`

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा

Nepal One HD २० असोज २०८२ ६:५४
प्रमुख खबर

चन्द्रपुर (रौतहट): २० असोजः भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिनुभयो । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उहाँको भनाइ छ । पानीले धानबालीमा पनि क्षति पुगेको उहाँले बताउनुभयो ।

विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५.० मिलिमिटर वर्षा भएको छ । सदरमुकाम पनि डुबानमा परेको छ ।रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिलिटर वर्षा भएको उहाँको भनाइ छ । उहाँका अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन् ।

अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन् ।झाझ नदीमा आएको बाढीका कारण गौर गङ्गापिपरा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताउनुभयो । दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उहाँको भनाइ छ ।

राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

गुजरा नगररपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताउनुभयो । वडा नं ९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ । वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *