`

डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज

भक्तपुर, १५ फागुनः महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो ।

महाशिवरात्रिको दिन भक्तजनलाई रु एक हजार १०० मा पूजा सामग्रीसहित पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको थियो । नेपाली र भारतीय पर्यटकले डोलेश्वरमा ६० हजारभन्दा बढीले पूजा एव दर्शन गरेको महासचिव बस्नेतले बताउनभयो । 

रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार (आज) बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम छ ।  

बुधबार प्रसिद्ध आशापुरीमा पनि २५ हजारभन्दा बढी, साँगाको अग्लो कैलाशनाथ महादेवमा करिब १४ हजारले दर्शन तथा पूजा गरेका थिए भने सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिर, नंखेलको नन्दिकेश्वर महादेश मन्दिर, चाँगुनारायणस्थित मच्छेनारायण मन्दिरको सँगैको महादेश मन्दिर, मध्यपुरथिमि राधेराधे सङ्गम कोलोनीको सङ्गमेश्वर महादेवमा पनि साँझसम्मै भीड लागेको थियो ।

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

काठमाडौँ, १५ फागुनः महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।

महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । बुधबार बेलुकी करिब छ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा करिब पौने ९ बजे सकिएको र लगत्तै दोस्रो प्रहर पूजा सुरु भई करिब पौने १२ बजेसम्म चल्ने गरेको छ । लगत्तै तेस्रो प्रहरको पूजा सुरु भई पौने ३ बजे हाराहारीमासकिन्छ । त्यसपछि चौथो प्रहर पूजा सुरु भई बिहान ६ बजे सकिने प्रा डा भट्टराईले बताउनुभयो । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।

महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा बुधबार बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा भइरहेको छ । प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि हुने परम्परा रहिआएको छ ।

महाशिवरात्रिका अवसरमा बुधबार दिनभर पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर महादेव, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत स्थानमा पनि लाखौँ भक्तजनको उपस्थिति रहेको थियो ।

आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

मध्यविन्दु (नवलपरासी), १५ फागुनः देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।

नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताउनुभयो । “मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी छ”, उहाँले भन्नुभयो । 

विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले बताउनुभयो ।  

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ । विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को  नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो । 

यस अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी सङ्घको स्थापना दिवसका अवसरमा आज मातहतका सबै कार्यालय बन्द हुने जनाएका हुन् । 

यहाँका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मगर समुदायको जनसङ्ख्या एक लाख तीन हजार ९४९ रहेको छ । यो जिल्लाको कुल जनसङ्ख्याको २७ दशमलव ४९ प्रतिशत हो । 

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।

उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।

मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।

देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उहाँको भनाइ छ ।

नवलपुरको गैंडाकोट नगरपालिका-३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका थिए ।

उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो । उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उहाँले विश्वास व्यक्त गरे ।

हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताए ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ ।

सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य’ : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्र)का केन्द्रीय सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताएका हुन् ।

उनले भने,पौडेलले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक होइन । न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो ?’ ।
उनले जनयुद्धकालमै रम्तेललगायतका सहिदहरुको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताहा अभियानको सुरुवत गरेको र आजपनि त्यसैको निरन्तरतास्वरुप देशभर अभियान चलिरहेको पनि बताए ।

त्यस्तै,अखिल (क्रान्तिकारी)का सह–फ्याक्सन ईन्चार्ज पञ्चा सिंहले दिलबहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीलेसमेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गरिन् ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सिंहले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिदै उनले भनिन्,‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरुले विरोध गरे पनि जनयुद्धमा बलिदन गर्न सिकाउने बादल कमरेडहरुलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो ?’केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको धारणा राख्दै उनले थप भनिन्,‘रामबहादुरहरुका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबर्दार अति भयो, अब सहन सकिन्न ।’

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले केन्द्रीय सचिव पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा किर्कौली रम्तेल(सरिमाया)लाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको थियो ।

बेलायतका नव नियुक्त राजदुत घिमिरेलाई गोर्खा पेन्सन पिडित समूहले गर्यो स्वागत तथा अभिनन्दन

बेलायत : बेलायतका लागी नेपालका नब नियुक्त राजदूत महामहिम चन्द्रकुमार घिमिरेलाई गोर्खा पेन्सन पिडित समूहले स्वागत तथा अभिनन्दन गरेको छ । मेजर उदयबहादुर गुरुङको नेतृत्वमा गोर्खा पेन्सन पिडित समूले बेलायतका लागी नव नियुक्त नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरेसँग भेटघाट गरेर अभिनन्दन गरेको हो । सो अवसरमा गोर्खा पेन्सन पिडित समूहका अन्य सदस्यहरुमा मेजर चित्र राज लिम्बू, क्याप्टेन राजेन्द्र शेरचन, क्याप्टेन लक्ष्मण पुन, श्रीमती समस्ती तुलाचन, श्री किरण गुरुङ र गिराहाङ लिम्बू लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा संक्षिप्त परिचय कार्यक्रमसहित मेजर उदयबहादुर गुरुङले महामहिम राजदूतलाई गोर्खाहरू लाई गोर्खा अफर टु ट्रान्सफरको योजनामा रुपान्तरण गर्ने बेलायती रक्षा मन्त्रालयको उदेश्य बारे अवगत गराएका थिए । गोर्खा पेन्सन योजनामा प्राप्त गरेको पेन्सन रकम भन्दा सशस्त्र बल पेन्सन योजनामा बढी पेन्सन रकम पाउनेछ भन्ने उल्लेख भएको तर गोर्खा पेन्सन योजना जिपिएसबाट एफपिएसमा रुपान्तरण गरेपछि गोर्खाहरु को पेन्सन अस्वभाबिक रुपमा घटेको बिषय जानकारी गराइएको थियो । सो अवसरमा त्तकालिन समयमा भारतिय सैनिकमा भर्ति भएका २, ६, ७ र १० GR का गोर्खा सैनिकहरू लाई मलायामा कम्युनिष्ट विद्रोहीहरू सँग लड्न जुन १ जनवरी १९४८ मा भारतीय सेनाबाट ब्रिटिश सेनामा स्थानान्तरण गरिएको बिषय र भारतीय सेना बाट ब्रिटिश सेनामा स्थानान्तरण गरिएको सैनिकहरु लाई जुन १ जनवरी १९४८ मा भएको बेलायत, भारत र नेपाल सरकार बिच भएको त्रि-पक्षिय सन्धी (TPA) अनुसार बेलायति सेना अनुसार सैन्य सेवा र पेन्सन सुबिधा दिने सहमति भएको बिषय जानकारी गराएको थियो । तर गोर्खा सैनिकहरू लाई TPA सन्धीको सर्तहरू अनुसार सैन्य सेवा र पेन्सन क्षतिपूर्ति अहिले सम्म नदिइएको प्रष्ट पार्नु भयो । GPIG को टोलीले त्रि-पक्षिय सन्धी (TPA) अनुसार बेलायति सेनामा भर्ति भएका आफ्नो नागरिकहरु लाई बेलायती सेना सरह सैन्य सेवा र पेन्सन सुबिधा दिलाउन नेपाल सरकार ले पहल गर्नु पर्ने जिम्मेवारी रहेको प्रष्ट पारेको छ ।

महामहिम राजदूत समक्क्ष उठाइएको अर्को महत्त्वपूर्ण बिषय गोर्खाहरू को लागि कर्यान्वयन गरेको शासन प्रणाली बारे थियो। गोर्खा सैनिकहरू लाई बेलायती महारानीको शासन (QR) वा बेलायती सैन्य नियम द्वारा नियमन नभएर ब्रिगेड अफ गोर्खाज स्ट्यान्डिङ इन्स्ट्रक्सन (BGSI) र रेकर्ड अफ अफिस इन्स्ट्रक्सन (ROI) मा उल्लेख भए अनुसार शासित गरिएको बिषय जानकारी गराईको छ । ब्रिगेड अफ गोर्खाज स्ट्यान्डिङ इन्स्ट्रक्सन (BGSI) र रेकर्ड अफ अफिस इन्स्ट्रक्सन (ROI) लाई २००६ मा अवैध मानिएको बिषय र गोर्खाहरू लाई ५४ वर्ष देखि गैर कानूनी निर्देशिका को आधारमा शासन गरिरहेको बिषय अहिले आएर उजागर भएको प्रसँग पनि जानकारी गराएको छ । भेटघाट कार्यक्रम मा GPIG को आकांक्षा अनुसार गोर्खाहरू को लागि राम्रो उपचार र उचित पेन्सन बारे पनि छलफल भएको थियो।

महामहिम राजदूत ले आफ्नो प्रतिक्रियामा, आफूलाई भेट्न आएका अन्य गोर्खा अभियानका समूहहरू सँग भएको छलफल का बिषयहरु बारे आफ्नो अनुभव सुनाउनु भयो । पहिले भेटन आएका समूहहरू ले एक ले अर्को समुह लाई मात्र दोष दिने र विभाजनकारी दृष्टिकोण राखेको र त्यस्तो कृयाकलाप ले गर्दा नै वर्तामा बाधा सृजना भएको बताउदै त्यस्ता समुहहरु प्रति निराशा व्यक्त गर्नु भयो । तर GPIG समुहले अरु समुहलाई दोषारोपण नगरी केबल आफ्नो मुद्दामा मात्र केन्द्रित रहेर रचनात्मक संवाद गर्दै प्रस्तुत भएकोमा खुसी ब्यक्त गर्नु भयो ।

महामहिम राजदूतले विभिन्न सरकारी अधिकारीहरू सँग भएको बैठक मा नेपाल सरकारले सबै गोर्खाहरू का लागि समान वा समानुपातिक पेन्सनको लागि वकालत गरिरहेको छ भनेर उल्लेख गर्नु भयो । यस अलाबा राजदूतले धेरै गोर्खा संगठनहरू भएको र सबै आ-आफ्नै ढङगले प्रस्तुत भएर वकालत गरिरहेको ले परिस्थिति जटिल बनेको र रक्षा मन्त्रालय (MoD) लाई पनि निर्णायक कदम चाल्न गाह्रो भएको भन्ने धारणा राख्नु भयो। राजदूतले भन्नु भयो रक्षा मन्त्रालयका अधिकारीहरू ले गोर्खा समुदायको बिषय र मागहरु बारे बिभिन्न मिडिया बाट जानकारी पाईरहेका छन् । तर गोर्खाहरु मा धेरै गुटहरू भएकोले उनीहरू लाई काम गर्न चुनौती पूर्ण बनाएको छ। तर्सथ गोर्खा समुदायले आफ्नो स्थिति बलियो बनाउन र आफ्नो साझा लक्ष्य प्राप्त गर्न सबै समुहहरु एकताबद्ध हुन आग्रह गर्नु भयो ।

सबै गोर्खा समुहहरु लाई एकताबद्द गर्ने उदेश्यले महामहिम राजदूतले G10 को बैठक आयोजना गर्ने बताउनु भएको छ । उक्त बेठकमा मन्त्री स्तरीय र प्राविधिक बैठकहरू मा उहाँ सँगै सहभागी हुनको लागी गोर्खाहरु को समुहहरु बाट जाने केही प्रतिनिधि सदस्यहरू (अधिकतम तीन) चयन गर्ने बताउनु भएको छ । कार्यक्रम को अन्तमा राजदूतले सामूहिक शक्तिको विकल्प नभएकोले एकताको आवश्यकतामा जोड दिँदै बैठक समापन भयो । GPIG टोलीले पनि एकताको महत्त्वलाई प्राधमिकतामा राखी आफ्नो मुख्य लक्ष्य प्रप्तिको लागी G10 को बैठकमा सकारात्मक संलग्नताको प्रतिबद्दता ब्यक्त गर्दै ४:३० बजे राजदुत संग बिदाबादी भएको थियो ।

‘विश्वमा शान्तिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य’ – प्रदेश प्रमुख

गण्डकी, १४ फागुन : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहको उद्घाटन गर्दै उहाँले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभयो ।

विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको बताउँदै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने उल्लेख गर्नुभयो । मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो योगदान गरेको प्रदेश प्रमुख भट्टको भनाइ छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आध्यात्मिक शैक्षणिक संस्थाका रुपमा रहेको बताउँदै उहाँले मानव मूल्यहरुको पुनःस्थापनाद्वारा मूल्यनिष्ठ समाजको निर्माणार्थ यसले काम गरिरहेको पाएको उल्लेख गर्नुभयो । उहाँले विश्वका डेढ सयबढी देशमा आफ्ना सेवा केन्द्रको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनेकार्य तथा तनावमुक्त जीवन, नैतिक मूल्य एवं मानवीय संस्कारको निर्माण गर्न विशेष भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रमुख भट्टले शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय रहेको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले संस्कार र संस्कृति हाम्रो पहिचान भएकाले यसलाई भुल्न नहुने आवश्यकता औँल्याउनुुभयो ।

गाजालाई समुद्र तटीय रिसोर्टका रूपमा देखाउने क्लिप ट्रम्पको सामाजिक मिडियामा पोस्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक सामाजिक मिडिया खाताहरूमा युद्धग्रस्त गाजालाई समुद्र तटीय रिसोर्टका रूपमा पुनर्निर्माण गरिएको आफ्नै अग्लो सुनौलो मूर्तिसहितको एआई–जनित भिडियो पोस्ट गरिएको छ ।

इन्स्टाग्राममा एक करोड पाँच लाखभन्दा बढी पटक हेरिएको र बुधबार बिहान ट्रम्पको ट्रुथ सोसल नेटवर्कमा दुई हजार चार सयपटक सेयर गरिएको भिडियोले केही टिप्पणीकर्तालाई राष्ट्रपतिको खाता ह्याक गरिएको छ कि छैन भनेर प्रश्न गर्न प्रेरित गर्‍यो ।

मङ्गलबार राति प्रारम्भिक पोस्ट गरिएको केही घन्टापछि पनि ३३ सेकेन्डको क्लिप ट्रम्पको खातामा अस्वीकार वा खण्डनबिना नै रहेको थियो ।

“गाजा २०२५ अब के ?” शीर्षकको भिडियो भग्नावशेषले भरिएको सडकमा रहेका मानिसहरू सुरुङबाट खजुरका रूखहरू र जहाजहरू भएको समुद्र किनारमा निस्कँदै सुरु हुन्छ ।

ट्रम्पले गाजामाथि अमेरिकी नियन्त्रणको विचार प्रस्ताव गर्नुभएको छ । उक्त प्रस्तावमा यसको प्यालेस्टिनी जनसङ्ख्या स्थानान्तरण गरिने थियो । उक्त प्रस्तावले व्यापक आलोचना निम्त्याएको छ ।

पछि यो विचारलाई मात्र सिफारिस गरिरहेको भन्दै उहाँले आफ्नो योजनालाई नरम तुल्याउनुभएको थियो । साथै जोर्डन र इजिप्टका नेताहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको इच्छाविरुद्ध सार्ने प्रस्तावलाई अस्वीकार गरेको स्वीकार गरेका थिए ।

सामाजिक मिडिया क्लिपमा साउन्डटङ्याकमा ‘डोनाल्ड तिमीलाई मुक्त गर्न आउँदै हुनुहुन्छ, सबैले देख्नका लागि उज्यालो ल्याउँदै’ र ‘भोज र नृत्य, सम्झौता पूरा भयो, ट्रम्प गाजा नम्बर एक’ भन्ने गीतका बोलहरू समावेश छन् ।

देखिने गरी एआई–जनित ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका चित्रण पौडी पोखरी छेउमा स्विमसुटमा ककटेल पिउँदै देखिनुहुन्छ भने अन्य दृश्यहरूमा समुद्र किनारमा नगदको वर्षा मुनि नाचिरहेका एलन मस्क देखाइएको छ ।

ट्रम्पको जीवनभन्दा ठूलो सुनौलो मूर्ति पनि चित्रित गरिएको छ ।सामाजिक मिडिया प्रयोगकर्ताहरूले समर्थन र आलोचना दुवै प्रतिक्रिया दिए तर धेरैले ट्रम्प आफैँले यो सङ्कलन पोस्ट गर्नुभएको हो कि भनेर प्रश्न गरे ।

एएफपीले यो भिडियो ट्रम्पको ट्रुथ सोशल र इन्स्टाग्राम खाताहरूमा पोस्ट गरिनुअघि अनलाइनमा साझा गरिएको कुनै प्रमाण फेला पारेको छैन ।तथापि एक दृश्य फेब्रुअरी सुरुमा प्रचलनमा आएको ट्रम्प र नेतन्याहु ककटेल पिउँदै गरेको एआई–जनित तस्बिरसँग मिल्दोजुल्दो छ ।

हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट सुरु भएको १५ महिनाभन्दा बढीको युद्धले गाजा पट्टीको धेरै भाग भग्नावशेषमा परिणत गरेको छ र यसको अधिकांश जनसङ्ख्या विस्थापित भएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार पुनर्निर्माणको लागत ५३ अर्ब डलरभन्दा बढी छ ।जनवरी १९ देखि प्रभावमा रहेको नाजुक युद्धविरामले गाजामा मानवीय सहायताको वृद्धि गर्न अनुमति दिएको छ । यद्यपि हमासले इजरायललाई केही आवश्यक आपूर्तिहरूको प्रवेश रोकेको आरोप लगाएको छ ।

रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने

दुई मुलुकबीचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गर्नुभएको छ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गर्नुभएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुनेछ ।

“त्यस्तो बैठक भोलि इस्तानबुलमा हुनेछ । मलाई लाग्छ कि यसको परिणामले हामी कति छिटो र प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ भनेर देखाउनेछ”, विदेशमन्त्री लाभरोभले कतारको भ्रमणमा बुधबार भन्नुभयो ।

लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उहाँहरू युक्रेनबिना नै युक्रेन युद्धबारे वार्ता सुरु गर्न सहमत हुनुभएको थियो ।

त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् ।गत बुधबार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भनेर युद्ध अन्त्य गर्न ‘छिटो अघि बढ्न’ आह्वान गर्नुभएको थियो ।

तीन वर्षअघि मस्कोले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्नबाट बच्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा सोमबार दुई पटक रुसको पक्षमा मतदान गरेको थियो ।

अमेरिका–युक्रेन खनिज सम्झौताबारे थाहा भएका केही कुरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमर जेलेन्स्कीबीचको विवादपछि किएभ र वासिङ्टनले संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोतहरूमा पहुँच दिने सम्झौतामा सहमति जनाएका छन् ।

ठ्याक्कै कति रकम जोखिममा छ ? के यो सम्झौताले युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्नेछ ? भन्नेबारे सम्झौताका महत्त्वपूर्ण विवरणहरू अझै अस्पष्ट छन् ।

यहाँ यस हप्ता वासिङ्टनमा ट्रम्प र जेलेन्स्कीद्वारा हस्ताक्षर गर्न सकिने सम्झौताबारे हामीलाई थाहा भएका कुराहरू छन् ।

– एक संयुक्त कोष –

ट्रम्पले सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि तीन वर्षमा अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा भुक्तान गरिएको अमेरिकी सहायताको क्षतिपूर्ति माग गर्नुभएको थियो ।

जर्मन आर्थिक अनुसन्धान निकाय किल इन्स्टिच्युटका अनुसार ट्रम्पले पाँच खर्ब डलर क्षतिपूर्ति माग्नुभएको थियो । यो हाल एक खर्ब २० अर्ब डलर बराबरको वासिङ्टनले युक्रेनलाई भुक्तान गरेको रकमको करिब चार गुणा हो ।

जेलेन्स्कीले युक्रेनीहरूको ‘दश पुस्ता’ ले तिर्न पर्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने भन्दै यो मस्यौदालाई अस्वीकार गर्नुभयो ।

सम्झौताबारे जानकारी भएको किएभको एक स्रोतले एएफपीलाई पछि बताएअनुसार दस्तावेजको सबैभन्दा हालको मस्यौदाबाट यो माग हटाइएको छ ।

यद्यपि यसले संयुक्त राज्य अमेरिका र युक्रेनले संयुक्त अमेरिकी–युक्रेनी कोषमा राजस्व परिवर्तन गरी एकसाथ खनिज स्रोतहरू विकास गर्नुपर्छ भन्ने सङ्केत गर्दछ ।

“उनीहरूले हामीलाई नसुहाउने विशेष गरी पाँच खर्ब डलरका बारेमासहित सबै खण्डहरू हटाए”, युक्रेनी स्रोतले भन्यो ।

– सुरक्षामा अस्पष्ट –

युक्रेन कुनै पनि सम्झौतामा दीर्घकालीन र बलियो सुरक्षा ग्यारेन्टीहरू समावेश गर्नुपर्दछ जसले रसियालाई फेरि कहिल्यै आक्रमण गर्नबाट रोक्न मद्दत गर्दछ भन्ने कुरामा अडिग छ ।

जेलेन्स्कीले गत वर्ष अक्टोबरमा आफ्नो पाँच–बुँदे विजय योजनाको हिस्साका रूपमा युक्रेनी प्राकृतिक स्रोतहरूमा पहुँचलाई सुरक्षा प्रतिबद्धताका लागि आदान–प्रदान गर्ने विचार अघि सार्नुभएको थियो ।

युक्रेन अन्ततः नाटो सदस्यता चाहन्छ । तर त्यो विकल्पलाई – क्रेमलिनका लागि रेड लाइन – वासिङ्टनले रोकेको छ ।

युक्रेनले युद्धविराम भएको खण्डमा विदेशी शान्ति सैनिकहरू तैनाथ गर्न वकालत गरेको छ । तर संयुक्त राज्य अमेरिकाले यो विकल्पलाई अस्वीकार गरेको छ भने युरोपेली देशहरू यस मुद्दामा विभाजित छन् ।

खनिजहरूको सम्झौताको पाठमा ठोस ग्यारेन्टीबिना युक्रेनी सुरक्षाको सन्दर्भ समावेश हुनसक्छ । युक्रेनी स्रोतले एएफपीलाई बताए अनुसार यस विन्दुमा छलफलहरू अझै जारी छन् ।

“अमेरिकाले स्थिर र समृद्ध सार्वभौम युक्रेनमा लगानी गर्नेछ भन्ने एउटा सामान्य धारा छ”, त्यहाँ ‘स्थायी शान्ति’ र ‘सुरक्षा ग्यारेन्टी’ का लागि अमेरिकी समर्थनको उल्लेख गरिएको भन्दै स्रोतले भन्यो ।

– कुन खनिजहरू ? –

युक्रेनसँग विश्वको खनिज स्रोतहरूको लगभग पाँच प्रतिशत छ । तर ती सबै अहिलेसम्म दोहन गरिएका छैनन् – वा सजिलैसँग दोहन गर्न सकिने छैनन् – र केही रुसद्वारा कब्जा गरिएको क्षेत्रमा छन् । यसलाई ट्रम्प सुरक्षित गर्न चाहनुहुन्छ ।

वल्र्ड माइनिङ डाटाका अनुसार युक्रेन म्याङ्गनिजको उल्लेखनीय उत्पादक (विश्वको आठौँ ठूलो उत्पादक), टाइटानियम (११औँ) र ग्रेफाइट (१४औँ) हो । यी खनिज तत्व विद्युतीय ब्याट्रीहरूका लागि अत्यावश्यक छन् ।

फ्रान्सको ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्च (बिआरजिएम) का अनुसार युक्रेनसँग विश्वको ग्रेफाइटको अनुमानित स्रोतहरूको २० प्रतिशत छ ।

युक्रेनले ‘युरोपको सबैभन्दा ठूलो लिथियम भण्डारहरू मध्ये एक’ भएको पनि बताएको छ । तर नरम धातु अझै ननिकालिएको सरकारले बताएको छ ।

किएभका अनुसार ‘छ वटा भण्डारमा दुर्लभ पृथ्वी धातुहरू अवस्थित रहेको थाहा छ’ र नोभोपोल्टाभस्के भण्डार विकास गर्न ३० करोड डलरको लगानी आवश्यक पर्नेछ । युक्रेनले नोभोपोल्टाभस्के भण्डार विश्वका सबैभन्दा ठूला मध्ये एक भएको दाबी गरेको छ ।

यद्यपि यो स्थल रूसी सेनाद्वारा नियन्त्रित छ र क्रेमलिनले सन् २०२२ देखि कब्जा गरेको क्षेत्र वा सन् २०१४ मा कब्जा गरिएको क्रिमियन प्रायद्वीपलाई अस्वीकार गरेको छ ।

यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी–कब्जा क्षेत्रहरूमा अमेरिकी लगानीलाई समर्थन गर्ने बताउनुभएको छ ।

लिथियम, ट्यान्टालम, नियोबियम र बेरिलियमको सेभचेन्को भण्डार पोक्रोभस्क नजिकै अग्रिम मोर्चाबाट १० किलोमिटरभन्दा कम दूरीमा छ । त्यहाँ रूसी सेनाले हतियार र सेनाको सङ्ख्यामा कम रहेका युक्रेनी सेनाहरू विरुद्ध जमिन प्राप्त गरिरहेको छ ।

‘कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गर्नुपर्छ’

काठमाडौँ, १४ फागुन : नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउनपर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा पार्टीको महाधिवेशन नजिकिँदै गर्दा युवा नेताहरूले जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने माग गरेका हुन् । चालीस वर्षभित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने र युवासँगै विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमै व्यवस्था हुनुपर्ने मागसमेत गरेका छन् ।

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा शुद्धीकरण आवश्यक रहेको बताउँदै नेता कार्यकर्ताले नैतिक मूल्य मान्यताअनुसार नचल्दा समस्या भएको दाबी गर्नुभयो । संविधानसभा सदस्य एवं कांग्रेसका नेता रञ्जीत कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन आग्रह गर्जुभयो ।

अन्तरक्रियामा वडा तहदेखि संसद्सम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाई संसद् सङ्ख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रूपमा लागू गर्नेगरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

नेता कर्णका अनुसार कांग्रेसको नीतिः उद्यमशीलतासहित राजनीति अभियान सञ्चालन गरिने योजना सुनाउँदै कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नसके मात्र राष्ट्रिय समृद्धिको नेतृत्व पनि लिनसक्ने दावी गर्नुभयो ।

आगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने

दमौली (तनहुँ), १४ फागुनः भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने बताउनुभएको छ । भूमि समस्या समाधान आयोग तनहुँ र बन्दीपुर गाउँपालिकाको सहकार्यमा आज बन्दीपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रिजालले विसं २०८४ असोजभित्र नेपालका सबै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा नै हरेक नेपालीको भूमिसम्बन्धी अधिकार उल्लेख छ । हामी सबै भूमिहीन र सुकुम्बासीलाई जग्गाको मालिक बनाउँछौँ ।”

जनप्रतिनिधिले सक्रियतापूर्वक काम गरेको खण्डमा आयोगको कामले पूर्णता पाउने उहाँको भनाइ थियो । जनताका समस्या जनप्रतिनिधिलाई थाहा हुने बताउँदै उहाँले आयोगको कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा आयोगका केन्द्रीय विज्ञ सदस्य डा जगत बस्नेतले आयोगको कार्यविधिका बारेमा प्रकाश पार्नुभयो । सो अवसरमा आयोगका केन्द्रीय सदस्य आरती भण्डारी, अनिलकृष्ण प्रसाइँले आयोगले गरेका कामको बारेमा जानकारी गराउनुभयो ।

आयोगका तनहुँ अध्यक्ष गोविन्द सिलवालले जुनसुकै पार्टीबाट आयोगमा प्रतिनिधित्व भए पनि आफूहरूको मुख्य काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताउनुभयो ।

आयोगले तनहुँमा २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका दश स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी छ हजार ७७३ कित्तामा नाप नक्शा भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार ६२४ हेक्टर क्षेत्रफलको नाप नक्शा सकिएको छ । व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीन सय ४४, भिमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँच सय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुई सय ६७, आँबुखैरेनी गाउँपालिकामा ८९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ ।

एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो

कैलाली, १४ फागुन : धनगढीको फाप्ला मैदानमा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । आज भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधि जितेको हो ।

उपाधिसँगै भिमदत्तले नगद रू दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुनर्वासले रू एक लाखमा चित्त बुझाएको छ । भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले ।

भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले तीन विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । कृष्ण कार्की र सागर भण्डारीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका ‘बी’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६९ रन बनायो ।

पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । चालीस बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले । त्यस्तै कप्तान विपीन रावल ३८ रन, सुवास ऐर १८ रन, नवयुग बस्नेतले १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउँट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु, किरन चन्द, सन्तोष भट्ट र समिर विष्टले समान एक÷एक विकेट लिए ।

प्रतियोगितामा भिमदत्त नगरपालिका अरूण ऐरी सर्वोकृष्ट खेलाडी भए । उनले नगद रू २५ हजार प्राप्त गरे । उनी दुई खेलमा ‘प्लेर अफ दि म्याच’ भएका थिए भने प्रतियोगितामा उनले रू १० विकेट लिएका थिए । पुनर्वास नगरपालिका दीपक बोहोरा उत्कृष्ट ब्याटर भए । उनले नगद रू १५ हजार प्राप्त गरे ।

उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए । त्रिवेणी नगरपालिकाका दीपक टमट्टा उत्कृष्ट बलर भए । उनले पनि नगद रू १५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए । उनले नगद रू १० हजार प्राप्त गरे ।

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

चितवन, १४ फागुनः भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उहाँले बताउनुभयो ।

भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ । नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ । थोरै केरामात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैध रूपमा भित्रने अध्यक्ष घिमिरेको दाबी छ ।

उहाँले भन्नुुभयो “कृषिको अरू उत्पादन सहज आउन रोक्दा केरालाई सरकारले रोक्दैन ।” केरा आयातमा रोक लगाइएमा नेपालमा आत्मनिर्भर हुनसक्ने गरी उत्पादन गर्न सकिने उहाँको भनाइ छ । देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार दुई सय हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ । यहाँका सात सय बढी किसान केराखेतीमा संलग्न छन् ।

हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यावसायिक रूपमा लगाइएको छ । चैतदेखि साउन सम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन् ।

लक्ष्यको तुलनामा कम धान खरिद

जनकपुरधाम, १४ फागुन : नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ ।

बत्तीस हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको थियो । तर पाँच हजार तीन सय ४६ क्विन्टल धानमात्र खरिद गर्न सकेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार तोकिएको लक्ष्यको तुलनामा २६ हजार छ सय ५४ क्विन्टल धान कम खरिद गरेको जनाइएको छ ।

तोकिएको समर्थन मूल्यभन्दा बजार मूल्य अत्यधिक रहेकाले किसानले आफ्नो उत्पादन त्यहाँ बिक्री नगरेर निजी क्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको सो कार्यालयका प्रमुख देवेन्द्र राईले बताउनुभयोे ।

सरकारले प्रतिक्विन्टल रू तीन हजार पाँच सय ८० का दरले धान खरिद गर्न निर्देशन दिए पनि बजारमा करिब रू चार हजार प्रतिक्विन्टलका दरले किसानले धान बिक्री गरेकाले सो कार्यालयले धान खरिद गर्न नसकेको उहाँले जानकारी दिनुभयो । सो कार्यालयले लक्ष्यप्राप्त गर्न चारवटा सहकारी संस्थासँग धान खरिद गर्ने सम्झौता गरे पनि किसान नआएकाले सो लक्ष्य प्राप्त नभएको सो कार्यालयका कर्मचारीले बताएका छन् ।

जनकपुरको मुजेलियामा रहेको कार्यालयले कार्यालय हाताभित्र धान खरिदका लागि काँटा (धान खरिद केन्द्र) मङ्सिर २४ गतेदेखि सुरू गरेको थियो । धनुषाका किसानबाट कार्यालयले यस वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने सूचना जारी गरेको थियो । कार्यालयका प्रमुख राईले यस वर्ष धनुषाका किसानबाट सोनामन्सुली प्रतिक्विन्टल रू तीन हजार पाँच सय ८० का दरले सो धान खरिद गर्ने सरकारले समर्थन मूल्य तोकेको थियो ।

धनुषाका सम्बन्धित स्थनीय तहको कृषि शाखाको सिफारिसमा तथा किसानले धान बिक्री गर्न ल्याउँदा धान सफा गरी कार्यालयले तोकेको मापदण्डअनुसारको हुनुपर्ने तथा धान बिक्रीको भुक्तानी चेकमार्फत हुने कार्यालयद्वारा जारी सूचनामा जनाइएको थियो । तर पटकपटक सूचना जारी गरे पनि किसान धान बिक्रीका लागि नआएको उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र कार्यालय धनुषा जनकपुरधामका अनुसार जिल्लामा यस वर्ष ४१ हजार पाँच सय ६६ हेक्टर क्षेत्रफलमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । यसअघि सो कार्यालयको धान खरिदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको सम्पन्न बैठकबाट धान खरिद प्रक्रिया सुरू गरेको प्रमुख राईले जानकारी दिनुभयो । यस वर्ष सो कार्यालयले गहुँ खरिद गर्ने योजना बनाएको छ ।

‘महाशिवरात्रि पर्वले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न हौसला प्रदान गर्नेछ’

काठमाडौँ, १४ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले सबै धर्म र संस्कृतिको संरक्षण, सम्बर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्ने अभियानमा क्रियाशील रहेको बताउनु भएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको जानकारी दिनुभयो । उहाँले शिवरात्रिसँगै मनाइने सैनिक दिवसका अवसरमासमेत शुभकामना व्यक्त गर्नुभएको छ । महाशिवरात्रि पर्वले आम नेपालीलाई “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न हौसला प्रदान गर्ने उहाँको विश्वास छ ।

‘नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो’: मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), १४ फागुनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताउनुभएको छ । आज सुर्खेत लेकबँेसी नगर कमिटीले आयोजना गरेको दुईदिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताउनुभयो ।

एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ । एमालेमा विगतमा सदस्य धेरै भएपनि चुनावमा मत कम प्राप्त गरेकाले आफ्नो सदस्यता आफैँं नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

कर्णालीको विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको उहाँले बताउनुभयो । सत्तासाझेदार दलहरुलाई साथमा लिएर एमालेले कर्णाली बनाउने अभियानमा लागेको उहाँले बताउनुभयो ।

मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर

लुम्बिनी, १४ फागुनः स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडाँैका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध रु पाँच करोड २१ लाख बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरिएको हो ।

उक्त कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने मदिराका ढक्कन र अन्य सामग्रीसहित पक्राउ परेका सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका शशाङ्क खनाल र काभ्रपलाञ्चोक, चौरीदेउराली गाउँपाकिा– ४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।

प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो रु एक करोड ३० लाख २७ हजार २९० तथा र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु पाँच करोड २१ लाख नौ हजार १६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदाबी गरिएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १४ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९० टाटे सिमी प्रतिकेजी रु ६५, तिते करेला प्रतिकेजी रु १२०, लौका प्रतिकेजी रु ४५, परबर प्रतिकेजी रु २२०, घिरौला प्रतिकेजी रु ११०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५०, कुरिलो प्रतिकेजी रु १,८०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ६०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४०, रुख कटहर प्रतिकेजी रु ११०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ८५, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ ।

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा बिहानै भक्तजनको घुइँचो (फोटोफिचर)

भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस

सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा

बेलायती प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्‍याउने र आगामी संसद्मा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेको प्रतिबद्धता जनाउनुभएको छ ।

बिहीबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको युक्रेनबारे महत्त्वपूर्ण वार्ताअघि स्टार्मरले संसद्लाई यो वृद्धि अर्थतन्त्रको शून्य दशमलव पाँच प्रतिशतबाट शून्य दशमलव तीन प्रतिशतमा विदेशी विकास सहायता कटौती गरेर वित्त पोषण गरिने बताउनुभयो ।

ट्रम्पले नाटो सहयोगीहरूलाई आर्थिक उत्पादनको पाँच प्रतिशतसम्म रक्षा खर्च लक्ष्य दोब्बर बनाउन माग गर्नुभएको छ ।

बेलायतले सन् २०२३/२४ मा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव तीन प्रतिशत रक्षामा खर्च गरेको थियो ।स्टार्मरको लेबर सरकारले पहिले नै रक्षा खर्च दुई दशमलव पाँच प्रतिशतसम्म बढाउने प्रतिबद्धता जनाएको थियो तर समयसीमा तोकेको थिएन ।

उहाँले सांसदहरूलाई केही ‘कठिन विकल्पहरू’ हुने तर यो ‘शीत युद्धको अन्त्यपछि रक्षामा सबैभन्दा ठूलो निरन्तर वृद्धि’ हुने बताउनुभयो ।“सरकारले आगामी संसद्मा रक्षा खर्चलाई कूल गार्हस्थ्य उत्पादनको तीन प्रतिशतसम्म पुर्‍याउने स्पष्ट महत्त्वाकांक्षा पनि राख्नेछ”, उनले भने।ट्रम्पले युरोपेली राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आउनुभएको छ ।

“युद्धको प्रकृति उल्लेखनीय रूपमा परिवर्तन भएको छ । यो युक्रेनको युद्धभूमिमा स्पष्ट छ र त्यसैले हामीले लगानी गर्दा हाम्रो क्षमताहरूलाई आधुनिकीकरण र सुधार गर्नुपर्छ”, स्टार्मरले भन्नुभयो, “यो लगानीको अर्थ बेलायतले नाटोमा र हाम्रो महाद्वीपको सामूहिक रक्षामा नेतृत्वकर्ताको रूपमा आफ्नो स्थिति बलियो बनाउनेछ र हामीले त्यो भूमिकालाई स्वागत गर्नुपर्छ ।”

कर्णाली प्रदेश सरकारले ‘नमूना विद्यालय कार्यक्रम’ लाई बजेट पठाउने

कर्णाली – कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमूना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका १३ विद्यालयमा रु ७० लाखका दरले रकम पठाउने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

यस्तै बैठकले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमाका लागि स्वीकृति प्रदान गर्ने, घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१, आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१, आयोजनाको बहुवर्षीय ठेक्का सहमति निर्देशिका २०८१ स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रवक्ता शाहका अनुसार कर्णालीको १० वर्षे कृषि विकास रणनीति पारित गर्नुका साथै कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) दोस्रो संशोधन कार्यविधि र नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, १४ फागुनः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । तराईका केही भागमा हल्का हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले हिमपात र वर्षाबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन ती क्षेत्रका सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकताः उपराष्ट्रपति यादव

काठमाडौँ, १४ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक प्रविधि, सीपले सुसज्जित, अध्ययन–अनुसन्धानमा पारङ्गत र कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता भएको बताउनुभएको छ ।

सेना दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र आफ्नै आर्थिक प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सवलीकरण र आधुनिकीकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैरअनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्न सक्नुपर्दछ ।”

महाशिवरात्रि सेना दिवसका अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले दिवसले सेनाहरुको साहस, वीरता, समर्पण र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै सेनाले राष्ट्र सुरक्षा र सम्मानको रक्षा गर्ने उल्लेख गर्नुभएको छ । नेपाली सेना साहसी र समर्पित भावले काम गरिरहेको उहाँको भनाइ छ ।

“सेना दिवसका अवसरमा हामी सबै मिलेर देशको सुरक्षा र विकासमा योगदान दिने सङ्कल्प लिन सक्नुपर्दछ । सेनाले मुलुकलाई बाहिरी शत्रुबाट रक्षा गर्नुका साथै विभिन्न प्राकृतिक प्रकोप र विपद्को घडीमा देश र समाजलाई सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभएको छ ।

भद्रपुर झापा गोल्डकपः झापा–११ र भुटानको डागा युनाइटेड भिड्दै

भद्रपुर (झापा), १४ फागुनः दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ ।

प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको होे । यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ ।

‘महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे

काठमाडौँ, १४ फागुन: सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआरधना र तपस्या गरी मनाइन्छ ।

महाशिवरात्रिको विशेष महत्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव–पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।

सभामुख घिमिरेले भन्नुभएको छ, “नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको धनी राष्ट्र हो, यहाँ रहेका मठमन्दिर, पर्व–उत्सव र परम्पराले नेपाली सभ्यतालाई विशिष्टता प्रदान गरेका छन्, महाशिवरात्रि पनि हाम्रो संस्कृति र परम्परासँग अभिन्न रूपमा गाँसिएको पर्व हो ।”

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर महाशिवरात्रिका अवसरमा लाखौँ भक्तजनको गन्तव्य बन्ने गरेको छ । पशुपतिनाथमा भगवान् शिवलाई पशुपति अर्थात् सम्पूर्ण जीवहरूको स्वामीको रूपमा पूजा गरिन्छ । यस अवसरमा पशुपतिनाथ क्षेत्रमा महादेवका भक्तहरूले विशेष आराधना, रुद्राभिषेक, जाग्राम, भजनकीर्तन तथा ध्यान साधना गरेर शिवभक्ति अभिव्यक्त गर्दछन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १४ फागुनः स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गर्नुभएको छ ।

म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलका साथै नेपाल सरकार र नेपाली जनताका तर्फबाट स्पेनका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै स्पेनका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो । उहाँले नेपालको परराष्ट्र नीति, विकासका प्राथमिकता र प्रयास, जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका प्रयत्न तथा पर्यावरणीय चुनौतीको सामाना गर्न अन्तरराष्ट्रिय सहयोगको महत्वलगायत विषयमा छलफल भएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बङ्गलादेशमा सेना दिवस, साहित्यिक महोत्सव

काठमाडौँ, १४ फागुनः बङ्गलादेशमा सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् ।

नेपाली सेनाको २६२ औँ स्थापना दिवसको अवसरमा सोमबार साँझ दूतावास परिसरमा आयोजित स्वागत समारोहमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सेना दिवसबाट नेपाल र नेपाली जनताप्रति नेपाली सेनाको अटल समर्पण, वफादारी र सेवा झल्कने बताउनुभयो ।

उहाँले नेपाल र बङ्गलादेशबीचको सैन्य सहयोगलाई उजागर गर्दै त्यसबाट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दूतावासका सैन्य सहचारी महासेनानी अञ्जनकेशर खत्रीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा नेपाली सेनाको भूमिकाबारे चर्चा गर्र्दै नेपालको सामाजिक–आर्थिक विकासमा नेपाली सेनाको योगदानका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तरराष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको योगदानबारे जानकारी दिनुभयो ।

उक्त दूतावासका अनुसार समारोहका प्रमुख अतिथि, बङ्गलादेशका प्रधानसेनापति जनरल वाकर–उज–जमानले नेपाल र बङ्गलादेशका सशस्त्र बलबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्नुभयो ।

यसैबीच, दूतावासले मङ्गलबार दिउँसो बङ्गलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा साहित्यिक समारोह पनि आयोजना ग¥यो ।

त्यस अवसरमा नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक तथा भाषिक समानताका विविध पक्षलाई उजागर गर्दै स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

राजदूत भण्डारीले नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको सम्पर्कलाई साहित्यिक आदानप्रदानका कार्यक्रमले अझ सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो ।

भारतको केआइआइटीका विद्यार्थीले टियूमा अध्ययन गर्न पाउने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (टियू) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले  जारी गर्नुभएको विज्ञप्तिमा भारतको केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ  । 

“भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,” उहाँले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । 

त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected][email protected] मा सम्र्पक गर्न आग्रह गरेको छ । गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ फागुनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ २२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

काठमाडौँ, १४ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गर्नभएको छ ।

हिन्दू धर्मावलम्वीहरूले अतिश्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका बताउनुभएको छ ।

सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टी कांग्रेसका तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौँ, १४ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो । “विभिन्न शिवालय, शिव मन्दिर, महादेव मठलगायत धार्मिकस्थलमा मेलाहरूको आयोजना हुनुले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ, यसले आर्थिक गतिविधि वृद्धि भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ”, उहाँले भन्नुभएको छ ।

शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै मानिसको मन, वचन र कर्ममा शुद्धीकरण गर्नमा सहयोग गर्ने र समाजमा एकता, सहयोग र सद्भावलाई बढावा दिने यो पर्वलाई आपसी मनोमालिन्यता, मतभेद र द्वेषलाई बिर्सने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहङ्कार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सतधर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर पनि यो पर्वले प्रदान गरोस् ।”

हिन्दू धर्मावलम्बीमा महाशिवरात्रि पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहिआएको छ । यस अवसरमा श्रद्धालुहरू एकत्रित भई सामूहिक रूपमा पूजाअर्चना गर्नु, मेला भर्न जानुले सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि हुन्छ । यो पर्वमा सामूहिक उपवास, शिव उपासना र शिव चर्चालगायत अनुष्ठानले समाजमा सद्भाव र मेलमिलाप कायम राख्न तथा मानिसलाई नैतिकता, सत्य र धर्मको मार्गमा हिँड्न अभिप्रेरित गर्दछ ।

यस पर्वको सांस्कृतिक महत्व पनि छ । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, मौलिक नाचगान आदिको आयोजना गर्ने परम्परा रहिआएको छ । शिवको महिमा र शिवसँग सम्बन्धित प्रसङ्ग प्रस्तुत गरिनेजस्ता सांस्कृतिक कार्यक्रमले धार्मिक परम्परा र संस्कृतिलाई सजीव बनाइराख्न सहयोग पुग्दछ ।

आज महाशिवरात्री पर्व, भगवान् शिवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, १४ फागुनः भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ । पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ । नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ । यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ । पौने तीन बजे हाराहारीमा यो सकिन्छ । चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।

महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।

बिहान दुई बजे नै पशुपतिका चार ढोका खुल्ने

महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताउनुभयो । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

काठमाडौँ, १४ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताउनुभएको छ ।
महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उहाँले भन्नुभयो, “नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय हो ।”

उहाँले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्नुहुँदै आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताउनुभयो ।

“वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्”, उहाँले भन्नुभएको छ, “सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ ।”

रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उहाँको भनाइ छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवं शिव महिमा कीर्तन शिवरात्रि पूजाअर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको उहाँले बताउनुभयो ।

“महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।”राष्ट्रपति पौडेलले महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

पशुपतिमा पूजा आजामा आउँदा महँगा गहना लगाएर नआउन अनुरोध

काठमाडौँ-नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उहाँले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ । “देशविदेशबाट पशुपतिको दर्शनका लागि लाखौँको भक्तजन सहभागी हुने भएकाले छिटोछरितो, व्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउन आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी गराउँदछु”, उहाँले भन्नुभएको छ ।

आज साँझ एक सूचना जारी गर्दै उहाँले धार्मिक आस्थाका नाममा विभिन्न आपाराधिक तथा अमर्यादित घटना घट्नसक्ने तर्फ सचेत हुन अनुरोध पनि गर्नुभएको छ । विशेष गरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिता दिन उहाँले अनुरोध गर्नुभएको छ । बालबालिका हराउनसक्नेतर्फ पनि ध्यान दिन अनुरोध गरिएको छ ।

बाहिरी क्षेत्रमा ड्रोन क्यामेराबाट पनि निगरानी हुने तथा सिसी टिभीबाट पनि निगरानी हुने जानकारी गराउँदै प्रहरीले सादा पोसाकमासमेत प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाएको छ ।

चोरी, पाकेटमार गर्ने, असभ्य व्यवहार गर्ने र कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कुनै छुट नहुने पनि प्रहरीले चेतावनी दिएको छ । समस्या परेमा आकस्मिक नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरिएको छ ।

यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपतिको सुरक्षाका लागि ८०० भन्दा बढी प्रहरी परिचालन गरेको र ट्राफिक रूटको पनि व्यवस्थापन गरिएको जानकारी गराएको छ । ट्राफिक प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले पशुपति क्षेत्रमा आउने दर्शनार्थीको सहजताका लागि तोकिएका क्षेत्रमा सवारी पार्किङ गरी सवारी व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयले पशुपति क्षेत्रको सुरक्षाको सबै तयारी पूरा भएको पनि जानकारी गराएको छ ।

महाशिवरात्रिको अघिल्लो साँझ पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटोफिचर)

महाशिवरात्रिको अघिल्लो साँझ पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो । तस्बिरः नवीन पौडेल

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।

सदस्य सचिव थापाले गत पुसमा ‘पशुपति दर्शन अभियान’ मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको बताउनुभयो ।

पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सो समितिले पनि सक्रियताका साथ काम गरिरहेको छ ।

मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको मूल समारोह समितिका सदस्य शान्त खरेलले जानकारी दिनुभयो । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन् । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको उहाँले सुनाउनुभयो । यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । पशुपति क्षेत्र फूल र बत्तीले सिँगारिएको छ ।

नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु

नेपालगञ्ज, १३ फागुन : नेपालगञ्जमा भ्यानको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ । सो घटनामा तीन जना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिनुभयो ।

दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारू र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।

कर्मचारी सञ्चयकोषलगायत संस्थाका लागि केन्द्रीय बैंकद्वारा निर्देशिका जारी

काठमाडौँ, १३ फागुन : नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ ।

राष्ट्र बैंकले आज यी संस्थाहरूका लागि निर्देशन जारी गर्दै ग्राहकको पहिचान तथा सोको सम्पुष्टि (केवाईसी) नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा अनिवार्य गर्ने, उच्च पदस्थ व्यक्ति पहिचान तथा यकिन गर्ने, उनीहरूको वर्गीकरण गर्ने, उच्चपदस्थका परिवार तथा सम्बद्ध व्यक्ति पहिचान गर्नेलगायतका काम गर्न निर्देशन दिएको हो ।

यी संस्थाहरूले पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिका रूपमा ग्राहक वर्गीकरण गर्नुपर्नेछ ।

त्यसैगरी, शङ्कास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन तयार गर्दा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले जारी गरेको कार्यविधिअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने

दमौली (तनहुँ), १३ फागुन: तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्र संस्थानले प्राथमिकता दिने भएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा गोरखापत्र संस्थान र पद्म पुस्तकालयले आज बन्दीपुरमा आयोजना गरेको राष्ट्रिय सिर्जना सम्मेलनमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्रबाट पूर्ण सहयोग रहने बताउनुभयो । महाप्रबन्धक ऐरीले भन्नुभयो, “बन्दीपुर भ्रमण वर्ष सफल बनाउनु हाम्रो पनि जिम्मेवारी हो । बन्दीपुरको पर्यटकीय गतिविधिलाई संस्थानले प्राथमिकताका साथ प्रकाशन गर्नेछ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै यस अभियानमा जोडिएकामा संस्थानलाई धन्यवाद दिनुभयो । 

हाल यहाँ वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहॉको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो । अध्यक्ष थापाले   गाउँपालिका क्षेत्रका सबै पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । “बन्दीपुर बजारमात्रै नभई गाउँगाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पु¥याउने लक्ष्य छ । भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेजसमेत बनाएका छौँ”, उहाँले भन्नुभयो ।    गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पद्म पुस्तकालयका लागि अध्यक्ष सुदर्शन प्रधानलाई संस्थानका तर्फबाट दुई सय थान पुस्तक हस्तान्तरण गर्नुभयो । 

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

काठमाडौँ, १३ फागुन : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

“मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ”, राष्ट्र बैंकले भनेको छ ।

अर्धवार्षिक समीक्षाबाट मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशतमा यथावत राखिएको छ । त्यस्तै, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे छ प्रतिशत यथावत छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था संशोधन भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा केही सहुलियत पाएका छन् । असल कर्जाको विद्यमान एक दशमलव १० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशत कायम गरिएको छ । त्यस्तै ‘नन् डेलिभरेबल फरवार्ड’ को हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गर्ने निर्णय पनि केन्द्रीय बैंकले गरेको छ ।

अर्धवार्षिक समीक्षामार्फत सवारीसाधनको ऋण मूल्य अनुपात (लोन भ्यालु रेसियो) संशोधन गरिएको छ । यसअघि विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई समान ६० प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिले सजगतापूर्वक लचिलो कार्यदिशा अवलम्बन गरेको बताउँदै आएको छ । यो नीतिले आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने दाबी राष्ट्र बैंकले गर्दै आएको छ । यद्यपि चालु आर्थिक वर्षको माघ मसान्तसम्मका वित्तीय तथा मौद्रिक सूचकहरूले भने बाह्य सूचकबाहेक अन्य अधिकांश सूचक खराब अवस्थामा रहेको देखाउँछन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलोत्रय मासमा आर्थिक वृद्धि तीन दशमलव चार प्रतिशत रहेको अनुमान छ । त्यस्तै, यसवर्ष धान उत्पादन चार दशमलव ०४ प्रतिशतले बढेको अनुमान छ । निर्माण र उत्पादनमूलक उद्योगको कमजोर वृद्धिदरलाई अझै सुधार गर्न सकिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएका यी क्षेत्रले अझै गति लिन सकेको छैनन् । यद्यपि, जलविद्युत् उत्पादनमा हुँदै गएको वृद्धि, वैदेशिक व्यापारमा भएको विस्तार र पर्यटन क्षेत्रमा देखिएको सुधारले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ ।

आर्थिक वर्ष २०८१/८२ को छ महिनासम्मको कर्जा प्रवाह विश्लेषण गर्दा आर्थिक गतिविधि विस्तारको क्रममा रहेको देखिएको राष्ट्र बैंकको दाबी छ । “चालु आर्थिक वर्षको छ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट औद्योगिक उत्पादन क्षेत्रतर्फ ८ दशमलव चार प्रतिशत अर्थात् रू ६८ अर्ब ४१ करोड, उपभोग्य क्षेत्रतर्फ पाँच दशमलव आठ प्रतिशत अर्थात रू ५८ अर्ब ४० करोड कर्जा लगानी भएको छ”, राष्ट्र बैंकले भनेको छ, “त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ चार दशमलव आठ प्रतिशत अर्थात् रू ४८ अर्ब ३४ करोड र निर्माण क्षेत्रतर्फ सात दशमलव सात प्रतिशत अर्थात् रू १५ अर्ब ९४ करोडले कर्जा विस्तार भएको छ ।”

चालु आर्थिक वर्षको छ महिनासम्ममा औसत मुद्रास्फीति चार दशमलव ९७ प्रतिशत रहेको छ । गत असोजको बाढी तथा पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा उत्पन्न व्यवधान तथा भारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई कात्तिक र मङ्सिरमा बढ्दोक्रममा रहेको मुद्रास्फीति पुसमा केही कम भएको राष्ट्र बैंकले जनाएको छ ।