बैंक अफ इङ्गल्यान्डका पूर्व गभर्नरसमेत रहनुभएकाले इङ्गल्यान्डको यात्रा केही हदसम्म घर फर्किए जस्तै हो । बैंकको तीन सय वर्षभन्दा बढीको इतिहासमा यस भूमिकामा नियुक्त हुने उहाँ पहिलो गैर–नागरिक हुनुहुन्छ ।

त्यसपछि कार्नी ‘क्यानाडाको आर्कटिक सुरक्षा र सार्वभौमिकतालाई पुनः पुष्टि गर्न’ ओटावा फर्कनुअघि क्यानाडाको आर्कटिकको किनारको यात्रा गर्नुहुनेछ । त्यहाँ उहाँले केही दिनभित्रै चुनाव घोषणा गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले क्यानाडाको सार्वभौमिकताको सम्मान गर्नुभएमा उहाँसँग भेट्न तयार रहेको कार्नीले बताउनुभएको छ । हाल वासिङ्टन भ्रमण गर्ने योजना नरहेको तर चाँडै राष्ट्रपतिसँग फोन वार्ता गर्ने आशा रहेको उहाँले बताउनुभयो ।

पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानाडालाई ५१औँ अमेरिकी राज्य बनाउने ट्रम्पको कुराले क्यानाडालीहरूलाई क्रोधित बनाएको छ । धेरैले सकेसम्म अमेरिकी सामान किन्ने कुरालाई टार्दैछन् ।कार्नीको सरकारले ट्रम्पको व्यापार युद्धको प्रकाशमा अमेरिकी निर्मित एफ–३५ लडाकू विमानको खरिदको समीक्षा गरिरहेको छ ।

ट्रम्पले आर्थिक युद्धको घोषणा नगरेसम्म र क्यानाडा ५१औँ राज्य बन्नुपर्छ भनेर बारम्बार नभनेसम्म सत्तारूढ लिबरल पार्टी यस वर्ष ऐतिहासिक चुनावी पराजयको लागि तयार देखिन्थ्यो । अब पार्टी र यसको नयाँ नेता शीर्षमा आउन सक्छन् ।

टोरन्टो विश्वविद्यालयका क्यानाडाली इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक रोबर्ट बोथवेलले कार्नीले ट्रम्पलाई भेट्न नजानु बुद्धिमानी हुने बताउनुभयो ।
“वासिङ्टन जाने कुनै अर्थ छैन”, बोथवेलले भन्नुभयो, “(पूर्व प्रधानमन्त्री जस्टिन) ट्रुडोको व्यवहारले देखाएअनुसार त्यसबाट निस्कने परिणाम ट्रम्पले आफ्ना पाहुनाहरूलाई अपमान गर्ने अशिष्ट प्रयास मात्र हो । न त तपाईँ त्यहाँ बसेर गलत झुट दोहोर्‍याउने कसैसँग तर्कसङ्गत कुराकानी गर्न सक्नुहुन्छ ।”

ट्रम्पले सम्मानको माग गर्नुहुन्छ भन्दै बोथवेलले भन्नुभयो, “तर यो प्रायः एकतर्फी मार्ग हो, जसले अरूलाई आफ्नो आत्मसम्मानलाई छोडेर आफ्नो इच्छामा झुक्न आग्रह गर्दछ ।”

मन्ट्रियलको म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक डेनियल बेलान्डले संयुक्त राज्य अमेरिकासँगको जारी व्यापार युद्धबीच क्यानाडाले व्यापार विविधीकरण गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो । क्यानाडाको ७५ प्रतिशतभन्दा बढी निर्यात अमेरिकामा जान्छ । बेलान्डका अनुसार आर्कटिक सार्वभौमिकता पनि क्यानाडाको लागि प्रमुख मुद्दा हो ।

“राष्ट्रपति ट्रम्पको क्यानाडा र ग्रिनल्यान्ड दुवैको बारेमा आक्रामक कुरा र ट्रम्पअन्तर्गत एक शक्तिशाली आर्कटिक शक्ति रुस र संयुक्त राज्य अमेरिकाबीचको स्पष्ट नजिकीकरणले यस दुर्गम तर अत्यन्त रणनीतिक क्षेत्रमाथि हाम्रो नियन्त्रणको बारेमा चिन्ता बढाएको छ”, उहाँले भन्नुभयो ।

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ, ३ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै त्रिभुनव विश्वविद्यालय (त्रिवि) को यही चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा गराउन र निर्धारित निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी सङ्गठनलाई अनुरोध गर्नुभएको हो ।

“निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानुनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानुनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको छ,” प्रवक्ता सापकोटाले भन्नुभयो, “त्यस्ता आचारसंहिता विपरीत हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरुलाई अनुरोध गरिन्छ ।”

मन्त्रालयले स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

“स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण जुनसुकै निर्वाचनका अनिवार्य सर्त हुन् । यिनै सर्तलाई पूर्ण पालना गर्दै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनसम्बन्धी निर्देशिका, २०८१ जारी गरी निर्वाचन आचारसंहिताको व्यवस्था गरेको छ,” उहाँले विज्ञप्तिमा भन्नुभएको छ,  “निर्धारित निर्वाचन आचारसंहिता तथा निर्देशनको पालना गर्नु विद्यार्थी सङ्गठनहरू, मतदाता तथा विश्वविद्यालय एवम् क्याम्पस प्रशासन सबैको कर्तव्य र दायित्व हुन आउँछ ।” त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । 

काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौँ, ३ चैत : काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–१ फूलबारी गेटस्थित सडकमा बागमती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल र बागमती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकलका चालक टोखा नगरपालिका–३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको रहेका छन् । उनको उपचारका क्रममा आज ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचारकक्षले जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल चालकको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडकखण्डमा टाँगा चलाउन पाइने

वीरगञ्ज (पर्सा), ३ पुस : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभावी ढङ्गले चल्दै आएका टाँगालाई मितेरीपुल–रजतजयन्तीचोक–बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै चलाउन आग्रह गरेको छ ।

वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी रुपमा टाँगा चलाउँदा सवारी दुर्घटना र सडकमा मलमुत्रको दुर्गन्ध फैलिने भएकाले व्यवस्थित गर्न खोजिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले वीरगञ्जमा चल्ने टाँगालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न जनचेतना मूलुक अभियान सुरुआत गरेको जानकारी दिनुभयो ।

आइतबार ट्राफिक प्रहरी, वीरगञ्ज महानगरका प्रतिनिधि, प्रहरीचौकी इनर्वा र ग्रीनसिटि सामुदायिक सेवा केन्द्रको अगुवाईमा टाँगा चालकलाई अभिमुखीकरण गर्दै अबदेखि टाँगालाई मितेरीपुल, रजत जयन्तीचोक, बाइपास सडक हँुदै नयाँ बसपार्कको रुटमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । घोडाको मलमुत्र व्यवस्थापन गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक भट्टले उल्लेख गर्नुभयो । यसबाट घोडाको मलमुत्रबाट हुने दुर्गन्धमा कमी ल्याउन सकिनेछ ।

टाँगा चलाउन सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुको मुख्य रोजाईमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शंकराचार्यगेट नजिकै मितेरीपुलमा रोकिने भए पनि टाँगा भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाईमा टाँगा पर्ने गर्छ । भारतीय टाँगा पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन । वीरगञ्ज आसपासमा भारतीय टाँगासहित करिव १५० देखि २०० को हाराहारीमा टाँगा रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले दसैँ लगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आएका थिए । ट्राफिक प्रहरीले पछिल्लो समय घण्टाघर चोक र अन्य सडक खण्डमा सवारीसाधन चलाएमा नियन्त्रणमा लिन थालिएको छ । प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले टाँगा नचलाउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटीको आकस्मिक बैठक यही चैत ४ गते काठमाडौँमा आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बोलाइएको उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्ने, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने बृहत् ¥याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयार गर्नेलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ भने उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ । बैठकमा पार्टीले सुशासन, रोजगारीलगायत विषयलाई केन्द्रित गरी देशभर सुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई सङ्गठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ ।

आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा वडा, गाउँ, प्रदेश र केन्द्रमा छलफल गर्न लागिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिनुभयो । बैठकमा राजनीतिक अस्थिरता र अन्योलका कारण जनतामा आएको असन्तुष्टिलाई न्यूनीकरण गर्न जनपरिचालन तथा आन्दोलनका कार्यक्रमहरू अनुमोदन गरिने सो पार्टीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ, ३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ४ बजेदेखि बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

बैठक बस्ने समय चाँडै तय गरिने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा बिगतमा भएका निर्णयहरूको कार्यान्वयनका बारेमा जानकारी लिने र दिने काम भएको हो ।

यसैगरी, वर्तमान राष्ट्रिय राजनीतिका बारेमा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले जानकारी गराउनुभएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो । संसदीय गतिविधिबारे र अहिले भइरहेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी दिनुभएको थियो ।

हिमवत्खण्ड सम्मेलन : विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह

काठमाडौँ, ३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभएको छ ।मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित तीनदिने हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन, २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हिमवत्खण्ड सम्मेलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको तथा यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताउनुभयो । सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुआत यही हिमवत्खण्डबाट हुनुको असाधारण महत्व रहेको चर्चा गर्दै उहाँले यो भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक विविधताको नमूना भएको बताउनुभयो ।

“यस्तो गौरवगाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा सङ्कल्प गर्नुपरेको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानव सभ्यताका ६ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीसँग छन् । ती पुर्खाका योगदान हामीसँग छन् । आजको मानव जातिले आधुनिक खोज–अनुसन्धानका साथै पुराना ती सम्पत्तिलाई पेटेन्ट राइट्सका रुपमा संरक्षित गर्नुपर्नेछ । जेनेटिक मेमोरीलाई हामीले पुनःजन्म गराउनुपर्नेछ ।”

प्रधानमन्त्री ओलीले हिमवत्खण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गर्नुभएको थियो । समापनसत्रमा छानिएका कविहरुले कवितावाचन गर्नुभएको थियो । नेपाल र विदेशका गरी करिब ५०० स्रष्टा सहभागी उक्त सम्मेलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । यही चैत १ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त सम्मेलनको उद्घाटन भएको थियो ।

मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

काठमाडौँ, ३ चैतः नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुरÞ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।

“पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुरÞ्याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जानेछ । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ ।

“यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ”, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ । साथै यस कार्यले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने बोर्डले अपेक्षा गरेको छ ।

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ३ चैत ः पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजनामार्फत नेपालले अधिकतम लाभ लिनुपर्ने बताउनुभएको छ ।

‘फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसियलिजम्’ले यहाँ आयोजना गरेको ‘कास्टमण्डप संवाद’को निष्कर्षबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले संसारकै ठूला परियोजनामध्येको बिआरआईबाट अन्य देशजस्तै नेपालले पनि लाभ लिनुपर्ने बताउनुभयो । नेपालमा यसको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय सहमति खोज्न राजनीतिक दलले अग्रसरता लिनुपर्ने खनालको भनाइ छ ।

नेपालले बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरिसकेकाले त्यसलाई कार्यान्वयनमा गति दिनुपर्ने आवश्यकता औँल्याउँदै पूर्वप्रधानमन्त्री खनालले नेपालको हितलाई सर्वोपरि राखेर मात्र यसअन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्ने तर्क गर्नुभयो । बिआरआई परियोजनाको अवधारणा केवल अनुदान मात्र नभई सहुलियतपूर्ण ऋण तथा व्यवसायिक ऋणसमेत भएकाले यसबारे स्पष्ट नीति लिन आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

“बिआरआई एक अवधारणा हो, कुनै निश्चित परियोजना होइन । यसभित्र के कस्ता परियोजना राख्ने भन्ने विषयमा नेपालले ध्यान पुर्याउनुपर्छ र बहुआयामिक कनेक्टिभिटीमार्फत् दीगो विकासको अवधारणा अघि सार्न सक्नुपर्छ । नेपालले प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिँदै सहुलियतपूर्ण ऋण तथा अन्य वित्तीय संयन्त्रको अधिकतम उपयोग गर्नुपर्छ”, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो ।

कार्यक्रममा सिचुआन विश्वविद्यालयका प्राध्यापक डा हुवाङ युनसङले बिआरआईअन्तर्गत अनुदान मात्र नभई सहुलियतपूर्ण तथा व्यावसायिक ऋणसमेत समेटिने बताउनुभयो । नेपालले आफ्नो प्राथमिकता आफैँ निर्धारण गर्नुपर्ने धारणा राख्दै उहाँले कुनै पनि अन्तरराष्ट्रिय परियोजनालाई आफ्नो आवश्यकताअनुसार स्वायत्त निर्णय गरेर अघि बढाउनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले कास्टमण्डप संवादको निष्कर्ष समेट्दै सरकारलाई सुझाव सिफारिस गरिने जानकारी दिनुभयो । दुई दिनसम्म चलेको कास्टमण्डप संवादका विभिन्न सत्रमा नेपालको भौतिक पूर्वाधार, कनेक्टिभिटी र आर्थिक विकासका लागि बिआरआई महत्त्वपूर्ण संयन्त्र हुनसक्ने भन्दै यसलाई व्यावहारिक, पारदर्शी तथा दीगो तरिकाले कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो ।

रायसिना डायलग २०२५ का लागि विश्व नेताहरू दिल्लीमा

विश्वभरका नेताहरू प्रमुख भू–राजनीतिक सम्मेलन रायसिना डायलग २०२५ मा भाग लिन नयाँदिल्ली आइरहेका छन् ।आइतबार स्लोभेनियाका विदेशमन्त्री तान्या फाजोन, लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेल र पेरुका विदेशमन्त्री एल्मर सिएलर सल्सेडो तथा माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद यहाँ आइपुग्नुभयो ।

विदेश मामिलाका मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा एक पोस्टमा लेख्नुभयो, “रायसिना डायलग २०२५ का लागि थप आगमन ! भारतमा स्वागत छ, लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेल र स्लोभेनियाका विदेशमन्त्री तान्या फाजोन ।”

सम्मेलनमा भाग लिन माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद र पेरुका विदेशमन्त्री एल्मर सियलर सल्सेडो नयाँदिल्ली आइपुग्नुभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

एक्समा एक पोस्टमा उहाँले भन्नुभएको छ, “रायसिना डायलग २०२५ का लागि आइपुग्नुभएका हाम्रा सम्मानित पाहुनाहरूलाई बधाई ! घानाका विदेशमन्त्री स्यामुएल ओकुडजेटो अबलाकवा, पेरुका विदेशमन्त्री एल्मर सियलर सल्सेडो र माल्दिभ्स गणतन्त्रका पूर्वराष्ट्रपति मोहम्मद नाशिद नयाँदिल्लीमा न्यानो स्वागतका लागि आइपुग्नुभएको छ ।”

यसअघि क्युबाका उपप्रधानमन्त्री एडुआर्डो मार्टिनेज डिआज र घानाका विदेशमामिला मन्त्री स्यामुएल ओकुडजेटो अब्लाकावा रायसिना डायलगमा भाग लिन आइतबार आइपुग्नुभएको थियो ।

शुक्रबार नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवा रायसिना संवादमा भाग लिन दिल्ली आइपुग्नुभएको थियो । “रायसिना डायलग २०२५ का लागि नयाँदिल्ली आइपुगेपछि नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई हार्दिक स्वागत छ”, प्रवक्ता जयसवालले एक्समा एक पोस्टमा भन्नुभयो ।

विश्व समुदायले सामना गरिरहेको सबैभन्दा चुनौतीपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रायसिना डायलग भारतको प्रमुख भू–राजनीतिक र भू–आर्थिक सम्मेलन हो । यो मार्च १७–१९ मा दिल्लीमा आयोजना हुने तय गरिएको छ ।

विदेश मन्त्रालयसँगको साझेदारीमा अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले सम्मेलनको आयोजना गरेको हो । यस प्रयासलाई सम्मेलनको मिसनप्रति प्रतिबद्ध रहेका धेरै संस्था, सङ्गठन र व्यक्तिहरूले समर्थन गरेका छन् ।

“हरेक वर्ष, राजनीति, व्यापार, मिडिया र नागरिक समाजका नेताहरू नयाँदिल्लीमा विश्वको अवस्थाबारे छलफल गर्न र समकालीन मामिलाहरूको विस्तृत शृङ्खलामा सहयोगका अवसरहरू अन्वेषण गर्न भेला हुन्छन्”, ओआरएफले एक विज्ञप्तिमा भनेको छ, “यो संवाद एक बहु–सरोकारवाला, अन्तर–क्षेत्रीय छलफलको रूपमा संरचित छ । यसमा राज्यका प्रमुखहरू, क्याबिनेट मन्त्रीहरू र स्थानीय सरकारी अधिकारीहरू समावेश छन्, जसमा निजी क्षेत्र, मिडिया र शिक्षाविद्हरूका विचारशील नेताहरू सामेल छन् ।”

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ, ३ चैतः आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । ऐतिहासिक जुट मिल खेलमैदानमा आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा क्लबको सहभागिता रहेको ट्रष्टका अध्यक्ष विष्णु डङ्गोलले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरी, फ्युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खोख झिल कटिहार विहार भारत, टिएमसी तालतैलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगर, लालीगुँरास स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् । प्रतियोगिताका विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो । आजको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब उदयपुर गाईघाटले प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरीलाई १–० पराजित गरेको छ । सोमबारको खेल पेमा स्पोटिङ क्लब विराटनगर र १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी चैत १० गतेसम्म सञ्चालन हुनेछ ।

लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशन यही चैत ८ गतेदेखि

पाटन (ललितपुर), ३ चैत, नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम केन्द्रीय महाधिवेशन यही चैत ८ र ९ गते हुने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशक समितिका सदस्य मदनकृष्ण श्रेष्ठले केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा देशभरबाट एक हजार केन्द्रीय प्रतिनिधि सहभागी हुने बताउनुभयो । हालसम्म छ प्रदेश, ७२ जिल्लाका १६० सङ्घीय निर्वाचन क्षेत्र, ३२० प्रदेशसभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेशको अधिवेशन भने यही चैत ४ गते महोत्तरीको बर्दिबासमा हुने महाधिवेशन प्रचार–प्रसार उपसमितिका संयोजक माधव चौलागाईंले जानकारी दिनुभयो । नेपाल सरकारले गरेको वर्गीकरणअनुसार सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको महाधिवेशनमा सहभागिता रहने उहाँंले बताउनुभयो । महाधिवेशनमार्फत ३९ जना निर्वाचित र १२ जना मनोनीत गरी ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

लोकतान्त्रिक अपाङ्ग सङ्घको विधानअनुसार केन्द्रीय समितिमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छभने कोषाध्यक्ष तथा दुईजना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने उहाँले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो । महाधिवेशन सम्पन्न गर्न १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरी कार्य प्रारम्भ गरिएको संयोजक चौलागाईंले बताउनुभयो ।

मुख्यमन्त्री सिँहद्वारा विभिन्न सात अस्पतालको अनुगमन

राजविराज (सप्तरी), ३ चैतः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आज राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गर्नुभएको छ ।अनुगमनका क्रममा स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिएको राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न उहाँले निर्देशन दिनुभयो ।

यस्तै, राजविराजमा सञ्चालन हुँदैआएको भारती इमेजिङ सेन्टरलाई सेवा सञ्चालन अनुमतिपत्र नरहेकाले बन्द गर्न निर्देशन दिनुभएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।

स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेका तर मापदण्ड पूरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ ।

सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताल नवीकरण नगरिएकाले दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ । यसैगरी, २०० शय्याको छिन्नमस्ता अस्पताललाई सरसफाइमा ध्यान दिन र राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालको सेवा गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिँहले अस्पताल प्रशासनको ध्यानाकर्षण गराउनुभएको सदस्यसचिव ठाकुरले बताउनुभयो ।

सङ्घ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिँह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृति नगरी केही जनशक्ति अनुपस्थित रहेका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएको जस्ता समस्या देखिएका छन् । मुख्यमन्त्री सिँहले सो अस्पतालमा देखिएका समस्या समाधानका लागिसङ्घीय स्वास्थ्यमन्त्रीसँग आग्रह गरिने बताउनुभयो  ।