कुश्मा घुम्न आएका पर्यटकको झोला बाँदरले लगिदिएपछि बाँदरको खोजी कार्य हुँदै


पर्वत, २६ असोजः पर्वत सदरमुकाम कुश्माको बञ्जि साइडमा अनौठो घटना घटेको छ । पछिल्लो समय गाउँघरमा बाँदर आतङ्क बढेको खबर त नौलो थिएन । तर कुश्मामा बाँदरले एक अस्ट्रेलियन नागरिकसहित दुई जनाको राहदानी नै गायब पारिदिएको छ ।
बाँदरले अष्ट्रेलियाबाट नेपाल घुम्न आएका वाल्मस्ली मेथो आडम्स र उनकी श्रीमती दिब्या कार्कीको राहदानी राखेको झोलानै गायब बनाएपछि ती पर्यटक अहिले बिलखबन्दमा परेका छन् । पर्वतको कुश्मास्थित बन्जी साइडमा द क्लिफले सञ्चालनमा ल्याएको बञ्जि र अर्को शाहशिक खेल जीपलाइन अवलोकनका लागि आइपुगेका पर्यटक चढेको गाडीको छतमा रहेको राहदानीसहितको झोला बाँदरले लिएर भिरतिर भागेको पीडित पर्यटकले बताएका छन् । आडम्स र कार्कीले एउटै झोलामा राहदानीसहित अन्य महत्वपूर्ण कागजात राखेका थिए ।
राहदानी बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि झोला भेटिएको छैन ।
“शनिबार उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,” उहाँले भन्नुभयो, “फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।”
खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । ‘हिजोदेखि सात प्रहरीको टोली खटाएका छौँ, आज सशस्त्र प्रहरी पनि खटिएको छ,’ उहाँले भन्नुभयो, ‘तर भेटिएको छैन । जङ्गलतिर होला भनेर खोजिएको हो । भीर छ, छिर्नै गाह्रो छ ।’
उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदनसमेत दर्ता गरेका छन् । खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट राहदानी लिनुपर्छ,’ प्रहरी नायव उपरीक्षक यादवले भन्नुभयो ।