`

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।

“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उनले भने, “विद्युत्गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।”

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए ।

रघुगङ्गा–७ चिमखोलामा बाँध र रघुगङ्गा–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । “आउटलेटबाट विद्युत्गृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”, उनले भने ।

तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगङ्गा–८ को बन्दीमा बाँध, रघुगङ्गा–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।

सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार (सुर्खेत), २० फागुनः कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो ।

सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी तीन विमानस्थल विस्तारका लागि थप बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । मन्त्रालयका शाखा अधिृकत प्रकाश पोखरेलका अनुसार विमानस्थल विस्तारका लागि अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितता गरिदिन अनुरोधसहित प्रस्ताव गरिएको छ ।

तीनवटै विमानस्थल विस्तारका क्रममा आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएबमोजिम फागुन १५ गते बसेको मन्त्रिस्तरीय बैठकले स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको छ । सोहीअनुसार दाङ टरिगाउँ विमानस्थल जग्गा अधिग्रहणका लागि रु पाँच अर्ब लागत अनुमान गरिएकामा रु एक करोड विनियोजन र रु ९९ करोड स्रोत सुनिश्चितताको माग गरिएको छ ।

साथै सुर्खेत विमानस्थल जग्गा अधिग्रहणका लागि रु १० अर्ब लागत अनुमान गरिएकामा रु १० करोड विनियोजन र रु चार अर्ब ९० करोड स्रोत सुनिश्चितताका लागि माग गरिएको मन्त्रालयका शाखा अधिृकत पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्न रु एक अर्ब लागत अनुमान गरिएकामा रु १० करोड रकम विनियोजन र रु ४० करोड स्रोत सुनिश्चितताका लागि माग गरिएको छ ।

विसं २०७५ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालन गर्ने महत्वाकाङ्क्षी योजना अगाडि सारिएको थियो । प्रदेश सरकारले ‘कर्णाली एयरलाइन्स’का नामबाट आन्तरिक तथा अन्तरप्रदेश उडानका लागि हवाई सेवा सुरु गर्न ल्याइएको योजना अहिले अन्योय बनेको छ ।

शाहीका पालामा प्रदेश सरकारले सुर्खेतमा अन्तरराष्ट्रियस्तरको विमानस्थल र मुगुमा ‘हाई अल्टिच्युट’ विमानस्थल निर्माणको घोषणा गरेको थियो । चिनियाँ कम्पनी नर्थवेष्टले दुईवटै विमानस्थलको निःशुल्क विस्तृत सम्भाव्यता अध्ययन गरेर प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो । 

अहिले सुर्खेत–काठमाडौँ, काठमाडौँ–सुर्खेत दैनिक चार वटा उडानमात्र हुने गरेका छन् । माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडेका छन् । विसं २०७७ मा हालको विमानस्थललाई विस्तार गरी एक हजार पाँच सय मिटरको धावनमार्ग विस्तार गरी रात्रिकालीन उडान भर्ने उद्देश्यका साथ सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि बढाइएको थियो ।

तत्कालीन मुख्यमन्त्री शाहीको अध्यक्षतामा विसं २०७७ मङ्सिर अन्तिम साता बसेको बैठकले ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो ।

सो विमानस्थल विस्तार र स्तरोन्नतिका लागि झण्डै रु दुई अर्ब बराबर खर्च लाग्ने भन्दै पहिलो चरणमा प्रदेश सरकारले रु ५० करोड र केन्द्र सरकारले रु ५१ करोड बजेट विनियोजन गरेका थिए । विस्तारका लागि सङ्घीय र प्रदेश सरकारबीच १५ असोज २०७७ सालमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । विमानस्थल विस्तारको काम अघि नबढेपछि केन्द्र र प्रदेश सरकारले छुट्याएको रु एक अर्ब एक करोड रकम फ्रिज भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा पनि रु एक अर्ब ५० करोड बजेट विनियोजन भए पनि काम हुन सकेन । विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिकाका–१०, ११, र १२ नं वडाका करिब नौ सय २३ घरधुरी र विद्यालय पनि प्रभावित हुने भएपछि स्थानीयहरू सङ्घर्ष समिति गठन गरेर विरोधमा उत्रिएपछि काम रोकिएको थियो ।

सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नागरिक उड्डयन प्राधिकरणले एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा अधिग्रहणका लागि थप प्रक्रिया सुरु गरिएको जनाएको छ । 

जुम्ला विमानस्थल हाल छ सय ७० मिटर लम्बाइ, २० मिटर चौडाइ छ । उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकाले आवश्यक समन्वय गर्न जिल्लास्थित उड्डयन कार्यालयलाई निर्देशन दिएको छ । उक्त बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण, अप्रोनदेखि जहाजसम्म जाने बाटोलगायत संरचना निर्माण हुनेछन् । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० फागुनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९० पैसा निर्धारण भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा कायम भएको बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ सात पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ दुई पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ १० पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९१ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

ग्यारेन्टी बिना युद्धविराम ‘असफल हुनेछ’– जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरेपछि उहाँको देशका लागि सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्य नल्याउने बताउनुभएको छ ।

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामले युद्ध अन्त्य गर्ने विचारलाई ‘पर्याप्त नभएको’ भन्दै खारेज गर्नुभयो ।

आइतबारको सङ्कट शिखर सम्मेलनपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले फ्रान्स र बेलायतले युक्रेनमा ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविरामको प्रस्ताव गरिरहेको बताउनुभयो । यद्यपि यसले सुरुमा कम्तीमा जमीनी लडाइँलाई समेट्दैन ।

“यदि युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेन्टीहरू बिना युद्धविरामका लागि बाध्य पारिएमा यो सबैका लागि एक असफलता हुनेछ”, जेलेन्स्कीले बेलायतबाट प्रस्थान गर्नुभन्दा केही समयअघि पत्रकारहरूलाई भन्नुभयो । उहाँले रुसले सम्झौता तोड्ने र युक्रेनले जवाफी कारबाही गर्ने अनुमान गर्नुभयो ।

“कल्पना गर्नुहोस् एक हप्तापछि रुसीहरूले हामीलाई प्रहार गर्नेछन् र हामी उनीहरूतर्फ गोली चलाउनेछौँ, पूर्णरूपमा बुझ्न सकिन्छ र यो के हुनेछ ?”, कसले पहिलो गोली चलायो भन्नेबारे वर्षौंको झगडाको अनुमान गर्दै उहाँले भन्नुभयो, “यसबाट कसलाई फाइदा हुनेछ ? रुसीहरूलाई, तर निश्चित रूपमा हामीलाई होइन ।”

आइतबारको वार्तालाई ‘धेरै शक्तिशाली सुरुआत’ भनेर वर्णन गर्दै जेलेन्स्कीले भन्नुभयो, “आगामी हप्ताहरूमा वार्ताहरूले अधिक कार्यान्वयनयोग्य योजना र युक्रेनको सुरक्षा ग्यारेन्टीहरू कस्तो देखिन सक्छ भन्नेबारे राम्रो बुझाइ प्रदान गर्नेछ ।”

शुक्रबार वासिङ्टनमा भएको क्रोधित मुठभेडका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जे डी भान्सले जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र उहाँहरूको प्रस्तावित युद्धविराम सर्तहरू स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाउनुभयो । यद्यपि जेलेन्स्कीले आफूलाई सुरक्षा ग्यारेन्टी चाहिएको बताउनुभयो ।

विवादास्पद बैठकको परिणामस्वरूप जेलेन्स्की युक्रेनी खनिज अधिकारहरू साझा गर्नेबारे प्रारम्भिक सम्झौतामा हस्ताक्षर नगरिकन ह्वाइट हाउस छाड्नुभयो ।

त्यसपछि केही वरिष्ठ अमेरिकी रिपब्लिकनहरूले जेलेन्स्कीले राजीनामा दिनुपर्ने सुझाव दिए ।

“हामीलाई एउटा नेता चाहिन्छ जसले हामीसँग व्यवहार गर्न सक्छ, अन्ततः रुसीहरूसँग सम्झौता गर्न सक्छ र यो युद्धको अन्त्य गर्न सक्छ”, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सिएनएनलाई भन्नुभयो ।

जेलेन्स्कीले आइतबार उहाँलाई प्रतिस्थापन गर्न सजिलो हुनेछैन भन्नुभयो तर आफ्नो युद्धग्रस्त देशका लागि नाटो सदस्यताको बदलामा पदबाट हट्ने आफ्नो प्रस्ताव दोहो¥याउनुभयो ।

“यदि उनीहरूले मलाई प्रतिस्थापन गर्छन् भने जे भइरहेको छ त्यो हेर्दा, समर्थन हेर्दा, मलाई केवल प्रतिस्थापन गर्नु सरल हुनेछैन”, जेलेन्स्कीले भन्नुभयो, “केवल चुनाव गर्नु पर्याप्त छैन । तपाईंले मलाई उम्मेदवार हुनबाट पनि रोक्नुपर्छ । यो केही बढी कठिन हुनेछ । यस्तो देखिन्छ कि तपाईंले मसँग वार्ता गर्नुपर्नेछ, अनि मैले भनेँ कि म नाटोका लागि साटासाट गर्दैछु । त्यसपछि मैले मेरो लक्ष्य पूरा गरेँ ।”

जेलेन्स्कीले शान्तिकालमा सन् २०२४ को चुनावको सामना गर्नुपर्ने थियो भन्दै रुसले जेलेन्स्की वैध राष्ट्रपति नभएकामा बारम्बार जोड दिएको छ । युक्रेनको मार्शल लले चुनाव आयोजना गर्न कानूनी प्रतिबन्ध लगाएको छ ।

जलस्रोत बाँडफाँटबारे छलफल गर्न बङ्गलादेशको प्रतिनिधिमण्डल भारत भ्रमणमा

बङ्गलादेश र भारतबीच जलस्रोतको साझेदारीबारे छलफल गर्न बङ्गलादेशको प्राविधिक प्रतिनिधिमण्डल सोमबार कोलकाता गएको अधिकारीहरूले बताएका छन् ।

जोइन्ट रिभर कमिशन (जेआरसी) का सदस्य मुहम्मद अबुल होसेनको नेतृत्वमा रहेको १२ सदस्यीय बङ्गलादेशी प्रतिनिधिमण्डलले मार्च ५ बिहानसम्म फरक्कामा गङ्गाको प्रवाह अवलोकन गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताए ।

त्यसपछि प्रतिनिधिमण्डल भारत–बंगलादेश जोइन्ट रिभर कमिशनको तत्वावधानमा मार्च ६–७ मा कोलकातामा हयात रिजेन्सी होटलमा दुई दिवसीय बैठकका लागि कोलकाता फर्किने तय भएको द डेली स्टारले जनाएको छ ।

“फराक्का स्थल भ्रमणपछि बङ्गलादेश र भारतबीच दुईवटा बैठक हुनेछन् । एउटा बैठकमा गङ्गा सम्झौता कार्यान्वयनबारे छलफल हुनेछ भने अर्को बैठकमा साझा नदीका विभिन्न प्राविधिक विषयमा छलफल हुनेछ”, जेआरसीका कार्यकारी इन्जिनियर काजी साहिदुर रहमानले भन्नुभयो, “प्रतिनिधिमण्डल मार्च ८ मा ढाका फर्कनेछ ।”

गङ्गा भारत र बङ्गलादेशले साझा गर्ने ५४ वटा नदीमध्ये एउटा हो । सन् १९९६ डिसेम्बर १२ मा तत्कालीन भारतीय प्रधानमन्त्री एच डी देवगौडा र उहाँका तत्कालीन बङ्गलादेश समकक्षी शेख हसिनाद्वारा गङ्गा जल सन्धिमा हस्ताक्षर गरेर यसको पानी बाँडफाँटलाई लिएर लामो समयदेखि रहेको मतभेद समाधान गरिएको थियो ।

यो सन्धि ३० वर्षको अवधिका लागि लागु हुने थियो र आपसी सहमतिमा नवीकरणयोग्य थियो । जलस्रोत विभागअनुसार सन्धिको कार्यान्वयन अनुगमन गर्नसंयुक्त समिति गठन गरिएको छ ।

सन् २०२६ मा यो सन्धि नवीकरण हुने अपेक्षा गरिएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले गङ्गाको पानी बाँडफाँट सन्धि नवीकरण गर्ने प्रयासमा महत्त्वपूर्ण भूमिका खेल्नुहुने अपेक्षा गरिएको छ ।

सन् २०११ मा भारत र बङ्गलादेश यसको पाठमा सहमत भए तापनि बेनर्जीले टिस्टा नदीको पानी बाँडफाँट सन्धिको विरोध गरिरहनुभएको छ ।

विशेष गरी भारतबाट बङ्गलादेशमा मनसुनको मौसममा गङ्गा, टिस्टा, ब्रह्मपुत्र र बराक जस्ता प्रमुख नदीहरूमा बाढी पूर्वानुमान डेटाको प्रसारण गर्ने प्रणाली अवस्थित छ ।

मनसुनको समयमा बाढी पूर्वानुमान जानकारीको प्रसारणले बङ्गलादेशका नागरिक र सैन्य अधिकारीहरूलाई बाढीबाट प्रभावित जनसङ्ख्यालाई सुरक्षित स्थानमा सार्न सक्षम बनाएको मन्त्रालयले जनाएको छ ।  

बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्नू’

काठमाडौँ, १९ फागुनः अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाएको छ । बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको छ ।

सबै विषयगत निकायलाई मितव्ययी खर्च, प्राथमिकताका आयोजना छनोट, दोहोरोपन हटाउने र कार्यान्वयन योग्य योजना मात्र समावेश गर्न मन्त्रालयले आग्रह गरेको छ । मार्गदर्शनअनुसार नयाँ योजना प्रस्ताव गर्दा पर्याप्त तयारी र लागत–लाभ विश्लेषण आवश्यक पर्नेछ भने हाल सञ्चालनमा रहेका योजना सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेछ । राष्ट्रिय गौरवका आयोजना तथा अन्य उच्च प्राथमिकताका परियोजनालाई प्राथमिकता दिइने र स्रोतको उपलब्धिमूलक उपयोग सुनिश्चित गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्ति निरुत्साहित गरिने मन्त्रालयले जनाएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा परेको दबावलाई मध्येनजर गर्दै सार्वजनिक खर्चको प्रभावकारिता बढाउने र आर्थिक गतिविधि विस्तार गर्नेगरी आगामी आर्थिक वर्षको बजेटमा पर्ने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न मन्त्रालयले परिपत्र गरेको छ । “आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रम आगामी चैत १५ गतेभित्र मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस)मा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउन अनुरोध छ”, पत्रमार्फत् भनिएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि रु १९ खर्ब ६५ को सीमाभित्र बजेट ल्याउन सक्नेगरी सरकारलाई सिलिङ उपलब्ध गराएको छ । सोही सीमाभित्र रहेर वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नुपर्ने पनि बजेट तर्जुमा मार्गदर्शनमा उल्लेख छ ।

“विनियोजन दक्षता कायम गर्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित क्रियाकलापमा मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ । आयोजना तथा कार्यक्रममा दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश गर्नु हुनेछैन”, विषयगत मन्त्रालयलाई आग्रह गर्दै अर्थले भनेको छ, “चालु खर्चमा मितव्ययिता कायम गर्ने गरी अत्यावश्यक बजेट मात्र प्रस्ताव गर्ने र अनिवार्य दायित्वका खर्च शीर्षकमा पछि थप निकासा माग गर्न नपर्ने गरी पर्याप्त बजेट प्रस्ताव गर्नुपर्नेछ ।”

एकै प्रकृतिका क्रियाकलाप विभिन्न उपशीर्षक तथा कार्यक्रममा समावेश भएकामा आगामी आर्थिक वर्षदेखि त्यस्ता क्रियाकलापलाई एकीकृत गरी व्यवस्थित गरिनुपर्ने पनि बजेट तर्जुमा मार्गदर्शनमा उल्लेख छ ।

यस्त्ै, नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्वतयारी पूरा भएका तथा लागत लाभ विशेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्न भनिएको छ । हाल कार्यान्वयनमा रहेका आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएमा सोको लागि पर्याप्त बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव गर्नुपर्ने मार्गदर्शनमा जनाइएको छ ।

“सीमित स्रोतको उपलब्धिमूलक उपयोग गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेछ । क्रमागत आयोजनाको सङ्ख्या घटाउने, कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गरी कार्यान्वयनयोग्य आयोजना मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनु पर्नेछ”, बजेट तर्जुमा मार्गदर्शनमा भनिएको छ,“आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजना मात्र समावेश गर्नु पर्नेछ । यस्तै, अध्ययन पूरा नभएका नयाँ आयोजना कार्यान्वयनक्ँ लागि बजेट विनियोजन नहुने हुँदा त्यस्तो आयोजनाको अध्ययन तथा तयारी कार्यका लागि मात्र बजेट प्रस्ताव गर्नू ।” 

बजेट तर्जुमा मार्गदर्शनअनुसार स्रोतको सुनिश्चितता नगरी नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न पाइने छैन । यस्तै, आयोजना प्रस्ताव गर्दा अन्तरतह तथा अन्तरमन्त्रालयमा दोहोरोपना नपर्ने सुनिश्चित गर्नुपर्नेछ । विपद्पछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गरिनुपर्ने जनाइएको छ ।

अर्थ मन्त्रालयले स्रोत सहमति दिएका आयोजना तथा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा सिर्जना हुने दायित्व भुक्तानी गर्न पुग्ने रकम छुट्याएर मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट प्रस्ताव गर्न भनिएको छ । प्राथमिकताको आधारमा कार्यान्वयन निरन्तरता दिनुनपर्ने प्रकृतिका स्रोत सुनिश्चित गरिएका आयोजनालाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत व्यवस्थापन गरिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । विभिन्न आयोजना तथा कार्यक्रममा विधिसम्मत रूपमा भएको खर्चको भुक्तानी गर्नुपर्ने सिर्जित दायित्वको रकम अनिवार्य रूपमा प्रस्ताव गर्न भनिएको छ । यसैगरी, राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्वपूर्ण कार्यक्रममा सिर्जना हुने दायित्वलाई भुक्तानी गर्न पुग्ने गरी बजेट प्रस्ताव गर्नुपर्नेछ ।

ससर्त अनुदानका आयोजनाहरूलाई पुनःप्राथमिकीकरण गरी गुणस्तरीय आयोजनामात्र निरन्तरता दिनु भनिएको छ । “तयारी पूरा नभएका तथा लगानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव गर्नु हुनेछैन । ससर्त अनुदानबाट बेहोर्नुपर्ने कार्यरत जनशक्तिका लागि आवश्यक तलबलगायत अनिवार्य दायित्वमा पर्याप्त रकम प्रस्ताव गर्नुहुनेछ”, मार्गदर्शनमा भनिएको छ ।

समपूरक र विशेष अनुदानका आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्न पुग्ने रकम प्रस्ताव गरी बाँकी रकमको मात्र नयाँ आयोजना प्रस्ताव गर्न सकिनेछ । यस्तै, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन चालु प्रकृतिका खर्च घटाउने गरी विनियोजन प्रस्ताव गर्न आग्रह गरिएको छ । सफ्ट्वेयर खरिद र परामर्श सेवालगायत खर्च शीर्षकमा पर्याप्त आधार र लागत प्रभावकारिता हेरी एकीकृत प्रणालीको विकासमा सहयोग पुग्ने भएमा मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ । अबन्डामा कुनै पनि बजेट प्रस्ताव गर्न र अत्यावश्यकीय अवस्थामा बाहेक फर्निचर फिक्चर्स तथा सजावट खर्चमा बजेट माग्न पाइनेछैन ।

‘केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ’:परराष्ट्रमन्त्री राणा

काठमाडौँ, १९ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताउनुभएको हो ।

मन्त्री डा देउवाले मृत्युको प्रकृतिका बुबाआमा र आफन्तजनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको बताउनुभएको थियो । उहाँले प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँगसमेत कुराकानी भएको जानकारी गराउनुभयो । त्यसक्रममा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको मन्त्री डा देउवाले जानकारी गराउनुभयो ।

प्रकृतिका बुबाआमासँग उहाँले भन्नुभयो, “मैले कूटनीतिक माध्यमबाट दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्न भारत सरकारसँग आग्रह गरेकी छु र सरकारले यसलाई फलोअप गरिरहेको छ । प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”

यस विषयमा परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि मन्त्री देउवाले जानकारी दिनुभयो ।   उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो । 

पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा

वीरगञ्ज (पर्सा), १९ फागुन : नेपाल पुलिस क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले बागमती युवा क्लब, सर्लाहीलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको १६औँ मिनेटमा पुलिस क्लबका मनिष सेढाईले उत्कृष्ट गोल गर्दै खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । विवेक पाण्डेको उत्कृष्ट पासमा सेढाईले हेडिङमार्फत गोल गरेका थिए ।

यस्तै खेलको २६औँ मिनेटमा बागमती युवा क्लबका भुपाल मगरले गोल गरेका थिए । यसैगरी खेलको ७६औँ मिनेटमा पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले उपलब्ध गराएको पासको सदुपयोग गर्दै सोही क्लबका उज्ज्वल राईले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइन प्रवेश गराएका थिए ।

सेमिफाइनमा अब पुलिस क्लबले आयोजक वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार पाउने छ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।

वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड

काठमाडौँ, १९ फागुन : सरोकारवालाले वन डढेलो नियन्त्रणका लागि अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्वर्ण महत्वसको अवसरमा आज यहाँ आयोजित मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन विषयक नीति संवादमा बोल्दै सरोकारवालाले अनुसन्धानले प्रथामिकता पाउन नसकेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका हुन् । वन डडेलो व्यवस्थापन कसरी गर्ने ? देखिएका समस्या र समाधानका उपाय, परिमार्जन गर्नुपर्ने नीतिलगायतका विषयमा विस्तृत अध्ययन अनुसन्धान हुन नसकेको भन्दै अनुसन्धान बढाउनुपर्नेमा उहाँहरुको जोड थियो ।

संवादमा वन तथा वातावरण मन्त्रालयका सह–सचिव दिपक ज्ञावालीले वन अनुसन्धानको आधारमा ढडेलोसम्बन्धि नीति परिमार्जन गर्न नसकिएको बताउनुभयो । “डढेलो कसरी नियन्त्रण गर्ने ? किन समस्या समाधान भइरहेको छैन ? अवको दिर्घकालिन रणनीति के हुने ? भन्ने विषयमा विस्तृत अनुसन्धान गरेर नीति परिमार्जन गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “डढेलो व्यवस्थापनका नयाँ नयाँ प्रविधि र उपायसमेतलाई समावेश गरी नयाँ नीति परिमार्जन गर्नुपर्छ । यसलाई मन्त्रालयले गम्भिर रूपमा लिएको छ ।”

डढेलोविद् कृष्ण भुजेलले वन डढेलो व्यवस्थापनबारे अध्ययन अनुसन्धान नै कम भएको भन्दै अब यसका राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बर्दियाका डिभिजनल वन अधिकृत विजय सुवेदीले डढेलो नियन्त्रणका लागि अग्नि रेखा बनाउनुपर्ने, सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र आगो लागेको जानकारी छिटो थाहा पाउन सकेमा नियन्त्रणमा सहज हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की उपमा कोजुले डढेलो नियन्त्रणका लागि प्रविधिमा लगानी बढाउनुपर्ने र सुचनाको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।

यसैगरी प्रस्तुतकर्ता तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव सुदिप छत्कुलीले डढेलो नियन्त्रणका लागि सरकार, समुदाय र निजी क्षेत्र तथा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

केपी ओली कप फुटबल : पहिलो हाफमा मछिन्द्रको अग्रता

काठमाडौँ, १९ फागुन : तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता मछिन्द्र फुटबल क्लबले अग्रता लिएको छ । मछिन्द्रले पहिलो हाफमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १–० गोलको अग्रता लिएको हो ।

त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा जारी उक्त खेलको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको छ ।

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्छ । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।

अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि दशरथचन्दलाई, मेलौली स्तब्ध

बैतडी, १९ फागुन: बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाले जितेको छ ।

गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द विजेता बन्यो । यससँगै दशरथचन्दले रु एक लाख २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो । पराजित मेलौलीले रु ७५ हजारमा चित्त बुझाएको छ ।

फाइनल खेलमा सुरूका दुई सेट दशरथचन्दले जितेको थियो । पहिलो सेट २६–२४, दोस्रो २५–२१ ले हात पा¥यो । तेस्रो सेट मेलौलीले २५–१८ ले जित्यो । चौथो सेट पुनः दशरथचन्दले २५–२३ ले आफ्नो पक्षमा पार्दै विजेता बनेको रेफ्री संयोजक हरि भण्डारीले जानकारी दिनुभयो ।

दशरथचन्दले यसअघि गत संस्करणमा फाइनलमा मेलौलीसँग हारेको बदला लिएको छ । यस्तै, प्रतियोगितामा सुर्नया गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । सुर्नयाले रु ३५ हजार पुरस्कार प्राप्त ग¥यो । सान्त्वना स्थानमा चित्त बुझाएको सिगास गाउँपालिकाले १५ हजार पुरस्कार पायो ।

दशरथचन्द नगरपालिकाका सुरज चुनारा सर्वाेत्कृट खेलाडी भए । उनले रु पाँच हजार पुरस्कार जिते । मेलौलीका सन्देश चन्द बेस्ट सटर, दशरथचन्दका नवीन भण्डारी बेस्ट ब्लकर, दशरथचन्दकै सरोज चुनारा बेस्ट डिफेन्डर, सुर्नयाका सुरेन्द्र भाट बेस्ट सर्भर र मेलौलीका बरूण ठगुन्ना बेस्ट स्पाइकर भए । दोगडाकेदारको टिम अनुशासित घोषणा भयो ।

खेलाडीलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक गणेश चन्द, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष इञ्जिनियर ग्रिस चन्दलगायतले पुरस्कार वितरण गर्नुभयो ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता रहेको थियोे । दशरथचन्द नगरपालिका–५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशलाई आत्मसात् गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १९ फागुन: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जस्तो सुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको नेकपा (एमाले) लाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “एमालेसँग जनआधारित, अनुशासित एवं समर्पित कार्यकर्ता र सदस्यहरूको विस्तारित पंक्ति, अनुभवी, संयमित र दृढ सङ्कल्प भएको नेतृत्व तह तथा समृद्धि हासिल गर्न मार्गदर्शनका रूपमा मौलिक सिद्धान्त छ । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन गर्न एमाले अध्यक्ष प्रधानमन्त्री ओली रहनुभएको छ । यो पार्टीको महत्वपूर्ण योगदान दिइरहेको छ ।”

अध्यक्ष ओलीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिक, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ गर्न खेलेको भूमिकाको उहाँले सराहना गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले यो पुस्तकले प्रधानमन्त्री ओलीले आफ्नो सङ्घर्षमय जीवन र राजनीतिक यात्रालाई अघि बढाउने सन्र्दभमा देख्नुभएको महान सपना, गर्नुभएको अथक सङ्घर्ष र अगाल्नु भएको विशिष्ट सङ्कल्पलाई थप उजागर गरी जनमानससम्म पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने उहाँको विश्वास थियो । “महाभूकम्पले भत्काएको संरचना पुनःनिर्माण गर्न देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा देखाउनुभएको प्रभावकारी व्यवस्थापन एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा भएको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु”, उहाँले भन्नुभयो,“ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपुर्ण अनुभवको मुलुकले भरपुर उपयोग गर्नुपर्छ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका धनी प्रधानमन्त्री ओली एक अब्बल एंव लोकप्रिय राजनेता हुनुभएको छ ।”

एमाले महासचिव शङ्कर पोखरेलले अध्यक्ष एवं प्रधानमन्त्री ओली एउटा अनुशासित विद्रोहीका रूपमा समाजको दिशालाई बदल्ने सामथ्र्य राख्ने व्यक्ति भएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “अनुशासित व्रिदोहको प्रतिनिधि पात्रका रूपमा अध्यक्ष ओली हुनुहुन्छ । राजनीतिक मूल्य मान्यता र सिमामा रहेर अगाडि बढ्यो भने उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विषय अध्यक्ष ओलीको जीवन सङ्घर्षबाट सिक्ने पाठ हो ।”

अध्यक्ष ओली अध्ययन र ज्ञानको भण्डारको रूपमा रहनुभएको बताउँदै महासचिव पोखरेलले उहाँ राजनीति गर्नेहरूका बीचमा पार्टीलाई डो¥याउन सामथ्र्य राख्ने हैसियत र सदैव विचारसहितको नेता रहेको बताउनुभयो । “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई उहाँले आत्मसात् गरेर अगाडि बढ्नुभएको छ । सङ्गठित विचार निर्माताको रूपमा पनि हामी बुझ्न सक्छौँ । धेरै जना राजनीतिमा सफल हुन्छन् तर जिम्मेवारी पूरा गर्नमा असफल भएको देखिए पनि उहाँ भने सफल रहनुभएको छ”, उहाँको भनाइ थियो ।

पूर्वमन्त्री निलाम्बर आचार्यले प्रधानमन्त्री ओली समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाकार र योजनाकार मात्र नभइ समृद्ध नेपाल निर्माण गर्ने दृढ इच्छाशक्ति भएको राजनेताका रूपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका पुस्ताले केपी ओलीमा भएको आत्मबल, हरेस नखाने, खटिराख्ने आचरण र निरन्तर अध्ययन गरिराख्ने बानी सिक्नुपर्छ । राजनीतिमा त यो झन् आवश्यक छ ।”

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले पुस्तक अध्ययनबाट प्रधानमन्त्री ओलीको मुटु जस्तै हृदय पनि विशाल रहेछ भन्ने महसुस भएको बताउनुभयो । कलाकार प्रकाश सपूतले विभिन्न बहाना देखाएर पछि हट्ने युवा पुस्ताको बानी व्यहोरालाई सच्याएर प्रगतिका लागि अघि बढ्न प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी रहेको धारणा राख्नुभयो ।

त्यस अवसरमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाललगायतले प्रधानमन्त्री ओलीको व्यक्तित्व र कृतिमाथि केन्द्रित रहेर धारणा राख्नुभएको थियो । पुस्तकका लेखक पत्रकार गणेश पाण्डेले समाजका विभिन्न क्षेत्रका व्यक्तिले प्रधानमन्त्री ओलीलाई हेर्न दृष्टिकोण तथा उहाँको नेतृत्वमा मुलुकले हाँसिल गरेको विकास र समृद्धिका यात्रासम्बन्धी विषय अन्तर्वार्तामा केन्द्रित रहेर तयार गरेको बताउनुभयो ।

भैरहवा कारागार स्थानान्तरण गर्न गृहमन्त्री लेखकको आश्वासन

लुम्बिनी (मर्चवार), १९ फागुन : भैरहवास्थित जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकले आश्वासन दिनुभएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँसँगको छलफलपछि गृहमन्त्री लेखकले कारागार स्थानान्तरणका लागि बजेट सुनिश्चित गर्दै प्रक्रियाअघि बढाउने आश्वासन दिनुभएको हो ।

रूपन्देहीको जिल्ला कारागार सदरमुकाम भैरहवामा अवस्थित छ । घना बस्तीको बीचमा रहेकाले यसबाट विभिन्न समस्या हुने गरेको र नगरको सुन्दरतामा समेत असर परेको भन्दै नगरप्रमुख खाँले कारागार स्थानान्तरणको पहल गर्न मन्त्री लेखकसँग आग्रह गर्नुभएको थियो । छलफलका क्रममा भैरहवास्थित जिल्ला कारागारको हालको जग्गा नगरपालिकालाई हस्तान्तरण गरी बदलीमा नगरपालिकाले अन्यत्र उपयुक्त जग्गा प्रदान गर्ने प्रस्ताव नगरप्रमुख खाँले गृहमन्त्री लेखक समक्ष प्रस्ताव राख्नुभएको थियो ।

गृहमन्त्री लेखकले नगरप्रमुख खाँको प्रस्ताव सकारात्मक रहेको भन्दै कारागारका लागि नयाँ भवन निर्माण गर्न बजेट सुनिश्चित गरी स्थानान्तरणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा भाग लिन उहाँ भैरहवा आउनुभएको हो ।

नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ, १९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । ‘सर्वोदय सेवाश्रम’द्वारा स्थापित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।”

 राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो । उहाँले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।

 नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उहाँहरूको योगदानको प्रतीक भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्रा डा विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवद्र्धन, योग तथा अध्यात्मको क्षेत्रमा पु¥याउनुभएको योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुहुने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवं नेपालको सङ्क्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

रेग्मी र उपाध्याय सम्मानित

 सर्वोदय सेवाश्रमले यस वर्षको भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र नरकान्त योग राष्ट्रिय पुरस्कार प्रा डा विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख र सम्मानपत्र रहेको छ । ती दुवै पुरस्कार राष्ट्रपति पौडेलले उहाँहरुलाई हस्तान्तरण गर्नुभयो । 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायधीश रेग्मीलाई देशको कार्यकारी र न्यायालयको सर्वोच्च पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो । यस्तै उपाध्याय भट्टले योग चिकित्सा र प्रशासनको क्षेत्रमा अतुलनीय योगदान गरेकामा पुरस्कार प्रदान गरिएको हो ।

 पुरस्कृत व्यक्तित्व मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मानवता, नैतिकता र सच्चरित्रता जस्ता विषयको सिकाइ र शिक्षाबारे अध्ययन गराउन छाडिएकाले नैतिकता, सदाचार जस्ता मानवीय सच्चरित्रताका गुणहरू समाजमा ह्रासोन्मुख हुँदै गएको बताउनुभयो । 

“मानिसमा आफ्नो र स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ । अनुशासन, विनयशीलता र वाणीमा शालीनता हराउँदै गएको छ,” उहाँले भन्नुभयो– “अंहकार र दम्भको भावना बढेको पाइन्छ । यसैले व्यक्ति, समाजलाई विनयशील, चरित्रवान्, अनुशासित बनाउन नैतिक शिक्षा र सिकाई पद्धतिमै सुधारको आवश्यकता छ ।”

 पूर्वअध्यक्ष रेग्मीले आफूले प्राप्त गरेको पुरस्कारको राशि मानवीय सेवा र सदाचारको प्रवर्द्धनमा उपयोग गर्नेगरी आफ्नै जन्मथलो पाल्पाको विद्यालयमा पढ्ने अनुशासन, सदाचार र राम्रो आचरणमा उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने गरी समर्पण गर्ने घोषणा गर्नुभयो ।

 अर्का पुरस्कृत व्यक्तित्व प्रा डा उपाध्याय भट्टले योग शिक्षा र योग विज्ञान हरेक मानिसको जीवनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै योग साधना,  सदाचार र नैतिक चाचरणको प्रवर्द्धनका लागि सबै जुट्नुपर्ने खाँचो औंल्याउनुभयो ।     सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले योग शिक्षा, मानव स्वास्थ्य, समाजिक सेवा, नैचिक सदाचार आदि विषयमा संस्थाले काम गर्दै आएको जानकारी दिनुभयो ।

म्यानमाका जुन्ता प्रमुखले प्रमुख सहयोगी पुटिनसँग भेटवार्ता गर्ने

म्यानमाका जुन्ता प्रमुख सोमबार रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि प्रस्थान गर्नुभएको छ । रुस सैन्य शासनको हिंसात्मक विरोधलाई रोक्न सङ्घर्ष गरिरहेको एकान्त राज्यका लागि प्रमुख सहयोगी र हतियार आपूर्तिकर्ता हो ।

सन् २०२१ को विद्रोहमा सत्ता कब्जा गर्ने मिन आङ ह्लाइङले उच्च पदस्थ अधिकारीहरूको टोलीसहित राजधानी नेपिडोबाट प्रस्थान गर्नुभएको र मङ्गलबार पुटिनलाई भेट्ने कार्यक्रम रहेको जुन्ताको सूचना सेवाले जनाएको छ ।

विश्लेषकहरूका अनुसार जुन्ता सरकारले धेरै मोर्चामा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू र प्रजातन्त्र समर्थक गुरिल्लाहरूसँग लडिरहेकाले मस्कोको समर्थन विशेष गरी वायु सेनाका लागि सैन्य प्रशासनका लागि अत्यावश्यक बनेको छ ।

सन् २०२३ को विद्रोही आक्रमणपछि जुन्ताले महत्त्वपूर्ण क्षेत्रीय नोक्सानी भोगेको थियो तर यसको हवाई शक्तिले विपक्षी बलहरूको अग्रगमनलाई रोक्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

“रुसले उनीहरूको वायु फ्लिटलाई चलायमान राख्न मद्दत गर्दै अमूल्य भूमिका निभाएको छ”, अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थान थिङ्क ट्याङ्कका अनुसन्धान फेलो मोर्गन माइकल्सले भन्नुभयो, “हामीलाई रूसी प्राविधिकहरूले म्यानमाको वायु सेनालाई अपरेसनको गति कायम राख्न मद्दत गरेको शङ्का छ ।

रुसको सरकारी मिडियाका अनुसार दुई वर्षभन्दा बढी समयपछि पुटिन र मिन आङ ह्लाइङबीचको यो पहिलो भेट हुनेछ ।

“पक्षहरूले पारस्परिक फाइदाजनक रुस–म्यानमा सहयोगको थप विकासका साथै सामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूका सम्भावनाहरूबारे छलफल गर्नेछन्”, क्रेमलिनको एक विज्ञप्तिमा भनिएको छ ।

सन् २०२१ को विद्रोहपछि म्यानमा र सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण गरेपछि रुसलाई पश्चिमी प्रतिबन्धको झनझनाहटले असर गरेको छ ।विश्लेषकहरूका अनुसार दुवै देशले दण्डात्मक उपायहरूलाई सन्तुलन गर्न मित्रवत् राष्ट्रहरूसँग बलियो सम्बन्ध विकास गर्न खोजिरहेका छन् ।  तर आदानप्रदान सैन्य र व्यापारमा मात्र सीमित छैन ।   रूसी राज्य समाचार एजेन्सी तासका अनुसार जनवरीमा म्यानमाले मस्कोको ग्रेट सर्कसलाई ‘मित्रताको प्रतीकका रूपमा’ छवटा हात्ती उपहार दिएको थियो ।

युक्रेनमा रूसी आक्रमण : कसले के भन्छ

पछिल्ला केही दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच नाटकीय वादविवाद तथा युरोपेली नेताहरूले किएभका लागि आफ्नो समर्थन व्यक्त गरेको देखिएको छ । युक्रेनमा रुसी आक्रमणलाई कसरी अन्त्य गर्ने भन्ने कुरामा विभिन्न पक्षहरू यहाँ उभिएका छन् :

– युक्रेन –

मस्कोले फेरि आक्रमण गर्ने निर्णय गरेमा युक्रेनले युरोप र संयुक्त राज्य अमेरिका दुवैको सहयोगीबाट कडा आश्वासनबिना हतियार बिसाउन नसक्ने जोड दिएको छ । “मुख्य कुरा के हो भने – शान्ति वास्तविक हुनका लागि वास्तविक सुरक्षा ग्यारेन्टीहरू आवश्यक छन्”, जेलेन्स्कीले रातारात सम्बोधनमा भन्नुभयो । “युद्धविराम पर्याप्त छैन”, उहाँले आइतबार मित्रराष्ट्रहरूसँगको वार्तापछि बेलायतमा पत्रकारहरूलाई भन्नुभयो ।

युक्रेनले महत्त्वपूर्ण खनिजहरूको निष्कासनसम्बन्धी सम्झौतामा अमेरिकी ग्यारेन्टीहरूको मार्ग प्रशस्त गर्ने आशा गरेको थियो जुन ट्रम्पसँगको झगडापछि विफल भयो ।

“किएभ अझै पनि सम्झौतामा हस्ताक्षर गर्न तयार छ”, जेलेन्स्कीले भन्नुभयो ।

सुरक्षा ग्यारेन्टीको आकारबारे बहस भइरहेको छ तर जेलेन्स्कीले युक्रेनमा विदेशी शान्ति सैनिकहरूका साथै समुद्री र हवाई रक्षा सहयोगका लागि जोड दिनुभएको छ । 

मस्कोको सेनाले कब्जा गरेको युक्रेनी भूभागमाथि रुसको दाबीलाई युक्रेनले कहिल्यै मान्यता नदिने युक्रेनी नेताले आइतबार दोहोर्‍याउनुभएको छ ।

– संयुक्त राज्य अमेरिका –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम चाहेको तर यसको सम्मान गर्न सुरक्षा ग्यारेन्टी दिन अस्वीकार गरेको र युक्रेनलाई नाटो सदस्यताको सम्भावनालाई अस्वीकार गरेको बताउनुभएको छ ।

तर ट्रम्पले युक्रेनलाई अनुदान स्वरूप दिइएका सहायता फिर्ता गर्न दबाब दिइरहनुभएको छ ।

उहाँ जेलेन्स्कीसँग झगडा नभएसम्म अमेरिकालाई युक्रेनी खनिज स्रोतहरूको विशाल मात्रामा प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न पनि तयार देखिनुभएको थियो ।

चिच्याहटपूर्ण प्रतिस्पर्धापछि वासिङ्टनका उच्च अधिकारीहरूले  शान्ति सम्झौता हासिल गर्नु छ भने जेलेन्स्कीले पद छोड्नुपर्ने हुनसक्ने सुझाव दिएका छन् ।

– युरोप –

युरोपेली नेताहरू आइतबार लन्डन शिखर सम्मेलनमा किएभको समर्थनमा एकजुट भए । त्यहाँ उनीहरूले सुरक्षामा अधिक खर्च गर्ने र युक्रेनमा कुनै पनि युद्धविरामको रक्षा गर्न गठबन्धन गठन गर्ने प्रतिबद्धता जनाए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफू र बेलायतका नेता किर स्टार्मरले युक्रेनमा ‘हावा, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविराममा काम गरिरहेको बताउनुभएको छ ।

स्टार्मर र म्याक्रोनले कुनै पनि युद्धविराम कायम राख्न मद्दत गर्न अन्य देशहरूसँग युक्रेनमा बेलायती र फ्रान्सेली सेना तैनाथ गर्न तयार रहेको बताउनुभएको छ ।

धेरै नेताहरूले युरोपलाई पुनः सशस्त्र गर्न वकालत गरेका छन् । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले महादेशलाई तत्कालै ‘सबैभन्दा खराबका लागि तयारी गर्नुपर्ने’ चेतावनी दिनुभयो । 

– रुस –

रुसले युक्रेनलाई चार युक्रेनी क्षेत्रहरू डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिज्जिया छोड्न माग गरिरहेको छ । ती क्षेत्रलाई उसले पूर्ण रूपमा नियन्त्रण नगरेको भए पनि अधिग्रहण गरेको दाबी गर्दछ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले ती क्षेत्रहरूको स्थितिका साथै सन् २०१४ मा अधिग्रहण गरेको क्रिमिया ‘गैर–वार्ता योग्य’ छ भन्नुभएको छ ।

मस्कोले किएभ सरकारलाई अवैध मान्छ र युक्रेनले भविष्यमा कुनै पनि नाटो सदस्यता त्याग्नुपर्ने माग गर्दछ । युक्रेनको नाटो प्रवेशलाई रुसले अस्तित्वको खतराको रूपमा बुझ्दछ ।

रुसले युक्रेनमा युरोपेली शान्ति सेना पठाउने सम्भावनाको विरोध गरेको पनि बताएको छ ।

ट्रम्प प्रशासनद्वारा सुरु गरिएको नाटकीय सम्बन्ध सुधारपछि क्रेमलिनले एकैसाथ रुसविरुद्ध अमेरिकी प्रतिबन्धहरू हटाउनेसहित वासिङ्टनसँग आफ्नो सम्बन्धको सामान्यीकरणको वकालत गरिरहेको छ ।

– अब के ? –

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले बेलायत, फ्रान्स र अन्यले युक्रेनसँग मिलेर लडाइँ रोक्ने योजनामा काम गर्ने र त्यसपछि वासिङ्टनमा राख्ने बताउनुभयो । विशिष्ट विवरणहरू सम्भवतः आगामी दिनहरूमा आउनेछन् र मार्च ६ का लागि आह्वान गरिएको युक्रेनलाई समर्पित एक विशेष युरोपेली शिखर सम्मेलनमा छलफलहरू हुनेछन् ।

यसैबीच मस्को र वासिङ्टनले सम्बन्ध सुधार्न जारी राखेका छन् ।ट्रम्पले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेपछि आक्रमण सुरु भएयता दुई देशबीचको पहिलो उच्चस्तरीय बैठक साउदी अरेबियामा आयोजना गरिएको थियो ।    अमेरिकी र रुसी अधिकारीहरूबीच थप वार्ताहरू इस्तानबुलमा आयोजना गरिए तथा ट्रम्प र पुटिनबीच शिखर सम्मेलनका लागि तयारीहरू चलिरहेका छन् ।

केपी ओली कप फुटबल : आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै

काठमाडौँ, १९ फागुन-त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल हुँदै छ । त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा भइरहेको उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुुनुुभएको छ ।

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्छ । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।

मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

मनहरी (मकवानपुर), १९ फागुन: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्युभएको छ भने एक जना घाइते भएका छन् ।आज मनहरी-७ मनहरी पुलमा हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर-१६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ भने सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते हुनुभएको छ ।

टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा सङ्लग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए । माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु

बरहथवा(सर्लाही), १९ फागुन: यहाँको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो ।

उहाँको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै

कैलाली, १९ फागुनः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ ।
कांग्रेस प्रदेश कार्यसमितिद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र सङ्गठन सुदृढीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । सम्मेलनमा प्रदेशभरका पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

सभापति बलायरले सम्मेलनले बदलिँदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नुपरेका समस्याबारे बृहत् छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझावसमेत दिइने बताउनुभयो ।

यस्तै, सम्मेलनको अर्को दिनदेखि फागुन २७ र २८ गते धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पनि त्यस अवसरमा जानकारी दिइयो । प्रशिक्षण कार्यक्रममा करिब एक सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने सभापति बलायरले जानकारी दिनुभयो ।

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

चितवन, १९ फागुनः दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ ।

विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उहाँले बताउनुभयो । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् ।

विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उहाँले बताउनुभयो । भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उहाँको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी भुक्तानी पाउन सकेका छैनन् । भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उहाँले बताउनुभयो । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरुको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ४०, परबर (लोकल) प्रतिकेजी रु २००, झिगुनी प्रतिकेजी रु ९०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १२, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ७०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु १००, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३००, कुरिलो प्रतिकेजी रु १,४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ७०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २८०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३०, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १४०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ३४०, खुर्सानी हरियो प्रतिकेजी रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २९०, लसुन सुकेको नेपाली प्रतिकेजी रु २००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ७०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, रुख टमाटर प्रतिकेजी रु १८० तोकेको छ ।

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

कञ्चनपुर, १९ फागुनः कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहनु भएको छ । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्रको कार्य नभएपछि वडा अध्यक्षले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिनका लागि सडकको प्रवेश विन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहनु भएको छ । कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहँुदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उहाँको भनाइ छ ।

“पटक–पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन”वडाध्यक्ष साउदले भन्नुभयो,“सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन ।” जन दबाब बढन थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

धुलाम्मे सडकम हिँडडुल गर्न निकै सास्ती हँुदै आएको स्थानीय रामनाथले बताउनुभयो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको बताउनुभयो ।
“निर्माण व्यवसायीले अश्वासन दिन्छन् कार्य गर्दैनन्” उहाँले भन्नुभयो,“यथाशीघ्र कार्य सुरु गर्नका लागि पत्राचार गरेका छौँ, एक हप्ताभित्रै कार्य सुरु गर्ने विश्वास दिएको छ ।” चैत महिनासम्म ठेक्को म्याद थप भएकाले विचमै ठेक्का तोडेर अर्कोलाई दिन नसकिने भएकाले तोकता गर्दै आएको उहाँले बताउनुभयो । सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौताभै विसं २०८१ वैशाखमा म्याद सकिएको थियो ।

विसं २०८२ चैत ३० गते सम्मका लागि म्याद थप भए पनि सडक स्तरोन्नती तथा कालोपत्रको कार्य अहिलेसम्म पूरा हुनसकेको छैन । सडक निर्माणको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । रु एघार करोड ८६ लाखमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि कार्य अलपत्र परेको छ ।

पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।

साथै मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् । विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ ।

यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले बताइन् । उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनसमेत गरेका थिए ।

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

भोजपुर, १९ फागुनः भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताउनुभयो ।

अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख ५० हजार बजेटबाट मन्दिरमा बाह्र मिटर चौडाइ, २० मिटर लम्बाइ र डेढ मिटर उचाइ बराबरको घेराबारा गर्ने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

“सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा जुटेका छौँ” उहाँले भन्नुभयो,“मन्दिरमा घेराबारा नहुँदा पशुचौपाया पस्ने तथा मन्दिरको असुरक्षा बढेकोले संरक्षण गरेका हौँ । मन्दिरको संरक्षण तथा प्रचारप्रसारमा स्थानीयवासी जुटेको छौँ । श्रमदानसँगै विभिन्न निकायमा बजेट माग गरेर मन्दिरको संरक्षण गरिरहेका छौँ ।”

मन्दिरको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्केडाँडा रहेकोले यो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको स्थानीयवासी शिवकुमार विष्टले बताउनुभयो । यो क्षेत्रको विकासका लागि गाउँका युवा एकजुट भएर संरक्षण तथा विकास लागेको उहाँको भनाइ छ । यो मन्दिर टेम्केको काखमा रहेकाले नेपाल सरकारको एक सय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’लाई यो क्षेत्र भएर विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ” उहाँले भन्नुभयो,“तर मझौले क्षेत्रमा पदमार्ग विस्तारको कुनै योजना छैन । यो क्षेत्रलाई पनि समेटेर पदमार्ग विस्तार गर्न जोडदार माग गरिरहेका छौँ ।”

यहाँ मन्दिर निर्माण तथा यसको व्यवस्थापनको लागि निःशुल्क आवश्यक जमिन प्रदान गरेको स्थानीयवासी देवबहादुर विष्टले बताउनुभयो । मन्दिरको संरक्षण तथा विकास विस्तारमा सबैजना एकसाथ अघि बढेको उहाँको भनाइ छ । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ ।

पर्यटकीय रुपमा सुन्दरस्थलमा रहेको यो देवस्थल प्रसारप्रसारको कमिले ओझेलमा परेको उहाँको भनाइ छ । यसको महत्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने विष्टले बताउनुभयो । “यो महत्वपूर्ण धार्मिकस्थल हो”उहाँले भन्नुभयो,“यो स्थानमा मन्दिर निर्माण तथा आवश्यक व्यवस्थापनको लागि मैले निःशुल्क जग्गा प्रदान गरेको छु । यो क्षेत्रलाई प्रचारप्रसार गर्न सकेमा यहाँको विकासमा थप टेवा पुग्ने देखिन्छ ।”

राज्यको मात्र बाटो हेर्ने भन्दा पनि आफ्नो तहबाट पनि योगदान गर्ने लक्ष्यले युवाहरु एकजुट भएर मन्दिरसँगै गाउँ विकासमा जुटेको स्थानीयबासी छिरिङ शेर्पाले बताउनुभयो । घेराबाराको काम सम्पन्न भए पनि मन्दिरको प्रदेशद्धार(गेट) आफ्नो पहलमा निर्माण गर्ने जिम्मा लिएको उहाँले बताउनुभयो ।

“हामीले पनि आफ्नो ठाउँको विकासको लागि अगुवाइ गर्नुपर्छ”उहाँले भन्नुभयो,“राज्यको तहको मात्र आशा गर्नेे भन्दा पनि हामी पनि जागरुक हुन आवश्यक छ । आफ्नो ठाउँको विकासमा आफ्नो तहबाट पनि योगदान गर्नुपर्छ भन्ने सोचका साथ हामी अघि बढेका छौँ ।”

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयवासी एकराज विष्टले बताउनुभयो । चिताएको पुग्ने तथा मनोकाक्ष पूरा हुने धार्मिक विश्वासले मानिसहरु यहाँ आउने गरेको उहाँको भनाइ छ । मन्दिरमा शिव, गणेश, सूर्य, विष्ण र देवी गरी पञ्चायन भगवानको मूर्तिहरु रहेका छन् । यहाँ एक साथ पाँच देवताको दर्शन गर्न सकिने उहाँको भनाइ छ ।

“यो शिवपञ्चायन मानिसको धार्मिक आस्थाको केन्द्र हो”उहाँले भन्नुभयो“प्रसिद्ध टेम्के डाँडाको काखमा रहेपनि यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचारप्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमासमेत टेवा पुग्ने देखिन्छ ।”

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेतीमा, यस वर्ष एक सय मुरी धान फलाए

म्याग्दी, १९ फागुनः रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुर्व खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आउनुभएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ ।

“हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरुलाई नै अधिया र बन्दकी दिएका थियौँ,” उहाँले भन्नुभयो “कोरोनापछि गाउँ फर्किएर मेरो पुख्र्याैलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु ।”

सिमकाजी ब्रर्दश भेञ्चर प्रालिमार्फत रैथाने गौरिया, जेठोबुढो धान, मकै र गहुँ खेतीका साथै खत्रीले भैँसीपालन गर्नुभएको छ । म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, शेरा, पिपलबोट, रणवाङ र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ ।

खत्रीका पूर्खाहरुले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए । खत्रीले यस वर्ष एक सय मुरी धान फलाउनुभएको छ । बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राख्नुभएको छ । “घरमा आवश्यक पर्ने २५ मुरी राखेर ७५ मुरी बिक्री गर्छु,” खत्रीले भन्नुभयो “धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी रु एक हजारका दरले बिक्री हुन्छ ।”

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरिया जातको धान म्याग्दीको रैथाने बाली हो । सहर बजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारी गौरिया धानको चामलका उपभोक्ता हुन् ।

“गौरीया धान पाक्दा खेतनै बास आउँछ । भान्छा कोठामा गौरियाको भात पकाउँदा आगनसम्मै बास्ना आउँछ,” खत्रीले भन्नुभयो “गौरियाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन्् । गौरियानै खोज्छन् ।” स्थानीयवासीका अनुसार चार पुस्ता अघिदेखि खेती हँुदै आएको गौरियाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन् ।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका किसान छविलाल कँडेल बताउँनुुहुुन्छ । गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरिया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ ।

गौरिया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुुन्छ । पकाउँदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुुत्केरी, किरिया बसेकालाई गौरिया धानको चामलको भात उपभोगी हुुने बताइन्छ ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ । वार्षिक रु १० लाख भन्दा बढीको धान, चामल, दूध, खसीबोका र कुखरा बिक्री हुने खत्रीले बताउनुभयो । एक वटा स्थानीय लिमे–पारकोटे र दुई वटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनी पाल्नुभएको छ । हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उहाँले भैँसीको सङ्ख्या बढाउने सोचमा हुनुहुन्छ ।

खत्रीकी श्रीमतीले उहाँलाई खेतीपाती र व्यवसायमा साथ दिनुभएको छ । एक जनालाई नियमित र भित्र्याउने समयमा अरु धेरै जनालाई रोजगारी दिनुभएको छ । वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रुपमा लिनुभएको छ ।

पूर्खाहरुले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरिया धानको भात, भैँसीको दूघदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाउनुभएको छ । सिमलाई कृषि, पर्यटकीय गाउँको रुपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ । बेनीदेखि १२ दशमलब पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिङ्गा तातोपानीदेखि चार दशमलब पाँच किलोमिटर नजिक छ ।
रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपाली सहरमा बसाइँसराइ र विदेशिने क्रम बढिरहेका बेला विदेश र बजारबाँट गाउँ फर्केका खत्रीले सकारात्मक सन्देश दिनुभएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती खत्रीले बताउनुभयो । “गाउँमा पनि सम्भावना र अवसर छ भनेर उदाहरण प्रस्तुत गर्नुभएका धु्रबको प्रयासलाई हामीले पनि साथ दिएका छौँ,” उहाँले भन्नुभयो “सिम, कोत्रवाङ र तोराखेतमा सिँचाइ सुविधाका लागि गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिँचाइ योजना निर्माणाधीन छ ।”

समुन्द्री अनुसन्धानका लागि चीनको नयाँ पहल

चीनले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउमा ‘कोल्ड–सीप इकोसिस्टम’ मा केन्द्रित अनुसन्धान केन्द्रको निर्माण सुरु गरेको छ ।
कोल्ड–सीप भनेको महासागरका स्थान हुन्, जहाँ हाइड्रोजन सल्फाइड, मिथेन र अन्य हाइड्रोकार्बन भएका तरल पदार्थहरू निस्किन्छन् ।

देशको प्रमुख राष्ट्रिय विज्ञान तथा प्रविधि पूर्वाधार परियोजनाहरू मध्ये एकको रूपमा तोकिएको उक्त अत्याधुनिक आधारभूत अनुसन्धान केन्द्रले उच्च–टेक विकासलाई समर्थन गर्नेछ ।

यसले गहिरो समुद्री वातावरणमा जीवनको उत्पत्तिको अन्वेषण गर्दछ ।

चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको साउथ चाइना सी इन्स्टिच्युट अफ ओशनोलजी (एससीएसआईओ) का निर्माताका अनुसार मानवयुक्त समुद्र प्रयोगशाला र भूमिमा आधारित फिडेलिटी सिमुलेशन स्थापनाको संयोजन गरी अनुसन्धानलाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

गोरखाका आठ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण

गोरखा, १९ फागुनः जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् ।

बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण अनुमति दिइएको हो । चालु आर्थिक वर्षभित्र सर्वेक्षण पूरा गर्न दुवै कम्पनी सर्वेक्षणमा जुटेका छन् ।   

चुन्चेत र सिर्दिबासमा २०३ मेगावाट क्षमताको ‘माथिल्लो बूढीगण्डकी जलविद्युत् आयोजना’ निर्माणको अनुमित नबिल डेभ्लोपर्सले पाएको छ । मस्र्याङ्दीबाट ९० मेगावाट जलविद्युत् निकाल्न पेल्मा हाइड्रोपावर प्रोजेक्टलाई सर्वेक्षण अनुमति दिइएको छ । यो कम्पनीले गोरखाको पालुङटार नगरपालिका र तनहुँको भानु नगरपालिकामा ‘मस्र्याङ्दी खोला जलविद्युत् आयोजना’ निर्माणका लागि आगामी असोजभित्र सर्वेक्षणको काम सम्पन्न गर्ने जनाएको छ ।

एमए इनर्जी भेञ्चर्सले पनि गोरखामा जलविद्युत् सर्वेक्षण गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले सहिद लखन गाउँपालिकास्थित देउराली, मनकामना र बक्राङको दरौँदीबाट १४।९ मेगावाट क्षमताको ‘दरौँदी÷मस्र्याङ्दी जलविद्युत् आयोजना’ निर्माणको सर्वेक्षण गर्न लागेको हो । 

खानदह हाइड्रोपावर प्रालिले ‘सुपर दरौँदी खोला ई जलविद्युत् आयोजना’ निर्माणका लागि सर्भेक्षण गर्न सुरु गरेको छ । बारपाकमा निर्माण गरिने प्रस्तावित ९।४ मेगावाट क्षमताको सो आयोजनाको २०८३ साउनसम्ममा सर्वेक्षण हुने उक्त कम्पनीले जनाएको छ । 

बारपाककै दोर्दी खोलामा सात मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि गोरखा दरौँदी हाइड्रोपावर प्रालिले अनुमतिपत्र लिएको छ । कम्पनीले २०८३ असोजभित्र ‘सुपर दरौँदी–पाउखोला जलविद्युत् आयोजना’ निर्माणका लागि सर्वेक्षण गरिरहेको छ । मेटा ऊर्जा प्रालिले धार्चे गाउँपालिका–१ को दोभान खोलामा ५।२ मेगावाटको ‘माथिल्लो दोभान खोला जलविद्युत् आयोजना’ निर्माणका लागि २०८३ पुसभित्र काम सक्ने गरी सर्वेक्षण गरिरहेको बताएको छ ।

यसैगरी, पेल्टोन हाइड्रो इनर्जी प्रालिले केरौँजाको यारु खोलाबाट १३ मेगावाट क्षमताको ‘माथिल्लो यारु खोला जलविद्युत् आयोजना’ निर्माणका लागि सर्वेक्षण अनुमति लिएको छ । कम्पनीले २०८३ पुसभित्र सम्पन्न गर्ने गरी सर्वेक्षणको काम सुरु गरेको जनाएको छ ।

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको पूर्वकप्तान खड्काको गुनासो

गण्डकी, १९ फागुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गर्नुभएको छ ।
पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत आइतबार ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयमा भएको भएको छलफलमा उहाँले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले सरकारले बजेट बढाउनुपर्ने बताउनुभयो ।

“मन्त्रालय बाँडफाँटका बेलामा पनि राजनीतिक दलको सबैभन्दा कम प्राथमिकतामा खेलकुद मन्त्रालय पर्ने गरेको छ । युवालाई खेलकुदमा आकर्षित गर्ने वातावरण सबै पक्ष मिलेर बनाउनुपर्छ ।” उहाँले खेलकुद पूर्वाधार र संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो ।  

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौँ-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो ।

त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्लो समय नियमित उडान भइरहेको र यसले विमानस्थललाई चलायमान बनाएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।

खेलकुद क्षेत्रको विकासमा सघाउने महामन्त्री थापाको प्रतिबद्धता

पाटन (ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुद क्षेत्रको विकासका लागि पार्टीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।गोदावरी नगरपालिका, नेपाल कराते महासङ्घ एवं ललितपुर डोजोको आयोजनामा गत शुक्रबारदेखि यहाँ आयोजित ‘चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’को समापन कार्यक्रममा उहाँले खेल पूर्वाधार निर्माण तथा खेलाडीलाई हौसला हुने ढङ्गले राज्यले काम गर्नुर्छ भन्नुभयो । साथै उहाँले त्यसनिम्ति सक्दो सहयोग गर्ने बताउनुभयो ।

अहिले आफू र आफ्नो पार्टी सरकारको जिम्मेवारीमा रहेकाले अबको समयमा खेलकुद क्षेत्रमा उत्कृष्ट काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

“मलाई थाहा छ, खेलाडीहरुको जीवन कति अप्ठ्यारो छ । अहिले हामी सरकारमा छौँ, सङ्घमा हामीले बनाएको प्रधानमन्त्री हुनुहुन्छ, प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरु हाम्रा हुनुहुन्छ, यो समयमा हामीले खेलकुद क्षेत्रको उन्नयनका निम्ति उत्कृष्ट काम गरेर देखाउनुपर्छ”, उहाँले भन्नुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक इमानदारी प्रतिमूर्ति कृष्णप्रसाद भट्टराईको नाममा खेलकुदका प्रतियोगिता गरेर उहाँको योगदानलाई जीवन्त बनाउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृष्णप्रसाद भट्टराईले प्रजातान्त्रिक आन्दोलन र देशको विकासका निम्ति निर्वाह गर्नुभएको भूमिकाको चर्चा गर्नुभएको थियो ।

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ, १९ फागुन : नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनुहुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

किमाथाङ्का (सङ्खुवासभा), १९ फागुनः भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।

पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिनुभयो । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी रु एक लाख ५० हजार तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ ।

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँचमार्ग निर्माण गर्न रु सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १९ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ १३ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुुसार प्रस्तुत विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने छ भने वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्नेछ ।

वन्यजन्तु संरक्षणमा जोड दिँदै संसारभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौँ, १९ फागुनः आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो ।

राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि आवश्यक भएको छ ।

अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ– क्रेमलिन

क्रेमलिनले आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोज्नुभएको छ र संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिनुभएको छ ।

“नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको छ । यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी टेलिभिजनका एक पत्रकारलाई भन्नुभयो, “अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण परिसरमा ठूलो क्षति भएको छ । तर यदि दुई नेताहरू, राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पको राजनीतिक इच्छाशक्ति कायम रहेमा यो मार्ग निकै छिटो र सफल हुन सक्छ ।”

पेस्कोभले यी टिप्पणीहरू बुधबार गर्नुभए पनि ती टिप्पणीहरू आइतबारमात्र सार्वजनिक गरिएका थिए ।

शुक्रबार ह्वाइट हाउसमा एक आश्चर्यजनक टेलिभिजन भिडन्तमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हप्काउँदै ट्रम्पले मस्कोसँग आफूलाई अझ जोड्नुभएको छ ।

सन् २०२२ फेब्रुअरीमा आफ्नो छिमेकी विरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेको मस्कोले अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले युक्रेनलाई बिना शर्त समर्थन गर्नुभएकामा निन्दा गरेको थियो ।

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छौँ : अध्यक्ष दाहाल

महेन्द्रनगर (धनुषा), १८ फागुन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न आफ्नो पार्टी सदैव लागिपरेको बताउनुभएको छ । धनुषाको हङ्सपुर नगरपालिकाको सोनिगामा आज आयोजित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान खबरदारीसभा’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन, सङ्घीयताको व्यवहारिक अभ्यास, समावेशी प्रतिनिधित्व र मधेसको विकासमा प्राथमिकता दिँदै आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष  दहालले मधेसको माग पूरा गराउन पार्टी दृढतापूर्वक लाग्ने उल्लेख गर्नुभयो । मधेसको विकासका लागि हुलाकी राजमार्गको निर्माण कार्य छिटो सम्पन्न गराउन माओवादी केन्द्रले दबाब दिने बताउनुभयो । कमला पुलको शीघ्र निर्माणबारे स्थानीयले राख्दैआएको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उहाँले स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्रले जनताको भावना बुझ्न ‘घर–घर अभियान’ सञ्चालन गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो ।    कार्यक्रममा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले मधेसी जनताको पक्षमा आफ्नो पार्टी सधैँ इमानदार रहेको बताउनुभयो ।

सरकारलाई अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड निर्णय गर्न पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरूले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् ।

अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनीहरूले प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पुँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरूलाई उत्तरदायी बनाउन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका छन् ।

त्यसैगरी चालू खर्चमा मितव्ययिता अपनाउन, आन्तरिक स्रोतलाई वृद्धि गर्न, राष्ट्रिय गौरवका आयोजनाहरूमा खर्चलाई प्रभावकारी बनाउन, अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न सुझाव दिएका छन् ।

पूर्व अर्थ सचिवहरूले बीमा, सहकारी, पूँजीबजार र संस्थानहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउनु पर्ने उनीहरूको भनाइ छ ।

वैदेशिक सहयोगमा सहयोग र ऋण भन्दा लगानीमा जोड दिनुपर्ने, जलवायु वित्तलाई जोड दिनु पर्ने, तथ्यपरक र कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने पनि पूर्व सचिवहरूको सुझाव छ ।

सामाजिक सुरक्षाबारे समीक्षा गरी एकीकृत गर्न, रुग्ण उद्योगहरूलाई अध्ययनका आधारमा हटाउन, कर छुट दिँदा विचार गर्न, राजस्व परिचालनका क्षेत्रमा थप विकल्प खोज्न, बजारमा तरलता बढाउन, राज्यलाई दीर्घकालीन दायित्व पर्ने क्षेत्रमा विशेष ध्यान पुर्‍याउन पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् ।

त्यसैगरी वैकल्पिक वित्त व्यवस्थापनलाई प्राथमिकता दिन, राजस्वको लक्ष्य महत्वकांक्षी भन्दा यथार्थपरक राख्न, पूँजी खर्च वृद्धि गर्न, वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल मिलाउन, तथ्यमा आधारित भएर नीति र बजेट बनाउन, भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्न, नीतिगत स्थिरता कायम गर्न, सेवा क्षेत्रमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन् ।

पूर्व अर्थ सचिवहरूले निजी क्षेत्रलाई सहज हुने गरी व्यावसायिक वातावरण वृद्धि गर्न पनि सुझाव दिएका छन् ।

कार्यक्रममा पूर्व मुख्य सचिव एवं पूर्व अर्थ सचिव डा. विमल कोइराला, पूर्व अर्थ सचिवहरू रामेश्वर खनाल, भानु आचार्य, कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, डा. राजन खनाल, शिशिर ढुंगाना, मधु मरासिनी र पूर्व राजस्व सचिवद्वय लालशंकर घिमिरे र रामशरण पुडासैनी सहभागी थिए ।

अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेशकुमार घिमिरेले पूर्व सचिवहरूबाट प्राप्त सुझावलाई ध्यान दिएर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री कँडेलको निमन्त्रणापत्र

कर्णाली, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेले निमन्त्रणापत्र दिनुभएको छ । मुख्यमन्त्री कँडेलले आज काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणापत्र दिनुभएको हो ।

यही फागुन २३ गते कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीलाई निमन्त्रणापत्र दिइएको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओलीको उक्त सम्बोधनबाट कर्णालीको पूर्वाधार विकास, राष्ट्रिय गौरवको आयोजना र प्रदेशको जीवनरेखा मानिने कर्णाली र भेरी करिडोर निर्माणमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले यस अघि लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

‘विराट गोल्ड कप’ को सम्पूर्ण तयारी पूरा, भोलिदेखि सञ्चालन हुने

विराटनगर, १८ फागुनः विराटनगरमा भोलिदेखि सञ्चालन हुने ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक नवीन रिजालले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

शहीद रङ्गशालामा हुने प्रतियोगितामा छिमेकी राष्ट्र भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालन गर्न रु एक करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितको विजेतालाई नगद रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिनुभयो ।

प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेका छन् ।