हमास बन्धक र बन्दी आदानप्रदानलाई शीघ्रता दिन आतुर


हमासले आइतबार इजरायलसँग बन्धक–बन्दी आदानप्रदानको द्रूत सुरुवात गर्न आफू तयार रहेको र इजरायलले पनि यसलाई ढिलो नगरी शान्ति प्रक्रियालाई अघि बढाओस भन्ने चाहेको बताएको छ । गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुई युद्धरत पक्षका वार्ताकारहरू इजिप्टमा भेट्न लागेका बेला हमासको यो भनाइ सार्वजनिक भएको हो ।
वार्ता व्यापक र दिगो युद्धविराम प्राप्त गर्ने ‘वास्तविक अवसर’ भएको इजिप्टसहित कैयौँ देशका विदेशमन्त्रीहरूले बताएका छन्।हमासका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भन्नुभयो, “हमास युद्ध अन्त्य गर्न सहमतिमा पुग्न र स्थलगत अवस्था अनुसार तुरुन्त कैदी आदानप्रदानको प्रक्रिया सुरु गर्न आतुर छ ।”
इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको बदलामा गाजामा बन्दीहरूको रिहाइको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार्गचित्रमा प्यालेस्टिनी लडाकू समूह (हमास)ले सकारात्मक प्रतिक्रिया दिएको छ।
वार्ताकारहरूले रिसोर्टहरूका लागि प्रसिद्ध इजिप्टको शहर शर्म अल–शेखमा वार्ता गर्ने कार्यक्रम रहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा बन्धकहरूलाई केही दिनभित्रै रिहा गर्न सकिने आशा व्यक्त गर्नुभएको छ ।
नेतन्याहूले शनिबार वार्ताकारहरूलाई वार्ताका लागि ‘प्राविधिक विवरणलाई अन्तिम रूप दिन’ इजिप्ट जान निर्देशन दिएको बताउनुभएको छ भने कायरोले ‘सबै इजरायली बन्दी र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानको जमिनी अवस्था र विवरण’ बारे वार्ताका लागि हमासको एक प्रतिनिधिमण्डललाई पनि आतिथ्य गर्ने पुष्टि गर्नुभयो।
इजरायली सरकारका प्रवक्ताले भन्नुभयो, “इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्टका लागि प्रस्थान गर्नेछ, सोमबार वार्ता सुरु हुनेछ ।”
सोमबार नै हमास आक्रमणको दोस्रो वर्ष पूरा हुनेछ । हमासलगायत प्यालेष्टिनी लडाकू समूहहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेर एक हजार २०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए भने २५१ जनालाई बन्धक बनाई गाजातर्फ mलगेका थिए । बदलामा इजरायलले हमासविरूद्धको आक्रमणको घोषणा गरेको थियो । इजरायली आक्रमणमा ६२ हजारभन्दा बढी प्यालेष्टिनीको मृत्यु भइसकेको छ।
ह्वाइट हाउसका अनुसार वार्ताका लागि ट्रम्पले आफ्ना ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका वार्ताकार स्टिभ विटकोफ गरी दुई जना दूत इजिप्ट पठाउनुभएको छ ।
“मध्यस्थकर्ताहरूसँगको कुराकानीको क्रममा हमासले इजरायलले गाजा पट्टीका सबै क्षेत्रहरूमा सैन्य कारबाही रोक्न, सबै हवाई, जासुसी र ड्रोन गतिविधि रोक्न र गाजा शहर भित्रबाट फिर्ता हुन आवश्यक रहेको बताएको छ,” हमास निकट एक प्यालेस्टिनी स्रोतले भन्यो।
बन्धकमध्ये ४७ जना अझै जीवित वा मृत अवस्थामा गाजामा रहेका छन् भने तीमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
ट्रम्पको योजना अनुसार बन्धकहरूको रिहाइको बदलामा इजरायलले आजीवन कारावाससहितको सजाय पाएका २५० प्यालेस्टिनी कैदी र युद्ध सुरु भएपछि गाजा पट्टीबाट पक्राउ परेका एक हजार ७०० भन्दा बढी बन्दीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ।
ट्रम्पले हमासबाट हुने ढिलासुस्ती नसहने चेतावनी दिँदै उक्त समूहलाई सम्झौताका लागि छिटो अघि बढ्न आग्रह गर्नुभएको छ ।
ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल नेटवर्कमा इजरायलले गाजामा फिर्तीको प्रारम्भिक लाइनमा सहमति जनाएको र यो कुरा हमाससँग साझा गरिएको बताउनुभएको छ ।
“हमासले यस कुराको पुष्टि गरेपछि युद्धविराम तुरुन्त प्रभावकारी हुनेछ । बन्धक र कैदीको आदानप्रदान सुरु हुनेछ र त्यसपछि हामी इजरायली सेनाको फिर्ताको अर्को चरणको लागि अवस्था सिर्जना गर्नेछौँ,” अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावित लाइनको विवरणसहित गरेको सन्देशमा उल्लेख छ।