`

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौँका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौँ, १६ फागुन : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ ।

आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

आगामी आर्थिक वर्षको बजेट लेखन समिति गठन

काठमाडौँ, १५ फागुनः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ । सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेको मन्त्रालयले जनाएको छ ।

बजेट लेखन समितिले बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरु कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिनुभयो ।

यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णयबमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गतेसम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था छ ।

त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपूरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरुलाई उपलब्ध गराएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरु र मुख्यमुख्य आयोजनाहरुका लागि बजेट एयरमार्क गरी  पठाइएको छ । बजेट मार्गदर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनालाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजनामात्र प्रस्ताव गर्नेलगायत विषय समावेश छन् ।  त्यसैगरी आयोजनाहरु दोहोरो नपर्नेगरी आयोजना बैंकमा समावेश भएका प्रस्तावमात्र समावेश गर्न पनि अर्थ मन्त्रालयले आग्रह गरेको छ ।

जङ्गली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

झापा, १५ फागुन : जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
यसैबीच आज यहाँको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–४ का १७ बर्षीय सुरज राजवंशी र कचनकवल गाउँपालिका–३ का १९ बर्षीय गोविन्द राजवंशी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सुरज राजवंशी हुलाकी राजमार्गस्थित गौरीगञ्ज गाउँपालिका–१ मा बा६५प८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पिलरमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि उहाँलाई दमक अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी, विर्तामोड नगरपालिका–२ को भित्री सडकखण्डको लालमाटी चोकबाट रामचोक आउँदै गरेको म.प्र.–०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा गोविन्द गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही मोटरसाइकलमा पछाडि सवार सोही वडामा बस्ने १८ बर्षीय अमित राजा घाइते हुनुभएको र उहाँको विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु

काठमाडौँ, १५ फागुन : महाशिवरात्रि पर्व सम्पन्न भएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु गरिएको छ । महाशिवरात्रिका अवसरमा जम्मा भएका भक्तजनका कारण थुप्रिएको फोहर पशुपति क्षेत्र विकास कोषले आजदेखि उठाउन थालेको हो ।

केही दिनमा सफाइ गरिसकिने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । महाशिवरात्रि सम्पन्न भए पनि आजसमेत पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको थियो । महाशिवरात्रिमा मन्दिरभित्र दर्शन गर्न नपाएका भक्तजन आज पशुपतिनाथ पुगेका थिए । पशुपतिनाथमा आजसम्म साधुसन्तको चहलपहल छ । आज बेलुकीसम्म पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानलगायत सङ्घ संस्थाले साधुसन्तका लागि खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेका छन् ।

शुक्रबार बिहान ११ बजेदेखि साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । साधुसन्तलाई गच्छेअनुसार दक्षिणा दिइने उहाँले बताउनुभयो । कोष र संस्थानले पनि साधुसन्तलाई अलग अलग दक्षिणाको व्यवस्था गर्ने जनाइएको छ ।

‘नेपाल विविधतामा एकता भएको देश’: मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), १५ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको बताउनुभएको छ । आज सुर्खेतमा नेपाल मगर सङ्घको ४३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न धर्म, भाषा, जात र संस्कृति भएको देशमा विविधता हुँदाहुँदै मिलेर बसेको समाज भएकाले यसलाई आगामी दिनमा जोगाइराख्नु आजको आवश्यकता रहेको बताउनुभएको हो ।

विविधता भए तापनि सामाजिक सन्दर्भमा कुनै वैमनश्य नभएको देश नेपाल रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले सामाजिक एकताका निम्ति सबै प्रकारका स्वार्थबाट माथि उठेर देशलाई उच्च स्थानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।    बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको हाम्रो देश नेपाललाई समृद्धितिर लैजानु हामी सबैको कर्तव्य भएको उहाँको भनाइ थियो ।

बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू

काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । मंगलबार साँझ काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।

‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाङ्कन गर्नेछौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक योञ्जनले भने ।

उनले काठमाडौँ आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेको जानकारी दिए । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ ।

आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउँदैछ ।’

फिल्ममा उमङग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् ।

आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’ मा देख्न पाइनेछ । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

मुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष दाहाल

इनरुवा (सुनसरी), १५ फागुनः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्न माओवादी गम्भीर रहेको बताउनुभएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित घुस्कीमा आज मुस्लिम अगुवासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको दाबी गर्नुभयो । 

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको उहाँको भनाइ थियो । 

हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाले पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन र बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने माग गरेको स्थानीय दिल मोहमत मियाँले बताउनुभयो ।

‘तराई मधेस जागरण अभियान’ सुरु गरेको आज चौथौ दिन नेकपा (माओवादी केन्द्र) ले सुनसरीको विभिन्न स्थानमा कार्यक्रम गरेको छ । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेत्री पम्फा भुसाललगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन्।

बिहीबार प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गरे।

‘नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,’ महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन। यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ।’

उनले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरुले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्य तथ्य बताउने जिम्मेवारी मिडियाको भएको उनले बताए।

महामन्त्री शर्माले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको असामयिक निधन भएको प्रसंगमा उक्त घटनापछि घर फर्किएका नेपाली विद्यार्थीहरुमा अझै त्रास व्याप्त रहेको उल्लेख गरे।

‘घटनापछि प्रधानमन्त्रीसहित सरकारले लिएको चासो र चालेको कदमका कारण कलेजले माफी मागेको छ र नेपाली विद्यार्थीलाई पढाइमा फर्किन आह्वान गरेको छ,’ उनले भने, ‘तर, दोषीमाथि कारबाही हुनुप¥यो भनेर प्रहरीमा उजुरी दिएका विद्यार्थी अझै त्रासमा छन्। उनीहरुले आफूहरु असुरक्षित भएको बताइरहेका छन्।’

उनले प्रकृति लम्सालको जस्तो घटना दोहोरिन नदिन सरकारले हटलाइन सम्पर्क गर्नसक्ने संयन्त्र बनाउन सरकारलाई सुझाव दिएका छन्।

कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता

गण्डकी, १५ फागुनः उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् । देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै कृषिकर्ममा जोडिएर आफ्ना नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरिरहनुभएको छ । उत्पादनसँग जोडिने पार्टी नीतिलाई लागू गरेका कास्कीका नेकपा नेता–कार्यकर्ता पनि व्यावसायिक कृषि खेती गरेर उदाहरणीय बनेका छन् । गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिनुभयो ।

छिनेडाँडामा रहेको परम्परागत घरसमेत भाडामा लिई त्यसैमा कार्यालय पार्टी कार्यालय सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । कार्यालय सचिव क्षेत्रीका अनुसार यो हिउँदमा ६५ क्विन्टल आलु उत्पादन भएको छ । “झण्डै रु तीन लाख बराबरको आलु फल्यो, ३० क्विन्टल आलु चिप्स उत्पादनका लागि बाहिर पठाइएको छ, बाँकी पोखरामै बिक्री गर्छौँ”, उहाँले भन्नुभयो, “अब चैतेधान र मकै रोप्ने तयारी भइरहेको छ, काँक्रालगायत तरकारीका लागि टनेलखेती गरिरहेका छौँ ।”

पार्टी केन्द्रले काठमाडौँमा सञ्चालन गरेको ‘सी व्यापार केन्द्र’मा पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पठाइएको उहाँले बताउनुभयो । नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको सुनाउनुभयो । “कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात÷आठ जना हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।”

इञ्जार्च भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङलगायतका जिल्लामा पनि नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादन जोडिएका छन् । व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई अभिप्रेरित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको केन्द्रीय सदस्य क्षेत्रीले बताउनुभयो ।

“कृषि उत्पादन क्षेत्र विस्तार गर्दै जाने र किसानलाई जोड्ने पार्टीको योजना छ, पार्टी नेतृत्वले गरेको कृषि क्रान्तिको उद्घोषलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु हामी नेता–कार्यकर्ताहरुको दायित्व हो”, उहाँले भन्नुभयो, “यसले जनस्तरमा पनि कृषिप्रतिको आकर्षण बढाउँछ भन्ने हाम्रो विश्वास छ, राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिन्छ ।”

‘विकासको पहिलो खुड्किला शिक्षा’: मुख्यमन्त्री लामा

हेटौँडा, १५ फागुन : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला शिक्षा भएकाले सबै मिलेर शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।आज तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले शिक्षाविना विकासको परिकल्पना गर्न नसकिने बताउँदै शिक्षा क्षेत्र बिग्रे सबै क्षेत्रको विकास निरर्थक हुने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले विद्यालय सुधारमा सहयोग गरिरहेको बताउँदै प्रदेश विश्वविद्यालय खोल्न पाउने प्रदेश सरकारको एकल अधिकारको प्रयोग गरिरहेको जानकारी दिनुभयो । ‘पढ्दै कमाउँदै’ को अवधारणा अनुरूपको शिक्षामा जोड दिँदै मुख्यमन्त्री लामाले व्यावसायिक शिक्षामा केन्द्रित हुन आग्रह गर्नुभयो ।

होटल म्यानेजमेन्ट सङ्काय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सवका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनीको मुख्यमन्त्री लामाले अवलोकन गर्नुभएको थियो । वार्षिक उत्सवको अवसरमामा उत्कृष्ट शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, पत्रकारलाई सम्मान गरिएको थियो । हाल यस विद्यालयमा एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

मरिसस, ला रेयुनियन खतरनाक चक्रवातका लागि उच्च सतर्कतामा

हिन्द महासागरका द्वीपहरू मरिसस र ला रेयुनियन बिहीबार एक तीव्र उष्णकटिबन्धीय आँधी, चक्रवात गारान्सका लागि उच्च सतर्कतामा थिए । यसलाई पर्यटकीय गन्तव्यहरूका लागि ‘प्रत्यक्ष खतरा’ भनिएको थियो । मरिससले बुधबार आफ्नो मुख्य विमानस्थल बन्द गर्‍यो भने नजिकैको फ्रान्सेली द्वीप ला रेयुनियनले बिहीबार त्यसै गर्ने तयारी गरेको थियो ।

गारान्सलाई मरिससद्वारा वर्ग ३ चक्रवातको रूपमा वर्गीकृत गरिएको थियो । यो दोस्रो–उच्चतम सतर्कता स्तर हो । मरिससमा प्रति घण्टा ७० किलोमिटरसम्मको हावाहुरी आउने अपेक्षा गरिएको थियो ।   मरिसस मौसम विज्ञान सेवाले चक्रवात द्वीपको ३१० किमी उत्तरपश्चिममा थियो र ‘तीव्र उष्णकटिबन्धीय आँधी’ बनेको बताएको छ ।

चक्रवात ‘खतरनाक रूपमा मरिससको नजिक आइरहेको छ र प्रत्यक्ष खतरा देखिन्छ”, बाढी आउने अपेक्षा गरिएको उल्लेख गर्दै मौसम विज्ञान सेवाले भनेको छ । 

गारान्स पूर्वतर्फ जाँदै थियो तर मरिसस र ला रेयुनियनको बीचबाट जानका लागि दक्षिणतर्फ घुमेको छ । सरकारी प्रतिनिधिले ‘रातो सतर्कता’ घोषणा गरिने र बिहीबार विमानस्थल बन्द हुने बताएका थिए ।

यसको वर्तमान गतिमा चक्रवात बिहीबार साँझ र शुक्रबार बिहानको बीचमा ला रेयुनियनको ५० किमी भित्रबाट गुज्रने अपेक्षा गरिएको बताइएको थियो ।

मेटेओ–फ्रान्सले रेयुनियनमा अझै पनि ‘प्रत्यक्ष प्रभाव’ पर्न सक्ने चेतावनी दिएको थियो र पहिले नै द्वीपको सबैभन्दा उच्च विन्दुहरूमा प्रति घण्टा १५० किलोमिटरभन्दा बढीको हावाहुरी, भारी वर्षा र अशान्त समुद्रको चेतावनी दिएको थियो ।    रातो सतर्कताले जनसङ्ख्यालाई घरभित्रै बस्न आवश्यक पर्नेछ र केवल आपत्कालीन सेवाहरू मात्र द्वीपभर घुम्न सक्नेछन् । बुधबार दिउँसोदेखि नै विद्यालयहरू बन्द गरिएका थिए ।एयर मरिससले ‘थप सूचना नआएसम्म’ सबै उडानहरू स्थगित गरिएको बताएको छ ।

युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह

हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ।जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमति अन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।

सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ ।यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लब एड्भोकेसी ग्रुपका अनुसार बुधबार राति फिर्ता गरिएका चार बन्धकको अवशेषको बदलामा इजरायलले बिहीबार ५९६ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ भने युद्ध सुरु भएपछि पक्राउ परेका गाजाका सबै महिला र नाबालिक गरी ४६ जना कैदीलाई रिहा गर्न बाँकी रहेको बताइएको छ ।

बिहीबार बिहान सयौं कैदीहरूलाई रिहा गरिएको गाजा र वेस्ट बैङ्कमा उपलब्ध एएफपीका सञ्चारकर्मीले जनाएका छन् । इजिप्टको राज्यसम्बद्ध अल–काहेरा न्यूजले इजरायली अधिकारीहरूले फिर्ता गर्नका लागि तोकिएकामध्ये ९७ जना गाजाको राफा सीमा पार गर्ने इजिप्टतर्फ आइपुगेको बताइएको छ।

युद्धको स्थायी अन्त्यका लागि तय गरिएको सम्झौताको दोस्रो चरणका लागि वार्ता अझै सुरु हुन सकेको छैन ।

“हामीले दुश्मनको झूटो औचित्यको अगाडिको बाटो सफा गरेका छौँ र दोस्रो चरणका लागि वार्ता सुरु गर्नुबाहेक उसको कुनै विकल्प छैन,” हमासले टेलिग्राममा भनेको छ।

बिहीबार रिहा भएका प्यालेस्टाइनी कैदीहरूलाई सप्ताहन्तमा रिहा गर्ने भनिएको थियो, तर सन् २०२३ अक्टोबर ७ मा भएको आकस्मिक र अकल्पनीय आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई सुपुर्दगी गर्न हमासले आयोजना गर्दै आएको भव्य समारोहलाई लिएर आक्रोश भएपछि इजरायलले यो प्रक्रिया रोकेको थियो।

यसअघि हमासले चारै जना इजरायली शवलाई गोप्य रुपमा फिर्ता गरिने बताएको थियो ।

कफिन हस्तान्तरण गरिएको केही घण्टापछि गाजाबाट बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने पक्षमा वकालत गर्ने इजरायली समूहले बिहीबार हमासले फिर्ता गरेका चार शवको पहिचान ‘गहिरो दुःखका साथ’ पुष्टि गरेको छ ।

ओहाद याहलोमी, साची इदान, इट्जिक एल्गाराट र श्लोमो मन्सुरलाई अन्ततः इजरायलमा ल्याइएको र आवश्यक प्रक्रियापछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने बन्धक तथा बेपत्ता परिवार मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

– ‘वार्ता शुरू हुन्छ’ –

वासिङ्टनमा मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च दूतले इजरायली प्रतिनिधि युद्धविरामको अर्को चरणका लागि वार्ताका लागि तयार रहेको बताएका छन् ।“हामीले धेरै प्रगति गरिरहेका छौं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” स्टिभ विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भन्नुभयो ।

“यो दोहा वा कायरोमा हुनेछ र इजिप्ट र कतारका अधिकारीहरूसँग फेरि वार्ता सुरु हुनेछ।
दोस्रो चरणको वार्ताको बारेमा विटकोफको टिप्पणीबारे इजरायलले प्रतिक्रिया दिइसकेको छैन । लडाकूहरूले अझै पनि कब्जामा राखेका दर्जनौं बन्धकहरूको रिहाई पनि गर्नुपर्नेछ । युद्धविरामका बावजुद गाजामा छिटपुट हिंसाका घटना भने भएका छन् ।इजरायली सेनाले बुधबार त्यहाँबाट क्षेप्यास्त्र प्रहार भएपछि विभिन्न प्रक्षेपण स्थलमा हवाई आक्रमण गरेको जनाएको छ ।

चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पु¥याएको छ ।लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड–२सी) पी पनि भनिन्छ ।

दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो ।यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो ।

पाल्पामा मगर दिवसको उल्लास

तानसेन (पाल्पा), १५ फागुन : जिल्लामा ४३औँ मगर एकता दिवस गाउँ, टोल, समुदायसम्म खुसियालीका साथ मनाइएको छ । मगर समुदायले विभिन्न परिकार खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन् । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बङ्गुर र कुखुराका मासुका परिकार खाएर रमाइलो गरेका छन् ।

तानसेनस्थित कैलाशनगरमा भेटिनुुभएकी खगिश्वर मगरले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताउनुभयो । “यो हामी मगर जातिलाई चिनाउने पोशाक र चिनारी हो, बिर्सनु भएन । अनि पो संस्कृति बाँचिरहन्छ”, उहाँले भन्नुभयो ।

माथागढीकी अनिशा आले सराइमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिनुभयो । उहाँले आफ्नो संस्कृति बचाइ राख्न उत्सवको अवसरमा पोसाक लगाएको बताउनुभयो । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे । “मगर एकता दिवस मगर बाहुल सबैका घर, गाउँटोलसम्म खुसीका साथ मनाएका छन्”, बगनासकाली गाउँपालिका यम्घाका विष्णु गाहाले भन्नुभयो, “मगर एकता दिवसमा मगर समुदायका लागि महत्वपूर्ण दिन हो । रमाउने, खुसियाली साटासाट गर्ने दिनका रूपमा मनाउने गरिएको छ । यहाँ बगनासकालीको चिलाङ्दीमा विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।

त्यसैगरी रामपुरमा एकीकृत मगर उत्थान समाजले १७औँ वार्षिक उत्सवसँगै विशेष कार्यक्रम सम्पन्न गरेको छ । रम्भा गाउँपालिकाको नाँचनडाँडामा विविध सांस्कृतिक कार्यक्रम गरियो । यहाँका १० वटै स्थानीय विविध कार्यक्रम आयोजना भए ।

दिवस मनाउन पाल्पाका १० वटै स्थानीय तहले बिदा दिएका थिए । सार्वजनिक बिदाका कारण पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहे । मगर दिवस विशेष कार्यक्रममा मगर संस्कृतिमा आधारित कौरा, मारुनी, झ्याउरे तथा सालैजोलगायतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । पछिल्लो जनगणना अनुसार पाल्पामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् ।

‘समाजवादोन्मुख समाज बनाउन राष्ट्रिय पुँजीको निर्माण आवश्यक’: मुख्यमन्त्री कार्की

विराटनगर, १५ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजवादोन्मुख समाज निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण हुनुपर्ने बताउनुभएको छ । विणा फाउण्डेशनद्वारा आयोजित तीनदिने ‘विचार उत्सव’ को आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय पुँजी निर्माण गर्न कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले हिन्दूहरुको आस्थाका केन्द्र पशुपतिनाथ र शान्तिका दूत गौतमबुद्ध जन्मेको स्थान लुम्बिनीमा धार्मिक पर्यटकहरु उतार्न सकियो भने मुलुक निर्माणमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विचार र नीतिको बहसबाट मुलुकलाई समृद्धतर्फ लैजान सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी दिन कोशी चतरामा हुने कुम्भमा स्नानका लागि लाखौँ श्रद्धालु एवं भक्तालुहरु ल्याउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको समेत उल्लेख गर्नुभयो । 

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा राजेश अहिराजले विचारले नै मानिसको संस्कार बुझिने भएकाले असल विचारबाट मात्र असल समाजको परिकल्पना गर्न सकिने बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोशी प्रदेश भूगोल, इतिहास र सम्पदाले समृद्ध छ भन्नुभयो ।

कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले नागरिक सुरक्षित भएमा मात्र सार्थक विचार आउने भएकाले सुरक्षाकै जगमा समृद्ध हासिल गर्न सकिने कुरामा जोड दिनुभयो । 

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ ’ बोलको गीत सार्वजनिक

काठमाडौं । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ ।

गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला,सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् ।

एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी सो म्युजिक भिडियाको छायाँकन भएको थियो । गायक विनोद,गीतकार अविरल र अभिनेता राजवल्लभ पुराना मित्रहरु हुन् ।

समाजमा बढ्दै गएको चरम निराशा,अवसाद,विग्रह,हत्या र आत्महत्यालाई केही हदसम्म भएपनि निरुत्साहन गर्नका लागि गीत संगीतको माध्यमद्वारा आशा र हिम्मतको संचार गराई मानसिक स्वास्थ्य कायम राख्न सो गीत लेखेको र निर्माण गरेको थापाले बताएका छन् ।

थापाले यस अघि चलचित्र साँघुरोको लागि आउँदैछु कि जाँदैछु, शिशिर योगीको स्वरमा रहेको आफ्नै देशमा बस साथी,प्रमोद खरेलको स्वरमा यो झरीमा तिमीसँगै,युनिटी ब्यान्डको आशा अझै मरेको छैन लगायत अन्य गीतहरु बजारमा ल्याईसकेका छन् भने उनी बहुचर्चित चलचित्र बुलबुलका निर्माता पनि हुन।

समाज र जनमानसको मानसिक स्वास्थ्यप्रति दायित्ववोध गर्दै थालिएको यस अभियानमा काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले पनि साथ दिएको छ ।

गीतकार थापाले सबैलाई उत्प्रेरणा दिने यस गीतलाई आम जनमानसमा पुर्याउन र सामाजिक संजाल मार्फत प्रवाह गरिदिन सबै व्यतिm , संस्थाहरु र सबैखाले संचार माध्यमलाई प्रकाशन र प्रसारण गरिदन अपिल समेत गरेका छन् । गीत युट्युव र संसारभरका लोकप्रिय सबै खाले श्रव्य माध्यममा उपलव्ध छ ।

‘शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्’ : मुख्यमन्त्री आचार्य

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम), १५ फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार शिक्षा क्षेत्रको विकासमा रचनात्मक ढङ्गले अघि बढेको बताउनुभएको छ । आज पश्चिम नवलपरासीको सुनलव नगपालिका–१२ भूमहीमा आयोजित शैक्षिक तथा सांस्कृति मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार शिक्षामा नविनतम र रचनात्मक ढङ्गले काम गरिरहेको बताउनुभएको हा ।

लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यायल मेरो, दायित्व कार्यक्रम’ द्वारा शिक्षाको गुणस्तरमा सुधार हुने उहाँको भनाइ छ । यस कार्यक्रमले देशभरिमा राम्रो सन्देश दिने उहाँले भन्नुभयो । “शिक्षा समाज रुपान्तरणको आधार हो । शिक्षाले गर्दा सामाज परिर्वतन तथा विकासमा मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

उहाँले उक्त कार्यक्रमका लागि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई धन्यावद दिनुभयो । खस्कँदो शिक्षाको नतिजा सुधारका लागि मन्त्री तिमिल्सिनाले रचनात्मक कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो ।

आजदेखि सुरु ‘शैक्षिक तथा सांस्कृतिक मेला २०८१’ मेला यही फागुन १९ गतेसम्म चल्नेछ । प्रथम रामनगर जेसिज लुम्बनी प्रदेशस्तरीय मेलामा प्रदेशभरिका प्राध्यापकलाई तालिममार्फत प्रशिक्षण दिइ शिक्षाको गुणस्तरीयता सुधार गर्ने उद्देश्य रहेको रामनगर जेसिआइका अध्यक्ष रमेश पराजुलीले बताउनुभयो ।

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैँले निर्माण गर्ने

भक्तपुर, १५ फागुनः भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफैँले स्तरोन्नति गर्नेभएको छ । आउँदो वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष, २०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर–नगरकोट सडक आफैले स्तरोन्नति गर्ने गरी बोलपत्र आह्वान गरेको छ ।

एक्जिम बैंक इण्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण सम्झौता भएको थियो । रु २७ करोडमा ठेक्का सम्झौता गरी ११ वर्षमा १०आँै पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड पुग्दा पनि सडक निर्माण हुन सकेको थिएन । काम नभएपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । 


भ्रमण वर्ष अगाडि सडकको काम नहुने अवस्था आएपछि नगरपालिकाकै आन्तरिक स्रोतबाट स्तरोन्नति गर्नेगरी बोलपत्र आह्वान गरेको हो । नगरप्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनुहुँदैन । मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का आह्वान गरेको हो ।”

केन्द्रीय सरकारको यो सडक पुनः स्तरोन्नति गर्न यसवर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्ने लामो समय लाग्ने भएपछि नगरपालिका आफैँ सक्रिय भएको उहाँले बताउनभयो ।

नगरप्रमुख खत्रीले भन्नुभयो, “सम्बन्धित मन्त्रालयसँग र सडक विभागसँग हाम्रो कुरा भएको छ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्छौँ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरी छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का आह्वान गरेका हाँै ।”

भक्तपुर नगरकोट सडकका नगरपालिकातर्फका सवइञ्जिनयर सनिश वनमालाले ठेक्का सम्झौता गरी बैशाखदेखि सडकका स्तरोन्नति सुरु हुने बताउनुभयो । भत्केकोपाटीदेखि नगरकोटसम्म १५ किलोमिटर लामो सडक कालोपत्रको काम सम्झौता लगत्तै तीव्र गतिमा अघि बढाइने उहाँले बतानुभयो ।

फिल्म ‘मायावी’लाई दर्शकको उत्साहजनक साथ

काठमाडौं । (बुधवार)देखी रिलिजमा आएको फिल्म ‘मायावी’ले बिहानैबाट दर्शकको उत्साहजनक साथ पाइरहेको छ ।फिल्मका मुख्य अभिनेता पल शाह ‘मोहर’ फिल्मको छायांकनका क्रममा रोल्पा पुगेकाले फिल्मको प्रीमियरमा उपस्थित हुन सकेका थिएनन् । आज भने बिहानै देखि पल शाह काठमाडौंका हलहरुमा पुगेर प्रतिक्रिया लिइरहेका छन् ।

फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले आफूहरुको मन छोएको कारण भावुक बनेको बताए भने केहीले फिल्मको पहिलो भन्दा पनि बढि दोस्रो पार्टले बढि मन छोएको बताए । अभिनेता शाहले फिल्म प्रदर्शनमा आएको पहिलो दिनमा नै उत्साहजनक उपस्थिति भएको भन्दै दर्शकलाई धन्यवाद दिए ।

उनले भने,‘पहिलो दिनको यो उत्साह जनक उपस्थितिको लागि एकदमै मुरीमुरी धन्यवाद सम्पुर्ण दर्शकहरुलाई ।’ यस्तै अभिनेत्री दिपिका प्रसाईले पनि धेरै वर्ष पछि धेरै राम्रो लब स्टोरीमा अधारित मायावी बनेको प्रतिक्रिया आएको भन्दै एकदमै खुसी लागेको बताईन् ।

उनले भनिन्,‘यस्तो लब स्टोरी धेरै बर्ष पहिले हेरिएको थियो भन्ने प्रतिक्रिया आयो त्यसले एकदमै खुसी लागेको छ । किनभने हामीले त्यही नै भाव अडियन्सलाई बुझाउन खोजेको बुझन्नु भएछ । यही माया र साथ सपोर्टको आवश्यकता थियो त्यो पाए ।’

त्यस्तै अभिनेता समिम खानले आफूहरुले माया नै मायाले भरिपुर्ण गरेर पस्केको मायावीलाई दर्शकले पनि अर्गानिक माया दिएको धारणा राखे ।
उनले भने,‘यो फिल्म सबैले मन पराइदिनु भयो मायावी माया नै मायाले भरिपुर्ण गरेर पस्केका थियौ त्यसलाई मायाका साथ स्वीकार्नु भयो । यो अर्गानिक माया हो । लप्पनछप्पन केही छैन यसमा हार्ट टु हार्ट कनेन्ट भैईरहेको छ ।’

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

बेलायत, १५ फागुन : बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा आयोजना गरेको एक विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका सेना प्रमुख रोलीले, नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “नेपाली सेनाको २६२औँ स्थापना दिवसमा यो रात यहाँहरुको साथमा कार्यक्रममा सहभागी हुन पाउनु मेरा लागि खुसीको पल हो, संयुक्त राष्ट्रसङ्घमा उत्कृष्ट सहभागितासहित नेपाली सेनाले पु¥याएको योगदान साँच्चै गर्विलो छ ।” 

जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पु¥याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा चन्द्रकुमार घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र दिगो विरासतको स्मरण गर्नुभयो । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आपसी सहमति सहकार्य र भाइचाराको जगमा नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्ध घनिष्ठ बनेको छ ।” राजदूत घिमिरेले नेपाली सेनाको महत्त्वपूर्ण इतिहास र बेलायती सेनासँगको लामो समयदेखिको सम्बन्ध स्मरण गर्दै बेलायत सरकारले नेपाल र नेपाली सेनालाई निरन्तर सहयोग गरेकामा प्रशंसा गर्नुभयो । 

स्वागत मन्तव्यका क्रममा दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले इतिहासका निर्णायक क्षणहरूमा नेपाली सेनाको अटल बलिदानको स्मरण गर्दै नेपाली सेना आफ्नो व्यावसायिक धर्ममा कटिबद्ध रहेको बताउनुभयो । 

कर्णेल शाहले विश्व शान्ति स्थापना, वन्यजन्तु संरक्षण, प्राकृतिक प्रकोपहरुमा मानवीय सहायता, विकास निर्माण आदिमा नेपाली सेनाको योगदानसहितको श्रव्यदृश्य प्रस्तुत गर्नुभएको थियो ।

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

धरान (सुनसरी), १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो । 

 उहाँले भन्नुभयो, “कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि हामो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध सङ्घर्षको झण्डा उठाउन अभियान थालिएको उहाँको भनाइ थियो । 

उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको आर्थिक अवस्था रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ ।

बिहीबार कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।

सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लेपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो ।

‘अब प्रक्रिया पुर्याएर पुनः एक दुई हप्तामै पुनःठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ’, कार्यालयका प्रमुख सुमन योगेशले भने । उनका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ ।

हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो ।

समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

अति पिछडिएको हरवाचरवा मुसहर समुदाय लक्षित निःशुल्क बाल कक्षा सञ्चालन

शम्भुनाथ (सप्तरी), १५ फागुन ः पछिल्लो समय अति पिछडिएको हरवाचरवा मुसहर समुदायका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । केही बर्षअघि सम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिकाहरु विद्यालय जाने गरेकोमा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनक रुपमा बढ्दै गएको पाइएको छ ।
पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवास्थित मुसहर बस्तीका ९ वर्षीय आकाश सदा विद्यालय जाँदैनथे ।

घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर उनीको समय बित्दथ्यो । तर अहिले उनी बिहान हुने बित्तिकै झोलामा कपीकिताब बोकेर पढ्न विद्यालय जान थालेका छन् । आमाबुबाले स्थानीय साहुको घरखेतमा काम गर्न जाँदा उहाँहरुसँगै साहुमहाजनको गाईगोरु चराउने गरेको सोही ठाउँका १० वर्षीय पारस सदाको पनि अहिले दिनचर्या फेरिएको छ । उनी पनि अहिले घर नजिकै रहेको श्री जनता माध्यमिक विद्यालय रामपुर जमुवा जान थालेका छन् ।

यसरी आकाश र पारस मात्र होइन, हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा र वडा नम्बर १ खोक्सर प्रवाहास्थित मुसहर बालबालिकाहरु पछिल्लो समय नियमित विद्यालय जान थालेका छन् ।

सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ट्युसन कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।

विगत तीन वर्षदेखि ती वडाहरुबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या जम्मा १२ रहेको जनाइएको छ । जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदा बताउँछन् ।

“पहिला पहिला हरवाचरवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गरेका थिए, तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति बालबालिकाहरु आकर्षित हुन थालेका छन्, उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म विद्यालयमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ ।”

केही वर्षअघिसम्म हरवाचरवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त हरवाचरवा परिवाका बालबालिका विद्यालय जान रुचाइरहेका थिएन, भने अभिभावकहरु पनि विद्यार्थीलाई विद्यालय पठाउन चाहिरहेको थिएन्, रामपुर जमुवामा सञ्चालित निःशुल्क ट्युसन कक्षाका शिक्षक पुनित चौधरीले भन्नुभयो, “तर अहिले मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् भने अभिभावमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।”

हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका तीन सयभन्दा बढी हरवा चरवा बालबालिका नियमित रुपमा अध्ययन गर्नका लागि आउने गरेको श्रीपुर्राज सामुदायिक केन्द्रका प्रमुख व्यवस्थापक लिडर विनोदानन्द चौधरीले बताउनुभयो ।

तीमध्ये करिब दुई सय जना बालबालिकालाई विभिन्न विद्यालयको पहँुचमा पु¥याइसकिएको उहाँको भनाइ छ । विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाको तर्फबाट शैक्षिक सामग्री र स्कुल ब्याग समेत निःशुल्क उपलब्ध गराएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकाका लागी हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयम्सेवक परिचालित गरेर नौ महिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिक रुपमा विद्यालय भर्ना गराउँदै लगेको उहाँको कथन छ ।

“प्रारम्भिक बाल शिक्षाबाट राम्रो गर्दै गएका करिब दुई सय जना हरवाचरवा परिवारका बालबालिकालाई अहिले सम्म स्थानीय विद्यालयमा भर्ना गराई सकिएको छ”, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामले भन्नुभयो, “बाँकी रहेकालाई पनि क्रमशः पायक पर्ने विद्यालयमा भर्ना गराउने तयारी छ ।”

गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैन उहाँले भन्नुभयो, “त्यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ ।”

बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ भदौमा प्रदर्शन हुने

काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । मंगलबार साँझ काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।

‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाङ्कन गर्नेछौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक योञ्जनले भने ।

उनले काठमाडौँ आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेको जानकारी दिए । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ ।

आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउँदैछ ।’

फिल्ममा उमङग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् ।

आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’ मा देख्न पाइनेछ । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन

काभ्रेपलाञ्चोक, १५ फागुनः इलाका प्रहरी कार्यालय मङ्गलटारमा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीको नवप्रवद्र्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको कार्यालयले जनाएको छ ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा प्रहरी कार्यालयमा स्थापित उक्त पुस्तकालयमा कानुनको १९ खण्डका पुस्तक, नेपाली र अङ्ग्रेजी दुवै भाषाका साहित्यिक पुस्तक, धार्मिक पुस्तक, सरकारी सेवा प्रवेश पूर्वतयारीसम्बन्धी पुस्तक, नेपाल प्रहरीद्वारा प्रकाशित विभिन्न पुस्तक राखिएको छ । विभिन्न कारणले शान्ति सुरक्षाको प्रयोजनार्थ नियन्त्रणमा लिइएका व्यक्तिलाई पुस्तकालयमा राखी सम्बन्धित कसुरलगायतका बारे ज्ञान दिलाइ अब त्यस्तो कार्यमा सरिक नहुने गरी सकारात्मक रुपान्तरण गराउन समेत पुस्तकालय महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

सम्भावनाको संसार देखाउने थलोको रुपमा सर्वसाधारणलाई समेत पहुँच पु¥याइने उक्त पुस्तकालयलाई सोहीअनुसार व्यवस्थित गरिने कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले बताउनुभयो । उहाँका अनुसार विद्यालयसँग प्रहरी कार्यक्रमअन्तर्गत विद्यार्थीलाई प्रहरी कार्यालयको गतिविधि, अध्ययनका लागि सहयोगी सामग्रीको उपलब्धतामा समेत पुस्तकालय महत्वपूर्ण हुने छ । “प्रहरी हरेक परिवारको सदस्य हो भन्ने अनुभूति दिलाउनसमेत नागरिकसँग जोडिएर विभिन्न कार्य गर्दै आइरहेका छौँ”, गिरीले भन्न्ुभयो ।

यसअघि प्रहरी कर्मचारीको बौद्धिकता बढाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) सञ्चालनमा ल्याएको छ । कार्यालयले प्रहरीको व्यावसायिक, व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक सोच, ज्ञान, बुद्धि–विवेक र आत्मस्फूर्ति वृद्धि गराउन मद्दत पुगोस् भन्ने उद्देश्यले घुम्ती पुस्तकालयको अवधारणा ल्याएको जनाएको हो ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार व्यक्तिगत रुपमा सबै प्रहरी कर्मचारीले छुट्टाछुट्टै पुस्तक किनेर अध्ययन गर्न असहज हुने भएकाले प्रारम्भिक चरणमा जिल्ला प्रहरी कार्यालयले पुस्तकको व्यवस्थापन गरी सहजीकरण गरी व्यस्त कार्यतालिकाबाट अध्ययनको लागि समय निकाल्न प्रोत्साहन गरिएको हो । उहाँले उक्त पुस्तकालयबाट प्रहरी कर्मचारीमा ज्ञान–सीप, क्षमता अभिवृद्धि गरी सकारात्मक सोच र उच्च मनोबलका साथ सेवा प्रवाहलाई निपुर्ण बनाउने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक प्रहरी युनिटमा भएका पुस्तक पढिसकेपछि अन्य चौकीमा स्थानान्तरण गर्ने योजना बनाइएको छ ।

अनुपातिकरुपमा प्रत्येक ३० दिनमा विभिन्न प्रहरी एकाइमा उपलब्ध पुस्तकलाई आवश्यकता पहिचान गरी पुस्तक आलोपालो वितरण गरी घुमाइने, पुस्तकको अभिलेख तथा मासिक एवं वार्षिक कार्यतालिका बनाइ सोहीअनुसार पुस्तक वितरण गर्ने गरिएको छ । हाल इलाका प्रहरी कार्यालय बनेपा, प्रहरीचौकी दोलालघाट, पाँचखाल, खावा, पनौती र काभ्रे भञ्ज्याङ प्रहरीचौकीलाई आवश्यक पुस्तक हस्तान्तरण गरिएको छ भने बाँकीलाई पुस्तक व्यवस्थापन भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकको ४२ प्रहरीचौकीमा पाँच सय ८० प्रहरी कर्मचारी कार्यरत छन् । सबै प्रहरीलाई एउटा पुस्तक पुग्ने गरी सङ्कलन गर्ने र पढिसकेपछि जहाँ नजिक चौकी पर्छ त्यस ठाउँमा हस्तान्तरण गरिनेसमेत व्यवस्था मिलाइएको कार्यालयले जनायो ।

रारास्थित एक होटलमा आगलागी हुँदा चार भवन नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्याएको थियो । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १५ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५५, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५५, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परबर प्रतिकेजी रु २२०, घिरौला प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १२, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५०, कुरिलो प्रतिकेजी रु १,८०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ६०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १३०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ८५, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ४००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ४००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३८०, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ ।

कैलालीको वनगाउँका एकसय घर तरकारी खेतीमा

टीकापुर । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् ।

तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । “हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ”, स्थानीयवासी तीर्थ चौधरीले भने, “थोरै धेरैको कुरा हो तर सबैजसो तरकारी खेतीमा लागेका छन् ।”

उनका अनुसार गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी खेती गर्न लागेका हुन् । यतिखेर त्यस गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भएको देख्न पाइन्छ ।

टमाटर र गोभीले खासै मूल्य नपाएको किसानको गुनासो छ । टमाटर प्रतिकिलो १०, काउली २० रुपैयाँमा प्रतिकिलो र खुर्सानी ७० रुपैयाँमा थोक मूल्यमा लिने गरेको उनीहरुको भनाइ छ । खुर्सानीले सुरुमा मूल्य नपाए पनि अहिले राम्रो मूल्य पाएको किसान तीर्थले बताए ।

“तरकारीमा राम्रो आम्दानी लिनका लागि अरुको उत्पादनभन्दा पहिला उत्पादन हुनुपर्छ”, चौधरीले भने, “काउली र टमाटर सबैसँग भएकाले मूल्य खासै छैन तर सुरुमा उत्पादन गर्नेले धेरै मूल्य पाएका थिए ।”

उनले टमाटर र काउली ढिला भयो भन्दै खुर्सानीबाट आम्दानी लिने बताउनुभयो । मौसमी तरकारीखेती गर्दै आएका किसानले मौसमीभन्दा बेमौसमी तरकारीले मूल्य पाउने कुरा बुझेपछि बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन् । समयभन्दा छिटो उत्पादन गर्दा राम्रो मूल्य पाइन्छ र सबैको उत्पादन भएपछि बजार मूल्य पाइँदैन भन्ने कुरा सबैले बुझ्दै गएको स्थानीय मानबहादुर चौधरीले बताए । किसानले पाँच कट्ठादेखि एक बिघासम्म तरकारीखेती गर्दै आएका छन् ।

राजापुर र टीकापुर बजारमा तरकारी खपत हुन् थालेपछि त्यस गाउँका किसान तरकारीखेतीमा हौसिएको मानबहादुरले बताए । “हाम्रो उत्पादन भएको तरकारी बर्दियाको राजापुर र टीकापुरका थोक व्यापारीले खरिद गर्ने गरेका छन्”, चौधरीले भने, “गाउँमै आएर तरकारी किन्ने गरेका छन्, कतिपयले आफैं हाटबजारमा लगेर बिक्री गर्ने गरेका छन् ।”

कात्तिकमा लगाएको तरकारी पुस महिनाबाट बिक्री गर्न तयार भएको चौधरीले बताए। “कात्तिकमा लगायौँ, ढिलो भएकाले उत्पादन पनि ढिलो हुँदा खासै मूल्य पाइएन”, चौधरीले भने, “गाउँ पूरै तरकारीखेतीमा लागेकाले तरकारीका थोक व्यापारीलाई पनि सहज भएको छ ।”

तरकारीका थोक व्यापारी वनगाउँमा तरकारी पाइन्छ भनेर ढुक्क भएर आउने गरेको स्थानीयको भनाइ छ । किसानले आफ्नो बिक्री भएपछि अर्काे छिमेकीको बिक्रीमा सघाउने गरेका छन् । उत्पादन भएको तरकारी लगभग बिक्री भएको अवस्था छ । यसरी तरकारीको आम्दानीले सामान्य खर्च धान्न सजिलो हुने गरेको भौना चोधरीले बताए ।

चौधरी गाविसका पूर्वउपाध्यक्ष समेत हुन् । उसो त उनीहरु धान र गहुँ खेती पनि गर्छन् । बाढी ग्रस्त क्षेत्र भएपनि त्यो गाउँ तरकारीमा आत्मनिर्भर भनेर चिनिन थालेको छ । “गाउँ पूरै तरकारीमा लागेको हुँदा युवा र महिला पनि आफ्नो पकेट खर्च निकाल्न तरकारीखेतीमा लागेको पाइन्छ”, भौनाले भने, “आधुनिक बीउ पाइने र टनेलमार्फत खेती गर्दा बेमौसमी खेतीगर्न सजिलो भएको छ ।”

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौँ, १५ फागुनः कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ ।

जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख÷प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा बुढाथोकीलाई सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराएको हो ।

जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न त्यहाँ पुग्नुभएका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गर्नुभएको थियो ।

सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाद्वारा सम्पादित स्वास्थ्य सेवा प्रवाहका बारेमा जानकारी गराउँदै हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ थालनी गरिएको र सङ्घीय सरकारले उपमहानगरपालिकालाई थप स्वास्थ्य क्षेत्रमा थप लगानी बढाउन आग्रह गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ नवीनतम एव अनुकरणीय कार्य रहेको चर्चा गर्दै स्वास्थ्य मन्त्रालयबाट थप समन्वय र सहयोग हुने जानकारी दिनुभएको थियो । सोही अवसरमा प्रवक्ता डा बुढाथोकीले करागार कार्यालय कैलालीमा रहेका कैदीबन्दीलाई प्रदान भइराखेको स्वास्थ्य सेवाका बारेमा समेत जानकारी लिनुभएको थियो ।

विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलतः महासचिव पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ ।

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा   यहाँ आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताउनुभयो । 

“हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राख्नुभयो । उहाँले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताउनुभयो । 

कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले  बलियो साङ्ठनिक शक्ति आवश्यक रहेको बताउनुभयो । उहाँले प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने बताउनुभयो । “नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्न सकिन्छ । पुँजी निर्माणबिना राष्ट्रिय पुँजी बन्दैन, त्यसैले नेपालीको बचत संस्कृति अति कमजोर रहेको र यसमा सुधार गरी बचत संस्कृति विकास गर्नुपर्ने आवश्यकता छ”, महासचिव पोखलको भनाइ थियो । 

कार्यक्रममा उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले दुई पार्टी मिलेसँगै मुलुकको आर्थिक अवस्था विस्तारै सुधार भई लगानीको वातावरण बनिरहेको बताउनुभयो ।

कृषिमा यान्त्रिकीकरणले व्यावसायिक खेती गर्ने बढ्दै

कञ्चनपुर, १५ फागुनः कृषिमा यान्त्रिकीकरण हुन थालेपछि कञ्चनपुरमा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ । खेत जोत्नका लागि आधुनिक ट्र्याक्टर, पावर टिलर, मिनी टिलरलगायतको प्रयोग हुन थालेपछि युवाहरूको आकर्षण कृषितर्फ बढ्न थालेको हो । कृषिमा यान्त्रिकीकरणलाई बढावा दिन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

कृषि यान्त्रिकीकरणले कार्यबोझ घटाउने, थोरै समयमा धेरै कार्य गर्न सकिने, लागत खर्च घट्ने, जमिनको उत्पादकत्व बढाउने, जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालले बताउनुभयो ।

किसानलाई सरकारी तवरबाट आधा मूल्यमै अनुदानमा कृषि उपकरण तथा औजार उपलब्ध गराउने व्यवस्था भएसँगै निकै सहज रूपमा कृषिजन्य कार्य गर्न सकिएको उहाँले बताउनुभयो । रिमालका अनुसार परियोजनाबाट आर्थिक वर्ष ०७३÷७४ देखि चालु आवसम्म जिल्लाका विभिन्न ठाउँमा गरी १० वटा कष्टम हायरिङ सेन्टर स्थापना गरी किसाानलाई सहुलियत दरमा कृषियन्त्र तथा उपकरणका माध्यमबाट सेवा प्रदान गरिँदै आएको छ ।

धान सुपरजोन कार्यक्रम लागू भएका क्षेत्रमा स्थापना भएका सेन्टरबाट किसानले बजार दरभन्दा २० प्रतिशत सहुलियतमा कृषि औजार तथा उपकरण प्रयोग गरिरहेका छन् । जसकारणले उत्पादन लागतमा कमी आउनाका साथै कार्यबोझमा निकै कमी आएको पाइएको उहाँको भनाइ छ । 

केन्द्रलाई सातवटा ट्र्याक्टर, २२ वटा पावर टिलर, ११ वटा रिपर, दुईवटा ड्रन रिपर, पाँचवटा ट्र्याक्टर ट्राली, सात रोटाभेटर, लेजर ल्यान्ड लेभलर एका, धान थ्रेसर सात, गहुँ थ्रेसर पाँच, डिस्क ह्यायारो चारा, मल्टिक्रप सिड ड्रिल चार र पाँचवटा राइस ट्रान्सप्लान्ट अनुदानमा उपलब्ध गराइएका छन् । 

यसैगरी, केज ह्विल आठ, पावर स्प्रेयर डबल पिस्टन दुई, इलेक्ट्रोनिक स्प्रेयर एक र एक वटा रिपर हारभेष्टर अनुदानमा उपलब्ध गराइएको छ । योसँगै धान सुपर जोन तथा गहुँ जोन क्षेत्रभित्रका ६८ कृषक समूह, सहकारी संस्था, कृषि फार्मलगायतलाई ११८ कृषियन्त्र तथा उपकरण अनुदानमा उपलब्ध गराइएको कार्यालय प्रमुख उपाध्यायको भनाइ रहेको छ ।  “कृषि यान्त्रिकीकरण प्रवर्द्धन भई जनश्रमबाट हुने गरेको धान तथा गहुँ कटाइको कार्य रिपर मेसिनबाट हुन थालेको छ”, उहाँले भन्नुभयो, “छरुवा धानखेतीसँगै मेसिनबाट धान रोपाइँ गर्न सहज भएपछि नियमितका साथै चैते धानखेतीप्रति आकर्षण बढेको छ ।”

परम्परागत विधिबाट खेती गर्दा औसतमा एक हेक्टर क्षेत्रफलमा रु ९० हजार खर्च लाग्ने भएकामा छरुवा धानखेती प्रविधिमार्फत खेती गर्दा औसतमा रु ५४ हजार उत्पादन लागत रहेको पाइएको छ । मेसिनबाट धान रोपाइँ प्रविधितर्फ कृषकहरूको आकर्षण बढेकाले आव २०८०÷८१ मा ३५ हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपाइँ कार्यक्रम सञ्चालन गरिएको परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।

कृषि क्षेत्रमा भइरहेको श्रमशक्तिको अभाव र कष्टप्रद श्रमभार जस्ता समस्याहरू समाधान गर्न कृषिमा यान्त्रिकीकरण गर्नु अत्यावश्यक भएको रिमालको भनाइ छ । परियोजनाअन्तर्गत जिङ्क, बोर्लोग, आदित्यलगायत उन्नत जातका गहुँ सिड ड्रिल तथा सुपर सिडर मेसिनको प्रयोगमा किसानको आकर्षण बढेको छ । उहाँले आव २०८०÷८१ मा १२५ दशमलव ६६ हेक्टरमा  विजय, आदित्य, वी एल–४३४१, वाणगङ्गा जातका गहुँखेती प्रवर्द्धन गरिएको बताउनुभयो ।  चालु आवमा ७३ हेक्टर क्षेत्रफलमा गहुँ बीउ उत्पादन भइरहेको छ ।

कृषियन्त्र र उपकरणकै कारण हिउँदे तथा वसन्ते मकैको खेतीप्रति कृषकको आकर्षण बढेको छ । चालु आवमा मात्रै १५१ हेक्टरमा हिउँदे तथा वसन्ते मौसममा रामपुर हाइब्रिड–१०, रामपुर हाइब्रिड–१२ र अरुण–२ लगायतका जातको मकैखेती प्रवर्द्धन गरिएको छ । 

कृषिमा महिलाहरूको कष्टप्रद श्रमभार घटाउन यान्त्रिकीकरणले सघाउ पु¥याएको शुक्लाफाँटा नगरपालिका कृषि शाखाका प्रमुख करन बुढाएर बताउनुहुन्छ । कृषि क्षेत्रमा निजी, सहकारी एवं युवावर्गको आकर्षण बढाउन यस कार्यले सहयोग पु¥याएको उहाँको ठहर छ ।

कृषिको आधुनिकीकरणका लागि कृषि यान्त्रिकीकरण नै मुख्य माध्यम रहेको चर्चा गर्नु हँुदै बुढाएरले यसको प्रयोगले मानवीय श्रमभार न्यूनीकरण, कृषि श्रमिकको अभावपूर्ति, उत्पादकत्वमा वृद्धि, समयमै कृषिकर्म सम्पन्न गर्नाको साथै रोजगारीको अवसर पनि सिर्जना हुने बताउनुभयो । “पछिल्लो समय विदेशबाट फर्किएर आधुनिक तरिकाबाट कृषि उत्पादनमा लाग्ने युवाले कृषियन्त्र, उपकरण र प्रविधिको प्रयोगलाई बढावा दिन थालेका छन । त्यसका लागि नगरपालिकाबाट सहकार्य र समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो । 

हाल कृषि ज्ञान केन्द्र र कृषि निर्देशनालयलगायतले व्यावसायिक खेती गर्ने किसान, कृषि फार्म, समूह, सहकारीमार्फत कृषि औजार तथा उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएका छन् ।

वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा

काठमाडौँ, १५ फागुनः भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार मध्य पहाडमा आगो बस्तीमा प्रवेश, जनधनको क्षति र क्षेत्रफलका हिसाबले सबैभन्दा बढी डढेलोका घटना हुने गरेका छन् । प्रतिवर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका र प्रतिघटनामा सरदर छ हेक्टर वन क्षेत्र प्रभावित भएको पाइएको छ । नेपालमा ६५ प्रतिशत वन डढेलो अप्रिल महिनामा लाग्ने गरेको छ ।

डढेलोका अन्तरनिहित कारणमा वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनु, चोरी सिकारलगायत रहेका छन् । ज्वलनशील पदार्थको व्यवस्थापन नै सबैभन्दा चुनौतिका रूपमा रहेको जानकारहरू बताउँछन् । मानवीय कारणबाट ९६ प्रतिशत डढेलो लाग्ने गरेको र झन्डै ७० प्रतिशत डढेलो लापरबाही वा अन्जानले हुने भएकाले यसलाई रोक्न सकिने विज्ञको सुझाव छ ।

वन डढेलोविज्ञ सुन्दर शर्मा डढेलो नियन्त्रणका लागि कार्यदल बनाएर कार्ययोजना कार्यान्वयन गर्न सकेमात्र प्रभावकारी हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छरिएर रहेका योजना, बजेट र जनशक्तिलाई एकत्रित गरी आवश्यक उपकरणका साथ जनशक्तिको क्षमता अभिवृद्धि गर्न सके परिणाममुखी हुन्छ ।” व्यवस्थित रूपमा नियन्त्रित डढेलो लगाएर यसको जोखिम कम गर्नुपर्ने, नियन्त्रणका लागि अग्निरेखा बनाउनुपर्ने, समुदायस्तरमा पूर्वतयारी र रोकथामका उपायबारे जनचेतना जगाउनुपर्ने शर्माको भनाइ छ ।

सन् २०२४ को तथ्याङ्क अनुसार नेपालभर पाँच हजार १३६ स्थानमा वन डढेलोका घटना भएका थिए भने ७४ जिल्ला प्रभावित भएका थिए । त्यसमध्ये सबैभन्दा धेरै सुर्खेतमा ३२८, सल्यानमा २८१, दाङमा २७६, कैलालीमा २५६, चिवतनमा २५०, बर्दियामा २२६, डोटीमा २०७, डडेल्धुरामा १८५, पर्सा १७३ र बाँके १६५ डढेलोका घटना भएका थिए । यस्तै, विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै सन् २०१६ मा छ हजार २३४, सन् २०२१ मा छ हजार ५३७ र २०२४ मा पाँच हजार १३६ डढेलोका घटना भए ।

मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुख सहसचिव दीपक ज्ञवालीका अनुसार यो वर्ष पनि लामो हिउँदे खडेरीका कारण वन डढेलको जोखिम बढेको छ । गत महिना काभ्रे र ललितपुर तथा लाङटाङ राष्ट्रिय निकुञ्जमा देखिएका वन डढेलोका घटनाले थप सजकता अपनाउनुपर्ने देखिएको उहाँको भनाइ छ  । नेपालमा भौगोलिक धरातल र सुरक्षा, उपयुक्त उपकरणको अभाव, डढेलो नियन्त्रणमा महँगो र अधिक स्रोत आवश्यक पर्ने, सीमित परम्परागत तालिम प्राप्त जनशक्ति, उत्प्रेरणाको कमीलगायत चुनौती रहेको सहसचिव ज्ञवाली बताउनुहुुन्छ । “वनमा सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ निजी क्षेत्रलाई जिम्मेवारी दिएर भए पनि औद्योगिक कच्चापदार्थका रूपमा प्रयोग गर्न सके केही मात्रामा भए पनि डढेलोको जोखिम कम हुन्छ”, उहाँ भन्नुहुन्छ ।

सुकेका झिजामिजा र पत्कर डढेलोका कारक

पहाडी क्षेत्रमा आवश्यक जनशक्तिको अभावमा खेतबारी बाँझो हुने क्रम बढिरहेको छ । साथै वन्यजन्तुले खेतबारीमा गर्ने क्षतिका कारण कृषकहरू पलायन हुन थालेका छन् । कृषकले वस्तुभाउसमेत पाल्न छाडेका कारण वनजङ्गलका स्रोतको सङ्कलन र प्रयोगमा निकै कमी आएको छ ।

जङ्गलभित्र सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ जम्मा हुँदै जाँदा सुक्खा मौसममा डढेलोका लागि स्रोत भएर बसेका छन् । सरोकार भएकाहरूले त्यस्ता पदार्थको समयमै व्यवस्थापन र सदुपयोग गर्न नसके डढेलो भयावह हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । समयमै वन व्यवस्थापन गरी काठ–दाउरा सङ्कलनलाई थप प्रभावकारी बनाउन तथा गाउँबस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न विज्ञहरूको सुझाव छ । 

नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्ण स्थानीय समूहस्तरबाट धुँवा देखिना साथ डिभिजन वन कार्यालयले सूचना प्राप्त गर्ने प्रणाली विकास गर्नुपर्ने बताउनुहुन्छ । व्यवस्थित सञ्जाल निर्माण गरेर तत्काल प्रतिकार्य गर्नसक्ने गरी आवश्यक बन्दोबस्त गर्नुपर्ने उहाँको सुझाव छ । “डिभिजनस्तरमा जिम्मेवार कर्मचारी एवं सुरक्षा निकायसहित आवश्यक स्रोतसाधन, स्थानीयस्तरमा सब डिभिजनले संयोजन गरेको समूहसहितको सञ्जाल र समूहस्तरमा दस्ताको प्रभावकारी परिचालन गर्न सकेमा प्रभावकारी हुनसक्छ । यसमा सबैले लाग्नुपर्छ”, अध्यक्ष कर्ण भन्नुहुन्छ । 

सरकारले डढेलो नियन्त्रणका लागि वार्षिक बजेट, वन नीति, वन ऐन, वन नियमावली, वन डढेलो व्यवस्थापन रणनीति, विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना, जलवायु परिवर्तन नीति, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण नियमावलीलगायत कानुनी र नीतिगत व्यवस्था गरेको छ ।

मन्त्रालयका सचिव डा दीपककुमार खराल जलवायुको असरले डढेलो बढाएको र डढेलोका कारण जलवायुका असर बढेको बताउनुहुन्छ । डढेलोले जैविक विविधताको ह्रास हुने गरेको र वायु प्रदूषण पनि हुने गरेकाले यसको नियन्त्रणमा सबै संवेदनशील हुनुपर्ने उहाँको आग्रह छ । यसमा छरिएका नीति, कानुन र निकायलाई एकीकृत गरेर परिचालन गरिने उल्लेख गर्दै सचिव डा खरालले भन्नुहुन्छ, “डढेलो नियन्त्रणमा काम गर्न सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित हुने गरी कार्यदल गठन गरेका छौँ । छिट्टै सरकारी तथा वैदेशिक सहायतामा वन डढेलो नियन्त्रणसम्बन्धी परियोजना पनि सञ्चालन गर्ने तयारीमा गर्नेछौँ ।”

सरकारले यस क्षेत्रका लागि सबै प्रकारका विपद्मा राष्ट्रिय ‘फोकल’ संस्थाका रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गरेको छ । सुरक्षा निकायमा महाशाखा र तालिम प्राप्त जनशक्ति छन् । वन मन्त्रालय वन डढेलोसँग सम्बन्धित राष्ट्रिय फोकल संस्थाका रूपमा रहेको छ । वन तथा भू–संरक्षण विभागमा वन डढेलो सूचना कक्ष सञ्चालनमा छ । स्थानीय तहमा विपद् व्यवस्थापन समिति र वातावरण तथा विपद् व्यवस्थापन महाशाखासमेत स्थापना गरिएका छन् । फागुनदेखि जेठमा वन डढेलो रोकथाम र नियन्त्रण विशेष कार्यक्रम सञ्चालन गर्न यी सबै निकायको एकीकृत प्रयास आवश्यक रहेको विज्ञरूको राय छ । जनचेतनाका लागि घरदैलो अभियान, संरक्षित क्षेत्रस्तरमा जिम्मेवार कर्मचारी र नेपाली सेनाको टोली परिचालन, सामाजिक सञ्जाल, समुदाय र शैक्षिक संस्थाहरूमा डढेलोसम्बन्धी विविध सचेतनाका कार्यक्रम प्रचार गर्न सकेमा प्रभावकारी हुने धेरैजसोको भनाइ छ । 

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका सानारठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हँुदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बतोए । “गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको छ”, उनले भने ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा रु १९ अर्ब ३६ करोड मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा रु चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।

रु तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी रु तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

एक अर्ब ६० करोड रुपैयाँ पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।

महाशिवरात्रिका अवसरमा एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ, १५ फागुनः महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन सुरु गरिएको छ । नयाँ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुने भए पनि महाशिवरात्रिको बिदाको अवसर पारेर तीनै चलचित्र बुधबार नै प्रदर्शन भएका हुन् । केही चलचित्रले सार्वजनिक प्रदर्शन अगाडि आयोजित विशेष प्रदर्शनीमार्फत सकारात्मक प्रतिक्रिया बटुलिसकेका छन् ।

‘लाज शरणम्’ लाई हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को समूहले निर्माण गरेको हो । कुमार कट्टेलले निर्देशन गर्नुभएको चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन् ।  

यस चलचित्रलाई प्रदर्शकले उत्साहजनक रूपमा ‘शो’ सङ्ख्या उपलब्ध गराएका छन् । निर्देशक कट्टेलले शृङ्खलामार्फत दर्शकबाट प्राप्त गरेको विश्वासलाई बढाउने काम चलचित्रमा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो चलचित्रमा मनोरञ्जनसँगै नेपाली समाजमा बढ्दो विकृतिलाई व्यङ्ग्य गरेका छौँ । यसले मनोरञ्जनका साथै केही सन्दर्भमा सोच्न बाध्य बनाउँछ । हामीले सक्दो मेहनत गरेर चलचित्र बनाएका छौँ ।”

चलचित्र ‘फेरि रेशम फिलिली’ मा युवापुस्तामा बढो विदेश मोहलाई व्यङ्ग्य गरिएको छ । लेखक तथा निर्देशक निरोज महर्जनले मनोरञ्जनात्मक शैलीमा चलचित्रभित्र गम्भीर विषयलाई प्रस्तुत गरिएको जानकारी दिनुभयो । “युवापुस्तामा बढ्दो विदेश मोह, त्यसले समाजमा पार्ने प्रभावलाई समेटेर चलचित्र तयार गरेका छौँ । यसले विदेश मोहले निम्त्याउने हरेक घटनाक्रमलाई समेटेको छ । त्यसकारण यो पूर्ण पारिवारिक मनोरञ्जनात्मक चलचित्र बनेको छ । चलचित्र हेरेर घर पुग्दासमेत यसमा उठाइएको विषयले दर्शकलाई सोच्न बाध्य बनाउने छ”, उहाँले भन्नुभयो । 

चलचित्रमा अभिनेता विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् । 

चलचित्र ‘मायावी’ लाई दीवाकर भट्टराईले निर्देशन गर्नुभएको छ । प्रेम कथामा तयार भएको यस चलचित्रमा अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्सु महर्जन, नवअभिनेता समीम खानलगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक भट्टराईले बनिरहेका नियमित चलचित्रभन्दा ‘मायावी’ फरक प्रेम कथामा तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको प्रस्तुतीकरण र पटकथा हेरिरहेका नेपाली चलचित्रभन्दा भिन्न छ । यसको कथालाई शब्दमा प्रस्ट्याउन सकिँदैन, हेरेपछि मैले यसलाई किन निर्माण र निर्देशन गरेँ भन्ने बुझ्नुहुनेछ । यो हेर्नेसँगै महसुस गर्ने चलचित्र बनेको छ ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको बैङ्कले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५९ पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज

भक्तपुर, १५ फागुनः महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो ।

महाशिवरात्रिको दिन भक्तजनलाई रु एक हजार १०० मा पूजा सामग्रीसहित पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको थियो । नेपाली र भारतीय पर्यटकले डोलेश्वरमा ६० हजारभन्दा बढीले पूजा एव दर्शन गरेको महासचिव बस्नेतले बताउनभयो । 

रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार (आज) बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम छ ।  

बुधबार प्रसिद्ध आशापुरीमा पनि २५ हजारभन्दा बढी, साँगाको अग्लो कैलाशनाथ महादेवमा करिब १४ हजारले दर्शन तथा पूजा गरेका थिए भने सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिर, नंखेलको नन्दिकेश्वर महादेश मन्दिर, चाँगुनारायणस्थित मच्छेनारायण मन्दिरको सँगैको महादेश मन्दिर, मध्यपुरथिमि राधेराधे सङ्गम कोलोनीको सङ्गमेश्वर महादेवमा पनि साँझसम्मै भीड लागेको थियो ।

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

काठमाडौँ, १५ फागुनः महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।

महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । बुधबार बेलुकी करिब छ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा करिब पौने ९ बजे सकिएको र लगत्तै दोस्रो प्रहर पूजा सुरु भई करिब पौने १२ बजेसम्म चल्ने गरेको छ । लगत्तै तेस्रो प्रहरको पूजा सुरु भई पौने ३ बजे हाराहारीमासकिन्छ । त्यसपछि चौथो प्रहर पूजा सुरु भई बिहान ६ बजे सकिने प्रा डा भट्टराईले बताउनुभयो । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।

महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा बुधबार बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा भइरहेको छ । प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि हुने परम्परा रहिआएको छ ।

महाशिवरात्रिका अवसरमा बुधबार दिनभर पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर महादेव, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत स्थानमा पनि लाखौँ भक्तजनको उपस्थिति रहेको थियो ।

आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

मध्यविन्दु (नवलपरासी), १५ फागुनः देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।

नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताउनुभयो । “मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी छ”, उहाँले भन्नुभयो । 

विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले बताउनुभयो ।  

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ । विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को  नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो । 

यस अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी सङ्घको स्थापना दिवसका अवसरमा आज मातहतका सबै कार्यालय बन्द हुने जनाएका हुन् । 

यहाँका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मगर समुदायको जनसङ्ख्या एक लाख तीन हजार ९४९ रहेको छ । यो जिल्लाको कुल जनसङ्ख्याको २७ दशमलव ४९ प्रतिशत हो । 

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।

उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।

मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।

देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उहाँको भनाइ छ ।

नवलपुरको गैंडाकोट नगरपालिका-३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका थिए ।

उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो । उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उहाँले विश्वास व्यक्त गरे ।

हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताए ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ ।