`

मेचीनगरमा पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

झापा, ९ चैतः पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहनु भएको थियो । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उहाँका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन ।

विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मनु भएका उहाँ अपाङ्ग भएको थाहा पाएका दिनदेखि बुबा घरबाटै वेपत्ता भएको र आमा वैदेशिक रोजगारीबाट लामो समयदेखि नफर्किएको क्षितिजका छिमेकी शिक्षक देबु बानियाँले बताउनुभयो । उहाँको नागरिकता बनाउन बिगत पाँच वर्षदेखि पहल भइरहेको थियो ।

“आमा विदेशमा र बाबु वेपत्ता भएपछि मावली हजुरबुवा र हजुरआमाले क्षितिजको हेरचाह गर्दै आउनुभएको थियो,” नागरिकताका लागि पहल गर्नुभएका शिक्षक बानियाँ भन्नुहुन्छ, “हजुरआमाको पनि निधन भएपछि वृद्धावस्थाका हजुरबुबाले कनिकुथी हेरचाह गरिरहनु भएको छ ।”

ढिलै भएपनि नागरिकता बनेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउनुहुन्छ । नागरिकताको आधारमा अब क्षितिजले सरकारबाट मासिक सामाजिक सुरक्षा भत्ता पाउने हुनुभएको छ ।

क्षितिजलाई बिहानदेखि बेलुका सम्म बाँसको मुडामा राख्ने गरिएको छ । उहाँलाई खानासमेत हजुरबुवा कुमार सुब्बाले मुडामै राखेर खुवाउने गर्नुभएको छ ।

“नागरिकता उहाँको नैसर्गिक अधिकार हो,” सहायक प्रजिअ नेपालले भन्नुभयो, “प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिको पहिचान गरी स्थानीय जनप्रतिनिधिको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता पु¥याएका हौँ ।”

चालु आर्थिक वर्षमा जिल्लाका चार जना पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ नेपालले बताउनुभयो । यसरी घरमै नागरिकता प्रमाणपत्र पाउने अरु तीन जना बुद्धशान्ति गाउँपालिका–४ र ५ का छन् । बुद्धशान्ति गाउँपालिका–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले पूर्ण अपाङ्गता भएका २२ वर्षीय सौरभ चापागाईंको आफैँले पहल गरेर नागरिकता बनाइदिएको बताउनुभयो ।

एसइई : चार निरीक्षक निष्कासित

इनरुवा (सुनसरी – माध्यमिक शिक्षा परीक्षा (एसइई)को दोस्रो दिन सुनसरीका दुई परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ ।

दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालय र गढी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालयबाट दुई÷दुई जना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । प्रजिअ मिश्रको नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चिट चोराएको भेटिएपछि निष्कासन गरिएको उहाँले जानकारी दिनुभयो ।

दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेतसमेत गरिएको प्रजिअ मिश्रले जानकारी दिनुभयो । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक ‘सकुर्लर’ गरिएको प्रजिअ मिश्रले बताउनुभयो ।

सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उपत्यका प्रदेश कमिटीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकाे पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा पछिल्लो विकासित घटनाक्रमका बारेमा आज समीक्षा गरिएको बताउँदै उहाँले गणतन्त्रको पक्षमा रहेका सबै दलसँग भेटघाट, छलफल र वार्ता गरी समन्वय गर्न बैठकले पार्टी केन्द्रलाई आग्रह गरेको उल्लेख गर्नुभयो ।

देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै बैठकले प्रतिगामी क्रियाकलापलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा गर्ने आमसभामा अधिकतम जनसहभागिता जुटाउने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य छ : मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ ।

काठमाडौँमा युएचएस होल्डिङ्सको सहभागितामा आयोजित आइओन एक्सचेन्ज जेरोबी–उत्पादन लन्च समारोहमा मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुर्याउन सफल भएको र आगामी एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबैलाई अवगत छ कि शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता हो, यसको अभावले सार्वजनिक स्वास्थ्य मात्र होइन, समग्र विकासमा समेत गम्भीर असर पुर्याउँछ ।”

मन्त्री यादवले खानेपानी मन्त्रालय नेपालका प्रत्येक नागरिकलाई सुरक्षित, शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउने आफ्नो सङ्कल्पप्रति प्रतिबद्ध रहेको बताउँदै नेपालका ग्रामीण क्षेत्रमा ९५ प्रतिशत र सहरी क्षेत्रमा ९८ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानी सेवाहरूको पहुँच पाएको बताउनुभयो ।

सरकारले सन् २०३० भित्र ‘सुरक्षित तथा स्वच्छ खानेपानी पहुँच’ हासिल गर्ने लक्ष्य लिएको तथा जुन संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको हिस्सा पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस लक्ष्यलाई हासिल गर्न निजी क्षेत्र, सरकारी निकाय र गैरसरकारी संस्थाहरूको सहकार्य अपरिहार्य छ ।”

दूषित पानीका कारण टाइफाइड, डाइरिया, हेपाटाइटिस, हैजाजस्ता रोग महामारीका रूपमा देखापर्ने गरेका, नेपालका धेरै भागमा जलस्रोतको प्रदूषण, अव्यवस्थित ढल निकास र औद्योगिक फोहर स्वच्छ पानीको उपलब्धतामा बाधक बन्दै आएको उहाँको भनाइ छ ।

शुद्ध खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसलाई सरकार, निजी क्षेत्र र नागरिक समाजले मिलेर सुनिश्चित गर्नुपर्ने, जेरोबीजस्ता नवीनतम् प्रविधिहरूको प्रयोगले सुरक्षित पिउने पानीको सुनिश्चितता गर्न मद्दत गर्ने, सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाहरू मिलेर ‘स्वच्छ खानेपानी पहुँच’को लक्ष्य प्राप्त गर्ने मन्त्री यादवले बताउनुभयो ।

अङ्गोलामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुग्यो

अफ्रिकी मुलुक अङ्गोलामा हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ३१३ पुगेको छ भने स्थानीय समय अनुसार बिहीबार साँझ ६ः०० बजेसम्ममा आठ हजार १४१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मात्र, अङ्गोलामा १५ नयाँ मृत्यु रेकर्ड गरियो, जुन जनवरीको सुरुमा प्रकोप सुरु भएदेखिको दोस्रो उच्च एकल दिनको सङ्ख्या हो । मार्च १५ मा १७ जनाको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

राष्ट्रिय राजधानी लुआन्डा बाहेक कुआन्जा नोर्टे र बेन्गुएला राज्यहरूमा पनि केसहरू बढेका छन् । बिहीबार लुआन्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री सिल्भिया लुटुकुटाले नौ लाख २५ हनजार २६ जनालाई खोप लगाइएको र लक्षित जनसङ्ख्याको ८६ प्रतिशतलाई समेटिएको बताउनुभयो ।

सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा ७७ वटा हैजा उपचार केन्द्र र ६४ वटा ओरल रिहाइड्रेसन केन्द्र स्थापना गरेको उहाँले थप्नुभयो ।

कुस्र्कमा रहेको ग्यास स्टेशन विस्फोटमा युक्रेनको संलग्नता रहेको रुसको आरोप

रुसी रक्षा मन्त्रालयले शुक्रबार युक्रेनी सेनाले रुसको पश्चिमी कुस्र्क क्षेत्रबाट पछि हट्दै गर्दा ‘जानाजानी सुड्झा ग्यास मिटरिङ स्टेशन’ लाई विस्फोट गराएको जनाएको छ ।

युक्रेनी सीमाबाट केही सय मिटर टाढा रहेको उक्त ग्यास स्टेशन अगस्ट सन् २०२४ देखि युक्रेनी नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ । रूसले हालै सुड्झामाथि पुनः नियन्त्रण प्राप्त गरेको छ ।

रुसको अनुसन्धान समितिले शुक्रबार स्टेशनमा भएको विस्फोटको अनुसन्धान सुरु गरेको घोषणा गरेको छ । समितिले युक्रेनी सेवादारहरूले बिहीबार जानाजानी ग्यास स्टेशनमा विस्फोट गराएको र त्यसबाट ठूलो क्षति भएको बताएको छ ।

युक्रेनी सशस्त्र बलका जनरल स्टाफले सामाजिक सञ्जाल फेसबुकमा युक्रेनले ग्यास स्टेशनमा गोलाबारी गरेको सम्बन्धमा रूसको दाबी ‘आधारहीन’ रहेको र स्टेशनमा रूसीहरूले आफैंले बारम्बार गोलाबारी गरेको छ ।

पाँच वर्षे यातायात सम्झौताको म्याद सकिएपछि जनवरी १ मा सञ्चालन बन्द नभएसम्म यो स्टेशन युक्रेन हुँदै युरोपमा रूसी ग्यास निर्यातको लागि एक प्रमुख प्रवेश बिन्दु थियो ।

भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो

काठमाडौँ, ९ चैतः काठमाडौँस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार साँझ एक समारोहकाबीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलको लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताअनुसार थप अनुकूलित कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव सुनाउनुभयोे ।

समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वरकुमार ठाकुरको नेतृत्वमा भारतको सांस्कृतिक समूह ‘यज्ञ’द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मन्त्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज प्रस्तुत गरियो ।

सो अवसरमा सांसद, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थी र भारतीय शैक्षिक संस्थाका नेपाली पूर्वविद्यार्थी उपस्थित थिए ।अन्तरराष्ट्रिय क्षमता निर्माणका लागि पुरानो संस्थागत व्यवस्थामध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो । जसले १६० भन्दा बढी देशका दुई लाख बढी अधिकारीलाई तालिम दिएको छ ।

सन् २०२४–२०२५ मा नेपालका ५१० जना विभिन्न पेशाकर्मीलाई भारतका विभिन्न प्रमुख संस्थानमा विभिन्न कोर्षको लागि तालिम दिइएको थियो ।सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानमा नेपालका चिकित्सक (५०), सरकारी वकिल (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठानका सदस्य (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्षको व्यवस्था गरिएको थियो । नेपालबाट विगत १५ वर्षमा तीन हजारभन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ ।

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत), ९ चैतः “आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्”, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भन्नुभयो, “यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन् ।”

भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो–नेपाल व्यापार मेलामा अकलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाउनुभयो । “रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुःखाइ निको पार्छ, शरीरको दुखाइ तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

उपभोक्ताले उहाँका कुरा चाख मानेर सुनिरहेका थिए । “भाँडा बनाउनेले आयुर्वेदका कुरा गरेको नसुहाउला, म त धेरै जान्दिन, यसबारे इन्टरनेटमा सर्च गर्नु त”, उहाँले थप्नुभयो । सामान बिक्री गर्नुभन्दा बढी यसबारे जानकारी दिनु हो भन्ने उहाँलाई लाग्छ । सबैले यसको महत्व थाहा पाए, यति सामान बिक्री हुन समय लाग्दैन भन्ने उहाँले बुझ्नुभएको छ । त्यसैले उहाँ सबैलाई फोटो खिच्न र युट्युवमा भिडियो हेर्न आग्रह गर्दै हुनुहुन्थ्यो । “आज नकिन्नेले घर गएर युट्युवमा हेरे भोलि किन्न आइहाल्छन्, त्यसैले सबैलाई यसबारे फोटो खिच्न भनिरहेको छु”, उहाँले भन्नुभयो ।

अघिल्ला दुई वटा महोत्सवमा राम्रो व्यापार हुँदा हौसिनुभएका उहाँले यसपाली १०२ वटा काठका भाँडा ल्याउनुभएको रहेछ । यसपटक उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको उहाँले बताउनुभयो ।

“पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा २÷३ दिनमै बिक्री भइसकेका थिए, यसपाली पनि सुरुआत राम्रो छ”, उहाँले भन्नुभयो । उहाँले विजयसाल काठबाट बनेका आम्खोरा, गिलास र कप बनाउनुभएको छ । धेरै पैसा खर्च नगर्नेका लागि स–साना आकर्षक टुक्रा पनि बनाउनुभएको छ ।

कञ्चनपुर भीमदत्त नगरपालिका–१ भाँसी मेरिट महिला मार्केटिङका सञ्चालक बोहोराले २०५७ सालदेखि विजयसालका भाँडा बनाउन सुरु गरेको बताउनुभयो । “पहिले त धैरै भाँडा बनाउँथे, अहिले काठ पाइनै छाड्यो, कुनै समय वर्षमा १० हजारसम्म भाँडा बनाए, अहिले ३÷४ सय पनि पुग्दैन”, उहाँले भन्नुभयो ।

विजयसाललाई संरक्षित बोटको सूचीमा राखेपछि काठ पाउन गाह्रो भएको उहाँको भनाइ छ । उहाँका अनुसार यो काठ कञ्चनपुर, कैलाली र कपिलवस्तुका वनमा बढी पाइन्छ । अहिले कञ्चनपुरका वनमा ढलेपडेका काठ बोलपत्रमार्फत खरिद गर्नुपर्छ, एक क्युफिटको रु तीन हजार तीन सय पर्ने तर पनि पाउन गाह्रो हुने उहाँले बताउनुभयो ।

काठ पाउन छाडेपछि उहाँले पछिल्लो समय भीमदत्त, बेदकोट र बेलोरीका ३०० विरुवा वितरण गर्नुभएको छ । आफैँले पनि तीन वटा बोट रोपेको बताउनुभयो । “मैले रोपेको २० वर्ष जति भयो, २०÷२२ फिट अग्लो भएको छ, यो काठका लागि मात्रै होइन, खोट र पातको पनि ओषधीय प्रयोग गर्ने चलन छ”, उहाँले भन्नुभयो ।

महोत्सवमा विजयसालका काठबाट निर्मित भाँडामा जस्तै नेपाली रुद्राक्ष तथा बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पामा उत्पादित ढाकाका विभिन्न पहिरन, सिन्की, नेपाली पोते, मस्यौराका साथै रुकुम रोल्पामा उत्पादित भीर मौरीको मह, थाङ्का चित्रकलामा पनि देहरादूनबासीले उत्तिकै चासो दिएका छन् । महोत्सवमा नेपाली हस्तकला धेरैले मन पराएका छन् ।

महोत्सवमा भाग लिन चितवन भरतपुरबाट आउनुभएकी मान्द्रो नेपालकी सञ्चालक अम्बी धितालले आफूले नेपाली उत्पादनहरु मस्यौरा, तितौरालगायत ल्याएको बताउनुभयो । “हाम्रो कुल उत्पादनमध्ये ६० प्रतिशत विदेश निर्यात हुन्छ, यो महोत्सवले देहरादूनमा बजार विस्तारमा सहयोग गर्ने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

महोत्सवमा काठमाडौँ कीर्तिपुरबाट पुग्नुभएकी राजधानी हस्तकलाकी सञ्चालक रजनी चित्रकार आफू यसअघि तीन पटक यस महोत्सवमा सहभागी भइसकेको उल्लेख गर्दै विगतका महोसत्वमा राम्रो व्यापार भएकाले यसपाली पनि आएको बताउनुभयो । “सामान यहाँसम्म ल्याउन कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सहयोग गरेको छ, स्टल निःशुल्क उपलब्ध गराएको छ, महोत्सवले नेपाली हस्तकलाको बजारीकरणका लागि सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

कैलाली घोडाघोडी–२ मा अशिषेक मौरीपालन फर्म सञ्चालक उमा खत्रीले महोत्सव नेपाली उत्पादनको प्रचारप्रसारका लागि उपयुक्त थलो भए पनि उत्पादन ल्याउनका लागि सहज नभएको बताउनुभयो । “महोत्सवमा सहभागी हुँदा नेपाली उत्पादनको प्रचारप्रसार तथा नयाँ बजार खोज्नमा सहयोग पुग्छ तर सीमाबाट सामान ओसारपसारमा भने सहज हुनु जरुरी छ”, नेपाल मौरीपालन सङ्घका केन्द्रीय उपाध्यक्ष खत्रीले भन्नुभयो, “अहिले पनि सामान ल्याउन सहज भएन, दुवै देशका सरकारले यस विषयमा ध्यान दिन जरुरी छ ।”

काठमाडौँ नागार्जुनमा ग्लोबल नेचर एग्रोटेक सञ्चालन गरिरहनुभएकी संगीता गुरुङले रोल्पा र रुकुममा उत्पादित भीर मौरीको मह ल्याएको बताउनुभयो । “श्रीमान ओमप्रकाश गुरुङ आफैँ भीर मौरीको मह निकाल्न जानुहुन्छ, भीर मौरीको मह धेरैले रुचाउनुभएको छ, त्यसबाहेक टिमुर र कोदोको पीठोको बिक्री पनि राम्रो छ”, उहाँले भन्नुभयो, “महोत्सवका कारण नेपाली उत्पादनलाई यहाँसम्म ल्याउन सजिलो भयो ।”

काठमाडौँ कोटेश्वरमा कोसेली ढाकाका सञ्चालक करुण राईले भने हातले बुनेका विभिन्न पोशाक ल्याएको बताउनुभयो । “यो पोशाक मात्रै होइन, नेपाली पोशाक र नेपाली हस्तकलाको प्रवर्द्धन पनि हो, देहरादूनमा उल्लेख्य सङ्ख्यामा नेपाली रहेकाले महोत्सवमा सहभागी भएका हौँ”, उहाँले भन्नुभयो ।

महोत्सवमा भक्तपुरस्थित कुवेर थाङ्का एण्ड आर्टस् एण्ड ट्रेडर्सका सञ्चालक लायन तामाङ पनि भेटिनुभयो । उहाँले स्टलमा रुद्राक्ष, बोधिचित्तका मालाका साथै, रु ५० हजारसम्म मूल्य पर्ने थाङ्का बिक्रीका लागि राख्नुभएको छ । “महोत्सव नेपाली चित्रकलालाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर पनि हो, चित्रकलामा धेरैले चाखपूर्वक अवलोकन गरेका छन्”, उहाँले भन्नुभयो ।

त्यसअवसरमा अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायतका गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन् । महोत्सवमा नेपालका ५० र भारतका १५० वटा स्टल छन् ।

गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा, ९ चैतः यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले दिनुभएको जानकारीअनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ । पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायव महानिरीक्षक आचार्यले बताउनुभयो ।

यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो ।

यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ । राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेको थियो ।

प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटकपटक यस घट्नाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०५ पैसा र बिक्रीदर चार रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६० पैसा र बिक्रीदर १३ रूपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रूपैयाँ ३९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने

मनाङ, ९ चैत : हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो ।

नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बिओपी स्थापना गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिनुभयो । सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताउनुभयो ।

जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरिएको छ । “फू क्षेत्र मनाङको विकट क्षेत्र हो । हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बिओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ”, प्रजिअ आचार्यले भन्नुभयो ।

बिओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । प्रजिअ आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बिओपी गरिने बताउनुभयो ।उहाँले बिओपी स्थापना पछि शान्ति सुरक्षा, विपद व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको बताउनुभयो । नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्दछ ।

उपराष्ट्रपति यादवद्वारा पानी संरक्षणमा जोड

काठमाडौँ, ९ चैत : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

उहाँले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि पानीको संरक्षण जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

“पानी बिना जीवनको कल्पनासम्म गर्न सकिन्न । पानीको संरक्षण र यसको समुचित उपयोगका लागि सक्दो प्रयास र सार्थक पहल गर्दै भावी पिँढीका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट भई अग्रसर हुन आवश्यक छ,” उहाँले भन्नुभएको छ ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग पुग्दछ ।

सन् २०२५ मा यो दिवसको नारा ‘ग्लेसियर प्रिजर्भेसन (हिमनदी संरक्षण)’ रहेको छ । उपराष्टपति यादवले बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न हुने बताउनुभएको छ । त्यसैगरी, पानीको कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, सरोकारवालाको सहभागितामा कमी, माटो क्षयीकरणलगायतले पनि पानीको सङ्कट गहिरिँदै गएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “पानीको अपर्याप्तताले पारिस्थितिक प्रणालीलाई अवरोध सिर्जना गर्दै खाद्य र पानी सुरक्षालाई सङ्कटमा पार्न सक्ने छ, नेपालमा पानीको स्रोतको स्तर तीव्र रूपमा घट्दो छ ।”

संसद् समीक्षाः कानुन निर्माणमा सक्रियतादेखि दलितमाथिको ज्यादती विरुद्ध साझा प्रतिवाद

काठमाडौँ, ९ चैतः जनताको आवाज प्रत्यक्ष रूपमा मुखरित गर्ने जनप्रतिनिधिमूलक थलोको रूपमा स्थापित सङ्घीय संसद्को बैठक यस साता नियमित रूपमा सञ्चालन भयो । प्रतिनिधिसभाका चार वटा बैठक बस्यो । राष्ट्रियसभाका तीन वटा बैठक यो साता सम्पन्न भए ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरदेखि अन्य कानुन निर्माणका दृष्टिले यो साता महत्त्वपूर्ण उपलब्धी भएका छन् । सङ्घीय संसद्को बैठकमा महायज्ञको नाममा दलितमाथि गरिएको ज्यादतीदेखि काठमाडौँको टोखामा ठूलो मात्रामा विदेशी मुद्रा फेला परेको विषयले प्राथमिकता पायो । लामो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहार विरुद्ध सत्तापक्ष र प्रतिपक्षका सांसदले जमेर प्रतिवाद गर्नुका साथै नागरिकका दैनिक समस्यासँग जोडिएका विषयमा संसद्मा महत्त्वपूर्ण छलफल भए ।

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिने सन्दर्भमा सरकारले कानुन नै तयार पार्न लागेको भन्दै संसद्मा प्रतिवाद भयो । सत्तापक्ष र प्रतिपक्षका सांसदले सरकारको उक्त तयारीप्रति आपत्ति जनाउँदै खबरदारी गर्नुभयो ।

संसदीय गतिविधिका हिसाबले यो साता दुवै सदनले सक्रिय भूमिका निर्वाह मात्रै गरेन, संसदीय समितिका बैठकसमेत नियमित बसे । सङ्घीय संसद् सचिवालयले संसदीय समिति र सङ्घीय संसद् बैठकको नियमित कार्यतालिका तय गरेर कार्यान्वयनमा ल्याएपछि गतिविधि प्रभावकारी रूपमा अगाडि बढेका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित टेबुल भए ।

प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएकामा बैठक पुनःसञ्चालनमा आउन सकेन । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचनामार्फत बैठक यही चैत १० गते आइतबार बस्ने जानकारी दिनुभयो । यसअघि विधेयकको तीन महले प्राप्त नभएको भन्दै सांसदहरुले आपत्ति जनाउनुभएपछि बैठक स्थगित भएको थियो ।

शुक्रबारको बैठकमा दलित समुदायको घरमा डोजर लगाइएको विषयमा सांसदले संसदीय छानबिनको माग गर्नुभएको थियो । सांसद भुवनबहादुर सुनारले सिरहा औरही–५ का दीपक मलिक डोमको परिवारमाथि स्थानीय सरकार प्रमुख नै संलग्न भएर डोजर चलाएको घटनाप्रति आपत्ति प्रकट गर्दै संसदीय छानबिनको माग गर्नुभएको थियो । त्यसैगरी प्रतिनिधिसभाको यही चैत ७ गतेको बैठकमा समेत सो विषय मुखर भएको थियो ।

नेकपा(माओवादी केन्द्र)का सांसद रणेन्द्र बराइली, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार र नेकपा(एमाले)का सांसद सम्झना थपलियाले यज्ञको नाममा दलितको घरमा डोजर लगाउने विषय कुनै पनि अर्थमा क्षम्य नभएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सांसद परियारले भन्नुभएको थियो, “धर्मको आडमा सिरहामा जे घटना घट्यो त्यो जातीय विभेदको चरम घटना हो । त्यस घटनाले हाम्रो समकालीन चेतना, नेपालको कानुनी शासन, मानव अधिकारप्रतिको प्रतिवद्धता र संविधानलाई गिज्याएको छ । ”

सांसद रणेन्द्र बराइली भन्नुभयो, “नेपालमा दलितले टेक्ने माटो नै छैन भनेपछि कहाँ जाने त ? दलितले टेकेको धर्तीसमेत अपवित्र हुन्छ भने अब दलितले कुन धर्ती टेक्ने ?”

यसै साता प्रतिनिधिसभाले आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयक प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सिर्जना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भइ मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ ।

विहीबार मात्रै प्रतिनिधिसभाले ‘निजीकरण (पहिलो संशोधन विधेयक),२०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीन वटै विधेयकले मुलुकको अर्थतन्त्रलाई थप लयमा लैजान मद्दत गर्नेछ ।

सरकारले ‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल बनाएको छ । सो ऐनको पहिलो संशोधन गर्दै सरकारले विधेयक प्रस्तुत गरेको हो । यसमा सरकारी लगानी व्यवस्थापन तथा प्राथमिकता निर्धारण गर्ने विषयलाई महत्वका साथ समावेश गरिएको छ ।

सरकारले यसअघि सङ्घीय संसद्को बैठक नबसेको समयमा सो विधेयकलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको थियो । घाटामा रहेको, रुग्ण अवस्थामा भएका वा अन्य कुनै पनि कारणले समस्यामा परेको उद्योग प्रतिष्ठानलाई थप सबल बनाउने उद्देश्य राखिएको छ ।

विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताउनुभएको थियो । उहाँले कमजोर क्षमतामा चलेका, रुग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्न निजीकरणलाई एकमात्र विकल्पका रूपमा लिनु हँुदैन भन्ने संशोधनको मूल मर्म हो भन्नुभयो । प्रतिपक्षी दलका सांसदले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गर्नुभएको थियो ।

यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । सो विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने सरकारको बुझाइ छ । विधेयकले नेपालको संविधानको मर्म र सङ्घीयताको मर्मअनुरूप नै बजेट निर्माण गर्ने विषयलाई सुत्रबद्ध गरेको छ । त्यस्तै प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पनि पारित गरेको छ । सो विधेयकले पनि आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

विभिन्न ऐनलाई सरकारले समयानुकूल र लगानीमैत्री बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरेको हो । सो विधेयकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, राजस्व न्यायाधिकरण ऐन, २०१३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ का केही प्रावधान संशोधन गरेको छ ।

यसैगरी, मध्यस्थता ऐन, २०५५, कम्पनी ऐन, २०६३, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, पनि सो विधेयकमार्फत संशोधन गरिएको छ ।

यही चैत ६ गतेको राष्ट्रियसभाको बैैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको थियो । त्यसदिन ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन’लाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल भएको थियो ।

ती विधेयकमाथि शुक्रबार छलफल गरी पारित गर्ने कार्यसूची भएपनि राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसद््मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै रेणु चन्दले नियमापत्ति गर्नुभयो । उहाँको नियमापत्तिपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नियमावलीमा भएका व्यवस्था बाझिएकाले केही समयका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो ।

प्रतिनिधिसभाको चैत ६ गतेको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । सोही दिन राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको थियो ।

प्रतिनिधिसभाको चैत ३ गतेको बैठकमा सांसदले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाउनुभएको थियो । बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राख्नुभएको थियो । उहाँले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा शोभनीय नभएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा जनतालाई राहत दिएर भरोसा बढाउनुपर्ने बेलामा पूर्वविशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिने प्रस्ताव प्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले मुलुकको अर्थतन्त्र खस्किएको अवस्थामा राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राख्नुभएको थियो । त्यसदिनको बैठकको शुन्य समयमा समेत अधिकांश सांसदले सोही विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद चित्रबहादुर केसीले पूर्वविशिष्ट पदाधिकारीलाई सेवासुविधा दिने सरकारको तयारीको आलोचना गर्नुभएको थियो । उहाँले पछिल्लो समय जनता र सरकारबीचको दूरीलाई यसले अझ चर्काउन सक्ने भन्दै गम्भीर हुन सरकारसँग आग्रह गर्नुभयो । “मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, यतिबेला सरकारले पूर्वविशिष्टलाई कानूनी व्यवस्था गरेर सेवासुविधा दिने कुरा गर्ने ?”, उहाँले भन्नुभयो, “सरकार र व्यवस्थाप्रति जनताको आक्रोश अझ बढ्ने छ । सरकार गम्भीर हुनुपर्छ ।”

त्यसदिन सँंसदहरुले बाँकेको जयन्दु बालसुधार गृहमा भएको झडपमा परी ४९ जना घाइते भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद सूर्यप्रसाद ढकालका अनुसार, विसं १९८० मा नेपालमा कारागार स्थापना भएको सो सुधार गृहमा महिलासँगै पाँच वर्षमुनिका ४२ जना आश्रित बालबालिका रहेको तथ्याङ्क दिनुभयो ।

बैठकको आकस्मिक समयमा सांसद हितराज पाण्डेले गत फागुन २८ र २९ गते गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति भएको बताउनुहुँदै क्षतिको तथ्याङ्क सङ्कलन गरी संसद््मा जानकारी गराउन माग गर्नुभएको थियो ।

बैठकमा नेपाली जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतत्तात्मक व्यवस्थाप्रति फैलाइएको गलत प्रचारका विरुद्ध सांसदले प्रतिवाद गर्नुभएको थियो । उहाँहरुले मुलुकमा भ्रम र निराशाको खेती व्यापक रूपमा चलेको एवं कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको दुरूपयोग भइरहेकामा आपत्ति प्रकट गर्नुभयो ।

एमालेका सांसद रघुजी पन्तले २०६५ जेठ १५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको १५ वर्षपछि नेपालीको आय यो अवधिमा झण्डै तीनगुणा बढेको जानकारी दिनुभएको थियो । “आर्थिक विकासका साथसाथै लोकतन्त्रको महत्व बढी छ”, सांसद पन्तले भन्नुभयो, “राजाको ३० वर्षे पञ्चायतीकालभन्दा अहिलेको व्यवस्थामा देशमा धेरै आर्थिक विकास र जनताको प्रगति भएको छ । त्यसैले राजाको पालामा र अहिलेको पालामा तुलना गर्ने हो भने अहिले जनताको जीवनस्तरमा सुधार आएको छ । तर, केही भएन भनेर जनतामा गलत भ्रम फैलाउने भाष्य बनाइएको छ ।”

उहाँले थप अगाडि भन्नुभएको थियो “तराईको भूमिपुत्रलाई राष्ट्रपति बनाइयो के बिग्रियो ?, सुदूर पहाडकी चेली राष्ट्रपति भइन् के बिग्रियो ?, भोलि, राई, लिम्बू वा कुनै समुदायको व्यक्ति राष्ट्रपति होला किन आपत्ति गर्नुप¥र्यो”

माओवादी केन्द्रका सांसद विमला सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको थियो । उहाँले राजतन्त्रवादीहरु व्यवस्थाकाविरुद्धमा लागेको उल्लेख गर्दै बेलैमा सचेत रहन र गणतन्त्रप्राप्तिका लागि भएका योगदानको सम्मान गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको थियो । सांसद सुवेदीले भन्नुभयो “यो लोकतान्त्रिक शासन व्यवस्थामा राजा ल्याउने सपना देख्न पाइन्छ तर राजतन्त्र फर्काउने कुरा सम्भव छैन । राजसंस्था फर्केला भनेर भ्रमको खेती गर्न पनि पाइन्न ।”

त्यसदिनको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

यसैगरी चैत ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बसे । त्यसदिन प्रतिनिधिसभाले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलसहित पारित भए । त्यसैगरी राष्ट्रियसभाको बैठकले बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धि समितिको प्रतिवेदन पेश भयो भने तिलगंगा नेत्र विश्वविद्यालय विधेयक छलफलसहित पारित ग-यो ।

आज विश्व पानी दिवस मनाइँदै, संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी

काठमाडौँ, ८ चैतः ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ ।बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ ।

पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।

संसारभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नूनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न मिल्दैन । पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ । अन्तरराष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनाका लागि नौ हजार घनमिटर पानीको आवश्यकता पर्छ ।

संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।

नेपालको हकमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउँछ तर हाम्रो देशमा हालसम्मको उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घनमिटर छ ।

संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी रहेको छ । औद्योगिक राष्ट्रको कहालीलाग्दो औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण पानीको परम्परागत मूल सुक्दै गएका छन् । पछिल्ला वर्षमा हिमनदी सुक्दै गएका छन् भने विश्वका करिब एक अर्ब मानिस पानीको समस्यामा छन् ।

जलवायु परिवर्तनले संसारभर पारेको प्रभाव हरितगृह ग्याँस उत्सर्जन, हिमनदी र हिमताल फुट्ने खतरा बढेको सन्दर्भलाई मनन् गर्दै अगाडि बढ्नु जरुरी भइसकेको छ । नदीमा मानवीय अतिक्रमण बढेको, अनियमित तवरले भूमिगत पानी निकालिएको, पानीको रिचार्ज गर्नेतर्फ ध्यान दिन सकिएको छैन । वर्षातको पानी पनि खेर गइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ । विश्वभर रहेका सात अर्ब बढी मानिस २५ लिटरका दरले मात्रै पानी उपलब्ध गराउने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ ।

दू्रतगतिमा बढ्दो सहरी जनसङ्ख्या, कारखाना र जलवायु परिवर्तनको अनिश्चितता, शहरी जल प्रणालीमा द्वन्द्व र प्राकृतिक प्रकोपमा अन्तरराष्ट्रिय जगतको ध्यान खिच्न पानी दिवस सफल भए पनि प्रभावकारी कार्यान्वयनका लागि भने उपलब्धि हासिल हुन नसकेको गुनासो व्याप्त छ ।

नेपाल जलस्रोतमा धनी मुलुक भए पनि उचित व्यवस्थापनको अभावमा नागरिकले उचित मात्रामा पानी पाउन नसकेको, उचित उपयोग हुन नसकेको तथा नीतिगत रूपमा समेत प्रभावकारी व्यवस्थापन हुन नसकेको सन्दर्भमा पानी दिवसले महत्वपूर्ण शिक्षा दिनेछ ।

सरकारले नेपालमा पानी र ऊर्जाबीचको अन्तरसम्बन्धका बारेमा जनचेतना जागृत गर्न, जल उपयोग नीतिगत तहमा बहस चलाउन, जल तथा ऊर्जा क्षेत्रका सरोकारवालाको पहिचान जल तथा ऊर्जाबीचको अन्तरसम्बन्धको विषयमा सरोकार भएका पक्षलाई सक्रिय बनाउने साथै जल र ऊर्जाको क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई एउटै छातामुनि ल्याउने उद्देश्यसहित साताव्यापी कार्यक्रम गर्दै आएको छ ।

नेपालका अधिकांश नदी हिमाल केन्द्रित रहे पनि जलवायु परिवर्तनका कारण समस्या बढेको चर्चा चलिरहेका बेला हिमनदीको संरक्षणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।

‘वर्तमान सरकार गठन भएपछि मुलुकमा सकारात्मक परिवर्तन देखा परेका छन्’ : महासचिव पोखरेल

काठमाडौँ, ८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार गठन भएपछि मुलुकमा आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखा पर्न थालेका बताउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि मुलुकमा आर्थिक गतिविधि चलायमान हुँदै गएको उल्लेख गर्नुभयो । “दुई ठूला दलबीच समझदारी भएर वर्तमान सरकार बनेकाले यो सरकार परिवर्तन हुँदैन”, उहाँले भन्नुभयो, “यो सरकारले जनता केन्द्रित भएर काम गरिरहेकाले पनि यसलाई स्थायित्व दिनुपर्ने जरुरी छ ।”

महासचिव पोखरेलले भन्नुभयो, “जतिबेला मुलुकको आर्थिक अवस्था नाजुक बन्दछ र जनतामा निराशा फैलिन्छ । राज्यको शासन व्यवस्थामाथि सङ्कट आउँछ, त्यस्तो अवस्थामा प्रमुख पार्टी मिलेर जनताको निराशा अन्त्य गर्ने, अर्थतन्त्रलाई उकास्ने र मुलुकलाई सही मार्गमा हिँडाउने जिम्मेवारी रहन्छ । अहिले त्यही कर्तव्य पूरा गर्न दुई पार्टी मिलेका हुन् ।”

उहाँले पार्टीले यही चैत ११ गतेदेखि सञ्चालन गर्ने जनचेतनामूलक अभियानमा सरकारले गरेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराइने बताउनुभयो । महासङ्घका अध्यक्ष एनपी साँवाले सरकारले उद्योग व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । आजको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

पोखरा र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने

सिचुवान (लुझाउ), ८ चैत : पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र चीनको सिचुुवान प्रान्तको लुझाउ नगर प्रमुख यु छिन्हीबीच लुझाउमा औपचारिक भेटवार्ता भएको छ । लुझाउ नगरको औपचारिक निमन्त्रणामा आउनुभएका महानगर प्रमुख आचार्य र उहाँसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुख छिन्हीले स्वागत गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका वडा नं २१ का वडा अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो । 

भेटमा महानगर प्रमुख आचार्यले नेपाल र चीन बीचको युगौँदेखिको सम्बन्ध भएको बताउँदै असलमित्र राष्ट्रका रुपमा आफूहरूले लिने गरेको बताउनुुभयो । पोखरा र लुुझाउ एक अर्कामा भगिनी सहर भएको बताउँदै उहाँले पोखराबाट सिचुवानको छेन्दुुमा सुरु गरिएको व्यावसायिक उडानले दुवै सहरबीचको सम्बन्धलाई अझै मजबुुद बनाउने बताउनुुभयो ।

पोखरा–छेन्दु नियमित उडानसँगै पोखरासँग लुझाउसँगको सम्बन्धलाई अझ नजिक बनाउने बताउँदै उहाँले यस उडानलाई नियमित गराउनका लागि साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । दुई भगिनी सहरबीचको सम्बन्धलाई आगामी दिनमा अझै उचो बनाउने कुरामा आफूहरू लागेको बताउँदै महानगरप्रमुख आचार्यले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा साझेदारी बढाउनका लागि आग्रह गर्नुभयो ।

पोखरामा परम्परागत चिकित्सा पद्धतिमा विश्वास गरिने उल्लेख गर्दै उहाँले लुुझाउमा रहेको परम्परागत चिकित्सा प्रणालीका लागि सहकार्य बढाउन आँफूहरूले सहयोग गर्ने बताउनुुभयो । चीन सरकारले चिनियाँ नागरिकका लागि २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्था एवं पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको बताउँदै उहाँले पोखरा सहित नेपालमा चिनीया पर्यटकको आगमन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले लुझाउ नगर प्रमुख छिन्ही सहित प्रतिनिधिमण्डललाई पोखराको औपचारिक भ्रमणका लागि आग्रह गर्नुभयो ।

लुझाउ नगरका प्रमुख यु छिन्हीले पोखरासँगको द्विपक्षीय सम्बन्धलाई भगिनी शहरका रुपमा आगामी दिनमा अझै प्रगाढ बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । पोखरासँग शिक्षा स्वास्थ्यसँगै पर्यटन, संस्कृति, कृषि, खेलकुुद आदि क्षेत्रमा सहकार्य गर्न आँफूहरू तयार रहेको उहाँको भनाइ छ ।

चीनमा परम्परागत चिकित्सा पद्धति लामो समयदेखि प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै उहाँले नेपालको आयुर्वेदिक चिकित्सा पद्धतिसँग पनि सहकार्य गर्ने उहाँले बताउनुभयो । नेपालका भएका जडिबुटीबाट औषधी निर्माण, तथ्यांक संकलन जस्ता कुरामा सहकार्य बढाउन सकिने उहाँको भनाइ छ ।

पोखरासँग लुझाउकोे भौगोलिक अवस्थिति पनि मिल्दोजुुल्दो भएको बताउँदै उहाँले यहाँको जनसङ्ख्या ठूलो रहेको हुँदा राम्रो बजारीकरण हुुन सकेमा पर्यटनका क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुुग्न सक्ने उहाँले बताउनुभयो । पोखरा र लुझाउबीच पर्यटन एवं संस्कृति विभागबीच सहकार्य एवम् समन्वयका साथै त्यहाँका प्रवद्धनात्मक समाग्रीहरू पठाउन पनि उहाँले आग्रह गर्नुभयो । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखराबाट चीनको छेन्दुसम्म सुरु भएको व्यावसायिक उडान आगामी दिनमा पोखरा र लुझाउको सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुुभयो । नेपाल चीनबीचको औपचारिक सम्बन्ध गाँसिएको ७०औँ वर्ष गाँठ मनाइरहँदा चीन सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२५ र पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ समेतका कारण पोखरासहित नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उहाँको भनाइ छ ।

नेपालको पर्यटन बजारको महत्त्वपूर्ण स्रोत चीन भएको बताउँदै उहाँले चिनियाँ पर्यटकलाई लक्षित गरी होटेल रेष्टुरेण्ट एवं पर्यटक पथप्रदर्शकहरू तयार रहेको बताउनुभयो । लुझाउ र पोखराबीचको पर्यटकीय सम्बन्धलाई अघि बढाउनका लागि पोखरा–छेन्दु उडानलाई नियमित बनाउँदै अधिकतम पर्यटक पठाउनका लागि उहाँले आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले लुझाउ नगर प्रमुखसहितको प्रतिनिधि मण्डल चाँडै नै पोखरामा औपचारिक भ्रमणमा आउने विश्वास व्यक्त गर्दै आफूहरू स्वागतको पर्खाइमा रहेको बताउनुभयो । लुझाउ सहरको सुन्दरता र भइरहकेको विकास अद्भुत रहेको बताउँदै उहाँले यहाँ पोखराका लागि जान्ने र बुझ्ने कुरा धेरै पाइएको बताउनुभयो । पोखरा–छेन्दुु नियमति उडानका लागि लुझाउका तर्फबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताउँदै उहाँले यसले दुवै भगिनी सहरको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू पर्याप्त रहेको बताउँदै आफूहरू चीनबाट अधिकतम पर्यटकको स्वागतको पर्खाइमा रहेको बताउनुुभयो । भेटमा लुुझाउ नगरका तर्फबाट साउथ वेष्ट मेडिकल युुनिभर्सिटीका अध्यक्ष हि ताओ, नगरका उपप्रमुख लुओ सुपिङलगायतको उपस्थिति रहेको थियो । 

एसइई परीक्षा : अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ विद्यार्थी अनुपस्थित

बागमती, ८ चैत : माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार आज दोस्रो दिनको एसइई परीक्षामा साधारणतर्फ ७१, प्राविधिकतर्फका छ र ग्रेडवृद्धितर्फ ६२ जना विद्यार्थी अनुस्थित भएका छन् ।

अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ पाँच हजार चार सय ७१, प्राविधिकधार तर्फ दुई सय २० र ग्रेडवृद्धितर्फ एक सय ८५ गरी पाँच हजार आठ सय ७६ जना परीक्षार्थीले परीक्षा दिएको प्रमुख गिरीले बताउनुभयो । सामुदायिक तथा संस्थागत गरी एक सय ३९ विद्यालयबाट एसइईका लागि सात हजार चार सय ८१ विद्यार्थीले फारम भरेका थिए । मकवानपुरमा यस वर्ष २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छभने २८ वटा केन्दाध्यक्ष, ५१ जना सहायक केन्दाध्यक्ष, तीन सय ७४ निरीक्षक, ७६ परीक्षा सहायक र एक सय ५० कार्यालय सहयोगी र चार सय २० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख गिरीले बताउनुभयो ।

कारागारबाटै एसइईको परीक्षा दिँदै कैदीबन्दी

मकवानपुरको भिमफेदीस्थित कारागारमा छ जना कैदीबन्दी यस वर्षको एसइईमा सहभागी भएका छन् । कारागारमा रहेका सवारी ज्यान, जबर्जस्ती करणी, डाका, चोरी र लागुऔषध मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका छ जना एसइई परीक्षामा सहभागी भएको जेलर तीर्थराज पौडेलले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसइई परीक्षाको फारम भरेका कैदीबन्दीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको जेलर पौडेलले बताउनुभयो । प्रश्नपत्र र उत्तरपुस्तिका लिएर शिक्षक आउने र परीक्षा लिएर फर्किने गरेको जेलर पौडेलको भनाइ छ ।

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको निर्माण कार्य अन्योल

काभ्रेपलाञ्चोक, ८ चैत : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । चार किलोमिटर सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै सडक डिभिजन कार्यालय भक्तपुरले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा अदालतमा मुद्दा हालेका थिए ।

सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिउको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनअघि अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि खण्डखण्डको काममा अन्योलता छाएको हो ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रू २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्प प्रायः नै थियो ।

कार्यालयका प्रमुख डिजिनल सिनियर इञ्जिनियर सुमन योगेशले अदालतबाट अन्तरिम आदेश आए पनि पुनःठेक्का प्रक्रियाको काम अघि बढिरहेको बताउनुभयो । “कानुनतः पुनः ठेक्का खोल्ने प्रक्रियामा अघि बढ्न मिल्छ, यसका लागि मन्त्रालयस्तरमा निर्णयको प्रक्रिया अघि बढिरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिने तयारीमा छ भने यसपछि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्नेछ ।

यसैबीच ठेक्का रद्द गरिएको तथा अदालतले हाललाई कुनै पनि काम अघि नबढाउने अन्तरिम आदेश दिएपछि स्थानीयले धुलोका कारण जनजीवन प्रभावित भएको जनाउँदै बिहीबार तीन घण्टा सडक अवरूद्ध गरेका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय भक्तपुरबीच पुनःसडक निर्माणको काम सुरू नभएसम्मका लागि दैनिक दुई ट्याङ्कर पानी हाल्ने सहमतिपश्चात् सडक अवरूद्ध गर्न बसेका स्थानीय पछि हटेका थिए ।

कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ ।

गत जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम सुरू गरिए पनि वर्षामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो ।

समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनः निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने

ताप्लेजुङ, ८ चैतः प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो ।

नेपाल सरकारद्वारा जारी विकास समिति ऐन, २०१३ बमोजिम विसं २०५३ मा गठन भएको पाथीभरा क्षेत्र विकास समितिले सो क्षेत्रको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ । समितिका अनुसार पाथीभरा मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरता कायम राख्न मुख्य प्रवेशद्वारभित्र कुनै नयाँ संरचना निर्माण नगर्ने निर्णय अनुरूप वृक्षारोपण, धामक्षेत्र व्यवस्थापनलगायत कार्य अघि बढाइएको छ ।

यसैबीच चैत ६ गते राति पाथीभराको डाँडामा गाडिएको मुकुम्लुङ (ढुङ्गा) र यग्राङसिं (फलामको नौतले भ¥याङ) हटाउन सम्बन्धित पक्षलाई तीन दिनभित्र सम्पर्क गर्न एक सूचनामार्फत आग्रह गरिएको छ । तोकिएको समयसीमाभित्र सम्पर्क नगरिएमा संरचना हटाउने कार्य समितिका तर्फबाट अघि बढाइने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

पाथीभरा क्षेत्रमा कुनै किसिमका निर्माण वा गतिविधि गर्दा समितिको स्वीकृतिबिना गर्दा अवैध हुने भएकाले समन्वयका लागि सम्बन्धित पक्षलाई समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको उहाँले उल्लेख गर्नुभयो ।

विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ८ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा उहाँले शोषक, सामन्तीहरूको षड्यन्त्रको कारण विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य बनेकाले समावेशी र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानप्रदत्त नागरिकको अधिकार सुनिश्चितता गरी जातीय, लैङ्गिक तथा वर्गीय विभेद अन्त्य गर्न सकिने बताउँदै नेता खनालले कसैलाई विभेद गरेर, अछूत बनाएर, दलित भएकै कारण हत्या गरेर नयाँ नेपाल बन्न नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले समतामूलक समाज निर्माणको बाटोमा अघि बढ्दै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानलाई सार्थक बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट वञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूल प्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील बन्न सुझाव दिनुभयो ।

समितिका संयोजक तथा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले आफ्नो संस्थाले करिब १५ वर्षदेखि दलित समुदायका हक–अधिकारका लागि साझा मुद्दाका लागि क्रियाशील रहँदै आएको जानकारी दिँदै ‘समान हक, समान अवसर, पूर्ण समानुपातिक प्रतिनिधित्व दलित समुदायको अधिकार’ भन्ने मूल नाराका साथ नेपालको दलित आन्दोलनको समीक्षा गरिएको बताउनुभयो ।संयुक्त राष्ट्रसङ्घले सन् १९६६ देखि हरेक वर्ष २१ मार्चमा अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउँदै आएको जनाइएको छ ।

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री

काठमाडौँ, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकामा सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताउनुभएको छ ।
नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिनुभयो ।

दुईपटक मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रोपटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउन पाउँदा गर्व महसुुस भएको उल्लेख गर्नुभयो ।

सम्मेलनबाट प्राप्त निष्कर्षहरू सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गाैला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गर्नुभयो ।कार्यक्रममा समाजका अध्यक्ष प्रा डा दिव्यासिंह शाहले दक्षिण एसियामा मिर्गाैला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित

भैरहवा (रूपन्देही), ८ चैतः जिल्लामा जारी एकदिवसीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी र कर्णाली प्रदेशले जित निकालेका छन् । सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गरेको छभने कर्णालीले मधेस प्रदेशलाई ८१ रनको अन्तरले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा एक सय ९२ रनको लक्ष्यसहित मैदान छिरेको सशस्त्र प्रहरी ३६ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको थियो । सशस्त्रका लागि सन्दीप जोराले ५१ रन, आसिफ शेषले ३२ र लोकेश बमले १९ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले समान दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाए । यस्तै प्रकाश पाण्डेले ४२ रन र किरण ठगुन्नाले १२ रन बनाए ।

बलिङमा सशस्त्र प्रहरीका रोहित पौडेल र अमर रौटेलाले समान तीन–तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट र अभिषेक गौतमले एक विकेट लिए । यससँगै सशस्त्र प्रहरी छ खेलमा चारमा जित, दुईमा हारसहित आठ अङ्क लिएर प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छभने सात खेल खेलेको सुदूरपश्चिम दुईवटा मात्र खेल जितेर चार अङ्कका साथ सातौँ स्थानमा झरेको छ ।

आजै सम्पन्न अर्को खेलमा कर्णालीले मधेस प्रदेशलाई ८१ रनले पराजित गरेको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा दुई सय २१ रन पछ्याएको मधेस प्रदेश ३५ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ३९ रनमा सीमित भएको थियो । मधेसका लागि रुपेश सिंहले ३०, विशाल पटेलले २५, हरिशङ्कर साहले १८ र शैलेन्द्र साहले १० रन बनाएका थिए ।

बलिङमा कर्णाली प्रदेशका दिनेश अधिकारीले चार र दिपेन्द्र रावतले तीन विकेट लिए भने प्रकाश जैसीले दुई र सुनिल धमलाले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै कर्णालीले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय २० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६१ रन बनाए । यसैगरी अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २० रन बनाए ।

बलिङमा मधेस प्रदेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशङ्कर साह, कमल गुप्ता र अनिल साहले समान दुई/दुई विकेट लिए । सात खेल खेलेको कर्णाली चार जितसहित आठ अङ्क जोडेको छभने छ खेल खेलेको मधेसले दुई खेलमा मात्र जित निकाल्दै चार अङ्क प्राप्त गरेको छ ।

अमेरिकी धम्की अर्थहीन : खामेनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताउनुभएको छ ।

अयातोल्लाह अली खामेनीले फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै भन्नुभयो, “अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले ‘उनीहरूलाई कहीँ पनि पु¥याउँदैन’ ।”

उहाँले भन्नुभयो, “ यदि उनीहरूले इरानविरूद्ध केही गरे भने उनीहरूलाई कडा झापड लाग्नेछ भनी अमेरिकी र उसका अन्य सहयोगीले कुरा बुझ्नुपर्छ ।”
गत मार्च ७ मा ट्रम्पले खामेनीलाई पत्र लेख्दै तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न आग्रह गरेको र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।

बिहीवार विदेशमन्त्री अब्बास अराघचीले उक्त पत्र ‘खतराको विषय’ भएको तर यसले अवसर प्रदान गर्ने पनि बताउनुभएको थियो ।

अराघचीले तेहरानले आफ्नो प्रतिक्रियाबारे विचार गरिरहेको र आगामी दिनमा सार्वजनिक गरिने बताउनुभयो ।

बुधबार अमेरिकी समाचार वेबसाइट एक्जिओसले एक अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै ट्रम्पको पत्रले ‘नयाँ आणविक सम्झौतामा पुग्नका लागि दुई महिनाको समयसीमा’ तोकेको जनाएको छ ।

यसले दुई महिनाको अवधिको सुरु वा अन्त्य मिति निर्दिष्ट गरेको छैन।

खामेनीले यसअघि पनि ट्रम्पले वार्ताका लागि गरेको प्रस्तावलाई अस्वीकार गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकालाई वार्त ागर्न इच्छुक र इरानलाई संलग्न हुन अनिच्छुक भनेर चित्रित गरेर विश्वव्यापी जनमतलाई धोका दिन खोजेको आरोप लगाउनुभएको थियो ।

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले तेहरानविरुद्ध ‘अधिकतम दबाब’ दिने आफ्नो नीतिलाई पुनः स्थापित गर्नुभएको छ ।

आफ्नो पहिलो कार्यकालमा उहाँले सन् २०१८ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रुपमा फिर्ता गर्नुभएको थियो भने तेहरानमाथि पुनः व्यापक आर्थिक प्रतिबन्ध लगाउनुभएको थियो ।

इरानले सुरुमा ट्रम्पको बहिर्गमनपछि एक वर्षसम्म सम्झौताको पालना गरेको थियो तर पछि सम्झौताको हस्ताक्षरकर्ता बाहिरिएको अवस्थामा आफुमात्र यसको कार्यान्वयन गनए बाध्य नहुने भन्दै क्रमिक रूपमा सम्झौताबाट फिर्ता भएको थियो र युरेनियम संवद्र्धनको स्तर ६० प्रतिशतसम्म बढाएको थियो ।

वर्तमान स्तर सम्झौता अन्तर्गत निर्धारित ३.६७ प्रतिशत सीमा भन्दा धेरै बढी छ र आणविक हतियार निर्माणका लागि आवश्यक सामग्रीको लागि ९० प्रतिशत आवश्यकताको नजिक छ ।

आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास अहिलेसम्म असफल भएको छ ।

तेहरानले ट्रम्पलाई विरोधाभासी दृष्टिकोणको आरोप लगाउँदै आएको छ र दबाबमा वाशिङटनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएको छ।

“इरानले दबाब, धम्की र बढ्दो प्रतिबन्धको सामना गर्दा निश्चित रूपमा प्रत्यक्ष वार्ता गर्ने छैन,” अराघचीले बिहीबार भन्नुभएको थियो ।

एलन मस्कको एक्सद्वारा सामग्री नियमनमा भारत सरकारविरुद्ध मुद्दा दर्ता

एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारत नियमित रूपमा सामाजिक सञ्जाल सामग्री हटाउन सरकारले गरेको अनुरोधको सङ्ख्याका लागि विश्वव्यापी रूपमा शीर्ष पाँच देशमध्ये एक हो ।

एक्सको नयाँ मुद्दा प्लेटफर्मको भारतीय सरकारको सेन्सरशिप शक्तिहरू विरुद्धको नवीनतम चुनौती हो र यो मुद्दा मस्कको स्टारलिङ्क र टेस्ला विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयार भएको बेला आएको हो ।

यो मुद्दा अवरुद्ध गर्ने आदेशहरू जारी गर्न सरकारले प्रमुख कानूनी प्रावधानको प्रयोगको वरिपरि केन्द्रित छ, जुन एक्सले विद्यमान सुरक्षा उपायहरूलाई बेवास्ता गरेको आरोप लगाउँछ ।

“एक्सका अनुसार यो प्रावधान… सूचना अवरुद्ध गर्नका लागि गैरकानूनी समानान्तर संयन्त्र सिर्जना गर्न दुरुपयोग भइरहेको छ”, भारतीय कानूनी समाचार वेबसाइट बार एन्ड बेन्चले बिहीबार जनाएको छ ।

यस हप्ताको सुरुमा छोटो सुनुवाइमा कुनै निष्कर्षमा पुग्न नसकेपछि दक्षिणी राज्य कर्नाटकको भारतीय अदालतले २७ मार्चमा यो मुद्दाको सुनुवाइ गर्नेछ ।मस्कको सोसल मिडिया प्लेटफर्म भारतमा सामग्री नियमनमाथि कानूनी द्वन्द्वहरूका लागि अपरिचित छैन ।

सन् २०२३ मा भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्ने ट्वीटहरू र खाताहरू हटाउने आदेशलाई चुनौती दिने उसको अपिललाई खारेज गरेपछि प्लेटफर्मलाई ६१ हजार डलर जरिवाना गरेको थियो ।

लगभग एक वर्षपछि एक्सले ‘विशिष्ट खाताहरू र पोस्टहरूमा’ अवरुद्ध गर्ने सरकारको आदेशहरूलाई चुनौती दिने अपिल विचाराधीन रहेको बताएको छ ।

“हाम्रो स्थितिसँग मिल्दो रूपमा भारतीय सरकारको अवरुद्ध आदेशहरूलाई चुनौती दिने एक लिखित अपिल विचाराधीन छ । हामीले हाम्रा नीतिहरू अनुसार प्रभावित प्रयोगकर्ताहरूलाई यी कार्यहरूको सूचना पनि प्रदान गरेका छौँ”, कम्पनीले सन् २०२४ फेब्रुअरीमा एक्समा भनेको थियो, “कानूनी प्रतिबन्धका कारण हामी कार्यकारी आदेशहरू प्रकाशित गर्न असमर्थ छौँ तर तिनीहरूलाई सार्वजनिक गर्नु पारदर्शिताका लागि आवश्यक छ भन्ने हामी विश्वास गर्छौं, यो प्रकटीकरणको कमीले जवाफदेहिताको कमी र स्वेच्छाचारी निर्णय–निर्माणतर्फ डोर्‍याउन सक्छ ।”

ऊर्जा लक्ष्यमा प्रहार नगर्ने पुटिनको आदेश कायमैः क्रेमलिन

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनको ऊर्जा लक्ष्यमा आक्रमण नगर्न दिएको आदेश अझै कायमै रहेको बताएको छ ।

युरोपलाई इन्धन आपुर्तिका लागि बनेको युक्रेनसँगको सीमा नजिकै रहेको रुसको एउटा ऊर्जा केन्द्रमा आक्रामण भएपछि यसका लागि मस्को र किएभ दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भन्नुभयो, “जेलेन्स्कीको वचन र किएभ शासनका अन्य प्रतिनिधिहरूको वचनलाई हामी कत्तिको विश्वास गर्न सक्छौं भन्ने कुरा सबैले देख्न सक्छन्।”

’सर्वोच्च कमान्डर इन चिफ (पुटिन) को आदेश जारी छ र रुसी सशस्त्र बलले ऊर्जा सुविधाहरूमा आक्रमण गर्ने अनुमति छैन,” पुटिनलाई सङ्केत गर्दै उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तापछि पुटिनले मङ्गलबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी हुने आक्रमणमा ३० दिनका लागि रोक लगाउनुभएको छ ।

मस्कोले अहिले पनि ऊर्जा सुविधाहरूमा आक्रमण जारी राखेको र पुटिनका शब्दहरूको बावजुद केही पनि परिवर्तन नभएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

दुवै देशका प्रतिनिधिमण्डलले सोमबार साउदी अरबमा अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ट्रम्पले तीन वर्षदेखि जारी युद्धलाई स्थायीरूपमा अन्त्य गर्न सकिने बताउँदै आउनुभएको छ ।

सन् २०२४ आप्रबासीका लागि घातक बर्ष : संयुक्त राष्ट्रसङ्घ

गत वर्ष आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको र विश्वभर करिब नौ हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । यो रोकथाम योग्य भएपनि सहन नसकिने पीडा भएको राष्ट्रसङ्घले बताएको छ ।

“सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको छ,” संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले भनेको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले भन्नुभयो, “विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्याको त्रासदी असह्य र रोकथाम योग्य दुवै छ।”

डेनियल्सले भन्नुभयो, “क्षति विनाशकारी छ तर हरेक मृतक सङ्ख्याको पछाडि कही न कही मानवीय कमजोरी नै कारक रहेको छ ।”

आईओएमले भनेको छ, “आप्रवासीको मृत्यु र बेपत्ता हुनेको वास्तविक सख्या धेरै बढी हुन सक्छ, किनकि आधिकारिक स्रोतको अभावका कारण धेरै जना कागजातविहीन ठहर भएका छन्।”

अधिकांश पीडितको पहिचान र अन्य विवरण अज्ञात रहेको बताइएको छ ।

सन् २०२४ मा एसिया, अफ्रिका र युरोपमा क्रमशः दुई हजार ७ ७८, दुई हजार २४२ र २३३ जनाको मृत्यु भएको थियो ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार ४५२ जनाको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाको अन्तिम तथ्याङ्क उपलब्ध नभए पनि अहिलेसम्मको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार २३३ जनाको मृत्यु भएको छ ।

यसमा “सन् २०२४ मा क्यारेबियन क्षेत्रमा अत्यधिक ३४१ जनाको ज्यान गएको थियो र कोलम्बिया र पनामाको बीचमा डेरिएन जङ्गल पार गर्ने १७४ जना आप्रवासीहरूको मृत्यु रेकर्ड भएको थियो।

डारिएन जङ्गल कुनै समय संयुक्त राज्य अमेरिका पुग्न चाहने मानिसहरूको लागि मुख्य प्रवासी करिडोर थियो।

स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौँ महानगर

काठमाडौँ, ८ चैतः काठमाडौँ महानगरपालिकाले यही चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गर्ने भएको छ । कामपा स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा परीक्षण र उपचार सञ्चालन गर्ने जनाएको छ ।

गत वर्ष वैशाख १२ गते गरिएको परीक्षणमा छुटेका प्रजनन उमेरका महिला र परीक्षणका क्रममा पोजेटिभ देखिएका महिलालाई लक्षित वर्गमा राखी यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट ‘रेफरल’ टिकट प्राप्त हुने बताउँदै उक्त टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जचाउन सकिने उहाँले जानकारी दिनुभयो ।

भट्टले भन्नुभयो, “स्वास्थ्य प्रवर्द्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकाले जचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने र रेफरल टिकट लिने प्रबन्ध गरिएको हो ।”

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुनेछ । “प्रारम्भिक जाँचका क्रममा शङ्का लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० देखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डिएनए पिसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ”, उहाँले भननुभयो ।

कामपाका मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) पाँचदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । तीसदेखि ६० वर्ष समूहका महिलाले हरेक पाँच वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

एक जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्क भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, एचपिभीको सङ्क्रमण देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सरको हुने जोखिम हुने न्यौपानेले बताउनुभयो । कामपाले गत वैशाखमा पनि निःशुल्क परीक्षण सञ्चालन गरेको थियो ।

कांग्रेस अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ : सभापति देउवा

पाटन (ललितपुर), ८ चैत नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

“नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रह्यो, २००७ सालको जनक्रान्तिदेखि आजसम्म शारीरिक, मानसिक, वौद्धिक तथा अन्य प्रकारको अपाङ्गताका बाबजुद कांग्रेसको आह्वान र नेतृत्वमा भएका सङ्घर्षमा साथ दिने सबैलाई ससम्मान सम्झना गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट पारेको सभापति देउवाको भनाइ छ । 

“विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि मात्र अन्य क्षेत्रले झै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नेपालमा ठोस कदम चालिएका हुन्, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिमा नेपालले सुरूमै हस्ताक्षर गरेको हो, अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको सुरूवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजना निर्माण भएका हुन्”, सभापति देउवाले भन्नुभयो, “नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ ।” 

सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ पार्टी सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । 

“राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपाली कांग्रेसको केन्द्रीय समितिले तोकेको निर्धारित समयसीमाभित्र तल्ला तहका अधिवेशन सम्पन्न गरी पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न लागेकोमा सम्वद्ध सबैलाई धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भन्नुभयो । महाधिवेशनले सङ्घलाई संस्थागत रूपमा थप सशक्त बनाउँदै उहाँले समावेशी लोकतान्त्रिक अभियानलाई प्रवर्द्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ भन्दै शुभेच्छा व्यक्त गर्नुभयो ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकारलाई थप सुनिश्चित गर्न यस राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले उठाएका सवाल र सुझावलाई कार्यान्वयन गराउँदै जानेतर्फ कांग्रेस प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । 

उपसभापति धनराज गुरूङले जनताको आवाजलाई बुलन्द गर्ने क्षमता अपाङ्गता भएका व्यक्तिहरूसँगमा रहेको भन्दै सिङ्गो मुलुकलाई समृद्धिको यात्रामा बढाउने क्षमता भएको बताउनुभयो । “दृष्टि नभएकोमा हीनताबोध गर्नु आवश्यक छैन, तपाईंहरूसँग दृष्टिकोण छ, सँगसँगै काम गर्ने क्षमता तपाईंहरूसँग छ, कानून र ऐनमा भएको कमजोरीलाई सुधार गर्ने काममा कांग्रेसले नीतिगत रूपमा सुधार गर्छ, असमानतालाई हटाउँछ, अपाङ्गता भएका व्यक्तिहरूलाई पछाडि छोेडेर हामी एक्लै अगाडि बढ्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री विश्वप्रकाश शर्माले एकताबद्ध रूपमा उभिएर लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको सन्देश दिनुपर्ने भन्दै महाधिवेशनले नयाँ तागतको विकास गर्दै अपाङ्गता भएका व्यक्तिहरूले पनि धेरै काम गर्न सक्छन् भन्ने सन्देश दिनुपर्ने बताउनुभयो । “दुवै आँखा गुमाएको व्यक्तिले वेल लिपिको आविस्कार गरे, विश्वमा अपाङ्गता भएका व्यक्तिहरूले धेरै काम गरेका छन्,  ह्वीलचियरमा हुँदैमा केही गर्न सक्दैन भन्ने हैन, नेपालका गाउँगाउँमा रहेका अपाङ्गता भएकाहरूले उत्कृष्ट काम गर्न सक्छन्”, उहाँले भन्नुभयो ।

पार्टीका सहमहामन्त्री जीवन परियारले अपाङ्गता भएका व्यक्तिहरूले विश्वभरि अत्यन्तै कहालिलाग्दो जीवन व्यतीत गरिरहनुभएको भन्दै  पार्टीले पनि नेपालका अपाङ्गहरूको हकहीत र राजनीतिक प्रतिनिधित्व सुनिश्चितताका लागि छुट्टै समूह बनाएर केन्द्रीय समिति र माताहातका विभिन्न समितिमा प्रतिनिधित्वको अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले महाधिवेशनले नेतृत्व चयनसँगै अपाङ्गता भएकाहरूको समस्या समाधानका लागि राष्ट्रियस्तरमा नीति निर्माणका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुर्घटनाबाट हुने विभिन्न किसिमका अपाङ्गता हुन नदिन अभियान बढाउनुपर्ने, अपाङ्गता भएकाहरूको अधिकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् महाधिवेशन निर्देशक समितिका सभापति मधु आचार्यले समाजमा पछाडि परेकालाई राजनीतिक प्रक्रियामा सहभागी गराएर समावेशी राजनीतिलाई कांग्रेसले नै अगाडि बढाएको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरूमा सारक्षता प्रतिशत कम, रोजगारीको अवस्था कमजोर रहेको र गरिबीको दुस्चक्रमा फसेकाले विभिन्न किसिममा अपाङ्गलाई अगाडि बढाउन पार्टी र राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशक समितिका सदस्य मदनकृष्ण श्रेष्ठले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूको फरकफरक समस्या छ भन्दै सबै किसिमका अपाङ्गका समस्या एकै आधारमा समाधान हुन सक्दैन भन्नुभयो । उहाँले वर्तमान संविधानले केही अधिकार त दिएको छ भन्दै त्यो भएको केही उपलब्धि पर्याप्त नभएको बताउनुभयो ।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले महाधिवेशनबाट अपाङ्गता भएकाको हकहितमा काम गर्ने नेतृत्व चयन होस् भन्ने कामना गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदान पार्टीले विर्सने छैन भन्नुभयो ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका वर्तमान अध्यक्ष प्रकाश पन्तले केन्द्रीय समितिमा ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको जानकारी गराउँदै २०६२/६३ को अधिकारपछि संविधानमा धेरै अधिकार समेटिएको बताउनुभयो । “संविधानमा अधिकार समेटिएको छ, अब हामीले व्यवहारमा उतार्ने हो, ७४ जिल्लाका एक ६३ भन्दा बढी निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ, हामीले माघ मसान्तभित्रै अधिवेशन सम्पन्न गर्ने तयारी गरेका थियौँ, समयमै महाधिवेशन गर्ने तेस्रो सङ्घ भएका छौँ”, उहाँले भन्नुभयो ।

संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले २०४६ साल अगाडि अपाङ्गता भएकालाई दोस्रो दर्जाको नागरिकको रूपमा लिइएको थियो भन्दै २०४६ पछि सङ्घसंस्था खोल्ने अधिकार प्राप्त भएको बताउनुभयो । उहाँले २०६२/६३ को आन्दोलनपछि अधिकारका पक्षमा प्रभावकारी र सकारात्मक काम भएको बताउनुभयो ।

“गिरिजाप्रसाद कोइरालाले विधान पठाइदिनुस्, म भातृ संस्थाको निर्णय गरिदिन्छु भनेर प्रतिबद्धता जनाउनुभएको थियो । त्यहीअनुसार उहाँले काम गरेर हामीलाई माया र सद्भाव दिनुभयो, कांग्रेसको १२औँ महाधिवेशनबाट अपाङ्गता भएकाको प्रतिनिधित्व सुनिश्चित भयो । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ नेपालको सबैभन्दा ठूलो अपाङ्गता भएकाको संस्था बनेको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले यो महाधिवेशन अपाङ्गता व्यक्तिहरूको अधिकार र समान प्रतिनिधित्व गराउने अवसर भएको बताउँदै लोकतान्त्रिक मूल्यमान्यता अनुरूप समान अवसर, समान अधिकार र समावेशी प्रतिनिधित्वका लागि कांग्रेस अगाडि रहेको धारणा राख्नुभयो ।

‘मुलुक विकासको मार्गमा अघि बढिरहेको छ’ : महामन्त्री थापा

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), ८ चैतः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउनुभएको छ । पश्चिम नवलपरासीको परासीमा आयोजित नेपाली कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले मुलुक स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, समाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, समाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ ।”

नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश सलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ । सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ । हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्याङ्कन गरौँ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताउनुभयो । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उहाँले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो 
मुलुकको सामाजिक, आर्थिक विकाससँगै युवामाझ अवसर सृजना गर्न सबै राजनीतिक दलले जनतासँग सहकार्य र समन्वय गरी अभियान सञ्चालन गर्नुपर्ने महामन्त्री थापाले धारणा राख्नुभयो ।

औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौँ, ८ चैतः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना गरी अर्थतन्त्र सुधार गर्न सकिने धारणा राख्नुभएको छ । आज यहाँ आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा उहाँले औद्योगिक क्षेत्रको सुधार गर्दै उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावारण बनाउनु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा सम्भावना बोकेको उद्योग र व्यवसाय भएकाले यस क्षेत्रको विकासबिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । समग्र औद्योगिक क्षेत्रको प्रवर्द्धन तथा नीतिगत सुधारमार्फत ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “निजी क्षेत्रका उद्योग, व्यवसायको विकासका लागि महत्त्वपूर्ण कार्यक्रम सङ्घीय सरकारको वार्षिक कार्यक्रममा समावेश भई कार्यान्वयनमा रहेका छन्, वर्तमान सरकार उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ कार्य गरी आर्थिक क्षेत्रलाई सङ्कटमुक्त गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वदेशी उद्योगको संरक्षण तथा निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने मार्गमा प्रतिबद्ध छ ।”

सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने मार्गमा ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०८१’ जारी गरी कार्यान्वयनको चरणमा रहेको उल्लेख उहाँले गर्नुभयो । स्वदेशी कच्चा पदार्थमा आधारित तथा आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगलाई अनिवार्य गर्नेगरी योजनाबद्ध रूपमा काम भइरहेको मन्त्री भण्डारीले बताउनुभयो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहनलगायत कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले मुलुकमा औद्योगिक लगानीको अवस्था सुधार गरी लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सृजना तथा आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री हुनेगरी प्रक्रियागत सरलीकरण गरिएको जानकारी दिनुभयो ।

यस वर्ष सङ्घीय सरकारले लगानीसहित औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्ने उद्देश्यले अध्यादेश जारी गरेको बताउँदै मन्त्री भण्डारीले कानुनी र नीतिगत व्यवस्थामार्फत औद्योगिक वातावरणलाई सहजीकरण गरिएको उल्लेख गर्नुभयो । यसबाट निजी क्षेत्रको समग्र मनोबल उच्च भएको उहाँको दाबी छ ।

उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ८ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गर्नुभएको छ ।लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जानकारी दिएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध घनिष्ट र समधुर रहिआएको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

“हामीले हाम्रा दुई मुलुकबीच अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा सम्बन्धको सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।”

उपराष्ट्रपति यादवले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको विश्वास दिलाउँदै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो ।

उहाँले जलविद्युत्, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्न चाहेको पनि बताउनुभयो । “नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रमअन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

उपराष्ट्रपति यादवले धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण रहेको उल्लेख गर्दै हाम्रा चासो बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा रहेको बताउनुभयो । “सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपाल रोकिएको सार्क प्रक्रियालाई पुनः सुरू गर्न हरसम्भव प्रयासरत छ । यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ”, उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले दक्षिण एसियाको हिन्दू–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत हाश्मीले दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न समस्याको समाधान परस्पर सहकार्यबाट गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि नेपाल सरकारलाई बधाई दिँदै यसमा पाकिस्तानको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगित

काठमाडौँ, ८ चैतः आज साँझ ५ बस्ने गरी तय भएको राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने निर्धारण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभा नियमावली र प्रतिनिधिसभा नियमावली बाझिएको भन्दै राष्ट्रियसभा आजको बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । त्यसपछि ३ः३० बजे बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गर्नुभएको थियो ।

आजको बैठक स्थगन भएकाले कार्यसूचीमा रहेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुन सकेन ।

विश्वकप छनोटको तयारीः नेपालले भारतको प्रान्तीय टिमसँग खेल्ने

काठमाडौँ, ८ चैतः आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ । नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन खेलको शृङ्खला खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार शृङ्खला यही चैत १२ देखि १६ गतेसम्म वीरगन्जस्थित नारायणी क्रिकेट रङ्गशालमा हुनेछ ।

पहिलो खेल चैत १२ गते हुने छभने दोस्रो खेल चैत १४ गते हुनेछ । त्यस्तै तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ । यु–१९ विश्वकप एसिया छनोट यही चैत ३० गतेदेखि काठमाडौँमा हुने तय भएको प्रवक्ता लामाले बताउनुभयो । उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब  इमिरेट्स (युएई) सहभागी छन् ।

भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

काठमाडौँ, ८ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उहाँले सो जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा एस जयशंकर र अन्य देशका समकक्षीहरूसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो । त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत् पनि निरन्तरताका लागि पहल गरेँ । त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो ।”

उहाँले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरू तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

मन्त्री डा राणाले भन्नुभयो, “भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत् अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ । यसमा खासगरी नेपाल र भारतबीच रहेको विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै इन्डियन इनर्जी एक्सचेञ्जमार्फत नेपालमा आपूर्ति हुने विद्युत्को परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु ।”

उहाँले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिनुभयो । त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रूपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी मन्त्री डा राणाले दिनुभयो ।

पत्रकारका एक प्रश्नमा उहाँले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट गर्नुभएको थियो । नेपालमा हालै भएका केही राजनीतिक घटनाक्रमबारे गरिएको प्रश्नमा उहाँको जवाफ थियो, “यस विषयमा त भारतमा कुनै कुरा भएन तर पनि हामीले देखिरहेकै छौँ कि भारत नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहन्छ ।”

नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नवलपुर । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।

नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् ।

निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए ।

विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन् ।

सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए ।

‘हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौँ’, उनले भने, ‘सडक कालोपत्र र पुल निर्माणसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायत ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौँ ।’ आगामी वैशाखभित्रमा दुम्कीबाससम्म कालोपत्र गरिसक्ने लक्ष्य छ । ‘दाउन्नेमा पूर्वीखण्डमा पर्ने सबैभन्दा कठिन ठाउँको डाँडाको भित्तो कटान पूरा भएको छ’, उनले भने ।

देशको विकासका निम्ति सरकारले कामको गति बढाउनुपर्छः सांसद चौधरी (अन्तर्वार्ता)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य भएको करिब दुई वर्ष भयो । थारु समुदायको प्रतिनिधित्व गरेर सांसद भएको हुँ । संसद्मा पटकपटक यो समुदायको अधिकारका निम्ति आवाज उठाउँदै आएको छु । संविधानको मर्मअनुरुप कानुन बनाउने प्रक्रियामा पनि सक्रियताका साथ काम गर्दै आएको छु । राज्यका निकायहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा थारु समुदायको प्रतिनिधित्व न्यून छ । यी तीनवटा निकायलगायत राज्यका हरेक संरचनामा थारु समुदायको अधिकार सुनिश्चितताका निम्ति संवैधानिक र कानुनी व्यवस्था गर्नुपर्छ ।

विसं २०७८ को जनगणनाअनुसार थारु समुदायको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । त्यही जनसङ्ख्याको आधारमा उनीहरुको राज्यका निकायमा सहभागिता सुनिश्चित हुनुपर्छ । संविधान संशोधन गरेर उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्छ । निजामती, नेपाल प्रहरी, नेपाली सेना र संस्थानलगायत सरकारी जागिरमा थारु जातिको जनसङ्ख्याको आधारमा आरक्षणको व्यवस्था गर्नुपर्छ । अहिले हाम्रो पार्टीबाट प्रतिनिधिसभामा चारजना सांसद हुनुहुन्छ ।

त्यसैगरी १२ जना प्रदेश सांसद हुनुहुन्छ । ‘मधेस प्रदेश’ जस्तै ‘थरुहट प्रदेश’ हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो । थारु सामुदायको बाहुल्य रहेका गाउँपालिका र नगरपालिकामा सरकारी कामकाजको भाषाको रुपमा थारु भाषालाई मान्यता दिलाउनुपर्ने हाम्रो अर्को माग हो । सुर्खेत, दाङ र चितवन लगायतका जिल्लाका विभिन्न स्थानमा थारु समुदायको बसोबास रहेको छ ।

नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । मुलुकमा रहेका सबै राजनीतिक दलहरुको लामो सङ्घर्षबाट देशको व्यवस्था परिवर्तन भएको छ । केही मात्रामा देशको विकास पनि भएको छ । तर जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा हुन सकेको छैन । जनप्रतिनिधिको नाताले हामीले यो विषय संसद्मा उठाइरहेका छौँ । सरकार र शीर्ष नेताहरुले आफ्नो क्षेत्रका लागि मात्रैभन्दा पनि समग्र देशको समान रुपमा विकास गर्नुपर्छ । देशको विकास समान रुपमा हुनुपर्छजस्तो लाग्छ । हाम्रो पार्टीले जुन पार्टीको नेतृत्वमा सरकार बने पनि सहयोग र समर्थन गर्दै आएको छ । हामी सङ्घीय सांसदहरुको काम भनेको मुख्यत नीति निर्माण गर्ने रहेछ । तर स्थानीय तहलाई बजेट चलाउने अधिकार हुन्छ । सांसद कार्यकारी पद होइन । त्यसैले विकासको कामलाई स्थानीय सरकारले पनि प्राथमिकता दिनुपर्छ । सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ । युवा पलायन रोक्न देशमा कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्छ ।

राज्यले ऋण गरेर भएपनि देशमा उद्योग, कलकारखाना खोल्नुपर्छ । सरकारले जुन गतिमा रोजगारी सिर्जना गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले देशभित्रै पनि हजारौँ युवा बेरोजगार बस्नुपरेको छ । एकैचोटी रोजगारी सिर्जना गर्छु भनेर हँुदैन । एकैचोटी युवा पलायन पनि रोक्न सकिँदैन । तर रोजगारीको लागि सरकारले उद्योग, कलकारखाना खोल्न सुरु गर्नुपर्छ । कुनै सानोतिनो व्यापार गरौँ भने पनि राम्रो बजार छैन ।

सरकारसम्म पहुँच नभएका जनताले कुनै पनि सरकारी अनुदान पाउन सकेका छैनन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कृषि अनुदान वास्तविक किसानले पाउन सकेका छैनन् । सरकारको वरिपरि रहेकाले मात्रै पाएका छन् । सरकारमा भएको पार्टीको मान्छेले मात्रै अनुदान पाएको छ । नेताका नातेदारले मात्रै पाएका छन् । त्यसैले सरकारले तल्लो तहका जनतालाई हेर्नुपर्छ । पिँधमा रहेका जनताको स्वास्थ्य, शिक्षा र बेरोजगारीलगायत उनीहरुको समग्र समस्यालाई सरकारले ध्यान दिनुपर्छ ।

सुशासनको मुख्य बाधक भनेको भ्रष्टाचार हो । भ्रष्टाचारको अन्त्य गर्नैपर्छ । सरकारीस्तरमा त भ्रष्टाचार हुने नै भयो । निजी क्षेत्रमा पनि त्यस्तै भ्रष्टाचार छ । हरेक सरकारका मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको देखिन्छ । सरकारको मुख्यसचिवदेखि तल्लो तहका कर्मचारी पनि भ्रष्टाचारमा लागेको देखिन्छ । यदि देश विकास गर्दै सुशासन कायम गर्ने हो भने भ्रष्टाचारमा संलग्न सबैलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ । नेपालमा जागिर खानका लागि पनि घुस दिनुपर्छ । त्यो पनि भ्रष्टाचार हो । एउटा सामान्य सरकारी कागजात बनाउन पनि जनताले महिनौँ कुर्नुपर्छ । त्यो पनि भ्रष्टाचार हो ।

सुशासनको लागि सरकारी कामलाई चुस्त बनाउनुपर्छ । देशमा विकास नभएका कारण, बेरोजगारी भएका कारण, जनताको अवस्थामा सुधार नभएका कारण जनतामा निराशा बढेको हो । त्यो कुरा अहिलेका राजनीतिक दलहरुले बुझ्नुपर्ने हो । पछिल्लो समयमा पूर्वराजाको सक्रियता यत्तिकै बढेको हैन । अहिलेसम्म देशमा जनताको अवस्था परिवर्तन हुन्छ कि भनेर कुरिरहेका थिए । अब उनीहरुको पीडा बाहिर आउँदैछ ।

बर्दिया जिल्लास्थित मेरो निर्वाचन क्षेत्रमा हात्तीको आतङ्क छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती नजिकै छ । अस्ति भर्खरै ७५ वर्षको मानिसलाई हात्तीले आक्रमण गरेर मारेको छ । मेरो निर्वाचन क्षेत्रका मानिसलाई जङ्गली बाघ र भालुबाट पटकपटक आक्रमण हुँदै आएको छ । यो विषयमा संसद्मा बोल्दै आएको छु । अबको मेरो योजना भनेको जङ्गली जनावरबाट मानिसमा भइरहेको आक्रमणको समस्या समाधन गर्नेतर्फ केन्द्रित हुनेछ । जङ्गली जनावरको आक्रमणबाट सामान्य गरिब मान्छे मरिरहेको छ । किनभने धनीहरुको घर जङ्गलको नजिकै, खोलाको किनारमा हुँदैन ।

‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य चौधरी प्रतिनिधिसभाका सांसद हुन् । बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी सो पार्टीको प्रमुख सचेतक पनि हुन् । विसं २०७९ को निर्वाचनको समयमा पार्टीका अध्यक्ष रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई स्वतन्त्र उम्मेदवार उठाएको थियो । उनी सांसद हुनुभन्दा अघि सामाजिक क्षेत्रमा सक्रिय थिए ।
(कुराकानीको सम्पादित अंश)

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । पहिलो महाधिवेशन पछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दैछ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।

सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप– प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो ।

शेन्झाउ–१९ टोली तेस्रो बाह्य गतिविधिको लागि तयार

चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिन भित्र आफ्नो तेस्रो एक्स्ट्राभेहिकुलर गतिविधिहरू (इभा) सञ्चालन गर्ने चाइना म्यान्ड स्पेस एजेन्सी (सीएसएमए) ले बिहीबार घोषणा गरेको छ ।

यस वर्ष जनवरी २१ मा आफ्नो दोस्रो अन्तरिक्षयात्रा पूरा गरेदेखि चालक दलका सदस्यहरूले भेटघाट र ‘डकिङ’को लागि प्रशिक्षण, अन्तरिक्ष जीवन विज्ञान तथा मानव अनुसन्धान, सूक्ष्म गुरुत्वाकर्षण भौतिकी, नयाँ अन्तरिक्ष प्रविधिहरूको क्षेत्रमा प्रयोग र परीक्षण गर्ने जस्ता कार्यहरूको श्रृङ्खलाबद्ध काम गरेका छन् । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।

सीएमएसएका अनुसार उनीहरुले तेस्रो इभाको तयारी पनि गरिसकेका छन् ।

एजेन्सीले स्पेस स्टेसन सहज रूपमा काम गरिरहेको र चालक दलका तीनै सदस्य स्वस्थ रहेको पुष्टि गरेको छ ।

सुन्दरी सुष्माले जितिन् ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५को ताज

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५’ ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्न सफल भएकी छन्। ताजसँगै उनले एन.एफ.इ.ए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसरसमेत प्राप्त गरेकी छन्। उनले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमण्ड’का तर्फबाट एक लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गरिन्।

बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रमकी फस्र्ट रनरअप सुशीला राई बनिन् भने प्रीति खड्का सेकेण्ड रनरअप बन्न सफल भइन्। उनीहरुले क्रमशः पचार हजार र पच्चिस हजारको छात्रवृत्ति प्याकेज प्राप्त गरे।हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको एघारौं संस्करण हो।

दुलहीको भेषमा सजिएका सौन्दर्यकर्मीहरुको आकर्षक नृत्यसँगै सुरुवात भएको कार्यक्रममा क्रमैसँग ब्राइडल तथा परिचयात्मक चरण, फेसन सो तथा पोशाक प्रदर्शनी, प्रश्नोत्तर र लिखित गरी विविध चरणमा सम्पन्न भएको थियो। अर्वाड विजेता तथा महिलाहरुमा सक्रिय चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पूर्ण प्रतियोगीहरुले करिव तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, बौद्धिक क्षमता विकासलगायतका विषयहरुमा तालिम लिएका थिए। सौन्दर्यकर्मीहरुको पेशागत सौन्दर्य प्रतियोगिता भएकाले कार्यक्रममा विविध पेशागत प्रतियोगिताहरुसमेत गराइएको थियो।

जसमा वेस्ट ब्राइडल, सन्जु फागो, वेस्ट मेकअप कल्पना विक, वेस्ट नेलआर्ट सुशीला राई र वेस्ट जुरो गंगा श्रेष्ठले जित्न सफल भए।
कार्यक्रममा विविध सर्ट टाइटल अवार्डसमेत वितरण गरिएको थियो। जसमा मोस्ट इन्टिलिजेन्ट सुष्मा दाहाल, वेस्ट फोटोजेनिक सन्जु फागो, मोस्ट कन्फिडेन्ट प्रीति खड्का, मोस्ट याक्टिभ पवित्रा न्यौपाने, मोस्ट डेलिकेट कोपिला राई, मोस्ट चार्मिङ बबिता राई, मोस्ट डिलिजेन्ट अनिता राई, वेस्ट पर्सनालिटी रमिला कुस्वार, मोस्ट स्मार्ट कला राई, मोस्ट प्यासेनेट सन्ध्या श्रेष्ठ, अट्र्याक्टिभ सुप्रिया सुवेदी, पब्लिक च्वाइस भिडियो प्रीति खड्का, मोस्ट पपुलर रमिला कुस्वार र पपुलर च्वाइस कोपिला राईले जित्न सफल भए।
कार्यक्रममा कलाकारहरुले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए भने निर्णायक मण्डलमा नायक एसराज गराज, कस्मेटोलोजिस्ट डा. रेखा थापा, मिसेस नोवेल नेपाल २०१४ सन्ध्या लामिछाने,एस्थेटिसियन डा. युनिसा शाही तथा तथा सौन्दर्यकर्मी अप्सरा न्यौपाने रहेका थिए। नेपाली ब्यूटिसियनहरुलाई पेशागत विकाससँगै प्रतिभा प्रस्फुटन गराउने एक उचित थलोको रुपमा विगत एक दशकदेखि कार्यक्रमको आयोजना गरिँदै आएको आयोजक पक्षले जानकारी दिएको छ।

लस एन्जलस ओलम्पिक सन् २०२८ मा बक्सिङ पनि समावेश

बिहीबार १४४ औं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेश
गरिएको छ ।

आईओसी कार्यकारी बोर्डले फेब्रुअरी २६ मा विश्व बक्सिङलाई अन्तर्राष्ट्रिय महासङ्घको रूपमा अस्थायी रूपमा मान्यता दिएका र खेललाई आईओसी सत्रमा समावेश गर्न सिफारिस गरेको थियो ।

सन् २०२२ मा स्वीकृत एलए२८ कार्यक्रमबाट बक्सिङलाई अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइबीए) बाट बहिष्कृत गरिएको थियो ।

बक्सिङ पहिलो पटक सन् १९०४ मा आधुनिक ओलम्पिकमा देखा प¥यो र सन् १९१२ को स्टकहोम बाहेक सबै संस्करणमा प्रस्तुत गरिएको थियो ।