`

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

Nepal One HD २४ असोज २०८२ २०:३६
जीवनशैली/स्वास्थ्य

काठमाडौँ, २४ असोजः काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको कामपाले जनाएको छ ।

सङ्क्रमणको त्रास कायम रहेकाले कामपाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाइरहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका स्रोतव्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा र समुदायस्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायत स्थानीयको सहभागितामा लार्भा खोज र नष्ट गर अभियान जारी छ ।

गत आवको भदौमा छ सय ८६ जनामा सङ्क्रमण भएको थियो भने चालु आवको भदौमा एक सय ९७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको तुलनामा चालु आवका सङ्क्रमितको सङ्ख्या कमी आएको हो ।

स्रोतव्यक्ति भुसालले भन्नुभयो, “डेङ्गुको सङ्क्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ ।” कामपामा पहिलोपटक २०७५ सालमा चमती क्षेत्रमा एक जना महिलामा यो सङ्क्रमण देखिएको उहाँले उल्लेख गर्नुभयो । सामान्यतया बर्खायाममा देखिने यो सङ्क्रमणको वृद्धिदर भदौ, असोज र कात्तिकसम्म रहने कामपाले जनाएको छ । यी तीनै महिनालाई तुलना गर्दा यस वर्ष सङ्क्रमणदरमा कमी आएको उहाँले जानकारी दिनुभयो ।

“डेङ्गु सङ्क्रमण फैलाउने ‘एडिस’ जातको लामखुट्टे जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरूमा पानी भरेर राख्नु हुँदैन । पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायत जम्ने पानीमा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन”, उहाँले भन्नुभयो ।

नेपालमा २०६१ सालदेखि डेङ्गु देखिन थालेको हो । कामपाभित्र सन् २०२२ मा दुई हजार ९७३ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । सन् २०२३ मा छ सय ४३, सन् २०२४ मा दुई हजार ८४ जनामा सङ्क्रमण देखिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण शाखाले जनाएको छ । गत पुसदेखि अहिलेसम्म दुई सय ४८ जनामा सङ्क्रमण देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *