`

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण

गोलबजार (सिरहा), १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा निर्माण गरिएको सहिद रमेश रामको शालिक अनावरण गर्नुभएको छ ।

हुलाकी सडकखण्ड केन्द्रित गरेर झापाको कचनकबलबाट सुरू गरिएको ‘तराई मधेस जागरण अभियान’ का क्रममा अध्यक्ष प्रचण्डले आज यहाँ शालिक अनावरण गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभयो ।

अध्यक्ष दाहालले जनताको धेरै ठूलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा जनताको त्याग र बलिदान रहेको बताउनुभयो ।

उहाँले पछिल्लो पटक आफ्नो नेतृत्वमा देशका सबै सहिद राष्ट्रिय सहिदको रूपमा सम्मान दिई नेपाल राजपत्रमा प्रकाशन भई सकेकाले अब यसलाई कसैले उल्ट्याउन नसक्ने बताउनुभयो । सत्य निरूपण तथा मेलमिलाप विधेक पारित भएको बताउँदै उहाँले मेलमिलाप आयोग गठन भएपछि सहिद परिवारलाई सम्मान गर्ने, परिपूर्ण दिने पाटो खुल्ने बताउनुभयो ।

परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको प्रचण्डको भनाइ छ । उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठूलो परिवर्तन भएको उल्लेख गर्नुभयो ।

डाक्नेश्वरी नगरािलिका–१० बनौलमा मा जन्मनु भई देशको सामाजिक तथा राजनीतिक परिवर्तनका खातिर लड्दै आफ्नो सप्तरीकै बोदे बरसाइन बजारमा विसं २०६१ असार ४ गते साहदत प्राप्त गर्नुहुने सहिद रमेश रामको सम्झनामा शालिक निर्माण गरेको हो । सो अवसरमा अध्यक्ष दाहालले सहिद परिवारका सदस्यलाई सम्मान गर्नुभएको थियो ।

मुलुक सङ्कटमा परेका बेला राजनीतिक दलबीच सहकार्य हुन्छः उपाध्यक्ष पोखरेल

रामपुर (पाल्पा), १६ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुक सङ्कटमा परेको बेला राजनीतिक दलबीच सहकार्य गरी समधान हुँदै आएको बताउनुभएको छ ।

एमाले पाल्पाले आज तानसेनमा आयोजना गरेको वडा केन्द्रित ‘पार्टी निर्माण अभियान’अन्तर्गत अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुक राष्ट्रिय सङ्कट परेका बेला तथा ऐतिहासिक परिवर्तन गर्नुपर्ने अवस्थामा कांग्रेस र कम्युनिष्टबीच सहकार्य हुने गरेको स्मरण गर्नुभयो ।

“कांग्रेस उदारवादको प्रतिनिधि हो भने कम्युनिष्ट सर्वहरावादको प्रतिनिधि हो, त्यसकारण सहकार्य मात्र होइन यी दुई शक्तिबीच प्रतिष्पर्धा पनि हुने गर्दछ । छ, नेपाली राजनीतिमा सहकार्य र प्रतिष्पर्धा आवश्यक छ, यसले लोकतान्त्रिक पद्दतिलाई सशक्त बनाउँछ”, उहाँले भन्नुभयो ।

नेपालमा कांग्रेस र कम्युनिष्टबीचको प्रतिष्पर्धा र सहकार्य बहुआयामिक रहेको नेता पोखरेलले धारणा राख्नुभयो । “राणाविरोधी आन्दोलन होस् वा २०१७ सालको राजनीतिक परिवर्तन, २०३६, २०४६ को जनआन्दोलन, २०६२÷६३ को आन्दोलन र संविधान जारी गर्ने बेलामा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएका थिए”, उहाँले भन्नुभयो ।

देशव्यापी रूपमा एमालेले वडा केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी दिँदै उपाध्यक्ष पोखरेलले आधारभूत तहसम्म पुग्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो । मुलुकका सबै ठाउँमा यो अभियान जारी छ । कार्यक्रममा पाल्पाका १० पालिकाका ८१ वडाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

‘काठमाडौँ शैक्षिक मेला–२०८१’ आजदेखि सुरू

काठमाडौँ, १६ फागुनः विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला–२०८१’ आयोजना गरेको छ ।

शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रमको विम्ब समेटिएको मेला दुई दिनसम्म सञ्चालन हुने छ । सो मेलाको महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले आज उद्घाटन गर्नुभयो । राष्ट्रिय सभागृहमा सञ्चालन भएको मेलामा विद्यार्थीले सिकेका ज्ञान र सीपको प्रस्तुति र प्रदर्शन गरेका छन् ।

मेलामा ‘बुक फ्री फ्राइडे’ अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रूचि र नतिजा प्रदर्शन गर्नुका साथै मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा रू ३० उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई रू ३० मा नै उपलब्ध गराइएको छ । उपप्रमुख डङ्गोलले भन्नुभयो, “मेलामा नेपाल भाषा, मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गएको छ ।”

करिब ५० हजार विद्यार्थी सहभागी मेलामा विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ प्रदर्शन गरिएको छ । महानगरभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ जना विद्यार्थी छन् । पाँच सय २४ वटा संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ जना गरी दुई लाख ७२ हजार दुई सय ६३ जना विद्यार्थी अध्ययनरत छन् ।

साइबर अपराध विरुद्ध बेलायतको सचेतना अभियान सुरु

बेलायत सरकारले भिसा ठगी विरुद्ध सचेतना जगाउन ‘भिसा फ्रड टन बचाओ’ नामक अभियान सुरु गरेको छ ।

बेलायत यात्रा गर्ने मानिसहरूलाई तथ्यहरू जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दै, सरकारले उक्त अभियान सुरु गरेको छ ।

“अभियानले भिसा घोटाला रणनीतिहरूको बारेमा जागरूकता जगाउनेछ । साथै, अभियानले मानिसहरूलाई शोषण, आर्थिक क्षति र भावनात्मक सङ्कटबाट जोगाउन मद्दत गर्नेछ । यसले बेलायत भ्रमण गर्नेहरूलाई तथ्यहरू जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दछ ।”

बेलायत सरकारले नागरिकहरूलाई भिसा जालसाजी, आर्थिक र भावनात्मक जोखिमहरूबाट आफूलाई जोगाउन मद्दत गर्न फेब्रुअरी २७ मा ’भिसा फ्रड तोन बचाओ’ अभियान सुरु गरेको थियो ।

“भिसा जालसाजीले मानिसहरूलाई शारीरिक हानि र शोषणको जोखिममा राख्छ । भिसा जालसाजी गरेको पाइएमा बेलायतको यात्रामा १० वर्षको प्रतिबन्ध लाग्न सक्छ । उक्त अभियानले अनियमित आप्रवासन र भिसा जालसाजी विरुद्धको लडाइलाई प्रतिनिधित्व गर्दछ,” उच्चायोगको विज्ञप्तिमा भनिएको छ ।

समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), १६ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यमका रूपमा रहेको धारणा राख्नुभएको छ ।
जनकपुरधाममा संवाद फाउण्डेशनको आयोजनामा आजदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’को आज उद्घाटन गर्दै उहाँले चलचित्रले कला, संस्कृति र परम्परालाई प्रस्तुत गरी सहज रूपमा बुझाउन सक्ने भएकाले यो सञ्चारको प्रभावकारी माध्यमका रूपमा रहेको बताउनुभयो ।

 मुख्यमन्त्री सिंहले यस किसिमका महोत्सवले मिथिला क्षेत्रको कला, संस्कृतिलाई विश्व बजारमा पुर्‍याउनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता महोत्सव जनकपुरधाममा आयोजना हुँदा स्थानीय कलाकार उत्पादन हुने बताउनुभयो । 

मुख्यमन्त्री सिंहले जनकपुरधाम कला, संस्कृतिमा पुरानो र धनी क्षेत्र रहेको भन्दै यसको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धन गरी प्रदेशको आर्थिकस्तर वृद्धि गर्न सकिने धारणा राख्नुभयो । उहाँले आफ्ना बालबालिकाको सीप र क्षमता पहिचान गरी अगाडि बढ्न अभिभावकलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले जनकपुरधामको समग्र विकासमा पूर्वाधार निर्माण आवश्यकता रहेको भन्दै ती पूर्वाधारहरू बनाउन तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । यहाँ अन्य चलचित्र छायाँकन हुने वातावरण तयार गर्न सबैको सहयोग आवश्यक रहेकोे उहाँले बताउनुभयो । 

जनकपुरधाम मुलुकका साथै विश्वमा पनि छुट्टैै पहिचान भएको क्षेत्र भएकाले प्रचारप्रसारका माध्यमबाट यहाँ अन्तरराष्ट्रियस्तरका चलचित्र निर्माणको वातावरण बनाएर यहाँको कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकुमार रायले हाम्रा धार्मिक, सांस्कृतिक र परम्परालाई चलचित्रका माध्यमबाट विश्व समुदायसम्म पुर्‍याउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्नुभयो । नेपाली चलचित्र र यहाँका सम्पदालाई विश्व बजारमा पुर्‍याउन यस्ता महोत्सवको आवश्यकता पर्ने उहाँको भनाइ छ ।

प्रदेशसभाका सांसद रामसरोज यादवले समाजमा रहेका विकृतिहरूको अन्त्यका लागि चेतना जगाउने काममा चलचित्र सशक्त र सबल माध्यम रहेको धारणा राख्नुभयो । प्रदेशसभाका सांसद दीपेन्द्र ठाकुरले जनकपुरधाम एउटा ऐतिहासिक ठाउँ भएकाले यसको विशेषतालाई विश्व समुदाय समक्ष पु¥याउने काममा चलचित्रको महत्वपूर्ण भूमिका रहने जिकिर गर्नुभयो । 

विश्व हिन्दू महासङ्घ नेपालका उपाध्यक्ष ज्योतसना साउदले यो महोत्सवले चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने तर्क राख्नुभयो । उहाँले चलचित्रमा देखाइने कतिपय सामग्री हाम्रै परिवेश र रहनसहनसम्बन्धी हुने भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रभावकारी माध्यम बन्ने धारणा राख्नुभयो । 

फाउण्डेशनका अध्यक्ष कुमार भास्करको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले नेपाली चलचित्र र यहाँका परिवेशलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउने, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजी गर्ने, स्थानीय चलचित्र र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीसहितले महोत्सवको सफललताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । मैथिली विकास कोषको भवनमा तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा १० विधाबाट चयन भएका कूल ७८ वटा फिल्म प्रदर्शन गरिने छन् ।

भूकम्प अपडेटः छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौँमा दुई जना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । तीन परिवार विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

ती जिल्लामा अहिलेसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका प्रहरी नायब महानिरीक्षक आचार्यले उल्लेख गरे । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको थियो ।

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

गोरखा, १६ फागुनः बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । आज बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन् ।

चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताउनुभयो ।

“साम्दोमा रहेका होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेका छन्”, होटलका सञ्चालक निमादोर्जे लामाले भन्नुभयो, “होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका हुन् ।” पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उहाँले बताउनुभयो ।

अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो हिउँ जमेको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिनुभयो । बाक्लो हिमपातका कारण अत्यधिक चिसो बढेको र जनजीवन प्रभावित भएको उहाँको भनाइ छ ।

तत्कालै हिमपात रोकिने कुनै अवस्था नरहेकाले पर्यटक अझै केही दिन साम्दोमा क्षेत्रमा रोकिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण घरबाहिर निस्कन नसक्नुका साथै दैनिक काम गर्न र स्थानीवासीलाई घाँसदाउरा गर्न कठिनाइ भएको लामाले बताउनुभयो ।

मनकामनाबाट गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु
गोरखाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर जिल्लाको पर्यटन प्रवर्द्धनका लागि मनकामनाबाट गोरखकाली मन्दिरसम्मको पदयात्रा आजदेखि सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा सुरु गरिएको हो ।

“मनकामनाबाट गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकालीसम्म पुग्ने अवस्था सृजना हुन्छ”, क्लबका अध्यक्ष विनोदकुमार बस्न्यातले भन्नुभयो, “यसले गोरखाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ ।” पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकालीसम्म पु¥याउनका पदयात्राको महत्व रहेको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा मुलुकको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्धलखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलो, काउँले भङ्गार, कुहिरेभिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ ।

“मुलुकभरका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ”, उहाँले भन्नुभयो, “हामीले गोरखा भ्रमण वर्षको घोषणा गरेर यहाँको पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ ।” पदयात्रामा निस्किएको टोली आज सहिद लखन गाउँपालिकामा बास बसी शनिबार गोरखकाली मन्दिरमा पुगेर यात्रा समापन गर्नेछ । क्लबले सन् २०१९ देखि हरेक वर्ष मनकामनाबाट गोरखकाली मन्दिरसम्म पदयात्रा गर्दै आएको छ ।

प्रक्रियागत कारणले रोकिएका अध्यादेश यथाशीघ्र स्वीकृत हुन्छन्ः गृहमन्त्री लेखक

काठमाडौँ, १६ फागुनः गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न अध्यादेश ल्याएको बताउँदै यथाशीघ्र सदनबाट स्वीकृत हुने जानकारी दिनुभयो । ।

“केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ”, मन्त्री लेखकले भन्नुभयो, “समयभित्रै सदनले स्वीकार गरी प्रतिस्थापन गरेर नयाँ कानुन बनाउँछौँ ।” उहाँले सरकारद्वारा ल्याइएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएका बताउनुभयो ।

“हाम्रो संविधानले तीन खम्बे अर्थ नीतिको व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रका लागि सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन कार्यान्वयनको वातावरण बनाउन लागेको हो ।” उहाँले मुलुकसभत्र शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा केही भएको छैन भन्ने भाष्य निर्माण भएको बताउँदै लोकतान्त्रिक पद्दतिका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएका उल्लेख गर्नुभयो ।

गृहमन्त्री लेखकले सरकारले शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्ने बताउनुभयो । निजी तथा आवासीय विद्यालयले आफूभित्र भएका समस्या स्वःनियमन गरेर समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “तपाईंहरूले आवश्यकताभन्दा बढी शुल्क लिने तथा अभिभावकलाई दबाब दिने, प्रभोलनमा पारेर आफ्नो संस्थामा तान्नेलगायत काम गरिराख्नुभएको छ भने बन्द गर्नुस् । अन्यथा सरकारले नियन्त्रण गर्छ ।”

गृहमन्त्री लेखकले सरकारले निजी तथा आवासीय विद्यालय र सरकारी विद्यालयका लागि सन्तुलित नीति निमार्ण गर्ने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार विकास, निर्माण तथा जनता केन्द्रित काम गर्न गठन भएको बताउँदै विकासका लागि स्थिर सरकार आवश्यक पर्ने धारणा राख्नुभयो ।

पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्छ – मुख्यमन्त्री आचार्य

अर्घाखाँची, १६ फागुन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

सुपा देउराली मन्दिर संरक्षण समितिको १३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताउनुभयो ।

“डिजिटल प्रविधिको उपयोग गरी प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “धार्मिक पर्यटकहरु आकर्षित हँुदै गएको पाएका छौँ । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।”

उहाँले धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । “हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ”, उहाँले भन्नुभयो, “देश÷विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ ।”

सो कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेललगायतले धारणा राख्नुभएको थियो ।

स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्छ : मन्त्री गुरुङ

लमजुङ, १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) लमजुङद्वारा बेँसीसहरमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले जनताको समस्या नजिकबाट नियाल्नुपर्छ भन्नुभयो ।

स्थानीय सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकार जहिले पनि सुशासन एवं पारदर्शिता कायम गर्नुपर्ने तथा राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, उहाँले स्थानीय सरकारले संविधानले दिएको अधिकारलाई प्रयोग गर्नतर्फ अग्रसर हुँदै जनताको सेवामा लाग्दै जनताको मन जित्नुपर्ने बताउनुभयो । सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन दीर्घकालीन योजना निर्माण गरी त्यसअनुरुप बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय सरकारले गरेका राम्रा कामका प्रचार गर्न नसक्दा जनताप्रति निराशा छाएको उहाँले बताउनुभयो । सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहको र जनताका समस्या समाधानमा सरकार लागिपरेको बताउनुभयो । जनताप्रति संवेदनशील भएरै सरकारले उखु किसान, दुग्ध किसानका भुक्तानीमा तदरुकता दिएको बताउनुभयो । उहाँले सहकारीपीडित र मिटरब्याजीको समस्या समाधानमा सरकार लागिपरेको बताउनुभयो ।

त्यसैगरी, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमीन्द्रमान घलेले स्थानीय सरकारले अहिलेसम्म गरेका कामको मध्यावधि समीक्षा गर्दै योजना निर्माणमा लाग्न सुझाव दिनुभयो । केन्द्रीय अनुशासन विभागका सदस्य मायानाथ अधिकारीले स्थानीय ससरकारले जनतालाई उत्पादन र रोजगारसँग जोड्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले निर्वाचित हुनुभन्दा पहिलेका पालिकाको अवस्था र पछिको अवस्थाबारे जनप्रतिनिधिले ख्याल गरेर काम गर्नुपर्ने बतानुभयो ।

परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले खर्च नगर्ने : मुख्यमन्त्री शाह

भजनी (कैलाली), १६ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताउनुभएको छ । टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उहाँले यसभन्दा अघि करोडौँ खर्च भएका सयौँ संरचना अलपत्र परेको बताउनुभयो । प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट खर्च गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “हिजो समुदायस्तरबाट लाखौँ करोडौँका योजना माग भए, त्यसमा बजेट खर्च भयो, आज ती योजना सम्पन्न भए पनि सञ्चालनमा आएका छैनन् ।”

 उहाँले अब औचित्यका आधारमा मात्रै बजेट विनियोजन गर्ने नीति प्रदेश सरकारले लिएको उल्लेख गर्नुभयो । समाजलाई आवश्यक परेका र भोलिसम्म त्यसको प्रभाव रहने क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

प्रदेश सरकारले राष्ट्र र समाजका लागि योगदान दिएका व्यक्तिको खोजी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहले शिक्षा, संस्कार, संस्कृतिका साथै सबै नागरिकहरूलाई एउटै दर्जा दिने डण्डी स्वामी समाजको एक इतिहास भएको बताउनुभयो ।

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ, १६ फागुनः नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएका भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता हुनुभएको छ ।

यही फागुन १३ गते नेपाल आउनुभएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू कार्यक्रमपश्चात आज स्वदेश फिर्ता हुनुभएको नेपाली सेनाले जनाएको छ । उक्त भ्रमणमा आउनुभएका जनरल (डा) मनोजमुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) फागुन १५ गते स्वदेश फिर्ता हुनुभएको थियो ।

त्यस्तै जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल (डा) विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा) आज स्वदेश फिर्ता हुनुभएको हो । उक्त भ्रमण दलले नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत भ्रमण गरेको थियो ।

‘भौतिक संरचना निर्माणलाई तीव्र बनाइएको छ’: मन्त्री दाहाल

त्रिशूली (नुवाकोट), १६ फागुनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पूर्वाधार विकास र भौतिक संरचना निर्माणलाई तीव्र बनाउँदै लगिएको बताउनुभएको छ ।

विदुर नगरपालिका–४ र विदुर–१२ जोड्न सिमचउरामा निर्मित एक सय मिटर लम्बाइको पक्की पुल र विदुर–१ स्थित त्रिशूली बजारमा निर्मित ६० मिटर लम्बाइको पक्की पुलको आज यहाँ आयोजित एक कार्यक्रमका बीच उद्घाटन गर्दै उहाँले सरकारलेजनता केन्द्रित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

वर्तमान सरकार गठन भएपछि लक्ष्यभन्दा बढी सडक विस्तार र पक्की पुल निर्माण गरिएको बताउँदै मन्त्री दाहालले यो गतिलाई अझै तीव्रता दिन सरकारले अधुरा योजना कार्यान्वयनको पक्षमा काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भुपरिवेष्टित मुलुक नेपालसँग सीमा जोडिएका देशसँग पहुँच विस्तार गर्न चारै दिशामा नाका सञ्चालन गराउने लक्ष्यसहित भौतिक पूर्वाधार विकास र संरचना निर्माणलाई तीव्रता दिइएको उल्लेख गर्नुभयो । 

“मन्त्रालयले छ महिनामा दुई सय २५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएकामा दुई सय ७६ किमी सम्पन्न भइसकेको छ । सैतीस वटा पक्की पुल निर्माण गर्ने लक्ष्यमा ४१ वटा सम्पन्न भएर गाडी गुड्न थालिसकेका छन्”, उहाँले भन्नुभयो, “भौतिक संरचनाको निर्माण र यसको प्रगति काम सम्पन्न नभई देखिँदैन, वर्तमान सरकारले पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य काम गरिरहेको छ । नतिजा पनि सोहीअनुसार आइरहेका छन् ।”

मन्त्री दाहालले सरकारले जनताको समृद्धिसँग विकासलाई जोडेर काम गरिरहेकाले भइरहेका कामकारबाहीलाई विश्वास गरी सहयोग र समन्वय गर्न सबैलाई आग्रह गर्नुभयो । त्रिशूली नदीमा निर्माण गरिएको दुई पक्की पुलको उद्घाटन गर्दै उहाँले जनताको चाहना र सरकारको सामथ्र्यअनुसार भौतिक संरचना निर्माणमा सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । 

विदुर–४ र विदुर–१२ जोड्न सिमचउरामा निर्माण गरिएको दुई पक्की पुल जयविष्णु निर्माण सेवा प्रालिले तोकिएको अवधिभन्दा सात महिनाअगावै निर्माण सम्पन्न गरेको हो ।

निर्माण व्यवसायी अनिल सिलवालले तीस महिनामा पुल सम्पन्न गर्ने जिम्मा लिएकामा २३ महिनामा पूरा गरेर हस्तान्तरण गर्नुभयो । उक्त पुल निर्माण गर्ने व्यवसायीलाई पुल उद्घाटनका अवसरमा मन्त्री दाहालले प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो । पुल रु १० करोड ७३ लाखमा निर्माण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।

यस्तै, त्रिशूली बजारमा निर्माण गरिएको पक्की पुल तोकिएको अवधिमा सम्पन्न भएसँगै आज मन्त्री दाहालबाट उद्घाटन गरिएको छ । उक्त पुल हिमडुङ एण्ड थोकर–गणेशकुण्ड जेभीले रु सात करोड ९१ लाखमा निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको हो । उक्त पुल तोकिएको अवधि पूरा हुनुभन्दा दुई दिनअगावै सम्पन्न भएको हो । 

भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माले सङ्घीय सरकारमार्फत रेखदेख र संरक्षणको जिम्मेवारीमा रहेका विभिन्न ८० सडक र यसमा पर्ने पुलको निर्माणमा आर्थिक र प्राविधिक सहयोगमा काम भइरहेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सांसद विमला सुवेदीले नुवाकोटमा निर्माणाधीन तथा विस्तार भइरहेका गल्छी रसुवागढी सडक योजना, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पासाङल्यामु राजमार्गमा समयमा काम सम्पन्न नहुँदा स्थानीयले सास्ती ब्यहोर्नुपरेको भन्दै कामलाई तीव्रता दिन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा ८ जनाको मृत्यु

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार एक यात्रुवाहक बस दुर्घटना हुदाँ कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
चालिस भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरवाहीका कारण दुर्घटना भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताउनुभयो ।

घटनालगत्तै मोटरवे प्रहरीसहितको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको उहाँले थप्नुभयो ।

“घाइतेलाई तत्कालै नजिकैको जिल्ला सदरमुकाममा उपचारका लागि लगिएको हो ।”साथै, अधिकारीहरूले पल्टिएको बसलाई सीधा गर्न क्रेन प्रयोग गरिएको जानकारी दिनुभयो ।दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ ।

विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउन पाइँदैनः अध्यक्ष नेपाल

काठमाडौँ, १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिइकन सरकारले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ ल्याउन नपाउने बताउनुभएको छ । भूमिसम्बन्धी अध्यादेश समस्या समाधान गर्नेभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि ल्याएको उहाँको आरोप छ ।

जनता समाजवादी पार्टी, नेपालले यहाँ आज आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भन्नुभयो, “सरकार कानुन र विधिसम्मत ढङ्गबाट चल्नुपर्छ”, भन्नुभयो । उहाँले भन्नुभयो, “सरकारले सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ छैन ।”

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादले भन्नुभयो, “सरकारले यो भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्छ, त्यसो नभए हामी सङ्घर्षमा जान्छौँ ।” सुकुम्वासी भूमिहीनको पहिचान गरी समस्या समाधानका लागि विज्ञसँग छलफल गरेर वैज्ञानिक बाटो अपनाएर सधैँका लागि समस्या समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया

कमलामाई (सिन्धुली, १६ फागुन : तिलगङ्गा आँखा प्रतिष्ठान, गोलञ्जोर गाउँपालिका र स्थानीय सुनकोशी सामुदायिक अस्पतालद्वारा संयुक्त रूपमा आयोजित मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया गरिएको छ ।

सो गाउँपालिका–७ खुर्कोटमा आयोजित दुईदिने शिविरमा प्रतिष्ठानले शल्यक्रियाका लागि छनोट गरेका एक सय जनाको शल्यक्रिया गर्ने पालिकाका उपप्रमुख ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

शिविरमा शल्यक्रिया गरिएका सबै बिरामीलाई आवश्यक औषधि र चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । त्यस अवसरमा उपप्रमुख न्यौपाने र सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष केशव देवकोटाले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको लक्ष्यअनुरूप शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको बताउनुभयो ।

भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई

भद्रपुर (झापा), १६ फागुन : दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।
मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ लाई २–० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो । उपाधिसँगै ब्लेजर्सले रू १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता झापा–११ ले रू सात लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे । खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई १–० को अग्रता दिलाए । यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २–० को जित दिलाए । झापा–११ ले खेल अवधिभर पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउनुपर्यो । आजको खेलको प्लेयर अफ द म्याच ब्लेजर्सका विशाल दर्जी भए । उनले ट्रफीसहित नगद रू २१ हजार प्राप्त गरे ।

गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी भद्रपुर ब्लेजर्सका आशिष चापागाईँ भए । उनले रू एक लाख पाँच हजार नगदसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको उदीयमान खेलाडी ब्लेजर्सका राजेश शाह, उत्कृष्ट गोलकिपर ब्लेजर्सका टेकेन्द्र थापा, उच्च गोलकर्ता ब्लेजर्सका सत्यम शर्मा, उत्कृष्ट प्रशिक्षक ब्लेजर्सका सचिन्द्र धिमाल भए । उनीहरू सबैले ट्रफीसहित नगद रू २५ हजार प्राप्त गरे ।

चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको सङ्घर्ष र सफलता चलचित्र देख्न सकिने बताएकी छन् ।

नयाँ बसपार्कस्थित चलचित्र भवनमा शुक्रबार ‘अञ्जिला’को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले चलचित्रमा आफ्नो भूमिकाले खेलाडी बन्ने सपना बोकेकालाई प्रेरणा दिने बताइन् ।

उनले भनिन्, ‘सानैदेखि खेलकुदमा लगाव भएकाले मैले सक्नेभन्दा बढी यही क्षेत्रमा काम गरेँ । मेरो निरन्तरता र सङ्घर्षले आज मलाई यहाँसम्म पुर्याएको हो ।’

क्याप्टेन सुब्बाले खेलाडी र खेलकुदका विषयलाई समेटेर चलचित्र बनाइएको भन्दै यसले खेल क्षेत्रमा भविष्य खोज्ने अन्यलाई पनि प्रेरणा दिने उनले विश्वास व्यक्त गरिन् ।

चलचित्रमा उनी स्वयंले आफ्नो भूमिका निर्वाह गरेकी छन् । ‘सुरुमा मलाई असहज पनि भएको थियो । राम्रो निर्माण समूह पाएपछि अभिनय पनि गरेकी छु । मजस्तै सङ्घर्षशील अन्य खेलाडीको कथालाई पनि चलचित्रमा देख्न पाइने छ भन्ने मलाई विश्वास छ’, सुब्बाले भनिन् ।

उनले आफ्नो खेलजीवनमा सफलताको श्रेय धर्मपिता प्रेमकुमार श्रेष्ठलाई दिएकी छन् । चलचित्रको निर्मातासमेत रहेका सुब्बाका धर्मपिता श्रेष्ठले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेहरूलाई प्रेरणा दिने बताए ।

“अञ्जिलाको जीवनले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न प्रेरणा दिन्छ र उहाँको सङ्घर्ष कुनै चलचित्रको पटकथाभन्दा कम छैन”, निर्माता श्रेष्ठले भने । उनले चलचित्रमा क्याप्टेन सुब्बासँगै अन्य राष्ट्रिय खेलाडीलाई रहेका जनाउँदै सबैलाई सहयोगका लागि धन्यवाद दिए ।

निर्देशक मिलन चाम्सले क्याप्टेन सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको जानकारी दिए । ‘खेलकुदमा चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म कोसिस गरेका छौँ । क्याप्टेन सुब्बाको जीवनको महत्त्वपूर्ण खेललाई चलचित्रमा समावेश गरेका छौँ । उहाँको जीवनलाई पर्दामा हेर्दा नरसाउने आँखा सयादै होलान्’, उनले भने ।

चलचित्रका अभिनेता दयाहाङ राईले नेपाली फुटबलको विषयमा चलचित्र बन्नु सकारात्मक पक्ष रहेकाले आफू कलाकारका रूपमा जोडिएको बताए ।

उनले भने, ‘म फुटबल खेलको प्रशंसक हुँ । क्याप्टेन सुब्बाको जीवनीमा चलचित्र बन्दैछ भन्ने सुनेपछि खुसी भएको थिएँ, मलाई अभिनय गर्ने प्रस्ताव आएपछि आफ्नो भूमिका नसुन्दै सहमति दिएँ । सुब्बासँग चलचित्रभर अधिकांश दृश्य छ, यो मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो ।’

चलचित्रमा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन गरेको यो चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रित : अध्यक्ष दाहाल

बोदे बर्साइन (सप्तरी), १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।

तराई मधेस जागरण अभियानअन्तर्गत यहाँको खडक नगरपालिकामा आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा एवं पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “सुशासन कायम गर्नुप¥यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुप¥यो, भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।”

सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य भइसकेको उहाँले जिकिर गर्नुभयो ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नहुने हो भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराउनुभयो । 

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादीतिर उन्मुख रहेको उहाँको आरोप थियो । 

माओवादीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सहिदका सपना पुरा गर्ने जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता जनाउनुभयो । 

हिमाली जिल्लामा एचपिभी खोप अभियान आइतबारदेखि सुरु हुने

काठमाडौँ, १६ फागुनः प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराउनुभयो ।

स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपिभी खोप लगाइसकेका छन् । ब्रिफिङमा प्रवक्ता बुढाथोकीले गत असोजमा बाढीबाट प्रभावित जिल्ला काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र ललितपुरका सातवटा स्थानीय तहमा एआई एक्सरेका माध्यमबाट क्षयरोगको सक्रिय खोजपड्ताल शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले कुल दुई हजार पाँच सय ९२ जनाको परीक्षण गर्दा १० जनामा क्षयरोग पुष्टि भएको र थप छ सय १५ जनामध्ये ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो ।

त्यसैगरी उहाँले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानमा कुल लक्षित जनसङ्ख्यामध्ये ३१ दशमलव नौ प्रतिशतले औषधि सेवन गरिसकेको बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा लक्षित जनसङ्ख्या दुई लाख ५७ हजार सात सय ६२ मध्ये २७ प्रतिशत, डुडुवा गाउँपालिकामा ४३ हजार नौ सय ७५ मध्ये ४२ दशमलव चार प्रतिशत, नरैनापुर गाउँपालिका ४४ हजार एक सय ४८ मध्ये ४० दशमलव नौ प्रतिशत र बैजनाथ गाउँपालिकामा नौ हजार छ सय ८४ मध्ये २३ दशमलव तीन प्रतिशतले औषधि सेवन गरिसकेको जनाउनुभयो ।

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल

तिलाठी (सप्तरी), १६ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताउनुभएको छ ।

जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत     आज राजविराजमा आयोजित कार्यक्रममा उहाँले मधेश आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गर्नुभयो । 

अध्यक्ष दाहालले सक्कली मधेशवादी आफ्नै दल भएको दाबी गर्नुभयो । सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको उहाँको आरोप थियो ।

“हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायौँ तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए”, अध्यक्ष प्रचण्डले भन्नुभयो,“ विगतमा जे भए पनि अब माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।”उहाँले मधेशको मुद्दा उठान पार्टीले अभियान सुरु गरेको बताउनुभयो ।

भूकम्पमा भाग्दा काठमाडौँमा दुई घाइते

काठमाडौँ, १६ फागुन : सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको छ दशमलव एक म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौँमा दुई जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिनुभयो ।    घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन् ।

थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । 

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पुर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिनुभयो ।

अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

गोरखा, १६ फागुनः बारपाक सुुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो ।

“चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।” छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भन्नुभयो ‘‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरुबाट सहयोग लिने गरेका छाँै ।”

अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना

काठमाडौँ, १६ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

“आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् । ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस् ”, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ । तस्बिरमा ‘ह्याप्पी ल्होसार’ पनि लेखिएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १६ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३५, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु १०० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, परबर (लोकल) प्रतिकेजी रु २००, घिरौला प्रतिकेजी रु ११०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १२, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ११०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३६०, कुरिलो प्रतिकेजी रु १,६०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ६०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (नेपाल) प्रतिकेजी रु १४०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १३०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २८०, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ ।

भद्रपुरझापा गोल्डकपः उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

भद्रपुर (झापा), १६ फागुनः दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।

झापा–११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो ।

प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए । विजेता टोलीलाई रु १३ लाख तथा उपविजेतालाई रु सात लाख नगद प्रदान गरिनेछ ।

चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ : सभापति देउवा

काठमाडौँ, १६ फागुन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त उहाँले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेका बताउनुभएको छ । यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्त्वपूर्ण पर्व भएको सभापति देउवाले उल्लेख गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । सभापति देउवाले ग्याल्पो ल्होसार (नयाँ वर्ष) सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समुन्नतिको वर्ष बनोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला

काठमाडौँ, १५ फागुनः काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।

कामपाले यही फागुन १६ र १७ गते प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घसंस्थासँग सहकार्य हुने बताउँदै उहाँले विद्यालय शिक्षाको नवप्रवर्तन स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको उहाँको भनाइ थियो ।

कामपाको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले शैक्षिकसत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यावहारिक र प्रयोगात्मक कक्षाहरूको नतिजा हेर्न थालिएको जानकारी दिनुभयो । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको छ ।

निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायत कार्यक्रमको विम्ब मेलामा समेटिने छन् ।

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने छन् । ‘बुक फ्री फ्राइडे’अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्पmत रूचि र नतिजा प्रदर्शन गर्ने छन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा रू ३० उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई रू ३० नै उपलब्ध गराइने छ । यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ ।

विद्यार्थी नमूना संसद् अभ्यास मेलाको महत्त्वपूर्ण आकर्षण हो । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्री फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरूहिटी पानीको गुण जाँच प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका अभ्यास मेलामा अवलोकन गर्न पाइने छ ।

कामपामा ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ वटा संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ गरी दुई लाख ७२ हजार दुई ६३ जना विद्यार्थी अध्ययनरत छन् ।

आजदेखि नेमकिपाको आठौँ महाधिवेशन

भक्तपुर, १५ फागुन : आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाको आठाँै महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने बताउनुभयो । उहाँले महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने उहाँले बताउनुभयो ।

अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै उहाँले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताउनुभयो । पार्टीको साताँै महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । यस वर्ष महाधिवेशनले बिजुक्छेँलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो सर्वत्र छ ।

चीनको नयाँ प्रविधि : मिथानोल–डिजेल इन्जिन सार्वजनिक

चीनले बुधबार साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ ।
जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ । यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूद्वारा निर्माण गरिएको हो ।

सीएसएससीको अनुसार उक्त इन्जिनले मिथानोल ईन्धनबाट ९५ प्रतिशत शक्ति उत्पन्न गर्दछ, जसले पारंपरिक डिजेल–संचालित मोडेलहरूको तुलनामा ७.५ प्रतिशतले कार्बन डाइअक्साइड उत्सर्जन घटाउँछ ।

यसमा एक उन्नत डिजिटल इन्टेलिजेन्ट कन्ट्रोल सिस्टम, कुशल डुअल फ्युल इन्जेक्सन प्रविधि जडान गरिएको छ, जसले असाधारण ऊर्जा बचत, उत्सर्जन घटाउने क्षमता, उच्च परिचालन दक्षता र कम मर्मत लागत प्रदान गर्दछ ।इन्जिनले ५जी संचार प्रविधि प्रयोग गर्दछ, जसले वास्तविक–समय डाटा प्रसारण गर्न सहयोग गर्छ ।

“अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित”

जलवायु प्रकोपका कारण सन् २०२४ मा अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले मङ्गलबार प्रकाशित एउटा प्रतिवेदनमा जनाएको छ ।

“गत १२ महिनामा लगभग नौ लाख व्यक्तिहरू जलवायु जोखिमबाट प्रभावित भएका छन्,” आईओएमले प्रतिवेदनमा उल्लेख गरेको छ । “पश्चिमी हेरात र फराह प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।”यस हप्ता, दक्षिणपश्चिम अफगानिस्तान मुख्यतया फराहमा बाढी, असिना र आँधीका कारण ३९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अफगानिस्तान जलवायु परिवर्तनको लागि छैठौं सबैभन्दा जोखिममा रहेको छ ।युक्त राष्ट्रसङ्घका अनुसार खडेरी, बाढी र घट्दो कृषि उत्पादकत्व प्रमुख चुनौतीहरू हुन् ।

गत मे महिनामा आएको बाढीले सयौंको ज्यान लिएको थियो । अफगानिस्तानमा ८० प्रतिशत मानिसहरू खेतीपातीमा निर्भर रहेका छन् ।“अफगानिस्तानका ११ लाख भन्दा बढी मानिस भविष्यमा जलवायु–प्रेरित प्रकोपबाट गम्भीर प्रभावको उच्च जोखिममा छन्,” आईओएमले जनाएको छ ।

देशका अधिकांश भागमा बदली हुने,सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङसहित हल्का वर्षा

काठमाडौँ, १६ फागुनः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

 महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

आगामी २४ घण्टामा कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक,पाँच करोड ६० लाख राजस्व सङ्कलन

मुस्ताङ, १६, फागुनः यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ ।

जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र सङ्घीय कार्यालयतर्फको सन्तोषजक पाइएको हो ।

सङ्घीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजन रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरतालगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरुप हुन नसकेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताउनुभयो ।

चालु आवका लागि सङ्घीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल रु तीन अर्ब ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन भएकामा रु एक अर्ब ६६ करोड बजेट खर्च भएको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यालयका अनुसार चालु वर्षका लागि मुस्ताङका पाँच स्थानीय तहलाई रु ९७ करोड ३८ लाख २७ हजार वित्तीय हस्तान्तरण बजेट विनियोजन भएकामा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख वित्तीय हस्तान्तरण भइसकेको छ । सङ्घीय कार्यालय र सङ्घीय अनुदान वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९२ करोड ३९ लाख बजेट विनियोजन भएकामा समीक्षा अविधिमा रु एक अर्ब ४१ करोड ६१ लाख खर्च भएको छ ।

पाँच करोड ६० लाख राजस्व सङ्कलन

चालु आर्थिक वर्षको छ महिनामा रु पाँच करोड ६० लाख ३४ हजार राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्घीयतर्फ रु चार करोड २८ लाख ७४ हजार तथा प्रदेशतर्फ रु एक करोड ३१ लाख ५९ हजार सङ्कलन भएको हो । उक्त रकम सङ्घीयतर्फका १४ र प्रदेशका नौ वटा वटा कार्यालयले असुल गरेका हुन् ।

पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्‍याउँछ : राष्ट्रपति

काठमाडौँ, १६ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ ।

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायत परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउने उहाँले उल्लेख गर्नुभएको छ । संस्कृति, परम्परा र मान्यतालाई अनुशरण गर्दै मनाइने ग्याल्पो ल्होसारलगायत चाडपर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पुर्याउँदै आएका छन् ।

राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

ग्याल्पो ल्होसार पर्वले सांस्कृतिक सद्भाव मजबुत बनाउन भूमिका खेल्नेछ : अध्यक्ष दाहाल

काठमाडौँ, १६ फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्याल्पो ल्होसार पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व हो । यस पर्वमा मौलिक परिकार खाने, परम्परागत संस्कृतिमा आधारित पूजाआजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहिआएको छ ।

नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको अध्यक्ष दाहालले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस प्रकारका पर्वले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।”

उहाँले यो पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

आज ग्याल्पो ल्होसार,विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै

काठमाडौँ, १६ फागुन : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

हावाहुरीबाट लाखौँको केराखेतीमा क्षति, किसान निरास

इनरूवा, (सुनसरी), १६ फागुन : सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गर्नुभएको छ । करिब रू ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गर्नुभएको हो । नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त हुनुहुन्थ्यो ।

मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गर्नुभएको छ । रू नौ लाख लागतमा उहाँले केराखेती गर्नुभएको थियो । उहाँ पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै हुनुहुन्थ्यो ।

तर केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पु¥याँदा उहाँहरू निरास हुनुभएको छ । केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको उहाँहरूले जानकारी दिनुभयो ।

उहाँ दुवै जना सुनसरीका लागि उदाहरणको पात्रमात्र हुनुहुन्छ । दुई दिन लगातार असिनापानीसँगै आएको हुरीबतासका कारणले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।

गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको छ । स्थानीय किसानले ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन् ।

सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन् । इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताउनुभयो ।

दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो । इनरूवामा मात्रै सय बिघा क्षेत्रफलमा केराखेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको उहाँले बताउनुभयो । करिब रू एक करोड बराबरको केराखेती ढलेर नोक्सान भएको मेहताले बताउनुभयो ।

एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ । हुरीबतासले केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गर्नुभयो । सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टर अर्थात् एक हजार बिघामा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौँका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौँ, १६ फागुन : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ ।

आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

आगामी आर्थिक वर्षको बजेट लेखन समिति गठन

काठमाडौँ, १५ फागुनः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ । सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेको मन्त्रालयले जनाएको छ ।

बजेट लेखन समितिले बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरु कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिनुभयो ।

यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णयबमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गतेसम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था छ ।

त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपूरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरुलाई उपलब्ध गराएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरु र मुख्यमुख्य आयोजनाहरुका लागि बजेट एयरमार्क गरी  पठाइएको छ । बजेट मार्गदर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनालाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजनामात्र प्रस्ताव गर्नेलगायत विषय समावेश छन् ।  त्यसैगरी आयोजनाहरु दोहोरो नपर्नेगरी आयोजना बैंकमा समावेश भएका प्रस्तावमात्र समावेश गर्न पनि अर्थ मन्त्रालयले आग्रह गरेको छ ।