`

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ८ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु २०० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

तिम्रै सम्झना छ सम्झना भन्दै आए गायक अनिल लरिजा

गायक अनिल लरिजाको नयाँ गीत ‘तिम्रै सम्झना छ’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक रिजाल कै शब्द रहेको छ भने कम्पोजिसन पनि उनकै रहेको छ। भोकलमा अनिल सँगै सन्दर्भ ब्याण्ड र अनिता जिम्बाको आवाज रहेको छ । राज महर्जनको मिक्सिङ्ग मास्टरिङ्ग रहेको गीतमा सोफिया गहतराजलाई फिचर गरिएको छ ।

“मैले यो गीतमा आफ्नो हृदयको गहिराइबाट प्रेमको भावनालाई व्यक्त गर्ने प्रयास गरेको छु, र मलाई आशा छ कि यसले श्रोताहरूलाई आफ्नो प्रियजनको याद दिलाउनेछ,” अनिल रिजाल भन्छन् । मार्सल फोटोग्राफ्सले भिडियो छायाङ्कन सम्पादन र निर्देशन गरेको हो भने गीतलाई प्रमोसन गर्ने जिम्मा म्युजिकली नेपालले गरेको छ ।

यस अघि अनिलले `अपरिचित´ बोलको भिडियो बजारमा ल्याएका थिए । भिडियोलाई दर्शकले अत्याधिक रुचाएका थिए । यस पटकको भिडियोलाई पनि दर्शकले माया गर्नेमा गायक रिजाल आशावादी छन् ।

त्रिवि क्रिकेट रङ्गशालाको प्रधानमन्त्री सचिवालय टोलीद्वारा निरीक्षण

कीर्तिपुर (काठमाडौँ- सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ ।

कामको प्रगति अनुगमन गर्न बिहीबार राति ९ः०० बजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली साइटमा पुगेको थियो ।

टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताउनुभयो । यसका लागि हामी अहिले जग खन्ने काम थालेका छौँ भन्नुभयो ।

यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको जानकारी पनि उहाँले दिनुभयो । कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन् । दिनमा एक सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन् ।

अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उहाँले बताउनुभयो । सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने भनाइ उहाँको थियो । निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएको थियो ।

कसैमाथि काखापाखा गर्नु हुँदैन भनेर नै हामीले लडाइँ गरेका हौँ : अध्यक्ष दाहाल

वीरगञ्ज (पर्सा-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतमा भन्दा अहिले मुस्लिम समुदायको आत्मसम्मान र पहिचान बढेको बताउनुभएको छ । अध्यक्ष दाहालले वीरगञ्जको वडा नम्बर १४ स्थित मुस्लिम समुदायका प्रतिनिधिहरूसँग चियापान कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिँदै मुस्लिम समुदायमाथिको व्यवहारमा अझै पनि विभेद कायमै रहेको बताउनुभयो ।

“अझै पनि हामीले मुस्लिम समुदायको आवाज उठाउनुपर्ने छ भनेर मैले बारम्बार अपिल पनि गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “अहिले मुस्लिम समुदायको रमजाम पर्व चलिरहेको छ, त्यसको शुभकामना पनि दिँदै आइरहेको छु ।” अध्यक्ष दाहालले सबै जातजाति, भाषाभाषी र धर्म समुदायलाई समान व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।

“तपाईँहरूको समुदायप्रति हाम्रो विशेष जिम्मेवारीबोध पनि हुन्छ । देशमा बस्ने सबै जातजाति–भाषाभाषी, धर्म समुदायलाई समान व्यवहार गर्नुपर्ने हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “कसैमाथि काखापाखा गर्नु हुँदैन भनेर नै हामीले लडाइँ गरेका हौँ । अहिले पनि त्यो समन्वय गर्ने काम पनि गर्दै आइरहेका छौँ ।”

अध्यक्ष दाहालले माओवादीले अघि सारेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पनि समन्वय र सामाजिक सद्भाव अभिवृद्धिको अभियान रहेको स्पष्ट पार्नुभयो । “यो अभियान त्यसमा देशमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति अगाडि बढ्ने अभियान पनि हो”, उहाँले भन्नुभयो ।

नेकपा (माओवादी) केन्द्रले हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियानअन्तर्गत भोलि शुक्रबार पर्सामा विभिन्न कार्यक्रम गर्दैछ । माओवादी केन्द्रका अध्यक्ष दाहालसहित माओवादीका शीर्षनेताको उपस्थितिमा पर्सामा आज कार्यक्रम भइसकेको छभने शुक्रबार पर्सामा विभिन्न कार्यक्रम गरेर जागरण अभियान अघि बढाउने भएका छन् ।

नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतोले माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान केही समयअघि विशेष कारणले रोकिएकामा बुधबारदेखि फेरि सञ्चालनमा आएको जानकारी दिनुभयो । “जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्षसहितका शीर्षनेता आज पर्सामा आइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “छोटो समयमा पनि हामीले आवश्यक तयारी गरिरहेका छौँ । कार्यक्रमलाई भव्य र सभ्य बनाउने हाम्रो योजना छ ।”

माओवादी केन्द्र पर्सा अभियान प्रचारप्रसार समितिका अनुसार आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाल पर्सा आउनुभएको हो । आज नृसिंह माध्यमिक विद्यालय लक्ष्मणवा–१५ मा स्थानीय नेता, कार्यकर्ता, विद्यार्थी र स्थानीय समुदायसँग भेटघाटको कार्यक्रम राखिएको थियो । त्यस्तै शुक्रबार बिहान साढे पाँच बजे सिप्रदीगेट बहुअरी १४देखि घण्टाघर, मकालुचोक, आर्दशनगरचोक, घडिअर्वा, माईस्थानचोकमा ‘मर्निङवाक’को कार्यक्रम तय गरिएको बताइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

लुम्बिनी (मर्चवार), ८ चैत : सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।

नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । सङ्घको ३२औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गर्नुभयो ।

सङ्घले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आव २०८०/८१ मा सङ्घले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताउनुभयो । सङ्घले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरवासीलाई धन्यवाद दिनुभयो ।

“हामी जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौँ”, उहाँले भन्नुभयो, “यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।” आगामी दिनमा सबै सूचकाङ्कमा पालिकालाई सर्वोकृष्ट हुनेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

सिद्धार्थनगरले मुलुकभरका नगरपालिकालाई पछि पार्दै ८५ प्रतिशत अङ्क प्राप्त गरेको नगरपालिका सङ्घले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।

भँगेराको सङख्या बर्सेनि घट्दो, बासस्थान मासिँदै

कञ्चनपुर, ८ चैत : तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो ।

भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । “घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके”, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भन्नुभयो, “अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।” आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उहाँ बताउनुहुन्छ ।

तीव्र रूपमा भइरहेको सहरीकरणलाई उहाँ भँगेरा विनासको कारण मान्नुहुन्छ । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको उहाँको भनाइ छ । भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उहाँ बताउनुहुन्छ ।

चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ । “ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ”, उहाँले भन्नुभयो, “खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ ।”

खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हँुदै गएको उहाँले बताउनुभयो । काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ । भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ । गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्थाजस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सक्छौँ ।

भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने उहाँ सल्लाह दिनुहुन्छ । चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आइ लभ स्प्यारो) रहेको छ ।

चरा संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आआफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन् । कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताउनुभयो । विद्यार्थीमाझ छलफल, अन्तरक्रियालगायत कार्यक्रम पनि गरिएका छन् ।

यस्तो छ आजको मौसम

काठमाडौँ, ८ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा पनि आंशिक बदली हुनेछ । कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

 आगामी २४ घण्टामा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । 

यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ०४ पैसा र बिक्रीदर २० रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

काठमाडौँ, ८ चैत : नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयक

काठमाडौँ, ८ चैत : आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ ।

बिहीबार मात्र प्रतिनिधिसभाले ‘निजीकरण (पहिलो संशोधन विधेयक), २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीनवटै विधेयकले मुलुकको अर्थतन्त्रलाई थप लयमा लैजान मद्दत गर्ने सरकारको बुझाइ छ ।

सरकारले ‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल बनाइएको छ । सो ऐनको पहिलो संशोधन गर्दै सरकारले विधेयक प्रस्तुत गरेको हो । यसमा सरकारी लगानी व्यवस्थापन तथा प्राथमिकता निर्धारण गर्ने विषयलाई महत्त्वका साथ समावेश गरिएको छ ।

सरकारले यसअघि सङ्घीय संसद्को बैठक नबसेको समयमा सो विधेयकलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको थियो । घाटामा रहेको, रूग्ण अवस्थामा भएका वा अन्य कुनै पनि कारणले समस्यामा परेको उद्योग प्रतिष्ठानलाई थप सबल बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरिएको अर्थ मन्त्रालयको भनाइ छ ।

प्रतिनिधिसभाले पारित गरेसँगै अब सो विधेयक राष्ट्रियसभामा जानेछ । प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित राष्ट्रियसभाको शुक्रबारको बैठकमा टेबुल गर्ने कार्यसूची तय गरिएको छ । विधेयकले आवश्यक प्रक्रिया पूरा भएपछि ऐनका रूपमा कार्यान्वयन हुनेछ ।

विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताहरूको प्रश्नको जवाफ दिँदै उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताउनुभएको थियो । उहाँले कमजोर क्षमतामा चलेका, रूग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानहरूलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्नका लागि निजीकरणलाई एकमात्र विकल्पका रूपमा लिनु हँुदैन भन्ने संशोधनको मूल मर्म हो भन्नुभयो ।

प्रतिपक्षी दलका सांसदहरूले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गर्नुभएको थियो ।

यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । सो विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने सरकारको बुझाइ छ ।

विधेयकले नेपालको संविधानको मर्म र सङ्घीयताको मर्मअनुरूप नै बजेट निर्माण गर्ने विषयलाई सूत्रबद्ध गरेको छ । राष्ट्रिय आवश्यकता र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको छनोट गरी लगानीको स्रोत सुनिश्चितताका लागि विधेयकले मार्गप्रशस्त गरेको अर्थमन्त्री पौडेलले विश्वास व्यक्त गर्नुभएको थियो । प्रदेश र स्थानीय तहलाई के–कसरी बजेट परिचालन गर्ने, त्यसको आधार के–कस्ता रहने भन्ने विषय विधेयकमा समेटिएको छ ।

त्यस्तै प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पनि पारित गरेको छ । सो विधेयकले पनि आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

विभिन्न ऐनलाई सरकारले समयानुकूल र लगानीमैत्री बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरेको हो । सो विधेयकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, राजस्व न्यायाधीकरण ऐन, २०१३, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ का केही प्रावधान संशोधन गरेको छ ।

यसैगरी, मध्यस्थता ऐन, २०५५, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६ पनि सो विधेयकमार्फत संशोधन गरिएको छ ।

विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्न विधेयक ल्याइएको बताउनुभएको थियो ।

“राम्रो नियत र असल उद्देश्यले देशको आर्थिक समस्याको समाधान गर्दै आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा स्वदेशी र लगानी प्रवर्द्धनका लागि विधेयक ल्याइएको छ । यसको अहिले सकारात्मक प्रभाव देखिन थालेको छ”, उहाँले भन्नुभयो ।

विधेयकमार्फत उपभोक्ताको हकहित सुनिश्चित गर्न उपभोक्ता अदालतको व्यवस्था गरिएको, कालोबजारी व्यवस्था ऐनलाई आवश्यक परिमार्जन गरी उपभोक्ता हितका लागि कानुन बनाइएको उहाँको भनाइ थियो ।

विधेयकमा राजस्व चुहावट नियन्त्रण, हदभन्दा बढी जग्गाको व्यावसायिक प्रवर्द्धनका लागि उक्त जग्गाको ५० प्रतिशतसम्म धितो राख्न पाउने व्यवस्था गरिएको छ । सो धितोबापतको ऋण चुक्ता गर्ने दायित्वबाट उम्किन नसक्ने प्रावधान विधेयकमा छ ।

युक्रेनका बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

युक्रेनमा युद्ध अन्त्यका लागि दबाब दिइरहेका राष्ट्रपति ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा यस विषयमा छलफल गर्नुभएको होे ।

अधिकारकर्मीहरूका अनुसार रुसी सेनाले अनाथालय वा अशक्त युवाहरूका लागि बनाइएका केन्द्र र गरिब परिवारका धेरै बालबालिकाहरू लगेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “ट्रम्पले जेलेन्स्कीलाई युद्धका क्रममा युक्रेनबाट हराएका बालबालिकार अपहरणमा परेका बालबालिकाबारे सोधपुछ गर्नुभएको थियो ।”

“राष्ट्रपति ट्रम्पले ती बालबालिकालाई घर फर्काउने सुनिश्चित गर्न दुवै पक्षसँग मिलेर काम गर्ने वचन दिनुभएको छ,” उहाँले भन्नुभयो ।

येल युनिभर्सिटीको ह्युमेनिटेरियन रिसर्च ल्याबले हराएका बालबालिकाको खोजी गरिरहेको छ तर ट्रम्पले विदेशी सहायतामा व्यापक कटौती गरेपछि अमेरिकी सरकारबाट महत्वपूर्ण आर्थिक सहयोग गुमाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले आर्थिक सहयोग कटौती भएको स्वीकार गर्दै परियोजनाको डाटा मेटिएको भन्ने ‘षडयन्त्रको सिद्धान्त’लाई अस्वीकार गर्नुभएको छ ।

कटौतीको बचाउ गर्दै ब्रुसले भन्नुभयो, “आर्थिक सहयोग कटौतीलाई नगर्न र विद्यमान यथास्थिति नै लक्ष्य हासिल गर्ने एक मात्र उपाय हो ।”

उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले आफ्नो कुटनीतिको माध्यमबाट यस विषयलाई सम्बोधन गरिरहेको बताउनुभयो ।

“मलाई लाग्छ कि यो एक राम्रो स्पष्ट सङ्केत हो र हामी अझै पनि महत्त्वपूर्ण मुद्दाहरूमा काम गर्न सक्छौं र तिनीहरूलाई अस्तित्वमा रहेको एक निश्चित संरचना बिना नै सम्बोधन गर्न सक्छौँ,” ब्रुसले भन्नुभयो ।

मानवीय अनुसन्धान ल्याबका अनुसार १९ हजारभन्दा बढी बालबालिकालाई रुस लगिएकोमा एक हजार २३६ जना मात्र फर्केका छन् ।

समूहले युक्रेनबाट आएका आठ हजार ४०० भन्दा बढी बालबालिकालाई रुस वा रुसको नियन्त्रणमा रहेको क्षेत्रमा ४३ र बेलारुसमा १३ बालबालिका संरक्षण केन्द्रमास्थानान्तरण गरिएको जनाएको छ ।

समूहको अनुसन्धानअनुसार बच्चाहरूले अक्सर दुव्र्यवहार, अपर्याप्त खानाको अनुभव गरेका छन् र उनीहरूलाई रूसद्वारा प्रेरित अक्सर सैन्य प्रशिक्षण दिइएको छ ।

रुसले दुव्र्यवहारको खण्डन गर्दै आफ्नो कामलाई अनाथ बालबालिकालाई अङ्गीकार गर्ने मानवीय कार्यक्रमका रुपमा व्याख्या गरेको छ ।

अमेरिकी सांसदहरूको द्विदलीय समूहले ‘डिपोजिटरी’को डाटा स्थायी रूपमा मेटिएको छ भन्ने विश्वास गर्ने खाधार आफूसँग रहेको बताएको छ।

डेमोक्र्याट् सांसद ग्रेग ल्यान्ड्सम्यानको नेतृत्वमा लेखिएको पत्रमा भनिएको छ, “यदि यो सत्य हो भने यसले विनाशकारी परिणाम निम्त्याउनेछ ।”

अमेरिकी विदेशमन्त्री रुबियो र अर्थमन्त्री स्कट बेसेन्टलाई सम्बोधन गरिएको पत्रमा येल परियोजनाले अहिले महत्वपूर्ण स्याटेलाइट तस्वीरहरूमा पहुँच नभएको पनि उल्लेख गरिएको छ।

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनुभएको छ ।

उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताउनुभयो ।

उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिनुभयो ।

कुराकानीको क्रममा उहाँहरूले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गर्नुभयो, जसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत हुनुभएको क्रेमलिनले उल्लेख गर्नुभयो ।

रसुवागढी नाकाबाट सुनसहित एक व्यक्ति पक्राउ

रसुवा, ७ चैतः अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा आज पक्राउ परेका छन् ।
पक्राउपर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, आँैठीसमेतका गहना र टुक्रा सुनसमेत लुकाइछिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्तीटोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।

घरेलु उद्योग प्रवर्द्धनका गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

मोरङ, ७ चैतः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवर्द्धन गर्न तथा प्रदेशमा कार्यरत निजामती कर्मचारीले घरेलुका कपडा लगाउने व्यवस्थाका निम्ति नीति निर्माण गरिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित तीनदिने ढाका महोत्सवको उद्घाटन गर्दै तराई, पहाड र हिमालमा कार्यरत कर्मचारीलाई उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई घरेलुका उत्पादन प्रयोग गर्न अनुदानको व्यवस्था गर्नसकिने

बताउनुभयो ।

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले ढाकाको बजारीकरणमा जोड दिनुभयो ।र्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढाका कपडा उद्योगको प्रवद्र्धन र बजारीकरणका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, महिला उद्यमी महासङ्घकी प्रदेश अध्यक्ष कमला श्रेष्ठ, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, महिला उद्यमी एवं कार्यक्रम संयोजक सरु केसीले ढाका उद्योगलाई कच्चा पदार्थ खरिद गर्न अनुदान दिइनुपर्ने माग गर्नुभयो ।

मेची भन्सार कार्यालयद्धारा आठ महिनामा १० अर्ब बढी राजस्व सङ्कलन

भद्रपुर (झापा), ७ चैतः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । 

गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजार बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा रु ३१ अर्ब १८ करोड ६५ लाख १६ हजार बराबरको वस्तु आयात भएको छ । 

उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह

काठमाडौँ, ७ चैतः नेपाल उद्योग परिषद्ले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सरकार एवं सम्बन्धित पक्षसँग आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा हाल दैनिक १२ घण्टासम्म विद्युत् भार कटौती गराएर उद्योगीलाई प्रताडित गरेकाले पूर्ण रुपमा विद्युत् आपूर्तिको माग परिषद्ले गरेको हो ।

परिषद्ले आज विज्ञप्ति जारीगरी ‘मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले उद्योगमा विद्युत् भार कटौती गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ?’ भनी प्रश्न गरेको छ । 

उद्योगमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिषद्को भनाइ छ । “सरकारले स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा गरेको विद्युत् भार कटौतीले उद्योगलाई मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।  

निजीकरण (पहिलो संशोधन) विधेयक पारित

काठमाडौँ, ७ चैतः प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ पारित भएको छ । सभाको आजको बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको उपसभामुख इन्दिरा रानाले घोषणा गर्नुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘निजीकरण (पहिलो संशोधन विधेयक),२०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताउनुभयो । उहाँले कमजोर क्षमतामा चलेका, रुग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानहरुलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्नका लागि निजीकरणलाई एकमात्र विकल्पका रुपमा लिनु हँुदैन भन्ने संशोधनको मूल मर्म हो भन्नुभयो ।

प्रतिपक्षी दलका सांसदहरुले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गर्नुभयो ।

सांसदहरु शक्तिबहादुर बस्नेत, चन्दा कार्की, देवेन्द्र पौडेल, जनार्दन शर्मा, प्रेम सुवाल लेखनाथ दाहाल, विमला सुवेदी, निशा डाँगी, लक्ष्मी तिवारी, नारायणी शर्मा, रामकुमार राई, ज्ञानु बस्नेत सुवेदी, छिरिङडम्डुल लामा, दुर्गा राई, मनिष झा, चित्रबहादुर केसी, हितबहादुर तामाङ, गङ्गा कार्की, उर्मिला माझी र माधव सापकोटाले विधेयकमा संशोधन प्रस्तुत गर्नुभएको थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री

काठमाडाँै, ७ चैत ः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राजामहाराजा खोज्नुको औचित्य नरहेको बताउनुभएको छ ।

नेपाल चेपाङ सङ्घले आज यहाँ आयोजना गरेको ‘चेपाङ स्वायत्त, विशेष र संरक्षित क्षेत्र घोषणा तथा चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयको छलफल कार्यक्रममा मन्त्री गुरुङले वर्तमान अवस्थामा राजतन्त्र खोज्नु निरर्थक भएको टिप्पणी गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि सङ्घीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै सङ्घीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति समुदायलगायत सीमान्तकृत वर्गलाई सङ्घीयता महत्वपूर्ण उपलब्धि भएको उहाँको कथन थियो । ठूलो राजनीतिक सङ्घर्ष पछि स्थापित वर्तमान शासन व्यवस्थाबाट लाभ लिन सीमान्तकृत समुदाय चनाखो हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आदिवासी जनजातिका लागि महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “हामी यो व्यवस्थाले दिएका अधिकारहरुबाट लाभ उठाउन अझै चुकेका छौँ ।”

राष्ट्रिय एकताको मूल आधार समावेशी र समतामूलक समाज भएको बताउँदै उहाँले समावेशी पद्धति कार्यान्वयनमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो । चेपाङ समुदायको संरक्षणमा जोड दिँदै उहाँले त्यसनिम्ति नीतिगत व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेलले तीन तहका सरकारले अब विकासको प्रारुप परिवर्तन गरेर समावेशी ढाँचालाई जोड दिनुपर्छ भन्नुभयो ।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रमेश गुरुङले सीमान्तकृत समुदायभित्र चेपाङ समुदाय पनि पर्ने भएकाले सरकारले प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले २०३४ सालदेखि चेपाङ समुदायको विकासका लागि राज्यले सञ्चालन गर्दै आएको प्रजा विकास कार्यक्रम २०७४सालमा रोकिएको गुनासो गर्नुभयो । “चेपाङ समुदायको विकासमा राज्यले बजेट छुट्याउनुपर्छ”, उहाँको माग थियो ।

भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु

लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।

भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेख्नुभएको छ, “हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन् ।”

बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टाछुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन् ।

दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ ।

शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मोदी सरकार नक्सलवादीहरूविरुद्ध निर्मम दृष्टिकोणका साथ अगाडि बढिरहेको छ र आत्मसमर्पण नगर्ने नक्सलवादीहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाइरहेको छ।”

सन् १९६७ मा चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित सशस्त्र अभियान सुरु भएको क्षेत्रमा नक्सलवादी भनेर चिनिने विद्रोहीहरू लामो समयदेखि निरन्तर लड्दै आएका छन् ।

शाहले भारत सरकारले अर्को वर्षको मार्चको अन्त्यसम्ममा विद्रोहको अवशेषलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।

गत वर्ष सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका थिए जसमध्ये अधिकांश छत्तीसगढमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया(पिटिआई) का अनुसार यस वर्ष अहिलेसम्म ८० भन्दा बढी माओवादी मारिएका छन् ।

माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ ।

भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायहरूमा प्रवेश गरको उक्त आन्दोलनले सन् २००० को दशकको सुरुसम्म शक्ति र सङ्ख्यामा वृद्धि गरेको थियो तर पछिल्ला दुई दशक यता यो आन्दोलन कमजोर देखिएको छ ।

सन् २००० पछि नयाँ दिल्लीले ‘रेड करिडोर’ नामाकरण गरेको उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ गरेको छ ।

यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमणहरू पनि भएका छन्। गत जनवरीमा सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो ।

रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान

संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ ।

पछिल्लो सहमति अनुसार दुबै मुलु्क (१७५ युक्रेनी बन्दी र १७५ रूसी बन्दी ) गरी कुल ३५० बन्दी आदानप्रदान गर्ने मध्यस्थता वार्ता सफल भएको युएईले जनाएको छ । योसँगै युक्रेनमा रूसी आक्रमणम सुरू भए यता युएईको मध्यस्थतामा कुल तीन २३३ कैदीबन्दीको आदानप्रदान भएको छ ।

युएईको परराष्ट्र मन्त्रालयले मध्यस्थता प्रयासमा सहयोगका लागि रूस र युक्रेनको समन्वयको प्रशंसा गरेको छ । यसले दुई देशहरू बीचको सङ्कट समाधान गर्ने सबै प्रयासहरूलाई समर्थन गर्न युएईको भूमिकाको लागि दुबै देशहरूको प्रशंसालाई प्रतिबिम्बित गर्दछ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो

इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् ।

दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन् ।

इजरायलले मङ्गलबार गाजाभर पुनः व्यापक हमला सुरु गरेको थियो । यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भङ्ग गरेको छ ।

हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार मात्र चार सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए । यसमा अधिकांश महिला र बालबालिका थिए। हमासले रकेट प्रहार गरेको वा अन्य आक्रमण गरेको कुनै रिपोर्ट आएको छैन।

पछिल्लो आक्रमणमा इजरायली सेनाको तत्काल कुनै टिप्पणी आएको छैन । सेनाले आतङ्कवादीहरूलाई मात्र लक्षित गरेको बताएको छ । उसले हमास आवासीय क्षेत्रहरूमा गहिरो रूपमा अवस्थित रहेकाले नागरिक मृत्युको दोष पनि हमासलाई दिएको छ ।

दक्षिणी सहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ । एउटा हमलामा एक बुवा र उनका सात सन्तानको मृत्यु भएको छ ।

खान युनुसमा रहेको नासेर अस्पतालले रातभर एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको थियो । उत्तरी गाजामा इन्डोनेसियाली अस्पतालले बेइत लाहियामा एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको बताएको छ । बेइत लाहिया सीमा नजिककोसहर हो।

अमेरिकाको टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट

टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

एबीसी न्यूजका अनुसार, स्थानीय समय अनुसार बेलुका ८ः१६ बजे डढेलो १० प्रतिशत नियन्त्रणमा आएको थियो । धेरै संरचनाहरू प्रभावित भएका छन् । कम्तिमा १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरू प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरूले कन्टेन्ट लाइन स्थापना गरिरहेका जनाएको छ । हेलिकप्टरहरूले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए । साम ह्युस्टन राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो शहरबाट करिब एक घण्टाको दूरीमा छ ।

यसअघि बुधबार, राष्ट्रिय मौसम सेवाले ह्युस्टनको पश्चिमका काउन्टीहरूका लागि चेतावनीमा जारी ग¥यो, जसले जगलको डढेलोको उच्च जोखिमलाई सङ्केत गर्छ ।

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण

काठमाडौँ, ७ चैतः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।उहाँले आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

“क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्न आठ घण्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

प्रधानमन्त्रीद्वारा छ नगरपालिका पुरस्कृत

कीर्तिपुर (काठमाडौँ), ७ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका नगरपालिकामध्ये उत्कृष्ट कार्यसम्पादन गरेका छ वटा नगरपालिकालाई पुरस्कृत गर्नुभएको छ ।

नेपाल नगरपालिका सङ्घको ३२औँ दिवसका अवसरमा कार्यसम्पादनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो । प्रधानमन्त्री ओलीले बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासनका लागि पुरस्कार प्रदान गर्नुभएयो ।

यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उपमहानगर पालिकालाई सामाजिक विकासमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरिएको हो ।

प्रधानमन्त्रीले मध्यपुर थिमी नगरपालिकालाई वातावरण संस्कृति पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका निम्ति नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई पुरस्कार प्रदान गर्नुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष भीम ढुङ्गानाका अनुसार संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर नगरपालिकाको कामको मूल्याङ्कन गरिएको थियो ।

‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’ – प्रधानमन्त्री ओली

काठमाडौँ, ७ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य भएको बताउनुभएको छ ।

दक्षिण एसियाली किसान सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउनसक्ने अवस्था हुन नसकेको बताउनुुभयो । उहाँले युवालाई विदेश पलायन हुन रोकेर साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकासबाट मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ भन्नुभयो ।

सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधि सहभागी छन् । दुईदिने सम्मेलनमा दक्षिण एसियाली किसानका समस्या र तिनको समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित

काठमाडौँ, ७ चैतः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो । उपसभामुख इन्दिरा रानाले विधेयक बहुमतबाट पारित भएको घोषणा गर्नुभएको थियो ।

यसअघि विधेयकमाथिका संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिएकामा सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट पारित सो विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ । यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधानको मर्म र सङ्घीयताको मर्मअनुरुप नै बजेट निर्माण गरिनुपर्ने उल्लेख गर्दै प्रदेश र स्थानीय तहको अधिकारमा सङ्घले प्रवेश गर्नुनहुनेमा आफूहरु सचेत रहेको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पौडेलले आवश्यकता र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको छनोट गरेर लगानी स्रोतको सुनिश्चित गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी निर्वाचनमा माओवादीले धेरै ‘सीट’ जित्ने अध्यक्ष दाहालको प्रक्षेपण

बारा, ७ चैतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी चुनावी मैदानमा उत्रिए पनि आफ्नो पार्टी अग्रस्थानमा पुग्नसक्ने आधार बन्दै गएको बताउनुभएको छ ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरणसभामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले माओवादीलाई धेरै सीट जित्ने आधार बन्दै गएको बताउनुभएको हो ।

विगतमा  कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा माओवादीलाई घाटा भएको बताउँदै उहाँले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको उल्लेख गर्नुभयो । गत उपनिर्वाचन र हालै सम्पन्न स्ववियु निर्वाचनले माओवादीको सामथ्र्य एवं यो दलप्रतिको जनाधार पुष्टि भएको उहाँको अभिमत थियो । 

“उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ,” उहाँले भन्नुभयो ।

हुलाकी मार्ग दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले हुलाकी मार्ग निर्माणले गति लिइरहेको भए पनि विभिन्न ठाउँमा पुल बन्न नसकेकाले यो मार्गलाई पूर्णता दिन अभियानले सहयोग गर्ने बताउनुभयो । 

पृथक प्रसङ्गमा अध्यक्ष दाहालले जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताउनुभयो । उहाँले पार्टीलेले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँ जनतामा नयाँ माओवादीप्रति भरोसा जगाएको बताउनुभयो ।

म्याग्दीको लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

म्याग्दी, ७ चैत : यहाँको धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहनुभएका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ । ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राष्ट्र बैंकद्वारा उद्योगी व्यवसायीसँग सुझाव सङ्कलन

वीरगञ्ज (पर्सा), ७ चैत : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी÷व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेटकालिन अन्तरक्रिया गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव सङ्कलन गरेको हो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पछिल्लो समय उद्योगी/व्यवसायीको मनोबल खस्किएकाले आगामी आवको बजेटमार्फत मनोबल उकास्ने खालको बजेट ल्याउन अनुरोध गर्नुभयो । ‘‘सरकारी निकायले वर्सेनि बजेटपूर्व र बजेटपछि यहाँका उद्योगी÷व्यवसायीसँग सुझाव सङ्कलन गर्न आउने भएपनि यहाँका उद्योगी/व्यवसायीका मुद्दालाई भने नसमेट्ने तितो यथार्थ छ’’, उहाँले भन्नुभयो, ‘‘नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएकाले पक्कै यसपालि दिएका सुझाव कार्यान्वयन हुने अपेक्षा राखेका छौँ ।’’

अध्यक्ष अग्रवालले सरकार र निजी क्षेत्रबीच विश्वासको अभाव भएकाले निजी क्षेत्रको मनोबल क्रमशः घट्दै गइरहेको बताउनुभयो । ‘‘जब उद्योगी व्यवसायीको मनोबल खस्किन्छ । तब मुलुकको आर्थिक विकासको परिकल्पना गर्न सकिदैन’’, उहाँले भन्नुभयो, ‘‘सरकारले एकद्वार प्रणालीबाट राजस्व सङ्कलन गर्ने प्रणालीको विकास गर्न जरुरत छ ।’’

अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले सरकारले घाटाको बजेट ल्याउनुभन्दा यथार्थपरक र वस्तुनिष्ठ बजेट ल्याउन सुझाव दिनुभयो । ‘‘सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्ने घाटाको बजेट ल्याएर कुनै काम छैन,’’ उहाँले भन्नुभयो, ‘‘वस्तुपरक र यथार्थबजेट ल्याएर कार्यान्वयन गर्न जरुरी छ ।’’

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगञ्ज महानगरसँग पर्याप्त कृषियोग्य जमिन भएपनि आवश्यक स्रोतको अभाव भइरहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कर्णले वीरगञ्जबाट मुलुकले सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने भएपनि वीरगञ्जको पूर्वाधार र अन्य क्षेत्रको विकासमा सङ्घीय सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले हचुवाको भरमा बजेट ल्याउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको औल्याउनुभयो ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक सत्येन्द्रराज सुवेदीले उद्योगी व्यवसायीले दिएका सुझावलाई लिपीबद्ध गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउनुभयो । ‘‘यहाँका उद्योगी–व्यवसायीले निकै व्यवहारिक खालका सल्लाह र सुझाव दिनुभएको छ । त्यसलाई हामीले आफ्नो प्रतिवेदनमा समावेश गरेर सरकारलाई हस्तान्तरण गर्नेछौँ’’, उहाँले भन्नुभयो ।

राष्ट्र बैंकका उपनिर्देशक विष्णुप्रसाद सुवेदीले बजेट सुझाव सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राष्ट्र बैंकका वीरगञ्ज कार्यालय प्रमुख सुशील पौडेलले यस्ता छलफलमूलक कार्यक्रमले बजेट निर्माणमा मार्गनिर्देश गर्ने बताउनुभयो ।

विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्दाेगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका छन् ।

बिहीबार अपराह्न प्रधानमन्त्री ओलीले इर्दाेगानलाई टेलिफोन गरेर त्यस्तो अनुरोध गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

टेलिफोन वार्ताका क्रममा आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए ।

उनीहरुबीच आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै पारस्परिक सम्बन्ध विस्तारबारे पनि विचारविमर्श भएको थियो ।

तनहुँमा विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

तनहुँ, ७ चैत : विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको मृत्यु भएको हो । गत आइतबार च्याउ खाएर सख्त बिरामी भएका बालकको बुधबार साँझ शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सोमबार उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको मृत्यु भएको थियो ।

मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मङ्गलबार मृत्यु भएको थियो । प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि बालकलाई शनिबार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो ।

बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् । उनीहरुमा बान्ता हुने, पखाला लाग्ने, रिङगाटा लाग्ने लक्षण देखिएको थियो । उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुई जनालाई थप उपचारका लागि पोखरा र काठमाडौँ लगिएको थियो ।

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति सिग्देलले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पारे ।

सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पुर्याइरहेको योगदानले आमनेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रुपमा स्थापित भएको बताए । “यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन”, उनले भने ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको जनाउँदै प्रधानसेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताए ।

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले भने ।

मानसिक विकासका लागि खेलकुद आवश्यक : सभापति देउवा

पाटन (ललितपुर), ७ चैतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताउनुभएको छ ।नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास हुने बताउनुभयो ।“तपाईंहरुको सुझाव पार्टीले ग्रहण गर्नेछ, मानसिक स्वास्थ्यका लागि शरीरको स्वस्थता पनि आवश्यक छ, खेलकुदले यी दुवै पक्षलाई स्वस्थ राख्ने काम गर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो । “खेलकुद पूर्वाधार निर्माण गर्नेभन्दा पनि कुनै एउटा प्रतियोगिता जित्नेबित्तिकै पुरस्कार घोषणा गर्नेमा सरकारलाई हतार हुन्छ, खेलकुद विश्वविद्यालयको अवधारणाका विषयमा नेताहरु साक्षात्कार हुन सकेका छैनन्, खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छ, नेपालमा प्रशस्त सम्भावना छ”, उपसभापति गुरुङले भन्नुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा खेलकुदसम्बन्धी नीतिगत व्यवस्था अगाडि बढेको उल्लेख गर्दै बजेट बन्नेक्रममा रहेको बताउनुभयो । उहाँले नीति तथा र्यक्रममा खेलकुदका कार्यक्रमलाई सम्बोधन गरिए पनि लगानीको समस्या रहेको बताउनुभयो ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले खेलकुदलाई महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै खेलकुदलाई पनि अरु विषयलाई जस्तै ध्यान दिएर अगाडि बढाउने धारणा राख्नुभयो ।

लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचनले हाल जिल्लाजिल्लामा खेलकुद सङ्घको अधिवेशन गराइरहेको जानकारी गराउँदै अधिवेशनसँगै खेलकुदका गतिविधि र नीतिगत विषयमासमेत बहस भइरहेको जानकारी गराउनुभयो । संविधानसभा सदस्य मोहन राईले कांग्रेसको नीतिमा खेलकुदलाई समेटेर खेलकुद परिषद्, ओलम्पिक कमिटी र मन्त्रालयबीचको समन्वयलाई जोड दिनुपर्ने बताउनुभयो ।

मुख स्वास्थ्य दिवस : ‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’

काठमाडौँ, ७ चैतः आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ ।

नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लुएचओको भनाइ छ ।

दन्त विशेषज्ञसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी दाँतको तथा मुखको स्वास्थ रह्यो भने ९० देखि ९५ प्रतिशत समस्याहरु रोकथाम गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार दाँत तथा मुख सफा राख्न सकियो भने दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउ–खटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ ।

डा बुढाथोकी भन्नुहुन्छ, “दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वास्थ भएन भने त्यसबाट खाइएका चिजहरु शरीरमा फोहोरकै रुपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो । मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारणहरु हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरुको प्रतिबिम्बको रुपमा देखिने गर्दछ ।”

विज्ञकाअनुसार दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकियो भने उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन । डा बुढोथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मष्तिष्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताउनुहुन्छ ।

मुख स्वास्थ राख्न प्रत्येक दिन कमसेकम दुई पटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सूर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफै जथाभावी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६–६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ ।

“बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रुपमै अपनाउनुपर्छ”, डा बुढाथोकीले भन्नुभयो ।

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु(फोटोफिचर)

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।”

यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । 

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाएको उल्लेख गरे । परीक्षाका लागि प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन । 
  
एसइईअन्तर्गत जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी छन् । जापानमा परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइएको उनले जानकारी दिए । काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिएका छन् । 

यसवर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । यसवर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिँदैछन् । 

परीक्षा यही चैत १९ गते सञ्चालन हुनेछ । तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ । 

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ । 

बोर्डले यसवर्ष आगामी असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । साथै न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण हुने समेत बोर्डको भनाइ छ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । 

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ७ चैतः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यसैगरी, बोडी (तने) रु २००, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ५५, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकेजी रु १००० र न्यूरो प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग पाँच महिनापछि स्थायी रूपमा पुनर्निर्माण गरिँदै

काभ्रेपलाञ्चोक, ७ चैतः गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।

बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ ।

क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि रु ७२ करोडमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले रु एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।

काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि रु दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले रु ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ ।

गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ ।

सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि  करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ । पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । 

उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ । तीन साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ । डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ । 

बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो । 

क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहि¥याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो । 

राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् । 

आज अन्तरराष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ७ चैतः आज अन्तरराष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो ।

संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो ।

फ्रान्सेली भाषा दिवस

आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले विभिन्न छ भाषालाई दिवसका रुपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अबेरिक, चिनियाँ, अङ्ग्रेजी, रसियन, स्पेनिस भाषा दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा भाषाको इतिहास, संस्कृति र यसको प्रयोगको महत्वबारे जानकारी साझा गर्नेलगायतका काम गरिन्छ । ‘एजेन्सी फर कल्चरल एण्ड टेक्निकल कोअपरेसन’ स्थापना भएको दिनको प्रतीकका रुपमा सन् १९७० मार्च २० को यो दिवस मनाउन सुरु गरिएको हो ।

पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने

पोखरा । मुलुककै ठुलो र धेरै बिद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा मंगलबार स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनाब आउने चैत १० गते हुने भएको छ ।निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको बुधबार बसेको सर्वपक्षीय बैठकले स्थगित स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब आउने चैत १० गते बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो ।

घोषित नयाँ निर्वाचन तालिका अनुसार चैत ७ गते राती १२ बजेदेखि मौन अवधि शुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । साथै, निर्वाचनका लागि विभिन्न कार्य क्षेत्रको जिम्मेवारीमा रहेका प्राध्यापक र कर्मचारीहरु यथास्थानमै जिम्मेवारी रहेको निर्वाचन समितिले जनाएको छ ।
नौहजार दुईसय ७० जना विद्यार्थी मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा मंगलबार निर्वाचन समितिले छापेको मतपत्रमा अखिल छैठौंका उम्मेदवारको सुची नदेखिए पछि बिबाद हुँदा चुनाब स्थगित भएको थियो ।

मंगलबार बिहान मतदान प्रक्रिया शुरु हुनैलाग्दा मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएको भेटिएको थियो । उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य शुरु गर्न नसकिएपछि शुरु बुधबारसम्मका लागि चुनाव स्थगित गरिएको भन्दै निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरेक थिए। तर साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरे पछि अर्को सुचना न नभएसम्मका लागि पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाब स्थगित गरिएको थियो।२०६५ पछि हुन लागेको पिएनको २२ औं स्ववियु अध्यक्षका लागि स्वतन्त्रसहित ८ जना अध्यक्षका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।