`

काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ

Nepal One HD २ असोज २०८२ २१:४४
प्रशासन

काठमाडौँ, २ असोजः काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरिएको छ । गोँगबुस्थित नयाँबसपार्कमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गर्नुभयो ।

एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताउनुभयो । उहाँले विगतमा भएका कमी कमजोरीलाई सुधारेर राज्यका सबै निकायले जनतालाई छिटो, छरितो र न्यायपूर्ण सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । “नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सेवामा जुटेको छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातलाई नागरिकमुखी बनाउँदै अगाडि लगिने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका कारण नेपालको यातायात क्षेत्रमा ठूलो समस्या भएको भन्दै उक्त घटनालाई बिर्सेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

यातायात व्यवस्था विभागका निर्देशक गणेशमानसिंह राईले खरानीको ढिस्कोमा बसेर यातायात विभागले नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायातलाई चाडपर्वमा व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभागले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिसकेको उल्लेख गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीलगायतले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलमा पु¥याउनु सबैको दायित्व भएकाले एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको थियो । आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *