`

पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्ककारीहरूको उपस्थितिको सूचनामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।

आईएसपीआरको उत्तरी वजिरिस्तान जिल्लामा अपरेशनको क्रममा सुरक्षा बल र आतङ्कवादीहरू बीचको भिडन्तमा ६ आतङ्ककारी मारिएका छन् ।मारिएका आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनको लागि उन्मूलन अपरेशन सञ्चालन भइरहेको बताएको छ ।

अरुण प्रवेश मार्गः रकम अभावपछि मुआब्जा वितरण रोकियो

किमाथाङ्का (सङ्खुवासभा), १७ फागुनः सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको छ । निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि सर्वोच्च अदालतले यही पुस १७ गते छ्याङकुटी–दिदिङ सडक (२४दशमलव पाँच किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न आदेश दिएको थियो ।

एसएपिडिसीले रु ५३ करोड तिर्नुपर्नेमा रु २५ करोड मात्र उपलब्ध गराएकाले हालललाई मुआब्जा वितरण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । रु २५ करोड भने यहाँका  ६० परिवारलाई भुक्तानी गरिसकिएको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले विसं २०८० वैशाख २६ गते प्रतिरोपनी रु ११ लाख ७५ हजार मुआब्जा दिने निर्णय गरेको थियो । छ्याङकुटी–दिदिङ सडकअन्तर्गतको जग्गा मुआब्जा २०४६ सालमा नै दिइए पनि छुट जग्गाको मुआब्जा बाँकी छ ।

अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने सहमति छ । जसअनुसार परियोजनाबाट स्थानीयलाई रु १६० करोड सेयर दिइने जनाइएको छ । करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छभने विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ आर्थिक लाभ मिल्नेछ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्नेछन् ।  निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने परियोजना विकास सम्झौतामा उल्लेख छ ।

सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते

सिन्धुली, १७ फागुनः हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते हुनुभएको हो । घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको बताउँदै प्रहरी उपरीक्षक काफ्लेले सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको जानकारी दिनुभयो ।

जिल्लामा आज साँझ अचानक हावाहुरी, बर्सातसहित चट्याङ परेको थियो । जिल्लाका विभिन्न स्थानमा हावाहुरीबाट भएको क्षतिको विवरण भने प्राप्त नभएको उहाँले बताउनुभयो । 

यसैबीच, जिल्लामा आज साँझदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत्का तार र खम्बाहरूमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको थियो । विद्युत् पुनः सञ्चालन गर्ने प्रयास भइरहेको विद्युत् वितरण केन्द्र सिन्धुलीले जनाएको छ ।

देश सङ्कटमा पर्दा कांग्रेस र एमालेबीच सधैँ सहकार्यः वरिष्ठ उपाध्यक्ष पोखरेल

भक्तपुर, १७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सङ्कटमा पर्दा नेपाली कांग्रेस र एमालेबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको दोस्रो जिल्ला सम्मेलनको आज भक्तपुरमा उद्घाटन गर्दै उहाँले पछिल्लो समय दुई पार्टीबीच सत्ता सहकार्य त्यसैको निरन्तरता भएको बताउनुभयो । “कांग्रेस एमाले दुईवटा राजनीतिक पार्टी मात्रै होइनन्, सधैँ सङ्कटको बेला मिलेर काम गर्ने राजनीतिक खम्बा पनि हुन् । अहिलेको गठबन्धन पनि त्यसैको एउटा नमूना हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

इतिहासका हरेक कालखण्डमा कांग्रेस र कम्युनिष्टहरूबीच राजनीतिक रूपमा सहकार्य र प्रतिस्पर्धा दुवै हुँदै आएको सन्दर्भ उल्लेख गर्दै अहिले पनि समस्या समाधानका लागि सहकार्य र निर्वाचनमा प्रतिस्पर्धा गर्ने साझा दृष्टिकोणसहित अगाडि बढेको उल्लेख गर्नुभयो । “राणाशासनविरोधी आन्दोलनदेखि पछिल्लो २०६२÷६३ को जनआन्दोलन र २०७२ को संविधान जारी गर्दासम्म कांग्रेस र एमाले एक भएर नै सङ्कटलाई पार लगाइएको हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो,“हालको सत्ता गठबन्धन पनि देशलाई सङ्कटबाट जोगाउन, राजनीतिक अस्थिरता अन्त्य गर्न, देशलाई सही मार्गमा ल्याउनका लागि भएको हो । सोहीअनुसारका काम गरिरहेका छौँ ।”

विसं २०८४ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने र त्यसका लागि दुवै पार्टी तयारीका साथ अगाडि बढिसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, एमाले भक्तपुर अध्यक्ष वचन देउजा, उपाध्यक्ष किरण थापा, सङ्गठनका बाग्मती प्रदेश उपाध्यक्ष रञ्जन खड्कालगायतले सम्बोधन गर्नुभएको थियो ।

‘गठबन्धन सरकार संविधान कार्यान्वयनमा केन्द्रित छ’ : महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।

पेसागत तथा बुद्धिजीवी विभाग नेपाली काँग्रेस र नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा शनिबार आयोजित ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रियामा उनले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धन सरकार संविधान कार्यान्वयनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन केन्द्रित रहेको धारणा राखे ।

उनले संविधान घोषणासँगै कतिपय नीति, नियमका कारण कार्यसम्पादनका क्रममा असहजता भएको भन्दै सहमति र सहकार्यका आधारमा समयसापेक्ष रूपमा संविधान संशोधन हुने बताए । संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिए ।

थापाले भने, ‘काँग्रेस र एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो प्राथमिकतामा संविधान कार्यान्वयनलाई राखेको छ । यससँग जोडिएका कानुनहरू बनाउनुपर्ने अहिलेको आवश्यकता हो, ती कानुन एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानुनहरू खारेज गर्नुपर्ने हुन्छ., कतिपय कानुन हाम्रो संविधानसँग बाँझिएका छन् । ती सबै विषय सहमतिका आधारमा समाधान हुँदै जानेछन् ।’

काँग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया टुंगोमा पुगेसँगै संविधान बनेको र कार्यान्वयन पनि भएकाले संविधान संशोधनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै महामन्त्री थापाले संविधान संशोधन गर्ने क्रममा सबै दललाई समेटेर अगाडि बढ्ने धारणा राखे ।

काँग्रेस पेसागत तथा बुद्धिजीवी विभागका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियालाई नेपाली काँग्रेस सह–महामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, सहमहामन्त्री एवं प्रदेश सांसद निमा गिरी, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा संविधानविद् काशिराज दाहालले नागरिक स्तरबाट विशेष गरी निर्वाचन प्रणाली, समावेशिता, प्रादेशिक संरचनाको विषयमा पुनरावलोकन तथा कामको समीक्षा गरेर संविधान संशोधन गरिनुपर्ने सुझाव आएको बताए ।

खानेपानीमन्त्री यादव नयाँ दिल्लीमा

काठमाडौँ, १७ फागुनः खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न उहाँ आज नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुग्नुभएको हो ।

आज नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अफिसर तुसारअंश शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई स्वागत गर्नुभएको थियो ।  

यही फागुन १९ गते हुने उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापनलगायत महत्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिने मन्त्रालयका उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यस सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने यो सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।

विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध

मर्चवार (रुपन्देही), १७ फागुनः सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि रुपन्देहीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग शुल्क असुली गरेको भन्दै अभिभावकले विरोध गरेका छन् ।

सम्मरीमाई गाउँपालिका–७ स्थित कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँले कक्षा छदेखि १० सम्मका विद्यार्थीहरूसँग आन्तरिक मूल्याङ्कनको बहानामा शुल्क असुली गरेको अभिभावक विजय मिश्रको आरोप छ । शैक्षिकसत्र विसं २०८१ को अन्तिम परीक्षा अवधिमा प्रतिविषय रु ३० का दरले शुल्क उठाई शिक्षकहरूले आफूखुसी व्यक्तिगत रूपमा बाँडफाँट गरेको उहाँले बताउनुभयो । 

नेपालको संविधान, २०७२ को धारा ३१ को उपधारा (२) अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को धारा ५ मा सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मका विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क असुल्न नपाउने व्यवस्था गरेको छ । जसअनुसार कुनै पनि सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापतको रकम शीर्षकमा शुल्क लिनु हँुदैन । 

यहाँ भने त्यसविपरित व्यक्तिगत स्वार्थका लागि विद्यार्थीबाट आफूखुसी रकम असुलेर अभिभावकलाई आर्थिक भार थोपरेको स्थानीय रामबेलास कुर्मीले गुनासो गर्नुभयो । उक्त रकम तत्काल फिर्ता गराई त्यस्तो अवैध असुली र बाँडफाँटमा संलग्नलाई कानुनी कारबाही हुनुपर्ने उहाँको माग छ ।

विद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले पनि उक्त रकम विद्यार्थीहरूको शैक्षिक सुधार तथा आन्तरिक मूल्याङ्कनमा खटिने शिक्षकहरूका लागि लिइएको स्वीकार गर्नुभयो । सो विद्यालय, शिक्षक अभिभावक सङ्घका पूर्वअध्यक्ष रामनारायण कुर्मीले यस कार्यको विरोध गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र सम्बन्धित निकायसँग अनौपचारिक रूपमा गुनासो गरिसकेको बताउनुभयो । अब विद्यालय प्रशासनलाई तत्काल कारबाही गर्न माग गर्दै उजुरी दिने तयारी गरिएको उहाँले कुर्मीले बताउनुभयो ।  

गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौंड र शिक्षा विकास तथा समन्वय इकाइ, रूपन्देहीका प्रमुख माधव बन्जाडेले सार्वजनिक विद्यालयका विद्यार्थीहरूबाट त्यस्ता कुनै शुल्क लिनु र व्यक्तिगत रूपमा बाँडफाँट गर्नु गैरकानुनी भएको भन्दै लिइसकेको शुल्क फिर्ता गर्न निर्देशन गरिएको जानकारी दिनुभयो ।

जनताको सुखदुःखमा साथ दिन छथर गाउँपालिकाका थरिथरि कार्यक्रम

तेह्रथुम, १७ फागुनः मुलुकमा सङ्घीयता लागू भएसँगै बनेका तीन तहका सरकारमध्ये स्थानीय सरकारलाई नागरिकको घरआँगनको सरकारका रूपमा लिने गरिन्छ । नागरिकको सहज पहुँचमा रहेकाले स्थानीय तहलाई ‘घरआँगनको सरकार’को उपमा दिइएको हो । यो उपमालाई यहाँको छथर गाउँपालिकाले सार्थकता दिइरहेको छ ।

यस पालिकाले स्थानीय नागरिकको सुखदुःखमा साथ दिनेदेखि जनजीविकामा सहयोग पुर्‍याउनेलगायत कार्यक्रम ल्याएर स्थानीयलाई नजिकको सरकारको अनुभूति दिने गरी काम गरिरहेको छ । बालबालिका जीवन सुरक्षा कार्यक्रम, मलामी खाजा कार्यक्रम, ६० वर्षमाथिका एकल पुरुषलाई नगदसहितको सम्मान कार्यक्रम यसका उदाहरण हुन् । पालिकाले आर्थिक वर्ष २०७७/७८ बाटै मलामी खाजा कार्यक्रम, २०७८/७९ देखि सुरु गरेको ज्येष्ठ नागरिक एकल पुरुष सम्मान र चालु आवदेखि बालबालिका जीवन सुरक्षा कार्यक्रम सुरु गरेको हो । 

पछिल्लो समय सुरु गरिएको बालबालिका जीवन सुरक्षा कार्यक्रमअन्तर्गत सेवा क्षेत्रभित्रका नवजात शिशु जन्मिएदेखि नाबालिग नभएसम्म निकाल्न नमिल्ने गरी रु पाँच हजार जम्मा गर्ने गरिएको छ । शिशुको जन्मदर्ता, संरक्षकको नागरिकता र सम्बन्धित वडाको सिफारिसका आधारमा पालिकाले आवश्यक कागजात उपलब्ध गराउँछ । सोही कागजातका आधारमा पालिकाको सेवा केन्द्र शुक्रबारे बजारस्थित नबिल बैङ्कमा शिशुको मुद्धति खाता खोलेर उक्त रकम जम्मा गरिदिँदै आएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले बताउनुभयो । यस कार्यक्रमबाट हालसम्ममा ११ जना बालबालिका लाभान्वित भएका छन् ।

वडा नं ६ सुदापका भिमादेवी खड्काले सन्तान प्राप्तिको खुसियालीमा स्थानीय सरकारसमेत सामेल भएकाप्रति खुसी व्यक्त गर्नुभयो । यसरी पालिकाले नै खाता खोलेर रकम बचत गरिदिँदा अभिभावकमा सन्तानका लागि बचत गर्ने बानीको विकास हुने उहाँले बताउनुभयो । गत मङ्सिरमा जन्मिएको आफ्नो पहिलो सन्तानको पालिकाले खाता खोलेर जम्मा गरिदिएको रु पाँच हजारमा आफूले पनि हरेक महिना रु एक हजार जम्मा गर्दैै आएको खड्काले सुनाउनुभयो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रमअन्तर्गत हरेक आवको अन्तिममा  ६० वर्षमाथि उमेर पुगेका एकल पुरुषलाई रु १२ हजार नगदसहित सम्मान गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक पराजुलीले बताउनुभयो । गत आर्थिक वर्षमा यस्ता ५३ जना पुरुषलाई सम्मान गरिएको थियो । 

गाउँपालिका–५ नेर्तपाका ६४ वर्षीय खड्कबहादुर मादेनले पालिकाबाट आफूसँगै अन्य एकल पुरुषहरूले पनि सम्मान पाउँदा खुसी लागेको बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरेको मलामी खाजा कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यस कार्यक्रमअन्तर्गत पालिकाभित्रका कुनै पनि व्यक्तिको मृत्युपश्चात् जनप्रतिनिधि र कर्मचारीहरू मृतकको घरमै पुगेर समवेदनासहित मलामी खर्चस्वरुप रु पाँच हजार प्रदान गर्ने गरिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा ३३ मृतकका परिवारलाई समवेदनासहित मलामी खाजाबापतको रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिनुभयो ।  ।

गाउँपालिका–५ डुम्ब्रेका जगतबहादुर लिम्बूले आफ्नो बुबाको मृत्युपश्चात् पालिका अध्यक्ष, वडा अध्यक्षसहितको टोलीले घरमै आएर समवेदनापत्रसहित मलामी खाजास्वरुप रु पाँच हजार प्रदान गरेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । यसरी आफू पितृशोकमा परेको बेला स्थानीय सरकारका प्रतिनिधिबाट समवेदना प्रकट हुँदा आफ्नो पीडा हल्का भएको महसुस गरेको उहाँले सुनाउनुभयो । 

पालिकावासीलाई स्थानीय सरकार हामीसँगै छ भन्ने आभास दिलाउन र जनताको सुखदुःख दुवैमा सारथी बन्न यस्ता कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू (सन्तोष)ले बताउनुभयो । भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, चेतना विकाससँगै यस्ता कार्यक्रमलाई पनि निरन्तरना दिँदै जाने उहाँको प्रतिबद्धता छ । 

अन्तर प्रदेशस्तरीय भलिबलः सेनाको भैरवी दल र महोत्तरी फाइनलमा

बरहथवा (सर्लाही), १७ फागुनः नेपाली सेनाको भैरवी दल र महोत्तरीको करुणा क्लब सर्लाहीको हरिपुरमा जारी भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हरिपुर नगरपालिका–७ चिताइनमा आज सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै सेनाको भैरवी दल गण पाँच कुमारी र करुणा क्लबले कम्तीमा उपविजेताको उपाधि रक्षा गरेका हुन् । भैरवी दलले धनुषाको मिथिला विहारी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धामा भैरवीले २५–१७, २५–२१ र २५–२० को नतिजा निकाल्यो ।

यस्तै दोस्रो सेमिफाइनलमा महोत्तरीको करुणा क्लबले सर्लाहीको बड्कुर्वालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । करुणाले बड्कुर्वालाई २५–२१, २५–२३ र २५–१८ ले पराजित गरेको आयोजक लक्ष्मीनाथ युवा क्लबका सल्लाहकार चेननारायण धामीले जनाकारी दिनुभयो । उहाँका अनुसार फाइनल खेल आइतबार हुनेछ । 

यस्तै प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय महिला भलिबलको लिग चरणको दुई खेल पनि आज सम्पन्न भएका छन् । आज दिउँसो महोत्तरी र सप्तरीबीच भएको प्रतिस्पर्धामा महोत्तरी विजयी भएको छभने बारा र सर्लाहीबीच भएको दोस्रो खेलमा बारा विजयी भएको हो । 

महिला टोलीको सेमिफाइनल र फाइनल खेलहरू आइतबार बिहान र दिउँसो खेलाइने भन्दै पुरुषतर्फको फाइनल खेल आइतबार हुने आयोजक क्लबका अध्यक्ष नरहरि धामीले बताउनुभयो । उहाँका अनुसार भलिबल खेल र खेलाडीको उर्वर भूमिका रूपमा रहेको यहाँ लक्ष्मीनाथ युवा क्लबको आयोजनामा हरेक वर्ष महाशिवरात्रिका अवसरमा अन्तर प्रदेशस्तरीय पुरुष र प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ । 

पुरुषतर्फ प्रतियोगिताका विजेता टोलीले सिल्ड, मेडल, प्रमाणपत्रसहित रु एक लाख र उपविजेता टोलीले रु ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लबको भनाइ छ । प्रतियोगितामा सर्लाही, महोत्तरी, धनुषा, बारा, सिन्धुली, मकवानपुर र एक विभागीय गरी नौ टोली सहभागी छन् । 

यस्तै महिलातर्फको प्रदेशस्तरीय भलिबल प्रतियोगिताका विजेताले रु १५ हजार नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा सर्लाही, बारा, सप्तरी र महोत्तरीका गरी चार टोली सहभागी भएका छन् । यहाँ विगत दुई दशक बढी समयदेखि भलिबल प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको भनाइ छ । 

जिल्लास्तरीय, अञ्चलस्तरीय, क्षेत्रस्तरीय, प्रदेशस्तरीय हुँदै अहिले अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना भइरहेको अध्यक्ष धामीले बताउनुभयो । यस प्रतियोगितालाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका रूपमा लैजाने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 

मकवानपुरको मरुङगेमा गैँडाको आक्रमणबाट एक घाइते

हेटौँडा, १७ फागुनः मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगेमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैँडाको आक्रमणबाट घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उपचारका लागि उहाँलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

‘विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ’ : शेखर कोइराला

भैरहवा (रुपन्देही), १७ फागुनः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनुभएको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

सिरहा, १७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाउनुभएको छ ।

जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले दशवर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताउनुभयो । “अहिले सरकारमा रहेका दलहरु नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ”, अध्यक्ष दाहालले भन्नुभयो । 

उहाँले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान सुरु गरेको बताउनुभयो । मधेसी जनताको पक्षमा र मधेसी जनताको आत्मसम्मानका लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको अधिकार स्थापित गर्न मधेस सरकार गठन र पार्टीभित्र मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले जीर्ण अवस्थामा रहेको हुलाकी राजमार्ग पुनःनिर्माणबारे चर्चा गर्दै आफू पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँग कुरा गरेर हुलाकीमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको जिकिर गर्नुभयो । यस्तै, चोहर्वा–सिरहा, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण, माडर भन्सारको स्तरोन्नतिका लागि निरन्तर प्रयास गर्ने उहाँको प्रतिबद्धता थियो ।    “यसका साथै हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भत्केको पुल निर्माण प्रक्रिया तुरुन्त अगाडि बढाउन पार्टीका तर्फबाट साथ सहयोग रहन्छ । यसक लागि पहल गर्छौं”, दाहालले भन्नुभयो । 

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, माओवादी पार्टीका उप–महासचिव मातृकाप्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहलगायतले सम्बोधन गर्नुभएको थियो । जिल्ला इन्चार्ज अजयशङ्कर नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य जगतप्रसाद यादवले गर्नुभएको थियो ।

गाजामा युद्धविरामको म्याद सकिँदै, दोस्रो चरणको वार्ताको तयारी

इजरायल–हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ तर स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको १५ महिनाभन्दा बढी लामो युद्धपछि जनवरी १९ मा युद्धविराम लागू भएको थियो । सुरुको छ हप्ताको अवधिमा गाजाका लडाकुहरूले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकहरूलाई मुक्त गरेका थिए भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेका थिए। बदलामा इजरायली सुरषा नियन्त्रणमा रहेका एक हजार ९०० कैदीबन्दीको रिहाइ भएको छ ।

युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौं बन्धकहरूको रिहाई सुनिश्चित गर्ने र युद्धको थप स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कायरोमा एक प्रतिनिधिमण्डल पठाउनुभएको छ र मध्यस्थ इजिप्टले इजरायलका साथै सहयोगी मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डलको उपस्थितिमा दोस्रो चरणको ‘गहन वार्ता’ सुरु भएको बताएको छ ।शनिबार बिहानसम्म सहमतिको कुनै सङ्केत नदेखिएको भन्दै हमास स्रोतले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको छ ।“युद्धविराम सम्झौताको दोस्रो चरण भोलि बिहान अर्थात् आइतबार देखि सुरु हुने बताइए पनि अझै पनि ढिलासुस्ती भइरहेको छ र सम्झौताको उल्लङ्घन जारी छ,” स्रोतले एएफपीसँग भन्यो।

वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार कायरोमा हमासको प्रतिनिधिमण्डल अनुपस्थित भए तापनि गतिरोध समाधानका लागि छलफल भइरहेको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपथिंक ट्यांकका म्याक्स रोडेनबेकले दोस्रो चरण तत्काल सुरु हुने अपेक्षा गर्न नसकिने बताउनुभयो । उहाँले थप्नुभयो, “मलाई लाग्छ, युद्धविराम भङ्ग हुने छैन।” इजरायली रक्षामन्त्री इजरायल काट्जले दोस्रो चरणको साटो पहिलो चरणको विस्तारअन्तर्गत थप बन्धकहरूलाई मुक्त गर्नु इजरायलको प्राथमिकता रहेको बताउनुभएको छ ।

हमासको आक्रमणका क्रममा कब्जामा लिएका २५१ बन्धकमध्ये ५८ जना अझै गाजामा रहेका छन् । इजरायली सेनाले कुल बन्धकमध्ये ३४ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । मृतक बन्धकमध्ये आठ जनाको शव हमासले इजरायललाई हस्तान्तरण गरिसकेको छ ।

भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु

भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ ।पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो ।

प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो ।“घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले । उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,” एक प्रहरी अधिकारीले बताउनुभयो ।घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत

वीरगञ्ज, (पर्सा), १७ फागुनः दोस्रो वीरगञ्ज गोल्डकप २०८१ को उद्घाटन खेलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबले विजयी सुरुआत गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको उद्घाटन खेलमा आयोजक युनाइटेड वीरगञ्जले पहुना टोली गरवाल डाइमन्ड फुटबल क्लब दिल्लीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनको यात्रा तय गरेको हो ।

खेलको दोस्रो हाफको सुरुआती चरणमा डाइमन्ड फुटबल क्लबका खेलाडी सन्दीप रानाले बल ‘क्लियर’ गर्ने  क्रममा सो बल आत्मघाती गोल हुँदै वीरगञ्ज युनाइटेड विजयी भएको हो । 

खेलको पहिलो हाफमा वीरगञ्ज युनाइटेडले ‘पेनाल्टी सुट आउट’को अवसर पाएको थियो तर कप्तान शिषस थापाले त्यो अवसरलाई गोलमा परिणत गन सकेनन् ।  

आइतबार खेल भने सङ्कटा फुटबल क्लब र सहलेश फुटबल क्लब सिरहाबीच हुँदैछ । यसअघि  गोल्डकपको उद्घाटन गर्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।

“यस प्रतियोगिताले फुटबलको सीप, कला सिक्ने र खेलमै आफ्नो करियर बनाउनका लागि ठूलो सहयोग पु¥याउने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “प्रतियोगिताले खेलकुदको विकास मात्रै नभई समग्रमा यहाँको अर्थतन्त्र, पर्यटन र सामाजिक जीवनमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।” 

क्लबका महासचिव पङ्कज श्रेष्ठले वीरगञ्जमा फुटबल खेलको संस्कृति प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताले ओझेलमा परेका खेलाडीलाई नयाँ ‘प्लेटफर्म’ प्रदान गर्ने बताउनुभयो । 

आजदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीलाई  नगद रु ११ लाख ११ हजार १११ र उपविजेता  हुने टोलीलाई रु पाँच लाख ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ । 

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै,  प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन् ।

‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

पाटन (ललितपुर), १७ फागुनः काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ ।

विदेशका विश्वविद्यालयमा विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थीहरूबीचको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको विश्वविद्यालयका कार्यवाहक उपकुलपति अच्युत वाग्लेले जानकारी दिनुभयो । शुक्रबारसमेत यस विषयमा छलफल हुँदा विभिन्न विश्वविद्यालयमा एउटा सेमेष्टरमा कोर्ष पूरा गरेको प्रमाणित भएमा यहाँ बाँकी सेमेष्टर अध्ययन गर्न सहज हुने जानकारी गराइएको बताउनुभयो ।

“अध्ययन शुल्कमा हामीले धेरै सोचेका छैनौँ, बाँकी रहेका सेमेष्टर यहाँ ट्रान्सफर गरेर अध्ययन गर्न सकिन्छ । डिग्री काठमाडौँ विश्वविद्यालयकै हुन्छ, पढ्न चाहनेलाई सहज बनाउने हाम्रो प्रयास हो, विभिन्न विश्वविद्यालयमा अध्ययन पूरा गरेकाहरूको यहाँ परीक्षा लिने व्यवस्थाका लागि पनि सहज व्इवस्था गर्नेछौँ”, उहाँले भन्नुभयो ।

उपकुलपति वाग्लेले ओडिसास्थित केआइआइटी विश्वविद्यालयसँग काठमाडौँ विश्वविद्यालयको औपचारिक सम्झौता नभए पनि अहिलेको समस्या समाधानका लागि कूटनीतिदेखि प्राज्ञिक छलफलका माध्यमबाट सहजीकरणका लागि पहल गरिनुपर्ने बताउनुभयो । “कोर्ष ट्रान्सफर गरेर अध्ययन गर्न र परीक्षा दिन चाहनेलाई सहज हुने गरी शुल्क व्यवस्थापन हुनेछ, हरेक विद्यार्थीको समस्यालाई पहिचान गरेर समाधानको गर्न प्रयत्न गर्छौं”, उहाँले भन्नुभयो । 

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका सहडिन श्यामसुन्दर खड्काले विभिन्न विश्वविद्यालयमा कोर्ष अध्ययन पूरा गरेकाले परीक्षा दिन पाउने सहज व्यवस्था भएको बताउँदै नीतिगत कुरामा सहजीकरण गर्न सकिने बताउनुभयो ।

हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि भारदहका किसान चिन्तित

तिलाठी (सप्तरी), १७ फागुनः बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँलगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् । केही दिनअघि आएको हावाहुरी र असिनापानीका कारण बाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाका–१ भारदहका फुलेन्द्र राउतले व्यापार छोडेर नौ बिघामा मकै र गहुँखेती गर्नुभएको थियो । हावाहुरी, वर्षा र असिनाले खेतमा लगाइएको अधिकांश बाली नष्ट गरेपछि आम्दानीको स्रोत के हुने भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो । 

कृषि पेसाबाट आम्दानी गर्ने उद्देश्यले व्यापार छाडेर खेतीमा लागेको बताउँदै उहाँले गहुँखेतीमा रु एक लाख लगानी गरेको जानकारी दिनुभयो । “मकैमा लगाउँदा प्रतिकट्ठा ६० किलो खाद्य (बीउ) आवश्यक पर्दछ । करिब छ बिघा अर्थात् एक सय २० कट्ठामा सात हजार दुई सय किलो बीउ लागेको थियो, अन्य लगानी पनि छँदैछ”, राउतले भन्नुभयो । गहुँ फूल लाग्ने बेलामा झरेकाले फल्ने आशा नरहेको उहाँले बताउनुभयो । मकैमा पनि केही हुने हो वा होइन अन्योल रहेको उहाँको भनाइ छ ।

भारदहका अर्को किसान अशोक माझीले पनि डेढ बिघामा गहुँ र १० कट्ठामा मकै लगाउनुभएको छ । करिब ३६ प्रतिशत ब्याजदरमा गाउँमा रु एक लाख २० हजार ऋण लिएर खेती सुरु गरेको बताउँदै उहाँले बाली सबै नष्ट भएपछि ऋण कसरी तिर्ने भनेर चिन्ताले सताएको उल्लेख गर्नुभयो । 

“उब्जा भएपछि मकै बेचेर सबै ऋण तिरिदिन्छु र गहुँले आफ्नो परिवारलाई पुगेर केही आम्दानी पनि हुन्छ भने आशा थियो तर वर्षा र असिनाले सब सखाप गरिदियो”, माझीले भन्नुभयो, “अहिले त आफ्नो परिवारलाई खान पुग्ने उत्पादन भए हुन्थ्यो भन्ने कामना छ ।”

यहाँका वासुदेव लौगीको अवस्था पनि उस्तै छ । उहाँले पनि गाउँमा६० हजार ऋण लिएर एक बिघामा गहुँ र मकै खेती गर्नुभएको थियो । उहाँका अनुसार उब्जाको आश भने समाप्त भइसकेको छ । यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मेहनत बगाएको थियो भने अहिलेको वर्षाले गहुँ, मकै र केराखेती नष्ट गरेको छ । 

यी तीनजना उदाहरण पात्र मात्र हुन् । हनुमाननगर कङ्कालिनी–१ का वडाध्यक्ष सुरेन्द्र मण्डलका अनुसार वर्षा र असिनाले भारदहका दुई सय बढी किसान प्रभावित बनेका छन् । उहाँले कृषकको अवस्था दयनीय रहेको भन्दै यस्ता विपद्का घटनाले उहाँहरूलाई थप पीडा दिने गरेको बताउनुभयो । 

वडाको बजेटबाट कृषकका लागि केही खास गर्न सक्ने अवस्था नरहेको भन्दै मण्डलले पीडित किसानको राहतका लागि प्रदेश र सङ्घ सरकारसँग आग्रह गरेको बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारले स्थानीय तहसँग समन्वय गरी पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

कटारी गोल्डकपः उपाधिका लागि आज च्याम्पियन ब्वाइज र सहलेस युथक्लब भिड्दै

कटारी ,१७फागुनः यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ ।

यहाँको टाईगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि काठमाडौँको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै छन् ।

गत बिहीबार भएको सेमीफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेसले फाइनलयात्रा तय गरेको हो । यसैगरी बुधबारको खेलमा धरानको एनएस फुटबल क्लबलाई ४–२ ले हराएर च्याम्पियन ब्वाइज फाइनलमा पुगेको हो ।

उपाधि जित्ने टोलीलाई पदक र प्रमाणपत्रसहित रु तीन लाख तथा उपविजेतालाई रु एक लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा स्वदेशी सात र भुटानको एकसहित आठ टोलीले भाग लिएका थिए ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १७ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३५, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु १०० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परबर (लोकल) प्रतिकेजी रु १८०, घिरौला प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ११०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३००, कुरिलो प्रतिकेजी रु १,६०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ६०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २८०,सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३५, रुख कटहर प्रतिकेजी रु ११०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १४०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ३४०, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८७, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २९०, लसुन सुकेको नेपाली प्रतिकेजी रु २००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ ।

जुम्लामा हिमपात र हल्का वर्षा हुँदा किसान खुसी

जुम्ला-जुम्लामा शुक्रबारबिहानैदेखि हिमपात र हल्का वर्षा हुँदा यहाँका किसान खुसी भएका छन् । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयबासी मुनबहादुर एडीले जानकारी दिनुभयो ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएकाछन् । जिल्लामा यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । गएको असोज महिनादेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । लामो समयपछि हिमपात भएपछि सुक्दै गएका हिउँदे बालीनालीलाई सहज भएको यहाँका किसान बताउँछन् ।

जिल्लाका आठवटै स्थानीय तहका धेरैजसो ठाउँमा सिँचाइ नहुने पाखो जमिन छ । जहाँ कृषकले आकासे वर्षादका भरले जौ गहुँ बाली लगाउने गर्दछन् ।  वर्षा नहुँदा कतिपय पाखोमा रहेको जमीन बाँझो रहेको छ ।  

अब हिउँसँगै पानीसमेत परेको छ । हिउँदे समयमा लगाएको, जौ गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का  स्थानीय  किसान दुर्गा शाहीले बताउनुभयो । जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपकसिँह धामीको भनाइ छ ।  

जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दुरीका सवारी साधन फाट्टफुट्ट चलेको तिला कर्णाली यतायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

माध्यमिकी परिक्रमाका पडावस्थलमा स्वागतको तयारी

महोत्तरी- मिथिला माध्यमिकी परिक्रमाका यात्रीका लागि यहाँका रात्रि पडावस्थल (विश्रामस्थल)मा स्वागतको तयारी थालिएको छ ।मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबार सुरु भएको छ । यात्रीका लागि पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका तयारी गरिएको हो । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौं र आठौँ दिनका रात्रि विश्रामस्थल रहँदै आएका छन् ।

धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ । पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली आज दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको छ ।

शनिबार मधुवनीकै फूलहर रात्रि बासपछि यात्री आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गर्ने छन् । “हामी यात्रीको स्वागत, सत्कार र आवश्यक प्रबन्धमा जुटेका छौँ, परिक्रमा यात्रीको स्वागत हाम्रा लागि एक विशेष अवसर मानिदै आएको छ”, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “यस कार्यमा नगरवासीले आफ्नो सामथ्र्य लुकाउँदैनन्, मन, वचन र कर्मबाट सबैले सहयोग गर्दै आएका छन् ।”

पडावस्थलमा सो दिन परिक्रमा मेलाको परम्परा रहँदै आएको छ । यात्रामा सहभागी हुन नसकेका सर्वसाधारण आफ्नो ठाउँमा आइपुगेको श्रीराम र सीताजीका प्रतिमा राखिएका डोलाको दर्शन गरेर पुण्यको कामना गर्छन् । मेलामा हजारौँ सर्वसाधारणको सहभागिता हुने हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त स्थानीय स्वयंसेवक परिचालन गर्ने गरिएको उहाँले बताउनुभयो ।

महोत्तरीमा पर्ने रात्रि विश्रामस्थलहरु मटिहानी, जलेश्वर, महोत्तरी, बलवा र भङ्गाहासहित पाँचवटै स्थानीय तहमा यात्रीको सुविधा प्रबन्धका लागि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, व्यापारी र सर्वसाधारण समन्वय गरिरहेका छन् ।

नेपालतर्फ महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको कुल एक सय ३३ किलोमिटर वृतभित्र माध्यमिकी यात्रा गरिन्छ । जसमध्ये नेपालतर्फ एक सय सात किलोमिटर र भारततर्फ २८ किमी दूरी रहेको छ । यात्राको मुख्य संयोजन स्थानीय तह, धार्मिक तथा सामाजिक सङ्घसंस्था र मठमन्दिरको समन्वयमा वृहत्तर जनकपुर क्षेत्र विकास कोष (परिषद्)ले गर्दै आएको छ ।

मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई तत्काल बन्द गर्न निर्देशन

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको अनुगमन गर्दै अनुमति नलिई सञ्चालित सबैलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीसहित बर्दिवासका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक अनुगमन गर्दै उनले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका अस्पताल र स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

बर्दिवासका आठ वटा निजी अस्पताल र स्वास्थ्य संस्थामा उनले छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कानुनी प्रक्रिया पूरा नगरेका पाँच वटा संस्थालाई तत्काल बन्द गर्न उनले पत्रमार्फत निर्देशन दिएका छन् ।

सुरक्षा अर्थोपेडिक एण्ड डेण्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, ॐ समाज डेण्टल हस्पिटल, खोमसुरा डेण्टल क्लिनिक र पिनाकल अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

‘जनसेवा हस्पिटलको सम्पूर्ण विवरण उपलब्ध नरहेकोले आवश्यक विवरण अद्यावधिक गर्न र डिएनबी मेडिकेयर सेन्टरलाई तत्काल इजाजत नविकरण गर्न निर्देशन दिएका छौँ’, उनले भने । उनका अनुसार सबै प्रक्रिया पूरा गरी महेन्द्र डेण्टल क्लिनिक मात्र सञ्चालन भएको पाइएको हो ।

‘जनताको स्वास्थ्यसँग सरोकार राख्ने विषयमा लापरबाही गर्न सकिँदैन’, अनुगमनपछि मुख्यमन्त्री सिंहले भने, ‘प्रदेशका आठवटै जिल्लामा यसलाई कडाइका साथ लागू गरिने छ ।’ अस्पताल र स्वास्थ्य संस्थाले सञ्चालन गर्नपूर्वका कानुनी प्रक्रिया र सुविधासम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

यसअघि प्रदेशको राजधानी जनकपुरधाम र औद्योेगिक नगरी वीरगञ्जका अस्पताल र स्वास्थ्य संस्थामा छड्के गर्नुभएका सिंहले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका सबैलाई बन्द गर्न निर्देशन दिइसकेका छन् ।

मुख्यमन्त्रीको अनुगमनले अस्पताल र क्लिनिकलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्यसम्बन्धी सबै मापदण्ड कार्यान्वयन गर्न दबाब सृजना भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।

विषादीको अवशेष भेटिएको दुई क्विन्टल काउली अनुगमन टोलीद्वारा नष्ट

झापा-विर्तामोडको कृषि थोक बजारमा बेच्न ल्याएको दुई क्विन्टल काउली र ब्रोकाउलीमा विषादीको अवशेष उच्च मात्रा फेला परेपछि नष्ट गरिएको छ । विर्तामोड–९ मा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका भारतीय नागरिक पङ्कजकुमार रायले उत्पादन गरेर बजारमा पुर्याएको ती तरकारीमा कार्वानेट र अर्गानोफस्फेट विषादीको अवशेष अत्यधिक पाइएको विर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताउनुभयो । उहाँका अनुसार काउलीमा ९६.५२ र ब्रोकाउलीमा ९५.१४ प्रतिशत विषादी अवेशष पाइएको थियो । कृषि थोक बजारमा बिक्रीका लागि ल्याइने हरेक तरकारीको विषादी परीक्षणबाट खान योग्य सावित भएपछि मात्र उपभोक्तालाई बिक्री गर्न दिइने प्रचलन रहेको छ ।

तरकारीको विषादी जाँच्नका लागि नेपाल सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ विर्तामोड मै सञ्चालनमा रहेको छ ।

“कृषि बजारमा पङ्कजकुमार रायले ल्याउनुभएको काउली र ब्रोकाउलीको परीक्षण गर्दा खान अयोग्य पुष्टि भयो,” कृषि शाखाका प्रमुख कडरियाले भन्नुभयो, “त्यसपछि हामीले उहाँले ल्याएको दुई सय केजी तरकारी नष्ट गर्यौँ ।”

नगरपालिकाको कृषि शाखाले आजै प्राविधिक टोली खटाएर विषादीको अवेशष अत्यधिक भेटाइएको भारतीय नागरिक रायको कृृषि फार्ममा अनुमगन गरेको छ । अनुगमन टोलीले उहाँको फार्मका काउली र ब्रोकाउली तत्काल बेच्न रोक लगाएको छ ।

अर्कोपटक विषादी अवशेषको चेकजाँच गर्दा खान योग्य सावित नभएसम्म फार्मका कुनै पनि तरकारी बोटबाट नटिप्न र बजारमा नलैजान निर्देशन दिइएको कडरियाले बताउनुभयो । 

अनुगमन टोलीमा जनप्रतिनिधि, कृषि प्राविधिक र नगर प्रहरी रहेको थियो । नगरपालिकाले रायको फार्ममा अर्कोपटक चेकजाँच गर्दा विषादीको मात्रा फेरी अत्याधिक देखिए त्यहाँ फलेका तरकारी बारीमै नष्ट गरिने जानकारी दिनुभएको छ ।

कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा बढि बिषादीको अवशेष भेटिए खान अयोग्य मानिन्छ । कृषि शाखाका प्रमुख कडरियाका अनुसार विषादीको अवशेष ४५ प्रतिशतभन्दा माथि देखिए त्यस्तो तरकारीलाई तत्कालै नष्ट गरिने र ३५ देखि ४५ प्रतिशतसम्म अवशेष भेटिए केही दिन क्वारेन्टाइनमा राखेर पुनःजाँच गर्दा खान योग्य सावित भएपछि मात्र बिक्री गर्न दिइने बताउनुभयो ।

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

तुलसीपुर, १७फागुनः दाङको तुलसीपुर बजारमा विद्युत्का खाली तार थिए । ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ ।

साथै यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ । यस अघि तार चुडिने, क्षमता नधान्नेजस्ता सस्या पनि अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो । 

बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुकासाथै एक सय स्क्वायर फिट बनाइएको हो । एक करोड रुपैँया लागतमा ती तार फेरिएको उहाँको भनाइ छ । तुलसीपुरमा विद्युत्का ५२ हजार दुईसय ९० ग्राहक रहेका छन् । 

रगैँचामा भवन बन्दै दाङको शान्तिनगर गाउँपालिका–५ रगैँचामा विद्युत्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ ‘नो लाइट’ सेवाको कार्यालय छ । त्यसकालागि स्थानीय गिरीराज बस्नेतले जग्गा दिएपछि भवन नै बन्न लागेको हो । यस अघि त्यहाँ भाडाबाट उक्त कार्यालय सञ्चालनमा थियो । 

शान्तिनगर, दङ्गीशरण गाउँपालिकालगायतलाई सेवा दिन त्यहाँ एक जना कर्मचारीसहित उक्त सेवा सुरु गरिएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीका अनुसार केही दिन अघि मात्रै टेण्डर आह्वान भएको उहाँले बताउनुभयो । भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने उहाँको भनाइ छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १७ फागुनः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ)। भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो। जिल्लोको ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन्।

निसीखोला गाउँपालिका-६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो।

हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए।

शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उनको भनाइ छ। अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताए। बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकीनै प्रभावित बनेको उनी बताउँछन्।

उनले भने, “एक-दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो।”

लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन्। बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ। अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ।

उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ।

दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए। हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उनको भनाइ छ।

पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा

गोरखा, १७फागुनः गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो ।

“मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ, क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले भन्नुभयो, “यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।” पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वाससमेत लिइएको छ ।

मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकाली मन्दिरसम्म पु¥याउनका पदयात्राको महत्व रहेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । उक्त पदमार्गमा नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्ध लखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलोमा काउँले भङ्गार, कुहिरे भिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ ।

“देशभरीका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ, उहाँले भन्नुभयो, “हामीले गोरखा भ्रमण बर्षको घोषणा गरेर गोरखामा पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ ।” मनकामना मन्दिर र गोरखकाली मन्दिरको ऐतिहासिक र धार्मिक सम्बन्ध भएपनि एकआपसमा जोडेर पर्यटन प्रवर्द्धन गर्न नसकिएको नगरप्रमुख रानामगरको भनाइ छ ।

पदयात्रामा निस्किएको टोली शनिबार गोरखा सदरमुकामस्थित गोरखकाली मन्दिरमा आइपुग्नेछ । “यी दुई मन्दिरका बीच दिदीबहिनीको सम्बन्ध रहेको पाइन्छ, नगरप्रमुख रानामगरले भन्नुभयो, मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे चाहेको सबै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहदैँ आएको छ ।”

विदेशी मुद्राको विनिमयदर :अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ, १७ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रूपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३ रूपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

काठमाडौँ, १७ फागुनः आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।

सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो । यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्वपूर्ण मानिएको छ ।

एचआइभी–सम्बन्धित कलंक र भेदभाव हटाउन कार्यको लागि विश्वव्यापी साझेदारी अन्तर्गत एकताबद्ध भएका ४१ देशहरू र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताको प्रशंसा गर्ने यो महत्त्वपूर्ण क्षण हो। सामुदायिक साझेदारहरूको महत्वपूर्ण संलग्नता र नेतृत्वको साथ, यो पहलले प्रणालीगत मानव अधिकार अवरोध र असमानताहरू हटाउने कामलाई तीव्र बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, जसले गर्दा थप न्यायपूर्ण र समावेशी एचआईभी प्रतिक्रियाको लागि मार्ग प्रशस्त भएको छ।

शून्य भेदभाव दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता एचआइभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ ।

सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआइभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो ।

बलम्बु फिडर अन्तर्गत आज विभिन्न स्थानमा बिजुली काटिने

काठमाडौँ, १७ फागुनः नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।

आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधिन सवस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह आज साँझसम्म रोकिने प्राधिकरणले सूचित गरेको छ ।

प्रधानमन्त्री ओलीलाई बालेन शाहले भने – मलाई हराउने ताकमा, देशलाई नडुबाउनु होला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई हराउने ताकमा , देशलाई चै नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

उनले आज एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको सन्दर्भमा शुक्रबार फेसबुकमा लेख्दै यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला ‘

केही महिनायता काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिना चलिरहेको छ।

माओवादी केन्द्रद्वारा सहिद तथा बेपत्ताका परिवार सम्मानित

दमौली (तनहुँ), १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बन्दीपुर गाउँपालिकाका सहिद, बेपत्ताका परिवार, पूर्वजनमुक्ति सेना, कम्युनिष्ट आन्दोलनमा सहयोग पु-याउनेलाई सम्मान गरेको छ ।

बन्दीपुर गाउँपालिका–२ खहरेमा आज आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका दुई सय जनालाई सम्मान गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आबद्ध भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको महाअभियानमा सहादत प्राप्त गरेका, बेपत्ता भएकाका परिवारलाई अभिनन्दन पत्रले सम्मान गरिएको केन्द्रका बन्दीपुर गाउँ कमिटी अध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभामा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज आशा कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

त्यसक्रममा पार्टीका केन्द्रीय सदस्य चुमानले माओवादी आन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यसलाई संस्थागत गर्ने जिम्मेवारी माओवादीकै भएको बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य कोइरालाले पार्टीले सहिद तथा बेपत्ता भएकाका परिवारलाई पार्टीले सधैँ सम्मान गर्ने बताउनुभयो ।

रास्वपाद्वारा वडा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सपथ

काठमाडौँ, १६ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ जिल्लाको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ गराएको छ ।

वनस्थलीस्थित पार्टी कार्यालयमा आज ‘सपथ ग्रहण’ कार्यक्रमको आयोजना गरी काठमाडौँका ४१ वडामा भएको अधिवेशनबाट निर्वाचित दुई सय ९५ जना पदाधिकारी तथा सदस्यहरूले शपथ गराइएको हो । उहाँहरूलाई रास्पा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराउनुभयो ।

शपथपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबैलाई आफ्नो जिम्मेवारीमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वडा समितिले वडास्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरू तथा वडाका गतिविधिको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडा पदाधिकारी र सदस्यलाई जनताको दुःख सुखको सारथी भएर काम गर्न निर्देशन दिनुभयो ।

संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले आगामी निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । शपथ ग्रहणमा कार्यवाहक सभापति अर्याल, कार्यवाहक महामन्त्री बुर्लाकोटी, संददीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति थियो ।

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाडौँ, १६ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आज गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई पीताम्बरी, रूद्राक्ष, घण्ट, कमण्डलुसहित दक्षिणा दिएर बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई नौ वर्गमा वर्गीकरण गरेर दक्षिणा दिएको काठमाडौँ शाखा प्रमुख बैकुण्ठप्रसाद रेग्मीले राससलाई जानकारी दिनुभयो । फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएको सामग्रीसहित संस्थानले साधुसन्तलाई दक्षिणा बाँडेको हो ।

संस्थानले सभापति, अखडाका संरक्षकलाई रू नौ हजार, श्रीमहन्त सेक्रेटरी श्रीमहन्त थानापति, रम्तापञ्चका श्रीमहन्तलाई रू पाँच हजार १०० दक्षिणा दिएको छ । दक्षिणा लिन साधु सन्त पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाम बसेका थिए ।

थानापति, सेक्रेटरी, श्री दिगम्बर, मण्डल श्री महन्त, अष्ट कौशल महन्तलाई रू तीन हजार छ सय, जमातीया महन्त, कोठारी, भण्डारी, पुजारी, कारोबारीलाई रू दुई हजार चार सय, नागाबाबा, महन्त, अवधुतानीलाई रू एक हजार सात सय ५०, अवधुत (आधा सन्यास) लाई रू एक हजार छ सय दक्षिणासहित बिदाइ गरिएको छ । महापुरूषलाई रू एक हजार सय, ब्रह्मचारी, भेषधारीलाई रू पाँच सय ५१ र मगन्ते नारायणलाई रू दुई सय गरी नौ वर्गमा वर्गीकरण गरेर दक्षिणा दिइएको उहाँले सुनाउनुभयो । नौ वर्गका गरी संस्थानले दुई हजार तीन सय ६१ जना साधुसन्तलाई दक्षिणा दिएको छ ।

संस्थानले अहिलेसम्म रू २० लाख ३० हजार ६७ दक्षिणा स्वरूप बाँडिसकेको जनाएको छ । पत्र दिएका केहीलाई अझै दक्षिणा दिन बाँकी रहेको काठमाडौँ शाखा प्रमुख रेग्मीले सुनाउनुभयो । पत्र बाँडेका सबैलाई दक्षिणा दिँदा करिब रू २१ लाख लाग्ने संस्थानले जनाएको छ । शनिबार छुटपुटलाई पनि दक्षिणा दिएर सकिने भएको छ ।

कोषले भने अधिकतम् रू सात हजार पाँच सय र न्यूनतम् रू एक सय एक दक्षिणा साधु सन्तलाई दिएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । कोषले बाँडको दक्षिणाको विस्तृत विवरण शनिबार आउने उहाँले सुनाउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण

गोलबजार (सिरहा), १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा निर्माण गरिएको सहिद रमेश रामको शालिक अनावरण गर्नुभएको छ ।

हुलाकी सडकखण्ड केन्द्रित गरेर झापाको कचनकबलबाट सुरू गरिएको ‘तराई मधेस जागरण अभियान’ का क्रममा अध्यक्ष प्रचण्डले आज यहाँ शालिक अनावरण गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभयो ।

अध्यक्ष दाहालले जनताको धेरै ठूलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा जनताको त्याग र बलिदान रहेको बताउनुभयो ।

उहाँले पछिल्लो पटक आफ्नो नेतृत्वमा देशका सबै सहिद राष्ट्रिय सहिदको रूपमा सम्मान दिई नेपाल राजपत्रमा प्रकाशन भई सकेकाले अब यसलाई कसैले उल्ट्याउन नसक्ने बताउनुभयो । सत्य निरूपण तथा मेलमिलाप विधेक पारित भएको बताउँदै उहाँले मेलमिलाप आयोग गठन भएपछि सहिद परिवारलाई सम्मान गर्ने, परिपूर्ण दिने पाटो खुल्ने बताउनुभयो ।

परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको प्रचण्डको भनाइ छ । उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठूलो परिवर्तन भएको उल्लेख गर्नुभयो ।

डाक्नेश्वरी नगरािलिका–१० बनौलमा मा जन्मनु भई देशको सामाजिक तथा राजनीतिक परिवर्तनका खातिर लड्दै आफ्नो सप्तरीकै बोदे बरसाइन बजारमा विसं २०६१ असार ४ गते साहदत प्राप्त गर्नुहुने सहिद रमेश रामको सम्झनामा शालिक निर्माण गरेको हो । सो अवसरमा अध्यक्ष दाहालले सहिद परिवारका सदस्यलाई सम्मान गर्नुभएको थियो ।

मुलुक सङ्कटमा परेका बेला राजनीतिक दलबीच सहकार्य हुन्छः उपाध्यक्ष पोखरेल

रामपुर (पाल्पा), १६ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुक सङ्कटमा परेको बेला राजनीतिक दलबीच सहकार्य गरी समधान हुँदै आएको बताउनुभएको छ ।

एमाले पाल्पाले आज तानसेनमा आयोजना गरेको वडा केन्द्रित ‘पार्टी निर्माण अभियान’अन्तर्गत अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुक राष्ट्रिय सङ्कट परेका बेला तथा ऐतिहासिक परिवर्तन गर्नुपर्ने अवस्थामा कांग्रेस र कम्युनिष्टबीच सहकार्य हुने गरेको स्मरण गर्नुभयो ।

“कांग्रेस उदारवादको प्रतिनिधि हो भने कम्युनिष्ट सर्वहरावादको प्रतिनिधि हो, त्यसकारण सहकार्य मात्र होइन यी दुई शक्तिबीच प्रतिष्पर्धा पनि हुने गर्दछ । छ, नेपाली राजनीतिमा सहकार्य र प्रतिष्पर्धा आवश्यक छ, यसले लोकतान्त्रिक पद्दतिलाई सशक्त बनाउँछ”, उहाँले भन्नुभयो ।

नेपालमा कांग्रेस र कम्युनिष्टबीचको प्रतिष्पर्धा र सहकार्य बहुआयामिक रहेको नेता पोखरेलले धारणा राख्नुभयो । “राणाविरोधी आन्दोलन होस् वा २०१७ सालको राजनीतिक परिवर्तन, २०३६, २०४६ को जनआन्दोलन, २०६२÷६३ को आन्दोलन र संविधान जारी गर्ने बेलामा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएका थिए”, उहाँले भन्नुभयो ।

देशव्यापी रूपमा एमालेले वडा केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी दिँदै उपाध्यक्ष पोखरेलले आधारभूत तहसम्म पुग्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो । मुलुकका सबै ठाउँमा यो अभियान जारी छ । कार्यक्रममा पाल्पाका १० पालिकाका ८१ वडाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

‘काठमाडौँ शैक्षिक मेला–२०८१’ आजदेखि सुरू

काठमाडौँ, १६ फागुनः विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला–२०८१’ आयोजना गरेको छ ।

शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रमको विम्ब समेटिएको मेला दुई दिनसम्म सञ्चालन हुने छ । सो मेलाको महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले आज उद्घाटन गर्नुभयो । राष्ट्रिय सभागृहमा सञ्चालन भएको मेलामा विद्यार्थीले सिकेका ज्ञान र सीपको प्रस्तुति र प्रदर्शन गरेका छन् ।

मेलामा ‘बुक फ्री फ्राइडे’ अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रूचि र नतिजा प्रदर्शन गर्नुका साथै मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा रू ३० उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई रू ३० मा नै उपलब्ध गराइएको छ । उपप्रमुख डङ्गोलले भन्नुभयो, “मेलामा नेपाल भाषा, मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गएको छ ।”

करिब ५० हजार विद्यार्थी सहभागी मेलामा विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ प्रदर्शन गरिएको छ । महानगरभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ जना विद्यार्थी छन् । पाँच सय २४ वटा संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ जना गरी दुई लाख ७२ हजार दुई सय ६३ जना विद्यार्थी अध्ययनरत छन् ।

साइबर अपराध विरुद्ध बेलायतको सचेतना अभियान सुरु

बेलायत सरकारले भिसा ठगी विरुद्ध सचेतना जगाउन ‘भिसा फ्रड टन बचाओ’ नामक अभियान सुरु गरेको छ ।

बेलायत यात्रा गर्ने मानिसहरूलाई तथ्यहरू जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दै, सरकारले उक्त अभियान सुरु गरेको छ ।

“अभियानले भिसा घोटाला रणनीतिहरूको बारेमा जागरूकता जगाउनेछ । साथै, अभियानले मानिसहरूलाई शोषण, आर्थिक क्षति र भावनात्मक सङ्कटबाट जोगाउन मद्दत गर्नेछ । यसले बेलायत भ्रमण गर्नेहरूलाई तथ्यहरू जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दछ ।”

बेलायत सरकारले नागरिकहरूलाई भिसा जालसाजी, आर्थिक र भावनात्मक जोखिमहरूबाट आफूलाई जोगाउन मद्दत गर्न फेब्रुअरी २७ मा ’भिसा फ्रड तोन बचाओ’ अभियान सुरु गरेको थियो ।

“भिसा जालसाजीले मानिसहरूलाई शारीरिक हानि र शोषणको जोखिममा राख्छ । भिसा जालसाजी गरेको पाइएमा बेलायतको यात्रामा १० वर्षको प्रतिबन्ध लाग्न सक्छ । उक्त अभियानले अनियमित आप्रवासन र भिसा जालसाजी विरुद्धको लडाइलाई प्रतिनिधित्व गर्दछ,” उच्चायोगको विज्ञप्तिमा भनिएको छ ।

समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), १६ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यमका रूपमा रहेको धारणा राख्नुभएको छ ।
जनकपुरधाममा संवाद फाउण्डेशनको आयोजनामा आजदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’को आज उद्घाटन गर्दै उहाँले चलचित्रले कला, संस्कृति र परम्परालाई प्रस्तुत गरी सहज रूपमा बुझाउन सक्ने भएकाले यो सञ्चारको प्रभावकारी माध्यमका रूपमा रहेको बताउनुभयो ।

 मुख्यमन्त्री सिंहले यस किसिमका महोत्सवले मिथिला क्षेत्रको कला, संस्कृतिलाई विश्व बजारमा पुर्‍याउनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता महोत्सव जनकपुरधाममा आयोजना हुँदा स्थानीय कलाकार उत्पादन हुने बताउनुभयो । 

मुख्यमन्त्री सिंहले जनकपुरधाम कला, संस्कृतिमा पुरानो र धनी क्षेत्र रहेको भन्दै यसको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धन गरी प्रदेशको आर्थिकस्तर वृद्धि गर्न सकिने धारणा राख्नुभयो । उहाँले आफ्ना बालबालिकाको सीप र क्षमता पहिचान गरी अगाडि बढ्न अभिभावकलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले जनकपुरधामको समग्र विकासमा पूर्वाधार निर्माण आवश्यकता रहेको भन्दै ती पूर्वाधारहरू बनाउन तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । यहाँ अन्य चलचित्र छायाँकन हुने वातावरण तयार गर्न सबैको सहयोग आवश्यक रहेकोे उहाँले बताउनुभयो । 

जनकपुरधाम मुलुकका साथै विश्वमा पनि छुट्टैै पहिचान भएको क्षेत्र भएकाले प्रचारप्रसारका माध्यमबाट यहाँ अन्तरराष्ट्रियस्तरका चलचित्र निर्माणको वातावरण बनाएर यहाँको कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकुमार रायले हाम्रा धार्मिक, सांस्कृतिक र परम्परालाई चलचित्रका माध्यमबाट विश्व समुदायसम्म पुर्‍याउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्नुभयो । नेपाली चलचित्र र यहाँका सम्पदालाई विश्व बजारमा पुर्‍याउन यस्ता महोत्सवको आवश्यकता पर्ने उहाँको भनाइ छ ।

प्रदेशसभाका सांसद रामसरोज यादवले समाजमा रहेका विकृतिहरूको अन्त्यका लागि चेतना जगाउने काममा चलचित्र सशक्त र सबल माध्यम रहेको धारणा राख्नुभयो । प्रदेशसभाका सांसद दीपेन्द्र ठाकुरले जनकपुरधाम एउटा ऐतिहासिक ठाउँ भएकाले यसको विशेषतालाई विश्व समुदाय समक्ष पु¥याउने काममा चलचित्रको महत्वपूर्ण भूमिका रहने जिकिर गर्नुभयो । 

विश्व हिन्दू महासङ्घ नेपालका उपाध्यक्ष ज्योतसना साउदले यो महोत्सवले चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने तर्क राख्नुभयो । उहाँले चलचित्रमा देखाइने कतिपय सामग्री हाम्रै परिवेश र रहनसहनसम्बन्धी हुने भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रभावकारी माध्यम बन्ने धारणा राख्नुभयो । 

फाउण्डेशनका अध्यक्ष कुमार भास्करको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले नेपाली चलचित्र र यहाँका परिवेशलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउने, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजी गर्ने, स्थानीय चलचित्र र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीसहितले महोत्सवको सफललताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । मैथिली विकास कोषको भवनमा तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा १० विधाबाट चयन भएका कूल ७८ वटा फिल्म प्रदर्शन गरिने छन् ।

भूकम्प अपडेटः छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौँमा दुई जना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । तीन परिवार विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

ती जिल्लामा अहिलेसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका प्रहरी नायब महानिरीक्षक आचार्यले उल्लेख गरे । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको थियो ।