`

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

Nepal One HD २३ असोज २०८२ १९:२०
बिशेष

काठमाडौँ, २३ असोजः पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको जाहेरी आज प्रहरीमै फिर्ता पठाइएको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाडौँमै फिर्ता गरिएको जानकारी दिनुभयो । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको उक्त जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।

आज आयोगले एक विज्ञप्ति जारी गरी फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको छ ।

आयोगलाई उक्त घटनाको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव दिनेसहितको प्रतिवेदन पेस गर्ने र ौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने तथा कारबाहीसम्बन्धमा आवश्यक रायदिने कार्यादेश आयोगले पाएको जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले फौजदारी वारदातमा अनुसन्धान कार्य गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने पनि स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *