`

गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा राज्यले गर्नुपर्ने : मन्त्री पौडेल

काठमाडौँ, ६ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा सरकारले गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सांसद डा सुनिलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चिततासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नु निकै महत्त्वपूर्ण भएको मन्त्री पौडेलले बताउनुभयो ।

  “स्वास्थ्य बिमाको कानुन बनाउँदा १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको बिमा सरकारले गर्ने व्यवस्था गर्ने गरी स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “नेपालमा ६६ लाख घरपरिवार छन, सबैलाई अनिवार्य स्वास्थ्य बिमामा जोडनुपर्छ, सक्नेले आफैँ गर्छन, नसक्नेलाई राज्यले तिर्ने व्यवस्था गर्नुपर्छ ।”

उहाँले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको सुरु गर्न मन्त्रालयले प्रतिवेदन ल्याएको र स्रोत सुनिश्चितताबारे योजना बनाइरहेको बताउनुभयो ।

 स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लामा सात सय ५३ स्थानीय तहमा लागू भएको छ । सेवा प्रदायक संस्था चार सय ८४ रहेका छन । जसमध्ये सरकारी ४०३ सरकारी अस्पताल, ४८ निजी अस्पताल र ३३ वटा सामुदायिक अस्पताल छन् । देशभरी तीन सय ४४ कर्मचारी अस्थायी र करारमा कार्यरत छन् ।   

  “स्वास्थ्य बिमाको स्रोत सुरक्षित छैन र आम्दानी पनि सुनिश्चित छैन”, मन्त्री पौडेलले भन्नुभयो, “बिमा कोष बनाएर व्यवस्थित बनाएर लैजानुपर्छ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, सल्लाह गरौँ ।” उहाँले स्वास्थ्य बिमाको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने र अहिले रु एक लाखको बिमालाई रु पाँच लाख बनाएर जाने सकिएमा राम्रो हुने बताउनुभयो । 

रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन् ।

सचिवमा अनेरास्वियुका मुकेश भण्डारी डेनिस १ सय ८५ मत ल्याएर विजयी भएका छन् । नेविसंघका उम्मेदवार युवराज बुढाथोकीले १ सय ६५ ल्याएका छन् । अखिल (क्रान्तिकारी) की विनीता माझीले ७० पाएकी छिन् ।

कोषाध्यक्षमा अनेरास्वियुकी उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर विजयी भएकी छिन् । सो पदमा नेविसंघकी छाया तामाङले १ सय ३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत ल्याएका छन् ।

सदस्यमा अनेरास्वियुका उम्मेदवारहरू तुलसा उप्रेती¸ मनोज श्रेष्ठ¸ एलिना माझी र जीवन पहरी विजयी भएका छन् । एक जना सदस्यमा नेविसंघका कर्ण श्रेष्ठ निर्वाचित भएका छन् । कुल ५ सय ३१ मतदाता रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस ४ सय २७ मत खसेको थियो ।

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

काठमाडौँ, ६ चैतः सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण

काठमाडौं । सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि नेपाललाई भारतीय राजदूतले २४ किलो चाँदी हस्तान्तरण गरेको छ । बुधबार असनस्थित बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो ।

भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे ।

उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ । यसको पुननिर्माणको काम सकिने भनेर मिति तोकिएको छ । आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु । यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु ।’

करिब छ करोड बराबरको रकममा निर्माण व्यवसायीसँग सम्झौता गरेर २०७७ सालदेखि यसको पुननिर्माणको काम भइरहेको थियो । अहिलेसम्म ७५–८० प्रतिशत काम सम्मपन्न भएको जनाइएको छ ।

गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी

काठमाडौं । गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन् ।

अम्गाईले २०९ मत ल्याए भने नेविसंघका रचन परियारले १६१ मत ल्याए । त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । अर्यालले २०६ मत ल्याएकी छन् भने नेविसंघकी सविना गुरुङले १६४ मत ल्याएकी छन् ।
सदस्यहरूमा पनि अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् ।द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयीद्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ ।
मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन् ।

अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ल्याए ।त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै बस्नेत विजयी बनेका हुन् । बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याएका छन् ।सदस्यहरूमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दीप कार्की र बिपना कोइराला विजयी बनेका छन् ।

पर्वतमा एक सय ३३ उद्योगको दर्ता खारेज

पर्वत, ६ चैत : मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन् । जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । खारेज हुनेमा ६४ उद्योग र ६९ वाणिज्य फर्म छन् । दैनिकजसो उद्योग दर्ता गर्नेभन्दा बन्द गर्न आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

त्यसैगरी, आव २०८०/८१ को अन्त्यमा तीन हजार चार सय १३ उद्योग रहेकामा अहिले घटेर तीन हजार तीन सय ९० पुगेका छन् भने तीन हजार दुई सय ४७ वाणिज्य फर्म कायम रहेकामा अहिले तीन हजार एक सय ३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । छ महिनामा एक सय ३५ वटा उद्योग व्यवसायको सङ्ख्या कम भएको हो । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरबी पौडेलले बताउनुभयो । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उहाँको भनाइ छ । लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा छन् ।

सरकारबाट बेरोजगारी समस्यालाई समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएको भए पनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको अध्यक्ष पौडेलले बताउनुभयो । कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, होमस्टे, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमा नै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने बताइएको छ । वाणिज्य फर्मतर्फ भने दर्ताको सङ्ख्यासँगै फर्म बन्दको सङ्ख्य पनि उच्च छ ।

कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ । यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेहरूले दर्ता गरे पनि व्यावसायिक दृष्टिकोणले गर्नेहरू न्यून रहेको देखिएको छ । पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ । दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरू कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन् । पर्यटन तथा उद्योग कार्यालयले चालु आवमा रु २८ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयमार्फत यस वर्ष ४२ पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन् । अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र छवटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

गोरखा, ६ चैत : जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् ।

नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ । चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उहाँले बताउनुभयो ।

बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो । ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो । चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।

सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमी खण्डमा सवारीसाधन चल्न थालेका छन् । बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको सेनानी ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट रु सात करोड विनियोजन भएको छ । विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम लगभग सकिएको उहाँले बताउनुभयो ।

“दुई किलोमिटर ट्रयाक खन्ने काम अन्तिम चरणमा छ, यही चैतभित्र सकिन्छ”, सेनानी ढकालले भन्नुभयो, “यो वर्ष ट्रयाक खन्न रु सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने काम लगभग गरिसक्यौँ ।” यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उहाँले बताउनुभयो ।

बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक वर्ष २०६३÷६४ मा बेनीघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो । आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन ।

कठिन मानिएको ९२ किमी खण्डको काम गर्न सडक विभागले २०७४वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो । विसं २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो । उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हँुदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हँुदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफ लाइनका रूपमा हेरिएको छ ।

म्याग्दीको मालिकामा जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) ६, चैत : पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ ।

एकीकृत समाजवादीद्वारा बैठक आह्वान

काठमाडौँ, ६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ ।

सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । अभियान यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म जारी रहने छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । केन्द्रीय मोर्चा सङ्गठनको बैठक यही चैत ७ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा ३ः०० बजे बस्ने बैठकले यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा छलफल गर्ने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

बैठकमा मातहत कमिटीलाई सङ्गठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ । राजनीतिक अभियान अनुमोदन भएपछि वडा, गाउँ, प्रदेश र केन्द्रमा कार्यक्रमका रूपमा लैजाने तयारी छ । पार्टी काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठक यही चैत ८ गते आह्वान गरिएको छभने पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक चैत ९ गते बोलाइएको छ ।

दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राष्ट्रियसभा सदस्य पासवान (अन्तर्वार्ता)

काठमाडौँ, ६ चैत : विगत पाँच वर्षदेखि म राष्ट्रियसभाको सदस्य छु । यो सभाअन्तर्गतको ‘विधायन व्यवस्थापन’ समितिमा रहेर पनि काम गर्दै आएको छु । राष्ट्रियसभाका सदस्यको मुख्य भूमिका भनेको कानुन बनाउने हो, जुन काम राष्ट्रियसभाले सक्रियताका साथ गरिरहेको छ । दलित समुदायभित्र पनि तराई मधेसका दलितको प्रतिनिधित्व गरेर राष्ट्रियसभामा आएको हु । दलित समुदायभित्र पनि तराईका दलितको आर्थिक अवस्था अत्यन्त नाजुक छ । राजनीतिक र सांस्कृतिक अवस्था पनि कमजोर छ ।

नेपालको जनसङ्ख्यामा दलितको कुल जनसङ्ख्या ३५ लाख ५३ हजार ६८ (१३.४ प्रतिशत) छ, जसमध्ये पहाडी दलित २३ लाख नौ हजार छ सय २२ (६५ प्रतिशत) छन् । मधेसी दलितको जनसङ्ख्या १२ लाख ४३ हजार चार सय ४६ (३५ प्रतिशत ) छ । मधेस प्रदेशको कुल जनसङ्ख्या आठ लाख ८४ हजार दुई सय १३ मध्ये १५.३५ प्रतिशत मधेसी दलित छन् । राज्यका निकायमा मधेसी दलितको सहभागिता न्यून जस्तै छ । मधेसी दलित समुदायबाट सङ्घीय संसद् र सरकारमा शून्य प्रतिनिधित्व छ । प्रदेशसभामा पनि जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व पुगेको छैन । एक सय सात सदस्यीय प्रदेशसभामा पाँच जना मात्र दलित सांसद छन् ।

प्रत्यक्ष निर्वाचित सांसद एक जना मात्र हुनुहुन्छ । नेकपा (एमाले) का नेता लखनदास तत्मा धनुषा–२ (१) बाट निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगको विवरणअनुसार चार समानुपातिक सांसद छन् । समानुपातिकतर्फ जनता समाजवादी पार्टीबाट ललिता दास, जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खङ्ग, नेकपा (एमाले) बाट पल्टीदेवी महरा र नेपाली कांग्रेसबाट नीलमकुमारी रजक दलित सांसद हुनुहुन्छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये प्रमुखमा एक जना मधेसी दलित मात्रै निर्वाचित हुनुभएको थियो । उपप्रमुख जित्ने दुई जना हुनुहुन्छ ।

त्यसैगरी, एक हजार दुई सय ७१ वडामध्ये २६ वटामा मात्र दलितले जितेका छन् । कानुनले नै बाध्यकारी बनाएको दलित महिला पदबाहेक अन्य सदस्यमा तीन सय ४७ जनाले जितेका छन् । यो माथिको तथ्य हेरियो भने पनि नीतिनिर्माण तहमा मधेसी दलितको प्रतिनिधित्व अत्यन्त कमजोर छ । त्यसैले मधेसी दलित समुदायको प्रतिनिधित्व जनसङ्ख्याको आधारमा हुनुपर्छ ।

मधेस प्रदेशमा जातीय भेदभाव तथा छुवाछूतको समस्या उस्तै छ । अहिले पनि भोजभतेरमा दलित समुदायलाई विभेद गरिन्छ । जातीय भेदभाव तथा छुवाछूतका घटना भएपछि ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८’ अनुसार उजुरी दिँदा पनि प्रहरी प्रशासनले कारबाही गर्न मान्दैन । कार्यान्वयन गर्न नसक्नुको कारण भनेको राजनीतिक दलहरूले स्थानीय तहमै मिलापत्र गरिदिने चलन छ । समाज परिवर्तनमा राजनीतिक दलहरु नै बाधक बन्ने गरेका छन् ।

तराईमा अहिले पनि जातीयताकै कारण मधेसी दलित महिलामाथि हत्या, हिंसा र बलात्कारका घटना भइरहेका छन् । नेताले कार्यकर्ता बचाउने काम गर्दा पीडितले न्याय पाउन सकेका छैनन् । संसद्मा पटकपटक आवाज उठाउँदा पनि सरकारले सुनिरहेको पाइन्न । सिरहामा दलितलाई छुट्टै राखेर भोज खुवाएको घटनामा राष्ट्रियसभामा पटकपटक आवाज उठाउँदा पनि सरकारले सुनेन । त्यो बेलामा मैले एक्लै संसद् घेराउ गरेको थिएँ । त्यसपछि मात्रै मुद्दा दर्ता भएको थियो ।

मधेसका जिल्लामा पटकपटक अन्तरजातीय विवाहसम्बन्धीका घटना भइरहेका हुन्छन् । तर राज्यले त्यसलाई गम्भीरतापूर्वक लिएको हुँदैन । दलितको सवालमा संविधानको प्रस्तावना, धारा २४ र ४० को पनि व्यावहारिक रूपमा कार्यान्वयन हुनसकेको छैन । अहिलेसम्म पनि कानुन बन्न सकेको छैन । जबसम्म राज्य इमान्दार हुँदैन तबसम्म समग्र दलित समुदायको समस्या समाधान हुन सक्दैन । मधेसी समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन ।

अहिले संविधान संशोधनको चर्चा चलिरहेको छ । तर संविधान संशोधनको विषय के हो भन्ने कुरा कसैलाई थाहा छैन । संशोधन गर्नुभन्दा पहिला त विषयमा प्रष्ट हुनुपर्ने होला नि ? यदि समानुपातिक समावेशी सवालमा संशोधन गर्ने हो भने सीमान्तकृत समुदायको निम्ति ठूलो अपमान हुन्छ । संशोधनको नाममा सीमान्तकृत समुदायको अधिकार खोस्ने खतरा पनि उत्तिकै छ । त्यसैले सचेत हुन जरुरी छ ।

सङ्घीयताका बारेमा बाहिर मिडियामा जे प्रचार गरिएको छ, त्यो गलत छ । सङ्घीयता भनेको जनताले छिटो सेवा पाउने, सुविधा पाउने विषयसँग जोडिएको छ । यसलाई बलियो बनाउन प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । अधिकार सबै सङ्घीय सरकारमा थुपार्ने अनि कसरी सङ्घीयता सुदृढ हुन्छ ? जनतालाई सुशासनको प्रत्याभूति गराउन सकेको खण्डमा सङ्घीयता झन् बलियो हुन्छ ।

सुशासनको निम्ति सरकारका कामकारबाही पारदर्शी हुनुपर्छ । विभिन्न मुद्दाका आरोपीमाथि कारबाही हुनसकेको छैन । मिटरब्याजपीडितको समस्या सुल्झेको छैन । व्यवस्था परिवर्तन भएको छ तर जनताको अवस्था परिवर्तन नहुनुको मुख्य कारण भनेको देशमा रोजगारीको सृजना नहुनु हो । देशमा उद्योग, कलकारखाना बन्द गरेर जनताको अवस्थामा परिवर्तन हुँदैन । गरिब युवा महँगो ब्याजमा ऋण काडेर विदेशिन बाध्य छन् । जबसम्म हामीले उत्पादनमा ध्यान दिँदैनौँ तबसम्म जनताको अवस्थामा परिवर्तन आउँदैन ।

माध्यमिक विद्यालय परीक्षा (एसइई) दिँदासम्म नेपाली विद्यार्थी नेपालमै हुन्छन् । तर एसइईपछि विस्तारै विदेशिनेक्रम सुरु हुन्छ । एसइईमा प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा विद्यार्थी सहभागी हुन्छन् । दश जोड दुईमा आउँदा त्यो सङ्ख्या चार लाख हुन्छ । त्यसपछि त्यो सङ्ख्या ह्वात्तै घटेर दुई लाख हुन्छ । १२ कक्षा उत्तीर्ण भएपछि सबै नेपाली विद्यार्थीको चाहना विदेश जाने देखिएको छ । यसको मूल जड भनेको हाम्रो शिक्षा प्रणाली नै व्यावहारिक छैन । विदेशमा पढ्दै काम गर्दै गर्न सकिन्छ । हाम्रो देशमा त्यस्तो शिक्षा प्रणाली छैन । देशको अवस्था देखेर युवापुस्तामा निराशा बढ्दो छ । मेरो अबको भूमिका भनेको दलित समुदायको निम्ति एकीकृत कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुन्छ । नौ वर्षसम्म संविधानअनुसार दलितका लागि कानुन निर्माण हुनसकेको छैन । जनताको सवाललाई संसद्मा उठाउने र सरकारको ध्यानाकर्षण गराउनमा मेरो भूमिका रहन्छ ।

राष्ट्रियसभा सदस्य राधेश्याम पासवानको परिचय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राधेश्याम पासवान विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । सानैदेखि जातीय भेदभाव तथा छुवाछूतको समस्या भोग्दै आउनुभएका पासवानले २०३६ सालमा ‘दलित जनजाति पार्टी’ गठन गरेर सो पार्टीको उपाध्यक्षको भूमिकामा रहेर काम गर्नुभएको थियो । उहाँले २०७२ सालमा राष्ट्रिय दलित आयोगको सदस्य भएर दलित समुदायको निम्ति काम गर्नुभएको थियो । विसं २०७४ देखि उहाँ दलित जनजाति पार्टी छाडेर नेकपा (माओवादी केन्द्र) मा आबद्ध हुनुभएको हो ।
(राष्ट्रियसभा सदस्य राधेश्याम पासवानसँग समसामयिक विषयमा समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ ।

नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष भएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।

जङ्गलमा बाख्रा चराउँन गएका डाँगीको लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत), ६ चैत : जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ६ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३५, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ५५, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु७०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

काठमाडौँ सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको छ ।


वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले तथा वन मन्त्रालयका सचिव डा दीपक खराललगायतका अधिकारीहरूबीच मन्त्रालयमा भएको छलफलमा भोकाधिकार र रुख कटानको आदेश दिने सहमति भएको हो ।

यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । 

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

भोजपुर, ६ चैत : पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।

शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामीले अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्याक्सरको परीक्षण थालेका छौँ” शाखा प्रमुख उपाध्यायले भन्नुभयो, “यो अभियानअन्तर्गत सबै वडाका महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ । परीक्षणका क्रममा रोग देखिएमा उनीहरूलाई उपचारका लागि बाहिरको अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ ।”

यो अभियानअन्गर्तत वडा नं १ श्यामशिलामा एक सय ४४ महिलाको स्वास्थ्य परीक्षण सम्पन्न भएको उहाँले बताउनुभयो । परीक्षणका क्रममा तीन जनाको स्वास्थ्य अवस्था जटिल देखिएकाले थप परीक्षणका लागि अन्य अस्पताल पठाएको प्रमुख उपाध्यायले बताउनु्भयो । अभियानका क्रममा पाठेघरको मुखको क्यान्सरबाट बच्ने सकिने उपाय, रोकथाम तथा उपचार पद्धतिका विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले महिलामा हुने पाठेघर मुखको क्यान्सरको अवस्था विश्लेषण, खोजी, पहिचान तथा निःशुल्क उपचारको व्यवस्था गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । समयमा नै रोगको पहिचान गरेर उपचारसँगै यसबाट बच्नका लागि सचेत गराउन कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

“पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाको अकालमा नै ज्यान गइरहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यसको मुख्य कारणका रूपमा रोगीकोे समयमा खोजी तथा पहिचान नगरिनु पनि हो । हामीले शिविर नै सञ्चालन गरेर कसैमा यस्तो रोग छ कि भनेर खोजी थालेका हौँ । रोग देखिएमा त्यसको निःशुल्क उपचारको व्यवस्थासमेत मिलाएका छौँ ।”

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन सम्पन्न भएकाले ३० देखि ४५ वर्ष उमेर समूहका महिलालाई लक्षित गरेर स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । छवटै वडामा शिविरमार्फत महिलाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । महिला, वालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य तथा पोषणको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य तथा पोषणसँगै आयआर्जनमा जोडने खालका कार्यक्रममा गाउँपालिकाले जोड दिएको उहाँले बताउनुभयो ।

पश्चिमाले प्रतिबन्ध हटाए पनि हामीलाई कमजोर पार्ने प्रयास गर्नेछ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एक व्यापारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मङ्गलबार पश्चिमाले रुसमाथिको प्रतिबन्ध हटाए पनि कमजोर पार्ने प्रयास गर्ने बताउनुभएको छ । अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको फोन वार्ता अघि व्यापक रूपमा पश्चिमा विरोधी भाषण दिँदै पुटिनले जी ७ समूह नक्सामा हेर्न धेरै सानो भएको र पश्चिमी प्रभुत्व खस्कँदै गएको बताउनुभयो ।

फेब्रुअरी सन् २०२२ मा युक्रेन विरुद्धको पूर्ण स्तरको सैन्य आक्रमणको प्रतिक्रियामा पश्चिमी देशहरूले रूसमाथि व्यापक प्रतिबन्ध लगाए ।“तपाईंले आफ्नो र रुसका लागि लाभदायक ठाउँमा लगानी गर्नुपर्छ, जहाँ नाफा बढी र लगानीलाई विश्वसनीय रूपमा सुरक्षित गरिएको छ ।”

“युक्रेनमा भएको द्वन्द्वका कारण दर्जनौं पश्चिमी कम्पनीहरू रुसबाट बाहिरिए, जबकि बाँकी रहेका केहीलाई रुसी सरकारले कब्जामा लिएको थियो ।”यद्यपि रुसी अर्थतन्त्रले प्रतिबन्धहरूको प्रारम्भिक झटका पार गरेको छ । साथै, रुसले धेरै पश्चिमी ब्रान्डहरूको लागि घरेलु विकल्पहरू फेला पारेको छ । ट्रम्प प्रशासनले मस्कोमाथि लगाइएका प्रतिबन्धहरू कम गर्ने कि नगर्ने भनेर भन्न अस्वीकार गरेको छ ।

मुआब्जा दिलाउने सहमतिपछि माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनःसञ्चालनमा

खोटाङ, ६ चैतः केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।
निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।

लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध)बाट यही चैत ४ गते सोमबार दिउँसो खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका खिए । राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको जलविद्युत् आयोजनाले जग्गाधनीलाई मुआब्जा नदिएपछि स्थानीयवासीले आयोजना नै बन्द गराएको हो ।

सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्ट (आयोजना) ले फरक–फरक तीन वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं.–६ दिप्सुङ र वडा नं.–७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत् आयोजना सञ्चालन गर्ने तीन वटा जलविद्युत् कम्पनीबाट मुआव्जा नपाएको गुनासो गर्दै आएका छन् ।

जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग  गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले नपाएपछि चरणवद्ध आन्दोलन सुरु गरिएको सङ्घर्ष समितिका संयोजक माइतीराज राईले बताउनुभएको छ ।

“रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीहरुलाई क्षतिपूर्ति दिएका छैनन्”, उहाँले भन्नुभयो, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई जानकारी गराएका थियौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको थिएन । सर्वपक्षीय भेलामा ३५ दिनभित्र मुआब्जा उपलब्ध गराउने सहमति भएपछि पुनःसञ्चालनका लागि सहमत भएका हौँ ।”

निर्माणाधीन अवस्थामा रहेको हलेसी ऊर्जा कम्पनी लिमिटेड जलविद्युत् आयोजनाको ट्रान्समिसनलाइनले बाक्सिलाका ३८ जनासहित ४९ जनाको जग्गा प्रयोग गरेको छ । यस्तै, पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४ जना, बाक्सिलाका दुई जना र दिप्सुङका एक जनाको गरी ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युतको काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर, हालसम्म मुआब्जा नदिएको जग्गा धनीको गुनासो छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्ने गरी पाइपलाइनको काम सुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यान्वयन नभएको सङ्घर्ष समितिका संयोजक राईले बताउनुभएको छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले खोलामा १० प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिले जनाएको छ । २.५ मेगावाट विद्युत् उत्पादनको तयारी गरेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेश विपरीत कृष्णमायाँ खत्रीको जग्गामा पाइपलाइनको काम गरिरहेको पाइएको छ ।

निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेडले विद्युत् उत्पादनको प्रक्रिया पूरा नगरी छ कित्तामा रहेको ३८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी ऊर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावर हाउस बनाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

सङ्घर्ष समितिले गत फागुन २७ गते जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति दिनका लागि रावा इनर्जी डेभलपमेन्ट प्रालि र हलेसी ऊर्जा कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएको थियो । गाउँपालिकाका सात वटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जग्गाधनीसहित बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार सङ्घर्ष समितिले हाइड्रोपावर कम्पनीसँग जग्गाधनीका तर्फबाट माग राखेको हो ।

बागलुङमा साढे ५ करोडमा बन्यो ‘बेलायती र सिङ्गापुरे लाहुरे’ प्रशिक्षण केन्द्र

ढोरपाटन (बागलुङ), ६ चैतः बागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनुभएको हो ।

उहाँहरुले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् । प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवाहरुलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले जानकारी दिनुभयो । 

बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 

जैमिनी नगरपालिका–३ दमेकका बेलायती सेनाका भुतपूर्व लाहुरे पुनले तीन वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको जानकारी दिनुभयो । डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सयजना युवाहरुलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ ।

उहाँले भन्नुभयो, “बागलुङ, म्याग्दी र पर्व क्षेत्रका धेरै युवाहरु लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रका कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरुले सञ्चालनमा ल्याएका हौँ, हालसम्म तालिम केन्द्रमा साढे पाँच करोड रुपैयाँ लगानी भइसकेको छ ।”

अठार वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरु सिङ्गापुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्षपछिनै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । राना सिङ्गापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुनुहुन्छ । अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रुपमा खट्नुभएको छ ।

आजको मौसम: पहाडी भू-भागमा आंशिक बदली, बाँकीको मौसम सफा

काठमाडौँ, ६ चैत : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

पोखरा विमानस्थलबाट पहिलोपटक चीनको छेन्दुमा व्यावसायिक चार्टर उडान

छेन्दु (चीन), ६ चैत : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलोपटक व्यावसायिक चार्टर उडान गरिएको हो ।

पहिलोपटक भएको अन्तरराष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत एक सय २६ सदस्यीय पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली छेन्दु आई पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम अघि बढाएको छ ।

महानगर प्रमुखसहितको पोखरेली टोलीलाई छेन्दु विमानस्थलमा चीनका लागि नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रदेशका उच्चपदस्थ अधिकारी, सिचुवान एयरलायन्सका प्रतिनिधिलगायतले भव्य स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा महानगरप्रमुख आचार्यले २०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उद्घाटनको दुई वर्षसम्म पनि अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा महानगरपालिका, पोखरा पर्यटन परिषद्सहितको निरन्तरको प्रयासबाट पहिलो व्यावसायिक चार्टर उडान गरिएको बताउनुभयो । पोखराको पर्यटकीय विकास सम्बन्धमा चिनियाँ राजदूतावासबाट पनि दुई देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ गर्ने सम्बन्धमा छलफल भएको उल्लेख गर्दै उहाँले यसै अभियानमा पनि बिटुबीलगायतका कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।छेन्दुबाट एक हजार दुई सय ५० पर्यटक विभिन्न उडानमार्फत पोखरा जाने तय भएको जानकारी दिँदै महानगरप्रमुख आचार्यले त्यहाँबाट पनि पर्यटक पठाउने कार्यमा लाग्ने बताउनुभयो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ ।

 युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

 अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रूपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ८० पैसा र बिक्रीदर १०४ रूपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २३ पैसा र बिक्रीदर नौ रूपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ ।

 केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १० पैसा र बिक्रीदर ३१ रूपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३ रूपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २६ पैसा र बिक्रीदर २० रूपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रूपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६० रूपैयाँ ५९ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको जनाएको छ ।

 राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

चैत ६ गतेदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ, ६ चैत: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ ।

यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।


शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ ।

ज्योतिषीय मान्यताअनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म विभिन्न धार्मिक क्रियाकलाप गर्नु हुँदैन । धार्मिक मान्यताअनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्म हुन्छन् । नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् । 

नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् । काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्य जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाहआदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् । 

प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् । वृहस्पति र शुक्र अस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान, देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि नमिल्ने जनाइएको छ । 

साथै बगैँचा कुवाको निर्माण, गृहारम्भ, चान्द्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन, विद्यारम्भ संस्कार, कहिल्लै नगरिएको देवताको दर्शन, अग्निहोत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ । 

शुक्रको दशा चलिरहेका व्यक्तिलाई शुक्रले जुन फल जति प्रदान गर्नुपर्ने हो सो प्राप्त नहुनसक्ने स्थिति पनि रहन्छ । अस्त भएको वेलामा शुक्र निर्वल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तककर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य बताईएको छ ।

यसैगरी यस अवसरमा गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ ।
न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।।

अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू भनिएको छ । यस अवसरमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।

यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रत उपासना पनि रोकिदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत आइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ ।

ट्रम्प–पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ। वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ। यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन।

पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सार्नुभयो, जबकि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै कुरा गर्ने’ प्रयास भएको बताउनुभयो । ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’ को विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित भएका छन्।

वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता ‘महत्वपूर्ण चरणमा पुगेको’ बताउनुभयो, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गर्नुभयो । उता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दाेर्याउनुभयो ।

– अमेरिका–युक्रेन विभाजन –

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि युक्रेनमा अमेरिकी नीतिमा पूर्ण परिवर्तन आएको छ।अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना पुटिनसँग कुरा गरेको घोषणा गरेर विश्वलाई चकित पार्नुभएको थियो । यसले रुसी सेनाले युक्रेनमा आक्रमण जारी राखेसम्म रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी प्रयासहरूलाई तोडेको थियो।

त्यसयता उहाँले रुसी राष्ट्रपतिसँग ‘धेरै पटक’ कुरा गर्नुभएको छ । पुटिनका लागि उहाँले विगतमा बारम्बार प्रशंसा व्यक्त गर्नुभएको थियो । यद्यपि कुनै पनि वार्ताको औपचारिक रूपमा घोषणा गरिएको थिएन। ट्रम्पका विशेष दूत स्टिभ विटकफले संयुक्त युद्धविराम योजनाको विवरण प्रस्तुत गर्न गत बिहीबार मस्कोमा पुटिनसँग तीन घण्टा बैठक गर्नुभएको थियो । उक्त योजनाले युद्धमा ३० दिनको विरामको परिकल्पना गर्दछ।

तर वासिङ्टनको मस्कोसँगको सम्बन्ध सुधार हुँदा युक्रेनसँगको सम्बन्ध निकै जटिल बनेको छ।ट्रम्पको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा ओभल अफिसमा विवाद भएको थियो । उक्त विवादका कारण संयुक्त राज्य अमेरिकाले किएभलाई दिने अर्बौं डलरको सैन्य सहयोग अस्थायी रूपमा निलम्बन गर्न पुग्यो।जेलेन्स्की पछि युद्धविराम योजना र संयुक्त राज्य अमेरिकालाई युक्रेनको दुर्लभ खनिज भण्डारमा प्राथमिकताको पहुँच दिने सम्झौता दुवैमा सहमत हुन बाध्य हुनुभयो ।

पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने

काठमाडौँ, ५ चैतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । समितिको स्वीकृति नलिइ पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो ।

समितिको स्वीकृति नलिइ प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि उहाँले सुनाउनुभयो । समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानुनअनुसार कारबाही गरिने पनि समितिले जनाएको छ ।

यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कार्यकारी निर्देशक ढुङ्गेलले बताउनुभयो । समितिको गठन आदेश जारी भएपछि बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रो नियमन हुँदै आएको छ ।

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपरासी । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो । घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न गएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बीचमा बाकसभित्र आइपुगेकी थिइन् ।

घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी फेरि सोध्छिन्,“हजुरआमा, ममी कहिले आउनुहुन्छ ?” तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सकिनन् । उनी चुपचाप आँसु पुछेर बन्द बाकसतिर हेरिरहन्छिन्, जहाँ उहाँकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहेकी छन् । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । कसैले भन्न पनि सक्दैन—“तिम्रो ममी अब कहिल्यै फर्किनुहुन्न ।”

तिलमाया सार्कीले यो बाटो सजिलोसँग रोजेकी थिइनन् । श्रीमानसँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु उनको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन । उधारोले घर चल्न सकेन । उनले मलेसियाको बाटो रोजिन् ।

“म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु”, भन्दै उनले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाइन् र मलेसियातर्फ लागिन् । तर परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।

त्यसको केही दिनपछि अचानक फोन आयो, “तिलमायाको हत्या भयो ।” यो खबरले परिवारलाई छियाछिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो ।

तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो । मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउनका लागि घरपरिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो ।

आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताइन् ।

“सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएन”, उनले भनिन्, “शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र १५/२० दिनमा राहत पनि आइसक्ने छ ।”

वैदेशिक रोजगार बोर्ड र बीमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ । मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ ।

सर्वाेच्च अदालतले सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै महानगरले थाल्यो छलफल

वीरगञ्ज (पर्सा), ५ चैतः सर्वोच्च अदालतले वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारविरुद्धको रिट खारेज गरेसँगै वीरगञ्ज महानगरले थप काम अगाडि बढाउने विषयमा छलफल सुरु गरेको छ । आज सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखसँग छलफल गरी सडक विस्तार कार्यमा सहयोग गर्न महानगरले आग्रह गरेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले सर्वाेच्च अदालतले सडक विस्तारविरुद्ध परेको रिट लामो समयपछि खारेज गरेकामा खुसी व्यक्त गर्दै सडक डिभिजन कार्यालय हेटौँडाको पहलमा सडक विस्तार अभियानलाई सघाउन महानगर तयार रहेको बताउनुभयो । “पहिलो चरणमा सरकारी कार्यालयले आफ्ना संरचना हटाइदिए सर्वोच्चको फैसला कार्यान्वयनमा सहज हुने थियो । महागरले सडक चाँैडा गर्ने अभियानलाई अघि बढाउन सम्पूर्ण रूपमा सहयोग गर्छ, यहाँहरूबाट पनि सोही अपेक्षा छ”, उहाँले भन्नुभयो ।

महानगरले सडक विस्तार अघि बढाउने विषयमा छलफल अघि बढाए पनि सर्वाेच्च अदालतको पूर्णपाठ नआइकन काम अगाडि बढाउँदा समस्या हुनसक्ने विषयमा पनि छलफल भएको छ ।

सर्वोच्चका अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत बुधबार रिट निवेदकहरूका पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई यहाँको मुख्य सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको छ । वीरगञ्जका छुट्टाछुट्टै पाँच घरधनी निवेदकले विभिन्न मितिमा वीरगञ्जको सडक विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वीरगञ्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गर्नुभएको थियो । अन्य निवेदकहरूले पनि फरक–फरक मितिमा सडक विस्तारविरुद्धमा रिट दायर गरेका थिए । त्यसपछि त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डाकचोकदेखि पावर हाउसचोक, घण्टाघरचोकदेखि आर्दशनगर, रजतजयन्तीचोक, शङ्कराचार्यगेट हुदैँ मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम रोकिएको थियो ।

आजको बैठकमा उपस्थित सरोकार भएका निकायका प्रतिनिधिले क्षेत्राधिकारभित्र पर्ने दायाँबायाँ २५÷२५ मिटरभित्र पर्ने आफ्ना संरचना हटाउन समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि वीरगञ्ज भन्सार कार्यालय, नारायणी सिँचाइ कार्यालय र नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगञ्जले सडक क्षेत्राधिकार छाडेर आफ्ना संरचना निर्माण गरिसकेका छन् । अन्य सरकारी कार्यालयले पनि आफ्ना संरचना हटाउने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा सडक सीमा निर्धारण, संरचना हटाउने प्रक्रिया, सार्वजनिक सेवा प्रवाहमा अवरोध हुन नदिन र अन्य प्राविधिक विषयमा व्यापक छलफल भएको थियो । नेपाल टेलिकमका प्रतिनिधि रामप्रसाद शर्माले टेलिकमका संवेदनशील उपकरण तथा नेटवर्किङ तार व्यवस्थापनका लागि थप केही समय लाग्ने बताउनुभयो ।

डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले बैठकले अति संवेदनशील कार्यालयबाहेक अन्य कार्यालयले तत्कालै स्वःस्फूर्त रूपमा सडक सीमाभित्रपर्ने संरचना स्थानान्तरण गरी बाटो विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट

टक्सार (भोजपुर), ५ चैत : भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन् ।

नजिकैको पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा भोजपुर नगरपालिका–१२ पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रूद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईंको पाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस्तै हावाहुरीसँगैको आगलागीले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ४, दलगाउँ केराबारीमा चार घर जलेर नष्ट भएको छ भने दुई वटा गाईगोठ र तीन वटा सुँगुरसमेत जलेर मरेको छ । स्थानीय कुमार राईको ढुङ्गामाटाले बनेको घर, गजेन्द्र राईको घर, उमेश राईको घर र मानबहादुर तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै चण्डीराज राईको गाईगोठ, कोपिला राईको गोठ पनि नष्ट भएको छ । बाँसघारीमा लागेको आगो सल्कदै बस्तीसम्म पुग्दा क्षति भएको हो ।

जिल्लाको पूर्वी अरूण गाउँपालिका–७, सिक्रेटारस्थित जलसिंह सामुदायिक वनमा लागेको आगोले स्थानीय दत्तनारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको घर र गाईगोठ र राजकुमार तामाङको घर जलेको छ भने भेषराज कोइरालाको गोठ, मित्रबहादुर राईको गोठ, विक्रम राईको गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

अरूण गाउँपालिकाको वडा नं ४ मा वनमा लागेको डढेलो सल्कदा स्थानीय सीतादेवी भुजेलको ढुङ्गामाटोले बनेको घर र गोठ जलेको छ भने दानबहादुर भुजेलको खाली घर र कमला देवी भुजेलको फुसको छानो भएको गोठसमेत जलेर नष्ट भएको अस्थायी प्रहरी पोष्ट चरम्बीले जनाएको छ ।

आगलागीबाट भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नं ६, माटोखानीका जयनारायण राईको ढुङ्गा र माटोले बनेको एकतले घर, गोठ र तीन वटा बाख्रासमेत जलेर मरेका छन् । इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार आगलागीबाट एक लाख ८८ हजार बराबरको क्षति भएको छ ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ४१३ पुग्यो

गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।जारी इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन् । धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“यस समयमा, आइडीएफ (इजरायल रक्षा बल) र शिन बेटले गाजा पट्टीभरि बिद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,” सेना र शिन बेटले संयुक्त विज्ञप्तिमा उल्लेख गरको छ । “विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन् ।”

इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको बताएको छ ।हमासले इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाए र इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको थियो ।

लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनोट गरेका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।“आज, अवैध आप्रवासन नियन्त्रण विभागको निर्वासन कार्यालयबाट, हामीले त्रिपोली मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान मार्फत १७७ महिला र केही बाल आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको छौँ,” निर्वासन अधिकारी मोहम्मद ब्रेदाले बताउनुभयो ।

“यस समूहमा नौ बालबालिका र आठ शिशुहरू थिए ।”सोमबार, लिबियाका आन्तरिक मन्त्री इमाद अल–तरबेलसीले युरोपेली सङ्घलाई अवैध आप्रवासन रोक्न थप सहयोग प्रदान गर्न आग्रह गर्नुभयो ।

“लिबियाको दक्षिणी सिमानाहरू सुरक्षित गर्न यो समस्या समाधान गर्नु धेरै महत्वपूर्ण छ ।”अल–तारबेल्सीले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न आप्रवासीहरूको उत्पत्ति भएका देशहरूमा विकास परियोजनाहरूको लागि पनि आह्वान गर्नुभयो ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री

काठमाडौँ, ५ चैत : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रूपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तनसम्बन्धी सत्रलाई सम्बोधन गर्दै उहाँले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावहरूको अनुभव गरिरहेका र नेपाल यसको अग्रपङ्क्तिमा नै रहेको बताउनुभयो ।

मन्त्री डा राणाले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै यसकारण नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस) को मागलाई अन्तरराष्ट्रिय रूपमा उठाउँदै आएको पनि स्पष्ट गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाई मात्र नभएर सिङ्गो विश्वलाई नै असर गर्ने भएकाले सबै देशहरूले साझा एजेण्डाका साथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

जलवायु न्यायअन्तर्गत क्षतिपूर्तिका पक्षमा नेपाल रहेको बताउँदै उहाँले यसका लागि आवश्यक क्लाइमेट फाइनान्सिङका विषयमा अब व्यापकमात्रामा छलफल हुनुपर्छ भन्नुभयो ।
मन्त्री डा राणाले गत वर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको नेपालले सामना गर्नुपरेको र भीषण वर्षाका कारण दुई सय ५० भन्दाबढी मानिसको ज्यान जानुका साथै करिब रू ४५ अर्ब बराबरको क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

सो भीषण वर्षा र बाढीले पिउने पानी, सडक, ऊर्जा, सिँचाइ, पूर्वाधारहरू तथा कृषिसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पुगेको पनि मन्त्री डा राणाले जानकारी दिनुभयो । उहाँले क्लाइमेट फाइनान्सिङका क्षेत्रमा अब नयाँ स्वरूपले सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिले विश्व नयाँ ढङ्गले अघि बढिरहेको छ । मलाई लाग्छ, अब परम्परागत दाताहरूबाट त्यसैगरी अनुदान तथा सहयोग नआउन पनि सक्छ, त्यसैले अब नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ ।”

मन्त्री राणाले यसका लागि राष्ट्रहरूले निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने धारणा राख्नुभयो । नेपालले विश्वको अन्य क्षेत्रको तुलनामा जलवायु परिवर्तनको असर अकल्पनीय रूपमा अनुभव गरिरहेको दृष्टान्त पेस गर्दै उहाँले नेपालका लागि थप क्षतिपूर्ति आवश्यक छ भन्नुभयो । नेपाललाई वर्षा, बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपहरूको पूर्वसूचना आदिका क्षेत्रमा प्राविधिक सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते

बरहथवा (सर्लाही), ५ चैत : आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५, बस्ने ४६ वर्षका नरेशप्रसाद जयसवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।सोही मोटरसाइकलमा सवार राजदेवी नगरपालिका–३, पथरा बस्ने ४५ वर्षका सिकेन्द्र बैठा गम्भीर घाइते भएका छन् । बैठाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

दुर्घटनामा संलग्न अर्को प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको रामनगर गाउँपालिका–१, निवासी ३० वर्षका होसनारायण रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । मृतक जयसवालको शव परीक्षणका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा राखिएको छ ।

विकास योजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरीयतालाई ध्यानदिन पूर्वमन्त्री शर्माको आग्रह

घोराही (दाङ), ५ चैतः पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई समयमै सक्न र गुणस्तरीयतालाई ध्यान दिन सम्बन्ध पक्षलाई आग्रह गर्नुभएको थियो ।

दाङ क्षेत्र नं २ मा सङ्घीय सरकारको बजेटबाट निर्माणाधीन विभिन्न विकास योजनाको अनुगमनका क्रममा आज उहाँले आफ्नो ठाउँको विकासका लागि स्थानीयावासीले योजना माग गरेजस्तै अब समयमै सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका क्षेत्रका योजनाको अनुगमन गर्नुभयो । उपमहानगरपालिका–१८, १६ तथा घोराही उपमहानगरपालिका–९, १४ र १८ मा निर्माणाधीन सडक, घोराही १३ मा निर्माणाधीन भूपु सैनिक सङ्गठनको बहुउद्देश्यीय भवन र घोराही १८ मा निर्माणाधीन नेपाल मगर सङ्घको मगर सांस्कृतिक भवन र घोराही १४ झिंगौरास्थित हरियाली पार्ककोे पनि उहाँले अनुगमन गर्नुभयो । यहाँ पर्यटन मन्त्रालयको बजेटबाट स्थानीय तहमार्फत रु ५३ लाखमा पर्खाल निर्माणक भइरहेको छ । पार्कभित्र निर्मित सहिदहरुको प्रतिमाको तीन वर्ष अघि अज्ञात व्यक्तिले तोडफोड गरेकाले यसको पनि पुनःनिर्माण गरिने छ ।

अनुगमनका क्रममा उहाँले सडक विभाग, सघन सहरी कार्यालयलगायत विकास योजना हेर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र अधिकारी तथा स्थानीय उपभोक्तासँग छलफल गर्नुभएको थियो ।

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ, ५ चैत: कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गर्नुभयो ।

सोही अवसरमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गर्नुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो । लोगो र मस्कटलगायत विषयवस्तुलाई समेटी तयार पारिएको एनिमेटेड भिडियो पनि प्रदर्शन गरियो ।

लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर हाबे्र (रेड पाण्डा) लाई मस्कटका रूपमा प्रयोग गरिएको छ ।

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई लक्षित गरी तयार गरेको उत्कृष्ट पूर्वाधारका लागि कर्णाली प्रदेशलाई धन्यवाद दिनुभयो । उहाँले राष्ट्रिय खेल सङ्घलाई खेलाडी र खेलको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहनालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद भव्य बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष आचार्यले राष्ट्रिय खेलकुद प्रतिभा खोजीको माध्यम पनि भएको बताउनुभयो । सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुदमा सहभागी हुन खेलाडी उत्साहित रहेकाले खेलाडीले खेल्न पाउने वातावरण बनाउन सम्पूर्ण सरोकारवाला एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो । दशाँै राष्ट्रिय खेलकुद आगामी २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुँदैछ ।

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ, ५ चैतः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच आज भेटवार्ता भएको हो ।
भेटका क्रममा उहाँहरूबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

नेपाल र भारतबीच पछिल्लो समय भएका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्राञ्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोक, ५ चैत : काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रण बाहिर रहेको हो ।

गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ । उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ । सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास गरेपनि डढेलो फैलँदै गएको हो । आज बिहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

सोमबार नेपाली सेनी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो । एन्टी फायरिङ गरिए पनि बस्ती पूर्ण रूपमा सुरक्षित नरहेको गाउँपालिका वडा नं ३ का वडाध्यक्ष  कुबेर ढकालले बताउनुभयो । उहाँका अनुसार हावाहुरी व्यापक रूपमा लागि रहेकाले त्यसलाई पूर्ण नियन्त्रणमा लिन भने सकिएको छैन । स्थानीयलाई सचेत रहन र सावधानी अपनाएर बस्न आग्रह गरिएको छ । 

डढलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन निकै कठिन भएको ढकालको भनाइ छ । उहाँका अनुसार करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको छ । बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको बताइएको छ । 

हावाहुरी चलेकाले डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी, नारायणस्थानसम्म पुग्ने जोखिम देखिएको छ । वनमा डढेलो फैैलिरहेकाले नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयका वन अधिकृत चिनीकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जङ्गलका ठूलाठूलो रूखका टुप्पोसमेत आगो लागिरहेको छ । आगलागी भएको क्षेत्र भिरालो भौगालिक अवस्था रहेकाले डढेलो निभाउन निकै कठिनाइ भइरहेको श्रेष्ठले बताउनुभयो । 

डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने नदेखिएको तथा पशुपक्षी क्षति नभएको ढकालले बताउनुभयो । उहाँका अनुसार थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो देब्रेतर्फ फैलिँदै गयो भने मानवबस्ती जोखिममा पर्नसक्छ । दुई दिनदेखिको डढेलोका कारण वरिपरिको क्षेत्रमा धुवाँ–तुवाँलोले वातावरण प्रदूषित भएको स्थानीय कमल नेपालले बताउनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या तथा आँखा चिलाउने समस्या हुँदै गएको छ । 

यसअघि सोही क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो । खानीखोलाको थामलेख डाँडाबाट सुरू भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमा क्षेत्रमासमेत फैलिएपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाइएको थियो । 

मोडल शिसन सिङ बलले ल्याएको जुनी जुनी बोलको फिमेल भर्सनको चर्चा

काठमाडौँ । गायिका रचना रिमालको स्वर रहेको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपनराज शिवाकोटीको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत रहेको छ । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र शिसन सिङ बलको बेजोड अभिनय देख्न सकिन्छ ।

पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय स्मारिका र शिसनले वैँशालु उमेरमा भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई भिडियो निर्देशक दिनेश बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । निर्देशक बस्नेत पछिल्लो पुस्तामा रुचाइएका निर्देशक हुनु । भिडियो रिलिज भएसँगै दिनेश भन्छन् जुनी जुनीको फिमेल भर्सनमा निकै नै मेहेनत गरेका छौँ । आशा छ हाम्रा अरु सिर्जना जस्तै यसलाई पनि दर्शकले माया र साथ दिनुहुनेछ । बिछोडको सिनमा कैयौँ पटक भक्कानिएकी छिन्मोडल स्मारिका । प्रेमीबाट पाएको धाकोभिडियोमा मोडल शिसनको अभिनयको चर्चा सुरु भएको छ ।

शिसनले यसअघि नक्कली कान्छी, अल्लारे ठिटो, आमा, मान्छेको जात, बिँडी पार्टी, साथी लगायतका दर्जनौँ गीतहरु बजारमा आइसकेका छन् । जसमध्येको बिँडी पार्टी डेढ करोड पटक हेरिएको छ । चितवनका मोडल शिसन एक कुशल कलाकार हुनु । सानै मेरदेखि अभिनयको क्षेत्रमा निकै रुची राख्ने शिसन ठूलो संघर्षपछि अहिले चर्चामा छन् । उनलाई फिल्ममा अभिनयको पनि अफर आएको बताउँछन् । राम्रो व्यबनार र मनले खाएको टिमसँग काम गर्ने शिसनको धोको छ ।

नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ । विकाश दाहालको सम्पादन रहेको जुनी जुनी सन्तोष सुनार अफिसयलबाट बजारमा आएको हो । भिडियो रिलिज गरिए लगत्तै गायिका रचना रिमालले गीत राम्रो बनेको भन्दै सबैको मायाको खाँचो रहेको बताइन् । भिडियो हेरेका दर्शकहरुले पनि गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन

काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन मातहतलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले प्रहरी सङ्गठनको श्रीवृद्धिमा ध्यान दिन निर्देशन दिनुभयो ।

    नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प सङ्गठन भएको चर्चा गर्दै महानिरीक्षक थापाले भन्नुभयो, “नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो ।”

सबै प्रहरी कर्मचारी सङ्गठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रित हुनुपर्ने बताउँदै सामूहिक भावना, भ्रातृत्व र आपसी एकताले मात्र सङ्गठनको सुदृढीकरण र उन्नतिको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

    सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूहले विभिन्न जातजाति, वर्ग, धर्म र संस्कृतिकाविरूद्ध गलत सूचना प्रवाह गर्ने, दूष्प्रचार गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुनसक्ने सामाजिक विचलन रोक्ने गरी कार्यसम्पादन गर्नु आवश्यक रहेको बताउनुभयो । “चुनौतिका रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार–पसार, मानव तस्करी, आर्थिकलगायत अपराध अनुसन्धानका लागि थप क्रियाशील हुनुपर्छ”, महानिरीक्षक थापाले भन्नुभयो ।

‘प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन’

    यसैबीच नवनियुक्त प्रहरी महानिरीक्षक थापाको उपस्थितिमा आजै बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पिसिसी) बैठकले प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरेको छ ।

    बैठकले कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि  तथा कर्जाको ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै कार्यविधिको समयानुकूल संशोधन तथा परिमार्जन गन सिफारिस समिति गठन गर्न निर्देशन दिएको हो ।

स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिनुभयो । उहाँका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन् । यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन् ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उहाँले बताउनुभयो । 

उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 

पोखरा बेलुन विष्फोट घटना : छानबिन समितिद्वारा प्रतिवेदन हस्तान्तरण

काठमाण्डौँ, ५ चैत : पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष, २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटका विषयको अनुसन्धान गर्न गठिन छानबिन समितिले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ ।

भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका प्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो । घटनालगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो ।

समितिले घटनाको विस्तृत छानबिन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिनुभयो ।

समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रममा प्रज्वलनशील पदार्थको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रम औपचारिक समारोहमा समावेश गर्न नहुनेलगायत सुझावसहितको विषय समेटिएको छ ।

त्यसका साथै भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषयसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पको उपयोग गर्न सुझाव दिइएको छ । 

त्यसैगरी बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्यास प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमतिबिना आतिसबाजी तथा विष्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनुपर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट÷अतिविशिष्ट व्यक्तिल आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापनबारे अग्रिम जानकारी लिइ सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्नेलगायत विषय सुधार गर्न भनिएको छ ।

कार्यक्रम सञ्चालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायसँग निरन्तर रूपमा प्रभावकारी समन्वय गर्नुपर्ने, सार्वजनिक कार्यक्रमहरू (सभा, सम्मेलन, मेला, महोत्सव, प्रदर्शनी, र्‍यालीलगायत कार्यक्रम) सञ्चालन गर्ने सन्दर्भमा सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन विधिलगायत विषयसमेत समेट्नेगरी स्पष्ट कार्यविधि/मापदण्ड तर्जुमा गर्नुपर्ने समितिको सुझाव छ ।

मन्त्री भट्टराई र निजी विद्यालयका प्रमुखबीच छलफल

काठमाडौँ, ५ चैतः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विभिन्न निजी तथा सार्वजनिक विद्यालयका प्रमुखबीच छलफल भएको छ । आज यहाँ भएको छलफलमा मन्त्री भट्टराईले छात्रवृत्ति वितरणलाई पारदर्शी र सरकारी नियम कार्यान्वयन गर्न उहाँहरूलाई आग्रह गर्नुभयो ।

उहाँले आगामी शैक्षिक सत्रलाई व्यवस्थित र समावेशी बनाउन सबैलाई निष्पक्ष र समान अवसर प्रदान गर्न, भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनाउन आग्रह गर्नुभयो । मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्दै वर्ग विभाजन हुन नदिने कुरामा ख्याल गर्न आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

  सरकारको नीति र योजनाअनुसार सबै शैक्षिक संस्था सञ्चालन हुनुपर्ने, शैक्षिक क्यालेण्डर कडाइका साथ पालना गर्नुपर्ने र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता हुनुपर्ने विषयमा पनि छलफल भएको थियो । 

छलफलमा काठमाडौँ उपत्यकामा सञ्चालित सेन्टमेरिज, सेन्ट जेभिएर्स, रातो बङ्गला, बूढानीलकण्ठ स्कुल, एसओएस बालग्राम, नेपाल सैनिक विद्यालय, नेपाल प्रहरी स्कुल र गण्डकी बोर्डिङ स्कुलका प्रमुखको सहभागिता रहेको थियो ।

त्यस क्रममा आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया, शुल्क व्यवस्थापन, छात्रवृत्ति वितरण, विद्यालयको सामाजिक उत्तरदायित्व र कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षालगायत विषयमा समेत छलफल भएको थियो ।