`

कोशी प्रदेशसभाः प्रतिस्थापन विधेयक पारित

विराटनगर, १८ फागुनः कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

यसअघि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक पेस गर्नुभएको हो । मन्त्री भण्डारीले प्रदेशमा सङ्कटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधिक त्रुटीलाई सच्याउन र विपद्का कारण क्षति भएका संरचनालाई पुनःनिर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिनुभयो ।

शुन्य समय
कोशी प्रदेशसभा सदस्य विनोद राई, गोबिन्द गिरी, गणेशप्रासद उप्रेती, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याबारे सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादः अध्यक्ष नेपाल

काठमाडौँ, १८ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय पुँजीमार्फत औद्योगिकरण गरी समाजमा आर्थिक गतिविधि सञ्चालन र त्यसले मुलुकमा समाजवादी क्रान्ति पूरा गर्न सहयोग पुर्याउने धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादनले आत्मनिर्भर अर्थतन्त्रको विकास र आयात प्रतिस्थापनले मुलुकको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने बताउनुभयो । उहाँले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले देशमा अस्थिरता, भ्रष्टाचार, दण्डहीनता मौलाएको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले उक्त प्रदेशको नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज डा गङ्गालाल तुलाधर, सचिव सावित्रा भुसाल, निर्वाचन आयोग अध्यक्ष माधव पौडेललगायत नेताको सहभागिता रहेको थियो ।

बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने

बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।

प्लान्टले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडलहरूको उत्पादनको तयारीलाई पनि अघि बढाइरहेको छ, जसको उत्पादन सन् २०२६ को गर्मीमा सुरु हुने तालिका छ ।

बीएमडब्लु समूहले सन् २०३० सम्ममा ईभीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ ।

हाल, म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरू निर्माण गरिरहेको छ ।

“उत्पादन प्रक्रिया र सटीक स्वचालन कन्फिगरेसनहरू अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,” म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले बताउनुभयो ।

फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । अध्यागमन ब्यूरोले आइतवार जारी गरेको तथ्याङ्क अनुसार सन् २०२४ मा एक करोड ४७ लाखभन्दा बढी विदेशी पर्यटकले फिलिपिन्स भ्रमण गरेका छन् ।

ब्यूरोले गत वर्ष एक करोड ४७ लाख ३३ हजार ५९७ अन्तर्राष्ट्रिय आगमनहरू रेकर्ड गरेको थियो, जुन सन् २०१९ मा रहेको सङ्ख्याको करिब थियो ।

दक्षिण कोरिया १७ लाख ६१ हजार २८१ आगन्तुकहरूको साथ विदेशी आगमनको शीर्ष स्थानमा रहेको थियो ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार संयुक्त राज्य अमेरिकाबाट पाँच लाख २५ हजार ६८४ जना पर्यटकको आगमन भएको छ भने चीनबाट तीन लाख ८२ जना पाहुना आएका छन् ।

ब्यूरोले भारत र सिङ्गापुरबाट अन्तर्राष्ट्रिय आगमनले थप वृद्धिको लागि महत्वपूर्ण सम्भावना देखाएको बताएको छ ।

‘देशले अब यही परिस्थिति थेग्न सक्दैन’ – अध्यक्ष लिङ्देन

सुदूरपश्चिम, १८ फागुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताउनुभएको छ ।

पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उहाँले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

नेता मोटाउदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको जिकिर थियो । “यस्तो अवस्थामा अब अभिभावकीय संस्थाका रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न आवश्यक छ । यसले देशका समस्या समाधान गर्छ”, उहाँले दाबी गर्नुभयो ।

राप्रपा निर्देशन समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्रका दृष्टिमा देश समस्यामा रहेको रहेको बताउनुभयो । उहाँले सबै राजनीतिक शक्तिबीच निषेध नभई एकता गरेर समस्या समाधान खोजिनुपर्ने बताउनुभयो ।

पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले मुलुकलाई सही बाटोमा लैजान शासन व्यवस्थामा सुधार हुन जरूरी रहेको बताउनुभयो । सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, दीपकबहादुर सिंह, कुन्तिकुमारी शाही, जयन्त चन्द, धर्मराज जोशीलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएका तीन विधयेकमा राष्ट्रियसभाको सहमति

काठमाडौँ, १८ फागुनः प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

सभाको आजको बैठकमा यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विधायनसम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ, १८ फागुनः संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकले स्व सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभाका सदस्यहरूले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गर्नुभएको थियो ।

विसं २०२३ भदौ १५ गते मन्दनदेउपुर नगरापालिका–७ नौविसे काभ्रेमा जन्मिनुभएका सोपकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते निधन भएको थियो । हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध स्व सापकोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ । 

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

पथरी, १८ फागुनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभएको छ । मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आज सिटी स्क्यान सेवा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रले सस्तो र सर्वसुलभ सेवा दिनसके प्रभाव थप विस्तार हुने बताउनुभयो ।

मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न र यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
अरनिको हस्पिटल प्रालिले १२ वर्ष प्रवेश गरेसँगै सिटी स्क्यान सेवा सुरु गरेको हो । रु चार करोडको लागतमा यो सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो ।

एसियाली कबड्डी च्याम्पियनसिप खेल्न महिला टोली इरान प्रस्थान

काठमाडौँ, १८ फागुनः छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आज इरानको तेहरान प्रस्थान गरेको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रम बिदाइ गर्नुभयो ।

मानमति विष्टको कप्तानीमा रहेको टोलीमा जयन्ती बडू, रविना चौधरी, गङ्गा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् ।

यही  फागुन २० देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बङ्गलादेश, थाइल्यान्ड र मलेसिया गरी सात राष्ट्र सहभागी हुने छन् ।

सहभागीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ । अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका  छन् ।

‘विकास र समृद्धिका लागि रणनीतिक योजना आवश्यक’ – मुख्यमन्त्री कार्की

विराटनगर, १८ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गरे मुलुकले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “यस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना र अवसर छ, यसलाई समयमै उपयोग गर्न सक्नुपर्छ ।”

छिमेकी मुलुक भारत र चीनको जनसङ्ख्यालाई ध्यानमा राखेर यहाँ धार्मिक पर्यटकीयस्थलमा लगानी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । “पर्यटक हाम्रा पाहुना मात्र नभएर पुँजी निर्माणका आधार पनि हुन्”, उहाँले भन्नुभयो ।

“नेपाल शान्तिप्रिय र सुरक्षित रहेको सन्देश दिन सक्यौँ भने हामी सहजै समृद्धितर्फ अगाडि बढ्न सक्छौँ”, मुख्यमन्त्री कार्कीले भत्रुभयो । उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सफल पार्न आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष माधवराज थापाले उद्योगी–व्यापारीका विविध समस्याबारे आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरपालिका भलिबल : सुर्नया सेमिफाइनलमा

बैतडी, १८ फागुन : सुर्नया गाउँपालिकाको टोली यहाँ जारी ‘मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पुर्चाैडी नगरपालिकालाई ३–२ सेटले हराउँदै सुर्नयाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

शाहिलेकस्थित वीरेन्द्र माविको खेलमैदानमा भएको उक्त खेलमा पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० अङ्कले जितेको सुर्नयाले त्यसपछिका दुई सेट २७–२५ र २५–२१ अङ्कले गुमायो । अन्तिम सेट सुनर्याले १५–८ अङ्कले जित्यो ।

‘मैनेजर तेजबहादुर चन्द ट्रष्ट’को आयोजनामा गत बिहीबारदेखि सुरु भएको उक्त प्रतियोगितामा डिलासैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता छ । प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए । यस्तै,  उपविजेताले रु ७५ हजार, तृतीयले रु ३५ हजार, सान्त्वना स्थान प्राप्त गर्नेलाई रु १५ हजार र उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार दिइनेछ । यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।  

दशरथचन्द नगरपालिका–५ का तेजबहादुर चन्द वाणिज्य बैङ्कका क्षेत्रीय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बु, १८ फागुनः जिल्लाको लिखुपिके गाउँपालिकाको कार्यालय भएको घरमा आगलागी भएको छ । गाउँपालिका–३ काफ्लेचौरस्थित कार्यालय भवनमा आज दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।

प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र स्थानीयबासीको सहयोगमा आगो निभाउन सफल भएको घिमिरेले बताउनुभयो । आगलागी हुँदा ग्यास सिलिण्डरसमेत विस्फोट भएपछि आगो थप फैलिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको बताउनुभयो । यद्यपि गाउँपालिकाको सरकारी दस्तावेज भने जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमा उपचार सम्भव भएसँगै पाँच प्रतिशत बिरामी मात्र अन्यत्र ‘रेफर’

रसुवा, १८ फागुनः जिल्ला अस्पताल, धुन्चेमा पर्याप्त औषधि र चिकित्सकको व्यवस्था भएसँगै थप उपचारका लागि जिल्लाबाहिर बिरामी पठाउने दर करिब ९५ प्रतिशतले कमी आएको छ ।जिल्लास्थित अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्था भएकाले उपचारका क्रममा आउने गम्भीर प्रकृतिको बिरामीको समेत उपचार सम्भव भएपछि अन्यत्र ‘रेफर’ गर्ने दर ह्वात्तै घटी पाँच प्रतिशतमा झरेको रसुवा जिल्ला अस्पतालले स्पष्ट गरेको छ ।

यसअघि दक्ष चिकित्सक र अत्यावश्यक औषधिको अभावमा बिरामीलाई दुखाइ कम गर्ने औषधि खुवाएर वा इन्जेक्सनमार्फत लठ्याएर बाहिरका अस्पतालमा पठाउनुपर्ने परिस्थितिमा उल्लेख्य सुधार भएको भनीे जिल्लावासी खुसी देखिन्छन् ।      

जिल्ला अस्पतालका वरिष्ठ चिकित्सक डा अमितकुमार शाहका अनुसार  स्रोतसाधनको अभावमा यसअघि अन्यत्र सिफारस गर्नुपर्ने बाध्यात्मक अवस्था भएकामा पछिल्लो समयमा नेपाल सरकारबाट प्राप्त जनशक्ति र औषधिको व्यवस्थासहित स्वास्थ्यकर्मीको अथक प्रयासबाट ९५ प्रतिशत बिरामीको उपचार स्थानीय अस्पतालमा सम्भव भएको हो ।  

चालु आव २०८१÷८२ को साउनदेखि अहिलेसम्म अन्तरङ्ग सेवाअन्तर्गत जिल्ला अस्पतालमा उपचार गर्न आएका  १६९  जनामध्ये  अति जटिल प्रकिृतिका २८ बिरामीलाई भने थप उपचारका लागि अन्यत्रको अस्पतालमा लैजान भनी सिफारिस गरेको डा शाहले जानकारी दिनुभयो ।   

‘नेक्स साइमन’ नामक गैह्रसरकारी संस्थाको सहयोगमा पछिल्लो डेढ वर्षमा ४३ जना गर्भवतीको सफलतापूर्वक शल्यक्रिया गरी अस्पतालमा बच्चा जन्मिएको दृष्टान्त प्रस्तुत गर्दै जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले यसबाट मात्रृशिशु मृत्युदरमा कमी ल्याउन र प्रशव पीडा कम गर्न सहयोग पुगेको भनी खुसी व्यक्त गर्नुभयो ।  

दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि आउने गरेको जिल्ला अस्पतालले गत साउनदेखि अहिलेसम्म ४२३ ज्येष्ठ नागरिकसहित तीन हजार ७०० जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ ।   

सामान्यतया लेक लाग्ने, श्वासप्रश्वास एवं दम, गानुगोला, अपच, झाडापखाला, रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, सुगर, जन्डिस, पिनास, घाउखटिरा, टाइफाइड, मुटुलगायत समस्याबाट पीडित व्यक्ति उपचारका लागि आउने गरेको सो अस्पतालको अभिलेखमा उल्लेख छ । अहिले रसुवा जिल्ला अस्पतालमा आठजना चिकित्सक र ३८ जना प्राविधिक जनशक्ति कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

झ्याइँ’को सफलतामा उत्साहित मञ्जयाश्री, अर्को नेपाली-बलिउड फ्युजन गीत ल्याउने

नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ । ‘झ्याइँ’ को अपार सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने मार्ग प्रशस्त गर्‍यो र यही उत्साहबीच मञ्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ नयाँ साङ्गीतिक प्रोजेक्टमा देखिन लागेकी छिन् । नयाँ गीत पनि नेपाली र बलिउडको संयुक्त प्रस्तुतिमा हुने गायिका भट्टले बताएकी छन् ।

गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको सो गीतमा नेपाली र हिन्दी सङ्गीतको अनौठो संयोजन प्रस्तुत गर्दै नेपाली लोकगीत ‘झ्याइँ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्‍यो’को प्रमुख अंशलाई समेटिएको छ । अमेरिकामा जन्मे-हुर्केकी मञ्जयाश्री र चर्चित बलिउड गायक देव नेगीको आवाजमा रहेको ‘झ्याइँ’ले नेपाली र भारतीय सङ्‌गीतप्रेमीहरूलाई साझा साङ्गीतिक यात्रामा पुर्‍याएको थियो । यस गीतले मञ्जयाश्रीलाई भारत र नेपालमा चिनाउन मद्दत गरेको छ । यस गीतले युट्युबमा ८ करोड ४५ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ भने संसारभर ट्रेन्डिङ भएको थियो ।

नेपाली श्रोता तथा दर्शकहरूलाई सम्बोधन गर्दै गायिका मञ्जयाश्री भनिन्, “झ्याइँलाई विश्वभरका नेपाली तथा भारतीय दर्शकहरूले जसरी माया गर्नुभयो, मेरा आउँदै गरेका प्रोजेक्टहरूलाई पनि त्यही साथ र समर्थन मिल्नेछ भन्ने विश्वास छ । म सम्पूर्ण नेपाली दर्शकहरूलाई धेरै धेरै माया व्यक्त गर्न चाहन्छु ।” भट्टका अनुसार आगामी प्रोजेक्ट नेपाली र बलिउड सङ्गीतको फ्युजनलाई अझ नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले निर्माण गरिँदै छ ।

‘झ्याइँ’ म्युजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छायाकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन्, जसले ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपर हिट बलिउड चलचित्रहरू छायाङ्कन गरेका छन् । प्रधानले ‘कुसुमे रुमाल’, ‘सम्झना’ लगायतका नेपाली चलचित्रहरू समेत छायाङ्कन गरेका छन् । निर्देशक प्रधानले यो म्युजिक भिडियोमा काम गर्दा नेपाली र हिन्दी सङ्गीतको फ्युजनको रूपमा निकै नयाँ र रोमाञ्चक अनुभव गरेको बताए । उनले भने, “मैले पहिलो पटक नेपाली र हिन्दी गीतको फ्युजनमा काम गरेको हुँ । नेपाली दर्शकहरूले यसलाई अत्यन्तै मन पराउनु भयो ।”

‘झ्याइँ’ मुम्बईको भव्य एम्पिरियल प्यालेसमा छायाङ्कन गरिएको थियो । गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ, र मास्टरिङ चर्चित सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका चलचित्रहरूसँग काम गरिसकेका राहुल शर्माले गरेका थिए । कोरियोग्राफी ‘पठान’ र ‘वार’ जस्ता चलचित्रहरूमा नृत्य निर्देशन गरिसकेका बोस्को सिजरले गरेका छन् ।

सीमावर्ती भारतीय बजारमा वर्डफ्लू भएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

वीरगञ्ज (पर्सा), १८ फागुनः जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताउनुभयो । “आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो । 

बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा राजकुमार शाहको संयोजकत्वमा ‘¥यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ । सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्णाकुमार कुशवाहा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका शिवानी कलवार, नेपाल प्रहरीका, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि र नेपाल लेयर्स कुखुरापालक सङ्घका प्रतिनिधि रहने गरी टोली गठन गरिएको हो । 

सो टोलीलाई सोमबारबाट अनुगमन सुरु गर्ने र त्यसक्रममा प्राप्त वस्तुस्थितिका आधारमा सम्बन्धित पक्षलाई कारबाही र त्यसको प्रचारप्रसार गर्ने प्रकाशन तथा प्रसारण गर्ने कार्यादेश दिइएको छ ।

‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, १८ फागुन : प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जवाफ दिँदै लामो छलफलपश्चात् राष्ट्रियसभाको आएको सो विधेयक  पारित गर्न अुनरोध गर्नुभएको थियो । डा वेदुराम भुषालले विधेयकमाथिको छलफलमा भाग लिँदै विधेयकमा ‘बैङ्क, वित्तीय संस्था, व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनी’लाई सार्वजनिक संस्थाअन्तर्गत राख्न सुझाव दिनुभयो । 

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैनः स्वास्थ्यमन्त्री पौडेल

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आइतबार अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए ।

उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो, तोकिएका औषधि अनिवार्य राख्नुपर्छ । सरकार तथा स्वास्थ्य बीमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ ।’ तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।

उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।

बीमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे ।

सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि उनले बताए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।

अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने बताए । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उनको भनाइ छ ।

आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकतानुसार माग हुनुपर्ने बताए ।

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । ‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।’

कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो ।

चालु आवको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।

दूध बेचेर मासिक एक लाखसम्म बचत गर्दै बागलुङका व्यवसायी सापकोटा

गलकोट (बागलुङ), १८ फागुनः विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झर्नुभएका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुनुहुन्छ ।

बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गर्नुभएको उहाँ यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आउनुभएको छ ।

निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लाग्नुभएका सापकोटा बन्नुभएको छ । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गर्नुभएको दूध आफैँ बजारीकरण गर्दै आउनुभएको छ ।

“भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, विसं २०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित रु एक करोड लगानी पुगिसक्यो”, उहाँले भन्नुभयो, “निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।”

व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँको फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाउनुभयो । उहाँका दुईवटा ठूला गोठमा गाईभैँसी छन् । दैनिक एक सय ६० लिटर दूध उत्पादनपश्चात बजारीकरण गर्दै आउनुभएका सापकोटा मासिक रु पाँचदेखि छ लाखसम्मको आम्दानी र मासिक रु एक लाखसम्म बचत गर्दै आएको बताउनुहुन्छ ।

पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उहाँको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ ।

“दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फार्मबाटै बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पुर्याउँदै आएका छौँ, मैले ड्राइ सिजनमा बढी दूध बिक्री गर्दै आएको छु”, सापकोटाले भन्नुभयो, “भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रूपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजनामार्फत विसं २०७३ मा रु १० लाख अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिएँ, निरन्तरता भएमा सहयोग पनि आउँछ, पछिल्लो समय फार्म स्थापनाका लागि गरिएका राज्यका प्रोत्साहनले किसान हौसिए पनि टिक्न नसकेको पाइयो ।”

उहाँले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताउनुभयो । उहाँले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताउनुभयो । अहिले बजारमा दूधको मूल्य रु एक सय २० प्रतिलिटर छ । उहाँ रोजगारीका सिलसिलामा १० वर्ष भारतको मेघालयमा समेत जानुभएको थियो ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १८ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ४०, परबर (लोकल) प्रतिकेजी रु २००, घिरौला प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ७०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ११०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३२०, कुरिलो प्रतिकेजी रु १,६०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ७०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २८०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १४०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ३४०, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २९०, लसुन सुकेको नेपाली प्रतिकेजी रु २००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ७०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, रुख टमाटर प्रतिकेजी रु १८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ ।

बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्तामा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ

काठमाडौँ- बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरिएको छ । सफाइ अभियानकर्मी, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय सङ्घसंस्था, तिलगङ्गा महिला समूहलगायतको उपस्थितिमा फोहर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । त्यस क्रममा पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई सफा राख्न तिलगङ्गा महिला समूहले एकमहिने अभियान सञ्चालन गरेको थियो । बाग्मती सफाइ महाअभियानको ६१४औँ हप्ताको सफाइ पनि पशुपति क्षेत्रमै गरिएको थियो ।  विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ ।

सिङ्गापुरको अन्तरिक्ष प्रविधि विकास योजना

सिङ्गापुरले अन्तरिक्ष प्रविधिको अनुसन्धान र विकासलाई अगाडि बढाउन आगामी दुई वर्षमा ६ करोड सिङ्गापुर डलर (लगभग ४५ लाख अमेरिकी डलर) लगानी गर्ने उपप्रधानमन्त्री तथा व्यापार तथा उद्योग मन्त्री गान किम योङले घोषणा गर्नुभएको छ ।

यस क्षेत्रको नवीनतालाई समर्थन गर्न सन् २०२२ मा सुरु गरिएको स्पेस टेक्नोलोजी विकास कार्यक्रमको लागि एक लाख ५० हजार डलर भन्दा बढी रकम विनियोजन गरिएको गानले १७ औं ग्लोबल स्पेस टेक्नोलोजी सम्मेलन क्रममा उल्लेख गर्नुभयो ।“कार्यक्रमको सहयोगका लागि सिङ्गापुरका संस्थाहरूले हालसम्म १४ वटा अन्तरिक्ष–सम्बन्धित टेक्नोलोजी पेटेन्टहरू दायर गरेका छन् ।”

गानले विश्वभर अन्तरिक्ष प्रविधिको बढ्दो उद्योग, अर्थतन्त्र र समाजमा त्यसको महत्वपूर्ण फाइदाहरू पनि प्रकाश गर्नुभयो ।विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रको मूल्य सन् २०३५ सम्म लगभग तीन गुणा अमेरिकी डलर १.८ ट्रिलियन पुग्ने अनुमान गरिएको छ ।

नाइजरमा बाढीका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित

गत वर्ष नाइजरमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण १५ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । बाढीका कारण नाइजरमा झन्डै ४०० जनाको ज्यान गएको छ ।
“बाढीले सन् २०२४ को अवधिमा ३९६ जनाको ज्यान लियो,” आन्तरिक मन्त्री मोहम्मद तोम्बाले बताउनुभयो ।

“अन्य ४०५ जना घाइते भएका छन् । दुई लाख भन्दा बढी घरहरू प्रभावित भएका छन् ।”नाइजरमा जलवायु परिवर्तनले गम्भीर खडेरी र मुसलधारे वर्षा जस्ता चरम मौसमी घटनाहरूको सम्भावना, तीव्रता र लम्बाइ बढाउँदैछ । यहाँ चर्को खडेरीले स्थितिलाई अझ खराब बनाएको छ ।

राष्ट्रिय मौसम विज्ञान कार्यालयका अनुसार देशका केही भागमा गत वर्षको तुलनामा २०० प्रतिशत बढी वर्षा भएको छ ।विपद् व्यवस्थापन मन्त्रालयका अनुसार दोसो, मराडी र जिन्डरको दक्षिणी क्षेत्र र तौवाको पश्चिमी क्षेत्र विशेष गरी नराम्ररी प्रभावित भएको छ ।

जिन्दरमा वर्षाका कारण माटोको इँटाले बनेको १९ औं शताब्दीको मस्जिद भत्किएको थियो । यो अगाडेज मस्जिद पछि देशको सबैभन्दा धेरै भ्रमण गरिएका ठाउँहरू मध्ये एक थियो ।
राजधानी नियामी समेत वर्षाका कारण सडकमा क्षति पुगेको छ ।गत वर्षको वर्षाले एक लाख ५८ हजार भन्दा बढी घरहरू ध्वस्त पारेको थियो । साथै, ३१ हजार गाईवस्तुको मृत्यु भएको थियो ।

घर नेपालमा शिक्षा भारतमा,बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई

मङ्गललबारे (इलाम), १८ फागुन : घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् ।

इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी हुनुभयो । उहाँ भारतीय विद्यालयमा पढ्नुहुन्छ । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आउनुभएको छ ।

नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताउनुभयो । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन् । नेपालतर्फ विद्याल विद्यार्थी अभावले बन्द भएका कारण समस्या भएको छ ।

मानेभन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नुपरेको छ । प्राथमिक तहमा स–साना बालबालिका भारतमा पढाउनुपर्दा अभिभावक पिरोलिएका छन् । यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन् ।

सो क्षेत्रमा नेपालमा निजी विद्यालय छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँगाउँमा भएका सामुदायिक विद्यालय बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसङ्ख्या भएको सो क्षेत्रमा बालबालिकाको समेत कमी छ । उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको छ ।

जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावकसँगै गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो । लेकाली क्षेत्र भएका कारण बस्ती पातलो छ । जनघनत्व पनि कम छ ।

नौ वर्षअघि सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताउनुभयो । कक्षा ५ सम्मसम्म अध्यापन हुने सो विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको हो । जौबारीबाट मात्र हाल १४ विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन् । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि अन्यत्र सारिएको छ । सो विद्यालय बन्द भएपछि झन समस्या भएको स्थानीयको भनाइ छ ।

सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द छन् । नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीय बताउँछन् । माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँबजारको विद्यालय पुग्न पनि तीनदेखि चार घण्टा लाग्छ ।

लामो समय धाएर बालबालिकालाई विद्यालय पुर्याउँदा अभिभावकले काम गर्न भ्याउँदैनन् । घरका एक जना बालबालिकालाई विद्यालय पुर्याउन र घरसम्म ल्याउन खटिनुपर्ने उहाँहरूको भनाइ छ । जौबारी, गुराँसे, मेग्मालगायतबाट करिब ३५ विद्यार्थी नेपालको विद्यालय जानबाट वञ्चित भएका माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले बताउनुभयो । सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरू पनि नजिकको भारतीय विद्यालय नै जानुपर्ने बाध्यता छ ।

“एउटै विद्यार्थीलाई पढाउन पनि धेरै खर्च हुन्छ । छात्रावास राख्नुपर्छ । नभए कोठा भाडामा लिएर बस्नुपर्छ”, स्थानीय फुर्वा शेर्पाले भन्नुभयो ।

सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै विद्यालय जाने गरेका छन् । कतिपयले बसमा विद्यार्थी पठाउने गरेका छन् । मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ । केही अभिभावकले सो दूरीमा अन्य सवारीसाधन प्रयोग गरेर पनि विद्यालय पठाउने गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की, १८ फागुनः कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले उपाधि जितेको छ । यसैगरी महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा च्याम्पियन बन्न सफल भयो ।

माछापुच्छे–७ धम्पुसमा शनिबार सम्पन्न भएको फाइनल खेलमा अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३–१ सेटमा हराउँदै च्याम्पियन बन्यो । गलकोटले २५–२०, २५–१२, १६–२५ र २५–२०ले खेल आफ्नो पक्षमा पारेको थियो ।

च्याम्पियन बनेको गलकोटले नगद रु दुई लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता शुक्ला गण्डकीले नगद रु एक लाख, ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सेमिफाइनल पुगेका बागलुङको निसिखोला गाउँपालिका नवलपुरको बौदीकाली गाउँपालिकाले रु ५० हजारका दरले पुरस्कार पाए ।

पुरुषतर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी घोषित भए । शुक्ला गण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मीन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनीहरूलाई पालिकाको लोगोअङ्कित खेलकुद पोशाक पुरस्कार प्रदान गरिएको थियो ।

महिलातर्फ उपाधि चुमेको शान्ता भलिबल ट्रेनिङ सेन्टरले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी बागलुङ नगरपालिका बागलुङ द्वितीय भई नगद रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सेमिफाइनलनमा उपविजेता बनेका माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘बी’ले नगद रु २५–२५ हजार प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिताको महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टरकी निरुता शाही उत्कृष्ट खेलाडी, बागलुङ नगरपालिकाकी सोडा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिबल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनिशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

उपाधि विजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा यही फागुन १४ गतेदेखि तेस्रो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको हो । प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए ।

हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

ढोरपाटन (बागलुङ), १८ फागुन : शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताउनुभयो । बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उहाँको भनाइ छ ।

पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको घर्तीले बताउनुभयो । पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उहाँले जानकारी दिनुभयो । यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ ।

उहाँले भन्नुभयो, “लामो समय खडेरी पर्यो, गर्मी सुरु हुने बेला हिउँ परेपछि टाढाटाढाबाट हिउँ खेल्न सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आएका छन्, अझै चार–पाँच दिन हिउँ पग्लिदैन, हिउँ पग्लेर नसकिँदासम्म यस्तै चाप हुन्छ, तीनवटै जिल्लाबाट घुम्न आउने पर्यटकले यतिबेला पातिहाल्नेमा निकै रमाइलो भइरहेको छ ।”

बाक्लो हिउँ परेको हुँदा पातिहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन् । करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ । हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न जानुभएका विकास क्षेत्रीले बताउनुभयो । यसभन्दा अगाडि पनि साथीसँग बर्खाको समयमा घुम्न आएको सुनाउँदै शनिबार सात जनाको समूह भएर हिउँ खेल्न पुगेको उहाँको भनाइ छ ।

“पहिले बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना निकै टाढा होला भन्ने लागेको थियो तर नजिक रहेछ, दुई घण्टामै यहाँ आउन सकिने रैछ, हिउँले पातिहाल्ने र माथिल्लो डाँडा ढपक्क हिँउले ढाकिएको देख्दा निकै रमाइलो भयो”, उहाँले भन्नुभयो, “हामीहरू मोटरसाइकलमा गएका थियौँ, हिउँमा मोटरसाइकल चिप्लिएर समस्या हुँदोरहेछ, एकै दिन सयौँको सङ्ख्यामा हिउँ खेल्न पुगेका रहेछन् ।”

एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ । उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय ३५ किलोमिटर पश्चिममा पर्छ ।

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ, १८ फागुन : हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।

बैतडीको दोगडाकेदारमा एकजनामाथि गोली प्रहार

बैतडी । गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए ।

शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताए। गोली प्रहार गर्ने कर्णबहादुर फरार छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ, १८ फागुन : आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।

पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।

उक्त स्थानमा पुग्ने जो कोही व्यक्ति आनन्द महसुस गर्छन् । उनीहरु यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गरेको छ । यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिनामा रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानी हुने गरेको छ ।”

बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई रु ५०, विद्यार्थीलाई रु ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि रु १०० प्रवेश शुल्क कायम गरिएको छ । गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक यहाँ आउने गरेका छन् ।

बिदामा आन्तरिक पर्यटकको अझ बढी घुइँचो लाग्ने गरेको छ । पर्यटकको आवागमनले पार्किङ क्षेत्रमा असुविधा हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै थप पार्किङको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान तानेको छ । गर्मीको समयमा झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लाग्छ । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत आकर्षक गन्तव्यस्थल बनेको छ । यो ठाउँ गर्मीमा यात्रा गर्नेका लागि विश्रामस्थल बनेको छ ।

ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यस पहरामा रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको पर्यटकको सङ्ख्या बढेको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले गुरुयोजना तयार गरेको छ ।

हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

सिमकोट (हुम्ला), १८ फागुन : जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।

सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा आएका छैनन् । स्थानीय तहमा नयाँ कार्यकारी नआउँदा कामकाज ठप्प भएको छ । यी गाउँपालिकाले हिउँदे गाउँसभा पनि गर्न सकेका छैनन् । अदानचुली गाउँपालिकाले गत माघ २७ गते हिउँदे गाउँसभा गर्ने निर्णय गरे पनि नयाँ प्रशासकीय अधिकृत नआउँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो ।

“प्रशासकीय अधिकृत नभएकै कारण विकास निर्माणदेखि अन्य दैनिक कामकाजमा समस्या भएको छ”, उहाँले भन्नुभयो । अधिकांश योजना सम्झौता भई काम सम्पन्न भएको भए पनि कार्यकारी नभएकै कारण भुक्तानी नभएकाले समस्या झेल्नुपरेको छ । गत पुस पहिलो हप्तामै कर्णाली प्रदेश सरकार अर्थ मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालयलगायत सङ्घीय मन्त्रालयबाट विनियोजित योजना गाउँपालिकाको कार्यालयमा सम्झौता भएका अधिकांश योजनाको काम सम्झौता भए पनि कार्यकारी नभएकै कारण भुक्तानी रोकिएको छ ।

गाउँपालिकाद्वारा विनियोजित र सङ्घ तथा प्रदेश सरकारद्वारा विनियोजित योजना ठेक्का प्रक्रियाद्वारा सञ्चालन गर्ने योजना भए पनि ती सबै योजना अलपत्र परेका छन् । नागरिकका दैनिक सिफारिसका कामसमेत प्रभावित भएका छन् ।

उपत्यकाको विद्युत् माग सम्बोधन गर्न ६ वटा सबस्टेशन निर्माण गरिँदै

काठमाडौँ, १८ फागुन : काठमाडौँ उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ ।

प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२÷११ केभी क्षमताका ६ वटा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । प्राधिकरणका अनुसार काठमाडौँको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ ।

यस्तै, फुटुङ र मूलपानी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । दुवै सबस्टेशन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । भक्तपुरको चाँगुनारायण सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेशनलाई सञ्चालनमा ल्याउन मात्र बाँकी छ । चोभार सबस्टेशन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेशन आगामी आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

ती सबस्टेशनको क्षमता ९०–९० एमभिए छ । सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा थप करिब पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौँ उपत्यकाको विद्युत् माग पाँच सय मेगावाटको हाराहारीमा छ ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौँ उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको छ । कुल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी दुई सय २० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायत पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् ।

तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्तिका लागि ४००÷२२०, २२०÷१३२ र १३२÷११ केभी क्षमताको लप्सीफेदी सबस्टेशन निर्माणाधीन छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सशस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजना सञ्चानमा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाभित्रको विद्युत् बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन भौतिक पूर्वाधार निर्माणलाई गति दिइएको जानकारी दिनुभयो ।

काठमाडौँको दक्षिण–पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा १३२÷११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मूलपानी सबस्टेशनमा छिराएर विद्युत् आपूर्ति हुने छ । सो सबस्टेशनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मूलपानी, जोरपाटी, साँखु, ठिमीलगायत क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभी क्षमताका आठवटा फिडर निकालिएको छ । सो सबस्टेशन आगामी चैतभित्र सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

चोभार सबस्टेसनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुग्नेछ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी क्षमतामा स्तरोन्नति गरिँदैछ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धिमा लाइन जोडिने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी), जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।

हिमचितुवा र मानवबीचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा

मुस्ताङ, १८ फागुनः पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा े उपल्लो मुस्ताङका किसानको सदियाँै वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

जिल्लामा हिमचितुवाको एकीन तथ्याङ्क छैन । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो । जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ । हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षिणविद्हरूले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरकफरक भनाइ राख्ने गरेका छन् ।

पछिल्लो दुई वर्षयता उपल्लो मुस्ताङमा हिमचितुवा सडक र बस्ती नजिक देखिन थालेका छन् । गत वर्ष मुस्ताङमा दुईवटा हिमचितुवा कागबेनी गाउँ नजिकै देखापरेको थियो । हिमचितुवा दिनदहाडै सडक र बस्तीमा देखिन थालेपछि स्थानीय पशुपालकले पालन गरेका घरपालुवा घोडा, खच्चड, याकचौँरी, भेडाच्याङ्ग्रालगायतमा क्षति हुने जोखिम बढेको हो ।

दुई वर्षअघि लोघेकर दामोदरकुण्ड–२ ढाक्मरमा स्थानीय किसान मिङमार गुरुङको ७९ वटा च्याङ्ग्रा हिमचितुवाले आक्रमण गरी मार्यो । तारबारसमेत लगाइएको च्याङ्ग्रा गोठमा जाली नाघेर चारवटा हिमचितुवा खोरमा पसेर गुरुङको ठूलो सङ्ख्यामा च्याङ्ग्रा क्षति पुर्यायो । यस्तै, चालु वर्ष फागुनको पहिलो हप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ समरका स्थानीय पशुपालक नवीनकुमार गुरुङको गोठमा रहेको ३३ वटा च्याङ्ग्रामध्ये चारवटा हिमचितुवाले आक्रमण गरी मार्यो । नवीन र मिङ्मार केवल प्रतिनिधि पात्रमात्र हुन् । मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका दर्जनौँ पशुपालक किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति तुल्याउन गरेको छ । यसैका कारण मुस्ताङमा घरपालुवा पशुपालन व्यवसायमा हिमचितुवा र वन्यजन्तुको थप जोखिम बढेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले चालु आवको १० महिनामा हिमचितुवाले १३ वटा पुशधनमा क्षति तुल्याएको बताएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार चालु आव २०८१÷८२ को साउनदेखि माघ मसान्तसम्ममा तीनवटा घोडा, छवटा च्याङ्ग्रा र चारवटा याकलाई हिमचितुवाले आक्रमण गरी क्षति बनाएको जानकारी दिनुभयो ।

यसैगरी गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका विभिन्न पशुपालक किसानको कुल एक सय ८० वटा पशुधनमा हिमचितुवाले क्षति बनाएको छ । एक्याप कार्यालय लोमान्थाङको रेकर्डअनुसार गत वर्ष घोडा १४, च्याङ्ग्रा एक सय ५४ र भेडा १२ वटालाई हिमचितुवाले मारेको थियो । मुस्ताङमा आव २०७९÷८० मा मुस्ताङका पाँचवटै पालिका गरी १३ घरपरिवारका ६५ पशुधनमा क्षति भएको थियो ।

जिल्लाको पुख्र्यौली व्यवसायका रूपमा याकचौँरी, घोडा र भेडाच्याङ्ग्रा पालन गर्ने गरिएको छ । यो यहाँको आर्थिक व्यवसायका रूपमा मात्र सीमित छैन, हिमाली संस्कृतिसँग पनि जोडिएको छ । यसरी पालन गरिएका याकचौँरी र भेडाच्याङ्ग्रा पशुपालक किसानलाई एक्याप कार्यालयले आवश्यक प्रक्रिया पुर्याएर नियमानुसार राहत वितरण गर्ने गरेको छ । तर, एक्यापले वन्यजन्तु क्षतिको राहत वितरण गर्ने गरेको भए पनि उपल्लो मुस्ताङका पशुपालकले राहतका लागि एक्यापको सम्पर्क आउनेको सङ्ख्या कम भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ । उहाँले वन्यजन्तुपीडित घटना घटे पनि राहतको लागि सम्पर्क आउन नसक्दा वन्यजन्तुको क्षति एकीन तथ्याङ्क सङ्कलन गर्न समस्या पर्ने गरेको बताउनुभयो । “हामीले वन्यजन्तु क्षति भएमा समुदायमा रिपोर्ट गर्न भनेका छौँ, संरक्षण क्षेत्र व्यवस्थापन समिति र प्रहरी युनिट पनि छन्”, एक्याप लोमान्थाङ प्रमुख पौडेलले भन्नुभयो, “वन्यजन्तु क्षतिका विवरण सङ्कलनदेखि सबै कागजी प्रक्रियाका एक्याप कार्यालयले कर्मचारी खटाएर सहजीकरण गर्छ ।” कार्यालय प्रमुख पौडेलले अब चाँडै वन्यजन्तु क्षति रकम आउने र त्यसलाई समुदायमा पुगेर पीडितलाई वितरण गरिने जानकारी दिनुभयो ।

एक्याप लोमान्थाङअन्तर्गत उपल्लो मुस्ताङका वन्यजन्तु पीडितले दुई वर्षयता राहत पाउन नसके पनि एक्याप जोमसोम कार्यालयले भने वन्यजन्तुपीडितलाई निरन्तर क्षति राहत वितरण गर्दै आइरहेको छ ।

पशुधनको क्षति भएमा एक्याप कार्यालयको रोहबर, प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिति क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ । एक्यापले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिका, २०८० कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तुपीडितलाई राहत वितरण गर्ने प्रक्रियालाई सहज र व्यवस्थित गर्ने उद्देश्यले कार्यान्वयनमा आएको नयाँ निर्देशिकाले पशुपालक किसानलाई राहत उपलब्ध गराउन टेवा पुग्ने एक्यापको भनाइ छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६० पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हिमपातका कारण अलपत्र यात्रुको उद्धार

रुकुमपूर्व, १८ फागुन : रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ ।

हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए । रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले बताउनुभयो । त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा बस्न नअटाउने भएपछि ४८ घण्टासम्म खाना नपाएर बिताएको यात्रुहरूले बताएका छन् ।

शनिबार दिनभरि मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बागलुङ खण्डको दुई किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको उहाँले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाइएको थियो ।

हिउँ पन्छाएपछि काठमाडौँका लागि रुकुमबाट छुटेका बस र रुकुमबाट काठमाडौँका लागि छुटेका बसलाई वारपार गराइएको छ । साथै दर्जनाँै बढी साना गाडीलाई पनि वारपार गराइएको रुकुमपूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिनुभयो ।

हिउँमा फसेका यात्रुको उद्धारपश्चात रातिको समयमा उक्त सडक भएर बस नचलाउन भनिएको छ । आइतबार बिहान मध्यपहाडी लोकमार्गको यो खण्डको अवस्था हेरेर मात्र यातायातका साधन सञ्चालन गर्ने वा नगर्ने भनेर जानकारी गराइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । रुकुमपूर्व र बागलुङ सिमानामा बर्सेनि हिमपातका कारण लोकमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रथम राष्ट्रिय बाँस सम्मेलन : फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय

खोटाङ, १८ फागुनः बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ ।

जिल्ला घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा बजारको मागअनुसार बाँसका विविध प्रजातिको व्यावसायिक खेती प्रवर्द्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो जग्गा, सामुदायिक वन तथा गैरकृषिभूमिमा बाँस रोपणलाई प्रवर्द्धन गर्ने बुँदा समेटिएको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । यस्तै, बाँस खेतीसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने, बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादन गुणस्तर सुधार गर्न रणनीतिक व्यावसायिक नमूना विकास गर्ने बुँदा उल्लेख छ ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसका सामग्रीसहित विभिन्न ५१ वटा प्रदर्शनी कक्ष राखिएको थियो । नगरपालिकाले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र ग्रिन ब्याम्बो क्रियसन ललितपुरलगायतसँगको सहकार्यमा बाँस सम्मेलन गरेको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्घाटन भएको बाँस सम्मेलनमा सङ्घीय सांसद, प्रदेशका मन्त्री र सांसद, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुख, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो । नेपालकै इतिहासमा पहिलोपटक दिक्तेल बजारमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैरसरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।

सम्मेलनको अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सीसमेत उपहार दिने निर्णय गरिएको गरिएको छ । बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सञ्चालन भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायी उत्साहित भएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले रु पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा रु ४७ लाख बराबरको खर्च भएको नगरपालिकाले जनाएको छ ।

पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्ककारीहरूको उपस्थितिको सूचनामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।

आईएसपीआरको उत्तरी वजिरिस्तान जिल्लामा अपरेशनको क्रममा सुरक्षा बल र आतङ्कवादीहरू बीचको भिडन्तमा ६ आतङ्ककारी मारिएका छन् ।मारिएका आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनको लागि उन्मूलन अपरेशन सञ्चालन भइरहेको बताएको छ ।

अरुण प्रवेश मार्गः रकम अभावपछि मुआब्जा वितरण रोकियो

किमाथाङ्का (सङ्खुवासभा), १७ फागुनः सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको छ । निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि सर्वोच्च अदालतले यही पुस १७ गते छ्याङकुटी–दिदिङ सडक (२४दशमलव पाँच किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न आदेश दिएको थियो ।

एसएपिडिसीले रु ५३ करोड तिर्नुपर्नेमा रु २५ करोड मात्र उपलब्ध गराएकाले हालललाई मुआब्जा वितरण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । रु २५ करोड भने यहाँका  ६० परिवारलाई भुक्तानी गरिसकिएको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले विसं २०८० वैशाख २६ गते प्रतिरोपनी रु ११ लाख ७५ हजार मुआब्जा दिने निर्णय गरेको थियो । छ्याङकुटी–दिदिङ सडकअन्तर्गतको जग्गा मुआब्जा २०४६ सालमा नै दिइए पनि छुट जग्गाको मुआब्जा बाँकी छ ।

अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने सहमति छ । जसअनुसार परियोजनाबाट स्थानीयलाई रु १६० करोड सेयर दिइने जनाइएको छ । करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छभने विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ आर्थिक लाभ मिल्नेछ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्नेछन् ।  निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने परियोजना विकास सम्झौतामा उल्लेख छ ।

सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते

सिन्धुली, १७ फागुनः हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते हुनुभएको हो । घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको बताउँदै प्रहरी उपरीक्षक काफ्लेले सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको जानकारी दिनुभयो ।

जिल्लामा आज साँझ अचानक हावाहुरी, बर्सातसहित चट्याङ परेको थियो । जिल्लाका विभिन्न स्थानमा हावाहुरीबाट भएको क्षतिको विवरण भने प्राप्त नभएको उहाँले बताउनुभयो । 

यसैबीच, जिल्लामा आज साँझदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत्का तार र खम्बाहरूमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको थियो । विद्युत् पुनः सञ्चालन गर्ने प्रयास भइरहेको विद्युत् वितरण केन्द्र सिन्धुलीले जनाएको छ ।

देश सङ्कटमा पर्दा कांग्रेस र एमालेबीच सधैँ सहकार्यः वरिष्ठ उपाध्यक्ष पोखरेल

भक्तपुर, १७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सङ्कटमा पर्दा नेपाली कांग्रेस र एमालेबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको दोस्रो जिल्ला सम्मेलनको आज भक्तपुरमा उद्घाटन गर्दै उहाँले पछिल्लो समय दुई पार्टीबीच सत्ता सहकार्य त्यसैको निरन्तरता भएको बताउनुभयो । “कांग्रेस एमाले दुईवटा राजनीतिक पार्टी मात्रै होइनन्, सधैँ सङ्कटको बेला मिलेर काम गर्ने राजनीतिक खम्बा पनि हुन् । अहिलेको गठबन्धन पनि त्यसैको एउटा नमूना हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

इतिहासका हरेक कालखण्डमा कांग्रेस र कम्युनिष्टहरूबीच राजनीतिक रूपमा सहकार्य र प्रतिस्पर्धा दुवै हुँदै आएको सन्दर्भ उल्लेख गर्दै अहिले पनि समस्या समाधानका लागि सहकार्य र निर्वाचनमा प्रतिस्पर्धा गर्ने साझा दृष्टिकोणसहित अगाडि बढेको उल्लेख गर्नुभयो । “राणाशासनविरोधी आन्दोलनदेखि पछिल्लो २०६२÷६३ को जनआन्दोलन र २०७२ को संविधान जारी गर्दासम्म कांग्रेस र एमाले एक भएर नै सङ्कटलाई पार लगाइएको हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो,“हालको सत्ता गठबन्धन पनि देशलाई सङ्कटबाट जोगाउन, राजनीतिक अस्थिरता अन्त्य गर्न, देशलाई सही मार्गमा ल्याउनका लागि भएको हो । सोहीअनुसारका काम गरिरहेका छौँ ।”

विसं २०८४ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने र त्यसका लागि दुवै पार्टी तयारीका साथ अगाडि बढिसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, एमाले भक्तपुर अध्यक्ष वचन देउजा, उपाध्यक्ष किरण थापा, सङ्गठनका बाग्मती प्रदेश उपाध्यक्ष रञ्जन खड्कालगायतले सम्बोधन गर्नुभएको थियो ।

‘गठबन्धन सरकार संविधान कार्यान्वयनमा केन्द्रित छ’ : महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।

पेसागत तथा बुद्धिजीवी विभाग नेपाली काँग्रेस र नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा शनिबार आयोजित ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रियामा उनले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धन सरकार संविधान कार्यान्वयनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन केन्द्रित रहेको धारणा राखे ।

उनले संविधान घोषणासँगै कतिपय नीति, नियमका कारण कार्यसम्पादनका क्रममा असहजता भएको भन्दै सहमति र सहकार्यका आधारमा समयसापेक्ष रूपमा संविधान संशोधन हुने बताए । संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिए ।

थापाले भने, ‘काँग्रेस र एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो प्राथमिकतामा संविधान कार्यान्वयनलाई राखेको छ । यससँग जोडिएका कानुनहरू बनाउनुपर्ने अहिलेको आवश्यकता हो, ती कानुन एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानुनहरू खारेज गर्नुपर्ने हुन्छ., कतिपय कानुन हाम्रो संविधानसँग बाँझिएका छन् । ती सबै विषय सहमतिका आधारमा समाधान हुँदै जानेछन् ।’

काँग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया टुंगोमा पुगेसँगै संविधान बनेको र कार्यान्वयन पनि भएकाले संविधान संशोधनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै महामन्त्री थापाले संविधान संशोधन गर्ने क्रममा सबै दललाई समेटेर अगाडि बढ्ने धारणा राखे ।

काँग्रेस पेसागत तथा बुद्धिजीवी विभागका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियालाई नेपाली काँग्रेस सह–महामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, सहमहामन्त्री एवं प्रदेश सांसद निमा गिरी, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा संविधानविद् काशिराज दाहालले नागरिक स्तरबाट विशेष गरी निर्वाचन प्रणाली, समावेशिता, प्रादेशिक संरचनाको विषयमा पुनरावलोकन तथा कामको समीक्षा गरेर संविधान संशोधन गरिनुपर्ने सुझाव आएको बताए ।