`

प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

लगानी सम्भाव्यता खोज्दै कोरियाली टोली झापामा

झापा, ७ चैतः कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ ।

कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले कोशी प्रदेशका झापासहित विभिन्न जिल्लामा लगानीको सम्भाव्यता अध्ययन गर्ने एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले बताउनुभयो । बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रियासमेत गरेको थियो ।

कार्यक्रममा मेचीनगरमा लगानीका सम्भाव्य क्षेत्रबारे नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी गराउनुभयो । कोरियन टोलीले बुधबार नै काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची पुल, एनएमसी डेरी उद्योगलगायतको अवलोकन गरेको छ । टोलीले कृषि, पर्यटन, कागज, रेलमार्गलगायत क्षेत्रमा लगानीका लागि कोरियाली लगानीकर्ताहरू इच्छुक रहेको अवगत गराएको थियो ।

काँकरभिट्टामा बहुतले बहुउद्देश्यीय बसपार्क निर्माण, जैविक जीवाणु प्राङ्गारिक मल कारखाना स्थापना, पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण, कृषि उत्पादनका लागि प्रविधिको विकास, प्रविधिमैत्री कृषि प्रणाली र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादनलगायत विषयमा कोरियाली टोलीसँग छलफल भएको मेचिनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।

छलफलमा कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसन नेपालका राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, उद्योगी मेदनी अधिकारी, युवराज अधिकारीलगायतले नेपालमा लगानीको प्रशस्त अवसर रहेका भन्दै सरकारले उपयुक्त नीति र कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभएको थियो ।

नगरकोट भ्रमण वर्ष–०८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने

भक्तपुर, ७ चैतः आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित यहाँका चार नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।

चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताउनुभयो । उहाँले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, एक पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो । “करोडौँ लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले भ्रमण वर्ष सफल पार्न सामाजिक दायित्वअन्तर्गत आवश्यक लगानीसहित आगन्तुक पर्यटकको स्वागतमा लाग्नुपर्छ । सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा खानेबस्ने गरी छुटका प्याकेज बनाउन पनि आवश्यक छ”, नगरप्रमुख खत्रीले भन्नुभयो ।

चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् ।

होटल व्यवसायीदेखि स्थानीयवासीले भ्रमण वर्ष सफल पार्न आ–आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ ।

मण्डन देउपुर नगरपालिका प्रमुख टोपबहादुर वाइबाले नगरकोट चारवटै पालिकाको सङ्मगस्थल भएको बताउँदै भ्रमण वर्षलाई सफल पार्न चारवटै नगरपालिकाले पहल गर्ने बताउनुभयो । यहाँको भौतिक संरचनादेखि पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचना निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने उहाँले बताउनुभयो ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल महँगो भएकाले भ्रमण वर्षका लागि छुटको ‘प्याकेज’ बनाउन आग्रह गर्नुभयो । उहाँले नगरकोटको वाटर मर्मतका लागि नगरपालिका लागेको बताउँदै नगरकोट आउने पर्यटकले चारवटै पालिकको पर्यटकीय क्षेत्रको भ्रमण गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले वैशाख १ गते भ्रमण वर्षको शुभारम्भका लागि उद्घाटन स्थलको स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीले गर्ने योगदानबारे समितिले पुनः छलफल गरेर थप निर्णय लिने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले भ्रमण वर्ष अवधिभर व्यवसायीले १० प्रतिशत छुट दिने, सबै होटलहरूले आफ्नो होटल र आसपासका क्षेत्र सजाउने, बत्तीले झिलीमिली बनाउने, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रम गर्ने घोषणा गरेको बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंसाकार, नगरकोट भ्रमण वर्ष–२०८२ का सम्पर्क व्यक्ति तथा विज्ञ डा घनश्याम खतिवडालगायतले पर्यटकलाई नगरकोट तान्न सक्ने गरी कार्यक्रमहरू ल्याइने बताउनुभयो ।

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही, आरोहणको चहलपहल बढ्यो

काठमाडौँ, ७ चैतः सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।

सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी हुनुहुन्छ ।

सङ्घले सो टोलीलाई सगरमाथाको बाटो निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । सङ्घका महासचिव ऋषिराम भण्डारीले वसन्त ऋतुको सगरमाथा हिमाल आरोहणका लागि बाटो बनाउन दक्ष आरोही त्यसतर्फ गएको बताउनुभयो । “सगरमाथा र ल्होत्से हिमालमा बाटो बनाउन तथा डोरी टाँग्न दक्ष शेर्पा आरोही सामग्रीसहित सगरमाथा प्रस्थान गरेका छन्”, उहाँले भन्नुभयो, “योसँगै सगरमाथा आरोहणको चहलपहल बढेको छ । अधिकांश ठूला आरोहण व्यवस्थापन गर्ने कम्पनीका कर्मचारी आधार शिविरमा व्यवस्थापनको काममा खटिएका छन् ।”

एट्के कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले सगरमाथाको चुचुरोसम्म टाँग्ने डोरी, ‘क्लाइम्बिङ इक्युमेन्ट’, ‘टेक्निकल डिभाइस’ बाटो बनाउने टोलीलाई हस्तान्तर गरिएको जानकारी दिनुभयो । उहाँले सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन कम्पनीले सम्पूर्ण क्षमताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । “दक्ष व्यावसायिक आरोहीको टोली सगरमाथालगायत हिमालको बाटो बनाउने कार्यमा खटिएको छ”, उहाँले भन्नुभयो, “पूरै टिमको नेतृत्व मैले गर्दैछु । आरोहण योजना, मौसमको सूचनालगायत व्यवस्थापकीय कामको प्रबन्धसहित पूरै टिमको नेतृत्व मैले गर्नेछु । मौसमको अनुकूलता हेरी समयमै डोरी टाँगिनेछ ।” यो पटक मौसमले साथ दिने अनुमान गरिएकाले ६०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाने अपेक्षा गरिएको प्रबन्ध निर्देशक शेर्पाले बताउनुभयो ।

पर्यटन विभागसँगको सम्झौताअनुरुप पर्वतारोहण सञ्चालक सङ्घले हरेक वर्ष ‘रोप फिक्सिङ’को काम ‘टेन्डर’मार्फत कम्पनी छटौन गरेर दक्ष शेर्पालालाई सगरमाथाको बाटो खुलाउन खटाउने गरेको छ । यस्तो टोलीले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने तथा डोरी टाँग्नेछ । सन् २०२५ का लागि एट्के एक्सिपिडिसन कम्पनीले जिम्मेवारी पाएको छ ।

सन् २०२४ मा सेभेन समिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने जिम्मा पाएको थियो । सन् २०२३ मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले सगरमाथामा रोप फिक्सिङ गरेको थियो । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाउने गरेको छ । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने दक्ष आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।

वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको हो । एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरमाथि बाटो बनाउने कार्यमा खटिएका छन् । टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा हुनुहुन्छ ।

खुम्बु आइसफल क्षेत्र सबैभन्दा जोखिमयुक्त क्षेत्र हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्छन् ।

दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यो वर्ष पनि आरोहणका लागि उपयुक्त मौसम हुने र उल्लेख्य सङ्ख्यामा आरोही आउने पर्यटन व्यवसायीको अनुमान छ ।

आरोहणको चहलपहल बढ्यो

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम विभागको सम्पर्कमा आइरहेका छन् । सम्पर्क अधिकृत खटाउने, सगरमाथा आधार शिविरमा सम्पर्क कार्यालय व्यवस्थापन आदि विषयमा विभाग लागिपरेको छ । सगरमाथा आरोहणको सिजन सुरु हुनैलाग्दा व्यवसायी निकै उत्साहित देखिएका छन् । सगरमाथा आरोहणमा सर्वाधिक आरोही पठाउने एक्सपिडिसन कम्पनीहरू यो सिजनमा आरोही बढ्ने अनुमानका साथ आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन तयारीमा जुटेका विभागले जनाएको छ ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले सगरमाथालगायत हिमाल आरोहणका लागि धमाधम आरोही आइरहेको बताउनुभयो । उहाँले यो सिजनमा सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै आरोही आउने अनुमान गरिएको उल्लेख गर्नुभयो । “हामी पर्वतारोही व्यवसायी निकै उत्साहित छाँै किनकि यो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोही आउने सङ्केत देखिएको छ । त्यहीअनुरुप बुकिङ भएको छ”, उहाँले भन्नुभयो ।

सेभेन समिट कम्पनीमार्फत यो पटक १०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाँदैछन् । अघिल्लो वर्ष उक्त कम्पनीमार्फत ७० हाराहारी आरोही सगरमाथा आरोहणमा गएका थिए । सेभेन समिट सगरमाथामा धेरै आरोही पठाउने कम्पनी हो । सतोरी, एट्स के एक्सपिडिसन प्रालि, पायोनियर एडभेन्चर्स, हिमालयन गाइड ट्रेक्स, इमाजिन नेपाल ट्रेक एन्ड, ट्याग नेपाल आदि कम्पनी सगरमाथामा धेरै सङ्ख्यामा आरोही पठाउने कम्पनीमा पर्छन् ।

सतोरी एडभेन्चर्स प्रालिका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले सगरमाथा आरोहणका लागि चहलपहल सुरु भइसकेको बताउनुभयो । “सगरमाथाको चुचुरोसम्म बाटो बनाउने कार्य दक्ष शेर्पा आरोही र आइसफल डाक्टर खटिएसँगै आरोहणको चहलपहल सुरु भएको छ”, उहाँले भन्नुभयो, “अब धमाधम आरोही आरोहण अनुमतिलगायत प्रक्रिया पूरा गरेर गन्तव्यतिर निस्कन्छन् । एक्सपिडिसन कम्पनीहरूले आरोहण व्यवस्थापनको तयारीलाई तीब्रता दिएका छन् ।” भण्डारीले यसपटक समग्रमा वसन्त ऋतुको आरोहण उत्साहवर्द्धक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि उपयुक्त मौसम ‘वेष्ट समिट विन्डो’का लागि सामान्यतया चार वटा विन्डो हुन्छ । त्यो मे महिनामा पर्छ । (हावाको गति कम र हिउँपर्ने कम अवस्था)लाई विन्डो भनिन्छ ।

नीतिगत स्थायित्वसहित कानुन कार्यान्वयनमा जोड दिनुपर्ने महासङ्घको सुझाव

काठमाडौँ, ७ चैतः नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव सरकारलाई बुझाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर यी सुझाव दिनुभएको हो ।

कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माण र कार्यान्वयन सुनिश्चित गरिनुपर्ने, नीतिगत सुधारको सकारात्मक सङ्केत देखिए पनि त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चितता हुनुपर्ने भन्दै महासङ्घले ध्यानाकर्षण गराएको छ ।

यस्तै, व्यवसाय दर्ता, नवीकरण, कर भुक्तानी तथा खारेजी प्रक्रियामा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने सुझाव र नागरिक एपमा ‘बिजनेस आइकन’ राखी सम्पूर्ण व्यावसायिक सेवा ‘अनलाइन’ माध्यमबाट प्रदान गर्नुपर्ने प्रस्ताव महासङ्घले अघि सारेको छ । साथै, सरकारी सेवा प्रणालीलाई ‘स्मार्ट’ सेवा अवधारणाअन्तर्गत अधिक प्रभावकारी बनाउनुपर्ने, विदेशी लगानी प्रवर्द्धनका लागि फरक नीति अवलम्बन गरिनुपर्ने सुझाव पनि महासङ्घले दिएको छ । “नेपालमा विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव दुई प्रतिशतमा सीमित भएकाले यसलाई बढाउन विशेष लगानी अभियान सञ्चालन गरिनुपर्छ । लगानी बोर्डको कार्यालय र उद्योग विभागलाई गाभेर पुनःसंरचना तथा एकल विन्दु सेवा केन्द्रलाई पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्छ”, महासङ्घको सुझावमा भनिएको छ । लगानीकर्ताले एकमुष्ट रूपमा आवश्यक कागजातहरू बुझाएपछि अन्य कार्यालयहरू धाउन नपर्ने व्यवस्था हुनुपर्ने उसको माग छ ।

यस्तै, बैङ्किङ प्रणालीमा सुधार आवश्यक रहेको विषय पनि महासङ्घले औँल्याएको छ । “नेपालको बैङ्किङ प्रणालीमा हाल करिब रु छ खर्ब लगानीयोग्य रकम रहेको भए पनि लगानीको गति सुस्त छ । पछिल्ला तीन महिनामा ब्याजदर तीन प्रतिशतले घटे पनि लगानी प्रवाह प्रभावकारी हुन सकेको छैन”, सुझावमा भनिएको छ, “नेपाल राष्ट्र बैङ्कले दुई वर्षअघि ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरी यो नीतिलाई कम्तीमा दुई वर्षका लागि स्थगित गरिनुपर्छ ।”

महासङ्घले नेपाली कृषिजन्य उत्पादन तथा पानी खाडी मुलुकहरूमा निर्यात प्रवर्द्धनका लागि तत्काल नीति ल्याउनुपर्ने सुझाव दिएको छ । नेपालबाट मध्यपूर्वका लागि दैनिक १२ वटा उडानहरू हुने भएकाले तिनको उपयोग गरी निर्यात प्रवर्द्धन गर्न एयरपोर्टमा शीत भण्डार (कोल्ड स्टोरेज), एक्स–रे मेसिन तथा वेयरहाउस सुविधा स्थापना गर्नुपर्ने महासङ्घले प्रस्ताव राखेको छ ।

उत्पादनमूलक उद्योगहरूलाई प्रवर्द्धन गर्न लाग्दै आएको करलाई क्रमशः घटाउँदै पाँच वर्षमा पाँच प्रतिशतले कमी गर्नुपर्ने पनि महासङ्घको सुझाव छ । यस्तै, आयकरका दर घटाउने तथा कर छुटको सीमा बढाउने विषयमा पनि महासङ्घले जोड दिएको छ ।

पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी

छन्दु (चीन), ७ चैतः पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो ।

पोखरा पर्यटन परिषद् र छन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा जोड दिँदै पर्यटकीय साझेदारीका लागि तयार भएको बताए । छन्दुका पर्यटन व्यवसायीले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा व्यक्त गर्दै चिनियाँ पर्यटक लक्षित पूर्वाधार आदिमा जोड दिन आग्रह गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको पर्यटन राजधानी पोखराबाट मित्रराष्ट्र चीनको छन्दुुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा आफूहरू उत्साहित बनेको बताउनुभयो ।

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध हिमाल जत्तिकै उच्च, सागर जत्तिकै गहिरो र आकाश जत्तिकै फराकिलो रहेको बताउँदै उहाँले यो सम्बन्ध भृकुटी र स्रङचङ्ग गम्पो र अरनिकोजस्ता ऐतिहासिक व्यक्तित्वहरूको समयदेखि नै विस्तार भएको बताउनुभयो । नेपाल र चीनबीचको मैत्री सम्बन्ध कायम भएको ७०औँ वर्षगाँठ मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरप्रमुख आचार्यले पोखरा महानगरपालिकाले यस वर्षलाई पोखरा भ्रमण वर्ष मनाइरहँदा अझ धेरै विशेष बन्न पुगेको बताउनुभयो ।

सिचुवान प्रदेश विश्वप्रसिद्ध चिया, जाइन्ट पाण्डा र बुद्धको ऐतिहासिक धरोहरहरूले विश्वभरका पर्यटकमाझ आकर्षणको केन्द्र बनेको बताउँदै उहाँले नेपाली पर्यटक पनि यहाँको समद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालयित भएको बताउनुभयो । उक्त चार्टर्ड उडानले नेपाली पर्यटक सिचुवान आउन र त्यहाँका आकर्षणहरू अनुभव गर्न सहज र सजिलो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसबाट छन्दुका पर्यटकहरू सोझै पोखरा जाने र नेपालका पर्यटक पनि छन्दुको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुुभव गर्न आउने उहाँको भनाइ छ ।

प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरामा पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको उहाँले बताउनुभयो ।

सिचुवान प्रान्तका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चार्टर्ड उडान नियमित हुनेमा विश्वास व्यक्त गर्नुभयो । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबीचको साझेदारी महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा छन्दु उडानले दुवै देशबीचको पर्यटकीय साझोदारीलाई बढाउने बताउनुभयो । यो उडानलाई नियमित गराउने कुरामा आफूहरू निरन्तर लाग्ने बताउँदै यसमा छन्दुका पर्यटन व्यवसायीको पनि सकारात्मक साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुुभयो । छन्दुुमा गरिएको बिटुबी एवं सेल्स मिसनबाट दुुवै देशका पर्यटन व्यवसायीबीच आपसी मित्रतालाई अझै मजबुत बनाउने विश्वास दिइएको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरा चिनियाँ पर्यटकले पनि रुचाइएको गन्तव्य भएको बताउनुुभयो । पोखरामा धेरै चिनियाँ पर्यटक भित्र्याउनका लागि पोखरा–छन्दु उडानको निरन्तरता आवश्यक भएको उहाँको भनाइ छ । प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा पाइने उहाँले बताउनुुभयो । छन्दुुस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूूत सुरेश राउतले पोखरा काठमाडौँपछिको दोस्रो ठूलो सहर भएको बताउँदै यो नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुभयो ।

पोखरा–छन्दु उडानलाई नियमित बनाउनका लागि महावाणिज्यदूतावासका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू तयार रहेको उहाँको भनाइ छ । पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू विस्तार हुने क्रम पनि बढिरहेको बताउँदै आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।

आजको मौसम : हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, ७ चैतः जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।

मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशकाहिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

चार देशको भ्रमण पूरा गरी पर्यटनमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, ७ चैतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँ नेतृत्वको टोलीले सम्बन्धित मुलुकका उच्च अधिकारीहरूसँग भेटवार्ता गरी पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान, हवाई सेवा विस्तार, जर्मनीमा रहेका ऐतिहासिक हस्तलिखित ग्रन्थ फिर्ता ल्याउने तथा धार्मिक पर्यटन सञ्जाल निर्माणलगायत विषयमा छलफल गर्नुभएको पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्री पाण्डेलाई बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट’ हिमालयन क्षेत्रबाट ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको थियो । भ्रमणका क्रममा उहाँले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न साझेदारहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

मन्त्री पाण्डेले जर्मनी र फ्रान्समा पर्यटन व्यवसायी, लगानीकर्ता तथा नेपाली समुदायसँग भेटघाट गरी नेपालमा पर्यटन पूर्वाधार तथा लगानी सम्भावनाबारे जानकारी गराउनुभएको थियो । यस्तै, थाइल्यान्ड र कम्बोडियामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्दै यी मुलुकहरूसँग आपसी सहकार्य विस्तार गर्न उहाँले पहल गर्नुभएको थियो । पर्यटनमन्त्री पाण्डेले जर्मनी भ्रमणका क्रममा हाइडेलबर्गस्थित सेन्टर फर एसिया एन्ड टान्स कल्चर स्टडिजद्वारा आयोजित कार्यक्रममा नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको जानकारी गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पाण्डेले जर्मनीमा सुरक्षित राखिएका नेपालका प्राचीन ग्रन्थ तथा लिखित सम्पदाको संरक्षणप्रति खुसी व्यक्त गर्दै तिनलाई नेपाल फर्काउने प्रक्रियामा सहकार्यका लागि आह्वान गर्नुभएको छ । नेपालका लिखित तथा विविध सम्पदाको संरक्षणका लागि जर्मनीका विश्वविद्यालयहरूसँग नेपाल सरकारको सहकार्य रहेको र आगामी दिनमा पनि साझेदारी विस्तार गरिने मन्त्री पाण्डेले बताउनुभएको थियो । जर्मनीका लागि नेपाली राजदूत डा शैल रूपाखेतीले जर्मनीमा रहेका महत्वपूर्ण पाण्डुलिपिहरू तथा अन्य सम्पदा नेपाल फर्काउने प्रक्रियामा सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसैगरी फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । उहाँले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग भएको भेटका क्रममा नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गर्नुभएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण  २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ ।

“चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण  २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई रू ६६ अर्ब २९ करोड सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ ।

हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रु १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रु १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव ०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन आउँछ ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल रु पाँच खर्ब ४७ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा रु तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो ।

यस वर्ष रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१ दशमलव ५६ प्रतिशत अर्थात् रु दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३० दशमलव १७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल रु दुई खर्ब १७ अर्ब बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ६५ अर्ब ४७ करोड बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रु चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५० दशमलव ०८ प्रतिशत अर्थात् रु दुई खर्ब एक अर्ब ७२ करोड बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

काठमाडौँ, ७ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ ।

बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १७ पैसा र बिक्रीदर २० रूपैयाँ २६ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १७ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ४ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३६० रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

आजदेखि एसइई सुरु

काठमाडौँ, ७ चैतः माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।

यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्धः नेपाली सेना

काठमाडौँ, ६ चैत : नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो ।

 विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न टीका टिप्पणी र विश्लेषणहरु सम्प्रेषण भएकाले नेपाली सेनासम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको छ । 

नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

श्रीलङ्काको नयाँ परियोजना : पर्यावरणीय सङ्कटको समाधानमा नयाँ कदम

श्रीलङ्काले ‘स्वच्छ श्रीलङ्का’ कार्यक्रमको एक भागको रूपमा ‘मोडेल अर्बन ग्रीन जोन’ परियोजना सुरु गरेको छ । यसको उद्देश्य सांस्कृतिक, नैतिक, सामाजिक र वातावरणीय पुनरुत्थानलाई बढावा दिनु रहेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले बुधबार जनाएको छ ।

पीएमडीले बढ्दो सहरी जनसङ्ख्याका कारण शहरहरूले वायु, माटो र जल प्रदूषण जस्ता गम्भीर वातावरणीय चुनौतीहरूको सामना गरिरहेका एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, विश्वव्यापी फोकस द्रुत रूपमा दिगो हरित शहरहरूमा सरिरहेको पीएमडीले जनाएको छ ।

आयोजना हरित सहर अवधारणा अनुरूप रहेको र सार्वजनिक तथा निजी क्षेत्रको सहभागितामा सहरी योजना पहलका रूपमा कार्यान्वयन गरिने छ ।

पीएमडीले कङ्क्रीट–बहुल क्षेत्रहरूलाई हरियाली वातावरणमा प्रतिस्थापन गरेर परियोजनाले बासिन्दाहरूलाई थप स्वस्थ र प्रकृति–मैत्री शहरी जीवनशैली प्रदान गर्ने लक्ष्य राखेको छ, जसले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई बढावा दिन्छ ।

रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् । सन् २०२२ को सुरुमा युक्रेनमा रूसी आक्रमण सुरु गरेदेखि कैदी र मारिएका सैनिकहरूको अवशेषको आदानप्रदान युद्धरत देशहरू बीचको सहयोगको एक मात्र क्षेत्र भएको क्रेमलिनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको वार्तापछि क्रेमलिनले मङ्गलबार उक्त आदानप्रदानको घोषणा गरेको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो घटनाको रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताउनुभयो । जेलेन्स्कीले बुधवार फर्केका केही युक्रेनीहरूले दक्षिणी सहर मारिउपोलमा लडाइँ गरेको बताउनुभयो, जसलाई रुसी सेनाले आक्रमणको प्रारम्भिक महिनाहरूमा क्रूर घेराबन्दीमा राखेको थियो ।

युद्धविराम वार्ताको एक भागको रूपमा रूससँग सबैका लागि आदानप्रदानको लागि आह्वान गर्ने युक्रेनी नेताले युएईलाई मध्यस्थताको लागि धन्यवाद दिए र सबै कैदीहरूलाई फिर्ता गर्ने वाचा गरे । “सबै रूसी सैनिकहरू बेलारुसमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गरिँदैछ र उनीहरूका आफन्तहरूलाई सम्पर्क गर्ने अवसर दिइँदैछ,” रूसी रक्षा मन्त्रालयले जनाएको छ । फेब्रुअरी सन् २०२२ मा मस्कोले युक्रेन आक्रमण सुरु गरेदेखि दुवै पक्षले सयौं कैदीहरू आदानप्रदान गरिसकेका छन् ।

बेँसीसहरमा अब बाह्रैमहिना शुद्ध खानेपानी

लमजुङ, (बेँसीसहरर), ६ चैतः खानेपानीमन्त्री प्रदीप यादवले बेँसीसहरमा खानेपानी समस्या समाधान भएको बताउनुभएको छ । आज यहाँस्थित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले अब बाह्रैमहिना स्वच्छ खानेपानी उपलब्ध हुने बताउनुभयो ।

नेपाल सरकारको नीति नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्रसहित लमजुङका नागरिकको खानेपानी समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । “देशका हिमाल, पहाड, तराईसहित विभिन्न दुर्गम क्षेत्रका नागरिकको खानेपानीको समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्णरुपमा प्रतिबद्ध छ,” मन्त्री यादवले भन्नुभयो ।

भावी योजना अन्तर्गत बँेसीसहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्न रु १० करोडको नयाँ परियोजना अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको तथा जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि रु १७ करोडको थप योजना स्वीकृत प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आज उद्घाटन गरिएको आयोजनाले बेँसीसहर नगरपालिका–६ देखि १० सम्मका करिब ४५ हजार जनसङ्ख्या तथा तीन हजार ३०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।

सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालित सो आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत योगदान रहेको छ । कूल लागत रु २८ करोड ८३ लाख रहेकोमा सरकारको रु २० करोड २८ लाख र उपभोक्ता समितिको रु आठ करोड ६४ लाख लगानी छ ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

लुम्बिनीमा ९४ हजार नौ सय आठ परीक्षार्थी सहभागी हुँदै

लुम्बिनी, ६ चैतः लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हँुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार नौ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न तीन सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने आठ हजार छ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी पूरा भएको छ । “परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।”

यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार छ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा नौ हजार चार सय ६१, बाँकेमा १० हजार दुई सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा चार हजार नौ सय १०, गुल्मीमा चार हजार आठ सय ५७, अर्घाखाँचीमा तीन हजार चार सय ६५, रोल्पामा चार हजार सात सय ६५, प्यूठानमा चार हजार नौ सय ४०, बर्दियामा सात हजार सात सय ६२, नवलपरासी पश्चिममा छ हजार तीन सय ९७, रुकुमपूर्वमा एक हजार दुई सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार पाँच सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार तीन सय १० परीक्षार्थीले परीक्षा दिनेछन् ।

यसैगरी, प्राविधिक धारतर्फ तीन हजार एक सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् । परीक्षा निष्पक्ष र मर्यादित बनाउन आठ हजार छ सय कर्मचारी परिचालन हुँदैछन् । केन्द्राध्यक्ष ३४८ जना, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक चार हजार ७५८, सहायक ९५८ र कार्यालय सहयोगी एक हजार ९०२ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।

मुख्यमन्त्रीको आग्रह : ढुक्क भएर परीक्षा दिनुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसइई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन आग्रह गर्नुभएको छ ।

उहाँले परीक्षा जीवनको एउटा महत्त्वपूर्ण चरण भए पनि यसको दबाब नलिइ आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गर्नुभएको हो । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह(भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन् ।

‘विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्र्तीण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।’

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गरेका छन् ।

उनले विद्यार्थीले धेरै परीक्षा उत्र्तीण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गरेका छन् ।

‘पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,’ प्रधानमन्त्रीले भने, ‘परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्र्तीण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताए ।

खोटाङमा आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ, ६ चैतः यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट रु ७७ लाख बढीको क्षति भएको छ ।

यही चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति पु-याएको थियो ।

आगलागीबाट अदम राईको दुई वटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीन वटा बाख्रा जलेर नष्ट भएको थियो । राईको रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको रु सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । नगेन्द्र राईको रु १२ लाख, पविन्द्रकुमार राईको रु नौ लाख, हिराधन राईको रु नौ लाख, कृष्णबहादुर राईको रु सात लाख, चयनकुमार राईको रु सात लाख बराबरको क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

डिकुवाको विभिन्न गाउँमा फैलिएको डढेलोले स्थानीय टङ्कबहादुर राईको फुसको छाना भएको घर जल्दा रु पाँच लाख तथा स्थानीय रनबहादुर राईको घरमा आंशिक क्षति हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । स्थानीय छोटा राईको चरनका लागि जङ्गलमा छाडिएको छ वटा बाख्रा र चार वटा खसी जलेर मर्दा रु एक लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीमा स्थानीय नाईखोला मुहान भएको बाल्चुङ–बाघखोर खानेपानी आयोजनाको ३२ मिलिलिटरको एक हजार २०० र २५ मिलिलिटरको ९०० मिटर पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको जनाइएको छ । बाल्चुङ, बाघखोर र च्यानटारका ३२ घरधुरी उपभोक्ताले उपभोग गर्दै आएको खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएपछि खानेपानी अभाव भएको छ ।

सोही ठाउँको मैतञ्जु–थुम्की खानेपानी आयोजनाको ३२ मिलिलिटरको दुई हजार १०० मिटर लामो पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको छ ।

आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र रेडक्रसले राहत सामग्री उपलब्ध गराएका छन् । आगलागीका घटनाबाट बिचल्लीमा परेका डिकुवावासीका लागि तत्काल राहत तथा पुनःस्थापनामा ध्यान दिन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले आज संसद्मा विशेष समय लिएर सरकारको ध्यानाकार्षणसमेत गराउनुभएको छ ।

संविधान र गणतन्त्रमाथी छेडखानी गर्नु गलत छ : प्रचण्ड

निजगढ, ६ चैतः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताउनुभएको छ ।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले भन्नुभयो, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पार्नुभयो । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उहाँको भनाइ थियो ।

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताउनुभयो । चितवन हुँदै सिमरा आइपुग्नु भएका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आउनुभएको हो ।

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ

सिरहा, ६ चैतः सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुवाआमा बनेका थिए ।

नागरिकताका लागि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए । वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले आर्थिक चलखेल गरी नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको थियो ।

यस प्रकरणमा भारतीयलाई मिलेमतोमा नागरिकता दिलाएको भन्दै दोषीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाउनुभएको थियो ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या २५ पुग्यो

इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी स्रोतले जानकारी दिएको छ ।

पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले घरलाई निशाना बनाएको बताएका छन् ।

यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले रातभर उत्तरी गाजामा हमासको सैन्य साइटमा आक्रमण गरेको जनाएको छ ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा परिवारहरू फोहोरले भरिएका सडकहरूमा हिंडिरहेका, केहीले गद्दा र घरायसी सामानहरूले भरिएका गाडाहरू धकेलिरहेका र अरूले आफ्ना डराएका बच्चाहरूको हात समातिरहेका देखिएका छन् ।

विज्ञप्तिमा बासिन्दाहरूलाई सुरक्षाको लागि पश्चिमी गाजा शहर र खान युनिसका ज्ञात आश्रयस्थलहरूमा तुरुन्तै स्थानान्तरण गर्न आह्वान गरिएको छ ।

इजरायली सेनाले मङ्गलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भङ्ग भएको छ ।

एलपिजी ग्यासको जोखिम घटाउन सचेतना कार्यक्रम

काठमाडौँ, ६ चैत : काठमाडौँ महानगरपालिकाले एलपिजी ग्यासको सम्भावित जोखिम घटाउन निरीक्षण र सचेतना कार्यक्रम सुरू गरेको छ । धेरै ग्यास बालिने स्थानमा आठ वटा सूचक र २४ वटा उपसूचकका आधारमा निरीक्षण गरिएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

निरीक्षक जोशीका अनुसार अहिलेसम्म ५६ वटा पसलको निरीक्षण गरिएको छ । यो निरीक्षण सचेतना अभिवृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको हो । घरघरमा खाना पकाउने प्रयोजनका लागि सिलिण्डरमा भरेर ल्याइने ग्यास एलपिजी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास हो ।

यो प्रज्वलनशील पदार्थ भएका कारण उपयोगमा सावधानी अपनाउनु सकिएन भने आगलागी हुने, सिलिण्डर विस्फोट हुने खतरा हुन्छ । यो खतराबाट बच्न ग्यास उत्पादक, सिलिण्डर उत्पादक, सिल उत्पादक, सिलिण्डर भर्ने कम्पनी, ढुवानी गर्ने सवारीसाधन, यसको गुणस्तर जाँच गर्ने अधिकारी, डिष्ट्रिव्यूटर, डिलर, बिक्रेतासँगै उपभोक्ताको आ–आफ्नै भूमिका देखिन्छन् ।

यस्तै ग्यास चुलो, चुलोमा जोडिने पाइप, पाइपमा जोडिने रेगुलेटर उत्पादक र बिक्रेताको महत्वपूर्ण भूमिका हुन्छ । यसमध्येको ढुवानी नियमन र व्यवस्थापन गर्न एलपिजी ग्यास ढुवानी नियमावली २०७३ ले जारी गरिएको छ । घरेलु प्रयोजनमा ल्याइने ग्यासको नियमन र व्यवस्थापनका लागि ‘एलपिजी ग्यास नियमावली २०६५’ जारी गरिएको छ । यसअनुसार घरेलु प्रयोजनका लागि १४ दशमलव २ किलोग्राम तौल भएको रातोबाहेक अन्य सिलिण्डरमा ग्यासको कारोबार गर्न हुँदैन ।

सिलिण्डरमा ग्यास भर्ने उद्योगको नाम र लोगो, सिलिण्डरको सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण गरिएको मिति, वर्किङ् वा टेस्ट प्रेसर, भल्वसहित खाली सिलिण्डरको तौल, सिलिण्डर जाँच गरिएको मिति र अर्कोपल्ट पुनः जाँच गर्नुपर्ने मिति खुलाउनुपर्छ ।

सिलिण्डरको फुट रिङ् (पिँध) र घाँटी (नेक रिङ्) काटेर जोडिएको भए ग्यास भर्न हुँदैन । ग्यास सिलिण्डरमा प्रयोग गरिने भल्व पनि प्रमाणपत्र प्राप्त कम्पनीले मात्र उत्पादन गर्न पाउँछन् । यसमा पनि भल्भ निर्माताको नाम, लोगो वा कोड नम्बर र भल्भ निर्माण मिति उल्लेख गर्नुपर्छ ।

राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणका लागि कानून संशोधन गरिने

काठमाडौँ, ६ चैतः सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलालाई समयानुकूल कानुन संशोधन गरी अगाडि बढ्ने जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवालाको बैठकले वातावरण र विकासलाई सँगसँगै बढाउन बाधक कानुनलाई समयानुकूल संशोधन गर्दै अगाडि बढ्ने निर्णय गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसहितको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले सर्वोच्च अदालतको फैसलाले सरकारले राखेको ऊर्जा विकासको लक्ष्यलाई बाधा पुग्ने बताउनुभयो । उहाँले राष्ट्रिय आवश्यकतालाई हेरेर कानुन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उक्त फैसलाले हाल निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनमासमेत असरपर्ने मन्त्री खड्काले बताउनुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले लगानीकर्ताको लगानी डुब्ने गरी सर्वोच्च अदालतले फैसला गरेकाले मुलुकलाई फाइदा नपुग्ने बताउनुभयो । सर्वोच्च अदालतले गरेको निर्णयप्रति अदालतका न्यायाधीशसँग बसेर छलफल गर्न सकिने उहाँको भनाइ थियो । कानुनमन्त्री चौरसियाले ऊर्जा, पर्यटन र सिँचाइ क्षेत्र मुलुकको आर्थिक विकासका लागि महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई अवरोध गर्ने कानुन भए परिमार्जन गरेर अगाडि बढ्न सकिने उल्लेख गर्नुभयो । राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रको बारेमा थप कानुन बनाउने तथा पुनरावलोकनमा जानेबारे प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय बसेर अगाडि बढ्न सकिने उहाँको भनाइ थियो ।

वन तथा वातावरणमन्त्री शाहीले सर्वोच्च अदालतको कारण वन क्षेत्र अप्ठ्यारोमा परेको बताउनुभयो । वन क्षेत्रको समस्या समाधानका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री शाहीको भनाइ थियो । मुख्यसचिव अर्यालले सरकारले ऊर्जा विकास मार्गचित्रमार्फत १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार मेगावाट छिमेकीमूलुकमा निर्यात गर्ने भनिरहेको अवस्थामा अदालतका यस्ता निर्णयले विकास निर्माणमा ठूलो असर पर्ने बताउनुभयो ।

 अनुमति पाएका आयोजना सर्वोच्चको फैसलाका कारण रोकिँदा हालसम्मको लगानी जोखिममा परेको मुख्यसचिव अर्यालको भनाइ थियो । छलफलमा राष्ट्रिय निकुञ्ज ऐन, वन ऐन, वातावरण संरक्षण ऐनलगायत विकास निर्माणमा असर पर्ने कानुनलाईसमेत चाँडो संशोधन गरेर अगाडि बढ्ने निर्णय भएको छ । बैठकले विकास निर्माणमा बाधक रहेका ऐनलाई १० दिनभित्र टुङग््याएर मन्त्रिपरिषद्मा पेस गर्न वन मन्त्रालयलाई निर्देशन दिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएका कारण काम गर्न असजिलो भएको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले उक्त फैसलाले राष्ट्रिय गौरवका सिँचाइ आयोजनामा ठूलो असर परेको बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, फणिन्द्र गौतम, चुडामणि पौडेल, कानुन मन्त्रालयका निमित्त सचिव कोमलबहादुर खत्रीलगायतको सहभागिता रहेको थियो ।

‘पब्लिक हाईस्कुल अग्रणी स्थानमा छ’ – मुख्यमन्त्री कार्की

धरान सुनसरी, ६ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नमूना माध्यमिक विद्यालयको रूपमा विस्थापित सामुदायिक पब्लिक हाईस्कुल हरेक क्षेत्रहरूमा अग्रणी स्थानमा रहेको बताउनुभएको छ ।

धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक हाईस्कुलको ७८औँ वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रममा उहाँले पब्लिक हाईस्कुलले गरेको भौतिक सुधार र विविध क्षेत्रमा गरेका काम प्रसंशनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, विजय राई, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, पूर्व उपप्रमुखर मन्जु भण्डारी पब्लिक स्कुलका शिक्षक शिक्षिकालगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

छैठौँ खेलमा आर्मी मधेश प्रदेशसँग ३ विकेटले पराजित

घोराही, (दाङ), ६ चैत : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो ।

दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो ।

मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशङ्कर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे । रूपेश सिंह ३८ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियोे थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।

दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान

काठमाडौँ, ६ चैत : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गर्नुभएको छ । म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

करिब एक साताको भ्रमण अवधिमा उहाँले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुने कार्यक्रम छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेसँगै पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेजारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ । पार्टी उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष पाण्डेले दैनिककार्य सञ्चालन गर्नुहुनेछ ।

समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्छ : सभापति देउवा

पाटन (ललितपुर), ६ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयमा देशका सातै प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो भए पनि महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताउनुभयो ।

“अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ, समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ । यस संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै पनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोषभन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताउँदै महिलामा कामको बोझ धेरै छ, त्यसकारण पनि महिलालाई आरक्षण पनि दिनुपरेको हो भन्नुभयो ।

सभापति देउवाले प्राप्त सुझाव पार्टीलाई महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले पार्टीको विभागकोसमेत सक्रियतामा डेमोक्रेटिक लयर्स एसोसियसन लगायतले जनतामा गएर ल्याएको सुझाव महत्त्वपूर्ण भएको भन्दै प्राप्त सुझावमा जनताको सहभागिता भएको छ भन्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनताको भरोसा जगाउने गरी संविधानमा भएको कमजोरी र समस्यालाई संशोधन गरी स्थिरतातर्फ लैजानुपर्छ भन्नुभयो ।

“देशको व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तनका लागि लाग्नुपर्छ, संविधानमा व्यवस्था गरेर निमुखा र पिछडिएका वर्गहरूको उपस्थिति राज्यको हरेक निकायमा हुने व्यवस्था गरिएको छ, अब संविधान संशोधन गर्दै गर्दा शासकीयस्वरूप कस्तो हुने, सङ्घको संरचना कस्तो बनाउने भन्ने बहस आवश्यक छ”, उहाँले भन्नुभयो ।

सभापति बानियाँले संविधान संशोधन गर्दा जनप्रतिनिधिले सेवासुविधा नलिने भनेर राखौँ भन्दै राजनीति पेसा नभई समाजसेवा भएकाले जनताको हितलाई ध्यानमा राखेर जनप्रतिनिधिले द्रुतगतिमा काम गर्नु आवश्यक छ भन्नुभयो । उहाँले संविधान संशोधन गरी सोहीअनुसार कानुनी व्यवस्थापन गरेर प्रशासनिक संरचनालाई चुस्तदुरूस्त बनाउनेतीर ध्यान दिनुपर्नेछ र विकास र समृद्धिको यात्रालाई सही ढङ्गले लैजानुपर्नेछ भन्नुभयो ।

प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालले संविधानका अनुसूचीमा उल्लेख गरिएका विषयमा द्विविधा देखिएकाले पुनर्विचार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “राष्ट्रियसभालाई प्रभावकारी बनाउन पूर्णसमानुपातिक बनाइनुपर्छ, संवैधानिक अङ्गमा हुने नियुक्तिमा समावेशी हुनुपर्ने कुरा उठेको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभागका प्रमुख डा डिला सङ्ग्रौलाले संविधान कार्यान्वयनका क्रममा देखापरेका चुनौतीलाई सम्बोधन गर्नुपर्छ भनेपछि सातै प्रदेशमा पुगेर सङ्कलन भएका सुझावहरूलाई दस्तावेज बनाएर पार्टीलाई हस्तान्तरण गर्नुका साथै सार्वजनिक गरिएको बताउनुभयो ।

“सुझाव सङ्कलनका क्रममा प्रस्तावनामा भएका विभेदकारी कुराहरूलाई हटाइनुपर्ने, धार्मिक स्वतन्त्रतालाई कायम राख्दै हिन्दू धर्म सापेक्ष राज्य हुनुपर्ने, सङ्घीयताको खर्च अधिक भएको भन्दै सङ्घीयताको संरचनालाई पुनर्विचार गर्नुपर्ने आवाज उठेको छ, महिला सहभागितालाई वृद्धि गरिनुपर्ने, प्रत्यक्ष निर्वाचनमा महिलामहिलाबीच नै प्रतिस्पर्धा हुनुपर्ने व्यवस्था गरिनुपर्ने, निर्वाचन क्षेत्र र स्थानीय तहको सङ्ख्या घटाइनु पर्ने आवाज जोडदार रूपमा उठेको छ, स्थानीय तहमा दलविहीन निर्वाचन गरिनुपर्ने, सबै नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गरिनुपर्ने, शिक्षा र स्वास्थ्यको विषय सङ्घले हेर्नुपर्ने सुझाव आएको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले सबै महिलाले आरक्षणको मात्रै कुरा र अपेक्षा गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर प्रत्यक्षमा चुनाव जितेर नेतृत्वमा स्थापित हुन सक्नुपर्नेमा जोड दिनुभयो । नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनका उपाध्यक्ष अधिवक्ता कविता थापाले आएका सुझावलाई पार्टीले अपनत्व बोध गरी आफ्नो एजेन्डा बनाउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : महामन्त्री थापा

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताए।

उनले भने, “आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ। जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ।”

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उनको भनाइ छ। “सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,” महामन्त्री थापाले भने।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको असन्तुष्टि मेटाउने काम गर्न केन्द्रबाटै लाग्न आवश्यक रहेको बताए। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा गुटबन्दीको विषय मुख्य बनेकाले सबै जिम्मेवार हुनुपर्ने बताए।

बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

काठमाडौँ, ६ चैतः राष्ट्रियसभाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सभामा सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गर्नुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभासमक्ष जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक चैत ८ गते ११ बजे बस्ने भएको छ ।

स्रोतको पूर्ण उपयोग नहुँदा कृषि उत्पादनमा प्रभाव परिरहेको छ : मन्त्री खड्का

काठमाडौँ, ६ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विशाल जलस्रोत क्षमता हुँदाहुँदै पनि उपलब्ध स्रोतको पूर्ण उपयोग नहुँदा कृषि उत्पादनमा प्रतिकूल प्रभाव परिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राख्नुभएको मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिँदै नेपालको कृषि प्रणाली लामो समयदेखि मनसुनमा आधारित रहँदै आएको जसले कृषिजन्य उत्पादनलाई मौसमी अनियमितता र जलवायु परिवर्तनको असरमा पर्ने गरेको यथार्थलाई नकार्न नसकिने प्रष्ट पार्नुभयो ।

सांसद भुवनबहादुर सुनारले हाम्रो सिँचाइयोग्य जमिन कति हेक्टर छ ? हालसम्म कति हेक्टरमा सिँचाइ भएको छ ? स्पष्ट पारिदिनुप¥र्यो ? भनी राख्नुभएको प्रश्नको जवाफमा मन्त्री खड्काले कृषि क्षेत्रको रूपान्तरण तथा दिगो विकासका लागि ठोस योजनाहरू अघि बढाइरहेको बताउनुभयो । तथापि सरकारले सिँचाइ पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ ।

मन्त्री खड्काले नेपालको सिँचाइ योग्य भूमि र हालसम्मको प्रगति उल्लेख गर्दै सिँचाइ गुरूयोजना, सन् २०१९ (संशोधित सन् २०२४) अनुसार नेपालमा २५ लाख ३६ हजार तीन सय १९ हेक्टर क्षेत्रफल सिँचाइयोग्य रहेको बताउनुभयो । जसमा तराई क्षेत्रमा १४ लाख ९९ हजार एक सय ७६ हेक्टर, पहाडी क्षेत्र आठ लाख, ३६ हजार, एक सय १७ हेक्टर र हिमाली क्षेत्रमा दुई लाख, पाँच सय २६ हेक्टर रहेको मन्त्री खड्काको भनाइ छ ।

“चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कूल सिँचाइ योग्य जमिनमध्ये १५ लाख ७३ हजार ५६९ हेक्टर क्षेत्रमा विभिन्न माध्यमबाट सिँचाइ पूर्वाधारको विकास भइसकेको छ, जसमा सतह सिँचाइः १० लाख २९ हजार २१५ हेक्टर, भूमिगत सिँचाइः पाँच लाख ४० हजार ४८० हेक्टर र लिफ्ट तथा जलाशय सिँचाइ तीन हजार ८६४ हेक्टर छ”, उहाँले भन्नुभयो ।

अझै करिब नौ लाख ६२ हजार ७५० हेक्टर सिँचाइ योग्य जमिनमा प्रभावकारी सिँचाइ पूर्वाधार पुर्‍याउनु पर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । त्यसअघि संसद्को विशेष समयमा सांसदहरू रेणु चन्द र भगवती न्यौपानेले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’ – वनमन्त्री ठकुरी

‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’ – वनमन्त्री ठकुरी

काठमाडौँ, ६ चैतः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले वन डढेलो व्यवस्थापनका लागि नेपाली सेनाको सहयोग र समन्वयमा सशस्त्र वन रक्षक एवं स्थानीय समुदायसमेत परिचालन गरी वन डढेलो नियन्त्रण भइरहेको जानकारी दिनुभयो ।

मन्त्री ठकुरीले वन तथा वातावरणक्षेत्रसँग सम्बन्धित क्रियाकलापमार्फत चालु आर्थिक वर्षमा ४० हजार जनालाई रोजगारी सिर्जना हुने र त्यसबाट युवाशक्ति विदेश पलायन कम गर्न सहयोग मिल्ने अनुमान गरिएको पनि बताउनुभयो ।

“राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम, जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनालमार्फत भिरालो जग्गामा बहुवर्षीय (फलफूल) खेती, निजी जग्गामा कृषि वन प्रवर्द्धन, फलफूलका बिरुवा रोपण गरी फलफूलखेती विस्तार गरी कृषि उत्पादन तथा फलफूल खेती प्रवर्द्धन गर्ने तथा खाली जग्गामा बाँस,अम्रिसो,अन्य बिरुवा रोपण तथा व्यवस्थापन गरी मौजुदा बाँझो जग्गालाई उत्पादनसँग जोड्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो ।

मन्त्री ठकुरीले जलवायु परिवर्तन समेतका कारणले निम्त्याउने प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि नदी तथा खोला किनारा स्थिरीकरण, व्यस्थापन, गल्छी÷पहिरो÷खहरे रोकथाम, क्षतिग्रस्त भूमिमा तारबारसहित वृक्षरोपण गरी जग्गा पुनःस्थापन, तटबन्ध निर्माणलगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको पनि बताउनुभयो ।

अमेरिकी प्रधानन्यायाधीश महाभियोगको मागबारे ट्रम्पको कडा आलोचना

अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गर्नुभएको छ ।

रोबर्टसद्वारा जारी गरिएको एक संक्षिप्त वक्तव्य उहाँले भन्नुभएको छ, “दुई शताब्दीभन्दा बढी समयदेखि यो मान्यता स्थापित भएको छ कि महाभियोग न्यायिक निर्णयसँग सम्बन्धित असहमतिको लागि उपयुक्त प्रतिक्रिया होइन।”

“यसका लागि सामान्य पुनरावलोकन प्रक्रियाको व्यवस्था गरिएको छ ।”

ट्रम्पले जिल्ला न्यायाधीश जेम्स बोसबर्गमाथि महाभियोग लगाउन माग गरेपछि रोबर्टसले राष्ट्रपति ट्रम्पलाई ‘असाधारण’ रूपमा आलोचना गर्नुभएको हो ।

ह्वाइट हाउसले राष्ट्रपतिका केही कार्यकारी कार्यहरूलाई अवरोध गर्ने जिल्ला अदालतहरूको कडा आलोचना गर्दै आएको छ।

यद्यपि, ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा न्यायाधीशको महाभियोगको आह्वान गरेको यो पहिलो घटना हो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मेडियामा भन्नुभएको छ, “दुःखको कुरा बाराक हुसेन ओबामाले, कट्टरन्थी समाजवादी कार्यकर्ता बोसबर्गलाई ‘एक न्यायाधीश’को रूपमा नियुक्त गर्नुभयो ।”

पोस्टमा उहाँले भन्नुभएको छ, “धेरै कुटिल न्यायाधीशहरू जस्तै यी न्यायाधीश अगाडि उपस्थित हुन म बाध्य छु। महाभियोग !! हुनुपर्छ।”

त्यसको केही घण्टापछि टेक्सासका रिपब्लिकन सांसद ब्रान्डन गिलले सामाजिक सञ्जाल एक्समा बोसबर्गविरुद्ध सदनमा महाभियोगका लेखहरू प्रस्तुत गरेको घोषणा गर्नुभएको छ ।

रोबर्टसको दुर्लभ भनाइपछि राष्ट्रपति ट्रम्पले अर्को पोस्टमा भन्नुभएको छ, “यदि कुनै राष्ट्रपतिलाई हत्यारा र अन्य अपराधीहरूलाई देशबाट बाहिर फ्याँक्ने अधिकार हुँदैन भने हाम्रो देश धेरै ठूलो सङ्कटमा पुग्नेछ र असफल हुनेछ।”

“‘कट्टरपन्थी वामपन्थी’ न्यायाधीश राष्ट्रपतिको भूमिका सम्हाल्न चाहन्छन्,” उहाँले थप्नुभयो ।

अमेरिकी सङ्घीय न्यायाधीशहरू सधैँ राष्ट्रपतिद्वारा मनोनीत हुन्छन् र ‘उच्च अपराध वा दुराचार’ को लागि प्रतिनिधि सभाद्वारा महाभियोग लगाई र सिनेटद्वारा दोषी ठहर गरेर मात्र हटाउन सकिन्छ।

सङ्घीय न्यायाधीशहरूको महाभियोग अत्यन्त दुर्लभ छ र पछिल्लो पटक सन् २०१० मा अमेरिकी कङ्ग्रेसले एक न्यायाधीशलाई हटाएको थियो।

युनिभर्सिटी अफ रिचमन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले रोबर्टसविरूद्धको हस्तक्षेपलाई ‘अत्यन्त दुर्लभ’ भन्नुभएको छ । उहाँले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सङ्घीय न्यायाधीशको निर्णयको आलोचना गरेपछि प्रधान न्यायाधीशले यस्तै टिप्पणी गरेको स्मरण गर्नुभयो ।

टोबियासले भन्नुभयो, “रोबर्टसले सङ्घीय बेन्चमा ओबामा न्यायाधीश, ट्रम्प न्यायाधीश, बुश न्यायाधीश वा क्लिन्टन न्यायाधीशहरू छैनन् भनेर जवाफ दिन बाध्य हुनुभएको छ ।”

भारतको सन् २०४० सम्ममा चन्द्रमामा मानव मिशनको लक्ष्य

भारतका सङ्घीय कनिष्ठ मन्त्री तथा अन्तरिक्ष विभागका प्रभारी जितेन्द्र सिंहले बुधबार भारतले सन् २०४० सम्ममा चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने योजना बनाएको बताउनुभएको छ ।

भारतीय संसदको तल्लो सदनमा एक प्रश्नको जवाफ दिँदै मन्त्रीले उक्त बयान दिनुभयो ।

“भारतले आफ्नो अन्तरिक्ष स्टेशन स्थापना गर्ने योजना बनाएको थियो, जसलाई भारतीय अन्तरिक्ष स्टेशन भनेर चिनिनेछ । यदि सबै कुरा योजना अनुसार भयो भने, सन् २०४० सम्ममा एक भारतीय अन्तरिक्ष यात्री चन्द्रमामा पुग्नेछन्,” सिंहले बताउनुभयो ।

भारतले पहिले सन् २०३५ सम्ममा आफ्नो अन्तरिक्ष स्टेशन हुने घोषणा गरिसकेको छ ।

मन्त्रीले चन्द्रयान–४ (चन्द्रमा मिसन) दुई लन्च भेइकलहरू मार्फत प्रक्षेपण गरिने र यसमा पाँचवटा कम्पोनेन्टहरू हुने बताउनुभयो ।

‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षाको निम्ति सरकारसँग माग

काठमाडौँ, ६ चैतः राष्ट्रियसभाका सांसद वामदेव गौतमले यही चैत ३ गते ‘ग्रेट हिमालयन ट्रेल’ को सयदिने पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षामा कुनै अभाव हुन नदिन सरकारसँग माग गर्नुभएको छ । १२ महिला र एक पुरूष सम्मिलित टोलीले विश्वकै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ग्रेट हिमालयन ट्रेल (जिएचटी) को सयदिने पदयात्रा सोमबारदेखि सुरू गरेको छन् ।

विश्वभरका पर्यटक तथा व्यवसायीमाझ ग्रेट हिमालयन ट्रेल (जिएचटी) लाई चिनाउन १२ नेपाली महिला र एक पुरूष सम्मिलित टोलीले पदयात्राको अभियान सुरू गरेका हुन् । कोशी प्रदेशको ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि कञ्चनजङ्घा हिमालको आधार शिविर घुन्सा हुँदै सुदूरपश्चिम प्रदेशको दार्चुलामा पुगेर एक सय दिनमा यो अभियान टुङ्गिने गरी सुरूआत गरिएको हो । सत्र वटा हिमाली जिल्लाको फेदैफेद करिब एक हजार सात सय किलोमिटर लामो पैदलयात्राको नेतृत्व सिन्धुपाल्चोककी आरोही माया गुरूङले गर्नुभयो । उहाँको नेतृत्वमा सिन्धुपाल्चोककै ११ महिला र दाङका एक पुरूष रहेका छन् ।

“नेपाल प्राकृतिक रूपमा नै सुन्दरताले भरिपूर्ण देश हो, यस्तो प्राकृतिक विविधता विश्वका विरलै देशमा पाउँछ, नेपालको प्राकृतिक विविधतालाई विश्वसामु चिनाउने एक सशक्त माध्यम पर्यटन क्षेत्र हो, नागरिकस्तरबाट नेपाली महिलाले नेपालका १७ हिमाली जिल्लामा फैलिएको ग्रेड हिमालयन ट्रेलको पदयात्रा अत्यन्त सराहनीय काम हो”, सांसद गौतमले भन्नुभयो । साहसिक पदयात्रामा सिन्धुपाल्चोकका सरस्वती तामाङ, सङ्गीता तामाङ, वर्षा विक, सङ्गीता विश्वकर्मा, अनिशा श्रेष्ठ, रञ्जिता लामा, शान्ति थिङ तामाङ, सृष्टी तामाङ, मनमाया तामाङ, दिपा लामिछाने र प्रमिता सापकोटा रहनुभएको छ । यस्तै, यही टोलीमा दाङका ६५ वर्षीय पुरूष सुन्दरकुमार चौधरीसमेत रहनुभएको छ । टोलीमा सहयोगीका रूपमा अन्य ११ जना पुरूषसमेत गरी २४ जनाको समूह रहेको छ ।

उहाँले भन्नुभयो, “पदयात्रामा रहेका महिलाले नागरिकस्तरबाटै आफ्नो खर्च व्यवस्थापन गर्नुपरेको सुनाउँदा सरकार उदासिन देखिएको हो कि भन्ने लागेको छ, पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्यले आफ्नै खर्च र व्यवस्थापनको जिम्मा सरकारले दिनुपर्ने थियो, यो यात्रामा निस्केका महिलाको सुरक्षामा कुनै अभाव हुन नदिन सरकारले व्यवस्था गर्नुपर्छ ।” सांसद पूजा चौधरीले नीतिनिर्माण तहमा महिलाको समान सहभागिताका लागि संवैधानिक व्यवस्था गनुपर्ने माग गर्नुभयो । खर्चिलो निर्वाचन प्रणाली भएका कारण महिलाले प्रत्यक्ष निर्वाचनमा भाग लिन नसकेको उहाँको भनाइ छ ।

नीलमको प्रेरणादायी यात्रा : शिक्षिकादेखि डेपुटी गभर्नरसम्म

काठमाडौँ, ६ चैत : विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन ।

तर नीलमको लेखोट भने अर्कै थियो । उहाँलाई त्यतिमै सीमित हुन छुट थिएन । एउटा यस्तो अवसर आयो, जसलाई पछ्याउँदै उहाँ आज नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरसम्म पुग्नुभएको छ । उहाँ अहिले मुलुकको अर्थतन्त्रको ढुकुटी सम्हालिरहनुभएको छ । अर्थतन्त्रका सूचकाङ्क केलाउँदै नीति नियम बनाउने र प्रभावकारी कार्यान्वयन गराउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जिम्मेवारी बोक्नुभएको छ । 

विद्यालयदेखि नै मेधावी छात्रा ढुङ्गानालाई कक्षामा कहिल्यै पछाडि पर्नुपरेन । पढाइमा सधैँभरि अब्बल भइराख्न पारिवारिक वातावरण अनुकूल थियो । बुबा माध्यमिक विद्यालयको निरीक्षक र आमा शिक्षिका हुनुहुन्थ्यो । “घरायसी काम सघाउनेदेखि पढाइमा अब्बल भइराख्न परिवारबाट मिलेको साथ, सहयोग र प्रेरणा हो भन्ने लाग्छ”, केही दिनअघि बाँसबारी, हेपाली हाइटस्थित निवासमा कुराकानीका क्रममा डा ढुङ्गानाले सुनाउनुभयो ।

झापामा जन्मिएकी नीलमको बुबा सरकारी जागिरे भएकाले उहाँको जता सरूवा हुन्छ, त्यतै जाँदा विद्यालयको पढाइ पनि त्यतै सर्दै गयो । उहाँले एसएलसी भने २०४१ सालमा दमकस्थित हिमालयन माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो । त्यसपछिको शिक्षामा ढुङ्गानाको रोजाइमा विज्ञान सङ्काय थियो । तर दमकमा विज्ञान पढाउने क्याम्पस आइसकेका थिएनन् । उहाँको रहर त्यहीँ छुट्यो । विकल्पमा कमर्श पढ्नुपर्ने भयो । आइकममा उहाँले जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याउनुभयो ।

दमकमा आइकम सकाएपछि ‘बिकम’ पढ्न विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना हुनुभयो । स्नातक तहको पहिलो वर्ष पूरा भइसक्दा १९ वर्षको कलिलै उमेरमा विवाह भयो । विवाहपछि पनि पढाइ जारी नै रह्यो । केही समयपछि छोरी जन्मिइन् । त्यसपछि भने पढाइको गतिमा एक वर्ष बिराम लाग्यो । लगत्तै विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा एमबिए पढ्नुभयो । पढाइसँगै देवकोटा बोर्डिङ स्कुलमा अध्यापन सुरू भयो ।

स्नातकोत्तर तहमा उहाँ त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो हुनुभयो । कीर्तिपुरस्थित विश्वविद्यालय आएर तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट ‘गोल्ड मेडल’सँगै सम्मान ग्रहण गर्नुभयो । फर्किएपछि स्नातकोत्तर क्याम्पसमै सहाप्रध्यापकको जागिर मिल्यो । पढाइ जस्तै जागिर मिलेपछि उहाँलाई अर्को ठाउँ जाउँ भन्ने सोच नै पलाएन । “परिवार, पढाइ र जागिर सबै भने जस्तै भएपछि अर्को ठाउँ जाने रहर कत्ति पनि थिएन, मैले जे उपलब्धि प्राप्त गरेकी थिए, त्यसैमा सन्तुष्ट थिएँ”, डा ढुङ्गानाले सुनाउनुभयो ।

सोही क्रममा नेपाल राष्ट्र बैंकले सहायक अधिकृत तहमा जागिर खुलायो । तर ढुङ्गानालाई भने यसबारे न चासो र जानकारी । “श्रीमान्का विद्यार्थी सुनील खनालले विज्ञापनको चिर्कटो लिएर आउनुभयो, हेर्नुहोस् यो विज्ञापन म्याडम, अब अध्यापनमा मात्रै सीमित भएर हुन्न भन्नुभयो”, डा नीलमले विगत सम्झनुभयो, “त्यो बेलामा उहाँले सके राष्ट्र बैंकमा नभए निजामती जागिर भए पनि खानुपर्छ भन्दै हौसाउनुभएको थियो, आवेदनको फाराम पनि उहाँकै कारणले भरेकी थिएँ ।”

फाराम भरेपछि त तयारी पनि गर्नुपर्‍यो । केन्द्रीय बैंकको विराटनगरको कार्यालयबाट केही प्रकाशनहरू ल्याउनुभयो । केही पत्रपत्रिका र केही पुस्तकको सहयोगमा तयारी पनि भयो । परीक्षा दिन रात्रिकालीन बस बढेर काठमाडौँ हानिनुभयो । एकान्तकुनामा आफन्तकहाँ विश्राम लिएपछि बालुवाटारस्थित केन्द्रीय बैंक आउँदा बाहिरपट्टिको रूखमा टाँसिएको सूचनामा भनिएको थियो, “राजनीतिक परिवर्तनका कारण अहिलेका लागि सहायक अधिकृतको परीक्षा स्थगित भएको छ ।”

लामो समयदेखिको तयारी, विराटनगर–काठमाडौँको कष्टपूर्ण यात्रापछि जाँच स्थगितको सूचना ढुङ्गानाका लागि अपेक्षाभन्दा पर थियो । एकप्रकारले मनमा निराशा छायो । यति ठूलो मेहनत खेर गयो भन्ने भयो । मन बुझाउनै गाह्रो भयो । तर स्वीकार गर्नुबाहेक के नै गर्न सकिन्थ्यो र ? 

निराश मन लिएर बालुवाटारबाट गाडी चढेर रत्नपार्क पुग्दा सडक पेटीमा किताब बिक्रीका लागि राखिएको रहेछ । “बाटोमा किताब फिँजाएर बिक्री गरेको मलाई नौलो लाग्यो, विराटनगरमा त्यस्तो कहिल्यै देखिएन, एकान्तकुनाको गाडी चढ्नुअघि किताब नियाल्दै थिए, यत्तिकैमा ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड’ देखेपछि नकिनी मनले मानेन् ।”

विराटनगर पुगेपछि किताब पढ्दा उहाँलाई लाग्यो, सायद तयारी अझै पुगेको रहेनछ । उहाँले पढ्न छुटाएका कैयौँ कुराहरू पुस्तकमा थिए । त्यही पुस्तक उहाँका लागि राष्ट्र बैंक प्रवेश गर्ने माध्यम बन्यो लाग्छ उहाँलाई । विसं २०५४ असारमा जाँच भयो । दसैँ सुरू हुनुभन्दा अगाडि प्रकाशित नतिजामा उत्तीर्ण हुनेमा नीलम ढुंगानाको नाम पनि थियो । “अहिले लाग्छ, सुरूमा परीक्षा स्थगित हुनु र त्यो पुस्तक संयोगले भेटिनु सायद मेरै लागि अवसर थियो, सायद पहिले तयारी पुगेको थिएन”, उहाँले भन्नुभयो ।

नतिजा प्रकाशित भयो, तर थाहै छैन । दसैँमा विराटनगरबाट झापा जाँदै गर्दा बस स्ट्यान्डमा भेटिनुभएका एक आफन्तका मुखबाट नतिजा आएको पाँच दिनपछि खबर सुन्नुभएको रहेछ । “उहाँले तपाईंको नाम गोरखापत्रमा निस्केको छ, बधाई छ, लड्डु कहिले खुवाउने भनेपछि पो थाहा भयो, दसैँमा घर हिँडेको मान्छे नतिजा हेर्न जाऔँ कि कता जाऔँ भन्ने द्विविधा भयो”, उहाँले भन्नुभयो, “अन्तर्वार्ता कहिले हुने हो, छुट्ने पो हो कि भन्ने चिन्ता भयो । तापनि दसैँ जस्तो महान् चाडका बेलामा त पक्कै हुँदैन होला, भनी झापा नै लागियो ।”

उहाँको मनमा दसैँभरि त्यही नतिजा घुमिरह्यो । दसैँलगत्तै विराटनगर फर्किएर क्याम्पसको पुस्तकालय खोल्न अनुरोध गरेर पुरानो गोरखापत्रमा हेर्दा नाम भेट्टिँदा निकै खुसी लाग्यो उहाँलाई । नाम निस्केको सो गोरखापत्रकोे कटिङ अझै सुरक्षित छ, भन्नुहुन्छ उहाँ । २०५४ सालको भाइटीकाको पर्सीपल्ट अन्तर्वार्ताको मिति तोकियो, त्यसमा पनि पास हुनुभयो । नियुक्तिपत्र लिन काठमाडौँ आउनुभएकी उहाँलाई यतै बस्नुपर्ने भयो । उहाँलाई केन्द्रीय कार्यालयमै विदेशी विनिमय व्यवस्थापन विभागमा खटाइएको रहेछ ।

त्यसपछिको एक वर्ष काठमाडौँमा बिताएपछि नीलमको विराटनगर नै सरूवा भयो । त्यहाँ तीन वर्ष बिताएपछि पुनःकाठमाडौँ फर्कनुभयो । त्यसयता उहाँ राष्ट्र बैंकमा विभिन्न विभागमा रहेर काम गर्दै आफूलाई अब्बल सावित गर्दै आउनुभएको छ । बैंकबाटै अष्ट्रेलिया पुगेर वलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गर्नुभयो । केही वर्षपछि उहाँले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि पनि पूरा गर्नुभयो ।

“केन्द्रीय बैंकमा रहँदा मैले धेरै अवसरहरू प्राप्त गरेँ । प्रत्येक आन्तरिक प्रतियोगितात्मक परीक्षा पहिलो प्रयासमै उत्तीर्ण हुँदै निर्देशक तहसम्म बढुवा भएँ । काम गर्दाका अवस्थामा विभिन्न प्रकारका चुनौती र असफलताहरू आउनु स्वाभाविक जस्तो लाग्छ । चुनौती र असफलताले धैर्यता र पाठ सिकाउँछ । कार्यकारी निर्देशकमा भने कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदोन्नति भयो, नियम नै यही हो”, उहाँले भन्नुभयो । 

ढङ्गानाले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गर्नुभएको छ । आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताउनुभयो । उहाँले पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गर्नुभयो । मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उहाँलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्ति प्राप्त भयो ।

अर्थतन्त्रको अवस्था

अर्थतन्त्रलाई नजिकैबाट नियालिरहेकी डा ढुङ्गानाका शब्दमा अहिले अर्थतन्त्रका अधिकांश सूचकाङ्क सकारात्मक छन् । यद्यपि सुधार गर्नुपर्ने कैयौँ पक्ष पनि नभएका होइनन् । “चालू आर्थिक वर्षको सात महिनामा मुद्रास्फीति ४ दशमलव १६ प्रतिशत (वाञ्छित सीमाभित्रै) छ, बाह्य क्षेत्र सहज अवस्थामा छ । रू २३६९ अर्ब विदेशी मुद्रा सञ्चिति छ, चालु खाता बचतमा छ, गत वर्षको तुलनामा वैदेशिक लगानी, ऋण र अनुदान पनि बढेको छ । विप्रेषणमा ७ दशमलव ३ प्रतिशतले वृद्धि भई रू ९०० अर्ब पुगेको छ”, उहाँले भन्नुभयो । 

सरकारी वित्तका क्षेत्रमा अपेक्षित रूपमा पुँजीगत खर्च र राजस्व परिचालन हुन नसके पनि गत वर्षको तुलनामा वृद्धिदर उल्लेख्य छ । गत वर्ष सरकारी खर्च २ दशमलव ९ प्रतिशतले बढेकामा यस वर्ष ९ दशमलव ९ प्रतिशतले बढेको छ । त्यस्तै राजस्व परिचालन गत वर्ष यो अवधिमा १० दशमलव २ प्रतिशतले बढेकामा यो वर्ष १३ दशमलव ३ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा आशा गर्ने धेरै क्षेत्रहरू छन् । लगानीको प्रशस्त अवसर छन् । बैंकिङ क्षेत्रको ब्याजदर न्यून विन्दुमा झरेको र तरलता प्रशस्त रहेको अहिलेको अवस्थालाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा लिन सकिने उहाँको बुझाइ छ ।

“अधिकांश सूचकाङ्कहरू राम्रा हुँदाहुँदै पनि बैंकमा अधिक तरलता छ, अपेक्षाकृत रूपमा कर्जा प्रवाह हुन सकेको छैन, वााणिज्य बैंकले दिने कर्जाको ब्याजदर गत वर्ष औसत ११ दशमलव ०८ बाट अहिले ८ दशमलव ५५ प्रतिशतमा झरेको छ, आधारदर पनि औसत ९ दशमलव ०६ प्रतिशतबाट ६ दशमलव ४६ प्रतिशतमा आइसकेको छ, तर कर्जा प्रवाह अपेक्षाकृत रूपमा बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “यसमा कहीँ न कहीँ, केही कमी कमजोरीहरू त पक्कै हुन सक्छन्, मूलतः कूल मागमा नै समस्या देखिएको छ ।”

डेपुटी गभर्नर डा ढुङ्गाना अहिले अर्थतन्त्रमा देखिएको समस्या कोरोना महामारीदेखि नै सुरू भएको हो भन्नुहुन्छ । तत्कालीन समयमा अर्थतन्त्र पुनरूत्थानका लागि चालिएका केही लचकपूर्ण कदमका धेरै सकारात्मक प्रभावका साथै केही नकारात्मक प्रभाव पनि परेका छन् । केन्द्रीय बैंकले दिएको स्टिमुलस प्याकेज, ऋणको पुनःसंरचना, पुनःकर्जालगायतका नीतिले ८५ प्रतिशत उद्योग व्यवसाय पुनःसञ्चालनमा आए पनि कतिपय कर्जाको उत्पादनशील क्षेत्रमा सदुपयोग हुननसक्दा केही समस्या भएको उहाँको बुझाइ छ । त्यसैको असर अहिले बैंकको रिकभरिमा देखिएको छ, यसले खराब ऋण बढाएको छ । त्यसबाहेक यसबीचमा भएका ऋण तिर्नुनपर्ने भन्दै अभियानकै रूपमा सृजित गरिएका गैरआर्थिक गतिविधि पनि कारक हुन् भन्ने उहाँको बुझाइ छ ।

ठूलो सङ्ख्यामा युवाहरू विदेश जाँदा आन्तरिक माग घटेको हो भन्नुहुन्छ उहाँ । उपभोग गर्नेहरू नै विदेश गएपछि माग स्वतः कमजोर हुन्छ । यसको असर निजी क्षेत्रको उत्पादन र अन्ततोगत्वा बैंकको कर्जा प्रवाहमा देखिन्छ । माग नै छैन भने उत्पादनका लागि कर्जा प्रवाह कमजोर हुनु स्वाभाविक हो । तर अहिले व्याजदरहरू माथि भनिए झैँ न्यून विन्दुमा झर्नु र बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहनुलाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा सदुपयोग गर्ने बेला हो । गत वर्षभन्दा कर्जाको वृद्धिदर बढीरहेको अवस्थालाई पनि यस अर्थमा हेर्न सकिन्छ ।

केन्द्रीय बैंकको भूमिका

केन्द्रीय बैंकको मुख्य भूमिका समष्टिगत आर्थिक स्थायित्वलाई ध्यानमा राख्दै आर्थिक विकासका लागि सहजीकरण गर्ने हो । कर्जा र ब्याजदरका माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो । त्यसबाहेक नीतिगत तवरबाट पनि काम गर्न सकिन्छ । अहिले पनि साना तथा मझौला क्षेत्र, कृषि र ऊर्जा क्षेत्रमा ४० प्रतिशत कर्जा हुनु केन्द्रीय बैंककै कारण सम्भव भएको हो । 

पछिल्लो समय नेपाल ग्रे लिस्टमा परेको र यसबाट निकाल्नका लागि पनि केन्द्रीय बैंकले सक्दो भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ । डा ढुङ्गाना भन्नुहुन्छ, “फाइनान्सिल इन्टेलिजेन्स युनिट केन्द्रीय बैंकअन्तर्गत नै छ, वित्तीय क्षेत्रमा हुनसक्ने शङ्कास्पद कारोबार, सम्पत्ति शुद्धीकरणका क्षेत्रमा सूक्ष्म निगरानी भइरहेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय त बैंकवित्तीय संस्थाहरूको एएमएल सिएफटीसम्बन्धी गहन रूपमा सुपरिवेक्षण गर्न छुट्टै एएमएल सीएफटी सुपरिवेक्षण महाशाखा नै नेपाल राष्ट्र बैंकमा बनाइएको छ ।” 

त्यसबाहेक तल्लो तहसम्म एएमएल/सिएफटीसम्बन्धी जनचेतना अभियानकै रूपमा चलाउनुपर्ने खाँचो रहेको उहाँको बुझाइ छ । रेडियो टेलिभिजनमार्फत वा विभिन्न तालिमका साथै यसलाई पाठ्यक्रममै राख्न पनि सकिन्छ । केन्द्रीय बैंकले कडाइ गरेकै कारण सम्पत्ति शुद्धीकरणमा धेरै सुधार आएको छ । अन्तरराष्ट्रिय जगतले अझै बढी ‘कम्प्लाइन्स’ खोजेको अवस्था छ । सबै क्षेत्रमा एफएटीएफले ‘कम्प्लाइन्स’ खोज्दा र अपेक्षित ‘कम्प्लाइन्स’ नदेखिएकोले ‘ग्रे लिष्ट’मा परेको उहाँको बुझाइ छ ।

गभर्नरको दाबेदार

वरिष्ठ डेपुटी गभर्नर डा नीलम ढुङ्गानाका अगाडि नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको छ । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उहाँलाई प्राप्त भएको हो । यतिबेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको भन्ने सुन्नमा आएको छ । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उहाँ भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुनुहुन्छ ।

“म राष्ट्र बैंक प्रवेश गर्दा यति ठूलो सपना थिएन, यस गरिमामय संस्थामार्फत मुलुकको सेवा गर्न पाउनुका साथै मेरो जीविकोपार्जनसँग पनि जोडिएको थियो”, उहाँले भन्नुभयो, “करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ ।”

गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा राज्यले गर्नुपर्ने : मन्त्री पौडेल

काठमाडौँ, ६ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा सरकारले गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सांसद डा सुनिलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चिततासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नु निकै महत्त्वपूर्ण भएको मन्त्री पौडेलले बताउनुभयो ।

  “स्वास्थ्य बिमाको कानुन बनाउँदा १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको बिमा सरकारले गर्ने व्यवस्था गर्ने गरी स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “नेपालमा ६६ लाख घरपरिवार छन, सबैलाई अनिवार्य स्वास्थ्य बिमामा जोडनुपर्छ, सक्नेले आफैँ गर्छन, नसक्नेलाई राज्यले तिर्ने व्यवस्था गर्नुपर्छ ।”

उहाँले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको सुरु गर्न मन्त्रालयले प्रतिवेदन ल्याएको र स्रोत सुनिश्चितताबारे योजना बनाइरहेको बताउनुभयो ।

 स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लामा सात सय ५३ स्थानीय तहमा लागू भएको छ । सेवा प्रदायक संस्था चार सय ८४ रहेका छन । जसमध्ये सरकारी ४०३ सरकारी अस्पताल, ४८ निजी अस्पताल र ३३ वटा सामुदायिक अस्पताल छन् । देशभरी तीन सय ४४ कर्मचारी अस्थायी र करारमा कार्यरत छन् ।   

  “स्वास्थ्य बिमाको स्रोत सुरक्षित छैन र आम्दानी पनि सुनिश्चित छैन”, मन्त्री पौडेलले भन्नुभयो, “बिमा कोष बनाएर व्यवस्थित बनाएर लैजानुपर्छ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, सल्लाह गरौँ ।” उहाँले स्वास्थ्य बिमाको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने र अहिले रु एक लाखको बिमालाई रु पाँच लाख बनाएर जाने सकिएमा राम्रो हुने बताउनुभयो । 

रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन् ।

सचिवमा अनेरास्वियुका मुकेश भण्डारी डेनिस १ सय ८५ मत ल्याएर विजयी भएका छन् । नेविसंघका उम्मेदवार युवराज बुढाथोकीले १ सय ६५ ल्याएका छन् । अखिल (क्रान्तिकारी) की विनीता माझीले ७० पाएकी छिन् ।

कोषाध्यक्षमा अनेरास्वियुकी उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर विजयी भएकी छिन् । सो पदमा नेविसंघकी छाया तामाङले १ सय ३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत ल्याएका छन् ।

सदस्यमा अनेरास्वियुका उम्मेदवारहरू तुलसा उप्रेती¸ मनोज श्रेष्ठ¸ एलिना माझी र जीवन पहरी विजयी भएका छन् । एक जना सदस्यमा नेविसंघका कर्ण श्रेष्ठ निर्वाचित भएका छन् । कुल ५ सय ३१ मतदाता रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस ४ सय २७ मत खसेको थियो ।

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

काठमाडौँ, ६ चैतः सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण

काठमाडौं । सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि नेपाललाई भारतीय राजदूतले २४ किलो चाँदी हस्तान्तरण गरेको छ । बुधबार असनस्थित बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो ।

भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे ।

उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ । यसको पुननिर्माणको काम सकिने भनेर मिति तोकिएको छ । आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु । यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु ।’

करिब छ करोड बराबरको रकममा निर्माण व्यवसायीसँग सम्झौता गरेर २०७७ सालदेखि यसको पुननिर्माणको काम भइरहेको थियो । अहिलेसम्म ७५–८० प्रतिशत काम सम्मपन्न भएको जनाइएको छ ।

गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी

काठमाडौं । गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन् ।

अम्गाईले २०९ मत ल्याए भने नेविसंघका रचन परियारले १६१ मत ल्याए । त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । अर्यालले २०६ मत ल्याएकी छन् भने नेविसंघकी सविना गुरुङले १६४ मत ल्याएकी छन् ।
सदस्यहरूमा पनि अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् ।द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयीद्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ ।
मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन् ।

अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ल्याए ।त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै बस्नेत विजयी बनेका हुन् । बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याएका छन् ।सदस्यहरूमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दीप कार्की र बिपना कोइराला विजयी बनेका छन् ।