`

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोक, ५ चैत : काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रण बाहिर रहेको हो ।

गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ । उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ । सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास गरेपनि डढेलो फैलँदै गएको हो । आज बिहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

सोमबार नेपाली सेनी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो । एन्टी फायरिङ गरिए पनि बस्ती पूर्ण रूपमा सुरक्षित नरहेको गाउँपालिका वडा नं ३ का वडाध्यक्ष  कुबेर ढकालले बताउनुभयो । उहाँका अनुसार हावाहुरी व्यापक रूपमा लागि रहेकाले त्यसलाई पूर्ण नियन्त्रणमा लिन भने सकिएको छैन । स्थानीयलाई सचेत रहन र सावधानी अपनाएर बस्न आग्रह गरिएको छ । 

डढलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन निकै कठिन भएको ढकालको भनाइ छ । उहाँका अनुसार करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको छ । बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको बताइएको छ । 

हावाहुरी चलेकाले डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी, नारायणस्थानसम्म पुग्ने जोखिम देखिएको छ । वनमा डढेलो फैैलिरहेकाले नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयका वन अधिकृत चिनीकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जङ्गलका ठूलाठूलो रूखका टुप्पोसमेत आगो लागिरहेको छ । आगलागी भएको क्षेत्र भिरालो भौगालिक अवस्था रहेकाले डढेलो निभाउन निकै कठिनाइ भइरहेको श्रेष्ठले बताउनुभयो । 

डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने नदेखिएको तथा पशुपक्षी क्षति नभएको ढकालले बताउनुभयो । उहाँका अनुसार थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो देब्रेतर्फ फैलिँदै गयो भने मानवबस्ती जोखिममा पर्नसक्छ । दुई दिनदेखिको डढेलोका कारण वरिपरिको क्षेत्रमा धुवाँ–तुवाँलोले वातावरण प्रदूषित भएको स्थानीय कमल नेपालले बताउनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या तथा आँखा चिलाउने समस्या हुँदै गएको छ । 

यसअघि सोही क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो । खानीखोलाको थामलेख डाँडाबाट सुरू भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमा क्षेत्रमासमेत फैलिएपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाइएको थियो । 

मोडल शिसन सिङ बलले ल्याएको जुनी जुनी बोलको फिमेल भर्सनको चर्चा

काठमाडौँ । गायिका रचना रिमालको स्वर रहेको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपनराज शिवाकोटीको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत रहेको छ । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र शिसन सिङ बलको बेजोड अभिनय देख्न सकिन्छ ।

पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय स्मारिका र शिसनले वैँशालु उमेरमा भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई भिडियो निर्देशक दिनेश बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । निर्देशक बस्नेत पछिल्लो पुस्तामा रुचाइएका निर्देशक हुनु । भिडियो रिलिज भएसँगै दिनेश भन्छन् जुनी जुनीको फिमेल भर्सनमा निकै नै मेहेनत गरेका छौँ । आशा छ हाम्रा अरु सिर्जना जस्तै यसलाई पनि दर्शकले माया र साथ दिनुहुनेछ । बिछोडको सिनमा कैयौँ पटक भक्कानिएकी छिन्मोडल स्मारिका । प्रेमीबाट पाएको धाकोभिडियोमा मोडल शिसनको अभिनयको चर्चा सुरु भएको छ ।

शिसनले यसअघि नक्कली कान्छी, अल्लारे ठिटो, आमा, मान्छेको जात, बिँडी पार्टी, साथी लगायतका दर्जनौँ गीतहरु बजारमा आइसकेका छन् । जसमध्येको बिँडी पार्टी डेढ करोड पटक हेरिएको छ । चितवनका मोडल शिसन एक कुशल कलाकार हुनु । सानै मेरदेखि अभिनयको क्षेत्रमा निकै रुची राख्ने शिसन ठूलो संघर्षपछि अहिले चर्चामा छन् । उनलाई फिल्ममा अभिनयको पनि अफर आएको बताउँछन् । राम्रो व्यबनार र मनले खाएको टिमसँग काम गर्ने शिसनको धोको छ ।

नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ । विकाश दाहालको सम्पादन रहेको जुनी जुनी सन्तोष सुनार अफिसयलबाट बजारमा आएको हो । भिडियो रिलिज गरिए लगत्तै गायिका रचना रिमालले गीत राम्रो बनेको भन्दै सबैको मायाको खाँचो रहेको बताइन् । भिडियो हेरेका दर्शकहरुले पनि गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन

काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन मातहतलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले प्रहरी सङ्गठनको श्रीवृद्धिमा ध्यान दिन निर्देशन दिनुभयो ।

    नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प सङ्गठन भएको चर्चा गर्दै महानिरीक्षक थापाले भन्नुभयो, “नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो ।”

सबै प्रहरी कर्मचारी सङ्गठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रित हुनुपर्ने बताउँदै सामूहिक भावना, भ्रातृत्व र आपसी एकताले मात्र सङ्गठनको सुदृढीकरण र उन्नतिको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

    सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूहले विभिन्न जातजाति, वर्ग, धर्म र संस्कृतिकाविरूद्ध गलत सूचना प्रवाह गर्ने, दूष्प्रचार गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुनसक्ने सामाजिक विचलन रोक्ने गरी कार्यसम्पादन गर्नु आवश्यक रहेको बताउनुभयो । “चुनौतिका रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार–पसार, मानव तस्करी, आर्थिकलगायत अपराध अनुसन्धानका लागि थप क्रियाशील हुनुपर्छ”, महानिरीक्षक थापाले भन्नुभयो ।

‘प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन’

    यसैबीच नवनियुक्त प्रहरी महानिरीक्षक थापाको उपस्थितिमा आजै बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पिसिसी) बैठकले प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरेको छ ।

    बैठकले कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि  तथा कर्जाको ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै कार्यविधिको समयानुकूल संशोधन तथा परिमार्जन गन सिफारिस समिति गठन गर्न निर्देशन दिएको हो ।

स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिनुभयो । उहाँका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन् । यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन् ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उहाँले बताउनुभयो । 

उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 

पोखरा बेलुन विष्फोट घटना : छानबिन समितिद्वारा प्रतिवेदन हस्तान्तरण

काठमाण्डौँ, ५ चैत : पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष, २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटका विषयको अनुसन्धान गर्न गठिन छानबिन समितिले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ ।

भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका प्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो । घटनालगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो ।

समितिले घटनाको विस्तृत छानबिन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिनुभयो ।

समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रममा प्रज्वलनशील पदार्थको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रम औपचारिक समारोहमा समावेश गर्न नहुनेलगायत सुझावसहितको विषय समेटिएको छ ।

त्यसका साथै भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषयसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पको उपयोग गर्न सुझाव दिइएको छ । 

त्यसैगरी बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्यास प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमतिबिना आतिसबाजी तथा विष्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनुपर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट÷अतिविशिष्ट व्यक्तिल आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापनबारे अग्रिम जानकारी लिइ सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्नेलगायत विषय सुधार गर्न भनिएको छ ।

कार्यक्रम सञ्चालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायसँग निरन्तर रूपमा प्रभावकारी समन्वय गर्नुपर्ने, सार्वजनिक कार्यक्रमहरू (सभा, सम्मेलन, मेला, महोत्सव, प्रदर्शनी, र्‍यालीलगायत कार्यक्रम) सञ्चालन गर्ने सन्दर्भमा सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन विधिलगायत विषयसमेत समेट्नेगरी स्पष्ट कार्यविधि/मापदण्ड तर्जुमा गर्नुपर्ने समितिको सुझाव छ ।

मन्त्री भट्टराई र निजी विद्यालयका प्रमुखबीच छलफल

काठमाडौँ, ५ चैतः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विभिन्न निजी तथा सार्वजनिक विद्यालयका प्रमुखबीच छलफल भएको छ । आज यहाँ भएको छलफलमा मन्त्री भट्टराईले छात्रवृत्ति वितरणलाई पारदर्शी र सरकारी नियम कार्यान्वयन गर्न उहाँहरूलाई आग्रह गर्नुभयो ।

उहाँले आगामी शैक्षिक सत्रलाई व्यवस्थित र समावेशी बनाउन सबैलाई निष्पक्ष र समान अवसर प्रदान गर्न, भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनाउन आग्रह गर्नुभयो । मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्दै वर्ग विभाजन हुन नदिने कुरामा ख्याल गर्न आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

  सरकारको नीति र योजनाअनुसार सबै शैक्षिक संस्था सञ्चालन हुनुपर्ने, शैक्षिक क्यालेण्डर कडाइका साथ पालना गर्नुपर्ने र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता हुनुपर्ने विषयमा पनि छलफल भएको थियो । 

छलफलमा काठमाडौँ उपत्यकामा सञ्चालित सेन्टमेरिज, सेन्ट जेभिएर्स, रातो बङ्गला, बूढानीलकण्ठ स्कुल, एसओएस बालग्राम, नेपाल सैनिक विद्यालय, नेपाल प्रहरी स्कुल र गण्डकी बोर्डिङ स्कुलका प्रमुखको सहभागिता रहेको थियो ।

त्यस क्रममा आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया, शुल्क व्यवस्थापन, छात्रवृत्ति वितरण, विद्यालयको सामाजिक उत्तरदायित्व र कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षालगायत विषयमा समेत छलफल भएको थियो ।

अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल

काठमाडौँ, ५ चैतः प्रतिनिधिसभा, अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि आज छलफल भएको छ ।विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले भन्सारका कर्मचारीलाई विभागीय कारबाहीको विषय हटाएको छ । भन्सार विभाग र मातहतका कार्यालयमा खटिने कर्मचारीलाई कारबाहीको विषय निजामती सेवा ऐन र भष्ट्राचार निवारण ऐनलगायतका कानुनले समेट्ने भएकाले भन्सार विधेयकमा यो विषय राख्न आवश्यक नरहेको विषयमा छलफल भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।

समितिले विधेयकको दफा ९०, ९१ र ९२ हटाएको छ । यी दफामा कर्मचारीलाई विभागीय कारबाही गर्ने र हानीनोक्सानी भएको रकम भराइ दिनसक्ने व्यवस्था राखिएको थियो । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ । यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको जनाइएको छ ।

म्यानमामा साइबर अपराधमा वृद्धि

इन्डोनेसियाली विदेश मन्त्रालयले अनलाइन ठगीको शिकार भएका ४०० इन्डोनेसियाली नागरिक म्यान्माबाट घर फर्किएका एक विज्ञप्तिमार्फत जनाएको छ । मङ्गलबार थाइल्याण्डको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा छुट्टाछुट्टै उडानमा बान्टेन प्रान्तको टाङ्गेराङस्थित सोएकर्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका ३१३ पुरुष र ८७ महिला अनलाइन ठगी शिकारका पीडित भएका छन् । सबै स्वस्थ थिए, जसमध्ये पाँच गर्भवती रहेको बताइएको छ ।

म्यावाडीबाट निकालिएका ४०० इन्डोनेसियाली २१ प्रान्तबाट आएका थिए, जसमध्ये धेरैजसो उत्तरी सुमात्रा, बाङ्का बेलिटुङ, पश्चिम जाभा, जकार्ता र उत्तरी सुलावेसीका थिए ।

इन्डोनेसियाली अधिकारीहरूले थाइल्याण्ड र म्यान्माका आफ्ना समकक्षीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न सहयोग गरे ।मन्त्रालयले म्यान्मामा रहेका बाँकी १५४ पीडितहरूलाई स्वदेश फिर्ता ल्याउन प्रयास भइरहेको र बुधबार उनीहरूलाई घर ल्याउने योजना रहेको पनि बताएको छ ।

मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने

जनकपुरधाम, ५ चैतः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नुहने बताउनुभएको छ । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकारले एसइईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यावन्यन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताउनुभएको हो ।

“यही फागुन २६ गते एसइईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने र सो निर्णय प्रदेशका सबै जिल्ला परीक्षा समन्वय समितिले कार्यावन्यन गर्नुपर्ने निर्णय भएको थियो तर त्यसलाई बेवास्ता गरिएकाले प्रदेश सरकारका कुनै पनि निकाय परीषाका कुनै क्रियाकलापमा सहभागी हुँदैनन”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।

आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो तर विभिन्न शिक्षक सङ्घ÷सङ्गठनले यसमा विरोध जनाएका थिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले बाध्य भएर यस्तो निर्णय गर्नु परेको मुख्यमन्त्री सिंहले भन्नुभयो ।

“हामीले राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएर यस्तो निर्णय गरेका थियौँ तर प्रदेश सरकारकाले गरेको निर्णय कार्यावन्यन भएन । प्रदेश सरकारको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो । मधेश प्रदेशका आठ जिल्लामा एसइईमा ८८ हजार आठ सय ५८ जना परीक्षार्थी सहभागी हुने जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीषाहलमा परीक्षार्थीबाट मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्णयलाई भने सङ्घीय सरकारले सदर गरेको जानकारी दिनुभयो ।

प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेश प्रदेशको शिक्षालाई कमजोर बनाउनका लागि निर्णय लागू नभएको गुनासो गर्नुभयो । सङ्घीय सरकारबाट यहाँको शिक्षालाई समाप्त गर्ने खेल भएको उहाँको आरोप थियो ।

यसअघि मधेश प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामले प्रदेशभर तीन सय १२ परीक्षा केन्द्र रहेका र एक हजार दुई सय ३१ विद्यालयका ८८ हजार आठ सय ५८ परीक्षार्थी परीक्षामा सहभागी हुने जनाएको छ । ती केन्द्रमा खटिने कर्मचारीको सङ्ख्या १२ हजार दुई सय ४२ र सुरक्षाकर्मीको सङ्ख्या चार हजार पाँच सय ८० रहने पनि निर्देशनालयले जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित

भैरहवा (रूपन्देही), ५ चैतः कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याएको कोशीका सुरुआती ब्याट्सम्यानहरूले केही टिकेर खेल्न खोजे पनि उनीहरू पेभेलियन फर्केसँगै कोशीको ब्याटिङ ‘लाइनअप’ ध्वस्त हुन पुग्यो । दुई सय १९ रनको लक्ष्यसहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९१ रनमै अलआउट हुन पुग्यो । कोशीका लागि सबैभन्दा बढी २५ रन चिराग साहले बनाए ।

यस्तै, साकिब हकले १३ रन र अङ्कित सुवेदीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोडन् सकेनन् । कोशीलाई सस्तोमै समेट्न सुनिल धमला र दीपेन्द्र रावतले तीन÷तीन विकेट बाँड्नुभयो  । यस्तै, दिवन पुन दुई विकेट र अनुज चुनाराले एक विकेट लिए । 

यसअघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले नौ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै, हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन बनाए । 

बलिङमा कोशी प्रदेशका विपिन महतोले तीन विकेट लिए भने दीपेश कँडेल र प्रकाश कार्कीले समान दुई÷दुई विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा एक÷एक विकेट रह्यो । यससँगै कर्णाली प्रदेशले अङ्कतालिकामा थप दुई अङ्क जोडेको छ । पाँच खेल खेलेको कर्णाली प्रदेश तीनमा हार र दुईमा जित निकाल्दै चार अङ्क ल्याएको छभने छ खेल खेलेको कोशी पाँचमा पराजित, एकमा जितका साथ दुई अङ्क ल्याएर प्रतियोगिताको अङ्कतालिकामा पुछारमा पुगेको छ । अङ्कतालिकामा शीर्ष दुई स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ : सांसद शर्मा

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष पूरा भयो । राष्ट्रियसभामा एक वर्ष रहँदैगर्दा धेरै विषयमा अनुभव हासिल गरेकी छु । मैले संसद्मा रहेर जति गर्नुपर्ने हो, त्यति गर्न सकेकी छैन । संसद्मा जनताको आवाज उठाउने, कानुन निर्माण प्रक्रियामा सहभागी हुने कुरा त भइहाल्यो । तर जनताको अवस्था सुधार गर्न ठोस काम गर्न नसकेको अनुभूति भइरहेको छ ।

संसद्मा आइसकेपछि मलाई देशभर गाउँगाउँमा जाने अवसर मिल्यो । गाउँमा अझै पनि जनताको अवस्था उस्तै छ । उनीहरूले व्यवस्था फेरिएको अनुभूति गर्न पाएका छैनन् । सडक, विद्यालय र स्वास्थ्यचौकी गाउँगाउँमा पुगेको छ । तर जनताको अवस्था नाजुक नै छ । गाउँमा युवा छैनन् । रोजगारीका लागि युवा विदेश जाने क्रम बढ्दो छ ।

हामी राजनीतिक दलले निर्वाचनको समयमा जनतासामु राखेका प्रतिबद्धता पूरा गर्न सकेका छैनौँ । कुनै एउटा मात्र राजनीतिक दलले होइन, सबै राजनीतिक दलले आफ्ना प्रतिबद्धता पूरा गर्न सकेका छैनन भन्ने लाग्छ । हामी मुलतः सत्तातिर नै बढी लक्षित छौँ । राजनीतिक खिचातानीमै व्यस्त छौँ । संविधानको कार्यान्वयन जति हुनुपर्ने हो, त्यति हुनसकेको छैन ।

सङ्घीयताको सवालमा अधिकार स्थानीय तहसम्म पुर्याउने विषयमा सङ्घीय सरकारबाट कन्जुस्याइँ गरेको देखिन्छ । महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अपाङ्गताको क्षेत्रलगायत सीमान्तकृत समुदायको हकमा संविधान पूर्ण रूपमा कार्यान्वयन भएको देखिँदैन । आवश्यकताका आधारमा मुख्य मुख्य ऐन बनेका छन् । तर मौलिक हकअन्तर्गतका कानुन बन्न सकेका छैनन् । महिलाको अधिकारको व्यवस्था संविधानमा गरिएको छ, तर त्यसको कार्यान्वयन हुनसकेको छैन ।

अहिले देशमा संविधान संशोधनको बहस चलिरहेको छ । सरकार, प्रमुख दलहरू, सत्तारुढ दलहरूले संविधान संशोधन गर्नुपर्ने विषय के हुन् भनेर छलफलमा ल्याएका छैनन् । अहिले संशोधन नगरे पनि हुने विषयलाई अगाडि सारेको देख्दैछु । पहिलो कुरा सीमान्तकृत समुदायको अधिकार संविधानमा जति सुनिश्चित गरिनुपर्ने हो, त्यति भएको छैन । अर्को सुनिश्चित भएको अधिकार पनि कार्यान्वयन भएको छैन । सीमान्तकृत समुदायको अधिकार थप गर्ने विषयमा संशोधन गर्नुपर्छ । त्योसँगै शासन प्रणाली र निर्वाचन प्रणालीलाई पनि संशोधन गर्नुपर्छ । अब देशमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री हुनुपर्छ । राष्ट्रपति र प्रधानमन्त्री संसद्ले चुन्ने विषय त्यति पारदर्शी देखिएको छैन ।

सङ्घीयता सुदृढीकरणका निम्ति प्रदेश र स्थानीय सरकारलाई पर्याप्त अधिकार दिनुपर्छ । हाम्रो सङ्घीयतामा प्रदेश र स्थानीय सरकारलाई सङ्घीय सरकारले हस्तक्षेप गरेको जस्तो देखिन्छ । स्थानीय निकायलाई आफ्नै तरिकाले चल्न नदिने हो भने सङ्घीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुनेछ । सङ्घीयता कार्यान्वयन गर्न स्थानीय निकायका लागि सङ्घीय सरकारले बनाइदिनुपर्ने कानुनलाई जतिसक्दो चाँडो बनाइदिनुपर्छ । निजामती सेवा ऐन, शिक्षा ऐन, प्रहरी ऐनलगायत थुप्रै कानुन बन्न सकेका छैनन् । त्यसलाई ल्याउनका लागि सबै राजनीतिक दलले सहयोग गर्नुपर्छ ।

सुशासनका निम्ति जनताका जनजीविकाका सवाललाई सरकारले सम्बोधन गर्नुपर्ने खाँचो छ । सरकारले महिला र दलितको सवाललाई सम्बोधन गर्नुपर्छ । जनतालाई शान्ति सुरक्षाको अनुभूति दिनुपर्छ । महिलाको उत्थानको निम्ति संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्नुपर्छ । संविधानको धारा ३८, ७०, ८४, ९१, ९२ लगायत महिलासँग सम्बन्धित संवैधानिक व्यवस्थालाई व्यावहारिक रूपमा नै कार्यान्वयन गर्नुपर्छ । संविधानको धारा ३८ को ‘महिलाको हक’ मा ‘प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुने’ र ‘सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ’ भनिएको छ । तर त्यसको पूर्ण रूपमा कार्यान्वयन भएको देखिँदैन ।

त्यसैगरी संविधानको धारा ७० मा राष्ट्रपति वा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था छ । धारा ८४ मा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट कुल सदस्य सङ्ख्याको कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ । धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी निर्वाचन गर्नुपर्ने भनिए पनि महिलालाई सभामुखभन्दा पनि उपसभामुखमै सीमित गर्ने गरेको देखिन्छ । त्यसैगरी धारा ९२ बमोजिम राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्छ भनिएको छ । त्यहाँ पनि महिलालाई उपाध्यक्षमै सीमित गरिएको छ ।

यदि व्यावहारिक रूपमा महिलाको उत्थान गर्ने हो भने मुलुकको नीतिनिर्माण तहको नेतृत्वदायी भूमिकामा उनीहरुलाई अवसर दिनुपर्छ । अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत महिलाको सहभागिता छ । त्यसैगरी निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारी छन् । महिलाको सहभागिता केही मात्रामा वृद्धि भएको छ । तर यो पर्याप्त भने होइन । महिलाले अधिकारका निम्ति अझै सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

बढ्दो युवा पलायन रोक्न व्यावहारिक शिक्षा दिनुपर्छ । हाम्रोमा व्यावहारिक शिक्षा भएन । व्यावहारिक शिक्षा नभएका कारण अहिले स्नातकोत्तर उत्तीर्ण युवा पनि बेरोजगार बस्नुपरेको छ । नेपालको शिक्षामा भविष्य नदेखेपछि धेरै युवा १२ कक्षा सकेपछि विदेशिने लहर चलेको छ । त्यसलाई रोक्न शिक्षा प्रणालीमा सामयिक सुधार गरी रोजगारमूलक बनाउनुपर्छ । रोजगारी सृजनातर्फ सरकारले विशेष प्राथमिकता दिनुपर्छ ।

हामीसँग युवालाई रोजगारी दिन उद्योग छैन । कृषिमा लगानी बढाउनुपर्छ । नेपालमा सम्भावना नभएको होइन । तर त्यो सम्भावनालाई प्रयोगमा ल्याउन सकिएको छैन । केही युवाले देशभित्र उद्यम सुरु गरेका छन् । उनीहरूलाई अझ प्रोत्साहित गर्नुपर्ने खाँचो छ । समग्रमा देशमा देखिएको शिक्षा, स्वास्थ्य, बेरोजगारीलगायत समस्या समाधान गर्दै जनताको अवस्था परिवर्तन गर्न राजनीतिक दलहरू मिल्नुको विकल्प छैन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समिति सचिवालय सदस्य मनरुपा शर्मा एक वर्षदेखि सङ्घीय संसद्, राष्ट्रियसभाको सदस्य छिन् । विसं २०५७ देखि विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेकी उनले २०५७ सालमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको नेतृत्व तहमा बसेर काम गरेकी थिइन् । राष्ट्रियसभा सदस्य शर्माले पार्टीको पर्वत जिल्ला अध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।
(कुराकानीको सम्पादित अंश)

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताउनुभयो । उहाँका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उहाँले बताउनुभयो । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँुदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

स्वरोजगार बनाउन किसानलाई उन्नत जातका राँगा वितरण गरिँदै

खोटाङ, ५ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताउनुभयो । “यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।”

पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा रु १६ लाख, वडा नं ४ खाल्लेमा रु सात लाख, वडा नं ५ लफ्याङमा रु १२ लाख, वडा नं ७ दोर्पामा रु तीन लाख र वडा नं १५ विजयखर्कमा रु आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिनुभएको छ ।

राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ । राँगा तथा भैँसीपालनमार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ । नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ । नगरपालिकाको लगानीमा ती नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् ।

बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफँैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख जैसीले बताउनुभयो । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा दैनिक ज्यालादारीका करिब एक सय जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब भित्रिने अनुमान गरिएको उपप्रमुख राईले बताउनुभयो ।

“दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न सहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउने छौँ । त्यसका लागि सम्झौता भइसकेको छ ।”

नगरपालिकाले सुरु गरेको किबीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत रोपिएका किबीले उत्पादनसमेत दिन थालिसकेका छन् । उत्पादित किबी सङ्कलन गरेर प्रशोधन गर्नेगरी वडा नं ६ नेर्पामा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

क्यानाडाले ‘फ्रान्सजस्ता भरपर्दो सहयोगी’ सँग सम्बन्ध बलियो बनाउनुपर्छ : प्रधानमन्त्री कार्नी

डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध बिग्रँदै गएपछि क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले सोमबार पेरिसमा आफ्नो देशले ‘फ्रान्स जस्ता भरपर्दो सहयोगीहरूसँग आफ्नो सम्बन्ध सुदृढ पार्नु आवश्यक छ’ भन्नुभएको छ ।

क्यानाडाको अर्थतन्त्र र यहाँसम्म कि सम्प्रभुता पनि दक्षिणी छिमेकी संयुक्त राज्य अमेरिकाबाट अभूतपूर्व खतरामा रहेको अवस्थामा यसका नयाँ नेताले परम्परागत मित्रहरू फ्रान्स र बेलायतसँग सम्बन्ध सुदृढ गर्न ट्रान्स–अटलान्टिक यात्रा सुरु गर्नुभएको छ ।

“क्यानाडाका लागि फ्रान्स जस्ता विश्वसनीय मित्रहरूसँग आफ्नो सम्बन्ध सुदृढ गर्न पहिले भन्दा अझ महत्त्वपूर्ण छ”, शुक्रबार प्रधानमन्त्री बनेपछि पहिलो विदेश यात्रामा एलिसी दरबारमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “म यो सुनिश्चित गर्न चाहन्छु कि फ्रान्स र सम्पूर्ण युरोप क्यानाडासँग उत्साहपूर्वक काम गर्छ, यो गैर–युरोपेली देशहरूमध्ये सबैभन्दा युरोपेली हो, तपाईं जस्तै संयुक्त राज्य अमेरिकासँग सकारात्मक सम्बन्ध कायम राख्न दृढ छ ।”

ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि क्यानाडाका सामानहरूमा बढ्दो आयात भन्सार महसुल लगाउनुभएको छ । यसले क्यानाडामा मन्दी निम्त्याउने खतरा उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडालाई विलय गर्ने धम्की पनि दिनुभएको छ ।कार्नीले म्याक्रोनलाई दुवै राष्ट्र ‘सम्प्रभुता’ का लागि उभिएको बताउनुभयो ।

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई समर्थन गर्ने देशहरूको शनिबार बिहानको भिडियो कन्फरेन्समा दुवै नेताले भाग लिएको दुई दिनपछि क्यानाडाका प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँको नेतृत्वमा युक्रेनलाई हाम्रो अटुट समर्थनले प्रदर्शन गरेको सम्प्रभुता र सुरक्षाका लागि हामी दुवै उभिएका छौँ ।”

म्याक्रोनले भन्नुभयो, “फ्रान्स र क्यानाडा दुवै ‘शान्तिपूर्ण शक्तिहरू’ हुन् जसले किएभलाई समर्थन गरिरहन्छन् र युक्रेनमा स्थायी शान्ति कार्यान्वयन गर्न र ‘सम्पूर्ण युरोपको सुरक्षा’ सुनिश्चित गर्न ‘रुससँग स्पष्ट प्रतिबद्धताहरू माग गर्न जारी राख्छन्’ ।”

पेरिसपछि कार्नी स्टार्मर तथा बेलायत र क्यानाडा दुवै राज्यका प्रमुख राजा चार्ल्स तृतीयसँग वार्ताका लागि लन्डनका लागि प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले एक पटक बैंक अफ इङ्गल्यान्डको गभर्नरका रूपमा काम गर्नुभएको थियो ।

जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको छ । गत हप्ता कार्यभार सम्हाल्नुभएका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।

गत हप्ता क्युबेकमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।

तर त्यस्तो भाषा शुक्रबार जी–७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो । यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका सर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो ।

यस हप्ता पेरिस र लन्डनको भ्रमण गरिरहनुभएका कार्नीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताउनुभयो ।

“क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ”, उहाँले भन्नुभयो ।  जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भन्नुभएको छ ।

उहाँले ‘क्यानाडालाई सहयोग, विशेष गरी रक्षा प्याकेजहरू र हाम्रो ऊर्जा क्षेत्रको समर्थनका लागि धन्यवाद दिएको’ र ‘मस्कोमाथि दबाब बढाउनुपर्ने सही बुँदाहरू’ उठाएकामा कार्नीको प्रशंसा गरेको बताउनुभयो । यस वर्षको जी–७ अध्यक्षता गर्ने क्यानाडाले जुन १५–१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ ।  ट्रम्पले मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्धविरामको प्रस्तावबारे छलफल गर्ने कार्यक्रम छ ।

आजको मौसम : गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ, ५ चैत : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

साथै अपराह्नको समयमा कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना ७५ प्रतिशत निर्माण

बेनी (म्याग्दी), ५ चैत -रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव पाँच मेगावाट क्षमताको यस आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।

आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युत्गृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ ।

आयोजनाको पूर्वाधारतर्फको ठेकेदार कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक दुई सय जना जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाको लागि आबश्यक पर्ने मेसिन उपकरण ढुवानीको काम धमाधम भइरहेको र विद्युत्गृहमा विद्युतीय मेसिन, उपकरण र सामग्रीको जडान गर्ने काम भइरहेको वित्त प्रमुख खतिवडाले बताउनुभयो ।

सुरुङरहित यस आयोजनामा कुल दुई हजार आठ सय मिटर पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । सुगुरथलामाथि रघुगङ्गा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ ।

रु तीन अर्ब लागत अनुमान गरिएको यस आयोजनामा प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छभने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ«े बैँकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ । आयोजनाको इलेक्टोमेकालिकतर्फको ठेक्का लिएको भारतीय बिएफएल कम्पनीले समेत मेसिन उपकरण जडान गर्ने काम गरिरहेको छ ।

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

जुम्ला, ५ चैतः नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली यहाँ पुगेको छ ।केन्द्रीय पुरातत्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन तथा स्थानीयसँग छलफल गरिरहेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

सिञ्जा सभ्यताको ऐतिहास, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले यहाँका स्थानीयसँग छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, “विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिञ्जा उपत्यकामा पुगेर अध्ययन थालेको हो ।” टोलीले यस क्षेत्रको हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालगायत स्थानमा रहेका सभ्यताका बारेमा छलफल थालेको अध्यक्ष धितालको भनाइ छ ।

“सिञ्जा गाउँपालिकामा पुरातत्व विभागको टोली पहिलो पटक जुम्ला आइपुगेको हो”, प्रधानाङ्गले भन्नुभयो, “सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्ने विषयमा यहाँका स्थानीय, स्थानीय सरकार र सरोकार भएका निकायका प्रतिनिधिसँग पहिलो चरणमा छलफल भएको छ ।”

सिञ्जालाई विश्वसम्पदा सूची राख्न सबैको सुझाव आएको बताउँदै उहाँले आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्नुपर्नेमा जोड दिनुभयो । पुरातत्व विभागले मुलुकका १५ वटा नयाँ क्षेत्र विश्वसम्पदा सूचीमा राख्न तयारी थालिरहेको छ ।

कर्णाली प्रदेशका सिञ्जा सभ्यता र दैलेखको दुल्लुका २२ देवल पनि रहेका छन् । विभागले सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्ने काम अघि बढाएको विभागका महानिर्देशक प्रधानाङ्गको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्न विभागसँग पहल थालिएको बताउनुभयो ।

मिल्स गोल्डकपः पेमा स्पोर्टिङ क्लब विजयी

मोरङ, ५ चैतः मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा स्पोर्टिङ क्लब विराटनगर विजयी भएको छ । योसँगै पेमा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुटमिल खेल मैदानमा जारी पाँचौँ संस्करणको फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गरेको हो ।

पेमा क्लबका हरि खवासले ४९औँ मिनेटमा र अनिल परियारले ६८औँ मिनेटमा एक÷एक गोल गरी आफ्नो टोलीलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा क्लबका अनिल परियार घोषित भएका ट्रष्टका अध्यक्ष विष्णु डुङ्गोलले जनाएका छन् ।

प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर, सप्तरी मधेस प्रदेश, फ््युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खाखा झील कटिहार विहार भारत, टिएफसी तालतलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर, लालीगुराँस स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब, मोरङ सहभागी छन् ।

प्रतियोगिता यही चैत १० गतेसम्म सञ्चालन हुनेछ । विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आज हुने खेल भारत विहारको वाइएससी खाखा झील कटिहार र टिएफसी तालतलैया इटहरी सुनसरीबीच हुनेछ ।

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु

ताप्लेजुङ- ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ ।

तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो । चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथिभरा पुग्ने गर्छन् ।

यस वर्ष पाथिभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ । पाथिभरा क्षेत्र विकास समितिका अनुसार गत वर्ष फागुनमा १७ हजार ९१२ भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष सोही अवधिमा करिब सात हजार ४२८ मात्रै यहाँ आएका छन् । समग्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै दुई हजारभन्दा बढी भक्तजन पाथीभरा आएका छन् ।

केबलकारको विरोधमा केही दिन भएको बन्द तथा यसबाट उत्पन्न परिस्थितिका कारण भक्तजनको सङ्ख्यामा कमी आएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँले हाल पाथिभरा जान आउन कुनै समस्या नभए पनि कतिपय भक्तजनमा अन्योलता कायमै रहेकाले निर्धक्क भएर आउन आग्रह गर्नुभयो ।

पाथिभरालाई साक्षात् देवीको रूपमा लिइने भएकाले यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । यही आस्थाका कारण स्वदेशी मात्र नभई भारतलगायत विभिन्न देशका भक्तजनसमेत यहाँ आउने गर्छन् । पाथिभरा क्षेत्र विकास समितिका अनुसार वार्षिक करिब तीन लाख भक्तजन यहाँ पुग्ने गरेका छन् ।

पाथिभरा जाने सुकेटार काफ्लेपाटी सडकखण्ड स्तरोन्नति, तमोर करिडोर निर्माण हुनुका साथै पछिल्लो समय प्रचारप्रसारसमेत बढेकाले विगतका वर्षको तुलनामा भक्तजनको सङ्ख्या भने बढ्दै गएको समितिले जनाएको छ । हिजोआज इटहरी, धरान हुँदै तमोर करिडोर र झापाको विर्तामोड, ईलाम हुँदै पाथिभरा जान सकिन्छ ।

‘चलचित्र द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौँ, ५ चैत -चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्नेमात्र होइन, उनीहरूलाई त्यस्ता स्थानमा पुग्न प्रेरितसमेत गर्छ । हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई चलचित्रमार्फत विश्वभर चिनाउने काम भइरहेको छ । यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा रुचि बढाउन प्रेरित गर्ने गरेको चलचित्र निर्देशक ऋषिराज आचार्यले बताउनुभयो ।

उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘द्रौपदी’ डोल्पा जिल्लाको मनोरमदृश्यमा छायाङ्कन गर्नुभएको छ । झन्डै ४६ दिन छायाङ्कन गर्दा उहाँले स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि चलचित्रमा कैद गर्नुभएको छ । त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे–फोक्सुन्डोलगायत मनोरम दृश्यले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने निर्देशक आचार्यले बताउनुभयो ।

“मलगायत धेरै चलचित्रकर्मी मनाङ, मुस्ताङ, डोल्पासहितका अन्य स्थानमा पुग्नुको एउटा कारण चलचित्र वा साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडिओ) नै हो । हामी त्यहाँ पुग्दा पनि चलचित्रमा हेरेर घुम्न आएको भन्ने सुन्नेका थियौँ, मुस्ताङमा एउटा गल्लीको नाम नेपाली चलचित्र जेरीबाट राखिएको छ । त्यसकारण चलचित्रले कला, संस्कृतिसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँछ”, निर्देशक आचार्यले भन्नुभयो ।

यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्रको विषयमा जानकारी दिन सोमबार बेलुकी काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय चलचित्र जाँच समितिको सदस्यसमेत रहनुभएका निर्देशक आचार्यले ‘द्रौपदी’ नामसँग चलचित्रको विषय जोडिएको बताउनुभयो ।

“डोल्पाको संस्कृति र चलचित्रको कथा जोडिएको छ, त्यसकारण पनि हामीले छायाङ्कन गर्न डोल्पा नै रोजेका हौँ । यसमा नेपाली मौलिक विषय, आँखालाई शीतलता दिने सुन्दर दृश्य र सोचनीय विषयलाई उठाएको छु”, उहाँले भन्नुभयो । नेपाल आइडलको दोस्रो शृङ्खलाका विजेता गायक रवि ओड यसै चलचित्रमार्फत अभिनेता बन्नुभएको छ । अभिनयमा रुचि भएकाले नै तयारी गरेर चलचित्रमा काम गरेको गायक ओडले बताउनुभयो ।

“आफ्ना गीतको श्रव्यदृश्यमा देखिँदा केही आत्मविश्वास बढेको थियो । यसका निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयको बारेमा प्रशिक्षण लिएपछि अभिनेता बन्ने निर्णय लिएँ । मैले राम्रो काम गर्ने कोसिस गरेको छु, यसको प्रतिक्रियाले पनि आउँदो दिनमा अभिनयमा निरन्तरता दिने विषयमा निर्णय लिन सहज बनाउने छ”, गायक ओडले भन्नुभयो ।

उहाँझैँ यसै चलचित्रमार्फत आश्विनी शाहीले अभिनयको सुरुआत गर्नुभएको छ । आफ्नो परिवेश र जीवनभन्दा फरक पात्र पाएकाले आफू अभिनय गर्न प्रेरित भएको अभिनेत्री शाहीले बताउनुभयो । “मेरो लागि यो अवसरसँगै चुनौती थियो । किनकि मैले यस्तो जीवन र परिवेश बाँच्न पाएकी थिइनँ । पश्चिमेली लवजका लागि पनि मैले सक्दो मेहनत गरेको छु । पहिलो चलचित्रमै पात्रलाई प्रस्तुत गर्न पाउँदा खुसी छु”, अभिनेत्री शाहीले भन्नुभयो ।

निर्देशक आचार्यले गायक ओड, अभिनेत्री शाहीझैँ अन्य केही नवकलाकारलाई अडिसनमार्फत छनोट गरेर अवसर दिएको बताउनुभयो । “चलचित्रमा नयाँ प्रतिभाको उपस्थिति आवश्यक देखेर नै मैले नयाँ अनुहार अभिनय गराएको छु । मैले कथामा लेखेको पात्रलाई चलचित्रमा जीवन्त बनाउने कुरामा नयाँ भए पनि कोही कलाकार कमजोर हुनुहुन्न”, निर्देशक आचार्यले भन्नुभयो ।

चलचित्रमा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसमा सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला, मोहन झिल्लुले छायाङ्कन गर्नुभएको छ ।

च्याउ खाँदा बिरामी भएका ३० वर्षीय मगरको मृत्यु,नौ जनाको अवस्था खतरामुक्त

दमौली (तनहुँ), ५ चैतः जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।  

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा

मङ्गलबारे (इलाम), ५ चैतः नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् ।

टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो ।

इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गर्नुभयो । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आधारमा मजबुत रहेको बताउँदै उहाँले नेपालको चिया चीनबाट यहाँ ल्याएर विकास भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “चिया हाम्रो साझा सम्पदा हो, जसले दुई देशका जनतालाई भावनात्मक रूपमा नजिक ल्याएको छ ।”

नगरप्रमुख थापाले एक सय ५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेती सुरुआत भएकोे उल्लेख गर्दै हाल यहाँको चियाले नेपालको अन्तरराष्ट्रिय पहिचान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योग विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार श्री सिए युले विशेषगरी इलाम तथा कोशी प्रदेशमा उत्पादन हुने थिया प्रवर्द्धनमा चीनले चासो राखेको बताउनुभयो ।

सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीका लागि आयोजित तालिमको महत्वलाई पनि भ्रमणले उजागर गरेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ५ चैतः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २६ पैसा र बिक्रीदर २० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

काठमाडौँ, ५ चैतः त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ ।विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।

स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।

यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिनुभयो । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी

भैरहवा (रूपन्देही), ४ चैत्र: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी भएको छ । योसँगै प्रतियोगितामा अविजित रहदै आर्मीले पाँच वटै खेल जितेको हो ।

शसस्त्र प्रहरी क्लबले दिएको १४२ रन पछ्याएको आर्मीले ४२ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको थियो । आर्मीका लागि कुशल मल्ल र सोमपाल कामी क्रिजमा टिकेर खेलेपछि उसको जीत सुनिश्चित भएको हो । आक्रमक मानिने कुशलले आज निकै सम्हालिएर खेलेका थिए । उनले ५९ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाए । सोमपालले पनि ५१ बलको सामना गर्दै १ चौकाको सहयोगमा अविजित २२ रन बनाए । यसअघि ब्याटिङ्ग गर्दै विवेक यादवले २६, वसिर अहमदले १३ र ईमरान शेषले ११ रन बनाए ।

बलिङ्गमा शसस्त्र प्रहरीका कमल ऐरी, अमर रौटेला र रोहित पौडेलले समान दुई÷दुई विकेट लिए । यसअघि रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको शसस्त्रले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १४१ रन बनाएको थियो ।

शसस्त्रका लागि सन्दिप जोराले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दिपले ९१ बलमा नौ चौका प्रहार गर्दै ६५ रन बनाए । यस्तै, अमर रौटेला, भुवन कार्की र किशोर महतोले समान ११÷११ रन बनाउँदा अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कसमेत जोड्न सकेनन् ।

बलिङमा त्रिभुवन आर्मी क्लबका आकाश चन्दले १० ओभरमा ३५ रन मात्र खर्च गरी चार विकेट र सोमपालले १० ओभरमा ३४ रन दिँदै तीन विकेट लिए । यसैगरी साहब आलमले दुई विकेट र बसीर अहमदले एक विकेट लिए । प्रतियोगितामा पाँच खेल खेलेको शसस्त्रले तीन जित र दुई हार बेहोरेको छ भने पाँच खेल खेलेको आर्मी पाँच वटै खेलमा जितका साथ १० अङ्कसहित अङ्क तालिकामा दोश्रो स्थानमा रहेको छ ।

मङ्गलबारदेखि ‘पोखरा–छेन्दु’ उडान हुँदै

गण्डकी, ४ चैत : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो । “पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चाटर्ड उडान सुरु गरेको हो”, उहाँले भन्नुभयो, “तीनवटा चाटर्ड उडान पछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।”

चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर रु ६२ हजार तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । उहाँले पोखरा–छेन्दुु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखराबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयास पछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल र पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनिज एशोसिएशनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुुभयो ।

चीनस्थित चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उहाँको भनाइ छ । उहाँका अनुसार आगामी तीन महिनासम्ममा करिब एक हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

पोखराबाट पहिलोपटक हुन लागेको व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदै छन् ।

पहिलो व्यावसायिक उडानका क्रममा हुने सात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जानकारी लिइने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दुतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो । पोखराबाट अन्तरराष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चाटर्ड उडानसँगै गरिने ‘सेल्स मिसन’का कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।

पोखरा भ्रमण वर्षलाई सहयोग

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको पहिलो व्यावसायिक चाटर्ड उडान पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण बन्ने विश्वास लिइएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस उडानको सुरुवातसँगै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउनुका साथै समग्र पर्यटन राजधानी पोखराको पर्यटकीय विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

सिचुवान प्रदेश चीनको पर्यटकीय क्षेत्र रहेको र त्यहाँको लुझेउ सिटीमा आफूहरू जाने बताउँदै उहाँले उक्त पोखराको सहर भगिनी सहर भएको बताउनुुभयो । त्यहाँ हुने कार्यक्रमले दुुई सहरबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पोखरा–छेन्दुु उडान सञ्चालन हुँदा पोखरामा चिनीयाँ पर्यटक लक्षित पूर्वाधारमा कुनै कमी नरहेको यहाँको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका होटेल तथा रेष्टुुरेण्टबाट पर्यटकलाई सेवा प्रवाह भइरहेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताउनुभयो ।

“पोखरामा पर्यटक लक्षित होटेल तथा रेष्टुरेन्ट थपिने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “कोरोना पछि बन्द भएका होटेल तथा रेष्टुरेन्ट पुनः सञ्चालनमा आएका छन् ।”

चिनियाँ पर्यटकहरू केवल बस्ने खाने मात्र नभै बोटिङ, सपिङ, पदयात्रा, प्याराग्लाइडिङलगायत सबै किसिमका गतिविधिमा सहभागी हुने गरेको अनुभव उहाँले सुनाउनुभयो ।

ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, ४ चैत: सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत मङ्सिर २ गते गठन गरेको समितिलाई तत्काल कामकाज नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युत्को वक्यौता रकमबारे छानबिन गर्न गठन गरेको समितिलाई तत्काल कामकाज गर्न नदिन अन्तरिम आदेश गरेको हो ।

उक्त मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समिति गठन गर्ने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै अधिवक्ता खडानन्द कँडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

उक्त समितिलाई डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महसुल नतिरेका उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले काटेको बिल भेरिफाइ गर्ने जिम्मेवारी दिइएको थियो ।

बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पूर्वराष्ट्रपति जो बाइडेनद्वारा कांग्रेसका सदस्यहरूलाई जारी गरिएको पूर्वसावधानी माफी रद्द गरेको घोषणा गर्नुभएको छ । बाइडेनले सन् २०२० को अमेरिकी चुनाव उल्ट्याउने प्रयासको अनुसन्धान गरेर ट्रम्पलाई क्रुद्ध बनाउनुभएको थियो । ट्रम्पसँग आफ्ना पूर्ववर्तीद्वारा जारी गरिएको राष्ट्रपतिको माफी रद्द गर्ने कुनै अधिकार छ कि छैन भन्ने स्पष्ट थिएन ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले अटोपेनका लागि वा यसले हस्ताक्षरलाई अवैध बनाउँछ भन्ने उहाँको दाबीका लागि कुनै प्रमाण प्रदान नगरी कागजातहरूमा बाइडेनको हस्ताक्षर अटोपेन भनिने एक सामान्यतया प्रयोग गरिने उपकरणद्वारा गरिएको थियो र त्यसैले मान्य थिएन भनी दाबी गर्नुभयो ।

“माफीहरू यसद्वारा शून्य, रिक्त र कुनै थप शक्ति वा प्रभाव नभएको घोषणा गरिएको छ, किनकि तिनीहरू अटोपेनद्वारा गरिएका थिए”, ट्रम्पले आफ्नो सोशल मिडिया खाता ट्रुथ सोशलमा पोस्ट गर्नुभयो ।

बाइडेनले पूर्व वरिष्ठ रिपब्लिकन सांसद लिज चेनी र कांग्रेसको समितिका अन्य सदस्यहरूलाई माफी दिनुभएको थियो । उहाँहरूले सन् २०२१ जनवरी ६ मा ट्रम्पका समर्थकहरूद्वारा क्यापिटलमा भएको आक्रमण र ट्रम्पले हारेको चुनाव उल्ट्याउने धेरै प्रयासहरूको अनुसन्धान गर्नुभएको थियो ।

बाइडेनले आफ्नो राष्ट्रपतिको कार्यकालको अन्त्यमा जारी गर्नुभएको माफी सन् २०२४ को चुनाव जितेमा उनीहरूसँग बदला लिने ट्रम्पको बारम्बारको वाचाबाट सांसदहरूलाई जोगाउन प्रभावकारी रूपमा पूर्ण प्रतिरक्षा थियो ।ट्रम्पले आफ्नो कार्य विवादित कानूनी क्षेत्रमा प्रवेश गरेको स्वीकार गर्नुभएको देखिन्छ ।

सोमबार बिहान पत्रकारहरूले बाइडेनले अटोपेनले हस्ताक्षर गरेका सबै कुराहरू रद्द गरिनुपर्छ कि भनेर सोधेपछि ट्रम्पले भन्नुभयो, “मलाई लाग्छ । यो मेरो निर्णय होइन, त्यो अदालतको निर्णय हुनेछ ।”तर उहाँले भन्नुभयो, “समितिका सदस्यहरूले पूर्ण रूपमा बुझ्नुपर्छ कि उनीहरू उच्च स्तरको अनुसन्धानको अधीनमा छन् ।”

बाइडेनले पूर्व कोभिड महामारी सल्लाहकार एन्थोनी फाउची, सेवानिवृत्त जनरल मार्क मिले र–सम्भवतः सबैभन्दा विवादास्पद रूपमा–उहाँका छोरा हन्टर लगायत परिवारका नजिकका सदस्यहरूलाई पनि पूर्वसावधानी माफी जारी गर्नुभएको थियो । ती सबै आगामी रिपब्लिकन राष्ट्रपतिको सार्वजनिक लक्ष्य बनेका थिए ।

ट्रम्पले बारम्बार आफ्ना राजनीतिक विरोधीहरू विरुद्ध ‘प्रतिशोध’ लिने वाचा गर्नुभएको छ र केहीलाई आपराधिक अभियोजनको धम्की दिनुभएको छ र बाइडेनले त्यस समयमा ‘असल विवेकमा केही गर्न नसक्ने’ बताउनुभएको थियो ।

यस जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले तुरुन्तै समर्थकहरूलाई धेरै माफी जारी गर्नुभयो । यसमा सन् २०२१  जनवरी ६ मा बाइडेनको चुनावी विजयको प्रमाणीकरण रोक्ने प्रयासमा क्यापिटल भवनमा आक्रमण गरेको दोषी ठहरिएका करिब एक हजार पाँच सय व्यक्ति थिए ।

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

खोटाङ, ४ चैत : यहाँको हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पिर्तिबहादुर राई, रणबहादुर राई, अविन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिनुभयो । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुइकोठे भवन डढेलोले जलेर नष्ट भएको हो ।

डढेलो गाउँ पसेर क्षति गर्न थालेपछि निभाउने प्रयास भइरहेको सो वडाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभयो । “गाउँ पसेको डढेलो निभाउन स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी खटिएका छन्”, उहाँले भन्नुभयो, “डढेलो लागेको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ । आगो निभाउन पानी छैन । घरमा लागेको आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको छ ।”

दाम्लीको नबेल्खा जङ्गलमा आइतबारदेखि सुरु भएको डढेलोले डिकुवाका अन्य घरहरुमा समेत क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा

पाटन (ललितपुर), ४ चैत: नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उहाँले सङ्घीयता कार्यान्वयन गर्दा जनताप्रति उत्तरदायी भई हरेक सुखदुःखमा साथ दिने कुरामा जिम्मेवार र जवाफदेही हुनुपर्छ भन्नुभयो ।

“सङ्घीयतामा सबै तहलाई जिम्मेवार बनाउने कुरामा ध्यान दिँदै स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ । हिमाल, पहाड, तराई सबै जातजातिको प्रतिनिधित्व र समन्वय मिलाउने र देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर अधिकार दिने कुरामा सबै गम्भीर बनौँ । देशको एकतालाई कुनै हालतमा खल्बलिन दिनुहुँदैन”, सभापति देउवाले भन्नुभयो ।

उहाँले पार्टीलाई चलायमान बनाउन विभागहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । “पार्टीका सबै विभागहरूले राम्रो काम गरिरहेका छन्, यसले पार्टीलाई चलायमान बनाउन र साथीहरूमा उत्साह आएको छ, यो राम्रो हो”, उहाँले भन्नुभयो,“अहिलेको संवैधानिक व्यवस्थाअनुसार कुनै पनि पार्टीको बहुमत आउन कठिन छ । यो गठबन्धन सबै पार्टीको बाध्यता बनेको छ तर अब बहुमत ल्याउने गरी हामीले क्रियाशील हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कांग्रेस उपसभापति धनराज गुरुङले जनतामाथि कर लगाएर मात्रै सङ्घीयता बलियो नहुने भन्दै जनतालाई उत्पादनमा जोड्न आवश्यक रहेको धारणा राख्नुभयो । “उत्पादन वृद्धि गर्न सके मात्रै राज्य बलियो हुन्छ, पुँजी निर्माणलाई प्राथमिकता दिनुपर्छ । सङ्घीयताको पुनःसंरचना, संसद्को सङ्ख्या घटाउने, उत्पादनलाई बढाउनेतिर ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उपसभापति गुरुङले उत्पादन र जडिबुटीको बजारीकरणका माध्यमबाट राजस्व वृद्धि र देशलाई समृद्ध बनाउन सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “वितरणमुखी बजेटका कारण विकास निर्माणमा समस्या छ । तलदेखि माथिसम्म वितरणमुखी बजेट विनियोजन गर्ने अनि सङ्घीयता कमजोर भयो भन्ने कुरा ठीक हैन, हामी सुधार नहुने हो भने सङ्घीयता बलियो हुन सक्दैन”, उहाँल भन्नुभयो,“हामीले संविधानमा पुनरावलोकन गर्नु आवश्यक छ । हामीले आफ्नै खुट्टामा उभिएर काम गर्ने सोच बनाउनुपर्छ ।”

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले सङ्घीयता कार्यान्वयन गर्दा देखिएका राम्रा पक्षको पहिचान गर्दै कार्यान्वयन हुन नसकेका विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेशका सांसदको सङ्ख्या घटाउने र कर्मचारी संयन्त्रलाई प्रभावकारी बनाउने, र तीनै तहका सरकारबीच प्रभावकारी समन्वयको माध्यमद्वारा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूगोलको आवश्यकतामा आधारित रहेर सङ्घीयता कार्यान्वयन हुन नसकेको भन्दै सङ्घीयतालाई बलियो बनाउन कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले सङ्घीयताअनुसार अभ्यास लागू भएको सात वर्ष बितिसक्दासमेत प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसक्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । त्यसका लागि अब संवैधानिक र कानुनी अड्चनलाई सुल्झाउन ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सोहीअनुसार प्रभावकारी संरचना र सञ्चालन आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्रीकृत मानसिकताले सङ्घीयता कार्यान्वयन हुन नसक्ने भन्दै कानुनमा संशोधन गरेर संविधानको मर्मअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता प्रकाशशरण महत, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, प्रा डा बुद्धबहादुर थापा, सङ्घीय मामिला विभागका प्रमुख चन्द्र केसी, विज्ञ सदस्य डा रुद्र शर्मालगायतले विविध विषयमा सम्बोधन गर्नुभएको थियो ।

नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत

लेखनाथ (कास्की), ४ चैत : पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् ।

नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घ पोखराद्वारा पर्यटकीय लेकसाइडमा गर्न लागिएको २०औँ फेवा नववर्ष महोत्सव २०८१ का बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पर्यटकलाई उक्त छुट दिन लागिएको बताइएको हो ।

यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा गर्न लागिएको उक्त महोत्सवमा नेपाली खाना तथा मौलिक संस्कृतिको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याइने जानकारी सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले दिनुभयो । देशको अर्थतन्त्र सुस्ताएको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सहयोग पु-याउने जानकारी दिँदै उहाँले महोत्सव सम्पन्न गर्न रु ५० लाख खर्च लाग्ने बताउनुभयो । ‘जाउँ है पोखरा ’ अन्तर्गत सङ्घले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा, मधुमास पोखरा जस्ता सहुलियत प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।

महोत्सव सम्पन्न गर्न २१ वटा समिति गठन गरिएको जानकारी दिँदै उहाँले महोत्सव स्थलमा विभिन्न सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, खेलकुद, पर्यटक दौड, पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामग्री प्रदर्शनी गरिने बताइएको छ । महोत्सव पोखराको ड्यामसाइटबाट खहरेसम्मको तीन किलो मिटर दुरीको सडक तथा फेवाताल किनारमा हुनेछ ।

पोखराका होटलमा ४० हजार पर्यटक क्षमता भएकामा हाल स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत ‘अकुपेन्सी’ पुगेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेसँगै यतिवेला आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।

सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने

काठमाडौँ, ४ चैतः वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम सबै प्रदेशमा खर्च गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले आज ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ जारी गर्दै सिएसआरको रकम प्रत्येक प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था ल्याएको हो ।

“संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषयमा मात्र सीमित नभई आफनो कार्यक्षेत्रभित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकार कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढङ्गले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ”, मार्गदर्शनमा भनिएको छ, “वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्नेछ ।”

त्यसैगरी, संस्थाले खर्च गर्ने कुल सिएसआर रकमको पाँच प्रतिशतभन्दा बढी रकम एउटै कार्यमा खर्च गर्न पाइनेछैन । “कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्च योग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको पाँच प्रतिशतभन्दा बढी खर्च गर्न पाइने छैन । तर बैङ्क तथा वित्तीय संस्थाले आपसी सहमतिमा कुनै विशेष सार्वजनिक महत्वको कार्य गर्ने भएमा राष्ट्र बैङ्कको पूर्वस्वीकृतिमा त्यस्ता कार्य सञ्चालन गर्न सकिनेछ”, मार्गदर्शनमा भनिएको छ ।

कुनै संस्थाको ब्राण्ड प्रवर्द्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, ¥याली तथा विज्ञापनजस्ता कार्यमा गरिएको खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्व मान्न नसकिने पनि मार्गदर्शनमा उल्लेख छ । संस्थापक शेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च, व्यापार विस्तारको शर्त राखी गरिएका खर्चलाई पनि सिएसआर मान्न नसकिने जनाइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्दा सरकारी, सामुदायिक तथा अन्य गैर नाफामूलक संस्थाको लागि मात्र गर्नु पर्नेछ भने त्यस्तो खर्च गर्नका लागि परियोजना वा कार्यक्रम छनोट गर्दा त्यसबाट समुदायस्तरमा पर्ने प्रभाव र मुलुकको आवश्यकताको विश्लेषण गर्नु पर्नेछ ।

सिएसआर कोषको रकम कुनै किसिमको नगद, दान, दातब्य, पुरस्कार आदि वितरण गरी खर्च लेखाङ्कन गर्न पाइने छैन । त्यस्तो कोषमा रहेको रकम अन्य कुनै कोष वा शीर्षकमा रकमान्तर गर्न वा पूँजीकोषमा गणना गर्न नपाइने मार्गशर्दनमा उल्लेख छ ।

यसअघि बैङ्क तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने र यस्तो कोषमा जम्मा भएको रकम सम्बन्धित आर्थिक वर्षभित्र खर्च गरिसक्नुपर्ने व्यवस्था थियो । नयाँ मार्गदर्शनले त्यसलाई संशोधन गरेको छ ।

“संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यका लागि हरेक आर्थिक वर्षको खुद मुनाफाको नेपाल राष्ट्र बैङ्कले तोकेको प्रतिशतले हुन आउने रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्नेछ । बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी नेपाल राष्ट्र बैङ्कबाट तोकिएको प्रतिशतभन्दा बढी रकम उक्त कोषमा जम्मा गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यमा खर्च गर्न सक्नेछ”, मार्गदर्शनमा भनिएको छ, “इजाजतपत्रप्राप्त संस्थाले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।”

भारतसँगको लामो समयदेखि रोकिएको मुक्त व्यापार सम्झौता पुनर्जीवित गर्दै न्युजिल्यान्ड

भारत र न्युजिल्यान्डले सोमबार नयाँदिल्लीमा दुवै देशका नेताहरूको भेटपछि लगभग एक दशकदेखि रोकिएका मुक्त व्यापार वार्तालाई पुनर्जीवित गरेका छन् ।

आंशिक रूपमा विश्वको सबैभन्दा ठूलो दुध उत्पादकमध्ये एक न्युजिल्यान्डले भारतको अत्यधिक संरक्षित दुग्ध क्षेत्रमा पहुँच प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरामा न्युजिल्यान्ड र विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रबीच मुक्त व्यापार सम्झौता गर्ने प्रयासहरू असफल भएका थिए ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो र दुवै देशले ‘सन्तुलित, महत्त्वाकांक्षी र व्यापक सम्झौता’ को दिशामा काम गर्ने बताए ।

“वार्ताले हाम्रा देश र हाम्रा जनताका लागि अवसरहरू विस्तार गर्नेछ र हामी पारस्परिक रूपमा फाइदाजनक सम्झौतामा पुग्न तत्पर छौँ”, प्रधानमन्त्री लक्सनले भन्नुभयो ।

दुवै नेता दुग्ध, खाद्य प्रशोधन र औषधि उद्योगमा ‘आपसी सहयोग र लगानी’ गर्न सहमत भएको मोदीले बताउनुभयो । “हाम्रो साझेदारी दुवै देशका लागि एक जित–जित साझेदारी हुनेछ”, उहाँले भन्नुभयो ।

दुवै देशले शिक्षा, रक्षा र खेलकुद क्षेत्रहरूमा सहयोगका लागि सम्झौताहरूमा हस्ताक्षर गरेका छन् ।

“लक्सन र मोदी भारत र न्युजिल्यान्डबीचको व्यापार र लगानी सम्बन्ध बढाउन यसको अप्रयुक्त सम्भावनालाई महसुस गर्न र समावेशी र दिगो आर्थिक वृद्धिमा योगदान गर्न सहमत हुनुभएको छ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ तेह्रौँ संस्करण सुरु

काठमाडौँ, ४ चैतः हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करण आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभागलगायत संस्थाको सहकार्यमा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवा छनोट गर्नुपर्ने धारणा राख्नुभयो । “बैङ्क तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन् । बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन् । आपूmलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय डिजिटल वित्तीय कारोबार विस्तारसँगै चुनौतीसमेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैङ्कका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैङ्करको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा काठमाडौँस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत करिब छ सय विद्यार्थीको सहभागिता थियो ।

यही चैत १० गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत राष्ट्र बैङ्कको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुने जनाइएको छ । बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैङ्किङ इन्स्टिच्युट लिमिटेडबाट अलग–अलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ‘ग्लोबल मनी विक’ लक्षित कार्यक्रम सञ्चालन गर्नेछन् । यसैगरी, विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका क्रियाकलाप अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट विद्यार्थीमा वित्तीय साक्षरताको प्रवरद्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

‘ग्लोबल मनी विक’ मूलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा यो अभियान थालिएको हो । अर्गनाइजेसन फर इकोनोमिक कोअप्रेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैङ्कको संयोजनमा सन् २०१३ देखि नेपालमा पनि यो अभियान सञ्चालन गरिँदै आइएको छ ।

यस अभियानबाट हालसम्म विश्वका एक सय ७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओइसिडीले जनाएको छ । अभियानको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ ।

सकियो पुष्प मेला, एक करोड बढीको कारोबार

काठमाडौँ, ४ चैत : काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको मेलामा रु एक करोड दश लाख ७० हजारभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिनुभयो ।

हाल नेपालका ५२ जिल्लामा दुई ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएशनले जनाएको छ । जसमा एक हजार एक सय बढी पुष्प व्यवसायी संलग्न छन् । यस क्षेत्रमा करिब रु आठ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार पाँच सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ ।

नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार रु तीन अर्ब ६८ करोडभन्दा बढी रहेको एशोसिएशनले जनाएको छ ।

एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब

कीर्तिपुर (काठमाडौँ), ४ चैत : बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११ विद्यार्थीले आज एकैस्थानबाट एकसाथ एबाकस पद्धतिबाट हिसाब गरेका छन् ।

एबाकस हिसाबको माध्यमबाट गिनिज विश्व कीर्तिमान् बनाउने उद्देश्यले सामूहिक हिसाब गरिएको हो । अङ्क गणितीय हिसाबलाई सर्वाधिक छिटो सम्पन्न गर्ने पद्धति मानिएको एबाकसबाट विद्यार्थीले हिसाब गर्ने मात्र नभइ समग्र शैक्षिक क्षमता र व्यक्तित्वमै सकारात्मक प्रभाव पार्ने बताइन्छ ।

बाल विकास एनसिमास प्रालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले एबाकस शिक्षालाई देशभर लागू गर्नुपर्ने बताउनुभयो । “एबाकस जस्ता आधुनिक शिक्षण विधि बालबालिकाको समग्र विकासका लागि अनिवार्य छन्”, उहाँले भन्नुभयो । आयोजक बाल विकास एनसीमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले विद्यार्थीलाई सृजनात्मक सोच, विश्लेषणात्मक क्षमता, र निर्णय शक्ति अभिवृद्धि गर्न विभिन्न अभ्यास गराइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालमै पहिलो पटक यति ठूलो सङ्ख्यामा विद्यार्थीको सहभागितामा यस्तो शिक्षण पद्धति प्रयोग गरिएको हो । आजको अबाकस प्रतियोगिताले ‘एसियन वल्र्ड रेकर्ड’ राख्न सफल भएको छ । एसियन वल्र्ड रेकर्डको सर्टिफिकेट पनि आजै बाल विकासमा संस्थालाई प्रदान गरिएको कार्यकारी निर्देशक नेपालले जानकारी दिनुभयो ।

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता

गण्डकी, ४ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताउनुुभयो । युएनडिपीले दिगो विकास, फोहरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशमा महत्त्वपूर्ण सहयोग गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनलगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।
यी क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती विस्तार गर्न र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको पर्यटन, खेल पर्यटन, धार्मिक पर्यटनको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । भेटमा युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको बताउनुभयो ।

पिएलजिएसपी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका कार्यक्रमको प्रभावकारिताका बारेमा उहाँले चासो व्यक्त गर्नुभयो । उक्त अवसरमा युएनडिपीको सहकार्यमा सञ्चालित पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल गरिएको थियो ।

गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराउनुभयो । भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुकालगायत प्रतिनिधिमण्डलको सहभागिता थियो । 

गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गरौँ : अध्यक्ष दाहाल

काठमाडौँ, ४ चैत: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा), सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल, सङ्घवादया सिद्धान्त व नेवाः म्हसीका’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले पूर्णसमानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले स्थायित्व र सुशासन दिन नसक्ने बताउनुभयो ।

“अहिलेका घटनाक्रमले यसलाई पुष्टि गरिरहेको छ । देशमा जस्तो राजनीतिक घटनाक्रम देखा पर्दैछ, यसले शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूल नबनाउँदासम्म यस्ता राजनीतिक घटनाक्रम बारम्बार आइरहने छन्”, अध्यक्ष दाहालले भन्नुभयो । 

सांसदहरू मध्येबाटै मन्त्रिमण्डल बनाउने प्रणालीले विभिन्न विकृति निम्त्याइरहेको र भ्रष्टाचार संस्थागत हुँदै जाने अवस्था देखिएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली भएमात्रै राजनीतिक स्थायित्वसँगै जनताको आकाङ्क्षा सम्बोधन हुने जिकिर गर्नुभयो । 

उहाँले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी सरकारी दस्ताबेजमा उल्लेख गर्ने र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगको निर्णय गरेर नेवाः पहिचानलाई अगाडि बढाइएको बताउनुभयो । 

‘सरकारमा जाने कुनै नीति छैन’

अध्यक्ष दाहालले आफ्नो पार्टीले अहिले सरकारमा जाने नीति नलिएको स्पष्ट पार्नुभयो । “देशमा सङ्कट आयो भने त्यसलाई कसरी समाधान गर्ने भन्ने विचार दिन्छौँ तर यही सरकारमा सहभागी हुने कुनै नीति छैन”, उहाँले भन्नुभयो । 

अध्यक्ष दाहालले सत्तारुढ दलसँग सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई चाँडो टुङ्ग्याउन छलफल भए पनि सरकारबारे कुनै संवाद नभएको बताउनुभयो । 


जसपा सङ्घीय परिषद् अध्यक्ष श्रेष्ठले दशवर्षे सशस्त्र सङ्घर्ष र जनआन्दोलनका बलमा नेपालबाट राजतन्त्र उन्मुलन भएको उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने दाबी गर्नुभयो । “केही मानिस अहिले राजतन्त्र फर्काउछाँै भनेर लागेका छन्, त्यसको कयौँ गुणा बढी नागरिक सडकमा उत्रेर राजतन्त्र अन्त्य भएको हो”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्छ, जनतालाई थप अधिकार दिनेगरी अघि बढ्नुपर्छ ।”

अध्यक्ष श्रेष्ठले मुलुकमा देखिएका समस्या समाधान गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासकीय स्वरुपमा जानु नै अहिलेको आवश्यकता भएको बताउनुभयो । जनताको सङ्घर्षको बलमा प्राप्त सङ्घीयता, समानुपातिक÷समावेशिताप्रति कसैले पनि आघात पु¥याउन नहुने र राजनीतिक उपलब्धि खोस्ने प्रयास गरिए जनताले त्यसको प्रतिवाद गर्ने बताउनुभयो । नेपालमा लिच्छवीकालमै महाजनपदसहितको सङ्घीय प्रणाली लागू भइसकेको उहाँको भनाइ थियो । 

नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले सामन्ती राजतन्त्रले नेवार समुदायको पहिचान नामेट पारेको दृष्टान्त दिँदै राजतन्त्रको पक्षमा नेवार समुदाय कहिल्यै नरहेको स्पष्ट पार्नुभयो । “नेवारहरू कोही पनि राजतन्त्र फर्काउन चाहँदैन, राजतन्त्र कति पीडादायी थियो र त्यो पीडा खप्नेमध्ये नेवार समुदाय एक हो”, उहाँले भन्नुभयो, “गणतन्त्र ल्याउन नेपाल मण्डलका नेवारको धेरै बलिदान छ, गणतन्त्रको रक्षाका लागि नेवार समुदाय अग्रपङ्क्तिमा उभिन्छ । प्रतिगमनकारी सल्बलाउन थालेका छन्, हामी कहाँ चुकेका हाँै भन्नेमा ठूला दलहरूले आत्मसमीक्षा भने गर्नुपर्छ ।”

भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले विगत ४० वर्षदेखि वैचारिक आन्दोलनमा होमिएका नेवाः समुदायको सुक्ष्म अध्ययन गरेर पहिचानमा आधारित सङ्घीयता नै समाधान हो भन्ने निष्कर्षसहित नेता श्रेष्ठले पुस्तक लेख्नुभएको बताउनुभयो ।  

पुस्तकमा नेवार समुदायको ऐतिहासिक विकासक्रम, प्राचीन नेपाल र नेपालमण्डलको विकासक्रम, गोरखा राज्य विस्तार र केन्द्रीकृत राज्यको प्रार्दुभाव, नेपालमा सङ्घवादी विचारको प्रार्दुभाव, सङ्घवादको सिद्धान्त, समावेशी लोकतन्त्र र निर्वाचन प्रणाली, सङ्घीयता विश्वव्यापी अभ्यास, सङ्घीयतामा पहिचानको अर्थ र महत्वबारे उल्लेख छ । 

दुई सय ८८ पृष्ठमा समेटिएको पुस्तकमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, पहिचानसहितको सङ्घीयताका लागि आगामी मार्ग, पहिचानसहितको सङ्घीयतामा नेवाः, राज्यका अङ्ग र त्यसको पुनःसंरचना तथा वित्तीय सङ्घीयताबारे चर्चा गरिएको छ । लेखक श्रेष्ठ न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष हुनुहुन्छ ।